`

टी-२० विश्वकप छनोटमा बहराइनलाई पराजित गर्दै नेपालको जित

काठमाडौं । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा बहराइनलाई ९ विकेटले पराजित गरेको छ । थाइल्यान्डको तेरथाइ क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको हो ।

वर्षाले आउटफिल्डका कारण खेललाई ५ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले ५ ओभरमा १ विकेटको क्षतिमा ४१ रन बनाएको थियो ।

बहराइनका लागि कप्तान दिपिका रंगासिकाले १३ बलमा आक्रमक ३४ रन बनाइन् । जवाफी ब्याटिङमा नेपालले लक्ष्य ४.२ ओभरमा १ विकेट गुमाउँदै सजिलै पूरा गर्यो । नेपालका लागि कविता कुँवरले १८ रनको योगदान दिइन् भने सम्झना खड्का १३ रन र कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहिन् ।

यसअघि शुक्रबारको खेल वर्षाका कारण टस हुनै नसक्दा खेल रद्द भएको थियो। दुबै टोलीले १–१ अंक बाँडेका थिए । अब नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।

उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

मुस्ताङ । उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा धमाधम राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।

उपल्लो मुस्ताङमा बसोबास गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले शुक्रबारदेखि उपल्लो मुस्ताङमा दुई दिने राष्ट्रिय परिचयपत्र वितरण शिविर सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट ९राजु० र उपाध्यक्ष छिरिङ ल्हामो गुरुङको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मुस्ताङअन्तर्गत राष्ट्रिय परिचय पत्र शाखाले लोघेकर दामोदरकुण्ड गाउँपालिका केन्द्र चराङमा पुगेर तीन सय २५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । स्थानीय तहको समन्वयमा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डसहित लोमान्थाङमा छ सय ६८ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको प्रजिअ भुसालले बताए।

उपल्लो मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरणका लागि चार जना कर्मचारी खटिएको प्रजिअ भुसालको भनाइ छ । यसअघि राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि दर्ता प्रक्रिया पूरा गराउन मुस्ताङको जोमसोम पुगेर नामाङ्कन दर्ता गरेका नागरिकलाई गाउँपालिका केन्द्रमै राष्ट्रिय पत्र पाउँदा निकै नै खुसी भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे।

अध्यक्ष विष्टका अनुसार राष्ट्रिय पत्र लिन जोमसोम आउजाउ गर्दा नागरिकको कम्तीमा प्रति व्यक्ति छ हजार बढी रकम खर्च हुनेमा प्रशासनबाट खटिएको टोलीबाट शिविर सञ्चालन गरी परिचयपत्र वितरण गर्दा स्थानीय नागरिकले आर्थिक भार व्यवहोर्नु नपरेको अध्यक्ष विष्टले जनाए ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट खटिएको टोलीले स्थानीय नागरिकको सेवा र सुविधालाई ध्यानमा राखेर जिल्लामा पहिलो पटक राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरेको हो ।

शिविर सञ्चालनबाट दिनै खर्चिएर सदरमुकाम जोमसोम धाउनुपर्ने झन्झट टरेको लोघेकर दामोदरकुण्ड–१ वडाध्यक्ष टै ढिन्डुक ठकुरीले बताए । प्रशासनले पालिकावासी र नागरिकको सेवा सुविधालाई केन्द्रमा राखेर सेवा प्रवाह गरेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

पछिल्लो समय सरकारले सामाजिक सुरक्षा भत्ता तथा बैंक खाता खोल्न र अन्य प्रशासनिक प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएसँगै मुस्ताङमा स्थानीय नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न वितरण दर्ता गर्ने क्रम बढेको छ । नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियान सञ्चालन गर्दै आइरहेको छ ।

सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छः सांसद महर्जन

काठमाडौँ । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर महर्जनले सङ्घीयतालाई अझै बलियो बनाउन सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् ।
२०३९ सालदेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट राजनीति सुरू गरेका सांसद महर्जनले सङ्घीयतालाई बलियो बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारले आफ्नो क्षेत्र अधिकारभित्र पर्ने स्रोतसाधनको पहिचान गरी आम्दानीको स्रोत बढाउनुपर्ने धारणा राखेका छन् । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको उपसमितिसमेत रहेका सांसद महर्जनले देशको युवा पलायन रोक्नका लागि देशको शिक्षा प्रणालीमा सुधार गर्दै रोजगारी सिर्जनाका बाटाहरु खोज्नुपर्ने विचार पनि व्यक्त गरेका छन् । २०४६ सालको आन्दोलनमा अतुलनीय योगदान पुर्याएका सांसद महर्जनसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादीत अङ्श ।

संविधानमा उल्लेख धाराहरू पढ्दै गर्दा हामीले शक्ति पृथकीकरणको हिसाबमा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले गर्नुपर्ने कामको कार्यान्वयनको पक्षमा यी तीन वटै निकाय जिम्मेवार छन् । कार्यपालिकाले गरेका निर्णयहरु व्यवस्थापिका भित्र छलफल हुन्छ । व्यवस्थापिकाले गरेका निर्णयहरू कार्यपालिकाले कार्यान्वयन गर्दै आएको छ । तर शक्ति पृथकीकरणको हिसाबले यी तीन वटा शक्तिको आआफ्नै कार्यक्षेत्र भएका अलगअलग निकाय हुन् । कहिलेकाहीँ संविधानभित्र रहेर पनि संविधानभन्दा बाहिरका कुरा गर्ने राजनीतिक दलहरू पनि छन् । त्यो मिल्छ वा मिल्दैन । तर संसद् र सांसदको अधिकार भनेको कानुन निर्माण गर्ने र जनताका समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनु हो । तर संसद् र सांसदले संविधानभन्दा बाहिर गएर कुनै पनि काम गरेको छैन ।

संविधान देशको मूल कानुन हो । कानुनको पनि मूल कानुन नै हो संविधान । हामीले गरेको २०४६ सालको आन्दोलनपछि बनेको सरकारले २०४७ सालमा संविधान बनाएको थियो । त्यति बेलाको संविधान पनि उत्कृष्ट संविधान भनिन्थियो । तर त्यो संविधानले वास्तविक जनताको भावनाअनुसार काम गर्न नसकेपछि जनतामा आक्रोश बढेको थियो । अहिलेको संविधान पनि जनताको आन्दोलनपछि बनेको संविधान हो । संविधान बनेपछि हामीले दुई वटा निर्वाचन सम्पन्न गरिसकेका छौँ । संविधानमा केही कमी कमजोरी छन् भने त्यसलाई संशोधन गरेर जानुपर्छ भन्ने हो । तर संविधान संशोधन बहुमतको आधारमा गर्नुहुँदैन । जनताको राय लिएर सबै राजनीतिक दलको सहमतिको आधारमा संशोधन गर्नुपर्छ । सबै दलहरु महमतिमा आएको खण्डमा स्वभाविक रूपमा संशोधन गर्न सकिन्छ ।

संविधानअनुसार हामीले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेका छौँ । यो घोषणा गरिसकेपछि संविधानत समाजवाद उन्मूख काम गर्दै जाने हो । जनताका आधारभूत आवश्यकतालाई पूरा गर्दै जाने हो । देशलाई समृद्ध बनाउँदै जाने हो । मुलुकलाई सुखी नेपाली बनाउने हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्नेछ । सोही अनुसार काम गर्ने सवालमा स्थानीय, प्रदेश र सङ्घीय गरी तीन वटै सरकार जिम्मेवार हुनुपर्छ । सङ्घीय सरकारको आफ्नै कार्य क्षेत्र छ । त्यो कार्य क्षेत्रभित्र रहेर ऐन कानून बनाउँदै आएको छ । कानून संशोधन गर्दै जाने सवाल छ । कतिपय विषयहरू विकेन्द्रिकृतको सिद्धान्तअनुसार सङ्घीयता लागू गरिसकेपछि प्रदेश सरकारका काम कारबाहीले सङ्घीयतालाई बलियो बनाउन सहयोग गरेको छ ।

सङ्घीयतालाई अझै बलियो बनाउन आफ्नो क्षेत्रभित्र पर्ने सम्भावनाको खोजी गर्नुपर्छ । जस्तो प्रदेश सरकारभित्र पर्ने जलस्रोतलाई विकास गर्दै लैजानुपर्छ । प्रदेश सरकार आत्मनिर्भर बन्नुपर्छ । स्थानीय सरकार आत्मनिर्भर बन्नुपर्छ । विकासको सवालमा प्रदेश र सङ्घीय सरकार आफैँले छुट्टाछुट्टै काम गर्न सक्छ । तर सङ्घीय सरकारले सिंहदरबारमा मात्रै अधिकार केन्द्रित गर्नुहुँदैन । त्यसो गर्दा सङ्घीयता सुध्रिण हुन सक्दैन । सङ्घीय सरकारले ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनामा काम गरे पनि साना काम प्रदेश र स्थानीय तहको लागि छोडिदिनुपर्छ । ठूला ठूला विदेशी लगानी भित्र्याउनका लागि सङ्घीय सहकारको महत्वपूर्ण भूमिका हुनुपर्छ । तर अहिले व्यवस्थाप्रतिको असन्तुष्टि कुराहरु पनि छन् । सरकारको कामको प्रतिफल भनेस्ता नभएका कारण फरक मत राख्नु स्वभाविक हो । तर सङ्घीयताको पूर्ण कार्यान्वनयका लागि निश्चित रुपमा अलिकति समय लाग्न सक्छ ।

चुनावको समयमा मेरो निर्वाचन क्षेत्रका जनता समक्ष धेरै ठूलो सपना बाढेको थिइन । मैँले जनताको दुःख दुःखमा सँगै हुन्छु भनेको थिए । जुन भूमिका मैले पूरा गर्दै आएको छु । म मेरो निर्वाचन क्षेत्र ललितपुरका जनतासँगै छु । यद्यपी मलाई मत दिएर जिताउने कतिपय जनतासँग पुग्न सकिरहेको छैन । अब सबै जनताको घरघरमा पुगेर उहाँहरूका समस्या बुझ्ने र समाधानको निम्ति पहल गर्नेछु । अर्को विकास निर्माणको सवालमा हिजोका दिनमा सङ्घले संसद् कोष बनाइ राख्दा जनतालाई आश्वस्त पार्ने गरी रकम बाँड्ने गरिन्थियो । अहिलेको अवस्थामा जनतालाई ठूलो ठूलो आकांक्षा पूरा गर्नको निमित्त पूर्वाधारका विकासका काम पनि भएका छन् । जस्तो पुल निर्माण, बाटो निर्माण, पोखरी निर्माण, पहिरोको व्यवस्थापन लगायतको क्षेत्रमा काम भएका छन् । निर्माणाधीन अवस्थामा रहेको ग्वार्कोको फलाइओभर हामीले नै अगाडि बढाएको हो । यो निर्माण सम्पन्न भएको दिन मेरो निर्वाचन क्षेत्रको गौरवशाली योजना पूरा हुनेछ । शिक्षा, स्वास्थ्य र रोजगारी र विद्यालय निर्माणको क्षेत्रमा पनि मैले काम गरेको छु । अर्को भनेको सामाजिक सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आएको छु ।

नेपाली युवा पलायनको विषयलाई दुई/तीन वटा दृष्टिकोणबाट हेर्न सकिन्छ । पहिलो कुरा, हामीले विश्वलाई एउटा घर मानेका छौँ । स्वाभाविक रूपमा गुणस्तरीय शिक्षाको निम्ति एक देशबाट अर्को देश जाने कुरा हुन्छ । तर अध्ययनको निम्ति विदेश जाने युवालाई देशभित्रै राख्नका लागि रोजगार मूलक शिक्षा प्रणालीको विकास गर्नुपर्छ । अर्को भने श्रमका लागि युवा जाने गरेका छन् । यसलाई रोक्नका लागि देशभित्रै रोजगारी सिर्जना गर्नुपर्छ । देशभित्रै कलकारखाना र उद्योगको विकास गर्नुपर्छ । देशभित्रै रहेको स्रोतसाधनबाट रोजगारी सिर्जना गर्नुपर्छ । हामीले पर्यटनको क्षेत्रलाई अझै व्यवस्थित गर्न सकेका छैनौँ । ऊर्जाको क्षेत्रलाई अझै व्यवस्थित गर्नुपर्ने छ । कृषिलाई आधुनिकीकरण गर्न जरूरी छ ।

म प्रतिनिधिसभाको सदस्य भएको करिब दुई वर्ष भयो । मेरो विगत हेर्नेको हो भने मैले जनस्तरमा सामाजिक कार्यकर्ताको रुपमा लामो समयदेखि काम गर्दै आएको हो । मैले दुई पटकसम्म ललितपुर महानगरपालिको वडा अध्यक्ष भएर काम गरेको अनुभव पनि छ । प्रतिनिधिसभाको सांसद हुनुभन्दा पहिले नै जनताको प्रतिनिधि भएका काम गरेको अनुभवले संसद्मा काम गर्न सजिलो पनि भयो । मेरो राजनीतिक, सामाजिक र अनुभव भएकोले पनि सङ्घीय संसद्सम्म पुग्न सफल भएको हो भन्ने लागेको छ । हिजोका दिनमा हामीले जसरी सांसदलाई जनताका विषयवस्तु राखिदिनु पर्यो भनेका थियौँ । आज त्यसैगरी मलाई जनताले मेरो विषयवस्तु राखिदिनु पर्यो भनेर भन्दै आएका छन् । सोहीअनुसार मैले संसद्मा मेरो निर्माण क्षेत्र ललितपुरका जनताका समसामयिक विषयमा संसद्मा राख्दै आएको छु ।

सार्वभौम सम्पन्न संसद्भित्र जनताका कुरामा मैले सांसद भएदेखि निरन्तर राख्दै आएको छु । मैले जनताका सवाललाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुका साथै जनताको पक्षमा, जनताको चाहना बमोजिम कानुन निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छु । सरकारले ल्याएका विधेयकमा संसद् र संसदीय समितिमा प्रर्याप्त छलफल गरेर पास गर्ने गरेका छौँ । तर, संसलले हालसम्म जति कानुन बनाउनुपर्ने हो, त्यति कानुन बनाउन सकिरहेको छैन कि भन्ने लाग्छ । संसदीय समितिसम्म पुगेका विधेयकमाथि संशोधन राखेर पनि विस्तृत रुपमा छलफल गरेर मात्रै पास गर्ने गरेका छौँ । हामीले संसद्बाट धेरै कानुन निर्माण गरेका छौँ । अहिले पनि धेरै विधेयक विचारधीन अवस्थामा छन् । म कानुनको विद्यार्थी भएको नाताले पनि कानुन निर्माणको क्रममा सहयोग पुगेको छ ।

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक खेतीमा संलग्न भएका छन् ।

छ वर्षदेखि चौधरीले तरकारी खेती गर्दै आएका छन् । चार वर्ष मलेसियामा काम गरेर फर्केका चौधरीले वर्षमा तरकारी खेतीबाट सात लाख बढी आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारीबाट फर्केर चौधरीले चार कठ्ठा जग्गा खरिद गरेका थिए ।

सोही जग्गामा उनले बाह्रै महिना तरकारी खेती गर्दै आएका छन् । “थोरै जग्गा थियो”, उनले भने, “सात जनाको परिवारको खर्च चलाउन चुनौती पूर्ण थियो, स्वामित्वको पाँच कठ्ठा जग्गा मात्रै रहेकामा घर फर्केर चार कठ्ठा जग्गा थपे ।”

घरका लागि मात्रै थोरै मात्रै तरकारी खेती गरिँदै आएको थियो । तरकारी खेती गर्ने तौरतरिका भए पनि आर्थिक अभाव थियो । वैदेशिक रोजगारीबाट कमाएको केही रकम लगानी गरी व्यावसायिक तरकारी खेतीमा संलग्न हुने चौधरीले निर्णय गरेका थिए ।

तरकारी खेतीमा परिवारका सदस्यले साथ दिने बचन दिएपछि त्यसमै होमिएको उनी बताउँछन् । पहिलो वर्ष नै तरकारी खेतीबाट सोचेभन्दा बढी आम्दानी भएपछि उत्साहित हुँदै तरकारी खेतीलाई निरन्तरता दिँदै आएको उनले बताए । गत हिउँदमा मात्रै चौधरीले काउलीबाट मात्रै ८० हजार र लहरेबालीबाट ६० हजार आम्दानी गरेका छन् ।

वैशाखदेखि असारसम्म काँक्रा, बोडी, तरबुजा, तितेकरेला, तोरैया, खुर्सानी, वर्षातका बेला लौका, काँक्रा, फर्सि र हिउँदका बेला काउली, गाोलभेडा, खुर्सानीको खेती चौधरीले गर्दै आएका छन् । मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका चौधरीले बेमौसमी तरकारी खेतीबाट बढी आम्दानी लिने गरेका छन् ।

परिवारका सात जनाको पूरै खर्च एवं बालबालिकाको विद्यालय खर्च तरकारी खेतीले धानिँदै आएको चौधरी बताउँछन् । चौधरीले वैदेशिक रोजगारीबाट फर्केर किनेको चार कठ्ठा र पहिलेदेखि नै स्वामित्वमा रहेको छ कठ्ठा जग्गा गरी १० कठ्ठा जग्गा रहेको छ ।

चार कठ्ठा जग्गामा बाहै्र महिना तरकारी खेती हुने गरेको छ भने छ कठ्ठा जग्गामा गहुँ, धानलगायत खेती हुने गरेको छ । तरकारीका लागि बारी तयारी गर्ने, बीउ रोप्ने, मल राख्ने, गोडमेल गर्ने र तरकारी टिपेर बजारसम्म पुरयाउनका लागि पुरै परिवार खटिने गरेको छ । मोटरसाइकलमा तरकारी राखेर चौधरीले महेन्द्रनगरको सब्जीमण्डी र झलारी बजारमा बिक्री गर्दै आएका छन् ।

“वैदेशिक रोजगारीमा हुँदा तलब मात्रै पारिश्रमिकका रूपमा पाइन्थ्यो”, उनले भने, “व्यावसायिक तरकारी खेतीमा जति मिहिनेत गर्यो, त्यति नै प्रतिफल हासिल हुन्छ । टाढाको देशमा एक्लो भइने, अहिले परिवारसँग सुखदुःख बाँड्न पाइएको छ, दुःख बिरामी हेर्ने मान्छे परिवारमा छन्, विदेशमा त्यस्तो केही हुँदैनथ्यो, स्वदेशमै जति कमाइ भए यसमै सन्तुष्ट छु, अब फर्केर विदेश जाने योजना छैन”, उनले भने ।

