`

विश्व बैंकले नेपाललाई ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलव्ध गराउने

काठमाडाैं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबर उपलव्ध गराउने भएको छ ।

वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले दिएको जानकारीअनुसार परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा सहित उक्त सहायतालाई अनुमोदन गरिएको छ । जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई उत्पादन सुरु गर्न निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ) लाई सुदृढ बनाइनेछ ।

माल्दिभ्स, नेपाल तथा श्रीलंका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त परियोजनामार्फत वित्तीय पहुँच सहज बनाएर तथा कारोबारी अवरोध घटाएर वित्तीय समावेशिता विस्तार गर्न सहयोग पुग्ने बताए ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक सिस्लेनले भने–‘यो परियोजनाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई सुदृढ बनाउँदै जोखिम–साझेदारी विस्तार गर्ने, वित्तीय दिगोपन बढाउने र महिलाद्वारा सञ्चालित व्यवसायजस्ता कम वित्तीय पहुँच भएका क्षेत्रका लागि सहयोगी हुनेछ ।’ उनले एमएसएमईलाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृंखलामा समेट्न सहयोग र निजी क्षेत्र नेतृत्वको रोजगारी सिर्जनामा योगदान पुग्ने बताएका छन् ।

‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) विश्व बैंकको सहयोगमा २०२४ मा सम्पन्न वित्तीय क्षेत्र स्थायित्व तथा आर्थिक वृद्धिका लागि वित्तसम्बन्धी विकास नीतिगत कर्जा (डिपिसी) शृंखला अन्तर्गत गरिएका सुधारको निरन्तरता रहेको बताइएको छ ।

काँग्रेसमा अनुहार नयाँ आए,भिजन नयाँ आएन: एमाले उपाध्यक्ष गुरूङ

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहार नभइ नयाँ भिजन खोजेको बताएका छन् ।

प्रेस चौतारी नेपालले आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन्। नेपाली काँग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको उनको भनाइ छ । `काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन´ गुरुङले भने `काँग्रेसको विशेष महाधिवेशनपछि पनि उहाँहरुको सिद्धान्त ,विचार र दर्शनमा कुनै फेरबदल भएको छैन । त्यसैले काँग्रेस यथा अवस्थामै छ ।´

लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उनको भनाइ छ । `केही पार्टी र व्यक्तिले आफुलाई नयाँ अरुलाई पुराना भनेर आर‍ोप गरिरहेका छन्´ गुरुङले भने `उनीहरु एजेन्डाबिहिन हुन् । त्यही भएर उनीहरु पब्लिक फेस गर्न सकेका छैनन् ।´

उपाध्यक्ष गुरूङले निर्वाचनमा तालमेलको सन्दर्भमा अहिले त्यस्तो अवस्था नभए पनि सम्भावना बाँकी रहने बताए।

टी–२० विश्वकप : नेपाल–इङ्ग्ल्यान्ड ८ फेब्रुअरीमा भिड्दै

काठमाडौं । भारत र श्रीलंकाको संयुक्त आयोजनामा सुरु हुन लागेको ‘आईसीसी टी–२० विश्वकप २०२६’ मा नेपालको पहिलो खेल ८ फेब्रुअरीमा इंग्ल्यान्डविरुद्ध हुँदै छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार आइतबार दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

विश्व क्रिकेटको शक्तिशाली टोली इंग्ल्यान्डसँगको यस प्रतिस्पर्धालाई नेपाली क्रिकेटका लागि महत्वपूर्ण मापनका रूपमा हेरिएको छ ।

पछिल्ला वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको नेपाल अब पूर्ण रूपमा अपरिचित टोली रहेन ।

यद्यपि, अनुभव, व्यावसायिकता र पूर्वाधारमा इंग्ल्यान्ड नेपालभन्दा निकै अगाडि छ । त्यसैले यो खेल नेपालका लागि अंकको हिसाबभन्दा पनि आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धात्मक सोचको परीक्षा हुनेछ ।

टी–२० क्रिकेटको अनिश्चित स्वरूपले नेपाललाई अवसर पनि प्रदान गर्छ । यदि नेपाली टोलीले दबाब नलिएर साहसी र योजनाबद्ध क्रिकेट खेल्न सके खेल अन्तिमसम्म प्रतिस्पर्धात्मक बनाउन सक्ने विश्वास छ ।

नेपाली टोलीको मुख्य चुनौती ब्याटिङमा निरन्तरता कायम गर्नु हो भने बलिङ र फिल्डिङ पक्ष तुलनात्मक रूपमा बलियो मानिन्छ ।

विश्वकप नेपालका लागि जितको सपना भन्दा पनि सिकाइ, अनुभव र भविष्यको खाका कोर्ने महŒवपूर्ण अवसर बनेको छ ।

इंग्ल्यान्डविरुद्धको पहिलो खेलले नेपाली टोली कस्तो मानसिकतासहित विश्व मञ्चमा उभिन्छ भन्ने स्पष्ट संकेत गर्नेछ ।

विश्वविख्यात शिक्षाविद्हरूको उपस्थितिमा मदन भण्डारी विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह हुँदै

चित्लाङ । नेपालमा विश्वस्तरीय विश्वविद्यालय बनाउने उद्देश्यले विसं २०७९ मा स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट) ले आफ्नो पहिलो दीक्षान्त समारोह यही माघ २५ गते आयोजना गर्ने भएको छ। चित्लाङस्थित आफ्नै परिसरमा आयोजना हुने यस ऐतिहासिक समारोहमा विश्व विख्यात शिक्षाविद् तथा वैज्ञानिकहरुको सहभागिता हुनेछ ।

समारोहका प्रमुख अतिथिका रुपमा उच्च शिक्षाका ख्यातिप्राप्त विज्ञ डा. जमिल साल्मीको उपस्थिति रहने विश्वविद्यालयका बाह्य मामिला तथा स्रोत व्यवस्थापन प्रमुख डा. राजिव सुब्बाले जानकारी दिएका छन् । उनले विश्व बैंकको उच्च शिक्षा संयोजक, डिएगो पोर्टल्स विश्वविद्यालय चिलीमा उच्च शिक्षा नीतिका सम्मानित प्राध्यापक र संयुक्त राज्य अमेरिकाको बोस्टन कलेजको अन्तर्राष्ट्रिय उच्च शिक्षा केन्द्रका अनुसन्धान फेलो रहेर चार दशकभन्दा लामो अनुभव हासिल गरेका छन्।

समारोहको विशेष अतिथिका रूपमा क्यानडाकी प्रा. सुजन फोर्टियर र सिंगापुरका प्रा. सीराम रामकृष्ण रहनेछन्। म्याकगिल विश्वविद्यालयमा उपकुलपति एवं क्यानडाको प्राकृतिक विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान परिषद्की अध्यक्ष रहेकी प्रा. फोर्टियर अनुसन्धान र नवप्रवर्तनमा परिवर्तनकारी योगदानका लागि परिचित छिन् । प्रा. रामकृष्ण इलेक्ट्रोस्पिनिङ र न्यानोप्रविधिका अग्रणी वैज्ञानिक हुन् । अहिले उनी चीनको सिंह्वा विश्वविद्यालयका चेयर प्रोफेसर तथा चिनिया विज्ञान प्रतिष्ठान (कास) का प्राज्ञ पनि हुन्। उनीहरु दुवै जना एम्बस्ट बोर्ड अफ ट्रस्टीजमा छन् ।

दीक्षान्त समारोहको सभापतित्व विश्वविद्यालय बोर्ड अफ ट्रस्टीजका अध्यक्ष उद्योगी पद्म ज्योतिले गर्नेछन् ।

समृद्ध र न्यायपूर्ण नेपालको अभियानमा सहभागी हुँदै देशमा विश्वस्तरीय उच्च शिक्षा र उत्कृष्टता केन्द्रको विकास तथा नवप्रवर्तनको प्रवर्द्धनमा जुटिरहेको यस विश्वविद्यालयमा हाल जैविक कृषि, वन्य जैविक श्रोत, दिगो तथा उत्थानाशील पूर्वाधार, कृत्रिम बौद्दिकता तथा तथ्यांक विज्ञानको स्नातकोत्तर र विद्यावारिधिका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। कार्यक्रममा ६६ जना विद्यार्थीहरु अनुसन्धानरत छन् । यस वर्ष तीन जना विद्यार्थीहरु दीक्षित हुनेछन् ।

रूसी सरकारद्वारा पत्रकारिता विकासमा २५० हजार डलर सहयोग

एजेन्सी । रूसी सरकारले पत्रकारिता विकास तथा पत्रकारहरूको सुरक्षाका लागि २५० हजार अमेरिकी डलर (करीव ३ करोड ३५ लाख नेपाली रुपैयाँभन्दा बढी) सहयोग उपलब्ध गराउने भएको छ । यो रकम संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) अन्तर्गतको अन्तर्राष्ट्रिय सञ्चार विकास कार्यक्रम (आईपीडीसी) मार्फत परिचालन हुनेछ ।

यो सहयोग मुख्य रूपमा अफ्रिकी देशहरू माली, मलावी, घाना, केन्या, सेनेगल र नेपालमा मिडिया सम्बन्धी परियोजनाहरू सञ्चालन गर्न प्रयोग गरिने बताइएको छ । परियोजनाहरू आगामी १८ महिनामा कार्यान्वयन हुने बताइएको छ । रूसी सहयोग विशेष गरी पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि, अनलाइन हिंसा न्युनिकरण तथा मिडिया तथा सूचना साक्षरता विकासमा केन्द्रित हुनेछ ।

नेपालले माग गरेको पत्रकारिता नैतिकता तालिम परियोजना पनि यसै अन्तर्गत समावेश गरिएको छ । रूसको युनेस्कोस्थित स्थायी मिसनमार्फत उपलब्ध गराइएको यो स्वेच्छिक योगदान रूसी सरकारको आदेशअनुसार दिइएको हो । रूसका युनेस्को प्रतिनिधि रिनात अलाउत्दिनोभले रूसी मिडियासँग कुरा गर्दै ग्लोवल साउथका देशहरूसँग सहकार्य गर्दै पत्रकार सुरक्षादेखि मिडिया विकाससम्म सहयोग गर्न रूस तयार रहेको बताए । उनले आईपीडीसीमार्फत उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने, पत्रकारहरूको अधिकारको वकालत गर्ने, उनीहरूको सुरक्षा सुनिश्चित गर्न माग गर्ने तथा मित्र राष्ट्रहरूलाई मिडिया विकासमा सहयोग गर्ने रूसको नीति रहेको उल्लेख गरे ।

रूसले अफ्रिकी देशहरूसँग ऐतिहासिक सम्बन्ध र अफ्रिकाको बढ्दो वैश्विक महत्वलाई ध्यानमा राख्दै यो क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिएको छ । यो योगदानले अफ्रिका तथा नेपालजस्ता विकासशील देशहरूमा मिडियाको सुदृढीकरणमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

सुमन शर्मा प्रभु बैंकको सीईओ नियुक्त

काठमाडौं । सुमन शर्मा प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् ।

उनलाई मंगलबार बसेको सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीमा यो विवरण उल्लेख छ ।

शर्माको कार्यकाल चार वर्षको हुने छ । २५ वर्षदेखि बैंकिङ क्षेत्रमा क्रियाशील शर्मा यसअघि तत्कालीन सनराइज बैंक (हाल लक्ष्मी सनराइज) र माछापुच्छ्रे बैंकको सीइओको भइसकेका छन् ।

