`

पर्यटकीय गन्तव्य मौलाकालीमा होटल निर्माण

चितवन । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो ।

मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी ६५ वटा कोठा, एक हजार जना अट्ने क्षमताको ब्याङक्वेट तथा सभाहल, रेष्टुरेन्टको सुविधा रहेको आइएमई ग्रुप तथा मौलाकाली केवलकारका अध्यक्ष चन्द्र ढकालले बताए ।

स्थानीयको साझेदारीमा आइएमई समूहले केवलकार र होटल सञ्चालन गरेको हो । केबलकार र होटल निर्माणले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिमा आउने पर्यटकका लागि सहज भएको ढकालले बताए ।

ढकालका अनुसार आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ । यहाँबाट नवलपुर, देवघाट एवं चितवनको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको यस स्थानमा होटल सञ्चालनमा आएसँगै रात्रिकालीन बास बस्ने पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले मौलाकालीकामा केवलकार र होटलले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । केवलकार सञ्चालनमा आएसँगै भारतीय र तेस्रो मुलुककासमेत पर्यटक आएको भन्दै उनले होटल सञ्चालनले पर्यटकको बसाइँ लम्भ्याउन सहयोग पुग्ने उनको भनाइ थियो ।

मौलाकालिका मन्दिरमा जाने यस केवलकार सञ्चालनमा आएपछि २५ प्रतिशतभन्दा बढी भक्तजन आउने गरेका छन् । होटल सञ्चालनसँगै भक्तजनको सङ्ख्या थपिने अपेक्षा गरिएको छ ।

आइएमई ग्रुपले हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।

त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने गु्रपका अध्यक्ष ढकालले जानकारी दिए । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ । 

गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन् : पूर्वराष्ट्रपति यादव

काभ्रे ।  पूर्वराष्ट्रपति डा रामवरण यादवले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि जीवन उपयोगी भएको बताएका छन्। बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन सबै पक्ष र क्षेत्र लाग्नुपर्नेमा उनले जोड दिए।

काभ्रे सेवा समाजद्वारा आयोजित बुद्धजयन्तीका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म आयोजित बृहत शान्ति पदयात्राको आज उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा यादवले परिवर्तित समयमा पनि गौतमबुद्धका सन्देश देश विदेशका हरेक नागरिकका लागि उपयोगी भएको बताए।

‘गौतमबुद्धका सन्देशलाई विश्वव्यापी बनाउन आवश्यक छ, यसका लागि सबै पक्ष लाग्नु आवश्यक छ,’ उनले भने।

शान्ति र सद्भावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न तथा स्थानीय कला, संस्कृतिको सम्बद्र्धन गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको संस्थाका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए।

गौतमबुद्धले पाइला टेकेको पनौतीको मानेश्वरीदेखिे सुन्थान–ईंटे–शङ्खु– शङ्खेश्वरी–जङ्गल हुँदै नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको हो। समाजले यसअघि २०८० असोजमा पनि सोही ‘रुट’मा पदयात्रा आयोजना गरेको थियो। पदयात्रामा पाँच सयभन्दा बढी सहभागी रहेका आयोजकले जनाएको छ।

टेस्ट क्रिकेटबाट सन्न्यास लिने कोहलीको घोषणा

काठमाडौं । भारतका स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । इन्स्टाग्राममा एक पोस्ट लेख्दै कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गरेका हुन् ।

उनले पछिल्लो पटक बोर्डर गावस्कर सिरिज खेलेका थिए। जहाँ उनको प्रदर्शन राम्रो हुन सकेको थिएन। सिरिजमा उनले २३.७५ को औसतमा रन बनाएका थिए ।

उनले केही दिन अघिनै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) लाई आफ्नो निर्णयबारे जानकारी गराएका थिए। यद्यपि, बीसीसीआइले उनलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो । ३६ वर्षीय कोहलीले टेस्ट क्रिकेटमा १२३ खेलबाट ९२३० रन बनाएका छन् ।

भारत र पाकिस्तानले हाम्रो कुरा सुने र हात हालाहालको स्थिति रोकियोः प्रधानमन्त्री ओली

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीचको युद्ध रोकिएको दाबी गरेका छन् ।

सोमबार लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले कुरा गरेर हात हालाहालको स्थिति रोकिएको दाबी गरेका हुन् । प्रधानमन्त्रीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद दिए ।

उनले भने, ‘हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौँ, उहाँहरूसँग पनि कुरा गर्यौँ। नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।’

प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए।

अमेरिकी–इजरायली बन्धकको बदलामा युद्धविराम वा कैदीको रिहाइ हुने छैन : नेतन्याहु

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार हमासले घोषणा गरेको अमेरिकी–इजरायली बन्धकको रिहाइले गाजा पट्टीमा युद्धविराम वा प्यालेस्टिनी कैदीहरूको रिहाइ नगराउने बताएका छन् ।

गाजामा सबै बन्धकको रिहाइ सुरक्षित गर्न सम्भावित सम्झौताका लागि वार्ता ‘लडाइँको तीव्रताको तयारीका क्रममा’ जारी रहने नेतान्याहुले आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा बताएका छन् ।

हमासले युद्धग्रस्त क्षेत्रमा युद्धविरामका लागि संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्तामा संलग्न भएको खुलासा गरेसँगै उसले आइतबार गाजामा बन्दी बनाइएका अमेरिकी–इजरायली सैनिक एडन अलेक्जान्डरलाई रिहा गर्ने बताएको छ ।

कुनै मिति नदिइए पनि २१ वर्षीय अलेक्जान्डरको परिवारले उनलाई ‘आगामी दिनमा’ रिहा हुनसक्ने जानकारी दिइएको बताएका थिए ।

“इजरायलले कुनै पनि प्रकारको युद्धविराम वा आतङ्कवादीहरूको रिहाइको प्रतिबद्धता जनाएको छैन तर एडनको रिहाइलाई अनुमति दिने सुरक्षित मार्गका लागि प्रतिबद्ध छ”, नेतन्याहुले भने । अलेक्जान्डरको रिहाइको प्रतिज्ञा गाजा पट्टीमा ‘सैन्य दबाब’ मार्फत हासिल भएको उनले बताए ।

“हामी महत्त्वपूर्ण दिनहरूको बीचमा छौँ जसमा हमासलाई एउटा सम्झौताका साथ प्रस्तुत गरिएको छ जसले हाम्रा बन्धकहरूलाई रिहा गर्न सक्षम बनाउँछ”, उनले भने ।

यसअघि दुई हमास अधिकारीले अमेरिकासँग कतारको राजधानी दोहामा वार्ता जारी रहेको र ‘प्रगति’ भएको एएफपीलाई बताएका थिए ।

यसैबीच इजरायली आक्रमणहरू जारी रहेको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले विस्थापित मानिसहरूलाई आश्रय दिने एक विद्यालयमा राति भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको बताएको छ ।

“जबालिया सहरमा दुई हजारभन्दा बढी विस्थापित मानिसको घर रहेको फातिमा बिन्ट असद स्कुलमा इजरायली हवाई आक्रमणपछि केही महिला र बालबालिकासहित कम्तिमा १० जना (मृत) र दर्जनौँ घाइते भएका छन्”, नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले भने ।

गाजा लडाकुहरूले हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको क्रममा कब्जा गरिएका ५८ जना बन्धक राखेका छन्, जसमा इजरायली सेनाले ३४ जनाको मृत्यु भएको बताएको छ ।

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

एएफपी । अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको सीमा शान्त भएको र ‘हालका दिनहरूमा पहिलो शान्त रात’ भएको भारतीय सेनाले जनाएको छ ।

यो युद्धविराम दुई देशबीच चार दिनसम्म चलेको क्षेप्यास्त्र, ड्रोन र तोपखाना आक्रमणहरूपछि सहमति भएको थियो । आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको थियो भने हजारौँ मानिस भाग्न बाध्य भएका थिए ।

यो सन् १९९९ मा आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूको अन्तिम खुला द्वन्द्वपछिको सबैभन्दा खराब हिंसा थियो र यसले पूर्ण रूपमा युद्धमा परिणत हुनसक्ने विश्वव्यापी आशंका उत्पन्न गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा अप्रत्याशित रूपमा युद्धविरामको घोषणा गरेको केही घण्टापछि नै दुवै पक्षले एक–अर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएपछि सुरुमा शंकाहरू उत्पन्न भएका थिए ।

“काश्मीर र अन्तर्राष्ट्रिय सीमासँगका अन्य क्षेत्रमा रात धेरै हदसम्म शान्तिपूर्ण रह्यो”, भारतीय सेनाले भनेका छन्, “हालैका दिनहरूमा पहिलो शान्त रातलाई संकेत गर्दै कुनै घटना रिपोर्ट गरिएको छैन ।”

भारतद्वारा प्रशासित विभाजित काश्मीरको सीमावर्ती सहर पहुँचमा बन्दुकको गोली वा गोलाबारी बिनाको यो लगातार दोस्रो रात पनि थियो ।

पछिल्लो द्वन्द्वमा पुँच सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक थियो । यहाँ कम्तीमा १२ जना बासिन्दा मारिएका थिए भने अनुमानित ६० हजार बासिन्दामध्ये अधिकांश आफ्नो घर छाड्न बाध्य भएका थिए ।

आइतबार मानिसहरू सहरमा फर्कन थालेका थिए । यद्यपि धेरैजसोलाई अझै पनि युद्धविराम धेरै समय टिक्ने छैन भन्ने चिन्ता थियो ।

बुधबार बिहानै भारतले काश्मीरको पाकिस्तानी भागमा रहेको ‘आतंकवादी शिविरहरू’ लाई ध्वस्त पार्दै क्षेप्यास्त्र आक्रमण गरेपछि समग्र द्वन्द्वतर्फ खतरनाक लहर सुरु भएको थियो ।

यो अप्रिल २२ मा भारत प्रशासित काश्मीरमा पर्यटकहरूमाथि भएको आक्रमणपछि भएको थियो, जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

भारतले पाकिस्तानलाई आक्रमणको समर्थन गरेको आरोप लगाएको थियो तर इस्लामाबादले संलग्नता अस्वीकार गर्दै तुरुन्तै भारी गोलाबारीका साथ आक्रमणको जवाफ दिएको थियो ।

पाकिस्तानले पाँच भारतीय लडाकू विमान खसालेको दाबी गरेको छ । नयाँदिल्लीले यसबारे कुनै टिप्पणी गरेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारले यस क्षेत्रको सीमित स्वायत्तता खारेज गरी नयाँदिल्लीबाट प्रत्यक्ष शासनमा लिएपछि सन् २०१९ देखि आतंकवादीहरूले काश्मीरमा कारबाही बढाएका छन् ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि विभाजित मुस्लिम बहुल काश्मीरलाई लिएर धेरै युद्धहरू लडेका दुवै देशले काश्मीरलाई पूर्ण रूपमा दाबी गरेका छन् ।

सगरमाथा संवाद : जलवायु न्यायका लागि पैरवी गर्ने अन्तर्राष्ट्रिय मञ्च

-डा. महेश्वर ढकाल

 नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म प्रतिक्षित सगरमाथा संवाद गर्दैछ । यो कार्यक्रम २०७६ सालमै गर्ने भनेर सुरु गरेको कार्यक्रम हो । कोभिड–१९ का कारण उक्त समयमा अन्तिम समयमा आएर स्थगित गर्नुपरेको थियो । नेपालको इतिहासमा हालसम्म धेरै प्रकारका ठूला कार्यक्रम भएका छन् । तर यसपटक सगरमाथा संवाद भने अलि छुट्टै तरिकाले गर्नुपर्छ भन्ने आशयले गर्न लागिएको छ ।नेपाल पर्वतीयमुलुक भएको र धार्मिक तथा प्राकृतिक रुपमा सम्पन्न मुलुक हो । यी लगायत विषयमा नेपालको पहिचान विश्वभरी फैलिएको छ । जलवायुका क्षेत्रमा हामीले जे जति धेरै कामहरु गरियो, ती राम्रा कामहरुलाई जुन दायरामा उजागर गर्नुपर्ने हो, त्यसरी भएको छैन् । त्यसमा कहीँ कतै कमिकमजोरी हुनसक्छ । यो कुराको हामीलाई अनुभूति भएको छ । अर्र्कोतिर जलवायु परिवर्तनको हिसाबले हामी बढी जोखिममा रहेको कुरा सबैले भोगेको यथार्थ नै हो ।नेपाल सगरमाथाको देश, वुद्ध जन्मेको देश, पवित्र र धार्मिकस्थल भएको देश हो । नेपालले आफ्नो इतिहासमा कहीँकतै आफ्नो स्वभिमान गुमाएको छैन् । यी कुराहरु हामीले अन्तरराष्ट्रिय समुदायलाई भन्न सकियो कि सकिएन भन्ने कुरा पनि हो । मुख्यगरी राजनीतिक अस्थिरता र त्यसपछिको शान्ति र स्थायित्वसँगै नेपाल स्थिरतातर्फ जाँदैछ भन्ने सन्देश दिनु मुख्य कुरा हो भनी यो संवाद गर्न लागिएको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पार्नुभएको छ ।

यसमा सबै विषयगत क्षेत्रका राजनेता, अध्येयता र अनुसन्धानकर्ता, निजी क्षेत्र र नीति निर्मातालगायत सबै तह र तप्काका मानिसहरुलाई एक ठाउँमा बोलाएर जलवायुका विषयवस्तु बारेमा छलफल हुनेछ । यसले समाजको बुझाइलाई फराकिलो बनाउँदै आउँदा दिनबाट त्यसको भविष्य निर्माण गर्नको लागि सबैलाई सजिलो होस् भनेर यसलाई बहुआयामिक फोरमको रुपमा विकास गर्न खोजिएको हो । अहिलेको नीति अनुसार दुई/दुई वर्षमा आयोजना गर्ने भनिएको छ । यसपटक हुन लागेको पहिलो संस्करण भने ‘जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको प्रभावका विषयसँग सम्बन्धित रहेको छ । यसले मानवतामाथि भविष्यमा आउन सक्ने सङ्कटको बारेमा बढी जोड दिनेछ, विचार विर्मश हुनेछ ।समुदायमा पनि सबैभन्दा चर्चाको विषय भएको, हामी संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा लिएर बस्ने तर त्यसको संरक्षणमा उचित ध्यान जान नसकेको देखिन्छ । हिमताल बन्ने र फुट्ने, तल्लोतटीय क्षेत्रमा आउने बाढीपहिरो, डुबान र त्यसले पारेको धनजनको क्षति र त्योसँग जुध्नको निम्ति सरकारले अहिलेसम्म गरेको लगावलाई उजागर गरिनेछ ।

जलवायुका सम्बन्धमा हामीले गर्नसक्ने कति हो, हामीले गर्न नसक्ने क्षेत्र कुन–कुन हो भनेर पहिचान गरिनेछ । मुख्यगरी संवादका चारवटा उद्देश्य रहेका छन् । एउटा भनेको जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेका असरहरुको विषयमा सबैको साझा धारणा बनाउने हो । त्यो भनेको के हो भने हिमालहरु जति भिराला छन्, त्यति नै जलवायुको उच्च जोखिममा छन् । किनभने भिरालो जमिनमा भएका हिमतालहरु हिउँ पग्लिदा फ्ट्न सक्ने सम्भावना बढी हुन्छ । त्यो विज्ञानले प्रमाणित गरेको विषय पनि हो ।भिराला हिमालहरुमा हिँउ छिटो पग्लियो भने बाढीपहिरो र डुबानको समस्या बढी हुन्छ । र त्यसमा राज्यले बढी लगानी गर्नुपर्ने हुन्छ । अहिले जलवायु परिवर्तनको जोखिम यसरी अगाडि आएको छ कि जुन जोखिमसँग जुध्नको लागि राज्यका सम्पूर्ण स्रोत र साधन लगाउँदा नेपाल सरकारले नेपाली जनताको जीविकोपार्जनमा अथवा उनीहरुको समृद्धिमा लगाउनुपर्ने बजेट पनि जलवायु परिवर्तनका जोखिमसँग जुध्नको निम्ति लगाउनुपर्ने हुन्छ । यसले गर्दा अहिले हामी समृद्ध हुन सकिरहेका छैनौँ । विकासमा लगाउनुपर्ने बजेट, नयाँ नयाँ ‘इनोभेसन’मा सोच्नुपर्ने समय विपद र उद्धारमा लगाउनुपर्ने बाध्यता छ । यसका साथै जलवायुका असरसँग जुध्नसक्ने क्षमता पनि बढाउनुपर्छ । सगरमाथा संवादमा जलवायु परिवर्तनका जोखिम न्यूनीकरण गर्नका लागि पनि पहल हुनेछ ।

यसका साथै, जलवायु परिवर्तनबारे समाजका सबै तह र तप्कामा साझा धारणा बनाउन पनि यो संवाद फलदायी हुने अपेक्षा गरेका छौँ । सरकारका साथै निजी क्षेत्र, सरकारी, आमसञ्चार माध्यम, नागरिक समाजमा साझा धारणा बनाउनु आवशयक छ । दोस्रो विषय भनेको जलवायु परिवर्तनको पैरवी हो । अथवा जलवायु न्याय हो । जलवायु न्यायका बारेमा आफ्नो हक अधिकार स्थापित गर्नु पनि संवादको अर्को उद्देश्य हो । हामी अहिले पनि प्राकृतिक स्रोत र साधन संरक्षण गर्नमा केन्द्रित छौँ । यसका बाबजुद एकातिर प्राकृतिक स्रोत र साधनबाट प्रर्याप्त लाभ लिन सकेका छैनौँ, अर्कोतिर जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका छौँ । अथवा अर्को शब्दमा भन्ने हो भने न्यून कार्बन उत्सर्जन गरेर अति संवेदनशील अथवा उच्च जोखिममा रहेका देश र जनतामा नेपाल पर्दछ । हामीले प्रकृति संरक्षण गर्न ठूलो योगदान गर्यौं । तर जलवायु परिवर्तन हुनमा हाम्रो योगदान नगण्य छ । हामीले न अरुले गरेको जोखिमबाट उचित क्षतिपूर्ति पायौँ, न हामीले संरक्षण गरेका प्राकृतिक स्रोतको उचित लाभ पायौँ । यो कुरा सगरमाथा संवादको सबैभन्दा महत्वपूर्ण बहस हुनेछ ।

नेपालले ४५ प्रतिशत वन क्षेत्र ओगटेको छ, २३ प्रतिशत संरक्षित क्षेत्र छ । त्यसमा बाघ, भालु जस्ता वन्यजन्तुका साथै प्राकृतिक स्रोतको संरक्षण गरिएको छ । खासगरेर जैविक स्रोतको संरक्षण गरेर हिँउबाट सिर्जित भएका हाम्रा नदीनालाहरु जस्तै पृथ्वीको तापक्रमलाई न्यून राख्नका लागि नेपालको भूमिका छ । प्राकृतिक प्रक्रियालाई निरन्तरता दिनको लागि नेपालले जुन भूमिका खेलेको छ, समग्रमा त्यसको मूल्याङ्कन हुन सकेको छैन् । नेपालले संरक्षण गरिरहेको प्राकृतिक स्रोत÷साधनबारे खासै बह्स पनि भएको छैन । त्यसको भुक्तानीको अवस्थाको बारेमा पनि सोचिएको छैन । त्यसो भएकाले हामीले अहिले ‘इकोसिष्टम’ सेवालाई सम्मान गर, त्यो भन्दा भढी भुक्तानी पनि गर, भनेर भनेका छौँ । हामीले एकातिर जलवायु परिर्तनले पारेको जोखिमको न्याय माग्न खोजिरहेका छौँ ।


