`

हैदराबादको भवनमा सर्ट सर्किटका कारण आगलागी, १७ जनाको मृत्यु

हैदराबाद (भारत) । हैदराबादको गुलजार हाउसमा रहेको भवनमा भएको आगलागीको प्रारम्भिक जाँचबाट कम्तीमा १७ जनाको ज्यान गएको घटनामा शर्ट सर्किटका कारण ठूलो आगलागी भएको देखिएको अग्नि विभागका एक अधिकारीले आइतबार बताएका छन् ।

“प्रारम्भिक जाँचले कारण सर्ट सर्किट भएको देखाएको छ”, तेलङ्गाना विपद् प्रतिक्रिया तथा अग्नि सेवाका महानिर्देशक वाई नागी रेड्डीले भने, “सबै १७ जनाको मृत्यु धुवाँ फोक्सोमा गएकाले भएको हो, कसैलाई जलनका चोटहरू थिएन ।”

गुलजार हाउस क्षेत्रमा कृष्णा पर्ल्स पसल र आवासीय परिसरमा आगलागीको घटना भएको थियो ।

रेड्डीका अनुसार अग्नि विभागले स्थानीय समयानुसार बिहान ६ः१६ बजे कल प्राप्त गरेर ६ः१७ बजे पर्याप्त कर्मचारीहरूसहित ११ वटा दमकल पठाएको थियो… अग्नि विभागले मानिसहरूलाई बचाउन श्वासयन्त्र र अक्सिजन मास्कहरू प्रयोग गर्‍यो ।

“प्राप्त जानकारी अनुसार १७ जनाको ज्यान बचाउन सकिएन… प्रारम्भिक परीक्षणले शर्ट सर्किट कारण रहेको देखाउँछ”, उनले भने ।

“आगो निभाउने र मानिसहरूलाई बचाउने काममा अग्नि विभागमा कुनै कमी थिएन… भवनमा सुरुङजस्तै दुई मिटरको एउटा मात्र प्रवेशद्वार थियो । पहिलो र दोस्रो तलामा पुग्न एक मिटरको एउटा मात्र सिँढी छ । यसले भाग्ने र उद्धार कार्य धेरै गाह्रो बनायो । बिहान ९ बजेतिर आगो नियन्त्रणमा आएको थियो… भवनभित्र कुल २१ जना थिए… मृत्युको कारण धुवाँ सास फेर्नु होस कसैलाई पनि जलनका चोटहरू थिएन”, अग्नि अधिकारीले भने ।

तेलङ्गाना अग्नि विपद् प्रतिक्रिया आपत्कालीन तथा नागरिक सुरक्षाद्वारा जारी गरिएको १७ मृतकको सूचीमा १० वर्षमुनिका आठ बालबालिकाका नाम छन् ।

मुख्यमन्त्री ए रेवन्त रेड्डीले दुर्घटनाप्रति गहिरो शोक व्यक्त गरे र आगलागी घटनामा फसेका परिवारहरूलाई बचाउन सबै आवश्यक उपायहरू अपनाउन शीर्ष अधिकारीहरूलाई निर्देशन दिए ।

उनले घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा सार्न र राम्रो चिकित्सा उपचार प्रदान गर्न आदेश जारी गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ज्यान गुमाएकाहरूप्रति ‘गहिरो दुःख’ व्यक्त गरे । प्रधानमन्त्री कार्यालयका अनुसार उनले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट  दुई लाख (भारतीय रुपैयाँ) र दुर्घटनामा घाइते भएकाहरूलाई रु ५० हजारको अनुदान घोषणा गरे ।

भारतद्वारा ७७ करोड डलरबराबरको बङ्गलादेशबाट हुने आयातमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट आयात हुने विभिन्न श्रेणीका सामानमा तत्काल बन्दरगाह प्रतिबन्ध लगाएको छ ।

व्यापार केन्द्रित अनुसन्धान समूह ग्लोबल ट्रेड रिसर्च इनिसियटिभ (जीटीआरआई) को रिपोर्टअनुसार भारतले भूमि बन्दरगाह (स्थलमार्ग) हुँदै बङ्गलादेशबाट हुने आयातमा लगाएको प्रतिबन्धले ७७ करोड अमेरिकी डलर बराबरको सामानमा असर पार्नेछ, जुन कुल द्विपक्षीय आयातको करिब ४२ प्रतिशत हो ।

केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट विभिन्न श्रेणीका सामानआयातमा तत्काल लागु हुनेगरी प्रतिबन्धको घोषणा गरेको हो ।

यो निर्णयपछि गार्मेन्ट, प्रशोधित खाद्य पदार्थ र प्लास्टिकका सामानजस्ता प्रमुख वस्तुहरू अब समुद्री बन्दरगाहहरूमा मात्र सीमित भएका छन् वा स्थलमार्गबाट पूर्णतया निषेधित भएका छन्।

नयाँ नीतिअनुसार वार्षिक ६१ करोड ८० लाख अमेरिकी डलर मूल्यका बङ्गलादेशी कपडाहरू अब दुई तोकिएका बन्दरगाहहरूबाट मात्र भारत प्रवेश गर्न पाउनेछन्।

यो निर्णयले बङ्गलादेशको भारतमा सबैभन्दा आकर्षक निर्यात च्यानललाई गम्भीर असर पार्ने जीटीआरआईले जनाएको छ ।

भारतीय टेक्सटाइल निर्माताहरूले आफ्ना बङ्गलादेशी प्रतिस्पर्धीहरूले चिनियाँ कपडाको शुल्क–मुक्त आयात र पर्याप्त सरकारी निर्यात अनुदानबाट अनुचित लाभ लिनेगरेको बताएका छन् ।

यी कारणहरूले बङ्गलादेशी निर्यातकर्ताहरूलाई भारतीय बजारमा १०–१५ प्रतिशत मूल्य निर्धारणको लाभ दिन्छ।

जीटीआरआईले आफ्नो रिपोर्टमा भनेको छ, “यी व्यापार उपायहरू अलग–अलग रूपमा देखा परेनन्।”

जीटीआरआईको रिपोर्टमा भनिएको छ, “यो ढाकाले भारतबाट ठूलो सङ्ख्यामा सामान आयातमा प्रतिबन्ध लगाएको र चीनप्रति कूटनीतिक धुरी बनाएकोप्रति भारतको प्रतिक्रियाजस्तो देखिन्छ।

यो कदमलाई बङ्गलादेशका अन्तरिम मुख्य सल्लाहकार मोहम्मद युनुसको विवादास्पद टिप्पणीको प्रतिक्रियाको रूपमा पनि हेरिएको छ।

बङ्गलादेशका प्रमुख सल्लाहकार युनुसले चीनमा दिएको सम्बोधनका क्रममा भारतका उत्तरपूर्वी राज्यहरूलाई ‘भूपरिवेष्ठित क्षेत्र र समुद्रसम्म पहुँच नभएको क्षेत्र’ भनेका थिए । यो टिप्पणीले कूटनीतिक घर्षण निम्त्याएको छ, भारतीय अधिकारीहरूले यसलाई यस क्षेत्रको कनेक्टिभिटी र स्थितिलाई कमजोर पार्ने रूपमा हेरेका छन्।

ढाकाको चीनसँगको बढ्दो निकटतालाई उजागर गर्दै प्रतिवेदनमा सन् २०२४ को मध्यमा शेख हसिनाको भारतसमर्थक सरकारको पतन र मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम प्रशासनको उदयले बङ्गलादेशको बेइजिङसँग सहकार्य गर्ने इच्छा जगाएको उल्लेख गरिएको छ । सन् २०२५ को मार्चमा भएको युनुसको चीन भ्रमणका क्रममा २.१ अर्ब अमेरिकी डलर बराबरको नयाँ लगानी तथा सहयोग सम्झौता भएको थियो । यी सबै घटनाक्रमका साथै टिस्टा नदी विकास जस्ता पूर्वाधार परियोजनाहरूले यस क्षेत्रमा भारतको स्थितिको लागि महत्त्वपूर्ण खतरा खडा गरेको छ।

सन् २०२४ को अन्त्यदेखि बङ्गलादेशले भारतीय निर्यातमा शृङ्खलाबद्ध प्रतिबन्ध लगाएको छ ।

यी प्रतिबन्धले सन् २०२५ को अप्रिलमा पाँच प्रमुख बन्दरगाहबाट भारतीय धागो आयातमा प्रतिबन्ध, चामल ढुवानीमा कडा प्रतिबन्ध र कागज र सुर्तीदेखि माछा र पाउडर दूधजस्ता दर्जनौं भारतीय सामानको आयातमा प्रतिबन्ध समावेश छ । ढाकाले आफ्नो भूमि भएर आवतजावत गर्ने भारतीय सामानमा प्रतिटन १.८ टका प्रति टन ट्रान्जिट शुल्क लागू गरेको छ ।

रिपोर्टमा भनिएको छ, “यी संचयी कार्यहरू, परिचालन ढिलाइ र कडा बन्दरगाह निरीक्षणले भारतीय निर्यातकर्ताहरूलाई बाधा पुर्याएको छ र व्यवस्थित प्रतिक्रियाको लागि अह्वान गरेको छ ।

पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

 

काठमाडौँ । नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो ।

सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ ।

आफ्नो देश विशेष अनुकूलन आवश्यकताहरू पूरा गर्न राष्ट्रिय अनुकूलन योजनाहरू विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तरराष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आह्वान गरिने उल्लेख छ ।

संवादले विकासशील र जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट वित्तीय संयन्त्रका सञ्चालन निकाय र यूएनएफसीसीसी र पेरिस सम्झौताअन्तर्गतका कोषसहित अन्तरराष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासहरूलाई प्रोत्साहित गर्न आह्वान गरेको छ ।

पर्वतीय क्षेत्रहरूमा जलवायु कार्य र दिगो विकासका लागि लक्षित वित्तीय स्रोतहरू परिचालन गर्न पर्वतीय देशहरूको विकासका लागि समर्पित कोष स्थापना गर्ने आह्वानलाई समर्थन गर्ने र मौजूदा तथा नवप्रवर्तनकारी वित्तीय स्रोतहरूको उपयोग गरी पर्वतीय पारिस्थितिक प्रणाली सेवाहरूको मान्यता, सम्मान र पुरस्कृत गर्न प्राथमिकता दिने सगरमाथा कार्य आह्वानमा उल्लेख छ ।

दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारहरूको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष छ ।

संवादले ग्रामीण र सहरी समुदाय दुवैमा सानादेखि ठूला स्तरका पूर्वाधारसम्म हरित, लचिलो र समावेशी विकास प्रवद्र्धन गर्ने महत्त्वलाई स्वीकार गर्र्दै स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र न्यायपूर्ण ऊर्जाको महत्वलाई जोड दिने, स्वच्छ ऊर्जाका साथै हरित, चक्रीय र बायो–अर्थतन्त्रमार्फत भविष्यलाई शक्ति प्रदान गर्ने महत्त्वलाई स्वीकार गरेको छ ।

जलवायुजन्य विपद्हरूलाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानहरूलाई प्रवद्र्धन गर्ने आह्वानमा उल्लेख छ ।

‘क्षेत्रीय जलवायु, मनसुन, क्रायोस्फियर र जनस्वास्थ्यमा गहिरो प्रभाव पार्ने ट्रिपल प्लानेटरी क्राइसिस र अल्पकालीन जलवायु प्रदूषकहरूमा विशेष ध्यान दिई हिमाल र जलवायु परिवर्तन एजेन्डामा संवादलाई प्रोत्साहित गर्दछौं । विकासशील देशहरूको आवश्यकता अनुरूप तथ्याङ्क प्रणालीलाई सुदृढ गर्ने, तथ्याङ्क साझेदारी र अन्तरसञ्चालन सुनिश्चित गर्ने र जलवायु एट्रिब्युशन र पूर्वचेतावनी संयन्त्रहरू विकास गर्ने अत्यावश्यकतालाई स्वीकार गर्दछौं’ सथरमाथा कार्य आह्वानका उल्लेख छ ।

बालबालिका, युवा, महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरूको सक्रिय सहभागितामार्फत समावेशी जलवायु कार्यहरूलाई बढावा दिन र अन्तर–पुस्ता र अन्तर–पुस्ता समानता कायम राख्दै लैङ्गिक सन्तुलन कायम गर्ने आह्वानमा उल्लेख छ ।

पर्वतीय समुदायहरूको आवाजलाई विश्वव्यापी जलवायु प्रक्रियाहरूमा बुलन्द गर्ने उद्देश्यले संवाद, नवप्रवर्तन र सशक्तीकरणका लागि हिमाल र जलवायु परिवर्तनसम्बन्धी बहु–सरोकारवाला अन्तरराष्ट्रिय मञ्चको सिर्जना गर्न आह्वान गरिएको छ ।

आह्वानमा भनिएको छ, ‘स्थानीय र आदिवासी समुदायहरूको जलवायु नीति, कार्यक्रम र कार्यहरूमा, अनुकूलन र संरक्षण पहलसहित भूमिकालाई स्वीकार गर्दछौं । वातावरणीय सेवाहरूको भुक्तानीका लागि संयन्त्रहरू विकास गर्ने आवश्यकतालाई जोड दिने र नवप्रवर्तनकारी जलवायु वित्तपोषण अपनाउन सक्षम बनाउन आह्वान गर्दछौँ ।’

ज्ञान केन्द्रहरू विकास, उत्कृष्ट अभ्यासहरू साझा गर्ने र जलवायु नीति, कार्यक्रम र कार्यहरूमा स्थानीय समुदायहरूको भूमिका बढाउने आवश्यकतालाई जोड दिइएको छ । संवादमा सगरमाथादेखि समुद्रसम्म र उच्च भूभागदेखि टापुसम्म गुञ्जिने गरी तत्काल जलवायु कार्यका लागि साझा आवाज बनाउने संकल्प गरिएको छ ।

मधेश प्रदेशका तत्कालीन मन्त्रीसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमार यादव, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपप्रमुख लीला कुमारी मुक्तानसमेत आठजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारले यादव र थापासहित तत्कालिन उपप्रमुख लिलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना प्रमुख इन्जिनियर निरञ्जन लामिछाने र सागर पौडेल, लेखा अधिकृत विश्वास पोखरेल, मधेश प्रदेश सरकारका तत्कालिन कानुन अधिकृत गोकुल भुजेलविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा उनले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा विजयी हुन शुभकामना गरे ।

अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि २७ एप्रिलसम्म काठमाडौँमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कास्यसहित नेपालले १२ पदक जितेको थियो । प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक प्राप्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस खेल्न लगाइ अवलोकनका साथै उनीहरुसँग आफूूले पनि केहीबेर खेलेर प्रोत्साहन गरेका थिए । साथै प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट उत्कृष्ट र सहभागी खेलाडीहरुलाई आकस्मिकरुपमा नगद पुरस्कार प्रदान गरेका थिए ।

सङ्घका उपाध्यक्ष पूर्णशङ्कर श्रेष्ठले यसरी प्रधानमन्त्रीस्तरबाट टेबल टेनिसलाई पहिलो पटक स्नेह प्राप्त भएकाले यस खेलले भविष्यमा देशलाई राम्रो नतिजा दिने विश्वास व्यक्त गरे ।

सङ्घका सचिव एवं दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताका टोली व्यवस्थापक राजेन्द्रबहादुर दुलालले अन्तरराष्ट्रिस्तरमा टेबल टेनिसमा भाग लिँदा युवा खेलाडीका अभिभावकले आफै शुल्क तिर्नुपर्ने अवस्था अन्त्यका लागि सरकाबाट सहयोग हुनुपर्ने आग्रह गरेका थिए ।

यार्सा सङ्कलनका लागि मुगुका बासिन्दा पाटनतिर

मुगु । मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु भएको छ ।

यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो । गाउँपालिकाका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट सर्वसाधारण यार्सा सङ्कलनका लागि आउने गर्दछन् ।

जिल्लावासीका लागि प्रतिव्यक्ति रु २ हजार र बाहिरी जिल्लाबाट आउने सङ्कलनकर्ताका लागि रु दुई हजार ५०० वन प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाकाले जनाएको छ । जेठ १३ गते वन प्रवेश खुला गरिने भएकाले वन प्रवेशपछि यार्सा सङ्कलनका क्रममा वातावरणमा असर पुग्ने खालका क्रियाकलाप नगर्न सङ्कलनकर्तालाई गाउँपालिकाकाले आग्रह गरेको छ ।

यार्सा सङ्कलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न तथा चोरी नगर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

गाउँपालिकाको वडा नं १ र २ मा रहेका रिर्माण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायतका दुई दर्जन बढी वन तथा पाटनमा यार्सागुम्बा पाइन्छ । वन प्रवेशका लागि गाउँपालिकाले वन प्रवेश शुल्क बुझाएका सङ्कलनकर्ताले जेठ १३ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने छन् ।

विकट उच्च हिमाली भू–भाग सुरक्षामा चुनौती

मुगुम कामारोङ अन्तर्गत पर्ने पाटन क्षेत्रमा सुुरक्षा चुनौतीले अनुमति नलिइ यार्सागुम्बा सङ्कलन गर्न वन प्रवेश गरिसकेका छन् । गाउँपालिकाको निर्णयअनुसार जेठ १३ गतेपछि मात्र यार्सा सङ्कलनका लागि पाटन प्रवेशको अनुमति दिने भनिए पनि यार्सा चोरी गर्ने वन प्रवेश गरिसकेका छन् ।

सुरक्षा चुनौतीसँगै चोरी गर्ने मनसायले यार्सा सङ्कलक समयअघि नै सयौँ जना पाटन क्षेत्रमा प्रवेश गरेका छन् । गाउँपालिकाका स्थानीयका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति, स्थानीय र बाह्य जिल्लाका यार्सा सङ्कलक रातारात पाटन प्रवेश गरी यार्सा सङ्कलनमा लागेका छन् ।

अवैध प्रवेशबारे सूचना आएपछि गाउँपालिका, सुरक्षा निकाय र सरोकारवालाबीच बैठक बसी नियम उल्लङ्घन गर्नेमाथि कडा जरिवाना र कानुनी कारबाहीको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गत वर्ष यार्सा सङ्कलनमार्फत गाउँपालिकाले रु ७१ लाख राजस्व सङ्कलन गरेको थियो । यस वर्ष त्योभन्दा बढी रु ८० लाखसम्म राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

यार्सा सङ्कलनलाई व्यवस्थित गर्न गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालासँगको समन्वयमा अनुमति प्रणाली कडाइका साथ लागू गर्ने जनाएको छ । पछिल्ला केही वर्षदेखि यार्सागुम्बाको परिमाण कमहुँदै गएको स्थानीयको भनाइ छ । यार्साको संरक्षण र व्यवस्थापनमा चुनौती थपिँदै जाँदा पालिकाले नियम पालना गराउन थप सुरक्षा चुनौती थपिएको छ ।

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काभ्रे । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको छ । बनेपा–४ स्थित उक्त डाँडामा बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धको मूर्ति निर्माण गरिएको हो ।

मूर्ति निर्माणका लागि ४० लाख खर्च भइसकेको छ । पर्यटकलाई आकर्षित गर्न नगरकोटको फेदी क्षेत्रमा आर्थिक सहयोगमार्फत मूर्ति निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नमोबुद्ध नगर कमिटीका अध्यक्ष गणेश मोक्तानले बताए । उनका अनुसार उक्त मूर्तिमा बौद्ध धर्मअनुसार लामाले पूजा गरेर प्राण प्रतिष्ठान गरिएको छ ।

नजिकै दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्तिसमेत निर्माण भइसकेकाले धार्मिक सहिष्णुता कायम गर्न पनि बुद्धको मूर्ति निर्माण गरिएको मोक्तानको भनाइ छ । केही वर्षअघि उक्त स्थानमा निर्मित दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्ति एसियाको पहिलो भएको मानिएको छ ।

यस्तै भुइँचालो डाँडालाई धार्मिक एवं पर्यटनको आकर्षक केन्द्र बनाउन ब्रह्माको मूर्ति नजिकै बुद्धको प्रतिमा निर्माण गरिएको स्थानीय बताउँछन् । बुद्धको मूर्ति भएको स्थानमा ‘थेरापी पार्क’ निर्माण प्रक्रिया पनि थालिएको मोक्तानले जानकारी दिए ।

“पार्क निर्माणार्थ बागमती प्रदेश सरकारबाट रु एक करोड ६५ लाख बजेट प्राप्त भइसकेको छ, अब थेरापी पार्कको निर्माण थाल्नेछौँ”, उनले भने । यस स्थानमा विस्तारै अन्य आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दै पर्यटकीय स्थलका रूपमा विकास र प्रवर्द्धन गरिने उनले उल्लेख गरे ।

प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिकता प्रदर्शन गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्न निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा कार्यालय मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महानिरीक्षक थापाले सबै प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

उनले व्यावसायिक कार्यशैली, आन्तरिक सुदृढीकरण एवम् शुद्धीकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह प्रहरी संगठनको प्राथमिकता रहेको बताए ।

उनले नागरिकमैत्री सेवा प्रवाहमा कुनै पनि सम्झौता नगरी संगठनको नीति, निर्देशन र प्राथमिकतालाई मनन गरी व्यावसायिक निष्ठाका साथ कार्यसम्पादन गर्नुपर्ने बताए । उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई सुरक्षित उपत्यकाको अवधारणा अनुरूप कार्य गर्न उनले निर्देशन दिए ।

सभ्य बोलीवचन र शिष्ट व्यवहारका साथ थप संयमित एवम् अनुशासित भई आफूलाई रोलमोडलको रूपमा प्रस्तुत गर्दै सामुहिक भावनामा केन्द्रित भएर प्राप्त जिम्मेवारीलाई नविनतम् ढंगले सम्पादन गर्न उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम राख्न सूचना संकलन तथा विश्लेषणमा थप सक्रिय हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकायसँग सहकार्य तथा समन्वय गर्दै कुनै पनि घटनाहरूको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताए ।

विरोध प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्था गर्न बल प्रयोगको सिद्धान्त अनुरूप थप संवेदनशील भई कार्य गर्नुपर्नेमा जोड दिँदै उनले सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी उचित रणनीति तयार गर्न निर्देशन दिए ।

चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताए ।

हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउँदै फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप सक्रिय हुनपर्ने एवम् ट्राफिक व्यवस्थापनमा देखिएका कमी कमजोरीहरूलाई सम्बोधन गर्दै निष्पक्ष सेवा प्रवाह गर्नुपर्ने उनले बताए ।

सगरमाथा संवाद अन्तर्राष्ट्रिय सङ्गठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याउन सफलः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताएकी छन् ।

गत शुक्रबारदेखि यहाँ जारी सगरमाथा संवादको समापन सत्रमा आइतबार उनले भनिन्, ‘संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीति निर्माता, विज्ञहरू, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तरराष्ट्रिय सङ्गठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको छ ।’

संवादका निष्कर्षको कार्यान्वयन र लक्ष्यित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवशयक पर्ने उल्लेख गर्दै मन्त्री राणाले संवाद एउटा कार्यक्रम मात्र नभइ विचारको सङ्गम र साझा जिम्मेवारीको उत्सव भएको बताइन् ।

उनले भनिन्, ‘सगरमाथाले हाम्रो दृढताको सम्झना गराउँदै अटल उभिएको जस्तै, यो संवादको नतिजाले हामीलाई हाम्रो सङ्कल्पको सम्झना गराओस् ।’

संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उठाइने उनले जानकारी दिइन् ।

उक्त विषय यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन,संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभा तथा यसै वर्ष ब्राजिलमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप– ३० लगायत अन्तर्राष्ट्रिय मञ्चमा उठाइने उनले बताइन् ।

सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा हुने जानकारी परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् ।

एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एक जिल्ला र १३ वटा जनसङ्गठनको अधिवेशन गर्न बाँकी रहेको छ।

एमालेले निर्धारित समयभन्दा ढिलो भइसकेकाले धनुषा जिल्ला र अन्य १३ जनसङ्गठनको अधिवेशन यही महिनाभित्र सक्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए।

विसं २०८१ जेठभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने भनेता पनि अझै धनुषाको अधिवेशन सम्पन्न हुन बाँकी छ। धनुषाको अधिवेशन गत वैशाख २० देखि २३ गते सुरु भए पनि विवादका कारणले रोकिएको छ।

