`

रुस–युक्रेन वार्ता : जेलेनस्कीद्वारा ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह

किएभ । टर्कीलाई रूस र युक्रेन बीचको वार्ता स्थलका रूपमा प्रस्ताव गरिएकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टर्की भ्रमण गर्ने अवसर खोज्न आग्रह गरेका छन् ।

एक भिडियो सन्देशमा युक्रेनी राष्ट्रपतिले वार्ताका लागि टर्की जान तयार रहेको बताए । एक्समा पोस्ट गरिएको सन्देशमा जेलेन्स्कीले ‘रुसी गोलाबारी र आक्रमणहरू जारी रहेको’ पनि आरोप लगाएका छन् ।

युक्रेनले कुटनीतिलाई समर्थन गरेको उल्लेख गर्दै उनले अमेरिकी राष्ट्रपतिले बैठकलाई समर्थन गर्ने र यसमा सहभागी हुने अवसर पाउने आशा व्यक्त गरे ।

‘युक्रेनले सधैँ कूटनीतिलाई समर्थन गरेको छ । म टर्की जान तयार छु । दुर्भाग्यवश, विश्वले अझै युद्धविरामका लागि गरिएका धेरै प्रस्तावका बारेमा रूसबाट स्पष्ट जवाफ पाएको छैन’, उनले भने, ‘रूसी गोलाबारी र आक्रमणहरू जारी छन् । प्रत्यक्ष बैठकको प्रस्तावबारे मस्को दिनभर मौन रहेको छ । एक विचित्र मौन । एउटा या अर्को तरिकाले, रूसले यो युद्ध अन्त्य गर्नुपर्नेछ – र जति चाँडो, त्यति राम्रो । हत्या जारी राख्नुको कुनै अर्थ छैन ।’

राष्ट्रपति एर्दोगान (टर्कीका राष्ट्रपति) ले बैठकको आयोजना गर्न पूर्ण तयारी व्यक्त गर्नुभएको छ भन्दै उनले भने, ‘राष्ट्रपति ट्रम्पले बैठकलाई पूर्ण समर्थन गर्नु महत्त्वपूर्ण छ र हामी उहाँले टर्की आउने अवसर खोज्न सक्षम हुनुहोस् भन्ने चाहन्छौँ ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न आह्वान गर्दै मे १५ (जेठ १ गते) देखि नै ढिलाइ नगरी वार्ता सुरु गर्नुपर्ने बताएका छन् ।

रूसी विदेश मन्त्रालयद्वारा साझा गरिएको टेलिभिजन सम्बोधनमा पुटिनले वार्ता ‘कुनै पूर्वशर्त बिना’ हुनुपर्ने र टर्कीले राष्ट्रपति रेसेप तैयप एर्दोगानको नेतृत्वमा फेरि आयोजकको भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए ।

‘हामी किएभका अधिकारीहरूलाई प्रत्यक्ष वार्ता पुनः सुरु गर्न सुझाव दिन्छौँ, जसलाई उनीहरूले नै सन् २०२२ मा अवरोध गरेका थिए’, पुटिनले घोषणा गरे, ‘हामी अर्को हप्ता मे १५ मा इस्तानबुलमा ढिलाइ नगरी वार्ता सुरु गर्ने प्रस्ताव गर्दछौं ।’

पुटिनले स्थानको छनोटबारे थप व्याख्या गर्दै भने, ‘म कुनै पूर्वशर्त बिना प्रत्यक्ष वार्ताको कुरा गर्दैछु र हामी अर्को बिहीबार मे १५ मा इस्तानबुलमा तुरुन्तै सुरु गर्न प्रस्ताव गर्दछौं । पहिले वार्ता भएको स्थान । यो राम्ररी थाहा छ कि टर्की सहकर्मीहरूले यस्तो वार्ता आयोजना गर्न आफ्नो सेवाहरू प्रस्ताव गरेका थिए र राष्ट्रपति एर्दोगानले विगतमा ती वार्ताहरू आयोजना गर्न धेरै काम गर्नुभएको थियो ।’

पहिलेको छलफलबारे विचार गर्दै पुटिनले भने, ‘त्यतिबेला ती वार्ताहरूको नतिजास्वरूप, एउटा संयुक्त सम्झौताको मस्यौदा तयार पारियो र किएभ वार्ता टोलीका प्रमुखले सुरुआती हस्ताक्षर गर्नुभएको थियो, तर पश्चिमको आदेशमा यसलाई सानो फोहोरको टोकरीमा फालिएको थियो ।’

उनले पश्चिमी प्रभावले ती वार्ताहरूमा भएको प्रगतिलाई अवरुद्ध गरेको सङ्केत गरे । युक्रेन र रुसबीचको द्वन्द्व लामो समयदेखि चलिरहेको छ । जसको परिणामस्वरूप महत्त्वपूर्ण मानवीय पीडा र आर्थिक क्षति भएको छ ।

सन् २०२२ फेब्रुअरीमा रुसले पूर्ण रूपमा आक्रमण गरेपछि तेस्रो वर्षमा प्रवेश गरेको रुस–युक्रेन युद्ध युरोपको सबैभन्दा विनाशकारी द्वन्द्वमध्ये एक बनेको छ ।

टरिगाउँ विमानस्थलका लागि तीन अर्ब ४२ करोड बजेट विनियोजन गर्न सांसद गिरीको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङस्थित टरिगाउँ विमानस्थल विस्तार गर्न माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद गिरीले विमानस्थलालाई राजनीतिक दलहरूले चुनाव जित्ने भर्याङको रूपमा मात्र प्रयोग नगर्न आग्रह गरेका हुन् ।

उनले सधैँ नीति तथा कार्यक्रममा विमानस्थलको स्तरोन्नति गर्ने भनिए पनि काम अगाडि नबढाएको भन्दै आपत्ति जनाए । उनले अगामी आर्थिक वर्षको बजेटमा विमानस्थलको स्तरोन्नतिको लागि तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘अस्ति भर्खरै नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा दाङ एयरपोर्ट बन्नेछ भन्दा हामीले ताली बजाएका छौँ । फेरि त्यो कुरा नाटकीय ढंगले नहराओस् ।’

सांसद गिरीले विगतदेखि नै निरन्तर आवाज उठाउँदै आए पनि प्रभावकारी ढंगले काम अगाडि नबढेकोप्रति असन्तुष्टि जनाए ।

पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँग देखिनु सुशासनको नमूनाः सांसद बराली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले अहिलेको सरकारले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद बरालीले पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँगै देखिनु सुशासनको नमुना भएको बताएका हुन् ।

उनले प्रहरीले नभेटेका एमाले सांसद कसरी प्रधानमन्त्रीसँग कुम जुधाएर बसे भन्दै प्रश्न गरे । उनले भने, ‘पक्राउ पुर्जी जारी भएको आफ्नै सांसद छन् । प्रहरी प्रशासन जाँदा भेट नभएको जानकारी आउँछ । प्रधानमन्त्रीसँग कुम जुधाएर मञ्चमा बस्ने । सुशासनको कुन चाहिँ नमुना हो ? यो सरकारले सुशासनको कुरा गर्नु बेकार छ ।’

पक्राउ पुर्जी जारी भएका एमाले प्रदेश सांसद विष्णु पन्थी सोमबार लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँगै देखिएका थिए । पन्थीविरुद्ध २०८१ जेठमा जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको थियो। तर, उनी अझै पक्राउ परेका छैनन् ।

तमान खोलागाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान

ढोरपाटन।  बागलुङको सबैभन्दा विकट तमान खोलागाउँपालिका-६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो । एक गाग्री पानी भर्न घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको स्थानीयको भनाइ छ ।

गाउँपालिकाको ४० लाख लागतमा गाउँमा ११७ धारा निर्माण भएका छन् । ‘एक घर, एक धारा’ निर्माण भएपछि समस्या समाधान भएको स्थानीय भिमकुमारी छन्त्यालले बताए।

छन्त्यालले भने, ‘बिहान सबेरै उठेर धाराबाट पानी ल्याउँदै समय जान्थ्यो, केटाकेटीलाई स्कुल पठाउन सधैँ हतार हुन्थ्यो, अहिले त्यो समयको भने सदुपयोग भएको छ, आँगनमै धारो भएपछि सजिलो भएको छ ।’

खानेपानी आयोजना सम्पन्न गर्न स्थानीयले जनश्रमदानबापत रु पाँच लाख बराबरको काम गरेको थिए । साथै एक लाख स्थानीयले संकलन गरी कुल सो वडाका वडाअध्यक्ष चित्रबहादुर छन्त्यालले बताए।

आयोजनाद्वारा नर्जा खानी गाउँका १११ घरधुरीमा धारा जोडिएका छन्भने छ वटा सार्वजनिक स्थानमा धारा निर्माण गरिएको छ । आयोजना सुरु भएको दुई वर्षभित्र गाउँलेले एक घर एक धारा निर्माण गर्न सफल भएका हुन् ।

भौगोलिक हिसाबले कठिन रहेको यस क्षेत्रको खानेपानी समस्या समाधानलाई गाउँपालिकाले पहिलो प्राथामिकतामा राखेको गाउँपालिकाका अध्यक्ष जयकलाले बुढा मगरले बताए।

विकास साझेदारलाई बोलाएर अर्थमन्त्रीले भने -सहयोग सदुपयोग गर्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्वका साथ अघि बढाइरहेको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटबारे विकास साझेदारसँग मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलमा उनले आर्थिक सुधारको प्रक्रिया थालिसकेको र त्यसलाई भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने बताए ।

‘केही समयदेखि आर्थिक सुधार थालेका छौँ । त्यसबाट सकारात्मक नतिजा पाइरहेका छौँ । भविष्यमा पनि आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व दिनेछौं’, उनले भने, ‘अध्यादेशबाट गरिएका कानुन संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव, विभिन्न नीति तथा निर्णय नीतिगत सुधारका महत्वपूर्ण पक्षहरु हुन् ।’

अर्थमन्त्री पौडेलले आगामी बजेट विशेष गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी दिए ।

स्रोत सुनिश्चिताको हिसाबले सुविधाजनक अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा मितव्यितता, खर्च कटौती र सीमित साधन स्रोतलाई अत्याधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने बताए ।

