`

असली जेनजी अझै सडकमा, चुनावले समेटेन : सगुनसुन्दर लावती

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुनसुन्दर लावतीले जेन-जी आन्दोलनमा संलग्न युवाहरूको वास्तविक पीडा र मागलाई मध्यावधि निर्वाचनले समेट्न नसकेको बताएका छन्।

उनले गोली खाने, घाइते हुने र रगत बगाउने “असली जेनजी” अझै पनि न्याय र जवाफदेहिताको माग गर्दै सडकमा रहेको बताएका हुन्।

लावतीले जेनजीको नाममा चुनाव लड्ने, सामाजिक सञ्जालमार्फत अभियान चलाउने र प्रतीकात्मक गतिविधि गर्नेहरू सत्तामा पुगे पनि आन्दोलनका वास्तविक पीडितहरू ओझेलमा परेको टिप्पणी गरे।

“जेनजीलाई गोली हान्ने, नरसंहार गर्ने को हुन् भन्ने प्रश्न अझै अनुत्तरित छ। दोषीउपर कारबाही नभएसम्म असली जेनजीको संघर्ष सकिँदैन,” उनले भने।

उनका अनुसार सुशासन वहाली, भ्रष्टाचार नियन्त्रण र विद्यमान संकटको समाधानका लागि कुनै पनि राजनीतिक दलले ठोस निकास वा स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सकेका छैनन्। चुनावलाई मात्रै सबै समस्याको समाधानका रूपमा प्रस्तुत गरिएकोप्रति उनले असन्तुष्टि जनाए।

राप्रपा नेता लावतीले प्रतिनिधिसभा २०८२ को मध्यावधिपछि संविधान संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक हुने स्मरण गराउँदै त्यसका लागि राष्ट्रिय सभा, प्रदेश र स्थानीय तहको मतभारसमेत गणना हुने जटिल संरचना रहेको बताए। “यो केवल अंकगणितको कुरा होइन, राजनीतिक इच्छाशक्ति र नैतिक साहसको परीक्षा हो,” उनले बताए।

भर्चुअल दुनियाँ र भाइरल एल्गोरिदमबाट निर्माण गरिने ‘कथित नयाँ’ पात्रहरूलाई नै निकासका रूपमा प्रस्तुत गरिँदै आएको भन्दै उनले त्यसप्रति आमविश्वास नरहेको दाबी गरे। “बोल्नै नपर्ने, मिडियाको जवाफ नदिने र अस्पतालमा सुत्ने शैलीलाई पनि विकल्पका रूपमा प्रस्तुत गरिएको छ, तर जनताले त्यसलाई समाधान मानेका छैनन्,” लावतीको भनाइ छ।

उनले राज्यको वास्तविक शक्ति केन्द्र को हो भन्ने प्रश्न अझै अनुत्तरित रहेको भन्दै त्यसैको स्पष्टताबिना अर्बौं रुपैयाँ खर्च गरेर गरिने चुनावले पनि समस्या समाधान नगर्ने तर्क गरे। “त्यसैले अर्बौं खर्च गरेर गरिने चुनाव पोखरा र भैरहवा विमानस्थल जस्तै प्रयोगविहीन संरचना बन्न नदिन गम्भीर बहस आवश्यक छ,” उनले भने।

आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देश युक्रेन बनाउँदैछन्ः राजन भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देश युक्रेन बनाउने बताएका छन् ।  नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यस्ता गतिविधिले मुलुकलाई युक्रेनको जस्तो संकटपूर्ण बाटोमा धकेल्न सक्ने खतरा रहेको बताए । उनले विभिन्न भ्रम र लाञ्छना फैलाइरहे पनि मतदातालाई अलमलिन नहुने आग्रह गरे। डा. भट्टराईले यस्ता कुराहरूबाट मुलुकलाई जोगाउन विवेकपूर्ण मतदान आवश्यक रहेको जोड दिए ।

उनले  भने ‘२१ औं शताब्दीको तेस्रो दशकमा आइरहँदा पनि तोडफोड, हिंसा, आगजनीबाट सत्ता परिवर्तन गर्ने, खरानीमाथि उभिएर त्यसको नाममा शासन व्यवस्थामा पुग्न खोजिरहेका तत्वहरुको बारेमा हामीले बुझ्नुपर्दछ । यदी हामी विवेकी मतदाताले त्यो कुरा बुझ्न सकेनौँ भने, हामी मात्रै होइन, हामी भन्दा पछिल्लो पुस्ता जुन हिसावबाट बहकिरहेको छ, त्यो बहकिएको पुस्ता, नवयुावाहरु र अलमलमा पारिएकालाई सही कुरा बुझाउन सकेनौँ भने यो मुलुकको भाग्य र भविष्य नचाहँदा नचाहँदै यदी तपाईं हामीले विवेक गुमायौँ भने यो मुलुकले युक्रेनको बाटो समाउन सक्छ ।’ उनले  भने ।

सचिव भट्टराईले भ्रम छरेर विभिन्न लाञ्छना लगाउने काम भइरहे पनि यसमा अलमलिन नहुने बताए ।

काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने

काठमाडौँ । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले  स्वास्थ्य अवस्था सर्वेक्षणको काम आइतबारबाट सुरु गर्दैछ । सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ् कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन प्रदान गरिएको छ ।

सर्वेक्षणमा जाने स्वास्थ्यकर्मीलाई अपेक्षित नतिजाका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘यो तपाईँहरुको पदीय जिम्मेवारी मात्र होइन । मानवीय सेवाको काम पनि हो । त्यसैले जिम्मेवारी पूरा गर्न होइन । कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई हाम्रा लागि पनि कोही रहेछन् । पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला ।’ उनले कुनै पनि प्रकारबाट नतिजा प्राप्त गर्नुमा जोड दिँदै भनिन्, ‘आपत टार्ने पैसा नहुँदा, अप्ठ्यारो पर्दा साथ दिने कोही नहुँदा तपाईँले सोचेको जस्तो व्यवहार ज्येष्ठ नागरिकबाट प्राप्त नहुन सक्छ । यसलाई स्वभाविक ठान्नु । उहाँहरुलाई सम्झाउनु बुझाउनु, सहज वातावरण बनाएर काम गर्नु ।’

‘बदलिँदो सामाजिक परिवेशले सन्तान विदेशमा र आमाबुबा स्वदेशमा भएको अवस्था छ,’ उनले भनिन्, ‘काठमाडौँमा भएका आमाबुबाको स्वास्थ्य अवस्था, कागजमा लेखेको अक्षर पढेका भरमा वास्तविकता थाहा नहुन सक्छ । आमाबुबाले सही कुरा नसुनाउन सक्नुहुन्छ । परामर्शमा भनिएका कुरा कागजमा हुँदैनन् । यसकारण उहाँहरुको अवस्था विदेशमा भएका सन्तानलाई थाहा दिएर स्वस्थ्य जीवनका लागि सहयोग गर्न टेलि मेडिसिन प्रणाली बनाउँदैछौँ ।’ उनले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गराउने दाबी गर्दै महानगरपालिकाको सन्देश नागरिकलाई प्रत्याभूति गराउन आग्रह गरिन् ।

आर्थिक अवस्था कमजोर भएका र सहयोग गर्ने परिवारका सदस्य नभएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको हो । शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित सर्वेक्षणको काम प्रारम्भ भएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका अनुसार सर्वेक्षणमा जाने नर्सिङ् कर्मचारीहरुलाई ५ दिनको अभिमुखीकरण प्रदान गरिसकिएको छ । यस्तै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन तथा उपकरण प्रदान गरिसकिएको छ ।

यो सेवामा औषधि व्यवस्थापन र पोषण परामर्श गरिनेछ । मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन हुनेछ। यस्तै, दीर्घ रोग नियन्त्रण गर्ने प्रयास गरिन्छ । आकस्मिक अवस्थाका लागि छिटो उपचार पाउने रिफरल प्रणाली विकास गरिन्छ । कार्यक्रमका उद्देश्यका विषयमा स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. ले जानकारी दिए । यस्तै व्यायाम, मानसिक स्वास्थ्य, सरसफाइका विषयमा परामर्श दिइन्छ । यसरी संकलन गरिएको तथ्याङ्कका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका जोखिम न्यूनीकरणका बजेट, योजना तथा कार्यक्रम तर्जुमालाई वास्तविक बनाउने महानगरको अपेक्षा छ ।

कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठ भन्छिन्, ‘ज्येष्ठ नागरिकलाई सजिलै भेट्न र आवश्यकता अनुसार कुरा गर्ने वातावरणका लागि वडा कार्यालय र महिला स्वास्थ्य स्वयमसेविकासँग समन्वय गर्नेछौँ । उहाँहरुसँग ज्येष्ठ नागरिक रहनु भएको घरमा रहने वा छिमेकीबाट पनि सहयोग आवश्यक हुन्छ । यो सहयोग पाउने आशा गरेका छौँ ।’

प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्छ: उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्नुपर्ने बताए ।

शनिवार सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार भएको बताए ।

यसका लागि सञ्चारमाध्यमहरुको भुमिका महत्वपूर्ण रहेको बताए । उनले निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि, शान्तिपूर्ण वातावरणमा निर्माणमा सञ्चारमाध्यमले योगदान गर्नुपर्नै बताए । पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्न आग्रह गरे । सत्य, निष्पक्षता, जनमुखी दृष्टिकोणलाई आत्मसात गर्दै राष्ट्र निर्माण लाग्न पनि आह्वान गरे ।

उनले भने, ‘आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार हो । यसका लागि सञ्चारमाध्यमहरुको भुमिका महत्वपूर्ण छ । निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि, शान्तिपूर्ण वातावरणमा निर्माणमा सञ्चारमाध्यमले योगदान गर्नुपर्छ । पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गरौँ । सत्य, निष्पक्षता, जनमुखी दृष्टिकोणलाई आत्मसात गर्दै राष्ट्र निर्माणमा निर्वाह गरौँ ।’

उनले डिजिटल माध्यममार्फत जनतासामु पुग्नुपर्ने आजको आवश्यकता रहेको बताए । राष्ट्रको आवाजलाई सशक्त बनाउनु सञ्चारमाध्यमहरुको प्रमुख दायित्व भएको बताए ।

अपाङ्गतामैत्री पूर्वाधारतर्फ वागमती प्रदेशको कदम, नमूना पालिका विकास गर्ने योजना

वागमती प्रदेश सरकारले प्रदेशभित्र निर्माण हुने सबै सार्वजनिक भौतिक संरचनाहरूलाई पूर्ण रूपमा अपाङ्गतामैत्री र सबै नागरिकको सहज पहुँचयोग्य बनाउन ‘सार्वजनिक पूर्वाधारमा सर्वसुलभ (युनिभर्सल) डिजाइन’ निर्देशिका बनाउने प्रक्रिया औपचारिक रूपमा शुरु गरेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार हेटौंडामा आयोजना गरेको विशेष कार्यशाला तथा कार्यदलको पहिलो बैठकसँगै यो प्रक्रिया अघि बढेको हो । सरकारले तत्काल मन्त्रिपरिषद्बाट निर्देशिका जारी गरी कार्यान्वयनमा लैजाने तयारी गरेको छ । यसका लागि मन्त्रालयले सीआरएस नेपालसँग प्राविधिक सहयोगसम्बन्धी सम्झौतासमेत गरेको छ । कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले संसदबाट ऐन निर्माणको प्रक्रिया लामो हुने भएकाले विकास निर्माणलाई रोक्न नहुने बताए । उनले भने, “संसदबाट ऐन बन्न समय लाग्न सक्छ, तर विकास रोकिँदैन। हामी तत्काल मन्त्रिपरिषद्बाट ‘युनिभर्सल डिजाइन निर्देशिका’ पास गरेर सार्वजनिक संरचनालाई अपाङ्गतामैत्री र सर्वसुलभ बनाउने कामको थालनी गर्छौँ ।” 

उनले निर्देशिकाको मस्यौदा जतिसक्दो चाँडो तयार गर्न निर्देशनसमेत दिएका छन् ।

मन्त्री डा. देवकोटाले वागमती प्रदेशका ११९ पालिकामध्येबाट छनौट गरी नमूना काम गर्न सकिने बताए। “आगामी आर्थिक वर्षको बजेटमा ५ देखि १० करोड रुपैयाँ विनियोजन गरेर प्रदेशका एक वा दुईवटा पालिकालाई पूर्णतः समावेशी र युनिभर्सल डिजाइनयुक्त ‘नमूना पालिका’ का रूपमा विकास गर्नेछौँ,” उनले भने । 

विगतको पाठ्यक्रममा ‘युनिभर्सल डिजाइन’ को विषय समावेश नहुँदा पुराना इन्जिनियरहरूमा ज्ञानको अभाव रहेको भन्दै मन्त्री देवकोटाले सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “हिजो हामीले पढ्दा यो विषय कोर्समै थिएन, जसले गर्दा डिजाइनमा त्रुटिहरू भए । प्राविधिकहरूसँग सीप छ तर भोगाइ र व्यवहारिक ज्ञान अधिकारकर्मी साथीहरूसँग छ। अब यी दुवै पक्षलाई जोडेर पुल्चोक क्याम्पसजस्ता प्राज्ञिक संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्छ ।”

साथै उनले सरकारी काममा अपनत्व बढाउन अबका बैठकहरू मन्त्रालयको कोठामा मात्र सिमित नराखी सरोकारवाला संघ–संस्थाहरूकै कार्यालयमा गएर गर्ने नयाँ अभ्यासको प्रश्तावसमेत गरे ।

छलफलमा प्रदेश सांसद लक्ष्मी शर्माले हालसम्म बनेका धेरै संरचनाहरू देखावटी मात्र भएको भन्दै चिन्ता व्यक्त गरीन् । ह्वीलचियरको लोगो राख्दैमा संरचना अपाङ्गतामैत्री नहुने भन्दै उनले भनिन्, “युनिभर्सल डिजाइनमा बनेको भनिएको संसद् भवन जलेपछि अहिलेको अस्थायी संरचनामा रोस्टममा उक्लिन नसक्दा मैले तलैबाट बोल्नुपर्यो । अब नक्शा पास गर्दा नै मापदण्ड पूरा नभए पास नगर्ने व्यवस्था हुनुपर्छ ।”

मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले विज्ञहरूको सुझावलाई आत्मसात गर्दै तत्कालका लागि कार्यालयहरूमा सांकेतिक सुधार सुरु गर्ने र आगामी बजेटमा यसलाई नीतिगत रूपमै समेट्ने प्रतिवद्धता व्यक्त गरे । सीआरएस नेपालका प्रतिनिधिहरूले पनि विज्ञता र प्राविधिक सहयोग उपलब्ध गराउन संस्था प्रतिवद्ध रहेको बताएका छन् ।
निर्देशिकाको मस्यौदा तयार गर्न आयोजित पहिलो कार्यशालामा विज्ञ तथा सरोकारवालाहरूले महत्त्वपूर्ण सुझाव दिएका छन् ।

पुल्चोक क्याम्पस आर्किटेक्चर विभागका उप–प्राध्यापक डा. विषय सिंहले भौतिक संरचना मात्र नभई सूचना प्रणाली पनि अपाङ्गतामैत्री हुनुपर्नेमा जोड दिए । उनले ¥याम्प र पार्किङको सही स्थान तथा सूचना पाटी स्पष्ट नहुँदा प्रयोगकर्ता अलमलमा पर्ने गरेको भन्दै समावेशी डिजाइनको वकालत गरे ।

त्यस्तै, विज्ञ तथा कानूनविद् सुदर्शन सुवेदीले अब बन्ने पूर्वाधारहरू शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि मात्र नभई बौद्धिक तथा सिकाइसम्बन्धी अपाङ्गता भएकाहरूका लागि पनि मैत्री हुनुपर्ने बताए । उहाँले सार्वजनिक स्थलमा ‘क्वाइट रुम’ (शान्त कक्ष) र सरल भाषामा सूचनाहरू राख्नुपर्ने सुझाव पनि दिए।

सीआरएस नेपालका प्रतिनिधि डा. विकास पौडेलले विज्ञहरूको समूह जुटाउन र प्राविधिक सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।
डा. पौडेलले भने, “हामीसँग उपलब्ध विज्ञताको उच्चतम प्रयोग गर्दै र अपुग भएमा बाहिरबाट समेत विज्ञहरू जुटाएर मन्त्रालयको यो अभियानलाई सफल बनाउन सहयोग गर्नेछौँ । अपाङ्गता समावेशी पूर्वाधार निर्माणमा हाम्रो संस्थागत प्रतिबद्धता र सहयोग निरन्तर रहनेछ ।”
कार्यशालाबाट प्राप्त सुझावहरूका आधारमा निर्देशिकाको मस्यौदा तयार गरिने कार्यदलका संयोजक तथा मन्त्रालयका महाशाखा प्रमुख भूपेन्द्र यादवले जानकारी दिए ।उनले भने, “पहिलो कार्यशालाबाट प्राप्त सुझाव र सीआरएससँगको सहकार्यमा विज्ञ टोलीले मस्यौदा तयार गर्नेछ। सो मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत गराएर कानूनी मान्यता दिई प्रदेशका सबै सार्वजनिक पूर्वाधारमा अनिवार्य लागू गरिनेछ ।”

उनले उक्त मस्यौदा प्रदेशका सबै सार्वजनिक पूर्वाधारमा अनिवार्य लागू गरिने बताए ।

ललितपुर-२: रास्वपालाई जगदीशको भर, इतिहास जोगाउने एमालेको प्रयास

काठमाडौं । उपत्यकाको परम्परागत रूपमा कम्युनिष्टहरूको बलियो आधार क्षेत्र मानिने ललितपुर–२ मा पूर्व सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले उम्मेदवारी दिएपछि यहाँको चुनावी माहोल थप चर्किएको छ। यसपटक ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जगदीश खरेल, नेपाली काँग्रेसबाट प्रेमकृष्ण महर्जन, नेकपा एमालेबाट प्रेमबहादुर महर्जन र नेपाल कम्युनिष्ट पार्टीबाट राजेन्द्र अमात्य उम्मेदवार बनेका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए। त्यतिबेला उनका मुख्य प्रतिस्पर्धी सुदिन शाक्य रहेका थिए। लौरो चिन्ह भएको हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका शाक्यले ८ हजार ८८६ मत पाए भने महर्जनले १५ हजार २५ मत प्राप्त गरी निर्वाचित भएका थिए। सो निर्वाचनमा रास्वपा ८ हजार ६६६ मतसहित तेस्रो स्थानमा थियो।