थोरै जग्गामा धेरै तरकारी फलाउने किसानका रूपमा चौधरीलाई शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाले उत्कृष्ट कृषकका रूपमा प्रमाणपत्रसहित पुरस्कृत गरी सकेको छ । वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी मुस्कानलाई मिहिनेती र साहसी किसानका रूपमा चिन्ने गर्छन् ।

“थोरै जग्गामा बाह्रै महिना व्यावसायिक रुपमा तरकारी खेती गरेर गतिलो आम्दानी गर्ने किसानमा मुस्कान पर्नुहुन्छ”, उनले भने, “उहाँको कार्यलाई अरू किसानले अनुसरण गरेर कार्य गर्न सक्नुपर्छ ।”

पिपलाडीलाई नगरपालिका क्षेत्रकै सबैभन्दा बढी व्यावसायिक तरकारी खेती हुने क्षेत्रका रूपमा परिचित रहेको छ । यहाँका ५० बढी किसान व्यावसायिक तरकारी खेतीमा संलग्न रहेका छन् ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

राँझा (बाँके) । बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ ।

हुलाकी सडक निर्माणसँगै अहिले नरैनापुरबाट करिब आधा घण्टामै सदरमुकाम नेपालगञ्ज पुग्न सकिने नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानले बताए । “हुलाकी सडक निर्माण नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ”, खानले भने, “हुलाकी सडक नरैनापुरवासीको लाइफलाइन बनेको छ ।”

हुलाकी सडक निर्माण भएपछि अहिले नेपालगञ्जबाट नरैनापुरको सीमावर्ती क्षेत्र सुईया बघौडासम्म दैनिक रूपमा चार वटासम्म सार्वजनिक यात्रुवाहक बस सञ्चालन हुने गरेका छन् । हुलाकी सडक निर्माणपछि नरैनापुरवासीको स्वास्थ्य र शिक्षामा सहज पहुँच पुगेको नरैनापुर–६ का अगुवा सोहनलाल यादवको भनाइ छ ।

“पहिला बिरामीलाई अस्पताल पुर्‍याउन धेरै कठिन हुने गर्थ्यो, अहिले गाउँघरमै एम्बुलेन्स पुग्ने भएकाले बिरामीलाई सजिलै नेपालगञ्जका अस्पतालमा लैजान सकिन्छ”, यादवले भने, “नरैनापुरमा अहिलेसम्म उच्च शिक्षा अध्ययनको लागि क्याम्पस छैनन्, हुलाकी सडक बनेपछि विद्यार्थीलाई नेपालगञ्ज पढ्न जान आउन धेरै सजिलो भएको छ ।”

विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको यादवले बताए। हुलाकी सडकदेखि भित्री गाउँसम्म पुग्ने सडक निर्माणमा अब गाउँपालिकाले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले हुलाकी सडक निर्माण भएसँगै नरैनापुरवासीको जीवनयापनमा आमूल परिवर्तन आएको बताए । उनले गाउँपालिकाका छ वटै वडाका गाउँबस्तीसम्म पुग्ने सडक निर्माणलाई आफूले प्राथमिकता दिएको उल्लेख गरे

बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा सुरु भएको दुई दशक बढी समयपछि निर्माण सम्पन्न भएको हो । करिब २३ वर्ष अघिदेखि सडक निर्माण सुरु भए पनि पटकपटकको अवरोध र अनिश्चितताका बीच नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहज भएको बाँके क्षेत्र नं १ का संघीय सांसद सूर्य ढकालले बताए।

हुलाकी सडक निर्माण समयमै सम्पन्न गर्न आफूले आवश्यक समन्वय र चासो देखाएको बताउँदै उनले हुलाकी सडक निर्माणले यहाँका नागरिकलाई विकासको अनुभूति गराएको उल्लेख गरे ।

भारतीय बाटो प्रयोग गरी ६ महिनापछि फर्किए टिंकरवासी घर

नरेन्द्रसिंह कार्की, दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन् ।

गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनःफर्किएका छन् । ‘छ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ’, स्थानीय जसपाल तिंकरीले भने, ‘भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन् ।” छ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ ।

टिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन् । वडा नम्बर १ का वडा सदस्य एवं टिंकरका स्थानीय हितेश बुढाथोकीले भने, ‘आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ ।’ आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ । राज्यले समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो ।

सरकारले विशेष अनुदानअन्तर्गत चालू आर्थिक वर्षमा रु पाँच करोड ५० लाख बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन । यद्यपी गाउँपालिकाले यसै साता मात्र निर्माण कम्पनी छनोट गरेको छ ।

यो पटक आफ्नै भूमि भएर गाउँ जाने सपना बुनेका व्यासीहरू अन्ततः भारतकै भूमि भएर गाउँ फर्किनुपरेको बुढाथोकी बताउँछन् । उनी भन्छन्,‘कहिलेकाही आफ्नै सरकारप्रति हिनताबोध हुन्छ ।’ विसं २०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुसी थिए । “भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस गर्‍यौँ’, जसमल बुढाथोकीले सुनाए, ‘तर नक्सा पाएका नागरिकको लागि पैदलबाटो बनाउन सरकारले यतिका वर्ष लगाउँदैछ । सडक सपना त अझै धेरै टाढाको छ ।”

नक्साजारी भएपछि एकपटक सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्‍यो । नागरिकमा एक प्रकारको खुसी महसुस छायो । तर विस्तारै ती सबै सपना जस्तै लाग्न थालेको स्थानीय दानसिंह तिंकरीको बुझाइ छ । उती बेला राज्यका माथिल्लो निकायबाट भएको भ्रमण हेर्दा व्याससम्म सडक चाडै पुग्ने विश्वास थियो ।

यहाँका बासिन्दा वर्षको आधा समय खलङ्गामा र बाँकी समय टिंकरमा बस्ने गर्छन् । उनीहरूको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइसराइ हो । तीन हजार तीन सय मिटर उचाइमा अवस्थित यस गाउँमा ६ फिटभन्दा बढी हिउँ पर्ने हुँदा हिउँदमा बस्न सकिँदैन दानसिंह भन्छन् । चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलङ्गातिर सर्छन् ।

चिसो मौसम भएका कारण छ महिनागाउँ सुनसान हुन्छ । घरका ढोकामा चाबी लगाइएको हुन्छ । दानसिंहले थपे, ‘अहिलेसम्म गाउँमा चोरी भएको घटना छैन । यो सबै भगवान्को देन हो ।’ हामीहरूको संस्कृति, परम्परा र पूजापाठमा गहिरो आस्था छ । यही कारण कोही नहुँदा पनि हाम्रो खाद्यान्न, घर सुरक्षित नै रहेको हुन्छ ।

स्थानीयको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडिबुटी सङ्कलन हो । यहाँ फापर, उवा, काकनु, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ । उनीहरू गाई, चौरी, खच्चड, घोडा, बाख्रा पाल्छन् । अहिले गाउँपुगेपछि स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन् ।

चीनसँगको व्यापार खुला हुँदा तिब्बतसँग किनमेल गर्थे । पछिल्लो समय भने चीनबाट खाद्यान्न आउन रोकिएको छ । नेपालमा मात्रै बसोबास गर्ने व्यासी सौका समुदायको मात्रै यहाँ बसोबास हुन्छ ।

परम्परागत घरले सुन्दरता दिएको छ । टिंकर प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ । फुलेका मनमोहक फूल, घर नजिकै देखिने नाउर जस्ता वन्यजन्तु, अपि हिमाललगायत हिमशृङ्खला, सुदूरहिमाली जीवनशैलीले यहाँलाई विशेष बनाउँछ । सौका समुदायले आफ्नै भाषा ‘रङ्ग’ बोल्छन् ।

छैन आधारभूत सेवा

व्याँस गाउँपालिका–१ कातिंकरबासीहरू वर्षको करिब ६ महिना गाउँमा बसोबास गर्छन् । सो अवधिमा स्वास्थ्य चौकी नहुँदा उनीहरू सामान्य रोग लाग्दा पनि भारतीय सुरक्षाकर्मी समक्ष धाउनुपर्छ या आफैँले खलङ्गाबाट बोकेर लिएको औषधि प्रयोग गर्न बाध्य छन् ।

“सामान्य टाउको दुख्दा औषधि हुँदैन, स्थानीय जसमल बुढाथोकी भने, ‘ज्येष्ठ नागरिक बिरामी हुँदा अकालमै ज्यान गुमाउनुको विकल्प छैन ।’ धेरैले सिटामोल, दमलगायत औषधि खलङ्गाबाटै आफूसँगै बोकेर लिने गर्छन् । उनीहरूको भाषामा आफ्नै स्वास्थ्यकर्मी आफैँ बिरामी जस्तै हो ।

व्यास १ को छाङ्गरूमा स्वास्थ्य चौकी छ । तर तिंकर गाउँबाट छांगरू आउजाउ गर्न पाँच घण्टा बढी समय लाग्छ । गाउँमा युवा कमै बस्छन् । विरामी हुँदा बोक्न पनि मुस्किल पर्छ । पढाई र रोजगारीको सिलसिलामा गाउँभन्दा बाहिर युवा हुँदा गाउँमा कुनै अप्ठ्यारो पर्दा समस्या हुने गर्छ । “पहिले त कोही बिरामी हुँदा चार पाँच दिनपछि खबर पाउने अवस्था थियो’, बुढाथोकीले भने, ‘गतवर्षदेखि ल्याण्डलाइन र नेपाल टेलिकमको टु जीफोन सञ्चालन भएपछि सहज भएको छ ।’

चिसोका कारण बिरामी पर्ने जोखिम उच्च छ, तर यस क्षेत्रमा राज्यको ध्यान कम गएको देखिन्छ । सर्वसाधारण मात्र होइन यहाँका सुरक्षाकर्मीले बोेकरै औषधि लिनुपर्छ । वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार तिंकरमा तीन–चार वर्षअघि निर्माण थालिएको स्वास्थ्य भवन अझै पूरा हुन सकेको छैन । उनले भने, ‘समयमै बजेट नआउँदा स्वास्थ्य संस्था सञ्चालनमा आउन सकेको छैन ’

पञ्चायतकालमा नेपाली बाटो, अहिले विदेशको भर

पञ्चायतकालमा टिंकर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो । बहुदल आएपछि त्यो बाटो बन्द भयो । गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले जहिल्यै आफ्नै गाउँ फर्किन भारतीय भूमि र भारतीय अनुमतिको भर पर्नुपरेको छ ।

व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामी भन्छन्, ‘व्यास गाउँपालिका–१ को छाङ्गरू टिंकर जोड्ने गरी पटकपटक बजेट नगएको भने होइन । तर नियमन निकायको अभाव भयो । बजेटको सही प्रयोग हुन नसक्दा यो बाटो कहिल्यै बनेन् । तत्कालीन जिल्ला विकास समिति, गाउँविकास समितिमार्फत बजेट राख्यो । विसं २०७४ मा स्थानीय सरकार बनेपछि गाउँपालिकाले लगानी ग¥यो । गतवर्ष बाटो मर्मत सम्भारमा करोड खर्च भयो । तर बाटोको अवस्था उस्ताको उस्तै छ ।

विगतमा केही ठाउँमा भारतीय सडक निर्माणको क्रममा नेपालतिरको बाटो अवरूद्ध भएको स्थानीयवासी बताउँछन् । ठाउँठाउँमा भारतले महाकाली नदी किनारैकिनार सडक लाँदा ड्याम बाधिएर नेपालतर्फको बाटो क्षति हुन पुगेको छ । केही ठाउँमा पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । तम्बाकुलगायत क्षेत्रमा नेपालतिर नदीले पूरै कटान गरेपछि पूर्णरूपमा बाटो बन्दभएको वडाध्यक्ष योगेश बोहरा बताए ।

नेपालतिर बाटो नबनेकै कारण व्यासका नागरिक मात्र होइन, व्यासमा कार्यरत सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म, इलाका प्रहरी कार्यालय छाङ्गरू, बिओपी तिंकर तथा सीमा चौकी तिंकरी प्रहरीलगायतले भारतकै बाटोको भर पर्नुपरेको छ ।

टिंकरमा प्रहरी र सशस्त्रको छ महिना मात्रै

दार्चुलाको टिंकर क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीको बसाइ अधिकतम छ महिनासम्म मात्र हुने गरेको छ । चिसो मौसमका कारण सुरक्षाकर्मीहरू स्थानीय जस्तै बसाइ सर्नुपर्ने अवस्था आइपरेको हो ।

स्थानीयको कुञ्चागाउँ पुग्ने बेला सशस्त्र प्रहरी टिंकर उक्लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति डिएसपी लीलीबहादुर चन्दले बताउनुभयो । अहिले सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षक अनिल शाहीको नेतृत्वमा सशस्त्र प्रहरी टिंकरमा खटिएको हो । उनीहरू भारतीय बाटो हुँदै टिंकरको छायालेक बीओपी पुगेका हुन् ।

दुई वर्षदेखि टिंकरको छायालेकमा सशस्त्र प्रहरी बस्न थालेको हो । व्यासकै छाङ्गरूमा गुल्म रहेको छ । चुच्चे नक्सा जारी भएसँगै यहाँ सुरक्षाकर्मी राखिएको हो । छाङ्गरूमा सशस्त्र प्रहरी र नेपाल प्रहरी वर्षभरि नै बस्ने गर्छन् ।

नेपाल प्रहरी भने एक दुई दिनभित्र टिंकर उक्लिने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्र रावतले बताए । अहिले नेपाल र भारत दुवैतर्फबाट अनुमति पत्र बनाउने काम भइरहेको उनको भनाइ छ ।

शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति अनुकूलताअनुसार हिउँदे वा वर्षे बिदामा परिपूर्ति गर्ने

काठमाडौँ । एक महिना चलेको शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गरिने भएको छ ।

नेपाल शिक्षक महासङ्घले आन्दोलनबाट विद्यार्थीको सिकाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न शिक्षकहरूलाई आग्रह गरेको हो ।

महासंघले विज्ञप्ति जारी गरी भनेको छ, ‘विद्यार्थी वर्गमा पर्न गएको शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखी आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे बिदामा सो क्षतिको आपूरण गर्नुहुन सबै प्रधानाध्यापक तथा शिक्षक –कर्मचारी साथीहरूमा अनुरोध छ ।’

आन्दोलनको बलमा विगतमा सहमति भई कार्यान्वयनमा नआएका विषयहरू मन्त्रिपरिषद्बाट निर्णयमार्फत कार्यान्वयन गराएको र २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सुनिश्चित भएकोले आफूहरूको आन्दोलन अत्यन्त सफल र उपलब्धिमूलक भएको महासङ्घको ठहर छ ।

भारतीय वायु रक्षा प्रणाली ध्वस्त पारेको पाकिस्तानी सेनाको दाबी

बीबीसी । भारतले एयरबेसमा आक्रमण गरेको आरोप लगाएपछि पाकिस्तानी सेनाले जवाफी कारबाही सुरु गरेको जनाएको छ ।

पाकिस्तानी सेनाले भारतको एस–४०० प्रतिरक्षा प्रणाली ध्वस्त पारेकोसहित विभिन्न दाबी गरिरहेको छ । यसले साइबर आक्रमण सुरु गरेको र सत्तारुढ भाजपा पार्टी सहित भारतका केही शीर्ष वेबसाइटहरू ह्याक गरेको पनि बताएको छ ।

बीबीसीले यी दावीहरूलाई स्वतन्त्र रूपमा पुष्टि भने गर्न सकेको छैन । एक प्रत्यक्षदर्शीले श्रीनगर विमानस्थल नजिकै पहिले विमानस्थल नजिकै उडिरहेको जेट जस्तो आवाज आएको र त्यसपछि विस्फोटहरू भएका जानकारी दिएका छन् ।

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

म्याग्दी । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा गण्डकी प्रदेश सरकार र समुदायको  एक करोडभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको छ ।

परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको हो ।

प्रदेश सरकारको रु ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार तथा समुदायले चन्दा संकलन गरेर जुटाएको रु २८ लाखले तपस्यास्थलका लागि स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर निर्माण भएको प्रभुचेला धुरी प्रवर्द्धन समाजले जनाएको छ ।

विभिन्न दाताहरूले व्यक्तिगत लगानीमा परापूर्वकालमा ऋषिमुनीहरूले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षणका साथै मन्दिर र खानेपानी निर्माण गरिएको समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नविन) ले बताए । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको छ ।

पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटीको पुन:निर्माण गरेका छन् । छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । रुपलाल पुनको संयोजकत्वमा स्व मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्यांकी निर्माण भएको छ ।

परापूर्वकालमा ऋषिमुनीहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण थालिएको थियो । बस्तीदेखि टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि उपयुक्त मानिएको छ ।

पूर्वाधार निर्माण भएपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमान गर्बुजाले बताए । प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनीहरूका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषि मुनीहरू आउने गर्दथे ।

स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए । कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ ।

पाकिस्तानद्वारा भारतविरुद्ध आक्रमण सुरु गरेको घोषणा

काठमाडौं । भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’विरुद्ध पाकिस्तानले जवाफी कारबाही सुरु गरेको घोषणा गरेको छ । पाकिस्तानले अपरेशन ‘बुनयान–अन–मार्सूस’ घोषणा गरेको हो । पाकिस्तानले भारतलाई आफ्नो लडाई प्रतिक्रिया सुरु गरेको र प्रमुख सैन्य प्रतिष्ठानहरूलाई निशाना बनाउने घोषणा गरेको छ ।

पीपीपी सिनेटर शेरी रहमानले पाकिस्तानी सेनाले भारतीय आक्रमणको विरुद्धमा आफ्नो प्रतिआक्रमण सुरु गरेको सरकारी प्रसारक पीटीभी न्यूजले सुरक्षा स्रोतहरूलाई उदृत गर्दै जनाएको छ ।

‘यी कारबाहीहरू भारतको प्रारम्भिक आक्रमणको प्रतिक्रियामा गरिएका छन्, जुन हाम्रो मातृभूमि, जनता र सार्वभौमसत्तामाथिको आक्रमण थियो’ विज्ञप्तिमा आज राति पाकिस्तानी वायुसेनाको तीन एयरबेसमा भारतीय क्षेप्यास्त्र आक्रमणलाई उल्लेख गर्दै भनिएको छ।

