`

गाजामा आक्रमण तीव्र, इजरायली सेनाद्वारा हवाई आक्रमण र स्थल फौज तैनाथ

जेरुसेलम । इजरायली सेनाले गाजा क्षेत्रमा आफ्ना आक्रमणहरू अझ तीव्र बनाएको छ। यस अन्तर्गत हवाई बमबारी र थप स्थलगत सेनाहरू पनि पठाइएको जानकारी दिएको छ, जसको उद्देश्य गाजाका केही भागमा नियन्त्रण कायम गर्नु हो।

अन्तर्र्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सुरक्षाबलले गिदेओनका रथ नामक नयाँ अभियान शुरु गरिएको जनाएको छ, जसको उद्देश्य युद्धका प्रमुख लक्ष्य बन्धकको मुक्तिमा सहयोग पुर्‍याउनु र हमास नामक समूहको सञ्जाल हटाउनु रहेको छ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले केही दिनभित्र इजरायली सेनाहरू पूर्ण बलका साथ गाजामा प्रवेश गर्ने बताएका थिए । गाजाका स्वास्थ्य अधिकारीका अनुसार, शुक्रबार मात्र उत्तर गाजामा इजरायली बमबारीका कारण कम्तीमा १०९ जनाको मृत्यु भएको छ भने २१६ जना घाइते भएका छन्।

गत वर्ष असोजदेखि शुरु भएको द्वन्द्वमा हालसम्म ५३ हजार ११९ जना मारिएका छन् भने एक लाख २० हजार २१४ जना घाइते भएका छन्। हमासले इजरायलमाथि युद्धविरामका लागि भइरहेका पहलहरूलाई बेवास्ता गरेको आरोप लगाएको छ।

अहिलेको चुनावी प्रणालीमा मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताएका छन् ।

शनिबार प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सरकारका कमजोरी सुधार गर्दै अघि बढ्ने बताएका हुन् ।

उनले कांग्रेस ठूलो पार्टी भएपनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए। उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको बताए ।

उनले भने, ‘समावेशी र समानुपातिकताको कारण कसैको पनि बहुमत पुग्न सम्भावना छैन । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ तर, बहुमत छैन र अहिलेको सरकारमा केही कमी कमजोरी होलान, त्यसमा सुधार्दै जानुपर्ने छ ।’

सभापति देउवाले प्रजातन्त्रमा बोल्न पाउने अधिकार भएकाले सोही विषयमा अहिलेपनि टीकाटिप्पणी हुनु ठूलो कुरा नभएको बताए ।

जनबलमा माओवादी सत्तामा पुगेको अध्यक्ष प्रचण्डको दाबी

डोटी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन् ।

शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत शनिबार डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्याएको बताए ।

उनले भने, ‘हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्तिसम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्याएका हुन् ।’

अध्यक्ष दाहालले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरुका पीरमर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए ।

धुलिखेलमा करेन्ट लागेर एक मजदुरको मृत्यु

काभ्रे । काभ्रेको धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका एक मजदुरको शनिबार करेन्ट लागेर मृत्यु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युतको खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा बिहान ११ः३० बजे अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले घटनाको अनुसन्धानका लागि कार्यालयबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ ।

तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाविना नै विद्युत लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको जनाइएको छ ।

विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्र बनेपाले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि त्यसक्षेत्रमा ११ केभी लाइन चार्ज गरिने भएकाले लाइनको वरिपरी गाईवस्तु नछाड्न, विद्युतको खम्बालगायतका विद्युतीय सामग्री नछुन सार्वजनिक आह्वान गरेको थियो । मृतक परियारको शवलाई खम्बाबाट निकालेर शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

कांग्रेस नेता महेश कोर्मोचाको निधन

ओखलढुंगा । नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुंगा जिल्ला विकास समितिका पूर्व सभापति एवं नेपाली कांग्रेसका पुराना नेता कोर्मोचाको उपचारका क्रममा गएराती विएण्डवी अस्पतालमा निधन भएको हो ।

वि.सं. २००८ साल असार १८ गते ओखलढुंगाको खिजीचण्डेश्वरीमा जन्मिएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बचेका जिवित नेता मानिन्थे । उनले नेपाली राजनीतिको लामो समय योगदान गरेका थिए ।

सात सालको क्रान्तिमा लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी पाएसँगै सुरु भएको राजनीतिक यात्राले उनलाई ओखलढुंगा जिल्ला पार्टीको सभापति र तत्कालिन जिल्ला विकास समितिको सभापति समेत बनाएकाे थियाे ।

त्यागी र सादगी नेताको पहिचान बनाउनुभएका कोर्मोचाको स्वास्थ्यमा समस्या आएपछि निरन्तर उपचारमा थिए । कोर्मोचाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन निर्देशन

पर्वत । पर्वतको पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न दिएको निर्देशन पालना भए नभएको परिक्षण गर्न थालेको छ ।

गाउँपालिकाले शैक्षिक सत्र २०८२ शुरु भएपछि पालिकाभित्र कार्यरत सार्वजनिक ओहोदाका व्यक्तिहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण पेस गर्न ताकेता गरेको हो ।

सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यालय कर्मचारीलाई आफ्ना छोरा, छोरी, नाती, नातीना सरकारी विद्यालयमा भर्ना गरेको प्रमाण तीन दिनभित्र पेस गर्न भनेको हो ।

गाउँ कार्यपालिकाले शैक्षिक सत्र विसं २०८० देखिनै अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठनपाठन गराउनुपर्ने निर्णय गरेको भएपनि कार्यान्वयन नभएपछि यसवर्ष प्रमाण नै पेस गर्न लगाइएको प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए । आइतबारभित्र प्रमाण पेस गर्नुपर्ने उनको भनाइ छ ।

गैरेका अनुसार सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि पालिकाले यस्तो निर्णय गरेको हो । जिम्मेवार पदाधिकारी, स्वयं प्रअ र शिक्षककै छोराछोरीले निजी विद्यालयमा पठनपाठन गराउँदा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुन नसकेको गुनासो आएपछि पालिकाले यस्तो निर्णय गरेको उनको भनाइ छ । पैंयु गाउँकार्यपालिकाको विसं २०८० चैत २९ गतेको बैठकले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्देशन दिएको थियो ।

सार्वजनिक पद धारण गरी पालिकाभित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्दै आएका व्यक्तिको सन्तान चालु शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरेर पठाउनुपर्ने बाध्यकारी नियम लागू गरिएको गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले जानकारी दिए ।

उनका अनुसार पालिका अध्यक्ष र उपाध्यक्षले गाउँपालिकाको कार्यालयमा, वडा अध्यक्ष र सदस्यहरुले सम्वन्धित वडा कार्यालयमार्फत पालिकाको शिक्षा युवा तथा खेलकुद शखामा, कर्मचारीहरुले प्रशासन शाखामा, स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई पालिकाको स्वास्थ्य शाखामा प्रमाण पेस गर्न भनिएको छ ।

यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पदाधिकारी, शिक्षक र विद्यालय कर्मचारीले सम्बन्धित विद्यालयका प्रअमार्फत पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा प्रमाण पेस गर्न भनिएको अध्यक्ष ठकुरीले बताए।

सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति वा शिक्षकको रुपमा रहेका हुन्छन् तर आफ्नो सन्तान संस्थागत विद्यालयमा पठाउँदै आएका छन् । प्रमुख प्रशासकीय अधिकृत गैरेले सचेत अभिभावकले विद्यालयको शैक्षिक प्रणाली र व्यवस्थापनको निगरानी गर्ने भएकाले शिक्षाको गुणस्तरीयतामा वृद्धि हुने विश्वास व्यक्त गरे।

जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले जनताको बहुदलीय जनवादकै जगमा देशको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको बताएका छन् ।

मदन आश्रित स्मृति दिवसका अवसरमा शनिबार पार्टीको पूर्वमुख्यालय स्थल बल्खुमा आयोजित कार्यक्रममा पोखरेलले तत्कालिन महासचिव मदन भण्डारीको नेतृत्वमा विकास भएको जबजकै जगमा पार्टीले २०५१ सालमा संसद्को सबैभन्दा ठूलो दल बनेको उल्लेख गरे ।

‘एमाले त्यसयता निरन्तर राष्ट्रिय राजनीतिको एक निर्णयकारी शक्तिका रुपमा रहनुमा जबजको मुख्य योगदान छ,’ उनले भने ।

निरंकुश राजतन्त्र समाप्त गर्न तथा जातीय भड्काउ तथा हिंसात्मक नीतिहरुलाई परास्त गर्न पनि जबजले मद्दत गरेको उनको भनाइ थियो।

पार्टीमाथिको प्रतिबन्धलगायत विभिन्न समयमा चुनौतिको सामना गर्दै पार्टी अघि बढिरहेको उनले उल्लेख गरे । ‘विसं २०५४ सालको पार्टी विभाजन, संविधानसभाको चुनावमा निराशाजनक परिणाम र दोस्रो पटक समेत पार्टी विभाजनबाट उठाएर पार्टीलाई अघि बढाउन जबजले मार्गदर्शन गरेको छ,’– उनले भने ।

मदन भण्डारी र एमालेका तत्कालिन सङ्गठन विभाग प्रमुख जीवराज आश्रित पार्टीकार्यको शिलशिलामा पोखराबाट चितवनतर्फ जाँदै गर्दा २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो ।

हिमाल संरक्षण गर्नु विश्व समुदायको दायित्व

काठमाडौं । जलवायु परिवर्तनका प्रभाव घटाउन क्रियाशील विभिन्न क्षेत्रका विज्ञले हिमाल जीवनशैलीका प्रमुख स्रोत भएकाले तिनको संरक्षण गर्नु विश्व समुदायको दायित्व भएकामा जोड दिएका छन्।

सगरमाथा संवादको दोस्रो दिन शनिबार ‘हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा भएको छलफलमा उनीहरुले हिमाली पारिस्थितिकीय प्रणालीको सुरक्षाका लागि हिमालको सुरक्षा अपररिहार्य भएकामा जोड दिएका हुन् ।

हिमालदेखि तल्लो तटीय क्षेत्रसम्म संस्कृति र रहनसहन, वन्यजन्तु, जैविक विविधता र पर्यटनका लागि पनि हिमालको संरक्षण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका थिए ।

विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले प्रमुख वक्तव्य दिएका थिए भने अक्सफामका नदी बेसिन प्रबन्धक राजन सुवेदी, ओमानका सगरमाथा आरोही नाधिरा अल–हार्थी, युगान्डाको जल तथा वातावरण मन्त्रालयका सहायक आयुक्त मौरीन अनिनो, सगरमाथा प्रदूषण नियन्त्रण समिति प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले आफ्ना अनुभव र विज्ञतासहित धारणा व्यक्त गरेका थिए ।

हिमाली क्षेत्रले पृथ्वीको २२ प्रतिशत भाग ओगटेको छ। हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीले विश्वका करिब आधा जनसंख्याको जीविकोपार्जनमा सहयोग गर्दै आएको जनाइएको छ ।

हिन्दूकुश हिमालय क्षेत्र, यसको अद्वितीय र विविध संस्कृति, भाषा, धर्म, विश्वास, एक हजारभन्दा बढी भाषाहरू र परम्परागत ज्ञान प्रणालीले वार्षिक रूपमा सात करोडभन्दा बढी पर्यटकलाई आकर्षित गर्दछ।

हिमाली पारिस्थितिकीय प्रणालीको अखण्डतालाई सुदृढ गर्ने नवीन समाधान पहिचान गर्ने, धेरै जनसंख्यालाई लाभ पुर्‍याउन प्राकृतिक पुँजीमा लगानी बढाउने तरिकाहरू अन्वेषण गर्ने उद्देश्यसहित यो सत्र सञ्चालन गरिएको थियो ।

यू–१६ क्रिकेटः सुदूरपश्चिम छनोटको तालिका सार्वजनिक

 

बैतडी । एसिसी मेन्स यू–१६ इस्ट जोन कप, २०२५ को  सुदूरपपिश्चम छनोट बैतडीमा हुने भएको छ । प्रतियोगिता यही जेठ ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घ र बैतडी जिल्ला क्रिकेट सङ्घको संयुक्त आयोजनामा सञ्चालन हुने प्रतियोगिताको खेलतालिकासमेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा अबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहनेछ ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी तथा समूह ‘बी’मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला छन् ।

यही जेठ ८ गते हुने पहिलो तथा उद्घाटन खेल बैतडी र बझाङबीच हुनेछ । सोही दिन हुने अर्को खेल डडेल्धुरा र डोटीबीच प्रतिस्प्रर्धा हुनेछ ।

जेठ ९ गते बैतडी र डडेल्धुरा र बझाङ र डोटीबीच हुनेछ भने जेठ १० गते डडेल्धुरा र बझाङ तथा बैतडी र डोटीबीच हुनेछ । जेठ ११ गते अछाम र कैलाली तथा कञ्चनपुर र दार्चुलाबीच हुने जनाइएको छ । साथै जेठ १२ गते अछाम र कञ्चनपुर तथा कैलाली र दार्चुला खेल्नेछन् ।

जेठ १३ गते कैलाली र कञ्चनपुर तथा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ । जेठ १४ गते समूह ‘ए’ विजेता र ‘बी’को विजेता उपाधिका लागि खेल्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिनेछ ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले  एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

धनुषाको रमदैयामा तनाव, प्रहरीद्वारा हवाइफायर

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ स्थित रमदैयामा रहेको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड भएको छ । त्यसक्रममा प्रहरीले केही राउण्ड आश्रुग्यास प्रहार गर्नुकासाथै हवाइ फायर समेत गरेको छ ।

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो । वाटर पार्कले यसका लागि प्रचार पनि गरेको थियो । धेरै विद्यार्थीहरू एकैपटक गएपछि आयोजकले टिकट उपलब्ध नगराएपछि विवाद बढेको थियो ।

शुरुमा बाटरपार्कका कर्मचारीहरुले आफूहरुमाथि आक्रमणको प्रयास गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । यसपछि झडप भएको थियो । विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका छन् । अहिले त्यहाँको स्थिति तनावग्रस्त छ ।

यत घटना सम्बन्धमा वाटरपार्कका प्रबन्ध निर्देशक गुड्डु जैनको मोबाइलमा फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

सोलुखुम्बु ।  गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आज सगरमाथा आधार शिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन् ।

पर्यटकीय यामका सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न आज उनीहरु खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् । दुवै मन्त्रीलाई लिएर गएको हेलिकप्टर बिहानै खुम्बु क्षेत्रमा अवतरण गरेको थियो ।

भ्रमणका क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए । उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै सरकारको नीति यस्तो सेवालाई सहज र संयमित बनाउने दिशामा केन्द्रित हुने स्पष्ट पारे ।

गृहमन्त्री लेखकले भने, ‘सगरमाथा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकारले अब फरक ढंगले जनमुखी नीति कार्यान्वयन गर्दैछौँ, हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौँ ।’ हालसम्म सगरमाथा क्षेत्रमा उद्धारबाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने भन्ने स्थानीय माग हुँदै आएको छ ।

गाउँपालिकाले बारम्बार हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गर्दै आएको हो । अर्कोतर्फ पर्यटन व्यवसायीहरुले अत्यधिक हेलिकप्टर उडानमा प्रतिबन्धले व्यवसायमा नकारात्मक असर परेको जनाउँदै नियमनसहितको स्वतन्त्रता माग गर्दै आएका छन् । गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सगरमाथा क्षेत्रमा देखिएका समस्याबारे जानकार रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सगरमाथा संवाद कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

त्यसैगरी पर्यटनमन्त्री पाण्डेले सरकार नेपालको पर्यटन विकासमा गम्भीर रहेको बताए । उनले सगरमाथा जस्तो विश्व प्रसिद्ध गन्तव्यको अवस्थालाई नियालेर आवश्यक पूर्वाधार विकास तथा व्यवस्थापनका काम अघि बढाइने उल्लेख गरे । ‘हामीले हिमाल र हिमाली क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौँ, यसै सन्दर्भमा हामी आधार शिविरमा उपस्थित भएका छौँ र यहाँको समस्या उजागर गर्दै समाधानतर्फ उन्मुख हुनेछौँ’, मन्त्री पाण्डेले भने ।

सो अवसरमा सहभागी पर्यटन व्यवसायी तथा सरोकारवालाहरुले सगरमाथा क्षेत्रको समग्र व्यवस्थापन सुधारका लागि विभिन्न सुझाव र माग प्रस्तुत गरेका थिए । तीमध्ये आधार शिविरमा सञ्चार सेवा विस्तार, लुक्ला–खुम्बु जोड्ने सडकको स्तरोन्नति, बेसक्याम्पमा आपत्कालीन हेलिकप्टर संख्या वृद्धि, आरोही कल्याणकारी कोषको स्थापनाजस्ता माग प्रमुख थिए ।

यस्तै कीर्तिमानी आरोही कामी रिता शेर्पालगायत प्रतिनिधिले सम्पर्क अधिकृतको सङ्ख्या बढाउन, खुम्बु क्षेत्रमा बाटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई पाँच वर्षको म्याद थप गर्नुपर्ने सुझाव राखेका थिए । पर्यटनमन्त्री पाण्डेले प्रस्तुत सुझावप्रति सकारात्मक दृष्टिकोण व्यक्त गर्दै सरकारका तर्फबाट व्यवसायी तथा स्थानीयको चासो र मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक

बेइजिङ । चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ । योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पूर्वाधार सुधार, डेटा उद्योग प्रवद्र्धन र डिजिटल दक्ष जनशक्ति विकास जस्ता प्रमुख पहलहरू समेटिएको राष्ट्रिय डेटा प्रशासनले जानकारी दिएको छ ।

योजनाअनुसार तथ्याङ्क स्रोतको बजार अनुकूल व्यवस्थापनलाई प्रवद्र्धन गरिने ,एकीकृत राष्ट्रिय तथ्याङ्क बजार विकास गरिने, स्थान अनुसार अनुकूल डिजिटल अर्थतन्त्रको प्रवद्र्धन गरिने र डिजिटल चीन निर्माणको समग्र स्तरलाई उल्लेखनीय रूपमा उकासिनेछ ।

सन् २०२५ को अन्त्ये सम्म चीनले डिजिटल चीन निर्माणमा महत्वपूर्ण प्रगति गर्ने लक्ष्य राखेको छ । नयाँ प्रविधियुक्त उत्पादन क्षमताको विस्तारसँगै डिजिटल क्षेत्रको गुणस्तर र कार्यक्षमता उल्लेखनीय रूपमा बढाउने योजना छ ।

योजनाले तथ्याङ्कमा आधारित प्रमुख उद्योगहरूको मुल्यवृद्धि देशको कूल गार्हस्थ उत्पादनको १० प्रतिशतभन्दा बढी पुगोस् भन्ने लक्ष्य राखेको छ । त्यस्तै एकीकृत तथ्याङ्क बजार निर्माणमा प्रगति गर्ने र गणनात्मक क्षमता ३०० ईएफएलओपीएसभन्दा माथि पुर्याउने लक्ष्य पनि रहेको छ ।

कार्ययोजनामा आठ प्रमुख क्षेत्र समेटिएका छन्, जसमा व्यवस्थागत नवप्रवर्तन, स्थानीय पहिचानयुक्त प्रविधिको प्रवद्र्धन र कृत्रिम बुद्धिमत्तामा आधारित प्रयोगहरू प्रमुख छन् ।

उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालु वर्षको पहिलो त्रैमासमा चीनको डिजिटल उद्योगले करिब आठ खर्ब ५० अर्ब युआन बराबरको आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव चार प्रतिशतले वढि हो ।

यस वर्षको सरकारको प्रतिवेदनमा उत्पादन प्रणालीको डिजिटल रूपान्तरणलाई तीव्रता दिने, उद्योगमा दक्षता र प्रविधिसहितको सेवा प्रदायकको विकास गर्ने र साना तथा मझौला उद्यमहरूको प्रविधिमैत्री विकासमा सहयोग बढाउने उल्लेख गरिएको छ ।

‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत वडा नम्बर १ रत्नेचौरका महिलाहरूलाई बाँसका सामग्री बनाउने तालिम प्रदान गरिएको छ ।

महिलालाई आयआर्जनमूलक व्यवसायमा आबद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन भएको कार्यक्रममार्फत १६ जना महिलाहरूलाई बाँसबाट सजावटका सामग्री र मुडा बुन्ने १५ दिने तालिम दिइएको हो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले रत्नेचौर र अर्जममा थप ७० जना महिलालाई व्यवसायिक च्याउखेतीसम्बन्धी तालिम दिने, बीउ र प्लास्टिक घर सहयोग गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

तालिममा सहभागी यामु थापाले बाँस र चोयाबाट मुडाका साथै स्ट्रे, फूलदानी, प्रमाणपत्र राख्ने फ्रेम, चुरादानी, कलम र ब्रसदानी बनाउन सिकेको बताइन् । व्यावसायिक रूपमा सामान उत्पादन गरेर प्रशस्त मात्रामा पाइने बाँसको प्रयोग र सीपको सदुपयोग गर्ने योजना रहेको थापाले बताइन् ।

समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन यस वर्ष बेनी नगरपालिकाले रत्नेचौर र वडा नम्बर ५ पुलाचौरमा कार्यक्रम सञ्चालन गरेको छ ।।

‘महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौँ’, उनले भने, ‘आर्थिक वर्ष २०७९–०८० देखि सुरु भएको चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन भएको छ ।’

पुलाचौर आमा समूहमार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा १२५ जनालाई च्याउखेती, १३२ जनालाई धुप बनाउने र १७ जनालाई सिलाइकटाइ तालिम प्रदान गरिएको छ । च्याउखेती र धुप बनाउने समूहलाई दुई–दुई दिन तालिम, बीउ, एक–एक टनेल सहयोग गरिएको छ । तीन महिने सिलाइकटाइ तालिममा सहभागीलाई उपकरण पनि सहयोग गरिएको छ ।

यथास्थितिमा सरकारमा गए समस्या झन् थपिन्छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ(अन्तरवार्ता)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले संविधानका सबै उपलब्धिको रक्षा गर्ने गरी अग्रगामी हिसाबले संविधान संशोधन गर्न आफूहरू तयार रहेको बताएका छन् ।

उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानका लागि तथा महङ्गो र भ्रष्टीकृत निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्छ भनी पार्टीले भन्दै आएको स्पष्ट पारे ।

गोरखाको जौबारीमा विसंं २०१६ मा जन्मिएका उनले २०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । उनी विसं २०४७ मा एकता महाधिवेशनबाट नेकपा (एकता केन्द्र) को पोलिटब्युरो सदस्य, विसं २०५१ मा सचिव, महासचिव हुँदै मसालको महामन्त्री भए । २०६२/०६३ को जनआन्दोलनसँगै एकता केन्द्र–मसाल र नेकपा माओवादीको एकीकरणपछि उपाध्यक्षको जिम्मेवारी पाए ।

श्रेष्ठ विसं २०६८ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, गृहमन्त्री तथा विसं २०७९ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सोही सालमै गृहमन्त्री बने । नेपालको बामपन्थी एकता अभियानमा निरन्तर लागेका श्रेष्ठले गृह मन्त्रालयको नेतृत्वमा रहँदा भ्रष्टाचार र सुशासनको पक्षमा चालेको कदमले उनलाई थप परिचित गरायो ।

मुलुक संसदीय अभ्यास, राजनीतिक स्थिति, शान्ति सुव्यवस्था, परराष्ट्र नीति, पार्टीका अभियानलगायत समसामयिक विषयमा केन्द्रित रही उपाध्यक्ष श्रेष्ठसँग राष्ट्रिय समाचार समिति (रासस)का प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता सुशील दर्नालले सांसदसँग रासस संवादका लागि लिएको अन्र्तवार्ताको सम्पादित अंश :

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

–एउटा जनप्रतिनिधि र राष्ट्रियसभा सदस्यका हिसाबले संसद्को भूमिकामै क्रियाशील छु । संसद्को बजेट अधिवेशन चलिरहेको छ । पार्टीले सङ्गठनात्मक सुदृढीकरण र शुद्धीकरणको अभियान अघि बढाइरहेको छ, अर्कातर्फ जनतासँगको सम्बन्ध सुदृढीकरणको अभियानमा समेत केन्द्रित भएको छु ।

मुलुकको अहिले भइरहेको संसदीय अभ्यासलाई कसरी हेरिरहनुभएको छ ?

–नेपालमा वास्तवमा हामीले नयाँ प्रकारको लोकतन्त्र स्थापित गरेका छौँ । यो परम्परागत संसदीय गणतन्त्र होइन । हामी कम्युनिष्टले भनेकोजस्तो नयाँ जनवादी क्रान्ति स्थापना गरेको पनि होइन । यो समाजवादोन्मुख, समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो । त्यसैले यसलाई परम्परागत संसदीय व्यवस्थामा कैद गर्न हुन्न । यो लोकतन्त्रलाई व्यवहारमा कार्यान्वयन गर्न र जनतालाई प्रतिफल दिन सबैभन्दा पहिला प्रणाली र त्यसलाई संस्थागत गर्ने संविधान महत्त्वपूर्ण विषय हो । अनि त्यसको नेतृत्व गर्ने दल र नेताले लोकतान्त्रिक दृष्टिकोण र आचरण निर्माण गरेका छन् वा छैनन् भन्ने छ । अहिले मुख्य चुनौती भनेको जसले लोकतन्त्रका लागि बलिदानीपूर्ण सङ्घर्ष र नेतृत्व गर्नुभयो, उहाँहरूले नै आफ्नो जीवन र आचरण लोकतान्त्रिक बनाउन नसकेको गुनासो जनताको छ । तीन तहको सरकार निर्माण र दुईवटा निर्वाचन गरी अहिले परिवर्तनलाई प्रणालीगत कार्यान्वयनका लागि अघि बढिरहेको अवस्था छ । सामाजिक र आर्थिक रूपान्तरणमा पनि केही काम भएको छ । यो लोकतान्त्रिक परिवर्तनलाई जनता र देशहितमा अघि बढाउने सन्दर्भमा केही समस्या देखा परेको छ । त्यो मुख्यतः राजनीतिक नेतृत्व र पार्टीको लोकतान्त्रिक आचरणको संस्कृतिसँग सम्बन्धित छ ।

पछिल्लो समय (माओवादी केन्द्र) जनतासँग जोडिने अभियानमा छ, त्यसमा जनताको गुनासा र सल्लाह कस्तो पाउनुभयो ?

–जनताका कुरा नजिकबाट सुनिरहेकै छौँ । पार्टीको अहिलेको अभियान तीन वटा लक्ष्यसहित अघि बढिरहेको छ । एउटा सङ्कल्प र प्रतिबद्धता भनेको सामन्तवादी निरङ्कुशताको अन्त्य गरी लोकतान्त्रिक परिवर्तनमार्फत जनताको सामाजिक–आर्थिक रूपान्तरण गर्ने हो । हामीले क्रान्तिकारी उद्देश्य बिर्सिएका छैनौँ, विचलित छैनौँ, त्यसमा अहिले पनि दृढ छौँ भन्ने प्रतिबद्धता दिऔँ भन्ने हो । दोस्रो, नागरिकको जीवनस्तर उकास्न र विकासमा फड्को मार्न नसकेको कमजोरी पक्ष स्वीकार्दै त्यसलाई सच्याएर जान गरिएको प्रतिबद्धतालाई जनताले सकारात्मक मानेका छन् ।
तेस्रो विषय भनेको, वर्तमान सरकार र त्यसमा संलग्न दलका क्रियाकलापले देशलाई थप सङ्कटको दिशातर्फ लगेको हाम्रो ठम्याइ छ । भ्रष्टाचार नियन्त्रण गर्न सरकारले पर्याप्त काम नगरेको देखिन्छ । यसका बिरूद्ध हामीले खबरदारी गर्ने र सच्चिन चेतावनी दिइरहेका छौँ । यसमा जनताको ठूलो साथ र समर्थन छ ।

अभियानमा तपाईंहरूले जनता समक्ष के वाचा र प्रतिबद्धता गर्नुभएको छ ?

–यसबीचमा सामन्तीविरूद्धको अभियान चलाएर लोकतन्त्र स्थापना र उपलब्धिलाई संविधानमा संस्थापन गरियो । अहिले सामाजिक–आर्थिक रूपान्तरणका निम्ति नेपालको पहिलो पूर्वसर्त भनेको सुशासन र विधिको शासन नै हो । त्यसका लागि भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने, कारबाही गर्ने र पारदर्शी कार्यशैली अपनाउनुपर्छ । सुशासनबिना सामाजिक–आर्थिक रूपान्तरण, विकास र समृद्धि अघि बढाउन सकिन्न । जनताले नयाँ जीवनको अनुभूति गर्न पाउन्नन् । नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको सरकारले ७५ वर्षयताकै ठूलो भ्रष्टाचारविरूद्ध र सामाजिक न्यायको कदमको सुरूआत गरेको थियो । जनताले स्वागत र समर्थन गरे तर हामी हठात सरकारबाट बाहिरिन पर्‍यो । अहिले हामीले जनतालाई अपिल गरिरहेका छौँ कि, तपाईंहरू देशमा साँच्चिकै परिवर्तन चाहनुहुन्छ भने बहुमतको सरकार बनाउने र देशको नेतृत्व गर्ने जिम्मेवारी हामीलाई दिनुपर्छ । त्यो अवसर प्राप्त गरेको खण्डमा नेपाललाई स्वतन्त्र, स्वाधीन, प्रजातान्त्रिक मात्र होइन, समृद्ध–नेपाल बनाएर छाडिन्छ । त्यसका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, सडक, खानेपानी, सूचना र सञ्चारसहित जनताका दैनिक आवश्यकता पूरा गर्छाैं । नेपाली जनतालाई यही व्यवस्थाले जीवन नै फेरिदियो भन्ने अनुभूति दिलाउँछौँ । त्यसमा जनताको सकारात्मक प्रतिक्रिया प्राप्त छ । कार्यकर्तामा पनि उत्साह र जाँगर देखिएको छ । रूपान्तरण र पुनर्गठनको आवाज जुन गतिमा गर्नुपर्ने छ, त्यो फड्कोमा पुगिनसकेकाले अझै मेहनत गर्नुपर्नेछ ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परिवर्तनका संवाहक र मित्रशक्ति हुन् तर राष्ट्रिय एजेण्डामा समेत मतैक्य देखिन्न, किन ?

–हो, मुलुकमा राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनमा हामी एउटा मोर्चामा उभियौँ । तर गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता हाम्रो एजेण्डा हो । हामीले यसलाई उपलब्धिका रूपमा स्थापित गरेका हौँ । उनीहरूले त्यस बेला यो आत्मसात गरेको एजेण्डा थिएन । जुनसुकै चरणमा भएपनि प्रमुुख शक्तिबीच मिलेर ल्याइएको परिवर्तनका माध्यमबाट सामाजिक, आर्थिक रूपान्तरण र समृद्धिमार्फत जनतालाई लोकतन्त्रको प्रतिफल दिन सहकार्य गर्नुपर्छ भन्ने सुझाव सही छ । तर उनीहरूले त्यो ढङ्गले आत्मसात् गरेका छैनन् । कांग्रेस र एमाले यथास्थितिवादको सिकार भए । राजनीतिक दलको मुख्य कार्यभार लोकतान्त्रिक संविधानको रक्षा गर्दै सामाजिक आर्थिक रूपान्तरणसहित मुलुकलाई समृद्धिमा लैजाने हो । त्यो तदर्थवादी ढङ्गले मात्र हुन्न । प्रमुख शक्तिहरू राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा र सामाजिक आर्थिक रूपान्तरण पक्षमा मिलेर काम गर्न सक्दा राम्रो हुन्छ । यसअघिका सरकारले सुशासनको मुद्दालाई गम्भीरतापूर्वक पक्रेर व्यवहारमा लागू नगरेकाले समस्या पैदा भएको हो । यसको अर्थ हामी पनि शुद्ध हौँ भन्ने होइन, यसबीचमा सुशासन, सामाजिक र आर्थिक विकासको पक्षमा जुन दृढताका साथ काम गर्नुपर्नेमा कमीकमजोरी भयो । भ्रष्टाचार धेरै छ, राज्य लुट्ने र ठग्ने प्रवृत्ति जबर्जस्ती छ । पुँजीपति दलाल, राजनीतिज्ञ र कर्मचारी मिलेर राज्यको दोहन र ठगी खाने काम भएको छ । यस्तो स्थितिले राष्ट्रिय पुँजीको निर्माण नै हुन सक्दैन । दलाल पुँजीवादलाई प्रहार र अन्त्य नगरी राष्ट्रिय पुँजी र उत्पादन वृद्धि हुँदैन । स्वतन्त्र आर्थिक अर्थतन्त्र बन्दैन । त्यो नभई देशले समृद्धिमा फड्को मार्न सक्दैन । यही विषयमा मुख्य मतभेद छ । दलाल पुँजीवादले उत्पादनमूलक अर्थतन्त्र हुनै दिँदैनन् । कमिसन र भ्रष्टाचारीले ठूलो पुँजी जम्मा गर्ने छन् । तर, त्यो सम्पत्ति उत्पादन र रोजगारमुखी उद्योगमा लगानी गर्दैनन् । त्यसबाट रोजगारीको सृजना हुँदैन । परिवारको आन्दानी बढ्दैन । क्रयशक्ति र उपभोग बढ्दैन । त्यसैकारण देश गरिबीको चक्रमा फसिरहेको छ । हामीले सुशासन प्रभावकारी ढङ्गले सञ्चालन गर्दै पुँजीवादमाथि आक्रमण गरी राष्ट्रिय पुँजीको विकास गरौँ भनेका हौँ । उत्पादन र रोजगारीको सृजना गरौँ । स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्र बनाऔँ । यो मूलभूत मुद्दामा मिलेदेखि राम्रो हुन्छ भन्ने हाम्रो पनि भनाइ हो । तर, त्यसमा सहमति हुन सकेको छैन ।

–सशस्त्र क्रान्ति गरेर आएको भए पनि नेकपा (एमाले) र कांग्रेसभन्दा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पार्टी खासै फरक छैन भन्ने सुनिन्छ, यो विचारमा तपाईंको भनाइ के छ ?

–पहिलो कुरा, हामीले जुन विचार र व्यवहारमा कांग्रेस र एमालेभन्दा फरक देखाउने गरी काम गर्न पथ्र्याे, त्यो हुन सकेन । हाम्रा पनि केही कमीकमजोरी रहे । हामीले पछिल्लो समय यथास्थितिमा पार्टीलाई राखेर देशको नेतृत्व गर्ने सम्भावना छैन भन्ने निष्कर्ष निकालेका छौँ । तुलनात्मक रूपमा अरूभन्दा माओवादी क्रान्तिकारी र रूपान्तरणकारी पार्टी हो । तर पनि यथास्थितिमा राखेर देशले माग गरेको नेतृत्वको माग पुरा हुन सक्दैन । सामाजिक, आर्थिक रूपान्तरणको नेतृत्व गर्न सक्दैन । देश सङ्कटमा धकेलिन्छ भन्ने हाम्रो निष्कर्ष छ । त्यसकारण हामी पनि केही बिग्रेका छौँ भनिरहेकै छौँ । तथापि, यसअघि हाम्रो नेतृत्वमा गठन भएको सरकारले भ्रष्टाचारविरूद्धको कारबाही अघि बढाउने सन्दर्भमा ऐतिहासिक कामको सुरूआत गर्‍यो ।

अर्को कुरा, सबै राजनीतिक दल उस्तैउस्तै हुन् भन्ने प्रचार जबर्जस्त बनाइएको छ । हामीले गुणात्मकरूपमा भिन्न देखाएमात्रै बुझ्ने भए जनताले । अलि भिन्न भएर मात्र नबुझ्ने भए । राजनीति फोहोरी खेल भएकाले माओवादी पनि उस्तै हो भन्ने प्रचार जबर्जस्त गरिएको छ । मैले गृह मन्त्रालय सम्हाल्नासाथ पहिलो दिनमै सुराकी खर्च खारेज गरिदिएँ । गरिब जनताका निम्ति मिटरब्याज पीडितविरूद्ध आयोग बनाइयो । अहिले त्यो समस्या केही हदसम्म हल भएको छ । जुनसुकै राजनीतिक नेता, कर्मचारी र धनाढ्य भए पनि अपराध कर्मका आधारमा कानूनको दायरामा आउने विषयलाई स्थापित गरियो । भुटानी शरणार्थी, ललिता निवास, बासबारी छालाजुत्ता कारखाना, सुनकाण्डका घटनामा संलग्न अपराधीलाई कारबाही अघि बढाउन सफल भइयो । देशका विभिन्न ठाउँमा हडपिएका सरकारी र सार्वजनिक जग्गा जफत गरिए । यो हिसाबले हामी अरूभन्दा भिन्न छौँ भनेका हौँ । तर जनताको चाहनाअनुरूप गुणात्मक भिन्नता हुनुपर्ने थियो त्यो भने गर्न नसकेकै हो । त्यसैले रूपान्तरण र पुनःगठनको अभियान सञ्चालन गरेका छौँ ।

मुलुकले तीन तहसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको छ, तीन तहका सकारबीच समन्वय र सहकार्य कस्तो पाउनुभएको छ ?

