`

प्रतिगामी शक्ति फर्काउने सपना कुनै पनि जेठ १५ मा पूरा हुनेछैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने हुंकार कहिल्यै पूरा नहुने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले जेठ १५ गते लोकतन्त्र उल्ट्याउने सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।

उनले भने, ‘केही साथीहरु जेठ १५ गते लोकतन्त्र उल्ट्याएर प्रतिगामी शक्ति ल्याउने भन्दै हुनुहुन्छ । यस पटकको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खिनुस् तपाईंहरुको सपना साकार हुनेवाला छैन । प्रतिगामी सपना काम लाग्दैन, त्यसमा जोडबल नगरौं । बंगलादेशमा बनाइदिन्छु भन्छन् । त्यहाँ पनि त थिए राजा । तर खै त त्यहा राजा फर्काएनन् त ?’

प्रधानमन्त्रीले मुलुक संविधान र कानुन अनुसार चल्ने बताए । उनले प्रतिगमनको वकालत गरेर सिलिङमा टाउको ठोकाउनुको कुनै अर्थ नरहेको बताए ।

मन्त्रीको क्षेत्रमा धेरै र सांसदको क्षेत्रमा कम बजेट भए बजेट च्यातिन सक्छः सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट च्यात्ने अवस्था नआउनेतर्फ सचेत रहन सरकारलाई चेतावनी दिएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद खतिवडाले मन्त्रीहरुलाई आफ्नो क्षेत्रमा मात्र बजेट नलैजान सचेत गराएका हुन् ।

उनले भने, ‘छिट्टै बजेट आउँदैछ। म माननीय मन्त्रीजीहरुलाई आग्रह गर्न चाहन्छु–मन्त्रीको क्षेत्रमा अलि धेरै, माननीयको क्षेत्रमा अलि कम भयो भने बजेट च्यात्ने अवस्था नआओस्। त्यो अनुरोध गर्न चाहन्छु।’

सांसद खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै र निवास फरक बनाउन आग्रह गरे । उनले यसो गरेमा सरकारको खर्च कटौती हुने बताए ।

उनले सार्वजनिक ऋण अहिले २६ अर्ब पुगेको र साधारण खर्च राजश्वले धान्न सक्ने अवस्था नरहेको भन्दै ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए ।

उनले भने, ‘खर्च कटौती कसरी गर्न सकिन्छ, त्यतातिर सरकारको ध्यान जानुपर्दछ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने, निवास फरक रहने व्यवस्था भयो भने अलिकता यसलाई सहजता हुन्छ ।’

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

झापा । झापामा श्रीमानले धारिलो हतियारले घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कनकाई नगरपालिका–२ सुकेडाका ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका छन् ।

गएराति कविराजले ३४ वर्षीया श्रीमती पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

“दुई जनाबीच झगडा भएपछि श्रीमतीको हत्या गरी कविराज फरार भएका थिए । उनलाई सुरुङ्गा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो”, उनले भने ।

घटनास्थल सुरक्षित राखी घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

परराष्ट्र र श्रम मन्त्रालयले नुनको सोझो पनि गरेनन्ः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा शाहीले नेपाली युवाहरु विदेशमा बन्धक हुँदा पनि मन्त्रालय मौन बसेको आरोप लगाए ।

उनले भने, ‘झण्डै ८० लाख युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन् । श्रम, परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन् । नेपालीहरु बन्धक हुँदा पनि श्रम मन्त्रालयले काम गरेको छैन ।’

उनले विदेशी भूमिको युद्धमा नेपालीहरु पटक पटक मर्नुपर्दा पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएको बताए ।

उनले भने, ‘पछिल्लो पटक भारत र पाकिस्तानको युद्धमा पनि नेपाली नै मरे, रुस र युक्रेनको युद्ध भयो । नेपाली नै मरे । प्यालेस्टाइन र इजराइलको युद्धमा पनि नेपाली नै मरे । यो कस्तो गरिवी हो यो कस्तो वेरोजगारी हो । सरकार मौन छ ।’

उनले विदेशमा बसेकाहरुले पठाएको रेमिट्यान्सले नै सांसदहरु, प्रधानमन्त्री, मन्त्री, कर्मचारीहरुले तलव पाएको भन्दै नुनको सोझो गर्नुपर्ने बताए ।

सांसद केसीद्वारा भारत–पाकिस्तानबीच युद्धविराम घोषणाको स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारत–पाकिस्तानबीच भएको युद्धविरामको घोषणालाई स्वागत गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद केसीले युद्धविरामको घोषणा भएको केही घण्टा नबित्दै उक्त सम्झौता उल्लंघन भएको घट्नाप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले भने, ‘भारत पाकिस्तानबीच हालै भएको युद्धविरामको सम्झौताको स्वागत गर्न नपाउँदै उल्लंघनका दुःखद खबरहरु आउन थालेका छन् । सम्झौताको इमानदारीतापूर्वक कार्यान्वन गर्दै आंतकको कालो बादल यस क्षेत्रबाट सधैंको लागि समाप्त हुन सकोस् । क्षेत्रीय शान्ति र स्थिरताका लागि आतंकवादको समाप्ती नै प्रथम आवश्यकता हो । झण्डै सयौं आतंककारी संगठन र आंकवादविरुद्ध विश्व जनमत बलियो रुपमा एकजुट रहेको र आतंकवाद विश्व शान्तिको लागि प्रमुख खतराको रुपमा रहेकोमा कुनैपनि प्रकारको आतंकवादविरुद्ध दृढतापूर्वक कठोर नीतिले यसलाई सहयोग र समर्थन गर्नु हामी सबैको दायित्व र कर्तव्य हो ।’

साथै उनले आतंकको कालो बादल यो क्षेत्रबाट सधैंको लागि समाप्त हुनसक्नुपर्ने सुझाव दिए ।

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै कालीगण्डकी नदीको दोहन भएकाले रोक्न केसीको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालीगण्डकी नदी दोहन नरोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा केसीले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा नदी दोहन भइरहेकाले रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकीबाट बालुवा र ढुंगा जथाभावी झिक्ने काम हुँदा सरकार भने रमिते बनेको आरोप लगाए ।

उनले यसबारेमा यसअघि पनि आफूले आवाज उठाएपनि सुनुवाइ नभएको बताए ।उनले बालुवा गिट्टी उत्खनन नरोके कालीगण्डकी कोरिडोरको सडकसमेत भासिने स्थिति रहेको बताए ।

निजामती विधेयकमा ‘कुलिङ पिरियड’ का विषयमा कांग्रेस-एमालेबीच मतभेद कायमै

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय निजामती सम्बन्धी कानुन चाँडै निर्माण हुने बताएका छन् । आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथिको छलफलमा गृहमन्त्री लेखकले कानुन निर्माण ढिला गरेर भएपनि राम्रो काम गरिरहेकाले उत्साहित हुनुपर्ने बताए ।

उनले विधेयकहरु सहमतिमा टुङग्याउनु उचित हुने भन्दै संघीय निजामती सम्बन्धी विधेयक पनि सहमतिमा नै टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।

गृहमन्त्रीले विधेयक टुंग्याउन थप ५–६ दिनको समय माग गरे । उनले, ‘अर्को बैठकमा टुंग्याउने गरी पाँच–छ दिनको समय पाऊँ । हामी पनि छलफल गर्छौं, साथीहरू पनि छलफल गर्नुस् ।’

खासगरी ’कुलिङ पिरियड’ बारे कांग्रेस र एमालेबीच नै मतभेद छ । नेपाली कांग्रेस कुलिङ पिरियड दुई वर्ष राख्नुपर्ने अडानमा छ भने एमाले एक वर्षमात्रै राख्नुपर्ने पक्षमा छ ।

त्यस्तै समिति सभापति रामहरी खतिवडाले समितिको अर्को बैठकबाट जसरी पनि निजामती विधेयक संसदमा पेश गर्नेगरी तयारी गर्नुपर्ने बताए ।

उनले राज्य समितिलाई कुनै राजनीति गन्ध नआउने समितिको रुपमा विकास गर्नुपर्ने बताए । उनले भने,‘समितिको अर्को बैठकबाट जसरीपनि निजामती विधेयक संसदमा पेश गर्नेगरी तयारी गर्नुपर्छ । यो समिति राजनीति गन्ध नआउने समितिको रुपमा विकास गरौं भन्ने हामी सबैको चाहना छ । यहाँ जुन पार्टीको प्रतिनिधि गर्ने भएपनि समिति हामी सबैको हो भन्ने किसिमबाट जाऔं ।’

राजावादीले उपत्यकामा आन्दोलन चर्काउन गरे कार्यक्रम घोषणा

काठमाडौं । राजसंस्था पुनःस्थापनाको लागि नवराज सुवेदीको संयोजकत्वमा गठित जनआन्दोलन समितिले उपत्यकामा आन्दोलनलाई चर्काउने गरि कार्यक्रम घोषणा गरेको छ ।