डेडिकेटेड र ट्रंक लाइन बक्यौतासम्बन्धमा पुनरावेदनका लागि प्राधिकरणको आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन बक्यौता सम्बन्धमा पुनरावेदनका लागि आह्वान गरेको छ ।

शुक्रबार सूचना जारी गरी प्राधिकरणले बिल रकमको ५ प्रतिशत बराबरको रकम नगद जम्मा गरी पुनरावेदनका लागि आह्वान गरेको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी विद्युत महसुल बक्यौता रहेका ग्राहकहरूले २०८२ ज्येष्ठ मसान्तभित्र नेपाल विद्युत प्राधिकरण विद्युत वितरण विनियमावली, २०७८ को विनियम ५५ को उपविनियम (२) बमोजिम बिल रकमको ५ प्रतिशत बराबरको रकम नगद वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ’क’ वर्गको बैंक ग्यारेन्टी धरौटी बापत जम्मा गरी ऐ. विनियमावलीको विनियम ५५ को उपविनियम (१) बमोजिम प्रशासकीय पुनरावेदनका लागि निवेदन दिनसक्ने म्याद कायम गरिएको व्यहोरा सञ्चालक समितिको मिति २०८२/०१/२१ को निर्णयानुसार सम्पूर्णमा जानकारी गराइन्छ ।’

भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

काठमाडौं । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारत पाकिस्तान तनावका कारण उत्पन्न परिस्थितिमा भारत सरकारको सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न नेपालीहरुलाई आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी दूतावासले संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न आग्रह गरेको छ ।

दूतावासले भनेको छ, ‘भारत जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न नेपाली राजदूतावास, नयाँदिल्ली अनुरोध गर्दछ ।’

साथै, दूतावासले कुनै आपतकालीन अवस्था आएमा दूतावासको आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।

टोयोटाको नाफा ३४.९ प्रतिशतले घट्ने पूर्वानुमान

टोकियो । जापानको प्रमुख अटो निर्माता टोयोटा मोटर कर्पोरेशनले आर्थिक वर्ष सन् २०२५ मा आफ्नो खुद नाफा ३४.९ प्रतिशतले घटेर ३.१ ट्रिलियन येन (लगभग २१.६ अर्ब अमेरिकी डलर) पुग्ने अनुमान गरेको छ। कम्पनीका अनुसार यस गिरावटको मुख्य कारण अमेरिकी भन्सार दरमा वृद्धि र येनको अमेरिकी डलरसँगको मूल्यवृद्धि हो।

टोयोटाले चालु आर्थिक वर्षमा (२०२५ मार्चसम्म) ४८.५ ट्रिलियन येनको रेकर्ड बिक्री हुने अपेक्षा राखेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले बढी हो। यद्यपि, सञ्चालन नाफा भने २०.८ प्रतिशतले घटेर ३.८ ट्रिलियन येन हुने बताइएको छ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४.७७ ट्रिलियन येन नाफा कमाएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले कम हो। सोही अवधिमा बिक्री ६.५ प्रतिशतले बढेर ४८.०४ ट्रिलियन येन पुगेको थियो।

टोयोटाका अध्यक्ष तथा सीईओ कोजी सातोले अमेरिकी भन्सारको असर अप्रिल र मे २०२५ मा झण्डै १८० अर्ब येनको नाफामा घाटा हुने अनुमान गरिएको बताए । उनले भने, “भन्सारको विवरण अझै पूर्ण रूपमा स्पष्ट नभएकाले भविष्यको पूर्वानुमान गर्न कठिन भइरहेको छ।”

टोयोटाले हाल जापानबाट वार्षिक करिब ५ लाख गाडी अमेरिका निर्यात गर्छ। सातोले भने, “छोटो अवधिमा हामी ढुवानीको मार्ग समायोजन गर्दैछौं भने दीर्घकालमा स्थानीय बजारलाई ध्यानमा राखी उत्पादनको स्थानीय विकास गर्ने योजनामा छौं।”

येनको मूल्यवृद्धिले पनि कम्पनीको नाफामा ठूलो असर पार्ने अपेक्षा गरिएको छ। यो परिवर्तनले कम्पनीको सञ्चालन नाफामा ७४५ अर्ब येनको कमी ल्याउनेछ।

जापानमा वास्तविक ज्याला दर मार्चमा २.१ प्रतिशतले घट्यो

टोकियो । जापानको वास्तविक ज्यालादर एक वर्षअघिको तुलनामा २.१ प्रतिशतले घटेको छ। यो गिरावट लगातार तीन महिनासम्म देखिएको हो।

‘उपभोक्ता क्रयशक्तिको ब्यारोमिटर अर्थात् मुद्रास्फीति–समायोजित वास्तविक ज्यालाको गिरावट फेब्रुअरीमा संशोधित १.५ प्रतिशत र जनवरीमा २.८ प्रतिशत गिरावटपछि भएको हो,’ स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले भनेको छ।

मन्त्रालयका अनुसार ताजा खाद्य मूल्यहरू समावेश रहेको, तर भाडाको लागत समावेश नभएको उपभोक्ता मूल्य मार्चमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ४.२ प्रतिशतले वृद्धि भएको छ। बढ्दो खाद्य लागतको कारण प्रेरित यो वृद्धि फेब्रुअरीमा ४.३ प्रतिशत वृद्धिबाट सुस्ताएको हो।

जम्मा औसत ज्याला र अतिरिक्त वेतनसहित प्रतिकामदार कुल औसत मासिक नगद आय २.१ प्रतिशतले बढेर ३० लाख आठ हजार ५७२ येन (करिब दुई हजार १०० अमेरिकी डलर) पुगेको छ, यो वृद्धि लगातार ३९औँ महिनाका लागि हो।

नियमित तलब अर्थात् आधार तलब मार्चमा १.३ प्रतिशतले बढेको छ भने कर्पोरेट गतिविधिको ब्यारोमिटर अतिरिक्त ज्यालाको भुक्तानी १.१ प्रतिशतले घटेको छ।

नीति कार्यक्रमभित्र सत्तापक्षले देखेको आशा, प्रतिपक्षको निराशा

काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रतिनिधिसभामा जारी छ । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा शुक्रबार भएको छलफलमा सत्तापक्षका सांसदले समर्थन र विपक्षी सांसदले आलोचना गरेका छन् ।

सत्ता साझेदार दलका सांसदले प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको, विकासको ढाँचा र संस्कृति बदल्ने सङ्कल्प लिएको, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशातर्फ उन्मुख रहेको बताए । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहित विपक्षी सांसदहरुले नीति कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आरोप लगाए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले प्रस्तुत नीति तथा कार्यक्रममार्फत सरकारले विकासको ढाँचा र संस्कृति बदल्ने, आद्योगिकीकरणको थालनी गर्ने, भूमि बैंक स्थापना, युवापुस्ता लक्षित स्टार्टअपमा लगानी वृद्धि गर्ने सङ्कल्प लिएको बताए ।

एमाले सांसद दीपा शर्माले नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक, स्पष्ट र जनमुखी रहेको बताइन् । “देशमा व्याप्त निराशालाई हटाउने, जनतामा आशा, भरोसा र उत्साह भर्न सक्ने, तीव्र आर्थिक विकास, सुशासन, रोजगारी र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिनेगरी आएको नीति कार्यक्रमको पूर्ण समर्थन गर्न चाहन्छु”, उनले भनिन्यो ।

एमाले सांसद महेश बस्नेतले गठबन्धन सरकारको मर्म, भावना र समझदारीअनुसार नीति तथा कार्यक्रम प्रस्तुत भएको उल्लेख गर्दै सर्वपक्षीय सहमतिका आधारमा संविधान संशोधन गर्ने उद्घोष सकारात्मक भएको बताए ।

एमाले सांसद नारायणप्रसाद आचार्यले ‘समृद्ध नेपाल सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्ने लक्ष्यसहित प्रस्तुत सरकारको आगामी आवको नीति तथा कार्यक्रमको समर्थन गर्दै सबैको एकताबद्ध प्रयासबाट कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

त्यसैगरी, सत्तासाझेदार नेपाली कांग्रेसका सांसद शङ्कर भण्डारीले संविधान संशोधनका क्रममा सङ्घीयता र धर्मनिरपेक्षताका सम्बन्धमा जनमत सङ्ग्रह गर्नुपर्नेमा जोड दिए ।

कांग्रेस सांसद कान्तिका सेजुवालले दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन विशेष योजना र मानसिक तथा सामुदायिक स्वास्थ्य सेवाका कार्यक्रम थप गर्न सुझाव दिइन् ।

कांग्रेसका सांसद दीपक गिरीले जलवायु परिवर्तनको असरसँग जुध्ने, रोजगारी सृजना, उत्पादन वृद्धिलगायतको योजना नसमेटिएको परम्परागत शैलीको नीति कार्यक्रमले मुलुकको समस्या समाधान गर्न नसक्ने धारणा व्यक्त गरे।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले नीति कार्यक्रममार्फत विभिन्न क्षेत्रमा सुधार गर्ने सरकारको दृढता प्रशंसनीय रहेको बताए। नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले सुशासन, रोजगारी, युवा केन्द्रित स्टार्टअप कार्यक्रम, अनावश्यक संरचना खारेज, परियोजना बैंकलगायत नीति कार्यक्रममा प्रस्तुत बुँदाको कार्यान्वयनबाट सरकारप्रति जनताको आशा भरोसा बढ्ने विश्वास व्यक्त गरे।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेखा शर्माले नीति तथा कार्यक्रममाथिको छलफलमा आएको सुझावलाई समेटेर लैजान आग्रह गर्दै प्रस्तुत नीति तथा कार्यक्रमले जनअपेक्षा पूरा गर्न र समाजवादको आधार तय गर्न नसक्ने बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले संविधान कार्यान्वयनका क्रममा देखिएको कमीकमजोरी सच्याउन सहमतिका आधारमा संशोधन प्रक्रिया अघि बढाउने नीति कार्यक्रममा उल्लेख भए पनि संविधान संशोधनकै मुख्य एजेण्डा बनाएर सत्ता सहयात्रा गरेको दलले पछिल्लो १० महिनामा केही नगरेबाट संविधान संशोधन सत्ताप्राप्तिको एजेण्डा मात्रै भएको आरोप लगाए ।

परराष्ट्र मन्त्रालयले भन्यो-पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षामा सरकार पूर्ण सचेत छ

काठमाडौं । सरकारले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपालीहरूको सुरक्षामा नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको हो ।

यसका लागि पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको मन्त्रालयले जनाएको छ ।

यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली दूतावासलाई सम्पर्क गर्ने सक्ने पनि मन्त्रालयले जनाएको छ ।

आठ वर्ष नाघेका मुद्दा आगामी असार मसान्तभित्र शून्यमा झार्छौंः प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको बताएका छन् ।

त्रिहत्तरौँ काुनन दिवस–२०८२ का अवसरमा सर्वोच्च अदालतद्वारा शुक्रबार आयोजित चियापान समारोहमा उहाँले समग्र मुद्दा फछ्र्यौट प्रतिशतमा समेत विगत वर्षको तुलनामा उल्लेख्य सुधार भएको बताए ।

प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दा आगामी असार मसान्तभित्रमा र पाँच (५) वर्ष नाघेका मुद्दा २०८३ असारभित्रमा शून्य बनाउने लक्ष्यमा अधिकतम् सफलता हासिल भइरहेको जानकारी दिए ।

“सर्वोच्चको समग्र मुद्दा फर्छ्यौट प्रतिशतमा पछिल्ला तीन वर्षदेखि सङ्ख्यात्मक वृद्धि भई पुराना बक्यौता मुद्दा उल्लेख्य रूपमा घटेका छन्”, उनले भने, “उच्च अदालत एवं जिल्ला अदालतले दुई वर्ष नाघेका पुराना मुद्दालाई शून्य बनाउने र जुनसुकै मुद्दालाई पनि १८ महिना नाघ्न नदिने लक्ष्यमा अधिकाधिक सफलता हासिल भएको तथ्याङ्कले देखाइरहेका छन् ।”

प्रधानन्यायाधीश राउतले विगतको निरन्तरतास्वरुप चालु आर्थिक वर्षको साउन १ गतेदेखि न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयन प्रारम्भ भई न्यायसम्पादनलाई प्रभावकारी बनाउने, न्यायमा पहुँच अभिवृद्धि गर्ने, सुशासन तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने, न्यायपालिकामा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने तथा मानवसंशाधन तथा भौतिक पूर्वाधार विकाससहितका पाँच वटा प्राथमिकतामा कार्यक्रम केन्द्रित रहेको जानकारी दिए ।

उनले भने, “रणनीतिक योजनामा आधारित भई सर्वोच्च अदालत र देशभरिका अदालत एवं न्यायाधीकरणहरूले प्रत्येक वर्ष आफ्नो वार्षिक कार्ययोजना निर्माण गरी न्यायसम्पादनलाई प्रभावकारी बनाउँदै नागरिकको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ क्रियाकलाप सञ्चालन गर्दै आइएको छ ।”

प्रधानन्यायाधीश राउतले न्यायपालिकाले मूलतः मुद्दा फछ्र्यौटमा आवधिक र सङ्ख्यात्मक लक्ष्यका साथै गुणात्मक र शीघ्र न्यायसम्पादनका लागि फरक मुद्दा व्यवस्थापन पद्दति, सूचना प्रविधिको अधिकतम् प्रयोग, मेलमिलापलाई प्रोत्साहन र सुशासन तथा जनआस्था अभिवृद्धिका साथै न्यायमा पहुँचको सुनिश्चिततालाई उच्च प्राथमिकतामा राखेको बताए ।

“अदालतप्रतिको जनआस्था अभिवृद्धिको परिणामस्वरुप अदालतको कार्यचापमा भएको बढोत्तरीलाई सम्बोधन गर्न देशभरिका अदालतमा अतिरिक्त समयमा जिम्मेवारी बहन गरिरहनुपरेको अवस्था छ”, प्रधानन्यायाधीश राउतले भने, “कार्यचापका तुलानामा सेवासुविधामा देखिएको न्यूनताले लक्ष्यप्राप्तिमा जनशक्तिलाई उत्प्रेरित गराउन अत्यावश्यक भएको मैले महसुस गरेको छु ।”

उनले व्यवस्थापकीय दृष्टिले गरिएका सुधारका निरन्तर प्रयासका कारण न्यायपालिकाले राखेका लक्ष्यहरू सुधारोन्मुख हुँदै आएको र आगामी दिनमा थप गति लिने विश्वासका साथ न्यायिक जनशक्तिलाई आशावादी भई कार्यक्षेत्रमा निरन्तर लागिरहन सबैमा आग्रह गरे ।

“कानुनको शासन, स्वतन्त्र न्यायपालिकासम्बन्धी मूल्यमान्यता एवं शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनसम्बन्धी सिद्धान्तलाई व्यवहारमा उतार्न सफल भएको आजको दिनलाई कानुन दिवसका रूपमा मनाउँदै आइएको बेहोरा सबैमा विदितै छ”, प्रधानन्यायाधीश राउतले भने, “यस अवसरमा न्यायपूर्ण समाजको स्थापनार्थ विधिको शासनमार्फत आआफ्नो कर्तव्य निर्वाहमा सबैलाई सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

नेपालको संविधानले परिकल्पना गरेको विशिष्टीकृत अदालतको अवधारणाअनुरुप २०८१ चैत २ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लाको अधिकारक्षेत्र रहने गरी उपभोक्ता अदालत, २०८२ वैशाख २ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोक जिल्ला अदालतसमेतको अधिकार क्षेत्र रहनेगरी बाल अदालतको स्थापना गरिएकोसमेत उनले जानकारी दिए ।

न्यायपालिकाको संस्थागत सुधारका प्रयास र रणनीतिक दस्ताबेजमा उल्लेख भएका कुराहरुलाई मूर्तरुप दिनका लागि स्रोतसाधनको उपलब्धता र जनशक्तिको सक्षमता एवं इमान्दारितापूर्ण कार्यसम्पादन अपरिहार्य हुने भन्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकामा प्रवेश गरेका जनशक्तिको प्रवेशमात्र पर्याप्त नभई वृत्तिविकास र व्यावसायिक विधाहरूमा क्षमता विकासका लागि प्रशिक्षणको निरन्तरता अत्यावश्यक रहेको बताए ।

“कार्यसम्पादनमा प्रोत्साहन गर्न नसकिएमा न्यायपालिकाले प्राप्त गरेका दक्ष जनशक्तिलाई टिकाइराख्न र भविष्यको उत्तराधिकारीका रूपमा स्थापित गर्न चुनौतीपूर्ण देखिन्छ”, प्रधानन्यायाधीश राउतले थपे, “यी सबै उद्देश्यमा न्यायपालिकालाई आवश्यक स्रोतसाधनको उपलब्धता अधिक महत्वपूर्ण छ । तसर्थ न्यायपालिकाको संस्थागत प्रबन्धका लागि भएका योजनाबद्ध सुधार प्रक्रियाले राखेका अपेक्षाको यथोचित सम्बोधनका लागि साधनस्रोतको व्यवस्थापनमा नेपाल सरकार तथा समयानुकूल कानुन निर्माण एवं संशोधन कार्यमा संसद् र सम्बद्ध निकायको सकारात्मक सहयोग हुनेछ भन्ने आशा एवं विश्वास लिएको छु ।”

विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधानन्यायालय ऐन, २००८ ले स्वतन्त्र न्यायपालिकाको स्थापनासँगै शक्ति पृथकीकरणको अभ्यासलाई आत्मसात् गरेको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख २६ लाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । 

डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन् ।

उनले भने, “पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेङ्गी सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।”

पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी रोग लाग्ने गर्दछ ।

शाखा प्रमुख डा दाहालले गत वर्ष धेरै डेङ्गी सङ्क्रमण भएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए । उनका अनुसार पुस १७ यता ९६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो ।

अनि अभिनय गर्ने लालसा झन् बढ्दै गयोः अभिनेता दयाहाङ राई(अन्तरवार्ता)

काठमाडौं । भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौँ आइपुग्नुभएका दयाहाङ राई अहिले रङ्गमञ्च र चलचित्रको परिचित अभिनेता बनिसकेका छन् । काठमाडौँमा साहित्यकारसँगको सङ्गत र आकर्षणले लाहुर जानबाट भुलिएका राईले अभिनेताको परिभाषा नै बदल्न सफल भए । खाइलाग्दो शरीर, अग्लो कद र सुन्दर हुनुपर्छ भन्ने परम्परागत मान्यतालाई भत्काउँदै स्थापित हुनुभएका अभिनेता राईले ‘हिरो’ को नयाँ परिभाषा बनाए। 

उनले ‘मेरो एउटा साथी छ’, ‘दासढुङ्गा’लगायतका चलचित्रमा अभिनय गरे तापनि स्थापित गर्ने काम चलचित्र ‘लूट’ ले गर्यो । त्यो उनले नसोचेको अप्रत्याशित सफलता थियो । चिटिक्क अनुहार र सुकिला वेशभूषा, नृत्य र द्वन्द्व गरेर अभिनय गरिरहेका अभिनेताको भीडमा अभिनेता राईले दर्शकसँग भौतिक दूरी तोडेर नयाँ शैलीको सुरुवात गरे ।

“मैले ‘लूट’ मा अभिनय गर्दा त्यस अगाडिका दुई चलचित्रसहित तीन चलचित्रमा काम गरेँ भनेर देखाउन थियो । किनकि मैले भिन्न किसिमका तीन पात्रलाई पर्दामा ल्याएको थिएँ । ‘लूट’ ले मलाई चिनाउँछ भन्ने आशा थियो तर यस्तो सफलता दिन्छ भन्ने सोच भने थिएन । सायद, त्यहाँ दर्शकले आफूलाई पाएका कारण त्यो चलचित्र मात्र चलेन, त्यहाँका हामी कलाकार पनि चलिरहेका छौँ”, अभिनेता राईले भने ।

चलचित्रमै काम गरिरहँदा सन् २००८ मा रङ्गकर्मीहरूको समूह बनाएर मण्डला नाटकघरको समेत स्थापना गरेका अभिनेता राईले अहिलेसम्म उक्त दायित्व निर्वाह गरिरहेका छन् । आफूलाई अभिनय गर्न, नाटकको अभ्यास गर्न र रङ्गकर्मीलाई एउटा ठाउँ दिन स्थापना भएको मण्डलाले अहिले धेरै कलाकारलाई मञ्चसम्म पुर्याएको छ । अहिले चलचित्रकर्मीका लागि पनि अभिनेता खोज्ने एउटा ठाउँ उक्त नाटक घर बनिसकेको छ । अभिनेता राईसँग उनको रङ्ग यात्रा, चलचित्रमा प्रवेश, नाटकघरको परिकल्पनालगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

तपाईंमा रङ्गमञ्चप्रतिको लगाव कसरी भयो ?