‘वैदेशिक सहायतालाई नेपालको आवश्यकता र प्राथमिकतामा केन्द्रित गर्ने, त्यसको सही र प्रभावकारी सदुपयोग गर्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ । पूँजीगत खर्च र त्यो खच नहुँदाकोे समस्या समाधानका लागि पनि ध्यान दिएका छौँ,’ अर्थमन्त्री पौडेलले भने ।

संसदमा प्रस्तुत गरेपछि आगामी बजेटलाई सबैले यथार्परक भनेर मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्दै अर्थमन्त्रीले मुलुकको विकासमा मित्रराष्ट्र र विकास साझेदारका निरन्तर सहयोगको अपेक्षा सरकारले गरेको बताए ।

अर्थ सचिव घनश्याम उपाध्यायले आगामी वर्षको बजेटले आर्थिक अनुशासन र निजी क्षेत्रको आत्मविश्वास वृद्धिलाई प्राथमिकतामा राख्ने बताए ।

अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले गत वर्षको तुलनामा चालु आवमा अर्थतन्त्र सुधारोन्मुख भएको बताए ।

मुुलुकको विकास साझेदार एवं तिनका प्रतिनिधिले राजस्व परिचालन, स्रोतको अधिकतम सदुपयोग, यथार्थपरक बजेट निर्माण तथा कार्यान्वयनलगायत विषयमा सुझाव दिँदै भविष्यमा पनि नेपाललाई सहायता निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

छलफलमा भारत, चीन, अमेरिका, बेलायत, जापान, कोरिया, अष्ट्रेलिया, नर्वे, जर्मनी, फिनल्याण्ड, युरोपेली सङ्घ, विश्व बैङ्क, एसियाली विकास बैङ्क, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य सङ्गठनलगायत विकास साझेदार सहभागी थिए ।

‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’

धरान । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले खेलमा अग्रस्थानमा पुग्नका लागि समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।

कोशी प्रदेश फुटबल सङ्घद्वारा आज यहाँ आयोजित ‘एशियाली फुटबल काउन्सिल (एएफसी) लाइसेन्स ‘डी’ तहको सामुदायिक फुटबल प्रशिक्षक तालिमको उद्घाटन गर्दै मन्त्री हाङ्गामले खेलाडीबाट प्रशिक्षक बन्नु जीवनको महत्वपूर्ण पाटो भएको उल्लेख गरे । उनले भने, “फुटबल अब हिजोको जस्तो सजिलो खेल रहेन । समयसँगै खेलको स्वरूप मात्र होइन, प्रतिस्पर्धा र दक्षताको मापदण्ड पनि बदलिएको छ ।”

फुटबल प्रशिक्षक भएर नयाँ पुस्ता तयार गर्नु चुनौतीपूर्ण कार्य भएको उनले बताए । “हिजोको समयमा हामी मोजाको बल बनाएर खाली खुट्टा खेल्थ्यौँ । तर अहिलेको पुस्ता आधुनिक जुत्ता र प्रविधिमैत्री बलको पहुँचसम्म पुगेको छ”, उनले भने ।

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले नेपालको लक्ष्य दश वर्षभित्र विश्वकप फुटबलको प्रतिस्पर्धामा नेपालको सम्मानजनक उपस्थिति सुनिश्चित गर्नु रहेको बताए । सो लक्ष्यमा पुग्न नेपाली फुटबललाई व्यवसायीकरण गर्न जरुरी रहेको उनले बताए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य दिपेन्द्र धिमालका अनुसार धरानस्थित एन्फा टेक्निकल सेन्टरमा चार दिनसम्म चल्ने आवासीय प्रशिक्षणमा कोशी प्रदेशका विभिन्न जिल्लाका ६० प्रशिक्षार्थी सहभागी छन् । एएफसी लाइसेन्स ‘डी’ को प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षक एएफसीबाट मान्यता प्राप्त हुनेछन् । 

दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

काठमाडौँ । दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारहरूलाई सम्मान गरिएको छ ।

खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलीप वान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवमा उत्कृष्ट भई समापन समयको विशेष शो प्राप्त गरेको थियो । आयोजकका अनुसार सुरुवाती चलचित्र र समापनको चलचित्रलाई विशेष मानिन्छ र यसलाई महोत्सको अनुहार भनिन्छ ।

सो सम्मान खत्रीका साथै डकुमेन्ट्रीकी निर्माता तथा निर्देशक किम ओक यङ, सहायक निर्देशक किम सनहाय, नेपाली भाषाकी अनुवादक इ गिजु मुना र मोहन कार्कीलगायत डकुमेन्ट्री निर्माण टोलीलाई रातो कार्पेटले सम्मान गरिएको हो ।महोत्सव कोरियाका तीन प्रमुख अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरू मध्ये एक हो ।

२६औँ जोओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सव आयोजकका अनुसार महोत्सवकामा विश्वभरबाट दुई हजार ४९७ चलचित्रहरू पेस गरिएका थिए र ५७ देशका २२४ चलचित्रहरू नौ हजार १४८ कथानक चलचित्रहरू र ७६ छोटा चलचित्रहरू) प्रदर्शन गरिएका थिए । तीमध्येबाट उत्कृष्ट दुई चलचित्रलाई सुरुआत र समापनको विशेष शो प्रदान गरिएको थियो ।

दश दिन चलेको महोत्सवमा सुरुआती फिल्म राडु जुडद्वारा निर्देशित ‘कन्टिनेन्टल’ २५ छनोट भएको थियो भने समापनका लागि काव्य डकुमेन्ट्री चलचित्र ‘मेसिनहरूको देशमा’ उत्कृष्ट हुँदै समापनको शो पाएको थियो ।

महोत्सव आयोजक समितिका अध्यक्ष मिन वू बेओमले हालसम्मकै संस्करणको उच्चतम रेकर्ड हासिल गर्न कार्यक्रम सफल रहेको बताए । सम्मानबाट मुलुकको प्रतिष्ठा अन्तरराष्ट्रियजगत्मा बढेको कवि खत्रीले बताए । 

प्रतिनिधिसभामा प्रि-बजेटमाथि १८ घण्टा छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथि करिब १८ घण्टा छलफल हुने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षमा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समयसीमा निर्धारण गरेको हो । कार्यतालिकाअनुसार आज चार घण्टा, बुधबार पाँच घण्टा, आगामी जेठ १ गते चार घण्टा तथा जेठ २ गते पाँच घण्टा छलफल हुनेछ ।

दलीय आधारमा समयसीमा निर्धारण गरिएको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाँच/पाँच घण्टा, नेकपा (माओवादी केन्द्र)ले दुई घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टीले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० मिनेट, नेकपा (एकीकृत समाजवादी)ले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी पार्टी नेपालले १६ मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट तथा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसदले समान पाँच–पाँच मिनेट समय पाएका छन् ।

सरकारको नीतितथा कार्यक्रमले उद्यमशील जनताको प्रवद्र्धन गर्न खोजेको छः सांसद बर्तौला(अन्तरवार्ता)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बर्तौला अहिले प्रमुख सचेतक हुन् । २०५३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका प्रमुख सचेतक मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । उनी ०५९ देखि २०६३ सम्म एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका थिए । २०६२ र २०६५ सालमा स्ववियु सभापति निर्वाचित भएसँगै राजनीतिमा सक्रिय भएका हुन् ।

प्रमुख सचेतक बर्तौतासँग सरकारको नीति तथा कार्यक्रम, संविधान कार्यान्वयन र संशोधन, सङ्घीयताको कार्यान्वयनलगायत जनताका समसामयिक विषयमा केन्द्रित भएर राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादत अङ्श ।

संविधान जारी भएको करिब दश वर्ष भएको छ, यो दश वर्षको अवधिमा कार्यान्वयनको अवस्थालाई तपाईंले कसरी हेर्नु भएको छ ?


–संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्नका निम्ति आवश्यक कानुन निर्माण गर्नुपर्ने हुन्छ । त्यसरी हेर्दा, संविधान कार्यान्वयनसँग जोडिएका कतिपय महत्वपूर्ण कानुन बनेका छन् । तथापि, त्यसभित्र पनि सङ्घीयतालाई कार्यान्वयन गर्ने कतिपय कानुन निर्माणकै चरणमै छन् । हामीले जुन शासकीय स्वरुप बनाएका छौँ, त्यसलाई अझै बलियो बनाउने गरी, मजबुद बनाउने ढङ्गबाट कार्यान्वयन गर्नेगरी कानुन निर्माण हुन बाँकी नै छ । विशेषगरी सङ्घीय निजामतीसँग सम्बन्धित ऐन, शिक्षासँग सम्बन्धित ऐन, सङ्घीय प्रहरीसँग सम्बन्धित ऐन समयमै ल्याउन सकेका छैनौँ । यी कानुन समयमै बन्न नसक्दा संविधान कार्यान्वयनको बाटोमा अगाडि बढ्नका लागि केही अफ्ठयारो भएको छ । यी कानुन समयमै बन्नुपर्ने सवालमा प्रश्न पनि उठेको छ । त्यसकारण, हामीले संविधान कार्यान्वनसँग जोडिएका, सङ्घीयता कार्यान्वयनसँग जोडिएका मूलभूत महत्वपूर्ण विधेयक छिटो निष्कर्षमा पु¥याउने गरी काम गरिरहेका छौँ । संविधान कार्यान्वयनलाई हेर्दा दश वर्षको  बीचमा दुईवटा निर्वाचन सम्पन्न भएको छ । कार्यान्वयन भएको छ, तर जति हुनुपर्ने हो, त्यति हुन सकेको छैन । संविधानको सबल पक्ष र दुर्बल पक्षको समीक्षा गर्नुपर्ने बेला आएको छ । दुर्बल पक्षलाई सुधार गर्नका लागि संविधान संशोधन गर्नुपर्छ भन्ने विषय उठेको छ । 


वर्तमान सरकार निर्माणका क्रममा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायतका दलको बीचमा भएको सम्झौतामा संविधान संशोधन गर्ने विषय पनि उल्लेख गरिएको छ, संविधान संशोधनको विषयलाई तपाईंले कसरी हेर्नु भएको छ ? 