पहिलोपटक निर्वाचनमा सहभागि हुँदै एमालेको बलियो जनाधारलाई चुनौती दिएको रास्वपाले यसपटक चर्चित अनुहारका रूपमा जगदीश खरेललाई अगाडि सारेको छ। २५ वर्ष लामो पत्रकारिता जीवन छाडेर राजनीतिमा प्रवेश गरेका खरेलको ‘फेस सेल’ मजबूत भएमा रास्वपा यस क्षेत्रको राजनीतिक समीकरण उल्ट्याउन सक्ने मूल्यांकन गरिन्छ। तर, जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारमा मन्त्री बनेका खरेलले रास्वपा प्रवेश गर्दै उम्मेदवार बनेपछि यसमाथि उठ्ने प्रश्नको जवाफ दिनुपर्ने छ । 

खरेललाई काँग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले यसपटक कडा चुनौती बन्न सक्ने स्थानीयको धारणा छ।

स्थानीयवासीका अनुसार प्रेमकृष्ण महर्जन स्थानीय तहमा प्रभाव र राम्रो जनमत भएका नेता हुन्। अघिल्लो चुनावमा पाँचदलीय गठबन्धनलाई पराजित गर्दै भारी मतान्तरले विजयी भएको एमाले पनि यसपटक जित दोहोर्याउने रणनीतिमा छ। यस्तो अवस्थामा रास्वपाका लागि सहज विजयको वातावरण तयार नभएको विश्लेषण गरिन्छ।

२०४८ यताका सातवटा संसदीय निर्वाचनमध्ये ६ पटक कम्युनिष्ट उम्मेदवार विजयी भएका छन्। एक पटक मात्र काँग्रेसले जित हात पारेको छ। रोचक कुरा के भने—जित निकाल्ने सातै जना उम्मेदवार नेवार समुदायका रहेका छन्। विशेषतः २०५६ सालयताका सबै विजेताहरू महर्जन नै छन्। २०४८ सालको आम निर्वाचनमा एमालेका सिद्दिलाल सिंहले काँग्रेसका मार्सल जुलुम शाक्यलाई पराजित गर्दै २७ हजार २०२ मत प्राप्त गरेका थिए। त्यसपछि २०५१ को मध्यावधि निर्वाचनमा सिंहले पुनः काँग्रेसका चन्द्र महर्जनलाई हराए।

२०५६ सालमा एमालेका कृष्णलाल महर्जन विजयी भए। उनले काँग्रेसका जगतराज्य शाक्यलाई १६ हजार १६९ मतले पराजित गरे। शाक्यले १४ हजार ८७८ मत पाएका थिए। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा राजकाजी महर्जन १७ हजार ८८ मतसहित विजयी भए भने काँग्रेसका चन्द्र महर्जन १६ हजार ३९२ मतसहित दोस्रो भए। २०४८ देखि निरन्तर पराजय भोगिरहेको काँग्रेसले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पहिलो विजय हात पार्यो। अघिल्लो निर्वाचनका प्रत्यासी चन्द्र महर्जनले यसपटक काँग्रेसलाई ललितपुर–२ मा ऐतिहासिक जित दिलाए। उनले २३ हजार २३१ मत पाए भने उनका नजिकका प्रतिद्वन्द्वी सरोज डंगोलले १२ हजार ५९ मत पाएका थिए।

फेरिएको राजनीतिक समीकरणबीच २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले पुनरागमन गर्‍यो। कृष्णलाल महर्जनले काँग्रेसका चन्द्र महर्जनलाई २७ हजार ७१३ मतसहित पराजित गरे। चन्द्र महर्जनले १६ हजार ९४५ मत पाएका थिए।

यसपटक नेकपा माओवादीबाट अष्टराज बज्राचार्य, नेपाल मजदूर किसान पार्टीबाट चिरीमैयाँ महर्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्ण महर्जन प्रतिस्पर्धामा छन्। राष्ट्रिय मुक्ति पार्टीका डोलेन्द्रराज भट्टराई, नेकपा संयुक्तका रमेश आचार्य तथा उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले पनि उम्मेदवारी दर्ता गराएका छन्।

राप्रपा तर्फबाट रघुबर राज थापा उम्मेदवार बनेका छन्। स्वतन्त्र तर्फ उमंग केसी, बाबुराज बज्राचार्य, रविराज पौडेल, ओमराज बज्राचार्य, रवीन्द्र अमात्य, मंगलकृष्ण श्रेष्ठ र कृष्ण खड्काले प्रतिस्पर्धा जनाएका छन्। त्यसैगरी, मंगल नेसनल अर्गनाइजेशनबाट कृष्ण महर्जन, श्रम संस्कृति पार्टीबाट सरोज राई, जसपा नेपालबाट रिहीणी कस्ती, आम जनता पार्टीबाट लखिन्द्र कुमार साह र नेसनल रिपब्लिक नेपालबाट खेमप्रसाद श्रेष्ठ उम्मेदवार बनेका छन्। कुल २३ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको ललितपुर–२ मा यसपटक धेरै नयाँ अनुहार देखिएका छन्। राजनीतिक दृष्टिले संवेदनशील मानिने यो क्षेत्रमा बहुकोणीय प्रतिस्पर्धाले चुनावी माहोल झनै रोचक बनेको छ।

रवि–बालेन एउटा गाडीका दुई पाङ्ग्रा, बालेनको क्रेजले रवि गुमनाम छैनन् : राजुनाथ पाण्डे (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पार्टी राजनीतिमा सक्रिय भएपछि छायाँमा परेको टिप्पणीलाई बालेनकै निकटस्थ मानिने राजुनाथ पाण्डेले अस्वीकार गरेका छन् ।

उनले रवि र बालेन एउटै गाडीका दुई पाङ्ग्रा भन्दै दुई नेता बिना रास्वपा अघि बढ्न नसक्ने जनाउ दिए ।

उनले भने, ‘हाम्रो पार्टी सभापति उपचारको क्रममा हुनुहुन्छ । पार्टी सभापतिज्यू र वरिष्ठ नेता एक हुनुहुन्छ, एउटा गाडीका दुई पाङ्ग्रा हुुन् । यसमा भ्रम छरेर खेती नगर्नु हुन अनुरोध छ ।’

यही ५ माघमा सभापति लामिछानेको खुट्टामा चोट लागेको थियो । त्यस दिन उनी जनकपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्न गएका थिए ।

त्यसबेला खुट्टामा चोट लागे पनि उनी आफ्नो चुनाव क्षेत्रमा केही दिन सक्रिय रहे ।

तर, खुट्टा झन् झन् दुख्दै गएपछि उनी अस्पताल पुगेका थिए, जहाँ उनलाई चिकित्सकले ‘सेलुलाइटिस’बाट संक्रमित भएको बताए ।

त्यसको उपचार गरेर लामिछानेको बिहीबार डिस्चार्ज भएको छ । तर, कतिपयले भने बालेनको क्रेजले सभापति रवि छायाँमा परेको टिप्पणी गरेका थिए ।

 

गगनको ‘प्रियतावादी’ अभिव्यक्ति : पार्टीहरूले गठबन्धनको फोहोरी राजनीति नगरुन् भन्ने छ (भिडियो)

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी गठबन्धन गरेको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अस्वाभाविक रूपमा गठबन्धनविरोधी अभिव्यक्ति दिएका छन् ।

विशेष महाधिवेशनबाट पार्टी सभापति भएपछि थापाले यही ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा एमाले र जसपासँगको गठबन्धनलाई निरन्तरता मात्रै दिएनन्, सबै उम्मेदवारलाई मत लगाउन लगाएर जिताए ।

गठबन्धन गरेर चुनाव लडेको साता दिन नबित्दै थापाले फेरि गठबन्धनविरोधी अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘पार्टीहरूले फोहोरी गठबन्धनको राजनीति नगरुन् भन्ने छ । सरकारमा टिक्नका लागि नाजायज सम्बन्धहरू नगरुन् भन्ने छ,’ उनले भने, ‘पार्टीका नेताहरूको जीवन पारदर्शी बनियोस् भन्ने छ, पार्टीमा नेता र कार्यकर्ताको सम्बन्ध मालिक र श्रमिकको जस्तो नहोस् भन्ने छ ।’

सभापति थापा यसअघि तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रसँग चुनावी र सत्ता गठबन्धन गर्दा होस् या नेकपा एमालेसँग सत्ता गठबन्ध गर्दा सर्वाधिक विरोध गर्थे ।

तर, गत वर्ष भएको स्थानीय तह उपनिर्वाचनमा तत्कालीन माओवादीविरुद्ध गठबन्धन गर्दा होस् वा एक साताअघि एमाले र जसपासँग चुनावी गठबन्धन गर्दा मौन रहे ।

साता दिनपछि फेरि गठबन्धनको विरोध गर्दै थापाले ‘प्रियतावादी’ बन्ने प्रयास गरेका छन् ।

स्टन्ट गरेर प्रणाली सुधार हुँदैनः गगन थापा

 काठमाडौं। नेपाली काँग्रेसका सभापति गगन थापाले प्रणालीमा सुधार गर्न सही कानुन बनाउनुपर्ने बताएका छन् ।

शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उहाँले स्टन्ट गरेर सुधार गर्न नसकिने बताएका हुन् । उनले सार्वजनिक संस्थाहरूमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन स्टन्ट र चटक देखाएर नभई सही कानून र प्रक्रिया निर्माण गरेर मात्र सम्भव हुने पनि बताए ।

सभापति थापाले नेपाली काँग्रेस प्रणाली र प्रक्रियामार्फत सुधार गर्ने कुरामा विश्वास राख्ने पार्टी भएको पनि उल्लेख गरे । विश्वविद्यालय तथा संवैधानिक निकायमा हुने भागबण्डाको अन्त्य गर्ने दाबी गर्दै  निजामती कर्मचारीमा हुने राजनीतिकरणको पनि बन्द गर्ने उनको भनाई छ ।

‘हाम्रा सार्वजानिक संस्थाहरुबाट, निकायहरुबाट हुने कारोबारमा कुनै पनि आर्थिक लेनदेन नहोस् भन्ने कुरा हामी सबैले चाहेका छौँ नी  तर त्यसको परिणाम आउनको निम्ति जादु गर्छु, चटक गर्छ, डण्डा बोकेर जान्छु, म स्टन्ट देखाउँछु भनेर हुँदैन । सिष्टम बनाउनुपर्नेछ । ठीक कानुनहरु बनाउनुपर्नेछ, प्रक्रियाहरु बनाउनुपर्नेछ । काँग्रेस यो सिष्टम बनाउने कुरामा विश्वास गर्छ, प्रक्रियाहरु बनाउने कुरामा विश्वास गर्छ । हामी यहाँबाट परिणाम दिन चाहन्छौँ । हामी सबै ठाउँमा जहाँ पार्टीले हस्तक्षेप गरेको छ, चाहे विश्वविद्यालयमा भागवण्डा गरेको होस्, चाहे संवैधानिक निकायमा भागबण्डा गरेको होस् । चाहे निजामति कर्मचारीको राजनितिककरण गरेको होस् । हामी सबै कुराहरु बन्द गर्छौ । यो काँग्रेसको संकल्प हो ।’  थापाले भने ।

उनले सुधार र सुशासनमार्फत परिणाम दिन काँग्रेस प्रतिबद्ध रहेको पनि बताए ।

 

देशको विकासका लागि नीति निर्माणमा प्राथमिकता: एमाले उम्मेदवार ढुंगेल

रामेछाप। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) रामेछापका उम्मेदवार माधव ढुङ्गेलले रामेछाप जिल्ला र समग्र देशको विकास तथा समृद्धिका लागि आवश्यक नीति निर्माण र त्यसअनुसारका कानुन बनाउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्।

शनिबार बिहान नेकपा (एमाले) रामेछापकाे प्रचार तथा प्रकाशन विभागले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आगामी निर्वाचनमा एमाले र आफूलाई मत दिनुपर्ने आधारबारे स्पष्ट धारणा राखेका हुन् । उम्मेदवार ढुङ्गेलले देशमा राजनीतिक स्थिरता, विकास, समृद्धि र दिगोपन सुनिश्चित गर्न नेकपा (एमाले) नेतृत्वको सरकार आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार मुलुकलाई स्थायित्वको मार्गमा अघि बढाउन एकल नेतृत्वको सक्षम सरकार गठन अपरिहार्य छ।

कार्यक्रममा उनले भदौ २३ र २४ गते भएका विध्वंस र विनाशका घटनाबारे पनि टिप्पणी गर्दै त्यस्ता घटना कुनै नेपालीले गर्न नसक्ने बताए। उनले देशमा सुरक्षाको प्रत्याभूति दिलाउन तथा यस्ता गतिविधि रोक्न एमाले नेतृत्वको सरकार आवश्यक रहेको धारणा व्यक्त गरे ।

उम्मेदवार ढुङ्गेलले रामेछाप जिल्ला कृषि, पर्यटन, जलस्रोत लगायतका क्षेत्रमा निकै धनी रहेको उल्लेख गर्दै यी सम्भावनालाई व्यावसायिक रूपमा विकास गर्ने योजना अघि सारेका छन्। उनले कृषि र पर्यटन क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने र रोजगारी सिर्जना गर्ने नीति निर्माणमा आफू निरन्तर लाग्ने बताए।

त्यसैगरी उनले रामेछापका जलस्रोतबाट प्राप्त हुने रोयल्टी रामेछापका जनताले नै पाउने व्यवस्था सुनिश्चित गर्न आवश्यक कानुन बनाउन प्रतिनिधि सभामा पहल गर्ने प्रतिबद्धता जनाए। विदेश पलायन भएका युवालाई देशमा फर्किएर काम गरेर बस्ने वातावरण बताउनु आफ्नाे प्राथिमक कार्य बनेकाे उनले स्पष्ट पारे ।

उम्मेदवार ढुङ्गेलले आफू निर्वाचन जितेर प्रतिनिधि सभामा पुगेपछि रामेछाप र रामेछापवासीको शिर झुक्न नदिने दाबी गरे। उनले जनताको विश्वासलाई सम्मान गर्दै जिल्लाको विकासका लागि दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले आफू पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेको उल्लेख गर्दै नयाँ सोच र खोज गर्ने युवाहरूको मागलाई आफ्नो उपस्थितिले सम्बोधन गर्ने विश्वास दिलाए। उनले रामेछापवासीलाई एक पटक आफूलाई जाँचेर हेर्न आग्रह गर्दै विकास र समृद्धिको यात्रामा साथ दिन तथा आफूलाई निर्वाचित गर्न हार्दिक अनुरोध गरे।

अमेरिकी सैन्य गतिविधिबारे इरान र अजरबैजानका विदेशमन्त्रीहरूकाे संवाद

एजेन्सी- इरान र अजरबैजानका विदेशमन्त्रीहरूले अमेरिकी सैन्य गतिविधि र क्षेत्रीय सुरक्षाबारे संवाद गरेका छन् । जसमा अजरबैजानले आफ्नो भूमि इरान विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र उनका अजरबैजानी समकक्षी जेहुन बायरामोभले अमेरिकी सैन्य निर्माणका कारण उत्पन्न क्षेत्रीय तनावका बारेमा विचार आदानप्रदान गरेका हुन् । दुवै देशका परराष्ट्र मन्त्रालयकाअनुसार टेलिफोन वार्तामा अराघचीले क्षेत्रीय विकास, अमेरिकी विनाशकारी हस्तक्षेपबाट उत्पन्न खतरा र इजरायलका दमनकारी कार्यहरूको बारेमा व्याख्या गरेका थिए ।

शान्ति र स्थिरताका विरुद्धका खतराहरूको सामना गर्न सबै क्षेत्रीय राष्ट्रहरूको सामूहिक जिम्मेवारी रहेको कुरामा जोड दिएका छन् । बायरामोभले अजरबैजानले छिमेकी इरान वा अन्य कुनैपनि देश विरुद्ध सैन्य कारबाहीका लागि आफ्नो हवाई क्षेत्र वा भूमि प्रयोग गर्न कहिल्यै अनुमति नदिने कुरामा दृढताका साथ पुनः पुष्टि गरेका छन् । विवादहरू अन्तर्राष्ट्रिय कानून बमोजिम वार्ता र कूटनीतिबाट मात्र सम्बोधन गरिनुपर्ने कुरामा जोड दिएका छन् । दुवै पक्षले आपसी सम्बन्ध र सहयोग सुदृढ गर्न पनि सहमति जनाएका छन् ।

काठमाडौं–तराई द्रुतमार्गः साढे आठ वर्षको पर्खाइबीच सुरुङ र अग्ला पुलमा देखियो रहरलाग्दो प्रगति

काठमाडौं। मुलुकको संघीय राजधानी काठमाडौंलाई तराई–मधेससँग जोड्ने सबभन्दा छोटो र रणनीतिक महत्व बोकेको राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौं–तराईरमधेस द्रुतमार्ग’ निर्माणले लामो सुस्ततापछि अब लय समातेको देखिन्छ । आयोजनाको जिम्मेवारी नेपाली सेनाले सम्हालेको साढे आठ वर्ष र निर्माण कार्य विधिवत रूपमा शुरु भएको साढे चार वर्षको सेरोफेरोमा आइपुग्दा आयोजनाले ४५ दशमलव १६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । जनस्तरमा आठ वर्ष बित्दा पनि आधा काम नसकिएको भन्दै आलोचना भइरहँदा निर्माण स्थलमा ठडिएका गगनचुम्बी पुल र पहाड छिचोल्दै बनेका सुरुङमार्गले भने विकासको एक भव्य र आशालाग्दो तस्बिर पेश गर्न थालेका छन् ।

आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशतको हाराहारीमा रहे पनि फिल्डमा देखिने गरी भएको मुख्य परिवर्तन भनेको सुरुङमार्ग र विशेष प्रकृतिका पुलहरू हुन् । कान्ति लोकपथ हुँदै यात्रा गर्ने जो कोहीका लागि मकवानपुरको धेद्रे र लेनडाँडा क्षेत्रमा निर्माण भएका विशाल संरचनाहरू अहिले आकर्षणको केन्द्रबिन्दु बनेका छन् । यहाँ ८२ मिटर अग्ला पुलका पिलरहरू ठडिएका छन्, जसले टाढैबाट हेर्दा पनि विकासको नयाँ मानक स्थापित गरेको भान हुन्छ । धेद्रे सुरुङको मुखैमा जितपुर खोलामाथि बनाइएका समानान्तर दुई पुल र लेनडाँडा सुरुङतर्फ जाने चालिसे खोलामाथिका पुलहरू निर्माणको अन्तिम चरणमा पुगेका छन् । करिव ३०० मिटरभन्दा लामा यी पुलहरूमा अबको केही समयभित्रै सवारी साधन गुड्ने सम्भावना देखिएको छ ।

फास्ट ट्रयाकको सबैभन्दा जटिल मानिने सुरुङ खन्ने कार्यमा पछिल्लो समय उल्लेख्य ‘ब्रेक थ्रु’ हासिल भएको छ । आयोजना अन्तर्गत कुल १०।९७९ किलोमिटर लम्बाईका सात वटा सुरुङहरू रहनेछन् । तीमध्ये मकवानपुरस्थित १।६९१ किलोमिटर लामो धेद्रे र १।६२६ किलोमिटर लामो लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । हाल यी सुरुङभित्र फिनिसिङको काम तिब्र गतिमा भइरहेको छ । त्यस्तै, नेपालकै ठूलो यातायात सुरुङ मानिएको ३।४५५ किलोमिटर लामो महादेवटार सुरुङमार्गको खन्ने काम पनि ७० प्रतिशत सकिएको छ । करिव २ हजार ३ सय ४८ मिटर खनिसकिएको यो सुरुङलाई आगामी असार मसान्तभित्र वारपार ९ब्रेक थ्रु० गराउने लक्ष्यका साथ नेपाली सेना र निर्माण व्यवसायीहरू अहोरात्र खटिएका छन् । यसबाहेक चन्द्राम भीर, सिसौटार, देवीचौर र मौरीभीरमा पनि सुरुङ निर्माणको काम विभिन्न चरणमा अघि बढिरहेको छ। नेपाली सेनाका प्राविधिकहरूकाअनुसार चालू आर्थिक वर्षभित्रै थप दुई जोडी सुरुङ छिचोल्ने योजना रहेको छ ।

सर्वसाधारणले २०७४ सालको वैशाखमा सरकारले नेपाली सेनालाई जिम्मा लगाएदेखि नै समय गणना गरिरहेका छन् । उनीहरूको दृष्टिमा आठ वर्ष बितिसक्दा पनि प्रगति आधा नहुनु सुस्तताको प्रमाण हो । तर आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेनाको तर्क भने फरक छ । सेनाकाअनुसार २०७४ सालमा जिम्मा पाए पनि शुरुवाती समय विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माण, कन्सल्ट्यान्ट छनोट र अन्तर्राष्ट्रिय ठेक्का प्रक्रियामा खर्च भएको थियो । पुरानो डीपीआरले काम नचल्ने भएपछि सेनाले नयाँ सिराबाट डीपीआर बनाउनुपर्‍यो, जसमा सुरुङमार्गको लम्बाइ थपियो र रेखांकनमा केही परिमार्जन गरियो । मन्त्रिपरिषद्बाट डीपीआर स्वीकृत गराएर २०७८ जेठ ३१ गतेबाट मात्रै विधिवत रूपमा निर्माण कार्य शुरु गरिएको सेनाको दाबी छ । यस हिसावले फिल्डमा काम शुरु भएको साढे चार वर्ष मात्र भएको सैनिक अधिकारीहरू बताउँछन् । भौगोलिक जटिलता, पहिरोको जोखिम र कोभिड महामारीजस्ता कारणले पनि शुरुवाती चरणमा काममा बाधा पुगेको थियो ।

ठूला पूर्वाधार निर्माण गर्दा वन विनाश हुने र पारिस्थितिक प्रणालीमा असर पर्ने भन्दै वातावरणविद्हरूले निरन्तर चिन्ता व्यक्त गर्दै आएका छन् । यसको जवाफमा नेपाली सेनाले पुनःरोपण र सामुदायिक वनलाई बिरुवा हस्तान्तरणको तथ्यांक सार्वजनिक गरेको छ । सेनाका अनुसार हालसम्म आयोजना प्रभावित क्षेत्र वरपर ७ लाख ५० हजार नयाँ बिरुवा रोपिएको छ। तीमध्ये १ लाख ५१ हजार बिरुवा हुर्काएर विभिन्न सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको छ । जसलाई सेनाले पर्यावरणीय सन्तुलनका लागि चालिएको महत्वपूर्ण कदमका रूपमा प्रश्तुत गरेको छ । यद्यपि, वातावरणविद्हरूले भने द्रुतमार्गले लामो अवधिमा वन्यजन्तुको आवागमन, स्थानीय जलस्रोत र भू–क्षयमा पार्ने प्रभावबारे अझ गम्भीर वैज्ञानिक अध्ययन र दीर्घकालीन अनुगमन आवश्यक रहेको औंल्याएका छन् ।
आर्थिक पाटोतर्फ हेर्दा, राष्ट्रिय गौरवको यस आयोजनाको निर्माण लागत करिव २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको छ, जसमध्ये हालसम्म करिव ८३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आयोजनाको वित्तीय प्रगति ४५।३३ प्रतिशत पुगेको छ । ठेक्का प्रक्रिया, डिजाइन परिमार्जन र मुद्रास्फीतिजस्ता तत्वले अन्तिम लागतमा थप दबाब सिर्जना गर्ने सम्भावना विज्ञहरूले देखाइरहेका छन् । तर सेनाले तोकिएको बजेटभित्रै आयोजना सम्पन्न गर्ने दाबी दोहोर्‍याउँदै आएको छ ।

द्रुतमार्गको निजगढ र मकवानपुर खण्डमा कामले तिब्रता पाए पनि काठमाडौंतर्फको प्रवेशबिन्दु ९जिरो प्वाइन्ट० मानिने ललितपुरको खोकना क्षेत्रमा भने अन्योल कायमै छ । यहाँको ६।५ किलोमिटर खण्डमा जग्गा अधिग्रहण, मुआब्जा विवाद र सांस्कृतिक सम्पदा संरक्षणको विषयले निर्माण कार्य ठप्प प्रायः छ । स्थानीय बासिन्दाले स्मार्ट सिटी, बाहिरी चक्रपथ र द्रुतमार्गजस्ता ठूला आयोजनाहरू एकै ठाउँमा थुपार्दा ऐतिहासिक बस्ती र पुरातात्विक सम्पदा मासिने भन्दै विरोध गर्दै आएका छन् । यही विवादका कारण खोकना खण्डमा पर्ने ४ वटा पुलको निर्माण शुरु हुन सकेको छैन भने इन्टरचेन्ज र अन्य संरचनाको काम पनि रोकिएको छ ।

यसै सन्दर्भमा, प्रधानमन्त्री सुशीला कार्कीले हालै खोकना क्षेत्रको स्थलगत निरीक्षण गर्दै समस्या समाधानका लागि कडा निर्देशन दिनुभएको छ । विकास निर्माण गर्दा धार्मिक विश्वास र सांस्कृतिक सम्पदामा आघात पुग्न नहुनेमा जोड दिँदै उहाँले स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक लिन सम्बन्धित निकायलाई सचेत गराउनु भयो । प्रधानमन्त्री कार्कीले आवश्यक परेको खण्डमा आयोजनाको रेखांकन र ‘जिरो प्वाइन्ट’ नै परिवर्तन गर्न सरकार तयार रहेको संकेत गर्नुभएको छ । प्रधानमन्त्रीको यो अभिव्यक्तिले वर्षौंदेखि अल्झिएको खोकनाको समस्या छिट्टै समाधान हुने आशा जगाएको छ । सरकारले स्थानीयको माग सम्बोधन गर्दै आयोजनालाई निकास दिने तत्परता देखाउनुले काठमाडौंतर्फको काम पनि अब अघि बढ्ने विश्वास गरिएको छ ।

नेपाली सेनाले यसअघि २०८१ मंसिरभित्र काम सक्ने लक्ष्य राखेको थियो । तर विविध प्राविधिक र व्यवस्थापकीय कारणले सो समयसीमामा काम सम्पन्न नभएपछि सरकारले आयोजनाको म्याद २०८३ चैतसम्म थप गरेको छ । अबको करिब दुई वर्षभित्र बाँकी ५५ प्रतिशत काम सम्पन्न गर्नु सेनाका लागि ठूलो चुनौती र अवसर दुवै हो । आगामी डेढ वर्ष आयोजनाका लागि निर्णायक मानिएको छ । अब बाँकी रहेका कामहरूमा उच्चस्तरका संरचनात्मक निर्माण, सुरक्षा मापदण्ड, सिग्नलिङ प्रणाली र गुणस्तर परीक्षणलाई प्राथमिकताका साथ हेरिनुपर्ने हुन्छ । निर्माणको गति कायम राख्दै वर्षायाममा उत्पन्न हुने भूस्खलन, मेसिनरी सञ्चालन र श्रमिक सुरक्षाको सन्तुलन मिलाउनु चुनौतीपूर्ण हुनेछ ।

आयोजना प्रमुख तथा प्राविधिकहरूका अनुसार अबको मुख्य ध्यान तोकिएको समयसीमा अर्थात २०८३ चैतभित्रै काठमाडौंबाट गाडी गुडाएर तराई पुर्‍याउनुमा केन्द्रित छ । तराईमा २७ मिटर र पहाडी क्षेत्रमा २५ मिटर चौडाइ हुने यो चार लेनको सडक सम्पन्न भएपछि काठमाडौंबाट निजगढसम्मको यात्रा करिव एक घण्टामा छोटिनेछ । यसले नेपालको इन्धन खपतमा अर्बौंको कटौती गर्ने मात्र नभई तराई र पहाडबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने अपेक्षा गरिएको छ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग केवल सडक सञ्जाल नभई मुलुकको आर्थिक रूपान्तरण, वैकल्पिक व्यापार मार्ग विकास र राष्ट्रिय सुरक्षासँग जोडिएको पूर्वाधारका रूपमा स्थापित हुनेमा दुईमत छैन ।

शुरुवाती चरणका ढिलासुस्ती र विवादका बाबजुद हाल देखिएको भौतिक प्रगतिले आयोजना सम्पन्न हुनेमा आशाको सञ्चार गराएको छ । अग्ला पुल र सुरुङमार्गको सफल निर्माणले नेपाली सेनाको व्यवस्थापकीय क्षमता र निर्माण व्यवसायीको दक्षतालाई प्रमाणित गरिरहेको छ । अब खोकनाको विवादलाई जनविश्वास जितेर समाधान गर्दै बाँकी काम युद्धस्तरमा अघि बढाउन सके २०८३ सालको नयाँ वर्षसँगै नेपालीहरूले आफ्नै ‘ड्रिम प्रोजेक्ट’ मा यात्रा गर्ने सपना साकार हुनेछ ।

शङ्कर पाेखरेलले सुरू गरे दाङमा चुनावी अभियान

दाङ । मतदातासँग प्रत्यक्ष संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै नेकपा (एमाले) का महासचिव एवम् दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल घर–घर पुगिरहेका छन् ।

घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आयोजित भेटघाट कार्यक्रममा उनले आफ्नो राजनीतिक यात्राभन्दा पनि आफू मुख्यमन्त्री रहँदा तयार पारेको विकासको ‘रोडम्याप’ र त्यसको कार्यान्वयनलाई केन्द्रमा राखेर मतदातासँग बहस सुरु गरेका छन् ।

पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार गरिएको दाबी गर्दै त्यसैको निरन्तरताका लागि निर्वाचनमा विजय आवश्यक रहेको बताएका छन् ।

‘विकास योजना कागजमा मात्रै सीमित होइन, त्यसलाई पूरा गर्न सक्षम र जिम्मेवार नेतृत्व चाहिन्छ,’ उनले भने, ‘योग्य नेतृत्व छान्ने जिम्मेवारी मतदाताकै हातमा छ।’

कार्यक्रमका क्रममा उनले आफू ‘कुराभन्दा काम गर्ने’ नेतृत्वका रूपमा परिचित भइसकेको उल्लेख गर्दै अधुरा योजनाहरू पूरा गर्न पुनः जनमतको आवश्यकता रहेको बताए । स्थानीय विकासका उदाहरण प्रस्तुत गर्दै उनले सडक, पूर्वाधार, खानेपानी र सिँचाइ जस्ता आधारभूत विषयमा आफ्नो प्राथमिकता स्पष्ट पारे ।

घोराही–१७ पचुर्काका उज्ज्वल टोल र पचुर्का टोलका स्थानीयवासी रमण चौधरी र बालाराम वलीले घरआँगनसम्म कालोपत्रे सडक पुगिसकेको प्रसङ्ग उठाउँदै अब सामुदायिक भवन, खानेपानी र सिँचाइको समस्या समाधानमा ध्यान दिन आग्रह गरे । उनीहरूले विगतमा सुरु भएका योजनाहरू अलपत्र परेको गुनासो पनि राखे ।

यसको जवाफमा पोखरेलले मुख्यमन्त्रीको हैसियतमा आफूले रणनीतिक सडकका रूपमा अघि बढाएको दामोदर मार्गलाई सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरे ।

‘रणनीतिक महत्व बुझेर निर्माण सुरु गरिएको दामोदर मार्गलाई पछिल्लो सरकारले बजेटविहीन बनाएर अलपत्र पारेको कुरा यहाँका नागरिक जानकार नै हुनुहुन्छ,’ उनले भने, ‘अब त्यो सडक निर्माणको जिम्मा म स्वयं लिन्छु ।’

मतदातासँगको संवादमा उनले विकासलाई दलगत नाराभन्दा माथि राखेर हेर्नुपर्ने धारणा राखे । ‘दाङको समृद्धि साझा एजेण्डा हो,’ उनले जोड दिए, “यसका लागि योजनाको निरन्तरता, स्पष्ट दृष्टिकोण र कार्यान्वयन क्षमता आवश्यक छ ।’

प्रत्यक्ष भेटघाट, स्थानीय सवालमा खुला छलफल र विगतका कामको आधारमा मत माग्ने पोखरेलको शैलीले चुनावी माहोलमा विकासे बहसलाई प्राथमिकतामा ल्याएको देखिन्छ ।

कङ्गोको कोल्टान खानीहरूमा भीषण दुर्घटना : २०० मजदुरको मृत्यु

काठमाडौं । कोल्टान खानीहरूमा भएको भीषण दुर्घटनामा परी अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा कम्तमिा २०० मजदुरको ज्यान गएको छ ।

‘मार्च–२३’ आन्दोलन नामक विद्रोही समूहका एक प्रवक्ताका अनुसार विभिन्न खानी सुरुङ अचानक भत्किँदा अधिकांश मजदुरहरू खानीभित्रै पुरिए ।

मृतकहरूमा महिला र बालबालिकासमेत छन् । दुर्घटनामा परेकाहरू अधिकांश जीविकोपार्जनका लागि खानीमा काम गर्ने खानी मजदुरहरू हुन् । हालसम्म पनि मृतकको यकिन पहिचान र विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

रुबाया क्षेत्रका फरक–फरक कोल्टान खानीहरू एकपछि अर्को गर्दै भत्किँदा दुर्घटना भएको हो । रुबाया क्षेत्र सन् २०२४ को अप्रिल महिनादेखि एम–२३ विद्रोही समूहको नियन्त्रणमा थियो, जसले उद्धार तथा राहत कार्यमा कङ्गो सरकारलाई कठिनाइ भइरहेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुमानअनुसार रुबाया क्षेत्रका खानीहरूले विश्वव्यापी टान्टालम आपूर्तिको करिब १५ प्रतिशत हिस्सा उत्पादन गर्दै आएका छन् ।

घटनापछि स्थानीय बासिन्दा र मानवअधिकार समूहहरूले खानी सुरक्षाको अवस्था, बालश्रम तथा अव्यवस्थित खानी उत्खननप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

एजेन्सीको सहयोगमा

 

हल्ला : बालेनको घरमा चोरी, सत्य : चोरी भएकै छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियानमा पश्चिम भेगतिर रहेको बेला काठमाडौंको सिनामंगलस्थित पञ्चकुमारी मन्दिरनजिक रहेको उनको घरमा चोरी भएको खबर सनसनपूर्ण फैलियो ।

उनका समर्थकहरूले यो खबर शनिबार बिहानै फैलाए, जुन क्षणभरमै भाइरल बन्यो ।

तर, नेपाल प्रहरीले अनुसन्धान गर्दा चोरी नभएको खुल्यो । अनुसन्धानका लागि प्रहरी वृत्त गौशलाबाट प्रहरी टोली खटिएको थियो ।

उक्त टोलीले बालेनको घर पुगेर अवलोकन गर्दा घरमा चोरी नभएको तर गृल फुटेको देखिएकोले त्यसबारे भने अनुसन्धान थालेको जनाएको छ ।

बालेन केही दिनदेखि देशको पश्चिमी भेगमा चुनावी अभियानमा सक्रिय छन् । तर, उनले त्यस क्षेत्रका जनतालाई सम्बोधन गरेका छैनन् ।

उनी कतै समर्थकहरूलाई गाडीबाट हात हल्लाउँदै त कतै रालो नै चुँडिनेगरी घण्टी बजाउँदै चुनावी अभियानमा सक्रिय छन् ।

‘महावीर वाणी’ : २/४ हजारमा बिक्नुभयो भने सोझै नर्कमा जान्छ (भिडियो)

काठमाडौं । पूर्वशिक्षामन्त्री महावीर पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार छन् । मतदाताकहाँ मत माग्ने उनको बेग्लै शैली छ ।

हाँस्यपरक शैलीमा मत माग्ने उनी कहिले भनिरहेका हुन्छन्– ‘महावीर पुन आयो, मत दिए दिनु, नदिए नदिनु ।’

पार्टीका उम्मेदवारहरू पार्टी संरचनालाई परिचालन गरी व्यवस्थित ढंगले मत माग्न गाउँगाउँ पुग्दा शनिबार बिहान महावीर पनि गलाभरी खादा माला र गालामा अविरले राताम्मे भएर भोट मागिरहेको भेटिए ।

त्यसबेला उनले मतदातालाई भने, ‘२/४ हजार, ५/७ हजार, ८/१० हजारमा बिक्नुभयो भने सोझै नर्कमा जान्छ, नबिक्नुहोस् है ।’