उनले अर्थशास्त्र र व्यवस्थापनमा स्नाकोत्तर गरेका छन् ।  शर्मा राम्रो छवि बनाएका अनुभवी बैंकर हुन् ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा अनुसान्धान सुरु गरेपछि निवर्तमान सीईओ अशोक शेरचन निलम्बन भएका थिए ।

त्यसपछि सञ्चालक समितिले गत मंसिर १४ मा निरज लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको थियो ।

 

बालेनको पासवर्ड हटाइयो, लिफ्ट सेवाग्राहीका लागि खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाह (बालेन)ले मात्रै प्रयोग गर्दै आएको लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको छ ।

बालेन्द्र प्रमुख हुञ्जेल उनले पासवर्ड राखेर आफूले प्रयोग गर्नेगरिको बनाएका थिए ।

उनी प्रमुख छँदै केही जनप्रतिनिधिले लिफ्टको एक्लौटी प्रयोगलाई लिएर असन्तुष्टि जनाएका थिए ।

तर, ती जनप्रतिनिधिहरूको असन्तुष्टि बालेन्द्रले नसुनेझैँ गरे । तर, महानगरपालिकाका सहायक प्रवक्ता धु्रवकुमार काफ्लेका अनुसार कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशनअनुसार बालेन्द्रको पासवर्ड हटाएर मंगलबारदेखि सेवाग्राहीका लागि प्रयोग गर्न खुला गरिएको हो ।

बालेन्द्र भने प्रमुखबाट राजीनामा दिएर यतिबेला चुनावी अभियानमा छन् । उनी झापा–५ बाट रास्वपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

सुनकाे मूल्य ३७०० ले बढ्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।

तीन दिन निरन्तर घटेको सुनको मूल्य आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ ।

आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम छ ।

हिजो सोमबार चाँदी ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

जेन–जी शहीदको सम्झनामा क्षमायाचना पूजा

काठमाडाैं । जेन–जी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा गरिएको छ ।

मंगलवार नयाँ बानेश्वर संसद भवन अगाडी क्षमायाचना पूजासहित होम धूप–धूमार आत्मशान्ति सत्याग्रह पुण्य कार्यक्रम गरिएको हो । जेन–जी सुशासन योद्धा परिवारले उक्त कार्यक्रम आयोजना गरेको हो । भदौ २३ गते भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दा संसद भवन अगाडी प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने दर्जनौ घाईते भएका थिए ।

भदौ २३ गते संसद भवन अगाडी युवाहरुमाथी गोली प्रहार भएपछि भदौ २४ गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत देशभरका सार्वजानिक तथा निजी भवनमाथी आगजानी भएको थियो । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ ।

सुशासनको मुख्य माग राखेर युवाहरुले आन्दोलन गरेपनि आन्दोलनपछि गठित सरकारले उनीहरुको माग सम्बोधन गर्न ठोस कदम भने चाल्न सकेको छैन ।

बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमा ग्यास लिने उपभोक्ताहरूको भीड

काठमाडाैं । दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव देखिएको छ ।

बजारमा अहिले  विशेष गरी नेपाल ग्यासको अभाव चरम रुपमा देखिएको छ । जसका कारण उपभोक्ता मारमा परेका छन्। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ।

नेपाल ग्यासका विक्री केन्द्रहरुमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौं उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ । बिहान देखी दिनको २ बजे सम्म मात्र ग्यास वितरण गरिने सो कार्यालयमा अहिले दैनिक सयौ उपभोक्ताहरु लाम बस्ने गरेका छन् ।
यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ।

स्वदेशमै निर्मित १४ सिटर चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी

काठमाडाैं। सुन्दर अटो इन्जिनियर प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर चार पाङ्ग्रे विद्युतीय सवारी साधन (ईभी) सार्वजानिक गर्ने तयारी गरेको छ ।
कम्पनीले आउँदो हप्ताभित्र काठमाडौंको सडकमा नेपालमा नै उत्पादीत ईभीको परीक्षण गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष भेष थापाले जानकारी दिए ।

उनले नेपालमा ११ र १४ सिट क्षमताका सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित सवारी एसेम्बल गर्न शुरु गरिएको बताए । कम्पनीले २०७६ भदौ २३ गतेदेखि काठमाडौंमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको छ । ईभी सवारीको प्रवद्र्धन गर्ने सोचसहित कम्पनीले नेपालमा पहिलोपटक सुन्दर चार्जिङ स्टेशन स्थापना गरेर सञ्चालनमा ल्याएको थियो । सोही क्रममा तीन पाङ्ग्रे सवारीलाई सुरक्षित र व्यवस्थित चार पाङ्ग्रे सवारीमा रूपान्तरण गर्ने अवधारणा विकास भएर नयाँ सवारी एसेम्बल गर्ने कार्य अगाडी बढाएको अध्यक्ष थापाले जानकारी दिए ।

नेपालमै सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित विभिन्न देशमा अध्ययन तथा कम्पनी भ्रमणपछि यो परियोजना अघि बढाइएको उनले बताए । ६० प्रतिशतभन्दा बढी पार्टपूर्जा नेपालकै र बाँकी आवश्यक सामग्री भारत र चीनबाट ल्याएर गाडी एसेम्बल गरेको उनले जानकारी दिए ।

‘हामीले नेपालमा ११ सिटर, १४ सिटर गाडीलाई एसेम्वल गरेर अहिले रहेको तीन पाङ्ग्रे सवारी साधानलाई चार पाङ्गेमा रुपान्तरण गर्र्ने अवधारणा बनायौँ , सोहीअनुसार चार पाङ्ग्रे सवारीसाधान एसेम्वल गर्नको लागी विभिन्न ठाउँबाट हामीले गएर अध्ययन ग¥यौँ ,’उनले भने,’विभिन्न कम्पनीहरुमा भ्रमण गर्दा हामीले पनि बनाउन सक्छौँ भन्नेमा हामी पुग्यौँ । हामीले आफ्नै देशको समाग्री प्रयोग गरेर ६० प्रतिशत बडी बनाउन सक्यौँ ।’

तीन पाङ्ग्रे सवारीमा हुने भीडभाड र दुर्घटनाको जोखिम कम गर्न चार पाङ्ग्रे सवारी आवश्यक रहेको उनले बताए। यसले ट्राफिक जाम कम गर्न समेत सहयोग पुग्ने उनको भनाई छ । उनका अनुसार यो सवारी निर्माणको अन्तिम चरणमा छ, अब काठमाडौंको सडकमा परीक्षण गरेर यातायात व्यवस्था कार्यालयमा दर्ताका लागि लैजाने तयारी छ ।

सवारीको विशेषता
सुन्दर अटो इन्जिनियर प्रा.लि.ले निर्माण गरेको १४ सिटर ईभीमा एसी, पंखा जडान गर्न मिल्ने, सिसा जडित संरचना रहेको छ । सवारीले १४ यात्रु र प्रतिव्यक्ति ५० केजी भारसहित १७ डिग्री उकालो चढ्नसक्ने क्षमता राख्दछ । मुख्य रूपमा सहर केन्द्रित यो सवारी काठमाडौं उपत्यका, तराई तथा देशका प्रमुख शहरमा सञ्चालन गर्न उपयुक्त रहेको कम्पनीका अध्यक्ष थापाले जानकारी दिए । भविष्यमा यसलाई दुर्गम क्षेत्रसम्म पुग्नेगरी विकास गर्ने योजना रहेको थापाले सुनाए ।

‘हामीले बनाएको गाडीमा १४ जना अट्नेछन्, गाडीमा एसी, पंखा राख्न मिल्छ, बाहिर सिसा जडित छ, यो वातावरणमैत्री सवारी सधान त भइहाल्यो, ट्राफिक जाम पनि यसले कम गर्छ,’उनले भने, ‘आफ्नै देशमा उत्पादित विद्युतबाट सञ्चालित हुने भएकोले त्यसमा पनि राहत छ । यो १४ जना बोकेर १७ डिग्री क्षमतामा चढ्न सक्छ । १४ जनामा पनि हामीले प्रतिव्यक्ति अर्को ५० केजी जोडेका हुन्छौँ । हामीले उपत्यकाभित्र ६५ केजी व्यक्तिको वजन राखेको छौँ ।’

एक सवारी निर्माण गर्न सात दिनको समय लागेको अध्यक्ष थापाले जानकारी दिए । उनकाअनुसार नेपालमा नै उपलब्ध जनशक्तिले यो सवारीको एसेम्बल गरिएको हो । ठूलो परिमाणमा उत्पादन गर्दा दुई दिनमै सवारी तयार गर्न सकिने अध्यक्ष थापाले बताए ।  ‘हामीले प्रयोग गरेका सबै पार्टपुर्जामा एनएस प्रमाणपत्र प्राप्त सामग्री मात्रै प्रयोग गरेका छौँ,’ अध्यक्ष थापाले भने ।

भैरहवामा कार एसेम्बल भएपनि सार्वजनिक यातायातका लागि १४ सिटर ईभी सवारी उत्पादन गर्ने पहिलो प्रयास आफूहरूले गरेको थापाको दाबी छ ।

कानून नै सबैभन्दा ठूलो वाधक
ईभी सवारी उत्पादन तथा एसेम्बलमा कानूनी जटिलता मुख्य चुनौती बनेको थापाको भनाइ छ । नेपालमा बनेका पुराना कानुनको परिमार्जन नहुँदा नवप्रवर्तकको लागि समस्या भएको उनले बताए । प्रविधिको विश्वव्यापी युगमा नेपालको कानून भने समयसापेक्ष नभएको अध्यक्ष थापाले गुनासो गरे ।

अरू देशमा नवप्रवर्तनलाई कानुनले हौसला दिन्छ, तर नेपालमा भने एसेम्बल गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न खोज्दा भन्सार, भ्याटलगायत विभिन्न करले निराश बनाइन्छ,’ उनको गुनासो छ ।

सरकारले राम्रो काम गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्नेमा नीतिगत रूपमा हतोत्साहित गर्ने अवस्था रहेको उनले बताए । उनले कानून परिवर्तनशील भएपनि नेपालमा भने एक पटक बनाएको कानून कहिल्यै फेर्न हुँदैन भन्ने सोचले विकास रोकिएको थापाको आरोप छ ।

बीमा रकम कटौतीको हल्ला भ्रामक, १ लाखको सीमा यथावत्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा सुविधाको उपचार खर्च कटौती गरिएको भन्ने भ्रामक खबरप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

बोर्डले सूचना जारी गर्दै ५ जनासम्मको बीमित परिवारले वार्षिक रुपमा पाउने १ लाख रुपैयाँ बराबरको कुल सेवा सीमा यथावत् रहेको स्पष्ट पारेको हो । बोर्डले बीमा कोषको दिगोपन र सेवाको न्यायोचित व्यवस्थापनका लागि केही प्राविधिक परिमार्जन मात्र गरिएको बताएको छ ।