-भोजपुरको माटोमा साहित्य र सङ्गीतको छुट्टै जादु छ, जस्तो लाग्छ । बाल्यकालमा आमाले लोककथा धेरै सुनाउनु हुन्थ्यो । ती कथाका पात्रले मलाई आकर्षित गरिरहेको हुन्थ्यो किनकि उनीहरू रोमाञ्चक थिए । त्यसपछि रेडियो सुन्न थालियो गीतसङ्गीतमा आकर्षण बढ्यो, पुस्तक पढ्न थालेपछि साहित्यप्रति आकर्षित भएँ । त्यसो त म सदरमुकाममा दुई घण्टा हिँडेर चलचित्र हेर्न पुग्थे । चलचित्र हेर्दा किन र कसरी हुन्छ भनेर धेरै कौतुहलता बढ्थ्यो । घरबाट मलाई चाहेको कुरा गर्ने छुट थियो । ‘अरूको चित्त दुखाउने काम नगर्नु’ भनेर अभिभावकले भन्नुहुन्थ्यो । त्यो बाहेक रहर लागेका काम गर्दै हुर्किएँ । 

रङ्गमञ्चसँग कसरी जोडिनुभयो ? 

– १६ वर्षसम्मा खावा गाविसको गाउँमा जन्मेर खेतीपाती र गाईवस्तु गोठालो गर्दै खावा गाविसको दिल प्राथमिक विद्यालय, पशुपति मावि हुँदै अन्नपूर्ण गाविसका अन्नपूर्ण उच्च माध्यमिक विद्यालय भोजपुरमा एसएलसीसम्म अध्यायन गरेँ । एसएलसीपछि भोजपुर बहुमुखी क्याम्पसमा आइए पढेर भोजपुरबाट काठमाडौँ छिरें  । यहाँ नाटक र साहित्यप्रतिको आकर्षणले मलाई रङ्गमञ्चसँग जोड्यो । म नाटक, साहित्य, चित्रकला प्रदर्शनीका कार्यक्रममा पुग्ने र त्यहाँ आएका कलाकारलाई भेट्ने गर्थें । मैले नाटक महोत्सवमा पनि पुगेर कसरी गरिन्छ भन्ने अवलोकन गरेको छु । 

त्यही क्रममा नाचघर जमलमा अभिनय सिक्न पाइन्छ भन्ने थाहाँ पाएँ । म पुग्दा एकवर्षे अभिनय कक्षा सकिन लागेको रहेछ, तर तत्कालीन महाप्रबन्धक हरिहर शर्मालाई अभिनयप्रतिको लगाव सुनाएँ । भोजपुरदेखिका कथा सुनाएँ । त्यसपछि अनुभवी कलाकारलाई दिइने कार्यशालामा मैले सहभागी हुने अवसर पाएँ । त्यहाँ अनुप बराल, वीरेन्द्र हमालसँग कार्यशाला लिएँ । त्यसपछि रङ्गकर्मीसँग सामीप्यता पनि बढ्यो, विस्तारै काम पाउन थालें । 

नाटकघर खोल्ने सोच कसरी आयो नि ? 

– मैले केही चलचित्रमा काम गरिसकेको थिएँ । अभिनय गर्ने लालसा झन् बढ्दै थियो । त्यो समयमा नाचघर, प्रज्ञा प्रतिष्ठान र गुरुकुलमा नाटक हुन्थ्यो । त्यहाँको आर्थिक भार उठाउन सक्ने हैसियत मसँग थिएन । नाट्यकर्मी साथीहरू राजन खतिवडा र सिर्जना सुब्बासँग छलफल गरेर नाटक गर्ने सोच बनाइरहेका थियौँ । तर, अभ्यास गर्न नै हामीले स्कुलको बिदाको समय चाहिने, छलफल गर्न चिया पसलमा घन्टौं बस्नुपर्ने बाध्यता थियो । हाम्रो कारणले अरुलाई असर गरिरहेको महसुस हुन्थ्यो । त्यसकारण एउटा ठाउँ चाहिन्छ भन्ने भयो । 

त्यही क्रममा हामीले काठमाडौँ चहारेपछि अनामनगरमा छ आना क्षेत्रफलमा मण्डलाको स्थापना ग¥यौँ । तीन जनाबाट सुरू भएको समूह विस्तारै १५ जनाको बनिसकेको छ । यसले हामीलाई जिम्मेवारी पनि दिएको छ । त्यहाँ अभिनय सिक्न पाउनु हुन्छ, आफूलाई बुझ्न आउनु हुन्छ । हाम्रो सपनासँगै अहिले धेरैको सपना जोडिएको छ । चलचित्रको छायाङ्कनमा पुग्दा अभिनयदेखि अन्य प्राविधिक पक्षमा पनि मण्डलाका विद्यार्थी देख्दा सन्तुष्ट हुन्छु । फेरि यो कसैको दबाब होइन, मैले देखेको सपना नै हो । चलचित्रमा काम गरेर नाटकघर चलाउने योजना नै थियो । 

नयाँ पुस्तामाको भविष्य रङ्गमञ्चमा कस्तो देख्नुभएको छ ? अनि रङ्गमञ्च साक्षरताको अवस्था के छ ? 

–नयाँ पुस्तालाई हामीले अग्रजबाट पाएको ज्ञान हस्तान्तरण गर्नु नै छ । हामीले त्यो गरिरहेका छौँ । हामीभन्दा अघिल्लो पुस्ताको सङ्घर्ष हाम्रो लागि प्रेरणादायी रह्यो । त्यसबाट प्रभावित भएर हामीले उहाँहरूसम्म पुग्न नसकेता पनि एउटा स्थान बनाउन सफल भयौँ । हामी पछाडिको नयाँ पुस्ता प्राविधिक युगको हुनहुन्छ । ज्ञान आर्जन गर्न विभिन्न माध्यम छन् तर इमान्दारिता, धैर्यता र समपर्ण चाहिन्छ । त्यही हामीले बुझाइरहेका छौँ । नयाँ पुस्ताले रङ्गमञ्चमा देखाउनुभएको सम्भावना प्रसंशनीय छ । रङ्गमञ्च साक्षरता बढ्न वा बढाउन समाजनै अध्ययनशील हुनुपर्छ । त्यसपछि हामीले गरिरहेको कामको प्रभाव देखिन्छ । त्यसका लागि विद्यालय वा विश्वविद्यालय जहाँ हामीले शिक्षा आर्जन गर्छौँ, त्यहाँ रङ्गमञ्चसम्बन्धी अध्यन गराउने र छलफल चलाउने हुनुपर्छ । अध्यनबाट सुरुआत भयो भने त्यसले रङ्गमञ्चलाई निकै उचाइमा पुर्याउँछ जस्तो मलाई लाग्छ । 

रङ्गमञ्चबाट जीविकोपार्जन गर्न सकिन्छ त ?

–केहीले गरिरहेका छन्, धेरैले सोचे जस्तो जीवनशैली पाउन सकेका छैनन् । रङ्गमञ्च धानिएकै लगाव र इमान्दारिताले हो । किनकी नाटकलाई अझै व्यावसायिक बनाउन सकिएको छैन, हामीले प्रयास गरिरहेका छौँ । यहाँ रङ्गकर्मीकै लगानी छ, जबसम्म ‘कर्पोरेट हाउस’ हरु आकर्षित हुँदैनन्, रङ्गकर्मीले सङ्घर्ष गर्नै पर्छ । हामीले चलचित्रमा पाएको पारिश्रमिकले आफ्नो सपना पूरा गर्न रङ्गमञ्च चलाइरहेका छौँ । चलचित्र झैँ यहाँ पनि टिकेट नै आयस्रोत भएकाले हाम्रो सीमितता छ । हामीसँग सिमित सिट छ, सिमित समय छ । तर, हामी धेरै दर्शकसम्म पुग्ने प्रयास गरी नै रहेका छौँ । 

चलचित्र जस्तै विदेशमा नाटक लान वा देखाउन प्रस्ताव आउँछ ?

–प्रस्ताव आइरहेका छन् । विदेशबाट आएर नाटक हेरेर प्रतिक्रिया दिने नाटक प्रेमी पनि धेरै हुनुहुन्छ । उहाँहरूले विदेश ल्याउनुस् भन्नुहुन्छ । तर, म हतार नगर्नुस्, पहिला सबै बुझ्नुस् भन्छु । किनकी हामिले छोटोमा पनि सात जनासम्मको समूह बनाउनु पर्छ । नाटकलाई सुन्दर बनाउने काम कलाकारसँगै ध्वनी, प्रकाशसहितको ‘स्टेज’ ले गरिरहेको हुन्छ । हामीले विदेशमा मञ्चन गर्दा प्राविधिक रुपमा ती गर्न सक्छौँ वा सक्दैनौँ ? भन्ने प्रश्न आफैँलाई आउने गर्छ । किनकी व्यावसायिक दायित्व धेरै थपेर हामीले नाटक गर्न सक्दैनौँ । त्यसकारण आएका प्रस्तावलाई पर्खिन आग्रह गरेका छौँ । 

नाटकघर सञ्चालन गर्दा के–कस्ता दायित्व थपिने रहेछन् ?

–पहिला हामीले आफ्नो लागि भनेर स्थापना गरेका थियौँ, अब यो कलाकारिता गर्ने धेरै युवाको सपना बनेको छ । त्यसले हामीलाई दायित्व थपेको छ । केही समय मलाई आर्थिक रुपमा निकै कठिनाइ परेको थियो । तर, अहिले भने सहज रुपमै नाटक घर सञ्चालन गर्न सकेका छौँ । 

तपाई चलचित्रमा देखिन थालेपछि नाटकमा कम समय दिनुभएको छ, अभिनय नगर्नुभएको पनि धेरै भयो । कहिले तपाईलाई दर्शक रङ्गमञ्चमा देख्न पाउने छन् ? 

–म कसरी पवित्र रङ्गमञ्च छाड्न सक्छु ? मञ्च छुटेकै हो तर रङ्गमञ्च कहिल्यै छाडिनँ । रङ्गमञ्च त्यस्तो ज्ञानशाला हो, जहाँ बृहत् विद्या, कला र शिल्पको संयोजन हुन्छ । मैले पछिल्लो समय झन्डै छ वर्ष अगाडि अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘महाभोज’मा काम गरँे । त्यसमा म र कलाकार बुद्धी तामाङ ‘डबल कास्ट’ थियौँ । हामी जहाँ भएपनि एक जना नाटक गर्न आउने सहमति भएको थियो । एकपटक पोखरामा छायाङ्कन हुँदा प्लेन नउडेर आउन सकिन । म आफैँ निराश भएँ । त्यो भन्दा अगाडि मैले ‘र… माइलो’ नामक नाटक गरेको थिएँ । चलचित्र र नाटकको धपेडीले एउटा शोमा सोफाको आड लिएर अभिनय गरेँ । शो सकिने बितिकै डाक्टरको निगरानीमा उपचार गराउनुप¥यो । त्यसकारण रहरले मात्र नहुने रहेछ भन्ने लाग्यो । 

अहिले पनि हामीले २०८२/८३ का लागि नयाँ नाटक निर्देशन घोषणा गरेका छौँ । मैले पनि गर्ने भन्ने तयारी थियो । म निर्देशन गर्ने तयारीमा रहँदा पनि समय व्यवस्थापन नभएपछि अर्को वर्ष वा कुनै समयमा गरौँला भनेर व्यवस्थापनको जिम्मेवारीमा छु । मानसिक र शारीरिक रुपमा स्वतन्त्र भइएन भने आफू सन्तुष्ट हुने काम गर्न सकिदैन । काम गर्नैका लागि किन गर्ने भन्ने हो । तर, मञ्च छुटेता रङ्गमञ्च छाडेको छैन । यो मेरो घर हो । घर नफर्की कहाँ जानु र ! 


तपाईले नाटक हेर्ने शुल्क बढाउनु भएको छ, यसको प्रभाव कस्तो पर्ला ? 

–हामीले शुल्क न बढाएको झन्डै छ वर्षभयो होला । हामीले नाटकघर सञ्चालन गरिरहेको जग्गाको भाडा, बढ्दो महङ्गीले हामीले आर्थिक भारअनुसार नै टिकट मूल्य बढाएका छौँ । एउटा नाटक मञ्चन भएको पहिलो दुई साता विद्यार्थीलाई रु तीन सय र त्यसबाहेक व्यक्तिलाई पाँच सय रुपैयाँ तथा तेस्रो र चौथो साता विद्यार्थीलाई रु पाँच र त्यस बाहेककालाई एक हजार रुपैयाँ शुल्क तय गरेका छौँ । हामीले पहिले पनि केही सिटलाई एकहजार मूल्य राखेका थियौँ, त्यसलाई परिमार्जन गरेका हौँ । यसले हामीलाई पनि दायित्व बढाएको छ । हामीले पनि लिएको शुल्कअनुसारको मेहनत नाटकमा गर्नुपर्ने दायित्व थपिएको छ । 

‘लूट’ मार्फत तपाईले अभिनेताको परिभाषा नै बदल्नुभयो नि ?

–त्यो चलचित्रको बनोट शैली नै नियमितभन्दा भिन्न थियो । त्यसका म लगायतका पात्र टोल, छरछिमेकमा भेटिने नै थिएँ । दर्शकले त्यहाँ आफूलाई पाउनुभयो । त्यही कारण त्यसले नसोचेको नतिजा दियो । हामी रङ्गकर्मी अहिले चलचित्रमा काम गरिरहेका छौँ । हामी दर्शकको सोच र स्वाद फेर्न सफल भयौँ । तर, म त्यो चलचित्रमा आफ्नो विविधता देखाउन अभिनय गरेको थिएँ । मैले ‘दासढुङ्गा’ र ‘मेरो एउटा साथी छ’मा गरेको काम भन्दा भिन्न थियो । अभिनयमा मलाई निरन्तरता दिन मद्दत गर्छ भन्ने लागेको थियो तर यो सफलता पाउँछु भन्ने आशा थिएन । 


नाटकघर स्थापनासँगै चलचित्र निर्माणमा पनि जोडिनुभयो । ‘कबड्डी’ निर्माणमा सहकार्य गर्ने सोच कसरी आयो ?

–चलचित्रमा काम गरेर भएको आर्जनले नाटकघर चलाउने हाम्रो सोच नै थियो । ‘लूट’ को सफलताले दर्शकले एउटा विश्वास गर्नुभएको थियो । हामी मण्डला स्थापनाकै समय भेटघाट हुँदै गर्दा निर्देशक रामबाबु गुरुङले चलचित्र बनाउने कुरा गर्नुभयो । उहाँले सुनेको कथा (आइडिया) राम्रो लाग्यो । सोही क्रममा निर्देशक निश्चल बस्नेतसँग पनि सहकार्य गर्ने सल्लाह भयो । हामीसँग पर्याप्त पैसा नभए पनि जोडजाम गरेर चलचित्र बनाउने निधो गरेर काम गर्यौं । ‘कबड्डी’ को कथा नयाँ थियो, यसले नयाँ शैलीलाई परिचित गरायो । त्यसबाट हामीले व्यावसायिक रुपमा समेत लाभ लिन सक्यौं । 

चलचित्र ‘कबड्डी’ मा तपाईले निर्वाह गर्नुभएको ‘काजी’ को राम्रै चर्चा भयो । त्यो प्रेम कथाको शैली कहाँबाट आयो ?

–‘कबड्डी’ एउटा प्रेम कथानक चलचित्र हो । त्यसको काजी नामक पात्रले एकोहोरो माया गर्नेको कथा हो । उसले मन पराएको मान्छेलाई इमान्दारिताको साथ प्रेम गर्छ तर शैली मिलाउन सक्दैन । सोही कारण उसको शैलीमा दर्शकले ‘ह्युमर’ पाउनुभयो । यस्तो प्रेम गर्ने पनि छन्, हुन्छन् । हामीले नियमित भन्दा फरक काम गर्ने कोशिसकै सिलसिलामा काजी पात्रको उदय भएको हो । 

कलात्मक र पूर्ण व्यावसायिक (मसालेदार) दुवै चलचित्रमा काम गरिरहनुभएको छ, के छ यिनमा भिन्नता ? 

