`

दुर्गा प्रसाईंको चुनौती : ‘ओ आईजीपी सा’ब मलाई झुण्ड्याऔँ, म झुण्डिन तयार छु (भिडियो)

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंको समूहले चितवनमा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भोलि (सोमबार) प्रदर्शन गर्दैछ ।

त्यसअघि उनलाई नेपाल प्रहरीले आइतबार बोलायो र केरकार गर्‍यो । केरकारपछि छाडिएका उनी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग क्रोधित सुनिए । आफूलाई झुण्ड्याउन कार्कीलाई चुनौती दिए ।

‘ऊ यहाँ तल खरीको बोट छ क्या, पहिले शुक्रराज शास्त्रीहरूलाई झुण्ड्याएको, उनले आक्रोश पोख्दै महानिरीक्षक कार्कीलाई भने, ‘म यहाँको एसएसपी सा’ब र पुलिसका आईजीपी दानबहादुर कार्कीलाई भन्छु, ओ ! मलाई लगेर त्यहाँ झुण्ड्याओ ।’

उनले नेपाल बचाउन र राजसंस्थासँगै हिन्दुराष्ट्र फर्काउन आफू झुण्डिन तयार भएको बताए । उनले प्रदर्शनमा चितवनवासी जनतालाई साथ दिन आग्रह पनि गरे ।

केन्द्रीय सुरक्षा समितिले प्रसाईं समूहलाई आगामी निर्वाचनमा ‘मुख्य चुनौती’को रूपमा किटान गरिसकेको छ ।

प्रसाईं समूहले चुनाव भाँड्न सक्ने भन्दै प्रहरीले उच्च निगरानी गरिरहेको छ । यसबीच सोमबार प्रहरीले उनलाई बोलाएर शान्तिपूर्ण ढंगले प्रदर्शन गर्न सुझाएको जनाएको छ । प्रसाईं समूहले निर्वाचनलाई बहिष्कार गरेको छ ।

रास्वपामा विचार होइन, सत्तामा पुग्ने हतारो मात्रै छः विप्लव

काठमाडौं । नेकपा (माओवादी)मा महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरुले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाए ।

महासचिव विप्लवले नयाँ पार्टीहरुले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको जिकिर समेत गरे। उनले विचार केही होइन भन्नेहरुले उपभोगवादी संस्कृतिलाई प्राथमिकतामा राखेको समेत बताए।

‘विचार केही होइन, पार्टी र नेता भए हुन्छ, यो त नयाँ भन्नेहरुको सिद्धान्त हो, अहिले के देखिन्छ भने सिद्धान्त र विचारको कुरा गर्नु हुँदैन’,महासचिव विप्लवले भने,‘यो कस्तो तरिका हो भने भने पुँजीवादीहरुको तरिका हो । पुँजीवादमा पनि अहिले यो लोकप्रियताबादको नारा हो यो ।’

महासचिव चन्दले कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भनेर भ्रम छर्ने काम गरिएको प्रतिक्रिया पनि दिए ।

एक महिने स्वस्थानी व्रतकथाको आज अन्तम दिन (तस्बिरहरु)

काठमाडौं । एक महिने स्वस्थानी व्रतकथा आजबाट सम्पन्न भएको छ ।

पौष शुक्ल पूर्णिमाका दिनदेखि शुरु भएको स्वास्थानी व्रतकथा माघ शुक्ल पूर्णिमाका दिनमा विधिपूर्वक सम्पन्न भएको हो । एक महिनाको तपस्या, संयम र भक्ति आज समापन भएको हो । घरघरमा सुनाइएको यो पवित्र कथाले श्रद्धालुहरूको मनमा धैर्य, विश्वास र शान्तिको सन्देश छोडेको छ ।

शिव–पार्वतीको लीला, नव रानीको कथा र स्वस्थानी माताको महिमा आज अन्तिम अध्यायसम्म पुगेको छ । व्रत बस्नेहरूको सुख–समृद्धि, सुस्वास्थ्य र वैवाहिक जीवन मधुर बनोस् भनी स्वस्थानी मातासँग प्रार्थना गरेका छन् । पर्वले हामीलाई संयम, भक्ति र कर्मको महत्व सिकाएको छ ।

तस्बिरहरु:

काठमाडौंको लोकप्रिय कार्यक्रम : ज्येष्ठ नागरिकलाई घरघरमै आधारभूत स्वास्थ्य सेवा (भिडियो)

काठमाडौं । काठमाडौं महानगरपालिकाले लोकप्रिय कार्यक्रम थालनी गरेको छ ।

महानगरपालिका क्षेत्रका ७० वर्ष र त्यसभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई घरघरमै पुगेर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम सुरु गरेको हो ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार कार्यक्रमसँगै ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे सर्वेक्षण पनि भइरहेको छ ।

आगामी आर्थिक वर्षमा महानगरपालिकाले नीति तथा कार्यक्रम बनाउँदा तथ्य र प्रमाणमा आधारित होस् भन्नका लागि पनि सर्वेक्षण उपयोगी हुने उनले बताइन् ।

उलने आधारभूत स्वास्थ्य सेवा घरघरबाटै प्रवाह गर्ने क्रममा ज्येष्ठ नागरिकहरूको ब्लड प्रेसर, सुगर, खाइरहेको औषधी आदिबारे जानकारी लिने बताएकी छन् ।

कतिपय ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य प्रबद्र्धन केन्द्रबाट सेवा सुविधा उपलब्ध हुने उनको भनाइ छ ।

कांग्रेस महामन्त्री पौडेलको आग्रह– गाली होइन, आर्थिक मुद्दामा प्रतिस्पर्धा गरौँ (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशको अर्थतन्त्रको मजबुती नै राजनीतिको प्रधान मुद्दा हुनुपर्ने बताएका छन् ।

त्यसका लागि राजनीतिक दलहरूले एकअर्कालाई गाली गरेर नभई राम्रा आर्थिक मुद्दा ल्याएर प्रतिस्पर्धा गर्नुपर्नेमा उनले जोड दिए ।

‘देशको आर्थिक क्षमता वृद्धि गर्ने विषय नै आजको हाम्रो राजनीतिको प्रधान विषय हो,’ उनले भने, ‘अब हामीले प्रतिस्पर्धा गर्ने एकअर्कालाई गाली गरेर होइन, राम्रा आर्थिक मुद्दा ल्याएर प्रतिस्पर्धा गर्ने कुरा उपयुक्त हो भन्ने लाग्छ ।’

उनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मर्यादित प्रतिस्पर्धाका लागि मुद्दामा आधारित भएर प्रतिस्पर्धात्मक प्रणालीलाई विकास गर्नुपर्ने पनि बताए ।

यतिबेला जनताले चाहेको दलका नेतृत्वहरूको आर्थिक अवधारणा भएको पनि उल्लेख गरे । तर, त्यसमा दलीय नेतृत्वहरू सफल नभएको उनको भनाइ छ ।

कानुन निर्माणमा प्रतिपक्षी सांसदको भूमिका एकदमै सीमित’ (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले सरकारले जस्तो कानुन चाहन्छ, त्यस्तै बन्ने गरेको बताएका छन् ।

पूर्वसांसदसमेत रहेका उनले प्रतिपक्षी दलका सांसदहरूको कानुन निर्माणमा एकदमै सीमित भूमिका हुने गरेको बताए । कार्यपालिकालाई कानुन निर्माणको प्रारम्भिक चरणमा अधिक जिम्मेवारी हुँदा त्यस्तो भएको उनको अनुभव छ ।

‘कानुन निर्माणका सबै प्रक्रिया मन्त्रालयबाट सुरु हुन्छन् । मोटामोटी संसद्मा आएपछि संशोधनका प्रयास हुन्छन् तर बहुमत प्राप्त दलका नेता प्रधानमन्त्री बन्छ र त्यो हुनाले सरकारले जस्तो जस्तो चाहन्छ, त्यस्तैत्यस्तै खाले कानुन बन्छन्,’ उनले भने, ‘प्रतिपक्षीय सांसदहरूको कानुन निर्माणमा एकदमै भूमिका लिमिटेड हुँदो रहेछ ।’

उनले कुनै दलले स्पष्ट जनादेश पाएनन् भने घोषणापत्र कार्यान्वयन गर्न नसकिने पनि बताए । त्यसो हुनाले उनले मतदातासँग कुनै दललाई स्पष्ट बहुमत दिन आग्रह गरे ।

ओलीलाई जिताउन तात्तियो एमाले: दमकका सबै वडामा निर्वाचन परिचालन कमिटीका कार्यालय

दमक। नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी अन्तर्गत दमक नगरपालिकाका १० वटै वडामा वडा स्तरीय कार्यालय आजदेखि सञ्चालन सुरु गरिएको छ ।

अब पार्टीका हरेक कार्यकर्ता मतदाताका घर घर जाने र एमालेमा मतदान गर्न सम्झाउने एमालेले जनाएको छ । यस अघि नै एमालेले भेला समेत आयोजना गरेर मतदातालाई पार्टी अध्यक्ष एवं झापा ५ का उम्मेद्वार केपी शर्मा ओलीलाई मतदान गर्न प्रचार सुरु गरिसकेको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले जानकारी दिए ।

झापाको दमक नगरपालिकाका भित्र रहेका सबै वडामा निर्वाचन सम्बन्धी सम्पूर्ण गतिबिधि अघि बढाइने एमाले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी संयोजक देवेन्द्र दाहालले जानकारी दिए । सबै वडामा कार्यालय स्थापना गरिएको र आजदेखि औपचारिक रुपमा सञ्चालन सुरु गरिएको हो ।
पार्टीका वडा कमिटी संयोजक सहित प्रत्येक वडा अन्तर्गत भूगोलमा रहनुहुने पार्टी केन्द्रिय कमिटीका पदाधिकारी, सदस्य, त्यस्तै प्रदेश कमिटी पदाधिकारी तथा सदस्य, जिल्ला र नगर कमिटी समेतका पदाधिकारी तथा सदस्यहरु रहने गरि जिम्मेवारी तोकिएको छ ।

यसैगरी सम्बन्धित वडामा रहने जनसंगठनका सबै पदाधिकारी तथा सदस्यहरु, अगुवा पार्टीका कार्यकर्ता बिज्ञ समेत रहेर कार्यालयमा दैनिक योजना तर्जुमा गरिने छ । कार्यालय मार्फत दैनिक पार्टीका कार्यक्रम घरदैलो वडा अन्तर्गत रहेका टोल कमिटीलाई समेत सहजिकरण गरिने छ । यस अघि वडा स्तरमा कम्तिमा १५१ सदस्यीय बढीमा ५०१ सदस्यीय निर्वाचन परिचालन समेत गठन गरिएको छ । वडा स्थापना गरिएका कार्यालय अन्तर्गत योजना तर्जुमा तयार गर्ने, त्यस क्षेत्रमा हुने पार्टीका सम्पूर्ण गतिविधिको व्यवस्थापन हुने जनाइएको छ ।

उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धक सुरेन्द्र पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उद्योगमा रहँदा व्यापक आर्थिक अनियमितता गरेको आरोपमा उनीहरूमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियारका अनुसार पौडेलसँगै तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का विभाग प्रमुख हरि अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर जिसीविरुद्ध मुद्दा चलाइएको छ ।

अनुसन्धानका क्रममा उनीहरूले उद्योगको खरिद, उत्पादन र भण्डारण प्रक्रियामा मिलेमतो गरी १२ करोडदेखि ४६ करोड रुपैयाँसम्मको आर्थिक अनियमितता गरेको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार सुरेन्द्रकुमार पौडेल र नायव महाप्रबन्धक महेश काफ्लेले संयुक्त रूपमा १२ करोड ६३ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

त्यसैगरी अन्य अभियुक्तहरूविरुद्ध ४६ करोड ५२ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

अख्तियारले उद्योगको व्यवस्थापन तहबाटै योजनाबद्ध रूपमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको निष्कर्ष निकालेको छ ।

अख्तियारले अभियुक्तहरूबाट बिगो रकम असुल उपर गर्न, कैद तथा जरिवाना सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

के हो पत्रकार सिटौलालाई भएको सब-एराक्नोइड हेमरेज?