‘नयाँ व्यवस्थाअनुसार बहिरंग (ओपीडी) सेवाको प्रयोगलाई मितव्ययी र व्यवस्थित बनाउन ५ जनासम्मको परिवारका लागि वार्षिक २५ हजार रुपैयाँ तोकेको हो । प्रत्येक थप सदस्यका लागि ५ हजार रुपैयाँको सीमा तोकिएको छ । परिवारले पाउने बाँकी रकम भने ओपीडी र आकस्मिक स्वास्थ्य सेवामार्फत पहिलोको जस्तै उपयोग गर्न सकिने छ । यो निर्णय विशेषगरी अनावश्यक र दोहोरो सेवा प्रयोग रोक्न तथा गम्भीर एवं जटिल प्रकृतिका रोगको उपचारका लागि स्रोत सुरक्षित राख्ने उद्देश्यले गरिएको हो,’ बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य बीमा कोषमा पर्न सक्ने वित्तीय संकट टार्न र जीवनरक्षात्मक उपचार सेवालाई प्राथमिकता दिन यो कदम चालिएको बोर्डले उल्लेख गरेको छ । यससँगै बीमितले आकस्मिक र अस्पताल भर्ना भई लिने सेवामा कुनै असर पर्ने छैन ।

बालेन शाहले सामाजिक सञ्जालका लागि आइटी क्षेत्रमा गरेको लगानीको स्रोत जनताले खोज्नु पर्ने

दमक । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य गोविन्द थापाले बालेन शाहले सामाजिक सञ्जालको लागि आइ टी क्षेत्रमा ६ करोड लगानी गरेको चर्चा चलीरहदा लगानीको स्रोत जनताले खोज्नु पर्ने बताएका छन् ।

पार्टीको किरात कञ्चन टोल कमिटी दमक ८ले आज आयोजना गरेको टोल भेलालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य थापाले धेरै वटा घरमा बेग्लाबेग्लै आइटीको अफिस राखेर जनशक्ति सामाजिक सञ्जाल उपयोग गरेको लगानीको स्रोत जनता, नेता र कार्यकर्ता सबैले खोज्नु पर्ने बताए। गत भदौ२३ गते स्कूलले विधार्थीलाई उक्साएर भीडभाडमा मराउने षडयन्त्रकारी बन्द कोठामा बसेर योजना बनाउने अहिलेको उम्मेद्धवार वालेन शाहको गलत कार्यको कार्यकर्ताले भण्डारफोर गर्नु पर्ने बताए।

अहिले मुुलुक संकटमा रहेको वेलामा सबैले देश बचाउन एमाले मात्र नभएर सबै राजनीतिक दल र देश भक्तिहरुले आवाज उठाउनु पर्ने नेता थापाले बताए । पार्टीको किरात कञ्चन टोलका अध्यक्ष होम बहादुर कार्कीको अध्यक्षतामा भएको भेलामा आपतमा आतिने र सहजता मातिने भन्दा पनि सबैले केपी शर्मा ओलीलाई जिताउनु पर्ने बताएका छन् । भेलामा सहभागीहरु पूर्व जनप्रतिनिधि भीमराज केसीले समस्या पर्दा मात्र सम्झीने समय प्रवृत्तिको अन्त गर्न सुझाव दिए ।

सहभागी फडिन्द्र भटराईले विपक्षीलाई कमजोर ठान्न नहुने बताए ।  यसैगरी अर्काे सहभागी राम बाबु सापकोटाले मान्छे भन्दा समय बलमान हुने हुदा त्यसलाई पच्छाउनु पर्ने सुझाव दिएको एमाले वडा कमिटी दमक ८का वडा अध्यक्ष खेम श्रेष्ठले बताए ।

कार्यक्रममा आउदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालन समितिको संयोजक धर्म प्रसाद दाहाल(दिपेश)र एमाले वडा कमिटी इन्चार्ज राम प्रधान र किरात कञ्चन टोलको निर्वाचन परिचालन संयोजक पशुपति राज गौतम लगायतले प्रत्येक मतदाताहरु सम्म पुग्ने आग्रह गरेका थिए ।

भक्तपुरमा महेश बस्नेतकाे ‘संकट सारथी’ काे रुपमा प्रचार

भक्तपुर । नेकपा एमालेका सचिव तथा भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले आफूलाई ‘सङ्कटका सारथि’ का रूपमा प्रस्तुत गर्दै भक्तपुरको विकास यात्रालाई अझ तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नाे नेतृत्वमा भूकम्पले तहसनहस बनाएको भक्तपुरलाई पुनः उठाउने अभियानदेखि लिएर शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रमा उल्लेखनीय प्रगति सम्भव भएको उनको दाबी छ । बस्नेतले भने- ‘यो समय केवल एउटा कार्यकाल थिएन, यो विकासको अभियान थियो, योजनाले मात्र होइन, दृढ इच्छाशक्ति र निरन्तर मेहनतले यो सम्भव भएको हो।’

२०७२ सालको भूकम्पपछि भक्तपुरका धेरै विद्यालय, ऐतिहासिक सम्पदा र धार्मिक संरचनाहरू भत्किएका थिए । ती सङ्कटपूर्ण अवस्थाबाट भक्तपुरलाई उठाउन आफूले नेतृत्वदायी भूमिका खेलेको बस्नेतको भनाइ छ । उनका अनुसार भूकम्पले ढालेका विद्यालयहरू पुनः निर्माण भए, मठ–मन्दिर, पाटी–पौवा जस्ता सांस्कृतिक धरोहरहरू पुनर्जीवित भए ।

‘ऐतिहासिक सम्पदा पुनर्निर्माण मात्र होइन, भक्तपुरको पहिचान जोगाउने अभियान पनि थियो,’ उनले उल्लेख गरे।

बस्नेतले आफ्नो कार्यकालमा पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य सेवाको विस्तार, पर्यटन प्रवर्द्धन तथा स्थानीय रोजगारी सिर्जनामा तीव्र प्रगति भएको दाबी गरे । उनले भक्तपुरलाई केवल ऐतिहासिक सहरको रूपमा होइन, अवसर र समृद्धिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको बताए ।

बस्नेतले आफू केवल भाषण र नीति बनाउने नेता नभई काम गरेर देखाउने ‘समृद्ध भक्तपुरको सारथि’ बन्न चाहेको स्पष्ट पारे । ‘म केवल नीति बनाउने नेता होइन, समृद्ध भक्तपुर बनाउने सारथि बन्न चाहन्छु,’ उनले भने ।

भक्तपुर क्षेत्र नं. २ मा एमाले सचिव महेश बस्नेतलाई ‘सङ्कटका सारथि’का रूपमा समर्थकहरूले प्रचार गरिरहेका छन् भने निर्वाचन नजिकिँदै जाँदा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।

सुर्य थापा : प्यूठानले पाएको जुझारु तथा ऐतिहासिक नेता

काठमाडौं। झिम्रुक सौतामारेको कथा कुनै चम्किलो सहरको राजनीतिक यात्राबाट सुरु भएको होइन । यो कथा सुरु हुन्छ प्युठानका गाउँ–बस्ती, खेतका डिल, उकालो–ओरालो बाटो र सामान्य किसानका सपना बोकेर हुर्किएको एउटा बालकबाट ।

त्यही माटोबाट उठेका पात्र हो-सूर्य थापा । उहाँ किसानका छोरा हुनुहुन्छ । अभावका बीच पढ्नुभयो, दुःख–सुख गर्दै अघि बढ्नुभयो । गाउँका धेरै युवाजस्तै उहाँले चाहेको भए नोकरी खोज्न सक्नुहुन्थ्यो, लाहुर जान सक्नुहुन्थ्यो वा सहर पसेर जीवनको बाटो बदल्न सक्नुहुन्थ्यो । तर उहाँले त्यो बाटो रोज्नुभएन ।

उहाँ गाउँमै रहनुभयो । गाउँसँगै हुर्किनुभयो, गाउँसँगै बोल्नुभयो र गाउँकै समस्या आफ्नो जिम्मेवारी ठान्नुभयो ।

पत्रकारिताबाट सुरु भएको सार्वजनिक यात्रा
थापाको सार्वजनिक जीवन पत्रकारिताबाट सुरु भयो । कलम समाएर समाजका पीडा, आवश्यकता र आवाज उठाउँदै उहाँ प्रेस चौतारीको नेतृत्वसम्म पुग्नुभयो । पत्रकारिता उहाँका लागि पेशा मात्रै होइन, समाज बुझ्ने विद्यालय बन्यो ।

त्यही यात्राले उहाँलाई राज्य सञ्चालनका कुरा नजिकबाट सिक्ने अवसर पनि दियो । दुई जना प्रधानमन्त्री र एक जना उपप्रधानमन्त्रीको सल्लाहकार भएर काम गर्दा उहाँले राजकाजको अनुभव मात्र होइन, केन्द्रको सोच र गाउँको यथार्थबीचको दूरी पनि बुझ्नुभयो ।

तर अनुभव लिएर उहाँ काठमाडौंमै हराउनुभएन । फेरि फर्किनुभयो आफ्नै जनतामाझ ।

केन्द्रमा पुगेर पनि गाउँ नबिर्सने नेता
सूर्य थापाको विशेषता यही हो-उहाँ केन्द्रमा पुगेर पनि गाउँलाई बिर्सनुहुन्न । उहाँ लगातार तीन दशकभन्दा बढी समय प्युठानका जनताका बीचमा रहनुभएको छ । समयले धेरै नेता बनायो, धेरै हरायो । तर उहाँ गाउँको बाटोमा, मानिसका दुःख–सुखमा, विकासका योजना र बहसमा निरन्तर देखिनुहुन्छ ।

परार वर्ष प्युठानलाई ‘थोरै दाम परेको’ भन्दै संसदमा उहाँले चिच्याएर प्रश्न उठाउनुभयो । त्यो व्यक्तिगत आक्रोश होइन, जिल्लाको आवाज थियो ।

आफ्नै सरकार हुँदा उहाँले संघीय सरकारबाट प्युठानका लागि राम्रै बजेट छुट्याउन भूमिका खेल्नुभयो । आज जिल्लामा बाटो, घाटा, खानेपानी, पुल–पुलेसाका काम चलिरहेका छन् ।

अर्खा–राजावारा जोड्ने लामो पुलको उदाहरण अझै पनि स्थानीयले सम्झिन्छन् । उहाँ आफैँ पुगेर काम अघि बढाउन लगाउनुभयो, छिटो सम्पन्न गराउनुभयो ।

बोल्दा संसदले सुन्न बाध्य हुने स्वभाव
संसदमा धेरै बोल्छन् । तर केही बोल्दा मात्रै संसद चुप लाग्छ । सूर्य थापा बोलेपछि धेरैलाई सुन्नै पर्छ । किनभने उहाँ भाषण गर्न होइन, कुरा राख्न बोल्नुहुन्छ ।

काममा लागेपछि सकेरै छाड्ने उहाँको बानी विभिन्न समितिहरूमा बसेर सम्पन्न गरेका कामहरूले देखाउँछन् । उहाँलाई मन पर्ने–नपर्ने भन्दा पनि आफूलाई लाग्ने सत्य कुरा भन्न डर लाग्दैन ।

आलोचक छन्, तर भ्रष्टाचारको आरोप छैन
उहाँका आलोचक छन् । प्रशंसक पनि कम छैनन् । राजनीति भनेकै बहस हो, आलोचना हो ।

तर एउटा कुरा उल्लेखनीय छ-उहाँका आलोचकहरूले पनि उहाँलाई भ्रष्टाचारजन्य गम्भीर आरोप लगाउन सक्दैनन् । आजको राजनीतिमा यही नै ठूलो पूँजी हो ।

उहाँ आत्तिने, मात्तिने नेता होइन । सामान्य मानिसका साना दुःख–सुखमा पनि गाउँतिरै भेटिनुहुन्छ ।