–सङ्घीय व्यवस्था आफैँमा एकात्मक राज्यव्यवस्था जस्तो सरल होइन, सङ्घीय संरचनाको लामो अभ्यास गरेका मुलुकहरूमा पनि अलिअलि विरोध र समस्या हुन्छ । यही बीचबाट अगाडि बढ्छ । समस्या र जटिलतामा बहस गर्दै आगाडि बढ्ने प्रक्रिया हो । नेपालमा भर्खरै सङ्घीयता लागू गरेका छौँ । यसलाई व्यवहारमा लैजान अझै मेहनत गर्नुपर्नेछ ।

अर्को कुरा, जो सङ्घीयताको निम्ति लडेका थिए, तिनैमा पनि एकात्मक केन्द्रवादी सोच छ । उनीहरू भाषण मात्र सङ्घीयता चाहिन्छ भन्छन् । तर अधिकार सकेसम्म केन्द्रमै राख्न पाए हुन्थ्यो भन्छन् । उदाहरणका लागि, हरेक दलले प्रदेशको निम्ति केन्द्रबाटै निर्णय गरेका छन् । एकात्मक र केन्द्रकृत सोच कतिपय राजनीतिक नेतृत्वमा छ ।

त्यस्तै, एउटा प्रवृत्ति प्रष्ट सङ्घीयता विरोधी छ । अर्काे प्रवृत्ति सङ्घीयताको पक्षमा छ तर पहिला केन्द्रले बाँडेको पैसा अहिले प्रदेशले पाउनुपर्छ भन्ने सोच राख्छ । तीन तहको सरकारमा देखिएको भ्रष्टाचार र बेथितिको संस्कृति वडासम्म जाने भयो । पैसा बाँडेर मात्र देश चल्दैन, मुलुक बन्दैन । सङ्घीयता भनेको विकेन्द्रीकरण होइन, संविधानले प्रदेश र स्थानीय तहका सम्बन्धमा राज्यशक्तिको बाँडफाडबारे स्पष्टरूपमा भनेको छ । सङ्घीयतालाई सबल बनाउने सन्दर्भमा सङ्घीय सरकारको पनि थ्रुपै कमीकमजोरी छन् । तर प्रदेशमा पनि स्वायत्तता लागू गर्ने र सृजनात्मक ढङ्गले चलाउने भन्ने स्पष्ट सोच देखिन्न । सङ्घीयताका निम्ति आवश्यक कानूनी प्रबन्ध गर्नुपर्ने छ । अहिले स्थानीय सरकार सङ्घीयताकै विरोध गर्ने पक्षले पनि हटाउन सक्दैन । विगतमा विकास तथा भौतिक पूर्वाधार निर्माणका लागि एक लाख प्राप्त गर्न माननीयको ढोका चहार्नु पथ्र्याे, अहिले एक करोड बजेट वडामा पुगेको छ । गाउँपालिकामा ५० औँ करोड पुगेको छ । पूर्वाधार निर्माण र बजेट आवश्यकताका आधारमा प्राथमिकता तोकेर खर्च गर्नुपर्छ, कार्यान्वयन गरिनुपर्छ । सङ्घीयता जनताले प्रत्यक्ष रूपमा सरकारको अनुभूति गर्ने अलि जटिलै प्रणाली भएकाले मजबुद बनाउँदै जानुपर्छ ।

वर्तमान संविधान जारी भएको दश वर्ष भयो, संशोधनको चर्चा छ, यसलाई कसरी हेर्नुभएको छ ?

–संविधानको संशोधनको कुरा उठ्नु आम रूपमा नकारात्मक कुरा होइन । किनभने संवैधानिक र शान्तिपूर्ण बाटोबाटै संशोधन गर्न सकिन्छ भनी संविधानले नै सुनिश्चित गरेको छ । राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र नेपाली जनतामा निहीत सार्वभौमसत्ता बाहेक अरू कुनै पनि विषयलाई अपरिवर्तनीय भनिँदैन । तर सरकार गठन भएकै दिन किन संशोधनको विषय अगाडि ल्यायो भन्ने मूल प्रश्न छ । यो हामीलाई सकारात्मक लागेको छैन । पहिलो र दोस्रो ठूला पार्टी मिलेर सरकार बनाउन नै पनि सामान्यतया संसदीय लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छ । उहाँहरूको संविधान संशोधन समानुपातिक निर्वाचन प्रणालीको खारेजीसँग सम्बन्धित छ । यो गरिए जनताले सङ्घर्ष गरी ल्याएको मुख्य उपलब्धि समावेशी र समानुपातिक प्रणाली गुम्न जान्छ भन्ने हाम्रो चिन्ता हो । हामीले साँच्चै इमान्दारीपूर्वक संशोधन गर्नुपर्ने हो भने गरौँ भनिरहेकै छौँ । त्यसक्रममा प्रत्यक्ष निर्वाचित राष्ट्रपति अथवा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख शासकीय स्वरूपमा रहने गरी जाऔँ भनेका छौँ । त्यो राजनीतिक स्थिरताको लागि पनि हो ।

अर्कोतर्फ पूर्ण समानुपातिक चुनाव प्रणालीमा जाऔँ र महङ्गो र भ्रष्टीकृत चुनाव प्रणालीलाई परिवर्तन गरौँ भनेकै छौँ । सांसदलाई कानुन बनाउने जिम्मा दिऊ, विज्ञलाई मन्त्री बनाउने प्रक्रिया अघि बढाऔँ । तर एमाले र कांग्रेस संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक लिएका छैनन् । संविधानको सबै उपलब्धिको रक्षा गर्ने गरी अग्रगामी संविधान संशोधन गर्न हामी तयार छौँ ।

प्रदेश सरकार खर्चिलो भयो, सांसद र मन्त्रिपरिषद्का सदस्य सङ्ख्या घटाउनुपर्छ कि भन्ने पाटोबाट उठेका प्रश्नमा तपाईंको भनाइ के छ ?

–हो, प्रदेश सांसद र मन्त्रालयको सङ्ख्या घटाउनै पर्छ । देशको समग्र समस्या समाधान गर्दै सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पार्न सुशासन र संरचनागत ठूलो परिवर्तन गर्नुपर्छ भनेका छौँ । यो सँगसँगै मितव्ययिता पनि चाहिन्छ । मितव्ययिताको कुरा गरिरहँदा यति धेरै प्रदेश सदस्यको सङ्ख्या किन चाहियो ? मन्त्री र सदस्य घटाउनै पर्छ । कतिपय सरकारी आयोग वा निकाय काम नभए पनि चलिरहेका छन् । तिनलाई खारेज गर्नुपर्छ । अहिले मुलुकमा सुशासन, संरचनागत ठूलो परिवर्तन र मितव्ययिता जरूरी छ । त्यसपछि मात्रै आमूल परिवर्तनसहित अघि बढ्न सकिन्छ । नत्र भने तदर्थवाद हावी भइरहन्छ । केही परिसूचकले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखाएको छ भने पनि परिवारको आम्दानी, उपभोग क्षमता, माग बढ्नुपर्‍यो । कलकारखाना चल्नुपर्‍यो, थपिनुपर्‍यो, रोजगारी बढ्नुपर्‍यो तब न अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र बनाउनु पर्ने अहिलेको आवश्यकता हो । त्यसका निम्ति सुशासन र संरचनागत ठूलो परिवर्तनसहित मितव्ययिता अनिवार्य शर्त हो ।

तपाईं पूर्वपरराष्ट्रमन्त्री पनि हुनुहुन्छ, नेपालको अन्तराष्ट्रिय कूटनीति र छिमेकीसँगको सम्बन्धलाई कसरी हेर्नुभएको छ ?

–पहिलो कुरा, आजको विश्वमा कुनै पनि देश पूर्ण परोपकारी हुँदैन । शुद्ध मनले सबैको कल्याण गरौँ भनेर कुनै पनि देशले भन्दैन । हरेक देशले आफ्नो स्वार्थलाई केन्द्रमा राखेकै हुन्छन् ।

दोस्रो कुरा, अहिलेको विश्व परिस्थिति बुझ्नुपर्छ । एसिया केन्द्रित हुँदै आएको बदलिएको विश्व परिस्थिति र हाम्रो भूराजनीतिक अवस्थाले हामीलाई दुवै चिज दिएको छ । एउटा चुनौती अर्काे अवसर । हामी एउटा संवेदशील भूराजनीतिक अवस्थामा छौँ । राष्ट्रिय सावैभौमिकताको रक्षा गर्दै राष्ट्रहितलाई प्रवर्द्धन गर्न गम्भीर चुनौती छ ।

अर्कातिर यति सम्भावना पनि छ कि यसलाई हामीले अवसरको रूपमा सदुपयोग गर्न सकियो भने हाम्रो राष्ट्रिय सार्वभौमिकता पनि सुदृढ गर्न सहयोगी हुन्छ । हाम्रो सामाजिक, आर्थिक रूपान्तरण, विकास र प्रगतिमा पनि सहयोगी हुन सक्छ । हामीमा दृष्टिकोणमा अझै पनि प्रष्टता, प्रष्ट देशभक्तिपूर्ण अडान र कूटनीतिक दक्षताको कमी छ । त्यसले हामीले आफ्नो देशभक्तिपूर्ण अडान र हितको प्रतिनिधित्व ठीक ढङ्गले गर्न सकिरहेका छैनौँ । हाम्रो राष्ट्रिय सावैभौमिकताको पक्षमा कुरा उठाउँदा अरू देशले के भन्लान् भनि डराउनु पर्दैन । अरू देशको विरोध गरेर आफ्नो राजनीतिक स्वार्थसिद्धि गर्ने काम गर्न भएन । हामीले दुईवटै छिमेकी (भारत र चीन) सँग मैत्रीपूर्ण असल सम्बन्ध राख्नुपर्छ, समनिकटताको आधारमा । एउटाका विरूद्धमा र अर्काको पक्षमा हामीले सोच्न हुँदैन । त्यो घातक हुन्छ । दुवै छिमेकीसँग सम्बन्ध राख्ने कुरा आफ्नो राष्ट्रिय सार्वभौमिकतालाई केन्द्रविन्दुमा राख्न सक्नुपर्छ । त्यसका लागि वार्ता र कूटनीतिको माध्यमबाट समस्या समाधान गर्ने, सकारात्मक पक्षलाई बलियो बनाउने, सम्बन्धलाई अझै उचाइमा लैजाने प्रयत्न गर्नुपर्छ । त्यो सम्भव छ । आफ्नो राजनीतिक स्वार्थका निम्ति विदेशिले होइन, नेपालकै राजनीतिक नेताले नै वातावरण बनाइदिनुपर्‍यो भनि आफैँ हस्तक्षेप आमन्त्रण गर्दै आएकामा सच्याउनपर्छ । अर्कालाई मात्रै भनेर हुन्छ ? आफ्नो राष्ट्रिय सार्वभौमिकतालाई केन्द्रविन्दुमा राखेर छिमेकीसँग असल मैत्रीपूर्ण सम्बन्ध राख्नुपर्छ । त्यसो गर्न सकिन्छ । राष्ट्रिय सावैभौमिकता र हितमा कुरा गर्दा हिनताबोध लिनु पर्दैन । हामीले स्वाभीमानका साथ कुरा गर्न सक्नुपर्छ । आफ्नो पक्षमा वातावरण बनाउनुपर्छ ।

नेपालको आन्तरिक मामिलामा वैदेशिक चासो बढेको छ भनिन्छ, यो विषयलाई तपाईंले कसरी हेर्नुभएको छ ?

–एसिया केन्द्रित हुँदै आएको विश्व परिस्थितिमा हामी संवेदनशील ठाउँमा छौँ । अरू सबैले रणनीतिक स्वार्थको कोणबाट पनि हेर्ने स्थिति बनेको छ । त्यसले गर्दा हामीले विश्वासको वातावरण बनाउन सक्नुपर्छ । त्यो वातावरण बनाउन नसक्दा चासोभन्दा बढी भूमिकाको अवस्था पनि व्यहोर्नुपर्ने स्थिति हुन सक्छ । हामी त्यसबाट सचेत हुनुपर्छ । राष्ट्रिय सार्वभौमिकता, भौगोलिक खण्डता र स्वाधीनताको विरूद्ध नजाने हदसम्म जायज चासो र सरोकार सम्बोधन गर्न तयार हुनुपर्छ । होइन भने, हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र राष्ट्रिय स्वाधीनता र हितलाई कमजोर बनाउने काम गर्न दिनु हुँदैन ।

माओवादी शान्ति प्रक्रियामा आएसँगै यो पार्टी पटकपटक सरकारमा गएको छ, तपाईं आफू पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्री बनिसक्नुभएको छ, यो सत्ता वा सरकार भनेको के रहेछ ?

–सरकारको सन्दर्भमा हामी प्रष्ट हुनुपर्छ । सरकारमा जानका लागि जाने होइन । प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री हुन सरकारमा जाने होइन । देश र जनताको निम्ति काम गर्ने प्रष्ट भएर सरकारमा जानुपर्छ । हामी पछिल्लो पटक सरकारमा रहँदा सरकारलाई कसरी टिकाउने होला भन्ने कुरामा ध्यानै दिइएन । जुन बेलासम्म देश र जनताको पक्षमा काम गर्न सकिन्छ, त्यतिन्जेलसम्म गर्ने भन्ने थियो । त्यसकारण पनि हामी सफल भएको भन्ने लाग्छ । यो नै क्रान्तिकारीको नीति हो भन्ने निष्कर्ष थियो । हामीले सरकारमा रहँदा गुणात्मक हस्तक्षेपकारी भूमिका निभाएकै हो । अहिले पनि वर्तमान सरकारलाई भत्काउने खेलमा छैनौँ । सरकारमा जाने सोच छैन । यथास्थितिमा सरकारमा गएर समस्या थप थपिन्छ । गुणात्मक काम गर्ने अवसर प्राप्त भएमा मात्र स्वाभाविक रूपमा सरकारमा जाने कुरा आउँछ । तर झण्डा हल्लाउन मात्रै सरकारमा जाने भनेको जनताले हामीप्रति देखाएको सकारात्मक भाव र कार्यकर्ताको उत्साहमा जाडो मौसममा चिसो पानी खनाएजस्तै हो ।

तपाई कम्युनिष्ट पार्टी एकता अभियानका अभियन्ता हुनुहुन्छ, वामपन्थी एकता प्रक्रिया कहाँ पुगेको छ ?

–सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबीचको एकता हुनुपर्छ भन्नेमा प्रष्ट छु । नेकपा (एमाले) सहितको एकताको कुरा गर्ने हो भने तत्कालै व्यवहारिक रूपमा सम्भव हुनेजस्तो देखिएको छैन । त्यसको मतलब अब रणनीतिकरूपमै नेपालका बामपन्थी मिल्दैनन् भन्ने पनि होइन । मिल्न हुँदैन भनि एकलकाँटे ढङ्गले सोच्ने कुरालाई कहिले पनि हुन दिनुहुँदैन । एमालेबाहेक अरू क्रान्तिकारी पार्टीसँगको एकताबारे छलफल भइरहेको छ । तर अहिले नै निष्कर्षमा पुग्न सकेका छैनौँ । समाजावदी मोर्चामा रहेका सबै शक्तिलाई एउटै पार्टीमा आबद्ध गर्ने गरी हामीले छलफल गरिरहेका छौँ । यदि एमाले सच्चिएर बामपन्थी बीचको एकताको कुरा गरेको खण्डमा हुन्न वा एकता गर्न हुँदैन भन्ने हुँदैन । तर अहिले नै तत्काल हुने सम्भावना देखेको छैन ।

तपाई सदस्य रहनुभएको राष्ट्रियसभाको अहिलेको भूमिकाबाट सन्तुष्ट हुनुहुन्छ ? कसरी हेर्नुभएको छ ?

–राष्ट्रियसभाको सवालमा संविधान संशोधन गर्नुपर्छ भन्ने मेरो दृष्टिकोण छ । राष्ट्रियसभा नभए पनि विधेयकको कानुन बन्ने व्यवस्थाको अन्त्य गर्नुपर्छ । अहिले एउटा अर्थ विधेयकलाई छोडेर अरू विधेयक राष्ट्रियसभाले पारित नगरे पनि हुने व्यवस्थाले सभाको ओजलाई कमजोर बनाएको छ । राष्ट्रियसभा परिपक्व र स्थिर सदन हो । त्यहाँ पार्टीले त्यस्तै खालका व्यक्ति पठाउनुपर्छ भन्ने हो । सभालाई अझै प्रभावकारी बनाउन सबै दलहरूले आफ्नो भूमिकालाई सक्रिय बनाउन जरूरी छ ।

युवाको विदेश पलायन बढ्दै गएको छ, जसबाट राज्यप्रतिको विश्वास कमजोर भएको हो कि जस्तो देखिन्छ ? यसबारेमा भनाइ के छ ?

–अहिले राष्ट्रको प्रमुख राष्ट्रिय आवश्यकता भनेको सामाजिक, आर्थिक, रूपान्तरण, विकास र समृद्धि हो । हामीले ऐतिहासिक र युगान्तकारी परिवर्तन गरेका छौँ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छ । तर सामाजिक आर्थिक रूपान्तरण अहिलेको व्यवस्थाले निर्देशन गरेजस्तो र जनताले चाहेकोजस्तो भएन । आज पनि झण्डै ३० लाख नेपाली श्रमिक युवा आफ्ना बालबच्चालाई पाल्न, घर चलाउनका लागि खाडी मुलुक र मलेसियामा श्रम–पसिना चुहाइरहेका छन् । ती युवालाई आफ्नै मातृभूमिमा बसेर रोजगारीको व्यवस्था गर्न सकेनौँ भने हामीले गरेको औचित्य पुष्टि हुँदैन । अहिलेको मुख्य समस्या सुशासनको अभाव हो ।

अन्त्यमा, आमजनतालाई तपाईको सन्देश के छ ?

–नेपाल धेरै सम्भावना र गर्व गर्न लायक देश हो । विश्वमै औँलामा गन्न सकिने सुन्दर देशको सूचीमा नेपाल अग्रस्थानमा छ । नेपालमा आएको एउटा पर्यटनको इच्छा, अर्को पटक पनि जान पाए हुन्थ्यो भन्ने हुन्छ । नेपालको आफ्नै अन्तराष्ट्रिय पहिचान छ । यो सगरमाथा, बुद्ध र वीर गोर्खालीको देश हो । कृषि, जलस्रोत, पर्यटनको सम्भावना भएको देश हो । कुनै–कुनै देशमा एक गेडा अन्न उत्पादन हुन्न । तर हामीले राम्रो मेहनत गरियो भने खाद्यान्न निर्यात गर्न सक्छौँ । कुनै देशमा खानेपानी पनि अन्य देशबाट ल्याउनुपर्छ । तर हामीकहाँ पर्याप्त छ । त्यसकारण यो देश बनाउन सकिन्छ । हामी सबै मिलेर बनाउनुपर्छ ।

हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद

प्रगति ढकाल, काठमाडौँ ।

हिमाललाई ढाक्यो कान्छा…हो..हो…हो…
हो..हिमाललाई ढाक्यो कान्छा…हो
हिउँको पछ्यौरीले…
पिरतीको भाका बोल्छ…
फूल मन्जरीले…
फूल मन्जरीले…ए…
फूल मन्जरीले…
जुनु रिजाल काफ्लेको स्वरमा सजिएको यो गीत नेपालीको मनमुटुमा बस्न सफल छ । तर यही गीतले बोलेको भावजस्तै हिमाललाई हिउँको पछ्यौरीले नडाँक्ने पो हो कि ? हिमाल सेतै हुन्छ रे भन्ने कुरा हामी भावी पुस्ताले इतिहास मात्रै पढ्न पाउने हुन् कि उस्तै चिन्ता र चासो बढेको छ ।

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् ।

रामकृष्ण ढकालको स्वरमा गुञ्जिने यो गीत पनि नेपालीको जनजीब्रोमा झुन्डिएको छ । गुञ्जिरहनेछ सदाबहार रूपमा । गीतले भनेकोजस्तै हिमाल देख्न नपाइने हो कि भन्ने डर पनि उत्तिकै छ ।

विश्वव्यापी रूपमा बढिरहेको जलवायु परिवर्तनको असरले हाम्रा यी सेता हिमालहरू कतै कालापत्थरमा त परिणत हुने होइन ? यी र यस्ता प्रश्नहरूले गीतले भनेजस्तै बिहान उठेर हिमाल हेर्न सधैँ नपाइएला कि भन्ने चिन्ता पनि छ ।

हिमालकै कारण नेपाली भूभाग साँच्चै प्रकृतिको बेजोड सङ्गम भएको हो । यहाँका हिमालदेखि तालतलैयाले लगाएको मोहनीले नेपाल पर्यापर्यटकमा विश्वका जनताको आकर्षणको केन्द्र बन्न सफल भएको छ । त्यसैले हिमालको अस्तित्व बचाउनु हामी सबैको कर्तव्य हो ।