–मसालेदार चलचित्रमा दर्शकको प्रिय बन्न पात्रको बनोट हुन्छ । हाम्रो कोसिस त्यहि हुन्छ । तर, कलात्मक चलचित्रमा हामीले स्वतन्त्र भएर काम गर्न पाउँछौ, किनकी यी चलचित्रलाई अन्तरराष्ट्रिय बजार केन्द्रित गरेर तयार गरिएको हुन्छ । दर्शकले पनि दुवै चलचित्रको भिन्नता महसुस गरिसक्नुभएको छ । किनकी उहाँहरू मनोरञ्जन मात्र लिने की नयाँ केही हेर्ने भन्ने सोच बनाएर नै चलचित्र भवनसम्म आउनुहुन्छ । 

नाटक निर्देशन गर्नुभयो, चलचित्रतर्फ के छ सोच ? 

–म निर्देशन अवश्य गर्छु । तर, यो समयमा भन्ने सोचेको छैन । अहिले नाटकघरसँगै अभिनयमै व्यस्त छु । कुनै समय अभिनयबाट विश्राम लिनुपर्यो भने मैले गर्ने भनेकै नाटक र चलचित्र निर्देशन हो । तर, अहिले के कसरी गर्ने भन्ने तय छैन । यद्यपि केही पटकथा (स्क्रिप्ट) हेरिरहेको छु । तय भएपछि म आफैँ यसबारेमा जानकारी दिन्छु । 

तपाईको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महाभोज’ मा कस्तो भूमिका निर्वाह गर्नुभएको छ ?

–यो हाम्रै गाउँ/समाजको कथा हो । यसमा पाँच जना प्रमुख पात्र छन्, जसमध्येको म एक हुँ । त्यहाँ एकजना विदेशबाट गाउँ फर्किएका छन्, एक जना काठमाडौँबाट । ती युवाहरुको सोचको कथा नै ‘महाभोज’ हो । यसमा मैले धेर वर्षपछि निर्देशक दिनेश राउत र अभिनेता आर्यन सिग्देलसँग सहकार्य गरेको छु । मैले झन्डै सत्र वर्ष अगाडि चलचित्रमा सुरुआत गरेको थिएँ । त्यसक्रममा ‘मेरो एउटा साथी छ’ मा अभिनेतामा सिग्देल र मुख्य सहायक निर्देशकमा राउत हुनुहुन्थ्यो । केही समयदेखि कुरा गर्ने भनिएको सल्लाह अहिले बल्ल काममा परिणत भएको छ । यो जेठ १५ गते प्रदर्शन हुँदैछ, यसको विषयले हामीलाई रमाइलो मात्र बनाउँदैन । समाजका केही विषयमा सोच्न बाध्य बनाउँछ । 

नेपाली चलचित्र क्षेत्रमा गएको वर्षको व्यावसायिक उपलब्धिले कस्तो प्रभाव पार्ला ? 

–अघिल्लो वर्ष हामीले धेरै विविधतामूलक कथालाई पर्दामा हेर्न पायौं । धेरै भिन्न र फरक किसिमका कथा भएकै कारण धेरै देशक चलचित्र भवन आउनुभयो । तर, हाम्रो चुनौती नै ‘फलोअर्स’ बन्नबाट जोगिनु हो । हामीले त्यस्तो चलचित्र चल्यो भनेर त्यही शैलीलाई पछ्याउनु हुँदैन । आफैँ ‘क्रिएटर’ बन्न सक्नुपर्छ । हिजो ‘लूट’ होस् वा ‘कबड्डी’, गएको वर्षकै ‘पूर्णबहादुरको सारङ्गी’ बनाउनुको उदेश्य अर्काको देखासिखी थिएन । त्यो बनाउन मन लागेको शैली र कथामा चलचित्र बनेका थिएँ । तर, अब त्यो चल्यो, त्यो जस्तै बनाउन भनेर आउनुभयो भने गत वर्ष चलचित्र भवन आएका दर्शकलाई हामीले नयाँ केही दिन सक्दैनौँ । त्यसकारण हामीले आफ्नो रचनात्मक पक्षलाई अझैँ बढाउनु आवश्यक छ । चलचित्रको बजार हामीले देखिसकेका छौँ, राम्रो चलचित्र बनाउने दायित्व हामीलाई छ ।

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए ।

चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे ।

“मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ”, अभिनेता हमालले भने । उनले चलचित्रले मनोरञ्जनसँगै सामाजिक घटनालाई उजागर गरेको जानकारी दिए ।

निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए ।

“अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन । त्यसैले उहाँलाई दर्शकको भावनाअनुरुप चलचित्रमा प्रस्तुत गर्नु मेरा लागि ठूलो चुनौती थियो । उहाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनु पर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु । हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु”, निर्देशक भट्टराईले भने ।

उनले पछिल्लो समय प्रदर्शन भएका चलचित्रभन्दा ‘नरसिंहा अवतार’ फरक रहेकाले चलचित्रभवन पुग्नुहुने दर्शकको समय र पैसाको सदुपयोग हुने दाबी गरे । उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन् ।

आगामी जेठ ९ गते नेपालभर प्रदर्शन हुने चलचित्र ‘नरसिंहा : अवतार’ लाई नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले

-महादेव अवस्थी, दोधारा चाँदनी (कञ्चनपुर), २६ वैशाख । राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन ।

सरकारले आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माण कार्यले तीव्रता पाएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख योगेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार आयोजनाको हालसम्मको प्रगति २६ प्रतिशत मात्रै रहेको छ ।

“बजेट अभाव, मुआब्जा वितरण र वनको समस्याका कारण आयोजनाको कामले गति लिन सकेको थिएन”, उनले भने, “२०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि सरकारको प्राथमिकतामा परेको हो । त्यसपछि मात्रै आयोजनाका लागि बजेट आउन थालेको हो ।”

प्रमुख मिश्रले टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्नुपर्ने भए पनि २८ किलोमिटर मूल नहर मात्रै निर्माण सम्पन्न भएको छ । बाँकी २० किलोमिटर नहर निर्माणको काम भइरहेको छ । “निर्माण सम्पन्न भएको २८ किलोमिटर मूल नहरबाट सिँचाइका लागि २२ शाखा नहर निर्माणको काम अन्तिम चरणमा पुगेको छ,” उनले भने, “यसै वर्षदेखि चार हजार हेक्टर जमिनमा सिँचाइ उपलब्ध गराउने गरी हाम्रा संरचना तयार भएका छन् ।”

विक्रम संवत् २०७७ माघमा भएको निर्णयअनुसार २०८७ सालसम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ । लक्ष्यअनुसार मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । प्रमुख मिश्रका अनुसार हालसम्म रु नौ अर्ब खर्च भइसकेको छ । चालु आवमा पनि आयोजनाका लागि करिब रु दुई अर्ब बजेट विनियोजन भएको थियो ।

“नहर निर्माण गर्न १० हजार रूख कटान गर्नुपर्नेछ । यसका लागि गत वर्ष मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ, हामीले पनि विभागसँग सम्झौता गरेका छौँ”, आयोजना प्रमुख मिश्रले भने, “एक हप्ताभित्रै रूख कटानको आदेश आउने प्रक्रियामा छ ।”

नेपालतर्फ पाँच हजार हेक्टरमा सिँचाइ गर्ने संरचना तयार भए पनि भारतीय पक्षले मूल नहरमा पानी नछोड्दा समस्या भएको प्रमुख मिश्रले बताए । भारतीय पक्षले टनकरपुबाट पानी छोडे ब्रह्वदेव क्षेत्रका किसानलाई सिँचाइ सुविधा उपलब्ध हुने उनको भनाइ छ । आयोजनाबाट कञ्चनपुरको ९० प्रतिशत खेतीयोग्य जमिनममा सिचाँइ सुविधा पुग्छ । खेतीयोग्य जमिनमा सिचाँइ सुविधा उपलब्ध नहुँदा यहाँका किसानहरु हरेक वर्ष आकासे पानीको भरमा खेती गर्न बाध्य छन ।

“मैले सात बिघा जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छु अन्यखेती भन्दा उखुमा बढी पानी आवश्यक भएकाले यहाँ सिँचाइको समस्या हुन्छ ।” स्थानीय तेजबहादुर चन्दले भने, “यो क्षेत्रमा दुईवटा सुगर मिल छन्, उखुखेती धेरै हुन्छ, बोरिङबाट सिँचाइ गर्दा लागत धेरै लाग्ने गरेको छ ।”

विसं २०४५ देखि खेती गर्दै आएका बेदकोट नगरपालिका–७ का विष्णु भट्टले महाकाली सिँचाइ तेस्रो चरणबाट सिँचाइ उपलब्ध भए यहाँका किसानहरुलाई धेरै राहत पुग्ने बताए । “सिचाँइ सुविधा नहुँदा हामीले आकासे पानीको भरमा रोपाइँ गर्नुपर्छ,” उनले भने, “नहरमा पानी आए हामीलाई धेरै सुविधा पुग्छ, कम खर्चिलो पनि हुन्छ ।”

कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा कुल खेतीयोग्य एक लाख ६१ हजार ७४१ हेक्टर जमिन रहेको छ । जसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ । यसको २९ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ । कञ्चनपुरमा हाल महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ ।

विसं २०४२ मा सुरु भई २०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ  । पहिलो र दोस्रो चरणको सिचाँइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ । तर सुक्खा याममा भारतले नेपालतर्फ थोरै पानी छोड्ने भएका कारण बेलौरी नगरपालिकासम्म पानी पुग्दैन जसका कारण यहाँका किसानहरुले पानी नपाउने समस्या झेल्दै आएका छन् । 

भारत-पाकिस्तान तनावकाबीच भारतीय राजदूतद्वारा प्रधानमन्त्री अ‍ोलीसँग भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार भएको भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’ मा आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको तर ‘जेट हमला’ गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे ।

राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त आतङ्कवादी हमलाको भत्र्सना गरे ।

उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेका थिए ।

फरक विचारलाई नखेद्न सरकारलाई अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई गणतन्त्रप्रति आशा जगाउने काम गर्न आग्रह गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले विपक्षीलाई आतंकित पार्नेभन्दा गणतन्त्रप्रति आशा जगाउने काम गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘विपक्षी विचारलाई आतङ्कित र निषेध गर्ने खाल्का दृष्टिकोणहरू प्रस्तुत गर्नुको बदला तपाईंको गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् । अघिल्लो सरकारले आशा जगाउने काम गरयो कि गरेन, तर प्रयत्न गर्छु भनेको थियो । अब पनि आशा जगाउने काम गर्नुस् ।’

अध्यक्ष लिङ्देनले उनले गणतन्त्र व्यवस्था विरुद्ध फरक मत राख्न पाइने भन्दै फरक विचारलाई नखेद्न आग्रह गरे । उनले फरक मत राख्नेका विरुद्ध कानुन बनाउनु नपाइने कुरा संविधानमा रहेको स्पष्ट पारे ।

संविधानमा व्यवस्थाको सम्बन्धमा समेत प्रश्न उठाउन सकिने व्यवस्था रहेको भन्दै उनले आफूहरूले उठाउँदै आएको एजेण्डा उठाउन संविधानले नरोक्ने बताए ।

उनले भने, ‘नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता, जनतामा निहीत सार्वभौमिकताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न सकिने छैन, भनेपछि त्यसदेखि बाहेक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता त जहिल्यै पनि संशोधन गर्न सकिने रहेछ भन्ने कुरा त यो संविधानले नै प्रष्ट पारेको छ ।’

उनले अहिले मुलुकमा फजुल खर्च गर्ने संरचनाहरू रहेको उल्लेख गर्दै तिनलाई खारेज गरेर सरकार अगाडि जान सक्नुपर्ने बताए ।

लोकतन्त्रको संरक्षणमा न्याय र कानून जगतको दायित्व महत्पूर्णः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेकोले यी मूल्य मान्यताप्रति प्रतिवद्ध रहँदै यसको संरक्षण, प्रवद्र्धन एवम् न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व रहेको बताएका छन् ।

कानून दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व रहेको बताएका हुन् ।

उनले भने, ‘कानुन दिवसको आजको यस दिनले न्याय र कानूनको क्षेत्रमा आवद्ध सबैको मन र मस्तिष्कमा सो गुरुत्तर दायित्वको बोध निरन्तर गराई रहनेछ भन्ने विश्वास लिएको छु ।’

उनले राज्यको कार्यकारणी, विधायिकी र न्यायिक अधिकार एउटै निकायबाट प्रयोग भइरहेको तत्कालीन अवस्थामा यो ऐन (प्रधान न्यायालय ऐन, २००८) लागू भएपछि व्यवहारिक रुपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरुप न्याय सम्पादनको कार्यको थालनी भएको हुँदा न्याय र कानून जगतमा यो दिनको विशेष महत्व रहेको धारणा व्यक्त गरे ।

उनले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरुप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित, मुद्धाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन, विधिको शासन कायम तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चतताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गरे ।

पोखरा–छेन्दु सिधा उडान पोखरेली सपना

–जमुना वर्षा शर्मा, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन भएको दुई वर्षपछि पोखरादेखि छेन्दुसम्मको सिधा उडान सञ्चालनले पोखरेलीमा केही आशा जगाएको छ । यस उडानले चिनियाँ पर्यटकको सिधा गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्ने आशामा व्यवसायी देखिन्छन् । सिधा सम्पर्कले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानसँगै होटल, होमस्टे, ट्राभल एजेन्सी, यातायात, रेस्टुरेन्ट, गाइड सेवालगायतका क्षेत्रहरूमा रोजगारीको अवसर सिर्जनासँगै चिनियाँ लगानीकर्ताहरूका लागि व्यापारिक सम्भावनालाई पनि उजागार गर्ने बुझाई व्यवसायीको छ ।

पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरेसँगै अहिलेको उडानले चिनियाँ पर्यटक पोखरामा भित्रिने र भ्रमण वर्ष सफल हुनेमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि आशावादी छन् । पोखरा–छेन्दु सिधा अन्तर्राष्ट्रिय उडान चिनियाँ पर्यटकलाई सिधै पोखरा ल्याउने ढोका खोलिदिएको उनको भनाइ छ । ‘पोखरामा अन्तर्राष्ट्रिय उडानसँगै चिनियाँ पर्यटकलाई प्रत्यक्ष रूपमा भित्र्याउन सकिने भएको छ, यसले भ्रमण वर्ष सफल पार्न चीनसँगको सहकार्य महत्वपूर्ण हुनेछ’, प्रमुख आचार्यले भने । ‘गत चैत ५ गतेको पहिलो व्यावसायिक उडानमा पर्यटन व्यवसायीलगायतको टोलीले पर्यटन प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण र सांस्कृतिक आदानप्रदानका लागि चिनियाँ निकायहरूसँग दीर्घकालीन सहकार्यका विषयमा छलफल गरेको थियो’, आचार्यले भने ।

प्रमुख आचार्यले चीनको उच्च उत्पादन क्षमता, प्रविधिमा अग्रता, नव प्रवर्तनशील सोच र ठूलो उपभोक्ता बजारबाट धेरै सिक्न सकिने बताए । ‘सिधा उडानले दूरी घटाएको छ, सम्बन्ध बढाएको छ, अब एकअर्काको रहनसहन र संस्कृतिलाई सम्मान गर्दै अगाडि बढ्नु पर्छ’, उनले भने, ‘चिनियाँ पर्यटकलाई लक्षित गर्दै हिमाल, ताल, प्याराग्लाइडिङ, ट्रेकिङ र सांस्कृतिक भ्रमणसहितको विशेष प्याकेज तयार पार्ने योजना छ ।’ प्रमुख आचार्यले पोखरा र चीनका प्रमुख सहरहरूबीच ‘ट्विन सिटी’ सम्बन्ध विकास, संयुक्त प्रचारप्रसार, सांस्कृतिक आदानप्रदान कार्यक्रमहरु ‘नेपाल–पोखरा पर्यटन सप्ताह’ चाइना टुरिज्म फेस्टिभल’मार्फत सम्बन्ध अझ प्रगाढ बनाउने योजना रहेको सुनाए ।

पोखरा–छेन्दु सिधा उडानले पोखराको पर्यटनमा नयाँ युगको सुरुआत गराएको र नेपाल–चीन सम्बन्धलाई पनि थप मजबुत बनाउने अपेक्षा उनको छ । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्न महानगरले पूर्वाधार सुधार, पर्यटकमैत्री वातावरण निर्माण र स्थानीय व्यवसायीहरूको सक्रिय सहकार्य सुनिश्चित गर्ने निरन्तर पहल गरिरहेको उनले बताए ।

पर्यटक भित्र्याउनका लागि कनेक्टिभिटी पहिलो शर्त रहेको जनाउँदै पोखरा–छेन्दु सिधा उडानले चीनबाट पोखरा पुग्न सहज बनाउँदै गण्डकी प्रदेशको पर्यटनमा नयाँ ऊर्जा थपेको बताउँछन्, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक तथा पर्यटन व्यवसायी गोपीबहादुर भट्टराई । ‘चीनमा भिजिट नेपाल वर्ष २०२५’ को अवसरलाई सदुपयोगसँगै यो सिधा उडानबाट पोखरा भ्रमण वर्ष सफल पार्न हाम्रो प्रयास जारी रहेको छ।’ ‘हामी पूर्वाधार, सेवा, सुरक्षा र प्रवद्र्धनका लागि एकीकृत पहमा जोड दिइरहेका छौँ, पोखरालाई अन्तर्राष्ट्रियस्तरको आकर्षक गन्तव्य बनाउने हाम्रो लक्ष्य हो ।’

भट्टराईले सिधा उडानले सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यटन सम्बन्धलाई समेत थप मजबुत बनाउने बताए । सामाजिक रूपमा चीनमा नागरिकहरूको अधिकार र कर्तव्यको उत्कृष्ट सन्तुलन देखिन्छ । उनीहरूले सार्वजनिक सम्पत्तिको संरक्षण, राष्ट्रप्रतिको समर्पण र अनुशासनमा प्राथमिकता दिएका छन्, जुन हामीले सिक्न जरुरी रहेको उनको भनाइ छ । भट्टराईले भने, ‘आर्थिक हिसाबले चीनको औद्योगिक विकास, प्रविधिमैत्री सोच, निर्यातमुखी उत्पादन, साना उद्यमहरूको प्रवद्र्धन र योजनाबद्ध विकास रणनीति अत्यन्त प्रभावकारी छन् । नेपालले पनि आत्मनिर्भरता, उत्पादनशीलता र प्रविधिको प्रयोगमा चीनबाट धेरै सिक्न सक्छ ।’