महावीरले मत नबेच्न मतदातालाई आग्रह गरेका हुन् । हरेक निर्वाचनमा कतिपय दल र स्वतन्त्र उम्मेदवारहरू करोडौँ खर्च गरेर मत किन्न लालायित भएको विवरण आइरहँदा महावीरले पैसामा मत नबेच्न सुझाएका हुन् ।

उनी केही समर्थकसहित घरदैलोमा छन् । निर्वाचन भने अबको ३३ औँ दिनमा हुँदैछ ।

काठमाडौं–४ मा आँशु, सर्लाही–४ मा चुनौती : गगन थापाको चुनावी यात्रा (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन क्षेत्र अदलीबदलीको निर्णय कठोरतापूर्वक लिएको बताएका छन् । त्यस क्रममा उनी आफू रोएको समेत खुलाए ।

तीनपटक निर्वाचन जितेको काठमाडौं– ४ छाडेर सर्लाही–४ बाट उम्मेदवार दिएपछि उनले शनिबार बिहान भने, ‘रुनु त अरुबेला पनि मन लाग्छ । कहिलेकाहीँ रुन मन लाग्दालाग्दै पनि आँशु लुकाउनुपर्छ । तर, यसपटक काठमाडौं–४ मा मैले आँशु लुकाउन सकिनँ । साढे ११ बजे १२ बजेतिर साथीहरूको बीचमा निर्णय गर्दैगर्दा त्यही कोठाभित्र मलाई बोलाउन आउने साथीहरू पनि रोइरहनुभएको थियो । म पार्टीको सभापतिको ठाउँबाट यो ठाउँ छोडेर जाँदैगर्दा म पनि रोइरहेको थिएँ ।’

उनले सर्लाही–४ मा उम्मेदवारी दिएर जोखिम मोलेको पनि बताए । काठमाडौं–४ का कांग्रेस नेता कार्यकर्तादेखि अन्य दलका नेताहरूले समेत आफूलाई निर्वाचन क्षेत्र नछाड्न सुझाएको दाबी गरे ।

विगतका निर्वाचनहरूमा भन्दा यसपटक जित्न धेरै सहज हुँदाहुँदै आफूले सर्लाही–४ गएर मधेशसँगै देशको नेतृत्व लिन चाहेको खुलाए ।

 

जिल्लादेखि केन्द्रीय नेतृत्वमा महाराज, एमालेको चुनावकेन्द्रित आक्रामक रणनीतिको मियो

काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष महाराज गुरुङ नियुक्त भएका छन् ।

अध्यक्ष क्षितिज थेबे प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार बनेपछि संघको राष्ट्रिय प्रतिनिधि भेलाले गुरुङलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।

चुनावी माहोल तातेको बेला युवासंघको अध्यक्षमा गुरुङले जिम्मेवारी पाउनुलाई संगठनलाई थप आक्रामक र चुनावी मैदानकेन्द्रित बनाउने रणनीतिक निर्णयका रूपमा हेरिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुरुङलाई नेतृत्वदायी जिम्मेवारी दिनुमा उनको लामो संगठनात्मक अनुभव, आन्दोलनको अग्रपङ्क्तिमा रहने भूमिकासँगै पार्टीप्रतिको निष्ठालाई मुख्य आधार बनाइएको नेताहरू बताउँछन् ।

दोलखाको गौरीशंकर गाउँपालिकामा जन्मिएका गुरुङ विद्यालय उमेरदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए । अखिल (अनेरास्ववियु)बाट राजनीतिक यात्रा सुरु गरेका उनी क्रमशः युवा संघतर्फ आकर्षित हुँदै संगठन विस्तार र सुदृढीकरणमा निरन्तर खटिँदै आए ।

युवा संघ नेपाल दोलखाको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष, अध्यक्ष, तत्कालीन ७५ जिल्लामध्ये उत्कृष्ट अध्यक्ष हुँदै केन्द्रीय कमिटी सदस्य, बागमती सह–इन्चार्ज, केन्द्रीय सचिव, प्रवक्ता, उपाध्यक्ष, संगठन विभाग प्रमुख भएर उनी वरिष्ठ उपाध्यक्ष भएका थिए ।

संगठनलाई केवल दलीय विचार बोकेको संरचनामा सीमित नराखी सामाजिक उत्तरदायित्व र उदाहरणीय कार्यमार्फत जनस्तरसँग जोड्नुपर्ने धारणा उनी राख्दै आएका छन् ।

युवासंघको केन्द्रीय नेतृत्वमा जिल्लाबाट आएको नेताको उपस्थिति कम रहँदै आएको अवस्थामा गुरुङको अध्यक्षमा नियुक्तिलाई संगठनभित्र ‘भूगोलबाट केन्द्रसम्मको नेतृत्व’का रूपमा पनि व्याख्या गरिएको छ । यसले संगठनभित्र जुझारुपन देखाउने र केन्द्रीय नेतृत्वसम्म पुग्न सकिने सन्देश प्रवाह भएको छ ।

नवनियुक्त अध्यक्ष गुरुङको पछिल्ला वर्षहरूमा पार्टीका आन्दोलन र गतिविधिमा भूमिका थप देखिने खालको बनेको छ । विशेषगरी जेन–जी आन्दोलनपछि सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाकर्मी फिर्ता गरेपछि पार्टीका कार्यक्रम र गतिविधिमा सुरक्षा व्यवस्थापनको अग्रपङ्क्तिमा गुरुङ नै खटिँदै आएका छन् ।

पार्टीका विभिन्न कार्यक्रम, आन्दोलन र संवेदनशील गतिविधिमा उनी स्वयं मैदानमा उत्रिएर संगठनलाई परिचालन गर्ने शैलीका कारण पनि उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘भरपर्दो युवा नेतृत्व’का रूपमा लिइने गरिएको छ । एमाले वृत्तमा गुरुङलाई संकटको बेला ढालजस्तै उभिने नेता भनेर चित्रण गरिन्छ ।

एलएलबी र बीबीएस अध्ययनरत गुरुङ संगठनभित्र वैचारिक नेताका रूपमा पनि परिचित छन् । संगठनका प्रायः सबै महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका कारण पनि अध्यक्षको जिम्मेवारी पाउनु गुरुङका लागि स्वाभाविक भएको नेताहरू बताउँछन् ।

गत वर्ष पोखरामा सम्पन्न युवा संघको महाधिवेशनमा गुरुङ ‘म्यान अफ द इलेक्सन’समेत घोषित हुनु उनको संगठनभित्रको प्रभाव र सक्रियतालाई पुष्टि गर्ने आधारका रूपमा हेरिन्छ ।

३८ वर्षीय गुरुङलाई चुनावको मुखैमा अध्यक्षको जिम्मेवारी दिनुलाई एमालेको चुनावी रणनीतिसँग जोडेर पनि विश्लेषण गरिएको छ ।

तीनकुने र बल्खु आन्दोलनलगायत पार्टीविरुद्ध केन्द्रित अभियानहरूको प्रतिवाद र संगठन परिचालनमा गुरुङको भूमिका प्रभावकारी देखिएकै कारण पार्टी नेतृत्वले चुनावी अभियानमा युवासंघलाई अझ आक्रामक ढंगले परिचालन गर्ने लक्ष्य राखेको बुझाइ छ ।

गुरुङले यसतर्फ संकेत पनि गरेका छन् । उनले नेपालवान एचडीसँग भने, ‘निर्वाचनको बेला संगठनलाई राजनीतिक र वैचारिक रूपमा सशक्त मात्रै होइन कि जुझारु संगठन बनाउन खोजिरहेका छौँ । सरकारले निर्वाचन स्वच्छ र निष्पक्ष गर्छ भन्नेमा हामी ढुक्क छैनौँ र नेपाली जनता पनि छैनन्,’ उनले भने, ‘त्यसो हुनाले वडा तहको बुथसम्मै संगठनलाई परिचालन गर्ने र नेपाली जनतालाई चाहेको पार्टी र उम्मेदवारलाई मतदान गर्ने वातावरण मिलाउन भूमिका निर्वाह गर्छौँ ।’

नवनियुक्त अध्यक्ष गुरुङले आफ्नो नेतृत्वमा युवा संघप्रतिको सार्वजनिक छवि बदल्ने दाबी गरेका छन् । पार्टी नेतृत्वविरुद्ध फैलाइएका घृणा, भ्रम र झुटा प्रचारको प्रतिवाद गर्दै युवालाई तथ्य र विचारको आधारमा संगठित गर्ने उनको रणनीति रहने बताएका छन् ।

उनका अनुसार अब युवा संघ केवल नारामा सीमित नभई सामाजिक अभियान, वैचारिक बहस र सांगठनिक सुदृढीकरणमार्फत जनतामाझ पुग्ने छ ।

यसअघि अध्यक्ष क्षितिज थेबेले ४ माघमा गुरुङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।

त्यसयता संगठनका दैनिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका गुरुङलाई अब औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी दिइनुले पार्टीभित्र उनको हैसियत र प्रभाव बढेको संकेत गरेको छ ।

देउवासँग संवादमा छु, काँग्रेस एकढिक्का भएर निर्वाचनमा जान्छः गगन थापा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर सम्वादमा रहेको बताएका छन् ।

भापति थापाले भने,‘नेपाली काँग्रेस पार्टीमा अहिले नयाँ नेतृत्व आएको छ । र यो अधिवेशनका क्रममा पार्टी भित्र केही अप्ठयाराहरु पनि रहे । तर म सबै साथीहरुलाई अनुरोध गर्न चाहन्छु–नेपाली काँग्रेस पार्टीले यस्ता अप्ठयाराहरु सहनसक्ने क्षमता नेपाली काँग्रेससँग छ । म अहिले नेपाली काँग्रेसका निःवर्तमान सभापति श्रद्धेय नेता शेरबहादुर देउवासँग पनि निरन्तर सम्वादमा छु । पार्टीका अरु नेताहरुसँग पनि निरन्तर सम्वादमा छु । नेपाली काँग्रेस पार्टी एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचनतर्फ अगाडि बढिरहेको छ । हिजोको कुरालाई लिएर कहीँकतै कसैले पनि मनमा पनि केही कुरा नराख्नु होला ।

शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निवर्तमान सभापति देउवा सहितका नेताहरुसँग निरन्तर संवादमा रहेको बताए। सभापति थापाले मुलुक निर्वाचनमा होमिएकाले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर निर्वाचनको प्रचार अभियानमा जुट्न पनि निर्देशन दिए । हिजोका कुरालाई लिएर काँग्रेसका कुनैपनि नेता, कार्यकर्तालाई पार्टीभित्र फरक मत राख्ने समय नभएको सभापति थापाको भनाई थियो । उनले निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई असहयोग गर्ने नेता, कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिए ।
 ‘फागुन २१ गते पछाडि पनि पार्टीभित्र सबै साथीहरु एक ढिक्का भएर मिलेर हामी अगाडि बढ्छौँ, त्यसैले सबै जना एकढिक्का भएर जानुपर्छ,’ थापाले भने, ‘कहीँकतै कसैलाई पनि हामीहरु हिजो कहाँ उभियौ भन्ने आधारमा न पार्टीको नेतृत्वले त्यो व्यवहार गर्छ, न गर्न हुन्छ । हामी सबै एक ढिक्का भएर जान्छौ । त्यसकारण मेरो पहिलो आग्रह नेपाली काँग्रेस पार्टी भित्र अव हिजोको कुरामा अडकिएर बस्ने समय कोहीसँग पनि छैन । हामी एक ढिक्का, एक मन भएर निर्वाचनमा जाने हो । पार्टीका उम्मेदवारलाई असहयोग गर्नेहरुलाई पार्टीले कारबाही गर्छ ।’

सभापति थापाले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूले कुनै कसर बाँकि न राख्ने पनि बताए ।

काँग्रेस सुध्रियो, अल्मलिएको काँग्रेसको विरासत हामी बोक्दैनौँः प्रवक्ता चालिसे

नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको गौरवपूर्ण इतिहास र भरपर्दो भविष्य सँगसँगै लिएर निर्वाचनमा होमिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । चालिसेले पार्टीको नीति र शैली पूर्ण रुपमा परिवर्तन भइसकेको उल्लेख गर्दै नयाँ जोशका साथ मुलुकको निर्माणमा लाग्ने बताए ।  उनले भने, ‘अहिले काँग्रेस बद्लिसकेको छ । यसको सोच, शैली र सबै प्रक्रिया नै फेरिएको छ । युवाहरुमा नयाँ जोश आएको छ । काँग्रेस बदलिएको मात्र होइन । नयाँ  अठोट र नीतिका साथ काँग्रेस आएको छ ।’

कांग्रेसको गौरवपूर्ण इतिहास रहेकाे बताउँदै अहिले नयाँ भिजन लिएर चुनावमा गएकाे बताए। अबको काँग्रेसले यो बीचमा अल्मलिएको अवस्थामा रहेको काँग्रेसको विरासतलाई नबोक्ने उनको जिकिर छ ।  ‘बीचको काँग्रेसको विरासत हामी बोक्दैनौँ, जुन अल्मलिएको अवस्थामा थियो । अब हामी नवीनता बोकेर आएका छौँ । सुध्रिएर आएका छौँ । बिचको विरासतको जवाफदेही हामी छैनौँ । त्यो बिर्सन चाहान्छौँ, अब त्यसको पुनरावृत्ति हुदैन । २००७ सालमा वीपीले दिएको योगदानसँग अबको काँग्रेस जोड्न चाहन्छौँ ।’

अब पार्टीलाई हरेक वर्ग र समूदायको बनाएर यही भावका साथ अघि बढ्ने चालिसेको जिकिर छ ।

विप्लवको आरोप: प्रचण्डले कम्युनिष्ट आन्दोलन बदनाम पारे

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट आन्दोलनको कुरुप चित्र भएको टिप्पणी गरेका छन् ।

पार्टीको केन्द्रिय समितिको आकारले सिंगो कम्युनिष्ट पार्टीको बद्नाम गरेको पनि महासचिव विप्लवको जिकिर थियो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लैजाने सहमतीबाट भागेर प्रचण्डले यस्तो पार्टी बनाएको आरोप समेत लगाए । महासचिव विप्लवले धेरै मानिस जम्मा गरेर कम्युनिष्ट ठूलो भयो भन्ने ठान्नेहरुसँग आफ्नो एकता हुन नसक्ने पनि बताए ।

उनले भने,‘समाजवादी मोर्चामा पनि हामी बस्यौँ । एकता होस् भनेर हामीले अस्ती अन्तिम समयसम्म पनि प्रयत्न गर्‍यौँ । तर बाहिर हल्ला के गरियो भने नेकपा (माओवादी) र विप्लवहरु चाहीँ एकतामा आएनन् । पछि हटे । त्यो कुरा झुटो कुरा हो ।’

उनले  प्रचण्ड आफैं एकताबाट भागेको आरोप लगाए । ‘प्रचण्डको नेतृत्वमा समाजवादी मोर्चा क्रान्तिकारी मोर्चाको मान्यता, मर्म र उद्देश्यबाट भागेको हो,’ उनले भने, ‘भागेर उहाँहरुले पार्टी त बनाउनु भएको छ । तर त्यो पार्टी जस्तो छैन । त्यो मोर्चा जत्तिको पनि छैन । अहिले त्यो पार्टी हेर्नुभयो भने २५ सय, ३ हजारको केन्द्रिय सदस्य । यो कम्युनिष्ट आन्दोलनको हुर्मत लिनेकुरा हो । यो बेइजत गर्ने, बद्नाम गर्ने कुरा हो ।’

महासचिव विप्लवले निर्वाचनको प्रचार अभियानका क्रममा आफू देश दौडाहामा निस्कने पनि बताए ।

१२ जना हत्याको जिम्मेवारी रवि–बालेनले लिनुपर्छ : महेश बस्नेत (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहे १२ जना हत्याको जिम्मा लिनुपर्ने बताएका छन् ।

कारागारबाट लामिछाने जेन–जी विद्रोहको बेला निकालिएपछि फरार हुने क्रममा १० जना कैदीको मारिएका थिए । फरार भएका एक जना कैदीले काभ्रेमा श्रीमती र अर्का कैदीले धादिङमा आमाको हत्या गरेका थिए । यी १२ जना हत्याको जिम्मा रवि र बालेनले लिनुपर्ने एमाले सचिव बस्नेतले बताएका हुन् ।

‘कि बालेन आऊ कि रवि लामिछाने जेलबाट भाग भनेर उकास्ने को–को हो ? कसको स्टाटसले यिनै उकासिए र रवि १४ हजार कैदीसँगसँगै निस्किए’, उनले आक्रोशित हुँदै भने, ‘उनी निस्किँदा १० जना कैदी मरे, त्यो मध्येको दुई जना कैदीमा एक जना काभ्रे गएर श्रीमती मार्‍यो र एउटाले धादिङमा आमा मार्‍यो । त्यो भाग्ने क्रममा १० जना कैदी र आमा र श्रीमती मार्नेगरी १२ जनाको हत्याको जिम्मा रवि लामिछानेले लिनुपर्छ, बालेनले लिनुपर्छ ।’

उकास्ने राजीव बस्नेत, निश्चल बस्नेत र हिमेश पन्तलाई पनि १२ जनाको हत्यामा जिम्मेवार ठहर्‍याउनुपर्ने सचिव बस्नेतले बताए ।

उनले बालेनलाई ‘घुमन्ते उम्मेदवार’ भन्दै त्यस्ता उम्मेदवारहरूलाई जनताले ‘बाईबाई’ गर्दै रैथाने उम्मेदवारलाई ‘हाईहाई’ गर्नुपर्ने उल्लेख छ ।

‘यसपालिको चुनावमा घुमन्ते उम्मेदवार बाईबाई, रैथाने उम्मेदवार हाईहाई, नेकपा एमाले जिन्दावाद, घुमन्ते उम्मेदवार मुर्दावाद, यो नारा तपाईंले लगाउनुपर्ने छ,’ उनले भने, ‘अहिले घुमन्ते उम्मेदवार देशभरी जाने चलन रास्वपाले निकालेको छ, घुमन्तेहरूलाई घुमाइदिनुहोस्, विकास देखाइदिनुहोस्, समृद्धि देखाइदिनुहोस्, भोट नेकपा एमालेलाई हाल्नुहोस् ।’