–हामीले वर्तमान सरकार गठन गर्दैगर्दा भएको सातबुँदे सहमतिमा संविधान संशोधनको विषय पनि उल्लेख गरेका छौँ । पहिलो कुरा, संविधान कार्यान्वयनको अवस्थालाई समीक्षा गर्नुपर्छ । समीक्षा गर्दैगर्दा कुन–कुन विषयमा समीक्षा गर्नुपर्ने हो त्यसलाई निक्र्यौल गरौँ । हिजो संविधान बनाउँदै गर्दा आवश्यक देखिएका कतिपय विषय आज आवश्यक नहुन सक्छ । अथवा ती आवश्यकतालाई पुनः परिभाषित गर्नुपर्ने हो कि हैन ? यद्यपि कुन विषयमा संशोधन गर्ने हो भन्ने विषयको निष्कर्षसम्म सरकार पुगिसकेको छैन । सरकारले संविधान संशोधनका निम्ति ढोका खुल्ला गरेको छ । अब हामीले सबल पक्ष र दुर्बल पक्षको आधारमा संशोधनको विषय टुङ्गो लगाउनुपर्ने छ । सरकारले संशोधनको ढोला खुल्ला गर्दैगर्दा एउटा प्रश्न उठिरेहको छ । कांग्रेस एमालेले संविधानलाई मास्न खोज्यो, च्यात्न खोज्यो भन्ने गरिएको छ । यस विषयमा हामी के भन्छौ भने संविधान भनेको संशोधन नै गर्न नमिल्ने दस्तावेज होइन । समयअनुसार परिमार्जन गर्दै जाने विषय हो । संविधान संशोधन एक÷दुई पटक होइन, आवश्यकताका आधारमा  दर्जनौँ पटक पनि संशोधन गर्नुपर्ने हुनसक्छ । हामीले यो कोणबाट सोच्नुपर्छ जस्तो लाग्छ । समानुपातिक÷समावेशिता, धर्म निरपेक्षता, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र र सामाजिक न्यायलगायत संविधानको मूल विशेषतालाई थप बलियो बनाउँदै दुर्बल पक्षलाई पनि थप बलियो बनाउने गरी संविधान गर्नुपर्छ । हामी कांग्रेस एमालेको सङ्ख्याको कुरा मात्रै गरिरहेका छैनौँ, संविधान संशोधनको विषय सबैको साझा विषय बनाउन खोज्दैछौँ । 


अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका छौँ, यो अहिलेको हाम्रो सङ्घीयतालाई अझै बलियो र सुध्रिण बनाउन के गर्न सकिन्छ होला ? 


–मुख्यगरी सङ्घीयता भनेको सरकारलाई जनताको घरदैलोमा पुर्याउने भन्ने  हो । स्रोत/साधनको केन्द्रीकरणलाई विकेन्द्रीकरण गर्नु हो । राज्यका सबै तह क्षेत्रमा समानुपातिक प्रतिनिधित्व गराउने, राज्यका सबै तहमा जनताको पहुँच पुर्याउने सङ्घीयताको मूल उद्देश्य हो । त्यसकारण मुलुकको समग्र विकासका निम्ति, उपलब्ध स्रोतसाधनको समान रुपमा वितरण गर्नु सङ्घीयताको मूल मर्म हो । वडा तहदेखि रोजगारी सिर्जना गर्ने, नागरिकको गुनासो व्यवस्थापन गर्ने, नागरिकलाई सकारात्मक सन्देश दिने सङ्घीयताको मर्म हो । सङ्घीयताकै माध्यमबाट सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गरिएको हो । त्यो भावनालाई पूर्ण रुपमा कार्यान्वयन गर्न संविधानबमोजिम हामीले निर्माण गरेका शासकीय संरचनालाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न  आवश्यक छ । त्यसकारण हामीले संविधानमा र कानुनमा अधिकारको विषय लेख्दै गर्दा त्यसलाई कार्यान्वयनको तहमा पुर्याउनुपर्छ । नागरिकलाई सङ्घीयताको अनुभूति हुनुपर्छ । अब हामी व्यवहारमा कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्छ । संविधानले दिएको अधिकारको क्षेत्रभित्र बसेर, संवैधानिक सीमा, दायित्व र अधिकारभित्र बसेर ७५३ वटा स्थानीय सरकार, सातवटा प्रदेश सरकार र सङ्घीय सरकारले काम गरिरहेको छ । नागरिकलाई प्रदान गरिने सेवालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्छ । त्यसका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहमतिको आवश्यक छ । 


सरकारले यही वैशाख १९ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ, सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई तपाईंले कसरी हेर्नुभएको छ ? 


–सरकारको नीति तथा कार्यक्रमले उद्यमशील जनताको प्रवद्र्धन गर्न खोजेको छ ।  विद्यालय शिक्षालाई प्रभावकारी ढङ्गबाट प्रविधिमा जोड्ने विषयलाई प्राथमिकता दिएको छ । प्राविधिक धारसँग जोड्ने कुरालाई जोड दिएको छ । त्यसैगरी, अर्थतन्त्रको विद्यमान सीमाको आकलन गरी समाधानको बाटो ल्यौँल्याएको छ । काम गर्दै पढ्दै गर्ने युवाका निम्ति हप्तामा २० घण्टा काम गर्ने कुरालाई समेटेको छ । त्यसैगरी, क्यान्सरपीडित १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई निःशुल्क उपचारको कुरा पनि नीति तथा कार्यक्रमले गरेको छ । उत्पीडित र सीमान्तकृत समुदायका विद्यार्थीलाई मेडिकल एजुकेसनको क्षेत्रमा छात्रवृत्तिको कुरालाई महत्व दिएको छ । मुलुकको अहिलेको विद्यमान शासकीय प्रबन्धहरु गणतन्त्र र सङ्घीयताको सबलीकरणका लागि, सुदृढीकरणका लागि आवश्यक कानुन बनाउने  कुरालाई जोड दिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकता र अनिवार्य गर्दै नेपालको सिङ्गो समाजलाई पेन्सलेबल सोसाइटीका रुपमा अगाडि बढाउने नीति तथा कार्यक्रमको अर्को विशेषता हो । ठूला गम्भीर प्रकृतिका रोग लागेका व्यक्तिका निम्ति बिमामार्फत सम्बोधन गर्ने भनिएको छ । नीति तथा कार्यक्रमले अन्तरराष्ट्रियस्तरमा मेडल प्राप्त गर्ने खेलाडी र उनका परिवारको अध्ययनका निम्ति छात्रवृत्तिको व्यवस्था गर्ने कुरा गरेको छ । त्यसकारण आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अत्यन्त व्यावहारिक छ । प्रगतिशील छ । मुलुकको आजको अर्थतन्त्रलाई चलायमान गर्दै रोजगारी प्रवद्र्धन सिर्जना गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित छ । 


तपाईं मकवानपुर जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ, निर्वाचनको समयमा त्यहाँका जनतासमक्ष तपाईंले राख्नुभएको प्रतिबद्धता कति पूरा गर्नुभयो ?


–पहिलो कुरा एउटा सांसदको भूमिका के हो ? उस्ले के गर्नुपर्छ? सांसदको संवैधानिक अधिकार के हो भन्ने विषयमा प्रस्ट हुनुपर्छ ? त्यसको आधारमा उसको कार्यसम्पादन मूल्याङ्न हुनुपर्छ । तथापि, सामान्यतः सांसद भनेको कानुन निर्माण गर्ने हुन भन्ने बुझिन्छ । त्यो हो पनि । तर हामीले निर्वाचनमा विशेष गरी कानुन निर्माणको पाटोभन्दा पनि विकास निर्माणको पाटोलाई बढी प्रचार गरियो । निर्वाचनको समयमा हाम्रो मुख्य काम कानुन निर्माण गर्ने हो भनेर भन्न सकेनौँ । विकास निर्माणको अभियन्ता बनेर काम गर्छौं भनियो । २०७४ सालभन्दा अगाडि केन्द्रीकृत शासन प्रणाली हुँदा त्यो कुरा ठिकै थियो होला ।  हामी सङ्घीयतामा गइसकेपछि पनि सांसदले वडाअध्यक्ष वा पालिका प्रमुखले गर्ने कुरा गरिरहेका छौँ । तीन तहको सरकारमा गइसकेपछि पनि  हामी सांसदले विकासको कुरा गरिरहेका छौँ । तथापि, मैले निर्वाचनको समयमा विकास निर्माणसँग जोडिएका जनताका माग पूरा गर्छु भनेको थिए । जस्तोः एक पालिका, एक आवासीय विद्यालय । त्यसका निम्ति नीति तहमै परिवर्तन गर्छु भनेको थिए । घरघरमा खानेपानीको व्यवस्था गर्छु भनेको थिए । स्रोतसाधन परिचालनका निम्ति सक्दो पहल गर्छु भनेको थिएँ । यी पाटोमा मैले केही सकारात्मक ढङ्गबाट काम गर्न पहल गरेको छु । सडक सञ्जाल मेरो निर्वाचन क्षेत्रको सबैभन्दा ठूलो समस्या हो । पालिकासम्म पुग्ने सडकलाई कालोपत्र गर्न बजेटमा पहल गर्ने काम पनि भइरहेको छ ।  कतिपय ठाउँमा पुल निर्माण गर्न बजेट व्यवस्थापनमा पहल गर्ने पनि काम भएको छ । खासगरी मानव संसाधान विकासका लागि विभिन्न तहका सरकारसँग समन्वय गरेर सीपमूलक कार्यक्रमका निम्ति पनि मेरो तर्फबाट पहल गर्दै आएको छु । आफ्नो भूमिका कानुन निर्माण गर्ने भए पनि हामीले सडक बनाऔँ, पुल बनाऔँ र विद्यालय बनाऔँ भन्नु परेको छ । पछिल्लो समयमा हामीले सांसदको भूमिका, काम र कर्तव्यका बारेमा पनि समीक्षा गर्नुपर्ने भएको छ । 


एकातिर, सांसदले कानुन बनाएनन् भन्नेको शृङ्खला बढ्दो छ । अर्कोतिर, बुद्धिजीवी  वा बौद्धिक सर्कलले नै कति वटा पुल र बाटो बनाऔँ भनेर प्रश्न गर्ने शृङ्खलाले गर्दा सांसदहरु एकदम अफठ्यारोमा छन् । सांसद केमा केन्द्रित हुनुपर्ने हो । सांसद आफूले आफूलाई कुन भूमिकामा उभ्याउनुपर्ने हो ?