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानमा सहभागी हुने क्रममा अछाममा बेहोस भएका चलचित्र पत्रकार दिनेश सिटौलाको सब-एराक्नोइड हेमरेज स्ट्रोकले मृत्यु भएको ग्रान्डी अस्पतालले जनाएको छ । यो समस्या मष्तिष्कमा हुने रक्तस्रावको कारण हुने गर्छ । 

सब-एराक्नोइड हेमरेज स्ट्रोक गम्भीर र प्राणघातक स्थिति हो, जसमा मस्तिष्कको वरिपरि रहेको सब-एराक्नोइड स्पेसमा अचानक रक्तस्राव हुन्छ। चिकित्सकहरूका अनुसार यो अवस्था प्रायः मस्तिष्कभित्रको धमनी फाट्दा (सेरिब्रल एन्यूरिज्म), आर्टिरियोभेनस मालफर्मेसन (एभिएम) वा टाउकोमा गम्भीर चोट लाग्दा देखिने गर्छ।

सब-एराक्नोइड हेमरेजको सबैभन्दा सामान्य कारण फाटेको सेरिब्रल एन्यूरिज्म हो। सेरिब्रल एन्यूरिज्म भनेको मस्तिष्कलाई रगत आपूर्ति गर्ने धमनीको पर्खाल कमजोर भएर फुलेको अवस्था हो। जब यस्तो एन्यूरिज्म अचानक फुट्छ, मस्तिष्कमा तीव्र रक्तस्राव हुन्छ, जसले स्थायी मस्तिष्क क्षति वा मृत्यु समेत गराउन सक्छ।

किन बन्छ सेरिब्रल एन्यूरिज्म ?

चिकित्सा विज्ञानका अनुसार सेरिब्रल एन्यूरिज्म कसैमा पनि जन्मजात हुँदैन। यो प्रायः जन्मपछि, जीवनको दोस्रो दशकपछि क्रमशः विकास हुने गर्छ। परिवारमा मस्तिष्क एन्यूरिज्मको इतिहास भएका व्यक्तिमा यसको जोखिम बढी हुन्छ।

महिलामा पुरुषको तुलनामा एन्यूरिज्म र सब-एराक्नोइड हेमरेज हुने सम्भावना बढी देखिन्छ। त्यसैगरी, उच्च रक्तचाप, धूम्रपान र दीर्घकालीन अस्वस्थ जीवनशैलीले पनि जोखिम उल्लेख्य रूपमा बढाउँछ।

सब-एराक्नोइड भएपछि देखिने लक्षणहरू

सेरिब्रल एन्यूरिज्म फुट्दा बिरामीले एकाएक असह्य र तीव्र टाउको दुखाइ महसुस गर्छन्, जसलाई धेरैले ‘जिन्दगीकै सबैभन्दा भयानक टाउको दुखाइ’ भनेर वर्णन गर्ने गर्छन् । यससँगै वाकवाकी, बान्ता, घाँटीमा केही अड्किए जस्तो हुनु , आँखामा धमिलो वा दोहोरो देखिनु, उज्यालोमा असहज हुनु, बेहोस हुनु वा मिर्गीका दौरा समेत पर्न सक्छन्।

कसरी गरिन्छ यसको उपचार ?

सब–एराक्नोइड हेमरेजको प्रारम्भिक पहिचानका लागि सीटी स्क्यान सबैभन्दा प्रभावकारी मानिन्छ। रक्तस्रावको सुरुआती चरणमा सीटी स्क्यानमा रगत सेतो (घना) देखिन्छ। एन्यूरिज्मको आकार र अवस्थाबारे जानकारी लिन सीटी एन्जियोग्राफी (सिटिए) वा एमआरआई तथा एमआर एन्जियोग्राफी (एमआरए) प्रयोग गरिन्छ।

यदि सीटी सामान्य देखिए पनि शंका कायम रहेमा लम्बर पङ्क्चर गरेर मस्तिष्क द्रवमा रगतको उपस्थितिको जाँच गरिन्छ। यस्तै, सेरेब्रल भेसल एन्जियोग्राफीलाई रक्तनलीको ‘स्वर्ण मानक’ परीक्षण मानिन्छ, जसबाट एन्यूरिज्मको ठ्याक्कै अवस्था पत्ता लगाइन्छ।

सब-एराक्नोइड हेमरेजको उपचारको निर्णय गर्दा बिरामीको उमेर, स्वास्थ्य अवस्था, एन्यूरिज्मको आकार, संरचना र जोखिम कारकलाई ध्यानमा राखिन्छ। मुख्य उद्देश्य पुनः रक्तस्राव रोक्नु र मस्तिष्कका जटिलताबाट जोगाउनु हो।

सब-एराक्नोइड हेमरेजको उपचारका प्रमुख दुई विधि छन् ।

सर्जिकल क्लिपिङएन्डोभास्कुलर कोइलिङ

क्लिपिङमा न्यूरोसर्जनले खोपडी खोलेर एन्यूरिज्मको मुखमा धातुको क्लिप लगाउँछन्। कोइलिङ भने कम आक्रामक विधि हो, जसमा रक्तनलीभित्रबाट तारजस्तै कोइल राखेर एन्यूरिज्ममा रगत जान दिइदैन । पछिल्लो दशकमा कोइलिङ बढी प्रचलित र सुरक्षित विकल्पका रूपमा स्थापित हुँदै गएको छ।

जटिल र विशाल एन्यूरिज्मका लागि ‘फ्लो डायभर्टर’ नामक प्रविधि पनि प्रयोगमा आएको छ, जसले एन्यूरिज्मतर्फ जाने रगतको प्रवाहलाई मोडेर क्रमशः थक्का जम्न मद्दत गर्छ।

रिकभरी र फलो-अप

सब-एराक्नोइड हेमरेज प्राणघातक भए पनि समयमै उपचार भएमा धेरै बिरामी सामान्य जीवनमा फर्किन सक्छन्। रिकभरीको गति भने प्रारम्भिक रक्तस्रावको गम्भीरता र वैसोस्पाज्मप्रतिको प्रतिक्रियामा निर्भर गर्छ।

केही बिरामीमा स्मरणशक्ति, सोच्ने क्षमता र शारीरिक गतिविधिमा अस्थायी वा दीर्घकालीन समस्या देखिन सक्छ। उचित उपचार, पुनःस्थापना र नियमित फलो-अपले यी समस्या क्रमशः सुधार हुन सक्छन्।

चिकित्सकहरूका अनुसार बिरामीले ७ दिन र १ महिनापछि अनिवार्य फलो-अप गर्नुपर्छ भने ६ महिना वा १ वर्षपछि एन्जियोग्राफी परीक्षण सिफारिस गरिन्छ।

पत्रकार सिटौलाको शब पोस्टमार्टम गरिने

काठमाडौं । चलचित्र पत्रकार दिनेश सिटौलाको शवलाई पोस्टमार्टम गरिने भएको छ । उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लाने तयारी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका दौरान अछाममा पुगेका सिटौला  शुक्रबार बेहोस भएका थिए । यसपछि उनलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो । ४५ वर्षीय सिटौलाको उपचारको क्रममा आइतबार निधन भएको ग्राण्डी इन्टरनेशनल अस्पताल काठमाडौंले जनाएको छ ।

प्रेस विज्ञप्तिअनुसार सिटौलालाई गम्भीर अवस्थामा अस्पताल ल्याइएको थियो । गम्भीर सब–एराक्नोइड हेमरेजको आशंकामा सिटौलालाई क्रिटिकल केयर तथा न्युरोसर्जरी टोलीको संयुक्त निगरानीमा आईसीयूमा भर्ना गरिएको थियो ।

प्रारम्भिक परीक्षणमा मस्तिष्कमा रक्तस्राव देखिएपछि थप ४८ घण्टासम्म कडा निगरानीमा उपचार गरिएको अस्पतालले जनाएको छ ।

आईसीयू उपचारका क्रममा उनलाई डायबेटिस इन्सिपिडससम्बन्धी समस्या समेत देखिएको र मापदण्डअनुसार उपचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि, ४८ घण्टापछि पनि उनको न्युरोलोजिकल अवस्थामा कुनै सुधार नआएको र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्त हुने संकेत नदेखिएको अस्पतालको भनाइ छ ।

यसपछि चिकित्सकीय प्रोटोकलअनुसार गरिएको ‘एपनिया टेस्ट’ पोजिटिभ आएपछि सिटौलाको मस्तिष्क मृत्युको पुष्टि गरिएको र सोही आधारमा आज १२ः४५ बजे उनको निधन भएको जानकारी अस्पतालले दिएको हो ।

ग्राण्डे इन्टरनेशनल अस्पतालले विज्ञप्तिमार्फत सिटौलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, अस्पतालले बिरामीको हेरचाहमा सबै सम्भावित चिकित्सकीय प्रयास गरिएको स्पष्ट पारेको छ ।

तर, कतिपयले भने सिटौला अछाममा गम्भीर बिरामी परेको घटनालाई शंकाको दृष्टिले हेरेका छन् । सिटौलालाई ग्रान्डीमा उपचार गराइरहँदा त्यहाँ बालेन पनि पुगेका थिए । त्यसबेला उनले दिएको अभिव्यक्तिलाई लिएर परिवारका सदस्यहरूले असन्तुष्टि जनाएका थिए ।

लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई जिताउनुको विकल्प छैनः नेता शर्मा

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प नभएको बताएका छन् ।

निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले बोल्न, आफूलाई मन नलागेको कुरामा प्रतिवाद गर्ने अधिकार काँग्रेस लगायतका पुराना राजनीतिक दलहरुले लडेर ल्याएको स्मरण गराए । उनले लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई वश्वास गर्नुको विकल्प नभएको बताए ।

नेपाली काँग्रेस पहिला आफू बदलिएर देशको स्थिति बदल्ने सपना बोकेर निर्वाचनमा होमिएको जिकिर गरेका शर्माले नयाँ, बदलिएको र एजेण्डासहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले विश्वास गर्नुपर्ने बताए ।

‘तपाईं हामीले आज मन लागेको चिज बोल्न त पाएको छ नि, सरकारले थुनिहाल्यो भने अदालतले छोड्ने डेमोक्रेसीको पाँच पिल्लरमध्ये एउटा स्वतन्त्र न्यायालय कल्पना गरेको छ’,शर्माले भने,‘लोकतन्त्रको रक्षा गर्ने हो भने हामीलाई नै विश्वास गर्नुपर्छ । तपाईंहरुले हेर्नुभयो नयाँ नयाँ भन्छन्, नयाँ काँग्रेस हामीले बनाएर ल्याएका छौँ ।’

नेता शर्माले नागरिक भुलभुलैयामा परे देशको दुर्भाग्य निश्चित रहेको बताए ।

प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भोटाहिटीस्थित भवन  काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिन गृहमन्त्रालयले सहमति प्रदान गरेको छ ।

व्युरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५  को कुल ४ आना, २ पैसा १ दाम भएको जग्गा र सो जग्गामा बनेको भवन काठमाडौं महानगरपालिकाले प्रयोग गर्नेगरी गृहमन्त्रालयले सहमति प्रदान गरेको हो । त्यसको बदलामा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता गर्न महानगर सहमत भएको छ ।

आईतवार गृहमन्त्रालयमा भएको दुईपक्षबीचको छलफलबीच सो सहमति अनुसार निर्णय गरिएको गृह मन्त्रालयका उपसचिव वर्तराज पौडेलले जानकारी दिए । उपसचिव पौडेलका अनुसार उक्त जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेपछि कुल क्षेत्रफलमध्ये कम्तीमा ८ आना जग्गा समरजंण कम्पनी कार्यालयका लागि प्रयोग गरिने र बाँकी जग्गा नेपाल प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

यसअघि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीको साइबर व्युरो कार्यालय रहेको भोटाहिटीस्थित भवनमा महानगरपालिकाको वडा कार्यालय राख्नका लागि माग गर्दै आएको थियो । सार्वजनिक/सरकारी जग्गाको संरक्षण स्थानीय सरकारले गर्ने भनेर कानूनमा उल्लेख छ । तर ती जग्गाको उपभोग गर्न परे जुन निकाय मातहत छ सोसँग समन्वयन र सम्झौता गरी उपभोग गर्न पाउने कानुनी व्यवस्था अनुसार गृह मन्त्रालयसँग सहमति लिइएको हो ।

सोविता गौतमले भनिन् – म एक्लै राम्रो भएर कहाँ समाज बन्दो रहेछ त ? (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चितवन–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी पूर्वसांसद सोविता गौतमले आफ्नो मुद्दा आफैं समाधान गर्न मूलधारको राजनीतिमा आएको बताएकी छिन् ।