अर्कोतिर हामीले योगदानको पनि मूल्याङ्कन गर भन्न खोजिरहेका छौँ । वन, जैविक विविधताको संरक्षण गर्न जुन भूमिका र लगानी नेपालले गरेको छ, लगानी गरेवापत हामीले अन्तरराष्ट्रिय समुदायबाट खासै लाभ लिन सकेका छैनौँ । हामीले संरक्षण गरेको हावा संसारका मानिसहरुले उपभोग गरेका छन् । हामीले संरक्षण गरेको सफा पानी तल्लोतटीय क्षेत्रका देश र समुदायले खानेपानी, कृषिमा, सिँचाइमा र जलविद्युत्मा अथवा अन्य उपयोगमा पर्याप्त मात्रामा उपयोग गरेका छन् । त्यसको पनि हामीले लाभ लिन सकिरहेका छैनौँ । अब हामीले आउँदा दिनहरुमा दुईवटै भनाइलाई सन्तुलनमा मिलाएर लैजानुपर्छ । क्षतिपूर्तिबाफत जलवायु वित्त आयो भने भोलि नेपालको जलवायुको लागि अनुकूलन क्षमता पनि बढ्छ । आर्थिक उपार्जन भयो भने विकास र समृद्धिको बाटाहरु पनि खुल्छन् भनेर हामीले त्यो पाटोमा छलफल गर्न खोजेका छौँ ।

तेस्रो उद्देश्य भनेको, जलवायु परिर्वतन विश्वव्यापी एजेण्डा भएको र त्यसको प्रभाव बहुआयामिक भएकाले नेपाल एक्लैले कही गर्न सक्दैन । यसमा हामी सबैसँग मिलेर जलवायु परिर्तनसँग जुध्नसक्ने क्षमता बनाउनु पनि सगरमाथा संवादको उद्देश्य हो । नेपाल अन्तर्राष्ट्रिय समुदायसँग सधैँ मिलेर काम गर्न चाहन्छ । त्यसकारण यो सगरमाथा संवादको प्रतिफल निकाल्न खोजिरहेका छौँ, त्यसमा पनि हामीले यो कुरा जोड्न खोजिरहेका छौँ । चौँथो उद्देश्य भनेको नेपाल सगरमाथाको देश हो । धेरै हिमालहरु भएको देश हो । हामी जलवायु परिर्तनको उच्च जोखिमका रहेका हुनाले यो एजेण्डालाई भोलि जलवायु परिवर्तन संरचना महासन्धिमा मुख्य एजेण्डाका रुपमा निरन्तरता दिनुपर्छ भन्दै आएका छौँ । हिजोसम्म हाम्रो आवाज व्यक्तिगत मात्रै थियो । तर यो पटक हामीले छलफल नै गरेर नेपालले नेतृत्व गर्यो भने भोलिका दिनमा नेपालले सगरमाथा संवाद आयोजना गरेको थियो भन्ने हन्छ । त्यसकारण हामीले जलवायु परिवर्तनको सवाललाई अन्तरराष्ट्रियकरण गर्न पाउनुपर्छ भनेर सबैलाई बुझ्न, बुझाउन, छलफल गर्न सगरमाथा संवादले एउटा आयात थप्नेछ भन्ने हो । यी चार वटा अपेक्षा वा उद्देश्यहरु हुन् ।

सगरमाथा संवादको हालसम्मको तयारी

सगरमाथा संवादको सुरुमा उद्घाटन सत्र हुनेछ । त्यसमा नेपालले निमन्त्रणा गरेका विभिन्न देशका राजनीतिक तहका उच्च व्यक्तित्वलाई आमन्त्रण गरेका छौँ । यसका साथै विभिन्न देशका परराष्ट्रमन्त्री, वनमन्त्री र अन्य विशिष्ट महानुभावलाई निमन्त्रणा गरेका छौँ । सम्बन्धित राष्ट्रका प्रतिनिधिहरुले आफ्नो राष्ट्रको धारणा राख्नुहुनेछ । त्यसलाई हामीले उच्चस्तरीय सत्र भनेका छौँ । नेपालको तर्फबाट स्वयं प्रधानमन्त्री ज्यूले नै नेतृत्व गर्नुहुनेछ । त्यसपछि हामीले विभिन्न पाँच वटा विषयगत क्षेत्रमा १२ वटा समूहगत छलफल राखेका छौँ । त्यसमध्ये पहिलो विषय भनेको ‘वियोङ माउण्टेन्स लिङ्किङ माउण्टेन टु ओसियन’ भनिएको छ । यसमा हिमालदेखि समुद्रसम्मको सम्बन्धलाई अगाडि पढाउने भन्ने हो । हिमालको मात्रै कुरा गरियो भने सीमित हुन्छ । हामीले माथिल्लो समुदायलाई सहयोग गरेनौँ भने स्वच्छ पानी पाइँदैन भन्ने बुझाउन अपरिहार्य छ ।

अर्को समूहगत सत्रमा ‘कम्युनिटी लेड इनिसियटिभ इन कलाइमेट एक्सन’ विषयमा छलफल हुनेछ । त्यसको लागि हामी कहाँ सामुदायिक वन उदाहरण छ । समुदायले जलवायु अुनकुलनमा खेलेका भूमिकाको असल अभ्यासलाई विश्व समुदायको बीचमा कसरी पुर्याउने भन्ने हो । नेपालले गरेका असल अभ्यास जुन समुदायबाट सिर्जित छन् । ती कुरालाई अन्तर्राष्ट्रिय समुदायसँग भन्ने र अन्तर्राष्ट्रिय समुदायले गरेका त्यस्तै प्रकृतिका काम छन् भने नेपालले पनि सिक्ने हो । अर्को सत्रमा ‘ग्रिन इकोनोमी’मा छलफल हुनेछ । त्यसैगरी जलस्रोतको विषयलाई पनि समेटिएको छ । जलस्रोतमा जलविद्युत्लाई प्रमुख पूर्वाधारको रुपमा हामीले लिएका छौँ । त्योसँग जोडिएको खानेपानी, सिँचाइ, भूमिगत तहमा भएका पानी र त्यसले जलवायु अनुकूलनमा खेलेका भूमिकालाई समग्रमा हेर्नुपर्छ भनिएको छ । अर्को भनेको, प्रकृतिमा आधारित पर्यटन हो । प्रकृति र संस्कृतिमा आधारित पर्यटनलाई नेपालको आर्थिको उपार्जनको क्षेत्रको रुपमा लिइएको छ ।

अर्को समूहगत विषय भनेको जलवायु परिवर्तनको हानी नोक्सानीको विषय हो । सकेसम्म हानी नोक्सानी हुनै नदिने, भयो भने पनि त्यसलाई न्यूनीकरण गर्ने । हरेक प्रयास गर्दा पनि हानी नोक्सानी भयो भने पनि त्यसलाई क्षतिपूर्तिसहित सम्बोधन गर्ने हिसावले छलफल गर्नुपर्छ भनेका छौँ । अर्को विषय भनेको प्राकृतिक विपद्मा कुन क्षेत्र कति संवेदनशील छ, कुन क्षेत्र संवेदनशील छैन भन्ने आधारमा सचेत गर्ने कुरा हो ।


त्यो सूचनाको आधारमा जीविकोपार्जन, खेती प्रणाली, उद्योग व्यवसाय, हरेक मानिसले गर्ने निर्णयहरु जलवायु सूचनाको आधारमा जाने प्रक्रियाको विकास गर्नुपर्छ । त्यसो गरियो भने हामी जलवायु अनुकुलित हुँदै जान्छौँ ।हरेक विषयअनुसार विज्ञहरुको छनोट गरिएको छ । अर्को हामीले छलफल गर्न खोजेको भनेको ‘सिटिजन कम्युनिटी’ हो । जुन दिगो विकास लक्ष्यको ११ नम्बरको लक्ष्यमा केन्द्रित छ । अहिले हाम्रो गाउँमा मान्छेहरु बस्न छोडेका छन् । बसाइसराइ तीब्र बन्दै गएको छ । शहरलाई हामीले सही ढङ्गबाट योजना बनाउन सकेका छैनौँ । आज न गाउँ गाउँ जस्ता रहे, न शहर शहर जस्तो रह्यो । त्यसो हुँदा गाउँलाई गाउँ जस्तो र शहरलाई शहर जस्तो बनाउने हो भने ‘सिटिजन कम्युनिटि’को योजना बनाउनुपर्यो । भोलि आफ्नो थातथलोमा फर्किर जाने वातावरण बनाउनुपर्यो । त्यो जलवायु अनुकूलित हुनुपर्यो ।

अर्को महत्वपूर्ण छलफल भनेको ‘इनकुलुसिभ फ्युचर जेण्डर एण्ड इक्वीटी’ हो । जलवायु परिवर्तनबाट मुख्यगरी बालबालिका जति पीडित छ, त्यति पीडित युवा नहुन सक्छन । तर हाम्रो देशको युवाहरु पनि धेरै पीडित छन । बालबालिका, युवा, महिला, वृद्ध नागरिक र सबै उमेर समूहका नागरिकलाई समेटेर जानुपर्छ । अर्को विज्ञान र प्रविधिको विषय छ । हामीसँग परम्परागत सीप प्रर्याप्त छ । त्यसलाई आधाुनिक बनाउन सकेनौँ । परम्परागत ज्ञानलाई नवीनतम् साँचका साथ आधुनिक बनाउने उपायको खोजी नगर्ने हो भने विदेशी प्रविधिमा हाम्रो लगानी धेरै ठूलो मात्रामा हुन्छ र पूँजी पलायन हुने सम्भावना हुन्छ । त्यसकारण आफ्नो प्रविधिलाई प्रयोग गर्नुप¥यो । अर्काको प्रविधि उच्च तहको छ भने त्यसलाई पनि प्रवद्र्धन गरेर जानुपर्छ । प्रविधिका कारण सहजता ल्याउने कुरा पनि महत्वपूर्ण छ । कार्यदक्षता र कार्य कुशलता प्रविधिको साथ लिएर मात्रै अगाडि बढ्छ । त्यो कुरा जलवायु अनुकूलनसँग जुध्नसक्ने क्षमता भनेको आधुनिक प्रविधिको साथ र सङ्गत नगरिकन जान सकिँदैन ।

अर्को पर्वतीय क्षेत्रको दिगो विकासको लागि हामीले खाद्य सुरक्षा, स्वास्थ्य सुरक्षा, पानीको सुरक्षा र समग्रमा हिमालको सुरक्षाको खोजी गर्ने गरी छलफल हुनेछ । समग्रमा पर्वतीय भनेको सबैभन्दा सुरक्षित हुनुपर्छ भन्ने हो । हिमाल सबैभन्दा प्राकृतिक र पवित्र स्थान हुन् । यी स्थानलाई संरक्षण गर्न सकियो भने मानिसको मानवता जोगिन्छ । यी सबै चीजलाई जोगाउन सकिएन भने मानवता पनि जोगिँदैन । यसलाई ‘फ्युचर हिउमानिटी’ भनेर जोड्न खोजिएको छ । चौँथो र पाँचौँ सत्रमा अन्तर्राष्ट्रिय र क्षेत्रीय साझेदारी भनेर जोड्न खोजेका छौँ । हाम्रो सम्मेलनमा जति पनि अन्तर्राष्ट्रिय प्रतिनिधि आउनुहुन्छ । उहाँहरु सबैको धारणा लिने काम हुन्छ ।

जलवायु परिवर्तनसम्बन्धी स्थानीय समुदायदेखि राज्यको समग्रमा समाजका सबै संरचनाको क्षमता विकास कसरी गर्न सकिन्छ भनेर गोलमेच छलफल हुनेछ । यी सबै छलफल भइसकेपछि सगरमाथा संवाद घोषणापत्र जारी गरिनेछ । जुन घोषणापत्रले जलवायु परिवर्तनको क्षेत्रमा काम र्गा मार्गनिर्देश गर्नेछ । घोषणापत्रले विदेशी निकायलाई पनि जलवायुसम्बन्धी नेपालको प्राथमिकताबारे जानकारी हुनेछ । संवादको निचोडलाई आगामी दिनमा अन्तर्राष्ट्रिय समुदाय समक्ष राख्न पनि सजिलो हुनेछ । यी कार्यक्रमबाहेक हामीले केही कार्यक्रमहरु पनि सञ्चालन गर्न खोजेका छौँ । विभिन्न एक सयभन्दा बढी विदेशी समुदाय र निकायले हाम्रो निमन्त्रणा स्वीकार गरेको अवस्था छ । यसमा उच्च तहको राजनीतिक तहको उच्च नेतृत्वदेखि विभिन्न विज्ञहरु, नीति निर्माताहरु, अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरु पर्नुहुन्छ । समग्रमा ५० देशसम्मको सहभागिता हुन्छ भन्ने अपेक्षा छ ।

(वन तथा वातावरण मन्त्रालयका सहसचिव तथा सगरमाथा संवाद सचिवालयका सदस्यसचिव डा महेश्वर ढकालसँग राससका सुशील दर्नालले गर्नुभएको कुराकानीमा आधारित)

रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनःसुरु गरेको हो । रेसुङ्गा–काठमाडौंका लागि सात हजार ८० रुपैयाँ र काठमाडौंं–रेसुङ्गा सात हजार दुई सय ८० रुपैयाँ भाडादर कायम छ ।

मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए ।

निगमको १८ सिट क्षमताको जहाजले बिहान ६ः१० बजे काठमाडौंबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौंका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ ।

चलचित्र ‘रिमै’ आगामी भदौ २७ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘रिमै’ आगामी भदौ २७ मा प्रदर्शन हुने भएको छ । खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘रिमै’ भदौ २७ मा प्रदर्शन हुने भएको हो ।

प्रदर्शनको मिति सार्वजनिक गरेसँगै निर्माण पक्षले चलचित्रको फस्र्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । सोमबार बुद्ध जयन्तीको अवसर पारेर निर्माणपक्षले तीनवटा पोस्टर सार्वजनिक गरेको हो ।

गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतको अभिनय रहेको छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् ।

लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा विशेष कार्यक्रमको आयोजना

लुम्बिनी । भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्तीको बिशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित बुद्ध पूर्णिमा विशेष समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा कार्यक्रम सुरु भएको छ ।

विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय तथा प्रदेशमन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, कूटनीतिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरुको समेत सहभागिता रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथीमा परेकाले यस दिनलाई बुद्ध जयन्तीको रुपमा नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउने गरिएको छ । कोषले पच्चीस सय ६९औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने जनाएको छ ।

विकास कोषले बुद्धको जीवनीसँग सम्बन्धित लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहमा वैशाख तीन दिनसम्म बुद्धजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

जनताले राजसंस्था चाहेकै छैनन्ः अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवालाई स्वदेशमै रोक्नका लागि सोहीअनुसारको नीति ल्याउन आवश्यक भएको बताएकी छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपेक्षाकृत काम हुन नसक्दा युवामा नैराश्यता उत्पन्न भएको उल्लेख गर्दै उनले अब युवा केन्द्रित नीति जरुरी भएको बताएकी हुन् ।

कैलाली निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री श्रेष्ठसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले महिलाको विषयमा केही कुरा छुटाएको हो कि भन्ने लागेको छ । यद्यपि छिटफुटमा केहीँकतै समावेश भने गरेको छ । त्यसबाहेक युवालाई स्वदेशमै रोक्न पनि उत्तिकै जरुरी रहेकाले त्यसका लागि  पनि प्रभावकारी नीति आवश्यक भएको उनको बुझाइ छ । यसका लागि सरकारले स्पष्ट दृष्टिकोण राख्न जरुरी भएको उनले उल्लेख गरिन् । हामीले सङ्घीय सरकार भन्छौँ । तर त्यसअनुसार काम गर्न सकेका छैनौँ । हामीले गाउँगाउँमा रोजगारी दिन सकेका छैनौँ । गाउँका मानिस जति सहर केन्द्रित भएका छन् वा विदेश गएका छन् । अहिलेको आश्यकता विद्यालयस्तरबाटै सीपमूलक शिक्षा दिनु हो । सरकारले एक गाउँ, एक उद्योग सञ्चालन गर्नुपर्छ । त्यस गरियो भने युवा पलायन पनि हुँदैन र सहर केन्द्रित बसाइँसराइ पनि हुँदैन ।

वास्तवमा जनताले राजसंस्था चाहेको होइन । अहिलेका राजनीतिक पार्टी र सरकारप्रतिको असन्तुष्टि राजसंस्थाको पक्षमा रहेकोजस्तो देखिएको मात्रै हो । सरकारले जनतालाई रोजगारी, सुशासन, स्वास्थ्य सेवा, राम्रो शिक्षा दियो भने सडकमा कोही पनि आउनुपर्दैन । तर राजनीतिक दलहरुले आफूलाई समीक्षा गर्दै देश र जनताको पक्षमा काम नगर्ने हो भने व्यवस्था परिवर्तन हुँदैन भन्न सकिँदैन । सुशासनको निम्ति सरकारले भ्रष्टाचारमा लागेको व्यक्तिलाई ढाकछोप गर्नुहुँदैन । प्रधानमन्त्री, मन्त्रीहरु र कर्मचारीले अब नतिजामुखी, जनतालाई पक्षत्य लाभ हुनेगरी काम गर्नुपर्छ । सरकारले युवालाई आकर्षण गर्ने नीति ल्याउनुपर्छ । बैंकले पनि युवालाई व्यवसाय सञ्चालन गर्न बिना धितो ऋण दिने व्यवस्था गर्नुपर्छ । त्यसको लागि सरकारले पहल गर्न आवश्यक छ ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यको हरेक निकायमा हुने नियुक्तिमा पारदर्शीता हुनुपर्छ । निष्पक्ष र जनमुखि नियुक्ति हुनुपर्ने हो, तर भएको पाउन सकेका छैनौँ । संवैधानिक निकायको नियुक्तिमा पनि पारदर्शीता हुनुपर्छ । हाम्रोमा सङ्घीय, प्रदेश र स्थानीय सरकार गरी तीन तहको सरकार छ ।
तर सङ्घीयता अझै पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सङ्घले प्रदेशलाई दिनुपर्ने अधिकार दिएको छैन । प्रदेश सरकारलाई आवश्यक पर्ने शिक्षा ऐन, निजामती ऐन र प्रहरीसम्बन्धी एने ल्याउन ढिला भइरहेको छ । संविधान संशोधन गरेर प्रदेश र स्थानीय तहको अधिकारको सवालमा थप स्पष्ट गर्नुपर्छ । दलित, आदिवासी जनजाति, महिला, मधेसी र थारुलगायत समाजबाट पछाडि पारिएको समुदायको सवालमा समान अधिकारको व्यवस्था गरी व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्छ । यी समुदायको कतिपय अधिकार संविधानमा उल्लेख छ । तर व्यवहारमा कार्यान्वयन छैन । महिला अधिकार र लैङ्गिक समानता पनि हुन जरुरी छ ।