समितिका संयोजक सुवेदीको अध्यक्षतामा आइतबार बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बैठकमा सुवेदीले यो जनआन्दोलन राजसंस्था स्थापनाको निमित्त अन्तिम आन्दोलन हुने र आन्दोलनले नेपाललाई हिन्दू अधिराज्य स्थापनाको निमित कोषेढुंगा सावित हुने बताए ।

बैठकले बैशाख २९ गते उपत्यकास्तरीय सबै राजसंस्था पक्षधर दल तथा अभियान लगायत सबै पक्षधरहरुको बैठक वस्ने छ । त्यसैगरी जेठ ६ गते राजसंस्था पक्षधर प्रबुद्ध भेला गरिने, जेठ ८, ९, १०, ११, गते साँखुबाट सुरु गरि चाँगुनारायणमा समापन गर्नेगरि जनजागरण अभियान संचालन हुने र सोही समयमा महत्त्वपूर्ण स्थानहरुमा कोणसभा समेत गरिने छ । त्यसैगरि काठमाडौंमा जेठ १३ गते बृहत युवाभेला हुने र जेठ १५ बाट उपत्यकास्तरीय अनिश्चितकालीन आन्दोलन सुरु हुने कार्यक्रम रहेको राप्रपा नेता जनकराज पाठकले जानकारी दिए ।

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्टलगायत विभिन्न राजावादी संगठनहरुका नेताहरुको उपस्थित थियो ।

बैठकमा जनआन्दोलन समितिका सदस्य एवं राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, राजेन्द्र गुरुङलगायत राप्रपा नेपालका नेताहरु राजीव पराजुली, राजाराम वर्तौलालगायत राष्ट्रिय शक्तिका विराज विष्ट, श्याम केसी लगायतको उपस्थित थियो ।

हिन्दूवादी चर्चित पण्डित रामकृष्ण उपाध्याय, नेपालका लागि नेपाली नागरिक बचाउ अभियान, देशभक्त अभियान, मातृभूमि नेपाल, विश्वहिन्दु महासंघ, सनातन युवामञ्च लगायतको उपस्थित रहेको थियो ।

जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का

दाङ । दाङको घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन् । उनले १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका छन् ।

खड्काले व्यावसायिक रूपमा तरकारीखेतीमा लागेको १० वर्ष भयो । बुबाले गरेको कर्मलाई नै मार्गदर्शन मानेर खड्काले सुरुमा थोरै मात्रामा खेती गर्दै आएको भए पनि व्यावसायिक रूपमा लागेपछि ठूलो परिमाणमा खेती गरेका हुन् ।

तरकारीखेती गर्दै जाँदा लगाउने आधुनिक तरिकाबारे सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उनको भनाइ छ । किसान खड्काले खेती गर्दै जाँदा यसमा धेरै कुराको अनुभव बटुल्न पाएको बताए ।

“स्वदेशमा बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ गर्दै आएको तरकारीखेतीले प्रतिफल राम्रो दिँदै गएको छ”, उनले भने,“कृषि पेसामा पनि आफूले तरकारीखेती नै धेरै सम्भावना देखेर यसलाई निरन्तरता दिँदै आएको छु, त्यसैअनुरुप खेती गर्दै जाँदा उत्पादन बढ्न थाल्यो ।”

राप्ती बवई एग्रिकल्चर प्रालिमार्फत सञ्चालन गर्दै आएको खेतीमा उनले बोडी, काक्रा, करेला, टमाटरलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । केही वर्ष अगाडि रोल्पामा पनि तरकारीखेती गरेको, त्यहाँ ढुवानी र बजारको समस्या हुने भएकाले दाङमा झरेर थप व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएको किसान खड्का बताउँछन् ।

जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका खड्काले यसबाट आकर्षक आम्दानी हुने गरेको बताए । सानैदेखि नै यही पेसामा लागेकाले आफूले अन्य कामतिर ध्यानै नदिएको र यसमै सन्तुष्ट रहेको उनको भनाइ छ ।
खड्काले वार्षिक दुई करोडभन्दा बढी मूल्यको तरकारी उत्पादन गर्दै आएका छन् । “जसबाट ३५ प्रतिशत बचत हुने गरेको छ, भाडाको जग्गाको वार्षिक  पाँच लाख तिर्ने गरेको छु”, उनले भने, “स्थानीय नागरिक तरकारी फार्ममै काम गर्न पाउँदा उनीहरू पनि खुसी भएका छन्, दुई–चार पैसा कमाउन अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ, भोलिका दिनमा व्यवसायलाई अझ बढाउँदै लैजाने उहाँको सोच छ ।”

तरकारी फार्ममा काम गर्दै आएका स्थानीय गीता महरा घर नजिकै काम पाउँदा खुसी भएको बताउँछिन् । काम गरेबापत तलब पनि समयमा पाउँदै आएको उनको भनाइ छ । उनीजस्तै रञ्जिता चौधरी पनि विगत दुई वर्षदेखि त्यही तरकारी फार्ममा काम गर्दै आएको बताउँछिन् । यहाँ काम गरेदेखि परिवारको घरखर्चमा केही सहयोग मिलेको उनले बताइन् । धेरै दुःख पनि नहुने दुई–चार पैसा कमाउनका लागि अन्यत्र जान नपर्ने उनको भनाइ छ ।

आफ्नै देशमा उत्पादनको प्रशस्त सम्भावना भएर पनि वार्षिक करोडौँ रुपैयाँको तरकारी आयात हुँदै आएको छ । स्वदेशभित्रै उत्पादन गर्न सकिने र बजारीकरणको पनि समस्या नहुने अवस्थामा तरकारीखेतीलाई प्रोत्साहन गरी स्वदेशभित्रै रोजगारी बढाउने काममा तीनै तहका सरकारले जोड दिनुपर्नेमा स्थानीय अगुवाले सुझाव दिएका छन् ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ । वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फि खुला गरेको र दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ ।

प्रचण्डलाई शंकर पोखरेलको प्रश्नः तथ्य एकातिर, बोली अर्कातिर किन ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अभिव्यक्ति दिँदा कुन्ठा मात्र नपोख्न आग्रह गरेका छन् । आइतबार सामाजिक संजालमार्फत पोखरेलले तथ्य एकातिर र बोली अर्कैतिर भएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ ? यी तथ्यहरुले तपाईंको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ । तपाईं प्रधानमन्त्री हुँदाको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ । विदेशी मुद्राको संचिति बढेको छ । शोधनान्तर स्थितिमा उल्लेख्य बचत छ । निर्माण व्यावसायीलाई काम बापतको तपाईंको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ ।’

महासचिव पोखरेलले सहकारीमा भएको घोटालाको छानबिन र कारबाहीको प्रकृया अघि बढेको तथा साना वचत कर्ताको वचत फिर्ता गर्ने प्रकृया सुरुभएको बताएका छन् ।

उनले भनेका छन्, ‘निर्माण ठप्प रहेका ठूला आयोजनाहरुको काममा तिव्रता आएको छ । जस्तो पोखरा –मुग्लिन सडक, गैडाकोट– वुटवल सडक आदि । भुकम्प र बाढीपीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ । वैंकको तरलता वृद्धि भएको छ । व्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ । कानून निर्माणको कामले तीव्रता पाएको छ । सहकारीमा भएको घोटालाको छानविन र कारबाहीको प्रकृया अघि वढेको छ । साना वचत कर्ताको वचत फिर्ता गर्ने प्रकृया सुरुभएको छ । कानूनी सुधारको प्रकृयावाट लगानी योग्य वातावरण तयार भएको छ । कानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ । भूमि समस्याको समाधानको प्रकृया अघि बढेको छ । सरकारको स्थायित्वको आधार तयार भएको छ । उपरोक्त कारणले नै तपाईंको पीडा र छटपटी बढेको देखिन्छ । होइन र ?’

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकको पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो ।

समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ ।

गुर्जाका बासिन्दा तुलसी छन्त्यालले तास्नाधुरीमा न्यून सङ्ख्यामा पर्यटक आउने गरेको बताए । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल समुदायको संस्कृति, रहनसहन र जीवनशैलीमा रमाउन पर्यटक आउँछन् । ‘पहाडको फेदीमा रहेको गुर्जाबाट डाँडाले छेक्ने भएकाले हिमाल देखिँदैन’, उनले भने, ‘दृष्यावलोकनका लागि पर्यटकलाई तास्ना उकाल्न सकेमा बसाइ लम्ब्याउन सकिन्छ ।’

गुर्जाबाट एक घण्टा पैदलयात्रा गरेपछि तास्नाधुरी पुगिन्छ । गुर्जा गाउँको शिरमा भिरालो पाखोमा तास्नाधुरी अवस्थित छ ।

तास्ना वरपरको पाखामा वसन्तयाममा गुराँस र बर्खामा बुकी फुलेर रङ्गिन्छ । तास्नाको बुकीपाटन घरपालुवा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्ने चरन खर्क हो ।

हालै गुर्जा घुमेर आएका बेनीका नारायण शर्माले हिमाल हेर्दै हाइकिङ गरेर तास्नाधुरी पुग्दा उकालो यात्राको थकान भुलाएको अनुभव सुनाए । डाँडामा बसेर पृष्ठभूमिमा हिमाललाई नजिकबाट नियाल्न पाउँदा मन प्रफुल्ल भएको उनको भनाइ छ । प्रकृतिसँग रमाउन तास्नाधुरी उपयुक्त गन्तव्य भएको शर्माको अनुभव छ ।

गुर्जामा पाहुनाको बसाइ लम्ब्याउन तास्नाधुरीलाई सहायक गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण थालिएको छ । वडाध्यक्ष झक छन्त्यालले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको १० लाख बजेटबाट गुर्जाको नाइलीबारीबाट तास्नाधुरी जोड्ने पदमार्ग निर्माण गरिएको बताए ।

बीस जना बेरोजगार युवायुवती परिचालन गरेर तीन किलोमिटर पाँच सय मिटर पदमार्ग निर्माण गरिएको छ । गोठला र स्थानीयवासीले घाँस, दाउरा गर्न तास्नाधुरी आवतजावत गर्न प्रयोग गरेको परम्परागत बाटोलाई स्तरोन्नति गरेर पदमार्ग बनाइएको हो ।

माटो काट्ने र ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाइएको छ । पदमार्ग बनेपछि भर र पाखोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने तथा बाटो बिराउने समस्या हटेको छ, यात्रा सुरक्षित भएको छ ।

विचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गुर्जागाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । गुर्जाबाट ढोरपाटन, गुर्जा, पुथा, चुरेन हिमालको आधार, डोल्पा र पूर्वीरुकुम जान सकिन्छ ।

एकाविहानै ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डको ३ नम्बर पुल नजिकै कोइला बोकेको ट्रक सडकमा पल्टिँदा यातायात अबरुद्ध भएको छ ।

वीरगञ्जबाट काठमाडौं गइरहेको ट्रक आज बिहान ७ बजे पल्टिएको थियो । सडक खुलाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

तस्बिरः शिव न्यौपाने

पाकिस्तानी प्रधानमन्त्री भन्छन्-हाम्रो स्वतन्त्रतालाई चुनौती दिनेलाई जे पनि गर्छौँ

बीबीसी । भारत र पाकिस्तान बीच संघर्षविराममा सहमति बनेको घोषणापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलेले शनिवार अबेर राति राष्ट्रलाई सम्बोधन गरेका छन् ।

शहबाज शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूको नाम लिएर उनीहरूलाई बधाई दिए र भने, ‘यो पाकिस्तानको ऐतिहासिक जित हो।’

उनले विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे । शरीफले सम्बोधनको सुरुवात गर्दै भने, ‘यदि कोही हाम्रो स्वतन्त्रतालाई चुनौती दिन्छ भने हामी आफ्नो रक्षा गर्न जे पनि गर्छौँ।’

उनले आफ्नो देशविरुद्ध भारतले लगाइरहेको आरोप ‘निराधार’ भएकार यसको जाँच होस् भन्ने आफ्नो चाहना रहेको बताए । शहबाज शरीफको सम्बोधनमाथि भारतको प्रतिक्रिया आइसकेको छैन।

युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने पुटिनको प्रस्ताव

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव राखेका छन् । उनले कुनै ढिलाइ नगरी मे १५ देखि नै वार्ता सुरु गर्न आग्रह गरेका छन् ।

शनिबार क्रेमलिनबाट अबेर राति टेलिभिजनमा प्रसारित सम्बोधनमा उनले भने, ‘हामी गम्भीर वार्ता खोज्छौं, द्वन्द्वको मूल कारणहरू हटाउन र दिगो, बलियो शान्तितर्फ अघि बढ्न ।’

बेलायतका प्रधानमन्त्री सर केयर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन लगायत युरोपेली नेताहरूले युक्रेनको भ्रमण गरेको र रूसलाई ३० दिने विनाशर्त युद्धविराममा सहमत हुन आग्रह गरेको केही घण्टापछि पुटिनको यो कुरा आएको हो ।

प्रतिक्रियामा, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले ‘यसबारे सोच्नुपर्ने’ बताएका थिए । आफ्नो विज्ञप्तिमा, पुटिनले टर्कीको राजधानी इस्तानबुलमा हुने प्रस्ताव गरिएको वार्ताको क्रममा – रूस र युक्रेन ‘नयाँ युद्धविराम, नयाँ युद्धविराममा सहमत हुन सक्षम हुन सक्ने’ कुरालाई ‘अस्वीकार नगर्ने’ बताए ।

रुसी नेताले आइतबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग छलफल गर्न कुरा गर्ने बताए । पुटिनको प्रस्तावमा किभले कुनै टिप्पणी गरेको छैन । यसअघि शनिबार, युरोपेली नेताहरूले युक्रेनको राजधानीको भ्रमण गरेका थिए र सोमबारदेखि सुरु हुने गरी युक्रेनसँग एक महिना लामो युद्धविराममा सहमत हुन मस्कोलाई आह्वान गरेका थिए।

विश्वकप लिग २ का लागि नेपाली टोली घोषणा

काठमाडौं । आगामी जुनमा स्कटल्यान्डमा हुने विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा गरिएको छ । नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट लले जिम्मेवारी सम्हालेपछि पहिलोपटक टोली घोषणा गरिएको हो ।

स्टुअर्टले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा दीपेन्द्रसिंह ऐरी(उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भिम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।

लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंहले स्कटल्याण्डमै हुने टी–२० सिरिजका लागि टोलीमा मौका पाएका छन् । नेपालले स्कटल्याण्ड भ्रमणका क्रममा लिग–२ सिरिजअघि स्कटल्याण्ड ‘ए’ टोलीसँग दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

‘डिम्यान’ले आयोजना गर्न लागेको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ कार्यक्रमको तयारी पूरा, प्रधानमन्त्री प्रमुख अतिथि

काठमाडौं । डिजिटल मिडिया अलायन्स नेपाल (DMAN) ले ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ भन्ने मूल नारासहित गर्न लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

‘शंकर ग्रुप’ को प्रस्तुति तथा विभिन्न निजी क्षेत्रका ब्राण्डहरूको सहकार्यमा आइतबार आयोजना हुने यस कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

सम्मेलनमा तीनवटा फरक–फरक विषयमा केन्द्रित प्यानल छलफल समावेश गरिएको छ । जसमा उद्यमशीलता, ऊर्जा तथा उद्योगको सम्बन्ध र समसामयिक आर्थिक तथा राजनीतिक विषयवस्तुमा बहस गरिनेछ ।

कार्यक्रमले नेपालका युवा उद्यमी, नीति निर्माताहरू, उद्योगी व्यवसायी, तथा राजनीतिक नेताहरूलाई एउटै मञ्चमा ल्याएर समसामयिक आर्थिक चुनौती र सम्भावनाबारे गहन संवाद गर्ने उद्देश्य राखेको छ ।

‘उद्यममा नयाँ पुस्ता’ शिर्षकको पहिलो सत्रमा नेपालका नयाँ पुस्ताका उद्यमशील सोच र योगदानबारे छलफल हुनेछ। यसमा प्यानलिस्टहरू विदुषी राणा, उज्वल श्रेष्ठ, दीपकराज गिरी, छिरिङ लामासँग सञ्जोग कोइरालाले छलफल गर्नेछन् ।

यसैगरी, ‘उद्योगमा ऊर्जाः अर्थतन्त्रमा आशा’भन्ने दोस्रो सत्रमा नेपालको उद्योग क्षेत्रमा ऊर्जा तथा लगानीको भूमिका, सम्भावना र चुनौतीबारे विचार प्रस्तुत गरिनेछ । यसमा प्यानलिस्टहरू उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, मिनबहादुर श्रेष्ठ, राजुनन्दन मरुसँग सुदेश उपाध्यायले छलफल गर्नेछन् ।

यस्तै, ‘अर्थराजनीति’ सत्रमा आर्थिक नीति र राजनीतिक नेतृत्वको भूमिकामाथि बहस हुनेछ। जसमा प्यानलिष्टहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वर्षमान पुनसँग सोविता गौतमले छलफल गर्नेछिन् ।

कार्यक्रमलाई नेपालमा समावेशी, तथ्यमा आधारित र युवा केन्द्रित आर्थिक बहसको थालनीका रूपमा हेरिएको छ । कार्यक्रम शंकर ग्रुपको प्रस्तुतिमा टिभीएस मोटर्स, प्रोटोन इभि, जगदम्बा स्टिल्स सहित सौर्य सिमेन्टसँगको सहकार्यमा हुनेछ।

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएका ट्रम्पको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान र भारत ’पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका बताएका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्टमा अमेरिकी राष्ट्रपतिले ट्रम्पले भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्ता पछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्।’

उनले सामान्य ज्ञान र उत्कृष्ट बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाई दिएका छन् ।

धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण : ऊर्जामन्त्री खड्का

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।

काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको बद्रीनारायणधामको प्राणप्रतिष्ठा कार्यक्रममा शनिबार सहभागी भएका मन्त्री खड्काले धार्मिक पर्यटनलाई जोड्दै पर्यटन प्रवर्द्धनमा धामले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे।

“हामी रोजगारीका कुरा गछौँ, आयआर्जनका कुरा गछौँ, सरकारले त्यसबाट राजस्वका लागि आश गर्छ, यो सबैका लागि पनि धार्मिक पर्यटनको विकास आवश्यक छ, जुन काम यस धामले गर्न सक्छ भन्ने विश्वास लिएका छौँ”, मन्त्री खड्काले भने।

धार्मिक पर्यटकले रामकोट वरपरका व्यवसायहरू चलायमान हुनुका साथै धर्मको संरक्षणमा समेत धामले सहयोग पुर्‍याउने बताए।

भोलिका दिनमा यस धाम दर्शनका लागि लाखौँ पर्यटक आउने भएकाले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनुका साथै रोजगारीका अवसर सृजना भई आयआर्जन वृद्धि हुँदै जाने ऊर्जामन्त्री खड्काले विश्वास व्यक्र गरे।

सबै समुदाय, वर्गबीच सहिष्णुता हुनुपर्नेमा जोड दिँदै उहाँले आफ्नो आस्था र विश्वास अनुसार पुण्यप्राप्तिमा सबै लाग्नुपर्ने धारणा राखे।

“हामी विभिन्न संस्कृति,धर्म र जातमा विभाजन भए पनि एकतामा बाधिएका छौँ, यो हाम्रो साझा फूलबारी हो, यो मानवका लागि आफैँमा पुण्य कार्य हो”, उनले भने।

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

उनले बागमती, विष्णुमति, रुद्रमतिलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम तिनमा ढल मिसाउन नदिने आफ्नो प्रयास रहेको बताए ।

आज बानेश्वर हाइट खानेपानी उपभोक्ता समितिले आयोजना गरेको ‘डिप बोरिङ’ पानी शुद्धीकरण उद्घाटन गर्दै उनले नदीनालामा ढल मिलाउन नपाइने बताए ।

उपप्रधानमन्त्री सिंहले बागमतीलाई स्वच्छ बनाउन सहरी विकास मन्त्रालयले प्राविधिकसहित जनशक्ति परिचालन गरेको जानकारी दिँदै देशका विभिन्न भागमा सञ्चालित खानेपानी आयोजना समयमै पूरा गर्न नागरिक तहबाट पनि अनुगमन गर्नुपर्नेमा जोड दिए ।

काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान

काठमाडौँ । नेपाली भाषा, साहित्य र वाङ्मयको विकासका निम्ति योगदान गर्नुभएका तीन जना स्रष्टा र दुई संस्थालाई पुरस्कारसहित सम्मान गरिएको छ ।

पण्डित काशीनाथ उपाध्याय कट्टेल र उनकी धर्मपत्नी हरिप्रिया कट्टेलको स्मृतिमा स्थापना भएको पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठानले शनिबार काठमाडौँमा कार्यक्रममा आयोजना गरेर ती स्रष्टा संस्थालाई सम्मान गरेको हो ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रा डा हेमाङ्गराज अधिकारी र प्रा डा दीर्घराज घिमिरेलाई वाङ्मय पुरस्कार र धनकुटाको विश्रान्तिधाम संस्कृत गुरुकुल र पिण्डेश्वर विद्यापीठ धरानस्थित दुई छात्रलाई सम्मान गरेकी हुन् । अधिकारी र घिमिरेलाई नगद २१ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार साहित्यकार मुना अर्याललाई प्रदान गरिएको छ । उनलाई नगद १५ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको हो ।

त्यस अवसरमा पूर्वप्रधानन्यायाधीश कार्कीले प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित ‘व्यावहारिकसंस्कृतसम्भाषणाभ्यासः’ पुस्तक विमोचन गरिन् । पुस्तक समीक्षा गर्दै प्रा डा रमा भट्टराईले संस्कृत सिक्न चाहनेका लागि पुस्तक सहयोगी हुने बताइन् ।

कार्यक्रममा दिइएको जानकारीअनुसार २०६७ सालमा स्थापना उक्त प्रतिष्ठानले हालसम्म नेपाली वाङ्मयको विकासमा योगदान गरेका २४ भन्दाबढी व्यक्ति र संस्थालाई सम्मान गरिसकेको छ ।

विचौलिया, दलालहरुको विपक्षमा काम गर्दा मेरो नेतृत्वको सरकार ढालियोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको दुई तिहाईको सरकारको हालत रुझेको विरालो जस्तो भएको बताएका छन् ।

शनिबार पाँचथरको फिदिममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई तिहाईको सरकारले नगर्नुपर्ने जति सबै काम गरेको बताएका हुन् ।

उनले यो सरकार आफ्नै कुकर्मले ढल्ने बताए । उनले भने, ‘अहिलेको दुई तिहाईको सरकारको हालत तपाईंहरुले देखिहाल्नु भएको छ, रुझेको विरालो जस्तो । यसले गर्नुपर्ने कुनै काम गरेको छैन, नराम्रो जति गर्न केही बाँकी राखेको छैन । यो सरकार ढाल्ने प्रयास कसैले गर्नुपर्दैन । यो सरकार आफ्नै कुकर्मको बोझले ढल्छ । हामी सरकार ढाल्ने कसरतमा छैनौं ।’

प्रचण्डले विगतमा एमाले र कांग्रेसलाई ठूलो दल बनाउन आफूहरुले सहयोग गरेको तर उनीहरुले आफूहरुलाई सानो बनाउने काम गरेको बताए ।

उनले अब माओवादी आफ्नै खुट्टामा उभिएर जाने र कसैसँग गठबन्धन गरेर चुनाव नलड्ने बताए । उनले भने, ‘अब हामी बुर्जुवाको वैशाखी टेकेर होइन, आमजनताको साथ लिएर अघि बढ्छौं ।’

प्रचण्डले देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियानहरू माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको बताए ।

भर्खरै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्रै नभई जनताको अभियान बनेको निष्कर्ष पार्टीले निकाले उल्लेख गर्दै, केही दिनमै सुरु हुने औपचारिक चरण बैतडीबाट भए पनि पाँचथरको यो कार्यक्रम सोही अभियानको पूर्वसञ्चार भएको उनले स्पष्ट पारे ।

‘मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौं, यसको पूर्वी सुरुआत पाँचथरमा रहेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘यस क्षेत्रका जनताको हितमा बनेका मध्यपहाडी लोकमार्ग जस्ता पूर्वाधार अभियानहरू पनि हामीले नै सुरु गरेका हौं।’

उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन, र आर्थिक सुधारका अभियानहरू सञ्चालन गर्दै गर्दा बिचौलिया र दलालहरुले सरकार ढालेको उल्लेख गर्दै भने, ‘बैंक ब्याजदर घटाउने, बैंकिङ प्रणाली सुधार गर्ने, जनताको पक्षका विचौलिया दलालहरुको विपक्षीमा काम गर्दा बिचौलिया र दलालहरूलाई मन परेन, त्यसैले अपारदर्शी ढंगले रातारात सरकार ढालियो।’

स्थानीय तह, स्ववियू निर्वाचन, पत्रकार महासंघलगायतका पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय परिणाम ल्याएको जनाउँदै, उनले आगामी निर्वाचनमा पार्टी एक्लै अगाडि बढ्ने र जनताको पक्षमा सुरु गरिएका कामलाई निरन्तरता दिइने बताए ।

बजेटमा आयोजना तथा कार्यक्रम व्यापक हेरफेर गर्छौंः अर्थमन्त्री पौडेल

काठमाडौं ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रम व्यापक हेरफेर गरिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शनिबार आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफलमा अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने बताए ।

बजेट प्रणालीमा समस्या रहेकाले समाधानका लागि हस्तक्षेपकारी नीति अवलम्बन गरिने उनको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटलाई यथार्थपरक बनाउन प्रयास गर्ने र कार्यान्वयन सुनिश्चितासहितको बजेट ल्याउने उनले बताए ।

अर्थतन्त्रका परिसूचकहरु सुधार हुँदै गए पनि विगतमा स्रोत व्यवस्थापनको खाडल देखिएकाले त्यसलाई पुर्न केही समय लाग्ने उनले बताए । बजेट प्रणालीलाई मार्गदर्शन गर्ने महत्त्वपूर्ण दस्तावेजका रुपमा संविधान रहेकाले सोहीअनुसार नीति अवलम्बन गरिने अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।

‘अहिले सङ्घले छुट्याउने बजेटमा प्रदेश र स्थानीय तहका कार्यक्रम पनि छन् । अझ केही आयोजना त उपभोक्ता समितिले गर्नुपर्ने प्रकृतिका छन् । सङ्घले कार्यान्वयन गर्नुपर्ने आयोजना र कार्यक्रमको सङ्ख्या कम हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ’, उनले भने ।

केही समयअघि आन्दोलनरत शिक्षकका सबै माग पूरा गर्ने हो भने ठूलो आर्थिक दायित्व थपिने र यसले साधारण खर्च बढ्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।

सामाजिक सुरक्षामा ठूलो रकम खर्च हुने गरेको र नेपालीको औसत आयु बढेको तर वृद्धभत्ता पाउने उमेर घटाउने अस्वस्थ प्रतिस्पर्धा चलेको उनले बताए र स्वास्थ्य बिमा कार्यक्रमको खर्च व्यवस्थापनको समस्या सम्बोधन नगर्ने हो भने थप समस्या सिर्जना हुने उनको भनाइ छ ।

दशकभन्दा बढी समयसम्म पूरा नहुने बहुवर्षीय आयोजनाहरु रहेकाले तिनको प्राथमिकीकरण गरिनुपर्नेमा उनको जोड छ । आयोजनाको दोहोरोपन हटाउने, प्रतिफल दिने परियोजनामा लगानी केन्द्रित गर्ने, पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्गजस्ता पूर्वाधार आयोजनामा बजेट केन्द्रित गर्ने अर्थमन्त्री पौडेलले बताए ।

कार्यक्रममा पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्यालले बजेट तर्जुमा, विनियोजन, कार्यान्वयन, अनुगमन मूल्याङ्कनजस्ता बजेट चक्रमै समस्या रहेकाले सुधार गरिनुपर्ने आवश्यकता औँल्याए । पछिल्लो ५० वर्षमा विनियोजनअनुसार खर्च नहुने गरेको तथ्य उल्लेख गर्दै उनले पाँच दशकमा औसत ८६ दशमलव ९७ प्रतिशत मात्र बजेट खर्च भएको बताए ।

जग्गा प्राप्ति, वन क्षेत्रको प्रयोग स्वीकृति, अन्य निकायसँगको कमजोर समन्वय, निर्माण व्यवसायीको कमजोर क्षमता, जनशक्ति र उपकरणको अभाव, स्थानीय अवरोध, निर्माण सामग्रीको अभाव, आयोजना सम्बद्ध कर्मचारीको तारन्तार सरुवाजस्ता कारण पुँजीगत खर्च कमजोर हुँदै गएको पूर्वमुख्यसचिव अर्यालको भनाइ छ । अर्थ मन्त्रालयले सहजीकरण नगरिकन आन्तरिक र बाह्य स्रोत खर्च गर्न नसकिने भएकाले त्यसमा अर्थमन्त्रालयले सहजीकरण गर्नुपर्ने धारणा उनले राखे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले बजेटमा मुख्यगरी तीनवटा विरोधाभाष रहेको बताए । ‘पहिलो, सुरुमा विस्तारकारी बजेट आउँछ तर कार्यान्वयन गर्दा सङ्कुचन देखिन्छ । दोस्रो, सङ्घीय सरकार बजेट घाटामा छ तर, तीनवटै तहको सरकारको जोड्दा बचतमा देखिन्छ । तेस्रो, आयोजनाको प्राथमिकीकरण निकै कमजोर छ’, डा श्रेष्ठले भने । यी तीनवटा विरोधाभाष चिर्न आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्रालयको पूर्वतयारी कमजोर रहेका कारण कार्यान्वयनमा समस्या देखिएको उल्लेख गर्दै उनले बजेटमा योजना तथा कार्यक्रममा राख्दा ८० प्रतिशत प्राविधिक र २० प्रतिशत राजनीतिक रुपमा आउनुपर्ने धारणा राखे ।

नेपाल नगरपालिका सङ्घका महासचिव नरुलाल चौधरीले सङ्घ सरकारले प्रदेश र स्थानीय तहमा पठाउने वित्तीय समानीकरण अनुदान कटौती गर्दा समस्या सिर्जना भएको बताए । ‘भुक्तानीको बेला बजेट काटिनु भनेको सबैभन्दा ठूलो समस्या हो । दायित्व सिर्जना भइसकेको हुन्छ, तर भुक्तानी दिने बेला बजेट काटिँदा समस्या भएको छ’, उनले भने ।

सभामुख भन्छन्-देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला आयो

काठमाडौँ । सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको बताएका छन् ।

पूर्वसांसद मञ्च नेपालद्वारा शनिबार आयोजित ‘नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख घिमिरेले वर्तमान शासन प्रणालीविरुद्ध कुप्रचारले प्रश्रय पाएकाले सकारात्मक ढङ्गबाट सोच्ने र विश्लेषण गर्ने प्रवृत्तिको विकासमा जोड दिए ।

सकारात्मक विश्लेषणबाट देशको अवस्था पत्ता लगाउने र कसरी अघि बढ्ने भन्नेबारे निर्णय गरी निर्णय कार्यान्वयन गर्ने विभिन्न व्यक्ति, क्षेत्र र अङ्गलाई सहयोग पुर्याउन राजनीतिकर्मीलाई उनले आह्वानसमेत गरे ।

‘व्यवस्था परिवर्तन भयो अवस्थामा भएन भन्ने भाष्यमा टेकेर आज फेरि इतिहास फर्काउन चाहने शक्ति र विचारहरु टाउको उठाइरहेका छन्’, सभामुख घिमिरेले भने,’अहिलेका सन्दर्भमा देशको वर्तमान अवस्था के हो भन्नेमा राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको छ ।’

वर्तमान राजनीतिक व्यवस्था नै देशका लागि उपयुक्त हुने जिकिर गर्दै उनले विकासको गतिलाई तीव्रता दिन अत्यावश्यक भइसकेको धारणा व्यक्त गरे ।

‘नेता प्रणालीअन्तर्गत नै परिवर्तन हुन्छ तर नीति र प्रणाली परिवर्तन गर्न जरुरी छैन, हुँदैन । यो नै पूर्ण वैज्ञानिक र सही प्रणाली अपनाएका छौँ’, सभामुख घिमिरेले भने, ‘प्रणालीभित्र पनि सरकारको अस्थिरता, नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने समयको अभाव र नेताहरुको परीक्षणको अभाव देखिएको छ ।’

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनताको चाहनाअनुरुप विकास र समृद्धिका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए ।

राजनीतिक व्यवस्था परिवर्तनका लागि जनताले गरेको सङ्घर्षलाई स्मरण गर्दै उनले यस व्यवस्थाको संरक्षण गर्नु सबै दलको दायित्व भएको बताए । त्यसका लागि राष्ट्रिय चुनौतीको सामना गर्न सरकार र प्रतिपक्षबीच न्यूनतम बुझाइको जरुरी रहेको उनको भनाइ थियो ।

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा । क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि भई ६.९ प्रतिशतमा पुगेको छ । यसअघि मार्चमा पनि ०.१ प्रतिशत अंकको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय तथ्यांक निकाय स्ट्याटिस्टिक्स क्यानडाले शुक्रबार जानकारी दिएको छ ।

यो वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो, जुन जनवरी २०१७ यताकै उच्चतम दर हो ।

निकायका अनुसार, अप्रिल महिनामा रोजगारी खोजिरहेका व्यक्तिहरूले अघिल्लो वर्षको तुलनामा अझै बढी कठिनाइको सामना गर्नु परेको देखिएको छ । मार्चमा बेरोजगार रहेका ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार नै रहेका थिए, जुन अघिल्लो वर्षको तुलनामा उच्च अनुपात हो ।

अप्रिलमा समग्र रोजगारीमा खासै परिवर्तन देखिएन भने रोजगारी दर ०.१ प्रतिशत अंकले घटेर ६०.८ प्रतिशतमा झरेको बताइएको छ ।

१५ देखि ६९ वर्ष उमेर समूहका कर्मचारीहरूमध्ये १३.२ प्रतिशतले आफ्नो कार्यस्थलमा आगामी छ महिनाभित्र कर्मचारी सङ्ख्या घट्ने अपेक्षा व्यक्त गरेका छन् । यस्तै, अमेरिकी मागमा निर्भर क्यानाडेली निर्यात उद्योगमा कार्यरत कर्मचारीहरूमध्ये यो अनुपात १८.६ प्रतिशत रहेको स्ट्याटिस्टिक्स क्यानडाले जनाएको छ ।

युरोपेली शीर्ष नेताहरु युक्रेन भ्रमणमा, युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट

युक्रेन । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क तथा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले शनिबार युक्रेनको राजधानी कीभको संयुक्त ऐतिहासिक भ्रमण गरेका छन् ।

यो भ्रमण युक्रेनमा रुसी आक्रमणको तेस्रो वर्षमा आयोजित भएको हो, जसले युरोपेली एकता, मानवीय मूल्य र युक्रेनप्रतिको दृढ समर्थनलाई स्पष्ट रूपमा उजागर गर्दछ ।

नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग उच्चस्तरीय छलफल गर्दै रुससँग तुरुन्त र बिना सर्त ३० दिने युद्ध विरामको आह्वान गरेका छन् ।

उनीहरूले दिगो शान्ति स्थापनाका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्, जसले युक्रेनको सार्वभौमिकता र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्नेछ ।

उक्त अवसरमा, नेताहरूले संयुक्त राष्ट्रसंघीय ढाँचामा आधारित दीर्घकालीन शान्ति प्रक्रियाको आवश्यकता औँल्याउँदै, युद्ध विरामको विश्वसनीय कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेका छन् साथै, उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित ३० दिने युद्धविराम पहलप्रति समेत समर्थन व्यक्त गरेका छन् ।

यो उच्चस्तरीय भ्रमणले अन्तर्राष्ट्रिय समुदायमा युक्रेनप्रतिको ऐक्यबद्धता मात्र होइन, रूसमाथि कूटनीतिक दबाब सशक्त बनाउने विश्वास गरिएको छ ।

सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानीलाई कडाइका साथ रोकिने बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयद्वारा शनिबार आयोजित दोस्रो राष्ट्रिय वन सम्वद्र्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरुको महत्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताए ।

‘हरियो वन नेपालको धन’को नारा पुरानै भए पनि धनको रुपमा वनको सदुपयोग भएको थिएन तर अहिले हामीले एउटा सङ्कल्प लिएका छौँ, वनको विनाश हुन नदिएर सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘वन क्षेत्रको संरक्षण हामीले बढाएका छौँ । अब यसको विस्तारमा भन्दा उत्पादनमा जानुपर्छ । वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनुपर्छ ।’ हाल देशमा ४६ प्रतिशत भूभाग वनले ओगटेको छ ।

प्रधानमन्त्री ओलीले विश्वको वातावरणका लागि पनि योगदान गर्नुपर्ने विषय भएकाले अब वन सवलीकरण गर्ने र बुट्यानहरुलाई पनि सघन वनमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

कृषि र वनको अधिकृत मिलेर फलफूलखेतीमा जोड दिन सकिने भन्दै उनले हिमाली भेगमा प्रशस्त जैतुनको खेती गर्न सकिने भएकाले पारस्परिक सहयोग बढाएर वन संरक्षण गर्दै आर्थिक समृद्धिको मार्ग अग्रसर हुन आग्रह गरे ।

उनले किसानहरुलाई पशुपालनमा प्रेरित गर्दा नवीकरणीय वनलाई सहयोग हुने र चरिचरजनको विस्तार गर्दा वन र कृषिको पर्यावरणलाई जोड्न सकिने बताए ।

‘मैले बाघको सङ्ख्या अब बढाउनु पर्दैनभन्दा वातावरणविरोधी भयो भनेर नबुझीकन टिप्पणी पनि गरियो । खान नपाएपछि उसले मान्छेलाई आक्रमण गर्छ । फोटाका बाघ हेरेर यसले केही गर्दैन भनेर हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले अन्तरराष्ट्रिय प्रतिबद्धताबमोजिम दोब्बरभन्दा बढी सङ्ख्यामा बाघ संरक्षण गरेका छौँ । वनको छेउमा बस्नेलाई यसको पीरमर्का थाहा छ । वातावरणको संरक्षण मानव जातिका लागि हो । मानव जाति नै असुरक्षित भएर वातावरणको संरक्षण गर्न सकिँदैन ।’

प्रधानमन्त्री ओलीले पेरिस सम्झौता नमान्ने केही देश रहेको उल्लेख गर्दै विश्व समुदायसँगको सहकार्यमा सबै समाहित हुनुपर्नेमा जोड दिए । उनले यो महत्व आज बुझिएन भने भोलि बुझ्न ढिलो हुने लागेर मुलकले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको कूटनीतिक मञ्च ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको बताए ।

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए शपथ

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्राडा रमेशकुमार ढुङ्गेल र रजिस्ट्रार डा. डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन् ।

नयाँ कानूनी व्यवस्था अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुङ्गेललाई र कुलपति ढुङ्गेलले रजिस्ट्रार चेम्जोङलाई शपथ गराएका हुन् ।

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्न माग गरेको छ ।

पार्टीको कृषि तथा पशुपक्षी विकास विभागको आज ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने विभाग प्रमुख केदार न्यौपानेले बताए ।

‘कृषिमा रूपान्तरणकारी परियोजनाका रूपमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनःसंरचना गर्ने, नीति कार्यक्रममा घोषणा भएअनुसार कृषिमा आत्मनिर्भर, रोजगार, स्थानीय उद्यमशीलता वृद्धि गर्नेगरी ठोस कार्यक्रम ल्याउनुपर्ने, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित ‘विशेष कृषि विकास परियोजना’ घोषणाका लागि कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत बजेट विनियोजन गर्नुपर्दछ’, उनले भने ।

बैठकले कृषिउपजको समर्थन मूल्य तय गर्दा बाली लगाउनका लागि त्यस वर्ष भएको नगद खर्च (श्रम, बीउ, खाद्य सिँचाइ), पारिवारिक श्रमको लगानी, जमिनको भाडा, कूल पुँजी र यसको ब्याज र एकतिहाइ नाफा जोडेर गरिनुपर्ने माग गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहबाट आमकिसानले प्राप्त गर्ने सेवालाई चुस्तदुरूस्तका साथै सेवा प्रणालीलाई प्रभावकारी बनाउन सरकारले नियमनकारी, प्रदेश तहले विकास सहजीकरण र स्थानीय तहले सेवा प्रदायकको भूमिका निर्वाह गर्नुपर्नेसमेत बैठकले माग गरेको छ ।

कृषि उत्पादनको प्रयोजनका लागि (माछा, पशुपालन, च्याउ र साना सिँचाइ) उपयोग हुने विद्युत् महसुललाई कृषि महसुलमा समावेश गरी विद्युत् महसुलमा ७५ प्रतिशत छुट गरी सहुलियत दिनुपर्ने, कृषि बजारमा स्थानीय उत्पादनहरू ब्रिक्री वितरणलाई प्राथमिकता दिनुपर्ने, किसान कार्डका आधारमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

जेनेभा । सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो ।

फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको हो । यसले थप राष्ट्र र खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्नुका साथै विश्वभर महिला फुटबलमा लगानी तीव्र बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

अठचालिस टोली सहभागीताको नयाँ ढाँचामा अब १२ समूह रहनेछ, जसले कुल खेल सङ्ख्या ६४ बाट बढाएर १०४ पुर्याउनेछ र प्रतियोगिता एक हप्ता थप लम्बिनेछ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, ‘यो केवल थप १६ टोली खेलाउने कुरा मात्र होइन, यो निर्णयले सदस्य राष्ट्रहरूलाई समग्र रूपमा महिला फुटबल संरचना विकास गर्न प्रेरित गर्नेछ ।’

महिला विश्वकपको सुरुवात सन् १९९१ मा १२ टोलीसहित भएको थियो। त्यसपछि सन् २०११ सम्म १६ टोलीले भाग लिए भने क्यानडा र फ्रान्समा सम्पन्न सन् २०१९ संस्करणमा २४ टोली सहभागी थिए ।

सन् २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डद्वारा सह–आयोजित प्रतियोगितामा पहिलोपटक ३२ टोली सहभागी भएका थिए । सन् २०२७ मा आगामी विश्वकप ब्राजिलमा आयोजना हुनेछ ।

यसैबीच, पुरुष विश्वकप पनि सन् २०२६ देखि ४८ टोलीसहित आयोजना हुँदैछ, जुन संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

लुम्बिनीमा तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

भैरहवा । २५ सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ ।

लुम्बिनी विकास कोषले शनिबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए ।

विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने उनले बताए ।

वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गूरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, बिहान ७ः३० शोभायात्रा हुनेछ ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

काठमाडौँ । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथामा चलचित्र निर्माण गरिएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले उनको कथामा ‘के घर के डेरा घ नं २’ चलचित्र निर्माण गरेका हुन् ।

निर्देशक खनालले केही वर्ष अगाडिदेखि बुद्धिसागरलाई चलचित्रमा कथाकारका रूपमा ल्याउन प्रयास गरेका थिए । सो प्रयासलाई सार्थकता दिँदै उनको कथामा चलचित्र निर्माण गरिएको निर्देशक खनाल बताउछन् । “साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् त”, भन्ने प्रश्नमा खनाल भन्छन्, “कथाको मर्म बुझ्ने निर्देशक नपरेमा साहित्यकारको कथाले न्याय पाउँदैन । बुद्धिसगरजीले लेखेका पटकथामा हरेक जानकारीलाई सूक्ष्म तरिकाले प्रस्तुत गरिएको छ । तर, हामी निर्देशकले एउटा सीमित समय भित्र कथा भनिसक्नुपर्ने हुन्छ । त्यसकारण कथाको मर्म प्रस्तुत हुनेगरी दृश्यमा उतार्ने खुबी निर्देशकमा हुनु जरुरी छ ।”

उनले बुद्धिसागरको पटकथालाई चलचित्रको शैलीमा रूपान्तरण गरेर चलचित्र कस्तो बन्छ भन्ने बारेमा जानकारी दिएर काम सुरु गरेको बताए । साहित्यकारले लेख्दा सामान्य कथा जस्तो सुन्दर हुन्छ, चलचित्रमा त्यस्तै सुन्दर तवरले प्रस्तुति गरिएको निर्देशक खनालको दाबी छ ।

निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गरेका थिए । उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उनले बताए । किनकि ‘के घर के डेरा’ लाई ‘कमेडी’ शैलीमा प्रस्तुत गरिएको थियो भने यसपटक ‘के घर के डेरा घर नं २’ मा ‘इमोसनल’ शैली प्रयोग गरिएको छ ।

“मैले मन छुने चलचित्र तयार गरेजस्तो लागेको छ । किनकि यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो । यसको सुन्दर पक्ष भनेकै चलचित्रमा रहेका पात्रहरू एकआपसमा जोडिएका छन् । उनीहरूले काठमाडौँ सहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ”, निर्देशक खनालले भने ।

अभिनेता खगेन्द्र लामिछानेले निर्देशक खनालले झैँ पटकथाको सुन्दरता पात्रहरूको उदयसँगै अवतरण रहेको बताए। आफैँ लेखक भएकाले अभिनेता लामिछाने लेखनका क्रममा आइपर्ने कठिनाइसँग जानकार छन् ।

“पात्रलाई चलचित्रमा जसरी सुरुआत गरिन्छ, त्यसको अन्त्य धेरैलाई मन पर्ने किसिमको बनाउन निकै कठिन हुन्छ । म आफैँ लेखक भएकाले यस चलचित्रमा पटकथामा आएका सम्पूर्ण पात्र अर्थपूर्ण हुनुका साथै एकआपसमा जोडिएको छ र ती यत्तिकै हराउँदैनन्”, उनले भने ।

‘पशुपति प्रसाद’ जस्तो चलचित्रमा लेखकसँगै अभिनेतासमेत रहेका लामिछानेले ‘अर्ग्यानिक’ भनेर अघोषित रूपमा बुझ्ने गरिएको ग्रामीण परिवेशसम्बन्धी बुझाइमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । नेपालका मौलिक विषय गाउँ मात्र नभई सहरकै पनि ‘अर्ग्यानिक’ हुने उनको बुझाइ छ ।

“हामीले गाउँका कथालाई मात्र मौलिक वा ‘अर्ग्यानिक’ भनेर सहरका कथालाई नजरअन्दाज गरिरहेका छौँ । हामीले यो सोच बदल्नुपर्छ । किनकि गाउँभन्दा सहरका गरिब दयनीय हुन्छन् । उनीहरूले गाउँ जस्तो सहजै जीविकोपार्जन गर्न सक्दैनन् । त्यसकारण हामीले ‘अर्ग्यानिक’को परिभाषालाई बृहत् बनाउनुपर्छ”, अभिनेता लामिछानेले भने ।

यस चलचित्रमा अभिनेत्री केकी अधिकारीले डेरावालको भूमिकामा छिन् । अभिनेत्री अधिकारीले चलचित्रमा अन्य पक्षको कथा पनि देख्न पाइने बताइन् “डेरावाल वा घरबेटीको मात्र कथा होइन । चलचित्रमा रहेका पात्रहरू कसैको आफ्नै घर छ त, कसैको डेरा छ, कोहीसँग दुवै छैन । त्यसकारण यो कथालाई घरबेटी र डेरावालमार्फत प्रस्तुत गरिए तापनि यो समग्रमा सफलताका लागि मेहनत गरिरहेका सम्पूर्णको कथा हो”, उनले भनिन् ।

चलचित्रमा आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गरेका छन् । यो चलचित्र आगामी जेठ २ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

आतङ्कवाद र अराजकता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन्ः संचारमन्त्री गुरुङ

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु भएका बताएका छन् ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको शनिबार ललितपुरमा उद्घाटन गर्दै उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिए । 
‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विषयमा भएको समिट महत्त्वपूर्ण छ, लोकतन्त्रमा चुनौती थपिएको देख्छु, लोकतान्त्रिक शासनमा जनताको अभिमत बलियो हुनुपर्छ, लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता कमजोर हुन्छ’, उनले भने । 

लोकतन्त्र र प्रेस स्वतन्त्रताबीच अन्तर सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताबाट समाज कसरी लाभान्वित हुन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अनलाइनबाट गलत सूचना सम्प्रेषण भइरहेको छ, यसलाई नियन्त्रण गर्न चुनौतीपूर्ण छ । धार्मिक सहिष्णुता, सांस्कृतिक विविधतामाथि सामाजिक सञ्जालबाट गलत सूचना प्रवाह गरेर लोकतन्त्रलाई कमजोर पार्नेहरुविरुद्ध सम्पूर्ण सञ्चारजगत् एकजुट हुनुपर्छ ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री उनले जलवायु परिवर्तनको असर रोक्न एकीकृत ढङ्गले काम गर्नुपर्ने बताउँदै भने, ‘हामीले काम गर्दा कुनै नेता वा पार्टी विशेषको स्वार्थमा परेर काम गर्नु हुँदैन, हामीले जनताका आवश्यकताका आधारमा विकास– निर्माणका काम गर्नुपर्छ । यसले लोकतन्त्रलाई सुदृढ बनाउँछ ।’

मन्त्री गुरुङले विधिको शासन स्थापना र निष्पक्ष पत्रकारितामा जोड दिँदै मिडिया काउन्सिल विधेयकमा स्वनियमनको दायरामा अनलाइन मिडियालाई ल्याउनेगरी प्रबन्ध भइरहेको जानकारी दिए ।

‘प्रेस भन्नेबित्तिकै छापामाध्यमलाई बढी बुझ्ने गरिन्छ, अनलाइन माध्यम पनि  प्रेस नै हो, अनलाइन माध्यमबाट समस्या भएको छ’, गत महिना  २० करोडभन्दा बढी ठगी भएको दृष्टान्त प्रस्तुत गर्दै उनले  सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएको बताए । 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका उपाध्यक्ष सविना इन्द्रजितले प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ नहुने बताइन् । उनले १५० भन्दाबढी राष्ट्रमा महासङ्घको उपस्थिति रहेको जानकारी दिँदै महासङ्घले प्रेस स्वतन्त्रताका पक्षमा काम गर्दै आएको बताइन् ।

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले जलवायु सङ्कट विश्वको समस्या बनेको बताउँदै प्रेस स्वतन्त्रत र जलवायु परिवर्तनसम्बन्धी  विषयलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे ।

यहाँको सम्मेलन सकेर उपस्थित १२० जना पत्रकार लोमान्थाङ प्रस्थान गरेका छन् । लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनमा केन्द्रित रहेर नेपाल प्रेस युनियनले सम्मेलन आयोजना गरेको हो ।

सर्वसाधारणलाई खतरामा पार्ने गरी पाकिस्तानले व्यापक ड्रोन प्रहार गरेको भारतीय सेनाको दाबी

बीबीसी । भारतले आफ्ना हवाई अड्डालाई निशाना गराउने क्रममा पाकिस्तानले तीव्र गतिको क्षेप्यास्त्र प्रयोग गरे तापनि भारतले त्यसलाई निष्क्रिय पारिदिएको बताएको छ ।

शनिबार पत्रकार सम्मेलनमार्फत भारतीय सेनाले यस्तो बताएको हो । भारतीय सेनाले सामाजिक सञ्जालमा पाकिस्तानले उक्साहटपूर्ण हमला बढाएको भन्दै त्यसमा आफ्ना पश्चिमी सीमामा सर्वसाधारणहरूलाई खतरामा पार्ने गरी व्यापक ड्रोन प्रहार गरेको बताएको छ ।

तिनै प्रयासमध्ये एकमा भारतको पञ्जाब राज्यको अमृतसर सहरको खासा क्यान्टोनमेन्टमाथि शत्रुपक्षका कैयौँ सशस्त्र ड्रोनहरू उडिरहेको देखिएको भारतीय सेनाले जनाएको छ ।

‘हाम्रा हवाई प्रतिरक्षा एकाइहरूले शत्रुका ती ड्रोनहरूलाई तुरुन्तै हमला गरे र नष्ट गरे,’सेनाले एक्समा जारी गरेको एक विज्ञप्तिमा भनेको छ।’

भारतको सार्वभौमसत्ता उल्लङ्घन गर्ने र नागरिकहरूलाई खतरामा पार्ने पाकिस्तानको स्पष्ट प्रयास अस्वीकार्य भएको सेनाले बताएको छ । शनिबार  बिहानैदेखि भारत र पाकिस्तानबीचको एलओसी भनिने नियन्त्रित सीमा क्षेत्रमा धेरै तर्फबाट विस्फोटन भएका विवरणहरू आइरहेका छन् ।

इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

तेहरान । इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता मे ११ मा ओमानमा आयोजना हुने निश्चित भएको जानकारी दिएका छन् । ओमानी पक्षले वार्ताको समय चाँडै घोषणा गर्ने जनाएको छ ।

वार्तामा ओमानको मध्यस्थतामा भइरहेको हो, जसको उद्देश्य तेहरानको आणविक कार्यक्रम तथा अमेरिकाद्वारा इरानमाथि लगाइएका प्रतिबन्धहरूको समीक्षा र सम्भावित हटाउने उपायहरूसम्बन्धी छलफल गर्नु हो।

मन्त्री अराघचीका अनुसार इरान वार्तामा आफ्नो सिद्धान्तमा आधारित स्पष्ट र स्थिर अडानमा दृढ रहन्छ, यद्यपि अमेरिकी पक्षबाट विरोधाभासी सन्देशहरू आइरहेका छन्।

उनले यस वार्ताअघि साउदी अरेबिया र कतारको भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी पनि दिए । उनले रियादमा क्षेत्रीय विषयहरूमा परामर्श गर्नेछन् र दोहामा आयोजना हुने ‘इरान–अरब विश्व संवाद’ सम्मेलनमा सहभागी हुने तयारीमा हुन् ।