उनले यो भएन, त्यो भएन भनेर विगतमा सांसदका रूपमा सरकारलाई गुनासो गरेको तर नसुनेको भन्दै आफैं राष्ट्रिय राजनीतिमा अघि बढेको बताइन् ।

उनले आफू एक्लै राम्रो भएर समाज राम्रो नबन्ने निष्कर्षका आधारमा देशमा सही नेतृत्वको खडेरी टार्न आफ्नो राजनीतिमा उपस्थिति भएको दाबी गरिन् ।

‘म एक्लै राम्रो भएर समाज कहाँ राम्रो बन्दो रहेछ त ? समाज कसले बनाइदिन्छ त ? भन्ने ठानेर यो देशमा राम्रो नेतृत्व गर्ने व्यक्तिहरूको खडेरी लागेको देखेर अब अरुलाई गुनासो गर्ने होइन, यो भएन, त्यो भएन भनेर कति उभिरहने ?’, उनले भनिन्, ‘सांसदहरूले मान्छे बेच्नेलाई कारबाही गर्नुपर्छ भनेर संसद् भवनमा आन्दोलन गर्दा त सरकाले सुनेन, आम नागरिकका कुरा कसरी सुन्छ ? त्यही भएर मूलधारको राजनीतिमा आउने र आफ्ना मुद्दा आफैं लागेर आफैँ समाधान गर्ने भनेर म राष्ट्रिय राजनीतिमा आएँ ।’

उनले २०८४ को चुनाव युवापुस्ताको विद्रोहले २०८२ मै गर्नुपरेको दाबी गरिने । उनको चितवन–३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेदवार रेणु दाहालसँग प्रतिस्पर्धा हुँदैछ । कांग्रेसबाट टेकबहादुर गुरुङ पनि प्रतिस्पर्धी छन् ।

उनी यसअघि काठमाडौं–२ बाट निर्वाचित सांसद हुन् । तर, संसद्मा प्रखर रूपमा आफ्नो कुरा राखेको तर काठमाडौं–२ मा जनअपेक्षित काम गर्न नसकेको आरोप उनीमाथि छ ।

यस्तो अवस्थामा चितवन–३ मा उम्मेदवार दिएर चुनावी अभियानमा रहेकी सोविताले देशमा सही नेतृत्वको खडेरी टार्न राजनीतिमा आएको बताइन् ।

बालेनको अभियानमा अछाममै बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी अभियानका क्रममा अछाम पुगेका पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।

उनी शुक्रबार बालेन सहभागी कार्यक्रममा बेहोस भएका थिए । ४५ वर्षीय सिटौलाको उपचारको क्रममा आइतबार निधन भएको ग्राण्डी इन्टरनेशनल अस्पताल काठमाडौंले जनाएको छ ।

प्रेस विज्ञप्तिअनुसार सिटौलालाई गम्भीर अवस्थामा अस्पताल ल्याइएको थियो । गम्भीर सब–एराक्नोइड हेमरेजको आशंकामा सिटौलालाई क्रिटिकल केयर तथा न्युरोसर्जरी टोलीको संयुक्त निगरानीमा आईसीयूमा भर्ना गरिएको थियो ।

प्रारम्भिक परीक्षणमा मस्तिष्कमा रक्तस्राव देखिएपछि थप ४८ घण्टासम्म कडा निगरानीमा उपचार गरिएको अस्पतालले जनाएको छ ।

आईसीयू उपचारका क्रममा उनलाई डायबेटिस इन्सिपिडससम्बन्धी समस्या समेत देखिएको र मापदण्डअनुसार उपचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि, ४८ घण्टापछि पनि उनको न्युरोलोजिकल अवस्थामा कुनै सुधार नआएको र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्त हुने संकेत नदेखिएको अस्पतालको भनाइ छ ।

यसपछि चिकित्सकीय प्रोटोकलअनुसार गरिएको ‘एपनिया टेस्ट’ पोजिटिभ आएपछि सिटौलाको मस्तिष्क मृत्युको पुष्टि गरिएको र सोही आधारमा शनिबार राति १२ः४५ बजे उनको निधन भएको जानकारी अस्पतालले दिएको हो ।

ग्राण्डे इन्टरनेशनल अस्पतालले विज्ञप्तिमार्फत सिटौलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, अस्पतालले बिरामीको हेरचाहमा सबै सम्भावित चिकित्सकीय प्रयास गरिएको स्पष्ट पारेको छ ।

तर, कतिपयले भने सिटौला अछाममा गम्भीर बिरामी परेको घटनालाई शंकाको दृष्टिले हेरेका छन् । सिटौलालाई ग्रान्डीमा उपचार गराइरहँदा त्यहाँ बालेन पनि पुगेका थिए । त्यसबेला उनले दिएको अभिव्यक्तिलाई लिएर परिवारका सदस्यहरूले असन्तुष्टि जनाएका थिए ।

कञ्चनपुरमा अर्धनग्न अवस्थामा एक युवतीको शव फेला

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१०, तिल्केनीस्थित शान्ति सामुदायिक वनमा अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ।

शव सड्न लागेको अवस्थामा फेला परेको र प्रारम्भिक अनुमानअनुसार घटना १०-१५ दिनअघि भएको हुन सक्ने प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खडकबहादुर खत्री शव फेला परेकी युवतीको पहिचान अझै नखुलेको बताउँछन् ।

उनका अनुसार मृतकको उमेर करिब २५ वर्ष जस्तै देखिन्छ। प्रहरी घटनास्थलको सुरक्षित निरीक्षण गर्दै अनुसन्धान सुरु गरेको छ।

स्थानीय बासिन्दाहरूले युवतीको शरीरमा चोटपटक देखिएको बताएका छन्। यसले घटनालाई साधारण मृत्यु नभई शंकास्पद बनाएको प्रहरीले जनाएको छ। प्रहरीले स्थानीयवासी, वनका आसपासका व्यक्तिहरू र घटनासँग सम्बन्धित सम्भावित साक्षीहरूको बयान संकलन थालेको छ ।

प्रहरीले अब फोरेंसिक परीक्षण र शव परीक्षणमार्फत मृतकको पहिचान र मृत्युको कारण पत्ता लगाउने योजना बनाएको छ।

निजी क्षेत्रलाई गाली गर्न बन्द गर्नुपर्छः महामन्त्री पौडेल

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गर्न बन्द गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आईतवार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेण्डा’ कार्यक्रमा दलको तर्फबाट धारणा राख्दै राजनीतिक दलले कानूनको दायरामा बसेर नाफा कमाउनेलाई खराब दृष्टिले हेर्न नहुने बताए । दलहरुले ठूलाठूला घोषणापत्र ल्याउने र ती घोषणापत्रमा लेखिएका कुरा पूरा नहुँने भएकाले काँग्रेसले ‘१० बुँदामा घोषणपत्र’ ल्याउने पनि पौडेलले जानकारी दिए ।

महामन्त्री पौडेलले सम्भाव्य क्षेत्रमा रोजगारी सृजना गर्ने खाका दलहरुका घोषणा पत्रमा हुनुपर्ने बताए । नयाँ क्षेत्रको पहिचान गरी अर्थतन्त्रमा ती क्षेत्रलाई जोड्ने योजना पनि घोषणा पत्रमा हुने उनको भनाइ छ । अर्थतन्त्रलाई डीजिटलाइजेसन गरेर मात्र भ्रस्टाचारको अन्त्य गर्न सकिने उनको भनाइ छ । प्रशासनिक संयन्त्र र तहगत सरकारका कामलाई पनि डिजिटलाइजेसन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘अर्थतन्त्रको डिजिटाइलेसनले मात्रै नेपालको भ्रष्टाचार अन्त्य गर्न सकिन्छ, डिजिटल माध्यमको बाहिर गएर आर्थिक व्यवहार हुँदै नहुने स्थीति सिर्जना गर्नुपर्छ, त्यो गर्दा पारदर्शी हुन्छ,’ पाैडेलले भने, ‘त्यसकारण नेपालको अर्थतन्त्रलाई डिजिटाइलेसन गर्ने सबभन्दा पहिलो विषय हो । त्यसले भ्रष्टाचार अन्त्य नै गर्छ होइन भने न्यूनिकरण गर्न कठिन छ । हाम्रा प्रशासनिक संयन्त्रहरुलाई डिजिटाइलेसन गर्न पनि जरुरी छ ।’

थोरै पुँजीगत खर्चबाट देश विकास गर्न नसकिने भन्दै यसलाई बढाउन के गर्न सकिन्छ भन्ने सोचसहित आफूहरुले योजना बनाइरहेको उनको भनाइ छ । उत्पादन निजी क्षेत्रले गर्ने भन्दै यसलाई खुम्च्याउन नहुने समेत उनले बताए । नयाँ कानूनहरु व्यवसायीक बनाउनुपर्ने हो भने निजी क्षेत्रले स्पष्ट रुपमा भन्न सक्नुपर्ने र त्यसलाई राजनीतिक दलले पनि आत्मसात गर्नुपर्ने पौडेलको भनाइ छ ।

गुटेरेसको चेतावनी: जुलाईसम्म राष्ट्रसंघको बजेट सकिन सक्ने खतरा

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्व संगठन अहिले ठूलो आर्थिक संकटमा परेको चेतावनी दिएका छन्।

उनले सबै सदस्य राष्ट्रलाई आफ्नो बक्यौता रकम छिटो बुझाउन अनुरोध गरेका छन्। उनले भनेका छन् कि यदि यस्तो भएन भने जुलाईसम्म संस्था चलाउन समस्या हुन सक्छ।

गुटेरेसका अनुसार केही देशहरूले आफ्नो अनिवार्य योगदान ढिलो बुझाइरहेका छन् वा पुरा बुझाएका छैनन्। यही कारण राष्ट्रसंघले नयाँ कर्मचारी नबढाउने र खर्च घटाउने निर्णय गर्नुपरेको छ।

उनले भने, “सबै सदस्य राष्ट्रहरूले आफ्नो जिम्मेवारी अनुसार भुक्तानी गर्नुपर्छ, नत्र हामीले आर्थिक नियममा ठूलो परिवर्तन गर्नुपर्छ।”

संयुक्त राष्ट्रको सुरक्षा परिषद्का स्थायी सदस्यहरू अमेरिका, रुस र चीनबीच बढ्दो विवादले पनि संस्था काम गर्न गाह्रो बनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सुरु गरेको ‘बोर्ड अफ पिस’लाई आलोचकहरूले राष्ट्रसंघको प्रतिस्पर्धी संस्था भन्न थालेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ सम्म लगभग १.६ बिलियन डलर अझै संकलन हुन बाँकी छ। गुटेरेसले भने, “अहिलेको अवस्था धान्न सकिँदैन, यसले संस्था वित्तीय जोखिममा पारेको छ।”

त्यसैगरी, खर्च नभएको रकम देशहरूलाई फिर्ता दिनु पर्ने नियमले पनि समस्या थपेको छ। गुटेरेसले चेतावनी दिएका छन् कि यदि आर्थिक संकलनमा सुधार भएन भने २०२६ को बजेट पूरा लागू गर्न सकिने छैन, र जुलाईसम्म नियमित बजेटको नगद सकिन सक्छ।

गुटेरेसले यस संकटलाई विश्व राजनीतिमा विभाजन, अन्तर्राष्ट्रिय कानुन उल्लंघन र विकास तथा मानवीय सहायता कटौतीसँग पनि जोडेर व्याख्या गरेका छन्।

एजेन्सीको सहयोगमा ।

सुनको मूल्यमा भारी गिरावट, घट्यो एकै दिन १८ हजार बढी

काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्य कम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य ३ लाख रुपैयाँ र चाँदीको मूल्य ५,५०० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य एक औँसमा ४,८६५ अमेरिकी डलर र चाँदीको मूल्य ८५ अमेरिकी डलर कायम छ।

गत साताको पछिल्लो चार दिनको मूल्यसूची

  • बिहीबार: सुन ३,३९,३०० / चाँदी ७,५०५

  • शुक्रबार: सुन ३,१८,८०० / चाँदी ७,०६५

  • बुधबार: सुन ३,१८,८०० / चाँदी ७,३००

  • मङ्गलबार: सुन ३,०९,३०० / चाँदी ६,८७०

बलोचिस्तानमा सेनाको सुरक्षा अपरेशन: ९२ आतंकवादी मारिए

इस्लामावाद । पाकिस्तानका सुरक्षा बल र कानून प्रवर्तन निकायहरूले बलोचिस्तान प्रान्तमा आतंकवादी गतिविधि रोक्दै शनिबार ९२ जना आतंकवादी मारिएको जानकारी दिएका छन्।