बस्नेतकै निर्वाचन क्षेत्र भक्तपुर– २ मा यसपटक रास्वपाका राजीव खत्री उम्मेदवार छन् ।

अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा रास्वपाकै बालेन्द्र शाह छन् । यी दुवै उम्मेदवारलाई सचिव बस्नेतले घुमन्ते उम्मेदवार भन्दै उनीहरूलाई पराजित गर्न मतदातासँग आग्रह गरेका हुन् ।

 

समाजवादको नयाँ सन्देश दिन रुकुम पूर्वबाट उम्मेद्वार बनेँः संयोजक दाहाल

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेद्वार बनेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले रुकुम (पूर्व) नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गरे ।

पूर्वी रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्दै उनले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारु लगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताए । चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको उनको भनाइ छ ।

उनले भने, ‘रुकुम पूर्वको विशेषता के छ भने पुर्वी रुकम नै त्यस्तो जिल्ला हो, जहाँवाट नेपालमा गणतन्त्र अब कसैले रोक्न सक्दैन भनेर निष्कर्ष निकालिएको थियो र त्यो घोषणा गरिएको थियो । रुकुमको चुनवाङ बैठक । तपाई हामी सबैलाई गर्व छ, चुनवाङप्रति । त्यो चुनवाङ खाली नेपालमा मात्रै परिचित छैन, त्यसले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको ढोका खोलेको हो, चुनवाङ बैठकले । त्यो संसारभरी पनि परिचित छ । जहाँबाट महिला, जनजाती, मधेसी, थारु लगायत सबै उत्पीडित समुदायको लागि समावेशी र पहिचानसहित अधिकार दिनेगरि संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल पुर्या‍‍उने उद्घोष गरिएको थियो ।’

संयोजक दाहालले रुकुम पूर्वकै लवाङ बैठकमा पार्टीभित्र एतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गरे । अहिले देश जेन-जी आन्दोलनपछि जटिल अवस्थामा रहेको उनको भनाई छ । राष्ट्रलाई एकताबद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिने र देशभर समाजवाद निर्माणको नयाँ सन्देश प्रवाह गर्न रुकुम पूर्व उपयुक्त थलो भएको बताए । उनले सोही कारण आफू आगामी फागुन २१ गते हुने निर्वाचनको लागि रुकुम पूर्ववाट उम्मेद्वार बनेको बताए । रोल्पाबाट पहिले नै निर्वाचन लडिसकेकाले यसपटक रुकुमपूर्व रोजेको उनको भनाई छ ।  

‘देश खासगरि जेनजी आन्दोलन भदौ २३ को र २४ को विध्वंशपछि असाधारण जटिल परिस्थितिबाट गुज्रिएको छ,’ स‌ंयाेजक दाहालले भने, ‘राष्ट्र निकै ठूलो अफ्ठ्यारोमा छ । त्यसकारण राष्ट्रलाई एकतावद्ध गर्ने, अनि आन्दोलनलाई एउटा नयाँ उचाई दिने र देशभरी समाजवाद निर्माणको एउटा नयाँ सन्देश दिने उपयुक्त थलो कुन हुनसक्छ भन्दा हाम्रो पार्टीले र मैले रुकुम पूर्व नै त्यस्तो ठाउँ हो हुनसक्छ भनेर आएँ । किनकी रोल्पामा म पहिले नै चुनाव लडिसकेको थिएँ।’ 

उनले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरी औपचारिक तथा कानुनी मान्यता दिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि विधेयक बने पनि पूर्ण रूपमा लागू हुन बाँकी रहेको बताए ।

झापा–५ मा बालेनबाट जोखिम नभएको एमालेको विश्लेषण (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा–५ मा एमालेलाई कुनै जोखिम नभएको विश्लेषण पार्टीको रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा देखिने लोकप्रियताले मतदाता तहमा कुनै प्रभाव नपारेको र त्यसले परिणाममा तलमाथि नगर्ने उनको भनाइ छ ।

‘होला, सोसल मिडियामा हुने हल्लाखल्लाले एक प्रकारको प्रभाव त पारेको छ तर मतदाताकाबीचको कुराकानी गर्नुहुन्छ भने हामी झापा–५ मा सुरक्षित अवस्थामा छौँ,’ उनले भने, ‘त्यहाँ कुनै किसिमको जोखिम छैन भन्ने कुरा तपाईंहरुको बीचमा राख्न चाहन्छु ।’

उनले झापा–५ का मतदाताहरूलाई ‘विद्रोही जनता’को रूपमा चित्रण गरे ।

‘झापा– ५ का जनता राजनीतिक रूपमा जागरुक जनता हुन्, जसले पञ्चायतविरुद्ध विद्रोहको शंखघोष गरे । त्यो ठाउँका जनताहरू जसले हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरे,’ उनले भने, ‘त्यो ठाउँका जनताहरू लोकप्रियतावाद र अराजकतावादको प्रभावमा परिकन परिणामलाई नै तलमाथि पार्न सक्छन् भन्ने खालको मान्यता पार्टीको छैन ।’

महासचिव पोखरेलले लोकप्रियता र अराजकता भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गरेका हुन् ।

बालेन्द्र झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा छन् ।

 

निर्वाचन मुलुकलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको लडाईं होः एमाले महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किज्मका नाममा नेपाली समाजलाई विभाजित गर्ने दुष्प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले जेन–जी आन्दोलनको नाममा युवापुस्ताको भावनामाथि खेल्दै विदेशी शक्तिले देशमाथि प्रभाव जमाउने प्रयास गरिरहेको आरोप पनि लगाए ।

महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरू जेन–जी युवाहरूको आन्दोलनलाई अपहरण गरी देशविरोधी शक्तिले आफ्नो नियन्त्रणमा लिएको उदाहरण भएको टिप्पणी पनि गरे । उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन राष्ट्रका पक्षमा उभिने शक्ति र विदेशी इसारामा भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने शक्तिबीचको द्वन्द्वको रुपमा हेरिनुपर्ने तर्क गरे ।

आगामी निर्वाचनलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको छनोटका रूपमा जनतामाझ लैजानुपर्ने आवश्यकता रहेको पनि बताए । मुलुकलाई जलाउने नभई बनाउने शक्तिले मात्रै देशलाई समृद्धिको बाटोमा लैजानसक्ने भन्दै युवाहरूलाई त्यसको पक्षमा भूमिका खेल्न आह्वान गरे।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटना जेनजी युवाहरुको भावनामा खेलेर उनीहरुको आन्दोलनलाई अपहरण गरिकन देश विरोधी शक्तिहरुले कब्जा गरेको अवस्था हो । आज यो मुलुक राष्ट्रका पक्षमा उभिने की भूराजनीतिक द्धन्द्धको क्रृडास्थल बनाउनको लागि विदेशी शक्तिको ईशारामा नाच्ने भन्नेहरुबीचको द्वन्द्व हो भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ । त्यसअर्थमा हाम्रो पार्टीले भनेको छ आउने निर्वाचन जलाउनेहरुको पक्षमा कि बनाउनेहरुका पक्षमा भनेर जनताका बीचमा जानुपर्दछ । जलाउनेहरुले नभई बनाउनेहरुले नै मुलुकलाई समृद्धको बाटोमा लैजान सक्दछन् । हामी बनाउनेहरुका पक्षमा जनतालाई परिचालन गर्ने कुरामा हाम्रा युवा साथिहरु अग्रसर रहनुपर्छ भन्ने कुरा म तपाईहरुका बिचमा राख्न चाहन्छु । आज हाम्रो मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने प्रयत्न भइरहेको छ । आज नेपाली समाजमा राजनीतिक दलहरुमाथि, राज्य व्यवस्थामाथि जुन प्रकारको प्रहार भएको छ । के एउटा देशभक्त नागरिकले त्यसो गर्न सक्दछ ।’

पोखरेलले अहिले राजनीतिक दलहरुसँगै राज्यसत्तामाथि भएको प्रहार देशभक्त नागरिकले गर्न नसक्ने भन्दै विदेशी शक्तिको हात रहेको आंशका गरे ।

ओलीलाई झापा ५ मा चुनाव जित्न कुनै समस्या छैनः शंकर पोखरेल

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा निर्वाचनमा विजयी हुन कुनैपनि समस्या नरहेको दाबी गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको सामाजिक सञ्जालमा हल्लाखल्ला भएपनि सो निर्वाचन क्षेत्रमा अध्यक्ष ओलीलाई जित्न समस्या नहुने उनको भनाई थियो । शुक्रबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाता राजनीतिक रुपमा सचेत रहेकाले त्यहाँ लोकप्रियतावादको नाममा फस्ने कुनै सम्भावना रहेको पार्टीको निष्कर्ष रहेको समेत बताए ।

महासचिव पोखरेलले भने,‘जहाँसम्म झापा ५ को सन्दर्भ छ । झापा ५ का जनताहरु राजनीतिक रुपमा जागरुक जनता हुन् । किनकी जसले पञ्चायतको विरुद्ध युद्धको शंकघोष गरे । त्यो ठाउँका जनताहरु जसले हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरे । त्यो ठाउँका जनताहरु पपुलिजम र एनार्किजमको प्रभावमा परिरहन परिणामलाई नै तलमाथि पार्न सक्दछन भन्ने खालको मान्यता पार्टीको छैन । होला सोसल मिडियामा हुने हल्लाखल्लाले एक प्रकारको प्रभाव त पारेको छ । तर मतदाताको बीचका कुरा गर्नु हुन्छ भने हामी झापा ५ मा पनि सुरक्षित अवस्थामा छौ । त्यहाँ कुनै प्रकारको जोखिमको अवस्था छैन ।’

उनले राष्ट्रिय राजनीतिमा दाङको भुमिकालाई स्थापित गराउनका लागि पनि दाङका जनताले आफूलाई निर्वाचनमा विजयी गराउने विश्वास व्यक्त गरे ।

‘जहाँसम्म दाङ जिल्लाको सन्दर्भ छ, विगतमा राजनीतिक दलहरुको बीचमा गठबन्धन भयो , महागठबन्धन भयो ,’ उनले भने, ‘दाङ जिल्ला फेरि यस्तो जिल्ला हो, जहाँ माओवादीको पनि प्रभाव क्षेत्र हो । नेपाली काँग्रेसको परम्परागत प्रभाव क्षेत्र रहेको पनि हो । त्यस्तो जिल्लामा प्रमुख पार्टीहरुबीच गठजोड रहँदा पनि नेकपा एमालेले २ सय भन्दा कम मतमा चुनाव हारेको हो । अहिले राजनीतिक दलहरु एक्लाएक्लै चुनाव लडेको अवस्था र अर्कोतर्फ विगतमा शंकर पोखरेलले चुनाव हार्दा दाङ जिल्लाले धेरै अवसरहरु गुमायो भन्ने त्यहाँको अनुभुति नै दाङ जिल्लामा अहिले दंगाली जनताको बीचमा चर्चा, छलफल र बहसको विषय बनेको मैले महसुश गरेको छु । त्यस अर्थमा यस पटकको चुनावमा दंगाली जनताको राष्ट्रिय राजनीतिमा दाङको भुमिकालाई स्थापित गर्ने गरी शंकर पोखरेललाई जिताउनु पर्छ भन्ने निष्कर्षमा पुगेको मैले पाएको छु ।

महासचिव पोखरेलले निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले पनि रोक्न नसक्ने जिकिर गरे । त्यस अवसरमा उनले काँग्रेससँग आफ्नो पार्टीको प्रतिष्पर्धा हुने पनि बताए ।

ओलीमाथि व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछः महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्या आरोप लगाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो बताएका हुन् । भदौ २३ गतेको जेन—जी आन्दोलनको क्रममा २३ जनाको मुत्यु भएको उल्लेख गर्दै उनले अध्यक्ष ओलीले प्रधमानमन्त्रीको हैसियतमा मृतकका परिवारलाई क्षतिपूर्ति दिने तथा शहीद घोषणा गर्ने निर्णय गरेको बताए ।

उनले भने, ‘आज पूर्वप्रधानमन्त्रीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछ । सेनाले भदौ २३ मा १९ जनाको मृत्यु भएको जानकारी दियो ।  अध्यक्षजूले आफूले प्रधानमन्त्रीको हैसियतमा ततकाल मन्त्रिपरिषद् बैठक बोलाएर मृतकका आफन्तलाई क्षतिपूर्ति दिने र उनीहरुलाई शहीद घोषणा गर्ने निर्णय गर्नुभयो। भदौ २४ गते जब हाम्रो संविधान हाइज्याक गरियो, सेना, प्रहरी सबै हाइज्याक भए, युवाहरुको दिमाग नै हाइज्याक गरेर सिंहदरबार, सर्वोच्च अदालत लगायतका संवैधानिक संस्थाहरु जलाउने षड्यन्त्र गरियो भन्नुभएको छ । म यी साथीहरुलाई सोध्न चाहन्छु बालेन आउ, बालेन नआउने भए रविजीलाई जेलबाट निकाल भन्ने को हो ? कसको स्टाटसले यिनीहरू उकासिए ?’

२४ भदौमा संविधान र सुरक्षा निकायहरु नै हाइज्याक गरेर देशलाई ध्वस्त पार्ने षड्यन्त्र गरिएको उनको भनाइ छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै देशभरबाट १४ हजार कैदी भागेको टिप्पणी गरे ।

उनले भागेकामध्ये दुई जना कैदीको मृत्यु हुनुका साथै दुई जना फरार कैदीले आमा र श्रीमतिको हत्या गरेको भन्दै यसको जिम्मेवारी सभापति लामिछानेले लिनुपर्ने जिकिर गरे ।

‘रवि १४ हजार कैदीसँगै आफू पनि निस्किए ? त्यसमध्ये १० जना कैदी मरे ,’ सचिव बस्नेतले भने, ‘दुई जनाले आमा र श्रीमति पनि मारे । त्यो १२ जना मारेको जिम्मा रवि लामिछानेले लिनुपर्छ । बालेनले लिनुपर्छ । यिनीहरुलाई उकास्ने राजीव खत्री, निश्चल बस्नेत र हिमेश पन्तले लिनुपर्छ । यीनका हिसाबकिताब एक एक गरी हुन्छ ।’

उनले मुलुकमा आगजनी र लुटपातमार्फत भएको क्षतिको जिम्म लामिछानेसँगै बालेन्द्र साहले लिनुपर्ने जिकिर गरे ।

उनले आन्दोलनको नाममा भएको ध्वंसको सबै हिसावकिताव गर्ने चेतावनी समेत दिए । उनले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको पनि टिप्पणी गरे ।

एमालेको चुनावी रणनीतिः फागुन पहिलो हप्तामा घोषणापत्र, नीतिगत बहस र विकास मुल मुद्दा

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताउएका हुन् । उनले निर्वाचनका लागि पार्टीको तयारी तिब्र पारेको बताए। निर्वाचन आयोगको ढिलो कार्यतालिका र प्रचार समयसीमाका कारण अहिले मुख्य रूपमा आन्तरिक भेटघाट, संगठन मजबुती र उम्मेदवार छनोटको काम सकिएको उहाँले जानकारी दिए । पोखरेलले यो निर्वाचनलाई मुलुकको दिशा फेर्ने जनमत संग्रहको रूपमा हेर्दै पार्टीले नीतिगत बहस, सामाजिक एकता, पारिवारिक मूल्य संरक्षण र विकास आयोजना लाई प्रमुख मुद्दा बनाएको स्पष्ट पारे । उनले व्यक्तिवादी वा सामाजिक सञ्जालमा आधारित पपुलिजमलाई चुनौती दिँदै चुनावलाई एजेण्डा र कार्यक्रमको बहस बनाउनुपर्नेमा जोड दिए ।

चुनावी तयारीः फाल्गुन पहिलो हप्तामा घोषणापत्र सार्वजनिक
निर्वाचन आयोगले उम्मेदवारी दर्तापछि मात्र प्रचार कार्यतालिका दिएको छ । अहिले आन्तरिक भेटघाट र संगठनात्मक काम भइरहेको छ । फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गरेर उम्मेदवारहरू जनताका बीचमा पुग्ने उनले बताए । एमालेले संस्थागत प्रक्रियामार्फत समानुपातिक र प्रत्यक्ष उम्मेदवार छनोट गरेको र अन्य दलहरूभन्दा व्यवस्थित रहेको उनको दाबी छ ।

नीति र एजेण्डामा आधारित चुनाव आवश्यकः व्यक्तिवादलाई अस्वीकार
लोकतन्त्र संवादको प्रणाली भएको भन्दै उनले चुनावलाई नीति र कार्यक्रम को बहस बनाउनुपर्नेमा जोड दिए ।
“व्यक्तिवादी वा अनुहारमा आधारित विकल्प लोकतान्त्रिक होइन,’ उनले स्पष्ट पारे, ‘वास्तविक विकल्प एजेण्डा बाट निर्धारण हुन्छ, अनुहार पुरानो हो वा नयाँ हो भन्ने कुराले होइन ।”

सामाजिक सञ्जालमा आधारित घृणा र पपुलिजम लोकतन्त्रको लागि ठूलो चुनौतीभएको बताउनु भयो ।

झापा ५ र दाङमा मजबुत आधारः जनताको विश्वास बढ्दो
झापा ५ का जनता जागरूक रहेको र पपुलिजमको प्रभावमा नपर्ने पार्टीको विश्लेषण छ । दाङमा विगतका गठबन्धन हुँदा पनि न्युन मतान्तरले हारेको स्मरण गर्दै यसपटक दाङले राष्ट्रिय राजनीतिमा निर्णायक भुमिका खेल्न शंकर पोखरेललाई जिताउने निष्कर्षमा जनता पुगेको महशुस गरेको उनले बताए ।

दाङ चार लेनको सडकः एमालेको निर्णायक पहल
दाङको फोरलेन निर्माण भारतीय एक्सिम बैंकको ऋणमा जटिलता आएपछि पोखरेलले आफैंले मन्त्रालयसँग छलफल गरी नेपाल सरकारकै स्रोत बाट अघि बढाउने निर्णय गराएका थिए । ‘अहिले कामले गति लिएको छ, दंगालीहरू आशावादी छन् ,” उनले भने । यो परियोजनालाई गेम चेन्जर को रूपमा प्रस्तुत गरिएको उनकाे भनाई छ ।