महिलाको सवालमा व्यवस्थापिका–संसदमा सहभागिताको कार्यान्वयन भएको छ । संसद्मा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने संवैधानिक अधिकार कार्यान्वयन भएको छ । तर महिलासँग जोडिएका अन्य अधिकार सुनिश्चित भएको छैन । सबै ठाउँमा महिलाको ५० प्रतिशत सुनिश्चित हुनुपर्छ । यो हरेक राजनीतिक पार्टीभित्र पनि हुनुपर्छ । सरकारमा हुनुपर्छ । न्यायालयमा पनि हुनुपर्छ । महिलालाई आरक्षणमा होइन, समान अधिकार स्थापित गर्नका लागि प्रत्यक्षमा निर्माचन टिकट दिनुपर्छ । स्थानीय तहमा महिलाको सहभागिता छ । तर उपाध्यक्ष, उपमेयर र सदस्यमा छन् । कार्यकारी र निर्णायक पदमा महिला पुग्न नसकेको अवस्था छ । त्यसको अनिवार्य ५० प्रतिशत लागू गर्नुपर्छ ।

सङ्घीयतालाई अझै सुदृढ बनाउन पहिला कुरा प्रदेश र स्थानीय तहको अधिकारको सम्बन्धमा संविधानमा स्पष्ट हुन जरुरी छ । तीन तहको सरकारको साझा अधिकारको सवालमा पनि स्पष्ट हुनुपर्छ । प्रदेश र स्थाीय सरकारलाई कर उठाउने अधिकार दिनुपर्छ । राजस्व बाँडफाँटमा मापदण्ड बनाएर पारदर्शी बनाउनुपर्छ । सङ्घीयतालाई बलियो बनाउन मुख्य कुरा तीन तहको सरकारबीच समन्वय, सहकार्य र सहयोगको आवश्यकता छ ।

संविधान निर्माण भएको लगभग दश वर्ष हुन लागेको छ । तर यो दश वर्षको समीक्षा गर्दा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । संविधानमा उल्लेखित जनताका सामान्य गाँस, बाँस, कपासको समस्या पनि समाधान हुन सकेको छैनजस्तो लाग्छ । संविधानमा उल्लेखित जनताका आधारभूत अधिकार पनि कार्यान्वयन हुन सकेको छैनजस्तो लाग्छ । अहिले पनि कतिपय जनतासँग जमिन छ, तर लालपुर्जा छैन ।

कतिपय जनताको हातमा लालपुर्जा छ, तर जमिन छैन । संविधानमा थारु समुदायका केही सवाललाई सम्बोधन गरिएको छ । तर, जति हुनुपर्ने थियो त्यति भएको छैन । संविधानमा उल्लेख थारु समुदायको अधिकारको व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । नयाँ संविधान संशोधन विषय पनि उठिरहेको छ । त्यतिबेला थारु समुदायको थप अधिकार समावेश गर्नका लागि हाम्रो पार्टीले सक्दो पहल गर्नेछ ।
निर्वाचनको समयमा हाम्रो पार्टीले २०७२ सालको कैलाली घटनाका क्रममा जेल परेका व्यक्तिलाई जेलमुक्त गर्छौं भनेका थियौँ । जुन कुरा पूरा भएको छ । मैले कैलालीबाट निर्वाचनमा भाग लिँदैगर्दा जनतासामु गरेका केही प्रतिबद्धता सकेसम्म पूरा गरेकी छु । कतिपय अझै पूरा हुने क्रममा छन् । मैले चुनावको समयमा गर्छु भनेको बाटो निर्माण, पुल निर्माणको काम पूरा गरेकी छु ।

पछिल्लो समय जनमत पार्टी र हाम्रो नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने भनिएर एकता घोषणा कार्यक्रमको आयोजना गरिएको थियो । त्यो दिन एकता बिथोलियो । जनमत पार्टीका अध्यक्ष पार्टीको कामले अहिले जिल्ला बाहिर हुनुहुन्छ । उहाँ काठमाडौँ आएलगत्तै एकता प्रक्रिया आगाडि बढाउने कुरा भएको छ ।

‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलन हुने

काठमाडौँ । ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलन आगामी जेठ १ गते यहाँ आयोजना हुने भएको छ । जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्था र इञ्जिनियरिङ अध्ययन सस्थानको संयुक्त आयोजनामा हुने सम्मेलनको मुख्य ध्येय सिँचाइ र कृषि क्षेत्रबीचको सहकार्यबाट खाद्य प्रणालीको रूपान्तरणमा पानीको भूमिका पहिचान गरिरहेका छन्। साथै पानी, कृषि उत्पादन र खाद्य सुरक्षालाई जोड्ने नीति तथा अभ्यासमाथि गहन छलफल गर्नु र नेपाल सरकारको कृषि तथा सिँचाइ रणनीति र दिगो विकास लक्ष्य नम्बर १, २, र ६ सँगको समन्वयमा कार्यदिशा तय गर्नुरहेको जल स्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक ई मित्र बरालले जानकारी दिए ।

उनले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल स्रोत तथा सिँचाइ विभाग, जल तथा ऊर्जा आयोग, अनुसन्धान केन्द्र, प्रादेशिक सरकार, अन्तरराष्ट्रिय विकास साझेदार संस्था, निजी क्षेत्र, विज्ञ, किसान, सिँचाइ उपभोक्ता सङ्घका प्रतिनिधि, गैरसरकारी संस्था तथा नागरिक समाजको प्रतिनिधि रहने सो सम्मेलनमा विषयसँग सम्बन्धित कार्यपत्र र विशेष प्रवचन हुने बताए।

उपमहानिर्देशक बरालले भने, “सिँचाइ तथा कृषिको संयुक्त प्रयासवाट खाद्य सुरक्षाको स्थायित्व, दक्षतापूर्वक जलस्रोतको उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्न आवश्यक पर्ने रणनीतिमा सम्मेलनमा छलफल हुनेछ र सम्मेलनबाट निष्केका निचोडलाई कार्यान्वयनमा लैजान्छौँ ।”

नेपालको कृषि क्षेत्र, खाद्य सुरक्षा र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ । कृषि क्षेत्रले जनसङ्ख्याको ठूलो हिस्सालाई रोजगारी दिइरहेको तथा कूल ग्राहस्थ उतपादनमा करिब २५ प्रतिशत योगदान पुर्याएको छ । तर पनि, जलवायु परिवर्तन, पर्याप्त मात्रामा पानीको अभाव तथा उचित व्यवस्थापनमा कमीका कारणले चाहिएको बेला, चाहिएको मात्रामा, सबै सिँचाइ योग्य भूमिमा वर्षौंभरि सिँचाइ सुविधा पु¥याउन सकिएको अवस्था छैन, सोको लागि सिँचाइ प्रणाली व्यवस्थापनमा विषेश जोड दिनुपर्ने आवश्यकता महसुस गरिएको छ ।

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सचिव सरिता दवाडी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा, जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधु भेटवाल, राष्ट्रिय योजना आयोगका सदस्य माधव बेलवासे, जलस्रोत तथा सिँचाइ विभाग महानिर्देशक सञ्जीव बराल, इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट महानिर्देशक डा मार्क स्मिथ र इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका अध्यक्ष मार्को आर्चिएरीले सम्मेलनलाई सम्बोधन गर्ने  उपमहानिर्देशक बरालले जानकारी दिए ।

जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक बासु तिमल्सिनाले सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले ‘कृषिसँगै आर्थिक वृद्धिमा गुमेका अवसरहरूः क्षेत्रगत एकीकरणका लागि विचारका क्षेत्रहरूतथा समायोजन दृष्टिकोण’, इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका अध्यक्ष मार्को आर्चिएरीले ‘कृषि–सिँचाइ एकीकरणका चुनौती र अवसर’, इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट महानिर्देशक डा मार्क स्मिथले ‘अनुसन्धानद्वारा एकीकृत सिँचाइ तथा कृषिमा सुधार’ विषयमा अलग–अलग कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिए ।

सम्मेलनको प्राविधिक सत्रमा खाद्य सुरक्षाका लागि सिँचाइः अभ्यास र चुनौती छलफल हुने छ र यसको सञ्चालन नवीनचन्द्र अधिकारी गर्नुहुने छ भने विज्ञ टीकाराम बराल, डा मनोहरा खड्का, डा विमला पौड्याल, डा रामकृष्ण श्रेष्ठ, सुशील आचार्य, इन्टरनसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका उपाध्यक्ष डा वाई.रेड्डी, नेपालस्थित एशियाली विकास बैँकका देशीय निर्देशक डा अर्नाउड कोउकोइसले भाग लिनेछन्।

यसैगरी कृषि क्षेत्र र सिँचाइबीच सहकार्यका सम्भाव्य बाटोहरूको पहिचान विषयको प्राविधिक सत्रको सञ्चालन डा सन्तोष कैनीले गर्नुहुने उपमहानिर्देशक बरालले जानकारी दिए । सम्मेलनको सोही सत्रअन्तर्गत नै विज्ञ प्रा डा विष्णुप्रसाद पाण्डेले सञ्चालन गर्नुहुने छ भने सञ्जीव बराल, डा शवनम शिवाकोटी, डा गणेशराज शर्मा, डा मोहसिन हफिज, डा अर्नो कौशोईले छलफलमा आफ्नो धारणा राख्ने जनाइएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीका अवसरमा निकालियो शोभा यात्रा

भैरहवा । २५६९औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा शोभा यात्रा निकालिएको छ । बुद्ध जयन्तीका अवसरमा सोमबार बिहानै शोभायात्रा निकालिएको हो ।

शोभायात्रामा नेपालीकासाथै चिनियाँ भिक्षु भिक्षुणीसमेत सहभागी भएका थिए । यसका साथै बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्तिधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइँदैछ ।

बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते हरेक वर्ष आयोजना हुने बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ ।

लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिनेगरी शोभायात्रा गरिने छ ।

राष्ट्रपति पौडेलद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए । बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बौद्ध पुगेका थिए ।

बुद्धजयन्तीका अवसरमा आज बिहानैदेखि बौद्ध क्षेत्रमा अस्तुधातु दर्शन गर्ने भक्तजनको भीड लागेको छ । बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराइएको छ ।

श्री बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठीले बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराउने व्यवस्था मिलाएको हो ।

यस अवसरमा आजै अस्तु दर्शनसहित भगवान् बुद्धको प्राचीन मूर्ति लिएर शोभायात्रा पनि गराइने तयारी भएको छ । ‘मेरो जन्म अरुको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा पनि आजैदेखि आरम्भ गरिने घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले जानकारी दिए ।

भगवान् बुद्धको अस्तुसहित गरिने यो यात्राले बुद्धको असीमित ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पुर्याउने विश्वास गरिएको छ । यसले नेपाललाई विश्वभर चिनाउनेछ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भू, नमो बुद्धलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ ।

पुटिनसँग वार्ता गर्न जेलेन्स्की तयार

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपतिले टर्कीको सहर इस्तानबुलमा वार्ताका लागि गरेको प्रस्तावप्रति टिप्पणी गरेका छन् ।

उनले आफू त्यहाँ रुसी राष्ट्रपतिसँग भेट्न तयार भएको बताएका छन् । रुसी राष्ट्रपति पुटिनले टर्किश सहरमा यही बिहीवार रुस–युक्रेन वार्ता गर्न आह्वान गरेका थिए – तर उनले उक्त वार्तामा आफैँ सहभागी हुने भनेका थिएनन् ।

जेलेन्स्कीको पछिल्लो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई दुई देशबीच टर्कीमा प्रत्यक्ष वार्ताबारे पुटिनको आह्वान स्वीकार्न भनेपछि आएको हो । जेलेन्स्कीले भनेका छन्, ‘ज्यान जाने क्रम लम्ब्याइरहनुको कुनै अर्थ छैन। म बिहीवार (टर्कीमा) पुटिनलाई प्रतीक्षा गर्नेछु ।’

यसअघि पश्चिमा देशहरूले सोमवारदेखि नै लागु हुने गरी ३०–दिने युद्धविराम गर्न आह्वान गरेका थिए। शनिबार किएभमा भेला भएका ‘इच्छुकहरूको गठबन्धन’को अगुवाइ गरिरहेका युरोपेली नेताहरूले उक्त आह्वान गरेका थिए ।

लगत्तै पुटिनले दुई देशबीच प्रत्यक्ष वार्ताको आह्वान गरे । त्यसपछि आइतबार ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै युक्रेनले पुटिनको आह्वानलाई तत्काल स्वीकार्नु पर्ने सुझाव दिए । जेलेन्स्कीले वार्ता अगावै रुसले युद्धविरामबारे सहमति जनाउने आशा व्यक्त गरेका छन् ।

शनिबार राति अबेर सम्बोधन गर्दै पुटिनले युक्रेनलाई युद्धबारे गम्भीर विमर्श गर्न निम्तो दिएका थिए । पुटिनले ३०–दिने युद्धविरामका लागि गरिएको आह्वानको सोझो सम्बोधन त गरेनन् तर उनले त्यस्तो वार्ताबाट रुस र युक्रेनबीच ’नयाँ युद्धविराम’मा सहमति हुने सम्भावना ’नकार्न नसकिने’ बताए ।

अमेरिका र चीनबीच व्यापार सम्झौता

बीबीसी । अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । ह्वाइट हाउसले जेनेभामा यो सम्झौता भएको घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा महत्त्वपूर्ण प्रगति हासिल गरेका बताए ।

अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले भने चीन र अमेरिकाबीच धेरैले सोचेजस्तो धेरै मतभेद नहरेको पुष्टि भएको बताएका छन् ।

उनले भनेका छन्, ‘अमेरिकाले अहिले १२ सय अर्ब डलरको व्यापारघाटा व्यहोरिरहेको छ । सोही कारण राष्ट्रपतिले कर लगाउने घोषणा गर्नुभएको हो ।’

सरकार निजी क्षेत्रसँग काँधमा काँध मिलाएर अघि बढ्न तत्पर छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको अर्थतन्त्रलाई समुन्नत दिशामा लानका निमित्त सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) ले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्रीले निजी क्षेत्रसँग काँधमा काँध मिलाएर मुलुकको अर्थतन्त्रलाई समुन्नत दिशामा लैजान सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘निजी क्षेत्रसँग काँधमा काँध मिलाएर मुलुकको अर्थतन्त्रलाई समुन्नत दिशामा लानका निमित्त प्रतिबद्धता गरेका छौँ । सम्बन्धित कानून र नीतिलाई परिमार्जन गरिराखेका छौँ । शंकारहित रुपमा लगानी अगाडि बढाउनुस्, त्यसका लागि सरकार तपाईको साथमा छ।’

उनले अर्थतन्त्रमा आमूल परिवर्तनका लागि दश महिनाको समय पर्याप्त नभएता पनि यो सरकारको पाइला ठीक ढंगले अगाडि बढेको बताए ।

उनले डिम्यानले आयोजना गरेको डिस्कसन कार्यक्रमले आशातर्फ, उज्यालोतर्फ जाने बाटो देखाएको छ र महत्वपूर्ण काम गरेको भन्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।

सामाजिक सञ्जालमा देखापरेका विकृतिविरुद्ध लड्न डिम्यानलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैप्रति आग्रह पूर्वाग्रह राख्न नहुने बताएका छन् । डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) आइतबार आयोजना गरेको कार्यक्रममा आग्रह र पूर्वाग्रह सत्यको मार्ग नभएको बताएका हुन् ।

उनले हाल सामाजिक सञ्जालमा देखापरेका विकृतिविरुद्ध लड्न डिम्यानलाई आग्रह गरे । उनले भने, ‘स्थापित भनिएका मिडियाहरुमा एउटा भ्रम के परेको छ भने हामी जे भन्छौँ त्यहीनै सत्य हो, हामीले बङ्याए पनि यो सिधा हो भनेपछि त्यही सिधा हो, यस कुरालाई डिम्यानको संकल्पले तोड्नेछ भन्ने विश्वास लिएको छु ।’

श्रीलंकालाई पराजित गर्दै नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार साँझ भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा भएको खेलमा श्रीलंकालाई ५–० गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले एक एक गोल गरे । नेपालले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि धवेन्द्रले गोल गरेका थिए । खेलको ६१ औं मिनेटमा सुवास बमले गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यस्तै ७७ मिनेटमा सुवासले गोल गरे । त्यस्तै ९० र्औ मिनेटमा बिज्ञान र इन्जुरी समयमा लछुले गोल गरे । यसअघि भारतले श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

समुह बीमा गोल अन्तरका आधारमा भारत पहिलो र नेपाल दोस्रो स्थानमा छन् । अब मंगलबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुने ।

गभर्नर सिफारिस समितिबाट पौडेलले दिए राजीनामा

काठमाडौं । गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएका छन् । समितिका सदस्य पौडेललाई नेपाली कांग्रेसले गभर्नरको रुपमा अगाडि बढाउने भएपछि उनले सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।

आइतबार समितिका संयोजक समेत रहेको अर्थमन्त्री विष्णु पौडेलसमक्ष उनले राजीनामा बुझाएका हुन् । यसअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आगामी गभर्नरको रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई अघि बढाउने सहमति भएको थियो ।

भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएपनि कायम मुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले स्वीकृत नगरेपछि कांग्रेसले गभर्नरको लागि नयाँ विकल्पको रुपमा पौडेलको नाम अघि सारेको हो ।

संविधानलाई परिवर्तन नभई परिमार्जनको दस्ताबेजका रूपमा लिनुपर्छः प्रचण्ड

धरान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार किरात र लिम्बूवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले संविधानलाई परिवर्तन नभई परिमार्जनको दस्ताबेजका रूपमा लिनुपर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले संविधान जनताको चाहना र आवश्यकताअनुसार समयसापेक्ष संशोधन गर्नु आजको आवश्यकता रहेको बताए ।

संविधान निर्माणदेखि सङ्घीय संरचनाको आधार तयार पार्न माओवादीको भूमिकाले वर्गीय र जातीय उत्पीडन अन्त्यका लागि निर्णायक मोड दिएको उनले दाबी गरे ।

‘समावेशिता, प्रतिनिधित्व र समानताको सवालमा हाम्रो पार्टीले विगतदेखि हालसम्म खेलेको भूमिका सबैलाई जानकारी नै छ । अब त्यसमा जहाँ कमजोरीहरू छन्, त्यहाँ संशोधन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ’, उनले भने,’हामीले वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय विभेद अन्त्यका लागि सङ्घर्ष मात्र नभएर त्यसलाई संस्थागत गर्दै शान्तिपूर्ण राजनीतिको धारामा रूपान्तरण गर्न निरन्तर भूमिका खेलिरहेका छौँ ।’

उनले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण गर्न, आर्थिक विकास र समृद्धिका लागि जनताले कृषिलगायत क्षेत्रमा भोग्दै आएका समस्या समाधानको सङ्कल्पसहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यस्तो छ देशको पछिल्लो आर्थिक अवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक गरेको हो । बैंककाअनुसार चैत महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रहेको रेमिट्यान्स चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको हो । यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो । वृद्धिदर भने अघिल्लो वर्षको भन्दा कम हो ।

गत वर्ष रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०० प्रतिशतले र अमेरिकी डलरमा ७३ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ३४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको छ ।

बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल गर्ने प्रस्ताव पेश गरेका हुन् । उनले संसदले पारित गरेको नीति तथा कार्यक्रम अनुरुपको बजेट आउने बताए ।