जलवायु परिवर्तनको असरले यी आकर्षणमा कमी मात्र होइन समाप्त नै हुन्छ भने डर पनि छ । हिमाल बिनाको नेपाल कस्तो देखिएला नेपाल ? हिमालको महत्त्व अपार भएर नै होला कवि तथा गीतकारहरूले हिमालको महिमा गाएका थिए, रचना रहेका थिए । ती रचना कतै इतिहास त हुने होइन भन्ने चिन्ता यतिबेला सर्वत्र छ ।

पर्यटन व्यवसायी समेत रहेका आङछिरिङ शेर्पालाई कतै हिमालमा हिउँ रित्तिएर पर्यटकहरू नै नेपाल नआउने र पर्यटन व्यवसाय धरापमा पर्ने हो कि उस्तै चिन्ता छ । उमेरले ७० नाघिसकेका शेर्पालाई लामो समय हिमालकै काखमा हुर्केर खेलेकाले पनि होला पहिला र अहिलेको हिमालबारे जानकार छन् उनी । “हामी सानो छँदा त हिमाल सबै सेता हिउँले ठाकिएको हुन्थ्यो । चमक्क चम्किन्थे । हेर्दाहेर्दै हिमालमा हिउँ पातलियो । कालापत्थरहरू देखिन थाले”, उनी भन्छन्, “यस्तै हो भने त अबको २० वर्षमै हिमालको अस्थित्व मिटिन्छ कि भन्ने चिन्ता लाग्छ । अनि हिमाल हेर्न भनेर पर्यटक आउन छाड्लान् हाम्रो व्यवसाय पनि धरापमा पर्नेछ ।”

मुस्ताङ जिल्लास्थित बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरूङलाई पाँच वर्षदेखि हिउँ नपर्दा हिउँ हेर्ने रहर भावी पुस्ताका लागि पूरा नहुने हो कि चिन्ता छ । “हाम्रो क्षेत्रमा पाँच वर्षदेखि हिउँ नै परेको छैन । हामीले देखिरहेको सेता हिमालहरूमा अहिले हेर्दा बाक्लो हिउँ छैन”, उनी भन्छन्, “हिउँ नपर्नुका साथै मुस्ताङमा बाढीले क्षति गर्न थालेको छ । अब के पो हुने हो ? भनेर मानिसहरूमा मनोवैज्ञानिक त्रास पनि बढिरहेको छ ।”

विशेषगरी हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने लक्ष्यका साथ नेपालले शुक्रबारदेखि विश्वकै उच्च शिखर सगरमाथाको नामबाट ‘सगरमाथा संवाद’ सरू गरेको छ । आइतबारदेखि चल्ने संवादमा तीन दर्जनभन्दा बढी मुलुकमा प्रतिनिधिहरू एकै स्थानमा जम्मा गरेर जलवायुजन्य सङ्कटका उदाहरणहरू नेपालले प्रस्तुत गरिरहेको छ । अध्यक्ष गुरूङ पनि आफ्नो पाालिकाले भोगिरहेको यिनै जलवायुजन्य समस्याको उदाहरणसहित संवादपूर्वका तयारीमा काठमाडौँ आएका थिए । मुस्ताङले भोगेको जलवायुजन्य समस्याहरू राम्रोसँग प्रस्तुत गर्दै जलवायु न्याय मिलोस् भन्ने उनको उपेक्षा छ ।

सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकी उपाध्यक्ष टासी ल्हामु शेर्पा पनि जलवायुजन्य सङ्कटले हिमालमा हिउँ रित्तिदै गएको, थामेमा गएको हिउँपहिरोले गरेको विनास, हिउँ पर्न छोड्दा कृषिमा पुगेको असरलगायत समस्या प्रस्तुत गर्न संवादमा आइपुगेकी छन् । “हामीले भोगिरहेको जलवायुजन्य समस्याहरूले विश्व समुदायको ध्यानाकर्षण गराउनेछ र हामीले गर्दै नगरेको गल्तीको सजाय भोगिरहेका छौँ । गल्ती गर्ने धनी र विकसित मुलकुहरूले हामीलाई न्याय दिनुपर्छ”, उनले भनिन्, “जलवायु सङ्कटले निम्ताउन थालेको विपद्का कारण स्थानीयहरू बसाइँसराइ गर्न थालेका छन् ।”

खुम्बु पासाङल्हामु गाउँपालिका थामेकी बासिन्दा याङ्गी डोल्मा शेर्पाले थामेमा गएको हिउँ पहिरोका घटनाले अहिले पनि त्रासमा नै बस्न परको भन्दै संवादमा पर्वतीय क्षेत्रले भोगिरहेका जलवायुजन्य यस्ता समस्यालाई विशेष प्राथमिकतामा राखेर पैरवी गर्न सुझाव दिइन् ।

सगरमाथा संवाद सचिवालयका सदस्य सचिवसमेत रहेका मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालले शुक्रबारदेखि सुरू भएको संवादमा हिमालमा जलवायु परिवर्तनले परिरहेको असर, पर्वतीय क्षेत्रका बासिन्दाले भोगिरहेका जलवायुजन्य सङ्कटले निम्ताएका समस्याहरू प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण भइरहेको जानकारी दिए ।

“यो संवाद नै जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको प्रभावका विषयसँग सम्बन्धित रहेको छ । यसले मानवतामाथि भविष्यमा आउन सक्ने सङ्कटको बारेमा बढी जोड दिई विचारविर्मश भइरहेको छ”, उनले भने, “संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा लिएर बस्ने तर त्यसको संरक्षणमा उचित ध्यान जान नसकेको देखिन्छ । हिमताल बन्ने र फुट्ने, तल्लो तटीय क्षेत्रमा आउने बाढीपहिरो, डुबान र त्यसले पारेको धनजनको क्षति र त्योसँग जुध्नको निम्ति सरकारले अहिलेसम्म गरेको लगावलाई उजागर गरिरहेका छौँ ।”

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेका असरको विषयमा सबैको साझा धारणा बनाउने लक्ष्यका साथ संवाद आयोजना गरेको ढकालले जानकारी दिए । उनले भने, “जलवायुका असरसँग जुध्नसक्ने क्षमता पनि बढाउनुपर्छ । सगरमाथा संवादमा जलवायु परिवर्तनका जोखिम न्यूनीकरण गर्नका लागि पनि पहल भइरहेको छ ।”

ढकालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अन्तरसरकारी समूह (आइपिसी) को छैटौँ रिपोर्टले जलवायु परिवर्तनको सबैभन्दा बढी जोखिम पहाडि क्षेत्र, त्यसमा पनि हिमाली क्षेत्र र अझै नेपालका पर्वतीय क्षेत्रहरू बढी जोखिममा रहेको देखाएकाले जोखिम न्यूनीकरणमा जोड दिन आवश्यक रहेको बताए ।
वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका प्रा डा राजेशकुमार राईले सगरमाथा संवादले जलवायु परिवर्तनका कारण हिमाली अर्थतन्त्रमा परेको असरलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने र जलवायु न्यायका लागि पैरवी गर्ने अवसर संवादले दिएको बताए ।

“उच्च हिमाली क्षेत्रमा हिउँ पग्लनु, पदमार्गहरूमा क्षति पुग्नु र पर्यटकीय गन्तव्यहरू जोखिमपूर्ण बन्नुले प्रभावित भएको छ । यसैगरी जलविद्युत् उत्पादन पनि प्रभावित भइरहेको छ, किनकि नदीहरूको प्रवाहमा अस्थिरता आएको छ, जसले ऊर्जा आपूर्ति र औद्योगिक उत्पादनमा असर पारेको छ”, उनले भने, “यी सबै कारणले गर्दा जलवायु परिवर्तन हिमाली देशहरूको दीर्घकालीन आर्थिक स्थायित्व र विकास लक्ष्यमा चुनौतीका रूपमा देखिएको छ ।”

हिमालमा कस्तो असर पर्ला ?

हिमालमा जलवायुले पारेका असरका कारण हिमालको अस्तित्व सकिने, पानीको स्रोतहरू सुक्ने, हिमताल फुट्ने, हिमपहिरो जाने, पर्यटक घट्ने, बसाई सर्नुपर्ने अवस्था आएर त्यहाँका संस्कृति लोभ हुनेलगायत असर देखिने बताउँछिन् पर्वतीय क्षेत्रका मुद्दामा पैरवी गर्दै आएकी जलवायु अभियन्ता गीता पाण्डे । पर्वतीय क्षेत्रमा जलवायुले पारको असर न्यूनीकरण तथा अनुकूलनका लागि निरन्तर पैरवी आवश्यक रहेको उनको सुझाव छ ।

जलवायु परिवर्तनसम्बन्धि २१ औँ विश्व सम्मेलन फ्रान्सको पेरिसमा सम्पन्न भएको थियो । पेरिस सम्झौताबमोजिम तापक्रमका वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा कायम भए तापनि यस एक्काइसौँ शताब्दीका अन्त्यसम्ममा हिमालय क्षेत्रका ३६ प्रतिशत हिमताल पग्लन प्रक्षेपण गरिएका छ ।

पैरवीमा जोडबल निरन्तर

गत वर्ष बाकुमा सम्पन्न ‘विश्व जलवायु सम्मेलन’ (कोप २९) मा भाग लिन पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले जलवायुजन्य सङ्कटबाट हिमाल जोगाउनुपर्ने भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
सन् २०२३ मा युएईको दुबईमा सम्पन्न भएको २८ औँ कोपमा पनि नेपालको नेतृत्व गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएका थिए । “म यहाँ ३० मिलियन नेपालीको सन्देश बोकेर आएको छु”, प्रधानमन्त्री दाहालले सम्बोधनको सुरूमै भनेका थिए, “तापक्रम वृद्धिले हिमालय क्षेत्रलाई आक्रात पारिरहेको छ, हाम्रो हिमाल बचाउने सन्देश पनि लिएर आएको हुँ ।”

यस बेलामा पनि पर्वतीय क्षेत्रको मुद्दाले विश्व समुदायमा चर्चामा ल्यायो । कोपमा पहिलोपटक हिमालको मुद्दा छलफलमा समाहित गरियो । यसअघि नेपालले जोडदार रूपमा हिमालको मुद्दा कोपमा समाहित गराउन जोडबल गर्दै आइरहेको थियो ।

यसो त दुई वर्षअघि संयुक्त राष्ट्रसघङ्का महासचिव एन्टिनिओ गुटेरेश चार दिने नेपाल भ्रमणमा आएका थिए । महासचिव गुटेरेसले भ्रमणमा रहेको बेलामा हिमालयबाट बगेका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको भन्दै हिमालको प्रशंसा गरे । यस्ता हिमनदी पग्लिएमा पानीको स्रोत समेत सङ्कटमा पर्न सक्ने भन्दै उनले दिएको अभिव्याक्तिले पनि यो वर्ष मुख्य चर्चा पायो । यसले पनि कोपमा पर्वतीय क्षेत्रका मुद्दामा पैरवी गर्न नेपाललाई सहज भयो ।

मासचिव गुटेरेसले २८ औँ कोप सम्मेलन सुरू हुनुअघि नेपालको भ्रमण गर्नुभएर पनि होला नेपाललाई बढी सम्झाएका थिए । नेपालको भ्रमणको क्रममा सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रलाई नजिकबाट साक्षत्कार गर्ने मौका पाएर पनि होला उनले हिमालमा परेको जलवायु परिवर्तनको असर पनि नकिजबाटै निहाले । ती अनुभवहरू विश्व सामुदायको अगाडि अभिव्यक्त गरे । हिमालमा जलवायु परिवर्तनको असर यसले हिमाली क्षेत्रको जनजीवनमा पारेको प्रभावलाई बताइदिएर विश्वको नै ध्यान ताने । उनको सम्बोधनले झन्डै १९२ देशका सहभागीहरूको ध्यान खिच्यो ।

सन् २००९ मा डेनमार्कको कोपनहेगनमा सम्मन्न भएको १५ औँ कोपमा भाग लिन पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेपाली प्रतिनिधि टोली सहभागी भएका थियो । त्यस बेलादेखि नै नेपालले हिमालको मुद्दालाई प्राथमिकता दिएर मुख्य एजेन्डास्वरूप कोपमा लिएर जाने गरेको थियो ।

जलवायु परिवर्तनको असरहरूको कारणले पर्वतीय क्षेत्रहरूको पारिस्थितिकिय प्रणाली, जनजीवन र जैविक विविधतामा परिरहेको नकरात्मक असरका बारेमा नेपालले सन् २००९ देखि नै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायत अन्तरराष्ट्रिय मञ्चहरूमा नेपालले निरन्तर आवाज उठाउँदै आइरहेको छ । पैरवीलाई निरन्तरता दिँदै यतिबेला काठमाडौँमा सगरमाथा संवादको आयोजना भइरहेको हो ।

बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी

कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका-४ पर्सीयाकी डल्लीदेवी चौधरीले ।

बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन् । गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन् । चौधरी गाउँपालिका–४ को वडासदस्य हुन् । उनी पढ्नका लागि भर्ना भएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुन् ।

‘सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो’, उनले भनिन्, ‘पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ ।’ पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएको उनले बताइन् ।

‘विद्यालय व्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यहरूले आफूले यति उति पढेको कुरा सुनाउन थाले आफू नपढेकाले हीनता महसुस गरेँ’, उनले भनिन्, ‘मैले पनि पढेको भए अहिले फुइ लगाउथे भनेर सोच्न थाले, बैठकमै सहभागी शिक्षकले उमेर जति भए पनि पढनका लागि उमेर तगारो हुँदैन भनेर हौसला बढाएपछि मनभित्रैबाट पढ्ने पुनः इच्छा पलायो, त्यसपछि भर्ना भए, विद्यालयबाट किताब लगेर अध्ययन गर्न थालेको छु ।’

वडाको कामले गाउँमा खटिनुपर्ने हुँदा नियमित विद्यालय जान नपाए पनि घरमा रहेका नातिनीहरूबाट बाह्राखरी, दुनालगायत पढ्न र सिक्न थालेको उनले बताइन् । समय मिलेको बेला कक्षामै अरू विद्यार्थीसँगै बसेर पढ्न पनि जाने गरेको उनले बताइन् । धेरै वर्ष पहिले गाउँमा सञ्चालन भएको अनौपचारिक (प्रौढ) कक्षामा क, ख र १, २ सिकेको भए पनि बाह्राखरी र दुना नसिक्दा पढन लेख्नबाट वञ्चित भएको उनी बताउँछिन् । अनौपचारिक कक्षामा पूरै समय दिन नसक्दा लेख्न र पढ्न जान्ने हुन नसकेको उनको भनाइ रहेको छ ।

‘बुबा किसान (जमिदार)को घरमा कमैया भएर काम गर्नु हुन्थ्यो’, उनले भनिन्, ‘सानै छदा विद्यालय पढ्छु भनेर बुबालाई नभनेको होइन, उहाँले पढ्ने कुराप्रति फिट्टिकै ध्यान दिनुभएन, सानै भएकाले आफूले विद्यालय जाने हिम्मत गरिन्, १०/१२ वर्षको उमेर भएपछि गोठाला जान थाले त्यसपछि विद्यालय जाने कुरा बिर्सिए ।’ तेह्र वर्ष पुग्नै लाग्दा विवाह भयो । घरधन्दा गर्नमै उनका दिन बित्न थाले ।

‘विवाह भएर आएपछि ससुरालमा भान्साको काम सुम्पियो’, उनले भनिन्, ‘पूरै परिवारका लागि साँझ बिहानको खाना पकाउनुपर्दथ्यो, खाना पकाउन, खुवाउन र भाँँडाकुँडा सफा गर्नमै दिन बित्थ्यो, बचेको समयमा खेतबारीमा काम गर्नमै ठिक्क हुन्थ्यो ।’ चुलोचौकाबाट फुर्सदनै नहुने भएपछि पढ्ने कुरा सोच्न पनि नपाइएको उनी बताउँछन् । ‘विवाह भएको तीन चार वर्षमै बच्चाबच्ची जन्मिए, बच्चाबच्चीलाई हुर्काउनमै समय बित्दै गयो’, उनले भनिन् ।

आफूले नपढे पनि छोराछोरीलाई पढाउनुपर्छ भनेर त्यसतर्फ लागेको उनले सुनाइन् । छोरीछोराले एसइई परीक्षा उत्तीर्ण गर्न नसके पनि छोरीलाई सीपमूलक कार्यमा संलग्न गराउनुपर्छ भनेर सिलाइकटाइको कार्य सिकाएर आत्मनिर्भर बनाएपछि विवाह गरेको उनी बताउँछिन् ।

छोरालाई इन्टरनेट जडानको कार्यको सीप सिकाएर आत्मनिर्भर बनाएको उनको भनाइ रहेको छ । उनले छोरीको विवाह भने गरी सकेकी छन् । ‘वडासदस्यमा पहिलोपटक निर्वाचित भएर आएपछि समाजका अगाडि बोल्न निकै गाह्रो हुन्थ्यो’, उनले भनिन्, ‘वडासदस्यमै दोस्रो कार्यकाल बित्न लागेको छ, अब सबैका अगाडि विकासका कार्य, सामाजिक कार्य, रीतितिथी बसाल्ने कार्यसँगैै गाउँमा हुने सामाजिक कार्यमा नियमित भाग लिने भएकाले बोल्न सिकेको छु ।’

उनी अगाडि भन्छिन्, ‘जनताको आवाज गाउँसभामा लगेर राख्न सक्ने भएको छु, केबल खाँचो छ पढ्न लेख्नको, त्यो पनि पूरा गरेरै छाड्छु ।’ उनका अनुसार पढ्नका लागि विद्यालय भर्ना भएपछि विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, गाउँपालिकाका जनप्रतिनिधि, गाउँका भद्रभलादमीले हौसला बढाउने कार्य गरिरहेका छन् ।

आउँदो स्थानीय तहको चुनावमा वडाध्यक्षको चुनाव लड्नुपर्छ, वडाध्यक्ष बन्नुपर्छ भनेर अहिलेदेखिने दबाब आउन थालेको उल्लेख गर्नुहुँदैन उनले चुनाव आउनअगावै पढ्ने लेख्ने कुरामा पोख्त बन्नका लागि निकै मेहनत गर्नुछ, त्यसैका लागि बढी समय दिन थालेको बताए ।

विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ भट्टले वडासदस्य चौधरीलाई विद्यालयमा कक्षा १ मा भर्ना गरी पढ्नका लागि किताब उपलब्ध गराइएको बताए । ‘उहाँको पढ्ने प्रवल इच्छा रहेछ’, उनले भने, ‘उहाँकै इच्छाअनुसार भर्ना गरी कक्षामा सहभागी हुनका लागि आग्रह गरेका छौँ, उहाँलाई बाह्राखरीसँगै वर्णविन्यास, दुनालगायत लेख्न पढ्न सिकाउने कार्य गर्छौँ।’

खरर किताब पढ्ने र चुस्त दुरूस्त रूपमा हिसाब गर्न सक्ने गरी पढाएर निपूर्ण बनाउने उनले बताए । ‘वडासदस्यलाई पनि मेहनत गराउँछौँ’, उनले भने, ‘कक्षा शिक्षकहरूलाई सिकाउने कार्यमा बढी जोड दिन भनेका छौँ, भर्खरै कक्षा सञ्चालन भएकाले उहाँले कक्षामा सहभागी भएर पढ्ने इच्छा जाहेर गर्नुभएको छ पढ्नका लागि आउनुहुन्छ ।’