–सांसदलाई मूल रुपमा विधायकी काममा केन्द्रित गर्नुपर्छ । हामीलाई सांसदका रुपमा कति विकासका काम भए भनेर सोध्नेभन्दा पनि यो रेकर्ड प्रत्येक वडासँग हुनुपर्छ । प्रदेश सरकारसँग हुनुपर्छ । यसो गर्न सकियो भने संसदीय निर्वाचन पनि व्यवस्थित हुन्छ । मितव्ययी हुन्छ । यसो गर्दा गुणस्तरीय हुन्छ । प्रणालीको विकास हुन्छ । किनभने एउटा कानुन बनाउन दर्जनौँ पुस्तक बढ्नुपर्ने हुन्छ । देशको कानुनी अभ्यासको अध्ययन गर्नुपर्छ । सबै मान्छेलाई यो रुचि हुँदैन । अहिले वडा वडामा सरकार भएको बेलामा उनीहरुमार्फत विकास गराउने हो । 

जनमत पार्टीकी लुम्बिनी प्रदेशकी सांसदले दिइन् राजीनामा

बुटवल । जनमत पार्टीको सांसद गीता गुरुङले लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट राजीनामा दिएकी छिन् । पदमा बसेर जनताका लागि केही गर्न नसकिएको भन्दै उनले जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएकोले पदबाट राजीनामा दिएको उल्लेख गरेकी छिन् ।

देश र जनताको पिर मर्का राम्री बुझेको उल्लेख गर्दै उनले देश जनता भन्दामाथि कोही नहुने बताएकी छिन् । उनी समानुपातिक तर्फबाट संसद् चुनिएकी थिइन् ।

बिपी राजमार्ग पुनः संचालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरूले रोशीखोलामा आएको बाढीले अवरुद्ध बिपी राजमार्ग पुनः संचालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले अवरुद्ध राजमार्ग खुलाउनेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा माओवादी सांसद सूर्यमान दोङले क्षतिग्रस्त बनेको सडकको विकल्पमा तेमाल सडक बनाउन ध्यानाकर्षण गराएका छन् । सांसद दोङले बाढीका कारण बिपी राजमार्गपूर्णरुपमा अवरुद्ध भएको र सीमानामा धेरै विरामी अलपत्र परेका बताए ।

उनले भने, ‘काभ्रेमा एकजना महिला फेरि बेपत्ता भएको छ, पनौतीदेखि पूर्वी क्षेत्रको यातायात फेरि ठप्प भएको छ । यतिबेला सिन्धुली र काभ्रेको सीमानामा ५० औं बिरामी अलपत्र परेका छन्। एम्बुलेन्स लगायतका सवारी साधन ठप्प छन् । क्षतिग्रस्त बनेको सडकको विकल्पमा तेमाल सडक बनाउन ध्यानाकर्षण गराउँछु ।’

त्यस्तै नेकपा माओवादी केन्द्रका अर्का सांसद लेखनाथ दाहालले रोशीको बाढीका कारण बीपी राजमार्ग १४ ठाउँमा अवरुद्ध भएकोले सुचारु गराउन सरकारको ध्यानाकर्षण गराए ।

उनले अवरुद्ध बनेको राजमार्ग तत्काल खुलाउनका लागि विपद् कोषमार्फत अत्यावस्यक तयारी थाल्न र खहरे नियन्त्रण बजेट व्यवस्था गर्न माग गरेका छन् । अघिल्लो पटक बाढी आउँदा पनि सरकारले प्रभावकारी उद्धार र राहत वितरणको काम नगरेको उनले बताए ।

उनले भने, ‘त्यतिबेला पनि सरकारबाट राहत र उद्धाकार लागि प्रभावकारी पहल भएन। पुर्नस्थापना र पुनर्निर्माणमा संघीय सरकारको ध्यान गएको छैन।’

भारतको पञ्जाबस्थित अमृतसरमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

पञ्जाब । भारतको पञ्जाबस्थित अमृतसरमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ । मदिरा सेवनबाट गम्भीर बनेका ६ जनालाई अस्पतालमा भर्ना गरिएको पञ्जाब प्रहरीले जनाएको छ । एएनआईका अनुसार अमृतसरको मजीठा जिल्लामा यो घटना भएको हो ।

प्रहरीले मदिराका मुख्य सप्लायर परबजीत सिंहसहित चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सरकारले तर्फबाट नक्कली मदिरा सप्लायरविरुद्ध कडा कारबाहीको निर्देशन दिएको छ ।

अमृतसरका डिप्टी कमिश्नर साक्षी एसले मेडिकल टिम यी पाँच गाउँका घर घरमा गएर परीक्षण गरिरहेको बताए ।

तोलामा दुई हजारले घट्यो सुन

काठमाडौँ । सोमबारको तुलनामा मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मंगलबार तोलामा दुई हजारले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।
शुक्रबार प्रतितोला सुन एक लाख ८६ हजार ८०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २५२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रत्येक आतङ्कवादको विरुद्ध शून्य सहनशीलताः प्रधानमन्त्री मोदी

बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँग उनको सरकारले केवल दुईवटा मामिलामा मात्र संवाद गर्ने बताएका छन् । शनिबार दुई देशबीच संघर्षविरामको सहमति भएपश्चात् मोदीले पहिलो सार्वजनिक सम्बोधन गर्ने क्रममा सोमबार राति त्यसो भनेका हुन्।

अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा आतङ्कवादीहरूले २६ जना पर्यटकको ज्यान लिएपछि बढेको तनावका माझ भारतले मे ७ मा पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा सैन्य कारबाही गरेको थियो ।

त्यसपछि करिब चार दिनसम्म दुई पक्षबीच आक्रमण र प्रत्याक्रमणका विवरण आएका थिए । सोमबार आफ्नो सम्बोधनमा मोदीले अहिलेको युग युद्धको युग नभएको तर आतङ्कवादको पनि युग नभएको बताए । उनले भने, ‘प्रत्येक आतङ्कवादको विरुद्ध शून्य सहनशीलता नै राम्रो संसारको ग्यारेन्टी हो। पाकिस्तानी सेना, पाकिस्तानको सरकार जुन आतङ्कवादलाई मलजल गर्दैछन् त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त गरिदिनेछ ।’

पाकिस्तानसँगको संवादबारे भारतको घोषित नीति नै रहेको पनि उनले बताए । उनले भने, ‘यदि पाकिस्तानसँग कुराकानी हुन्छ भने त्यो आतङ्कवादबारे हुन्छ। पाकिस्तानसँग कुराकानी हुन्छ भने पाकिस्तान अधिनस्थ कश्मीरबारे कुराकानी हुन्छ ।’

भारतीय प्रधानमन्त्रीले पाकिस्तानका ’सैन्य तथा आतङ्कवादी ठेगाना’हरू विरुद्धको भारतीय कारबाही ’केवल स्थगित’ गरिएको बताएका छन् ।

उनले भने, ‘अपरेशन सिन्दूर अन्तर्गतका भारतीय सैन्य कारबाही अहिले केवल स्थगित भएको छ। आउने दिनमा पाकिस्तानका प्रत्येक कदमलाई यिनै कसीमा नापिने छन् ।’

चार दिनको सङ्घर्षपश्चात् शनिवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशबीच संघर्षविरामको सहमति भएको घोषणा गरेका थिए ।

सगरमाथा संवादको तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैैछ । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको निर्णय छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस ८ गते काठमाडौँमा सगरमाथा संवाद हुने घोषणा गर्नुभएको थियो । त्यस्तै गत माघ २१ गतेको मन्त्रिपरिषद् बैठकबाट सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्ने निर्णय भएको थियो भने फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट संवादको अवधारणापत्र स्वीकृत गरी सचिवालय स्थापना गरिएको थियो ।

संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

प्रचार प्रसार समितिका संयोजक क्षेत्रीले समसामयिक विश्वका जल्दाबल्दा मुद्दाहरूमा राष्ट्र÷सरकार प्रमुखहरू, मन्त्रीहरू, सांसदहरू, नीति निर्माताहरू, विज्ञहरू, सञ्चारमाध्यम, व्यापारिक समुदायलगायतबीच नेपालमा बहुसरोकारवाला, अन्तर–क्षेत्रीय विश्वव्यापी संवादका लागि उपयुक्त मञ्च उपलब्ध गराउनु संवादको उद्देश्य रहेको जानकारी दिए ।

संवादमा झण्डै ४० देशका १५० बढी विदेशी पाहुनाको सहभागिता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । “विदेश पाहुनामध्ये केही उच्च राजनीतिक व्यक्तित्वदेखि विदेशमन्त्री, वन तथा वातावरणसम्बन्धी मन्त्री, उच्च सरकारी अधिकारी, दातृ निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखहरू, शैक्षिक व्यक्तित्व, जलवायु विज्ञलगायत हुनुुहन्छ”, प्रचार प्रसार समितिका संयोजक क्षेत्रीले भने ।

काठमाडौँको होटल सोल्टीमा हुने संवादलाई सफल बनाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसार सबै तयारी गरिएको छ । संवादमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी करिब चार सय विशिष्ट व्यक्तित्वको सहभागिता रहने बताइएको छ ।

संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक उच्चस्तरीय प्लेनरी छलफल हुने, विभिन्न विषयमा १२ वटा समानान्तर सत्र तथा केही साइड इभेन्टहरू पनि हुने तालिका रहेको सचिवालयका सदस्यसचिवसमेत रहेका वन मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिए । तेस्रो तथा अन्तिम दिन हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छभने संवादको काठमाडौँ घोषणा जारी गरिने छ ।

संवाद नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागि समेत उपयोगीसिद्ध हुने बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घले यो वर्ष २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइने छन् । “संवादमा खासगरी हिमालबाट समुद्रसम्म परिरहेका असर, दिगो हरित अर्थ व्यवस्था, जलवायु हानिनोक्सानी न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य, क्षेत्रीय र वैश्विक साझेदारीलगायत विषयमा छलफल गरिने छ”, सहचिव डा ढकालले भने । सरकारले संवादमा हुने छलफल, मन्थन, संवादबाट निस्किने निचोड तथा निष्कर्षलाई नीति निर्माणमा समेट्ने जनाएको छ ।