नीति तथा कार्यक्रमअनुसरा मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयन गर्नेगरी विनियोजन विधेयक आउने उनले बताए ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा संविधानले व्यवस्था गरेको मौलिक हक र निर्देशक सिद्धान्तको कार्यान्वयनमा उच्च महत्व दिइने उल्लेख छ । लोककल्याणकारी राज्यको अवधारणा अनुरूप समावेशी विकास र सामाजिक न्याय कायम गर्दै विकासको लाभमा आम नागरिकको पहुँच सुनिश्चित गर्नेमा विनियोजना विधेयक केन्द्रित हुने बताए ।

‘दिगो र तीब्र गतिको विकासका लागि आवश्यक कार्यक्रम तर्जुमा गरिनेछ। सवल अर्थतन्त्र निर्माण गर्न उत्पादनमुखी विकासको ढाँचा अवलम्वन गरिनेछ,’विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा भनिएको छ, ‘उद्यमशीलता र उत्पादकत्व अभिवृद्धि गर्न नवीनतम् प्रविधिको प्रयोगलाई प्रवद्र्धन गरिनेछ। आर्थिक सम्भाव्यताका उदीयमान क्षेत्रलाई प्रोत्साहन गरिनेछ।’

निजीक्षेत्रमैत्री, प्रतिस्पर्धी र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा जोड दिदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा अनुरूप समाजवादउन्मुख अर्थतन्त्रको आधारशीला तयार गर्नेमा बजेट केन्द्रित हुने उल्लेख छ ।

त्यस्तै सन्तुलित र समावेशी विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तह तथा सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रबीचको समन्वय र सहकार्यलाई सुदृढ बनाउने विनियोजन विधेककका प्राथमिकता र सिद्धान्तमा उल्ल्लेख छ । संविधानमा उल्लिखित सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको सूचीलाई बजेट निर्माणको मुख्य आधार बनाउनेल उल्लेख छ ।

‘सार्वजनिक वित्तका क्षेत्रमा विगतदेखि झाङ्गिदै आएका विकृति तथा विसङ्गतिको अन्त्य गर्दै पूर्व तयारी र लगानी ढाँचा तय भएका आयोजनामा पुँजीगत विनियोजन केन्द्रित गरिनेछ,’ विनियोजना विधेयकको सिद्धान्त र प्राथमिकतामा भनिएको छ, ‘राष्ट्रिय प्राथमिकताका उच्च प्रतिफल हासिल हुने आयोजनामा सार्वजनिक ऋणको उपयोग र दिगोपना सुनिश्चित गरिनेछ। सार्वजनिक वित्त सन्तुलन कायम गर्न राजस्व परिचालनलाई प्रभावकारी बनाइनेछ। ’

अर्थमन्त्री पौडेलले संसदमा पेस गर्नुभएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको पूर्णपाठः

प्रतिनिधिसभाका सम्माननीय सभामुख महोदय,
राष्ट्रियसभाका सम्माननीय अध्यक्ष महोदय,

१. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न यस गरिमामय बैठकमा उपस्थित भएको छु ।

२. नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षबाट राजतन्त्रको अन्त्य भए पश्चात संविधानसभाबाट नेपालको संविधान जारी भएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको पनि एक दशक बितेको छ। यस अवधिमा आर्थिक सामाजिक रूपान्तरण र सामाजिक न्यायको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् । सीमित स्रोत साधनको परिचालनबाट विकास, सेवा प्रवाह र जनताको जीवनस्तरमा उल्लेखनीय सुधार भएको छ । अहिले पनि मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउँदै नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशीलता र विकासमा तीब्रता हासिल गर्ने अभिभारा हाम्रो काँधमा छ ।

३. यस परिस्थितिमा विकासको ढाँचा, गति र संस्कृति बदल्न; राष्ट्रिय आवश्यकता अनुरूपको आर्थिक सुधार गर्न; उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासमा तीब्रता दिन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको आधार तयार गर्न सम्पूर्ण स्रोत, साधन र सामथ्र्य परिचालन गर्नु जरुरी छ ।

सम्माननीय सभामुख महोदय,
सम्माननीय अध्यक्ष महोदय,

नेपालको संविधान र यस सम्मानित सदनबाट पारित भएको नेपाल सरकारको नीति तथा कार्यक्रमको मार्गदर्शनमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयक प्रस्तुत गर्दा देहायका सिद्धान्तलाई आधार बनाउन आवश्यक ठानेको छु ।

४. मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयनः
नेपालको संविधानले व्यवस्था गरेको मौलिक हक र निर्देशक सिद्धान्तको कार्यान्वयनमा उच्च महत्व दिइनेछ । लोककल्याणकारी राज्यको अवधारणा अनुरूप समावेशी विकास र सामाजिक न्याय कायम गरिनेछ । विकासको लाभमा आम नागरिकको पहुँच सुनिश्चित गरिनेछ ।

५. समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न सुदृढ अर्थतन्त्रको निर्माणः
दिगो र तीब्र गतिको विकासका लागि आवश्यक कार्यक्रम तर्जुमा गरिनेछ। सवल अर्थतन्त्र निर्माण गर्न उत्पादनमुखी विकासको ढाँचा अवलम्वन गरिनेछ । उद्यमशीलता र उत्पादकत्व अभिवृद्धि गर्न नवीनतम् प्रविधिको प्रयोगलाई प्रवर्द्धन गरिनेछ। आर्थिक सम्भाव्यताका उदीयमान क्षेत्रलाई प्रोत्साहन गरिनेछ । निजीक्षेत्रमैत्री, प्रतिस्पर्धी र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा जोड दिइनेछ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अनुरूप समाजवादउन्मुख अर्थतन्त्रको आधारशीला तयार गरिनेछ ।

६. विकासमा समन्वय र सहकार्यः
सन्तुलित र समावेशी विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तह तथा सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रबीचको समन्वय र सहकार्यलाई सुदृढ बनाइनेछ। संविधानमा उल्लिखित सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको सूचीलाई बजेट निर्माणको मुख्य आधार बनाइनेछ।

७. सार्वजनिक वित्त सन्तुलन र बजेट अनुशासनः
सार्वजनिक वित्तका क्षेत्रमा विगतदेखि झाङ्गिदै आएका विकृति तथा विसङ्गतिको अन्त्य गर्दै पूर्व तयारी र लगानी ढाँचा तय भएका आयोजनामा पुँजीगत विनियोजन केन्द्रित गरिनेछ । राष्ट्रिय प्राथमिकताका उच्च प्रतिफल हासिल हुने आयोजनामा सार्वजनिक ऋणको उपयोग र दिगोपना सुनिश्चित गरिनेछ । सार्वजनिक वित्त सन्तुलन कायम गर्न राजस्व परिचालनलाई प्रभावकारी बनाइनेछ ।

८. व्यवसायमैत्री वातावरणको सिर्जना र निजी क्षेत्रको लगानी प्रवर्द्धन:
निजीक्षेत्रको समग्र विकासको लागि कानूनी, संस्थागत र प्रक्रियागत सुधारलाई निरन्तरता दिइनेछ । लगानीमैत्री व्यावसायिक वातावरण सिर्जना गर्न एकद्वार सेवा प्रणालीलाई प्रभावकारी बनाइनेछ। जग्गाको हदबन्दी, वनक्षेत्रको प्रयोग, कर सहुलियत र नाफा फिर्ता प्रक्रियामा देखिएका कठिनाई र बेमेलको निराकरण गरिनेछ ।

९. सामाजिक सुरक्षाको प्रत्याभूतिः
सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई आर्थिक र सामाजिक विपन्नताका आधारमा लक्षित वर्ग केन्द्रित र समन्यायिक बनाइनेछ । यस्ता कार्यक्रमहरूमा लाभग्राहीको समेत योगदान हुने व्यवस्था मिलाइनेछ । यी कार्यक्रमहरूलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी दोहोरोपना हटाइनेछ ।

१०. नागरिकमैत्री सेवा प्रवाह र सुशासनः
सार्वजनिक सेवा प्रवाहमा नागरिकको सहज पहुँचको लागि सूचना प्रविधिको प्रयोग विस्तार गरिनेछ । राष्ट्रिय परिचयपत्र प्रणाली र नागरिक एपको माध्यमबाट सबै प्रकारका सार्वजनिक सेवा प्रवाहबीच अन्तर आवद्धता बढाइनेछ । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गरिनेछ । राष्ट्रसेवकको मनोबल उच्च बनाइनेछ । सार्वजनिक संस्थाप्रति नागरिकको विश्वास अभिवृद्धि गरिनेछ ।

सम्माननीय सभामुख महोदय,
सम्माननीय अध्यक्ष महोदय,
आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रस्तुत गर्दा देहाय बमोजिमका क्षेत्रगत प्राथमिकता तय गर्न आवश्यक ठानेको छु ।

११. रोजगारी सिर्जना, स्वरोजगार प्रवर्द्धन र गरिवी निवारणः
बजारको माग अनुरूप सीपयुक्त र दक्ष जनशक्ति विकास गरी रोजगारीमा आवद्ध गरिनेछ। स्वरोजगार प्रवर्द्धन गर्न युवा लक्षित उद्यमशीलता विकास र आधुनिक प्रविधिको प्रयोगमा जोड दिइनेछ । वैदेशिक रोजगारी माथिको निर्भरता घटाउँदै स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनेछ । विदेशमा काम गरी फर्केका युवाको सीप, पुँजी र प्रविधिलाई देश विकासमा उपयोग गर्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिनेछ। गरिबीको रेखामुनिका नेपालीलाई यस दुश्चक्रबाट बाहिर निकाल्न ठोस र प्रभावकारी कार्यक्रम कार्यान्वयन गरिनेछ ।

१२. आर्थिक सुधारः
मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन कानूनी, संस्थागत र प्रक्रियागत सुधार गरिनेछ । आर्थिक क्षेत्रका नियामकीय निकायको भूमिकालाई सुदृढ बनाइनेछ । निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न थप अनुकूलता सिर्जना गरिनेछ । मुलुकलाई सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्दै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक तयारी गरिनेछ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझावहरू क्रमशः कार्यान्वयन गरिनेछ ।

१३. कृषि क्षेत्रको व्यवसायीकरणः
कृषि क्षेत्रलाई यान्त्रिकीकरण र व्यावसायीकरण गरी उत्पादन र उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । कृषि क्षेत्रको इकोसिष्टम प्रभावकारी बनाइनेछ । कृषि फार्ममार्फत् व्यावसायिक खेती प्रवर्द्धन गर्न विशेष प्रोत्साहन गरिनेछ । सामुहिक तथा करार खेती प्रणालीलाई सहजीकरण गर्दै युवालाई कृषिमा आकर्षित गर्न नीतिगत व्यवस्था मिलाइनेछ । कृषिमा प्रदान गरिँदै आएका सबै प्रकारका अनुदानको पुनरावलोकन गरी उत्पादनमा आधारित बनाइनेछ । प्राङ्गारिक तथा रैथाने खेतीलाई प्रोत्साहित गरिनेछ। कृषि उपजको थोक बजार विकास, सुरक्षित भण्डारण र विषादी परिक्षण गरी स्वस्थकर उत्पादनमात्र बजारमा बिक्री वितरण हुने व्यवस्था मिलाइनेछ। उच्च मूल्यका नगदे बाली उत्पादन गर्न प्रोत्साहन गरिनेछ । सिँचाई आयोजनाको निर्माण र परम्परागत सिँचाई प्रणालीको पुनस्र्थापना गरी सिञ्चित क्षेत्र विस्तार गरिनेछ। रासायनिक मलको सहज आपूर्ति व्यवस्थाका साथै प्राङ्गारिक मलको उत्पादनलाई प्रोत्साहित गरिनेछ । गुणस्तरीय बिउ तथा प्राविधिक सेवा उपलव्ध हुने व्यवस्था मिलाइनेछ। आधुनिक र प्रविधिमा आधारित खेती प्रणाली अवलम्बन गर्न प्रोत्साहित गरिनेछ। व्यावसायिक खेतीका लागि वित्तीय पहुँचमा सहजता ल्याइनेछ। पशुपन्छीजन्य उत्पादन वृद्धिका लागि नश्ल सुधार र बजार व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिनेछ ।

१४. विद्युत उत्पादन, प्रशारण र विश्वसनीय वितरणः
सुक्खायामको ऊर्जा माग पुरा गर्न जलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकता दिइनेछ। जलविद्युत उत्पादन र प्रशारण आयोजनामा निजी पुँजी परिचालन गर्न प्रोत्साहित गरिनेछ। आन्तरिक र अन्तरदेशीय प्रशारण लाईन निर्माण गर्न प्राथमिकता दिइनेछ । ऊर्जा मिश्रणको अवधारणा अनुरूप सौर्य ऊर्जा विकासलाई प्रोत्साहित गरिनेछ । विद्युत वितरण प्रणालीलाई आधुनिकीकरण गरी विश्वसनीय बनाइनेछ । उत्पादित विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा बचत हुने विद्युत निर्यात गर्न सहजीकरण गरिनेछ ।

१५. पर्यटन तथा हवाई पूर्वाधारको विकासः
राष्ट्रिय आयमा पर्यटन क्षेत्रको योगदान बढाउन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । धार्मिक–सांस्कृतिक, साहसिक, खेल र पर्या–पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ । पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण गरिनेछ। पर्यटन विकासका लागि वन तथा निकुञ्ज क्षेत्रको उपयोग गर्न कानूनी प्रबन्ध गरिनेछ । गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्न र बसाई अवधि लम्ब्याउन जोड दिइनेछ । निर्माण सम्पन्न भएका विमानस्थलहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनेछ । हवाई सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाइनेछ ।

१६. औद्योगिक क्षेत्रको विकास र निकासी प्रवर्द्धन:
स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा जोड दिइनेछ । स्टार्ट–अप व्यवसायलाई प्रवर्द्धन गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनेछ । स्वदेशी उत्पादनको उपभोगलाई प्रवर्द्धन गरिनेछ । उद्यमशीलता विकास गर्न सीप विकास र व्यवसाय इन्कुवेशनका कार्यक्रम सञ्चालन गरिनेछ। व्यापार सहजीकरण, सहज आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षणमा जोड दिइनेछ । निकासी सम्भावना भएका तुलनात्मक लाभका वस्तु उत्पादन गर्न प्रोत्साहन गरिनेछ। औद्योगिक पूर्वाधार विकासमा लगानी वृद्धि गरी व्यावसायिक लागतमा कमी ल्याइनेछ ।

१७. डिजिटल पूर्वाधार र डिजिटल अर्थतन्त्रको निर्माणः
डिजिटल नेपालको लक्ष्य हासिल गर्न कानूनी सुधार तथा पूर्वाधार विकास गरिनेछ। सूचना प्रविधिमा निजी क्षेत्रको लगानी आकर्षित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनेछ। निर्यातको उच्च सम्भावना भएका सूचना प्रविधि क्षेत्रका उद्योगलाई थप प्रोत्साहित गरिनेछ। सूचना प्रविधिको माध्यमबाट नागरिकलाई प्रदान गरिने सेवालाई सरल, मितव्ययी र सेवाग्राहीमैत्री बनाइनेछ । सूचना प्रविधिको उपयोगलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाइनेछ ।

१८. गुणस्तरीय र जीवनोपयोगी शिक्षाः
विद्यालय शिक्षालाई सर्वसुलभ र सबै तहको शिक्षालाई जीवनोपयोगी तुल्याइनेछ । शैक्षिक नतिजा सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । शिक्षाको गुणस्तर वृद्धि र विद्यालय शिक्षाको व्यवस्थापन सुधार गर्न स्थानीय तहसँग सहकार्य गरिनेछ । विश्वविद्यालयको समग्र सुधार गरी अनुसन्धानमूलक बनाइनेछ । नैतिकवान, प्रतिस्पर्धी र सक्षम जनशक्ति उत्पादनलाई प्राथमिकता दिइनेछ । विश्वविद्यालय तथा विद्यालय शिक्षाको शैक्षिक क्यालेण्डरमा सामञ्जस्यता ल्याइनेछ । शैक्षिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ। विज्ञान, प्रविधि र नवप्रर्वतनमा जोड दिइनेछ ।

१९. गुणस्तरीय स्वास्थ्य सेवाः
आधारभूत स्वास्थ्य सेवा, महामारी नियन्त्रण र नसर्ने रोग नियन्त्रणका कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र सुदृढ बनाइनेछ । सङ्घीय अस्पतालको विशिष्टिकृत सेवा विस्तार गरिनेछ । स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गरिनेछ । निरोधात्मक स्वास्थ्य विधिको प्रवर्द्धन गरिनेछ । निर्माण सम्पन्न भएका आधारभूत अस्पतालहरू स्थानीय तहको व्यवस्थापनमा सञ्चालन गरिनेछ । स्वास्थ्य बीमालाई पुनर्संरचना गरी व्यवस्थित बनाइनेछ । स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालनमा एकरूपता ल्याइनेछ ।

२०. मानव पुँजी निर्माणः
सबै नागरिकलाई उद्यमशील, उत्पादक र सक्षम बनाउन जोड दिइनेछ। मुलुकमा उपलब्ध जनसाङ्ख्यिक लाभलाई उच्चतम उपयोग गरिनेछ । उत्पादन र उत्पादकत्व वृद्धिका लागि आवश्यक ज्ञान, सीप र प्रविधियुक्त दक्ष जनशक्ति विकास गर्न ठोस कार्यक्रम तर्जुमा गरिनेछ ।

२१. युवा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकः
युवाको सर्वाङ्गिण विकास गरी देशको समृद्धिमा योगदान बढाउन प्रभावकारी कार्यक्रम सञ्चालन गरिनेछ । आर्थिक क्रियाकलापमा महिलाको सार्थक सहभागिता सुनिश्चित गर्न वित्तीय पहुँच र उद्यमशीलताको विकासमा जोड दिइनेछ । नेपाललाई सहयोगापेक्षी सडकमानवमुक्त बनाइनेछ। बाल सुधार गृहलाई व्यवस्थित गरिनेछ। लैङ्गिक हिंसा तथा मानव बेचबिखन र ओसारपसार नियन्त्रण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । अपाङ्गता भएका व्यक्तिको हित संरक्षणको लागि परिचयपत्र वितरण र राज्यबाट प्रदान गरिने सुविधालाई व्यवस्थित गरिनेछ । ज्येष्ठ नागरिकको सम्मान तथा संरक्षण गरिनेछ । खेलकुद पूर्वाधार विकास गरिनेछ । खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रोत्साहन गरिनेछ ।

२२. भौतिक पूर्वाधार तथा आवास विकासः
निर्माणाधीन राष्ट्रिय गौरवका तथा ठूला पूर्वाधार आयोजना सम्पन्न गर्न प्राथमिकता दिइनेछ । आयोजना बैङ्कमा समावेश भएका, प्रतिफलयुक्त र पूर्व तयारी सम्पन्न भएका आयोजनामा प्राथमिकता दिई विनियोजन गरिनेछ । राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक सहायता परिचालन गरिनेछ । निर्धारित समय, लागत र गुणस्तर अनुरूप आयोजना सम्पन्न गर्न रेडिनेस फिल्टर लागु गरिनेछ । आयोजनाका लागि वन क्षेत्रको प्रयोग र जग्गा प्राप्ति लगायतका विषयमा सहजीकरण गरिनेछ । सार्वजनिक यातायात सेवालाई सुरक्षित, सहज र वातावरणमैत्री तुल्याइनेछ । दिगो शहरी पूर्वाधार विकासमा जोड दिइनेछ। नयाँ शहर र एकीकृत शहरी पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ। भवन संहितालाई अद्यावधिक गरी कार्यान्वयन गरिनेछ । व्यवस्थित आवास विकास आयोजना सञ्चालन गरिनेछ ।