राजनीतिक रूपमा, चीनमा दीर्घकालीन योजनाको निरन्तरता, स्थिर नेतृत्व, नीति कार्यान्वयनमा दृढता र राष्ट्रहितमा एकमत हुने प्रवृत्ति छ । हामीले अर्को सिक्नैपर्ने पक्ष यो पनि हो । राजनीतिक अस्थिरताले हाम्रो मुलुकलाई गम्भीर असर पारिराखेको छ । त्यसैगरी सांस्कृतिक दृष्टिले पनि चीनले आफ्नो भाषा, खानपान, परम्परा र जीवनशैलीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याएको छ । हामीले पनि हाम्रो मौलिक संस्कृतिहरूलाई प्रवर्द्धन गर्न सक्छौँ । उनले नियमित उडान भएपछि पोखराको पर्यटनमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । यसले पोखराको प्राकृतिक सौन्दर्य, साहसिक गतिविधिहरू र सांस्कृतिक धरोहरलाई चिनियाँ पर्यटकसम्म प्रभावकारी तरिकाले पुर्‍याउन मद्दत गर्नेछ । साथै, पोखरामा पर्यटकहरूको आगमन बढ्ने र पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनी यस सहकार्यलाई पोखराको पर्यटन क्षेत्रको दीर्घकालीन समृद्धिको आधार मानेका छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यस वर्ष नेपाल–चीन मैत्री सम्बन्ध स्थापनाको ७०औं वर्ष मनाइँदै र सन् २०२५ लाई नेपाल र चीन दुवै देशका सरकारले चीनमा नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको अवसरमा भएको उडान पोखराको पर्यटनका लागि अवसर र अपरिहार्यता भएको बताए । ‘प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र साहसिक पर्यटन गतिविधिले भरिपूर्ण पोखरा चिनियाँ पर्यटकहरूको प्रमुख रोजाइमा पर्ने गन्तव्य हो, अहिले विशेष अवसरमा छौँ, दुवै देशबीच पर्यटन प्रवद्र्धनका गतिविधिहरू विस्तार गर्ने समय हो, जसबाट चीनबाट ठूलो संख्यामा पर्यटक भित्र्याउने आशा गर्न सकिन्छ ।’ गण्डकी प्रदेश तथा पोखराको चीनका विभिन्न सहरहरूसँगको मैत्रीपूर्ण सम्बन्धलाई मध्यनजर गर्दै संघीय सरकार, स्थानीय तह र निजी क्षेत्रको सक्रिय र सन्तुलित सहभागिता आवश्यक रहेको उनको भनाइ छ । ‘चिनियाँ सरकार, स्थानीय तह तथा निजी क्षेत्रसँग सहकार्य र समन्वय प्रभावकारी ढङ्गले अगाडि बढाइयो भने यो सिधा उडान नियमित हुने सम्भावना बलियो छ’, लामिछानेले भने ।

बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को जनवरीदेखि अप्रिल महिनासम्म ३६ हजार ९५४ चिनियाँ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको (३८ हजार २९०) तुलनामा करिब ३ दशमलव ४९ प्रतिशतले कम हो । यस्तो अवस्थामा पोखरा–छेन्दु सिधा उडानको आवश्यकता अझै स्पष्ट हुने उनको बुझाइ छ । ‘यस उडानले चीनबाट पोखरामा पर्यटक आगमन बढाउने मात्र होइन, दुई देशबीचको आपसी सम्बन्धमा नयाँ ऊर्जा थप्नुका साथै, नेपाली पर्यटकहरूका लागि पनि चीन भ्रमण सहज हुने भएकाले, चीनमासमेत उनीहरूलाई स्वागतयोग्य वातावरण तयार पार्नु त्यत्तिकै महत्वपूर्ण देखिन्छ ।’ लामिछानेले पर्यटन विकासमा नवीनतम् सोचको विकास सहित प्रविधिमैत्री वातावरणमा पनि जोड दिन आवश्यक रहेको बताए ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं ओपन हर्ट ट्राभल नेपाल प्रालिका सञ्चालक पोमनारायण श्रेष्ठले यो सिधा उडानलाई पर्यटन विस्तारकोे महत्वपूर्ण पाटोका रूपमा लिएको बताए । ‘यो उडानले पोखरा र चीनबीचको दूरी मात्रै घटाउने होइन, सांस्कृतिक, आर्थिक र पर्यटन सम्बन्धलाई पनि थप मजबुत बनाउनेछ ।’ नियमित अन्तर्राष्ट्रिय उडानहरू पोखराको पर्यटन क्षेत्रको दीर्घकालीन समृद्धिका लागि आधारशिला बन्न सक्ने र त्यसको लागि केही कुरामा सुधार औंल्याए । पोखराबाट अन्तर्राष्ट्रिय उडान सफल बनाउनका लागि विभिन्न रणनीतिमा समन्वय आवश्यकमा जोड दिंदै उडानको माग सुनिश्चिता गर्न गन्तव्यको व्यापक प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ । ‘चिनियाँ पर्यटकलाई लक्षित गरी विशेष प्याकेज तयार पारेर पोखराको प्राकृतिक, सांस्कृतिक र साहसिक गन्तव्यको प्रचार गर्न सकिन्छ’, श्रेष्ठले भने । ‘नेपाल र चीनबीच स्पष्ट र सहज हवाई समझदारी गरिनु अत्यन्त जरुरी छ, जसले उडान तालिका सुनिश्चित गर्न र नियामक सहजीकरणमा सहयोग पुर्‍याउँछ ।’

नेपाल सरकारले चीनसँगको पर्यटन सहकार्य, भिसा सहजीकरण, तथा नेपालमा चिनियाँ लगानी र व्यापार विस्तारजस्ता रणनीतिमा ध्यान दिएर यो उडानलाई स्थायित्व दिन आवश्यक रहेको उनले बताए । ‘सबैभन्दा पहिले, पोखरामा चिनियाँ भाषी गाइड, मेनु र सूचना बोर्डको अभाव छ, जसका कारण पर्यटकहरू अप्ठ्यारो महसुस गर्छन् । यसमा पनि ध्यान दिनुपर्छ ।’ उनले पोखराको छेन्दुसम्म जुन तरिकाले व्यावसायिक चार्टर उडान भएको छ चिनियाँ पक्षबाट पनि त्यसरीनै तदारुकता देखाउने हो भने यो नियमित उडानले स्थायित्व पाउने र पोखरेलीले देखेको सपना पूरा हुने बताए ।

पोखरा विमानस्थलबाट चैत ५ गते सिचुवान एयरलाइन्सको गरेको उडानमा प्रमुख आचार्यसहित, पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी र पोखराका सङ्घसंस्थाका पदाधिकारीहरू पत्रकारहरुको सहभागिता थियो । भ्रमणको समन्वय गण्डकी प्रदेश सरकार, नेपालस्थित चिनियाँ दूतावास र सिचुवान एयरलाइन्सले गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सले थप तीन उडान गरेको छ । अहिलेसम्म व्यावसायिक चार्टर उडानबाट करिब ४०० चिनियाँ पर्यटक नेपाल भित्रिएिका छन् । चिनियाँ एजेन्सिले जनाए अनुसार करिब एक हजार २५० चिनियाँ पर्यटक नेपाल आउन तयार छन् । योसँगै हिमालय एयरलाइन्सले पनि पोखराबाट चिनको ल्हासासम्मको उडान गरेको छ । नेपाल–चीनबीच व्यापार, पूर्वाधार, संस्कृति, शिक्षा र पर्यटनमा सहकार्य बढ्दो छ । चीनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा ऋण सहायता प्रदान गरेको थियो र यसलाई बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतको ‘फ्ल्यागशिप प्रोजेक्ट’ मानेको छ । यद्यपि नेपालले यसलाई औपचारिक रूपमा बिआरआईअन्तर्गत नराखे पनि चिनियाँ भूमिका महत्वपूर्ण रहँदै आएको छ । 

जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

ललितपुर । ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ । वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ । अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ। चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भीडभाड हुने गरेको ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महत बताउछन् । उनी भन्छन्, ‘हरेक वर्ष यसयाममा फूलको मौसम आउँछ । यसमा युवायुवतीहरू रमाइरहेको देख्दा खुसी लाग्छ ।’

एकै रङमा फूल्ने जाकाराण्डाको इतिहास राणाकालीन समय देखिएको छ । चक्रपथमा रहेका केही रुख बुढा भइसकेका छन् भने केही भर्खर फुल्न सुरु गरेका छन्। चक्रपथलाई शोभनीय बनाउने यस फूललाई ललितपुर महानगरपालिकाले संरक्षण गर्दै आएको छ । यससँगै अन्य प्रजातिका फूलहरूलाई हुर्काउनका लागि महानगरपालिकाले पानी हाल्ने र गोडमेल गर्ने गरेको छ ।

आउने दिनमा चक्रपथको सुन्दरता बढाउन जाकाराण्डा फूलको संरक्षणसँगै अन्य प्रजातिका फूल रोप्ने तयारी रहेको अध्यक्ष महतले बताए।

उनले भने, ‘जाकाराण्डा फूललाई पृष्ठभूमिमा पारेर तस्बिर र भिडियो खिच्नेको संख्या बढ्दो छ । दिउँसोको चर्को गर्मीमा पनि यात्रीहरू रुखको छहारीमा बसेर रमाइरहेका हुन्छन् । हामी यसलाई अझै व्यवस्थित गर्छौं ।’ बिहान र बेलुकीको समयमा युवायुवतीहरूको बढी चहलपहल हुन्छ । चापागाउँदोबाटो, महालक्ष्मीस्थान, थसीखेल चोक वरपर बढी भीडभाड हुने गरेको छ ।

वसन्तऋतुमा एकै रङमा ढपक्क फूलेको जाकारण्डा फूल देखेपछि मन प्रफुल्ल हुने गरेको फूलको दृष्य अवलोकन गर्न आएका निर्मल लामा बताउछन् ।ललितपुरको महालक्ष्मीस्थान चोक वरपर मात्र नभएर काठमाडौंं उपत्यकाको रिङरोडभरि यस्तै फूल भएमा काठमाडौंं झन् सुन्दर देखिने उनको भनाइ छ ।

हिमाल पग्लिनुमा कसको जिम्मेवारी ?

-एमपी यादव
 सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी आश्मा अलथानीले हिमालमा हिउँ हराउँदै गएको र ‘हिमालमा जीवन छैन’ जस्तो अनुभव भएको बताउँदा उहाँले विश्व समुदायको ध्यान जलवायु परिवर्तनको गम्भीर समस्यातर्फ खिच्नुभयो । उहाँको यो चिन्तालाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ मा नेपालको हिमालय क्षेत्रको भ्रमणका क्रममा पनि दोहो¥याउनुभयो । गुटेरेसले सगरमाथा क्षेत्रको भ्रमण गर्दै नेपालले पछिल्लो ३० वर्षमा आफ्नो एक तिहाइ हिउँ गुमाएको तथ्यलाई उजागर गर्नुभयो । उहाँले यो सङ्कटलाई ‘जलवायु परिवर्तनको भयावह अन्याय’ र ‘जीवाश्म इन्धन युगको कठोर अभियोग’ भन्नुभयो । हिमाल पग्लिनु केवल नेपालको समस्या होइन, यो विश्वव्यापी सङ्कट हो । तर, यो सङ्कटको मुख्य जिम्मेवारी कसको हो ? यो प्रश्नले विश्वका ठूला अर्थतन्त्रहरू, ऐतिहासिक उत्सर्जन, नेपालको भूमिका र हाम्रो साझा भविष्यलाई जोड्छ ।

जलवायु परिवर्तन र हिमाल पग्लिनु

हिमाल पग्लिनुको प्रमुख कारण हरितगृह ग्यास उत्सर्जन हो, जसले पृथ्वीको तापक्रमलाई अस्वाभाविक रूपमा बढाइरहेको छ । कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता ग्यासहरू औद्योगिक गतिविधि, ऊर्जा उत्पादन, यातायात, कृषि र वन विनाशबाट उत्सर्जन हुन्छन् । यी ग्यासहरूले वायुमण्डलमा ताप अवशोषण गर्ने तह बनाउँछन्, जसले विश्वव्यापी तापमान वृद्धिलाई तीव्र बनाउँछ । हिमालय क्षेत्रमा तापमान वृद्धिको प्रभाव स्पष्ट छ, जहाँ हिउँ र हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् ।

विश्व बैङ्कको तथ्याङ्कअनुसार, हाल विश्वको सबैभन्दा ठूलो कार्बन उत्सर्जक देश चीन हो, जसले विश्वको कुल कार्बन डाइअक्साइड उत्सर्जनको करिब ३० प्रतिशत हिस्सा ओगट्छ । भारत चौथो स्थानमा छ, जसको हिस्सा करिब सात प्रतिशत छ । यी दुवै देश ठूला अर्थतन्त्र र औद्योगिक शक्ति भएका कारण तिनको उत्सर्जनले हिमाल पग्लिनुमा ठूलो भूमिका खेलेको छ । चीनको कोइला–आधारित ऊर्जा उत्पादन, तीव्र शहरीकरण र औद्योगिक विस्तारले कार्बन उत्सर्जनलाई बढाएको छ । त्यस्तै, भारतको बढ्दो जनसङ्ख्या, सवारीसाधनको प्रयोग र औद्योगिक गतिविधिले पनि हरितगृह ग्यासको मात्रा थपिरहेको छ ।

हिमालय क्षेत्रमा हिमाल पग्लिनुले हिमताल विस्फोट, बाढीपहिरो र पानीको स्रोतमा कमीजस्ता समस्याहरू निम्त्याएको छ । उदाहरणका लागि, नेपालको थामे गाउँमा गत वर्ष हिमताल फुट्दा आएको बाढीले दर्जनौँ घर विस्थापित भए, विद्युत् संरचना ध्वस्त भयो, सडक सञ्जाल टुट्यो र बालबालिकाको शिक्षामा बाधा पुग्यो । यस्ता घटनाहरूले हिमाल पग्लिनुको प्रत्यक्ष र विनाशकारी प्रभावलाई प्रस्ट पार्छ ।

ऐतिहासिक जिम्मेवारीः विकसित देशहरूको भूमिका

हिमाल पग्लिनुको जिम्मेवारीलाई केवल हालका ठूला उत्सर्जक देशहरूमा सीमित गर्नु पूर्ण रूपमा न्यायसङ्गत हुँदैन । विकसित देशहरू, विशेषगरी संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र जापान, ऐतिहासिक रूपमा ठूला उत्सर्जकहरू हुन् । विश्व रिसोर्सेस इन्ष्टिच्युटको तथ्याङ्कअनुसार, १८५० देखि २०११ सम्मको कुल कार्बन डाइअक्साइड उत्सर्जनमा संयुक्त राज्य अमेरिकाको हिस्सा करिब २७ प्रतिशत र युरोपेली सङ्घको २५ प्रतिशत छ । यी देशहरूले औद्योगिक क्रान्तिको समयमा ठूलो मात्रामा कार्बन उत्सर्जन गरे, जसको प्रभाव अहिले हिमाल पग्लिनु र अन्य जलवायु सङ्कटका रूपमा देखापरिरहेको छ ।

हाल पनि विकसित देशहरूको प्रतिव्यक्ति कार्बन उत्सर्जन विकासशील देशहरूको तुलनामा निकै उच्च छ । उदाहरणका लागि, अमेरिकाको प्रतिव्यक्ति कार्बन डाइअक्साइड उत्सर्जन करिब १५ टन छ, जबकि भारतको १.९ टन मात्र छ । यस्तो असमान उत्सर्जनले विकसित देशहरूको जीवनशैली र उपभोग ढाँचाले जलवायु परिवर्तनमा ठूलो योगदान दिएको देखाउँछ । उच्च मासु उपभोग, विलाशितापूर्ण जीवनशैली र ऊर्जा–खपत गर्ने प्रविधिहरूले यी देशहरूको कार्बन फुटप्रिन्टलाई बढाएको छ । त्यसैले, हिमाल पग्लिनुको जिम्मेवारीमा ऐतिहासिक र वर्तमान दुवै दृष्टिकोणबाट विकसित देशहरूको ठूलो भूमिका छ ।

नेपालजस्ता देशको असमान बोझ

नेपालजस्ता साना र कम उत्सर्जन गर्ने देशहरू जलवायु परिवर्तनको सबैभन्दा ठूलो मारमा परेका छन् । नेपालको कुल कार्बन डाइअक्साइड उत्सर्जन विश्वको ०.१ प्रतिशतभन्दा कम छ, तर हिमाल पग्लिनु, हिमताल विस्फोट, बाढीपहिरो र पानीको स्रोतमा कमीको प्रत्यक्ष असर यहीँका समुदायहरूले भोगिरहेका छन् । हिमालय क्षेत्रका हिमनदीहरू पग्लिँदा नेपाल, भूटान र भारतका हिमाली बस्तीहरूमा बाढी, पहिरो र खडेरीको जोखिम बढेको छ । यी प्रकोपहरूले स्थानीय समुदायको जीविकोपार्जन, कृषि र पूर्वाधारमा गम्भीर क्षति पुर्याएको छ ।

थामे गाउँको उदाहरणले यो असमान बोझलाई प्रस्ट पार्छ । हिमताल फुट्दा आएको बाढीले गाउँको अधिकांश संरचना ध्वस्त भएको थियो । 

विद्यालय, स्वास्थ्य केन्द्र र सडकहरू नष्ट हुँदा स्थानीय बासिन्दाहरूको जीवन कठिन बनेको छ । यस्ता घटनाहरूले नेपालजस्ता देशहरूले आफ्नो नियन्त्रणबाहिरको सङ्कटको मूल्य चुकाउनु परेको देखाउँछ । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले पोखराको प्रेस सम्मेलनमा अन्तरराष्ट्रिय समुदायलाई प्रभावित समुदायहरूको संरक्षण र अनुकूलनका लागि कोष वृद्धिको आह्वान गरे ।