सुरक्षा अधिकारीहरूका अनुसार, प्रान्तभर आतंक फैलाउने योजनालाई असफल बनाउन यो अपरेशन गरिएको हो। आतंकवादीहरूले ग्वादर, खारण लगायतका जिल्लामा आक्रमण गर्ने योजना बनाएका थिए, जसले स्थानीय जनजीवन र विकासमा गम्भीर असर पार्न सक्थ्यो।

सुरक्षा अपरेशनका क्रममा ग्वादर र खारणमा १८ जना निर्दोष नागरिकको ज्यान गएको छ भने १५ जना सैनिक शहीद भएका छन्।

पाकिस्तान सेनाका प्रवक्ताले भने, “गत दुई दिनमा सम्पन्न अपरेशनपछि बलोचिस्तानमा मारिएका आतंकवादीको संख्या १३३ पुगेको छ। यसमा शुक्रबार मारिएका ४१ जना आतंकवादी पनि समावेश छन्। हाम्रो उद्देश्य आतंकवादीहरूको योजना असफल बनाउनु हो।”

सैन्य अधिकारीहरूले प्रभावित क्षेत्रमा सुरक्षा र सफाइ अभियान अझै जारी रहने बताएका छन्। साथै, आतंकवादी गतिविधिमा संलग्न सबै व्यक्ति र सहयोगीलाई कानुनी कारबाही गरिने जानकारी दिएका छन्।

गुप्तचर रिपोर्टअनुसार, यी आक्रमणहरू पाकिस्तान बाहिर बसेका आतंकवादी समूहका नेताहरूले योजनाबद्ध रूपमा सञ्चालन गरेका थिए। सेनाका प्रवक्ताले आतंकवादीहरूको योजना समयमै रोक्न सफल भएको बताएका छन्।

बलोचिस्तान पाकिस्तानको रणनीतिक रूपमा महत्वपूर्ण प्रान्त हो। यहाँ ग्वादर बन्दरगाह, प्राकृतिक स्रोतहरू र ठूला आर्थिक परियोजनाहरू रहेका छन्। पछिल्ला केही वर्षदेखि यो क्षेत्रमा विभिन्न आतंकवादी समूह सक्रिय छन्।

पाकिस्तानले आतंकवादी गतिविधि नियन्त्रण गर्न नियमित रूपमा सुरक्षा अपरेशन गर्दै आएको छ। यसले स्थानीय नागरिकको सुरक्षा र शान्ति कायम गर्न सहयोग पुगेको जनाएको छ।

सुरक्षा अधिकारीहरूले नागरिकलाई सुरक्षा बलसँग सहकार्य गर्न र कुनै पनि शंकास्पद गतिविधिको जानकारी तुरुन्त सम्बन्धित निकायलाई दिन आग्रह गरेका छन्।

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छः नेता भट्टराई

काठमाडौं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा परिरहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले हालको विश्वव्यापी अव्यवस्था (इन्टरनेशनल डिसअर्डर) ले नेपालमा राजनीतिक तथा अन्य क्षेत्रमा असर पारिरहेको र यो प्रभाव झन् गम्भीर बन्दै जाने चेतावनी दिए ।

उनकाअनुसार आजको ग्लोबल परिवेशमा अन्तर्राष्ट्रिय अव्यवस्था भत्किँदै गएको छ । जसको प्रभाव नेपालमा पर्दै गएको र अझ गम्भीर रूपमा पर्ने सम्भावना रहेको छ ।

‘हामी एउटा अत्यन्त फरक खालको अन्तर्राष्ट्रिय परिस्थितिमा परेका छौँ, यसको असर हामी कहाँ कति पर्छ भन्नेबारेमा, त्यसको राजनीतिक असर परेको छ की छैन यहाँ त डिबेट छ,’भट्टराइले भने ‘प्रभावको तानातानको बीचमा हामी पर्दैछौँ । किनभने हाम्रो लोकेशनले त्यो पार्नेतर्फ लगिरहेको छ । अहिले न्यारेटिभ के बनाइन्छ भने ठूला पार्टीहरु अफ्ठ्यारो परेपछि विदेशी हस्तक्षेप देख्छन्, षड्यन्त्र देख्छन् भनेर जेनेरलाइज गर्न खोजिएको छ।’

डा. भट्टराईले नेपालको भौगोलिक अवस्थितिले अन्तर्राष्ट्रिय शक्तिहरूको प्रभाव र तानातानीको केन्द्रबिन्दु बनाइरहेको बताउँदै यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् ।

घोषणापत्र कार्यान्वयन गर्न कुनै एक दललाई बहुमत दिनुस्ः नेता खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पूर्व शिक्षामन्त्री शिशिर खनालले नेपालको संसदीय व्यवस्थामा घोषणापत्र कार्यान्वयन गर्न मतदाताले कुनै एक दललाई स्पष्ट बहुमत दिनुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खनालले सरकारमा रहेको दल वा गठबन्धनले मात्र घोषणापत्रका प्रतिवद्धता पूरा गर्नसक्ने बताएका हुन् । खनालले मिश्रित म्याण्डेट आएको अवस्थामा बहुदलीय गठबन्धन सरकार बन्दा घोषणापत्र कार्यान्वयन हुन नसक्ने उल्लेख गरे । उनले नेपालको संसदीय अभ्यास कार्यपालिकामुखी भएको पनि बताए ।

‘हामी संसदीय व्यवस्थामा छौँ, संसदीय व्यवस्थामा दलले ल्याएका घोषणापत्र वा गर्छु भनेका कार्यक्रमहरु त्यत्तिबेला मात्रै लागू गर्न सकिन्छ, जतिबेला उ सत्ता वा सरकारमा रहन्छ,’नेता खनालले भने ‘नेपालको संसदीय व्यवस्थाको अभ्यास एकदमै कार्यपालिकामुखी छ । कानून निर्माणका सबैकुराहरु मन्त्रालयबाट शुरु हुन्छन् र मोटामोटी संसदमा आएपछि परिमार्जनका प्रयास त हुन्छन् तर बहुमत प्राप्त दल वा बहुमत प्राप्त सांसदको नेता नै प्रधानमन्त्री बन्छ ।’

नेता खनालले मिश्रित मत परिणामले कुनैपनि काम गर्न कठिनाइ हुने उल्लेख गरे।

 

 

पाकिस्तानको बलुचिस्तानमा भीषण आक्रमणः १० सुरक्षाकर्मी र ३७ आतंककारीको मृत्यु

एजेन्सी- पाकिस्तानकाे बलुचिस्तानमा पृथकतावादी समूहको ठूलो आक्रमणलाई विफल पार्ने क्रममा १० सुरक्षाकर्मी र ३७ लडाकू मारिएका छन् ।

सुरक्षा बलले विगत ४८ घण्टामा उक्त क्षेत्रमा कुल ८८ आतंककारी मारिएको जानकारी दिएको छ । प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मी’ले शनिवार बिहानै क्वेटा, नोस्की र ग्वादर जिल्लासहित एक दर्जनभन्दा बढी स्थानहरूमा एकैसाथ आक्रमण शुरु गरेको थियो । स्रोतकाअनुसार यी आक्रमणहरू विशेषगरी सुरक्षा निकायका प्रतिष्ठान र सरकारी लक्ष्यहरूमा केन्द्रित थिए ।

पाकिस्तानी सशस्त्र बल, फ्रन्टियर कोप्र्स र बलुचिस्तान प्रहरीले तत्काल जवाफी कारबाही गर्दै भीषण गोलाबारीपछि लडाकूहरूको योजना असफल तुल्याएको स्रोतले उल्लेख गरेको छ । यस हिंसात्मक भिडन्तमा कैयौँ सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षा स्रोतकाअनुसार पछिल्लो ४८ घण्टामा यस क्षेत्रमा जम्मा ८८ आतंककारीहरू मारिएका छन्।

हाल प्रभावित क्षेत्रहरूमा बाँकी रहेका लडाकूहरूको खोजी गर्न र सुरक्षा व्यवस्था दुरुस्त पार्न स्यानिटाइजेसन अपरेशन जारी राखिएको छ ।

नेकपाले उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउनेगरी घोषणा पत्र ल्याउनेछः नेता गुरुङ

नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि नेकपाले उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणा पत्र ल्याउने उद्घोष गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेण्डा कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर अब उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणापत्र ल्याइने बताए । उनले नेपालको अर्थतन्त्र सुधार गर्न सुशासनलाई पहिलो एजेण्डा बनाउने बताए ।

नेता गुरुङले भने– ‘नेपाली अर्थतन्त्र उत्पादन मुखी बनाउन हामीले जोड दिएका छाँै । आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएको छौँ ।’

गुरुङले रोजगारीमुखी अर्थतन्त्र, कृषि उपजको बजार विस्तारमा जोड दिनेगरी घोषण पत्रमा आउने बताए । ठूला उद्योगहरुलाई प्राथमिकता दिएर गेम चेन्जर परियोजनालाई जोड दिने उनको दाबी छ । घोषणा पत्रमा कार्यान्वयन हुन नसक्नुको कारण राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थिती भएको उनले बताए । उनले विश्व बजार युद्ध अर्थतन्त्रमा गइरहेको भन्दै विश्व आतंकित दिशामा भइरहेको भन्दै अर्थतन्त्र  पश्चिम केन्द्रित भइरहेका बताए ।

‘समृद्ध र आधुनिक पाँचथर निर्माण मेरो मुख्य लक्ष्य, एमालेको संगठन र जनसमर्थनले चुनाव जित्छु’ (अडियो वार्ता)

नेकपा एमालेबाट नेता अइन्द्रसुन्दर नेम्बाङ पाँचथरमा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

दोस्रो संविधानसभा सदस्य नेम्बाङ एमालेबाट प्रतिनिधिसभा निर्वाचन लड्न लागेको पहिलोपटक हो ।

उनको काँधमा पूर्वमन्त्री वसन्तकुमार नेम्बाङले २०७४ र २०७९ मा निकालेको जितको विरासत धान्दै एमालेको ‘ह्याट्रिक’ जितको जिम्मा अध्यक्ष केपी शर्मा ओलीले सुम्पिएका छन् ।

राष्ट्रियता, संविधान, लोकतन्त्र र जनअधिकारको रक्षा गर्दै पाँचथरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउने नेम्बाङले एमालेको संगठनात्मक शक्ति, कार्यकर्ताको एकता र जनताको समर्थनका कारण आफू निर्वाचित हुने दाबी गरे ।

यसबाहेक संसदीय तथा संगठनात्मक अनुभव, जनस्तरसँगको घनिष्ठ सम्बन्धलाई पनि उलने आफ्नो मुख्य आधार मानेका रहेछन् ।

यदि चुनाव जिते पाँचथरमा शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र बसाइँसराइका समस्या समाधानमा आफ्नो भूमिका सशक्त हुने बताए ।

उनले प्रतिबद्धता व्यक्त गर्दै थप भने, ‘मेरो उम्मेदवारी समृद्ध, आधुनिक र विकसित पाँचथर बनाउन हो ।’ उनै नेम्बाङसँग गरिएको चुनावकेन्द्रित टेलिफोन संवादको सम्पादित अंश प्रस्तुत छ ।

 

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा तपाईंको उम्मेदवारी किन ?

