`

नेपालमा पुनः लोडसेडिङ्ग हुँदैन, ढुक्क हुनुस्ः कार्यकारी निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत आपूर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर नहेर्न आग्रह गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरी शाक्यले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर नहेर्न आग्रह गरेका हुन् ।

उनले अब इन्भर्टर र मैनबत्तीका दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति सत्यता नरहेको बताए ।

उनले भने, ‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर अब इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक संजालमा अभिब्यक्त भनाइप्रति कत्ति पनि सत्यता छैन । नेपालमा पुनः लोडसेडिङ्ग शुरु हुने दिन आउदै नआउने आम उपभोक्तालाई जानकारी गराउँदछौ ।’

त्यस्तै उनले ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिदा विद्युत अचानक अवरुद्ध हुन पुगेको स्पष्ट पारे ।

उने बेलुकाको समयमा लोड बढ्ने भएकाले आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको पनि उनले जानकारी गराए ।

उनले भने, ‘ढल्केवर आसपासको क्षेत्रमा अति उच्च वेगका साथ चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभि डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ देखिएको समस्याका कारण नेपालमा सो लाइनमार्फत आपुर्ति हँुदै आएको विद्युत अचानक अवरुद्ध हुन पुगेको थियो । दुवै सिर्किटमा आएको समस्या तत्काल समाधान नभएकाले नेपालको मात्र प्रणाली संचालन गरि विद्युत आपूर्ति व्यवस्था मिलाउन प्रयास गरिएको तर बेलुकाको समयमा बढेर आउने लोडको कारण समस्या भयो ।’

विद्युत प्रणालीमा देखिएको समस्या दिर्घकालिन रुपमा समाधान गर्न प्राधिकरण प्रतिवद्ध रहेको भन्दै उनले आगामी दिनमा यस्ता समस्या नदोहोरिनका लागि तत्कालिन मध्यकालिन र दिर्घकालिन योजना बनाइ कार्य गरिरहेको पनि जानकारी दिए ।

प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वय आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसद अर्जुन नरसिंह केसीले नेपाल प्राकृतिक जोखिमको उच्चतम विन्दुमा रहेकाले वर्षायाम सुरु हुन लागेसँगै सतर्कता अपनाउनुपर्ने बताए । उनले भने, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझाव सरकारले गम्भीर रूपमा लिनुपर्छ । तीनै तहको समन्वय र आवश्यक बजेट विनियोजन गर्न आवश्यक छ ।

सांसद अम्बरबहादुर रायमाझीले पनि देशका राजमार्गको अवस्था बिग्रिँदो अवस्थामा रहेकाले मनसुन सुरु हुन लाग्दा समयमै ध्यान दिनुपर्ने बताए । राजधानीबाट पूर्वतर्फ यात्रा गर्ने बिपी राजमार्ग जीर्ण अवस्थामा छ यसका लागि वैकल्पिक मार्गको व्यवस्था होस् भनेर माग गर्दछु, उनले भने ।

सांसद अच्युतप्रसाद मैनालीले त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय बनाउन सके विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताए । सांसद अनिशा नेपालीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सल्यानका १० वटै स्थानीय तहमा करोडौँ बेरुजु देखिएकाले यसका कारणबारे छानबिन हुनुपर्ने बताइन् ।

सांसद डा अमरेशकुमार सिंहले उखु र दूध किसानको पैसा समयमा दिनुपर्ने र महँगी नियन्त्रणमा जोड दिनुपर्ने बताए । सांसदद्वय अमृतादेवी अग्रहरी र आश्माकुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट जनतामुखी र कृषि क्षेत्र सुधार हुनेगरी ल्याउनुपर्ने बताए ।

सांसद उर्मिला थेबेले पूर्वी नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरालाई संयुक्त राष्ट्रसङ्घीय शेक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्नुपर्ने माग गरिन् । सांसद गोकुलप्रसाद बाँस्कोटाले काभ्रे जिल्लामा तरकारीखेतीको राम्रो सम्भावना रहेकाले बृहत् सिँचाइ योजना बनाउन आग्रह गरे ।

सांसदहरू असिम शाह, एकनाथ ढकाल, कालुराम राई, गणेश पराजुली, गङ्गा कार्की, गङ्गाप्रसाद यादव, डा चन्दा कार्की भण्डारी, छिरिङडम्डुल लामा, छिरिङल्हामु लामा तामाङ, जनार्दन शर्मा, ज्वालाकुमारी साह, जावेदाखातुन जागा, जुलीकुमारी महतो महासेठ र अब्दुल खानले विभिन्न समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गरे ।

मेची नगरपालिकाले क्षयरोगको औषधि नियमित खानेलाई अण्डा, दाल र चामल दिने

झापा । मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि खान बिरामीलाई प्रोत्साहित गर्दै पोषणयुक्त खानेकुरा दिन थालेको छ ।

पन्ध्र वटा वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमार्फत क्षयरोगका सङ्क्रमितलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्यक्रमअन्तर्गत बिरामीलाई कुखुराको अण्डा, बदाम, सातु, दाल र चामल दिने गरिएको नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।

नगरपालिकाले विक्रम संवत् २०८३ सम्ममा मेचीनगरमा क्षयरोग नियन्त्रण गर्ने अभियान सञ्चालन गरिरहेको छ । सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आए पनि बिरामीले नियमित औषधि सेवन नगरिदिँदा रोग बल्झिने र सङ्क्रमण नघट्ने समस्या छ ।

रोग लुकाएर बसिरहेकाहरुको खोजपड्ताल गर्ने र सङ्क्रमण पुष्टि भइसकेकालाई स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने व्यवस्था मिलाइएको नगरप्रमुख बुढाथोकीले बताए । छ महिना औषधि सेवनपछि क्षयरोग निको हुन्छ ।

सङ्क्रमण पुष्टि भएका नगरवासीलाई एक बोरा चामल, एक क्यारेट कुखुराको अण्डा, एक लिटर खानेतेल, एक किलो दाल, एक किलो बदाम र एक किलो सातु नगरपालिकाले निःशुल्क उपलब्ध गराउन थालेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिए ।

नगरपालिकाले पोषणयुक्त खानेकुरा दिने भएपछि क्षयरोगका सङ्क्रमितले नियमित स्वास्थ्य केन्द्रमा जाने र औषधिसमेत नियमित रुपमा खाने गरेको पाइएको सापकोटाले बताए । भूगोल र जनसङ्ख्याका आधारमा मुलुककै ठूलो मेचीनगर नगरपालिकामा हाल १६४ सङ्क्रमितले क्षयरोगको नियमित रुपमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गरिरहेका छन् ।

नियमित औषधि सेवनका लागि स्वास्थ्य केन्द्र धाउनेमा ६५ वर्षमाथिको सङ्ख्या बढी छ । तीनजना एचआइभी सङ्क्रमितले समेत प्रत्यक्ष निगरानी विधि पालन गरेरै औषधि खाइरहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले क्षयरोग नियन्त्रण गर्ने लक्ष्य पूरा गर्न स्वास्थ्यकर्मीलाई गाउँ–गाउँ पठाएर नयाँ सङ्क्रमितको खोजपड्ताल गर्दै आएको छ । हाल प्रदेश सरकारको प्राविधिक सहयोगमा एआई प्रविधिजडित अत्याधुनिक एक्स–रे मेसिनमार्फत क्षयरोगका १९ जना नयाँ सङ्क्रमित पत्ता लागेको जनाइएको छ ।

क्षयरोगका बिरामी स्थानीय सरकारबाट निःशुल्क औषधि र पोषिलो खाद्य वस्तु पाउँदा हर्षित रहेको मेचीनगरका प्रवक्ता एवम् वडा नं २ का वडाध्यक्ष दीपक बराल बताउँछन् । “उपचारसँगै खाद्यान्न पाउँदा विपन्न परिवारका सङ्क्रमित ज्यादै खुसी हुन्छन्”, बराल भन्छन्, “हुनेखानेहरु सुविधासम्पन्न निजी अस्पतालमा गएर खर्च गर्न सक्छन्, तर बिहान र बेलुका हातमुख जोड्न अनिश्चित हुने गरेको विपन्न परिवारका लागि चामल, दाल, अण्डा, सातुलगायतका सामान पाउनु निकै ठूलो उपलब्धि हुँदोरहेछ ।”

तेस्रो एनडिसी कोप–२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह गर्न तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) अजरबैजान गणराज्यको राष्ट्रपतिका प्रतिनिधि तथा २९औँ जलवायु शिखर सम्मेलनका अध्यक्ष मुख्तार बाबायेभलाई हस्तान्तरण गरेका छन् ।

बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले तेस्रो एनडिसीको औपचारिक अनावरण र बाबायेभलाई हस्तान्तरण गरेका हुन् ।

वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टङ्घीय खाका (युएनएफसिसिसी) का पक्ष मुलुकहरुको २१औँ जलवायु शिखर सम्मेलन (कोप–२१) अन्तर्गत पेरिस सम्झौतामा आधारित भई तयार गरेको तेस्रो एनडिसीको मस्यौदा बुधबार बसेको मन्त्रिपरिषद्ले बैठकले स्वीकृत गरेको थियो ।

पेरिस सम्झौतामा निर्धारित लक्ष्यअनुसार, सबैपक्ष राष्ट्रहरूले पाँच वर्षको अन्तरालमा आफ्नो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) पेस गर्नुपर्ने प्रावधानअनुसार नेपालले एनडिसी तयार गरेको हो ।