प्युठानको आवाज बनेर फेरि चुनावी मैदानमा
सूर्य थापा कुनै आकस्मिक रूपमा उदाएकाे नेता होइन । उहाँ गाउँबाट उठ्नुभएको हो, गाउँमै टिक्नुभएको हो, गाउँकै लागि लड्नुभएको हो ।

सामाजिक न्याय, विकास र राष्ट्रियताको सवालमा उहाँ आबद्ध पार्टीलाई धेरैले अब्बल ठान्छन् । यस पटक पनि उहाँ प्रतिनिधिसभा निर्वाचनमा एमालेको तर्फबाट प्युठानबाट चुनावी मैदानमा हुनुहुन्छ ।

समर्थकहरू भन्छन्- उहाँलाई पूरा कार्यकाल काम गर्न दिँदा जिल्लालाई नाफा हुने देखिन्छ । यो कथा एउटा नेताको मात्रै होइन । यो कथा गाउँको माटोबाट उठेर गाउँकै आवाज बन्ने यात्राको हो ।

कास्कीमा साबिक नेकपा (एस) का जिल्ला उपाध्यक्षसहित ३ सयभन्दा बढी एमाले प्रवेश

पोखरा । कास्की जिल्लामा साबिक नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न राजनीतिक दल परित्याग गरी ३ सयभन्दा बढी नेता–कार्यकर्ता नेकपा (एमाले) मा समाहित भएका छन्।

एमालेको ‘फर्क अभियान’ अन्तर्गत पार्टी प्रवेश गर्नेहरूमा साबिक समाजवादी कास्की जिल्ला कमिटीका उपाध्यक्ष झपिन्द्रराज रेग्मी, शिवराज आचार्यसहितका नेता–कार्यकर्ता रहेका छन्।

एमालेमा समाहित भएका सम्पूर्ण नेता–कार्यकर्तालाई नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, कास्की इन्चार्ज कृष्ण थापा लगायतका नेताहरूले स्वागत गरेका थिए।

एमाले कास्कीका कार्यवाहक अध्यक्ष भेषराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पार्टी सचिव दर्शन लामाले गरेका थिए।

राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाको बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्योदश स्वीकृत भएका छन् । सभाको सोमवारको बैठकबाट ती अध्यादेशहरु स्वीकृत भएका हुन् ।

सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव  पेश गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको हो ।

१२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन फागुन ३० देखि काठमाडौंमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा वृहत अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौमा हुने भएको छ । संघले काठमाडौंमा सोमवार पत्रकार सम्मेलन गरी फागुन ३० गतेदेखि चैत २ गतेसम्म सम्मेलन तथा महाधिवेशन हुने जानकारी दिएको हो ।

सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन गरिएको संघले जनाएको छ । उक्त समितिको सचिवालयका रूपमा गैरआवासीय नेपाली संघको सचिवालयले नै कार्य गर्नेछ । सम्मेलन तथा महाधिवेशनका तयारीका कामहरू क्रमशः अगाडि बढिरहेका संघले जनाएको छ ।

सम्मेलनमा गैरआवासीय नेपालीसम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त हुने संविधानप्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सीप र प्रविधि हस्तान्तरण, विदेशमा जन्मिएका युवाहरुलाई नेपासंग जोड्ने विषयमा केन्द्रित हुने संघका अध्यक्ष डा. बद्रि केसीले जानकारी दिए । उनले एकता महाधिवेशनले गैरआवसीय नेपालीहरुको समस्या समाधानमा गर्न सरकारलाई दबाब सिर्जना गर्ने उल्लेख गरे ।

उनले नेपालबाहिर रहेका नेपालीहरुलाई निर्वाचनमा मतदान गर्ने अधिकार नेपाल सरकारले उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनका अनुसार हाल बाहिर रहेका करिव ८० लाख नेपालीमध्ये अधिकांशले नेपाली नागरिकता कायम राखेरै विदेशमा बसोवास गरिरहेका छन् । विदेशमा बसोबास गरिरहेका नेपालीले नेपालकै निर्वाचन प्रक्रियामा सहभागिता जनाउन पाउनु नैसर्गिक अधिकार भएको उनको भनाई छ । परिवर्तित समयमा विदेशमा बसेर पनि नेपालमा भोट हाल्ने अधिकार सुनिश्चित हुने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।

‘आजको परिवर्तित नेपालमा नेपालको मूल्य र मान्यता पनि परिवर्तन भएका छन् । पहिला हामीले संविधानमा गैरआवासीय नेपालीहरुको अधिकार मागेका थियौँ भने अब ८० लाख नेपालीहरु मध्ये अधिकांश नेपालीहरु नेपाली नागरिकता नै राखेर विदेशमा बसेका छन्,’ उनले भने,’अब परिवर्तित नेपालको निर्वाचनमा विदेशमा नै बसेर पनि नेपालको निर्वाचनमा भाग लिन पाउने कुराहरु हाम्रो नैसर्गिक अधिकार भित्र पर्छ । मलाई आशा छ, यो परिवर्तित समयमा विदेशमा बसेर पनि नेपालमा भोट हाल्ने हाम्रा अधिकारहरु सुनिश्चित हुन्छन् ।’

अध्यक्ष केसीले विश्वका विकसित देशहरू आप्रवासीको सहयोगले नै समृद्ध भएको बताउनु भयो । उहाँले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पूँजी स्वदेशमा भित्र्याएर देश विकासमा गैरआवासीय नेपालीले महत्वपूर्ण योगदान गर्ने दाबी गर्नुभयो । उहाँले नेपालमा लगानी गर्न आफूहरु पूर्ण रूपमा तयार रहेको बताउनु भयो ।

रवि, बालेन र सुदनलक्षित गुरुङको कडा आरोप : हिजो सिंहदरबार जलाउने आज उम्मेदवार (भिडियो)

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष माहाराज गुरुङले नेकपा एमालेका उम्मेदवारहरू निर्वाचित भए मात्र देशको राष्ट्रियता सुरक्षित रहने दाबी गरेका छन्।

उनले सामाजिक सञ्जालको लोकप्रियताका आधारमा बनेका नयाँ दलहरू राष्ट्रियताका लागि खतरा बन्न सक्ने चेतावनी दिएका छन्।

अध्यक्ष गुरुङका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित भएका केही व्यक्तिहरू नयाँ दलको नाममा उम्मेदवार बनेको देखिएको छ, जसले गम्भीर प्रश्न खडा गरेको छ।

“आज सामाजिक सञ्जालमा कोही मान्छे लोकप्रिय भएको आधारमा नयाँ पार्टीको नाममा उम्मेदवार भइरहेका छन्,” उनले भने, “हामीले यो देखिरहेका छौँ, पढिरहेका छौँ।”

उनले विगतमा देश जलाउने गतिविधिमा संलग्न व्यक्तिहरू अहिले नयाँ दलको आवरणमा संसदीय राजनीतिमा प्रवेश गर्न खोजेको आरोप लगाए। “हिजो सिंहदरबार जलाउने, नेपालको झण्डा बोकेर हात ठाडो पार्नेहरू आज नयाँ दलका उम्मेदवार बनेका छन्,” गुरुङले भने, “आज संसद् जलाएका मान्छेहरू नयाँ दलका उम्मेदवार भइरहेका छन्।”

अध्यक्ष गुरुङले अझ गम्भीर आरोप लगाउँदै सहकारी ठगीमा फौजदारी अभियोग लागेका व्यक्तिहरू समेत नयाँ दलका नाममा उम्मेदवार बनेको दाबी गरे। “आज सहकारी ठगीमा फौजदारी अभियोग लागेका मान्छेहरू पनि नयाँ दलको नाममा उम्मेदवार भइरहेका छन्,” उनले भने।

उनका अनुसार यस्ता प्रवृत्तिले लोकतन्त्र र राष्ट्रिय हितमाथि गम्भीर जोखिम निम्त्याउने भएकाले एमालेका उम्मेदवारहरूलाई जिताउनु देश र राष्ट्रियताको रक्षा गर्ने लडाइँ भएको दाबी गरे। युवा संघले यही आधारमा निर्वाचनलाई निर्णायक राजनीतिक संघर्षका रूपमा लिएको उनको भनाइ छ।

राष्ट्रिय युवा संघको १० हजार ६१७ बुथमा कमाण्ड, मूल कमान्डर अध्यक्ष माहाराज गुरुङ

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संगठनका सबै सदस्यलाई निर्वाचन परिचालित गर्ने निर्णय गरेको छ।

युवा संघका अध्यक्ष महाराज गुरुङद्वारा जारी विज्ञप्तिअनुसार संघले केन्द्रदेखि वडा तहसम्म निर्वाचन परिचालन कमाण्ड प्रणाली लागू गर्ने घोषणा गरेको हो।

केन्द्रमा अध्यक्ष गुरुङको नेतृत्वमा ५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमाण्ड गठन गरिएको छ। प्रदेशस्तरमा मातहतका निर्वाचन परिचालन कमाण्डलाई संयोजन र नेतृत्व गर्ने जिम्मेवारी तोकिएको छ।

त्यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरमा १६५ वटा निर्वाचन परिचालन कमाण्ड गठन गरिने निर्णय भएको छ।

ती कमाण्डअन्तर्गत मतदान केन्द्र रहेका संगठनका केन्द्रीय निकाय तथा विभाग, साथै प्रदेश, जिल्ला, पालिका, वडा र टोल कमिटीका पदाधिकारी तथा सदस्यहरू रहने विज्ञप्तिमा उल्लेख छ।

युवा संघले निर्वाचन परिचालन कमाण्डअन्तर्गत ६ हजार ४७३ वटा वडामा वडा कमाण्ड र १० हजार ६१७ वटा बुथमा बुथ कमाण्ड तोक्ने निर्णय गरेको जनाएको छ। यसले संगठनलाई प्रत्यक्ष रूपमा मतदान केन्द्रसम्म परिचालन गर्ने रणनीति देखिएको छ।

विज्ञप्तिअनुसार निर्वाचन परिचालन कमाण्डहरूको मुख्य जिम्मेवारी उम्मेदवारलाई जिताउन आवश्यक प्रचार-प्रसार रणनीति बनाउने, आम मतदातामा जागरण ल्याउने, मतदानका लागि सुरक्षित र भयरहित वातावरण निर्माण गर्ने तथा उम्मेदवारको सुरक्षा व्यवस्थापन गर्ने रहेको छ।

युवा संघले आगामी निर्वाचनलाई संगठनको शक्ति परीक्षणका रूपमा लिँदै एमाले उम्मेदवारको जित सुनिश्चित गर्न सम्पूर्ण संगठनात्मक संरचना प्रयोग गर्ने स्पष्ट संकेत दिएको छ।

राजनीतिक वृत्तमा युवा संघको यो निर्णयलाई एमालेको आक्रामक चुनावी रणनीतिको हिस्सा मानिएको छ।

प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : अन्तरिम सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको होइन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको भन्नु गलत भएको बताएकी छिन् ।

केही मन्त्रीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा गएर चुनाव लड्न लाग्दैमा आफू नेतृत्वको सरकार उक्त पार्टीको नभएको दाबी गरिन् ।

‘यो अभियोग पनि यहाँ आयो कि यो त राष्ट्रिय स्वतन्त्र पार्टी हो भनेर । राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना (सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ता) मात्रै गए,’ उनले भनिन्, ‘कुलमानजीको आफ्नै पार्टी हो, पुनजीको पार्टी नै छैन । सबै मान्छे राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका छैनन् । हाम्रो कसैसँग कुनै कन्ट्याक्ट पनि छैन। यो गलत भाष्य हो ।’