चुनावी आँकलनः एमाले पहिलो स्थानमा, लोकप्रिय मत ३०–३४ प्रतिशत पुग्ने

एमाले पहिलो स्थानमा आउने दाबी गर्दै पोखरेलले भदौ २३/२४ को घटनालाई हेर्ने दृष्टिकोणमा एमाले एक्लो तर बलियो रहेको विश्लेषण गरे ।

“विगतमा २७ प्रतिशत लोकप्रिय मत थियो, यसपटक ३०–३४ प्रतिशत पुग्ने अनुमान छ । मत विभाजनले बहुमत वा लार्जेस्ट पार्टी बन्ने सम्भावना उच्च छ,” उनले भने। मुख्य प्रतिष्पर्धा काङ्ग्रेससँग रहेको र रास्वपाको प्रभाव जित्ने तहसम्म नपुगेको आँकलन छ ।

शहरी क्षेत्रमा रास्वपाको प्रभाव घट्दै
काठमाडौं जस्ता प्रमुख शहरहरूमा रास्वपाको शुरुवाती जोश अब कमजोर हुँदै गएको उनले बताए । महासचिव पोखरेलकाअनुसार पार्टीको जन्म र उदय मुख्यतः शहरी युवा, शिक्षित तथा मध्यम वर्गको असन्तुष्टिबाट भएको थियो । बालेन साहको मेयर जित र रवि लामिछानेको लोकप्रियताले ठूलो प्रभाव पारेको थियो । तर हाल सहकारी ठगी जस्ता मुद्दा, संगठनात्मक कमजोरी र युवा मत फरक दिशामा जाने सम्भावनाले गर्दा शहरी मत घट्ने पोखरेलको अनुमान छ । काठमाडौंमा रास्वपा अब प्रतिष्पर्धामा कमजोर वा छैन भन्ने विश्लेषण नै चलेको उनको भनाइ छ । जुन पार्टीको उद्गम स्थल भएको ठाउँमा अनौठो लाग्नसक्ने उनको भनाइ छ ।

ग्रामीण क्षेत्रमा रास्वपाको प्रभाव बढ्दै तर सिमित
ग्रामिण क्षेत्रमा भने रास्वपाको प्रभाव पहिलेको तुलनामा बढेको देखिएको उनले बताए । पार्टीले गाउँगाउँमा संगठन विस्तार गरेको छ । युवा तथा स्थानीय असन्तुष्टिमा ध्यान दिएको छ र जागरण फैलाएको छ । मत प्रतिशतमा सुधार आउने सम्भावना छ । तर यो प्रभाव चुनाव जित्ने तहसम्म पुगेको छैन । संगठनात्मक कमजोरी, पुराना दलहरूको गहिरो जरा, स्थानीय नेटवर्कको अभाव र ग्रामिण मतदाताको परम्परागत बानीले गर्दा निर्णायक जित हासिल गर्न गाह्रो रहेको उनले बताए । उनका अनुसार प्रभाव बढेको छ, तर जित्ने स्तरमा पुग्न अझै बाँकी छ ।

नेपाली काँग्रेसलाई कमजोर ठान्नु गल्ती
महासचिव पोखरेलले नेपाली काँग्रेसलाई प्रचार कम भएकै कारण कमजोर ठान्नु नहुने बताए । यो देशको सबैभन्दा पुरानो पार्टी हो, जसको तल्लो तहका कमिटीहरूमा बलियो आधार छ । साइलेन्ट मतदाता (चुपचाप मत दिने, प्रचारमा नदेखिने तर निर्णायक हुने) को ठूलो हिस्सा काँग्रेसकै पक्षमा रहने अनुमान छ । हालका राष्ट्रिय सभा निर्वाचन जस्ता परिणामले पनि काँग्रेसको आधार प्रमाणित गरेको छ । शहरी क्षेत्रमा रास्वपा कमजोर हुँदा काँग्रेसले त्यहाँ फाइदा लिनसक्छ, ग्रामीणमा त यसको जरा पहिल्यै गहिरो छ । प्रचार कम गरे पनि संगठन र मतदाता आधारले काँग्रेसलाई मजबुत बनाइराख्ने पोखरेलको दाबी छ ।

सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल

दमक।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर एवं एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले डेढ खर्ब भन्दा बढीको क्षती हुने गरी व्यक्तिगत र सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने बताएका छन् ।

एमाले मनकामना टोल कमिटी दमक ८ले आज आयोजना गरेको टोल भेलालाई सम्वोधन गर्दै पार्टी केन्द्रीय दाहालले गत भदौं २३ र २४ गते जेनजी तोडफोड गर्न बन्द कोठामा बसेर उक्साउने बालेन शाहलाई भोट दिन नहुने बताए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रको विकासका लागि गरेको योगदान अतुलनीय रहेको बताए । उनले ओलीको भूमिका स्थानीय विकास मात्र नभइ राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणका लागि महत्वपूर्ण रहेको बताए ।

पार्टीको मनकामना टोल कमिटी अध्यक्ष पोष्टनाथ निरौलाको अध्यक्षतामा भएको टोल भेलामा मुलुकलाई ध्वस्त पार्ने,राजनीतिक दर्शन केही नभएको उम्मेद्वारबाट मुलुकको विकास सम्भव नहुने नेता दाहालले बताएका छन् ।

टोल भेलामा सहभागी अगुवा कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकले राखेको प्रश्नको जवाफ दिँदै नेता दाहालले सूर्य चिन्हमा मतदान गरी एमालेलाई नजिताए सम्म देश,क्षेत्र वडा र टोलको विकास अधुरो रहने बताएका छन् ।

भेलामा सहभागी चन्द्रकला मिश्रले दमक८मा धनीपुर्जा वितरणको काम किन भएन भन्ने प्रश्नको जवाफ दिँदै एमाले र काग्रेस सरकारमा रहेर धनीपुर्जा वितरणको तयारी गरीरहेको बेला जेनजी आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले आयोग खारेज गरेका कारण समयमा काम हुन नसकेको बताए । सर्वोच्च अदालतले आयोग पुनर्स्थापना गरेपछि आयोगको काम पुन अघि बढेको बताए ।

अहिले आयोगलाई काम गर्न कर्मचारी नपठाएर सरकार नै बाधक रहेको पार्टीका केन्द्रीय सदस्य झापा क्षेत्र न‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍. ५को निर्वाचन परिचालन समितिको संयोजक दाहालले प्रष्ट पारे।

अध्यक्ष ओली उम्मेदवार भएको झापा ५ मा एमालेले २९ वटै वडामा वडा र टोल कमिटी गठन गरेर निर्वाचनको प्रचार प्रसार व्यापक बनाइरहेको छ ।

म सिंगो नेपालको हुन मधेश आएको हुँ – गगन थापा (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू चुनाव लड्ने ठाउँ कहीँ नपाएर सर्लाही–४ नआएको बताएका छन् ।

अघिल्लोपटक काठमाडौं–४ मा चुनावी प्रतिस्पर्धा गर्न गाह्रो भएको तर यसपटक सहज हुँदाहुँदै उनी सर्लाही–४ आएको बताए ।

‘म काठमाडौंमा तीनपटक निर्वाचित भएको सांसद हुँ । अघिल्लो निर्वाचन मलाई गाह्रो थियो । यो निर्वाचन बढो सजिलो निर्वाचन हो,’ उनले भने, ‘म सर्लाही नजाने बेलासम्म नेकपा एमालेको उम्मेदवार नै थिएन । राष्ट्रिय स्वतन्त्र पार्टीले सोही क्षेत्रको नपाएर बाहिरको ल्याएर उम्मेदवार बनायो ।’

उनले पहाड बुझेको र काठमाडौंमा जन्मिएर हुर्केको भन्दै मधेसको आफूलाई बनाउन नसकिए सिंगो देशको नहुने बताए । ‘म सिंगो नेपालको हुन आएको हुँ’, उनले भने ।

थापा कांग्रेसबाट भावी प्रधानमन्त्रीका घोषित उम्मेदवार हुन् । त्यसतर्फ संकेत गर्दै उनले सिंगो नेपालको आफू हुन मधेसमा निर्वाचन लड्न झरेको उल्लेख गरे ।

थापाले काठमाडौं–४ बाट २०७०, २०७४ र २०७९ मा चुनाव जितेका थिए । त्यसअघि २०६४ मा उनी कांग्रेसका समानुपातिक सभासद थिए ।

 

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा यतिबेला ठूला साना दलहरु घोषणापत्र लेखनमा व्यस्त छन् । उनीहरुले घोषणा पत्र लेखनलाई अन्तिम चरणमा पुर्‍याइरहँदा निजी क्षेत्रले समेत चासो देखाइरहेको छ । आगामी ५ वर्षका लागि जनादेश लिएर आउने दलहरुले घोषणापत्रअनुसार काम गर्ने भएकाले निजी क्षेत्रले समेत चासो बढाएको छ । खासगरी मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका खेल्ने उर्जा, पर्यटन, निर्माण क्षेत्र हो । ती क्षेत्रका अगुवाहरुले दलहरुको घोषणापत्र व्यवहारिक, कार्यान्वयनमुखी हुनुपर्ने बताए । उनीहरुकाअनुसार अब निर्वाचनपछि राजनीतिक स्थायित्व कायम हुनुपर्छ । लगानीको वातावरणका लागि नीतिगत रुपमा ठूलो सुधारको खाँचो रहेको छ ।
स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले राजनीतिक दलहरुले यो देशलाई समृद्ध बनाउने भनेर घोषणापत्रमा एजेण्डा ल्याएपनि कार्यान्वयन हुन भने नसकेको बताए । उनले कृषि, पर्यटन, सुचना प्रविधिदेखि खनिजसम्मका कुराहरु भएपनि उर्जा विकासमा दलहरु अनुदार रहेको गुनासो गरे । कार्कीकाअनुसार राजनीति दलले मुलुकलाई समृद्धिको बाटोमा लैजाने भए उर्जा क्षेत्रको विकासका मुद्दालाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ ।
राजनीतिक दलले घोषणापत्रमा उर्जालाई प्रमुख प्राथमिकता दिएको देखिएपनि काम गर्दा भने प्राथमिकतामा नराख्ने गरेको उनको आरोप छ ।
अध्यक्ष कार्कीले भने, ‘सबैभन्दा पहिला कृषि, पर्यटन, सूचना प्रविधिदेखि खनिजसम्मका कुराहरु गर्ने गरिएको छ । यी सबै कुरा पूरा गर्नका लागि उर्जा नभइ हुँदैन भन्ने राजनीति दलहरुले बुझ्न जरुरी छ ।’
राजनीतिक दलहरुले पहिला पनि उर्जा क्षेत्रलाई घोषणापत्रमा प्राथमिकतामा राख्थे तर काम गर्दा प्राथमिकतामा नराखेको उनको भनाई छ ।
अहिले नेपालले १० वर्षमा १० हजार मेगावाट विद्यु्त बेच्न सम्झौता गरिसकेको छ । बंगलादेशमा पनि बिक्रीका लागि सम्झौता भइसकेको छ । ‘भोली यसलाई बढाउने भन्ने कुराहरु आइरहेका छन्, नेपालभित्र प्रचुर मात्रमा सम्भावना पनि छ र विद्युत बढी भन्दा बढी खपत गर्न सकिन्छ भन्ने तथ्यांकले देखाउँदै आएको छ,’ अध्यक्ष कार्कीले भने, ‘अहिले हामी झन्डै २३–२४ सय मेगावाट बत्तिमात्रै बालेको अवस्था छ । अब राजनीति दल, आउने सरकारले नेपालमा बढी भन्दा बढी बिजुली कसरी खपत गर्न सकिन्छ, त्यसलाई प्राथमिकता दिनुपर्छ ।’
विद्युत खपत गर्दा थ्रुपै विद्युत पूवार्धार बनाउनुपर्ने भएकाले लगानीमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए ।
‘हामीले जतिसुकै खपत गरेपनि बर्खामा बढी बिजुली हुन्छ, त्यसलाई स्टोरेज गर्ने र धेरै भन्दा धेरै बिजुली उत्पादन विक्री गरेर मुलुकलाई समृद्धिको बाटोमा लैजान दलहरुले सोच्नुपर्छ,’ कार्कीले भने ।
उर्जा उत्पादक कार्कीले विद्युत उत्पादन नभएसम्म जतिसुकै ठूला कुरा गरेपनि मुलुक समृद्ध हुन नसक्ने बताए ।
अध्यक्ष कार्कीकाअनुसार निजी क्षेत्रले २६ वर्षमै ३३ सय मेगावाटभन्दा बढी उत्पादन गरिसकेको ५७ सय मेगावाट बराबरका १९० आयोजना निर्माण गरिरहेको तथा ३६ हजार ३ सय ३६ मेगावाटका ९५८ आयोजना निर्माणको चरणमा छ । विद्युत उत्पादनका लागि करिव १३ खर्ब रुपैयाँ बराबरको लगानी भैसकेको क्षेत्रमा पछिल्लो समयमा विभिन्न चुनौती थपिएको छ । दलहरुको घोषणापत्रमा स्पष्ट रुपमा निजी क्षेत्रलाई अघि बढाउनुपर्छ ।
इप्पान अध्यक्ष कार्कीले जल तथा ऊर्जा आयोगको अध्ययनले नेपालमा ४८ हजार मेगावाटका जलाशययुक्त र ७२ हजार मे.वा. भन्दाबढी जलप्रवाही आयोजना गरिजम्मा १ लाख २० हजार मेगावाट उत्पादन गर्नसक्ने क्षमता भएपनि हालसम्म ४ हजार उत्पादन भएको बताउँदै थप विद्युत उत्पादनमा जोड दिने बेला आएको बताए । उनका अनुसार राष्ट्रिय योजना आयोगले पनि १६ औ पञ्चवर्षीय योजनामा विद्युत उत्पादन क्षमता ८ हजार ५ सय मेगावाट र दीर्घकालीन लक्ष्य अन्र्तगत विक्रम संवत २१०० भित्र ४० हजार मेगावाट उत्पादन, ऊर्जा विकास मार्गचित्र, २०८१ ले सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट तथा तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) ले सन् २०३० भित्र १४ हजार र सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पु¥याउने लक्ष्य हासिल गर्नका लागि स्पष्ट नीति र योजनाका साथ अघि बढाउने गरी घोषणापत्रमा समावेश गर्नुपर्छ ।
कार्कीकाअनुसार अहिले विद्युत उत्पादन गर्न कानूनी अड्चनदेखि विभिन्न झन्झटहरु व्यहोर्नुपरिरहेको छ । त्यसमा अब आउने सरकारले सम्बोधन गर्नैपर्छ ।

दुई ठूला एयरपोर्ट सञ्चालनको सुनिश्चिता खोज्दै पर्यटन क्षेत्र

दलहरुको घोषणापत्र पर्यटन क्षेत्रले खासगरी दुई ठूला एयरपोर्ट सञ्चालनको सुनिश्चिता खोज्दैछ । अर्बौं लगानी गरेर पनि राम्रो तवरले सञ्चालनमा नआएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याएर महिनामै लाखौँ पर्यटक भित्राउने सुनिश्चितता दलहरुको घोषणापत्रमा उनीहरुले खोजिरहेका छन् ।
नेपाल होटल एशोसिएन (हान) का अध्यक्ष विनायक शाहले वार्षिक रुपमा १२ लाख भन्दा बढी पर्यटक नेपालमा आउन नसकिरहेको बताउँदै त्यो संख्यालाई अब आउने नेतृत्वले ५० लाख पर्यटक नेपालमा भित्राउने किसिमले घोषणापत्र तयार गर्नुपर्ने बताए । उनका अनुसार अहिले पनि गाडीमार्फत पर्यटकहरु आइरहेका छन् तर त्यसको हिसाब छैन । सानो सोच राखेर पर्यटनलाई दलहरुले घोषणापत्रमा समेट्न नहुने उनको बुझाइ छ ।
अध्यक्ष शाहले भनोे, ‘हाम्रो देशमा अहिले वार्षिक रुपमा १२ लाख पर्यटक भन्दा बढी आउन सकिरहेको छैन । त्यो संख्यालाई अब आउने नेतृत्वले ५० लाख पु¥याउनुपर्छ । अब चुनावबाट आउने सरकारले सोही अनुसारको योजना, नीति कार्यक्रम बनाउनुपर्छ । यो लक्ष्य सहजै गर्नसक्ने देख्छौँ हामी । अहिले १२ लाख पर्यटक जसरी आएको देखिन्छ, त्यतिकै अनुपातमा सडकमार्ग हुँदै पर्यटकहरु आइरहेका छन् । त्यसको हिसाब राखिने गरिएको छैन । झापा, लुम्बिनी, नेपालगंजमा सडकमार्ग हुँदै थ्रुपै पर्यटक आइरहेका छन् । त्यहाँ ठूलो मात्रमा पर्यटक आइरहेका छन् । काठमाडौं आएपछि मात्रै पर्यटक गणना गर्ने र सानो सोच राखेर नीति निर्माण गर्ने पद्धतिको अब अन्त्य हुनुपर्छ ।’
अध्यक्ष शाहले पर्यटन ऐन अहिले पनि २०३५ अनुसार रहेको र समयानुकुलको नरहेको बताए । शाहकाअनुसार नेपाल भारत चीनको बीचमा रहेको ती देशका करोडौँ नागरिकहरु बिदा मनाउन देश बाहिर जाने गरेका छन् । ती मानिसहरुलाई नेपालमा आकर्षित गर्न नसकिएको बताउनु भयो । काठमाडौं एयरपोर्ट १२ लाख पर्यटक जुन रुपमा ल्याइरहेको छ, पोखरा, भैरहवाले पनि ल्याउनसक्ने भएकाले सोही अनुसारको नीति हुनुपर्ने उनको भनाइ छ ।
जेन—जी आन्दोलनले परिर्वतन खोजिसकेकाले अब सोचमा आमूल परिर्वतन आएर सोही अनुसारको योजना बनाउन जरुरी रहेको शाहले बताए ।