२३. खानेपानी तथा सरसफाईः
गुणस्तरीय खानेपानी सुविधा सुनिश्चित गर्न सेवा प्रदायकको संस्थागत क्षमता विकासमा जोड दिइनेछ । खानेपानी वितरणसँग सम्बन्धित निकायहरूको पुनर्संरचना गरिनेछ। फोहरमैला व्यवस्थापनमा नवीन प्रविधिको उपयोग गरिनेछ ।
२४. भूमि व्यवस्थाः
भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या स्थायीरूपमा समाधान गरिनेछ । राज्य सुविधा परिचयपत्रलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्ध गरिनेछ। भू–उपयोग योजना कार्यान्वयन गरिनेछ । भूमि सम्बन्धी डिजिटल अभिलेख व्यवस्थित गरिनेछ। भूमि प्रशासनलाई स्वच्छ र सेवाग्राहीमैत्री बनाइनेछ ।

२५. जलवायु परिवर्तन र विपद् व्यवस्थापनः
जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछ। अन्तर्राष्ट्रिय जलवायु कोषमा वित्तीय पहुँच वृद्धि गर्न पहल गरिनेछ। कार्वन व्यापारलाई व्यवस्थित गरी अधिकतम लाभ प्राप्त गर्न जोड दिइनेछ । विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सबै तह र क्षेत्रबीच सहकार्य गर्ने प्रबन्ध मिलाइनेछ । सुरक्षित, गुणस्तरीय र वातावरणमैत्री भौतिक संरचना निर्माणमा जोड दिइनेछ । भूकम्प तथा बाढीजन्य विपद्का कारण क्षतिग्रस्त निजी आवास र सार्वजनिक संरचनाको पुनर्निर्माण गरिनेछ । सगरमाथा सम्वादको निचोडलाई क्रमिकरूपमा कार्यान्वयनमा लगिनेछ ।

२६. सामाजिक न्याय र समावेशी विकासः
समावेशी विकासको अवधारणा अनुरूप महिला, आदिवासी जनजाति, मधेशी, दलित, थारू, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्तिलगायत पछाडि परेका वर्ग र समुदायको उत्थान र सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिनेछ । सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास, छुवाछुत र असमानता हटाउन प्रभावकारी कार्यक्रम कार्यान्वयन गरिनेछ । आधारभूत सामाजिक सेवामा सबैको पहुँच सुनिश्चित गरिनेछ ।

२७. सामाजिक सुरक्षाः
श्रमिकको सामाजिक सुरक्षा र श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरिनेछ। सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै आर्थिकरूपले धान्न सकिने गरी परिमार्जन गरिनेछ । लक्षित वर्गका लागि प्रभावकारी सामाजिक सुरक्षा प्रदान गरिनेछ। सामाजिक सुरक्षाका लाभग्राहीहरूलाई राष्ट्रिय परिचयपत्रको अभिलेखको आधारमा रकम प्रदान गर्ने नीति लिइनेछ ।

२८. वित्तीय क्षेत्रको सुदृढीकरणः
वित्तीय क्षेत्रको नियमनलाई थप सुदृढ, विश्वासिलो र भरपर्दो बनाइनेछ। नियामक निकायहरूको संस्थागत सुदृढीकरण र काम कारवाहीमा पारदर्शिता अभिवृद्धि गरिनेछ। वित्तीय साक्षरता र वित्तीय पहुँच विस्तार गरिनेछ । निक्षेप र भुक्तानी प्रणालीलाई थप सुरक्षित बनाइनेछ । विप्रेषण आयलाई उत्पादनशील उपयोग गर्न प्रोत्साहित गरिनेछ । पीडितले न्याय पाउने गरी सहकारी र लघु वित्त क्षेत्रका समस्याहरूको समाधान गरिनेछ । यस क्षेत्रमा सुशासन कायम गर्न नीतिगत तथा संरचनागत सुधार गरिनेछ । गैर बैंकिङ्ग सम्पत्ति व्यवस्थापन र मौद्रिकीकरणका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिनेछ। डिजिटल बैंक स्थापना गरिनेछ । पुँजी बजारको संरचनागत सुधार गरी गतिशील तुल्याइनेछ । सम्वत् २०८३ भित्र मुलुकलाई सम्पत्ति शुद्धीकरण निवारणको विस्तृत अनुगमन सूचीबाट बाहिर ल्याइनेछ ।

२९. वित्तीय सङ्घीयता कार्यान्वयनः
सङ्घ, प्रदेश र स्थानीय तहको संवैधानिक जिम्मेवारी अनुसार आयोजना तथा कार्यक्रम कार्यान्वयन गरिनेछ । अन्तर–तह समन्वय सुदृढीकरण गरी विकास कार्यमा तीब्रता ल्याइनेछ। सङ्घीय वित्तीय हस्तान्तरणलाई समन्यायिक बनाइनेछ । सङ्घ, प्रदेश र स्थानीय तहमा वित्तीय जवाफदेहिता र उत्तरदायित्व बलियो बनाउन राष्ट्रिय रणनीति र मापदण्ड तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
३०. बजेट प्रणालीको सुदृढीकरणः
स्रोत व्यवस्थापन तथा बजेट कार्यान्वयनमा दक्षता ल्याई सीमित साधनबाट अधिकतम प्रतिफल हासिल गर्न जोड दिइनेछ । पूर्व तयारी सम्पन्न भएका, प्रतिफल दर उच्च भएका र ठूला आयोजनामा सरकारी लगानी केन्द्रित गरिनेछ । साना, छरिएका, दोहोरो परेका, स्रोत सुनिश्चित नभएका र सम्पन्न हुन लामो समय लाग्ने विद्यमान आयोजना संख्यामा कटौति गरिनेछ । क्रमागत आयोजनाहरूलाई पुनःप्राथमिकीकरण, पुनर्संरचना वा स्थगन गरिनेछ । आगामी आर्थिक वर्षमा सम्पन्न हुने आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गरिनेछ । खरिद तथा ठेक्का व्यवस्थापन सम्बन्धी विद्यमान कानूनी जटिलता समाधान गरिनेछ । आयोजना कार्यान्वयन गर्न अन्तर निकाय समन्वयलाई सशक्त बनाइनेछ ।

३१. विकास वित्तको विस्तारः
विकास आयोजनामा विद्यमान लगानी अन्तर कम गर्न उच्च प्रतिफलयुक्त आयोजनामा निजी पुँजी परिचालन गर्न नवीन वित्तीय उपकरणको उपयोग गरिनेछ । राष्ट्रिय प्राथमिकताका सम्भाव्य आयोजनाको कार्यान्वयनमा वैकल्पिक विकास वित्तका माध्यमबाट स्रोत व्यवस्थापन गरिनेछ ।
३२. राजस्व प्रणालीको सुदृढीकरणः
राजस्व प्रशासनको व्यावसायिकता र दक्षता अभिवृद्धि गरिनेछ । उत्पादन र लगानीमैत्री राजस्व नीति तर्जुमा गरिनेछ। नियतवस कर छल्ने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिनेछ । कर कानूनहरूमा रहेका अस्पष्टता र द्विविधा हटाउन आवश्यक परिमार्जन गरिनेछ। करको दायरा विस्तार र स्वेच्छिक परिपालनामा जोड दिइनेछ ।
३३. राष्ट्रिय सुरक्षाः
राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गरी मुलुकको सुरक्षा प्रणालीलाई सुदृढ बनाइनेछ । सबै सुरक्षा निकायको क्षमता विकास गरी उच्च मनोबल कायम गर्न आवश्यक स्रोतको व्यवस्था गरिनेछ । साइवर सुरक्षाका लागि विश्वसनीय प्रबन्ध गरिनेछ ।

३४. अन्तर्राष्ट्रिय सम्बन्धः
छिमेकी एवम् मित्रराष्ट्रहरूसँग सार्वभौमिक समानता, पारस्पारिक हित र आपसी सम्मानमा आधारित सन्तुलित सम्बन्ध कायम गरिनेछ । सवल आर्थिक कुटनीतिको माध्यमबाट वैदेशिक सहायता, लगानी, पर्यटन प्रवर्द्धन, व्यापार र प्रविधि विस्तारमा जोड दिइनेछ ।

३५. कानूनी शासन, मानव अधिकार र सुशासन प्रवर्द्धन:
कानूनको परिपालना र प्रभावकारी कार्यान्वयन गरी कानूनी शासन तथा मानव अधिकारको प्रत्याभूति गरिनेछ । जनताको जिउधन र सार्वजनिक सम्पत्तिको भरपर्दो सुरक्षा सुनिश्चित गरिनेछ । कानूनी अड्चन र प्रशासनिक जटिलतालाई हटाउँदै सार्वजनिक प्रशासनलाई स्वच्छ, दक्ष र जनमुखी बनाइनेछ। सार्वजनिक सेवालाई प्रविधिमा आधारित र छरितो बनाइनेछ । सार्वजनिक निर्णयमा स्वार्थको द्वन्द्व हुन नदिने नीति अवलम्बन गरिनेछ । समयमा निर्णय नगरी कार्य जिम्मेवारी पुरा नगर्ने प्रवृत्तिलाई दण्डित गरिनेछ । सार्वजनिक जिम्मेवारी पूरा गर्दा असल मनसायले गरेको कामको संरक्षण गरिनेछ । भ्रष्टाचारजन्य तथा सम्पत्ति शुद्धीकरण जस्ता अपराधलाई कडाईका साथ नियन्त्रण गरिनेछ । न्यायपालिका लगायत सबै संवैधानिक निकायको संस्थागत सुदृढीकरण गरिनेछ ।

सम्माननीय सभामुख महोदय,
सम्माननीय अध्यक्ष महोदय,
३६. अब हामी उद्यमशीलता प्रवर्द्धन र आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्दै सवल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न; विकास, समृद्धि एवम् सामाजिक न्यायको राष्ट्रिय अभिभारा पूरा गर्दै लोकतान्त्रिक मूल्यमा आधारित समाजवादतर्फ तीब्र वेगका साथ अघि बढ्न जरुरी छ ।

३७. अन्तमा, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको क्रममा माननीय सदस्यहरूबाट व्यक्त हुने विचार, विश्लेषण र सुझावहरूलाई महत्त्वपूर्ण आधारका रूपमा लिई आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने विश्वास दिलाउँछु । विनियोजन कुशलता र बजेट प्रणालीमा अनुशासन कायम गरी अर्थतन्त्रमा आशा एवम् विश्वास जगाउन आगामी वर्षको बजेटले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।

स्थिर नीति, कर सुधार र लगानीको अनुकूल वातावरण बनाउन निजीक्षेत्रको माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन कार्य अन्तिम चरणमा छ । आगामी बजेटबारे विभिन्न क्षेत्रबाट सरकारलाई सुझाव आइरहँदा निजी क्षेत्रले पनि नीतिगत स्थिरता, सहज कर कानुन र लगानी अनुकूल वातावरणका लागि आफ्ना माग दोहोर्याएका छन् ।


निजी क्षेत्रका दुई छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले निजी क्षेत्रको मनोबल बढाउन, लगानी वृद्धि गर्न र आर्थिक विकासलाई गति दिनका लागि यस्ता सुधार अति आवश्यक भएको जनाएका हुन् । 


सिएनआईले गत शुक्रबार र एफएनसिसिआईले आइतबार बिहान पूर्वबजेट छलफल कार्यक्रम आयोजना गर्दै सरकारलाई सुझाव दिएका हुन् । नीतिगत अस्थिरता, जटिल कानुनी प्रक्रिया, कम पुँजीगत खर्च, न्यून विदेशी लगानीलगायत चुनौती रहेकाले समाधानका विकल्प दिनुपर्ने निजी क्षेत्रको भनाइ छ ।


यसको समाधानका लागि ‘लगानी दशक’ घोषणा गर्नेदेखि कानुन संशोधन गर्नेलगायत कार्य गरिनुपर्ने निजी क्षेत्रको जोड छ । त्यस्तै कर क्षेत्रमा कर्पोरेट कर घटाउने, मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली सरल बनाउने, कर छुटको सीमा बढाउनेलगायत सुझाव पनि समावेश गरिएका छन् ।


 क्षेत्रगत रूपमा जलविद्युत् आयोजनालाई कर छुट दिने, कृषि प्रशोधन र निर्यात बढाउने, पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न भिसा नीति सजिलो बनाउने र सूचना प्रविधि क्षेत्रको विकास गर्न आइसिटी पार्क निर्माण गर्नेलगायत सुझाव निजी क्षेत्रबाट आएका छन् । 


स्वदेशी उद्योगलाई संरक्षण दिने, साना उद्यमलाई सहज कर्जा उपलब्ध गराउने, डिजिटल प्रणालीबाट व्यवसाय दर्ता र कर भुक्तानी गर्ने जस्ता सुधार गर्न पनि आग्रह गरिएको छ । यी सुझाव सरकारले ग्रहण गरेर कार्यान्वयन गरेमा नेपालको आर्थिक वृद्धि हुने र रोजगारीको अवसर पनि सिर्जना हुने अपेक्षा निजी क्षेत्रको छ ।


पूर्वबजेट छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस पटकको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तार, नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, निजी क्षेत्र प्रवद्र्धन, सुशासन अभिवृद्धि एवं राजस्व परिचालन तथा सार्वजनिक खर्चको प्रभावकारितालगायत पक्षलाई आफ्ना उद्देश्य र प्राथमिकतामा समेटिनुपर्ने बताए । साधारण खर्च घटाइ विकास खर्च बढाउने र सर्वसाधारणको क्रयशक्ति, उद्यमीको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम यस पटकका प्रमुख आकर्षण हुनुपर्नेमा उनले जोड दिए । 


लगानी वातावरण सुधार्न र लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नीतिगत स्थिरता प्रमुख विषय रहेका ढकालले बताए । “महासङ्घले देशभरबाट गरेको अध्ययनअनुसार उद्योग व्यवसाय विस्तारको बाधकका रूपमा नीतिगत अस्थिरतालाई लिइएको छ । कतिपय देशमा राजनीतिक स्थायित्व नहुँदा पनि नीतिगत र संस्थालाई स्थिर बनाइ आर्थिक उन्नति हासिल गरेका छन् । त्यसैले नीतिगत स्थिरता अहिलेको प्रमुख आवश्यकता हो”, उनले भने । 


उद्यमी व्यवसायीलाई सहज तथा सम्मानित रूपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चिताको माग पनि महासङ्घले गरेको छ । “सम्भावना भएर पनि विविध कारणले लगानी हुन नसक्नुमा निजी क्षेत्रको मनोबल घट्नु हो । कूल गार्हस्थ्य उत्पादनको शून्य दशमलव दुई प्रतिशत मात्र वैदेशिक लगानी आएको छ । यस्तो अवस्थामा सबै क्षेत्रलाई समेट्ने गरी आगामी आवको बजेटमा २०८२–९२ लाई लगानी दशक घोषणा गरी स्थायित्वमा विशेष ध्यान दिनुपर्छ”, महासङ्घले भनेको छ । सिएनआईले पनि आगामी दशकलाई लगानी दशक घोषणा गरिनुपर्ने माग छ ।

यस्ता छन् महासङ्घका सुझाव 

  लगानी बाधकका रूपमा रहेका भूमि, वन, वातावरण, सार्वजनिक खरिद, खनिज र जलविद्युतलगायत कानुनमा सुधारसहित लगानी सम्बद्ध एकीकृत कानुन बनाइ नीतिगत पारदर्शीता र व्यावसायिक सुरक्षाको सुनिश्चितता गरिनुपर्नेमा महासङ्घले जोड दिएको छ । 


आम निराशा कम गर्न र युवालाई व्यवसायप्रति आकर्षित गर्न सुशासनको प्रत्याभूति गरिनुपर्ने तथा सुशासनका लागि प्रविधिको प्रयोग बढाउनुपर्ने सुझाव महासङ्घको छ । राजस्व बुझाएकै आधारमा व्यवसाय नवीकरण गर्न सकिने व्यवस्था मिलाइनुपर्ने तथा प्रविधिको पहुँच नपुगेको र सम्पूर्ण सेवा अनलाइन नहुँदासम्म लघु घरेलु तथा साना उद्यमले सम्बन्धित वडा कार्यालय एक ठाउँमा दर्ता गर्ने र राजस्व बुझाए पुग्ने व्यवस्था गरिनुपर्ने माग निजी क्षेत्रको छ । 


राजस्व बुझाउने वित्तिकै तत्काल कर चुक्ता प्रमाणपत्र दिने व्यवस्था गरिनुपर्ने व्यवस्था बजेटमार्फत् ल्याउन पनि महासङ्घले सुझाव दिएको छ । ठूला एवं विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्ड र उद्योग विभागलाई गाभ्नुपर्ने सुझाव पनि महासङ्घको छ ।


सरकारको खर्च बढ्न नसक्दा पनि अर्थतन्त्रमा समस्या सिर्जना भएको उल्लेख गर्दै महासङ्घले विकास खर्च बढाउन गम्भीर भएर पहल गर्नुपर्ने आवश्यककता औँल्याएको छ । “नेपालको बजेट प्रक्रियामा करिब दुई दशकदेखि पुँजीगत खर्च हुन नसक्नु सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ । बजेटको करिब १७ प्रतिशत जति मात्रै पुँजीगत खर्च छुट्याइने र त्यो पनि ६० प्रतिशत हाराहारी मात्रै खर्च हुने प्रवृतिले एकातर्फ देशमा अपेक्षित विकास हुन सकेको छैन भने अर्काेतर्फ यसले बजारमा न्यून माग हुन गई निजी क्षेत्रको व्यवसाय पनि प्रभावित भएको छ”, महासङ्घले भनेको छ ।


अबको कम्तीमा दुई वर्ष बजेटको आकार तय गर्दा राजस्वको वृद्धिदर जति नै बजेटको आकार वृद्धि गर्नुपर्ने, ऋण लिएर साधारण खर्च गर्ने प्रवृत्ति हटाउने, उत्पादनमा आधारित सहुलियत कार्यक्रम दश वर्षसम्म निरन्तर सञ्चालन गरिनुपर्नेलगायत सुझाव छन् । 


त्यस्तै, औद्योगिक करिडोर विशेष कार्यक्रमअन्तर्गत भारतीय सिमाबाट चुरेफेदीसम्मका सडक किनार र अन्य सम्भावित करिडोरमा उद्योग लक्षित विशेष कार्यक्रम ल्याएर खुला विशेष आर्थिक क्षेत्रको अवधारणा सुरु गरिनुपर्ने धारणा महासङ्घको छ ।