राजतन्त्र फर्काउने प्रयास असम्भवः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन् ।

एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा शनिबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिए ।

‘सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा इतिहासदेखि नै देखा पर्दै आए । खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ’, अध्यक्ष ओलीले भने, ‘पार्टी प्रवृत्ति भने सही धारमै जान खोज्दै आयो । मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको विचारले कम्युनिष्टहरू निरङ्कुश हुन्छन् भन्ने हामीमाथिको आरोपलाई खण्डन गर्यो । यो विचार राजनीतिक लोकतन्त्रका लागि मात्र होइन आर्थिक र सामाजिक तथा मानव अधिकारका प्रश्नमा समेत राष्ट्रिय नीतिका रूपमा स्थापित भइसकेको छ । यसै जगमा हामीले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी लाग्नुपर्नेछ ।’

प्रधानमन्त्री ओलीले आफूहरूले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजिएको उल्लेख गर्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरूले कहिल्यै नछोडेको स्पष्ट गरे ।

आफूहरूको नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य भएको पनि उनको भनाइ थियो ।

उनले एमालेको नेतृत्वलाई बदनाम गरेर ढाल्न सकिने पार्टी ढाल्न सकिन्छ भन्ने तत्वहरूले अनेक षड्यन्त्र गरे पनि एमाले हरेक परिस्थितिको सामना गर्न तयार रहेकाले कार्यकर्ताहरूलाई एकताबद्ध भएर ढुक्का साथ अघि बढ्न आग्रह गरे ।

एमालेले अग्रगतिका लागि निस्क्रिम कामना होइन, सक्रिय हस्तक्षेपको नीति लिँदै भन्दै उनले विश्वमा दक्षिणपन्थ, जातीयता र अराजकतावादका कारण आन्दोलनमा क्षति भएको उल्लेख गर्दै आफूहरूले त्यस्ता कमीकमजोरी नगरी विविधतालाई सांस्कृति समृद्धि मानेर एकता र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो लिएको बताए ।

विगतमा आफूले सरकारको नेतृत्व गर्दा पार्टीभित्रकै विग्रहवादी तत्वका कारण सरकार ढाल्ने र अदालतको आदेशबाट सरकार गठन गराउने गलत अभ्यास भएको पनि उनले टिप्पणी गरे ।

जननेता भण्डारी कम्युनिष्ट आन्दोलनलाई समयानुकूल रूपमका हाँक्ने नीतिकार रणनीतिकार भएको स्मरण गर्दै उनले विश्वमा कम्युनिष्ट आन्दोलन धराशयी हुँदै गएका बेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र दुई तिहाइको अवस्थासम्म पुर्याएको बताए ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, आश्रित पत्नी माया ज्ञवालीलगायत सहभागी थिए । कार्यक्रममा अध्यक्ष ओलीसहित नेता कार्यकर्ताले दिवङ्गत नेताप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

बलिउडकी अभिनेतृ नोरा फतेही काठमाडौंमा

काठमाडौँ । बलिउडकी अभिनेतृ नोरा फतेही शनिबार बिहान काठमाडौं आइपुगेकी छन् । नोरा फतेहीले आज साँझ बौद्धस्थित हायात होटलको मैदानमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा आफ्नो प्रस्तुती दिन काठमाडौं आएकी हुन् ।

उनको २३ सदस्यीय टोली भने यसअघि शुक्रबार अपराह्न नै काठमाडौँ आइपुगेको आयोजकले जनाएको छ । नोराको आगमनसँगै उनका नेपाली फ्यानहरू उत्साहित भएका छन् ।

उपत्यकाव्यापी खुला मेयर कप फुटबलको उपाधि काठमाडौंलाई

काठमाडौँ । काठमाडौँ महानगरपालिका ‘दोस्रो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को विजेता भएको छ ।

फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई पेनाल्टीमा ८–७ गोलले पराजित गर्दै महानगरपालिका दोस्रो सृङ्खलाको विजेता भएको हो । जितसँगै महानगरपालिकाको टीमले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता आयोजक गोदावरीलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ ।

गएको वर्ष सम्पन्न पहिलो खेलमा पनि महानगरपालिका विजेता भएको थियो । यस वर्षको फाइनल खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि दुवै टीमलाई ५/५ पेनाल्टी गोलको अवसर दिइएको थियो । यसमा दुवै टीमले सबै गोल प्रहार गरे । त्यसपछि दिइएको ३’३ पेनाल्टी गोलको अवसरमा महानगरपालिकाले ३ र गोदावरी नगरपालिकाले २ गोल गरेको थियो ।

यस्तै मध्यपुर थिमीलाई फेयर प्ले टिमको उपाधि दिइयो । महानगरपालिकाका कोच सन्तोष न्यौपानेलाई वेस्ट कोच उपाधि प्राप्त भयो ।

सरोज तामाङ्लाई वेस्ट डिफेन्डर, सुदीप गिरीलाई प्लेयर अफ द फाइनल, गोदावरी नगरपालिकाका समीर तामाङ्लाई इनर्जिङ् प्लेयर, अरुण लामालाई हाइएस्ट गोल स्कोरर, पासाङ् लामालाई प्लेयर अफ द टुर्नामेन्ट र विवेक सिलवाललाई वेस्ट गोल किपर उपाधि प्रदान गरिएको थियो ।

गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा हिजो (शुक्रबार) फाइनल खेल भएको थियो । खेलमा महानगरपालिका ‘समूह बी’बाट र गोदावरी ‘समूह सी’बाट फाइनलमा पुगेका थिए ।

महानगरपालिकाले पहिलो खेल चाँगुनारायण नगरपालिकासँग खेलेको थियो । यस खेलमा चाँगुनारायणलाई महानगरपालिकाले ५–० गोलले पराजित गरेको थियो । खेलमा राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले महानगरपालिकाका लागि १/१ गोल दिलाएका थिए । दोस्रो खेल मध्यपुर थिमीसँग खेलेको थियो । यस खेलमा सरोज तामाङ्ले गरेको १ गोलले महनगरपालिकालाई जिताएको थियो ।

महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरुको व्यवस्थापन खेलकुद विज्ञ नविन चित्रकारले गरेका थिए ।

प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपािलका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् ।

यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिकाले भाग लिएका छन् ।

रिहा भए रविन्द्र, राज्यले प्रतिशोध साँधेको प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र रिहा भएका छन् । सर्वोच्चको आदेशपछि शुक्रबार साँझ रिहा भएका हुन् ।

रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै मिश्रले राज्य विरुद्धको कसुर, संगठित अपराध र अपराधिक उपद्रव आफूबाट नभएको बताए ।

उनले आफूले कुनै पनि अपराध नगरे पनि राज्य आफू विरुद्ध लागेको बताए । उनले भने, ‘म हाजिरी जमानीमा छुटेको हुँ । त्यसमा म धेरै खुसी हुने पक्षमा छैन । किनभने राज्य मविरुद्ध लागेको छ भनेर सम्मानित अधिवक्ताहरुले पनि भनिसक्नु भएको छ ।’

उनले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जनधनको क्षति भएकोप्रति भने दुःख व्यक्त गरेका छन् ।

गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका उनलाई पक्राउ गरेको थियो ।

राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।

त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो । बन्दीप्रत्यक्षीकरणको रिटमा शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय डा. कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई रिहा गर्न आदेश दिएको थियो ।

रविन्द्र मिश्रलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश गरेको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमा शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय डा. कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई रिहा गर्न आदेश दिएको हो ।

मिश्र ५० दिनदेखि प्रहरी हिरासतमा थिए । गत १५ चैत गते राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । उनलाई प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।

उनकी पत्नी सारिका कार्कीले गत मंगलबार काठमाडौं जिल्ला अदालतलाई समेत विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापाका सर्भेक्षक सुवासचन्द्र यादवका सन्दर्भमा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग  एक लाख २५ हजार बराबरको घुस लिँदै गरेका अवस्थामा आयोगको टोलीले यादवलाई पक्राउ गरेको थियो।

सो मुद्दामा विशेष अदालतले २०८१ वैशाख २१ गते फैसला गरेको थियो। उक्त फैसला कानुन सम्मत नभएको दाबी गर्दै आयोगले आज सर्वोच्चमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुलाटारमा शुक्रबार भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकतालगायत विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र नेपालीको जीवनस्तर उकास्न बैंकले गर्दै आएको महत्त्वपूर्ण सहयोगको प्रशंसा गर्दै उचित राजस्व परिचालन र विकासका खर्चका लागि प्रभावकारी व्यवस्थापन सरकारको प्राथमिकता रहेको सुनाए ।

उनले उत्पादन र उत्पादकत्ववृद्धिका लागि थालेका काम सक्ने नति अनुरुप आगामी बजेटबाट समयमा परियोजनाहरू सम्पन्न गर्नेगरी प्रबन्ध गरिने अवगत गराए ।

उपाध्यक्ष रायसरले बैँकको सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दै वातावरणीय मुद्दामा प्राथमिकता दिएर नेपालले सगरमाथा संवादको आयोजना गरेकामा सफलताको कामना गरे ।

बैँकले नेपालमा यातायात, ऊर्जा, शिक्षा र स्वास्थ्यलगायत १९ क्षेत्रमा गरी दुुई मिलियन अमेरिकी डलरको लगानी गरेको छ । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाल रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, बैंकका देशीय निर्देशक डेभिड एन सिस्लेनलगायत सहभागी थिए ।

कांग्रेस सभापति देउवा र जनार्दन शर्माबीच अर्थपूर्ण भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो कांग्रेस सभापति देउवालाई भेट्न उपमहासचिव शर्मा देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको शर्माले जानकारी दिएका छन् । भेटपटि शर्माले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थिति बारे छलफल भयो।’

शुक्रबार नै माओवादी अध्यक्ष प्रचण्डले डडेल्धुराबाट देउवासँग टेलिफोन संवाद गरेका थिए । ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’का लागि पुगेका प्रचण्डले देउवासँग फोनमा कुरा गरेका हुन् ।

जलवायु संकट समाधानका लागि सामूहिक प्रतिबद्धतामा जोड

काठमाडौँ। शुक्रबारदेखि सुरु भएको ‘सगरमाथा संवाद’ मा सरोकारवाला विज्ञहरुले अन्तर्राष्ट्रिय जलवायु संकट समाधानमा सामूहिक प्रतिबद्धतामा जोड दिएका छन्।

संवादको पूर्ण सत्रमा बोल्दै उनीहरुले जलवायुजन्य संकट सामनाका लागि सबैको सहकार्य र अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धता जरुरी रहेकामा जोड दिएका हुन्।

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुका कारण हिमाली परिदृश्य रुपान्तरण हुन लागेको उल्लेख गर्दै हिमनदीहरू पग्लिँदै गएको, परिस्थितिकीय प्रणाली बदलिँदै गएको र परम्परागत जीवनशैलीहरू उल्टिँदै गएकाले सामाधानका लागि सामूहिक प्रतिबद्धतामा जोड दिए।

नेपालका लागि इजिप्टका राजदूत नोहा हम्दी अहमद इल्गेबालीले जलवायु अनुकूलनका लागि स्थानीय जलवायु वित्त, जलको पुनःभरण र जैविक विविधताको संरक्षण, जलवायु कृषि अनुकूलन जस्ता जलवायु अनुकूलन राष्ट्रिय रणनीतिमा समावेश गर्न आवश्यक रहेको बताए।

‘सन् २०२२ मा कोप–२७ आयोजना गर्ने गौरव इजिप्टलाई प्राप्त भयो। कोप २७ मा विश्वव्यापी जलवायु प्रक्रिया इतिहासमा एक महत्वपूर्ण उपलब्धि थियो। यसले विश्व दक्षिणका आवाजलाई अगाडि ल्यायो र अनुकूलन तथा जलवायु न्यायलाई कार्यसूचीको केन्द्रमा राख्यो,’ उनले भने, ‘जलवायु हानि–नोक्सानी कोष पनि कोप २७ मा नै स्थापना हुने निर्णय भएको थियो।’

कार्यक्रममा बंगलादेशको समाज कल्याण मन्त्रालय तथा महिला तथा बालबालिका मामिला मन्त्रालयका, सल्लाहकार, शर्मिन सोनिया मुर्शिद, भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री, जेम छेरिङ, संयुक्त अधिराज्य संसदीय उप–सचिव (लड्र्स मन्त्री) बारोनेस सुसान हाइम्यान, संयुक्त अरब इमिरेट्सको ऊर्जा तथा दिगो विकास मामिलाका लागि सहायक परराष्ट्रमन्त्री, अब्दुल्ला बालालाले धारणा राखेका थिए।

त्यसैगरी, जापानका परराष्ट्र मामिलाका लागि संसदीय उपमन्त्री इकुइना आकिको, भारतका अतिरिक्त सचिव (सहायकमन्त्री) अमनदीप गर्ग, जलवायु परिवर्तन मामिलाका लागि विशेषदूत तथा उपमन्त्री, परराष्ट्र मन्त्रालय, कतारका बदर ओमर अल दफाले धारणा व्यक्त गरे।

पाँचवर्षे कार्ययोजनाको कार्यान्वयनका लागि राष्ट्रपति विशेष प्रतिनिधि, किर्गिस्तान गणराज्यको दिनारा केमेलोभा, ब्राजिलबाट नेपालका लागि राजदूत कार्लोस अल्बेर्टो मिकाएलसेन डेन हार्टोग, ओमानका राजदूत इस्सा बिन सालेह अल शिवानी, नेपालका लागि, पाकिस्तानका राजदूत अबरार एच. हश्मीले पूर्ण सत्रलाई सम्बोधन गरेका थिए।

त्यस्तै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरुमध्ये संयुक्त राष्ट्रसंघका सहायक महासचिव तथा एसक्यापकी कार्यकारी सचिव आर्मिदा साल्सियाह अलिस्जाहबाना, विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजर, एसियाली विकास बैंकका उपाध्यक्ष, फातिमा यास्मिन, सार्क महासचिव राजदूत मोहम्मद गोलाम सरवारले सत्रमा भाग लिएका थिए।

बिम्स्टेक महासचिव इन्द्रमणि पाण्डे, आइसिमोडका महानिर्देशक पेमा ग्यात्सोले पनि मन्तव्य राखेका थिए।

पूर्ण सत्रमा अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिएको र यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गरेका थिए।

संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर प्रदान गरिएको थियो। परराष्ट्रमन्त्री आरजु राणा देउवाले सत्रको अध्यक्षता गरेकी थिइन्।

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैँ सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालको औद्योगिक केन्द्रका रूपमा स्थापित विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार सङ्घको ६८औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैँ सकारात्मक सहकार्य गर्नेछ, निजी क्षेत्रले नेपाली उद्योग तथा व्यापार क्षेत्रको विकासमा पुर्या उँदै आएको योगदान अतुलनीय छ ।’

नेपाललाई औद्योगिक उत्पादन तथा निर्यातको नयाँयुगमा लैजान उद्योगी व्यवसायीहरूसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै जाने सरकारको नीति रहेको मन्त्री भण्डारीको भनाइ थियो । साथै उनले औद्योगिक क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी, संरचनात्मक तथा प्रक्रियागत सुधारलाई प्राथमिकतामा राख्ने विषय प्राथमिकतामा रहेको जानकारी गराए।

उनले मोरङ उद्योग व्यापार सङ्घजस्तो प्रतिष्ठित संस्थाले उद्योग-व्यापार क्षेत्रको सशक्त प्रतिनिधित्व गर्दै राज्य र निजी क्षेत्रबीचको सेतुका रूपमा खेल्दै आएको भूमिकाको सराहनासमेत गरे। नेपालकै ऐतिहासिक पहिलो उद्योग वाणिज्य सङ्घ भएकाले यसले व्यावसायिक हकहित मात्रै नभएर समग्र सामाजिक उत्तरदायीत्वसमेत निर्वाह गरिरहेको मन्त्री भण्डारीले उल्लेख गरे।

अमेरिकाको टेक्सास राज्य संसदद्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिका । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीवार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउन सङ्कल्प प्रस्ताव पारित गरेको छ।

राज्यसभाको बैठकमा सभामुख डस्टिन बुरोले पेस गर्नुरेको १५ मे लाई ‘बुद्ध डे’का रुपमा मनाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मते पारित भएको हो।

टेक्सासका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने राज्य सांसद (हाउस अफ रिप्रजेन्टेटिभ) डा सुलेमान ललानी, टेरी मेजा, सलमान भोजानी लगायतले ‘बुद्ध डे’सम्बन्धी सङ्कल्प प्रस्ताव तयार गरी संसदमा दर्ता गराएका थिए।

उक्त अवसरमा नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सास, नेपाली समाज टेक्सास, ग्रेटर अस्टिन नेपाली समाज, बुद्धिस्ट एशोसियसन अफ टेक्सास, तामाङ सोसाइटी अफ टेक्सासलगायत दर्जन बढी संस्था, नेपाल, भियतनाम, कोलम्बिया, म्यानमारलगायत विभिन्न देशका ६० भन्दाबढी बौद्ध भिक्षुहरुको उपस्थिति थियो।

टेक्सास राज्यको संसद् नेपालमैत्री बन्दै गएको भन्दै यहाँका नेपाली समुदायले खुसी व्यक्त गरेका छन्। टेक्सासको राज्य संसदमा हालसम्म नेपाली मूलका सांसदहरुको प्रतिनिधित्व छैन।

नेपालसम्बन्धी प्रस्तावमा राज्य सांसदहरुले उच्च महत्व दिँदै आएको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बताए।

टेक्सास नेपाली समुदायको बाक्लो बसोबास भएको राज्य हो। टेक्सासमा नेपाल र नेपालीको पहिचान स्थापित गराउनका लागि यहाँका नेपाली समुदायका व्यक्तिले लामो समयदेखि पैरवी गर्दै आएका थिए।

हालसम्म टेक्सासको राज्य संसद्बाट नेपाल डे, लुम्बिनी डेसम्बन्धी सङ्कल्प प्रस्ताव पारित भइसकेका छन्। बुद्ध डे मनाउनेसम्बन्धी सङ्कल्प प्रस्ताव तेस्रो हो।

बुद्ध डे मनाउनेसम्बन्धी प्रस्ताव नेपाल र नेपालीहरुको पहिचानका पक्षमा भएको थप सफलता भएको ग्रेटर अस्टिन नेपाल समाजका अध्यक्ष विदुर खतिवडाले बताए।

अध्यक्ष खतिवडाका अनुसार टेक्सासको राज्यसभाले गौतम बुद्धको जन्मभूमि नेपालको लुम्बिनी भएको स्वीकार गरी सङ्कल्प प्रस्ताव पारित गरेकाले हरेक वर्षको १५ मे लाई बुद्ध डेका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइनेछ।

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र ‘के घर के डेरा घर नं २’ शुक्रबारदेखि देशव्यापी रुपमा प्रदर्शन भएको छ । चलचित्र शुक्रबार एकैपटक दुई सयभन्दा बढी ‘शो सङ्ख्या’मा प्रदर्शन भएको निर्देशक दीपेन्द्रकुमार खनालले जानकारी दिए ।

चलचित्रका निर्देशक खनालका अनुसार ‘कर्णाली ब्लुज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्याससहित विभिन्न कवितामार्फत स्थापित बद्धिराम चपाईं अर्थात् बुद्धिसागरको कथामा आधारित भई निर्माण गरिएको चलचित्रमा विशेषगरी काठमाडौँ उपत्यकाभित्रका घरबेटी र डेरावालको कथाव्यथालाई समेटिएको छ ।