निर्माण क्षेत्र पनि आमूल परिर्वतन चाहिरहेको छ

राजनैतिक दलहरुको घोषणापत्रमा निर्माण क्षेत्र पनि आमूल परिर्वतन चाहिरहेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रले छाता ऐन चाहिरहेको बताए । उनका अनुसार अहिले भएका कानूनहरुका कारण संसारभर सफल भएका व्यवसायीहरु नेपालमा भने असफल भइरहेका छन् । निर्माण क्षेत्रमा चाइनिज, जापानिज, भारतीय निर्माण कम्पनीहरुले भनेको समयमा काम गर्नसक्ने अवस्था छैन् । यी देशका निर्माण कम्पनीसहित अहिले नेपाली सेना समेत निर्माणको काममा विद्यमान ऐन, कानूनकै कारण असफल बन्नुपरेको छ । त्यसैले निर्माण व्यवसायीले आमूल परिवर्तन चाहेको उनको भनाई छ ।
महासंघ अध्यक्ष सिंहले भने, ‘हामीले हाम्रो छिमेकी मुलुकले दुई अंकको आर्थिक वृद्धि छ, संसारभर भइरहेको प्रगतिमा भैतिक पूर्वाधार क्षेत्रलाई अघि बढाएका छन् । सोही कारणले भएको हो । नेपालको ऐन कानूनले अवरोध मात्रै सिर्जना गरिरहेको छ । निर्माण क्षेत्रलाई चलायमान बनाउनका लागि छाता ऐनको आवश्यकता छ । छाता ऐन बनाएर भौतिक पूर्वाधार क्षेत्रलाई चलायमान बनाउनुपर्छ । यसबाटै मुलुकमा रोजगारी सिर्जना गर्ने, मुलुकको आर्थिक उन्नति गर्ने र मुलुकमा नै सबै युबाहरुलाई रिटर्न गराउन लाग्नुपर्छ । अहिलेभरका कानूनहरुका कारण संसारभर सफल भएका व्यवसायीहरु नेपालमा भने असफल भइरहेका छन् । निर्माण क्षेत्रकै कुरा गर्दा चाइनिज, जापानिज, भारत, निर्माण कम्पनीहरुले भनेको समयमा काम गर्नसक्ने अवस्था छैन । यी निर्माण कम्पनीसहित अहिले नेपाली सेना समेत निर्माणको काममा ऐन, कानूनकै कारण असफल बनेको छ । त्यसैले हामीले आमूल परिवर्तन चाहेका छौँ । अहिलेका नियम कानून कार्यान्वयन योग्य छैनन् ।’
अहिलेका नियम कानून कार्यान्वयन योग्य नरहेको सिंहले बताए । उनका अनुसार ऐन कानून एकदमै कडा बनाउने र कार्यान्वयन योग्य नबनाउने काम भएको छ । त्यही ऐन कानूनलाई खेलेर कुशासन, भ्रष्टाचार गर्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ ।

स्कटल्यान्ड बंगलादेशसँग ९० रनले पराजित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा स्कटल्यान्ड बंगलादेशसँग ९० रनले पराजित भएको छ ।

बंगलादेशले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्ड १०१ रनमा मात्रै समेटियो ।

शुक्रबार टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बंगलादेशका कप्तान निगर सुल्तानाले अर्धशतकीय पारि खेल्दै ५६ रन बनाइन् । शोभना मोस्तारीले ४७ र जुअरिया फरडोसले २२ रन जोडिन् ।

कठिन लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सकेको हो ।

स्कटल्यान्डलाई सस्तैमा समेट्न बंगलादेशकी मारुफा अख्तरले तीन र सोर्ना अख्तरले दुई विकेट लिएकी थिइन् ।

उम्मेदवार अल्मल्याउने मतदाताको जवाफ (भिडियोसहित)

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो मध्यावधि निर्वाचन आउन करिब एक महिना बाँकी छ । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदाताहरूसँग मत माग्दै ‘देश बनाउने’ आश्वासन बाँडिरहेका छन् । यस्तो आश्वासन सबैभन्दा बढी दिने दल रास्वपा हो ।

सोही दलबाट काठमाडौं–७ मा गणेश पराजुली उम्मेदवार छन् । अघिल्लोपटक पनि उनी यही क्षेत्रबाट निर्वाचित थिए । यसपटक फेरि मतदाताको घरदैलोमा मत माग्दै जाँदा उनलाई मतदाताले कसरी लिन्छन् ? हामीले पछ्याएका थियौँ ।

त्यस क्रममा उनले नेपाल भाषा खत्र्याकखुत्रुक बोल्दै सावित्री श्रेष्ठ नामकी मतदातासँग मत मागिन् । आफूभन्दा पनि पार्टी सभापति रवि लामिछानेदेखि वरिष्ठ नेता बालेन्द्र शाहलाई चिन्नुहुन्छ ? भन्दै मत मागेका उनलाई सावित्रीले रणनीतिक रूपमा मुन्टो हल्लाइन् ।

मनोवैज्ञानिकहरूका अनुसार मतदाता प्रष्ट रूपमा कुनै उम्मेदवारप्रति नखुल्दा टार्न त्यसो गर्दछन् । तैपनि गणेशले यसपटक पनि मत दिन आग्रह गरिरहे । घरदैलोमा रहेका केहीले घण्टीमा भोट दिनुपर्ने सन्दर्भ उप्काए । उनले हाँस्दै जवाफ दिइन्– ‘घण्टी त पूजा गर्नेबेला चाहिन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह झापा–५ मा चुनावी प्रतिस्पर्धामा छन् । यतिबेला झापाले देशको ध्यान खिचेको छ । यस सन्दर्भ पनि कोट्याउँदै ओली र उनको दलको चिह्न सूर्यको प्रसङ्ग जोडेका थियौँ ।

त्यसबेला उनले भनिन्, ‘सूर्य पनि चाहिन्छ । घण्टी पनि चाहिन्छ ।’

सावित्री एक प्रतिनिधि मतदाता हुन् । उनीजस्तै थुप्रै मतदाता आगामी प्रतिनिधिसभा निर्वाचनमा कसलाई मत दिने ? निर्णित छैनन् ।

इरानका ठूला अधिकारीहरू र उनीहरूका परिवारलाई अब अमेरिकामा बस्न नदिइने

काठमाडौं । अमेरिकाले इरानका ठूला अधिकारीहरू र उनीहरूका परिवारलाई अब अमेरिकामा बस्न नदिने निर्णय गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएको हो। मन्त्रालयका अनुसार, इरानका जनता आफ्ना आधारभूत अधिकारका लागि संघर्ष गरिरहेका बेला इरानी सरकारका उच्च अधिकारीहरूले अमेरिकामा बस्ने सुविधा लिनु गलत हो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यही कारण देखाउँदै इरानका वरिष्ठ अधिकारीहरू र उनीहरूका परिवारको आवास अधिकार रद्द गर्ने निर्णय गरेका हुन्।

मन्त्रालयले भनेको छ कि इरानी जनतामाथि भएको दमनबाट फाइदा लिने मानिसहरूले अमेरिकी आप्रवासन सुविधाको लाभ लिनु हुँदैन।

यसैबीच, अमेरिकाको अटलान्टामा रहेको एमोरी विश्वविद्यालयले इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीकी छोरीलाई विश्वविद्यालयबाट निकालेको छ।

फातिमा अर्देशिर लारिजानी त्यहाँ क्यान्सर अनुसन्धान विभागमा काम गर्दै आएकी थिइन्। यो कुरा विश्वविद्यालयका एक शिक्षकले बीबीसी पर्सियनलाई बताएका छन्।

समृद्धि, सुशासन र दिगो विकास एमालेको स्पष्ट मार्गचित्र : ओली

S

बालेनले के काम गरे थाहा छैन, हामीलाई त उठिबास मात्रै गरे’ (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह भावी प्रधानमन्त्रीका घोषित उम्मेदवार हुन् ।

उनले यसअघि काठमाडौं महानगरपालिकाका प्रमुखको भूमिका तीन वर्ष निर्वाह गरे । उनै बालेनलाई रास्वपाले भावी प्रभानमन्त्रीका उम्मेदवारमा अघि सारेको छ ।

यस्तोमा नेपालवानएचडीले भुइँ मान्छेहरू चाहिँ बालेनलाई कसरी लिन्छन् ? बालेनप्रतिको बुझाइ उनीहरूमा कस्तो छ ? जान्न चाहेका थियौँ ।

त्यसक्रममा सडक आसपासमा सानोतिनो व्यापार गर्ने एक अर्धवैंशे महिलालाई सोध्यौँ– बालेन शाहलाई प्रधानमन्त्री भन्दैछन्, थाहा छ ?

जवाफमा उनले भनिन्, ‘त्यो त थाहा भएन । कसलाई के भन्छन् ? भन्छन्, हामीलाई थाहा हुँदैन ।’ फेरि प्रश्न गर्‍यौँ– तपाईं त काठमाडौंको वासी हो नि त । बालेन मेयर हुँदा केही काम गर्नुभयो कि भएन उहाँले ?

उनले फ्याट्टै भनिन्, ‘बालेन मेयर हुँदा हाम्रो त भएभरको सामान लगे त्यत्ति हो ।’ बालेन मेयर हुँदा उनले गरेको थप कामबारे पनि उनको धारणा बुझ्न चाह्यौँ र सोध्यौँ– तर, काम गर्नु भयो कि भएन ?

उनले बालेनले आफ्ना ठाउँमा गरेको होलान् भन्दै आफूहरूका लागि केही नगरेको बताइन् । उनले बालेनले आफूहरूलाई उठाउने मात्रै काम गरेको भन्दै गुनासो गरिन् ।

बालेन मेयर हुँदा काठमाडौं महानगर क्षेत्रको सडक र सडक किनारमा ठेला गाडामा मकै पोल्ने र तरकारी बेच्नेहरूले हत्तु हैरान बेहोरेका थिए ।

बालेन त्यसबेला भुइँमान्छे विरोधी मेयर भन्दै आलोचित भएका थिए ।

जेन–जी विद्रोहको बेला कारागारबाट फरार, समूह बनाएर लुटपाट (भिडियोसहित)

काठमाडौं । गत भदौ २४ गते जेन–जी विद्रोहको मौका छोपेर कारागारबाट फरार भएका कैदीहरूले समूह नै बनाई संगठित लुटपाट गरेको पाइएको छ ।

प्रहरी परिसर काठमाडौंले मुलपानी क्षेत्रमा बुधबार राति १० जना लुटेराहरूको समूहलाई गोली हानेर पक्राउ गरेर अनुसन्धान गर्दा यस्तो तथ्य बाहिर आएको हो ।

लुटेराहरूको नाइके हुन् – डाँका मुद्दाका प्रतिवादी २३ वर्षीय विनय तामाङ । उनी काभ्रेका भुम्लु गाउँपालिका– ३ का हुन् । जेन–जी विद्रोहको क्रममा कारागारबाट फरार भएका उनी लुटेराहरूको नाइके भएको पाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले नै आफूसहित १० जनाको टोली नै खडा गरेर मुलपानी क्षेत्रमा लुटपाट आतंक मच्चाएको परिसरका एसएसपी रमेश थापाले बताए ।

तामाङकै योजनामा रातको समयमा उक्त समूहले सुनका गरगहना, नगद, मोबाइल लुटपाट गर्ने गरेको पाइएको थापा बताउँछन् ।

पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण– ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउराली–१ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली–१ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु–१ का १८ वर्षीय राजीव भण्डारी, रामेछापको दोरम्बा–८ का ३२ वर्षीय विशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय विदूर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर–३ का २९ वर्षीय फुर्वा तामाङ रहेका छन् ।

लुटेराहरूको नाइके भनिएका तामाङ घाइते छन् । एसएसपी थापाका अनुसार मुलपानी क्रिकेट मैदान नजिकै प्रहरीले चेकिङ पोस्ट थापेको र प्रहरीले रोक्न खोज्दा उल्टै प्रहरीलाई पेल्दै मोटरसाइकल अघि बढाएको थिए ।

त्यस क्रममा प्रहरीसँग धक्कामुक्की गरेको र जवाफी कारबाही गर्दा विनयको खुट्टामा गोली लागेको एसएसपी थापाको भनाइ छ ।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको थापाले बताए ।

 

गणतन्त्र अन्त्य हुँदा भ्रष्टाचार अन्त्य हुन्छ : डा. सुरेन्द्र भण्डारी (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा. सुरेन्द्र भण्डारीले भ्रष्टाचार अन्त्य नभए मुलुकको भविष्य नभएको दाबी गरेका छन् ।

राप्रपाबाट काठमाडौं–४ मा उम्मेदवार बनेका भण्डारीले भ्रष्टाचार अन्त्य भए सबैथोक ठिक हुने बताए ।

‘आज मुलुकको कुनै ठूलो समस्या छ भने त्यो भ्रष्टाचार हो । जबसम्म हामी भ्रष्टाचारको अन्त्य गर्न सक्दैनौँ, तबसम्म यो मुलुकमा युवाको पनि भविष्य छैन, मुलुकको पनि भविष्य छैन र प्रणालीले पनि काम गर्न सक्दैन,’ उनले भने ।

प्रणालीले काम गर्न सक्ने बनाउन, युवाहरूलाई रोजगारी सिर्जना गर्नसँगै युवाहरूले आफ्नै मुलुकमा भविष्य देख्नका लागि भ्रष्टाचारको अन्त्य जरुरी रहेको बताए ।

तर, भ्रष्टाचारको अन्त्य गणतन्त्रको अन्त्यपछि मात्रै सम्भव हुने बताए ।

शान्तिपूर्ण निर्वाचनलाई अल्गोरिदमको चुनौती : सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति हिंसा भड्काउने सामग्री

काठमाडौं । ‘भोट कल्लाई  दिने बुवा ? बालेन शाहलाई कि केपी ओलीलाई ?’
‘बालेन शाहलाई दिने भोट।’
‘केपी ओलीलाई भनेको भए यही इँटाले हानेर टाउकोसाउको फोड्दिन्थेँ।’

यो संवाद वासुदेव चलाउने नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको भिडियोको हो। भिडियो पोस्ट भएको चौथो दिन बिहानसम्ममा २६ हजार १ सयभन्दा बढी लाइक, ३९२ कमेन्ट, ७५० सेभ र ६ हजार ४५१ शेयर देखिएका छन्।

चलाउनेको अडियो प्रयोग गरेर थप १० वटा भिडियो बनिसकेको देखिन्छ। तर, यही संवादलाई आधार बनाएर सयौं प्रयोगकर्ताले टिकटकमा फरक–फरक शैलीमा भिडियो बनाइरहेका छन्।

यस्तै अर्को भिडियोमा एउटा बालकले सोध्छ, ‘भोट कसलाई हाल्छस् ए सौरे!’
जवाफ आउँछ, ‘बालेनलाई नि हो, कसले हाल्छ केपीलाई?’
त्यसपछि प्रश्न गर्ने बालक भन्छ, ‘धन्न, केपीलाई भनेको भए ढुंगाले हानेर मारिदिन्थेँ।’

यस्तै संवाद भएका अडियो प्रयोग गरेर टिकटकमा सयौं भिडियो बनिसकेका छन्। पहिलो पटक मिलन लामा नामक प्रयोगकर्ताले यस्तो भिडियो पोस्ट गरेको देखिन्छ।

त्यसपछि अरू १२ प्रयोगकर्ताले यही अडियोमा भिडियो पोस्ट गरे पनि यससँग मिल्दोजुल्दो संवाद राखेर बनाइएका सामग्री अहिले टिकटकमा व्यापक रूपमा भाइरल बनेका छन्। यस्ता भिडियोहरू फेसबुक र इन्स्टाग्रामको रिल सेक्सनमा पनि छ्यापछ्याप्ति देख्न सकिन्छ।

यसबाहेक परिवारभित्रै आफूले चाहेको चुनाव चिन्ह, उम्मेदवार वा पार्टीलाई भोट दिन्नँ भन्ने श्रीमान्-श्रीमती, परिवारका अन्य सदस्य वा अन्य व्यक्तिलाई कुटपिट गरेको देखिने भिडियो पनि अहिले सञ्जालमा छाइरहेका छन् ।

यस्तै, एमाले वा कांग्रेस जस्ता पुराना दललाई भोट दिन्छु भन्ने परिवारका जेष्ठ सदस्यलाई घरबाट निकालेको देखाउने भिडियोहरू पनि टिकटक र फेसबुकका रिल्समा देख्न सकिन्छ । यस्ता भिडियोहरूले राजनीतिक मतभेदलाई व्यक्तिगत/भौतिक हिंसामा अभिव्यक्त भएको देखाइरहेका छन् ।

हिंसाको प्रबर्द्धन

यस्ता हिंसात्मक सन्देशले भरिएका सामग्रीले समाजमा पार्ने प्रभावबारे चिन्ता बढ्दै गएको छ। आइटी विज्ञ दोभान राई यस्ता सामग्रीलाई सामान्य मनोरञ्जनका सामग्रीका रूपमा मात्रै लिन नमिल्ने बताउँछिन। ‘प्रयोगकर्ताले यस्ता सामग्री मनोरन्जनात्मक उद्देश्यले बनाएका हुनसक्छन्,’ उनी भन्छन्, ‘तर, यस्ता सामग्रीलाई मनोरञ्जनका लागि बनाइएको भनेर सामान्य रूपमा लिनु हुँदैन ।’

यस्ता सामग्रीले मानिसको मनोविज्ञानमा दीर्घकालिन प्रभाव पार्ने उनको भनाइ छ।

‘यसले मानिसको दिमागमा हिंसाको भावना प्रवेश गराउँछ,’ उनी भन्छिन्, ‘र, हिंसाको कल्पना दिमागमा बस्दै जान्छ र पछि व्यवहारमा रूपान्तरण हुनसक्छ ।’

उनका अनुसार सामाजिक सञ्जालमा व्यक्त गरिएका अभिव्यक्तिहरूले वास्तविक घटनालाई प्रेरित गरिरहेको हुन्छ ।

‘सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्तिपछि भएको पछिल्लो आगजनीले डिजिटल भनाइ कसरी वास्तविक हिंसामा बदलिन सक्छ भन्ने देखाएको छ,’ राई भन्छिन्।

यस्ता सामग्रीलाई व्यापक बनाउन सामाजिक सञ्जाल प्लेटफर्मका अल्गोरिदम पनि जिम्मेवार हुने राईको भनाई छ । यस्ता सामग्रीमा प्रयोगकर्ताको ‘इन्गेजमेन्ट’ धेरै हुने हुनाले छिटो फैलन्छन् । यति मात्रै नभएर प्रयोगकर्ताले ‘ट्रेन्ड फलो’ गर्ने हुनाले यस्ता सामग्रीहरूको संख्या गुणा हुँदै जान्छ । बारम्बार यस्ता सामग्री देखेपछि हिंसालाई सामान्य रूपमा लिने मनोविज्ञानको विकास हुन सक्ने तर्फ सचेत हुनुपर्ने राई बताउँछिन् ।