सगरमाथा संवाद एक बहु–सरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ । एक मञ्चको रूपमा, यसले सकारात्मक परिवर्तनका लागि बहसलाई आकार दिन र अगाडि बढाउन सक्ने सरोकार, प्रभाव र क्षमता भएका समाजका बृहत् तप्काका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको हो । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवद्र्धन गर्नु हो ।

विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून छ । तर जलवायु परिवर्तनका असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ । बढ्दो जलवायु परिवर्तनका असर, वायु प्रदूषणलगायत विश्वव्यापी सङ्कटले नेपालजस्ता अल्पविकसित, हिमाली देश र यहाँका नागरिक आक्रान्त् छन् । यस परिस्थितिमा संवादले जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन तथा सामूहिक कल्याण प्रवद्र्धन गर्ने विश्वव्यापी प्रयासमा योगदान गर्न सक्ने एक जीवन्त संवाद मञ्चको रूपमा आफूलाई प्रमाणित गर्ने उद्देश्य राखेको छ ।

प्रदेश अस्पताल दमौलीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

तनहुँ ।  प्रदेश अस्पताल दमौलीमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौँ पुर्याउनुपर्ने रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।

स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा साढे दुई महिनाअघिदेखि प्रभावित भएको प्रदेश अस्पताल दमौलीका मेडिकल सुपरिटेन्डेन्ट डा परिवर्तन बरालले जानकारी दिए। अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सञ्चालनमा रहे पनि शल्यक्रिया (अप्रेशन) गर्नुपर्ने महिलालाई रेफर पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

गाइनोलोजिष्ट कुमार विष्ट सरुवा भएर भक्तपुरस्थित क्यान्सर अस्पताल गएपछि विशेषज्ञ सेवा प्रभावित भएको डा बराल बताए ।

उनले भने, ‘गाइनोलोजिष्ट नहुँदा सेवा प्रभावित भएको सम्बन्धित निकायमा जानकारी गराएको छु, तर सुनुवाइ हुन सकिरहेको छैन ।’ अस्पतालमा ‘सजनर्’ नहुँदा दैनिक कम्तीमा एक जनालाई बाहिर पठाउनु बाध्यता छ । आवश्यकताका लागि विज्ञापन प्रकाशित गरे आवेदन नपरेको डा बरालले बताए।

आईपीएलका बाँकी खेलको तालिका घोषणा

काठमाडौं । भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेलको तालिका घोषणा गरिएको छ ।

युद्धविरामपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलका बाँकी खेल १७ मे बाट पुनः सुरु हुनेछ र फाइनल खेल ३ जुनमा हुने जानकारी दिएको हो । बाँकी खेलहरू ६ वटा मैदान– बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा खेलिनेछ ।

भारत र पाकिस्तानबीचको तनावका कारण बीसीसीआईले आईपीएललाई एक हप्ताका लागि स्थगित गरेको थियो । त्यसबेला १८औँ सिजनका ५८ खेलहरू सम्पन्न भइसकेका थिए।

तीमध्ये धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रोकिएको थियो, जसले गर्दा उक्त खेलको कुनै नतिजा निस्कन सकेन। अब बीसीसीआईले यो खेल पुनः आयोजना गर्ने निर्णय गरेको छ। यो खेल २४ मे मा जयपुरमा हुनेछ।

पुल भासिएका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भासिएको छ । सोमबार साँझ पुल भासिएपछि राजमार्ग अवरुद्ध भएको हो ।

फलामे पुल भासिएका कारण राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

कार्यालयले भनेको छ, ‘पूर्वपश्चिम राजमार्ग नवलपुर जिल्ला (ब.सु.पू.)अन्तर्गत चोरमारास्थित गिरूबारी पुल भासिएका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । वैकल्पिक सडक प्रयोग गर्नुहुन अनुरोध छ ।’

कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

मकवानपर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मत सम्भार गरी आज साँझदेखि विद्युत उत्पादन सुरु गरिएको छ ।

विद्युत् गृहको एउटा टर्वाइनमा एलाइन्मेन्टको समस्या मर्मत गर्न केहीदिन अघिदेखि विद्युत गृह बन्द गरिएको थियो ।

कूल १४ मेगावाट मध्ये एउटा टर्वाइनबाट सात मेगावाट विद्युत् उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख प्रसन्न मुनि ताम्राकारले बताए । उक्त विद्युत् केन्द्रमा रहेको दुई वटा टर्वाइन लगातार सञ्चालन भइरहँदा एउटा टर्वाइनमा ठोकिएर ठूलो आवाज आइरहेकाले तत्काल बन्द गरेर चिनियाँ कम्पनीका प्राविधिकमार्फत मर्मत सुरु गरिएको ताम्राकारले जानकारी दिए ।

टर्वाइन मेसिन सञ्चालन आएको केही घण्टा पछिदेखि साविकमा उत्पादित १४ मेगावाट विद्युतको केन्द्रीय ग्रिडमा जोडिने आयोजना कार्यालयले जनाएको छ । कुलेखानी पहिलो आयोजनाबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।

उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू गरेका छन् । ‘अन्नबाली सप्रियोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समूदायको साकेला उभौली पर्व सोमबारदेखि मनाउन सुरु गरेका हुन् ।

भूमि, पितृ र अन्नको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंमा रहेका किराँत समुदायले सोमबार ललितपुरको नखीपोटमा कार्यक्रमको आयोजना गरेका छन् ।

काठमाडौ उपत्यकामा बसोबास गर्ने किराँत समुदायले पर्वको अवसरमा साकेला नाचेर रमाइलो गरेका छन् । अन्नबाली लगाउने सिजन सुरु भएकाले त्यसलाई नष्ट नहोस् भन्ने कामनाका साथ प्रकुतिको पूजा गरी यो पर्व मनाउने गरिएको किराँत समूदायका अगुवाहरु बताउँछन् ।

तस्बिरः हरिराम भेटुवाल/रासस

जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्ति आवश्यकः प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन् ।

सोमबार पार्टीको भातृ संगठन वाइसीएल नेपालको प्रथम कर्णालीका प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको बताएका हुन् ।

आफूलाई शेरा दरबारसँग जोड्ने गरेकाले त्यसको फाइल खोल्न संसदमा बोल्दै त्यहाँ जोडिएका शेरा दरबारमा म जोडिएको भए फाइल खोल्न चुनौती दिएको बताए ।

उनले भने, ‘प्रचण्डको शेरा दरबारमा छ भने फाइल खोल भनेको थिएँ । तर उनीहरुले हिम्मत गरेनन् । किनकी मेरो केही थिएन । हामीले सुशासन, न्याय र समानताको कुरा गरेका छौँ ।’

जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक भएको उनले बताए ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष प्रचण्डले अब माओवादीले कांग्रेस–एमालेको वैशाखी नटेक्ने पनि दाबी गरे । आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने पार्टी बनाउने आफ्नो संकल्प रहेको बताउँदै त्यसका लागि आफू जनतामा फर्किएको उनले उल्लेख गरे ।

सडकबाटो बिग्रेपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द

चितवन । चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि चालुअवस्थामा रहेको ‘प्याराग्लाइडिङ’ बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९, चौकीडाँडादेखि कविलासडाँडासम्म साहसिक खेलका रूपमा सञ्चालनमा आएको प्याराग्लाइडिङको उडान बन्द भएको हो ।

प्याराग्लाइडिङ बन्द भएसँगै त्यस क्षेत्रमा रमाउन जाने पर्यटक उल्लेख्य सङ्ख्यामा घट्नेक्रम सुरु भएपछि स्थानीयवासी चिन्तित देखिन्छिन । दुई वर्षअघिको वैशाखमा सुरु भएको प्लाराग्लाइडिङ करिब तीन महिना चलि बन्द भएको हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजय घलेले जानकारी दिए । स्टेसनसम्म पुग्ने सडक सहज नभएपछि पर्यटकको अभवामा प्याराग्लाइडिङ बन्द गरिएको उनले स्प्ष्ट गरे ।

चौकीडाँडास्थित ‘स्टेसन’ स्थलसम्म जाने सडकको अवस्था सहज नभएकाले तत्कालका लागि उडान बन्द गरिएको बताउँदै अध्यक्ष घलेले अहिले सो सडक निर्माणाधीन अवस्थामा रहेको र स्टेसन क्षेत्र आसपासमा होटलहरु निर्माण गर्ने काम धमाधम भइरहेकाले केही समयका लागि उडान बन्द गरिएको जानकारी दिए ।

उनले भने, “सडकबाटो बिग्रेका कारण स्टेसनसम्म जान समस्या भएपछि चौकीडाँडामा अन्य संरचना निर्माण गर्ने काम भइरहेको, बाटो बनेपछि सम्भवत आगामी देसैँदेखि प्याराग्लाइडिङ सञ्चालनमा ल्याउँछौँ ।”

भरतपुर महानगरको भ्रमण वर्ष–२०२४ लाई लक्षित गरी मुलुकको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको सो प्याराग्लाइडिङ चौकीडाँडाको दुई स्थानबाट गर्न सकिने छ । ३० करोडको लगानीसहित १२ वटा प्याराग्लाइडिङको सो ठाउँमा व्यवस्था गरिएको ।

समुुद्री सतहबाट एक हजार ५० मिटर उचाइमा रहेको चौकीडाँडा र ५८० मिटर उचाइको कविलासबाट ‘टेकअफ’ गराउने र प्याराग्लाइडिङ अवतरण भने त्रिशूली नदी किनार गर्ने व्यवस्था मिलाइएको छ । उडान अवधि २० देखि ३० मिनेट रहेको सो प्याराग्लाइडिङका क्रममा नजिकैको देवघाट आसपासका रमणीयस्थलको दृश्यावलोकनसहित भरपुर आनन्द लिन सकिने बताइएको छ ।

भरतपुर महानगरापालिका वडा नं २९ का अध्यक्ष सूर्यबहादुर गुरुङले पर्यटकीय हिसावले सम्भावना बोकेको चौकीडाँडा र कविलासडाँडामा प्याराग्लाइडिङ सञ्चालनमा आउँदा स्थानीय जनता हर्षित भएको, व्यापार व्यवसायसहित चहलपहल बढेको, स्थानीयले रोजगारी पाएको, जग्गाको मूल्य वृद्धि भएको उल्लेख गर्दै छिटोभन्दा छिटो प्याराग्लाइडिङ सञ्चालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।

उनले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले निजी क्षेत्रबाट सुरु भएको सो प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न स्थानीय सरकार तयार रहेको बताए।

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

ढाका (बङ्गलादेश) । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् ।

बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग सोमबार ढाकामा भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताएका हुन् ।

प्राध्यापक युनुसले भने, “बङ्गलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ ।”

उनले नेपाल र बङ्गलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उल्लेख गरेका थिए । गत अक्टोबरमा बङ्गलादेश–नेपाल–भारतमाझ नेपालबाट बङ्गलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो ।

उनले बङ्गलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे । “हामीले रङ्गपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ, क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ”, उनले भने ।

त्यस अवसरमा उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको उल्लेख गरेकी थिइन् । “नेपालका सबै सांसदहरु बङ्गलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ, हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्थरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ ।”

उनले हाल बङ्गलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै यहाँको गुणस्तरीय शिक्षाको प्रशंसा गरिन् । साथै उनले यसमार्फत दुई देशबीचमा शैक्षिक सहकार्य पनि गर्न सकिने सम्भावना औँल्याइन् ।

त्यसअवसरमा दुवै पक्षबाट भौतिक अन्तरआबद्धताका विषयमा छलफल भएको उपसभामुख रानाको सचिवालयले जनाएको छ । प्रमुख सल्लाहकार युनुसले दुई देशबीच सडक सञ्जाल विस्तारबाट नेपालले उल्लेख्य मात्रामा व्यापारिक लाभ लिन सक्ने धारणा राखे ।

त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, प्रमुख सल्लाहकार युनुसका दिगो विकास लक्ष्य कार्यक्रमका संयोजक लामिया मोरसेद र बङ्गलादेशका परराष्ट्र मन्त्रालयका महाप्रबन्धक इस्रात जहानलगायतको उपस्थिति थियो । 

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको हो ।

दुर्घटनामा परी तीनजना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली घाइते भएका छन् । सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।

घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर जिप ४०० मिटर तल खसेको थियो ।

कुर्दिस लडाकू पिकेकेको विघटन, सशस्त्र सङ्घर्ष अन्त्यको घोषणा

इस्तानबुल । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की राज्यविरुद्धको सशस्त्र सङ्घर्ष अन्त्य गरेको र चार दशक लामो घातक विद्रोहमा विराम लगाएको बताएको छ ।

सन् १९७० को दशकको उत्तरार्धमा अब्दुल्लाह ओकलानद्वारा स्थापित पिकेकेले सन् १९८४ मा हतियार उठाएर टर्की राज्यविरुद्ध आक्रमणको शृङ्खला सुरु गरेको थियो र यसमा ४० हजारभन्दा बढीको ज्यान गएको थियो ।

“१२ औँ पिकेके काङ्ग्रेसले पिकेकेको सङ्गठनात्मक संरचना विघटन गर्ने र यसको सशस्त्र सङ्घर्षको विधि अन्त्य गर्ने निर्णय गरेको छ”, कुर्द–समर्थक एएनएफ समाचार एजेन्सीद्वारा प्रकाशित वक्तव्यमा समूहले भनेको छ ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानको एकेपी पार्टीले यस कदमलाई ‘महत्त्वपूर्ण कदम’ का रूपमा स्वागत गरेको छ, तर सरकारले यस प्रक्रियालाई ‘सावधानीपूर्वक निगरानी’ गर्ने चेतावनी दिएको छ ।

ओकलानले फेब्रुअरी २७ मा आफ्ना लडाकुहरूलाई इस्तानबुलको इम्राली जेल टापुबाट एउटा पत्रमा निःशस्त्रीकरण र विघटन गर्न आग्रह गरेपछि यो ऐतिहासिक घोषणा आएको हो । उक्त जेलमा उनी सन् १९९९ देखि बन्दी छन् ।

उनले पिकेकेलाई निर्णयलाई औपचारिक रूप दिन एक सम्मेलन आयोजना गर्न पनि अनुराध गरेका थिए । उक्त सम्मेलन पिकेकेले गत हप्ता इराकको कान्डिल पहाडमा युद्धविराम घोषणा गर्दा गरेको थियो ।
त्यहाँ यसका नेताले ‘पिकेकेका गतिविधिहरू सम्बन्धी ऐतिहासिक महत्त्वका निर्णयहरू’ गरेको एएनएफले शुक्रबार रिपोर्ट गरेको थियो ।

“यो अन्त्य होइन, यो नयाँ सुरुवात हो”, पिकेकेका कार्यकारी समितिका सदस्य दुरान कल्कनले कुर्दिश समर्थक मेजोपोटामिया समाचार एजेन्सीले उदृत गरेको टिप्पणीमा प्रतिनिधिहरूलाई भने ।

एकेपीका प्रवक्ता ओमर सेलिकले यो निर्णय ‘व्यवहारमा लागू गरियो र यसका सबै आयामहरूमा साकार भयो भने’ यसले नयाँ युगको ढोका खोल्ने बताए ।

– एर्दोगानका लागि ठूलो जित –

“इम्रालीको आह्वानपछि पिकेकेको आफैँलाई विघटन गर्ने र हतियार त्याग्ने निर्णय आतङ्कमुक्त टर्कीतर्फको महत्त्वपूर्ण कदम हो”, सेलिकले भने, “विघटन र हतियार समर्पण गर्ने निर्णयको पूर्ण र ठोस कार्यान्वयन… एक महत्त्वपूर्ण मोड हुनेछ ।”

उनले यस प्रक्रियालाई सरकारद्वारा ‘मेहनतका साथ अनुगमन’ गरिने बताए । यो घोषणा अक्टोबरमा सुरु भएको लामो समयदेखि रोकिएका वार्ताहरू पुनः सुरु गर्न सात महिना लामो कामको परिणाम थियो जतिबेला अङ्काराले ओकलानलाई अप्रत्याशित मेलमिलापको प्रस्ताव गरेको थियो ।

“यदि पिकेकेले आफ्नो विघटनको घोषणा गर्छ र कुनै पनि बाधा बिना प्रक्रिया पूरा गर्छ भने, त्यो एर्दोगानका लागि ठूलो जित हुनेछ”, वासिङ्टनस्थित मिडल इस्ट इन्स्टिच्युटका गोनुल तोलले भने ।

उनले एर्दोगानको एकेपीले मतपेटिकामा प्रहार गरेको केही महिनापछि कुर्दिशहरूसँग मेलमिलाप खोज्नु आन्तरिक राजनीतिसँग धेरै सम्बन्धित रहेको बताए ।

विश्लेषकहरू कुर्दहरूसँगको सम्झौताले एर्दोगानलाई संविधान संशोधन गर्न र कार्यालयमा आफ्नो कार्यकाल विस्तार गर्न अनुमति दिन सक्ने र साथै कुर्दिश समर्थक दलहरू र टर्कीका बाँकी विपक्षीहरू बीच फाटो पार्न सक्ने बताउँछन् ।

“यो ओकालन खुलासाको मुख्य चालक सधैँ एर्दोगानको शासन सुदृढ गर्नेबारे रहेको छ । किनभने यदि यो सम्पूर्ण प्रक्रिया सफल भयो भने उनी सन् २०२८ को चुनावमा विभाजित विपक्षको सामना गर्ने बलियो उम्मेद्वारका रूपमा जानुहुनेछ”, तोलले भने ।

सप्ताहन्तको भाषणमा एर्दोगानले ‘हामी आतङ्कमुक्त टर्कीको लक्ष्यतर्फको बाटोमा दृढ कदमका साथ अघि बढिरहेका छौँ’ भन्दै विघटन कुनै पनि क्षणमा घोषणा गर्न सकिने सङ्केत दिएका थिए ।

अङ्कारा, वासिङ्टन र ब्रसेल्सले आतङ्कवादी समूह घोषणा गरेको पिकेकेले सन् १९८४ देखि टर्की राज्यविरुद्ध विद्रोह गर्दै आएको छ ।

यसको मूल उद्देश्य कुर्दहरूका लागि मातृभूमि बनाउनु थियो । कुर्दहरूले टर्कीको आठ करोड ५० लाख जनसङ्ख्याको लगभग २० प्रतिशत ओगट्छन् ।

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहान्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः खोलेको छ ।

भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल अब ‘तत्काल प्रभावबाट’ नागरिक सञ्चालनका लागि उपलब्ध छन् ।

भारत र पाकिस्तानबीच चार दिनसम्म भीषण लडाइँ सुरु भएपछि गत हप्ता ती विमानस्थल बन्द गरिएका थिए । विमानस्थल बन्द गरिएसँगै दुई मुलुकबीचको लडाइँ पूर्ण युद्धमा विकसित हुनसक्ने विश्वव्यापी चिन्ता सिर्जना गरेको थियो ।

प्रमुख भारतीय एयरलाइन इन्डिगोले ‘पहिले बन्द गरिएका मार्गहरूमा क्रमशः सञ्चालन सुरु गर्ने’ बताएको छ ।

युद्धविरामको घोषणा शनिबार गरिएको थियो, तर दुवै पक्षले तुरुन्तै एक अर्कामाथि यसको उल्लंघन गरेको आरोप लगाएका थिए । यद्यपि भारत र पाकिस्तान दुवैले सोमबार सीमावर्ती क्षेत्रहरू शान्त रहेको बताएका छन् ।

राष्ट्रपति पौडेलद्वारा तनहुँको व्यासमा ज्येष्ठ नागरिकलाई सम्मान

तनहुँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्। ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन्।

त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गरेका स्थानीय श्रीहरि पौडेलले जानकारी दिए। राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए।

राष्ट्रपति पौडेलको पुख्र्यौली थलो रिस्ती हो। राष्ट्रपति पौडेलले आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ। 

म्याग्दीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नंको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मोटरसाइकल चालक वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले बताए ।

अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए । बसका चालकले तीव्र गतिमा मोटरसाइकल आफूूतर्फ आइरहेको देखेपछि आफ्नै साइडमा गाडी रोकेका थिए । मोटरसाइकल एक्कासी गाडीमा आएर ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