नेपालको भूमिका

नेपालले जलवायु परिवर्तन र हिमाल पग्लिनुको सङ्कटलाई सम्बोधन गर्न सीमित स्रोतका बाबजुद महत्वपूर्ण प्रयासहरू गरेको छ । नेपालले अन्तरराष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनको असमान प्रभाव र हिमाली क्षेत्रको संरक्षणको मुद्दालाई जोडदार रूपमा उठाउँदै आएको छ । पेरिस सम्झौतामा हस्ताक्षरकर्ता राष्ट्रका रूपमा नेपालले सन् २०४५ सम्ममा शुद्ध शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धता जनाएको छ । सगरमाथा संवादजस्ता पहलहरूले नेपालको जलवायु कूटनीतिलाई विश्वमाझ स्थापित गरेको छ, जुन सन् २०२५ मा मे १६–१८ मा आयोजना हुँदैछ ।

नेपाल सरकारले जलवायु परिवर्तन नीति २०७६ लागू गरेको छ, जसले जलवायु अनुकूलन, विपद् व्यवस्थापन र दिगो विकासलाई प्राथमिकता दिन्छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको सहकार्यमा हिमाली क्षेत्रमा अनुसन्धान र निगरानीलाई जोड दिइएको छ । सामुदायिक वन कार्यक्रमले कार्बन अवशोषणमा योगदान दिएको छ, जसले नेपालको वन संरक्षणमा उल्लेखनीय भूमिका खेलेको छ । नेपालको वन क्षेत्रले विश्वको कार्बन सङ्कलनमा सानो तर महत्वपूर्ण योगदान पुर्याउँछ ।

स्थानीयस्तरमा, नेपालले हिमाली बस्तीहरूमा पूर्वसूचना प्रणाली र विपद् जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । थामेजस्ता क्षेत्रमा बाढी र पहिरोको जोखिम कम गर्न सामुदायिक जागरुकता र पूर्वाधार विकासमा लगानी गरिएको छ । गैरसरकारी सङ्गठनहरूले जैविक विविधता संरक्षण, जलवायु शिक्षा र दिगो जीविकोपार्जनमा योगदान दिएका छन् । उदाहरणका लागि, स्थानीय समुदायहरूलाई जैविक कृषि र पर्यावरणीय पर्यटनमा संलग्न गराइएको छ । यद्यपि, आर्थिक र प्राविधिक सहायता अभावले यी प्रयासहरू सीमित छन् । नेपालले हरित जलवायु कोषजस्ता अन्तरराष्ट्रिय कोषमा पहुँच र प्रविधि हस्तान्तरणका लागि विश्व समुदायसँग निरन्तर पैरवी गरिरहेको छ ।

साझा जिम्मेवारी र विश्वव्यापी सहकार्य

हिमाल पग्लिनुको समस्यालाई समाधान गर्न विश्व समुदायले साझा जिम्मेवारी लिनुपर्छ । यो सङ्कटलाई सम्बोधन गर्न निम्न कदमहरू चाल्न सकिन्छ :

उत्सर्जनमा तीव्र कटौतीः ठूला उत्सर्जक देशहरू, जस्तै चीन, भारत, अमेरिका र युरोपेली सङ्घले आफ्नो कार्बन उत्सर्जनमा तीव्र कटौती गर्नुपर्छ । नवीकरणीय ऊर्जा (सौर्य, वायु र जलविद्युत्), विद्युतीय सवारीसाधन र ऊर्जा–कुशल प्रविधिहरूमा लगानी बढाउनु जरुरी छ । पेरिस सम्झौताअन्तर्गत यी देशहरूले आफ्नो उत्सर्जन लक्ष्यलाई अझ महत्वाकाङ्क्षी बनाउनुपर्छ ।

अन्तरराष्ट्रिय सहयोग र कोषः नेपालजस्ता जलवायु परिवर्तनबाट प्रभावित देशहरूलाई आर्थिक र प्राविधिक सहायता प्रदान गर्नुपर्छ । हरित जलवायु कोष (ग्रिन क्लाइमेट फन्ड) र अन्य अन्तरराष्ट्रिय कोषमार्फत यस्ता देशहरूले पूर्वसूचना प्रणाली, बाढी नियन्त्रण संरचना र दिगो पुनर्निर्माणमा काम गर्न सक्छन् । प्रविधि हस्तान्तरणले पनि यी देशहरूलाई जलवायु अनुकूलनमा सहयोग पुर्याउँछ ।

हिमाली क्षेत्रको संरक्षणः सगरमाथा र हिमालयजस्ता क्षेत्रलाई विश्व सम्पदाका रूपमा संरक्षण गर्न अन्तरराष्ट्रिय सन्धिहरू लागू गर्नुपर्छ । हिमाली क्षेत्रमा अनियन्त्रित पर्यटन र विकास गतिविधिहरूलाई नियमन गर्नु आवश्यक छ । हिमनदीहरूको संरक्षणका लागि विशेष संरक्षित क्षेत्रहरू स्थापना गर्न सकिन्छ ।

जागरूकता र शिक्षाः जलवायु परिवर्तनप्रति विश्वव्यापी जागरूकता फैलाउन शिक्षा, मिडिया र सामुदायिक अभियानहरू सञ्चालन गर्नुपर्छ । व्यक्तिगतस्तरमा ऊर्जा बचत, फोहोर व्यवस्थापन र दिगो जीवनशैली अपनाउन प्रोत्साहन गर्न सकिन्छ । विद्यालय र विश्वविद्यालयहरूमा जलवायु शिक्षालाई अनिवार्य बनाउनुपर्छ ।

स्थानीय समुदायको सशक्तीकरणः हिमाली क्षेत्रका स्थानीय समुदायलाई जलवायु अनुकूलन र विपद् व्यवस्थापनमा सशक्त बनाउनुपर्छ । सामुदायिकस्तरमा पूर्वसूचना प्रणाली, आपत्कालीन योजना र दिगो जीविकोपार्जनका अवसरहरू प्रदान गर्न सकिन्छ ।

विश्व समुदायको भूमिका

हिमाल पग्लिनुको सङ्कटले विश्व समुदायलाई एकताबद्ध भएर काम गर्न आह्वान गरेको छ । यो केवल नेपाल वा हिमालय क्षेत्रको समस्या होइन, यो सम्पूर्ण मानव जातिको साझा चुनौती हो । हिमनदीहरू पग्लिँदा विश्वको पानीको स्रोत, कृषि र जैविक विविधतामा दीर्घकालीन प्रभाव पर्छ । हिमालय क्षेत्रका हिमनदीहरूले दक्षिण एसियाका करोडौँ मानिसहरूलाई पानीको स्रोत प्रदान गर्छन् । यी हिमनदीहरू हराउँदा खडेरी, खाद्य असुरक्षा र जनसङ्ख्या विस्थापन जस्ता समस्याहरू बढ्नेछन् ।

विकसित देशहरूले आफ्नो ऐतिहासिक जिम्मेवारी स्वीकार्दै जलवायु कोषमा योगदान बढाउनुपर्छ । उनीहरूले विकासशील देशहरूलाई नवीकरणीय ऊर्जा र जलवायु अनुकूलन प्रविधिहरूमा सहयोग गर्नुपर्छ । त्यस्तै, चीन र भारतजस्ता उदीयमान अर्थतन्त्रहरूले आफ्नो आर्थिक विकासलाई दिगो बनाउन जीवाश्म इन्धनमा निर्भरता घटाउँदै नवीकरणीय ऊर्जामा लगानी गर्नुपर्छ ।

निष्कर्ष

हिमाल पग्लिनुको जिम्मेवारी कुनै एक देशको मात्र होइन, यो विश्व समुदायको साझा दायित्व हो । चीन र भारतजस्ता ठूला अर्थतन्त्रहरूको हालको उत्सर्जन र विकसित देशहरूको ऐतिहासिक योगदानले यो सङ्कटलाई गहिरो बनाएको छ । नेपालले आफ्नो सीमित स्रोतका बाबजुद जलवायु कूटनीति, नीतिगत पहल र सामुदायिक प्रयासहरूमार्फत हिमाल संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवको भ्रमण र उहाँको आह्वानले यो सङ्कटको विश्वव्यापी महत्वलाई थप उजागर गरेको छ । तर, यो सङ्कटको सामना गर्न अन्तरराष्ट्रिय सहयोग अपरिहार्य छ । सगरमाथा र हिमालय सम्पूर्ण मानव जातिको साझा सम्पत्ति हुन् । यिनलाई जोगाउन विश्व समुदायले आजैदेखि हातेमालो गर्नुपर्छ । हिमालमा ‘जीवन’ फर्काउन हाम्रो साझा प्रयास र प्रतिबद्धता आवश्यक छ ।

रोकिएन हात्तीको विध्वंश

रौतहट ।  खुट्टामा गोली लागेर घाइते भएको ‘एमगज’ नामक जंगली हात्तीलाई यहाँको जुडिबेला र गैडाटारका किसानले औधी माया गर्थे । दया गरेर विभिन्न खानेकुरा दिन्थे, जसले हात्ती स्वस्थ हुँदै गयो । त्यही हात्ती अचेल यहाँका किसानका लागि समस्या भएको छ । गत कात्तिकदेखि चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा बस्दै आएको यस हात्तीले अचेल घर भत्काउन थालेको छ । कृषिबालीमा क्षति पुर्‍याइरहेको छ ।

जुडिबेलाका सुनिप पोखरेल पहिला मर्ला भन्ने डरले स्याहार गरिएको हात्तीले हाल कतिबेला पो मार्ने हो भन्ने उत्पन्न भएको बताउँछन् ।

‘यो हात्ती बिरामी भएको बेला हामीले नै उपचारका लागि विभिन्न क्षेत्रमा पहल गर्‍यौँ, उपचार पनि भयो । खानेकुरा दियौँ, ज्यान तङ्ग्रियो । त्यो देखेर हामी निकै खुसी भएका थियौँ तर हाल त्यही हात्ती समस्या भयो । घर भत्काउने, खेतीमा नोक्सानी गर्ने गरिरहेको छ । अब त मान्छेलाइ नै कतिबेला मार्ने हो भन्ने डर बढेको छ’, उनले भने ।

हात्तीले गत मंगलबार चन्द्रपुर–२ जोगिटोलका एकल महिला फुलमाया कुँवरको उठिबास लगाएको छ । हात्तीले पूरै घर ध्वस्त बनाएको, पकाउने ग्यासदेखि खाने चामलसमेत नष्ट गरेको उनले गुनासो गरे ।

‘बिरामी हुँदा हात्तीलाई खाना खुवाइयो, उपचारमा हाम्रो पनि चिन्ता थियो । हाल आफ्नै बास उजाडिदियो’, कुँवरले भने। नगर प्रमुख सञ्जयकुमार काफ्लेले कुँवरको घर बनाउन स्थानीय युवाहरूले सहयोग जुटाउने र त्यसमा आफ्नो पनि केही आर्थिक सहयोग र सहजीकरण रहने बताए।

यसैगरी सोही टोलकी मैया गिरी आलेले हात्तीले आफ्नो पनि घर भत्काएको र चामल, दाललगायत खाद्यान्न लगेको बताए । सोही दिन स्थानीय मुक्तिनारायण चौधरीको घर पनि भत्काइदिएको थियो । हात्तीको आतंकले स्थानीय असुरक्षित भएको सोही वडाको पुलामीटोल निवासी उत्तम खड्काले गुनासो गरे । पुलामीटोलकै नजिक हर्दिया खोलाको पोखरीमा दिउँसभरि बस्ने र रात परेपछि हात्ती गाउँ पस्ने गरेको उनले सुनाए । हात्ती आतंकका कारण केही समयदेखि स्थानीय जंगलमा घाँस दाउरा जानसमेत नसकिएको खड्काले बताए ।

गत कात्तिकयता हात्तीले जुडिबेलामा मात्रै दुई दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको वडाअध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए । पर्सा राष्ट्रिय निकुञ्ज तथा वन मन्त्रालयका सचिवलाई समेत हात्ती व्यवस्थापनका लागि ध्यानाकर्षण गराइए पनि समस्या समाधान नभएको उनले गुनासो गरे ।

‘यहाँ हात्तीले विध्वंश मच्चाएको सरोकार भएकाहरू सबैलाई थाहा छ । पटकपटक ध्यानाकर्षण गराएका छौँ तर पनि कसैले वास्ता गरेका छैनन्’, वडाअध्यक्ष थिङले भने ।

हात्तीले जुडिबेलाका खिकबहादुर पन्त, राजेन्द्र ठाकुर, तारजन मगर, रवीन्द्र लामा, प्रदीप बम्जन, शुक्र पुलामी, केशव पाठक, माइला कँडेल, खिक, रवि पुलामी, कमलबहादुर विक, बद्री कार्की, उमेश थापालगायतको घर भत्काइसकेको छ ।

यसैगरी, चन्द्रपुर–३ गैडाटारमा पनि एक दर्जनभन्दा बढी घर भत्काइएका छन् । वडाअध्यक्ष बोधनाथ देवकोटाले हात्तीको आक्रमणबाट यहाँका सन्तबहादुर रुम्बा, मीना राई, छेनामसिंह लोप्चन, बलीमाया लोप्तन, बोम्जन साइँला, सुबास ठोकर, साइँला गोलेको घर भत्काएको बताएका छन् । यही हात्तीको आक्रमणबाट गत कात्तिक १६ गते फतुवा विजयपुर–११ रागी बुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको ज्यान गएको थियो ।

भारत र पाकिस्तानमा रहेका नेपालीहरुको सुरक्षामा पर्ने प्रभावको व्यवस्थापन गर्न सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच सुरु भएको तनावले त्यहाँ बस्ने नेपालीहरुको सुरक्षामा पर्ने प्रभावको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले दुई देशको तनावले त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न÷गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न/गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’

त्यसअघि बैठकमा सांसदहरुले भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षा तथा उद्दारको योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित

भ्याटिकन सिटी । रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बनेका छन् । उनलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उनी पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बनेका छन् । यद्यपि, उनलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ । बिशप बन्नुअघि उनले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा रहेर सेवा गरेका थिए ।

स्वर्गीय पोप फ्रान्सिसका उत्तराधिकारीका रूपमा चुनिएपछि लियो सेन्ट पिटर्स बेसिलिकाको बाल्कोनीमा आफ्नो पहिलो सम्बोधनका लागि उपस्थित हुँदा उनलाई दशौं हजार शुभेच्छुकहरूले स्वागत गरेका छन् ।
पोप चुनिएपछि दिएको पहिलो सार्वजनिक सम्बोधनमा उनले भने, ‘समग्र पृथ्वीमा जहाँ सुकै भए पनि सबै मानिसहरूमा शान्ति कायम रहोस्।’

उनले भने, ‘हामीलाई र एक अर्कालाई, आपसमा वार्ता र छलफलको माध्यमबाट पुलहरू निर्माण गर्न सधैँ शान्ति र एकता कायम गर्न मद्दत मिलोस्।’

लियोको सम्बोधनमा दर्शकदिर्घाबाट तालीको गडगडाहतसहितको न्यानो स्वागत पाएको थियो । विशेष गरी पेरुमा दुई दशकभन्दा बढी समय बिताएका पोपले स्पेनी भाषामा बोल्दै आफ्ना पूर्ववर्ती फ्रान्सिसलाई नयाँ पोपका हैसियतमा औपचारिकरूपमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

‘उमेरका कारण कमजोर बनेका पोप फ्रान्सिसले रोमलाई आशीर्वाद दिएको आवाज हामीलाई अझै पनि हाम्रो कानमा गुञ्जिरहेको जस्तो लागिरहेको छ’ लियोले अर्जेन्टिनी फ्रान्सिसको मृत्युको एक दिन अघि इस्टर सन्डेको सम्बोधन (प्रार्थना)लाई सङ्केत गर्दै भने ।

उनले भने, ‘हामीले कसरी एक आत्मदेखि अर्को आत्मसम्म पुग्ने पुल निर्माण गर्ने चर्च वा मिसनरी चर्च बन्ने र समग्र विश्वको शान्तिका लागि संवाद गर्ने निर्ववादित र स्वतन्त्र बाटोको खोजी गर्नुपर्छ।’

प्रिभोस्टको निर्वाचनलाई पेरूमा हर्षोल्लासका साथ स्वागत गरिएको छ । ।संयुक्त राज्य अमेरिकाको शिकागोमा सन् १९५५ मा जन्मिएका उनले पेरूको उत्तरी शहर शिक्लायोमा बिशपका रूपमा सेवा गरेका थिए जहाँ उनलाई पेरूको नागरिकका रूपमा पनि सम्मान प्राप्त गरेका छन् ।

न्युयोर्कको सेन्ट प्याट्रिक्स क्याथेड्रलबाहिर ६६ वर्षीया रोजारिया भिगोरिटोले भने, ‘म हिँडिरहेको केही मिनेटमै आफूले उत्साह महसुस गर्न सकेकी छु। उहाँले लियो चौधौँलाई विश्वले एक सुधारकका रूपमा पाउनेछ ।’

विश्वका नेताहरूले २६७ औं पोपलाई स्वागत गर्दै भूराजनीतिक अनिश्चितताको समयमा विश्वव्यापी मुद्दाहरूमा चर्चसँग मिलेर काम गर्ने वाचा गरेका छन् ।

नयाँ पोपलाई द्वन्द्वग्रस्त विश्व मञ्चमा आफ्नो नैतिक आवाजलाई सशक्त पार्ने जिम्मेवारी रहेको छ साथै उनले विभाजित चर्चलाई एकताबद्ध गर्ने र यौन दुव्र्यवहार काण्डबाट निरन्तर पतनजस्ता ज्वलन्त मुद्दाहरूको सामना गर्ने प्रयास गर्नुपर्नेछ ।

कार्डिनल प्रिभोस्टको रूपमा नयाँ पोपले गरिब र विपन्नहरूको बचाउ गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी विरोधी नीतिहरूको आलोचना गर्ने लेखहरू अनलाइनमा पुनः पोस्ट गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले प्रिभोस्ट पोपको निर्वाचनबाट चुनिएकोमा स्वागत गर्दै सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गरेका छन् । ‘हालै पोप नियुक्त हुनुभएका कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्टलाई बधाई,’ ट्रम्पले सामाजिक सञ्जालमा जारी सन्देशमा लेखेका छन् ।