मेरो उम्मेदवारी चाहिँ राष्ट्रियता जोगाउन, संविधानको रक्षा गर्न, लोकतन्त्र जोगाउन र संविधानले नेपाली जनतालाई प्रदान गरेको अधिकारको रक्षा गर्न, यो मुलुकलाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ, यो रक्षा गर्नलाई मेरो उम्मेदवारी हो ।

अर्को तर्फ पाँचथरको राजनीतिलाई नेतृत्व गर्नु छ, पाँचथरे जनताको नेतृत्व गर्नु छ, सिंगो पाँचथरलाई आधुनिक पाँचथर बनाउनु छ । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्नु छ । त्यसलाई सार्थक दिनको निम्ति पाँचथरमा धेरै काम गर्नुपर्छ । त्यो काम गर्नको निम्ति साँचो अर्थमा आधारभूत तहबाट म उठेँ । नेकपा एमालेजस्तो ठूलो पार्टीले प्रतिनिधिसभा सदस्यको रूपमा अहिले उम्मेदवारको रूपमा मलाई उठाएको छ ।

अर्कोेतिर यो चुनाव म जित्छु । त्यसको पहिलो कारण भनेको नेकपा एमाले पाँचथर एकताबद्ध छ । संगठनात्मक हिसाबले सबैभन्दा ठूलो संगठन भएको पार्टी नेकपा एमाले हो । कार्यकर्ताहरू एकताबद्ध छन् र मेरो उम्मेदवारी आइसकेपछि पाँचथरका जनता उत्साहित छन्, अत्यन्तै उत्साहित भएर नेकपा एमालेको मात्रै होइन, अन्य दलका साथीहरूसमेत हाम्रो साझा उम्मेदवार हो भन्ने हिसाबमा एकताबद्ध भएर लाग्नुभएको छ ।

अर्कोेतिर, नेपाली कांग्रेस, नेकपा माओवादीकै नेता कार्यकर्ता र मतदाताहरू के भन्छन् भने यो चुनाव लोकतन्त्र जोगाउने, संविधान जोगाउने र देश बनाउने र नबनाउनेहरूको बीचको हुन गइरहेको छ । त्यसकारणले यो मुलुकमा राष्ट्रियता जोगाउने, संविधान र लोकतन्त्र जोगाउने एक मात्र केपी ओली र केपी ओलीको दलका उम्मेदवारहरूलाई यसपटक हाम्रो सहानुभूति छ भन्नुभएको छ ।

मैले जित्नुपर्छ, देश जोगाउनुपर्छ, लोकतन्त्र जोगाउनुपर्छ भन्ने पाँचथरे जनताको चाहना छ । उहाँहरूको चाहनालाई पूरा गर्नको निम्ति म अगाडि बढिसकेको छु र विजयको झण्डा म गाड्छु ।

उसो भए २२ फागुनमा नतिजा आइसक्दा तपाईं प्रतिनिधिसभा सदस्य निर्वाचित भइसक्नुहुन्छ ?

त्यो पक्कै पनि ।

तर, यसपटक कांग्रेसबाट नरेन्द्र कुमार केरुङ, नेकपाबाट हर्क नेम्बाङ ‘मिक्सो’ र रास्वपाबाट महेन्द्रविक्रम थाम्सुहाङ, श्रम संस्कृतिबाट ब्रमिम सेर्मालगायत थुप्रै नयाँ नेताहरू पहिलोपटक चुनावी मैदानमा हुनुहुन्छ । तपाईंलाई जितमा कठिनाइ हुँदैन र ?

उहाँहरूभन्दा संसदीय अनुभव र अभ्यास म अगाडि हो । हिजो २०७० मै संविधानसभाको सदस्य भइसकेको र राष्ट्रिय राजनीतिमा नेकपा एमालेको तीन कार्यकाल केन्द्रीय सदस्य भएर, पाँचथरको इन्चार्ज भएर, लामो समयसम्म संगठित राजनीतिक अनुभव पनि भएको र सिंगो पाँचथरको घरघरमा, जनताको घर दैलोमा पुगेर प्रत्येक पाँचथरेली जनतासँग नमस्कार गरेर भेट गर्न सक्ने कार्यकर्ता पनि भएको नाताले उहाँहरूभन्दा मलाई धेरै सजिलो छ ।

पाँचथरेली जनताको सुख दुःखमा मर्दा पर्दादेखि लिएर सामाजिक क्षेत्रका कामहरूमा सबै ठाउँमा सहभागी भएर आएको छु । यो हिसाबले चिरपरिचित र सबै जनताको बीचमा घुलमिल गर्दै अहिलेसम्म आएको मेरो अनुभव र पाँचथरेली जनताले प्रत्येक सेकेन्ड तपाईंको विजय सुनिश्चित छ, हामी सहयोग गर्छौँ भन्नुको अर्थ मेरो प्रतिस्पर्धीहरूको बीचमा कुनै गाह्रो छ जस्तो मलाई लागेको छैन ।

जेन–जी विद्रोहले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको सरकार ढाल्यो । विद्रोही जेन–जीको मूल एजेन्डा भ्रष्टाचार नियन्त्रण र सुशासन थियो । त्यसो हुँदा जेन–जी विद्रोहीहरूको तारो बनेको दल एमाले र उक्त दलको उम्मेदवार तपाईंको लागि नवपुस्ताका मतदाताको विश्वास लिन चुनौती छैन र ?

जेन–जी युवापुस्ताहरू पाँचथरमा सबै नेकपा एमालेमा आबद्ध भएका छन् । अहिले पनि म युवाहरूसँग अगाडि बढिरहेको छु । अहिले पनि यहाँ दुई गाडी युवाहरूसँगै हिँडेर चुनाव प्रचारप्रसारमा लागिरहेको छु । त्यसकारण जेन–जी युवाहरूको समर्थन मलाई छ र सबैभन्दा धेरै युवाहरू म सँग छन् । पाँचथरमा कुनै समस्या छैन ।

पाँचथरबाट बसाइँसराई डरलाग्दो गरी भइरहेको छ । खासगरी सुखाग्रस्त स्थानीय तहको कुम्मायक, तुम्बेवा, हिलियाङलगायत क्षेत्रबाट बसाइँसराई अधिक देखिन्छ । अन्य स्थानीय तहबाट बढीजसो शिक्षा, स्वास्थ्य जस्ता सेवा सुविधाका लागि तराईमा बसाइँसराई हुने गरेको देखिन्छ । तपाईँ पाँचथरको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता समस्या समाधानका लागि के गर्नुहुन्छ, निर्वाचित भएको अवस्थामा ?

हाम्रो सरकारको पालामा श्रद्धेय अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा कुम्मायकको ठूलो खानेपानी समस्या एक हदले समाधान गरेका छौं । त्यसलाई अझै व्यवस्थित गर्न बाँकी छ । ती कामहरू हुनेछन् ।

तुम्बेवाको पनि लगभग अब समाधानको दिशातिर गएको छ । त्यो हामी समाधान गर्छौँ । अर्कोतिर, शिक्षा क्षेत्रमा पाँचथरमा पनि राम्रै शैक्षिक संस्थाहरू खोलिएका छन् ।

यसलाई अझै स्तरोन्नति गर्ने र स्तरवृद्धि गर्ने काममा मेरो योगदान हुनेछ र स्वास्थ्य क्षेत्रको कुरा गर्नुहुन्छ भने नेकपा एमाले सरकारमा भएको बेला पाँचथर हस्पिटललाई यस क्षेत्रकै राम्रो हस्पिटलको रूपमा हामीले स्थापित गरेका छौं ।

ताप्लेजुङ र तेह्रथुमका जनताले समेत पाँचथर हस्पिटलको सेवा लिइरहनु भएको छ र पाँचथर हस्पिटल अहिले राम्रो हस्पिटलको रूपमा व्यवस्थित छ र समर्पित हस्पिटल छ, गणेशमान हस्पिटल छ । यी हस्पिटलहरूसमेत अहिले चाहिँ राम्रै सेवा प्रदायक हस्पिटल भएको हुनाले हामीले स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य प्रगति गरेका छौं ।

अर्को ठूलो समस्या भनेको बेरोजगारी हो । श्रम शक्ति युवा पुस्ताको विदेश पलायनले गाउँ रित्तो हुँदैछ । रोजगारी सिर्जनाको पाटोमा तपाईंको एजेन्डा के हो ?

नेकपा एमाले जहिले पनि युवाहरूलाई अगाडि बढाउने र बेरोजगारी समस्यालाई हल गर्ने सन्दर्भमा चिन्तित छ र सरकारमा हुँदा होस् या नहुँदा होस्, युवाहरूको बारेमा सधैं हामी आवाज उठाउँछौं र बेरोजगारी समस्यालाई हल गर्ने सन्दर्भमा र बसाइँसराई समेतलाई नियन्त्रण गर्ने सन्दर्भमा कृषि, पर्यटन, उद्योगलाई प्राथमिकतामा राखेर पाँचथरको बेरोजगारी समस्या हल गर्ने कुरामा हाम्रो भूमिका रहन्छ ।

अब तपाईंको चुनावी घोषणापत्र चाहिँ कहिले सार्वजनिक हुन्छ ?

हाम्रो प्रतिबद्धता पत्र सार्वजनिक केही समयपछि हुन्छ ।

घोषणापत्रमा जनतालाई भुलभुलैयामा पार्ने गरी फुलबुट्टाले भरिएको कार्यक्रम त हुनेवाला छैन होला नि ?

नेकपा एमालेले जहिल्यै जनतासँग गासेर, जनतासँग बसेर, जनताकै निम्ति काम गरेको हुनाले कुनै समस्या र सम्भव नहुने कामहरू हुँदैनन् र हामीले घोषणापत्रमा राखेका कुराहरू आजसम्म पूरा गर्दै आएका छौं ।

समृद्ध पाँचथर र विकसित पाँचथर बनाउने कार्यक्रम हुन्छ त्यहाँ ?

बनाउँछौं, बनाउँछौं । त्यति मात्रै हैन, आधुनिक पाँचथर पनि बनाउँछौं ।

झापा-३ मा ढुक्क एमाले : १२ वर्षपछि खोलो फर्काउने दाउमा हरिबहादुर

काठमाडौं । झापा क्षेत्र नम्बर– ३ मा एमाले र राप्रपाबीचको तालमेल नभएपछि यतिबेला दुवै दल एक्लाएक्लै चुुनावी अभियानमा लागेका छन् । सो क्षेत्रमा एमाले नेता कार्यकर्ताको भावनाविपरीत केन्द्रबाट तालमेल हुँदै आएको थियो ।

१२ वर्षपछि झापा–३ मा एमालेले आफ्नै उम्मेदवार पाएको छ । पार्टीमा अनुशासित र शालिन नेताको पहिचान बनाएका हरिबहादुर राजवंशीले उम्मेदवारी दर्तापछि शुभचिन्तकहरूसँगको भेटघाटलाई तीब्र बनाएका छन् ।

‘भूमिपुत्र’ नै उम्मेदवार पाएपछि झापा–३ का मतदाता उत्साहित भएको एमाले कार्यकर्ताको धारणा छ ।

फागुन २१ मा हुने निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरूले आन्तरिक भेटघाटलाई तीब्रता दिइरहेका छन् । यसैबीच मतदाताहरूले देखाएको सदभावले राजवंशी निर्वाचनमा जित निकाल्ने ठाउँमा पुगेका छन् ।

एमालेबाट उम्मेदवार बनेका राजवंशीले झापा–३ का मतदाता मत बदल्न आतुर रहेको बताउँछन् । सूर्यमा मतदान गर्न इच्छुक मतदाताहरूको भावना १२ वर्षपछि सम्बोधन भएको उनको भनाई छ । ‘१२ वर्षमा खोला फर्किन्छ भन्थे, ठ्याक्कै त्यस्तै भएको छ,’ उनले राजवंशी भन्छन्, ‘परिणामले पनि खोला फर्किएको प्रमाणित गर्नेछ ।’

चुनावी अभियानमा सक्रिय राजवंशी आम मतदाता आफ्नो उम्मेदवारीले खुशी भएको बताउँछन् । झापा– ३ मा अघिल्लो पटकसम्म सूर्यमा मत खसाल्न पाएनौं भन्ने मतदाताहरूको लागि अवसर प्राप्त भएको छ । सो क्षेत्रमा एमालेले उम्मेदवार नपाए पार्टीमा ठूलो विद्रोहको तयारी भएको थियो ।

एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले आफ्नो पार्टी संगठन निर्माण गरेर अन्य पार्टीको उम्मेदवारलाई मत दिनु व्यावहारिक नभएको स्पष्ट पार्छन् ।

‘एमालेले बलियो संगठन बनाएपछि अरु पार्टीको उम्मेदवारलाई सहयोग गर्न आवश्यक नै छैन,’ उनी भन्छन्, ‘झापा–३ बाहिरबाट हेरेजस्तो मात्र छैन । यो क्षेत्रमा एमालेको बलियो र सुदृढ संगठन रहेको छ । हामी हाम्रो उम्मेदवारलाई विजय गराउने छौं ।’

अध्यक्ष सापकोटाका अनुसार झापा–३ को मुख्य प्रतिष्पर्धी भने राप्रपा नै हो ।

विकास ल्याउन जिताएर पठाएको मान्छे (राजेन्द्र लिङ्देन)ले ‘राजा’ ल्याऔं भनेपछि एमाले समर्थक मतदाता रुष्ट बन्दै आएका थिए ।

एमालेले भोट दिएपछि फर्केर नहेर्ने प्रवृत्तिले आफ्नो उम्मेदवार तयार गरेको एमाले नेताहरूको भनाई छ । एक नेता सोध्छन्, ‘एमालेले जिताएर पठाएको मान्छेले बाँकी समय कुनै समन्वय र सहयोग गर्नुपर्छ कि पर्दैन ?’