पार्टीको सक्रिय नेता तथा कार्यकर्ता नभई योग्य र सक्षम व्यक्तिलाई गभर्नर नियुक्ति गर्न सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले योग्य र सक्षम व्यक्तिलाई तत्काल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न माग गरेका छन् । उनले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) अनुसार कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुने छैन भन्ने कानुनी प्रावधान रहेको भन्दै डा. विश्व पौडेललाई गभर्नर नियुक्त नगर्न माग गरेका हुन् । पौडेल चितवनबाट २०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । ढकालले सरकार र नेपाली कांग्रेसलाई विवादको संभावना रहेको र अदालतमा पुग्ने व्यक्तिमा नअल्झिन सुझाव दिएका छन् । पौडेल २०७९ को निर्वाचनमा ढकालसँग पराजित भएका थिए ।

ढकालले भनेका छन्, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) अनुसार कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुने छैन भन्ने कानुनी प्रावधान रहेको छ । डा. श्विनाथ पौडेल चितवनबाट २०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए । नेपाल सरकार र नेपाली कांग्रेसलाई विवादको संभावना रहेको र अदालतमा पुग्ने व्यक्तिमा नअल्झिन मेरो सुझाव छ। साथै ग्रे लिस्टबाट गुज्रिरहेको हाम्रो देश नेपाललाई बाहिर निकाल्न र समग्र अर्थतन्त्रलाई लयमा ल्याउन पार्टीको सक्रिय कार्यकर्ता तथा नेता हैन कि योग्य र सक्षम व्यक्तिलाई तत्काल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न समेत जोडदार माग गर्दछु।’

पौडेल गभर्नर सिफारिस समितिका सदस्य थिए । तर उनले गभर्नर बन्नका लागि आइतबार सदस्यबाट राजीनामा दिएका छन् । गभर्नर कांग्रेसको कोटामा परेको छ । यसअघि कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टराई गभर्नरमा अघि सारेको थियो । तर कामु गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले पौडेललाई अघि सार्ने तयारी गरेको छ ।

गभर्नर पद खाली हुनु एक महिनाअघि नै छनौट गर्नूपर्नेमा खाली भएको एक महिना भन्दाबढी समय भइसक्दा पनि सरकारले नयाँ गभर्नर नियुक्ति गर्न सकेको छैन । जसका कारण दुई तिहाईको सरकारको आलोचना भइरहेको छ ।

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

काठमाडौँ । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण सोमबार सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो ।

विभागका निर्देशक हिमाल गौतमले भने, “सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ ।”

आरोहणको तयारीमा रहेका धेरै सङ्ख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किदैछन् । अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ ।

मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ । सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ । उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताए ।

उनले भने, “मौसमका कारण आज सगरमाथाको आरोहण हुनसकेको छैन । चौँथो शिविर पुगेका आरोही आज र भोलि मङ्गलबार सबैजना आधार शिविर आउनुहुन्छ होला ।”

मौसम खराबीका कारण अबको तीन/चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ । मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ ।

सगरमाथा आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एकटके एक्सपिडिसन कम्पनीका अनुसार मे ११ देखि १४ तारिखसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना थियो । मे १२ देखि १५ सम्म ‘समिट बिन्डो’ रहेको थियो । मे १६ र १७ मा हिमपात हुने अनुमान गरिएको थियो । तर पाँच दिन अगाडि नै सगरमाथा क्षेत्रको मौसम बिग्रिएर आरोहण अवरुद्ध भएको हो ।

हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ्ङ)सहित चार समूहका आरोहीले मात्रै सगरमाथा चढेको विभागको फिल्ड कार्यालयले जनाएको छ । कञ्चनजङ्घा हिमालमा पनि प्रतिकूल मौसमले आरोहण प्रभावित भएको विभागले जनाएको छ ।

मे १० तारिखमा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले सगरमाथा आरोहण गरे । यस्तै मे ११ मा बेलायतका आरोही मिचेल लियोनार्ड डाक्रेले आरोहण गरे ।

नेपालबाट ग्याल्जे शेर्पा, फुरी शेर्पा र आङ पेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन् । त्यस्तै इक्वेडरका पेट्रिसियो एरेभालोले पनि सोही दिन आरोहण गरेका छन् । मे ११ तारिखकै दिन दावा फुञ्जो शेर्पाले लोहोत्से हिमालको पनि आरोहण गरेका छन् ।

आरोहीहरु अहिले सगरमाथाको दोस्रो र तेस्रो शिविर आसपास प्रतिक्षारत छन् । त्यसैगरी यस याममा पाँच नेपाली, तीन चिनियाँ आरोही र एक किर्गिस्तानीले मकालु आरोहण गरेको विभागको फिल्ड कार्यालयले जनाएको छ ।

वसन्त ऋतुको सगरमाथा आरोहण यही वैशाख २६ गतेदेखि सुरु भएको हो । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेका थिए ।

यो याममा सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् ।

मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँः उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनःनिर्माणमा सरकार लागिपर्ने बताएका छन् ।

मेलम्ची र हेलम्बु क्षेत्रको सोमबार स्थलगत अनुगमन गर्दै उनले बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा सरकारले काम गर्ने बताएका हुन् ।

मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे ।

“बाढीपछिको हेलम्बु र मेलम्चीको पुनःनिर्माणका लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडि बढौँ,” उनले भने । पहाडी क्षेत्रका उर्वरभूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका–भीमटारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने मन्त्री खड्काले बताए । पहाड़ी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन महत्वपूर्ण भएको उनले बताए ।

विसं २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको थियो । उक्त क्षेत्रको मन्त्री खड्काका साथै राज्यमन्त्री खमबहादुर गर्बुजा, सांसद मोहन बस्नेत, सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालगायतको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

मन्त्री खड्कालाई स्थानीयले पुनःनिर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

बेवारिसे सवारीसाधन हटाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ ।

महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न लागेको हो । महानगरले आज वडा नं– २२ जगरनाथपुरमा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे राखिएको पुरानो रोलर मेसिन हटाएको छ ।

नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुई क्रेनको सहायताले रोलर हटाइएको नगर प्रहरी इन्चार्ज हरि भुसालले जानकारी दिए ।

महानगरले बसपार्क क्षेत्रमा सञ्चालनमा नआएको एक बस र एक ट्रकलाई पनि हटाएको छ । ती दुवै सवारीसाधनलाई डम्पिङ साइटमा पुर्‍याइएको छ । महानगरले गत बुधबार पनि वीरगञ्ज बसपार्क क्षेत्रमा दुई बेवारिसे बस हटाएको थियो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले पटक–पटक सार्वजनिक सूचना जारी गरेर हटाउन आह्वान गर्दा पनि नहटाएपछि महानगर आफैँले हटाउने अभियान थालेको बताए ।

महानगरले सडक, फुटपाथ, चोक, उद्यान, बसपार्क र अन्य सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा राखिएका वा प्रयोगमा नरहेका सवारीसाधन तथा संरचनाले नगरको सौन्दर्य र नागरिक आवागमनमा बाधा पुगेका कारण ती सवारीसाधन हटाउने कार्य अघि बढाएको हो ।

प्रमुख सिंहले वीरगञ्जलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक सहरका रुपमा रूपान्तरण गर्ने अभियान थालेको हो । ‘सहर हामी सबैको साझा घर हो । नागरिकले नियम पालन गरेमा हामी वीरगञ्जलाई व्यवस्थित महानगरमा रूपान्तरण गर्न सक्छौँ’, उनले भने ।

महानगरले यात्रु, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा स्थानीय बासिन्दासँगको सहकार्यमा उक्त अभियान थालेको हो ।

बिएनए कप बास्केटबल मङ्गलबारदेखि

काठमाडौँ । बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा मङ्गलबारदेखि आठौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत दुई विधामा २४ टोलीको सहभागिता रहने बिएनएका प्रिन्सिपल टङ्ककुमार चापागाईंले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । जुनियर ब्वाइज र सिनियर गल्र्सतर्फ १२–१२ टोली सहभागी हुने छन् । दुवै समूहका सहभागीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

जुनियर ब्वाइजतर्फ कक्षा ८ सम्म तथा सिनियर गल्र्सतर्फ कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने प्रतियोगिता संयोजक नारायण खवासले जानकारी दिए । आगामी जेठ ६ गतेसम्म चल्ने उक्त प्रतियोगिताका खेल बसुन्धरास्थित नमूना टोलमा खेलाइने छन् ।

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ ।

राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरिएको विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् । देवमाथि रु एक अर्ब २१ करोड राजस्व उठाउनुपर्ने माग दाबीसहित मुद्दा अघि बढाइएको उनले बताइन् ।

काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ठेकापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने उक्त कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिलबिजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बंैकमार्फत नगरेको तथा बिजक सिलसिलेवार जारी नगरेको देखिएको विभागको आरोप छ ।

यस्तै मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धि कर तथा आयकरतर्फ झुट्टा विवरण पेस गरेको, मालसामान खरिदको स्रोत पुष्टी नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरलगायतका राजस्व नतिरेको विभागको आरोप छ ।

विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीत कार्य गरी सोही ऐनको दफा ४ बमोजिमको कसुर गरेको पुष्टि भएकाले प्रतिवादी देवलाई सोही ऐनको को दफा २ (छ १) बमोजिम मूल्य अभिवृद्धि करतर्फ रु ४५ करोड ८० लाख ८३ हजार ४३४ र आयकरतर्फ रु १४ करोड ६५ लाख ३१ हजार ८२४ बिगो बराबरको राजस्व छली गरेको प्रवक्ता श्रेष्ठले बताइन् ।

सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगो असुल तथा बिगोको शतप्रतिशत जरिवाना गरी रु एक अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ असुलउपर गर्न तथा ऐनको दफा २३ को उपदफा (१)(घ) बमोजिम कैद सजायको मागदावी लिई अभियोगपत्र दायर गरिएको उनले बताइन् ।

पर्यटकीय गन्तव्य मौलाकालीमा होटल निर्माण

चितवन । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो ।

मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी ६५ वटा कोठा, एक हजार जना अट्ने क्षमताको ब्याङक्वेट तथा सभाहल, रेष्टुरेन्टको सुविधा रहेको आइएमई ग्रुप तथा मौलाकाली केवलकारका अध्यक्ष चन्द्र ढकालले बताए ।

स्थानीयको साझेदारीमा आइएमई समूहले केवलकार र होटल सञ्चालन गरेको हो । केबलकार र होटल निर्माणले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिमा आउने पर्यटकका लागि सहज भएको ढकालले बताए ।

ढकालका अनुसार आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ । यहाँबाट नवलपुर, देवघाट एवं चितवनको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको यस स्थानमा होटल सञ्चालनमा आएसँगै रात्रिकालीन बास बस्ने पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले मौलाकालीकामा केवलकार र होटलले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । केवलकार सञ्चालनमा आएसँगै भारतीय र तेस्रो मुलुककासमेत पर्यटक आएको भन्दै उनले होटल सञ्चालनले पर्यटकको बसाइँ लम्भ्याउन सहयोग पुग्ने उनको भनाइ थियो ।

मौलाकालिका मन्दिरमा जाने यस केवलकार सञ्चालनमा आएपछि २५ प्रतिशतभन्दा बढी भक्तजन आउने गरेका छन् । होटल सञ्चालनसँगै भक्तजनको सङ्ख्या थपिने अपेक्षा गरिएको छ ।

आइएमई ग्रुपले हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।

त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने गु्रपका अध्यक्ष ढकालले जानकारी दिए । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ । 

गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन् : पूर्वराष्ट्रपति यादव

काभ्रे ।  पूर्वराष्ट्रपति डा रामवरण यादवले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि जीवन उपयोगी भएको बताएका छन्। बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन सबै पक्ष र क्षेत्र लाग्नुपर्नेमा उनले जोड दिए।

काभ्रे सेवा समाजद्वारा आयोजित बुद्धजयन्तीका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म आयोजित बृहत शान्ति पदयात्राको आज उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा यादवले परिवर्तित समयमा पनि गौतमबुद्धका सन्देश देश विदेशका हरेक नागरिकका लागि उपयोगी भएको बताए।

‘गौतमबुद्धका सन्देशलाई विश्वव्यापी बनाउन आवश्यक छ, यसका लागि सबै पक्ष लाग्नु आवश्यक छ,’ उनले भने।

शान्ति र सद्भावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न तथा स्थानीय कला, संस्कृतिको सम्बद्र्धन गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको संस्थाका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए।

गौतमबुद्धले पाइला टेकेको पनौतीको मानेश्वरीदेखिे सुन्थान–ईंटे–शङ्खु– शङ्खेश्वरी–जङ्गल हुँदै नमोबुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको हो। समाजले यसअघि २०८० असोजमा पनि सोही ‘रुट’मा पदयात्रा आयोजना गरेको थियो। पदयात्रामा पाँच सयभन्दा बढी सहभागी रहेका आयोजकले जनाएको छ।

टेस्ट क्रिकेटबाट सन्न्यास लिने कोहलीको घोषणा

काठमाडौं । भारतका स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । इन्स्टाग्राममा एक पोस्ट लेख्दै कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गरेका हुन् ।

उनले पछिल्लो पटक बोर्डर गावस्कर सिरिज खेलेका थिए। जहाँ उनको प्रदर्शन राम्रो हुन सकेको थिएन। सिरिजमा उनले २३.७५ को औसतमा रन बनाएका थिए ।

उनले केही दिन अघिनै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) लाई आफ्नो निर्णयबारे जानकारी गराएका थिए। यद्यपि, बीसीसीआइले उनलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो । ३६ वर्षीय कोहलीले टेस्ट क्रिकेटमा १२३ खेलबाट ९२३० रन बनाएका छन् ।

भारत र पाकिस्तानले हाम्रो कुरा सुने र हात हालाहालको स्थिति रोकियोः प्रधानमन्त्री ओली

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीचको युद्ध रोकिएको दाबी गरेका छन् ।

सोमबार लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले कुरा गरेर हात हालाहालको स्थिति रोकिएको दाबी गरेका हुन् । प्रधानमन्त्रीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद दिए ।

उनले भने, ‘हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौँ, उहाँहरूसँग पनि कुरा गर्यौँ। नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।’

प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए।

अमेरिकी–इजरायली बन्धकको बदलामा युद्धविराम वा कैदीको रिहाइ हुने छैन : नेतन्याहु

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार हमासले घोषणा गरेको अमेरिकी–इजरायली बन्धकको रिहाइले गाजा पट्टीमा युद्धविराम वा प्यालेस्टिनी कैदीहरूको रिहाइ नगराउने बताएका छन् ।

गाजामा सबै बन्धकको रिहाइ सुरक्षित गर्न सम्भावित सम्झौताका लागि वार्ता ‘लडाइँको तीव्रताको तयारीका क्रममा’ जारी रहने नेतान्याहुले आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा बताएका छन् ।

हमासले युद्धग्रस्त क्षेत्रमा युद्धविरामका लागि संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्तामा संलग्न भएको खुलासा गरेसँगै उसले आइतबार गाजामा बन्दी बनाइएका अमेरिकी–इजरायली सैनिक एडन अलेक्जान्डरलाई रिहा गर्ने बताएको छ ।

कुनै मिति नदिइए पनि २१ वर्षीय अलेक्जान्डरको परिवारले उनलाई ‘आगामी दिनमा’ रिहा हुनसक्ने जानकारी दिइएको बताएका थिए ।

“इजरायलले कुनै पनि प्रकारको युद्धविराम वा आतङ्कवादीहरूको रिहाइको प्रतिबद्धता जनाएको छैन तर एडनको रिहाइलाई अनुमति दिने सुरक्षित मार्गका लागि प्रतिबद्ध छ”, नेतन्याहुले भने । अलेक्जान्डरको रिहाइको प्रतिज्ञा गाजा पट्टीमा ‘सैन्य दबाब’ मार्फत हासिल भएको उनले बताए ।

“हामी महत्त्वपूर्ण दिनहरूको बीचमा छौँ जसमा हमासलाई एउटा सम्झौताका साथ प्रस्तुत गरिएको छ जसले हाम्रा बन्धकहरूलाई रिहा गर्न सक्षम बनाउँछ”, उनले भने ।

यसअघि दुई हमास अधिकारीले अमेरिकासँग कतारको राजधानी दोहामा वार्ता जारी रहेको र ‘प्रगति’ भएको एएफपीलाई बताएका थिए ।

यसैबीच इजरायली आक्रमणहरू जारी रहेको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले विस्थापित मानिसहरूलाई आश्रय दिने एक विद्यालयमा राति भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको बताएको छ ।

“जबालिया सहरमा दुई हजारभन्दा बढी विस्थापित मानिसको घर रहेको फातिमा बिन्ट असद स्कुलमा इजरायली हवाई आक्रमणपछि केही महिला र बालबालिकासहित कम्तिमा १० जना (मृत) र दर्जनौँ घाइते भएका छन्”, नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले भने ।

गाजा लडाकुहरूले हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको क्रममा कब्जा गरिएका ५८ जना बन्धक राखेका छन्, जसमा इजरायली सेनाले ३४ जनाको मृत्यु भएको बताएको छ ।

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

एएफपी । अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको सीमा शान्त भएको र ‘हालका दिनहरूमा पहिलो शान्त रात’ भएको भारतीय सेनाले जनाएको छ ।

यो युद्धविराम दुई देशबीच चार दिनसम्म चलेको क्षेप्यास्त्र, ड्रोन र तोपखाना आक्रमणहरूपछि सहमति भएको थियो । आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको थियो भने हजारौँ मानिस भाग्न बाध्य भएका थिए ।

यो सन् १९९९ मा आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूको अन्तिम खुला द्वन्द्वपछिको सबैभन्दा खराब हिंसा थियो र यसले पूर्ण रूपमा युद्धमा परिणत हुनसक्ने विश्वव्यापी आशंका उत्पन्न गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा अप्रत्याशित रूपमा युद्धविरामको घोषणा गरेको केही घण्टापछि नै दुवै पक्षले एक–अर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएपछि सुरुमा शंकाहरू उत्पन्न भएका थिए ।

“काश्मीर र अन्तर्राष्ट्रिय सीमासँगका अन्य क्षेत्रमा रात धेरै हदसम्म शान्तिपूर्ण रह्यो”, भारतीय सेनाले भनेका छन्, “हालैका दिनहरूमा पहिलो शान्त रातलाई संकेत गर्दै कुनै घटना रिपोर्ट गरिएको छैन ।”

भारतद्वारा प्रशासित विभाजित काश्मीरको सीमावर्ती सहर पहुँचमा बन्दुकको गोली वा गोलाबारी बिनाको यो लगातार दोस्रो रात पनि थियो ।

पछिल्लो द्वन्द्वमा पुँच सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक थियो । यहाँ कम्तीमा १२ जना बासिन्दा मारिएका थिए भने अनुमानित ६० हजार बासिन्दामध्ये अधिकांश आफ्नो घर छाड्न बाध्य भएका थिए ।

आइतबार मानिसहरू सहरमा फर्कन थालेका थिए । यद्यपि धेरैजसोलाई अझै पनि युद्धविराम धेरै समय टिक्ने छैन भन्ने चिन्ता थियो ।

बुधबार बिहानै भारतले काश्मीरको पाकिस्तानी भागमा रहेको ‘आतंकवादी शिविरहरू’ लाई ध्वस्त पार्दै क्षेप्यास्त्र आक्रमण गरेपछि समग्र द्वन्द्वतर्फ खतरनाक लहर सुरु भएको थियो ।

यो अप्रिल २२ मा भारत प्रशासित काश्मीरमा पर्यटकहरूमाथि भएको आक्रमणपछि भएको थियो, जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

भारतले पाकिस्तानलाई आक्रमणको समर्थन गरेको आरोप लगाएको थियो तर इस्लामाबादले संलग्नता अस्वीकार गर्दै तुरुन्तै भारी गोलाबारीका साथ आक्रमणको जवाफ दिएको थियो ।

पाकिस्तानले पाँच भारतीय लडाकू विमान खसालेको दाबी गरेको छ । नयाँदिल्लीले यसबारे कुनै टिप्पणी गरेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारले यस क्षेत्रको सीमित स्वायत्तता खारेज गरी नयाँदिल्लीबाट प्रत्यक्ष शासनमा लिएपछि सन् २०१९ देखि आतंकवादीहरूले काश्मीरमा कारबाही बढाएका छन् ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि विभाजित मुस्लिम बहुल काश्मीरलाई लिएर धेरै युद्धहरू लडेका दुवै देशले काश्मीरलाई पूर्ण रूपमा दाबी गरेका छन् ।