सामाजिक सञ्जालमा भएका सामग्रीले प्रयोगकर्ताको मनोविज्ञानमा कस्तो असर पर्छ भन्ने विषयमा नेपालमा अहिलेसम्म गम्भीर अनुसन्धान नभएको साइबर सुरक्षा विज्ञ पूर्वडीआईजी राजिब सुब्बा बताउँछन् ।

नेपालमा अनुसन्धान नभए पनि सन् २००४ मा प्रकाशित भएको जोन सुलेरको अनुसन्धानमुलक लेख सुरूवाती चरणको महत्वपूर्ण अनुसन्धान भएको सुब्बा बताउँछन् । ‘साइबर साइकोलोजी एन्ड बिह्याभियर’ नामक जर्नलमा प्रकाशित ‘द अनलाइन डिसइनहिबिसन इफेक्ट’ शीर्षकको यो लेखले विभिन्न ६ वटा प्रभावहरू व्याख्या गरेको छ ।

मानिसले अनलाइनबाट गर्ने व्यवहार प्रत्यक्ष वा भौतिक उपस्थितिमा गर्ने व्यवहारभन्दा उग्र र हिंसात्मक हुन सक्ने यो लेखले संकेत गरेको छ ।

यसपछिका दुई दशकमा यसबारे संसारभरी धेरै अध्ययनहरू भएका छन् । अनुसन्धाताहरूले ४४ वटा घटना अध्ययन गरी ‘युरोपियन जर्नल अफ इन्भेस्टिगेसन इन हेल्थ, साइकोलोजि एन्ड एडुकेशन’ नामक जर्नलमा सन् २०२४मा एक लेख प्रकाशित गरेका थिए, जसले सामाजिक सञ्जालका सामग्रीले मानिसलाई वास्तविक व्यवहारमा पनि बढी आक्रामक बनाउने निष्कर्ष निकालेको थियो ।

यस्तै, ‘इन्टरनेशनल जर्नल अफ एडोल्सेन्ट मेडिसिन एन्ड हेल्थ’ मा सन् २०२० मा पनि अनुसन्धानमुलक लेख प्रकाशित भएको थियो, जसमा ४४४ वटा घटनाहरूको अध्ययन गरिएको थियो । यसले सामाजिक सञ्जालमा हिंसासँग सम्बन्धित सामग्री हेरिरहँदा प्रयोगकर्ताको व्यहार पनि परिवर्तन हुँदै जाने देखाएका छन् ।

त्यसैले, आइटी विज्ञ राईले भनेजस्तै यस्ता सामग्रीहरूले चुनावमा हिंसात्मक घटना हुनसक्ने मात्रै होइन, दीर्घकालिन रूपमा समाजमा हिंसालाई सामान्यिकरण गर्ने खतरा रहेको देखिन्छ ।

हिंसात्मक सन्देश र घृणा व्यक्त गर्ने अभिव्यक्ति भएका सामग्री कसरी चाँडै फैलन्छन् र यसले हिंसालाई कसरी प्रबर्द्धन गर्छ भन्ने सन् २०१७ मा भएको म्यानमारको रोहिंग्या मुस्लिम विरोधी हिंसाको समयमा देखाएको छ ।

सन् २०१२ बाट म्यानमार स्थानीय बौद्ध र रोहिंग्या मुस्लिम समुदायबीच हिंसात्मक संघर्ष चर्किएको थियो । सन् २०१४ पछि फेसबुकले लगातार अल्पसंख्यक रोहिंग्या विरोधी भावना उक्साउने र उनीहरूविरुद्ध हिंसात्मक आक्रमण गर्ने सामग्रीहरूलाई प्रबर्द्धन गरेको आरोप लागेको थियो ।

सन् २०१८ मा फेसबुकले यसमा त्रुटि भएको स्वीकार गर्दै माफी मागेको थियो । यसमा सुधार गर्ने प्रतिबद्धता पनि जनाएको थियो ।

स्वाभाविक रुपमा अहिले पनि सामाजिक सञ्जाल प्लेटफर्महरूले धेरै मानिसको ‘इन्गेजमेन्ट’ हुने सामग्री चाँडो फैलने हुन्छ । सामाजिक सञ्जालको ‘अल्गोरिदम’ यसै अनुसार बनाइएको हुन्छ ।

आपत्तिजनक सामग्रीहरूमा ‘सामुदायिक मापदण्ड’ राखिए पनि यसले सबै किसिमका हिंसा प्रबर्द्धन गर्ने सामग्रीलाई समेट्न सक्दैन । यहाँ माथि उदाहरणका रुपमा लिइएका सामग्रीमा दृश्यमा कुनै हिंसा देखिँदैन, त्यसैले टिकटक र फेसबुकको मापदण्डले यसलाई हिंसा प्रबर्द्धन गर्ने सामग्री रुपमा पहिचान गर्दैन ।

कतिपय सामग्री स्थानीय सन्दर्भका आधारमा समेत आपत्तिजनक हो कि होइन भनेर बुझ्नुपर्ने हुन्छ । दोभान राई भन्छिन्, ‘बृद्ध आमाबाबुलाई घरबाट निकालेको भिडियोबारे पश्चिमा समाजको दृष्टिकोण फरक हुनसक्छ, तर हाम्रो सन्दर्भमा यो आपत्तिजनक हो ।’

साइबर सुरक्षाविद पूर्वडीआईजी राजिब सुब्बाका अनुसार व्यक्तिगत रुपमा कुनै प्रयोगकर्ताले बनाउने भिडियोले भने धेरै असर गर्दैन । तर,  निर्वाचनअघिको समय भएकाले कुनै पार्टीले साइबर सेना नै प्रयोग गरेर यस्ता सामग्री उत्पादन गर्न थाल्यो भने यसले निर्वाचनको परिणामलाई गलत रूपमा प्रभावित गर्ने र हिंसात्मक घटना निम्त्याउने खतरा रहेको औंल्याउँछन् ।

‘भाइरल भएर मल्टिप्लाई भयो र न्यारेटिभ नै बन्यो भने यसले निर्वाचनको परिणाम नै प्रभावित गर्न सक्छ,’ उनी भन्छन्, ‘यदि प्रतिद्वन्द्वी दल वा आईटी सेलले संगठित रूपमा प्रयोग गर्‍यो भने अवस्था डरलाग्दो हुन सक्छ।’

निर्वाचनमा सामाजिक सञ्जालले बनाउने न्यारेटिभ: सामाजिक सञ्जालको शक्ति

निर्वाचनको समयमा सामाजिक सञ्जालबाट कसरी गतल न्यारेटिभ बन्छ र यसले निर्वाचनलाई प्रमाणित गर्छ भन्ने देखाउन सुब्बा ‘क्याम्ब्रिज एनालिटिका स्क्याण्डल’को उदारहण दिन्छन् ।

बेलायतको राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुक प्रयोगकर्ताका लागि एउटा एपमार्फत अवैध तरिकाले प्रयोगकर्ताको बारेमा विभिन्न जानकारी संकलन गरेको थियो ।

यो एपबाट प्राप्त डाटालाई विश्लेषण गरी मानिसहरूलाई मनोवैज्ञानिक विशेषताका आधारमा पाँच भागमा वर्गीकरण गरियो । यो कम्पनीले सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पका लागि काम गरेको थियो ।

यो चुनावी अभियानमा उसले पहिले संकलन गरेको फेसबुक प्रयोगकर्ताको तथ्यांक प्रयोग गरी मतदातालाई प्रभावित गरेको थियो ।

‘हिलारी क्लिन्टन ‘वीच’ हो भन्नेसम्मको हल्ला फैलायो,’ सुब्बा भन्छन्, ‘यो हल्ला यति धेरै एम्प्लिफाइ भयो कि यसले न्यारेटिभ नै बनायो । यसले गर्दा धेरै स्वीङ स्टेटहरूको मत ट्रम्पको पक्षमा गएको थियो भन्ने पाइएको छ ।’

प्रयोगकर्ताको व्यवहार र मनोविज्ञान विश्लेषण गरी तयार पारिने सामग्रीलाई सामाजिक सञ्जालले कसरी लक्षित व्यक्तिसम्म पुर्‍याउँछ र समाजमा व्यापक राजनीतिक ध्रुवीकरण तथा हिंसात्मक मनोविज्ञान तथा घटना बढाउँछ भन्ने कुरा सन् २०२० सार्वजनिक भएको जेफ ओर्लोस्कीको डकुमेन्ट्री ‘द सोसल डिलेमा’ मा देखाइएको छ । यसले अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा सामाजिक सञ्जालले प्रयोगकर्तामा पार्ने प्रभावलाई देखाएको छ।

यी उदाहरणहरूले निर्वाचनको समयमा संगठित र योजनाबद्ध रूपमा यस्ता सामग्री उत्पादन र प्रयोग हुने खतरालाई स्पष्ट रूपमा देखाउँछ । यसले निर्वाचन परिणामलाई गलत रूपमा प्रभावित पार्ने सम्भावना त छँदैछ, हिंसात्मक सामग्री धेरै फैलँदा चुनावमा हिंसात्मक घटना बढ्न सक्ने संकेत दिइरहेको छ ।

सुब्बा समाजिक सञ्जालका कारण मुख्य चारवटा चुनौती बढ्ने बताउँछन्- जसलाई उनले ‘४ डी’ भनेका छन् । यसमा डेटा लिक (गोप्य जानकारी चोरी वा सार्वजनिक हुनु), डिसइन्फर्मेसन (भ्रामक सूचना), डिप फेक (प्रविधिको प्रयोग गरी बनाइने सही जस्तै लाग्ने झुटा सामग्री) र डीओएस अट्याक (प्रयोगकर्ताको पहुँच अवरूद्ध पार्नु) समावेश छन् ।

कृत्रिम बौद्धिकता अर्थात एआईमा भएको विकासका कारण अहिले भ्रामक सूचना र डिपफेक सामग्री तयार पार्न अझ सहज भएको छ । पछिल्ला केही वर्षमा एआई उन्नत मात्रै भएको छैन, यसमा सर्वसाधारण प्रयोगकर्ताको पहुँच पनि ज्यामितीय रूपमा बढेको छ । नेपालले यस्तो एआई प्रविधि प्रयोग गरी सामग्री सामाजिक सञ्जालमा फैलाउन मिल्ने परिस्थिति बनेपछि पहिलो पटक चुनाव गराउन लागेको हो ।

नेपालमा मिडिया र सामाजिक सञ्जालका विषयमा नजिकबाट नियालिरहेका पत्रकार तथा मिडिया कुराकानीका सञ्चालक रविराज बराल यस्ता सामग्री कसैले व्यक्तिगत रूपमा नै उत्पादन गरिरहेका हुन् भनेर ढुक्क हुन नमिल्ने बताउँछन् ।

‘चुनावको मुखमा बन्ने यस्ता सामग्री व्यक्तिगत रुपमा बनाएको हो भनेर ढुक्क हुनु हुँदैन,’ बराल भन्छन्, ‘चुनावी अभियानका लागि दलहरूले यस्ता सामग्री बनाइरहेका हुन सक्छन्, यसमा चनाखो रहनुपर्छ ।’

हामीले हेरेका यस्ता सामग्रीहरू अधिकांश बालेन वा रास्वपाका समर्थकले बनाएका छन् । केही सामग्री भने एमाले समर्थक प्रयोगककर्ताले पनि बनाएको देखिन्छ ।

नियमन कसले गर्ने?

विगतका उदाहरणहरूले यस्ता सामग्रीहरूमाथि निगरानी र नियमन हुनुपर्ने प्रष्ट पारेको छ । तर, यस्तो काम चुनौतीपूर्ण छ ।

नेपालमा अहिले भदौमा भएको जेन-जी विद्रोहको उपजका रूपमा निर्वाचन हुन लागेको हो। भदौ २३ गते विद्रोह सुरू हुनुको एउटा प्रमुख कारण मेटालगायतका विभिन्न सामाजिक सञ्जाल कम्पनीमा सरकारले लगाएको प्रतिबन्ध थियो । त्यसैले, सरकारले सिधै नियन्त्रणको प्रयास गर्ने अवस्था छैन ।

सामाजिक सञ्जालमा आउने सबै सामग्री नियन्त्रणमा नआउने राजिब सुब्बा बताउँछन् । ‘विश्वभरी नै यसबारे बहस चलिरहेको छ,’ उनी भन्छन्, ‘सामाजिक सञ्जालमा पोस्ट हुने सबै सामग्री नियन्त्रण गर्न नसकिने बताउँछन् ।’

तर, राजनीतक दल, संगठित समूह वा संस्थाहरूबाट हुने सामग्री भने नियमन गर्न सकिने र गर्नुपर्ने उनको सुझाव छ । ‘संसारका अधिकांश देशमा यस्तै व्यवस्था छ र हामीले पनि यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्नुपर्छ,’ सुब्बा भन्छन् ।

सामाजिक सञ्जालमा हुने सामग्रीहरु नियमन गर्न आवश्यक भए पनि यस्तो नियमनकारी निकाय सरकारको मातहत वा प्रभावबाट मुक्त रहनेगरि बनाउनुपर्ने उनको सुझाव छ । सरकारको मातहतमा यस्तो निकाय रहँदा सरकारले प्रतिरोधी आवाज दबाउन सामाजिक सञ्जालको प्रयोग गर्ने खतरा देखिएको उनी बताउँछन् ।

डा. दोभान राई भने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई जिम्मेवार बनाउनु नै सबैभन्दा महत्वपूर्ण रहेको ‍सुझाव दिन्छिन् ।

प्लेटफर्महरूले आफ्नो ‘कम्युनिटी स्ट्यान्डर्ड’  बनाएका हुन्छन्, तर यसले संसारभरी काम गर्न सक्दैन । सामग्रीमा भएका ‘भिजुअल’ मात्रै नहेरेर, संवाद र सन्दर्भसमेत हेरेर यस्ता सामग्री प्लेटफर्महरूले ‘फिल्टर’ गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने राईको सुझाव छ ।

‘सरकार, प्लेटफर्म र प्रयोगकर्ता सबैको भूमिका हुन्छ,’ उनी भन्छिन्, “प्लेटफर्महरूले स्थानीय सन्दर्भ बुझ्ने स्थानीय नियमनकारी राख्नैपर्छ।”

उनले सबै प्रयोगकर्ता व्यक्तिगत रूपमा जवाफदेही र जिम्मेवार हुनुपर्नेमा पनि जोड दिइन्। निर्वाचन आयोगको सन्दर्भमा भने उनले आयोगसँग यस तहका डिजिटल चुनौती व्यवस्थापन गर्ने पूर्ण क्षमता नहुन सक्ने बताइन्।

”कडाइ गर्‍यो भने अहिले नराम्रो असर पार्न सक्छ, त्यसैले आयोग सेफ प्ले गर्न खोजिरहेको देखिन्छ,’ उनी भन्छिन्, ‘तर, दीर्घकालीन समाधानका लागि आयोगले छुट्टै संयन्त्र निर्माण गर्नैपर्छ।’

हामीले कुरा गरेका तिनै जना विज्ञहरू राई, सुब्बा र बरालको जोड भने नागरिक अर्थात सामाजिक सञ्जाल प्रयोगकर्ताको सचेतना बढाउनमा नै छ । यो सबैभन्दा महत्वपूर्ण कदम रहेको उनीहरूको भनाई छ ।

के गर्दै छ आयोग र सरकार?

निर्वाचन आउन एक महिनाभन्दा केही बढी मात्रै समय रहेको हुँदा सामाजिक सञ्जालमा हिंसाको सन्देश प्रवाह भइरहेको छ । यसलाई नियन्त्रण गर्न सरकार र निर्वाचन आयोगको तर्फबाट ठोस कदम चालेको देखिएको छैन । डा.सुब्बाले भनेजस्तै व्यक्तिगत रुपमा प्रयोगकर्ताले तयार पार्ने सामग्री नियन्त्रण गर्न नेपालमा कानुन र संरचना छैन ।

निर्वाचन आयोगले भने निर्वाचनमा नराम्रो प्रभाव पार्न सक्ने सबै प्रकारका सामग्रीबारे अध्ययन भइरहेको र यस्ता सामग्रीलाई नियमन गरिने दाबी गरेको छ ।

नेपालवन एचडीसँग कुरा गर्दै आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार आयोगले अलग्गै साइबर सेल बनाएर सामाजिक सञ्जालमा आउने सामग्रीहरू अध्ययन गरिरहेको छ । यस्तो सेलमा चारवटै सुरक्षा संगठनका प्रतिनिधि पनि रहेको उनले जानकारी दिए ।

आपत्तिजनक सामग्री पोस्ट गर्ने प्रयोगकर्तालाई सचेत गराउने काम पनि आयोगले गर्न सक्ने उनले बताए ।

यसबाहेक बिहीबारसम्म आयोगमा करिब एक सय सामग्रीबारे उजुरी परेको उनले जानकारी दिए । यसबारे अध्ययन गरी थप छानबिन वा कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको उनले बताए । प्रेस काउन्सिल, दूरसञ्चार प्राधिकरण, नेपाल प्रहरीको साइबर ब्युरोलगायतमा पत्राचार गरिएको उनले जानकारी दिए । आचारसंहिता उल्लंघनका १५ वटा घटनामा स्पष्टीकरण सोधिएको पनि उनले बताए ।

सामाजिक सञ्जालमा भएका सामग्रीहरू नियमित रुपमा आयोगले ‘मोनिटरिङ’ गर्ने र निर्वाचनमा हिंसात्मक घटनालाई उत्प्रेरित गर्ने सामग्री पाइएमा प्रयोगकर्तालाई सचेत गराउने देखि कानुनको दायरामा रहेर कारबाही गर्नका लागि सिफारिससम्म गर्ने रणनीति आयोगले लिएको छ ।

 

सरकारले बढायो प्रहरीको राशन स्केल र रकम (भिडियोसहित)

राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा जाने भएका छन् ।
बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

अर्यालकाअनुसार राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी माघ १८–२१ गतेसम्म तीन दिने भ्रमणमा जान लागेका हुन् ।

बैठकले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
उनले भने, ‘२०८२-११-१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको छ ।’

आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको अर्यालको भनाइ छ ।