एक सय भन्दा बढी व्यक्तिलाई रोजगारी दिने उत्पादनमूलक उद्योग, पर्यटन, सेवा उद्योगलाई रोजगार च्याम्पियनको सम्मानसहित आयकरमा न्यूनतम ४० प्रतिशत छुटको माग महासङ्घले गरेको छ । त्यस्तै, अर्थतन्त्र तलायमान बनाउन व्यवसायी, कर्जा सुरक्षण निगम, सरकार र विकास साझेदार समेतले जोखिम बेहोर्ने गरी रू एक करोडसम्मको कर्जा परियोजना धितोमा उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने महासङ्घको माग छ ।


स्वदेशी काठको उपयोगलाई सहज बनाउन प्रचलित वन ऐनमा संशोधन तथा गिट्टी, रोडा, ढुङ्गाको उत्खनन, बिक्री वितरण र निर्यातका लागि कार्यविधि बनाइनुपर्ने सुझाव आएको छ । हाल स्टार्टअप उद्योगलाई दिइएको छुट सुविधा थप पाँच वर्ष निरन्तर दिइनुपर्ने, निजी क्षेत्रसँगको सहकार्यमा सबै प्रदेशमा ‘स्टार्टअप ग्रोथ सेन्टर’ स्थापना गर्नुपर्ने आवश्यकता पनि महासङ्घले औँल्याएको छ । 


नेपाललाई विवाह, सभा सम्मेलन पर्यटन गन्तव्यका रूपमा विकास गर्ने र अन्तरराष्ट्रियसभा सम्मेलनमा भाग लिन आउने प्रतिनिधिलाई भिसा छुटलगायत अध्यागमनमा सहज सुविधा उपलव्ध गराउनुपर्ने माग पनि निजी क्षेत्रको छ । भारतीय पर्यटकले नेपाल आउँदा भारु २५ हजार मात्रै ल्याउन पाउने व्यवस्थालाई परिमार्जन गरी अन्य देशबाट आउने सरह पाँच हजार डलरसम्म नेपालमा चल्ने मुद्रा ल्याउन पाउने व्यवस्था गर्नुपर्ने महासङ्घको भनाइ छ ।


     उत्पादनमूलक उद्योगमा लाग्दै आएको हालको आयकरलाई क्रमशः घटाइ पाँच वर्षमा पाँच प्रतिशत विन्दुले कम गर्नुपर्ने तथा मुनाफाको ४० प्रतिशत वा सो भन्दा बढी रकम सोही कम्पनीमा पुनर्लगानी गरेमा आयकर छुटको व्यवस्था गर्नुपर्ने माग पनि महासङ्घको छ । 


त्यस्तै, अन्तर्राष्ट्रिय कार्गो व्यवसायमा लाग्ने अग्रिम आयकर खारेज गरिनुपर्ने, व्यक्तिगत तर्पm आयकरको अधिकतम सिमा दर सरचार्जसहित ३० प्रतिशत ननाघ्ने गरी कायम हुनुपर्ने तथा आयकर छुट सीमा व्यक्तिलाई आठ लाख र दम्पतीलाई दश लाखसम्म गरिनुपर्ने सुझाव आएको छ ।


सरकारले सङ्कलन गर्ने गैर कर राजस्व (शुल्क, दस्तुर, जरिवानालगायत दस्तुर) सम्बन्धी व्यवस्था विभिन्न कानुनमा छरिएर रहेकाले यससम्बन्धी एकीकृत गैर करसम्बन्धी छाता ऐनको माग पनि महासङ्घले गरेको छ ।

यस्ता छन् परिसङ्घले दिएका सुझाव 

परिसङ्घले निजी क्षेत्रलाई विकासको इञ्जिनका रूपमा लिई आत्मविश्वासका साथ लगानी वृद्धि गर्ने नीति अवलम्बन गरी यस्ता आर्थिक नीति आगामी १० वर्षसम्म स्थिर हुने सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ । आयातलाई नियमन तथा आन्तरिक उत्पादनमा सहुलियत उपलब्ध गराउँदा स्वदेशमा लगानी बढ्ने, उत्पादन वृद्वि हुने एवं आत्मनिर्भरतातर्फ जानसक्ने भएकाले त्यस्ता वस्तुको पहिचान गरी प्रोत्साहनको नीति लिन परिसङ्घले माग गरेको छ । 


तयारी वस्तुमा लागेको भन्सार दर भन्दा त्यस्तो वस्तु उत्पादन गर्न प्रयोग हुने कच्चापदार्थमा लाग्ने भन्सार दर कम्तीमा एक तह कम हुने कानुनी व्यवस्था रहेकामा यस्तो फरक कम्तीमा दुई तहको हुने व्यवस्था गर्न
परिसङ्घले सुझाएको छ । अहिले लाग्दै आएका विभिन्न शीर्षकका करलाई एकीकृत गरी आयकर, भन्सार, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर मात्र कायम रहने व्यवस्था गर्न पनि परिसङ्घको माग छ । 


मूल्य अभिवृद्धि करलाई बहुदरमा लगेर शून्य, पाँच, १३ र १८ प्रतिशत कायम गर्न सकिने परिसङ्घको भनाइ छ । एकै स्थानबाट सबै प्रकारका कर सङ्कलन गर्ने व्यवस्थाको माग पनि परिसङ्घले गरेको छ । भन्सार नाकामा चोरी निकासी पैठारी रोकिनुपर्ने, भन्सारको सन्दर्भ पुस्तिकाको अभ्यास खारेज गर्नुपर्ने, आयातित वस्तुमा लगाउनुपर्ने लेवल भन्सार विन्दु अगावै लगाउनेलगायतका सुझाव परिसङ्घबाट आएका छन् । 
नेपालमा गुणस्तरीय वस्तुमात्र आयात गर्न पाउने व्यवस्था कायम गरी आगामी आवभित्र आयात हुने प्रमुख वस्तुका कम्तीमा एक सय वटा गुणस्तर मापदण्ड बनाइ आयातमा अनिवार्य लागू गरिनुपर्ने परिसङ्घको सुझाव छ ।
    
 सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ मा स्वदेशी वस्तु पहिचानका लागि वेब पोर्टल बनाउने, सोही पोर्टलबाट वस्तु खरिद गर्न सकिनेलगायत विषय समावेश भएकामा यी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि परिसङ्घले माग गरेको छ ।


 उद्योगका लागि वन क्षेत्रको उपयोग, काष्ठ तथा गैरकाष्ठजन्य वस्तुको उपयोग, जडीबुटी, ढुंगा, गिट्टी, पानी, चुनढुङ्गा, खानी तथा खनिजजन्य सम्पदाको दिगो उपभोग हुनेगरी प्रचलित कानुनको सरलीकरण गर्न परिसङ्घले आग्रह गरेको छ । त्यस्तै, अग्रिम जमानतसम्बन्धी र उधारो उठाउनेसम्बन्धी कानुनी व्यवस्था गर्नुपर्ने पसिसङ्गको माग छ । विद्यमान आयकर ऐनको दफा ५७ तथा ९५ ‘क’ को दोहोरोपना हटाउन परिसङ्घले अनुरोध गरेको छ । 


स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्न उत्पादनमूलक उद्योगहरूको नाफामा लाग्ने आयकरको दर क्रमश घटाउँदै १० प्रतिशत मात्रै कायम गर्न, निर्यातमूलक उद्योगलाई निर्यात आयमा दिँदै आएको कर छुटको सुविधा पुनः कायम गर्न, निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय स्टार्टअप इन्क्यूवेसन सेन्टर स्थापना तथा सञ्चालन गर्ने नीतिगत व्यवस्था गर्न परिसङ्घले सरकारलाई सुझाव दिएको हो ।

भारतीय राजदूतद्वारा पहलगाममा मारिएका सुदीप न्यौपानेको परिवारसँग भेट

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू–काश्मिरस्थित पहलगाममा आतंकवादी हमलामा मारिएका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन् ।

आइतबार राजदूत श्रीवास्तव मृतक न्यौपानेको बुटवलस्थित घरमा पुगेका थिए । घर पुगेर परिवारजनमा उनले समवेदना प्रकट गरेका थिए ।

त्यसक्रममा उनले भारत सरकारले आतंकवादीहरूविरूद्ध लड्ने र न्याय दिने पनि वाचा गरे । गत अप्रिल २२ मा सुदीप न्यौपाने परिवारसहित पहलगाममा घुम्न पुगेका थिए। आतंकवादी समूहले उनीसहित २६ जनाको हत्या गरेको थियो ।

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६५० दशमलव ११ को बिन्दुमा कायम भएको हो ।आज तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा रू १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

विकास बैंक समूह एक दशमलव २७, होटल तथा पर्यटन छ दशमलव ५०, जीवन बिमा शून्य दशमलव ३१, निर्जीवन बिमा शून्य दशमलव शून्य छ र व्यापार समूह शून्य दशमलव २० प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ५१, वित्त तीन दशमलव ७२, जलविद्युत् एक दशमलव २६, लगानी एक दशमलव ५५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव शून्य नौ र म्युचुअल फण्ड शून्य दशमलव २८ प्रतिशतको गिरावट देखिएको छ ।

आजको कारोबारमा नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य सात दशमलव ४५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ६६ करोड १० लाख ७० हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ६१ हजार ८७१ कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसदका दुबै सदनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो । निर्णयार्थ प्रस्तुत हुनुअघि नीति तथा कार्यक्रममाथि बैशाख २२, २३, २४, २५, २६ र २८ गते छलफल भएको थियो ।

छलफलमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जवाफ दिएका थिए । आइतबार नै सांसदहरूले राखेका संशोधन प्रस्ताव पनि निर्णयार्थ प्रस्तुत गरिएको थियो । त्यसपछि निर्णयार्थ प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कूल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै अस्वीकार भएका थिए ।

शुक्लाफाँटा बन्दैछ दुर्लभ वन्यजन्तुको आश्रयस्थल

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारै पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु हेर्न मिल्ने भएकाले पनि स्वदेशी तथा विदेशी पर्यटकहरुको रोजाइ शुल्लाफाँटा हुने गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किलोमिटरको दूरीमा शुक्लाफाँटामा ठूलो घासे मैदान (फाँट) छ । विश्वकै सबैभन्दा ठूलो घाँसेमैदानमा पनि यसको विशेषता हो । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ । यहाँ घुम्न आउने आगन्तुकहरुलाई फाँटामा बाह्रसिङ्गाले स्वागत गर्छन् । बाह्रसिंगाको टाउकामा सिङका छ–छ वटा हाँगा हुन्छन् । आँखै अगाडि देखिने बाह्रसिङ्गाको झुण्डले यहाँ आउने आगन्तुकको मन लोभ्याउने गरेको छ ।

शुक्लाफाँटाको विशाल घाँसेमैदानमा मयुर  नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउने गरेको छ । उक्त फाँटमा पाठेबाघको दृश्यसमेत देख्न सकिन्छ । शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बर्कौला र फाँटा पाटेबाघ देखिने ठाउँ हुन् । सोही फाँटमा राजा महेन्द्रले २०२४ सालमा सिकार खेलेका र हालको दुधिया क्याप्प भन्ने ठाउँमा राजा महेन्द्र एक रात बास बसेको बताइन्छ ।

शुक्लाफाँटा घुम्ने मुख्य समय फागुनदेखि असारसम्म हो । वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीविरङ्गी फूलहरुले आगन्तुकलाई स्वर्गको आभास दिलाउँछ । निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँटाहरु छन्, जहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । निकुञ्जको पूर्वी क्षेत्रमा हिरापुर फाँटा छ, त्यहाँ कृष्णसार संरक्षण गरिएको छ । निकुञ्ज प्रवेश गर्ने दुई वटा बाटा छन् । एउटा रानीताल भएर फाँटा पुगिन्छ भने अर्को बर्काेलाको बाटो । फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन् । ती मचानहरुबाट पर्यटकले शुक्लाफाँटाको दृश्य अवलोकन गर्न र तस्वीर लिने सक्नेछन् ।

शुक्लाफाँटाभित्रै रानी ताल छ । त्यहाँ रानी ताल सँगसंँगै अन्य ससाना तालहरु पनि छन् । त्यहाँ प्रशस्त रुपमा गोहीहरु र चराचुरङ्गीहरु देख्न पाइन्छ । जानकारहरुका अनुसार सिंहपाल राजाका रानीहरुले नुहाउने ताल भएकाले उक्त तालको नामकरण रानी ताल राखिएको हो ।

वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, ८०–९० वटा निलगाई र ४४९ भन्दाबढी प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भूँडीफोरजस्ता वन्यजन्तु पनि छन् । स्तनधारी वन्यजन्तुमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेललगायत ५३ भन्दाबढी प्रजातिहरू रहेका छन् । त्यसैगरी २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैँडा, ४२ वटा पाठेबाघ रहेको बताइन्छ । शुक्लाफाँटाको छेउ पिपरियामा रहेको हात्तीसारमा हात्ती चढ्न पाइन्छ ।

निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्ले पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षको कात्तिकदेखि चैत्र मसान्तसम्म शुक्लाफाँटामा दुई हजार ३८८ विदेशी र दुई हजार १८१ जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । सबैभन्दा बढी फ्रान्स र स्पेनका पर्यटक यहाँ घुम्न आउँछन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरु फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशीहरु धेरै खुसी हुने गरेको बताउँछन् । शुक्लाफाँटामा शुक्लाफाँटा पर्यटकका लागि यो उत्कृष्ट गन्तव्य भएकाले ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्राउन सकिने सम्भावना रहेको स्थानीय रमेश पन्त बताउँछन् ।

उनले भने, “यहाँबाट भारतका ठूला सहरहरु धेरै नजिक भएकाले त्यहाँ आउने पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ ।” उनले शुक्लाफाँटा मात्रै नभई नजिकै रहेको दोधारा चाँदनी झोलुङ्गेपुल, झिलमीला ताललगायत सहायक गन्तव्य रहेको भन्दै राज्यस्तरबाट पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । पछिल्लो समय पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्यासमेत बढ्दै गएकाले पर्यटकहरुको सहजताका लागि तीनवटै तहका सरकारले लाग्नुपर्ने उनको भनाइ छ ।

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

काठमाडौं । प्रहरीले चैत १५ गते काठमाडौंका तीनकुने घटनामा संलग्न भएको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई पक्राउ गरेको छ ।

आइतबार राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट प्रहरीले अध्यक्ष बस्नेतलाई पक्राउ गरेको हो । प्रहरीले अदालतको पक्राउ पुर्जी बोकेर सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आएर उनलाई पक्राउ गरेको हो ।

श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जना गम्भीर घाइते

कोलम्बो । श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन्।

दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ।

उक्त बसमा क्षमताभन्दा २० बढी अर्थात् करिब ७० जना यात्रु सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमार्फत् भने, “हामी यो यान्त्रिक खराबी हो वा बस गुडिरहेका समय चालक निदाएर दुर्घटना भएको हो भन्ने कारण पत्ता लगाउने प्रयासमा अनुसन्धान गरिरहेका छौँ।”

“दुर्घटनाका कारण घटनास्थलमा नै १५ र अन्य छ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ र हामीले अन्य १४ जना गम्भीररूपमा घाइते भएका छन्,’” नाम नबताउने शर्तमा ती अधिकारीले भने।

उक्त बस श्रीलङ्काको दक्षिणमा रहेको तीर्थस्थल कातारागामाबाट करिब २५० किलोमिटर (१५५ माइल) को दूरीमा रहेको केन्द्रीय शहर कुरुनेगालातर्फ जाँदै थियो।

श्रीलङ्कामा वर्षेनी औसत तीन हजार सडक दुर्घटना हुने गरेका छन्। अत्यधिक दुर्घटना हुनेगरेका कारण श्रीलङ्काका सडकहरू संसारकै सबैभन्दा खतरनाक सडकमध्ये पर्ने गरेका छन्।

श्रीलङ्काको पोल्गाहावेला शहरको रेलमार्ग पास गर्ने क्रममा सन् २००५ अप्रिलमा एक रेललाई ठक्कर दिँदा बसमा रहेका कम्तीमा ३७ जनाको मृत्यु भएको थियो। आइतबारको बस दुर्घटना श्रीलङ्कामा भएका सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक हो।

सन् २०२१ को मार्चमा दुर्घटनास्थलबाट करिब १०० किलोमिटर पूर्व पासारामा बस दुर्घटना हुँदा १३ यात्रु र त्यसका चालकको मृत्यु भएको थियो।

पहिलो त्रैमासमा अरामकोको खुद नाफा ४.६ प्रतिशतले घट्यो

रियाद । साउदी अरबको तेल कम्पनी साउदी अरामकोले आइतबार आफ्नो पहिलो त्रैमासिक खुद मुनाफामा ४.६ को गिरावट आएको जनाएको छ ।

साउदी स्टक एक्सचेन्जद्वारा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, “कम राजस्व र बिक्रीसँग सम्बन्धित अन्य आयका साथै उच्च सञ्चालन लागतका कारण नाफा घटेको हो।”

अरामकोका अध्यक्ष अमिन एच नासेरले भने, “सन् २०२५ को पहिलो त्रैमासिकमा विश्वव्यापी व्यापार गतिशीलताले ऊर्जा बजारलाई प्रभावित गरेको छ र आर्थिक अनिश्चितताले तेलको मूल्यमा असर पारेको छ ।”

सन् २०२४ को सोही अवधिमा १०२.२७ अर्ब रियाल (२७.२७ अर्ब अमेरिकी डलर) रहेकोमा यस वर्षको पहिलो त्रैमासिकमा खुद आम्दानी ९७.५४ अर्ब रियाल (२६.०१ अर्ब डलर) रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको करले मागमा कडा असर पार्ने र अन्तर्राष्ट्रिय व्यापारलाई अवरुद्ध पार्ने चिन्ताका कारण हालैका हप्ताहरूमा तेलको मूल्यमा भारी गिरावट आएको छ।

साउदी सरकारसँग हाल अरामकोको ८१.५ प्रतिशत शेयर छ र क्राउन प्रिन्स मोहम्मद बिन सलमानले सुरु गरेको ‘भिजन २०३०’ परियोजनाहरूको वित्तपोषणको लागि यसको राजस्वमा निर्भर गर्दछ।

साउदी अरब तेलपछिको भविष्यको लागि, मध्य पूर्वको सबैभन्दा ठूलो अर्थव्यवस्थामा पर्यटक र लगानी आकर्षित गर्ने उद्देश्यले एक भव्य खर्च योजनाको बीचमा छ।

मरुभूमिमा बन्ने भविष्यको नयाँ शहर नियोम ५०० अर्ब डलरको लगानीमा बन्न लागेको आकर्षक परियोजना हो र यहाँ सन् २०३४ को विश्वकप फुटबल र रियादका लागि एउटा प्रमुख नयाँ विमानस्थल जस्ता आकर्षक परियोजनाहरूको लागि चिनिन्छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि गरेको आक्रमणपछि अराम्कोले तेलको मूल्य वृद्धि गरेपछि साउदी अरबले करिब एक दशकमा पहिलो पटक बजेट अधिशेष हासिल गरेको थियो ।

तर तेलको मूल्यमा आएको गिरावटसँगै साउदी अरबको नगदी आम्दानीको प्रमुख स्रोतको नाफा पछिल्ला वर्षहरूमा घटेको छ ।

साउदी अरबको अर्थ मन्त्रालयले सन् २०२५ सेप्टेम्बरमा कुल गार्हस्थ्य उत्पादनको २.३ प्रतिशतको बजेट घाटा हुने अनुमान गरेको थियो । 

बङ्गलादेश अवामी लिगद्वारा पार्टीको गतिविधिमा प्रतिबन्ध लगाउने अन्तरिम सरकारको निर्णय अस्वीकार