चुनाव जितेर जनताकै घर आँगनमा रहने राजवंशीको प्रतिवद्धता छ । उनले चुनाव जितेपछि क्षेत्रभन्दा बाहिर नबस्ने बताउँदै आएका छन् ।

आफ्नो प्रतिनिधिलाई भेट्न क्षेत्रका जनताले कुनै कष्ट गर्नुपर्दैन,’ उनले भने, ‘यो पटक राप्रपासँग तालमेल छैन । झापा– ३ को विकासका लागि मतदाताले एमालेको उम्मेदवार चाहेका थिए । अब ढुक्क भएर सूर्यमा मत दिनुहोस् ।’

एमालेको राष्ट्रवादी छविमाथि आम मतदातासमेत खुलेर प्रशंसा गरिरहेको बताउँदै राजवंशीले झापा–३ मा एमालेको विजयी सुनिश्चित भएको बताएका छन् ।

यसअघि सो क्षेत्रमा एमालेले राप्रपाका अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनलाई सघाएको थियो । लिङ्देनले ४० हजार ६४८ मत ल्याएका थिए ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याएका थिए । सिटौलालाई तत्कालीन सत्ता गठबन्धन (नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) दलहरूको साथ थियो ।

२०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमाले र माओवादीको साथ पाएरै सिटौलालाई हराएका थिए । लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा कांग्रेस नेता सिटौलाले लिङ्देनलाई हराएका थिए ।

पञ्चायत कालमा गोलधाप गाविसका वडाध्यक्ष बनेका लिङ्देन २०६१ देखि ०६३ सम्म झापाको जिल्ला विकास समिति सभापति बनेका थिए । पटक–पटक झापा– ३ मा लिङ्देन निर्वाचित भएपछि राप्रपाले पकड क्षेत्रको रूपमा लिँदै आएको छ ।

झापा–३ मा यसअघिको निर्वाचनमा एमालेले समानुपातिकमा १९ हजार ४६० र राप्रपाले १९ हजार ७४३ मत प्राप्त गरेको थियो ।

यसपटक भने एमालेले आफ्नै उम्मेदवार उठाएपछि झापा–३ मा मुख्य प्रतिस्पर्धा गणतन्त्र पक्षधर एमाले र राजतन्त्र पक्षधर राप्रपाबीच हुने देखिएको छ ।

मतदाताले कसलाई विश्वास गर्ने हुन् भन्ने फैसला अब फागुन २१ गते हुने मतदानले गर्नेछ ।

सोलुवासीसँग प्रचण्डको वाचा : असीम राईलाई जिताउनुहोस्, के गर्नुपर्छ, म गर्छु (भिडियो)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुवासीलाई नेकपा उम्मेदवार असीम राईलाई विजयी गराउन आग्रह गरेका छन् ।

उनले सोलुखुम्बुवासीले जिताएर संसद् पठाए असीमलाई मन्त्री बनाउने संकेत गरे ।

‘सोलुमा कुन पार्टीले जित्यो ? कुन नेताले जित्यो ? भन्ने कुराको राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय रूपमा पनि अर्थ रहन्छ,’ उनले भने, ‘असीम राईलाई विजय गरेर पठाउनुहोस्, करुणा बस्नेत र पासाङ शेर्पालाई विजयी गरेर पठाउनुहोस् । तपाईंहरूले असीम राईलाई विजयी गराएपछि के गर्नुपर्छ, म गर्नेछु ।’

दाहालले असीमलाई विजयी गराएर पठाएपछि सोलुखुम्बुको सडक सजाल, पर्यटन, पर्वतारोहणलगायत क्षेत्रमा आफ्नो साथ हुने बताए ।

तारा चुनाव चिह्न लिएर गठबन्धनबिना निर्वाचनमा गएको नेकपाबाट सोलुखुम्बुमा असीम राई उम्मेदवार छन् ।

 

कांग्रेसनिकट प्रेस युनियनका मधेस अध्यक्ष नेकपा प्रवेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मधेस प्रदेशका पत्रकार विजय कुसवाह प्रवेश गरेका छन् ।

उनलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराए ।

कुसवाह नेपाली कांग्रेसनिकट प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य थिए ।

विजयपथ डटकमका प्रधान सम्पादकसमेत रहेका उनी जनता टिभी र हिमालय टिभीका मधेस ब्यूरो प्रमुख भइसकेका पत्रकार हुन् ।

उनलाई नेकपा प्रवेश गराउन आयोजित कार्यक्रममा पार्टी सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि थिए ।

 

काँग्रेसको चुनावी घोषणापत्र छोटो, मिठो र सबैले अपनत्व लिने किसिमको हुनेछः प्रवक्ता चालिसे

काठमाडौं । नेपाली काँग्रेसले सबैले अपनत्व लिनेगरी आफ्नो चुनावी घोषणापत्र बनाउने प्रतिवद्धता जनाएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले यस्तो बताएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्र सबैले अपनत्व लिने हिसावले तयार पारिरहेको बताए । त्यसका लाग विज्ञहरुसँग सुझाव लिएको र नागरिकका आवाज पनि संकलन गरिएको बताए ।

काँग्रेसको घोषणापत्र सानो, छोटो र मिठो हुने उनको भनाइ छ । सबैले सहज रुपमा बुझ्नसक्ने हुने र केही दिनपछि नै सार्वजनकि गर्ने बताए।
 ‘घोषणा पत्र सबैको वर्नरसिप स्थापित होस् भन्ने हिसावले तयार पारिरहेका छौँ । मेरो होस् भनेर अपनत्व गरुन् । त्यसका लागि विज्ञहरुसँग सुझाव लिएका छौँ, नागरिकसँग छलफल गरेका छौँ । डेमोक्रेटिक हिसावले दस्ताबेज बनाएका छौँ । केही समय लागेको हो । यो छोटो बन्छ । भिजन के भन्ने कुरा हो । सानो हुन्छ । छोटो, मिठो र बुझ्ने घोषणापत्र बनाउनेछौँ । केही दिनपछि नै प्रतिक्षारत घोषणापत्र सार्वजनिक गर्छौं ।’ प्रवक्ता चालिसेले बताए ।

उनले काँग्रेसले केन्द्रिय परिचालन समिति तथा केन्द्रिय सदस्यहरुलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय कार्यान्वयन भइसकेको पनि जानकारी दिए ।

ओलीको सर्वोच्चलाई आग्रह : चुनावअघि सरकार गठन र संसद् विघटन मुद्दामा फैसला होस् (भिडियो)

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकार गठन र प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निर्वाचनअघि नै शीघ्र फैसला गर्नुपर्ने माग गरेका छन्।

उनले अदालतले विलम्ब गरे संवैधानिक इजलास र सर्वोच्च अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने चेतावनी दिए।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले स्वतन्त्र न्यायपालिकाप्रति सम्मान व्यक्त गर्दै पनि मुद्दा टार्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।

“स्वतन्त्र न्यायालयलाई हामी सम्मान गर्छौँ। तर अदालतले केही भएको–नभएको थाहा नपाएजस्तो गरेर बस्न पाउँदैन। हामी अविलम्ब फैसलाको माग गर्दछौँ,” उनले भने।

उनले सरकार गठन र प्रतिनिधिसभा विघटनजस्तो संवैधानिक महत्वको विषयमा ढिलाइ हुनु गम्भीर हुने बताए।

“संवैधानिक इजलास किन चाहियो ? सर्वोच्च अदालत किन चाहियो भन्ने प्रश्न उठ्दैन र ? फैसला नगर्ने हो भने अदालतले यस प्रकरणमा चुनाव अगाडि नै बोल्नुपर्छ,” ओलीले भने।

अध्यक्ष ओलीले अदालत सरकारको आदेश पालकजस्तो देखिन थालेको संकेत गर्दै कुनै पनि बहानामा मुद्दा लम्ब्याएर राख्न नमिल्ने टिप्पणी गरे।

जेन–जी विद्रोहको पृष्ठभूमिमा २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नागरिक सरकारको प्रधानमन्त्री नियुक्त गरिएको थियो। राष्ट्रपतिको अवशिष्ट अधिकार प्रयोग गरी गरिएको उक्त नियुक्तिलाई कमजोर संवैधानिक आधार भएको भन्दै आलोचना हुँदै आएको छ।

कार्कीको एकल मन्त्रिपरिषद् बैठकको सिफारिसमा सोही राति प्रतिनिधिसभा विघटन गरिएको थियो, जसलाई त्यसबेला ‘आवश्यकताको सिद्धान्त’ का आधारमा गरिएको बताइएको थियो।

यसविरुद्ध एमालेसहित कांग्रेसका पूर्वसांसद तथा केही कानुन व्यवसायीले सरकार गठन र प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर झण्डै चार महिना बितिसक्दा पनि सर्वोच्चले मुद्दाको टुंगो लगाउन सकेको छैन।

यसैबीच, मुद्दाका पक्ष एमाले अध्यक्ष ओलीले अदालतलाई निर्वाचनअघि नै मुद्दा किनारा लगाउन दबाब दिएका हुन्।

काठमाडौ–सोलु जोड्ने द्रुतमार्गको लागि संसदमा आवाज उठाउँछुः असिम राई

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुका प्रतिनिधिसभा सदस्यका उम्मेदवार असिम राईले काठमाडौं–सोलुखुम्बु जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि संसदमा सशक्त आवाज उठाउने बताएका छन् ।

सोलु–काठमाडौ सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा उनले काठमाडौँ–सोलुखुम्बु जोड्ने द्रुतमार्ग निर्माणको लागि निरन्तर संघर्ष गर्ने बताएका हुन् । काठमाडौंदेखि खुम्बुसम्म द्रुतमार्ग निर्माण भएमा ५० लाख पर्यटक नेपाल भित्रिने बताए । यसले सोलुखुम्बु मात्र नभएर समग्र देशको आर्थिक विकासमा सहयोग गर्ने उनको भनाई छ ।

राईले आफू निर्वाचित भएर प्रतिनिधि सभामा पुगेमा जिल्लाका जनताको शिर उँचो हुनेगरी आफ्नो विधायिकाको भुमिका निर्वाह गर्ने बताए । उनले सोलुखुम्बुमा विकास निर्माणका धेरै काम अझै अधुरा रहेको उल्लेख गर्दै बाँकि कामलाई प्राथमिकतामा राख्ने जानकारी दिए। राईले सोलुखुम्बु जिल्लालाई राज्यले न्यायोचित दृष्टिले नहेरेको आरोप लगाए। सगरमाथा क्षेत्रबाट उठ्ने रोयल्टी राज्यले उपयोग गरेपनि हिमाल संरक्षण र स्थानीय विकासमा पर्याप्त ध्यान नदिएको उनको आरोप छ ।