कार्की नेतृत्वको नागरिक सरकारको गठनको जग जेन–जी विद्रोह हो । यो विद्रोहको पर्दा पछाडिका सर्वोच्च कमान्डर काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह हुन् ।

जो प्रमुख पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेताको हैसियतमा छन् र सोही दलबाट झापा–५ मा उम्मेदवार बनेका छन् ।

विद्रोहको सर्वोच्च कमान्डर बालेन नै रास्वपाबाट संसदीय राजनीतिमा आएपछि कार्की सरकारलाई रास्वपाको सरकारको ट्याग लागेको छ ।

भनिन्छ, अन्तरिम सरकारको प्रधानमन्त्री छान्ने पनि बालेन नै हुन् ।

प्रधानमन्त्री कार्कीको स्वीकार : महावीर पुन रिसाएर हिँडे, उनले भनेका कानुन राम्रै थिए

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले रिसाएरै सरकारबाट अलग भएको स्वीकारेकी छिन् ।

पुनले केही कानुन बनाउनु भनेको तर छोटो समयमा कानुन बनाउन नसकिने भएपछि रिसाएर सरकार छाडेको बताइन् । तर, पुनले भनिएका कानुनहरू देशका लागि राम्रो रहेको उनको भनाइ छ ।

‘जहाँसम्म पुनजीको कुरा छ, पुनजी त रिसाएर हिँड्नुभएको हो । दुई/चारवटा कानुन बनाउनु भन्नु भएको थियो । ती कानुन राम्रै थियो,’ उनले सोमबार राष्ट्रियसभा बैठकमा भनिन्, ‘यो छोटो समयमा कानुन बनाएर उहाँलाई सहयोग गर्न सकेनौँ । त्यो कानुन मुलुककै लागि थियो । तर, सकेनौँ उहाँलाई सहयोग गर्नलाई ।’

उनले कानुन बनाउन बाधक अनेक परिस्थिति हुने बताइन् ।

‘अनेक परिस्थिति हुन्छ, सबै कुरो हुँदैन । त्यसकारण आफ्नो व्यक्तिगत अधिकारको कुरा हो, को राजनीतिमा जान्छ, जाँदैन भन्ने’, उनले भनिन् ।

शिक्षामन्त्री पुनले प्रधानमन्त्रीबाटै कानुन बनाउने सन्दर्भमा सहयोग नपाएपछि सांसदको चुनाव लड्न गृहजिल्ला म्याग्दी गएको बताएका छन् ।

प्रधानमन्त्री कार्कीले झण्डै तीन सातापछि सोमबार जवाफ दिएकी हुन् ।

 

डिपोमा ग्यास नपाएपछि उपभोक्ताहरु खाली सिलिण्डर बोकेर नेपाल ग्यासकै कार्यालय पुगे

काठमाडौं । दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव अझै हट्न सकेको छैन । बजारमा खासगरी नेपाल ग्यासको चरम अभाव देखिँदा उपभोक्ता मारमा परेका छन् । उपत्यकाभर नेपाल ग्यासको बजारमा वर्चश्व धेरै छ । भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ ।
नेपाल ग्यासका विक्री केन्द्रहरुमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन् । नयाँ बसपार्कबाट खाली सिलिण्डर बोकेर गएका नमराज घिमिरेले कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो गरे।

‘घरमा ग्यास खाँचै भइसक्यो, डिपोले ग्यासै दिँदैन,  डिपोले कम्पनीमै जानु त्यहाँ ग्यास बाँडेको छ भन्यो । डिपोमा १०–१५ दिनदेखि पालोमा राखे तर पालो नै आएन ,’घिमिरेले भने,’पालोमा राख्दा ढिला हुन्छ भनेपछि बालाजु औद्योगिकमा रहेको कम्पनीको कार्यालयमै आएको हो । हिजो अस्ती कम्पनीले ग्यास बाँडेको छ भनेर आएको आज बाँडेको रहेनछ्, बिचल्ली हुने भयो ।’

बजारमा नेपाल ग्यास कहीँ कतै नपाएपछि बालाजु औद्योगिक क्षेत्र भित्र रहेको कम्पनीको कार्यालयमा पुगेका रौतहट घर भई हाल चाबहिलका प्रेम साहले आफू काठमाडौंमा ब्याकको काम गर्ने गरेको र डेरामा ग्यास सकिएको र समयमै नपाएको बताए। ‘ग्यास सकिएर दाउरामा पकाएर खानुपरेको छ, एक घण्टादेखि ग्यास लिन नेपाल ग्यासको कम्पनीकै कार्यालयमा आएको अहिलेसम्म पाएको छैन,’उनले भने, ‘तिन दिन भइसक्यो ग्यास भ्याइएर खोजिरहेको नेपाल ग्यास कही पाइन । एउटा मात्रै सिलिण्डर थियो । आज त ग्यास लिन खान नखाइ आएको हो ।’

अर्का धार्दिङ घर भइ हाल काठमाडौंमा बस्दै आएका अर्जुन सिम्खडाले पनि आफ्नो वरिपरि कतै नेपाल ग्यास साट्न नपाएको बताए।

‘म नेपालटारमा बस्छु । त्यहाँ ग्यास पाइएको छैन । डिपोले बालाजु औद्योगिक क्षेत्रमा पठायो, विद्यार्थी भएकाले एउटा मात्रै ग्यास डेरामा थियो,’ उनले भने,’कम्पनीकै कार्यालयमा आएर पनि ग्यासै पाउन सकिएको छैन ।’

यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ । नेपाल ग्यास कार्यकारी सञ्चालक तथा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष समेत रहेका गोकुल भण्डारीले नेपाल ग्यासको माग दैनिक ८–१० बुलेट रहने गरेको बताए । उनका अनुसार त्यो मात्रामा ढुवानीमा केही समस्या रहदा समस्या भएको हो । अहिले समस्या हल भएपनि बजारको चक्र केही गढबढ भएकाले त्यसले पुरानै अवस्थामा आउन केही दिन लाग्ने उनले बताए ।

‘हाम्रो दायित्व भनेको सम्पूर्ण उपभोक्तालाई समयमै ग्यास उपलव्ध गराउनु हो । यो राज्यबाट नियन्त्रित व्यवसाय भएकाले राज्यले पनि भुमिका खेल्नुपर्छ,’ सञ्चालक भण्डारीले भने,’लोडिङ गर्ने कुरामा हाम्रा आफ्ना बुलेट नभएका कारणले समस्या आएको हो । उद्योगको कारणले मात्रै ग्यास अभाव भएको होइन । पाइपलाइनको कुरा छिटो गर्ने हो भने यस्ता समस्या बारम्बार आउने थिएनन् ।’

सञ्चालक भण्डारीले नेपाल ग्यास दैनिक ८ हजार सिलिण्डर खपत हुने गरेको बताए । जाडो महिनामा यो संख्या अझ बढ्छ । पछिल्लो दिनमा जति डिमाण्ड हो त्यो भन्दा बढि नै ग्यास बजारमा उनको दाबी छ । बजारमा जुन अभाव देखिएको छ, यो कभर हुँदैछ । अहिले आत्तिनुपर्ने स्थीति छैन । ग्यास रेगुलर आउन थालिसकेको छ ।

नेपाल आयल निगमले नेपाल ग्यास सहित केही अन्य ग्यासको बजारमा चरम अभावबारे जानकार रहेको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले छिटो अभाव हटाउन उद्योगीलाई कडा निर्देशन दिइएको बताए।

‘नेपाल ग्याससहितमा केही समस्या देखापरेको छ । उनीहरुले भारतबाट समयमै ढुवानी गर्न नसकेको पाइयो । ग्यास दुवानी गर्ने एउटा पनि ढुवानीकर्ता छैनन् । जतिपनि छन् भारतीयहरु छन्,’ प्रवक्ता ठाकुरले भने,’तिनैमाथि हामी निर्भर भएका छौँ । समयमै ढुवानीकर्ता भएनन भने पनि हामीलाई समस्या हुने गरेको छ, अहिले त्यस्तै समस्या आएको हो । अहिले उद्योगीहरुलाई बोलाएर अभाव हटाउन र इण्डियन अयल कर्पोरेससँग पनि निगमले कुराकानी गरिरहेको छ ।’

उनले चुनाव पनि नजिकिएकाले अभाव हटाउन निगमले चासो देखाइरहेको बताए । निगमले कालोबजारी कसैले गरे कडा कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

मन्त्रीहरू चुनावमा गएपछि प्रधानमन्त्री कार्कीले भनिन् ‘दोष मलाई दिनुहोस्’ (भिडियो)

काठमाडौं । अन्तरिम सरकारका केही मन्त्रीहरू पदबाट बाहिरिएर चुनावी राजनीतिमा सक्रिय भएपछि राजनीतिक वृत्तमा प्रश्न उठिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले ती मन्त्रीहरूलाई बेइमान ठहर गर्न नमिल्ने बताएकी छन् ।

प्रधानमन्त्री कार्कीका अनुसार अन्तरिम सरकार गठनका बेला जेन–जी समूहको दबाबका कारण केही व्यक्तिलाई मन्त्रिपरिषद्मा समेटिएको थियो र उनीहरू भविष्यमा राजनीतिमा जाने सम्भावना रहेको कुरा सरकारलाई पहिल्यै थाहा थियो ।

‘बेइमानी त्यहाँ हुन्छ, जहाँ सरकारमा बसिबसी चुनाव लडिन्छ, ‘प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर, सरकार छाडेर गइसकेका, जसलाई हामीले विदाइ गरेर शुभकामना दिइसकेका छौँ, उनीहरूलाई बेइमान भन्न सकिँदैन ।’

भदौ २७ गते शपथ ग्रहण गरेपछि केही समय मन्त्रिपरिषद् गठन हुन नसकेको प्रसंग उल्लेख गर्दै उनले दलबाहिरबाट व्यक्ति खोज्नुपर्ने अवस्था आएको बताइन् ।

त्यस क्रममा जेन–जी पक्षबाट कुलमान घिसिङ, महावीर पुनलगायत नामलाई अनिवार्य रूपमा मन्त्रिपरिषद्मा राख्न दबाब आएको उनको भनाइ छ ।

उनका अनुसार त्यतिबेला कुलमान, महावीरलगायत मन्त्रिपरिषद्मा आउन इच्छुकसमेत थिएनन् । तर, तत्काल सरकार गठन गर्नैपर्ने अवस्था र जेन–जीको दबाब स्वीकार्नुपर्ने हुनाले उनीहरूलाई हातै जोडेर जतिञ्जेल सरकारमा बस्ने, बसिदिनुपर्‍यो भनेको खुलाइन् ।

सञ्चारमन्त्री जगदीश खरेल र बब्लु गुप्ता पनि जेनजीको दबाबमा मन्त्रिपरिषद्मा आएका व्यक्तिहरू भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले उनीहरू लोकप्रिय प्रकृतिका र राजनीतिमा जाने सम्भावना रहेको कुरा सरकारलाई पहिल्यै जानकारी रहेको बताइन् ।

मन्त्रिपरिषद् गठनकै क्रममा सम्बन्धित व्यक्तिहरूसँग स्पष्ट समझदारी गरिएको उल्लेख गर्दै उनले भनिन्, ‘मैले उनीहरूलाई जुन दिन जानुहुन्छ, म बकाइदा बिदाइ गर्छु, आरामसँग जानुहोस्, चुनाव लड्नुहोस् भनेकी थिएँ ।’

प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको उद्देश्य सरकार सञ्चालन र निर्वाचन प्रक्रिया सहज बनाउनु रहेको उल्लेख गर्दै मन्त्रीहरू पद छाडेर चुनावमा जानुलाई अनैतिक ठहर गर्न नमिल्ने तर्क गरिन् । ‘दोष लगाउनु छ भने मलाई लगाउनुहोस्,’ उनले भनिन्, ‘उनीहरूलाई होइन ।’

उनका अनुसार ती मन्त्रीहरू राजनीति गर्न सक्ने उमेर, संस्कार र क्षमता भएका व्यक्तिहरू हुन् ।

राजनीतिकवृत्तमा अन्तरिम सरकारका मन्त्रीहरू चुनाव गर्न छाडेर राजनीतिमा आएको भन्दै आलोचित हुँदा प्रधानमन्त्री कार्कीले दोषको भारी बोक्ने भनेकी हुन् ।

‘ऋषि धमला स्टाइलमा सोधिन्छ मलाई– यो केपी ओलीको तानाशाह भयो, तपाईंको जवाफ के छ ?’