ढाका ।अपदस्थ प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको बङ्गलादेश अवामी लिगले पार्टीको गतिविधिमा प्रतिबन्ध लगाउने अन्तरिम सरकारको निर्णयलाई अस्वीकार गरेको छ। अवामी लिगले आफ्ना गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ।

“अवामी लिगको गतिविधिमा प्रतिबन्ध लगाउने अवैध र असंवैधानिक कब्जा गर्ने फासीवादी युनुस सरकारको घोषणाबाट बङ्गलादेशका जनता स्तब्ध र आक्रोशित छन्, हामी फासीवादी तानाशाह युनुस सरकारको यो निर्णयलाई घृणाका साथ अस्वीकार गर्दछौँ र यसको विरुद्ध कडा निन्दा र विरोध गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ, “साथै, फासीवादी युनुस सरकारको यो निर्णयलाई बेवास्ता गर्दै बङ्गलादेश अवामी लीगले आफ्नो गतिविधिहरू उचित रूपमा सञ्चालन गर्न जारी राख्ने कुरामा हामी दृढ प्रतिबद्धता व्यक्त गर्दछौँ।”

यसअघि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारको मन्त्रिपरिषद्ले आतङ्कवाद विरोधी ऐनअन्तर्गत साइबरस्पेससहित अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

“आज बङ्गलादेशको इतिहासमा कालो दिनको रूपमा चिनिनेछ। जसको नेतृत्वमा बङ्गलादेश एक स्वतन्त्र र सार्वभौम राज्यको रूपमा स्थापित भएको थियो, त्यो आवामी लीगको गतिविधिहरू स्वतन्त्र देशमा जनताको कुनै जनादेश नभएको अप्रजातान्त्रिक फासिवादी युनुस सरकारद्वारा प्रतिबन्धित गरिएको छ”, आवामी लीगको फेसबुक पेजमा पोस्ट गरिएको विज्ञप्तिमा भनिएको छ, “यसले प्रमाणित गर्दछ कि फासिवादी युनुस सरकारले बङ्गलादेशको माटोलाई स्वतन्त्रता विरोधी दुष्ट शक्तिहरू र उग्रवादी समूहहरूका लागि उर्वर भूमिमा परिणत गर्न चाहन्छ।”

“बङ्गाली माटोमा आवामी लीगका गतिविधिहरूमा प्रतिबन्ध लगाउनु भनेको मुक्ति युद्धको भावना, आदर्श र आधारभूत तत्वहरूलाई निर्वासित गर्नु र स्वतन्त्रता–विरोधीहरूको नग्न आक्रमणलाई बढावा दिनु हो, बङ्गलादेश आवामी लीग यस क्षेत्रको सबैभन्दा पुरानो र सबैभन्दा परम्परागत राजनीतिक सङ्गठन हो, जसको ७५ वर्षको इतिहास छ र जनताले विश्वास गर्ने संस्था हो। बङ्गलादेश आवामी लीगले भाषा र स्वतन्त्रताको मागको स्थापना सहित बङ्गाली राष्ट्रका सबै महान उपलब्धिमा अग्रणी भूमिका खेलेको छ”, विज्ञप्तिमा भनिएको छ।

बङ्गलादेशको अन्तरिम सरकारले शनिबार देशको सबैभन्दा पुरानो राजनीतिक दल अवामी लिगको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न यो निर्णय गरिएको प्रेस विज्ञप्तिमा थप स्पष्ट पारिएको छ।

“परामर्शदाता परिषद् बैठकले देशको सुरक्षा र सार्वभौमता, जुलाई आन्दोलनका नेता तथा कार्यकर्ताहरूको सुरक्षा र बङ्गलादेश आवामी लीग र यसका नेताहरूको परीक्षण पूरा नभएसम्म अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका वादी र साक्षीहरूको संरक्षणको आवश्यकताबारे छलफल गरेको थियो। आतङ्कवाद विरोधी ऐनअन्तर्गत साइबरस्पेस सहित आवामी लीगका सबै गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय लिइएको छ”, प्रेस विज्ञप्तिमा भनिएको छ।

अवामी लिगकी अध्यक्ष तथा प्रधानमन्त्री शेख हसिना गत वर्ष अगस्ट ५ मा सामूहिक विद्रोहमा सत्ताबाट हटाइएको थियो। उनी अहिले निर्वासनमा छिन्। शेख हसिनाको पतनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो।

लगभग सबै आवामी लीगका नेता र कार्यकर्ताहरू हाल लुकिरहेका छन्। यद्यपि पार्टीका वरिष्ठ नेता बङ्गलादेशका पूर्वराष्ट्रपति अब्दुल हमिद निगरानीमा छन्। उनी आफ्नी पत्नी र सालासँग बिहीबार बिहानै बैङ्कक गएका थिए।

निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरु कार्यान्वयनका लागि विचाराधीन निजामती सेवासहित महत्वपूर्ण विधेयकहरु शीघ्र पारित गर्न सदनलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्रीले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, सङ्घीय निजामती सेवासम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक छिटो पारितका लागि आग्रह गरेका हुन् ।

यसैगरी, विद्यालय शिक्षा विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि प्राथमिकतामा राख्न प्रधानमन्त्रीको आग्रह छ ।

म यस सम्मानित सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु ।
* वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक
* संघीय निजामती सेवासम्बन्धी विधेयक
* नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक
* विद्यालय शिक्षा विधेयक
* नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक
* नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठेका प्रश्नको जवाफ दिएका हुन्।

प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको बताए । उनले विकास–निर्माणको ढाँचा, सुस्त गति र ‘वर्क इन प्रग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने दोहोर्याउँदै आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने बताए ।

उनले भने, ‘त्यसैले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमीकमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो । यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिबद्धता पनि नयाँ हो । थालनी भएका आयोजना रोकिने स्थिति रहनुु हुँदैन ।’

यस्तो छ प्रधानमन्त्रीको जवाफ


सम्माननीय सभामुख महोदय,

सम्मानीय राष्ट्रपतिज्यूूबाट बि.सं. २०८२ वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारको तर्फबाट म सम्माननीयज्यूूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।


सरकारको प्रस्तुत नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरूबाट टिप्पणी र संशोधन प्रस्तावमार्फत् प्राप्त रचनात्मक सुझावका लागि धन्यवाद व्यक्त गर्दछु ।

अहिलेको सरकार, यो समीकरण निर्माणका मुलतः दुई उद्देश्य थिए–
पहिलो– देशमा व्याप्त गहिरो निराशा हटाई जनतामा आशा तथा उत्साहको सञ्चार गर्ने,
दोस्रो– देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा अघि बढाउने।
प्रस्तुत नीति तथा कार्यक्रम यी उद्देश्य पूरा गर्नेमा केन्द्रित हुनेछन् । र, नीति कार्यक्रम १० मूल नीतिमा आधारित छन्।
सभामुख महोदय,
सामाजिक क्रान्ति समाजमा रहेका वर्गहरु बीचको द्वन्द्वका कारण हुन्छ । शासन कसले गर्ने र शासित को हुने भन्ने विषय आजको मुद्दा हैन, हजारौं वर्षदेखिको मानव सभ्यतासँगै जोडिएको विषय हो । ‘स्रोत र साधन’ आफ्नो अधीनमा राख्ने बलशाली वर्गले जहिले पनि उत्पादनका साधनमाथि पहुँच नभएका वर्गमाथि वर्चश्व कायम गर्दै आएको छ । एउटा आर्थिक वर्गले अर्कोमाथि आफ्नो वर्चश्व कायम गरेपछि मात्र परिवर्तनका लागि हुने गरेका आन्दोलन र संघर्षहरु रोकिएका छन् । पहिले युरोपमा सामन्ती प्रणाली भत्काउने क्रान्तिको नेतृत्व श्रमजीवी वर्गको सहयोगमा पूँजीपति वर्गले गर्‍यो । राजा महाराजहरु या त प्रणाली स्वीकार्ने सम्झौतामा पुगे या भागे–समाप्त पारिए ।

त्यसपछिका परिवर्तनहरुमा श्रमजीवी वर्ग र पूँजीपति वर्ग बीचको द्वन्द्व भए, शासन व्यवस्था फेरिए … यो सिलसिला चल्दै आयो ।

हाम्रो देशमा विचारधारका रुपमा तीनखालको प्रबृत्ति सुरुदेखि नै विद्यमान रह्यो । एकातिर वंश/परम्परामा आधारित सामन्ती प्रवृत्ति र अर्कातिर लोकतन्त्रका हिमायती अन्य २ प्रवृत्ति । पछिल्ला दुई प्रवृत्ति बीच फाटो आउँदा अघिल्लोको शासन सत्ता लम्बियो, एक हुँदा जनअपेक्षा अनुरुपको प्रणाली स्थापना हुन सक्यो ।
हजार वर्षभन्दा बढी समय विभिन्न नामका भुरे–टाकुरे, राजा/रजौटाहरुले हाम्रो मुलुकको स्रोत र सम्पत्तिमाथि शोषण र जनतामाथि हुकुमी शासन चलाउँदै आए । पछिल्लो अढाइ सय वर्ष जति शाह वंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बन्यो ।

अनिर्वाचित, परिवार र वंश आधारित ‘संस्था’ वा ‘तन्त्र’ कायम राख्ने, परिमार्जन गर्ने वा मिल्काउने भन्ने प्रश्नलाई हामीले २०६२/६३ को परिवर्तनमार्फत् निष्कर्षमा पुर्‍यायौं, २०७२ सालमा जारी गरिएको संविधानमार्फत् संस्थागत गर्‍यौं । कुनै पनि प्रकृतिका जातीय श्रेष्ठता या वंश परम्परामा आधारित पछ्यौटे प्रतिगामी प्रणालीलाई अस्वीकार गर्‍यौं । सङ्घीयतामा आधारित लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यौं ।
अहिले यतिखेर राजनीतिक अस्थीरताका कारण सिर्जित निराशालाई ‘क्यास–गर्दै’, हाम्रा बलिदान तथा शताव्दी लामो संघर्षले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा विउँताउने मात्रै हैन तिथि मिति नै तोकेर सिंहसानमा विराजमान गराउने र श्रीपेच ढल्काउने जस्ता भ्रम फिँजाइ संविधान तथा व्यवस्थाका विरुद्ध हिंस्रक एवम् अराजक गतिविधि सुरु भएको छ ।

प्रस्तावित नीति तथा कार्यक्रममा संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिवद्धता छ । यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने दृढता व्यक्त गरिएको छ । म विश्वास गर्छु– जनताको वलिदान खेर जान नदिने, प्राप्त उपलब्धिको रक्षा र प्रवद्र्धन गर्ने प्रस्तुत नीतिमा यस सम्मानित सदन एक हुनेछ ।

सरकार निर्माणको समयमा “संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमीकमजोरी सच्याउने” प्रतिवद्धता गरिएको थियो । तसर्थ, सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने नीतिमा सरकार प्रतिबद्ध छ । दलहरु बीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने हाम्रो प्रयास जारी रहने छ ।

सभामुख महोदय,

हामी सबैलाई थाहै छ, सरकार अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकै कारण सरकारले आफ्ना नीति सार्वजनिक गर्दा, पूर्ववर्ति सरकारले सुरु गरेका संविधान र कानुनसम्मत तर सान्दर्भिक नीति तथा कार्यक्रमलाई निरन्तरता दिन्छ, दिनुपर्छ र दिइएको पनि छ । केही माननीय सदस्यहरुका ‘प्रस्तुत नीति कार्यक्रम–उही र उस्तै’ भन्ने टिप्पणीलाई यसै सन्दर्भमा बुझिदिन आग्रह गर्दछु ।

फेरि, एउटा सरकारको ठाउँमा अर्काे सरकार निर्माण हुनु, अघिल्लो समीकरणलाई नयाँ समीकरणले विस्थापित गर्नु भनेको राजनीति र नीति–कार्यक्रमको ‘कोर्स करेक्सन’ वा परिवर्तन पनि हो । फेरिएको ‘कोर्स’ बमोजिम हटाइएका नीति वा कार्यक्रम हेरी माननीयहरुद्वारा सोधिने ‘पहिलेको खै त?’ भन्ने प्रश्नलाई पनि यसै सन्दर्भमा लिन अनुरोध गर्दछु ।

नीतिले थोरै शब्दमा धेरै कुरा बोल्ने गर्छ । त्यसैले ‘नयाँ के छ?’ भन्ने सन्र्दभमा नीति कार्यक्रममा प्रस्तुत केही पक्षमा सङ्क्षिप्त चर्चा गर्ने अनुमति चाहन्छु । -गत वर्षको साउन ६ गते यस सम्मानित सदनमा संबोधन गर्ने क्रममा मैले “जहिल्यै काम भइरहेको झैं हुने तर कहिल्यै नसकिने” हाम्रो विकास निर्माणको कामका तरिकाप्रति ‘ओर्क इन प्रोग्रेस !’ भन्दै टिप्पणी गरेको थिएँ । हामीसँग रहेको सीमित स्रोत र विकासमा हामीले मार्नु परेको तीब्र फड्कोको बीचमा रहेका बिरोधाभाषलाई उल्लेख गरेको थिएँ । विकास–निर्माणको हाम्रो यस्तो ढाँचा, सुस्त गति र ‘ओर्क इन प्रोग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने उल्लेख गरेको थिएँ । आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने उल्लेख गरेको थिएँ । त्यसैले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो । यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिवद्धता पनि नयाँ हो ।

-‘जे आउँछ मजाले पचाउँछ’ भनेझैं जे छ, त्यसैमा रम्ने हैन, काम लाग्ने जे छ, त्यसलाई सकेसम्म निरन्तरता दिने, जे असान्दर्भिक छ, त्यसलाई त्याग्ने नीतिमा हामी जानुपर्छ । त्यसैले, विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको हो ।
-थालेको काम सक्ने घोषित नीति अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरुको पुनरावलोकन गर्ने, चालु परियोजनाहरुलाई ‘आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुने र प्रतिनिधि सभाको यस अवधिभित्र सम्पन्न हुने’ गरी वर्गीकरण गरी निर्धारण गरिएको समयतालिकामा सम्पन्न गर्ने नीति नयाँ हो । निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजना खारेज समेत गर्ने नीति नयाँ हो ।

-पूर्वाधार विकासका नयाँ परियोजना बनाउँदा “संभाव्यता, जोखिम, र प्रतिफल”को लेखाजोखा जस्ता स्टेक होल्डरको चासो र पूँजीको प्रतिवद्धता व्यक्त गर्नुअघि “नगद प्रवाह, जोखिम न्यूनीकरण, र कानुनी सुरक्षा” जस्ता लगानीकर्ता र ऋणदाताको चासो समेटिएको ‘बिजनेस प्लान’ विकास गर्नुपर्ने नीति नयाँ हो । स्टार्टअप होस् वा आन्टरप्रीनरशीप कुनै पनि फिल्डमा उद्यमशीलता सुरु गर्दा– ‘व्यवसाय सुरू गरेदेखि बजारसम्मको चक्र’ अर्थात्, ‘व्यवसायको इकोसिस्टम’ ख्याल गर्नुपर्ने नीति नयाँ हो ।

-उदाहरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको पुनर्संरचना गरी व्यवसायमा आउनेलाई भूमि बैंक–वित्त, उपकरण तथा अन्य इनपुट– बाली बीमाको व्यवस्थापन–त्यसको समर्थन मूल्य– कृषि उपजको अग्रिम खरीद सम्झौता– बजार व्यवस्थापन र भण्डारणको चक्र निर्माण गर्ने नीति अघि सारिएको छ। मल, विद्युत र अन्य पूँजीगत अनुदानको पुनः व्यवस्थापन गरी स्रोतको अपव्यय हुनेबाट रोक्ने नीति नयाँ हो भन्ने माननीयहरुलाई स्पष्ट पार्न चाहन्छु ।

-आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा विकास गर्ने क्षेत्र कुन हो भन्नेमा नीति कार्यक्रममा ‘अन्यौल’ छैन । ‘कृषि तथा वन, सूचना तथा प्रविधि, पर्यटन, ऊर्जा, उद्योग र भौतिक पूर्वाधार’लाई मुख्य क्षेत्र तोकिएको छ । स्टार्टअपका कार्यक्रमको फोकस– विधाको हिसावले जुनसुकै हुनसक्ने र पुस्ताको हिसावले आजको तन्नेरी पुस्ता– ‘जेन–जी’ पुस्तामा केन्द्रित हुने नीति अघि सारिएको छ ।

-सरकारका निकायहरूबाट सञ्चालित कार्यक्रमहरू उद्यमशीलताको विकास, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित गर्ने र तीन तहका सरकारहरू बीचको सहयोग, समन्वय र सहकार्यमा कृषिको व्यावसायीकरण र पूर्वाधार निर्माण गर्ने नीति प्रस्ताव गरिएको छ ।

-स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गर्ने,
-स्नातक तहभन्दा माथिका विद्यार्थीहरुलाई विभिन्न अनुसन्धान संस्थामा आवद्ध गर्ने,
-हप्तामा बढीमा २० घण्टा कामको न्युनतम ज्याला निश्चित गरी ‘कमाउँदै–पढ्दै’को नीति लागु गर्ने,
-सरकारी सेवामा ‘इन्टर्न’को प्रयोग, यो नीति नयाँ हो । ‘कमाउँदै–पढ्दै’ नारामा नयाँ हैन, ठोस योजनाको सन्दर्भमा यो पनि नयाँ हो ।

-राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको नयाँ मार्गचित्र तयार गर्ने र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी बनाउने नीति अघि सारिएको छ । विद्यमान शिक्षा पद्दतिलाई आधुनिक, विज्ञान–प्रविधिमैत्री र अनुसन्धान–अन्वेषण लक्षित बनाइनेछ । विद्यालय शिक्षामा ग्रेडिङ प्रणाली लागू गरी सुधार गर्ने नीति नयाँ हो ।

लो–ग्रेडिङलाई रोजगारी–मैत्री प्राविधिक/व्यावसायिक शिक्षा तर्फ र उच्च ग्रेडिङलाई उच्चशिक्षा तर्फ अग्रसर गराउने प्रस्तावित नीतिले शिक्षालाई उद्यमशीलतामैत्री बनाउनेछ । श्रमक्षेत्रमा रहेको सीपयुक्त श्रमशक्तिको अभाव र सीपहीन श्रमशक्ति जगेडा रहने अवस्थाको अन्त्य गर्ने छ । यसका लागि हालको पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गरिनेछ । शिक्षक बैंक स्थापना, थिङ्क ट्याङ्क संस्थाहरुको समन्वय तथा सञ्चालन र उद्यमशीलताको माध्यमद्वारा आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने नीति निःसन्देह नयाँ हो ।

-विकास कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय तहबीच दोहोरोपन हटाउन एकीकृत परियोजना बैंक प्रणाली लागू गर्ने प्रस्तावित नीति नयाँ हो । यसबाट संविधानमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार सूचीका विकास कार्यक्रमहरू समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने वातावरण बन्छ ।
-जनसङ्ख्या, भूगोल र रोगको भारको आधारमा नयाँ स्वास्थ्य प्रणालीको प्रस्तावले स्वास्थ्य सेवालाई सुलभ र पहुँचयोग्य तुल्याउने छ । यसले स्वास्थ्य पूर्वाधार विस्तारसँगै सेवा प्रदायक अस्पताल–चिकित्सक, स्वास्थ्य जनशक्ति, उपकरण र सेवाग्राहीबीच रहेको असन्तुलन हटाउने छ ।