 ‘जब हामी निर्वाचित भएर प्रतिनिधि सभमा आउँछौँ, तपाईहरुको शिर निहुरिने छैन । तपाईहरुको शिर उचो हुनेगरि हामीले आफ्नो विधायिका भुमिका निर्वाह गर्नेछौँ । विकास निर्माणका अधुरा कामहरु सोलुखुम्बुका जनताहरुको छ । पुरा भएका कार्यक्रमहरुलाई हामी सम्मान दिँदै बाँकी कामहरु मेरा कार्यक्रम हुनेछन् । राम्रा कामहरुको हामी सर्मथन गर्नेछौँ । सोलुखुम्बु जिल्ला भनेको एउटा विशेष जिल्ला हो । हामीले भन्छौ सगरमाथा हिमालको देश भनेर । राज्यले सोलुखुम्बु जिल्लालाई हेर्ने दृष्टिकोण वास्तवमा न्यायपुण छैन । त्यहाँको रोयल्टी राज्यले असाध्यै राम्रो तरिकाले उपयोग गर्छ । राज्यले लिन्छ, रोयल्टी । हिमाललाई बचाउनको लागी राज्यले गर्नुपर्ने धेरै कामहरु फिटिक्कै सोचेको छैन, गर्दैन । मलाई के लाग्छ, सगरमाथा बचे देश रहन्छ र विश्व रहन्छ । यो जिल्ला ऐतिहासिक छ र अन्तराष्ट्रिय छ । यो हिसावले हामीले त्यहाँ धेरै काम गर्नुपर्ने छ । काठमाडौबाट खुम्बुसम्म जोड्ने बाटो फास्ट ट्रयाक बनाउने हो भने एकै सिजनमा १५ लाख होईन ५० लाख पर्यटकहरु आउनेछन् । यसले सोलुखुम्बु जिल्लाको मात्रै भविष्य बन्दैन, सिंगो देशको आर्थिक उन्नती हुनेछ, यो हिसावले म सांसदको रुपमा काठमाडौ र खुम्बुलाई जोड्ने छिटो मार्ग, द्रुत मार्ग फास्ट ट्रयाकको लागी मैले आवाज उठाउने छु, संघर्ष गर्नेछु ।’ उनले भने ।

उनले भारतीय पर्यटन सोलुखुम्वुका भित्र्याउनको लागी चतरादेखी खुम्बु जोड्ने दुधकोशी करिडोर बनाउन पनि पहल गर्ने बताए । उनले सोलुखुम्बुका सबै वडाबाट सदरमुकाम जोड्ने सडक निर्माण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय विकास, पर्यटन प्रर्वद्धन लगायतका कार्यलाई आफूले प्राथमिकतामा राखेको जानकारी दिए ।

गाजामा इजरायली आक्रमण: ११ जनाको मृत्यु

गाजा सिटी।  गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा परी ११ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनीहरुले शरणार्थी शिविरमा शरण लिइरहेको अवस्थामा आक्रमण भएको थियो ।

हमास प्राधिकरण अन्तर्गतको मन्त्रालयका महाप्रबन्धक मुनीर अल–बर्सलाई उदृत गर्दै एएफपीले थप २० जना घाइते भएको तथा इजरायलले अपार्टमेन्ट र शिविरका नागरिकहरूलाई लक्षित गरि आक्रमण गरेको जनाएको छ । घाइतेहरू उपचारको लागि उत्तरमा गाजा सहर र दक्षिणमा खान युनिसको अस्पतालमा पुगेको बर्सले बताएका छन् ।

इजरायलले चिकित्सा आपूर्ति, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको बीचमा युद्धविराम सम्झौताको गम्भीर उल्लंघन जारी राखेको बार्सले जनाएका छन् ।

अक्टोबरदेखि अमेरिकाले गरेको युद्धविराम जनवरीमा दोस्रो चरणमा पुगेको छ, जसमा हमासको निशस्त्रीकरण, क्रमिक इजरायली फिर्ती र अन्तर्राष्ट्रिय स्थिरीकरण बलको तैनाथी समावेश छ ।

इजरायल र हमासले बारम्बार एक–अर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

हमासद्वारा सञ्चालित गाजाको सरकारी प्रेस कार्यालयले शनिबारको आक्रमणमा एक विस्थापित परिवारका सात जनाको मृत्यु भएको बताएको छ ।

अधुरा योजना टुंग्याउने एजेन्डासहित चुनावी मैदानमा महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धतासहित आफू उम्मेदवारका रूपमा जनतामाझ उपस्थित भएको बताएका छन् ।

उनले भक्तपुरका नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्नो पहिलो कर्तव्य भएको संकल्प व्यक्त गरे ।

‘तपाईँहरूको बिचमा उपस्थित भएको छु, भक्तपुरका हामीले सुरु गरेको अधुरा विकासका योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धता, यहाँको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्य, र जनताको सेवा नै मेरो पहिलो कर्तव्य भन्ने सङ्कल्पसहित म अगाडि बढेको छु, यो क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर, सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुदृढीकरण-यी सबै मेरो प्राथमिकतामा रहनेछन्’ उनले भने ।

सचिव बस्नेतका अनुसार क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर सिर्जना, सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सुदृढीकरण आफ्ना प्रमुख प्राथमिकतामा रहनेछन्। ‘म वाचा मात्र होइन, काम गरेर देखाउने अठोटका साथ आएको छु,’ उनले भने ।

उनले जनताको साथ, विश्वास र अमूल्य मत नै आफ्नो शक्ति भएको उल्लेख गर्दै समृद्ध भक्तपुर निर्माणका लागि हातेमालो गर्न आग्रह गरे ।

साथै उनले सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिन मतदातालाई अनुरोध गरे।

‘तपाईँहरूको साथ, विश्वास र अमूल्य मत नै मेरो शक्ति हो, आउनुहोस्, समृद्ध भक्तपुर निर्माणको यात्रामा हातेमालो गरौँ, सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु’, मतदातासँग उनको अनुराेध छ ।

बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भनेः देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी  गरेका छन् ।

नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गरे । उनले अहिले लडाईं देश जलाउने की देश बनाउनेहरुको बीचमा रहेको बताए । साह झापा ५ मा आफूसँग ठुटे सिंङ लिएर सिंगौरी खेल्न पुगेको टिप्पणी गरे ।

उनले नेकपा एमाले देश बनाउन शक्ति भएको बताउँदै देश जलाउने शक्तिहरु कहिल्यै सफल नहुने बताउदै उनीहरुले देश जलाएको पनि स्वीकार गरिसकेको बताए । अराजकता मच्चाउँदै जाने की विधिको शासन, कानूनको राज बनाउँदै जाने भन्ने हिसाव आगामी निर्वाचनले गर्ने बताएका ओलीले ओखलढुंगाबाट अस्मिता थापालाई विजयी गराएर पठाउनेमा आफू विश्वस्त रहेको बताउँदै अस्मिता हार्नु एउटा ठाउँमा देश हार्नु सरह भएको जिकिर गरे।

 ‘अहिले लडाईं देश जलाउने की देश बनाउनेहरुको बीचमा छ । हामी देश बनाउने शक्ति हौँ । अरु देश जलाउने शक्ति हुन्, पार्टी हुन् । त्यसको जिम्मा पनि अहिले उनीहरुले स्वीकारिसके हामी हौँ भनेर । अब भविष्यमा देश जलाउँदै जाने की बनाउँदै जाने ? अराजकता मच्चाउँदै जाने की विधिको शासन, कानूनको राज बनाउँदै जाने की देशमा बढ्दै जाओस् भनेर अनुकुल बनाउने, देशमा लडाईं गराउनेहरु छन् । म विश्वस्त छु, यहाँहरुले अस्मितालाई विजयी गराउनुहुनेछ । सूर्य चिन्हलाई विजयी गराउनुहुनेछ । नेकपा एमालेलाई विजयी गराउनुहुनेछ । देशलाई विजयी गराउनुहुनेछ । देशलाई हार्न दिनु हुनेछैन । अस्मिता हार्नु भनेको १६५ मध्ये एउटा ठाउँमा देश हार्नु हो । एउटा ठाउँमा पनि देश हार्नु हुँदैन । अस्मितालाई जिताएर पठाउनुस् । मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् । सिंगौरी खेल्न । मैले धेरै केही भन्न पर्दैन, अण्डा दुई प्रकारका हुन्छन् एउटा बतासे र एउटा साँच्चिकैको । बतासे अण्डाबाट चल्ला निक्लिदैन । यि बतासे अण्डाबाट पनि चल्ला निस्किने छैन । यि बतासका खेती गरिरहेका छन् । यिनीहरुका उद्देश्य छैन, विचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो की होइन त्यो पनि थाहा छैन । आगो झोस्न जानेको छ, देश बिगार्न, भड्काउन, तोडफोड गर्न जानेको छ । लुटपाट गर्न जानेको छ । आगजनजी गर्न जानेको छ । ’ ओलीले भने ।

अध्यक्ष ओलीले रास्वपा लगायतका शक्तिहरुले लुटपाट गर्न, आगजनी गर्न मात्रै जानेको दाबी गरे।

संसद पुनर्स्थापनाको मुद्दामा छिटो फैसला गर्न ओलीको माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ मा निर्वाचन हुने–नहुने विषय अझै अनिश्चित रहेको बताएका छन् ।

ओखलढुङ्गामा आयोजित एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले उच्च पहाडी र हिमाली भेगमा जनसंख्या नै न्यून भएकाले त्यहाँ प्रभावकारी रूपमा मतदान हुन नसक्ने दाबी गरे । मान्छे नै नबस्ने ठाउँमा मतपेटिका राखेर चुनाव गर्नु नाटकजस्तै हुने उनको भनाइ थियो ।

‘हिमाली भेगमा मान्छे नै छैनन् । मान्छे नभएको ठाउँमा बाक्सा राखेर के अर्थ हुन्छ ? चार हजार जनसंख्या भएको ठाउँमा चार जनाले भोट हालेर के हुन्छ ? चुनाव भनेको नाटक मात्रै हुन्छ,’ उनले भने, ‘उच्च पहाडी र हिमाली क्षेत्रमा भोट हुने अवस्था नै छैन ।’

अध्यक्ष ओलीले भदौ २३ र २४ गते देशलाई गम्भीर संकटमा पार्ने उद्देश्यले अराजक गतिविधि गरिएको आरोपसमेत लगाए । असंवैधानिक सरकारले विघटन गरेको संसद्को विषयमा सर्वोच्च अदालत मौन बस्न नमिल्ने उनको भनाइ थियो ।

संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा छिटो फैसला दिन सर्वोच्च अदालतसँग माग गर्दै उनले अदालतले चुनाव गर्ने कि संसद् पुनर्स्थापना गर्ने भन्ने विषयमा स्पष्ट निर्णय दिनुपर्ने बताए ।

‘अदालतले तत्काल फैसला गर्नुपर्छ— चुनाव गर्ने कि संसद् पुनर्स्थापना गर्ने । हामी पुनर्स्थापनाको माग गरिरहेका छौँ, संविधान मिचिएको छ भनिरहेका छौँ । यदि संविधान मिचिएको छैन वा मिच्न पाइन्छ भने पनि अदालतले स्पष्ट भनेपछि हामी मान्छौँ,’ उनले भने ।

ओलीले अदालतले जे फैसला गरे पनि आफूहरूले स्वीकार गर्ने स्पष्ट गर्दै संवैधानिक संकटको अवस्थामा अदालत मौन बसिरहँदा त्यसको औचित्यमाथि नै प्रश्न उठ्ने चेतावनी दिए ।

६ दिनमा १४ जिल्ला घुमेर काठमाडौं फर्किए बालेन

काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि पश्चिम नेपालको दौडाहा सकेर शनिबार काठमाडौं फर्किएका छन् ।

सोमबार नेपालगञ्ज विमानस्थलमा उत्रिएर सुदुरपश्चिम लागेका शाह बाँकेबाट बर्दियाहुँदै सुदुरपश्चिम गएका थिए । कैलाली र कञ्चनपुरमा पार्टीको कार्यक्रममा सहभागी भएपछि उनी सुदुरपश्चिमका पहाडी जिल्लातिर लागेका थिए । डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीको यात्रा सकेर कर्णाली प्रदेश आएका थिए ।

कर्णालीमा जुम्ला जाने निर्धारित कार्यक्रम छोडेर उनी कालिकोटबाट दैलेख हुँदै सुर्खेत पुगेर काठमाडौं फर्किएका हुन् ।

रास्वपाको चुनावी प्रचारका लागि उनले ६ दिनमा १४ जिल्लाको भ्रमण गरेका हुन् ।

चुनावी प्रचारमा उनीसँगै रहेका दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर भएपछि कार्यक्रम छोट्याएर उनी काठमाडौं फर्किएको शाहको सचिवालयले जानकारी दिएको छ ।

अछाम पुगेको बेला अचानक बेहोस भएका सिटौलालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालमा भर्ना भएका सिटौलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

 

 

सोलुवासीलाई संयोजक दाहालको आग्रहः असिम राईलाई विजयी गराएर पठाउनुस्, सोलुको विकास म गर्नेछु’

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सोलुखुम्बु संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको जिल्ला भएकाले यहाँको निर्वाचन परिणामले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय महत्व राख्ने बताए ।

सोलु–काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा संयोजक दाहालले सोलुखुम्बुमा कुन पार्टी र कुन नेताले जित्छ भन्ने कुरालाई संसारले चासोका साथ हेर्ने बताए । उहाँले सोलुखुम्बुका मतदातालाई नेकपा उम्मेदवार असिम राईलाई तारा चुनाव चिन्हमा अत्यधिक मतसहित विजयी गराउन आग्रह पनि गरे ।

उनले असिम राईलाई जिताएर पठाएमा सोलुखुम्बुको विकासका लागि आवश्यक सबै काम आफूले गर्ने दाबी गरे । सोलुखुम्बुको विकासका लागि सडक सञ्जाल विस्तार, पर्यटन प्रवद्र्धन, पर्वतारोहण व्यवस्थापन तथा अन्तर्राष्ट्रियस्तरमा ऊर्जा शक्तिको विकासलगायत क्षेत्रमा आफ्नो पूर्ण सहयोग रहने उनले प्रतिवद्धता जनाए ।

‘सोलुखुम्बु संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाको काखको जिल्ला । संसारले हेर्छ, संसारले चिन्छ, सोलुमा कुन पार्टीले जित्यो ? कुन नेताले जित्यो भन्ने कुराको अर्थ राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि रहन्छ । तपाईहरुको जिम्मेवारी अरु क्षेत्रको जनता र उम्मेद्वारको भन्दा बढी छ । धेरै बढी छ, तपाईहरुले यो महशुस गर्नुभएको होला । तपाईहरु सवैले रेकर्ड बनाउने गरि असिम राईलाई तारा चुनाव चिन्हलाई अत्याधिक बहुमत दिएर विजयी गरेर पठाउनुस् । असिम राईलाई तपाईहरुले विजयी गरेर पठाएपछि असिम राईलाई के गनुपर्छ, म गर्नेछु । सोलुको विकासको निम्ति। तपाईहरुको विकास निर्माण सडक सञ्जालदेखि पर्यटनको विकासको निम्ति, पर्वतारोहणलाई व्यवस्थित गर्नेदेखि अन्तर्राष्ट्रिय रुपमा उर्जाशक्ति कसरी विकास गर्ने भन्नेदेखी तमाम कुराहरुमा मेरो साथ हुनेछ । तपाई असिमलाई जिताएर पठाउनुहोस्, सोलुलाई के गर्नुपर्छ म गर्नेछु ।’ उनले भने ।

उनले जेन–जी आन्दोलपछि एकताको आवश्यकता ठानेर वामपन्थी शक्तिहरुवीच एकताको कार्य अगाडी बढाएको जानकारी दिए । उनले नेकपामा विभिन्न २३ वटा घटक मिल्ने स्थितिमा पुगेको बताए ।

ओखलढुंगा एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार थापा भन्छिन्ः आसन, भाषण र शासनमा महिलाहरुलाई पु र्‍याउन देशव्यापी नेतृत्व गर्नेछु

काठमाडौं । नेकपा (एमाले) की केन्द्रिय सदस्य तथा ओखलढुंगा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार अस्मिता थापाले जिल्लाको विकास र युवा र महिला सशक्तीकरण आफ्नो प्राथमिकतामा पर्ने बताएकि छिन् ।

शनिवार नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन् । उनले ओखलढुंगा अब आफैं नेतृत्व गरेर सीमानाका सडकहरू निर्माण गर्दै पालिका–पालिकामा कालोपत्रे गर्ने गरी अघि बढ्ने बताइन् ।

उनले एउटा गाउँपालिकाको व्यक्ति तीनवटा जिल्ला हुँदै सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताइन् । उनले शैक्षिक समस्या सम्बोधन गर्दै विद्यालय–विद्यालयमा गएर सही काउन्सिलर उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरिन् । महिलाको मुक्तिको लागि आसन, भाषण र शासनमा महिलालाई पु¥याउन देशव्यापी नेतृत्व गर्ने बताइन् ।

नवयुवाहरूले भाषणभन्दा कामबाट आफूलाई प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो । उनले युवा पुस्तालाई काममा आधारित नेतृत्वको उदाहरण दिनुपर्नेमा जोड दिइन् ।

 ‘अब ओखलढुंगा आफैँ नेतृत्व गरेर सीमानाका सडकहरु निर्माण गर्दै ओखलढुंगाका पालिका पालिकामा कालोपत्रे गर्नेगरी अघि बढ्नेछौँ । एउटा गाउँपालिकाको व्यक्ति तीन वटा जिल्ला हुँदै आफ्नो जिल्लाको सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । आज पनि ओखलढुंगा मोबाइलको नेटवर्क नपुगेर फोन गर्न डाँडामा जानुपर्ने अवस्था छ । म आफैँले भोगेको छु । ओखलढुंगा जिल्लामा आज फोन नलाग्ने जुन ठाउँहरु छन्, हिजो पनि फेँदीगुठबाट फोन आएको थियो । अब फोनको नेटवर्क मात्रै होइन, ओखलढुंगाका ठाउँठाउँमा साइबर क्याफेहरु बन्नेछन् । त्यहाँ उच्चतम नेटवर्क प्रयोग गरेर काठमाडौं नआइकन आइटीको काम गरेर तपाईंको घर, आँगनको स्वच्छ हावापानीमा बसेर काम गर्नसक्ने वातावरणको निर्माण अबको पुस्ताले गर्नेछ । अबको सरकारले गर्नेछ, अब आउने निर्वाचित नेतृत्वले गर्नेछ । सही शैक्षिक काउन्सिलको समस्या छ । त्यो समस्या विद्यालय विद्यालयमा गएर सही काउन्सिलर दिनेछु । आसन, भाषण र शासनमा महिलाहरु नपुगिकन महिला मुक्ति हुँदैन । तसर्थ आसन, भाषण र शासनमा महिलाहरुलाई पु¥याउन देशव्यापी नेतृत्व गर्नेछ ।’ उनले भनिन् ।

अस्मिता थापा लिखु गाउँपालिकाको पूर्वउपाध्यक्ष तथा एमाले केन्द्रिय सदस्य हुन् । उनी एमालेको तर्फबाट युवा तथा महिला प्रतिनिधित्वको प्रतिकका रूपमा देखिएकी छिन् ।

‘चुनावपछि एमाले ठूलो दल बन्छ, समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पूरा गर्छ’ (भिडियो)

काठमाडौं । ओखलढुङ्गामा नेकपा एमालेको प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी अस्मिता थापाले आगामी २१ फागुनपछि एमाले देशकै ठूलो पार्टी बन्ने दाबी गरेकी छिन् । ठूलो दलको हैसियतमा सरकार गठन गरेर एमाले सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गर्न लाग्ने बताइन् ।

‘नेकपा एमालेले निर्वाचन स्वीकारेर जानु नै देश बचेको प्रमाणित भएको भन्न चाहन्छु,’ उनले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भनिन्, ‘अबको फागुन २१ गतेको निर्वाचनपछि नेकपा एमाले ठूलो दल बन्छ ।’

उनले नेपाललाई आफ्नो गोजीमा राख्न खोज्ने शक्ति राष्ट्रको इशारामा चल्नेहरूबाट जेन–जी विद्रोहको नाममा जलाएको भन्दै आक्रोश पोखिन् ।

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह र नेता सुदन गुरुङको ‘पहिले गोली चलेको हो, पछि सिंहदरबार जलेको हो’ भन्ने अभिव्यक्तिलाई खण्डन गरिन् ।

‘पहिले मान्छे मारियो, पछि देश जलाइयो भन्ने भाष्य स्थापित गरिँदैछ तर देश जलाउने योजनाका लागि मान्छे मारिएको थियो । मान्छे मार्ने कुनै पनि शक्ति होइन,’ उनले भनिन्, ‘यो देशलाई आफ्नो पकेटमा राख्न खोज्ने, यो देशलाई आफ्नो फाइदाका लागि प्रयोग गर्न खोज्ने विभिन्न वैदेशिक इशाराहरू, विभिन्न वैदेशिक हस्तक्षेपहरू, बुझिनेगरी भन्दाखेरी भूराजनीतिको दबदबामा नेपाललाई राख्न प्रयास गर्ने शक्ति राष्ट्रहरूको ठूलो षड्यन्त्र देखिएको हो ।’

थापाले काठमाडौं उपत्यकामा रहेका ओखलढुंगावासीलाई निर्वाचनको पूर्वसन्ध्यामा सम्बोधन गर्दै समृद्ध ओखलढुंगाको सपना साकार पार्न मतदानको अपिल पनि गरेकी छिन् ।

 

कोल्टान खानी भत्किँदा कंगोमा २०० भन्दा बढीकाे मृत्यु

काठमाडौँ।  डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबायास्थित कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।

एएफसी/एम२३ विद्रोही समूहको नियन्त्रणमा रहेको उक्त खानी क्षेत्रमा भएको पहिरोमा कामदार, महिला तथा बालबालिका परेका छन् । विद्रोहीले नियुक्त गरेका गभर्नरका प्रवक्ता लुमुम्बा कम्बेरे मुयिसाका अनुसार उत्खनन भइरहेको समयमा खानी भासिँदा ठूलो मानवीय क्षति भएको हो ।

‘यो पहिरोमा २०० भन्दा बढी मानिस परेका छन् । उत्खननमा संलग्न कामदार, बालबालिका र बजारमा रहेका महिलाको मृत्यु भएको छ । केही व्यक्ति गम्भीर घाइते छन्,’ मुयिसाले भने, ‘वर्षायामका कारण जमिन नरम थियो । खाल्डोभित्र मानिसहरू काम गरिरहेका बेला जमिन एक्कासि भासियो ।’

संयुक्त राष्ट्रसंघका अनुसार एएफसी/एम२३ समूहले यस क्षेत्रका प्राकृतिक स्रोतहरू कब्जा गरी विद्रोहका लागि कोष संकलन गर्दै आएको छ । उक्त समूहलाई छिमेकी मुलुक रूवान्डाको समर्थन रहेको आरोप लाग्दै आए पनि रूवान्डाले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

यी सशस्त्र विद्रोहीहरूले कंगो सरकारले टुट्सी अल्पसंख्यकमाथि दमन गरेको आरोप लगाउँदै आएका छन् । गत वर्ष उनीहरूले रूबाया क्षेत्र नियन्त्रणमा लिएका थिए ।

विश्वको करिब १५ प्रतिशत कोल्टान रुबाया क्षेत्रमा रहेको बताइन्छ । कोल्टान प्रशोधन गरेर ताप प्रतिरोधी धातु टान्टालम उत्पादन गरिन्छ, जसको प्रयोग मोबाइल फोन, कम्प्युटर, एरोस्पेस कम्पोनेन्ट तथा ग्यास टर्बाइन निर्माणमा गरिन्छ ।

सरकार स्वास्थ्य क्षेत्रबाट भाग्न मिल्दैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिँदै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् । शनिबार (माघ १७) काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ का मतदातासँगको भेटघाटपछि उनले आफ्नो कार्यकालमा स्वास्थ्य बिमालाई उच्च प्राथमिकतामा राखेर काम गरेको स्मरण गराए ।

पौडेलले पछिल्लो समय केही स्थानमा स्वास्थ्य बिमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले नागरिकलाई स्वास्थ्य सेवा दिन नसक्ने अवस्था आएमा वैकल्पिक स्रोत परिचालन गर्ने स्पष्ट खाका आफूहरूले पहिल्यै प्रस्तुत गरिसकेको बताए । पूर्वप्रधानमन्त्रीलाई पटक–पटक आग्रह गर्दा पनि उक्त योजना कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो ।

उनले पछिल्ला सरकारहरूले समेत स्वास्थ्य बिमा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए । हाल स्वास्थ्य बिमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको उल्लेख गर्दै सेवाप्रदायक केही अस्पतालहरूले बक्यौता भुक्तानी नपाएको भन्दै सेवा बन्द गर्ने घोषणा गरिसकेको बताए ।

आफ्नो कार्यकालमा बिमाको दायरा विस्तार गर्दै सुविधा एक लाखबाट पाँच लाख रुपैयाँसम्म पुर्‍याउने प्रस्ताव र योगदानमा आधारित प्रणाली लागू गर्ने प्रयास गरिएको भए पनि हाल कार्यक्रम नै जोखिममा परेको पौडेलको भनाइ छ ।