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको विषयमा आफूलाई ओलीविरुद्ध उचाल्न खोजेर हैरानी पारेको बताएका छन् ।

त्यसरी हैरानी पार्ने पार्टी कार्यकर्तादेखि पत्रकारसम्म रहेको बताए । पार्टीभित्र विमति खडा गर्ने पात्रको रूपमा आफूलाई उभ्याउन खोजेको भन्दै असन्तुष्टि जनाए ।

‘कतिपय मानिसहरूले हाम्रो पार्टीभित्र विमती खडा गर्ने कोशिस गर्छन्, त्यसको एउटा पात्र मलाई बनाउँछन्,’ उनले भने, ‘तैंले त टिकट पाइनस्, यो त केपी ओलीको तानाशाह भयो, कमरेड तपाईंको जवाफ के छ ? भनेर ऋषि धमला स्टाइलमा सोध्छन् मलाई । आज बिहानै यहाँ आउनुभन्दा अघि त्यस्तै जवाफ दिएर आएको हुँ एउटा रेडियोमा ।’

काठमाडौंका बाटोमा हाँसीखुसी हिँडिरहँदा पनि टिकटकै विषयलाई लिएर आफूमाथि प्रश्न गर्ने गरिएको बताए ।

‘म काठमाडौंका बाटोमा एकदम मजाले हाँसीहाँसी हिँडिरहेको हुन्छु, उज्यालो मुख लगाएर, तपाईंले पनि देख्नुभयो नि मेरो मुख अँध्यारो छैन, उज्यालो छ हेर्नु न,’ उनले भने, ‘अनि मलाई भन्छन्, हैन टिकटसिकट खोसिसक्यो, तँ चाहिँ यहाँ मजाले हाँस्दै हिँड्याछस् । कोट्याउन खोज्छन् क्या कोट्याउन ।’

उनले गत मंसिरमा भएको पार्टी महाधिवेशनमा भएको प्रतिस्पर्धाको नतिजालाई स्वीकारेको र अध्यक्ष ओलीसँग विमती नभएको स्पष्ट पारे ।

आइन्दा आफूलाई जिस्क्याउन नआउन पत्रकारहरूलाई भट्टराईले आग्रह गरे ।

निर्वाचनमा प्रहरीकाे भुमिका महत्वपुर्ण छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी छन् ।

काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी हुन् ।

आगामी फागुन २१ गते हुने निर्वाचन उत्तरदायी लोकतान्त्रिक यात्राको एक कोसेढुङ्गा भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले कुनै राजनीतिक प्रभाव, दबाव वा पूर्वाग्रहबाट माथि उठेर जिम्मेवारी निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिइन् ।

नेपाल प्रहरीको बिगतदेखि वर्तमानसम्मको क्रियाकलापले प्रहरी र समुदायबीचको नाता कसिलो छ भन्ने प्रमाणित भएको बताउँदै उनले सुरक्षा निकायको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच भएको दाबी गरिन् ।

जेन–जी विद्रोहमा जलाइएका घर पुग्दा पूर्वगृहमन्त्री लेखक ‘निशब्द’ (भिडियो)

काठमाडौं । जेन–जी विद्रोहको क्रममा जलाइएको कञ्चपुरको वेदकोट–८ मा स्थित पुख्र्यौली घर पुग्दा पूर्वगृहमन्त्री रमेश लेखक उनी निशब्द भए ।

आगजनी र तोडफोडले ध्वस्त घरको भुइँतलादेखि माथिल्लो तलासम्मै सोमबार अवलोकन गरे । तर, उनी बोलेनन् । गत २४ भदौमा जेन–जी विद्रोहीहरूले जलाएर ध्वस्त बनाएको घरमा उनी झण्डै पाँच महिनापछि गएका हुन् ।

यो घरसहित महेन्द्रनगरमा अर्को घर बुबाले दुःखले बनाएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई लेखकले १४ पुसमा जवाफ दिएका थिए ।

काठमाडौंको नैकापको घर पनि बुबाले आर्जन गरेको सम्पत्तिबाट बनाएको उनको जवाफ थियो । तर, विद्रोहीहरूले घर जलाएपछि पीडाले आफ्नी आमाको निधन भएको बताएका थिए । भदौ २४ गतेको घटनामा प्रदर्शनकारीको आक्रमणबाट जोगाउन सिकिस्त बिरामी आमालाई अक्सिजनविना नै सार्नुपरेको दुःखेसो पोखेका थिए ।

‘मेरी वृद्ध र अक्सिजन लिइरहनुपर्ने सिकिस्त बिरामी आमालाई लामो समय अक्सिजनबिना नै राखी अस्पताल पुर्‍याउँनु परेको कारणले केही दिनपछि दिवङ्गत हुनुभयो,’ उनले भनेका थिए ।

लेखकले आगजनीमा आफ्नो घरसँगै १० वर्षे सशस्त्र द्वन्द्वपछिको शान्ति वार्ता, अन्तरिम संविधान र वर्तमान संविधान निर्माणका क्रममा सङ्कलन गरेका ऐतिहासिक टिपोट र दस्ताबेजहरू जलेर नष्ट भएको बताएका थिए ।

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौं । त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गरेका छन् ।
सोमवार पशुपति बहुमुखी क्याम्पसको ४६ औँ वार्षिकोत्सव समारोहमा उनले न्यूनतम साढे दुईदेखि पाँच प्रतिशतसम्म बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गरेका हुन् ।

उनले विश्वविद्यालयका आंगिक क्याम्पसहरूलाई पाँच प्रतिशत बजेट अनिवार्य रूपमा अनुसन्धानमा खर्च गर्न निर्देशन दिइसकिएको जानकारी दिए । उनले अनुसन्धानमा बजेट खर्च गर्ने प्रयोजनका लागि विश्वविद्यालयले क्याम्पसहरूलाई औपचारिक पत्र पठाउने तयारी समेत गरेको बताए । उनले पशुपति क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न पनि आग्रह गरे ।

यसले सिंगो त्रिभूवन विश्वविद्यालयको शैक्षिक स्तर उकास्न सहयोग पुग्ने उनको भनाई छ । उनले विश्वविद्यालयले हाल दुई वटा प्रमुख कार्यक्रम अघि सारेको जानकारी दिए । उनका अनुसार विश्वविद्यालयका सम्पूर्ण अभिलेखहरू डिजिटल रूपमा सुरक्षित गर्ने उद्देश्यसहित डिजिटाइजेशन प्रक्रिया शुरु भइसकेको छ ।

पशुपति क्याम्पसलाई अनुसन्धान केन्द्र भनेर विकास गरिदिनुहोला, यसले सिंगो त्रिभूवन विश्वविद्यालयलाई नै स्तरोन्नतिको लागि सहयोग पुग्नेछ । विश्वविद्यालयले पत्र पनि पठाउँछ, कम्तीमा आफ्नो आम्दानीको केही प्रतिशत बजेट अनुसन्धानमा खर्च गरिदिनुहोला,’ उनले भने ,’कम्तिमा पनि साँढे दुई प्रतिशत, हामीले विश्वविद्यालयका आंगिक क्याम्पसहरुलाई पाँच प्रतिशत अनिवार्य गरेका छौँ । तपाईहरुको आफ्नो आर्थिक आय आर्जन र आय क्षमताअनुसार कम्तिमा पनि साँढे दुई देखी पाँच प्रतिशत आम्दानीको रकम अनुसन्धानको लागि खर्च गरिदिनुहोला ।’

उनले विश्वविद्यालयले क्याम्पसका प्राध्यापकहरूको स्तर निर्धारणसम्बन्धि मापदण्ड सिनेटबाट अनुमोदन गरेको पनि जानकारी दिए । कलेज नविकरण प्रक्रियामा देखिँदै आएको प्रशासनिक झन्झट हटाउन आवश्यक प्रक्रिया शुरु गरिएको बताए।

पूर्वमन्त्री जितेन्द्र देवद्वारा एमाले परित्यागको घोषणा

काठमाडौं । संविधानसभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गरी एमाले परित्याग गरेको जानकारी दिएका हुन् ।

सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । तर पछि एमाले छाडेर उनी विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरी संविधानसभा सदस्य भए ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि कांग्रेसमै बसे । उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भएका थिए । तर २० फागुन २०८० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि उनी १७ असार २०८१ मा एमालेमै फर्किएका थिए ।

पाँचथरको फेमे खोलामा सवारी दुर्घटना, प्रधानाध्यापक दमन ढुङ्गाना गम्भीर घाइते

पाँचथर । पाँचथरको फेमे खोला क्षेत्रमा ट्रयाक्टर र मोटरसाइकल ठोकिँदा श्रीमान गम्भीर घाइते भएका छन् भने श्रीमती सामान्य घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार गम्भीर घाइते हुने श्रीमान् दमन ढुङ्गाना र सामान्य घाइते श्रीमती लिला उप्रेती हुन् ।

ढुंगाना फिदिम–१२ को कस्तुरी आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । श्रीमती उप्रेती कालिका मा.वि. बाबुङ्गाकी शिक्षिका हुन् ।

दुवै जना मोटरसाइकलमा सोमबार बिहान विद्यालय जाँदै गर्दा फेमे खोला क्षेत्रमा ट्रयाक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते ढुंगानालाई थप उपचारका लागि झापास्थित बीएण्डसी अस्पताल पठाइएको छ ।

 

रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश

जुम्ला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जुम्ला जिल्ला उपसभापति तारा शाही पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेकी छिन्। रास्वपाले लिएको राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउदै उनले सो पार्टी परित्याग गरेको घोषणा गरेकी हुन्।

रास्वपाको पछिल्लो गतिविधि र राजनीतिक दिशा नै अस्पष्ट रहेको भन्दै उनले अस्पष्ट राजनीतिक यात्रा गन्तब्यविहीन हुने भन्दै पुन: आफ्नै पुरानो घर फर्किएको बताइन्।

उनी कांग्रेसमा फर्किएसँगै जुम्लाको चुनावी अंक गणितमा कांग्रेसलाई बल पुग्ने भएको छ ।

`शाहीको कांग्रेस प्रवेश केवल दल परिवर्तन मात्र होइन, वैकल्पिक राजनीतिको दाबी गरिरहेको दलको नीति माथिको प्रश्न पनि हो, यो हिसाबकिताब जनताले पनि गरिरहेका छन,´ कांग्रेस केन्द्रीय सदस्य रामुदेवी खड्काले भनिन्।

केन्द्रीय सदस्य खड्काले नै शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन्। खड्काका अनुसार शाहीको पुनः आगमनले कांग्रेसको संगठनात्मक सशक्तीकरणमा सकारात्मक सन्देश गएको छ।

कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले कांग्रेसको संगठनात्मक संरचना, निर्णय प्रक्रिया र राजनीतिक निरन्तरताले शाहीलाई पुनः आकर्षित गरेको बताए।

जुम्लाको चन्दननाथ नगरपालिका–५ निवासी शाही स्थानीय राजनीतिमा प्रभाव राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन। यसअघि वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी उनको प्रभावकै कारण केही समयमै जिल्ला उपसभापति भएकी थिइन्।

निष्ठाको राजनीति गर्ने शाही रास्वपाको दिशाहीन यात्रामा सँगै हुन नसक्ने निचोडसहित सो दल छाड्ने निष्कर्षमा पुगेकी हुन्।

शाहीको कांग्रेस फिर्तीलाई रास्वपाभित्र जारी असन्तुष्टिको संकेतका रूपमा मात्र व्याख्या नगरेर अनुभव, संरचना र स्थानीय आधार भएका दलतर्फ नेताहरू फर्किन थालेको प्रवृत्तिका रुपमा हेरिएको छ।

गाजामा इजरायली हवाई आक्रमणमा ३२ प्यालेस्टिनीको मृत्यु

एजेन्सी । प्यालेस्टिनी स्रोतहरूकाअनुसार शुक्रवार राति र शनिवार गजा पट्टीका विभिन्न स्थानमा भएका इजरायली हवाई आक्रमणहरूमा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ ।

गाजाको नागरिक सुरक्षाका प्रवक्ता महमुद बसलकाअनुसार उत्तरी गजा शहरको शेख रदवान प्रहरी केन्द्रमा भएको सबैभन्दा घातक आक्रमणमा १४ जनाको मृत्यु भएको छ । उक्त स्थानमा धेरै प्रहरी अधिकारी र सर्वसाधारणहरू भग्नावशेषमा पुरिएका थि ए। यसैगरी, दक्षिण गजाको खान युनिसस्थित विस्थापित शिविरमा भएको अर्को आक्रमणमा एकै परिवारका सात सदस्यहरूको मृत्यु भएको छ ।

इजरायली प्रतिरक्षा बल (आईडीएफ) ले यो कारबाही हमासका कमाण्डरहरू र हतियार भण्डारण स्थलहरूलाई लक्षित गरी गरिएको र यो हमासले राफाह क्षेत्रमा युद्धविराम उल्लंघन गरेको प्रतिक्रिया स्वरूप गरिएको बताएको छ । हमासले इजरायलको दाबीलाई आधारहीन र भ्रामक भन्दै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र संघलाई यो क्रूर अपराध रोक्न आह्वान गरेको छ । गजा स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ देखि शुरु भएको यस युद्धमा मृत्यु हुने प्यालेस्टिनीको संख्या ७१ हजार ७ सय ६९ पुगेको छ भने १ लाख ७१ हजारभन्दा बढी घाइते भएका छन् ।

जेनजी आन्दोलनको पाँच महिनापछि रमेश लेखक पुगे जलेको पुर्खौली घर

महेन्द्रनगर । पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि सोमबार बिहान कञ्चनपुरको वेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पुगेका छन्।
जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते उनको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिए।
लेखकको काठमाडौंको नैकापमा रहेको घर, वेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । उनी अहिले महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मतसम्भार गरी बसिरहेका छन् ।
पहिलो पटक पुर्खौली घर पुगेका नेता लेखकले स्थानीयसँग भेटघाट पनि गरेका छन्। स्थानीयबासीले गाउँमा भइरहेको सडक पुर्वाधार लगायतका विकासका बारेमा जानकारी गराएका थिए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन् । नेपाली कांग्रेसले डडेल्धुरामा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट दिएन । पार्टीले यहाँ पुर्व जिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि नेता लेखकले चुनावी भेटघाटलाई तिव्रता दिएका छन् ।

‘मिःगा पूजा’ सँगै नेवार समुदायमा स्वस्थानी व्रतकथा सम्पन्न(तस्बिरहरु)

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्वीहरूले एक महिनासम्म कठोर रूपमा पालन गर्ने श्री स्वस्थानी व्रत सम्पन्न भएको छ । पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको एक महिने स्वस्थनी व्रतकथा माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन भएको हो ।

मुख्य रूपमा महिलाहरूले परिवारको सुख, सुस्वास्थ्य र मनोकामना पूरा हुनका लागि व्रत बस्ने, पूजा गर्ने र स्वस्थानी देवीको कथा श्रवण गर्ने गर्छन् । विशेष गरी नेवार समुदायमा यो व्रतको समापनलाई ‘मिःगा पूजा’ को रूपमा मनाइन्छ । शालीनदी (साँखुस्थित सालिनदी) मा बसेका व्रतालुहरूले व्रतको अन्तिम दिन ‘मिःगा पूजा’ गरेपछि मात्र व्रत पूर्ण रूपमा समाप्त गर्ने परम्परा छ ।

‘मिःगा पूजा’ मा अण्डाको बली दिएपछि अण्डा पकाएर खाने चलन छ । स्थानीय जीवन श्रेष्ठले शालीनदीमा बसेकाहरूले मिःगा पूजा गरेपछि मात्र व्रत समाप्त हुने जानकारी दिए । यो नेवार समुदायको विशेष परम्परा हो । श्री स्वस्थानी व्रत मुख्य रूपमा भगवान शिव र पार्वती (स्वस्थानी परमेश्वरी) को आराधना गर्ने पर्व हो । व्रतकथामा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति प्राप्तिका लागि यो व्रत बसेको उल्लेख छ । शालीनदीमा लाग्ने मेला र मिःगा पूजाले नेपाली संस्कृतिको विविधता र धार्मिक सहिष्णुतालाई झल्काउँछ ।

सर्वोच्चले भन्यो- परीक्षार्थीको नागरिकता नम्बर सार्वजनिक गर्नु कानुनविपरीत

काठमाडौं । सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गर्दा परीक्षार्थीको नागरिकता नम्बरजस्ता संवेदनशील व्यक्तिगत विवरण प्रकाशन गर्न नपाइने स्पष्ट आदेश दिएको छ।

यसलाई नागरिकको गोपनीयताको हक संरक्षण गर्ने महत्वपूर्ण फैसला मानिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आइतबार यातायात व्यवस्था विभागको नाममा परमादेश जारी गर्दै लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्दा नागरिकता नम्बर उल्लेख गर्नु कानुनविपरीत हुने ठहर गरेको हो। फैसलाको पूर्णपाठ भने आउन बाँकी छ।

नागरिकको वैयक्तिक गोपनीयता उल्लङ्घन भएको दाबी गर्दै कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो फैसला गरेको हो।

रिटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र बागमती प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयहरूलाई विपक्षी बनाइएको थियो।

निवेदकले एकान्तकुना, ठूलोभर्‍याङ, चाबहिल र राधेराधे यातायात व्यवस्था कार्यालयहरूले नतिजा प्रकाशन गर्दा नाम र रोल नम्बरका अतिरिक्त नागरिकता नम्बरसमेत सार्वजनिक गरी संविधान प्रदत्त ‘गोपनीयताको हक’ उल्लङ्घन गरेको जिकिर गरेका थिए।

रिटमा ‘वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५’ को दफा १९ ले व्यक्तिगत सूचनाको गोपनीयता सुनिश्चित गरेको र दफा २ ले नागरिकता नम्बरलाई व्यक्तिगत सूचनाका रूपमा परिभाषित गरेको उल्लेख गरिएको छ।

कानुनले अधिकार नदिएको अवस्थामा पनि सरकारी निकायले नागरिकता नम्बर सार्वजनिक गर्नु विधिको शासनविपरीत भएको दाबी अदालतले स्वीकार गरेको छ।

नागरिकता नम्बरजस्तो संवेदनशील विवरण सार्वजनिक हुँदा साइबर अपराध, पहिचान चोरी, वित्तीय ठगी तथा झुट्टा कागजात निर्माणजस्ता गम्भीर अपराधको जोखिम बढ्ने तर्क पनि रिटमा गरिएको थियो।

यसैगरी, ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ ले उत्तीर्ण परीक्षार्थीको नाम र रोल नम्बर मात्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको भए पनि नागरिकता नम्बर उल्लेख गर्ने कुनै कानुनी आधार नरहेको सर्वोच्चको निष्कर्ष छ।

यो फैसलापछि अब सरकारी निकायहरूले नतिजा प्रकाशन गर्दा नागरिकको व्यक्तिगत विवरण संरक्षणमा विशेष सावधानी अपनाउनुपर्ने सन्देश गएको छ।

नेपाली बजारमा सुनचाँदी सस्तो, सुन तोलामा १३ हजार ६ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

आज सुनको मूल्य तोलामा १३ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो।

लगातार बढ्दै गएको मूल्यपछि आज आएको गिरावटलाई बजारको सामान्य करेक्सनका रूपमा हेरिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदी आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा विश्वव्यापी भूराजनीतिक परिस्थितिको प्रभाव नेपाली बजारमा देखिएको व्यवसायीहरू बताउँछन्।

सुनको मूल्य घटेसँगै बजारमा खरिद चासो केही बढ्ने अपेक्षा गरिएको छ।

अमेरिकाले इरानमाथि सैन्य आक्रमण गरे मध्यपूर्वमा युद्ध सुरु हुने खामेनीको चेतावनी

तेहरान – इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले अमेरिकाले इरानमाथि सैन्य आक्रमण गरेमा मध्यपूर्व क्षेत्रमा व्यापक युद्ध सुरु हुने चेतावनी दिएका छन्।

इरान वरपर अमेरिकाले सैन्य उपस्थिति विस्तार गरिरहेका बेला आएको खामेनीको अभिव्यक्तिले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।

इरानको अर्धसरकारी समाचार संस्था तस्निम ले उद्धृत गरेअनुसार खामेनीले भनेका छन्, “यदि अमेरिकीहरूले युद्ध सुरु गरे भने यसपालि त्यो केवल सीमित संघर्ष हुने छैन, एउटा क्षेत्रीय युद्ध सुरु हुनेछ।”

उनले अमेरिकाको धम्कीबाट इरान नडराउने र देशले आफ्नो सार्वभौमिकता र सुरक्षाको रक्षा गर्न कुनै सम्झौता नगर्ने पनि स्पष्ट पारेका छन्।

अमेरिकी सैन्य गतिविधि

हालैका दिनमा अमेरिकाले खाडी क्षेत्र, इराक, सिरिया र आसपासका सैन्य आधारहरूमा थप सैन्य टोली, युद्धपोत र हवाई साधन तैनाथ गरेको समाचार सार्वजनिक भएका छन्।

यसलाई इरानमाथि सम्भावित आक्रमणको तयारीका रूपमा हेरिएको छ। यद्यपि अमेरिकी प्रशासनले यसलाई ‘रक्षात्मक कदम’ बताउँदै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पारमाणविक कार्यक्रम र सरकारविरोधी प्रदर्शनकारीमाथि भएको दमनलाई कारण देखाउँदै पटक-पटक कडा चेतावनी दिँदै आएका छन्।

उनले इरानले आफ्नो नीतिमा परिवर्तन नगरे ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका थिए।

इरानको पारमाणविक कार्यक्रम पछिल्ला वर्षहरूमा अमेरिका र उसका सहयोगी राष्ट्रहरूको मुख्य चासोको विषय बनेको छ।

सन् २०१८ मा ट्रम्प प्रशासनले एकपक्षीय रूपमा इरानसँगको पारमाणविक सम्झौताबाट बाहिरिएपछि दुबै देशबीचको सम्बन्ध तीव्र रूपमा बिग्रिएको हो।

यसैबीच, इरानभित्र आर्थिक संकट, महँगी र राजनीतिक असन्तोषका कारण सरकारविरोधी प्रदर्शनहरू पनि भइरहेका छन्।

मानवअधिकार उल्लङ्घनको आरोप लगाउँदै अमेरिका र युरोपेली देशहरूले इरानमाथि थप प्रतिबन्ध लगाएका छन्, जसले तनावलाई अझ चर्काएको छ।

नेपालसहित विभिन्न देशको सतर्कता

बढ्दो तनावका बीच नेपाल सरकारले पनि इरानस्थित नेपाली नागरिकलाई लक्षित गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ।

परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीलाई सम्भव भए छिटो सुरक्षित स्थानतर्फ जान र इरान जाने कार्यक्रम स्थगित गर्न आह्वान गरेको छ।

खाडी क्षेत्रमा काम गर्ने नेपाली श्रमिकको सुरक्षालाई लिएर समेत चिन्ता व्यक्त गरिएको छ।

कूटनीतिक प्रयास जारी, तर अस्पष्टता कायमै

तनाव चुलिए पनि शान्ति बहालीका कूटनीतिक प्रयास भने निरन्तर भइरहेका छन्। विशेषगरी कतारले अमेरिका र इरानबीच मध्यस्थता गर्ने प्रयास गरिरहेको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले “इरानबारे गम्भीर छलफल भइरहेको” बताएका छन् भने इरानका विदेशमन्त्री अब्बास अरागचीले पनि वार्ताबाट सहमतिमा पुग्न सकिने विश्वास व्यक्त गरेका छन्।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले शनिबार सामाजिक सञ्जालमार्फत ‘मिडियामा सिर्जना गरिएको कृत्रिम युद्धको माहोलभन्दा फरक रूपमा वार्ताको ढाँचा निर्माणको काम अघि बढिरहेको’ दाबी गरेका थिए।

तर वार्ता कुन स्तरमा, कसरी र के विषयमा भइरहेको छ भन्नेबारे दुवै पक्षले औपचारिक रूपमा स्पष्ट जानकारी दिएका छैनन्।

यही अस्पष्टताका कारण कूटनीतिक सम्भावनासँगै सैन्य टकरावको जोखिम पनि कायमै देखिएको विश्लेषकहरूको भनाइ छ।

क्षेत्रीय असरको चिन्ता

यदि इरान–अमेरिका बीच प्रत्यक्ष सैन्य द्वन्द्व सुरु भयो भने त्यसको असर केवल दुई देशमा सीमित नहुने, खाडी राष्ट्रहरू, इजरायल, इराक, सिरिया र समग्र मध्यपूर्व अस्थिर बन्ने अन्तर्राष्ट्रिय विश्लेषण छ।

यही कारण खामेनीको चेतावनीलाई केवल राजनीतिक अभिव्यक्ति नभई क्षेत्रीय सुरक्षासँग जोडिएको गम्भीर संकेतका रूपमा हेरिएको छ।

एजेन्सीहरूको सहयोगमा

निर्वाचनमा एक थोपा रगत नबगोस् र एकजना पनि घाइते नहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सरकार सम्पूर्ण रूपमा तयार रहेको बताएकी छिन् ।

नेपाल प्रहरीको निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउनु सरकारको दायित्व भएको पनि बताइन् ।

उनले निर्वाचनमा एक थोपा रगत बग्न नहुने र कोही पनि घाइते हुन नहुने भन्दै त्यसतर्फ प्रहरीको ध्यान जानुपर्नेमा जोड दिएकी छिन् ।

‘यो चुनाव नेपाली लोकतन्त्रको उदाहरणीय मानक बन्नुपर्छ,’ उनले भनिन्, ‘चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन । एक जना पनि घाइते हुनु हुँदैन ।’

उनले कर्तव्य पालनका सिलसिलामा प्रहरीले गरेका सबै व्यावसायिक क्रियाको जिम्मा सरकारले लिने बताइन् ।

प्रहरीको शक्ति हतियार होइन, कानुनमा हुने र नाडीमा होइन आचरणमा हुने भन्नै प्रहरीलाई अनुशासित र कानुन पालनामा आदर्शवान संस्था बन्न सुझाइन् ।
उनले आगामी निर्वाचनलाई लोकतन्तको कोशेढुङ्गा बनाउन चाहेको पनि बताएकी छन् ।

‘आसन्न फागुन २१ गतेको निर्वाचन हाम्रो उत्तरदायी लोकतान्त्रिक यात्राको एक कोशेढुङ्गा हो । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व हो,’ उनले भनिन्, ‘जसमा नेपाल प्रहरीको भूमिका अत्यन्तै संवेदनशील र निर्णायक हुन्छ । यस सन्दर्भमा म तपाईंहरूलाई आग्रह गर्दछु, राजनीतिक प्रभाव, दबाब र पूर्वाग्रहबाट माथि उठेर संगठनको मर्मअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्नुहोस् । तपाईंहरूको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा हो ।’

प्रधानमन्त्री कार्कीले प्रहरीलाई विगतका कमजोर नदोहोर्‍याउन र थप विश्वसनीय सुरक्षा संगठनको रूपमा स्थापित हुन आग्रह गरिन् ।

फागुन २१ पछिको संसद बैठक पुतली बगैँचास्थित निर्माणाधिन भवनमा बस्ने

काठमाडौं । आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधिन संसद भवनमै सञ्चालन हुने भएको छ ।

निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधिन संसद भवन उपलब्ध गराउने जानकारी गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए । आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गिरीले निर्माणाधिन संसद भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी गराएको बताए ।

उनकाअनुसार प्रतिनिधि सभा गठन भइसकेपछि राष्ट्रिय सभाको बैठक समेत सोही निर्माणाधिन संसद भवनबाटै सञ्चालन हुनेछ । प्रवक्ता गिरीले निर्माणाधिन संसद भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्नेगरी सरकारसँग निरन्तर छलफल भइरहेको बताए । उनले निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सञ्चालनको लागि  सचिवालयले अन्य कुनै विकल्प नहेरेको समेत बताए । उनले अत्याधुनिक प्रविधिसहित निर्वाचनपछिको संसद सञ्चालन गर्न आवश्यक तयारी भइरहेको समेत जानकारी दिए।

‘निर्वाचनपश्चात गठन हुने प्रतिनिधि सभाको बैठक कहाँ बस्छ भन्ने जिज्ञासा बारम्बार आउने गरेको छ , यस सम्बन्धमा सचिवालयले पनि नेपाल सरकारसँग छलफल गरिरहेकै अवस्था हो’,उनले भनेपछिल्लो छलफलअनुुसार नेपाल सरकारले जुन निर्माणाधिन संसद भवन छ त्यसमा १२ वटा भवन रहेका छन्, जसमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने अब गठन हुने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकसमेत निर्माणाधिन संसद भवनमै बस्ने जानकारी सरकारले गराएको छ।’

यसअघि संसद बैठक बस्दै आएको काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीहरुले आगजनी गरेर ध्वस्त बनाएका थिए । उक्त भवनको पुर्ननिर्माण कार्य अझै सुरु भएको छैन । हाल राष्ट्रिय सभाको १९ औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ ।

आयोगले सोध्यो आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टिकरण सोधेको छ ।

आयोगले आईतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रिय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टिकरण सोधिएको जानकारी दिए। उनले स्पष्टिकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । बाँकीको जवाफ आउने क्रममा रहेको उहाँले बताए ।

उनकाअनुसार आयोगले आचारसंहिता उल्लङ्घनका घटनाको अध्ययन र विश्लेषण गर्न कार्यदल गठन गरेको छ । कार्यदलले सोधिएको स्पष्टिकरणमा जवाफ पठाएकाहरुलाई कारबाही गर्ने वा नगर्ने निर्णय गरेर केन्द्रिय आचारसंहिता अनुगमन समितिमा सिफारिस गर्ने उहाँले जानकारी दिए । नियतवश आचारसंहिता उल्लङ्घन भएको पुष्टि भए आयोगले कारबाही गर्ने उनले बताए।

केन्द्रिय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये २१ वटालाई स्पष्टिकरण सोधिएको छ, २१ वटा सम्बन्धित व्यक्ति र संस्थालाई स्पष्टिकरण सोध्ने काम भएको छ । १२ वटाबाट जवाफ आइसकेको छ’,उनले भने, आयोगले कानुन बमोजिम कारबाही गर्छ । कसैलाई सफाईको मौका नदिईकन कारवाही गर्न हुँदैन भन्ने व्यवस्था समेत कानूनमा गरिएको हुन्छ ।’

उनले आचारसंहिता कार्यान्वयनका लागि जिल्लास्तरमा पनि अनुगमन व्यवस्था गरिएको जानकारी दिए । उनकाअनुसार आर्थिक पक्षको अनुगमनका लागि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुखलाई र अन्य विषयको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ ।

मिथ्या सूचना प्रशारण गर्नेलाई कारबाही गर्न सिफारिस
निर्वाचन आयोगले डिजिटल माध्यामबाट मिथ्या सुचना प्रशारण गर्नेलाई पहिचान गरी कारबाही गर्न सिफारिस गरेको छ । आयोगको निर्वाचन सूचना संप्रेषण तथा समन्वय केन्द्र (ईआईडीसी) अन्तर्गतका निकायहरुले मिथ्या सूचना प्रवाह गर्नेहरुको पहिचान गरेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । गलत सूचना, मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति जस्ता हानिकारक सूचनाहरू फैलिरहेकोले उनले बताए।

उनकाअनुसार हानिकारण सूचना फैलाउने १२० वटा सामग्री विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ । त्यस्तै, ६ वटा सामग्री दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणमा, १५ वटा प्रेस काउन्सिल ऐन, २०४८ अन्तर्गत प्रेस काउन्सिल नेपालमा र निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनसम्बन्धी ३४ वटा सामग्री केन्द्रिय आचारसंहिता अनुगमन समितिमा पठाइएको उहाँले जानकारी दिए ।

‘हानिकारक सूचनाहरु पहिचान गर्ने र सम्बन्धित निकायमा कारबाहीको लागि लेखेर पठाउने गरिएको छ,  त्यसअन्तर्गत १२० वटा कन्टेन्टहरुलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीको लागि नेपाल प्रहरीको साईबर व्युरोमा पटाइएको छ’,उनले भने ‘६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अन्तर्गत कारबाहीको लागी दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । १५ वटालाई प्रेस काउन्सिल ऐन २०४८ बमोजिम कारबाहीको लागि प्रेश काउन्सिलमा पठाइएको छ ।’

उनले आयोगको कल सेन्टरमा हालसम्म १ हजार ६७७ वटा प्रश्न प्राप्त भएको पनि जानकारी दिए । तीमध्ये सबैभन्दा बढी मतदाता नामावलीसम्बन्धी ९०६ वटा प्रश्न रहेका छन् । आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य विषयका ५७५ वटा प्रश्न प्राप्त भएको उनले बताए ।