-सबै सार्वजनिक अस्पताललाई एकीकृत अनलाईन सेवामा आवद्ध गर्ने, स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरूलाई एकीकृत स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने नीतिले पुनर्संरचना गरिने स्वास्थ्य बीमा कार्यक्रमलाई दीगो बनाउने छ ।

सभामुख महोदय,

-फजुल खर्च रोक्न अनावश्यक संरचना खारेज गर्ने, गाभ्ने र हस्तान्तरण गर्ने नीति प्रस्ताव गरिएको छ । सार्वजनिक सेवालाई प्रभावकारी बनाउन “फेसलेस सेवा”को प्रक्रियालाई विस्तार गर्न नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रूपमा विकास गर्ने र सम्भव भएसम्मका सबै सेवा अनलाइन गर्ने नीति नयाँ नै हो ।

-यसपटकको नीति तथा कार्यक्रम, उच्चस्तरीय आर्थिक सुधार–सुझाव आयोगको प्रतिवेदनसहित एक दर्जन प्रतिवेदनहरुका आधारमा तयार पारिएको छ । प्रतिवेदन आफैंमा महत्वपूर्ण छन्, तिनको कार्यान्वयनले सुशासनमा महत्वपूर्ण भूमिका खेल्ने छन् भन्ने मैले विश्वास लिएको छु ।

-हाम्रा नीतिहरु कार्यान्वयनका लागि निम्न ऐनहरु अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु ।
* वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक
* संघीय निजामती सेवासम्बन्धी विधेयक
* नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक
* विद्यालय शिक्षा विधेयक
* नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक
* नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
– सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता र नेपाल राष्ट्र तथा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखी सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्नेछ ।

सभामुख महोदय,

माननीयज्यूहरूले नीति तथा कार्यक्रमका केही विषयहरूमा सुझाव र संशोधन प्रस्ताव राख्नुभएको छ । कतिपय पक्षमा अस्पष्टता रहेको, कतिपय विषय दोहोरिएको तथा कतिपय विषय नसमेटिएको भनेर व्यक्त धारणालाई मेरा प्रस्तुतिले स्पष्ट पार्ने अपेक्षा गरेको छु । छलफलका क्रममा उठाइएका विषयहरू र प्रस्तुत गरिएका संशोधन प्रस्तावप्रति सरकारको ध्यानाकर्षण भएको छ । प्रस्तुत आ.व. २०८२/८३ को नीति र कार्यक्रमको कार्यान्वयनमा माननीयज्यूहरूबाट प्राप्त सुझावहरूले सरकारलाई आफ्नो गन्तव्यमा हिंड्न थप सहयोग पुग्ने पनि विश्वास लिएको छु ।

माननीय सदस्यहरूले उठाउनुभएका विषयहरूलाई उपलब्ध स्रोतसाधनलाई ध्यानमा राखी सरकारले प्राथमिकीकरण गर्दै आगामी दिनमा क्रमशः सम्बोधन गर्दै जाने नै छ । माननीयज्यूहरूलाई सबै क्षेत्र समेट्नेगरी सबै विषयवस्तुहरू नीति तथा कार्यक्रममा आइदिए हुन्थ्यो जस्तो लाग्नु स्वभाविक हो । यस पटकको नीति र कार्यक्रममा सबै क्षेत्रलाई समेटिएको त छ नै । त्यसमा पनि युवाहरुलाई स्टार्टअपमार्फत् उद्यमशील बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने, विद्यार्थीलाई पढाइसँगसँगै सरकारी सेवाको इन्टर्नसिपमा प्रवेशको ढोका खोल्ने नीति पनि लिइएको पक्ष पुनः दोहर्‍याउन चाहन्छु । ‘जेन–जी’ पुस्ताका लागि विशेष स्थान र भूमिका दिएर ल्याइएको नीति तथा कार्यक्रम भएकाले यहाँहरुले यसको आकार र भाषामा परम्परा तोडिएको पाउनु हुनेछ ।

यसले सामाजिक सञ्जालका फेक एकाउन्टहरुमा अल्मलिएका युवाहरुलाई पनि आफ्नो भविष्य निर्माणमा नयाँ जाँगर र ऊर्जा पैदा गर्न बाटो खोल्ने छ भन्ने अपेक्षा राखेको छु । नीति तथा कार्यक्रमले संक्षिप्त र साङ्केतिक रूपमा सबै क्षेत्रलाई समेटको छ । माननीयज्यूहरूले उठाएका विषयहरू विस्तृत रूपमा बजेटमा आउने नै छन् । त्यसैले बजेट वक्तव्यमा समावेश हुने प्रकृतिका कार्यक्रमहरू यसमा उल्लेख गरिएका छैनन् ।

सहकारीको विद्यमान समस्या समाधान गर्ने सम्बन्धमा पनि नीति तथा कार्यक्रम प्रष्ट छ । सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत् सहकारी क्षेत्रका समस्याहरू समाधान गरिने विषय उल्लेख भएको छ । समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत् कोष स्थापना गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएका छन् ।

वनलाई रोजगारी, उत्पादन, राष्ट्रिय पूँजी निर्माणको स्रोत बनाउने सम्बन्धमा सामुदायिक वनको व्यवस्थापन सुदृढ गर्दै वन आधारित स्रोतको उचित उपयोग गरिने, राष्ट्रिय निकुञ्ज तथा संरक्षित वन क्षेत्रको वातावरणीय सुरक्षा सुनिश्चित गर्दै राष्ट्रिय प्राथमिकताका आयोजना सञ्चालन, एकीकृत जलाधार व्यवस्थापन लगायतका वन व्यवस्थापनसम्बन्धी कार्यक्रमहरुलाई नीति तथा कार्यक्रमले समेटेकै छ ।

जलवायुु परिवर्तन सम्बन्धमा माननीयज्यूहरूले उठाउनुभएको सन्दर्भममा सगरमाथा संवादमार्फत् सम्बोधन गरिने विषय नीति तथा कार्यक्रममा उल्लेख भएकै छ । नेपालको वन, जलस्रोत र हिमालहरूले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको छ । विश्वमा कार्बन उत्सर्जनका कारणबाट हिमाल जोखिममा परी महाविपद् सृजना हुने स्थितिको न्यूनीकरणका लागि निरन्तर सचेत गराउनुु आवश्यक छ । नेपालले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति, जलवायु वित्त र हरित वित्त प्राप्तिका लागि संवाद, बहस र पैरवी गर्ने छ । माउण्टेन इकोनोमीमा आधारित सगरमाथा संवादको अन्तर्राष्ट्रियकरण गरिने छ ।
भौतिक पूर्वाधार र पर्यटनको क्षेत्रमा परिणाम दिने कार्यक्रमका विषय यस नीति तथा कार्यक्रममा समेटिएका छन् ।

त्यसैगरी उच्च तथा दीगो आर्थिक वृद्धिका लागि भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजी लगानीलाई प्रवद्र्धन गरिने र सुरूङमार्ग, द्रूतमार्ग र ओभर पासजस्ता आधुनिक प्रविधियुक्त पूर्वाधार निर्माणमा जोड दिइने विषय पनि उल्लेख भएकै छ ।

यस सरकारले तीब्र सडक विस्तारः विकास पूर्वाधारको आधार नीति लागू गरी सडक पूर्वाधारमा एशियन मापदण्ड स्तरको राष्ट्रिय राजमार्ग निर्माण, लोकमार्ग निर्माण, सडक लेन विस्तार, सुरुङमार्ग निर्माण लगायतका पूर्वाधार निर्माणमा आफूलाई केन्द्रित गरेको छ ।

थालनी भएका विकास आयोजना वर्षौंसम्म नसकिने विकृत स्थिति रहनु हुँदैन । यसमा छुट कसैलाई छैन । यस सरकारले आयोजनामा स्रोत सुनिश्चितता, जग्गा अधिग्रहण, रुख कटान, अवरोध, मुआब्जा, कानुनी मुद्दाजस्ता सबालमा अग्रसरता लिई विकासको गति र संस्कृति परिष्कृत गर्दै परिमार्जन गरेको छ ।
यसअघि मेरो नेतृत्वको सरकारले देशैभर एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक, प्रत्येक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल निर्माण, उत्तर दक्षिण कनेक्टिभिटिका लागि सडक विस्तार, नदी किनारमा उत्तर दक्षिण लोकमार्गका आयोजनाहरु सुरु गरेको थियो ।

आज मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणमा अभूतपूर्व काम भएका छन्। बिरोधका स्वरबीच पनि मुलुक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ ।

म सरकारमा आउँदा नारायणगढ–बुटवल सडक नबन्ने र ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको थियो । निर्माण ठप्प थियो । आज सो सडकको पूर्वी र पश्चिमी दुबै खण्डमा यसै समयमा ६२ प्रतिशतभन्दा बढी काम भइसकेको छ । ४१ वटा सामान्य पुल र ७ वटा मुख्य पुलहरूको निर्माण भएका छन् । दाउन्ने खण्डमा वर्षा अगाडि नै नियमित आवतजावत हुनेगरी तीब्र गतिमा काम भइरहेको छ । हाल सो खण्डमा नागरिकले यात्रामा सास्ती भोग्नुपरेको छ । पक्कै पनि यो सास्ती धैरै दिनको हुनेछैन, केही समयको धैर्यका लागि सबैसँग अपिल गर्दछु । लामो समयसम्म अन्यौलमा रहेको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक निर्माणको ठेक्का सम्झौता भइसकेको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला म किन यी सडकका नाम लिइरहेको छु ? किनभने हामीले नीति बनाउँदा तोकिएका समयमा विकास आयोजनाहरु सक्नेगरी बनाउनु पर्छ । र, यस वर्ष त्यसतर्फ हामीले ध्यान दिएको कुरा माथि पनि चर्चा गरिएको छ ।

माननीयज्यूहरूले रोजगारीका सम्बन्धमा उठाउनुभएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । यस नीति तथा कार्यक्रमले देशभित्रै उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्नेछ ।
माननीयज्यूहरुले विद्यालय क्षेत्र सुधारका सम्बन्धमा उठाउनु भएको विषयमा मैले माथि नै पर्याप्त चर्चा गरेको छु ।

मैले औपचारिक फोरम र अनौपचारिक ठाउँमा पनि समृद्धि र सुखका आधारहरूका विषयमा बेलाबेला भन्दै आएको छु। पछाडि परेका वर्ग, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, जसले आफूलाई तल परेको ठान्छ, उनीहरुको जीवनस्तरबाट समृद्धिको मापन गरिनु पर्छ, माथि रहेका, अवसरको उपभोग गरिरहेका वर्गलाई आधार बनाएर होइन। सरकारको नीति कार्यक्रमले त्यसलाई अंगालेको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममाथि माननीयज्यूहरूबाट प्राप्त संशोधन प्रस्तावहरूलाई मननयोग्य सुझावका रुपमा ग्रहण गर्दै धन्यवाद दिन चाहन्छु । ती सुझावहरुलाई आगामी जेठ १५ गते यस सम्मानित संसदमा प्रस्तुत गरिने वार्षिक बजेट वक्तव्यमा समेट्ने विश्वास समेत दिलाउन चाहन्छु ।
धन्यवाद !

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमुना बनाउँदै विदेश उपचार गर्न जानेको सङ्ख्या घटाउने लक्ष्यसहित बालचिकित्सा सघन एकाइ सुरुआत गरिएको बताएका छन् ।

भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरपीडित बालबालिकाको विशेष उपचारका लागि बालचिकित्सा सघन एकाइको आइतबार उद्घाटन गर्दै उनले भारतलगायत विदेशमा उपचारका लागि जानेको सङ्ख्या घटाउन अस्पतालका सुविधा विस्तार गर्दै लगिएको बताए । उनले स्वदेशमा सहज सेवा पाउने वातावरण तयार गरिने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले यसअघि बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेपछि वैशाखभरि सघन एकाइ सञ्चालनको तयारी गरिएको थियो । सोही निर्णय कार्यान्वयन गर्दै बालबालिकाको उपचारका लागि बालचिकित्सा सघन एकाइको सुरुआत गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री पौडेलले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको जनाउँदै सकेसम्म थप दायित्व नपर्ने गरी विभिन्न किसिमका उपचार सेवा सुधार र विस्तार गर्दै जाने उल्लेख गरे । “हामीसँग आर्थिक अभाव छ, यसलाई मध्यनजर गर्दै अधिकतम स्रोतको उपयोग गरेर नागरिकलाई सहज र सर्वसुलभ सेवा प्रदान गरिरहेका छौँ”, उनले भने ।

आफूले गरेको पहिलो निर्णय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत रहेको जनाउँदै स्वास्थ्यमन्त्रीले क्यान्सर उपचारलाई सहज, पहुँचयोग्य र सुलभ बनाउन यथासम्भव काम गरिने बताए । आगामी आर्थिक वर्षमा क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने उनले जानकारी दिए ।

एकाइमा बालबालिकाका लागि आइसीयुका चार, दिवा हेरचाह चार र साधारण शय्या सात रहेका अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले जानकारी दिए । अस्पतालमा सेवा विस्तार तथा स्तरोन्नतिका लागि मन्त्री पौडेलले प्राथमिकता दिएर योजना अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकार गठनका बेला संविधानको समीक्षा गर्ने प्रतिबद्धता, त्यसका सबल पक्षलाई सुदृढ गर्दै कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउने प्राथमिकताको स्मरण गर्दै संविधान संशोधनको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सरकारका नीति तथा कार्यक्रमसम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दलहरुबीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने प्रयास जारी रहने पनि स्पष्ट गरे ।

‘संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिबद्धता छ । यसविरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने दृढता व्यक्त गरिएको छ’, प्रधानमन्त्रीले भने, ‘म विश्वास गर्छु । जनताको बलिदान खेर जान नदिने, प्राप्त उपलब्धिको रक्षा एवं प्रवद्र्धन गर्ने प्रस्तुत नीतिमा यस सम्मानित सदन एक हुनेछ ।’

उनले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको बताए ।

प्रधानमन्त्रीले विकास–निर्माणको ढाँचा, सुस्त गति र ‘वर्क इन प्रग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने दोहोर्याउँदै आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने बताए ।

‘त्यसैले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमीकमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो । यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिबद्धता पनि नयाँ हो । थालनी भएका आयोजना रोकिने स्थिति रहनुु हुँदैन’, प्रधानमन्त्रीले भने ।

थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरुको पुनरावलोकन गर्ने, चालु परियोजनालाई ‘आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने र प्रतिनिधिसभाको यस अवधिभित्र सम्पन्न हुनेगरी वर्गीकरण गरी निर्धारण गरिएको समयतालिकामा सम्पन्न गर्ने नीति नयाँ भएको उनको भनाइ थियो ।

पूर्वाधार विकासका नयाँ परियोजना बनाउँदा ‘सम्भाव्यता, जोखिम र प्रतिफल’को लेखाजोखाजस्ता सरोकार भएका निकायहरुको चासो र पुँजीको सुनिश्चितता र प्रतिबद्धता व्यक्त गर्नुअघि ‘नगद प्रवाह, जोखिम न्यूनीकरण र कानुनी सुरक्षा’ लगायत लगानीकर्ता र ऋणदाताको चासो समेटिएको ‘बिजनेस प्लान’ विकास गर्नुपर्ने नीति नयाँ भएको प्रधानमन्त्री ओलीले बताए ।

सरकारका निकायबाट सञ्चालित कार्यक्रम उद्यमशीलताको विकास, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित गर्ने र तीन तहका सरकारबीचको सहयोग, समन्वय र सहकार्यमा कृषिको व्यावसायीकीकरण र पूर्वाधार निर्माण गर्ने नीति प्रस्ताव गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको नयाँ मार्गचित्र तयार गर्ने र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवनोपयोगी बनाउने नीति अघि सारिएको बताए ।

साथै सबै सार्वजनिक अस्पताललाई एकीकृत अनलाइन सेवामा आबद्ध गर्ने, स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमलाई एकीकृत स्वास्थ्य बिमा प्रणालीमा आबद्ध गर्ने नीतिले पुनःसंरचना गरिने स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउने प्रधानमन्त्रीले बताए । 

प्रतिगामी शक्ति फर्काउने सपना कुनै पनि जेठ १५ मा पूरा हुनेछैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने हुंकार कहिल्यै पूरा नहुने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले जेठ १५ गते लोकतन्त्र उल्ट्याउने सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।

उनले भने, ‘केही साथीहरु जेठ १५ गते लोकतन्त्र उल्ट्याएर प्रतिगामी शक्ति ल्याउने भन्दै हुनुहुन्छ । यस पटकको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खिनुस् तपाईंहरुको सपना साकार हुनेवाला छैन । प्रतिगामी सपना काम लाग्दैन, त्यसमा जोडबल नगरौं । बंगलादेशमा बनाइदिन्छु भन्छन् । त्यहाँ पनि त थिए राजा । तर खै त त्यहा राजा फर्काएनन् त ?’

प्रधानमन्त्रीले मुलुक संविधान र कानुन अनुसार चल्ने बताए । उनले प्रतिगमनको वकालत गरेर सिलिङमा टाउको ठोकाउनुको कुनै अर्थ नरहेको बताए ।

मन्त्रीको क्षेत्रमा धेरै र सांसदको क्षेत्रमा कम बजेट भए बजेट च्यातिन सक्छः सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट च्यात्ने अवस्था नआउनेतर्फ सचेत रहन सरकारलाई चेतावनी दिएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद खतिवडाले मन्त्रीहरुलाई आफ्नो क्षेत्रमा मात्र बजेट नलैजान सचेत गराएका हुन् ।

उनले भने, ‘छिट्टै बजेट आउँदैछ। म माननीय मन्त्रीजीहरुलाई आग्रह गर्न चाहन्छु–मन्त्रीको क्षेत्रमा अलि धेरै, माननीयको क्षेत्रमा अलि कम भयो भने बजेट च्यात्ने अवस्था नआओस्। त्यो अनुरोध गर्न चाहन्छु।’

सांसद खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै र निवास फरक बनाउन आग्रह गरे । उनले यसो गरेमा सरकारको खर्च कटौती हुने बताए ।

उनले सार्वजनिक ऋण अहिले २६ अर्ब पुगेको र साधारण खर्च राजश्वले धान्न सक्ने अवस्था नरहेको भन्दै ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए ।

उनले भने, ‘खर्च कटौती कसरी गर्न सकिन्छ, त्यतातिर सरकारको ध्यान जानुपर्दछ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने, निवास फरक रहने व्यवस्था भयो भने अलिकता यसलाई सहजता हुन्छ ।’

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

झापा । झापामा श्रीमानले धारिलो हतियारले घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कनकाई नगरपालिका–२ सुकेडाका ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका छन् ।

गएराति कविराजले ३४ वर्षीया श्रीमती पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

“दुई जनाबीच झगडा भएपछि श्रीमतीको हत्या गरी कविराज फरार भएका थिए । उनलाई सुरुङ्गा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो”, उनले भने ।

घटनास्थल सुरक्षित राखी घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।