भारत-पाकिस्तान तनावका कारण इण्डियन प्रिमियर लिग स्थगित

काठमाडौं । भारत र पाकिस्तान बीचको तनावका कारण इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित गरिएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को बैठकले लिग स्थगित गर्ने निर्णय गरेको हो ।

बीसीसीआईले तत्कालका लागि विदेशी खेलाडीलाई घर फर्काउने विषयलाई प्राथमिकता दिइएको र प्रतियोगिताको नयाँ मिति चाँडै घोषणा बताएको छ ।

बिहीबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रद्द भएको थियो । धर्मशालामा भइरहेको खेलका बीच पाकिस्तानले भारतमा आक्रमण गरेपछि खेल रद्द भएको थियो ।

माधव नेपालको मुटुको एन्जिओप्लास्टी गरियो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो ।

मुटुको उपचारपछि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । अध्यक्ष नेपाललाई सघन उपचार कक्षमा राखिएको छ ।

उनको स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

आइतबार नीति तथा कार्यक्रम पारित गर्ने तयारी, एमालेले जारी गर्‍यो ह्विप

काठमाडौं । नेकपा एमालेले संसदमा नीति तथा कार्यक्रम पारित गर्ने दिन आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार ह्वीप जारी गरेका हुन् । आगामी आइतबार संसदमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

विद्युत प्राधिकरणको आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आमजनतामा अन्यौल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

त्यसैगरी उनले बुढीगण्डकी जलविद्युत परियोजना यही आर्थिक वर्ष ८२, ८३ देखि निर्माण सुरु गर्न सरकारसँग माग गरेका छन् ।

आतंकवादको खिलापमा हुने कारवाही जायज भएको कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले भारतले आतंककारी अखडामा गरेको हमलाको पक्षमा रहेको बताएको छ ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले भारतको कारबाही जायज भन्दै आतंकवादको विरुद्धमा उभिने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सधैँ आतंकवादविरुद्धमा रहेको उल्लेख गर्दै भारत पाकिस्तान तनाव युद्धमा परिणत नहोस् भन्ने पक्षमा रहेको बताए ।

उनले भने, ‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठानेका छौं । हामी चाहछौं कि भारत र पाकिस्तानको द्वन्द्वले युद्ध ननिम्तियोस् ।’

पहलगाम हमलापछि भारत र पाकिस्तानबीच अहिले तनाव बढेको छ । दुबैतर्फबाट एक अर्कालाई आक्रमण भइरहेका छन् । भारत पाकिस्तान तनावले यतिबेला विश्व समुदाय चिन्तित बनेको छ । अमेरिका र चीनले दुबै पक्षलाई संयम हुन र वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन् ।

पाकिस्तानमा अध्ययनरत ८० भन्दाबढी नेपाली विद्यार्थीले गरे उद्दारका लागि आग्रह

काठमाडौं । भारत–पाकिस्तान तनाव बढेपछि पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरुले उद्दारका लागि आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवललगायतका ठाउँहरूमा एमबीबीएस पढ्न गएका ८० भन्दाबढी नेपाली विद्यार्थीहरू उद्दारका लागि पहल गर्न आफूलाई आग्रह गरेको बताएकी हुन् ।

उनले नेपाली विद्यार्थी सुरक्षासम्बन्धी ध्यानाकर्षण गर्दै परराष्ट्र मन्त्रालयलाई विद्यार्थीलाई नेपाल फर्काउने वा तोकिएको स्थानमा सुरक्षित राख्ने र बस्ने खाने व्यवस्था मिलाउन माग गरेकी छन् ।

त्यस्तै उनले भारतमा समेत धेरै नेपाली विद्यार्थी रहेको हुँदा आवश्यक परेको खण्डमा त्यहाँका विद्यार्थीको उद्दारसम्बन्धी योजना समेत जानकारी उपलब्ध गराउन आग्रह गरेकी छन् ।

वर्षाका कारण नेपाल र हङ्कङबीचको खेल रद्द

काठमाडौँ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङ्कङबीचको खेल रद्द भएको छ ।

थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल र हङ्कङबीचको खेल बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई रद्द भएको हो । यससँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् ।

नेपालले अब आफ्नो दोस्रो खेल यही वैशाख २९ गते हङ्कङसँग खेल्नेछ । क्वालिफायरमा आयोजक थाइल्यान्डसहित नेपाल भुटान, कुवेत, कतार, मलेसिया, हङ्कङ, बहराइन र युएई सहभागी छन् । जसलाई तीन समूहमा विभाजन गरिएका छन् ।

नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा हङ्कङ र बहराइन छन् । यसैगरी समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुवेत छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन् ।
समूह चरण डबल राउन्ड रोबिनका आधारमा हुनेछ ।

सबै टोलीले आआफ्नो समूहमा रहेका टिमसँग दुई पटक खेल्नेछन् । समूहको शीर्ष टोली सुपर तीनमा प्रवेश गर्नेछन् । सुपर तीनबाट लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।

चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र रसियाले विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन्।

उनले हालको विश्व परिदृश्यमा एकपक्षीयता, शक्तिको राजनीति र दादागिरीजस्ता प्रवृत्तिको विरोध गर्दै, दुवै देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसंघको अधिकारको संरक्षण गर्न मिलेर काम गर्ने बताए ।

सीले चीन–रसिया सम्बन्धलाई इतिहासमा आधारित गहिरो मित्रता भएको भन्दै यसलाई नयाँ युगमा अझ सशक्त, स्थिर र दीर्घकालीन बनाइने बताए।

उनले द्वितीय विश्वयुद्धको ८०औं वार्षिकोत्सवको सन्दर्भमा ऐतिहासिक तथ्यको रक्षा, विकासशील देशहरूको अधिकारको संरक्षण र समावेशी तथा समान विश्व व्यवस्था निर्माणमा चीन–रसिया मिलेर काम गर्ने प्रतिबद्धता जनाए।

सीले ऊर्जा, व्यापार, कृषि, अन्तरिक्ष, कृत्रिम बौद्धिकता जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै, बेल्ट एण्ड रोड पहल र यूरेशियन आर्थिक संघबीच सहकार्यमार्फत उच्चस्तरीय पूर्वाधार विकास गर्नुपर्ने बताए।

साथै, शिक्षा, संस्कृति, पर्यटन, चलचित्र, खेलकुदजस्ता जनस्तरका आदानप्रदानहरू बढाएर दुई देशबीचको सम्बन्ध अझ बलियो बनाइने उल्लेख गरे।

चीन, चाहे जस्तोसुकै अन्तर्राष्ट्रिय परिस्थिति आए पनि आफ्ना कार्यहरू दृढताका साथ अघि बढाउने र रसियासँग मिलेर अन्तर्राष्ट्रिय प्रणाली सुधार गर्ने दिशामा काम गर्नेछ। 

आठ हजार भन्दाबढी अकाउन्ट ब्लक गर्न एक्सलाई भारतको निर्देशन

वासिङटन । भारतले एक्सलाई आठ हजारभन्दा बढी खाता ब्लक गर्न आदेश दिएको प्लेटफर्मले जानकारी दिएको छ । साथै प्लेटफर्मले सरकारद्वारा लागू गरिएको ‘सेन्सरसिप’ भनेर वर्णन गरेको कुरासँग अनिच्छापूर्वक पालना गरिरहेको जनाएको छ ।

यो कदम भारतको व्यापक कारबाहीको हिस्सा जस्तो देखिन्छ, जसले आणविक–सशस्त्र छिमेकीहरू बीच बढ्दो तनाव र घातक झडपहरूका बीचमा पाकिस्तानी राजनीतिज्ञ, सेलिब्रिटी र मिडिया संस्थानहरूका सामाजिक मिडिया खाताहरूलाई लक्षित गरेको छ ।

एक्सका अनुसार अन्तर्राष्ट्रिय समाचार संस्थाहरू र अन्य प्रमुख प्रयोगकर्ताहरूलाई ब्लक गर्न माग गरेको यो आदेश मेटाले नयाँदिल्लीको अनुरोधमा इन्स्टाग्राममा एक प्रमुख मुस्लिम समाचार पेज भारतमा प्रतिबन्धित गरेको एक दिन पछि आएको हो ।

“कम्पनीका स्थानीय कर्मचारीहरूलाई उल्लेखनीय जरिवाना र कारावासको सम्भावित दण्डसहित एक्सले भारत सरकारबाट कार्यकारी आदेशहरू प्राप्त गरेको छ जसमा एक्सले भारतमा आठ हजारभन्दा बढी खाता ब्लक गर्न आवश्यक छ”, साइटको विश्वव्यापी सरकारी मामिला टोलीले एक विज्ञप्तिमा भनेको छ ।

धेरैजसो मामिलामा सरकारले खाताहरूबाट कुन पोस्टहरूले भारतीय कानून उल्लङ्घन गरेको छ भनेर निर्दिष्ट गरेको थिएन र अन्य धेरैमा यसले ब्लकहरूका लागि कुनै प्रमाण वा औचित्य प्रदान गरेको थिएन ।
एलन मस्कको स्वामित्वमा रहेको प्लेटफर्मले मागहरूसँग असहमति जनाएको तर भारतमा निर्दिष्ट खाताहरू रोक्ने प्रक्रिया सुरु गरेको बताएको छ ।

“सम्पूर्ण खाताहरू अवरुद्ध गर्नु अनावश्यक मात्र होइन, यो विद्यमान र भविष्यका सामग्रीको सेन्सरसिप बराबर हो, र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारको विपरित हो”, विज्ञप्तिमा भनिएको छ, “यो सजिलो निर्णय होइन, यद्यपि प्लेटफर्मलाई भारतमा पहुँचयोग्य राख्नु भारतीयहरूको सूचना पहुँच गर्ने क्षमताका लागि महत्त्वपूर्ण छ ।”

काश्मीरको विवादित मुस्लिम बहुल क्षेत्रमा भारतद्वारा शासित क्षेत्रमा पर्यटकहरूमाथि घातक आक्रमणलाई समर्थन गरेकामा नयाँदिल्लीले इस्लामाबादलाई दोष दिएको दुई हप्तापछि भारत र पाकिस्तानबीचको भीषण लडाइँका बीच यो कदम आएको हो ।

पाकिस्तानले उक्त आरोप अस्वीकार गरेको छ । भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गरेको भन्दै हवाई आक्रमण सुरु गरेदेखि बढ्दो हिंसामा सीमाको दुवै छेउमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।

दुवै देशले बिहीबार एकअर्कामाथि ड्रोन आक्रमणको आरोप लगाएका छन् । एक्सले कानूनी प्रतिबन्धहरूका कारण भारतीय कार्यकारी आदेशहरू सार्वजनिक गर्न नसक्ने बताएको छ, तर यसले प्रभावित प्रयोगकर्ताहरूलाई ‘अदालतहरूबाट उपयुक्त राहत खोज्न’ प्रोत्साहित गरेको छ ।

यसले प्रभावित प्रयोगकर्ताहरूको नाम उल्लेन गरेन, तर हालैका दिनहरूमा भारतीय मिडियाले भारतले पाकिस्तानी राजनीतिज्ञ बिलावल भुट्टो जरदारी र पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा क्रिकेट कप्तान इमरान खानका एक्स खाताहरू ब्लक गरेको रिपोर्ट गरेको छ ।

भारतले पाकिस्तानी समाचार संस्थाहरूसहित ‘उत्तेजक’ सामग्री फैलाएको आरोपमा एक दर्जनभन्दा बढी पाकिस्तानी युट्युब च्यानलहरूलाई पनि प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानी बलिउड चलचित्रका नियमित कलाकार फवाद खान र आतिफ असलम पनि भारतमा सीमित थिए । साथै स्टार ब्याट्सम्यान बाबर आजम र मोहम्मद रिजवान र सेवानिवृत्त खेलाडी शाहिद अफ्रिदी र वसीम अकरमसहित विभिन्न प्रकारका क्रिकेटरहरू पनि भारतमा सीमित थिए ।

दक्षिण एसियाली यी दुई छिमेकीबीच बढ्दो शत्रुताले अनलाइन गलत सूचनाको बाढी ल्याएको छ । सामाजिक मिडिया प्रयोगकर्ताहरूले डिपफेक भिडियोदेखि असम्बन्धित द्वन्द्वहरूको पुराना छविहरूसम्म सबै कुरा प्रसारित गरिरहेका छन्, जसलाई गलत तरिकाले चलिरहेको लडाइँसँग जोडिएको छ ।

अस्थिर सरकार देश विकासको बाधकः सांसद यादव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेतृ तथा प्रतिनिधिसभा सदस्य मीना यादवले अस्थिर सरकार भएका कारण देशको विकास हुन नसकेको टिप्पणी गरेकी छन् । उनले भनेकी छन्, “जुन पार्टीको नेतृत्वमा सरकार बने पनि बढीमा एक वर्ष वा दुई वर्ष मात्रै चलेको छ, खाली सरकार बनाउने र ढाल्ने खेल मात्रै भइरहेको छ, जनचासोका विषयमा कसैलाई मतलब छैन ।” मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी सांसद यादवसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश । 

मुख्य कुरा नौ/नौ महिनामा सरकार परिवर्तन भइरहने भएकाले देशको विकास हुन सकेको छैन । मन्त्रीले आफ्नो मन्त्रालयको बारेमा बुझ्न नपाउँदै सरकार परिवर्तन भइहाल्छ । कम्तीमा चारपाँच वर्षसम्म सरकारले काम गर्न पाए देशको विकास हुन्छ । अर्को कुरा, कुनै एउटा दल मात्रै होइन, सबै दलका नेताहरू देश र जनताको निम्तिभन्दा पनि पार्टीगत र व्यक्तिगत स्वार्थको लागि काम गरेको देखिन्छ । सांसदको ध्यान पनि संसद्मा कानुन बनाउनभन्दा पनि सरकारमा जान आतुर भएको देखिन्छ । संसद्मा जनताका शिक्षा, स्वास्थ्य र रोजगारलगायत जनताका समसामयिक विषय उठेको हुन्छ । तर सरकारले कार्यान्वयन गर्दैन । 

मधेस प्रदेशमा दाइजोप्रथा व्याप्त छ । मधेसमा छोरी माग्ने बेलामै दाइजोको माग राखिन्छ । यदी आफूले भने जति दाइजो नपाएमा श्रीमतीलाई जिउँदै जलाइदिने घटना पनि भएका छन् । मानौँ, कोही मधेसी केटाले डाक्टर पढेको छ भने उसले डाक्टर पढ्दा लागेको खर्च बराबरको दाइजो माग्ने चलन छ । मधेसका चेलीलाई दाइजोमा तुलना गरिन्छ । यो प्रथाको सरकारले कानुन बनाएरै प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । आजको युवामा पनि दाइजो नल्याएका कारण मार्ने, जिउँदै जलाउन मिल्छ । योबारेमा सरकार बोल्नु पर्दैन । 

यो दाइजोप्रथा घट्नुको सट्टा झनझन बढ्दै गएको छ । मुख्य कुरा दाइजो प्रथा अहिले झनझन बढ्दै जानु भनेको अशिक्षा पनि हो । मधेसमा शिक्षाको अवस्था कमजोर छ । अर्को कुरा, चेतनाको पनि कमी छ । मधेसका महिला दोहोरोतेहोरो मारमा परेका छन् । मधेसी हुनुको विभेद एकातिर छ । महिला हुनुको विभेद अर्कोतिर छ । बेरोजगारीको अर्को समस्या छ । मधेसी भनेपछि मान्छे हेर्ने नजर नै फरक छ । मधेसमा अशिक्षाको कारण बोक्सी प्रथा पनि छ । जताबाट पनि मधेसमा महिला नै विभेदमा परेका छन् । मधेसको एउटा विद्यालयमा ४००–५०० विद्यार्थी छन् । तर शिक्षक दुईतीन जना मात्रै छन् । अनि सरकारी मधेसमा शिक्षाको विकास हुन्छ । रोजगारीमा विदेश जाने धेरै मधेसकै युवा छन् । 

संवैधानिक व्यवस्थाअनुसार संसद्मा महिलाको ३३ प्रतिशत महिलाको सहभागिता भएको छ । तर राज्यका अरु निकायमा महिलाको सहभागिता हुन सकेको छैन । वर्तमान सरकारमा दुई मात्रै महिलामन्त्री हुनुहुन्छ । पूर्वराज्यमन्त्री विद्या भट्टराईले राजीनामा दिए पनि प्रधानमन्त्रीले उहाँको ठाउँ महिलालाई मन्त्री बनाउनुपर्ने थियो । तर प्रधानमन्त्रीले पुरुषलाई नै मन्त्री बनाउनुभयो । संसद्मा जस्तै मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्छ । 

ठूलाठूला महिलावादी भाषण गरेर मात्रै हुँदैन । व्यवहारमा हेर्नुपर्छ । हामीले सङ्घीय सरकारमा महिलाको सहभागिताबाट प्रदेश र स्थानीयमा महिलाको सहभागिता आकलन गर्न सकिन्छ । नेपालको संविधान २०७२ को धारा ३८ ले राज्यको हरेक निकायमा महिलालाई समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ  । तर संविधान जारी भएको १० वर्ष बितिसके पनि त्यस व्यवस्थाको पूर्ण रूपमा कार्यान्वयन भएको छैन । विसं २०७८ को जनगणनाअनुसार महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत  छ । यसमा मधेसी महिलाको कति नै होला र ? त्यसकारण राज्यले मधेसी समुदायको शिक्षाको निम्ति लगानी बढाउनुपर्छ । सबैभन्दा कमजोर भएको समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीमा कमजोर भएको समुदायमा लगानी बढाउनुपर्छ । 

राज्यका हरेक संरचनामा मधेसी समुदायको जनङ्ख्याको आधारमा समान सहभागिताको नीति बनाएर कार्यान्वयन फितलो छ । मुख्य कुरा कार्यान्वयन हो । संविधानको प्रस्तावना मै पछाडि परेको समुदायलाई समान सहभागिता हुने भनेको छ । तर कार्यान्वयन नभएपछि के गर्ने ? सरकारले त्यसतर्फ ध्यान दिन जरुरी छ । सरकारले जनतालाई सरकार भएको आभास दिनुपर्छ । स्थानीय र प्रदेश सरकारले पनि सही ढङ्गले जनतालाई सेवा दिन सकेका छैनन् । सङ्घीय सरकारले प्रदेश सरकारलाई काम गर्ने अधिकार नै दिएको छैन । सङ्घीयतालाई अझ बलियो बनाउन स्थानीय र प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्नैपर्छ ।