हालसम्म इरान र अमेरिकाबीच तीन चरणका अप्रत्यक्ष वार्ता सम्पन्न भइसकेका छन्। चौथो चरणको वार्ता मे ३ मा रोममा तय गरिएको भए पनि ओमानले प्राविधिक कारण देखाउँदै स्थगित गरेको थियो।

कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

प्रतिक्षा आले, गोरखा । शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाइ । गोरखाको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर । 


तर उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन् । यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल अमरज्योति जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० परीक्षार्थी भित्र परेका विकलाई कक्षा १२ पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ । “अङ्ग्रेजी विषयमा चाहिँ एक दुई वटा वटा प्रश्नका उत्तर लेख्न सकिँन, तर फेलै चाहिँ भइन्न होला”, उनले भने, “अब बाँकी विषय त सजिलै छन् । आफ्नै शैलीमा लेख्न सक्छु ।” 


उनी २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट सेवानिवृत्त भएका हुन् । कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती भएका उनले २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट ‘प्राइभेट’तर्फ एसएलसी  दिएका थिए । “त्यतिबेला प्राइभेट टेस्ट दिन पाइन्थ्यो । टेस्टमा पास गर्यो भने जति कक्षा पढेकाले पनि एसएलसी दिन पाउँथे । मैले पनि त्यसरी नै टेस्ट दिएर एसएलसी दिएको हो”, उनले भने । तर त्यतिबेला जागिर खाँदै पढ्ने कुरा सजिलो थिएन । एसएलसी दिने बेला पनि ‘सिनियर कमान्डर’हरूले नपढोस् भनेर धेरै काम लगाउने गरेको उनी सुनाउँछन् ।


“दलितको छोरो पढेर हामीभन्दा ठूलो हुने भयो भनेर सिनियरहरूले खुबै पेल्थे । तर जसोतसो एसएलसी दिएँ । तेस्रो श्रेणीमा उत्तीर्ण पनि भएँ”, उनले भने, ‘पहिला गाउँकै स्कुल पढ्न पनि पैसा लाग्थ्यो । हामी चार भाइ, एक बहिनी थियौँ । आर्थिक अभावका कारण पढाइ छोड्नु पर्यो । तर, मनबाट शिक्षाको भोक हराएन ।”


उनी पढाइलाई निरन्तरता दिन चाहन्थे । तर, घर व्यवहार र आर्थिक अभावका कारण निरन्तरता दिन सकेनन् । “छोराछोरी जन्मिसकेका थिए । आफ्नो रहरमात्र हेरेर भएन । घर व्यवहार पनि चलाउनु पर्यो”, विगत सम्झँदै विकले भने, “पेन्सन आएपछि पनि पढ्ने अनुकूलता मिलेन । अहिले छोराछोरीहरू सबै हुर्किए । बिहेबारी भइसक्यो । अब पढ्नलाई सहज छ । त्यसैले फेरि कक्षा ११ मा भर्ना गरेर पढ्न थालेको हुँ ।” कक्षा १२ पछि स्नातकमा कानुन विषय लिएर पढ्ने इच्छा उनको छ । 


“पहिलेदेखि कानुन पढ्न मन थियो । अब कक्षा १२ पास गरेपछि कानुन पढ्छु । मलाई कानुन पढेर जागिर गरौँला भन्ने छैन । ढिलै भए पनि यति कक्षासम्म पढेको छु भनेर गर्व गर्न पाइयोस् ।” चार छोरा, एक छोरी र श्रीमतीसहितका परिवार भएका विकका छोराहरु वैदेशिक रोजगारीमा छन् । उनीहरुले पनि बुवालाई पढ्न प्रोत्साहन गर्नुका साथै सहयोग गरेको विक बताउँछन् ।


ढल्कँदो उमेरमा पनि शिक्षाप्रतिको उहाँको मोह देखेर विद्यालयका शिक्षकहरुले ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने भनाइ पुष्टि भएको बताउने गरेका छन् । यस वर्ष गोरखाबाट तीन हजार ७५० जना विद्यार्थीहरूले सहभागिता जनाएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका अनुसार यो वर्ष नियमिततर्फ दुई हजार चारसय ७६ र ग्रेड वृद्धितर्फ एक हजार २५० जना परीक्षार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी छन् ।

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठे र ९ को मालारानी जोड्ने गरी मोटरेवल पुल निर्माण भएको छ ।

पाँच वर्षअगाडि निर्माण सुरु भएको उक्त पुल अघिल्लो महिनादेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गदेखि मालारानीसहित राजकुट, प्युठान र गुल्मी आउजाउ गर्न सहज भएको छ ।

२०७७ कात्तिक २७ मा सडक डिभिजन कार्यालयले ७ करोड ६६ लाखमा निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । २०७९ फागुनमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएकामा तीन वर्षपछि मात्र निर्माण सम्पन्न भएको हो । पर्याप्त बजेट प्राप्त नहुँदा समयमै काम सम्पन्न नभएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

नवनिर्मित पुल मालारानीबाट राजकुट–हर्पे–देवीस्थान रोल्पा–रुकुम–जाजरकोट आवागमन सहज भएको छ ।

स्थानीय प्रेमबहादुर केसीले बडिगाडखोलामा पुल बनेपछि गाउँमा उत्पादन बजारीकरण गर्न सहज भएको बताए । गाउँमा धेरै किसानले फलफूल र सागसब्जी उत्पादन गरे पनि अब डोकोमा बोकेर बजार पुर्‍याउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।

टी-२० विश्वकप छनोटमा बहराइनलाई पराजित गर्दै नेपालको जित

काठमाडौं । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा बहराइनलाई ९ विकेटले पराजित गरेको छ । थाइल्यान्डको तेरथाइ क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको हो ।

वर्षाले आउटफिल्डका कारण खेललाई ५ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले ५ ओभरमा १ विकेटको क्षतिमा ४१ रन बनाएको थियो ।

बहराइनका लागि कप्तान दिपिका रंगासिकाले १३ बलमा आक्रमक ३४ रन बनाइन् । जवाफी ब्याटिङमा नेपालले लक्ष्य ४.२ ओभरमा १ विकेट गुमाउँदै सजिलै पूरा गर्यो । नेपालका लागि कविता कुँवरले १८ रनको योगदान दिइन् भने सम्झना खड्का १३ रन र कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहिन् ।

यसअघि शुक्रबारको खेल वर्षाका कारण टस हुनै नसक्दा खेल रद्द भएको थियो। दुबै टोलीले १–१ अंक बाँडेका थिए । अब नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।

उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

मुस्ताङ । उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा धमाधम राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।

उपल्लो मुस्ताङमा बसोबास गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले शुक्रबारदेखि उपल्लो मुस्ताङमा दुई दिने राष्ट्रिय परिचयपत्र वितरण शिविर सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट ९राजु० र उपाध्यक्ष छिरिङ ल्हामो गुरुङको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मुस्ताङअन्तर्गत राष्ट्रिय परिचय पत्र शाखाले लोघेकर दामोदरकुण्ड गाउँपालिका केन्द्र चराङमा पुगेर तीन सय २५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । स्थानीय तहको समन्वयमा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डसहित लोमान्थाङमा छ सय ६८ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको प्रजिअ भुसालले बताए।

उपल्लो मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरणका लागि चार जना कर्मचारी खटिएको प्रजिअ भुसालको भनाइ छ । यसअघि राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि दर्ता प्रक्रिया पूरा गराउन मुस्ताङको जोमसोम पुगेर नामाङ्कन दर्ता गरेका नागरिकलाई गाउँपालिका केन्द्रमै राष्ट्रिय पत्र पाउँदा निकै नै खुसी भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे।

अध्यक्ष विष्टका अनुसार राष्ट्रिय पत्र लिन जोमसोम आउजाउ गर्दा नागरिकको कम्तीमा प्रति व्यक्ति छ हजार बढी रकम खर्च हुनेमा प्रशासनबाट खटिएको टोलीबाट शिविर सञ्चालन गरी परिचयपत्र वितरण गर्दा स्थानीय नागरिकले आर्थिक भार व्यवहोर्नु नपरेको अध्यक्ष विष्टले जनाए ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट खटिएको टोलीले स्थानीय नागरिकको सेवा र सुविधालाई ध्यानमा राखेर जिल्लामा पहिलो पटक राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरेको हो ।

शिविर सञ्चालनबाट दिनै खर्चिएर सदरमुकाम जोमसोम धाउनुपर्ने झन्झट टरेको लोघेकर दामोदरकुण्ड–१ वडाध्यक्ष टै ढिन्डुक ठकुरीले बताए । प्रशासनले पालिकावासी र नागरिकको सेवा सुविधालाई केन्द्रमा राखेर सेवा प्रवाह गरेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

पछिल्लो समय सरकारले सामाजिक सुरक्षा भत्ता तथा बैंक खाता खोल्न र अन्य प्रशासनिक प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएसँगै मुस्ताङमा स्थानीय नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न वितरण दर्ता गर्ने क्रम बढेको छ । नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियान सञ्चालन गर्दै आइरहेको छ ।