“चलचित्रको सार्वजनिक प्रदर्शन अगाडि आयोजना गरिएको विशेष प्रदर्शनी (प्रिमियर शो) मा गैरचलचित्रकर्मी दर्शकले पनि यसलाई मन पराउनुभएको छ । त्यसकारण म चलचित्र भवनसम्म पुग्ने दर्शकले चलचित्र मन पराउनुहुनेमा विश्वस्त छु । यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो । यसको सुन्दर पक्ष भनेकै चलचित्रमा रहेका पात्रहरू एकआपसमा जोडिएका छन् । उनीहरूले काठमाडौँ सहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ”, निर्देशक खनालले भने ।

निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गरेका थिए । उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उनले जानकारी दिए ।

किनकी ‘के घर के डेरा’ लाई ‘कमेडी’ शैलीमा प्रस्तुत गरिएको थियो भने यसपटक ‘के घर के डेरा घर नं २’ मा ‘इमोसनल’ शैली प्रयोग गरिएको छ ।

उक्त चलचित्रमा खगेन्द्र लामिछाने, केकी अधिकारी, आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गरेका छन् ।

अभिनेता लामिछानेले चलचित्रको पटकथामा राम्रा पात्रहरूको उदयसँगै न्यायोचित अवतरण रहेको जानकारी दिए । आफैँ लेखक भएकाले उनले लेखनका क्रममा आइपर्ने कठिनाइसँग जानकार भएर पनि पटकथा सुन्दर लागेको प्रतिक्रिया दिए ।

“पात्रलाई चलचित्रमा जसरी सुरूवात गरिन्छ, त्यसको अन्त्य धेरैलाई मन पर्ने किसिमको बनाउन निकै कठिन हुन्छ । म आफैँ लेखक भएकाले यस चलचित्रमा पटकथामा आएका सम्पूर्ण पात्र अर्थपूर्ण हुनुका साथै एकआपसमा जोडिएको छ र ती यत्तिकै हराउँदैनन्”, अभिनेता लामिछानेले भने ।

‘पशुपति प्रसाद’ जस्तो चलचित्रमा लेखकको भूमिकासँगै अभिनेतासमेत रहेका लामिछानेले ‘अर्गानिक’ भनेर अघोषित रूपमा बुझ्ने गरिएको ग्रामीण परिवेशसम्बन्धी बुझाइमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । नेपालका मौलिक विषय गाउँ मात्र नभई सहरकै पनि ‘अर्गानिक’ हुने उनको बुझाइ छ ।

अर्थतन्त्र सुधारका लागि सरकारले ‘मिसन’ शैलीमा काम गर्नुपर्छः उपसभापति वाग्ले

काठमाडौँ । लामो समयदेखि तङ्ग्रिन नसकेको मुलुकको अर्थतन्त्र सुधारका लागि सामान्य अवस्थाको जस्तो औपचारिकता मात्रै पूरा गर्ने खालको नभई हस्तक्षेपकारी बजेट ल्याइनुपर्ने सांसदहरुले धारणा राखेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरुले स्पष्ट योजना र कार्यक्रमसहित अर्थतन्त्र सुधारको प्रयास थालिनुपर्ने सुझाव दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले विनियोजनअनुसार खर्चको प्रभावकारिता देखिन नसकेकाले त्यस क्षेत्रमा हस्तक्षेपकारी सुधारको रणनीति आवश्यक पर्ने बताए ।

‘बजेट छुट्याइएको पैसा साँच्चिकै खर्च भयो कि भएन ? खर्च भएपछि गुणस्तरीय नतिजा दिन सकियो कि सकिएन ? भन्ने कुरालाई हामीले नजरअन्दाज गरिरहेका छौँ’, उनले भने, ‘विनियोजनअनुसार खर्चको प्रभावकारी कार्यान्वयन हुन सकेको देखिँदैन । पैसा छुट्याएर मात्र भएन खर्च गर्न पनि सक्नुपर्यो । खर्च गर्न नसक्नु भनेको राज्यको क्षमतामाथि पनि प्रश्न हो ।’

अनुकूल र सामान्य अवस्थामा पनि निकै कम पुँजीगत खर्च हुने गरेको उनको भनाइ छ । अर्थतन्त्र सुधारका लागि सरकारले ‘मिसन’ शैलीमा काम गर्नुपर्ने सांसद डा वाग्लेको भनाइ छ ।

‘विभिन्न सभा, सम्मेलन, आवधिक चुनाव, खोप अभियान जस्ता मिसन मोडका काममा राज्यले राम्रो तरिकाले गर्नसक्ने तर नियमित मोडमा गर्नुपर्ने शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाहका काम गर्न नसक्ने अवस्था छ । यसमा सुधार आवश्यक छ,’ डा वाग्लेले भने ।

सरकारका नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्वाचनमुखी राजनीतितर्फ बढी केन्द्रित भएको उल्लेख गर्दै उनले भोट बैङ्कको राजनीति र टुक्रे आयोजनाको राजनीति समाप्त पार्नुपर्ने बताए ।

त्यस्तै, नयाँ योजना तथा कार्यक्रम र ‘एजेन्डा’ थपेको थप्यै गर्ने तर सोअनुसारको कार्यक्षमता विकास हुन नसकेको सांसद डा वाग्लेको भनाइ छ ।

आर्थिक रुपमा बलियो र कुलीन वर्गले सार्वजनिक यातायात, सार्वजनिक स्वास्थ्य, सार्वजनिक शिक्षाजस्ता सेवा प्रयोग गर्न छाडेको उल्लेख गर्दै उनले सबै नागरिकलाई सार्वजनिक सेवाप्रति समान धारणा विकास गर्न आवश्यक रहेको बताए । त्यस्तै, सार्वजनिक निजी तथा सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र कसलाई कुन काम गर्न दिने र नदिने भनेर स्पष्ट पारिनुपर्ने उनले उल्लेख गरे ।

वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेटमा आय र व्ययको सन्तुलन मिलाउनुपर्ने सुझाव दिए । त्यस्तै, आर्थिक शिथिलता र मन्दिलाई हटाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले गरेका सिफारिस कार्यान्वयन गर्नेगरी आगामी आर्थिक वर्षको वजेट केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा कृतिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गएको विषयलाई पनि ध्यानमा राखिनुपर्ने, ठूला आयोजनाको कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने सार्वजनिक संस्थानहरुको सङ्ख्या घटाउनुपर्नेलगायतका सुझाव उनले दिए ।

वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन

वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले चालु आवका १० महिनामा  एक खर्ब ४० अर्ब ४२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ६४ दशमलव १३ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए। ‘चालु आव सकिन अब दुई महिनामात्रै बाँकी छ’, उनले भने, ‘सो अवधिमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरेका छौँ ।’

कार्यालयले साउनमा  १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा  १३ अर्ब ४७ करोड, कात्तिकमा  ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै पुसमा  १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो ।

यस्तै फागुनमा रु १४ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेको छ भने चैतमा भने रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको छ । वैशाखमा भने रु १५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’

चितवन । चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ तर यही जिल्लामा गर्मी मौसममा पनि शीतल हुने पर्यटकीय गन्तव्यहरू छन् भन्दा धेरैलाई अचम्म लाग्ला १ अचम्म लागेर के गर्नु, यहाँ यस्तै पर्यटकीय गन्तव्यहरू छन् । तराईको उखरमाउलो गर्मी छल्न यस्ता ठाउँ पुग्नेहरू अचेल बढ्दै गएका छन् । यहाँको इच्छाकामना गाउँपालिकाले यस्ता शीतल पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरिरहेको छ ।

जिल्लाका पहाडी भूभाग गर्मी मौसममा पनि शीतल हुने गर्छन् । भरतपुरको चौकीडाँडा, कालिका र राप्ती नगरपालिकाको पहाडी भूभागसँगै इच्छाकामनाको अधिकांश भूभागमा शीतल हुने गरेको छ । तीमध्ये धेरैको रोजाइ यही पालिकाका पर्यटकीय गन्तव्यहरू पर्ने गरेका छन् । गाउँपालिकाले यहाँ हरेक वर्ष करिब तीन लाखसम्म पर्यटक घुम्न र बस्न आउने अनुमान गरेको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ नारायणगढ मुग्लिन सडक नजिकैको लामो झरनामा गर्मी मौसममा धेरै आन्तरिक पर्यटक आउने गरेको बताउँछन् । वडा नं ६ मा पर्ने यस झरनामा वार्षिक करिब ६० हजार पर्यटक घुम्न आउने गरेको उनले सुनाए । “माथिबाट झरेको चिसो पानीको झरनामा नुहाउन र पौडी खेल्न आन्तरिक र बाह्य पर्यटक आउने गरेको तथ्याङ्क छ । यसबाट वार्षिक २५ लाखसम्म राजस्व सङ्कलन हुने गरेको छ”, अध्यक्ष गुरुङले भने ।

यसैगरी, जिल्लाको पुरानो सदरमुकाम उपरदाङ्गगढी सोही गाउँपालिका–७ मा पर्दछ । यसको पुनः निर्माणका काम भइरहेको अध्यक्ष गुरुङ बताए । “उपरदाङ्गगढी कसले बनायो, किन बनायो र त्यसको आवश्यकता के हो ? भन्ने पुष्टि हुनेगरी पुनर्निर्माण गरिरहेका छौँ । गढीमा जीर्ण अवस्थामा रहेको कोतघर पुरानै शैलीमा पुनर्निर्माण भइरहेको छ । पुराना विभिन्न किसिमका हातहतियार र वेशभूषा त्यो घरमा राख्ने मुख्य उद्देश्य रहेको छ”, उनले भने ।

गढी वरिपरि रहेका घरबास (होमस्टे) गर्मीयाममा पर्यटकले रुचाउने गन्तव्य हुन् । बिदाको समयमा यस क्षेत्रका होमस्टेमा ठाउँ पाउन मुस्किल हुने गरेको छ । उपरदाङ्गगढी क्षेत्रमा वार्षिक ३५ हजार बढीले अवलोकन गर्ने र करिब १५ लाख राजस्व सङ्कलन हुने गरेको छ ।

जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली वडा नं १ रहेको छ । यसको संरक्षण र प्रवर्द्धनका लागि पनि गाउँपालिकाले सिँढीसहितको बाटो बनाउने र सरसफाइ गर्ने काम गरिराखेको छ । “यहाँ रेलिङ, फलामे बेन्च, हेर्ने ठाउँ बनाइएका छन् । नजिकैको काली र सिद्धबाबा मन्दिरको संरक्षण गर्ने काम भएको छ”, अध्यक्ष गुरुङले भने, “थप झन्डा राख्ने, स्तम्भहरू बनाउने, अन्य सानातिना पूर्वाधार बनाउने काम गरिरहेका छौँ । यहाँको सौन्दर्य नबिगार्ने गरी संरचना बनाउने काम गरिरहेका छौँ ।”

यहाँबाट चितवनसहित छिमेकी जिल्लाका धेरै जसो हिमाल, समथर भूभाग देखिने र चिसो हावा चलिरहने भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँ वार्षिक करिब १० हजार पर्यटक आउने गरेका गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।

इच्छाकामना–२ मा पर्ने अर्को पर्यटकीय गन्तव्य हो, मायाँटार । यहाँ भरतपुरबाट धेरै पर्यटकहरू रात बिताउन पुग्छन् । स्थानीय जातका कुखुरा, खसी र स्थानीय परिकारका सौखिनहरूका लागि यो ठाउँ लोकप्रिय छ । चिसो ठाउँ भएकाले एक रात भए पनि बिताउन यहाँ पर्यटक पुग्ने गरेका हुन् । यसको नजिकै देवीदेवताका थान छन् ।

त्यहाँ दर्शन गर्न पर्यटकहरू पुग्ने गरेका छन् । त्यहाँको बालगौरी थानमा पूजा गरेमा निःसन्तानले सन्तान प्राप्त गर्छन् भन्ने विश्वास छ । गाउँपालिकाको चिसापानीगढीको जङ्गलमा पैदलयात्रा गर्न रुचाउनेहरू पनि आउने गरेको अध्यक्ष गुरुङ बताउँछन् । चिसापानीबाट उपरदाङ्गगढी हुँदै सिराइचुलीसम्म जाने पैदलमार्ग पनि बनेको छ ।

पालिकाको इच्छाकामना मन्दिर वडा नं २, ३, ४ र ५ को सङ्गमस्थलमा पर्दछ । यहाँ धेरै जसो भारतीय पर्यटकहरू आउने गरेका छन् । अध्यक्ष गुरुङले भने, “ काठमाडौँ, भक्तपुर, ललितपुबाट धेरै आउने गरेका छन् । वार्षिक ५० हजारभन्दा बढी पर्यटक मन्दिर दर्शनका लागि आउने गरेका छन् ।” मन्दिरका पुजारीलाई तलब दिएर राखिएको छ । त्यहाँबाट उठेको भेटी गाउँपालिकाको राजस्वमा जम्मा हुने व्यवस्था गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष माया सिलवालका अनुसार गाउँपालिकाको राजमार्ग क्षेत्रमा ठूला होटल भए पनि पर्यटकले ग्रामीण क्षेत्रका साना होटल र होमस्टेमा बस्न रुचाउँछन् । “हात्तीवाङको चेपाङ होमस्टे, मायाँटार, उपरदाङ्गगढीमा गुरुङ होमस्टेहरू छन् । मायाँटार जलबिरेमा होमस्टे छन् । पर्यटकीय गन्तव्यका वरिपरि सामुदायिक होमस्टेहरु छन् । सुन्तला फल्ने समयमा बोटबाटै सुन्तला खानसमेत यहाँ पर्यटक आउने गरेका छन्”, उनले भने ।

उपाध्यक्ष सिलवालले हाल गाउँपालिका क्षेत्रमा करिब १०० होमस्टे रहेका छन् । होमस्टेका लागि गाउँपालिकाले सहयोग गर्दै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर बस्नेत पर्यापर्यटनको हिसाबले इच्छाकामना महत्वपूर्ण रहेको बताउँछन् । गर्मी क्षेत्र नजिकको शीतल गन्तव्य भएकाले पालिका उच्च प्राथमिकता दिएर त्यस्ता स्थानको प्रवर्द्धन र प्रचारप्रसारमा लागेको उनी बताउँछन् ।

“यसै पालिकामा मनकामना केबुलकारको स्टेसन छ । त्यहाँबाट वार्षिक १० लाखभन्दा बढी पर्यटक मनकामना मन्दिर पुग्ने गरेका छन् । उचित प्रचारप्रसार हुन सकेमा इच्छाकामनाका पर्यटकीय गन्तव्यमा आन्तरिक र बाह्य पर्यटक बढाउन सकिन्छ”, बस्नेत भन्छन् ।

गाउँपालिकाले लगानी सम्मेलन गरेर ठूला लगानीकर्तालाई पनि पर्यटकीय गन्तव्यमा होटल खोल्न प्रोत्साहित गर्ने तयारी गरेको जनाइएको छ ।

पुँजीगत खर्च दश महिनामा चौँतिस प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ सकिन दुई महिना मात्रै बाँकी रहँदा सरकारको विकास खर्च भने निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा करिब एक तिहाइ हाराहारी मात्रै पुँजीगत खर्च भएको देखिएको हो ।

चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रु तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट छुट्याएको सङ्घ सरकारले हालसम्म वार्षिक विनियोजनको ३४ दशमलव १६ प्रतिशत अर्थात् रु एक खर्ब २० अर्ब ३७ करोड बराबर मात्रै खर्च गर्न सकेको कार्यालयले जनाएको छ ।

यस्तै, चालुगत शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकोमा वार्षिक लक्ष्यको ६७ दशमलव ७९ प्रतिशत अर्थात् रु सात खर्ब ७३ अर्ब २२ करोड बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा हालसम्मको खर्च ७१ दशमलव ९६ प्रतिशत बराबर छ । यो शीर्षकमा रु तीन खर्ब ६७ अर्ब २८ करोड बराबर विनियोजन भएकामा वैशाख मसान्तसम्ममा रु दुई खर्ब ६४ अर्ब २८ करोड खर्च भएको छ ।

यसरी चालु आर्थिक वर्षको उक्त अवधिसम्मको कुल बजेट खर्च ६२ दशमलव २४ प्रतिशत बराबर छ । यस वर्ष रु १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याइएकामा सुरुआती दश महिनामा रु ११ खर्ब ५७ अर्ब ८९ करोड बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

खर्चको तुलनामा राजस्व सङ्कलन निकै कम हुँदा यो अवधिमा घाटा बजेट रु दुई खर्ब नाघेको छ । वैशाख मसान्तसम्ममा सरकारले रु नौ खर्ब ४९ अर्ब ७६ करोड बराबर मात्रै राजस्व उठाएको छ, अर्थात् यो अवधिमा सरकारको आम्दानीभन्दा खर्च रू दुई खर्ब आठ अर्ब १३ करोडले बढी छ । चालु आवका लागि सरकारले कुल रु १४ खर्ब ७१ अर्ब ६२ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । हालसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६४ दशमलव ५४ प्रतिशत बराबर हो ।

यस्तै, चालु आर्थिक वर्षका लागि रु ५२ अर्ब ३२ करोड बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको ३० दशमलव आठ प्रतिशत मात्रै लिइएको छ । वैशाख मसान्तसम्ममा रु १६ अर्ब ११ करोड ८९ लाख बराबर वैदेशिक अनुदान भित्रिएको हो ।

कर राजस्वतर्फ रु १२ खर्ब ८४ अर्ब २० करोडको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ६४ दशमलव ५५ प्रतिशत अर्थात् रु आठ खर्ब २८ अर्ब ९४ करोड उठेको छ । यस्तै, गैरकर राजस्वतर्फ रु एक खर्ब ३५ अर्ब नौ करोड उठाउने वार्षिक लक्ष्य रहेकामा हालसम्म ६९ दशमलव दुई प्रतिशत अर्थात् रु ९३ अर्ब ४९ करोड बराबर गैरकर राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती

मुस्ताङ  । मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती गर्न थालिएको छ। कृषिक्षेत्रको प्रवर्द्धन र विकास, स्थानीयको जीविकोपार्जनमा सुधार तथा वातावरणीय दृष्ट्रिकोणबाट स्याउखेती विस्तार समय सान्दर्भिक रहे पनि सरकारी निकायको समन्वयबिनै सार्वजनिक जग्गा र नदी किनारमा स्याउखेती गर्ने क्रम बढेको छ।

जिल्लाका पाँचवटै स्थानीय तहमा समुदाय मिलेर सार्वजनिक जग्गामा स्याउ खेती गर्ने क्रम बढेको हो। समुदायस्तरमै सामूहिक स्याउखेती गरिएको भए पनि सरकारले त्यसबापत पाउने राजस्व, सरकारी अभिलेख र विपद् जोखिम न्यूनीकरणमा भने समस्या र चुनौती देखिएको छ।

घरपझोङ गाउँपालिकाले बिहीबार आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकोप्रति स्थानीयले आलोचना गरे। सार्वजनिक जग्गाको संरक्षण र विकासमा स्थानीय तह सञ्चालन ऐन, २०७४ ले सम्बन्धित स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरे पनि स्थानीय तह र जनप्रतिनिधिले सार्वजनिक जग्गाको रक्षा गर्न नसकेको उनीहरुको गुनासो थियो।