नेपालले सन् २०१६ र २०२० मा पहिलो र दोस्रो एनडिसी प्रस्तुत गरेको थियो । अब भने सन् २०२५ सम्म नेपालले तेस्रो एनडिसी पेस गर्ने लक्ष्यसहित तेस्रो राष्ट्रिय निर्धारित योगदान स्वीकृत गरेको हो ।

२१औँ कोपको पेरिस सम्झौताले विश्वको औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने र २ डिग्री सेल्सियसभन्दा बढ्न नदिने लक्ष्य राखेको छ । यी लक्ष्यहरू प्राप्त गर्न पेरिस सम्झौताका पक्षराष्ट्रले प्रत्येक पाँच वर्षमा राष्ट्रिय निर्धारित योगदान पेस गर्नुपर्छ ।

नेपालले सन् २०३५ सम्मको अवधि कभर गर्नेगरी मस्यौदा तयार गरेको हो । जलवायु न्यूनीकरण, अनुकूलन, तथा वित्तीय व्यवस्थापनको विस्तृत खाकासहित सन् यसमा २०३५ सम्मको दिगो विकास लक्ष्य, घरेलु तथा अन्तरराष्ट्रिय वित्तीय स्रोतको परिचालन, तथा स्थानीय तहसम्म जलवायु कार्यान्वयनको योजना समेटेर तेस्रो एनडिसीको मस्यौदा तयार भएको छ ।

बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्यामा वृद्धि

लण्डन । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको छ। आप्रबासनका लागि दिइएका दशौँ हजार आवेदनहरू अझै निर्णय हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ ।

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायतमा रहनका लागि सबै कानुनी मार्गहरू समाप्त भएकाहरूका लागि बेलायतबाट बाहिर ‘फिर्ती केन्द्र’ हरू सिर्जना गर्न सकियोस् भनी बिहीबार विभिन्न देशहरूसँग औपचारिक वार्ता सुरु गरेको घोषणा गरेका छन् ।

सन् २०२४ मा बेलायतमा शरण माग्नेको सङ्ख्या तीन गुणाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । यो समयमा ८४ हजार २०० ले शरणार्थीका लागि आवेदन दिएका छन् । सन् २०११ देखि सन् २०२० को बीचमा औसतमा २७ हजार ५०० शरणार्थीले बेलायतमा शरणका लागि आवेदन दिएका थिए ।

सन् २०२२ मा बेलायतमा प्रति १० हजार व्यक्तिमा लगभग १३ जनाले शरणका लागि आवेदन दिएका थिए । ईयूमा यो सङ्ख्या प्रति १० हजार २५ रहेको थियो ।

सन् २०२३ मा बेलायतमा रहेका करिब ११ प्रतिशत आप्रवासी शरणार्थी वा शरणार्थी थिए, जुन सन् २०१९ को छ प्रतिशतको तुलनामा झण्डै दुई गुणा बढी हो ।

आवेदन अस्वीकृत दर सन् २००४ मा ८८ प्रतिशत र सन् २०२२ मा २४ प्रतिशत रहेको थियो भने सन् २०२४ मा ५३ प्रतिशत रहेको थियो ।

सन् २००४ देखि सन् २०२१ को बीचमा, शरणार्थीका लागि लगभग तीन चौथाई आवेदकको प्रारम्भिक अनुरोध अस्वीकार गरिएको थियो । त्यसपछि उनीहरूले सरकारको निर्णयबारे पुनःआवेदन गरेका थिए भने त्यसमध्ये एक तिहाईले शरणार्थीको मान्यता पाउन सफल भएका थिए ।

सन् २०२४ मा शरणार्थीका लागि आवेदन स्वीकृत नभएका नौ हजारभन्दा बढी व्यक्तिलाई देश छोड्न निर्देशन गरिएको थियो । यो सङ्ख्या सन् २०२३ को तुलनामा ३६ प्रतिशतले बढी हो ।

सन् २०२४ मा करिब दुई लाख २४ हजार ७०० मुद्दामाथि सुनुवाई भएको र यसमध्ये ८७ हजार २०० प्रारम्भिक निर्णयको पर्खाइमा रहेका थिए भने एक लाख ३७ हजार ५०० आवेदन प्रारम्भिक अस्वीकारपछि थप कानुनी निरन्तरताका लागि पर्खाइमा थिए ।

यो सङ्ख्या सन् २०२२ देखि घट्दै गएको छ तर सन् २०१४ को तुलनामा चार गुणा बढी छ किनभने प्रारम्भिक निर्णयका लागि लामो समय पर्खनु परेको छ भने ठूलो सङ्ख्यामा मानिसहरू निर्वासनको सामना गरिरहेका छन् ।

सन् २०१८ भन्दा पहिले अस्तित्वमा नै नभएको अस्थायी डुङ्गामा च्यानल पार गर्नेको सङ्ख्या हालैका वर्षहरूमा ह्वात्तै बढेको छ।

सन् २०१८ देखि सन् २०२४ को डिसेम्बरसम्मको अवधिमा एक लाख ४८ हजार आप्रवासीले आफ्नो ज्यान जोखिममा राखेर इङ्लिस च्यानलको बाटो भएर बेलायतको तटीय क्षेत्रमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

तीमध्ये ९५ प्रतिशतले शरणका लागि आवेदन दिएका थिए । यो सङ्ख्या सन् २०१८ देखि सन् २०२४ को डिसेम्बरसम्मको अवधिमा सबै शरण चाहनेमध्ये २९ प्रतिशत हो ।

सन् २०२५ मा करिब १३ हजार आप्रवासीले च्यानल पार गरिसकेका छन्, जुन सन् २०२४ को सोही अवधिको तुलनामा बढी हो ।

सन् २०२४ मा शरण माग्नेको सबैभन्दा ठूलो समूह पाकिस्तानबाट आएकाको रहेको थियो । अघिल्ला वर्षहरूमा मुख्यतया सिरिया र इरानबाट आएका आप्रबासी शरणार्थीको सङ्ख्या बढी हुने गरेको थियो ।

आस्था राखेकै कारण आफ्ना पार्टीका नेता कार्यकर्ता पक्राउ गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्यमा आस्था राखेकै कारण आफ्ना पार्टीका नेता कार्यकर्ता पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले आस्थाका आधारमै पक्राउ गर्ने क्रम नरोकिए त्यसले विद्रोह निम्त्याउने चेतावनी दिए ।

उनले भने, ‘आस्थाकै आधारले एकपछि अर्कोगरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिंगो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रुपमै सरकारले भन्दियोस् तिमीहरु विद्रोहमा जाउ । राप्रपा लगायत हिन्दूराज्य, राजसंस्था मान्छु भन्नेहरुले संघीयता मान्दिन, प्रदेश मान्दिन भन्नेहरु देशमा सुशासन हुनुपर्छ, भष्ट्राचार गर्नेलाई दण्डित हुनुपर्छ भन्नेहरु यसरी प्रताडित हुनुपर्छ भने विद्रोहमा जान्छौं । विद्रोहमा जाउ, जंगल पस भन्नुपर्यो ।’

वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको प्रचण्डको आरोप

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।

प्रेस सेन्टर नेपाल, डडेल्धुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको जिकिर गरे ।

उनले भने, ‘सरकार ठीक बाटोमा हिँडिरहेको छैन, यसबाट चिन्तित छौँ । सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छ, यो राम्रो होइन ।’

अध्यक्ष दाहालले कांग्रेस—माओवादीबीचको सत्ता समीकरण हल्ला मात्रै भएको स्पष्ट गर्दै वामपन्थी गठबन्धन पनि ८४ सम्म नहुने जिकिर गरे ।

उनले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको बताए । अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले भने सुदूरपश्चिम क्षेत्रलाई सधैंँ प्राथमिकतामा राखेको दाबी गरे । आफ्नो नेतृत्वमा सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको अध्यक्ष दाहालको भनाइ थियो ।

उनले भने, ‘विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ । हामीले त्यसमा सन्तुलन कायम गर्न खोजेका छौँ । डडेल्धुरा र यहाँका पहाडी जिल्लाबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक छ । यसका लागि पहल गर्छौं ।’

उनले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर आफ्नो पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए । पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सम्पन्न गरी पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिएको उनले जानकारी दिए ।

अध्यक्ष दाहालले पहिलो चरणको जागरण अभियान झापाको कचनकवलबाट सुरु गरी महाकालीमा सम्पन्न भएको र दोस्रो चरणको अभियान बैतडीबाट सुरु भएर सोलुखुम्बुमा समापन गरिने जानकारी दिए ।

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा संसद्मा मन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षले नियमापत्ति गरेपछि बैठक स्थगित गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भन्दै नियमापत्ति गरेका थिए ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ (५) अनुसार कुनै पनि मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयको मन्त्री सदनमा उपस्थित हुनुपर्ने व्यवस्थाअनुसार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा अर्थमन्त्री संसद्मा उपस्थित नरहेको भन्दै नियमापत्ति गरेका थिए ।

नियमापत्तिपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए ।

चितवनमा एक व्यक्तिले गरे धारिलो हतियार प्रहार गरी आफ्नै छोरी र भतिजको हत्या

चितवन । चितवनमा एक व्यक्तिले शुक्रबार धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् ।

भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिज र आफ्नै छोरीको हत्या गरेका हुन् । उनले दुई जनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसपश्चात् उनले खुर्पा आफँैमाथि प्रहार गरेको उनले जानकारी दिए ।

घटनालगत्तै तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।

गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको पुरीले जानकारी दिए । घटना आज बिहान ९ः४५ बजेको समयमा भएको हो ।

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको बताएका छन् ।

नेपाल सरकारद्वारा पहिलोपटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई शुक्रबार सम्बोधन गर्दै उनले यही यथार्थभित्र इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न विश्वको सर्वाेच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको उल्लेख गरे ।

‘आशा गर्छौं, यो संवाद—त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्’, प्रधानमन्त्री ओलीले भने, ‘जलवायु परिवर्तनको कारक मानिएका हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ तर वातावरण संरक्षणमा हाम्रो योगदान महत्वपूर्ण छ । तथापि हामीले असर भने धेरै भोगिरहेका छौँ । हाम्रा घरबासहरू पहिराले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछ, समस्या गर्छ । यसविरुद्ध हामी डटिरहेका छौँ ।’

हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएका बताएकी छन् ।

‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलोपटक शुक्रबार काठमाडौंमा आयोजित ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले हिमाल करोडौँ मानिसको ताजा पानीको स्रोत बनेको बताइन् ।

हिमालयले आज जलवायु प्रेरित अवरोधको सबैभन्दा ठूलो भार बोकिरहेको बताउँदै उनले हिमनदी जलवायुको असरका कारण पग्लिने क्रम तीव्र रुपमा बढेको उल्लेख गरिन् । यसले गर्दा हिमाली समुदायको दैनिक जीवनमा नकारात्मक प्रभाव परेको उनको भनाइ थियो ।

‘जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छ’ उनले भनिन्, ‘जलवायु परिवर्तनका कारण बाढी र हिमताल विस्फोटले ठूलो विनाश भएको छ । खडेरी डढेलोले मानवलाई अथाह पीडा दिएको छ ।’

मन्त्री डा राणाले यो संवाद मनन र आत्मनिरीक्षण गर्ने अवसर प्रदान गर्ने र हिमालदेखि समुद्रसम्म तथा उत्तरीदेखि दक्षिणी गोलाद्र्धसम्म जलवायुजन्य विपत्ति रोक्ने प्रयास भएको बताइन् ।

उनले नाजुक हिमाली पारिस्थितिक प्रणाली भएको देश नेपालले जलवायु परिवर्तनको मार खेपिरहेको जानकारी गराइन् ।

‘हाम्रा नदी, वन र हिमालहरूको सचेत संरक्षकको रूपमा, हामीले पृथ्वीको स्वास्थ्यमा आफ्नो क्षमताभन्दा बढी योगदान गरिरहेका छौं । तर, हामी जलवायु परिवर्तनका नकारात्मक असरहरूको भारी र असमान बोझ सामना गर्न बाध्य छौँ’, मन्त्री डा राणाले भनिन् ।

स्थानीय समुदायहरूले जलवायु परिवर्तनको विरुद्धमा कडा सङ्घर्ष गरिरहेका अविश्वसनीय उदाहरणहरू रहेको बताउँदै उनले तिनीहरूको स्थानीय ज्ञान र जीवनको अनुभवलाई पहिचान र महत्त्व दिनु, अनुकूलनशील रहेकामा जोड दिइन् ।

अन्तर्राष्ट्रियस्तरमा सरकार, सरोकार निकाय र नागरिक समाजबीचको सहकार्य बिना हुन नसक्ने उनको भनाइ थियो ।

नेपालले सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य हासिल गर्न प्रतिबद्धता जनाएको छ । जलविद्युत्, ऊर्जाको स्वच्छ रूप, नेपालको बिजुलीको सबैभन्दा ठूलो स्रोत बनेको छ ।

नेपालद्वारा अग्रणी प्राकृतिक स्रोत व्यवस्थापन कार्यक्रम, सामुदायिक वनले नेपाललाई आफ्नो वन क्षेत्रलाई उल्लेखनीय रूपमा बढाउन मात्र मद्दत गरेको छैन, तर विश्वभरि सहभागी संरक्षणको मोडेलको रूपमा पनि देखा परेको मन्त्री डा राणाले बताइन् ।

‘जलवायु परिवर्तन राष्ट्रिय सीमाहरू पार गर्ने विश्वव्यापी सङ्कट हो । जलवायु परिवर्तनले आफ्नो मार्गमा ल्याउने अस्तित्वजन्य सङ्कटमा न्याय र ऐक्यबद्धतामा आधारित विश्वव्यापी गठबन्धनभन्दा कमले कुनै प्रभाव पार्ने आशा गर्न सकिँदैन,’ उनले भनिन्, ‘त्यसैले, हामी सङ्कटमा परेका देशहरूले सजिलै पहुँच गर्न सक्ने पर्याप्त र प्रभाावकारी क्षति र नोक्सानी कोषको लागि आह्वान गर्दछौँ ।’

नेपालजस्ता देशहरूको जोखिमलाई विश्वले स्वीकार गर्नुपर्ने र जलवायु वित्त, अनुकूलन सहयोग र प्रविधि हस्तान्तरणको प्रावधानमार्फत लक्षित न्यूनीकरण र अनुकूलन रणनीतिहरूलाई समर्थन गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री राणाले यो मञ्चले जलवायु परिवर्तन र क्षेत्रीय र अन्तरराष्ट्रिय शान्ति, सुरक्षा र स्थिरता बीचको सम्बन्ध, साथै बसाइँसराइ, खाद्य सुरक्षा, मानवीय संकट र प्रकोप जोखिमहरूमा जलवायु परिवर्तनको प्रभावहरूमा विचार गर्ने अवसर प्रदान गर्ने उल्लेख गरिन् ।

उनले यो संवादले जलवायु परिवर्तनको खतरा र मानव जातिको भविष्यको अस्तित्वजन्य खतराको सामना गर्न नयाँ विचारहरूलाई उत्प्रेरित गर्न, सहयोगलाई बढावा दिन र ठूलो राजनीतिक इच्छाशक्तिलाई परिचालन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

कर्मचारीको कुलिङ पिरियड २ वर्ष राखिने

काठमाडौं । संसदको राज्य व्यवस्था सुशासन समितिबाट निजामती सेवा विधेयक पारित भएको छ । शुक्रबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो ।

समितिमा निजामती कर्मचारीको कुलिङ पिरियड २ वर्ष राख्ने विषयमा सहमति भएको छ । त्यस्तै, निजामती कर्मचारीका अतिरिक्त सचिव राख्ने लगायतका विषयमा पनि सहमति जुटेको बताइएको छ । शुक्रबारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कुलिङ पिरियड दुई वर्ष राख्न सुझाव दिएका थिए ।

उनले दुई वर्षभन्दा बढाउँदा जनशक्तिको अभाव हुनक्ने बताएका थिए । यसअघि ‘कुलिङ पिरियड’का विषयमा कांग्रेस र एमालेबीच मतभेद थियो । कांग्रेस दुई वर्ष राख्नुपर्ने र एमाले एक वर्ष राख्नुपर्ने पक्षमा थिए ।

यस्तै निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष राख्ने विषयमा पनि सहमति भएको छ । यसअघि अवकाशको उमेर ५८ वर्ष थियो ।

निजामती सेवा विधेयक २०८० फागुन २१ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले दफावार छलफलका लागि २०८१ जेठ १५ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।

राष्ट्रपतिद्वारा मक्का मदिना जाने हजयात्रीको बिदाइ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यसवर्ष हज गर्न जान लागेका हजयात्रीलाई शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन् ।

“विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईँहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु”, उनले भने ।

उनले परापूर्वकालदेखि नै नेपाल राज्य निर्माणमा यो समुदायको महत्वपूर्ण योगदान रहेको बताए । “पवित्र आस्था र विश्वास बोकेर जाने हजयात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित् निकायले ध्यान दिनेनै छ भन्ने मैले विश्वास लिएको छु, हज कार्यलाई व्यवस्थितरुपबाट सञ्चालन गर्न समयानुकुल आवश्यक नीति, नियम र प्रवन्ध मिलाउनुपर्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु”, राष्ट्रपति पौडेलले भने ।

सो असवरमा राष्ट्रपति पौडेलले हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिएका थिए । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्धिन मियाँले राष्ट्रपतिबाट पहिलोपटक यसरी हजयात्रीलाई हजयात्राको लागि राष्ट्रपति भवनमा शुभकामना सहित बिदाइ गरिनु गौरवको विषय भएको बताए।

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।

कारको ठक्करबाट कपिलवस्तुमा ‘मर्निङ वाक’ मा निस्किएका दुई महिलाको मृत्यु

तौलिहवा । कपिलवस्तुमा कारको ठक्करबाट ‘मर्निङ वाक’ मा निस्किएका दुई महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब ६ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा पत्थरकोटबाट गोरुसिङ्गेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजादैगर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ ।

कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युक्रेन–रुस शान्तिवार्तामा प्रगति हुन ट्रम्प-पुटिन भेट हुनुपर्छः विदेशमन्त्री रुबियो

बीबीसी । अमेरिकी विदेशमन्त्रीले टर्कीमा हुन लागेको युक्रेन–रुस शान्तिवार्ताप्रति आफ्नो धेरै अपेक्षा नरहेको भन्दै उक्त मुद्दामा प्रगति हुनका निम्ति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनु आवश्यक भएको बताएका छन् ।

‘राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनबीच यो विषयमा प्रत्यक्ष अन्तरक्रिया नभईकन यहाँ कुनै निर्णायक उपलब्धि हुन्छ जस्तो मलाई लाग्दैन,’ दक्षिणी टर्कीमा नेटोका विदेशमन्त्रीहरूबीच भएको बैठकपश्चात् विदेशमन्त्री मार्को रुबियोले भने ।

इस्तानबुलमा हुन लागेको रुस–युक्रेन वार्तामा आफ्नो देशले प्रतिनिधिमण्डल पठाउन लागेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुष्टी गरे ।

तर उनले मस्कोले ’तल्लो स्तर’को प्रतिनिधिमण्डल पठाउन लागेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । रुसी प्रतिनिधिमण्डललाई राष्ट्रपति पुटिनका सल्लाहकार भ्लादिमिर मेदिन्स्कीले अगुवाइ गर्दैछन् ।

उनले क्रेम्लीनको वार्ता टोलीसँग ‘सबै आवश्यक योग्यता भएको’ बताए । यसअघि मध्यपूर्वको भ्रमणमा रहेका ट्रम्पले आफू र पुटिनबीच प्रत्यक्ष भेटघाट नभईकन शान्तिवार्तामा उल्लेखनीय प्रगति हुन नसक्ने टिप्पणी गरेका थिए ।

एयर फोर्स वनमा बीबीसीले उनलाई रुसी प्रतिनिधिमण्डलको स्वरूप देखेर निराशा उब्जिएको छ कि भनेर सोधेको थियो। ट्रम्पले जवाफ दिँदै भने, ‘हेर्नुहोस्, म र पुटिन सँगै नभईकन केही पनि हुनेवाला छैन।’

ट्रम्पले उचित भए शुक्रवार टर्कीमा हुने वार्तामा आफू सहभागी हुने बताए तर फेरि आफू वाशिङ्टन नै फर्कने बताए । बिहीबार टर्कीको इस्तानबुलमा टर्की, अमेरिका, युक्रेन र रुसका टोलीहरू भेट्दै छन्। सन् २०२२मा भएको प्रत्यक्ष वार्तापछि युक्रेन–रुसबीच हुन लागेको यो पहिलो भेट हो ।

सुरेश शिवाकोटीको ‘केलाई हतार’

काठमाडौं । गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘केलाई हतार’ सार्वजनिक भएको छ । गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक स्वर रहेको गीतमा गोविन्दकै संगीत छ ।

निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्द, मोडलहरु सन्देश थापा, सञ्चिता बोलखी, प्रेमराज लामिछाने लगायतको अभिनय देख्न सकिन्छ। ।

एचबिएन किस्मतको एरेन्ज, सुरज भुषालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन्।

कर्ण थापाको बोलीको विषयमा सर्वत्र विरोध

धनगढी । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गरेको एक भाषणको सर्वत्र विरोध भइरहेको छ । गत आइतबार बाजुरास्थित एक सार्वजनिक कार्यक्रममा भाषण गरेका थापाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई स्टार्टअप कार्यक्रममा घुस खाएको आशङ्का व्यक्त गरेका थिए । उक्त भाषणको विषयलाई लिएर थापा विरुद्ध सामाजिक सञ्जाल ओर्लिएको छ ।

थापाको भाषण बारे सुदूरपश्चिमका अधिकांश एमालेका नेता कार्यकर्ताले टिप्पणी गरेका छन् । थापाको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिँदै सामाजिक सञ्जालमा विरोध भएको हो ।

नेकपा(एमाले)का केन्द्रीय कमिटी सदस्य समेत रहेका मन्त्री भण्डारीको गल्ती भएमा प्रमाण सार्वजनिक गर्न र नभए आफ्नो बोलीलाई ठेगानमा राख्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको भनाई छ ।

थापाको भाषणका विषयमा अधिकांश नेता कार्यकर्ताले स्ट्याटस लेखेर विरोध गरेका छन् भने, कतिपय नेताहरू थापाले गल्ती गरेको बताइ रहेकाछन् । थापाले आफ्नो भाषणमा प्रमाणविहीन कुरा गरेका छन् । उनले मन्त्री भण्डारीले स्टार्टअप कर्जा पाउने व्यक्तिबाट रकम असुलेको भन्ने तथ्यहीन आरोप लगाएका छन् ।

नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/०८२मा स्टार्टअप सहुलियत कर्जा कार्यक्रम मार्फत सहुलियत ब्याजदर को ऋण प्रवाह गर्ने कार्यक्रम ल्याएको छ । १ अर्ब बजेटको उक्त कार्यक्रममा ६सय ६१ जनाले व्यवसाय गर्नका लागि कर्जा पाउने भकाए छन् ।

उक्त कर्जाबाट समेत रकम असुलेको हुनसक्ने हास्यास्पद आशङ्का व्यक्त गरेपछि थापाको चौतर्फी विरोध भएको हो । जबकि उक्त रकम अझै व्यवसायीको हातमा पर्न सकेको छैन ।

बाजुरा जिल्लाबाट २०७९को निर्वाचनमा पराजित भएका थापालाई आफू चुनाव जित्न नसक्ने र अर्काले चुनाव जितेर मन्त्री भएको देख्न नसक्ने प्रवृत्ति हटाउन अधिकांशले सुझाव दिएका छन् । थापाले समेत २ वटा फर्म रकमको प्रस्ताव गरेकोमा उक्त फर्महरूमा रकम नपरेका कारण आक्रोश पोखेको आरोप उनीमाथि लागेको छ ।

स्टार्टअप उद्यम कर्जा प्रवाह गर्ने विषयमा भण्डारीले नेतृत्व गरेको मन्त्रालय र मन्त्री भण्डारीको कुनै संलग्नता नरहेको मन्त्रालयको भनाई छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान द्वारा सञ्चालन भएको उक्त कार्यक्रममा प्रतिष्ठान, विज्ञ सदस्य लगायतको समितिले कर्जा पाउने व्यक्तिको छनोट गरेका हुन् ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१मा व्यवस्था भए अनुसार बैङ्कको प्रतिनिधि, उद्यमशीलता क्षेत्रमा काम गरेको विज्ञ सदस्य, स्टार्टअपमा काम गरेको प्रतिनिधि, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको प्रतिनिधि रहेको मूल्याङ्कन समितिले आवश्यक प्रक्रिया मार्फत उद्यमीहरूको छनोट गरी कर्जा वितरणको निर्णय गरेको हो ।

५ जनाको उक्त मूल्याङ्कन समितिका अनुसार व्यवसायको विवरण, पेस गरिएको प्रस्ताव, कम्तीमा १ मिनेटको भिडियो, छनोटका बेला गरिएका प्रश्नोत्तरको आधारमा उद्यमीको छनोट गरिएको हो ।

छनोटका क्रममा कुनै प्रकारको अनियमितता नभएको मूल्याङ्कन समितिको भनाई छ । मूल्याङ्कनका सबै प्रक्रियाहरू पुरा गर्दा ५० प्रतिशत भन्दा बढी अङ्क प्राप्त गरेका व्यक्तिहरूलाई छनोट गरिएको र फर्म छनोट नहुनुको कारण देखाउन सकिने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ तथा डिजेल/मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

संसदमा सुनाइयो सांसद बस्नेत निलम्बनको सूचना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्वन भएको पत्र पढेर सुनाए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्वन भएका हुन् ।

टेरामोक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूमाथि रु तीन खर्ब २१ करोड बिगो माग दाबी गरिएको छ ।

कञ्चनपुरका दुई नगरपालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा(मन्त्रिपरिषदको निर्णयसहित)

काठमाडौँ । सरकारले दमक भ्यू–टावरलाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ३१ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डडेल्धुराको परशुराम नगरपालिका मातहतको १५ शैयाको जनसङ्ख्या मन्त्रालय जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको जानकारी दिए ।

यस्तै सरकारले औद्यौगिक सम्पत्तिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, जल तथा मौसम विज्ञान विभाग र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव शोभाकान्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ।

नेपालद्वारा बहराइन ६ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको छ । वर्षाले प्रभावित खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको नेपालले ५ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान इन्दु बर्माले ७ बलमा नटआउट २४ रन बनाइन् ।

बहराइनकी पवित्रा शेट्टीले ३ विकेट लिइन् । यसअघि थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

जितसँगै नेपाल ४ खेलमा ५ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बहराइन ३ खेलमा १ अङ्कसहित पुछारमा छ ।

संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको मुद्दाको फैसला जेठ २८ मा आउने

काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिटमाथिको बहस सकिएको छ । बिहीबार बहस सकिएसँगै संवैधानिक इजलासले आगामी जेठ २८ गते फैसला सुनाउने मिति तोकेको छ ।

इजलासले दुवै पक्षका कानुन व्यवसायीहरूलाई यही जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश भएको छ ।

रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रकी पत्नी सारिका कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।

मिश्रलाई बन्दीप्रत्यक्षीकरणको सुनुवाइका निम्ति सर्वोच्चमा उपस्थित गराइएको हो । जिल्ला अदालतमा म्याद थपका लागि लैजाँदा उनलाई प्रहरीले सधैँ हत्कडी लगाइदिने गरेको थियो ।

सर्वोच्च लैजाँदा पनि महान्यायाधिवक्ताको कार्यालय पुग्दासम्म हतकडी लगाइएको थियो । सर्वोच्च परिसरमा भने हत्कडी खोलेर लगियो । सर्वोच्चमा रिटको पेसी शुक्रबारका लागि तोकिएको छ ।

कांग्रेस महामन्त्री शर्माले सगरमाथा आरोहण गर्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहण गर्ने भएका छन् । पर्यटन विभागले महामन्त्री शर्मालाई आरोहणको अनुमति दिएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए ।

महामन्त्री शर्मा केही समयदेखि सगरमाथा आधार शिविर क्षेत्रमै छन् । यसअघि महामन्त्री शर्माले गत मंसिरमा लोबुचे हिमाल आरोहण गरेका थिए।

आमनागरिकमा पुर्याउने उत्पादनमुखी विकासमा जोड दिनुपर्छः महत

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्राथमिकताको आधारमा विनियोजन गरिनुपर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका बारेमा प्रतिनिधिसभामा जारी छलफलमा उनले बजारमा सेयर र जग्गामा अत्यधिक लगानी भएकाले यथोचित परिणाम ल्याउन नसक्ने बताए ।

सांसद महतले सिद्धान्त र प्राथमिकतामा सामाजिक न्याय, विकासको लाभ, आम नागरिकमा पुर्याउने उत्पादनमुखी विकासमा जोड दिनुपर्ने सुझाव दिए ।

निजी क्षेत्र मैत्री र प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गरी आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्ने, विभिन्न तहको सरकारमा समन्वय कायम गर्ने, सार्वजनिक वृत्तमा देखिएका विकृतिहरु हटाउने, पुँजीगत खर्चलाई प्राथामिकताको आधारमा खर्च गर्ने र निजी क्षेत्रलाई थप सुधारका कार्यक्रममार्र्फत् कानुनी संस्थागत सुधारमा निजी क्षेत्रको सहभागितालाई वृद्धि गर्ने र समाजिक सुरक्षालाई लक्षित रूपमा अघि बढाउनेलगायतको विषयवस्तु समावेश गरिएको उनको भनाइ छ ।

“कुनकुन क्षेत्रमा काम गर्न सकिन्छ र उनीहरुलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा हामीले सोच्न जरुरी छ, कृषिमा प्राथमिकता दिने भनिएपनि कसरी दिने भन्ने विषयमा अझ छलफल हुन आवश्यक छ, भन्सारका विषयमा पनि नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ,”उनले भने ।

विद्युत् उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सांसद महतले बताए । शिक्षा क्षेत्रको गुणस्तरीयतामा दौडनुभन्दा विश्वविद्यालय खोल्नतर्फ लाग्नुपर्ने उनको विचार छ ।

त्यसैगरी सांसद महतले हरेक पालिकामा अस्पताल सम्भव नभएको भन्दै दुई तीन पालिकाको अन्तरमा अस्पताल निर्माण गरिनुपर्ने बताए । सूचना प्रविधि क्षेत्रलाई प्रवद्र्धन गर्न जरुरी रहेको जनाउँदै उनले बजेट विनियोजनमा आवश्यक अनुशासन कायम गरिनुपर्नेमा जोड दिए ।

विकासका कामले ‘जेनजी’का आकांक्षा समेटनुपर्छः उपमहासचिव पुन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सरकारको बजेट तथा कार्यक्रमले जेनजी (जेनेरेसन १९९०-२०१०) लक्षित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पुनले प्रविधिसँग हुर्किएका ‘जेनजी’सँगै पछिल्ला पुस्ताका आकांक्षामाथि बहस गर्दै विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

डिजिटल पूर्वाधार विकाससँगै स्मार्ट पूर्वाधारमा बहस गर्नुपर्ने राय पुनले व्यक्त गरे। ‘एआईररोबोटसँग हुर्किएका जेनजी र त्यसपछिका पुस्ताहरु ज्ञानको अवसरसँगै समाज र यथार्थबाट बेखबर बनिरहेको अवस्था छ। यो हाम्रा लागि चुनौती हो’, उनले भने, ‘जेनजीको आकांक्षामाथि छलफल गर्नुपर्छ। त्यसलाई आजको हाम्रो विकास र कार्यक्रमले कसरी सम्बोधन गर्छ, भन्नेतर्फ बहस चलाउनुपर्छ।’

पूर्वअर्थमन्त्री पुनले उत्पादनमा प्रविधिको प्रयोगले पुनरुत्पादनको न्यायोचित वितरणबारे बहस गर्नुपर्ने उल्लेख गरे। ‘निजीकरण सबै बजारलाई छाड्दा विकृतिहरु आयो। निजी क्षेत्रलाई कानूनी शासन हुनुपर्‍यो। बजार प्रतिस्पर्धी हुनुपर्‍यो। त्यो सिद्धान्तमा आधारित भएर हाम्रो बजेट र कार्यक्रम आउनुपर्छ’, उनले भने।

उनले राजस्वका नीतिमा सुधारको आवश्यकता औँल्याए। ‘राजस्वमा त्यस्ता नीतिहरु बनुन जसले पार्टी, नेता र प्रशासक वा मन्त्री नचिने पनि उसले व्यवसाय गर्न सकोस, प्रतिस्पर्धा गर्न सकोस, त्यस्तो नीतिमा काम गर्न सक्नुपर्छ।’

पूर्वअर्थमन्त्री पुनले अर्थतन्त्र सुधारका लागि अर्थतन्त्रको संरचना, व्यावसायिक वातावरण, सार्वजनिक वित्त प्रणाली र वित्तिय क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए। उनले सार्वजनिक प्रशासनलाई प्रतिस्पर्धी बनाउन सुझाव दिए।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माका संयोजकत्वमा समिति गठन गरेको छ ।

हाल कार्यान्वयनमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका लागि समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

गठित समितिमा मन्त्रालयका एघारौं तहका सहसचिव डा. अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. समीरकुमार अधिकारी, कानून उप सचिव गोपीकृष्ण रेग्मीलगायत छन् ।

हालको मापदण्डले आँखा अस्पताल, नाक, कान र घाँटी अस्पताल तथा न्युक्लियर मेडिसिन लगायतका स्वास्थ्य संस्थाको मापदण्ड नसमेटेकाले त्यसलाई थप्ने तयारी मन्त्रालयको छ ।

मन्त्रालयले स्वास्थ्य संस्थाको सेवा सुधार तथा प्रभावकारिता ल्याउन तयार पारेका सबै विषयलाई समेटेर मापदण्ड परिमार्जन गर्ने गरी तयारी अघि बढेको जनाइएको छ ।

कोरोना महामारीपछिको परिवर्तित अवस्थामा स्वास्थ्य सेवा प्रभवकारी बनाउन समेत अहिलेको मापदण्ड परिमार्जन जरुरी रहेकाले मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

नेप्सेमा ७ अर्ब ८ करोडको किनबेच

काठमाडौं । बिहीबार पनि शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से ८ दशमलव ४१ अङ्कले घटेर २ हजार ६ सय ११ दशमलव ८५ विन्दुमा झरेको छ । साताको पहिलो दिन आइतवार नेप्से १२ दशमलव ५३ अंकले घटेकोमा अरु दिन पनि लगातार घटेको थियो ।

आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज कर्पाेरेट विकास बैंकको शेयर सबैभन्दा धेरै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज ३२० वटा कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर ७ अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ ।

रुस–युक्रेन वार्तामा प्रगति भएमा टर्की जाने ट्रम्पको घोषणा

 

दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै पनि तीन वर्षभन्दा बढी युद्धको अन्त्य गर्ने उद्देश्यले गरिने पहिलो प्रत्यक्ष रूस–युक्रेन वार्ताका लागि टर्की जान सक्ने बताएका छन् ।

“तपाईंलाई थाहा छ, यदि केही भयो भने, यदि उचित भयो भने म शुक्रबार जानेछु”, ट्रम्पले बिहीबार कतारमा भने, “हामी विश्वलाई मनोवैज्ञानिक रूपमा मद्दत गर्न सक्छौँ । त्यसैले हामीलाई लाग्छ कि हामी रुस-युक्रेनसँग राम्रो गर्न जाँदैछौँ ।”

उनले एक दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आएमा वार्ताका लागि टर्की जाने बताएका थिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुटिनलाई आउन उनी शान्तिका बारेमा गम्भीर रहेको छु भन्ने प्रमाणित गर्न आह्वान गरेको भए पनि रूसले त्यसको सट्टा कनिष्ठ प्रतिनिधिमण्डल पठाउँदैछ ।

पुटिन अनुपस्थित हुनुमा आफू आश्चर्यचकित नभएको भन्दै ट्रम्पले भने, “यदि म जाँदिनँ भने उहाँ किन जानुहुन्छ ?”

पदभार सम्हालेपछि ट्रम्पले तुरुन्तै युद्ध अन्त्य गर्ने वाचा गरेका थिए । तर रूसले युक्रेनले समर्थन गरेको ३० दिनको बिना शर्त युद्धविरामको अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको थियो ।

युक्रेन र अमेरिकी प्रशासनबीचको सम्बन्ध सुधारिएको भए पनि कतारमा फेरि ट्रम्पले जेलेन्स्कीका बारेमा हेपेर बोलेका छन् । जेलेन्स्कीले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अर्बौं डलर सैन्य सहायता प्राप्त गर्न नजिकबाट काम गरेका थिए ।

“मलाई लाग्छ उहाँ सायद इतिहासकै सबैभन्दा महान् सेल्समेन हुनुहुन्छ”, ट्रम्पले जेलेन्स्कीको बारेमा भने । जेलेन्स्कीको फेब्रुअरी २८ मा ह्वाइट हाउसमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग तनावपूर्ण भिडन्त भएको थियो ।

आफ्नो प्रशासनले कसरी युक्रेनलाई सैन्य सहायता कटौती गरेको छ भनेर उल्लेख गर्दै ट्रम्पले भने, “यो यति सजिलो थियो, बच्चाबाट क्यान्डी लिनु जस्तै ।”

अमेरिकी राष्ट्रपति तीन राष्ट्रको खाडी भ्रमणमा छन् । भ्रमणका क्रममा उहाँ बिहीबार पछि संयुक्त अरब इमिरेट्स पनि जाँदै छन् ।

 

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस परेडका लागि गरेको भ्रमणपछि बेइजिङले बिहीबार रूसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न तयार रहेको बताएको छ ।

सन् २०२२ मा मस्कोले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेदेखि हालैका वर्षहरूमा यी दुई देश नजिक भएका छन् ।

गत हप्ता सीको रूस भ्रमणले किएभका सहयोगीहरूमा आक्रोश निम्त्याएको थियो । किएभका सहयोगीहरूले बेइजिङमाथि मस्कोलाई आक्रमणात्मक युद्ध चलाउन आर्थिक र राजनीतिक आवरण दिएको आरोप लगाएका छन् ।

बेइजिङले आफूलाई द्वन्द्वको तटस्थ पक्ष भएको बताउँदै आएको छ र शान्तिका लागि अथक प्रयास गरेको जनाएको छ ।

बिहीबार सीको भ्रमणसँग सम्बन्धित प्रश्नको जवाफमा चीनले रुससँग सैन्य–सैन्य सम्बन्धलाई कसरी बढावा दिनेछ भनेर सोधिएको प्रश्नको जवाफमा रक्षा मन्त्रालयले सम्बन्ध ‘उच्च स्तरमा सञ्चालन भइरहेको’ बताएको छ ।

“चिनियाँ सेना रणनीतिक आपसी विश्वासलाई अझ गहिरो बनाउन, रणनीतिक सञ्चार बढाउन र व्यावहारिक सहयोग विस्तार गर्न रूसी पक्षसँग काम गर्न तयार छ”, रक्षा मन्त्रालयका प्रवक्ता जियाङ बिनले सोसल मिडिया प्लेटफर्म विच्याटमा पोस्ट गरिएको प्रतिक्रियामा भने, “यी कदमले नयाँ युगका लागि समन्वयको चीन–रुस व्यापक रणनीतिक साझेदारीको सामग्रीलाई समृद्ध पार्नेछ ।”

यसले विश्वव्यापी रणनीतिक स्थिरता कायम राख्न र सुदृढ पार्न पनि योगदान दिने उनले बताए ।

आफ्नो भ्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो बैठकपछि सीले रूससँग चीनको सम्बन्धले अशान्त विश्वमा ‘सकारात्मक ऊर्जा’ ल्याएको बताए ।

उनले दुवै मुलुक ‘आधिपत्यवादी धम्की’ विरुद्ध दृढ रहेको बताए । यो संयुक्त राज्य अमेरिकामा स्पष्ट प्रहार थियो ।

आफ्नो तर्फबाट पुटिनले पत्रकारहरूलाई आफू र सीले ‘परम्परागत रूपमा न्यानो, मैत्रीपूर्ण’ वार्ता गरेको र चिनियाँ नेतालाई आफ्नो ‘प्रिय मित्र’ भनेर सम्बोधन गरेको बताए ।

रुसी सेनामा नेपालीलाई भर्ना नगर्न रुसी राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको भेटमा नेपाल र रुसबीचको मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको छ ।

प्रमुख कासिकोभले आगामी ‘सेप्टेम्बर’मा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै पनि किसिमको सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरे । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगराइने विश्वास दिलाए ।

भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

काँग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक

राजविराज । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् ।

सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुन्छ भने।

उनले भने, ‘देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ ।’

उनले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए ।

३१ महिनाभित्र जे-जे गर्नुछ गरिसक्न कांग्रेस-एमालेलाई सांसद ढकालको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र अभ्यासले बैंकको गरिमा क्षयिकरण गरेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद ढकालले भने, ‘राष्ट्र बैंक जस्तो गरिमामय संस्थामा नेतृत्वका लागि गर्भनर नियुक्तिमा जुन किसिमको लज्जास्पद अभ्यास र ऐतिहासिक भूल गरिँदैछ । भोलिका दिनमा बैंकको गरिमा क्षति हुने निश्चित छ ।’

उनले कांग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन सुझावसमेत दिए । उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु । चल्या छ लडाईं, दुईवटा गभर्नर बनाउनुस् न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस् । ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस् ।’

सल्लाहकार नियुक्तिलाई व्यवस्थित बनाउन सांसद खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसले सल्लाहकारहरुको नियुक्तिको विषयलाई लिएर संसदमा प्रश्न उठाएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जथाभावी सल्लाहकार नियुक्तिले मुलुकको ढुकुटी रित्याउने काम मात्र गरेको बताएका हुन् ।

उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि गाउँपालिका अध्यक्षसमेतले जथाभावी सल्लाहकार नियुक्त गरेको भन्दै कानुन बनाएर यसलाई व्यवस्थित बनाउन माग गरे । उनले प्रधानमन्त्रीका सल्लाहकारसमेत धेरै भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषद् आफैँ हुन्छ। परराष्ट्रमन्त्री आफैँ सल्लाहकार हुनुहुन्छ प्रधानमन्त्रीको तर धेरै सल्लाहकार राखिएको छ। राजनीतिक विज्ञ सल्लाहकार अरे, कानुन विज्ञ सल्लाहकार अरे, जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे । किन चाहियो यत्रो सल्लाहकार ? कतिपय सल्लाहकार मन्त्रीस्तरीय, कतिपय सल्लाहकारहरू राज्यमन्त्री स्तरीय, कतिपय सल्लाहकारहरू हिजो मन्त्री भएर फेरि काहीँ ठाउँ नपाएपछि सल्लाहरको रुपमा सत्ताको वरिपरी बस्नको लागि नियुक्ति भएका छन्।’

उनले सल्लाहकारलाई संविधानले नचिन्ने तर बिचौलियाले चिनेको सल्लाहकार राख्दा उनीहरूले कस्तो सल्लाह दिन्छन् भन्ने प्रश्न उठेको बताए ।

उनले भने, ‘अहिले एउटा चर्चित काण्डमध्ये शरणार्थी काण्डको बीजारोपण गर्ने सल्लाहकार नै थिए।  सल्लाहकारहरू सही ठाउँमा सल्लाह दिने छन् कि छैनन् सल्लाहकारहरू विचौलियाका रूपम प्रवेश गरेका छन् कि छैनन्, सल्लाहकारहरूसँग बेलुका बसेर मन्त्री प्रधानमन्त्री मात्रै होइन, राष्ट्रपतिसम्मको सल्लाहकारको कुरा गरेको हुँ। ‘म अनुरोध गर्न चाहन्छु, संविधानले चिनेको र कानुन अनुसार उलेख भएको सल्लाहाकार राख्ने व्यवस्था गरियोस् ।’

उनले प्रदेशमा चार मन्त्री मात्रै राख्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

फुङ्लिङ (ताप्लेजुङ) । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छन् ।

पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, नयाँ पुस्तामा चासो नहुनुलगायत कारणले याकपालनप्रति आकर्षण कम हुँदै गएपछि यहाँका स्थानीय तहले याक संरक्षण र प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका हुन् ।

सिरिजङ्घा गाउँपालिकाले हालै याक संरक्षणप्रति जनचासो बढाउने उद्देश्यले ‘चौँरी प्रदर्शन कार्यक्रम’ आयोजना गरेको थियो । जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त प्रदर्शनीमा उत्साहजनक याकपालक कृषकहरूको सहभागिता थियो ।

गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा याकको शरीरको बनावट, सिङको आकार, पुच्छरको बनोट, चालचलन, स्वभावलगायत आधारमा मूल्याङ्कन गरी उत्कृष्ट याक छनोट गरिएको थियो । प्रतियोगितामा विजयी घोषित याकका पालकलाई २८ हजार ५८८ नगदसहित प्रमाणपत्र प्रदान गरिएको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ । सहभागी कृषकलाई प्रोत्साहनस्वरूप आठ हजार ५८६ का दरले पुरस्कार वितरण गरिएको थियो ।

जिल्लास्थित चौँरी व्यवसायी सङ्घका अध्यक्ष दावा शेर्पाका अनुसार यो कार्यक्रमले कृषकहरूमा आत्मविश्वास बढ्नुका साथै चौँरी पालनमा हाकर्षण पैदा गरेको छ । “हामीजस्ता दुर्गम भेगका किसानलाई राज्यले सम्झिएको महसुस भयो”, उनले भने, “अब हामीलाई अझ थप चौँरीपालन गर्न हौसला मिलेको छ ।”

गाउँपालिका उपाध्यक्ष डा चित्र माबोले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई पनि याकपालनतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे । “हामीले परम्परागत ज्ञान र सीप जोगाउन यस्ता प्रदर्शनीहरू नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएका छौँ”, उनले भने ।

याक प्रवर्द्धन गर्नका लागि फक्ताङलुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा याकपालक कृषकलाई ७५ प्रतिशत अनुदानमा याक वितरण गर्ने कार्यक्रम अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार यो योजना प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा सञ्चालन हुनेछ ।

“पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमसम्बन्धी कार्यविधि-२०८१ बनाएर पारित गरिसकेका छौँ”, उनले भने, “यो कार्यक्रमले याकपालनको पुनरुत्थान र कृषकहरूको आम्दानी वृद्धिमा सहयोग पुर्‍याउनेछ ।” उनका अनुसार कार्यक्रमका लागि गाउँपालिकाले आठ लाख बजेट छुट्याएको छ ।

अध्यक्ष लिम्बूले पछिल्लो समय याकपालन पेसाबाट कृषक क्रमशः पलायन हुन थालेपछि उनीहरूलाई पुनःआकर्षित गर्ने उद्देश्यले यो पहल गरिएको बताए ।

याक प्रवर्द्धनमा मिक्वाखोला गाउँपालिका पनि अग्रसर हुँदै आएको छ । पालिकाले चालु आर्थिक वर्षमा याक संरक्षण तथा प्रवर्द्धनका लागि २५ लाख बराबरको कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले यस योजनाले याकपालक कृषकलाई आवश्यक प्राविधिक सहयोग, तालिम र पूर्वाधार विस्तारमा सहयोग पुर्याउने बताए ।

यसैगरी मैवाखोला गाउँपालिकाले पनि याक प्रवर्द्धनमा चासो देखाउँदै रु पाँच लाख बराबरको कार्यक्रम सम्पन्न गरिसकेको छ । पालिकाका अध्यक्ष विजयप्रकाश वनेमले भने, “हामीले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै याकपालनलाई संरक्षण र आयआर्जनको भरपर्दो माध्यम बनाउन खोजिरहेका छौँ ।”

चौँरी (याक) ताप्लेजुङको उच्च हिमाली क्षेत्रको पारिस्थितिक, सांस्कृतिक र आर्थिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ । हिउँदयाममा चौँरीलाई उच्च हिमाली चरनभूमिमा चराइन्छ । याकबाट मासु, दूध, घ्यू, रौँ (ऊन) लगायतका उत्पादन प्राप्त हुन्छन् । यसले स्थानीयको जीविकोपार्जनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

दक्षिणी गाजा सहरमा रातभर भएको हवाई आक्रमणमा कम्तिमा ५४ जनाको मृत्यु

खान युनिस । दक्षिणी गाजाको खान युनिस सहरमा रातभर गरिएको हवाई आक्रमणमा ५४ जनाको मृत्यु भएको बताइएको छ । खान युनिसका एसोसिएटेड प्रेसका क्यामेराम्यानले बिहीबारसम्म रातभर सहरमा १० वटा हवाई आक्रमण गन्ती गरे र सहरको नासेर अस्पतालको शवगृहमा धेरै शव लगिएको देखे ।

केही शव टुक्राटुक्रामा आइपुगेको र केही शव बोरामा धेरै व्यक्तिको अवशेषहरू थिए । अस्पतालको शवगृहले ५४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । उत्तरी र दक्षिणी गाजामा बुधबार गरिएको हवाई आक्रमणमा करिब दुई दर्जन बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएपछि यो भारी बम विस्फोटको दोस्रो रात थियो ।

यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको भ्रमण गरिरहेका वेला भएका हुन् । उनले खाडी देशहरूको भ्रमण गरिरहेका छन्, तर इजरायल भने जाने छैनन् । ट्रम्पको क्षेत्रीय भ्रमणले युद्धविराम सम्झौता वा गाजामा मानवीय सहायता पुनः नवीकरण गर्न सक्ने व्यापक आशा थियो । त्यस क्षेत्रमाथिको इजरायली नाकाबन्दी अब तेस्रो महिनामा छ ।

रुबियो र अन्य शीर्ष नाटो कूटनीतिज्ञहरू सम्भावित युक्रेन–रूस वार्ताअघि टर्कीमा भेट गर्दै

अन्टाल्या (टर्की) । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उनका नाटो समकक्षीहरू बिहीबार टर्कीमा भेट गर्दै छन्। रुबियोले आगामी महिना हुने गठबन्धन नेताहरूको महत्वपूर्ण शिखर सम्मेलनको तयारी गर्नेछन् जसले अमेरिका अन्यत्र चुनौतीहरूमा केन्द्रित भइरहेको बेला भविष्यको युरोपेली सुरक्षाको दिशा तय गर्नेछ ।

रुबियो र राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शुक्रबार भाग लिने योजना बनाएको इस्तानबुलमा हुने वार्तासहित रुस र युक्रेनबीच युद्धविराम सम्झौता गर्ने उद्देश्यले भएको वार्ताको बीचमा भूमध्य तटीय सहर अन्टाल्यामा यो बैठक हुँदैछ । रुबियो र विटकफ ट्रम्पको खाडी अरब देशहरूको यात्राका केही भागमा साथ दिएपछि टर्की आउँदै छन् ।

नाटो बैठकको छेउमा युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले बुधबार रुबियोसँग भेट गरे । सिबिहाले छुट्टाछुट्टै नयाँ जर्मन विदेशमन्त्री जोहान वाडेफुल र टर्कीका विदेशमन्त्री हाकान फिदानसँग पनि कुराकानी गरिरहेका छन् । टर्कीले तीन वर्षभन्दा बढी पुरानो युद्ध अन्त्य गर्ने सम्झौता गराउन मद्दत गर्ने प्रयास गरिरहेको छ ।

टर्कीको विदेश मन्त्रालयका अनुसार सिबिहा र फिदानले बुधबार युद्धविराम स्थापना गर्ने प्रयास र रुससँग स्थायी शान्ति सुनिश्चित गर्ने कदमहरूबारे छलफल गरेका थिए ।

– युक्रेनबारे टर्कीमा पनि वार्ता –

नाटोका विदेशमन्त्रीहरू भेला हुने दिन युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अङ्कारामा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने तयारी गरिएको छ । ट्रम्प वा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार भाग लिनेछन् कि छैन भन्ने खुला प्रश्न छ ।

बुधबार साउदी अरेबियाबाट कतार उडान गर्दा ट्रम्पले इस्तानबुलको सम्भावित भ्रमणको सङ्केत दिएका थिए तर उनको भ्रमण योजनाहरू परिवर्तन हुने कुनै तत्काल सङ्केत थिएन ।

“उहाँ मलाई त्यहाँ राख्न चाहनुहुन्छ र त्यो एउटा सम्भावना हो”, पुटिनलाई उद्धृत गर्दै ट्रम्पले भने, “म त्यहाँ नभएको भए उहाँ त्यहाँ हुनुहुने थियो भन्ने मलाई थाहा छैन । हामी पत्ता लगाउने छौँ ।”

जेलेन्स्कीले रूससँग प्रत्यक्ष वार्ताका लागि दबाब दिँदै आएका छन् तर पुटिन उपस्थित भएमा मात्र । पहिलेका यस्ता आह्वानहरू अस्वीकार गरेका पुटिन अलमलमा परेका छन् र बैठकमा प्रतिबद्धता जनाएको छैन ।

क्रेमलिनले बुधबार पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले रूसी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताएको छ । प्रतिनिधिमण्डलमा उप रक्षामन्त्री अलेक्जान्डर फोमिन, उप विदेशमन्त्री मिखाइल गालुजिन र जनरल स्टाफको मुख्य निर्देशनालयका प्रमुख इगोर कोस्ट्युकोभ पनि सामेल हुनेछन् । सूचीमा पुटिनले आफैँलाई समावेश गरेनन् ।

जेलेन्स्की युक्रेन नाटोमा सामेल हुन पनि उत्सुक छन्, जसलाई रुसले दृढतापूर्वक अस्वीकार गरेको छ र ट्रम्प यसमा सहमत भएको देखिन्छ । त्यसैले अन्टाल्यामा युक्रेनी उपस्थिति भए पनि सैन्य गठबन्धनमा युक्रेनको भविष्य वा त्यसको अभावका बारेमा कुनै निर्णय हुने सम्भावना कम देखिन्छ ।

– नाटो सदस्यहरूलाई रक्षामा थप खर्च गर्न दबाब दिँदै ट्रम्प प्रशासन –

अमेरिकाका लागि अझ ठूलो चिन्ताको विषय पैसा हो । ट्रम्प प्रशासनले युरोपेली नाटो सदस्यहरू र क्यानाडाले कसरी आफ्नो राष्ट्रिय रक्षा लगानीलाई कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतसम्म बढाउने योजना बनाएका छन् भन्ने सुन्न चाहेको बताएको छ ।

सन् २०२३ मा युक्रेनमा रूसको पूर्ण–स्तरको युद्ध यसको दोस्रो वर्षमा प्रवेश गर्दा नाटो नेताहरूले राष्ट्रिय रक्षा बजेटमा जिडिपीको कम्तीमा दुई प्रतिशत खर्च गर्न सहमत भएका थिए । अहिलेसम्म ३२ सदस्य राष्ट्रमध्ये २२ ले त्यसो गरिसकेका छन् ।

नेताहरूले जुन २५ मा हेगमा हुने शिखर सम्मेलनमा नयाँ लक्ष्य निर्धारण गर्नेछन् । अमेरिकी सहयोगीहरूले आफ्नो रक्षा गर्न तयार हुन कम्तीमा पाँच प्रतिशत खर्च गर्न प्रतिबद्ध हुनुपर्छ भन्ने कुरामा ट्रम्प जोड दिन्छन् तर यसका लागि अभूतपूर्व मात्रामा लगानी आवश्यक पर्नेछ ।

ट्रम्पले अमेरिकाले कम खर्च गर्ने सहयोगीहरूको रक्षा गर्ने कुरामा शङ्का व्यक्त गरेका छन् । नाटो आँकडाले देखाए अनुसार अमेरिकाले गत वर्ष तीन दशमलव ३८ प्रतिशत खर्च गरेको अनुमान थियो, एकमात्र सहयोगी जसको खर्च पछिल्लो दशकमा घटेको छ । गत महिना अमेरिकाले पाँच प्रतिशत लक्ष्य पूरा गर्छ कि भनेर सोधिएको प्रश्नमा रुबियोले भने, “अवश्य । हामी अहिले त्यहाँ जाँदैछौँ ।”

“कुनै गलतफहमी नगर्नुहोस्, यो मन्त्रिस्तरीय बैठक फरक हुन गइरहेको छ”, नाटोका लागि अमेरिकी दूत म्याथ्यु ह्वाइटेकरले यस हप्ता भने, “पाँच प्रतिशत केवल एक सङ्ख्या मात्र होइन, यो हाम्रो सुरक्षाका लागि आवश्यक छ । गठबन्धनले ठूलो खतराको सामना गरिरहेको छ ।”

उनले ती खतराहरू बारे विस्तृत रूपमा बताएनन् । नाटो नेताहरूले गत वर्षको शिखर सम्मेलनमा ‘रूस सहयोगीहरूको सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण र प्रत्यक्ष खतरा हो’ भनेर जोड दिएका थिए, तर केही देश पुटिनसँग ट्रम्पको पुनः सम्पर्कबारे असहज छन् ।

टर्कीका अधिकारीहरूका अनुसार बैठकको आयोजना गरिरहेका टर्कीका विदेशमन्त्री फिदानले टर्कीको नाटो सुदृढीकरणप्रतिको प्रतिबद्धता व्यक्त गर्ने र युरोपेली सुरक्षा तथा रक्षा पहलहरूमा टर्की जस्ता युरोपेली सङ्घ (इयु) का सदस्य नभएका नाटो सहयोगीहरूलाई समावेश गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ ।

फिदानले रुस–युक्रेन युद्धको अन्त्यमा मात्र नभई मध्यपूर्व र नाटो सदस्यहरू नजिकका क्षेत्रहरूमा स्थिरतामा केन्द्रित एक व्यापक ‘३६०–डिग्री सुरक्षा’ दृष्टिकोणको वकालत गर्ने अधिकारीहरूले बताए ।

– उच्च रक्षा खर्चको योजना –

यसैबीच विचाराधीन रक्षा खर्च योजनाअनुसार सबै सहयोगीका लागि ‘सन् २०३२ सम्ममा कडा सैन्य खर्च’ मा जिडिपीको तीन दशमलव पाँच प्रतिशत’ र अतिरिक्त ‘एक दशमलव पाँच प्रतिशत’ सम्बन्धित खर्च (मा) पूर्वाधार, साइबर सुरक्षा र यस्तै चीजहरूमा लक्ष्य राख्ने देखिन्छ । डच सरकारका अनुसार सन् २०३२ सम्ममा पनि प्राप्त गर्न सकिन्छ ।

दुई आँकडा जोड्दा पाँच प्रतिशत हुन्छ । पूर्वाधार र साइबर सुरक्षा समावेश गर्दा नाटोले परम्परागत रूपमा रक्षा खर्च गणना गर्ने आधारमा परिवर्तन हुनेछ । सात वर्षको समयावधि पनि गठबन्धनको सामान्य मापदण्ड अनुसार छोटो छ ।

अमेरिकी नाटो राजदूत ह्वाइटेकर यो हप्ता योजनाको पुष्टि गर्न देखा परे । उनले भने, “यसमा गतिशीलता, आवश्यक पूर्वाधार, साइबर सुरक्षा जस्ता कुराहरू पनि समावेश छन् । यो निश्चित रूपमा मिसाइल, ट्याङ्क र होवित्जरहरू भन्दा बढी हो ।”

कति सहयोगीहरू जिडिपीको तीन दशमलव पाँच प्रतिशतसम्म पुग्न सक्छन् भनेर हेर्न गार्‍हो छ । टर्कीमा भएको बैठकले थप स्पष्टता प्रदान गर्न सक्छ ।

अमेरिकाको ‘हस्तक्षेपवादी’ विगतलाई अस्वीकार गर्दै ट्रम्पले कतारमा अमेरिकी सैनिकहरूको भ्रमण गर्ने

दोहा । राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मध्यपूर्वमा अमेरिकी संलग्नताको केन्द्रमा रहेको अमेरिकी प्रतिष्ठानको भ्रमण गर्नेछन् । त्यहाँ उनले खाडी राज्यहरूको चार दिने भ्रमणमा यस क्षेत्रमा अमेरिकाको अतीतको ‘हस्तक्षेपवादी’ अस्वीकार गरेका छन् ।

ट्रम्पले कतारको अल–उदैद एयर बेसमा तैनाथ सैनिकहरूलाई सम्बोधन गर्ने योजना बनाएका छन् । यो इराक र अफगानिस्तानमा अमेरिकी युद्धहरूको समयमा एक प्रमुख आधार थियो र यमनका इरान–समर्थित हुथीहरू विरुद्ध हालैको अमेरिकी हवाई अभियानलाई समर्थन गरेको थियो ।

ट्रम्प इरानलाई आफ्नो प्रशासनसँग उसको आणविक कार्यक्रम नियन्त्रण गर्ने सम्झौतामा आउन आकर्षित गर्न प्रयासरत रहेकाले उनले सऊदी अरब र कतार जस्ता खाडी राष्ट्रहरूलाई सङ्घर्षले ग्रस्त क्षेत्रमा आर्थिक विकासको आदर्शका रूपमा प्रस्तुत गरेका छन्।

उनले आफ्नो भ्रमणमा सिरियाली राष्ट्रपति अहमद अल–साराको सरकारलाई मान्यता दिने र युद्धग्रस्त देशमाथिको प्रतिबन्ध हटाउने योजना पनि घोषणा गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले इस्लामिक स्टेट समूहको पुनरागमनलाई दबाउनका लागि वर्षौंदेखि सिरियामा एक हजारभन्दा बढी सैनिक तैनाथ गरेको छ ।

अल–कायदासँग सम्बन्धित भएको र सिरियाली गृहयुद्धमा प्रवेश गर्नुअघि इराकमा अमेरिकी सेनासँग लडिरहेका विद्रोहीहरूसँग सामेल भएको अल–साराको प्रशंसा गर्दै ट्रम्पले बुधबार साउदी अरबमा भेट गरेका थिए। उनले अल–सारालाई ‘जवान, आकर्षक व्यक्तित्व । कडा व्यक्तित्व । धेरै बलियो अतीत । लडाकू’ भने ।

अल–सारालाई इराकमा अमेरिकी सैनिकहरूले कैद गरेको पहिलेका वर्षहरू भन्दा यो एकदम विपरीत थियो । डिसेम्बरसम्म उहाँको गिरफ्तारीका लागि एक करोड अमेरिकी डलरको इनाम थियो ।

यस क्षेत्रमा आफ्नो पहिलो दिन साउदी अरबमा बोल्दै ट्रम्पले खाडी नेताहरूलाई भने, “तपाईंहरूले जे गर्नुभएको छ वास्तवमै अविश्वसनीय छ । अन्ततः, तथाकथित राष्ट्र निर्माताहरूले उनीहरूले निर्माण गरेका भन्दा धेरै राष्ट्रहरू ध्वस्त पारे र ‘हस्तक्षेपवादीहरू’ जटिल समाजहरूमा हस्तक्षेप गरिरहेका थिए जुन उनीहरू आफैँले पनि बुझेका थिएनन् ।”

कतारी बेसमा लगभग आठ हजार अमेरिकी सैनिक छन् । यो सङ्ख्या इराक र अफगानिस्तान युद्धको चरममा लगभग १० हजार थियो ।

ग्यास–समृद्ध खाडी देश कतारले दुई दशकमा बेस विकास गर्न लगभग आठ अर्ब डलर खर्च गरेको छ । यो कतारको राजधानी दोहाबाट लगभग २० माइल ९३० किलोमिटर० दक्षिण पश्चिममा मरुभूमिको समतल भागमा निर्माण गरिएको हो ।

कुनै समय यो आधार यति संवेदनशील मानिन्थ्यो कि अमेरिकी सैन्य अधिकारीहरूले यो ‘दक्षिणपश्चिम एसियामा’ कहीँ छ भनेर मात्र भन्ने गर्थे ।

ट्रम्पले उनी र कतारका अमीर शेख तमिम बिन हमद अल थानीले अमेरिकी हवाई क्षमताको प्रदर्शन पनि हेर्ने बताए । यद्यपि उनले यस क्षेत्रमा रक्षा निर्यात बढाउन खोजिरहेका छन् ।

“तपाईँले वास्तवमा ती उपकरणहरू धेरै खरिद गर्दै हुनुहुन्छ”, उनले र शेख तमीमसँग दुई देशबीच द्विपक्षीय र व्यापारिक सम्झौताको शृङ्खलामा हस्ताक्षर गर्दा ट्रम्पले भने, “अनि मलाई लाग्छ कि हामी यसको केही भाग भोलिपल्ट हवाई मेलामा हेर्नेछौँ– हामी यसलाई हवाई मेला भन्ने छैनौँ, तर यो हवाई मेला जस्तो हुनेछ । हामी एउटा यस्तो प्रदर्शन देखाउन जाँदैछौँ जुन अविश्वसनीय हुनेछ । उनीहरूसँग हाम्रा विमानहरूमध्ये नवीनतम र सबैभन्दा उत्कृष्ट र अरू सबै कुरा छन् ।”

बुधबार दुई नेताले हस्ताक्षर गरेका सम्झौताहरू मध्ये एउटा दस्तावेजले कतारलाई अमेरिकी निर्मित एमक्यु–९ बी ड्रोनहरू – रिपरको निर्यात संस्करण – खरिद गर्ने बाटो खोलेको छ ।