आयोगका अध्यक्ष सुब्बाका अनुसार धनुषाको अधिवेशन यही जेठ ७ गते तोकिएको छ। ‘पार्टी नेतृत्वबाट यही जेठ ७ गते धनुषामा मतदानबाट अधिवेशन सम्पन्न गर्न निर्देश आएको छ’, उनले भने, ‘हामी ७ गतेबाट निर्वाचन प्रक्रिया सुरु गर्छौं।’

यस्तै, एमालेले गत चैत मसान्तसम्म जनसङ्गठनको महाधिवेशन सम्पन्न गर्ने निर्देशन दिए पनि नौ वटा मात्र जनसङ्गठनको महाधिवेशन सम्पन्न भएका छन्।

आयोग अध्यक्ष डा. सुब्बाका अनुसार अनेरास्ववियु, राष्ट्रिय युवा सङ्घ, अखिल नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ लगायतको महाधिवेशन गर्न बाँकी रहेको छ।

उनले ती जनसङ्गठनको महाधिवेशन यही जेठभित्र सम्पन्न गर्ने गरि कार्यतालिका प्रकाशन गरिसकेका छन्। एमालेका २२ जनसङ्गठन रहेका छन्।

यही महिनाको अन्त्यसम्ममा कांग्रेस र एमाले उपसभामुख हटाउने योजनामा छन्ः सांसद सिंह

काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले कांग्रेस र एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने खेलमा लागेका बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले जनजाति महिला भएकै कारण उपसभामुख राना मगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने तयारी गरिएको बताएका हुन् । उनले उपसभामुखलाई हटाउन खोजे त्यो स्वीकार्य नहुने बताए ।

उनले भने,‘यही महिनाको अन्त्यमा कांग्रेस एमाले पार्टीलाई ठूलो बम्पर उपहार पर्दैछ । अब जनजाति महिला उपसभामुखलाई बलि दिने तयारी हुँदैछ । त्यो स्वीकार्य छैन ।’

उनले नेपाली कांग्रेस छानीछानी जनजातीहरुलाई बलि दिने खेलमा लागेको आरोप लगाए । उनले भने, ‘जनजाति भएकै कारण उपसभामुख पदलाई बलि दिन खोजिँदैछ । के कांग्रेसलाई अब जनजाति चाहिँदैन ? कांग्रेसले लोडसेडिङ गर्न तामाङ समुदायका दुई नेतालाई बलिदियो । एउटा कुलमान घिसिङ र अर्का कान्छाराम तामाङलाई । त्यस्तै मधेसी भएको कारणले डा.सङ्गीता कौशललाई सिनियर भएर पनि स्वास्थ्य सचिव बनाए । त्यसैले कांग्रेस जनजाति विरोधी पार्टी हो । ८४ को चुनावमा यिनीहरुलाई मतदाताले डाँडो कटाउनुपर्छ ।’

उनले रेशम चौधरीलाई कांग्रेसले नै पक्राउ गर्न लगाएको आरोप लगाए ।

न्यायपालिकाले कानुनको प्रक्रिया मिच्न थालेको जनगुनासो बढ्योः सांसद गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकाले कानुनको प्रक्रिया मिच्न थालेको जनगुनासो बढेको बताएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद गौतमले न्यायपालिकाको कामकारबाहीप्रति प्रश्न उठ्नु गम्भीर विषय भएको बताइन् ।

सांसद गौतमले अदालतमा अनौठो र गैरसंवैधानिक परिदृष्य देखिन थालेको बताइन् । अदालतले थुनामा रखेका व्यक्तिलाई जानकारी नै नदिइ पेसी तोक्नुले जटिल प्रश्न उब्जिएको बताइन् । सूचना दिएर मात्रै पेसी राख्ने प्रक्रिया अदालतले मिच्न थालेको उनले बताइन् ।

पार्टी सभापति रवि लामिछाने सम्बन्धित मुद्दामा थाहै नदिई पोखराको उच्च अदालतले एकफर्ती सुनुवाई गरेको सन्दर्भ उल्लेख गर्दै उनले भनिन्, उनले भनिन्, ‘व्यक्तिको बारेमा फरक फरक धारणा हुन सक्छन्, तर विधि मिचिएको विषय सबैको साझा सरोकार हुनुपर्छ । मुद्दाको एउटा पक्षले विपक्षीको जिकिर सुन्न नपाउने कस्तो खाले सुनुवाइ हो ? विपक्षीलाई जानकारी दिएर पेशी तोक्नुपर्नेमा त्यसो किन गरिएन ? यसरी न्यायपालिकाबाटै गैरकानूनी तरबारबाट व्यक्तिको हत्या भयो भने के अवस्था आउला ?’

रास्वपा सभापति लामिछानेलाई जानकारी नदिइ उच्च अदालतले पेसी राखेको विषय बाहिर आएको थियो ।

राष्ट्रिय सहमतिको सरकार गठनका लागि कांग्रेस सांसद गौतमको माग

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकार सरकार जसरी नचलेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद गौतमले सरकार सरकारजसरी चलेको अनुभूति गर्न नसकेको बताएका हुन् ।

उनले भने, ‘अहिले जुन सरकारमा छौँ । कांग्रेस र एमाले मिलेर सरकार बनाइएको छ । सरकार सरकारजसरी चलेको अनुभूति गर्न सकेको छैन । संसद जसरी चल्नुपर्ने हो, जसरी जनताका समस्या रिफ्लेक्ट भएर भाइब्रेसन हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।’

गौतमले जनतालाई आशावादी बनाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए ।उनले निश्चित दूरीसम्म राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्न सकेमात्रै अहिले देखिएका यावत समस्या समाधान गर्न सकिने बताए ।

संघ र प्रदेशमा गरेर ८ सरकार र ८ संसद भएपनि ती सँग जनता आशावादी नभएकाले उनीहरूलाई आशावादी बनाउने कार्यक्रम ल्याउने सहमतिको आवश्यकता रहेको गौतमले बताए ।

भारतीय अभिनेत्री नोराको जादुमयी प्रस्तुतिले हजारौँ नेपाली दर्शक मन्त्रमुग्ध

काठमाडौँ । भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी प्रस्तुतिमार्फत हजारौँ नेपाली दर्शकलाई मन्त्रमुग्ध पारिन् ।

पहिलोपटक नेपाल आएकी अभिनेत्री फतेहीले कार्यक्रममा नेपाली कला र आतिथ्यताको बारम्बार प्रशंसा गरिन् । उनले नेपाल र नेपालीबाट आफ्ना गीतले पाएको अपार माया आफ्ना लागि ऊर्जाको स्रोतसहित अविस्मरणीय रहेको बताइन् ।

“नेपाली कलाकारहरूले मेरा गीतमा गर्नुहुने नृत्य प्रस्तुतिसँग राम्रोसँग परिचित छु र उहाँहरूका ‘डान्स क्लिप’हरू पनि हेर्ने गर्छु । मेरा केही नेपाली साथीहरू पनि छन्, मलाई नेपालबाट प्राप्त हुने मायाकाबारेमा उहाँहरूले पनि भन्नुहुन्छ”, अभिनेत्री फतेहीले भनिन् ।

प्रस्तुतिका क्रममा उनले अप्रत्याशित रूपमा नेपाली कलाकार सुशान्त खत्रीलाई मञ्चमा बोलाएर सबैलाई चकित परिन् । त्यसो त कलाकार खत्रीको आगमनबारे दर्शकसँगै आयोजक पनि बेखर थिए ।

‘मेरो नेपाली साथी जो, धेरै प्रतिभावान् छन्’ भन्दै अभिनेत्री फतेहीले कलाकार खत्रीलाई मञ्चमा स्वागत गरिन् । दुवैले ‘गेहरा समन्दर’ गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दा ‘हुटिङ’ सहित दर्शकले तालि बजाएर धन्यवाद व्यक्त गरेका थिए ।

यतिमात्र नभई सामाजिक सञ्जालमा आफ्ना श्रव्यदृश्य तयार पार्ने (कन्टेन्ट क्रिएटर आर्टिस्ट) गौरव सिटौलालाई दर्शककै भिडमा चिनेर अभिनेत्री फतेहीले मञ्चमा लगिन् । उनले दुईले ‘दिलवर’ मा प्रस्तुति दिए । अभिनेत्री फतेहीका गीतहरूमा आकर्षक र ऊर्जावान् प्रस्तुतिसहितको श्रव्यदृश्य तयार गरेर सामाजिक सञ्जालमार्फत सिटौलाले सार्वजनिक गर्दै आएका छन् ।

“म अभिनेत्री फतेहीको ठूलो प्रशंसक हुँ । मैले उहाँको हरेक गीतको नृत्यलाई मञ्च वा श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छु । आजसँगै नाच्न पाउँदा निकै उत्साहित छु”, सिटौलाले भने । आफ्नो २३ सदस्यीय नृत्य टोलीसँग करिब ४० मिनेटसम्म अभिनेत्री फतेहीले लोकप्रिय गीतमा ऊर्जावान् प्रस्तुति दिइन् । उनी आफैँले गाएको ‘स्नेक डान्स’ बाट प्रस्तुतिको सुरुवात गर्दै ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता गीतहरूमा दर्शकलाई नचाइन् ।

“नेपालमा दर्शकले देखाउनुभएको माया र आतिथ्यताले मलाई झनै ऊर्जा थपिएको छ । यहाँ मैले निकै माया पाएकी छु, यो सुन्दर देशका मानिस पनि सुन्दर छन्”, फतेहीले आफ्नो अनुभव सुनाइन् ।

यही जेठ ३ गते शनिबार बिहान आफ्ना दुई सहयोगीसहित काठमाडौँ आइपुगेकी अभिनेत्री फतेही आइतबार बिहान संयुक्त अरब इमिरेटस् प्रस्थान गरिन् ।

कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ कार्यरत सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगका वल्र्डवाइड फिल्मस्का देव मगर र मनु मिडियाका मनिष कार्कीले आयोजना गरेका हुन् ।

कार्यक्रममा अभिनेत्री फतेहीका साथै नेपाली कलाकारहरू गायक दुर्गेश थापा, प्रतिभाशाली नृत्याङ्गना तेरिया मगर र समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट पाँच कलाकार प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई तथा इन्द्रकला राईले पनि आ–आफ्नो प्रस्तुति दिए ।

भारतीय र नेपाली कलाको यो सुन्दर संयोजनले कार्यक्रमलाई थप आकर्षक, मनोरञ्जक र अविस्मरणीय बनाएको थियो ।

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताएका छन् । यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो ।

तीस दिनसम्म बिना शर्त युद्धविराम गर्न रुसलाई दबाब दिँदै आएका ट्रम्पले सोमबार पुटिनसँग फोनमा कुरा गर्ने बताएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी तास समाचार एजेन्सीलाई फोनवार्ताको ‘तयारी भइरहेको’ बताए ।

यसअघि शनिबार क्रेमलिनले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको बैठक दुवै पक्षले सहमतिमा पुगेपछि मात्र सम्भव हुने बताएको थियो ।

दुई देशबीचको प्रत्यक्ष वार्ताले कैदीहरूको अर्को आदानप्रदानका लागि सम्झौता गरेको एक दिनपछि क्रेमलिनको यो भनाइ आएको हो ।

शनिबार बिहान युक्रेनको पूर्वी सुमी क्षेत्रमा विस्थापित नागरिकहरू बोकेको मिनीबसमा रुसी ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै र रुसले अहिलेसम्म युद्धविराम गर्न अस्वीकार गरेकोमा मस्कोविरुद्ध नयाँ प्रतिबन्धहरूको आह्वान दोहोर्‍याए ।

“कडा प्रतिबन्धबिना, रुसमाथि बलियो दबाबबिना, त्यहाँ वास्तविक कूटनीति हुनेछैन”, उनले भने ।

आइतबार बिहान किएभ क्षेत्रका स्थानीय अधिकारीहरूले ओबुखिभ जिल्लामा ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको जानकारी दिए ।

किएभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख माइकोला कलास्निकले टेलिग्राम पोस्टमा एक निजी घरमा भएको आक्रमणमा एक महिला, एक पुरुष र चार वर्षीय बच्चा घाइते भएको लेखेका छन् ।

मस्कोको पूर्णस्तरको आक्रमणको केही समयपछि सन् २०२२ फेब्रुअरीमा भएको वार्तापछि इस्तानबुलमा शुक्रबार भएको पहिलो प्रत्यक्ष युक्रेन–रुस वार्तामा प्रत्येकले एक हजार कैदी आदानप्रदान गर्न सम्झौता गरेका थिए ।

युक्रेनका शीर्ष वार्ताकार रक्षामन्त्री रुस्तेम उमेरोभले ‘अर्को कदम’ जेलेन्स्की र पुटिनबीचको बैठक हुने जानकारी दिए ।

– ट्रम्पद्वारा रक्तपातको निन्दा –

रुसले यो अनुरोधलाई ध्यानमा राखेको बताएको छ ।“हामी यसलाई सम्भव ठान्दछौँ, तर कामको परिणाम र दुई पक्षबीचको सम्झौताका रूपमा निश्चित परिणामहरू प्राप्त गरेपछि मात्र”, क्रेमलिनका प्रवक्ताले भने ।

रुसका शीर्ष वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मस्को र किएभले ‘सम्भावित भविष्यको युद्धविरामको आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने’ बताए तर कहिले भन्ने बताएनन् ।

क्रेमलिनले पहिले युद्धबन्दीहरूको आदानप्रदान पूरा गर्नुपर्ने र अर्को चरणको वार्ता तय गर्नुअघि दुवै पक्षले युद्धविरामका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताएको छ ।

“अहिलेका लागि हामीले प्रतिनिधिमण्डलहरू हिजो टर्कीमा सहमत भएका कुराहरू गर्न आवश्यक छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, “जसको अर्थ एक हजारका लागि एक हजार आदानप्रदान पूरा गर्नु हो ।”

युक्रेनका सैन्य गुप्तचर प्रमुख किरिलो बुदानोभले प्रसारणकर्ता टिएसएनलाई अर्को हप्ता कैदी आदानप्रदान हुने आशा गरेको बताए ।

शनिबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले उनी सोमबार पुटिनसँग ‘रक्तपात’ बाट बाहिर निस्कने उपाय खोज्नबारे छलफल गर्न कुरा गर्ने बताए ।

त्यसपछि युद्धविराम हुने र यो अत्यन्त हिंसात्मक युद्ध… अन्त्य हुने आशा व्यक्त गर्दै उनले जेलेन्स्की र नाटो अधिकारीहरूसँग कुरा गर्ने बताए ।

मस्को र वासिङ्टन दुवैले पुटिन र ट्रम्पबीचको द्वन्द्वबारे बैठकको आवश्यकतामाथि जोड दिएका छन् ।

ट्रम्पले पुटिनलाई आमनेसामने नभेटेसम्म द्वन्द्वमा ‘केही हुने छैन’ भन्ने तर्क दिएका छन् ।

– वास्तविक प्रगति –

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको टेलिफोन वार्तामा पछिल्लो कैदी आदानप्रदानको स्वागत गरेका छन् ।

सिबिएसलाई दिएको अन्तर्वार्तामा उनले लाभरोभले आफूलाई मस्को युद्धविरामका लागि आफ्ना आवश्यकताहरू उल्लेख गरिएको दस्तावेज तयार गरिरहेको बताएको जानकारी दिए ।

“यदि रुस र मस्को दुवैले ‘गम्भीर र व्यावहारिक’ प्रस्तावहरू प्रदान गर्न सक्छन् भने ‘त्यहाँ वास्तविक प्रगति भएको छ र हामी त्यसमा काम गर्न सक्छौँ’”, रुबियोले भने ।

बसमा भएको आक्रमण बिलोपिल्ल्या सहर नजिकै भएको स्थानीय समुदायका प्रमुख युरी जार्कोले सुस्पिलेन टिभीलाई बताए । अधिकारीहरूका अनुसार मृतकहरूमा तीन जनाको परिवार रहेको थियो ।

अन्यत्र युद्धभूमिमा रुसी सेनाले आफ्ना सैनिकहरूले पूर्वी डोनेट्स्क क्षेत्रमा ओलेक्सान्द्रोपिल गाउँ कब्जा गरेको बताएको छ । त्यहाँ सबैभन्दा तीव्र लडाइँ भइरहेको छ ।

जेलेन्स्कीले वार्ताका लागि टर्की जान अस्वीकार गरेपछि पुटिनलाई ‘डराएको’ आरोप लगाए र रुसले वार्तालाई गम्भीरताका साथ लिएको छैन भनी तर्क गरे ।

“हिजो इस्तानबुलमा सबैले कुनै महत्त्वपूर्ण शक्ति नभएको कमजोर र तयारीबिनाको रूसी प्रतिनिधिमण्डल देखे । यो परिवर्तन हुनुपर्छ । हामीलाई युद्ध अन्त्य गर्न वास्तविक कदमहरू चाहिन्छ”, जेलेन्स्कीले शनिबार भने ।

जेलेन्स्कीले शुक्रबार इस्तानबुल वार्ता असफल भएमा नयाँ प्रतिबन्धहरूसहित विश्वबाट ‘कडा प्रतिक्रिया’ को आह्वान गरेका थिए ।

मस्कोले ‘बिना शर्त युद्धविराम’ अस्वीकार गर्न जारी राखेमा युरोपेली राष्ट्रहरूले थप प्रतिबन्धहरूमा वासिङ्टनसँग समन्वय गरिरहेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बताए ।

शनिबार जेलेन्स्कीले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग रुसविरुद्ध नयाँ र प्रभावकारी प्रतिबन्धका बारेमा कुरा गरेको बताए ।

इस्तानबुल वार्ताका क्रममा युक्रेनी पक्षले रुसले ‘अस्वीकार्य’ क्षेत्रीय मागहरू गरेको बताएको थियो ।

मस्कोले सन् २०२२ को आक्रमणपछिको चार र सन् २०१४ मा कब्जा गरेको दाबी गरेको क्रिमियासहित पाँच युक्रेनी क्षेत्र दाबी गरेको छ ।

वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्न सुझाव

काठमाडौँ । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले तीव्र सहरीकरण र जनसङ्ख्या वृद्धिका कारण वायुको गुणस्तर खस्किएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता औल्याएकी छन् ।

यही जेठ २ गतेदेखि सुरु भएको सगरमाथा संवादको तेस्रो दिन आइतबार  आयोजित ‘जलवायु न्याय कार्य र दिगो विकासमा वित्तीय चुनौतीको समाधान’ विषयक उच्चस्तरीय सत्रमा उनले वायुप्रदूषणले नागरिकको औसत आयु घटेकाले यसको समाधानमा सबै लाग्नुपर्नेमा जोड दिइन्।

“वायुप्रदूषण हाम्रो समयको सबैभन्दा जटिल विकास चुनौतीमध्ये एक हो, जसले हाम्रो क्षेत्रको स्वास्थ्य, वातावरण र अर्थतन्त्रलाई गहिरो रूपमा असर गरिरहेको छ”, राज्यमन्त्री विकले भनिन्, “दक्षिण एसिया विश्वव्यापी वायुप्रदूषणको केन्द्रबिन्दु बनेको छ र यसका धेरै सहरहरू विश्वका सबैभन्दा प्रदूषित सहरहरूमा गनिन्छन् ।”

उनले नेपालले यस सङ्कटलाई सम्बोधन गर्न कम कार्बनयुक्त सार्वजनिक यातायातको प्रवर्द्धन, कडा उत्सर्जन मापदण्डको कार्यान्वयन र विद्युतीय गतिशीलताको विकासलगायतका कदमहरू चालेको अवगत गराइन् ।

“काठमाडौँ उपत्यका वायुप्रदूषण व्यवस्थापन कार्ययोजना (२०२०) र राष्ट्रिय वातावरण नीति (२०१९) ले सरकारको रणनीतिक प्रतिक्रियालाई झल्काएको बताउँदै वातावरण विभागले वास्तविक समयमा वायु गुणस्तर अनुगमनलाई पनि विस्तार गरेको र यसले गर्दा तथ्याङ्क सर्वसाधारणका लागि पहुँचयोग्य भएको उल्लेख गरिन् ।

“वन डढेलोले पनि वायुप्रदूषणमा योगदान पुर्याइरहेको छ, मानिसहरू गाउँ छोड्दै गएका छन् र वनको उचित व्यवस्थापन हुन नसकेका कारण बाँकी रहेको जैविक पदार्थले वन डढेलोलाई बढावा दिइरहेको छ”, उनले भनिन्, “यसले गर्दा गम्भीर वायुप्रदूषण भइरहेको छ । यो नयाँ खतरालाई हाम्रो फराकिलो वायु गुणस्तर रणनीतिहरूमा तत्काल ध्यान दिन आवश्यक छ ।”

वायुप्रदूषण एक सीमापार मुद्दा पनि भएकाले यसलाई साझा तथ्याङ्क, नीति र उत्कृष्ट अभ्यासमार्फत बलियो क्षेत्रीय सहयोगको आवश्यकता पर्ने उनको भनाइ थियो । राज्यमन्त्री विकले तालिम, क्षेत्रीय कार्यशाला र सरोकारवालाहरूको संलग्नतामार्फत संस्थागत र प्राविधिक क्षमता निर्माण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताइन् ।

उनले भनिन्, “हामीले दिगो लगानी सुनिश्चित गर्नुपर्छ । विकास साझेदारहरू, परोपकारी संस्थाहरू र बहुपक्षीय बैंकहरूले दीर्घकालीन र विस्तारयोग्य समाधानलाई समर्थन गर्नुपर्छ ।”

माओवादी सांसदको व्यंग्यः झ्यापझ्याप बत्ती जानु सरकारको आयुको सङ्केत हो ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले पछिल्लो समय झ्याप झ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो भन्दै प्रश्न गरेकी छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद राईले पछिल्लो समय लाइन काटिएको विषय उठाउँदै सरकारको आयुको सङ्केतसँग तुलना गरेकी हुन् । उनले भनिन्, ‘आजभोलि झ्यापझ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?’

बैठकमा माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ दोङले पनि लोडसेडिङका कारण नेपाली जनता अँध्यारोमा बस्नुपरेको बताए ।

उनले कुलमान घिसिङलाई बर्खास्त गरेपछि देशभर लोडसेडिङ हुन थालेको भन्दै ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।

उनले प्रश्न गरे,‘के अब जनता लोडसेडिङमा बस्नुपर्ने हो ? सरकार, उर्जा मन्त्रालय र विद्युत प्राधिकरणको गम्भीर बनुन् ।’

ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भिर ओझेलमा परेको छ । प्रचारप्रसार अभावमा यो ऐतिहासिक धार्मिक क्षेत्र ओझेलमा परेको हो ।

गोल्मे राजा, गोल्मे रानीको किंवदन्ती जोडिएको यो ऐतिहासिक क्षेत्रले चर्चा पाउन नसकेको स्थानीयवासी पाण्डव राईले बताए । परापूर्वकालमा यो क्षेत्रमा गोल्मे राजा र गोल्मे रानीको बिहेका क्रममा बेहुलाबेहुलीसहित जन्ती अलप भएकाले यस स्थानको नाम ‘गोल्मे राजा, गोल्मे रानी भिर’ रहन गएको धार्मिक कथन रहेको उको भनाइ छ ।

अहिले पनि यहाँ जन्तीजस्तै आकारका लहरै ढुङ्गा, राजारानीको आकृति, बिहेमा प्रयोग भएका बाजागाजा, ढोला झ्याम्टा, राजारानी सवार घोडाको आकृति स्पष्ट रूपमा देख्न सकिने उनले बताए । ‘गोल्मे राजा, गोल्मे रानी एक ऐतिहासिक धार्मिक क्षेत्र हो’, उनले भने,’धेरै मानिसले यस स्थानको नाम सुनेको हुनुपर्छ । तर यो स्थानको धार्मिक महत्वसँगै ऐतिहासिक किंवदन्तीको विषयमा हामीले प्रचारप्रसार गर्न नसक्दा गुमनाम छ ।’

उदयपुरको चौडण्डीगढीबाट गोल्मे राजा, गोल्मे रानीले बिहेको जन्ती लिएर धनकुटाको राजारानी पुर्याउने क्रममा यो स्थानमा आइपुग्दा कलियुग सुरु हुँदा राजारानीसहित जन्तीहरू अलप भएको किंवदन्ती रहेको स्थानीवासी राजेन्द्र राईले बताए । यहाँ रहेका ढुंगाका आकृतिले किंवदन्तीमा भनिएका कुरालाई पुष्टि गर्न मद्दत गर्ने उनको भनाइ छ ।

यहाँ पापद्धार, धर्मद्धार, बन्दुकको आकृति देखिने बन्दुके गहिरा, खड्कुले, गुन्टे ढुंगा, मालिगाईको आकृतिलगायत देख्न सकिने उनको भनाइ छ । यहाँ गोल्मे राजा र गोल्मे रानीका आकृतिका दुई ठूला ढुंगा रहेको रामप्रसादराई- ६ का वडाध्यक्ष एकराज आचार्यले बताए । यो ऐतिहासिक धार्मिक क्षेत्र प्रचारप्रसार अभावमा ओझेलमा परेको उनको भनाइ छ । यो क्षेत्रको विकाससँगै प्रचारप्रचारमा स्थानीय सरकारले जोड दिएको अध्यक्ष आचार्यले बताए ।

‘गोल्मे राजा, गोल्मे रानी क्षेत्र ओझेलमा परेको छ,’ वडाध्यक्ष आचार्यले भने,’यो स्थानको देशविदेशमा जति चर्चा हुनुपर्ने त्यो हुन नसकेको अवस्था छ । स्थानीय सरकारले यो क्षेत्रको संरक्षणसँगै यहाँको ऐतिहासिक तथ्य तथा धार्मिक महत्वको विषयमा खोजी गरिरहेको छ ।’

गोल्मे राजा, गोल्मे रानीको काखमा अर्को धार्मिक गङ्गा खोलाको मुहान रहेको अध्यक्ष आचार्यले बताए । ढुंगाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहानमा कहिले पनि पानी नसुक्ने अध्यक्ष आचार्यको भनाइ छ । यो स्थानमा दर्शन गरेर मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजन आउने उनको भनाइ छ ।

देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय यो स्थल भौगोलिक विकटताका कारण पनि ओझेलमा परेको उनको  भनाइ छ । गोल्मे राजारानी भिरको काखमा रहेका सबै मुहान कहिले नसुक्ने, वर्षात्को समयमा धमिलो नहुने तथा मुहानहरू दक्षिणबाट उत्तरतर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष आचार्यले बताए ।

पानीका मुहान नै दक्षिणबाट उत्तरतर्फ बग्ने भएकाले सबैलाई अचम्मित बनाउने उनको भनाइ छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर गोल्मेसम्म पुग्ने पदमार्ग निर्माण गर्ने योजना रहेको उनले बताए । वडाभित्र पर्ने सम्पूर्ण पयर्टकीय क्षेत्रको एकीकृत विकासका लागि सरकारको माथिल्लो निकायसँग पहलकदमी गरिरहेको वडाध्यक्ष आचार्यले बताए ।

न्युयोर्कस्थित ब्रुकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्कियो

सिएनएन । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किएको छ । शनिबार राति इस्ट नदीको पुलको तल्लो भागमा मेक्सिकन नौसेनाको जहाज ठोक्किएको सिएनएनले जनाएको छ ।

पुलमा ठोक्किएपछि जहाजमा सवार १९ जना घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर छ । जहाजले ठक्कर दिएपछि पुलमा करिब एक घन्टा सवारी आवागमन रोकिएको थियो ।

निरीक्षण गर्दा पुलमा क्षति नपुगेको भन्ने निश्चित भएपछि यातायात पुनः सुरू भएको छ । मेक्सिकोको नौसेनाले जहाज पुलमा ठोक्किएको जानकारी एक्समार्फत दिएको छ । जहाजमा २७७ जना सवार थिए।

सगरमाथा संवादमा इलामे चियाको स्वाद

काठमाडौं । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका प्रतिनिधि तथा राजदूतहरूका लागि ‘रिट्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो ।

मन्त्रालयले प्रायः हरेक वर्ष गर्ने यो कार्यक्रम यसपटक पूर्वी इलामको श्रीअन्तुमा आयोजना गरिएको थियो । नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूका लागि आयोजित सो रिट्रिटमा इलामका चिया बगान र अन्तु पुगेका राजदूतहरूले अन्तु डाँडाबाट यस वर्षको पहिलो दिनको सूर्योदय पनि बडो चाखपूर्वक हेरेका थिए ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नेतृत्वमा त्यहाँ पुगेका राजदूतहरूले विभिन्न जातजातिका वेशभूषामा सजिने, चियाबगानमा तस्बिर खिचाउने तथा कतिपयले त कन्यामका विभिन्न स्थानमा घोडचडीमा समेत रमाएका थिए । त्यहाँ बेलायत, जापान, अष्ट्रेलिया, युरोपेली युनियनलगायत १५ देशका राजदूत एवं मिसन प्रतिनिधि र विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रतिनिधिहरू पनि थिए ।

परराष्ट्र मन्त्रालयद्वारा आयोजित यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र इलामको सूर्याेदय नगरपालिकाले सहयोग पनि गरेका थिए ।

खासमा नेपालस्थित विदेशी मिसनका प्रमुख र प्रतिनिधिहरूलाई नेपालका पर्यटकीय स्थान, कला, संस्कृति र सम्पदाहरूको परिचय दिलाउने र त्यसमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्रालयले यस प्रकारको कार्यक्रम आयोजना गर्ने गरेको छ ।

यसपटक उनीहरूका लागि इलाममा प्रमुख दुई आकर्षक चिया टिप्ने प्रतियोगिता र ताजा चिया चाख्ने (टि टेस्टिङ) कार्यक्रम पनि राखिएको थियो ।

अन्तुको चिया बगानमा कूटनीतिज्ञहरू चिया टिप्ने प्रतियोगितामा सहभागी पनि भए र सबैभन्दा बढी चिया टिप्नेले पुरस्कार पनि पाए । त्यसपछि त्यसै दिन अर्थात् गत चैत ३१ गते अपराह्न टि टेस्टिङ कार्यक्रममा मन्त्री डा राणासहित सबै कूटनीतिज्ञहरू सहभागी हुनुभयो । त्यस क्रममा उनीहरूले चिया बगानको बडो स्वादिलो र स्वस्थ चिया पिउन पाएको अनुभव पनि आदानप्रदान गरेका थिए ।

सूर्योदय नगरपालिकाको संयोजनमा भएको सो कार्यक्रममा त्यहाँका स्थानीय चिया उद्यमीहरूको पनि सहभागिता थियो । उपस्थित कूटनीतिज्ञ एवं पाहुनाहरूलाई ताजा तथा विविध थरि र स्वादका चिया उपलब्ध गराएका थिए ।

स्थानीय जनप्रतिनिधि एवं उद्यमीहरूले त्यहाँ उपस्थित परराष्ट्रमन्त्री डा राणालाई नेपाली चियाको प्रवर्द्धन गर्न र यसको बजारलाई मुलुक बाहिर विस्तारका लागि सहयोगका लागि आग्रह गर्न भने छुटाएनन् ।

संयोगवश सरकारले सगरमाथा संवादको तयारी थालिसकेको थियो । त्यसैले मन्त्री डा राणाले पनि सो संवाद कार्यक्रममा विश्वका देश तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाहरू समेत आउने भएकाले सो संवादको कार्यक्रमस्थलमा टि टेस्टिङ समारोहका राख्ने प्रबन्धका लागि सुझाव दिए ।

मन्त्री डा राणाले संवादको व्यस्थापन समितिको संयोजकका हैसियतले संवादमार्फत त्यहाँ उपस्थित विभिन्न अन्तरराष्ट्रिय प्रतिनिधि एवं पाहुनाहरूले नेपाली अग्र्यानिक चियाको वास्तविक स्वाद पनि पाउने र यसबाट नेपाली चियालाई विश्व बजारमा स्थापित गर्न सहयोग पनि पुग्ने भएकाले उक्त कार्यक्रमस्थलमा सो चिया राख्ने प्रबन्धका लागि निर्देशन दिनुभएको थियो ।

सोहीबमोजिम नै सूर्यो दय नगरपालिकाको संयोजनमा सगरमाथा संवादस्थल होटल सोल्टीमा इलामको ताजा चियाको प्रदर्शनी कक्ष राखिएको छ । यसमा विभिन्न उत्पादन र स्वादका चिया चाख्ने (टि टेस्टिङ)को प्रबन्ध गरिएको इलामको टि स्टेशन इन्कका अध्यक्ष प्रज्वल प्रधानले बताए ।

उनले भने, ‘हाम्रो यस प्रदर्शनी कक्ष प्रति धेरै विदेशी तथा स्वदेशीहरूको आकर्षण रह्यो, उहाँहरूले थरिथरिका चियाका स्वाद पनि लिनुभयो र यसबाट नेपाली चियाको विश्व बजारमा प्रचारका लागि सहयोग पुगेको महसुस हामीले गरेका छौं ।’

सगरमाथा संवादमा आएका धेरैले चियाको प्रदर्शनी कक्ष भ्रमण गरेका, चियाको स्वाद लिएका र नेपाली चियाको विशेषताका बारेमा जानकारी लिएका भन्दै अध्यक्ष प्रधानले यस प्रकारको अन्तरराष्ट्रिय सम्मेलनमा नेपाली चियाको प्रचार गर्दै जानुपर्ने अनुभव आफूले लिएको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपालको चिया विश्वमा प्रवर्द्धनका लागि आफूहरूले सहजीकरण गरेको जानकारी दिए ।

यतिमात्र नभएर उनीहरूले यस संवादमा सहभागी विदेशी पाहुना, प्यानलिष्टलगायतलाई इलामको अर्गानिक चिया उपहार पनि दिएका थिए । यसको प्रायोजनचाहिँ नेपाल पर्यटन बोर्डले गरेको थियो ।

विष्णु रिमाल भन्छन् -बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने भाष्य बनाइँदै छ

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई आफ्नो कर्ममा सजग रहन सुझाव दिएका छन् ।

आइतबार सामाजिक संजालमार्फत रिमालले कर्ममा अडिग रहन सुझाव दिएका हुन् । उनले भनेका छन्, ‘कर्ममा अडिग रहनुहोस्, तर ’कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्।’

उनले बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘श्री हितेन्द्र शाक्यजी ! तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ । तर सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।’

रिमालले अहिले हाम्रो समाजमा सेवा दिनेहरू नभई कथा बनाउनेहरू चर्चामा रहेका उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन्। यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन—किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन । त्यसैले, सजग रहनुस्—काम गर्नुस्, तर ध्यान दिनुस्—कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्।’

पछिल्लो समय झ्यापझ्याप बत्ति जान थालेपछि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको कार्यक्षमतामाथि प्रश्न उठाउँदै आलोचना भइरहेको छ ।

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा

फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।

हालै मात्र पाँच जना विदेशी नागरिकसहित १० जनाको टोलीले सफलतापूर्वक कञ्चनजङ्घा हिमाल आरोहण गरेका छन् । उनीहरूले सेभेन समिट ट्रेक्समार्फत आरोहण सम्पन्न गरेका हुन् । सफल आरोहण गर्नेमा बेलायत, इरान, कोसोभोका नागरिक र नेपाली शेर्पा समावेश छन् । इलाइट एक्सपिडिसन काठमाडौँका निर्देशक मिङ्मा डेभिड शेर्पाका अनुसार थप ६३ आरोही र पथ प्रदर्शक कञ्चनजङ्घा हिमाल आरोहणका लागि हाल उक्त क्षेत्रमै छन् ।

कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरतर्फ पनि विदेशी पर्यटकको आकर्षण बढ्दो छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को याम्फुदिनस्थित कार्यालयका पर्यटन सहायक सूर्यमान राईका अनुसार गत चैतयता मात्रै १६ अमेरिकी, १५ भारतीय, पाँच रुसी नागरिक, चार इजरायली, दुई बेलायती र दुई नेदरल्याण्डका पर्यटक गरी जम्मा ४४ जना विदेशी पर्यटकले दक्षिण आधार शिविर भ्रमण गरेका छन् ।

कञ्चनजङ्घा उत्तरी आधार शिविरतर्फ पनि पर्यटकको उपस्थिति उल्लेखनीय रहेको छ । घुन्सा पर्यटन चेकपोष्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार हालसम्म तीन सय ६० विदेशी पर्यटकले उत्तरी आधार शिविरको भ्रमण गरिसकेका छन् ।

यसरी कञ्चनजङ्घा क्षेत्र विदेशीका लागि मात्र नभई आन्तरिक पर्यटकको पनि रोजाइमा पर्न थालेको छ । तर आन्तरिक पर्यटकको विस्तृत तथ्याङ्क भने कार्यालयहरूमा सूचीकृत गरिएको छैन । कञ्चनजङ्घा हिमाल समुद्री सतहबाट आठ हजार ५८६ मिटरको उचाइमा अवस्थित छ । यस हिमालको आरोहण तथा अवलोकनका लागि मुख्यतः दुईवटा आधार शिविर दक्षिण र उत्तरी आधार शिविर छन् ।

उत्तरी आधार शिविर (ओक्ताङ)

उत्तरी मार्गबाट कञ्चनजङ्घा आधार शिविर पुग्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारबाट जापनटारसम्म करिब चार घण्टा सवारी यात्रा गर्नुपर्छ । त्यसपछि जापनटारबाट तीन दिनको ट्रेकिङपछि घुन्सा गाउँ पुगिन्छ ।

घुन्सा गाउँबाट थप तीन दिन पैदलयात्रा गरेपछि पाँच हजार २०० मिटरको उचाइमा अवस्थित ओक्ताङ पुग्न सकिन्छ, जुन कञ्चनजङ्घा हिमालको उत्तरी क्षेत्रको अन्तिम आधार शिविर हो । घुन्सा मार्गमा आधारभूत सुविधायुक्त होटल, होमस्टे, पर्यटक विश्रामस्थल सञ्चालनमा छन्, जसले पर्यटकको बसोबासलाई सहज बनाएको छ ।

दक्षिण आधार शिविर (पाङपेमा)

दक्षिणतर्फको मार्ग प्रयोग गर्दा फुङ्लिङ बजारबाट सवारीसाधनमार्फत झण्डै सात घण्टामा याम्फुदिन गाउँ पुग्न सकिन्छ । त्यसपछि तीन दिनको ट्रेकिङ गरेपछि चार हजार ८०० मिटरको उचाइमा रहेको पाङपेमा पुगिन्छ, जुन कञ्चनजङ्घाको दक्षिण क्षेत्रको अन्तिम आधार शिविर हो । यस मार्गमा पनि स्थानीय बासस्थान, होमस्टे र गाइडहरूको व्यवस्था रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भनाइ छ ।

हिमाल आरोहणकर्ताले आधार शिविरमा केही दिन शारीरिक अभ्यस्तता गरी त्यसपछि क्रमशः क्याम्प १, २, ३ हुँदै शिखरतर्फ यात्रा गर्छन् । आरोहण सफल बनाउन पथप्रदर्शक, उच्च पहाडी कामदार, चिकित्सक र व्यवस्थापन समूहको सहभागिता अपरिहार्य मानिन्छ ।

कञ्चनजङ्घा हिमाल प्राविधिक हिसाबले नेपालका अन्य आठ हजार मिटर उचाइ भएका हिमालमध्ये एकदमै कठिन मानिन्छ । बदलिँदो मौसम, पातलो अक्सिजन, हिमपहिरोको जोखिमलगायतले यसलाई चुनौतीपूर्ण बनाउँछन् ।

त्यसैले यहाँको आरोहण सामान्यभन्दा लामो समय लिने र उच्चस्तरको तयारी आवश्यक पर्ने बताइन्छ । गत सातामात्र हिमाल आरोहण क्रममा एक फ्रान्सका नागरिकको मृत्य समेत भयो ।

नेपालको पूर्वी क्षेत्रस्थित कञ्चनजङ्घा हिमाल नेपालको गौरवमात्र नभई अन्तरराष्ट्रियस्तरमा पनि पर्यटन सम्भावनाको धनी क्षेत्र हो । प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले यस क्षेत्रमा अझ पर्यटन आकर्षण बढाउने सम्भावना देखिएको छ ।

यस क्षेत्रमा सञ्चार र पूर्वाधार थप व्यवस्थित गरिएमा कञ्चनजङ्घा क्षेत्र साहसिक पर्यटन तथा ट्रेकिङ गन्तव्य बन्न सक्छ । ट्रेकिङ मार्गमा नयाँ होमस्टे, बाटोमा सङ्केत चिह्न, प्राथमिक उपचार केन्द्र तथा आपत्कालीन उद्धार सेवा विस्तार भएमा अझ पर्यटक भ्रमण गर्न आउने छन् ।

कञ्चनजङ्घा क्षेत्रमा पर्यटन विकाससँगै स्थानीय समुदायको सहभागिता उल्लेखनीय छ । होमस्टे सञ्चालन, प्रथप्रदर्शक, पोर्टर, खच्चड सेवा, हस्तकलाका सामग्री बिक्रीजस्ता माध्यमबाट समुदायले राम्रो आम्दानी गरिरहेका छन् ।

‘सगरमाथा संवाद’का विशिष्ट पाहुनालाई हिमाल देखाउन पर्वतीय उडान

काठमाडौँ । बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ । आइतबार बिहान पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा गएका थिए । यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए । करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनि चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गरेका थिए ।

साहसिक गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक पहिलोपटक आयोजित अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी तीन सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ ।

नेपालका केही निजी वायुसेवा कम्पनीले पर्वतीय उडान भर्दै आएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुने जनाइएको छ । उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् ।

जेठ ४ गते बिहान ९ः२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत र वाङ्दी शेर्पाले जानकारी गराएका छन् ।

सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए ।

तराई पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गरेका थिए ।

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

इजरायली सेनाको आक्रमणमा गाजामा कम्तीमा ७४ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाको आक्रमणबाट गाजामा कम्तीमा ७४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । आइतबार बिहानै गाजाको दक्षिणी क्षेत्र अल–मावासीमा इजरायी सेनाले गरेको आक्रमणमा कम्तीमा ७४ प्यालेस्टिनीको मृत्यु भएको अलजजिराले जनाएको छ ।

कतारमा हमाससँग युद्धविराम वार्ता पुनः सुरु गर्दै गर्दा इजरायलबाट तीव्र आक्रमणहरू भएका छन् । इजरायली सेनाले गाजाको उत्तरपूर्वी क्षेत्र जाबालिया अन–नाजलामा पनि आक्रमण गरेको छ । त्यहाँ आक्रमणमा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएकोछ ।

युरो–मेड ह्युमन राइट्स मनिटरले गाजामा इजरायलको पछिल्लो आक्रमण युद्धको सुरुवातदेखि नै ‘सबैभन्दा व्यापक र घातक आक्रमण’ मध्ये एक भएको बताएको छ ।

यसले इजरायली सेनालाई नयाँ नरसंहार गरेको र ‘बाँकी छिमेकी र पूर्वाधारको पूर्ण विनाश समावेश गर्ने जलेको माटो नीति अपनाएको’ आरोप लगाएको छ ।

समूहले शुक्रबार बिहानदेखि १२ घण्टाभन्दा कम समयमा उत्तरी गाजामा मात्र ११५ भन्दा बढी प्यालेस्टिनीहरूको हत्या भएको जनाएको छ । इजरायली सेनाले जबलियाको ताल अज–जातार र बेइत लाहियाको अल–सलाटिनमा कम्तिमा १० आवासीय घरहरूमा आक्रमण गरेपछि यो हताहत भएको हो ।

ह्यात होटलको ग्राउण्डमा नोराको प्रस्तुती

काठमाडौँ । भारतीय अभिनेतृ तथा नृत्याङ्गना नोरा फतेहीले शनिबार साँझ बौद्धस्थित ह्यात होटलको ग्राउण्डमा प्रस्तुती तथा नृत्य प्रदर्शन गरेकी छन् ।

शनिबार साँझ उनले ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा प्रस्तुती दिएकी हुन् । प्रस्तुतीका लागि उनी शनिबार बिहान काठमाडौं आएकी थिइन् । ह्यात होटलको ग्राउण्डमा भएको कार्यक्रममा हजारौं दर्शकको उपस्थिति थियो ।

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेतृ फतेहीलाई नेपाल ल्याइएको वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका मनिष कार्कीले जानकारी दिए ।

इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको थियो । अभिनेतृ फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।

कार्यक्रममा नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामालगायतले प्रस्तुती दिएका थिए ।

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र सम्पन्न

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भएका छन् । ती सत्रहरूमा विभिन्न मुलुकबाट आउनुभएका र नेपालका सरकारी निकायका सम्बन्धित अधिकारी तथा विज्ञहरूले आ–आफ्ना अनुभव आदानप्रदान गरेका छन् ।

संवादको सुरु भएको दिन यही जेठ २ गते उद्घाटन समारोहपछि हिमनदीहरूको संरक्षणका लागि एक दशमलव पाँच डिग्री तापक्रम सीमित गर्ने महत्वाकाङ्क्षाको आवश्यकता, उच्च भूभागदेखि टापुसम्मको सम्बन्ध, खाद्य सुरक्षा र जलवायु उत्थानशील कृषि, हिमाली समुदायको नेतृत्वमा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी पहलका विषयमा समानान्तर सत्र सम्पन्न भएका हुन् ।

संवादको दोस्रो दिन शनिबार स्वच्छ ऊर्जाको उपयोग र भविष्य, हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण, हिमाली जोखिम मूल्याङ्कन र अनुगमन, हिमालमा हानि–नोक्सनीको सम्बोधन, दिगो सहरहरू र समुदाय, समावेशी भविष्य निर्माणः लैङ्गिक समानता र अन्तरपुस्ता समता, हिमाली लचिलोपनका लागि विज्ञान र प्रविधिको संयोजन, हिमाली अर्थतन्त्रको दिगोपना विषयका आठ समानान्तर सत्र सम्पन्न भएका छन् ।

सबै सत्रहरूमा विभिन्न मुलुकका राजनीतिज्ञ, नीतिनिर्माता, विद्वान, विशेषज्ञ र अनुसन्धानकर्ताहरूद्वारा गहन छलफल, विचार आदानप्रदान र विश्लेषण गरिएको थियो । प्रत्येक सत्र डेढ घण्टाको रहेको र त्यसमा एक मध्यस्थकर्ता, एक मुख्य वक्ता र चार प्यानल सदस्यहरू रहेका छन् ।

समानान्तर सत्रहरूका अधिकांश वक्ताले नेपाल जस्ता जलवायु परिवर्तनमा नगण्य योगदान भएर सबैभन्दा बढी जोखिममा रहेका मुलुकका जलवायुजन्य समस्या समाधानमा सामूहिक सहकार्यको आवश्यकता औँल्याएका थिए । साथै उहाँहरूले जोखिमा रहेका त्यस्ता मुलुकमा अनुकूलनका कार्यक्रममाथि जोड दिँदै हानि–नोक्नीलगायत जलवायु वित्तको पहुँच सरलीकरण बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

हिन्दू कुश हिमालय क्षेत्रका देशहरूको मन्त्रिस्तरीय बैठक सम्पन्न

यसबाहेक शनिबार हिन्दू कुश हिमालय क्षेत्रका देशहरूको मन्त्रिस्तरीय बैठक सम्पन्न भएको छ । बैठकले हिन्दू कुश हिमालय क्षेत्रका मुलुक जलवायुको बढी जोखिमा रहेकाले यस क्षेत्रको पारिस्थितिकीय प्रणाली बचाउन थप सहकार्यका विषय पहिल्याउनुपर्नेमा जोड दिइएको छ ।

संवादका क्रममा विश्वव्यापी र क्षेत्रीय साझेदारीअन्तर्गत बहु–सरोकारवाला गोलमेच बैठकसमेत सम्पन्न भएको थियो । यस सत्रमा स्वदेशी तथा विदेशी विभिन्न उच्चस्तरीय व्यक्तित्वहरूले जलवायुका असर र हिमाली क्षेत्रमा देखिएका जलवायुसम्बन्धी चुनौतीहरूको सम्बोधन गर्न क्षेत्रीय र अन्तरराष्ट्रिय सहयोगका बारेमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

यसअघि शुक्रबार सगरमाथा संवादको उद्घाटन सत्र भव्य समारोहबीच सम्पन्न भएको थियो । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए । त्यस्तै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वागत गरेकी थिइन् । उद्घाटन समारोहमा कोप–२९ का अध्यक्षता तथा जलवायु मुद्दाहरूमा अजरबैजानका राष्ट्रपतिका प्रतिनिधि मुख्तार बाबायेभ, भारतका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव, जनवादी गणतन्त्र चीनको जनकांग्रेसका स्थायी समितिका उपाध्यक्ष जिओ जीले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीले आधिकारिक रूपमा सरकारको राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) अनावरण गर्नाका साथै र कोप–२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण गरेका थिए । त्यस्तै संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले भिडियो सन्देशमार्फत उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए ।

खुला सत्रमा १९ देशका प्रतिनिधिको सम्बोधन

उद्घाटनपछि शुक्रबार भएको पूर्णसत्रमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय मन्तव्य दिएका थिए । विभिन्न १९ प्रतिनिधिमण्डल (१३ राष्ट्रिय र क्षेत्रीय तथा अन्तरराष्ट्रिय सङ्गठनहरूका तर्फबाट छ जना)ले जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विभिन्न पक्षहरूलाई उजागर गर्दै आफ्ना भनाइहरू प्रस्तुत गरेका थिए ।

आफ्ना वक्तव्यहरू दिने राष्ट्रिय प्रतिनिधिमण्डलहरूमा बङ्गलादेश, भूटान, नेपाल, बेलायत, संयुक्त अरब इमिरेट्स, जापान, भारत, कतार, किर्गिस्तान, ब्राजिल, इजिप्ट, ओमान र पाकिस्तानका थिए । अन्तरराष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूमा संयुक्त राष्ट्र सङ्घ, विश्व बैङ्क, एसियाली विकास बैङ्क, सार्क, बिम्स्टेक, इसिमोड रहेका थिए ।

संवादमा विभिन्न साइडलाइन बैठक र अन्य पूरक कार्यक्रमहरूसमेत सम्पन्न भएका छन् । संवादमा सहभागी उच्चस्तरीय विदेशी विशिष्ट व्यक्तिहरूले प्रधानमन्त्रीसँग भेटघाट र नेपाली समकक्षीहरूसँग द्विपक्षीय बैठकहरू गरेका थिए ।

आइतबार बिहान उच्चस्तरीय विशिष्ट व्यक्तिहरूका लागि सगरमाथा क्षेत्रको पर्वतीय उडान गरिनेछ । वायु प्रदूषणसम्बन्धी उच्चस्तरीय कार्यक्रम र जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रम पछि काठमाडौँ घोषणा हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद औपचारिक रुपमा सम्पन्न हुनेछ ।

विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून छ । तर जलवायु परिवर्तनका असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ । यस परिस्थितिमा संवादले जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन तथा सामूहिक कल्याण प्रवद्र्धन गर्ने विश्वव्यापी प्रयासमा योगदान गर्नसक्ने जीवन्त संवाद मञ्चका रूपमा आफूलाई प्रमाणित गर्ने अपेक्षा गरिएको छ ।

सरकारले पहिलोपटक आयोजना गरेको पहिलो संस्करण ‘सगरमाथा संवाद’को मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ । सम्मेलनमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपालीको सहभागिता छ । विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यताका साथ संवाद आयोजना गरिएको हो ।

संवादमा उठाइए हिमालका विषय

संवाद नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्नका लागिसमेत उपयोगी सिद्ध भएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घले यो वर्ष २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेका सन्दर्भमा संवादमा महत्त्वका साथ हिमालका विषय उठाएको छ ।

सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाका नामबाट राखिएको हो । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवद्र्धन गर्नु हो । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारले निर्णय गरेको छ ।

माओवादीसँग गठबन्धन गर्ने सभावना छैनः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ ।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनको कुनै सोच र योजना कांग्रेसले नराखेको बताएका हुन् ।

बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको जानकारी दिए ।

पार्टी सभापति देउवासँग माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माको भेटबारे बैठकमा सांसदहरुले जिज्ञासा राखेका थिए ।  बैठकमा देउवाले भेटघाटलाई सामान्य रुपमा लिन आग्रह गरेका थिए ।

बैठकमा सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । सांसदहरूले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसुनेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

कांग्रेस सांसदहरूले गभर्नर लगायतका विभिन्न नियुक्ति बिनाकारण अड्काएर राखेको समेत बताएका थिए । बैठकमा सांसदहरूले समान ढंगले बजेटको वितरण हुनुपर्ने लगायतका सुझाव दिएका थिए।

बैठकमा गभर्नरको विषय, बजेटको क्षेत्रगत रूपमा सन्तुलित वितरण लगायतका विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक घिमिरेले जानकारी दिए।

संयुक्त सरकारमा कांग्रेसको पोजिसनका विषयमा पनि सांसदहरूले कुरा राखेको उनले बताए । उनले प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै एमालेले कांग्रेसलाई दिन नचाहेको भन्ने सत्य नभएको उल्लेख गरे।

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित

कपिलवस्तु । लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभाले प्रदेश अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गरेको छ । २०७८ चैत २२ गते संघका उपाध्यक्ष विनयराज भण्डारीको प्रस्तावमा ३१ जना प्रतिनिधिले हस्ताक्षर गरी गुरुङविरुद्ध क्यानमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

सोही प्रस्तावमा आधारित विशेष साधारणसभा शनिबार तौलिहवामा सम्पन्न भएको थियो । जहाँ उपस्थित ३८ जना प्रतिनिधिहरूले सर्वसम्मत रुपमा अविश्वास प्रस्ताव पारित गरेका हुन् । अविश्वास प्रस्ताव पारित भएसँगै उपाध्यक्ष विनयराज भण्डारी कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाले जानकारी दिए ।

उनका अनुसार संघको विनियमावली, क्यानको निर्देशन र राष्ट्रिय खेलकुद परिषद्को पत्रअनुसार विशेष साधारणसभा आयोजना गरिएको हो । आगामी जेठ ३१ गते पाल्पामा अर्को विशेष साधारणसभा बोलाइ नयाँ नेतृत्व चयन गरिने समेत मजगैयाँले बताए ।

विशेष साधारणसभामा रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, पाल्पा र पश्चिम नवलपरासी जिल्लाका ३८ जना प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका उपपरराष्ट्रमन्त्री इक्युना आकिकोले शनिबार शिष्टाचार भेट गरेकी छन्।

प्रधाननमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गरे।

उनले वर्तमानमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या सबैको चासोको विषय भएको बताउँदै सगरमाथा संवाद आयोजना गरिएको उल्लेख गरे। संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युनालाई उनले धन्यवाद दिए।

प्रधानमन्त्री ओलीले अनुुकूल पूर्वाधार निर्माण, वातावरणीय दिगोपना र विपद् जोखिम न्यूनीकरणमा जापानी अनुभव नेपालका लागि उपयोगी हुने बताए।

उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानव संशाधन विकास र वातावरण एवं संस्कृति संरक्षणमा जापानका तर्फबाट सहयोग निरन्तर रहने बताइन्।

त्यस अवसरमा नेपालका लागि जापानका राजदूत माइदा तोरु तथा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।

जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

काठमाडौं । सरोकारवालाहरुले जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड दिएका छन् ।

शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पर्वतीय क्षेत्रमा अनुकूलनका लागि विज्ञान र प्रविधिको संयोजन विषयक समानान्तर सत्रमा वक्ताहरुले जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बनका लागि प्रविधिको विकासका साथै डिजिटल साक्षरतामा जोड दिएका हुन् ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल आइपिसिसीका महासचिव अब्दालाह मोक्स्सितले जलवायु परिवर्तनको मुख्य प्रभाव हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा परेको र समयमा अनुकूलनका उपायहरु अवलम्बन गर्न नसकेमा अझै बढी जोखिम बढ्ने बताए । “जलवायु प्रविधिको विकास र प्रभावकारी उपयोग हुन सकेमा जलवायुजन्य विपद्बाट धनजनको क्षति कम हुन्छ,” उनले भने ।

द एनर्जी एन्ड रिसोर्सेस इन्स्टिच्युट भारतको महानिर्देशक विभा धवनले पछिल्लो समय कृषिमा प्रयोग हुने रासायनिक मलका कारण हरितगृह ग्यास उत्सर्जन बढाउनुका साथै पानीको स्रोत समेत प्रदूषण गराइरहेको भन्दै जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताए ।

जलवायुविद् डा. माधव कार्कीले स्थानीय तथा आदिबासी जनजातिको परम्परागत ज्ञानलाई पनि सम्बोधन गर्दै जलवायु अनुकुलका कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए ।

“उच्च हिमाली क्षेत्रदेखि तटीय क्षेत्रसम्मका स्थानीय डिजिटल प्रविधिले जलवायु परिवर्तनका जोखिमलाई अझ राम्रोसँग विश्लेषण गर्ने, अनुकूलन रणनीतिहरू तयार गर्ने र तिनको कार्यान्वयनमा सहयोग पुर्‍याउने महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । विशेषगरी पहाडी र दुर्गम क्षेत्रहरूमा डिजिटल साक्षरता अभावले अनुकुलनका उपायहरूमा बाधा पुर्‍याइरहेको छ”, उनले भने, “जलवायु–संवेदनशील क्षेत्रमा जोखिम व्यवस्थापनका लागि डिजिटल शिक्षा, स्मार्ट उपकरणको प्रयोग र इन्टरनेट पहुँचलाई प्राथमिकतामा राख्नुपर्छ । ”

ग्रोनिङ्गेन विश्वविद्यालय, नेदरल्याण्ड्सका विज्ञान, प्रविधि र समाज विषयका प्राध्यापक प्राडा क्लाउस हुबासेकले प्रविधिको विकास, स्थानीय समुदायसँग समन्वय र सहभागितामा आधारित डिजिटल समस्याको समाधान गर्न सकिएमा जलवायु अनुकुलन प्रभावकरी हुने बताए ।

संयुक्त राष्ट्र विश्वविद्यालय, वातावरण तथा मानव सुरक्षा संस्था जर्मनीका डा स्टेफान श्नाइडरबाउअरले जलवायु परिवर्तनको समस्या भोगिरहेका समुदायलाई अनुसन्धानबाट निस्किएको निष्कर्ष र तथ्याङ्कलाई निःशुल्क वितरणको व्यवस्था हुनुपर्ने र जलवायु न्यूनीकरका लागि क्षमता अभिवृद्धि तथा प्राविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असर बढि परेको भन्दै त्यस क्षेत्रमा डिजिटल साक्षरता बढाउनुपर्ने उनको भनाइ छ ।

उच्च हिमाली क्षेत्रदेखि तटीय क्षेत्रसम्मका स्थानीय समुदायमा जलवायु परिवर्तनका प्रभाव अझ बढी परेको तापक्रम वृद्धिदेखि अनियमित वर्षा, हिमनदी पग्लिनु, हावाको प्रदूषण, वातावरणीय क्षति र जैविक विविधताको क्षयजस्ता समस्याले उनीहरुको जीवनयापन, खाद्य सुरक्षा र सांस्कृतिक सम्पत्तिलाई खतरामा पारिरहेको भन्दै वक्ताहरुले चिन्ता व्याक्त गरेका छन् ।

सत्रको सहजकर्ताको भूमिका, इन्जिनियरिङ र प्रविधि स्कूल, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका डीन संगम श्रेष्ठले निर्वाह गरे ।

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

मस्को । सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । उक्त तथ्याङ्क सङ्घीय तथ्याङ्क सेवा (रोसस्टाट) द्वारा सार्वजनिक गरिएको हो ।

यस वृद्धि दरले रुसको आर्थिक विकास मन्त्रालय तथा केन्द्रीय बैङ्कले यसअघि गरेको अनुमानभन्दा केही कम परिणाम देखाएको छ । मन्त्रालयले १.७ प्रतिशत र केन्द्रीय बैङ्कले दुई प्रतिशत वृद्धिको अपेक्षा गरेका थिए ।

समग्र वर्षको लागि आर्थिक विकास मन्त्रालयले २.५ प्रतिशत वृद्धि हुने विश्वास व्यक्त गरेको छ भने केन्द्रीय बैङ्कले एक देखि दुई प्रतिशतको दायराभित्र वृद्धि हुने अनुमान गरेको छ ।

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

किएभ । उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी ड्रोन आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

स्थानीय सैनिक प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त आक्रमणमा पूर्ण रूपमा क्षति पुगेको सानो बसको तस्बिरसहित जानकारी दिँदै मृतकको संख्या ९ पुगेको जनाएको हो।

यसअघि अधिकारीहरूले आठ जनाको ज्यान गएको बताएका थिए। सुमी जिल्लातर्फ गइरहेको बसलाई बिलोपिल्लिया नगर नजिकै लक्षित गरी आक्रमण गरिएको सैनिक प्रशासनले जनाएको छ।

यो विस्फोट युक्रेन र रूसबीच इस्तानबुलमा करिब तीन वर्षपछि भएको प्रत्यक्ष वार्ताको केही घण्टापछि भएको हो।

वार्तामा दुवै पक्ष कैदीहरूको साटासाटमा सहमत भए पनि युद्धविराम नभएको र सम्भावित युद्धविरामका विषयमा विचारहरू आदान–प्रदान मात्र गरिएको जनाइएको छ।

वार्तापछि किएभले युक्रेनको ठूलो भूभाग ध्वस्त पारिएको र लाखौँ मानिस विस्थापित भएको, युद्ध रोक्नका लागि ‘विना सर्त युद्धविराम’ चाहेको स्पष्ट पारेको छ।

तर, मस्कोले यस्ता आह्वान अस्वीकार गर्दै करिब एक हजार कैदीहरू साटासाट गर्ने सहमतिको पक्षमा बल दिएको छ।

युक्रेनका मुख्य वार्ताकार तथा रक्षामन्त्री रुस्तम उमरोभले अबको अर्को चरणमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता हुने बताएका छन्।

यसैगरी मस्को र वासिङ्टनले पनि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच द्वन्द्व व्यवस्थापनबारे उचित छलफल आवश्यक रहेको जनाएका छन्।

कांग्रेस महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद आयोजना

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार ‘सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयमा विशेष संवाद सम्पन्न भएको छ ।

महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डे सगरमाथामा आधारशिविर पुगेका शर्माको सचिवालयले जनाएको छ । संवाद ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर सुरु गरिएको थियोे ।

विशेष संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यबारे स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले वाचन गरेका थिए ।

लुक्लादेखि पाँच दिन लगातार पदयात्रा गरेर सगरमाथा आधारशिविर पुगेका महामन्त्री शर्मा यो साता आरोहण प्रशिक्षण र हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउन व्यस्त छन् ।

सोह्र बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढङ्गले कार्य गर्न समर्पित रहेको बताए । त्यस्तै पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

महामन्त्री शर्माले आधारशिविरमा सञ्चार टावर, भरियाको बिमा, सुरक्षा युनिटजस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिँदै कार्बनउत्सर्जन बढी गर्ने ठूला राष्ट्रहरुमाथि दबाब बढाउन साना राष्ट्रहरुको नेतृत्व नेपालले गर्नुपर्ने बताए ।

कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, डा आशीष पौडेल, मिङ्मा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटेलगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको सङ्कट समाधान गर्न सरकारले विशेष योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका थिए ।

कांग्रेस महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद आयोजना

अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विकासक्रमा जननेता मदन भण्डारीको योगदान अतुलनीय रहेको बताएका छन् ।

शनिबार ३२औँ मदन–आश्रित स्मृति दिवसमा पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले देशको प्रजातान्त्रिक एवं कम्युनिष्ट आन्दोलनमा नेताद्वयको योगदान अतुलनीय रहेको बताए ।

भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को प्रयोग गरी त्यसलाई लोकप्रिय बनाएको भन्दै अध्यक्ष नेपालले कम्युनिष्ट सिद्धान्तमा जननेता भण्डारी अडिग रहेको बताए । कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्न जरुरी भएकामा उनले जोड दिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारी र जीबराज आश्रितको बलिदानले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याएको बताए ।

अनियमितता गर्ने करिब १९ सय व्यवसायी तथा उद्योगी कारबाहीमा

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ ।

कार्यालयका अनुसार आफूखुसी ढक तथा तराजु र (डिजिटल) नापतौल मेसिनको प्रयोग गर्नेहरुलाई जरिवानासहित कानुनी दायरमा ल्याइएको हो ।

कार्यालयका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म गरिएको अनुगमनका क्रममा उनीहरुलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनील यादवले जानकारी दिए ।

कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापमा अनुगमन गरेको थियो । सो अवधिमा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो ।

कार्यालयले सो अवधिमा एकल अनुगमन २९ पटक, व्यावसायिक फर्मको अनुगमन २७२ पटक, संयुक्त अनुगमन १८ पटक, व्यावसायीक फर्मको अनुगमन ४९९ पटक गरेको थियो । जसमा कार्यालयले विभिन्न शीर्षकमा ४१ लाख १२ हजार ८४० रुपैयाँ सङ्कलन गरेको छ ।

कार्यालयले गत आवको सोही अवधिमा र विभिन्न शीषर्कवाट तीस लाख ६३ हजार २४४ राजस्व रुपैयाँ सङ्कलन गरेको थियो । गत आवमा कार्यालयले एक हजार ९७५ कम्पनी अनुगमन गरी एक हजार ३९० कम्पनीलाई कारबाही गरेको थियो ।

देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमत सरकार आवश्यक भएको बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा शनिबार एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्रीले देशलाई बिगार्न नदिन र बिना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेको बहुमतको सरकारका आवश्यक भएको बताएका हुन् ।

‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिला गर्यौं, स्वार्थ समूहको भ्रमबाट मुक्त हुनुपर्छ, एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाले साथ दिनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘म युवालाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उकास्न चाहन्न । एमालेमा आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ ।’

उनले मेस्सी, एम्बापे जस्ता फूटबल खेलाडी एकै पटक नबनेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीले रहर लाग्ने वित्तिकै चिकित्सक, इञ्जिनियर कोही नबन्ने बताए ।

कार्यक्रममा युवा चिकित्सक, इञ्जिनियरसहित करिब १०० जना एमालेमा प्रवेश गरेका थिए । त्यस अवसरमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका युवा व्यवसायीलाई सम्मान गरिएको थियो ।

परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले शिष्टाचार भेटवार्ता गरेकी छिन्।

सगरमाथा संवादमा सहभागिताका लागि हाल नेपालमा रहेकी उपविदेशमन्त्री अकिकोले शनिबार सगरमाथा संवाद कार्यक्रमस्थल होटल सोल्टीमा सो साइडलाइन भेट गरेकी हुन्।

भेटका अवसरमा मन्त्री डा राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकोमा धन्यवाद व्यक्त गरिन्। साथै मन्त्री डा राणाले सिन्धुली–बर्दिबास बाटोको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन गरेका थिइन्।

गत वर्ष आएको अविरल बर्षाका कारण सो बाटोमा ठूलो क्षति पुगेको छ। जापान सरकारको अनुदानमा निर्मित सो बाटोको मर्मत तथा पुननिर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो।

त्यसैगरी सो भेटका क्रममा मन्त्री डा राणा र जापानी उपविदेशमन्त्री बीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिक लागायतका क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्‍याउँदै आएको सहयोगका लागि पनि धन्यवाद ज्ञापन गरेकी थिइन्।

मन्त्री डा राणाले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यवद्धता र सहयोगका लागि जापानसँग आग्रह पनि गरेकी थिइन्।

अमेरिकी अदालतको फैसलाले ट्रम्पको आप्रवासी नीति प्रभावित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष सार्वजनिक रूपमा व्यक्त गरेका छन् ।

अदालतले भेनेजुएली आप्रवासीहरूलाई शीघ्र निष्कासन गर्ने सरकारको प्रयासलाई रोकेको सन्दर्भमा उनले उक्त प्रतिक्रिया दिएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्तो अभिव्यक्ति व्यक्त गरेका हुन् । उनले भने, ‘संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले जनताको मतद्वारा म प्राप्त गरिएका जिम्मेवारीहरू निर्वाह गर्न नदिएको अवस्था उत्पन्न भएको छ। यो दिन राष्ट्रका लागि चिन्ताजनक र खतरापूर्ण देखिन्छ।’

राष्ट्रपति ट्रम्पले यस निर्णयले गम्भीर आपराधिक क्रियाकलापमा संलग्न, गिरोहसँग आवद्ध तथा मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त आप्रवासीहरूलाई पनि निष्कासन नगरी लामो कानुनी प्रक्रियामा राख्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनका अनुसार, यस्तो प्रक्रिया खर्चिलो र दीर्घकालीन हुने भएकाले राष्ट्रको सुरक्षामा असर पर्न सक्ने देखिन्छ।

गत मार्च महिनामा, राष्ट्रपति ट्रम्पले विदेशी शत्रु ऐन अन्तर्गत केही भेनेजुएली आप्रवासीहरूलाई न्यायिक प्रक्रिया अघि नबढाई एल साल्भाडोर पठाउने निर्णय लिनु भएको थियो। सो निर्णय सर्वोच्च अदालतले अप्रिल १९ मा अस्थायी रूपमा रोकेको थियो।

शुक्रबारको फैसलामार्फत अदालतले टेक्सास राज्यमा रहेका थप आप्रवासीहरूको प्रस्तावित निष्कासन कार्यलाई समेत हालका लागि स्थगन गरेको छ।

इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक

जकार्ता । इन्डोनेसियाको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले सन् २०२६ देखि इन्धनमा पाँच प्रतिशत बायोइथानोल (ई५) मिश्रणलाई अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ।

मन्त्रालयअन्तर्गत नयाँ तथा नवीकरणीय ऊर्जा तथा ऊर्जा संरक्षण विभागकी सम्माननीय महा–निर्देशक एनीय लिस्टियानी डेवीज्यूले शुक्रबार उक्त जानकारी दिएका हुन्।

‘बायोइथानोल’ एक प्रकारको जैविक इन्धन हो, जुन प्राकृतिक स्रोतहरूजस्तै ऊखु, मकै, गहुँ, कसावा, खन्ड आदि बालीबाट बनाइन्छ। यसलाई प्रायः इन्धनको रूपमा पेट्रोलसँग मिसाएर प्रयोग गरिन्छ, जसले सवारीसाधन चलाउन सहयोग पुर्यापउँछ। बायोइथानोलले वातावरणमा हुने दूषित ग्यासहरूको मात्रा घटाउने, स्वच्छ ऊर्जा प्रवद्र्धन गर्ने र आयातित इन्धनको भरपर्दोपन घटाउने काम गर्छ। यस इन्धनको प्रयोगले किसानलाई बजार उपलब्ध गराउँछ र देशको ऊर्जा आत्मनिर्भरतामा टेवा पुग्ने विश्वास गरिएको छ।

उनकाअनुसार यो योजना क्रमिक रूपमा लागू गरिनेछ, जसको प्रारम्भ जाभा टापुबाट हुनेछ। हाल देशमा १३ वटा चिनी र सहायक उद्योगहरू भए पनि तीमध्ये केवल तीनवटाले मात्र इन्धन गुणस्तर अनुरूपको इथानोल उत्पादन गरिरहेका छन्।

“हालसालै मात्र तीनवटा उद्योगहरूले वार्षिक ६० हजार किलोलीटर इन्धन–स्तरीय इथानोल उत्पादन गर्न सक्ने क्षमता राखेका छन्,” महा–निर्देशकले बताए।

सरकारी तथ्याङ्कअनुसार पाँच प्रतिशत बायोइथानोल मिश्रणको आवश्यकता पूरा गर्न इन्डोनेसियाले वार्षिक १० देखि १२ लाख किलोलीटर इथानोल आवश्यक पर्नेछ। यस आवश्यकतालाई पूरा गर्न सरकार ऊखु, कसावा तथा काँचो गुलियो पदार्थहरू (जस्तै—पाम सुगर) बाट इथानोल उत्पादनलाई प्रवद्र्धन गर्ने रणनीतिमा रहेको छ।

यो पहल इन्डोनेसियाको जीवाश्म इन्धनमा निर्भरता घटाउने तथा हरित ऊर्जा प्रवद्र्धनमार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यसँग सुसङ्गत रहेको बताइएको छ।