घरपझोङ–२ मार्फाको राजखोला, घरपझोङ–३ स्याङ खोला र घरपझोङ–५ ढुम्बा खोलामा खोलाको धार खुम्च्याएर समुदायस्तरबाटै जग्गा अतिक्रमण भइरहेको नागरिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले बताए। खोला बग्ने धारलाई खुम्च्याएर सार्वजनिक जग्गा अतिक्रमण गरी स्याउखेती र घरटहरा निर्माण गर्दा यसले विपद्को जोखिम निम्त्याएको उनीहरुको भनाइ थियो।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापमान वृद्धि भइरहेको र यसले हिमाल पग्लिने, हिमताल फुट्ने र भेलबाढी आउन सक्ने सम्भावना भएकाले नदी तथा खोला क्षेत्रमा अतिक्रमणका कारण मानवीय र भौतिक जोखिम निम्त्याएको छ। विसं २०८० साउन २८ गते कागबेनीमा आएको बाढीले त्यस क्षेत्रमा क्षति पुगेको थियो।

कागबेनीमा मुक्तिनाथबाट बग्ने कागखोलाको धार अतिक्रमणमा पर्दा त्यहाँ प्राकृतिक विपद्को सामना गर्नुपरेको स्थानीयको गुनासो छ। घरपझोङस्थित मार्फा स्याउ र ढुम्बा खोलाको धार खुम्च्याएर स्याउखेती गर्न जग्गा विस्तार गरिएको छ।

जिल्लाका अन्य पालिकामा पनि नदी क्षेत्र दोहन गर्ने क्रम बढेको छ। जिल्लामा स्याउखेतीको अत्यधिक सम्भावना भए पनि यहाँ सार्वजनिक जग्गा नापी नहुँदा भाडामा दिने प्रक्रियामा जान कानुनी जटिलता छ। त्यसैले सार्वजनिक जग्गा अतिक्रमण गरी स्याउखेती गर्ने होडबाजी चलेको हो। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र त्यस्ता जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएको स्पष्ट पारे। सार्वजनिक जग्गा अतिक्रमण गरेको उजुरी आउने गरेको र त्यसउपर छानबिन र अनुसन्धान गर्ने कार्य भइरहेको उनले जानकारी दिए।

घरपझोमा गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले सार्वजनिक स्थान र नदी क्षेत्रमा जग्गा अतिक्रमण भएको गुनासो आएको बताए। सार्वजिक जग्गा समस्याको विषय भएकाले यसमा देखिएका कमिकमजोरीलाई औँल्याएर जग्गा अतिक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउने उल्लेख गरे।

मध्यरातदेखि गाजामा भएको इजरायली आक्रमणमा ५० जनाको मृत्यु

गाजा सिटी । गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार मध्यरातदेखि प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा ५० जनाको मृत्यु भएको बताएको छ ।

“उत्तरी गाजा पट्टीमा नागरिक घरहरूलाई लक्षित गरेर गरिएको इजरायली गोलाबारीमा मध्यरातदेखि आज बिहानसम्ममा मृतकको सङ्ख्या बढेर ५० पुगेको छ… हाम्रा टोलीहरू अझै ती क्षेत्रहरूमा काम गरिरहेका छन्”, नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैयरले भने ।

उत्तरी सहर बेइत लाहियास्थित इन्डोनेसियाली अस्पतालका एक चिकित्सकले अधिकांश बालबालिका र महिलासहित ३० मृतक र दर्जनौँ घाइतेलाई अस्पतालमा ल्याइएको बताए ।

जबालियाको अल–अवदा अस्पतालका कार्यवाहक निर्देशक मोहम्मद सालेहका अनुसार अस्पतालमा बमबारीले पाँच जनाको मृत्यु भएको छ भने ‘७५ भन्दा बढी घाइते’ भएका छन् ।

“इजरायली कब्जाकारीहरूले मेरो घर नजिकैको घरमा बम हाने, यसका बासिन्दाहरू भित्र हुँदा सिधै प्रहार गरे”, बेइत लाहियाको पश्चिमी अल–सलातिन क्षेत्रका ४० वर्षीय युसुफ अल–सुल्तानले ‘हवाई आक्रमण, तोपखाना गोलाबारी र क्वाडकप्टर ड्रोनहरूबाट गोलीबारी’ को रिपोर्ट गर्दै भने, “नागरिकहरू बीच ठूलो विस्थापनको लहर छ । मध्य रातमा डर र त्रासले हामीलाई समातेको छ ।”

सलमान रुस्दीमाथि घातक आक्रमण गरेका माटारलाई २५ बर्षको जेल सजाय

न्यूयोर्क । न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु आक्रमणमा उपन्यासकार सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा एक अमेरिकी–लेबनानी नागरिकलाई शुक्रबार सजाय हुने भएको छ ।

अमेरिकी–लेबनानी नागरिक २७ वर्षीय हाडी माटारलाई यसै वर्षको फेब्रुअरीमा हत्या प्रयास र आक्रमणको अभियोगमा दोषी ठहर गरिएको थियो ।

माटारले आफूमाथि छुरा प्रहार गरेको र कुटपिट गरेको सुनुवाईको क्रममा रुस्दीले बताएका थिए ।

रुस्दीले भने, “यो मेरो आँखामा छुरा प्रहारबाट चोट लागेको थियो, यो असाध्यै पीडादायी थियो, त्यसपछि दुखाइका कारण म चिच्याएको थिएँ ।

मुद्दाको सुनुवाइका क्रममा धेरै पटक प्यालेस्टाइनको समर्थनमा नारा लगाएका माटरले रुस्दीलाई छ इन्चको धारिलो हतियार (छुरा) ले १० पटक प्रहार गरेको स्वीकारेका थिए ।

यसअघि उनले सञ्चारमाध्यमसँगको कुराकानीमा रुस्दीको ‘द स्याटानिक भर्सेस’का दुई पृष्ठ मात्र पढेको तर लेखकले ‘इस्लाममाथि आक्रमण गरेको’ विश्वास गरेको बताएका छन् ।

सन् १९८९ मा इरानले रुस्दीको हत्याको माग गरेको फतवापछि माटारको कानुनी टोलीले रुश्दीलाई उत्पीडनको सिकार भएको भनी चित्रण नगर्न साक्षीलाई अनुरोध गरेको थियो ।

इरानले आक्रमणकारीसँग कुनै सम्बन्ध नरहेको बताउँदै घटनाका लागि रुस्दी नै दोषी रहेको दावी गरेको छ ।

आक्रमणमा रुस्दीको दाहिने आँखाको ‘अप्टिकल नर्भ’ काटिएको (चोट लागेको) थियो र उनले अदालतसमक्ष भने, “आँखालाई मोइस्चराइज गर्नका लागि बन्द गर्ने निर्णय गरिएको थियो। यो एकदम पीडादायी शल्यक्रिया थियो जुन म कसैलाई यसका लागि सिफारिस गर्दिन।”

आक्रमणबाट रुस्दीको रूद्रघण्टी, कलेजो र सानो आन्द्रामा पनि चोट लागेको थियो र पाखुरामा नशा काटिएपछि (स्नायुमा क्षति पुगेपछि) उनको एउटा हातमा पक्षाघात भएको थियो ।

अहिले ७७ वर्ष पुगेका बेलायती मूलका अमेरिकी रुस्दीलाई माटरको आक्रमणपछि उद्धार गरी अस्पताल भर्ना गरिएको थियो । गत वर्ष उनले ‘नाइफ’ नामक संस्मरण प्रकाशित गरेका थिए, जसमा उनले मृत्युनजिकको अनुभवलाई प्रस्तुत गरेका छन् ।

‘द इलेभेन्थ आवर’ रुस्दीको विषयवस्तु र रुचिका स्थानहरूको जाँच गर्ने लघुकथाहरूको सङ्ग्रह ‘द इलेभेन्थ आवर’ नोभेम्बर ४, २०२५ मा सार्वजनिक गरिने उनको प्रकाशकले मार्चमा घोषणा गरेको छ।

मुम्बईमा जन्मिएका रुस्दी आफ्नो दोस्रो उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ (१९८१) बाट चर्चामा आएका थिए, उक्त उपन्यासले स्वतन्त्रतापछिको भारतको चित्रणका लागि बेलायतको प्रतिष्ठित बुकर पुरस्कार जितेको थियो। तर ‘द शटानिक भर्सेस’ ले रुस्दीलाई अझ बढी अर्थात् सोचेभन्दा बढी ध्यान आकर्षित गर्‍यो ।

रुस्दी विशेष गरी, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र इस्लाम धर्मको अपमान गर्नु कुनै पनि परिस्थितिमा अस्वीकार्य छ भन्ने कुरामा जोड दिनेहरूबीच भीषण रस्साकस्सीको केन्द्र बने ।

विवादका कारण उनका पुस्तक र पुस्तक पसलहरूमा समेत आगो लगाइयो, उनको जापानी अनुवादकको हत्या गरियो र उनको नर्वेली प्रकाशकलाई धेरै पटक गोली हानि मार्ने प्रयास गरिएको थियो।

रुस्दी सन् १९८९ को फतवापछि एक दशकसम्म लण्डनको एकान्तवासमा बसेका थिए तर विगत २० वर्षदेखि उनी न्युयोर्कमा सामान्य रुपमा बस्दै आएका छन् ।

रक्षा सम्झौता पुनःस्थापनाका लागि इयु र बेलायतबीचको विवाद जारी

ब्रसेल्स । आगामी साता ब्रेक्जिटपछि हुन लागेको ऐतिहासिक शिखर सम्मेलनमा रक्षा सम्बन्धहरूलाई थप बलियो बनाउनका लागि माछा मार्ने अधिकार र खाद्य जाँचको मुद्दामा सम्झौताको खोजीमा रहेका युरोपेली सङ्घ (इयु) र बेलायत जोडदार बहस गर्न तयार देखिएका छन् ।

सोमबार लन्डनमा बेलायतका प्रधानमन्त्री किर स्टार्मर र इयुका शीर्ष अधिकारीहरू बीचको बैठक लन्डनको बहुप्रचारित ‘रिसेट’ सम्बन्धबाट पहिलो परिणाम ल्याउने योजना बनाइएको थियो ।

सन् २०२० जनवरी ३१ मा बेलायत इयु ब्लकबाट बाहिरिएपछिका वर्षहरूमा खराब सम्बन्धपछि प्रवाहलाई फेर्ने दिशामा रक्षा र सुरक्षा साझेदारीमा हस्ताक्षर गर्नु एक प्रतीकात्मक कदमको रूपमा हेरिएको छ ।

तर पुराना बानीहरू कठिनसँग मर्छन् र दुवै पक्षहरू पुनर्मिलनलाई रोक्ने धम्की दिने लामो समयदेखि चलिआएका समस्याहरूमाथि अन्तिम समयसम्म झगडा गरिरहेका छन् ।

ब्रसेल्सका कूटनीतिज्ञहरूले इयुले बेलायतबाट केही खाद्यान्न आयातमा नियन्त्रण सजिलो बनाउने बदलामा बेलायतबाट युरोपेली माझीहरूका लागि आफ्नो पानी खुला राख्न वार्ता केन्द्रित रहेको बताएका छन् ।

अन्य अड्चनहरूमा युवाहरूलाई दुई पक्षबीच सजिलै सार्न अनुमति दिने योजनाका लागि इयुको दबाब समावेश छ जुन लन्डनले स्वतन्त्र आवागमनमा फर्कन आफ्नो लक्ष्मण रेखालाई खतरा निम्त्याउने डर छ ।

“उनीहरू सबै कुरा चाहन्छन् र केही दिइरहेका छैनन्”, एक युरोपेली कूटनीतिज्ञले अरुहरू जस्तै नाम नछाप्ने सर्तमा बेलायती अडानबारे गुनासो गरे ।

इयुका प्रमुख उर्सुला भोन डेर लेयन र स्टार्मरले शुक्रबार अल्बानियामा युरोपेली नेताहरूको शिखर सम्मेलनमा वार्तालाई अन्तिम धक्का दिन सक्ने देखिन्छ ।

– ढाँचा –

यदि उनीहरूले अन्तिम बाधाहरू पार गर्न सके भने हस्ताक्षर गरिने ‘सुरक्षा र रक्षा साझेदारी’ लन्डनमा हुने बैठकको प्रमुख आकर्षण हुनेछ ।

रुसबाट खतरा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब युरोपलाई सुरक्षा नदिने भन्ने डर बीच इयु र बेलायत दुवैले पुनः हतियार बनाउन दौडिरहेको अवस्थामा नजिकको सहयोगको ढोका खोल्ने उद्देश्यले यो कदम चालिएको हो ।

यसको अर्थ थप नियमित सुरक्षा वार्ता, बेलायतले इयुका सैन्य मिसनहरूमा सामेल हुने विचार र लन्डनले इयु ब्लकबाट स्थापित एक खर्ब ५० अर्ब युरो (एक खर्ब ६७ अर्ब डलर) रक्षा कोषमा पूर्ण पहुँच पाउने सम्भावना हुनेछ ।

तर यो सम्झौताले पछि भरिने धेरै विवरणहरू छाड्ने अपेक्षा गरिएको छ । उदाहरणका लागि बेलायत र यसको रक्षा उद्योगलाई इयु कार्यक्रमहरूमा निर्बाध पहुँच दिने थप सम्झौताको आवश्यकता पर्दछ ।

“यो अझ बढी सहयोगका लागि एउटा ढाँचा हो”, इयुका अर्का कूटनीतिज्ञले भने ।

सुरक्षा सम्झौतामा पुग्नु वार्ताकारहरूका लागि सबैभन्दा कम झन्झटिलो कामका रूपमा लामो समयदेखि हेरिएको थियो किनकि बेलायतको पहिले नै नाटोमा २३ इयुका देशहरूसँग अन्तरसम्बन्धित रक्षा सम्बन्धहरू छन् ।

ती सम्बन्धहरू ट्रम्पले युक्रेनमा युद्धको शीघ्र अन्त्यका लागि दबाब दिएर युरोपलाई तरङ्गित बनाएपछि मात्र कसिएका छन् ।

कुनै पनि सम्झौताको स्थितिमा सम्भवतः युक्रेनमा सेना तैनाथ गर्ने योजनाको नेतृत्व गर्न बेलायतले फ्रान्ससँग सहकार्य गरेको छ ।

बेलायत सरकारका एक अधिकारीले नाम नछाप्ने सर्तमा रक्षा सम्झौतामा सहमति हुने अपेक्षा गरिएको बताए ।

यस मामिलासँग परिचित अर्का बेलायती अधिकारीले सोमबार वार्षिक शिखर सम्मेलनको शृङ्खलामा पहिलो मात्र भएको कुरामा जोड दिए ।

“अपरिहार्य रूपमा यस शिखर सम्मेलनका लागि सहमति भएका कुराहरू छन्, छलफल जारी राख्न हामी सहमत भएका कुराहरू छन् र हामीले सीमा नाघेका कुराहरू पनि छन्” उनीहरूले भने ।

रक्षा साझेदारीलाई अन्य दुई कागजातसँगै हस्ताक्षर गर्ने परिकल्पना गरिएको थियो ।

एउटाले विश्वव्यापी मुद्दाहरूमा साझा दृष्टिकोण राख्छ र अर्कोले आगामी महिनाहरूमा दुवै पक्षले प्रगति गर्ने आशा गर्ने कठिन विषयहरू सूचीबद्ध गर्दछ ।

इयु विरोधी सुधार बेलायतबाट बढ्दो चुनौतीको सामना गर्ने स्टार्मरका लागि इयुसँगको घनिष्ठ सहयोग राजनीतिक रूपमा विभाजनकारी मुद्दा भएकाले लन्डन र ब्रसेल्स सावधानीपूर्वक अघि बढिरहेका छन् ।

उत्पादनबिनाको वितरणले समस्या निम्तायोः उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै उनले उत्पादन र वितरणबीचको सन्तुलन मिलाएर समाजवादको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकामा जोड दिए।

उत्पादनबिनाको वितरण सम्भव नहुने भएकाले पहिले उत्पादन बढाएर मात्र वितरणमा केन्द्रित हुनुपर्नेमा उनको भनाइ थियो।

‘उत्पादनमा शिथिलता तर वितरणमा प्रतिस्पर्धा र होडबाजीको चलन देखियो। यही कारण हाम्रो राजस्व र चालु खर्चबीच ठूलो खाडल देखिन थालेको छ। हामी लोकिप्रियतावादमा बढी रमाउँदा यस्तो भएको हो। आसेपासे पुँजीवादले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाएको छ’, गुरुङले भने।

यस्तै, राष्ट्रको लगानी पुँजी निर्माणमा हुनुपर्ने र आर्थिक सुशासन कायम गर्नका लागि सुझाव दिँदे उनले शिक्षा क्षेत्रमा आमूल रूपान्तरणको आवश्यकतासमेत औँल्याए। विदेशमा पढ्न जाँदा ठूलो रकम खर्च भइरहेको उल्लेख गर्दै उपसभापति गुरुङले स्वदेशभित्र ठूलो मात्रामा आवासीय विद्यालय स्थापना गर्न आवश्यक रहेको बताए।

उनले स्वास्थ्य क्षेत्रमा सुधारका लागि नयाँ संस्था खोल्नेभन्दा पनि भइरहेका स्वास्थ्य संस्थालाई साधनस्रोत सम्पन्न बनाइनुपर्ने बताए। ‘सङ्ख्या थपेर मात्रै राम्रो स्वास्थ्य सेवा पाउँछ भन्ने हुँदैन। भएका अस्पताललाई सही व्यवस्थापन, पर्याप्त साधनस्रोत र जनशक्ति दिन आवश्यक छ। त्यसतर्फ बजेटले बढी ध्यान पुर्‍याउनुपर्छ’, गुरुङले भने। एकीकृत स्वास्थ्य प्रणाली बनाएर बिरामीको सबै पुराना विवरण तथा तथ्याङ्क थाहा हुने व्यवस्था मिलाउन पनि उनले सरकारसँग आग्रह गरे।

सांसद गुरुङले आगामी आर्थिक वर्षको बजेटले धार्मिक र साहसिक पर्यटनका लागि लगानी केन्द्रित गर्नुपर्ने सुझाव दिए। ‘भौतिक पूर्वाधार निर्माण गर्दा पनि पर्यटन पूर्वाधारसँग जोड्न सक्नुपर्छ। जलविद्युत्का क्षेत्रमा ठूला जलाशययुक्त आयोजना निर्माणलाई बजेटको प्राथमिकतामा राख्नुपर्छ। रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गरी प्राङ्गारिक मल प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गरिनुपर्ने आवश्यकता छ’, उनको सुझाव थियो।

गुरुङले वनमा खेर गइरहेको बहुमूल्य काठ प्रयोगमा जोड दिनुपर्ने, जडीबुटीको उत्पादन, प्रशोधन तथा बजारीकरण गर्नुपर्नेलगायत सुझाव प्रस्तुत गरे।

नेपाल आईसीसी टी–२० विश्वकप एशिया छनोटको ‘सुपर–थ्री’ मा प्रवेश

काठमाडौं । नेपाली महिला टोली आईसीसी टी–२० विश्वकप एशिया छनोटको ’सुपर–थ्री’ मा प्रवेश गरेको छ ।

शुक्रबार हङकङ र बहराइनबीचको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल धेरै जितका आधारमा सुपर–थ्रीमा प्रवेश गरेको हो ।

नेपालले ४ खेलमा २ मा जित, १ मा हार र १ मा नतिजाविहीन हुँदा ५ अङ्क जोडेको थियो । हङकङले ४ खेलमा १ मा जित र ३ मा नतिजाविहीन हुँदै ५ अङ्क जोडेको छ ।

बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अङ्क जोडेर पुछारमा रह्यो । अब नेपालले सुपर–थ्रीमा आगामी सोमबार यूएईसँग र ६ मङ्गलबार थाइल्यान्डसँग खेल्नेछ ।

भोजपुरको पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती, वार्षिक १८ करोडको बिक्री

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् । अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् ।

गाउँपालिकाले व्यावसायिकखेती प्रणालीका लागि आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि किसानलाई सहजता भएको छ । यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले खुर्सानीखेती गरिरहेको कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए । यहाँका करिब ९०० कृषकले व्यावसायिक अकबरे खुर्सानीखेती गरिरहेको उनको भनाइ छ । खुर्सानीखेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएको उनले बताए ।

“अधिकांश किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरिरहेका छन्”, उनले भने, “यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले अकबरे खुर्सानीखेती विस्तार गरेका छन्, गत वर्ष खुर्सानीले राम्रो मूल्य पाएपछि यस वर्ष किसानमा थप हौसला बढेको अवस्था छ ।”

गत वर्ष खुर्सानी बिक्रीबाट करिब १८ करोड भित्रिएको तथ्याङ्क रहेको उनले बताए । यस वर्ष खेती विस्तार बढेकाले खुर्सानीबाट ३० देखि ३५ करोड भित्राउने लक्ष्य रहेको उनको भनाइ छ ।

किसानको राम्रो आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी रहेकाले गाउँपालिकाले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेर प्रोत्साहन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । गाउँपालिकाले आवश्यक सहयोगको कार्यक्रम सञ्चालनले गत वर्षको तुलनामा यस वर्ष खेती विस्तार बढेको उनको भनाइ छ ।

“अकबरे खुर्सानी किसानको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको छ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग गरिरहेको छ, किसानहरु व्यावसायिक खुर्सानीखेतीमा जुटेका छन् ।” कृषिबाट कृषकलाई आयआर्जनमा जोड्न गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ ।

स्थानीय किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत शहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुर्सानी किसानको बगानबाट नै ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । अकबरे खुर्सानीको बिक्रीबाट एक किसानले न्यूनतम एक लाख ५० हजारदेखि रु सात लाखसम्म भित्र्याउने गरेको पौवादुङमा–४ बास्तिमका किसान ध्रुव राईले जानकारी दिए ।

खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि आफूले २० रोपनी क्षेत्रमा खुर्सानी विस्तार गरेको उनको भनाइ छ । यस वर्ष खुर्सानीबाट आठ लाखदेखि १० लाख आम्दानी लिने लक्ष्य रहेको उनले बताए ।

बाह्र रोपनी क्षेत्रमा विस्तार गरेको खुर्सानीखेतीबाट गत वर्ष पाँच लाख आम्दानी गरेको उनको भनाइ छ । “अकबरे खुर्सानी बिक्रीबाट राम्रो आम्दानी गरिरहेको छु”, उनले भने, “अहिले २० रोपनी क्षेत्रमा खेती विस्तार गरेको छु, यस वर्ष आठदेखि रु १० लाख आम्दानी लिने लक्ष्य छ ।”

गाउँपालिकाले पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई खुर्सानीखेतीमा प्रोत्साहन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । किसानलाई आवश्यक प्रोत्साहन गरेसँगै गाउँपालिकाको मुख्य आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी स्थापित भएको उनको भनाइ छ ।

“हामीले पकेट क्षेत्र निर्धारण गरेर विभिन्न खेती प्रणालीमा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भनिन्, “गाउँपालिकाले गरेको लगानीको प्रतिफल आउन थालेको अवस्था छ, यहाँको खुर्सानीलगायतका कृषि उपज बाह्य बजारमा जाने अवस्था बनेको छ ।”

गाउँपालिकाले कृषि एम्बलुेन्स खरिद गरेर यहाँ उत्पादन भएका कृषि उपजको बजारीकरणका लागिसमेत काम गरिरहेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

गाउँपालिकाले खेती प्रणालीमा जोड दिएसँगै अकबरे खुर्सानीखेतीबाट मात्र करोडौँ भित्रिने अवस्था बनेको उनको भनाइ छ । खुर्सानीखेतीको क्षेत्रलाई विस्तारका लागि गाउँपालिकाले यस वर्ष ७५० किसानलाई ७० लाख बढीको मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरिएको अध्यक्ष राईको भनाइ छ ।

यहाँका छवटै वडामा माटो र हावापानी सुहाउँदो व्यावसायिक खेतीका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । “कृषिमा हामीले दूरगामी योजनाका साथ लगानी गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “किसानको मुख्य आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी बनेको अवस्था छ, खुर्सानीखेती विस्तारका लागि यो वर्ष मात्र ७० लाख भन्दाबढीको कृषि सामग्री वितरण गरेका छौँ, गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर थालेको लगानीको स्थानीयले प्रतिफल लिन थालेका छन् ।”

गाउँपालिका–२ तिवारीभञ्याङ, वडा नं ३ च्याङग्रे, वडा नं ४ बास्तिम, वडा नं ५ सानोदुम्मा र वडा नं ६ ठूलोदुम्मामा व्यावसायिक अकबरे खुसार्नीखेती भइरहेको छ ।

यस्तै वडा नं १ श्यामशिलाको वडा कार्यालय मुनिको भूगोललाई आलु, बन्दाकोबी र काउलीको खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किवीखेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

-सङ्गीता राई, धरान (सुनसरी) । पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ ।

बिहानै उठेर गोठ जानुअघि यहाँका किसानहरुलाई बारीको तरकारी स्याहार्ने बानी परिसकेको छ । उत्पादन यति बढेको छ कि अब गाउँलेको तरकारी शहरका हाटबजार पुग्न थालेको छ । आत्मनिर्भरतातिरको यो यात्रा बीउको माटोसँगै सुरु भयो, जसले अहिले गाउँको जीवनशैलीमै परिवर्तन ल्याइरहेको छ, अनि गाउँको जीवनमै मिठास छरिँदैछ । बिहान घाम नउदाउँदै बराहक्षेत्र नगरपालिकाका अधिकांश किसानहरू डोको, हँसिया र बोरा बोकेर बारीतिर लागिसकेका हुन्छन् । यी क्षेत्रका प्रत्येक बारीमा हेर्दा कोही काँक्रो टिप्दै, कोही गोलभेँडा टिप्दै त कोही बोडी, कोपी टिप्दै भने कोही बोराभरि तरकारी बोकेर बजार जाने चटारोको दृश्य भने छुट्टै देखिन्छ ।

हिजोआज त गाउँमा बिहानै पनि बजार जस्तै चहलपहल बढेको छ । त्यहीँ देखिन्छन् ४८ वर्षीया रीता राजवंशी । उनले नौ वर्षदेखि तरकारीखेती गर्दै आएको छ । विगतका दिन सम्झँदै उनी भन्छन्, “१३ वर्षपहिले श्रीमान् विदेशमै हुनुहुन्थ्यो । विदेशमा कमाएर महिनामा २०–३० हजार पैसा घरमा पठाउँदा घर खर्च चलाउन हम्मेहम्मे हुन्थ्यो तर अहिले त हामी गाउँमै बसेर तरकारीखेती गरिरहेका छौँ, श्रीमान् पनि घर फर्केर तरकारीखेतीमै लाग्नुभएको छ । तरकारी बेचेको पैसाले घर खर्च सहजै पुग्ने मात्र होइन, मासिक रु ८० हजारभन्दा बढी बचत गर्न सकेका छौँ ।”

राजवंशी दम्पतीले अहिले तीन बिघा जमिनमा व्यावसायिक तरकारीखेती गरिरहेका छन्, पहिले बारी बाँझो थियो । घरमा काम गर्ने मान्छे पनि हुँदैनथ्यो, थोरै ठाउँमा मकै र कोदो लगाइन्थ्यो खानका लागि त पुग्थ्यो तर नगद पैसा भने हातै पर्दैनथ्यो । “अहिले भने तरकारीले चालचलन नै बदल्यो । दिनहुँ तरकारी बेच्न सकिन्छ थोरै धेरै हातमा पैसा आई नै रहन्छ”, उनी भन्छन् ।

उनको तरकारीबारीमा काँक्रो, बोडी, घिरौँला, कोपी, गोलभेँडालगायत मौसमअनुसारको तरकारी लगाइन्छ । मौसमले साथ दिँदा उत्पादन मनग्ये हुन्छ रीता भन्छन्, “सिँचाइ र मलपानी बेलैमा मिलायो भने गत वर्ष झैँ आठ/नौ लाख रुपैयाँको तरकारी सजिलै बेचिन्छ नि ।” उनका अनुहारमा आत्मविश्वास र खुसीको झल्को भने देखिएको थियो । उनले मुस्कुराउँदै भने, “पहिला लाग्थ्यो पैसा त विदेशमै छजस्तो तर अब त लाग्न थाल्यो पैसा त यही आफ्नै देशकै माटोमै रहेछ, अल्छी चाहिँ गर्नुभएन, खट्नसके पैसा जति पनि कमाइन्छ ।”

राजवंशी परिवार जस्तै बराह क्षेत्रका अधिकांश स्थानीय घरपरिवारका किसानहरू अहिले तरकारीखेतीमै रमाइरहेका छन् । तरकारीखेतीले गाउँमा रोजगारीसँगै आत्मनिर्भरताको बाटो खोलिदिएको छ । एकातिर किसानको पसिना, अनि अर्कोतिर बारीको हरियालीले बराह क्षेत्रमा परिवर्तन मात्र देखिएको छैन, बारीबाट बजारसम्मको यात्रा अनि आत्मनिर्भरतातर्फको यात्रा पनि सुरु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिकालगायत विभिन्न ग्रामीण क्षेत्रहरूमा तरकारीखेती प्रवद्र्धन गर्न कृषि ज्ञान केन्द्र सुनसरीले विविध कार्यक्रममार्फत सहयोग गर्दै आएको सुनसरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले बताए । उनका अनुसार केन्द्रले प्रत्येक वर्ष स्थानीय तरकारी कृषकहरूलाई अनुदानस्वरूप नगद, उन्नत बीउ, सिँचाइ उपकरण, मल तथा विषादी व्यवस्थापनसम्बन्धी तालिम र खेतको माटो परीक्षणलगायतका प्राविधिक सहयोगहरु प्रदान गर्दै आएको छ ।

साथै, कृषक समूह तथा सहकारीहरूसँगको सहकार्यमा नियमित रूपमा तालिम, कार्यशाला र प्राविधिक अवलोकन कार्यक्रमहरूले किसानहरूमा आधुनिक कृषि प्रविधिप्रति चासो बढाएको छ र आत्मविश्वास पनि थपिएको छ ।

श्रेष्ठका अनुसार आधुनिक तरकारीखेतीले बराह क्षेत्रका धेरै किसानहरूलाई आत्मनिर्भर बनाएको छ । दैनिक उपभोगका लागि मात्र होइन, बजारमा बिक्री गरी आम्दानी बढाउने प्रवृत्ति पनि विस्तार हुँदै गएको छ । तरकारी भण्डारण, बजार पहुँच, कीट प्रकोप र मौसमजन्य समस्याहरू समाधान गर्न केन्द्रले छिटो प्रतिक्रिया दिने र निरन्तर परामर्श सेवा उपलब्ध गराइरहेको छ ।

उनले भने, “यस्ता कार्यक्रमहरूको प्रतिफलस्वरूप कृषकहरूको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ जुन समग्र गाउँको आर्थिक रूपान्तरणतर्फको सकारात्मक सङ्केत पनि हो ।”

पहिले बाँझो देखिने सुनसरीको बराह क्षेत्रका धेरै बारीहरू अहिले हरियालीले ढाकिएको छ । अहिले त दिनहुँजसो गाउँका किसानहरू आफ्नै बारीमा फलाएको तरकारी बोकेर हाटबजार पुग्ने गरेका छन् । माटो, पसिना र मेहनतको फलस्वरूप गाउँले जीवनमा आत्मनिर्भरताको स्वरुप परिवर्तन भएको छ । केही वर्षअघि यस क्षेत्रको दृश्य बेग्लै थियो ।

अधिकांश युवा ऋणको भारी बोकेर खाडी मुलुकतिर लाग्थे, गाउँ सुनसान जस्तै हुन्थ्यो, खेतबारी बाँझै तर अहिले वैदेशिक रोजगारी छाडेर थुप्रै युवा गाउँमै फर्किएका छन् । विदेशको तातो घाम छाडेका युवाहरू अहिले आफ्नै खेतबारीको हरियालीमा रमाइरहेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएर बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक रूपमा ‘सुन्दर कृषि फार्म’ सञ्चालन गर्दै आइरहेका छन् । अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले विदेशको अनुभवलाई गाउँमै प्रयोग गरेर उनीहरुले व्यावसायिक तरकारीखेती सुरु गरेका छन् । अमिर र रघुवीर, दक्षिण कोरियामा पाँच वर्ष काम गरेर स्वदेश फर्किए भने छविलाल अफगानिस्तानबाट । उनीहरु तीनैजना स्वदेश फर्किएर २०७४ सालमा फार्म दर्ता गरी डेढ बिघा जमिनबाट रु छ लाखको लगानीमा तरकारीखेती सुरु गरेका थिए । अहिले उनीहरूको तरकारीखेती २० बिघा क्षेत्रमा फैलिएको छ ।

उनीहरुले चार बिघामा काँक्रा, तीन बिघामा टमाटर, एक बिघामा क्याप्सिकम र बाँकी १२ बिघामा बोडी, करेला, लौका, कोभीलगायतका मौसमी अनुसारको तरकारी लगाएका छन् । अमिर भन्छन्, “विदेशको पैसा यतै लगानी गर्दा आम्दानी राम्रो छ गाउँमै रोजगारी पनि दिन सकिएको छ आम्दानी पनि अनि सन्तुष्टि पनि मिलेको छ ।” अर्का सञ्चालक रघुवीरका अनुसार फार्मबाट वार्षिक रुपमा एक करोडको तरकारी बिक्री हुन्छ । मल, तलबलगायत वार्षिक खर्च रु ६० लाख जति हुने गरेको छ । फार्ममा २० जना स्थानीयले रोजगारी पनि पाएका छन् ।

अहिले उत्पादन भएको तरकारी धेरै जसो दमक बिक्रीका लागि व्यापारीले लैजाने गरेको सञ्चालक छविलालले बताए । बाँकी तरकारी भने धरानको कृषि उपज, इटहरी, इनरुवा र बराह क्षेत्रलगायतका स्थानीय बजारमा बिक्रीका हुने गरेको छ । उनीहरुलाई बिक्रीका लागि बजारको समस्या भने छैन, तरकारी खरिदका लागि व्यापारीहरू आफैँ फार्ममा पुग्ने गरेका छन् । सरकारी अनुदान र विभिन्न सङ्घसंस्थाहरुबाट प्राप्त भएको सहयोगका साथै डिजिटल मार्केटिङका कारण पनि कृषिखेती गर्न निकै सहज भएको उनी बताउँछन् ।

स्वदेश फर्किएका यिनै युवाहरूले गाउँमा तरकारीबाट हरियाली मात्र होइन, आत्मनिर्भरताको नयाँ बाटो पनि बनाइरहेका छन् । स्वदेशमै सम्भावना देख्ने सोच पलाएपछि बराह क्षेत्रका बाँझो खेतले नयाँ रूप पाएको छ अनि युवाहरूले आफ्नै गाउँमै रोजगारी । बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशी तरकारीखेतीमा रमाइरहेका छन् । अहिले उनको चार बिघाको बारीमा सागसब्जी, आलु, कोपी, बोडी र गोलभेँडासहित मौसमअनुसारका तरकारी उत्पादन भइरहेको छ । अर्जुन अब एक्लो हुनुहुन्न । उनका चार छोराले पनि यही लयमा उनलाई साथ दिइरहेका छन् ।

अर्जुन चन्द्रवंशीको मुख्य आम्दानीको स्रोत गोलभेँडा खेती हो । उनका छोरा श्रीरामका अनुसार गोलभेँडाबाट मात्रै वार्षिक करिब ३० लाख आम्दानी हुने गरेको छ । उनी भन्छन्, “सुरुमा साग, आलु र कोपी खेती गथ्र्यौं तर पछिल्लो समय गोलभेँडाबाट राम्रो आम्दानी हुन थालेपछि यसतर्फ नै ध्यान दिएका छौँ । मौसमले साथ दिए उत्पादन राम्रै हुन्छ । कहिले टिप्न र बेच्न भ्याइनभ्याइ हुन्छ ।”

गोलभेँडाको माग बजारमा उच्च रहेकाले बजारीकरणको समस्या हुँदैन । धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराजलगायतका ठाउँबाट व्यापारीहरू नियमित रूपमा गोलभेँडालगायत उत्पादन भएको तरकारी किन्न बारीमै आउने गरेका छन् । अर्जुनको परिवारका चार दाजुभाइ मात्र होइन, थप २० जनाले पनि फार्ममा रोजगारी पाएका छन् ।

गाउँमा किसान आत्मनिर्भर बन्न तरकारीखेतीले महत्वपूर्ण भूमिका खेलेको बराहक्षेत्र नगरपालिका कृषि शाखाका प्रमुख तुलसा लिम्बूले बताए । उनका अनुसार अहिले बराह क्षेत्र नगरपालिका क्षेत्रका अधिकांश किसानहरू आफ्नै बारीमा हरियाली तरकारी उत्पादन गर्दै, स्थानीय हाटबजारमै बिक्री गरी राम्रो आम्दानी गरिरहेका छन् ।

“तरकारी उत्पादनले खाद्य सुरक्षा मात्रै होइन, गाउँको आर्थिक संरचना परिवर्तनमा समेत ठूलो योगदान पु¥याएको छ”, लिम्बूले भने । नगरपालिकाले किसानलाई प्राविधिक तालिम, उन्नत बीउबिजन, मल, सिँचाइ सुविधा, प्लास्टिक टनेल निर्माणका लागि अनुदान र बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएको छ । उनी भन्छन्न्छ, “हामीले किसान र कृषक समूहहरूसँग समन्वय गरेर उत्पादनदेखि बजारीकरणसम्मको प्रक्रियालाई व्यवस्थित बनाउन प्रयासरत छौँ ।”

अहिले गाउँमै रोजगारी सिर्जना हुने क्रम बढिरहेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरू पनि कृषि पेसामै फर्कन थालेका छन् । स्वदेशमै बसेर आफ्नै माटोमै पसिना बगाएर राम्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना अहिले गाउँगाउँमा फैलिएको छ । यद्यपि, जलवायु परिवर्तनका असरले कृषकहरूलाई केही चुनौती पनि थपिएको उनको भनाइ छ ।

अनियमित वर्षा, अत्यधिक गर्मी, असिना वर्षालगायतका कारणले बाली नष्ट हुने, रोग कीरा बढ्ने र समग्र उत्पादन घट्ने जस्ता समस्याका कारण किसानको उत्पादन लागत बढ्न गई प्रतिफल अपेक्षाअनुसार नआउँदा कहिलेकाहीँ निराशा आउने गरेको पनि देखिन गरेको लिम्बूले बताए । मौसमअनुकूल बालीको छनोट, प्लास्टिक टनेल, ड्रिप सिँचाइ प्रणाली, जैविक कीट नियन्त्रणलगायत प्रविधिको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ ।