`

लैराई जात्रामा भागदौड मच्चिदा ७ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित शिरगाउँमा आयोजना गरिएको प्रसिद्ध धार्मिक पर्व श्री लैराई जात्राको क्रममा शुक्रबार राति भागदौड मच्चिँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी श्रद्धालु घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार हजारौं श्रद्धालु पुजामा सहभागी हुन जम्मा भएका बेला भागदौड मच्चिएको थियो । भिड अत्यधिक भएपछि व्यवस्थापन गम्भीर रुपमा प्रभावित भएको र स्थिति नियन्त्रणबाहिर जाँदा भागदौड भएको जनाइएको छ ।

धेरैजसो घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर छ । घटनास्थलमा प्रहरी र आपतकालीन उद्धार टोली परिचालन गरिएको छ। राज्य सरकारद्वारा घटनाको उच्चस्तरीय छानबिनको आदेश दिइएको छ।

मुख्यमन्त्री प्रमोद सावन्तले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोग र राहतको व्यवस्था तुरुन्तै मिलाइने बताएका छन् ।

प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा आज सञ्चारकर्मी, सञ्चारमाध्यम, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा वकालत गर्ने अगुवा एवं आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले सन्देशमा भनेका छन्, ‘नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । प्रेस स्वतन्त्रताको प्रत्याभूति संविधानको आत्मा हो, जसको रक्षा गर्नु संसद्को पनि प्रमुख दायित्व हो ।’

प्रेस स्वतन्त्रता भनेको केवल पत्रकारको हक मात्र नभई, सुसूचित हुन पाउने जनताको पनि हक भएको उनको भनाइ छ । उनले स्वतन्त्र प्रेसको माध्यमबाट मात्र समाजमा सत्य, जवाफदेहिता र सुशासन स्थापित हुने पनि उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘विश्व प्रेस स्वतन्त्रता दिवस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, प्रवर्द्धन र सरोकारका विषयहरूमा गम्भीर बहस गर्न प्रेरित गर्ने महत्त्वपूर्ण अवसर हो ।’

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

काठमाडौँ । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ ।

अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् ।

बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख नौ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए ।

सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए ।

‘हामीले आधिकारिक रुपमा १०६ दशमलव ५ प्रतिशत पूर्व–महामारी स्तरमा पुगेका छौं, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ’, बोर्डले उल्लेख गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवद्र्धक रहेको बताए । ‘यो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण हो’, उनले भने ।

बोर्डको विवरणमा वर्षको चार महिना (जनवरी–अप्रिल) को अवधिमा चार लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका थिए ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजे बस्नेछ ।

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।

सरकारको नीति परम्परागत र निराशाजनकः उपमहासचिव पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यहीन जस्तो लागेको बताएका छन् ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम परम्परागतबाट माथि उठ्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘यो नीति कार्यक्रम हेर्दा गन्तव्यहीन जस्तो लाग्यो । अर्कोतिर निराश खालको लाग्यो । एउटा परम्परागत खालको लाग्यो ।’

उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छलेर आफू अनूकुलको योजना राख्न खोजेको बताए ।

कांग्रेस सांसद राईलाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौँ । सहकारी ठगीमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश पदमराज पाण्डेको इजालसले राईलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।

सांसद राई वैशाख १३ मा पक्राउ परेकी थिइन् । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

उनी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् ।

खेलकुदको विकासमा निजी तथा सरकारको सहभागिता सुनिश्चितता गर्ने

काठमाडौँ। सरकारले रङ्गशालालगायतका भौतिक पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चितता गर्न कानुनी व्यवस्था मिलाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कीर्तिपुस्थित त्रिभुनव विश्वविद्यालयको क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रुपान्तरण गर्ने बताए ।

राष्ट्रपति पौडेलले खेलकुद क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश, स्थानीय तह र खेल सङ्घकोे सहयोगमा स्पोर्टस स्कुलको कार्यक्रम सुरु गर्ने उल्लेख गरे । उनले अन्तरराष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरुका सन्ततिलाई अध्ययनका लागि छात्रावृत्तिको व्यवस्था गरिनेसमेत बताए ।

राष्ट्रपति पौडेलले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताए । 

सरकारले ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ को मान्यता अनुरूप सबै राष्ट्रसँग सम्बन्ध विस्तार गर्ने

काठमाडौँ । नेपाल सरकारले ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ को मान्यता अनुरूप सार्वभौमिक समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गर्ने नीति लिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिमेकी मित्र राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध घनीभूत गरी, पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गरिने उल्लेख गरे ।

यसैगरी राष्ट्रिय हितको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तरराष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको आधारमा स्वतन्त्र परराष्ट्र नीतिलाई अवलम्बन गरिने सरकारको नीति छ ।

राष्ट्रपति पौडेलले भने, ‘संयुक्त राष्ट्रसङ्घ तथा बहुपक्षीय मञ्चहरूमा नेपालको भूमिकालाई थप प्रभावकारी र सशक्त बनाउँदै नेपालको हित प्रवद्र्धन गरिनेछ । नेपाल आबद्ध क्षेत्रीय सहयोग सङ्गठनमार्फत क्षेत्रीय सहयोगलाई नेपालको हित अनुकूल, अर्थपूर्ण र प्रभावकारी बनाइनेछ ।’

सरकारले आर्थिक कूटनीतिलाई सहायता, लगानी, श्रम बजार, पर्यटन र व्यापार प्रवद्र्धनको महत्वपूर्ण औजारको रूपमा स्थापित गर्दै मुलुकभित्र र बाहिर आर्थिक कूटनीतिका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ ।

त्यस्तै गैरआवासीय नेपालीहरूको क्षमता र सञ्जाललाई उपयोग गरी, सार्वजनिक र सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा मुलुकको पहिचान र सम्मानलाई अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तो छ सरकारको वार्षिक नीति तथा कार्यक्रम(पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्

सरकारले नीति कार्यक्रममार्फत राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख आर्थिक–सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प लिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्यीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सम्बोधनको पूर्णपाठ

प्रतिनिधि सभाका सम्माननीय सभामुख,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,
सङ्घीय संसद्का माननीय सदस्यहरू,
नेपालको राष्ट्राध्यक्षको रूपमा सम्मानित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहँदा मलाई खुसी लागेको छ।
सर्वप्रथम, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गर्नु हुने प्रातः स्मरणीय महान् सहिदहरूप्रति श्रद्धा सुमन अर्पण गर्दछु। यस क्रममा भएका सबै आन्दोलन तथा सङ्घर्षको नेतृत्व गर्नु हुने अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। साथै, बेपत्ता परिवार, घाइते, अपाङ्ग तथा आन्दोलनमा अमूल्य योगदान गर्ने सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।
प्रत्येक नेपालीलाई आफ्नो इतिहास र स्वाभिमान, सङ्घर्ष र बलिदान, परिवर्तन र उपलब्धिप्रति गौरव बोध गराउन; जनतामा राज्यप्रति थप आशा र भरोसा पैदा गर्न, आर्थिक गतिशीलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहीनता अन्त्य गर्न यो सरकार प्रतिबद्ध छ।
सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा सङ्कल्पका साथ सुशासन प्रवर्धन गर्न र तीव्र आर्थिक विकास हासिल गर्न सरकार कटिबद्ध छ।
समाजमा बेलाबेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी संविधान र व्यवस्थाप्रति अफवाह फैलाई अराजकता सिर्जना गर्ने पक्षविरुद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न यो सरकार दृढ छ।
राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख आर्थिक–सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा निम्न विषयलाई जोड दिएको छ।
(क) संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने, यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने।
(ख) संविधानको समीक्षा गर्ने, यसका सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने।
(ग) स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने।
(घ) विकास निर्माणका क्रममा देखा परेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने। विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुन: प्राथमिकीकरण गर्ने। परियोजनालाई वर्गीकरण गरी आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुने र यस संसद्को अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने। निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजना खारेज समेत गर्ने।
(ङ) विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानुनी प्रबन्ध गर्ने। विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान तथा विकासतर्फ केन्द्रित गर्ने ।
(च) “उद्यमशीलता मैत्री शिक्षा”को नीति अपनाई श्रम क्षेत्रमा रहेको सीपयुक्त श्रम शक्तिको अभाव र सीपहीन श्रम शक्ति जगेडा रहने अवस्थाको अन्त्य गर्ने। यसका लागि हालको पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गर्ने। उद्यमशीलताको माध्यमद्वारा आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने। सबै उद्यममा “बिजनेस प्लान” र त्यसको “इकोसिस्टम” निश्चित गरी ‘जेन्जी पुस्ता’ लाई विशेष प्राथमिकतामा राखी युवा केन्द्रित “स्टार्टअप” कार्यक्रम सुरु गर्ने।
(छ) स्वास्थ्य सेवालाई सुलभ र पहुँचयोग्य तुल्याउन पूर्वाधार विस्तारसँगै सेवा प्रदायक अस्पताल–चिकित्सक, स्वास्थ्य जनशक्ति र सेवाग्राहीबिचको असन्तुलन हटाउने। स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरूलाई स्वास्थ्य बीमा सेवामा आबद्ध गर्ने। स्वास्थ्य बिमा कार्यक्रम पुनर्संरचना गरी दिगो बनाउने।
(ज) सरकारका निकायहरूबाट सञ्चालित कार्यक्रमहरू उद्यमशीलताको विकास, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित गर्ने। तीन तहका सरकारहरू बिचको सहयोग, समन्वय र सहकार्यमा कृषिको व्यवसायीकरण र पूर्वाधार निर्माण गर्ने।
(झ) फजुल खर्च रोक्न अनावश्यक संरचना खारेज गर्ने, गाभ्ने र हस्तान्तरण गर्ने । सार्वजनिक सेवालाई प्रभावकारी बनाउन “फेसलेस सेवा” को विस्तार गर्ने। नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रूपमा विकास गरी सम्भव भएसम्मका सबै सेवा अनलाइन गर्ने।
(ञ) संविधानमा उल्लेखित सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकार सूचीका विकास कार्यक्रमहरू समन्वयात्मक रूपमा कार्यान्वयन गर्ने। विकास कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय तहबिच दोहोरोपन हटाउन एकीकृत परियोजना बैङ्क प्रणाली लागू गर्ने।
(ट) राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता र नेपाल राष्ट्र तथा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखी सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने।
माननीय सदस्यहरू,
1 उच्च स्तरीय आर्थिक सुधार–सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अर्थतन्त्रलाई गतिशील बनाइनेछ ।
2 रोजगारीका अवसर सिर्जना र गरिबी निवारणका लागि सार्वजनिक, सहकारी र निजी क्षेत्रबिच सहकार्य प्रवर्धन गरिनेछ। उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिका लागि सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्नुका साथै वित्तीय तथा मौद्रिक नीतिबिच सामञ्जस्यता कायम गरिनेछ। निजी लगानी प्रवर्धनका लागि थप नीतिगत सुधार र प्रक्रियागत सरलीकरण गरी व्यवसायमैत्री वातावरण निर्माण गरिनेछ।
3 सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गरी उच्च प्रतिफलयुक्त आयोजनामा लगानी केन्द्रित गरिनेछ। अनावश्यक सार्वजनिक संरचना खारेज गर्ने, गाभ्ने वा पुनर्संरचना गरिनेछ। चालु खर्च वाञ्छित सीमामा राखी, सार्वजनिक क्षेत्रको लगानीलाई निजी क्षेत्रको लगानी प्रवर्धन तथा परिपूरक हुने गरी केन्द्रित गरिनेछ।
4 औद्योगिकीकरण, लगानी प्रवर्धन र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने गरी कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिनेछ। कर प्रशासन सुधार र सूचना प्रविधिको प्रयोगबाट करदातामैत्री राजश्व प्रणाली विकास गरिनेछ।
5 वैदेशिक सहायतालाई विकासको आवश्यकता र प्राथमिकताका आधारमा राष्ट्रिय प्रणालीमार्फत परिचालन गरिनेछ। वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त औद्योगिक तथा भौतिक पूर्वाधार आयोजनामा केन्द्रित गरिनेछ ।
6 जलवायु वित्त कोषमा नेपालको पहुँच, नवीन प्रविधिको विकास, निजी क्षेत्रको लगानी तथा अर्थतन्त्रको उत्पादनशीलता अभिवृद्धि हुने गरी सहायता परिचालन गरिनेछ। परियोजना लगानीको आवश्यकता पूरा गर्न वैकल्पिक वित्त कोष स्थापना गरिनेछ। वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयकलाई संसद्को यसै अधिवेशनबाट पारित गरिनेछ।
7 सोह्रौँ योजनाको रणनीति अनुरूप सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरणलाई रोजगारीमुखी आर्थिक वृद्धि एवम् संरचनात्मक रूपान्तरणका नयाँ आधारका रूपमा कार्यान्वयन गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ जोड दिइनेछ। सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको सङ्क्रमणलाई सहज तुल्याउने रणनीति लागू गरिनेछ।
8 व्यापार सम्झौता विस्तार, वैकल्पिक वित्त र वस्तु विनिमयसम्बन्धी कानुन निर्माण गरिनेछ। नवीन वित्तीय उपकरणमार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा निजी पुँजी आकर्षित गरिनेछ। धितो पत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ।
9 दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिनेछ। बैङ्क तथा वित्तीय संस्थाको गैर बैङ्किङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिनेछ। सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ। नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैङ्क स्थापना गरिनेछ।
10 सार्वजनिक संस्थानहरूको विद्यमान अवस्थाको अध्ययनका आधारमा व्यवस्थापन गरी पुनर्संरचना, निजी क्षेत्रलाई हस्तान्तरण तथा सम्पत्तिको उपयुक्त विधिबाट मौद्रीकीकरण गरिनेछ।
11 एकीकृत सामाजिक सुरक्षाको अवधारणालाई थप सुदृढ गर्दै कर्मचारी सञ्‍चय कोष, नागरिक लगानी कोष लगायतका निकायबाट सञ्‍चालित सामाजिक सुरक्षाका कार्यक्रमहरूबिच समन्वय गरिनेछ। सामाजिक सुरक्षा कोष सुदृढीकरण रणनीति कार्यान्वयन गरिनेछ।
12 बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाइनेछ । भौतिक सम्पत्ति बिमा प्रवर्धन गर्दै बिमा सूचना केन्द्र कार्यान्वयनमा ल्याइनेछ। ग्रामीण तथा निम्न आय वर्गलाई बिमामा समेट्न बिमा साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ।
माननीय सदस्यहरू,
13 निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै कृषि उपजमा देशलाई आत्मनिर्भर तुल्याउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गरिनेछ। कृषिमा युवालाई आकर्षित गर्न भूमि, कृषि सामग्री, बिमा, खरिद सम्झौता र बजारको बलियो इकोसिस्टम कायम गरिनेछ । कृषि क्षेत्रको जुनसुकै विधामा उद्यम गर्न चाहनेलाई यस प्रणालीमा आबद्ध गरी पाइलट प्रोजेक्ट सुरु गरिनेछ ।
14 भूमि बैङ्क मार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै परियोजनालाई नै धितोमा राखी स्थानीय वित्तीय संस्थामार्फत वित्तीय र अन्य सामग्रीको व्यवस्था गरिनेछ। परियोजना बिमा मार्फत आकस्मिक क्षतिबाट रक्षा, समर्थन मूल्यमा आधारित अग्रिम कृषि उपज खरिद सम्झौता गरी व्यावसायिक जोखिमको सम्बोधन र बजारको सुनिश्चितता गरिनेछ।
15 प्रमुख बाली, पशुपन्छी र मत्स्य क्षेत्र लक्षित कार्यक्रममार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, खाद्य सुरक्षा र कृषकको आम्दानी वृद्धि गरिनेछ। पुष्पलाल मध्य–पहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, बि.पि.राजमार्ग, हुलाकी राजमार्ग र कोरिडोरहरूलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाइनेछ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गरी यसलाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमको रूपमा निरन्तरता दिइनेछ।
16 माटोको जैविक गुणमा ह्रास आउन नदिन प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन दिँदै दिगो कृषि उत्पादन प्रणाली प्रवर्धनको विशेष कार्यक्रम सञ्‍चालन गरिनेछ। रासायनिक मलको मूल्य, आपूर्ति र वितरण प्रक्रियालाई परिमार्जन गरिनेछ। कृषि मल कारखाना स्थापना गर्न आवश्यक कार्य गरिनेछ।
17 रसायन तथा विषादीको आयात तथा प्रयोगलाई नियमन गरी यसको अधिक प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असर तथा जैविक विविधतामा आउने ह्रासको जोखिम न्यूनीकरण गरिनेछ। जैविक विषादीको उपयोगलाई प्रोत्साहन गरिनेछ। कृषि, पशुपन्छी र खाद्य प्रयोगशालाहरूको विद्यमान प्रत्ययनको दायरालाई विस्तार गरी अन्तर्राष्ट्रिय प्रत्ययनयुक्त प्रयोगशालामा स्तरोन्‍नति गरिनेछ।
18 कृषियोग्य भूमिको संरक्षण, बाँझो जमिनको उपयोग, चक्लाबन्दी र करार खेतीलाई प्रवर्धन गरिनेछ। जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि उपयुक्त प्रविधि प्रयोग गरिनेछ। रैथाने बाली, बीउ, नस्ल र कृषि जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिइनेछ। कृषि उत्पादन, वितरण, भण्डारण र उपभोग शैलीलाई पोषणको अभिन्न अङ्गको रूपमा अघि बढाइनेछ।
19 कृषि सेवालाई सर्वसुलभ र पारदर्शी बनाउन डिजिटल प्रणाली विकास गरिनेछ। क्वारेन्टाइन र प्रयोगशाला सेवाको स्तरोन्‍नति गरिनेछ। नेपाल कृषि अनुसन्धान परिषद् पुनर्संरचना गरी कृषि अनुसन्धानलाई किसानमैत्री र नतिजामुखी बनाइनेछ।
20 दुग्ध पदार्थ, ऊन र मासुजन्य वस्तुको उत्पादन तथा निर्यात प्रवर्धन गरिनेछ। पशुपन्छीजन्य रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्‍चालन गरिनेछ। नेपालका लागि आवश्यक पर्ने खोप उत्पादन गर्न प्रोत्साहन गरिनेछ। कृषि क्षेत्रमा दिइने अनुदानको लाभ वास्तविक कृषकले मात्र प्राप्त गर्ने व्यवस्था मिलाइनेछ।
21 कृषि बिमाको दायरा विस्तार गरिनेछ। विपन्न किसानलाई सहुलियतपूर्ण ऋण र परिचय–पत्रसहित सेवा सुविधा दिइनेछ। किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिनेछ। व्यावसायिक खेतीमा बाली लगाउनु अघि न्यूनतम समर्थन मूल्य निर्धारण र बाली लगाएपछि अग्रिम कृषि उपज खरिद सम्झौता गरिनेछ।
माननीय सदस्यहरू,
22 भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्थापन गरिनेछ। आइटी-आधारित भू-सूचना प्रणाली स्तरोन्नति गरी सेवा प्रवाहमा सुधार गरिनेछ। भूमिको नाप जाँच र तथ्याङ्क व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग गरिनेछ। भूमिको उचित प्रयोग गर्न भू-उपयोग योजना कार्यान्वयन गरिनेछ। भूमि सम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिनेछ।
23 सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिनेछ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत् सहकारी क्षेत्रका समस्याहरू समाधान गरिनेछ। समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिनेछ। सहकारी ऋण सूचना, बचत सुरक्षण तथा ऋण असुली न्यायाधिकरण स्थापना गरिनेछ। सहकारी तथ्याङ्क व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्‍नति गरिनेछ।
24 गरिबी निवारण प्रत्यक्ष लक्षित कार्यक्रमहरू समन्वयात्मक र प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। विपन्न पहिचान भएका परिवारलाई राज्यका सुविधामा पहुँच वृद्धि गरिनेछ।
माननीय सदस्यहरू,
25 दिगो वन व्यवस्थापनमा आधारित वन संवर्धन गर्दै वन स्रोतको उचित उपयोग गरिनेछ। वन पैदावार उत्पादन वृद्धि गरी आन्तरिक आपूर्ति, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा जोड दिइनेछ। सामुदायिक वनको व्यवस्थापन सुदृढ गर्दै वन आधारित स्रोतको उचित उपयोग गरिनेछ।
26 सङ्घ–प्रदेश समन्वय सुदृढ गर्दै राष्ट्रिय वनलाई व्यावसायिक कवुलियती वनमा रूपान्तरण गर्ने प्रक्रियालाई सरल र सहज बनाइनेछ। राष्ट्रिय निकुञ्ज तथा संरक्षित वन क्षेत्रको वातावरणीय सुरक्षा सुनिश्चित गर्दै राष्ट्रिय प्राथमिकताका आयोजना सञ्चालन गरिनेछ।
27 चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिनेछ। राष्ट्रपति चुरे-तराई मधेस संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चूरे संरक्षण आयोजनाको रूपमा अघि बढाइनेछ। एकीकृत जलाधार व्यवस्थापनमार्फत पानी सञ्चय, भूक्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनर्स्थापनामा ध्यान दिइनेछ।
28 मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै राहत प्रणालीलाई बिमा प्रणालीसँग एकीकृत गरिनेछ। संरक्षण क्षेत्रमा मानव–प्रकृति सहअस्तित्व कायम गरिनेछ।
29 वातावरणीय अध्ययन तथा मूल्याङ्कन प्रक्रिया सरल बनाइनेछ। वायु गुणस्तर कार्य योजना लागू गरिनेछ। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा युरो–६ मापदण्ड लागू गरिनेछ।
30 जलवायु सम्बन्धित अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइनेछ। जलवायु वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गरिनेछ।
31 जलवायु परिवर्तनका कारण नेपालले भोग्न परेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न बि.सं. २०८२ साल जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गरिनेछ। उक्त संवादमा व्यक्त धारणाहरूका आधारमा जलवायु अनुकूलन र असर न्यूनीकरणका कार्यक्रमहरू लागू गरिनेछ। सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिबद्धता पूरा गर्न दीर्घकालीन रणनीति कार्यान्वयन गरिनेछ।
32 वनस्पति उद्यान व्यवस्थापन र जडीबुटी स्रोतको संरक्षण, विकास र उपयोग गरिनेछ। नदीजन्य स्रोतको उत्खनन, प्रशोधन तथा व्यापारमा तीन तहका सरकारबिच सहकार्य हुने कानुनी प्रबन्ध गरिनेछ। पूर्वाधार निर्माणमा सामग्री अभाव हुन नदिने गरी नदीजन्य स्रोत परिचालन गरिनेछ।
माननीय सदस्यहरू,
33 जलस्रोतको बहुपक्षीय उपयोग गरिनेछ। विद्युतको माग अधिक हुने समयको लागि आपूर्ति व्यवस्थापन गरी आयात प्रतिस्थापन गर्न नदी पथान्तरण र जलाशययुक्त आयोजनाहरूको कार्यान्वयन गरिनेछ।
34 देशभरिका नदी प्रणालीहरूको समुचित संरक्षण र संवर्धनका लागि कानुनी र संरचनागत व्यवस्था गरिनेछ। एकीकृत जलस्रोत व्यवस्थापनको अवधारणा अनुरूप नदी बेसिन गुरुयोजनाको कानुनी र संरचनागत प्रबन्ध गरिनेछ।
35 जलवायु परिवर्तन र भूकम्पजन्य सङ्कटग्रस्त क्षेत्रमा जल उत्पन्न विपद्‌ व्यवस्थापन र सिँचाइ प्रणालीको पुनर्निर्माण गरिनेछ। जल तथा मौसम केन्द्रको सञ्जाल विस्तार र स्तरोन्नति गरिनेछ।
36 जलस्रोतको एकीकृत तथा बहुपक्षीय विकास गर्दै कृषि योग्य जमिनमा भरपर्दो सिँचाइ सेवा विस्तार गरिनेछ।
37 कृषकहरूको सुविधालाई प्राथमिकता दिई सिँचाइ प्रणालीको पुनर्स्थापना गरिनेछ। जलस्रोतको दिगो उपयोग, भूमिगत जल पुनर्भरण, ताल तलैया संरक्षण र जलाशय निर्माणमा जोड दिइनेछ।
माननीय सदस्यहरू,
38 आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच कायम गरिनेछ। “ऊर्जा विकास मार्गचित्र, २०८१” कार्यान्वयन गर्न कानुनी, नीतिगत, संस्थागत र प्रक्रियागत सुधार गरिनेछ। नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गरिनेछ।
39 सुख्खा याममा समेत विद्युत आपूर्तिको मागलाई सम्बोधन गर्न र ऊर्जा सुरक्षा कायम गर्न बहुउद्देश्यीय तथा जलाशययुक्त जलविद्युत आयोजना विकासका लागि उपयुक्त वित्तीय मोडेल अपनाइनेछ। तीन तहका सरकारहरूको सहकार्यमा राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अफग्रिड सौर्य तथा वायु ऊर्जा, लघु तथा साना जलविद्युत र मिनी ग्रिडमार्फत विद्युत आपूर्ति विस्तार गरिनेछ।
40 निजी क्षेत्रको समेत सहभागितामा राष्ट्रिय तथा अन्तर्देशीय उच्च क्षमताका प्रसारण लाइनहरूको विस्तार गरिनेछ। विद्युत प्रसारण संरचना निर्माण गर्न ट्रान्समिसन एवम् ह्विलिङ चार्ज निर्धारण लगायत अन्य आवश्यक नीतिगत र नियामकीय व्यवस्था मिलाइनेछ।
41 “जनताको जलविद्युत कार्यक्रम” अन्तर्गत जलविद्युत निर्माणका लागि स्व:पूँजी परिचालन गराइनेछ। यस्ता आयोजनामा वैदेशिक रोजगारीमा गएका नागरिकको विप्रेषण रकमसमेत परिचालन गर्न प्रयास गरिनेछ।
42 “विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण कार्य योजना, २०८०” अनुसार घरायसी, कृषि, औद्योगिक, व्यावसायिक, पर्यटकीय र यातायात क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग प्रवर्धन गरिनेछ।
माननीय सदस्यहरू,
43 व्यावसायिक वातावरण सुधार गर्न सरकारबाट अध्यादेशमार्फत सुरु गरिएका नीतिगत सुधारका कार्यक्रमको आधारमा उद्यमशीलता र निजी लगानी प्रवर्धन गरिनेछ। आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्धन गर्ने उद्देश्य सहित मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न विधामा उद्यमशीलताको अवसर सिर्जना गरिनेछ ।
44 स्थानीय कच्चा पदार्थ, उद्यमशीलता र सीपमा आधारित औद्योगिक विकासलाई प्रोत्साहित गरिनेछ। जडान उद्योग विस्तार गरी आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि गरिनेछ। सहकारी तथा सामुदायिक क्षेत्रलाई पनि उद्योगतर्फ आकर्षित गरिनेछ।
45 नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिनेछ। प्रदेश तथा स्थानीय सरकार एवम् निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीहरूलाई व्यवसाय संवर्धन, क्षमता अभिवृद्धि, सेवा, बजारीकरण र मूल्यश्रृङ्‍खला निर्माण गर्न सबै प्रदेशमा व्यवसाय संवर्धन केन्द्र स्थापना र सञ्‍चालन गरिनेछ। इ–कमर्शमार्फत व्यापारको विकास गरिनेछ। बौद्धिक सम्पत्तिको संरक्षण तथा नवप्रवर्तन प्रवर्धन गरिनेछ।
46 देशभित्र विभिन्न स्थानमा रहेका पेट्रोलियम, फलाम, तामा, म्याग्नेसियम जस्ता खानीजन्य स्रोतको अध्ययन, अनुसन्धान र प्रवर्धनमा जोड दिइनेछ। धौवादी फलाम कम्पनीलाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्‍चालन गरिनेछ। व्यावसायिक सम्भावना भएका रुग्ण उद्योगहरूलाई व्यवस्थापनका उपयुक्त विधि अपनाई पुनः सञ्चालन गरिनेछ।
47 औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र पूर्वाधार निर्माण तथा सञ्चालनलाई प्राथमिकता दिइनेछ। विशेष आर्थिक क्षेत्रहरू सार्वजनिक निजी साझेदारी मोडलमा सञ्‍चालन तथा विस्तार गरिनेछ।
48 नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनीकरण कार्य योजना लागू गरी निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गरिनेछ। पहिचान गरिएका वस्तुको निर्यात बढाउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
49 उत्पादन र व्यापार लागत घटाउन दिगो पूर्वाधार र प्रविधिको विकास र उपयोग गरिनेछ। लजिस्टिक गुरुयोजना निर्माण र कार्यान्वयन गरिनेछ। रेल तथा जल परिवहनको पूर्वाधार विकास गरी ढुवानी लागत घटाइनेछ।
50 अत्यावश्यक वस्तु सेवाको आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य अनुगमन र गुणस्तर नियन्त्रणमा जोड दिइनेछ। खाद्य सम्प्रभुता सुनिश्चित गर्न राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैङ्कमा आवश्यक परिमाणमा खाद्य भण्डारण गरिनेछ। रैथाने बालीको उत्पादन र बजारीकरणलाई स्थानीय तहसँगको समन्वयमा प्रवर्धन गरिनेछ।
51 अन्तर्देशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाइनेछ। ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी गरिनेछ। पेट्रोलमा बायोइथानोल मिश्रणको नीति कार्यान्वयन गरिनेछ।
52 उपभोक्ता हितसँग सम्बन्धित संस्थागत व्यवस्था विस्तार गरिनेछ। कालोबजारी, सिन्डिकेट, कार्टेलिङ आदि नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाइनेछ।
माननीय सदस्यहरू,
53 नेपाललाई प्राकृतिक, सांस्कृतिक, साहसिक र चलचित्र पर्यटनको सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा विकास गरिनेछ। योग ध्यानमार्फत सकारात्मक सोचको अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षक स्थलको रूपमा प्रवर्द्धन गरिनेछ। पर्यटन क्षेत्रलाई आयआर्जन, रोजगारी र समृद्धिको आधारको रूपमा विकास गरिनेछ।
54 दिगो, आय तथा रोजगारीमूलक, प्रविधि र वातावरणमैत्री पर्यटन नीति अवलम्बन गरिनेछ। सार्वजनिक-निजी सहकार्यमा पर्यटनको प्रत्यक्ष लाभ स्थानीय समुदायमा पुर्‍याइनेछ। पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई प्रोत्साहित गराइनेछ।
55 ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र साँस्कृतिक महत्त्वका थप क्षेत्रहरूलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल गरिनेछ। साँस्कृतिक सम्पदाहरूको संरक्षण र उचित व्यवस्थापन गरिनेछ।
56 नागरिक उड्डयन नियमनलाई प्रभावकारी बनाइ हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाइनेछ। हवाई पूर्वाधार र सेवा प्रवाहमा निजी क्षेत्रको सहभागिता बढाइनेछ। आर्थिक, व्यावसायिक र वातावरणीय सम्भाव्यताका आधारमा मात्र विमानस्थल निर्माण एवम् विस्तार गरिनेछ। नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिनेछ। नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्को यसै अधिवेशनबाट पारित गरिनेछ।
माननीय सदस्यहरू,
57 श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिनेछ। इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गरिनेछ। योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ ।
58 श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिनेछ। दक्ष जनशक्ति पलायन रोक्न विगतमा भए गरेका तर हाल रोकिएका श्रम प्रोत्साहनका अभ्यासलाई निरन्तरता दिइनेछ ।
59 देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गरिनेछ। आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाइनेछ। स्वरोजगारी तथा ज्याला रोजगारी दुबैका माध्यमबाट आन्तरिक रोजगारीको सिर्जना गरिनेछ।
60 वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नीति, कानुन तथा कार्यविधि संशोधन र तर्जुमा गरिनेछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रम बजारका मागअनुसार सिपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गरिनेछ।
61 सबै प्रकृतिका, जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नहरूलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी कोषको भूमिका र दायरालाई विस्तार गरिनेछ।कम्पनी संस्था सहकारी फर्म वा अन्य सङ्गठित संस्थाको नवीकरण गर्दा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइ नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने कानुनी व्यवस्था गरिनेछ।
माननीय सदस्यहरू,
62 शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी बनाइनेछ। विद्यालय शिक्षाको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुनर्संरचना गरिनेछ। विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधार गरिनेछ।विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई यसै अधिवेशनबाट पारित गरिनेछ। संवत् २०८४ भित्र सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था गरिनेछ।
63 राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा सुदृढ गरिनेछ। विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान–प्रविधिमैत्री र अनुसन्धान–अन्वेषण लक्षित बनाइनेछ ।
64 विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीहरूको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षा वा विश्वविद्यालय शिक्षामा प्रवेश गराइनेछ । प्राविधिक शिक्षाको धारलाई विश्वविद्यालय तहसम्म पुर्‍याइनेछ। ।
65 संस्थागत–सामुदायिक विद्यालय साझेदारी कार्यक्रम लागु गरी संस्थागत विद्यालयहरूकोसमेत सहभागितामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याइनेछ ।
66 संस्थागत एवम् सामुदायिक विद्यालयका पाठ्यक्रममा एकरूपता ल्याइनेछ। सबैको पहुँचसहितको भर्चुअल शिक्षण प्रणाली, विद्यार्थी परामर्श प्रबन्ध, अन्तर्क्रियात्मक इ-लर्निङ सामग्रीको डिजिटल प्लेटफर्म व्यवस्था तथा शिक्षक मेन्टरिङमा आधारित आकर्षक शिक्षण-कलामा सघन तालिमको व्यवस्था गरिनेछ।
67 स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ । स्नातक तहभन्दा माथिका विद्यार्थीहरूलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गरिनेछ। बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ‘कमाउँदै–पढ्दै’को नीति लागु गरिनेछ।
68 विकट भौगोलिक क्षेत्रलाई लक्षित गरी आवासीय विद्यालयहरू खोलिनेछ। निजी विद्यालयका लागि राष्ट्रिय नियमन मापदण्ड जारी गर्ने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने, विश्‍वविद्यालयसँगको सहकार्यमा शिक्षक बैङ्‌कको स्थापना गर्ने, शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने तथा शिक्षक कितावखानाका काम प्रणालीगत रूपमा क्रमश: प्रदेश सरकारलाई हस्तान्तरण गरिनेछ।
69 उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइनेछ। विश्वविद्यालयहरूको शासकीय प्रणालीमा सुधार गरिनेछ। शैक्षिक गुणस्तरको राष्ट्रिय मानक तयार गरी स्थानीय, प्रदेश र राष्ट्रिय स्तरमा सिकाइ उपलब्धि परीक्षण गरिनेछ।
70 विश्वविद्यालय अनुदान प्रणालीमा सुधार गरी यसलाई विद्यार्थी सङ्‍ख्या, गुणस्तर र संस्थाको दिगोपनको आधारमा वितरण गरिनेछ। सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षकहरूको वृत्ति विकास र पद वर्गीकरणका आधार तयार गरी विश्‍वविद्यालयका अन्य शिक्षक सरह अनुकूल हुने व्यवस्था मिलाइनेछ।
71 वैज्ञानिक अनुसन्धान र प्रविधिको विकासका लागि सार्वजनिक, निजी र शैक्षिक क्षेत्रबिच सहकार्यको वातावरण बनाइनेछ। सार्वजनिक क्षेत्रका सबै थिङ्क ट्याङ्क संस्था र अनुसन्धान केन्द्रहरूलाई समन्वयात्मक ढङ्गले अघि बढाइ नीति निर्माणमा पृष्ठपोषण गराइनेछ। साइवर सेक्युरिटी, डेटा सुरक्षा, एप डेभलपमेण्ट तथा सुदृढीकरण र त्यससँग जोडिएका प्रणालीलाई समन्वयात्मक तवरबाट अघि बढाइनेछ।
72 बौद्धिक सम्पत्ति, नवप्रवर्तन र अनुसन्धानलाई परम्परागत ज्ञान, सिप र समुदायसँग जोडिनेछ। सङ्घ, प्रदेश, स्थानीय तह र निजी–शैक्षिक संस्थाको समन्वयमा वैज्ञानिक जनशक्ति उत्पादन र अनुसन्धान संस्थागत गरिनेछ।
73 विकिरण उत्सर्जन गर्ने रेडियोधर्मी स्रोत र सम्बद्ध अभ्यास, क्रियाकलाप तथा संयन्त्रहरूको अनुगमन गरिनेछ।
माननीय सदस्यहरू,
74 युवालाई आर्थिक र सामाजिक रूपान्तरणका प्रमुख बाहकका रूपमा परिचालन गरिनेछ। युवामा स्वयंसेवी र सदाचारी भावना विकास गरिनेछ।
75 युवाहरूको शारीरिक र मानसिक विकासको लागि नियमित खेलकुद सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरू आयोजना गरिनेछ। सङ्घ, प्रदेश, स्थानीय तह र खेल सङ्घको सहकार्यमा स्पोर्ट्स स्कुल कार्यक्रम सुरु गरिनेछ। विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रमहरू सञ्‍चालन गरिनेछ।
76 रङ्गशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइनेछ। खेलकुदलाई निजी क्षेत्रका संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोडिनेछ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिनेछ।
77 अन्तर्राष्ट्रिय पदक प्राप्‍त खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइनेछ।
माननीय सदस्यहरू,
78 महिलाको सर्वाङ्गीण उत्थान र सबलीकरणमा विशेष ध्यान दिइनेछ। महिलाविरुद्ध हुने हिंसा, शोषण र भेदभाव अन्त्य गरिनेछ।
79 मानव बेचबिखन र ओसारपसारमा शून्य सहनशीलता अपनाइनेछ। लैङ्गिक हिंसा पीडितहरूका लागि तत्काल संरक्षण, उपचार, मनोसामाजिक परामर्श र शीघ्र न्यायिक निरूपण र पीडकलाई कडा कारबाही गरी पीडितहरूको समाजमा पुनर्स्थापना गरिनेछ।
80 राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई राष्ट्रिय महिला उत्थान कार्यक्रमको रूपमा थप व्यवस्थित गरी प्रभावकारी ढङ्गले सञ्‍चालन गरिनेछ। आर्थिक र सामाजिक रूपमा विपन्‍न महिलाहरूको आर्थिक सशक्तीकरणका लागि वित्तीय पहुँच र उद्यमशीलता विकास गरिनेछ। दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम थप प्रभावकारी बनाइनेछ।
81 बालबालिकाको शारीरिक तथा मानसिक विकास र संरक्षण गरिनेछ। सडक बालबालिकाका लागि पारिवारिक पुनर्मिलन, सामाजिक पुनर्स्थापना र वैकल्पिक हेरचाहको व्यवस्था मिलाइनेछ। बाल हेल्पलाईन सेवालाई नागरिक एपसँग जोडिनेछ।
82 आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालन पोषण समेत गरिदिने कोही नभई जीवन नै जोखिममा रहेका सडक आश्रित सहयोगापेक्षी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति एवम् मनोरोगीहरूको उद्धार एवम् मानवोचित व्यवस्थापन गराउँदै सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र बनाइनेछ। ज्येष्ठ नागरिकलाई सम्मानपुर्वक जीवनयापनको प्रबन्ध गरिनेछ। ज्येष्ठ नागरिकहरूका ज्ञान र अनुभवको उपयोग र पुस्तान्तरणमा जोड दिइनेछ। ज्येष्ठ नागरिक सेवा केन्द्रहरूको विस्तार गरिनेछ। ज्येष्ठ नागरिकहरूको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइनेछ।
83 अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना सेवा विस्तार गरिनेछ। सार्वजनिक पूर्वाधार र सेवाहरूलाई अपाङ्गतामैत्री बनाइनेछ।
84 गैर सरकारी संस्थाहरूलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न कानुनी व्यवस्था मिलाइनेछ।
85 महिलाविरूद्ध भेदभाव अन्त्यसम्बन्धी महासन्धि, बेइजिङ घोषणापत्र, बाल अधिकार र अपाङ्गता अधिकारको कार्यान्वयन गरिनेछ।
माननीय सदस्यहरू,
86 “निरोगी नेपाल अभियान” अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुवै विधि अपनाई चिकित्सा प्रणालीका सबै पक्षको विकास गरिनेछ। सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकार्य गरिनेछ। स्वास्थ्य प्रणालीको विकास जनसङ्ख्या, भूगोल र रोगको भारका आधारमा गरिनेछ ।
87 स्वास्थ्य जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवाका लागि सङ्‍घीय स्वास्थ्य सेवा ऐन र स्वास्थ्य सेवाको गुणस्तर नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्ययन प्राधिकरण ऐन तर्जुमा गरिनेछ।
88 सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गरिनेछ। दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्‍चालन गरिनेछ। हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ्ग महिना घोषणा गरी कार्यक्रमहरू सञ्‍चालन गरिनेछ।
89 क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिनेछ। पाठेघर क्यान्सरको एच.पी.भी. खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराइनेछ। मस्तिष्क, मेरुदण्ड, मानसिक र स्नायु रोग उपचारका लागि काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिनेछ।
90 स्वास्थ्य क्षेत्रका जनशक्तिको आपूर्ति सुनिश्चित गर्न ‘जनरल नर्सिङ कार्यक्रम’ सञ्‍चालन गरिनेछ। उत्पीडित तथा सिमान्तकृत समुदायलाई चिकित्सा शिक्षामा आरक्षणको व्यवस्था गरिनेछ।
91 स्वास्थ्य बिमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गरिनेछ। गम्भीर रोगको उपचारसमेत बिमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गरिनेछ। बिमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि बीमा बोर्डको पुनर्संरचना गरिनेछ।
92 बिमा प्रणालीमाथिको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक ‍औषधीहरू बीमा प्रणालीमा जोडिनेछ। छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गरी स्रोतको अभावलाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष लगायत सबै स्वास्थ्य सेवा र उपचार सुविधा दिने संस्थाहरूको सेवा प्रभावकारी बनाइनेछ।
93 सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने गरी नागरिक एपलाई सुधार गरिनेछ। आधारभूत तथा अत्यावश्यक ‍औषधीहरूको उत्पादन प्रवर्धन गरिनेछ। औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी एकीकृत ऐन तर्जुमा गरिनेछ।
94 आयुर्वेद सेवाको सुदृढीकरण र वैकल्पिक चिकित्सा विधि प्रवर्धन गर्न आयुर्वेद अध्ययन प्रतिष्ठानको रूपमा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ।
95 सङ्‍क्रामक रोगको रोकथाम र महामारीको प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणालीलाई सुदृढ गरिनेछ। जलवायु परिवर्तनका स्वास्थ्य चुनौतीहरूको समाधानका लागि क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट विकास गरिनेछ।
96 जनसङ्‍ख्या वृद्धि दरलाई पुनर्स्थापना दरभन्दा कम हुन नदिने गरी जनसङ्‍ख्या नीति तर्जुमा गरिनेछ। स्वास्थ्य र जनसाङ्‍ख्यिक दर्ता प्रणालीलाई एकीकृत स्वास्थ्य सूचना प्रणालीसँग आवद्ध गरिनेछ।
माननीय सदस्यहरू,
97 सबै नेपाली नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी सेवाको उपलब्धता सुनिश्चित गरिनेछ। खानेपानी र सरसफाइ क्षेत्रमा दिगो विकास लक्ष्यहरू हासिल गर्नका लागि लगानी वृद्धि, सेवा दक्षता, प्रभावकारिता र सुशासन कायम गरिनेछ । प्राकृतिक विपद् प्रभावित तथा अधुरा खानेपानी आयोजनाहरूको निर्माण, मर्मत र सञ्चालन गरी पानीको पहुँच पुर्‍याइनेछ।
98 जलाशययुक्त खानेपानी आयोजना र भूमिगत पानी स्रोतको पुनर्भरणलाई प्राथमिकता दिइनेछ।
99 स्थानीय तह र उपभोक्ताहरूको सह लगानीमा खानेपानी र सरसफाइका आयोजना एकीकृत रूपमा कार्यान्वयन गरिनेछ । खानेपानी संस्थान लगायत काठमाडौँ उपत्यकामा खानेपानी सेवा सञ्चालन गर्ने निकायहरूको पुनर्संरचना गरिनेछ।
माननीय सदस्यहरू,
100 उच्च तथा दिगो आर्थिक वृद्धिका लागि भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजी लगानीलाई प्रवर्धन गरिनेछ। सडक, रेल र जल यातायातलाई आवागमनको प्रमुख माध्यमको रूपमा विस्तार गरिनेछ। रेलमार्गको विकास र विस्तारलाई निरन्तरता दिइनेछ।
101 अन्तर्देशीय सडक यातायात सञ्‍जालसँग आबद्ध हुने गरी प्रमुख राजमार्गहरूको निर्माण, सुधार तथा स्तरोन्‍नति गरिनेछ। राष्ट्रिय यातायात नीति, सार्वजनिक सवारी र यातायात व्यवस्था ऐन, सार्वजनिक सडक ऐन, सडक सुरक्षा ऐन तर्जुमा गरिनेछ। सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था सुधार गर्ने, यात्रु लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा सवारी चालकको क्षमता विकास गरी जिम्मेवार बनाइनेछ।
102 रणनीतिक र व्यापारिक महत्वका सडक खण्डहरूको क्रमश: निर्माण र स्तरोन्‍नति गरिनेछ। रुग्ण पुल तथा सडक आयोजना फरफारक गरिनेछ।
103 वैदेशिक सहायतामा सञ्चालन हुने सबै परियोजनाहरूको शीघ्र कार्यान्वयन गरिनेछ। राष्ट्रिय राजमार्गमा विशेष प्रकृतिका पुलहरूको निर्माण गरिनेछ। सुरूङमार्ग, द्रुतमार्ग र ओभर पास जस्ता आधुनिक प्रविधियुक्त पूर्वाधार निर्माणमा जोड दिइनेछ।
माननीय सदस्यहरू,
104 सडक तथा पुलको निर्माण, सम्भार र परिचालनमा तीन तहका सरकारहरूको बिच समन्वय र सहकार्य गरिनेछ। सडक सुविधा नपुगेका दुर्गम क्षेत्रहरूको यातायातलाई सहज तुल्याउन तुइन विस्थापन गर्ने गरी झोलुङ्गे पुलहरूको निर्माणलाई निरन्तरता दिइनेछ।
105 तीन तहका सरकार बिचको समन्वय र सहकार्यमा सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवम् भरपर्दो र वातावरणमैत्री बनाइनेछ। आधुनिक प्रविधिको प्रयोग गरी सार्वजनिक यातायात प्राधिकरणमार्फत यातायात सञ्चालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था गरिनेछ।
106 सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्थानीय तहको केन्द्रलाई राष्ट्रिय र प्रादेशिक सडक सञ्जालसँग जोडी अन्तर आबद्धता कायम गरिनेछ। प्रादेशिक र स्थानीय सडकहरूको सह लगानी र समन्वयमार्फत कालोपत्रे स्तरमा सुधार गरिनेछ।
107 आपत्कालीन आवास र आवासविहीन परिवारहरूको लागि आवास निर्माण कार्यलाई निरन्तरता दिइनेछ। कमजोर र अव्यवस्थित सहरी क्षेत्रहरूको एकीकृत विकास गरिनेछ। स्थानीय तहका प्रशासनिक भवनहरूको मापदण्ड अनुरूप निर्माण गरिनेछ।
108 काठमाडौँ उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र अन्य पर्यावरणीय सुधारका कार्यहरू गरिनेछ। काठमाडौँको केन्द्रमा स्थित भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्कको रूपमा विकास गरिनेछ।
109 सहरी पूर्वाधारका लागि थप पुँजी परिचालन गर्न नगर विकास कोषलाई पुनर्संरचना गर्दै यसको स्वामित्व सङ्घ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाहरूको बिचमा वितरण गरिनेछ। आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाइनेछ।
माननीय सदस्यहरू,
110 दूरसञ्‍चार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग र पूर्वाधारको व्यवस्थापनमार्फत गुणस्तरीय दूरसञ्‍चार सेवाको देशव्यापी पहुँच विस्तार गरिनेछ। सार्वजनिक सेवा प्रसारण संस्थाको सबलीकरण गर्दै आमसञ्‍चार सामग्री उत्पादन, प्रकाशन र प्रसारणलाई प्रभावकारी बनाइनेछ।
111 हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गर्दै कार्यक्षेत्रको विविधीकरण, सेवा प्रवाहमा आधुनिकीकरण र व्यवसायीकरण गरिनेछ। ‘एक स्थानीय तहः एक स्मार्ट हुलाक’ को अवधारणाको कार्यान्वयन गरिनेछ। सुरक्षण मुद्रणलाई दिगो र भरपर्दो रूपमा सञ्चालनमा ल्याइनेछ।
112 डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई थप प्रभावकारी बनाइनेछ। सूचना प्रविधिको क्षेत्रमा नवीनतम प्रविधिको विकास र विस्तारका लागि डिजिटल इकोसिस्टम निर्माण गरिनेछ। आर्टिफिसियल ईन्टेलिजेन्सको विकास र नैतिक प्रयोगका लागि संस्थागत र कानुनी आधार तयार गरिनेछ।
113 सञ्चार र निगरानी क्षमतामा वृद्धि गर्न नेपालको आफ्नै भू-उपग्रह सञ्चालनको आधार तयार गरिनेछ। अति संवेदनशील सूचना प्रविधि, पूर्वाधारको सुरक्षा र निरन्तरताको सुनिश्चितता गर्दै सुरक्षित साइबर स्पेस निर्माण गरिनेछ।
114 सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्धन गर्न सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी नियमन गरिनेछ।
माननीय सदस्यहरू,
115 नागरिकको सुरक्षाका लागि राज्यको सुरक्षा प्रणाली सुदृढ गरिनेछ। सुरक्षा निकायहरूलाई थप सबल, सक्षम, सुदृढ र व्यावसायिक बनाइनेछ। सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्टको विस्तार, नागरिकको सक्रिय सहभागिता एवम् प्रविधिको उपयोग गरिनेछ। नागरिकता विधेयक लगायत नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयकलाई संसद्को यसै अधिवेशनबाट पारित गरिनेछ।
116 लागु औषध दुर्व्यसन, आत्महत्या नियन्त्रण, साइवर अपराध नियमन लगायत समाजमा घट्ने अपराध नियन्त्रण गर्न सुरक्षा निकायको दक्षता अभिवृद्धि गरिनेछ। अपराध अनुसन्धानमा उच्च प्रविधिको प्रयोग गरिनेछ।
117 राष्ट्रिय परिचयपत्रलाई सार्वजनिक सेवा प्रवाह र विकास व्यवस्थापनको आधारको रूपमा प्रयोग गरिनेछ। यसलाई अन्य सार्वजनिक सेवासँग आबद्ध गरी सेवा प्रवाहलाई सरल, मितव्ययी र प्रभावकारी बनाइनेछ।
118 विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारको क्षमता विकास गर्दै जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिचको सहयोग, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइनेछ।
119 पश्चिम नेपालको भूकम्प, मनसुनजन्य विपद् र अन्य प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त निजी आवास, पुरातात्त्विक सम्पदा तथा सार्वजनिक संरचनाहरूको प्रबलीकरण, पुनर्निर्माण र पुनर्स्थापनाको कार्यलाई द्रुत गतिमा अघि बढाइनेछ।
120 अध्यागमन प्रणालीलाई सरल, सुरक्षित र भरपर्दो बनाउन आधुनिक प्रविधिको उपयोग गरिनेछ।
माननीय सदस्यहरू,
121 मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय हितका लागि नेपाली सेना लगायत सबै सुरक्षा निकायहरूको प्रभावकारी परिचालन गरिनेछ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायलाई सुदृढ गर्न आवश्यक पर्ने आधुनिक प्रविधि र सुरक्षा उपकरणको व्यवस्था मिलाइनेछ।
122 राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति कार्यान्वयनलाई थप प्रभावकारी बनाइ राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ गरिनेछ। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको लागि आवश्यक भौतिक पूर्वाधारका संरचनाहरू निर्माण गरी आगामी आर्थिक वर्षदेखि सञ्‍चालनमा ल्याइनेछ।
123 नेपाली सेनाको क्षमता विकास र सङ्गठनात्मक सुदृढीकरण गरिनेछ । नेपाली सेनाको बङ्करदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता दिई सकल दर्जाका सैनिकलाई क्रमशः आवास सुविधा उपलब्ध गराइनेछ ।
124 राष्ट्रिय सेवा दलको कार्यक्रमलाई दुर्गम र सीमान्तकृत क्षेत्रका विद्यालयहरूसम्म विस्तार गरी राष्ट्रप्रति समर्पित, अनुशासित र बफादार युवा जनशक्तिको विकास गरिनेछ।
125 राष्ट्रिय महत्त्वका ऐतिहासिक गढी र किल्लाहरूको संरक्षण र संवर्धन गरी स्थानीय पर्यटनलाई प्रवर्धन गरिनेछ ।
माननीय सदस्यहरू,
126 सङ्‍घीय शासन प्रणालीमा सेवा प्रवाहको प्रभावकारिताका लागि सङ्‍घ, प्रदेश, र स्थानीय तहका सरकारहरूको कामकारबहीमा समन्वय र सहकार्य अभिवृद्धि गरिनेछ। तीन तहका सरकारबीच सङ्घीयता कार्यान्वयनमा देखिएका द्विविधा हटाउन तयार गरिएको कार्य विस्तृतीकरण प्रतिवेदन आवश्यक परिमार्जनसहित लागू गरिनेछ।
127 सरकारी र सार्वजनिक सेवामा नागरिकहरूको पहुँचलाई सहज बनाउन र सेवाहरूको दक्षता बढाउन अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरिनेछ। नागरिक सेवा पहुँचलाई सजिलो र छिटो बनाउन विभिन्न निकायबाट प्रदान गरिने सार्वजनिक सेवाहरू एकै स्थानबाट प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइनेछ ।
128 स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सङ्‍घीयता अध्ययन प्रतिष्ठानमा रूपान्तरण गरिनेछ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई सार्वजनिक प्रशासन, विकास व्यवस्थापन र शासकीय अभ्यासको अध्ययन अनुसन्धान गर्ने शैक्षिक प्रतिष्ठानको रूपमा विकास गर्न कानुनी व्यवस्था गरिनेछ।
129 सङ्‍घ, प्रदेश र स्थानीय तहका सङ्गठन तथा व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइनेछ। तीन तहका सरकारका कर्मचारीको अभिलेख व्यवस्थापन प्रणालीमा अन्तर आवद्धता कायम गरिनेछ ।
130 निजामती कर्मचारीको सेवा सुविधा र व्यवसायजन्य सुरक्षालाई उत्प्रेरक र पूर्वानुमानयोग्य बनाई राष्ट्रसेवकलाई उच्च मनोबल युक्त बनाइनेछ। सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिनेछ।
माननीय सदस्यहरू,
131 न्याय प्रणालीलाई छिटो, छरितो, पारदर्शी र विश्वसनीय बनाई न्यायमा आम नागरिकको पहुँच अभिवृद्धि गर्न न्याय सेवाको संरचनात्मक सुधार गरिनेछ। गरिब र कमजोर वर्गका नागरिकलाई न्यायमा पहुँच दिलाउन नि:शुल्क कानुनी सहायतालाई प्रभावकारी बनाइनेछ। फौजदारी कानुनमा आवश्यक परिमार्जन गरी पीडित मैत्री बनाइनेछ ।
132 सङ्‍घीयताको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक कानुन परिमार्जन र निर्माण गरिनेछ। तीन वटै तहबाट निर्माण भएका कानुनको निरन्तर र नियमित अध्ययन गरी, कानुन तर्जुमा तथा सुधारलाई अनुसन्धानमुखी बनाइनेछ।
133 सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगलाई क्रियाशील बनाइनेछ। मानव अधिकारको सम्मान, संरक्षण र परिपालनालाई निरन्तरता दिन छैटौँ राष्ट्रिय कार्य योजना लागु गरिनेछ।
134 न्यायिक समितिबाट न्याय सम्पादन गर्ने कार्यलाई थप प्रभावकारी बनाउन सहकार्य गरिनेछ। कानुनसम्बन्धी जानकारी सर्वसाधारणसमक्ष पुर्‍याउन कानुनी सूचना व्यवस्थापन प्रणालीको विकास गरिनेछ।
135 कानुन तथा न्यायको क्षेत्रमा संलग्न जनशक्तिको कानुन तर्जुमा, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, विवाद समाधान लगायतका विविध आयामहरूमा क्षमता अभिवृद्धि गरिनेछ। सरकारी वकिलको सेवामा सुधार र व्यावसायिकता विकासका लागि विद्युतीय न्यायाधिवक्ता कार्यक्रम सञ्‍चालन गरिनेछ।
माननीय सदस्यहरू,
136 राष्ट्रिय हितको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घको बडापत्र असंलग्नता पञ्चशीलको सिद्धान्त अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको आधारमा स्वतन्त्र परराष्ट्र नीतिलाई अवलम्बन गरिनेछ। “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता” को मान्यता अनुरूप सार्वभौमिक समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गरिनेछ। छिमेकी मित्र राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध घनीभूत गरी, पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गरिनेछ।
137 संयुक्त राष्ट्रसङ्घ तथा बहुपक्षीय मञ्चहरूमा नेपालको भूमिकालाई थप प्रभावकारी र सशक्त बनाउँदै नेपालको हित प्रवर्धन गरिनेछ। नेपाल आबद्ध क्षेत्रीय सहयोग संगठनमार्फत क्षेत्रीय सहयोगलाई नेपालको हित अनुकूल, अर्थपूर्ण र प्रभावकारी बनाइनेछ।
138 आर्थिक कूटनीतिलाई सहायता, लगानी, श्रम बजार, पर्यटन र व्यापार प्रवर्धनको महत्त्वपूर्ण औजारको रूपमा स्थापित गर्दै मुलुकभित्र र बाहिर आर्थिक कूटनीतिक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्‍चालन गरिनेछ।
139 गैर आवासीय नेपालीहरूको क्षमता र सञ्जाललाई उपयोग गरी, सार्वजनिक र सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा मुलुकको पहिचान र सम्मानलाई अभिवृद्धि गरिनेछ।
सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष, माननीय सदस्यहरू,
140 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सेन्टर अफ एक्सीलेंसको रूपमा विकास गरी सार्वजनिक सेवा र विकास प्रशासनलाई थप प्रभावकारी र नतिजा उन्मुख बनाइनेछ। कार्यसम्पादनको आधारमा गरिने मूल्याङ्कनलाई वृत्ति विकासमा आबद्ध गरिनेछ।
141 विकास आयोजनाहरूको नतिजामूलक अनुगमन गरिनेछ । अनुगमन गर्ने निकायले गरेको कामको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुगमनको पनि अनुगमन गरिनेछ।
142 सुशासन र छरितो प्रशासनको लागि प्रधानमन्त्रीको अध्यक्षतामा गठित उच्च स्तरीय शासकीय सुधार आयोगले निर्देश गरे बमोजिम क्रमशः सुधारका कार्यहरू अघि बढाइने छ । निर्णय प्रक्रियामा सरलीकरण र प्रविधिमार्फत सेवाको रूपान्तरणका लागि इ-गभर्नेन्स बोर्डलाई सक्रिय बनाइनेछ।
143 सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउँदै नागरिकको पहुँच सुनिश्‍चित गर्न निरन्तर सूक्ष्म निगरानी गरिनेछ। हेलो सरकारमार्फत प्राप्‍त गुनासाहरूको शीघ्र सम्बोधनका लागि रेपिड रेस्पन्स टिम परिचालन गरिनेछ।
144 भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिइनेछ। सरकारी निकायहरूमा पारदर्शिता र जबाफदेहिता वृद्धि गर्न भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति र कार्य योजना कार्यान्वयन गरिनेछ।
145 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका निकायहरूको काम कारबाहीलाई पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाइनेछ। तस्करी, भ्रष्टाचार र राज्यको सम्पत्ति दुरुपयोग नियन्त्रणमा यी निकायहरूको भूमिका थप सुदृढ बनाइनेछ।
146 आर्थिक र वित्तीय प्रणालीमा पारदर्शिता र उत्तरदायित्व सुदृढ गरिनेछ। कसुरजन्य सम्पत्ति जफत गरी राज्यको स्वामित्वमा ल्याउने प्रक्रियालाई निरन्तरता दिइनेछ।
147 सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना अनुसारका कार्यसम्पन्‍न गरी वि. सं २०८३ सालभित्रै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूर्ण पालना गर्ने मुलुकको श्रेणीमा पुर्‍याइनेछ। सम्पत्ति शुद्धीकरणलाई नियमन गर्न अनुसन्धान र अभियोजन प्रणाली पारदर्शी र प्रभावकारी बनाइनेछ।
148 राष्ट्रिय लेखा अनुमानको आधार वर्ष परिवर्तन गर्न आवश्यक सडक यातायात सेवा प्रदायक प्रतिष्ठान सर्वेक्षण, निजी स्वास्थ्य सेवा प्रदायक प्रतिष्ठान सर्वेक्षण र सहकारी सर्वेक्षणको कार्य सम्पन्‍न गरिनेछ। राष्ट्रिय आर्थिक गणना, २०८२ को तथ्याङ्क सङ्‍कलन कार्यसम्पन्‍न गरिनेछ।
149 योजना तथा नीति निर्माणका लागि तथ्याङ्क प्रणालीलाई भरपर्दो र प्रभावकारी बनाइनेछ, राष्ट्रिय तथ्याङ्क प्रणालीमा तीन वटै तहका तथ्याङ्कहरू आबद्ध गरिनेछ।
150 राष्ट्रिय योजना आयोगलाई तीन तहका सरकारका आवधिक योजनाहरूबिच समन्वय कायम गर्न र विकास आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कनका लागि सक्षम संस्थाका रूपमा विकास गरिनेछ।
151 सार्वजनिक खरिद कार्यलाई परिणाममुखी र प्रभावकारी बनाउन विद्युतीय खरिद प्रणाली इजिपीको स्तरोन्‍नति गरिनेछ। सार्वजनिक खरिदसम्बन्धी नमुना बोलपत्र कागजात निर्माण र परिमार्जन गरिनेछ।
152 औद्योगिक तथा पूर्वाधार आयोजनाका लागि बाह्य लगानी जुटाउन लगानी बोर्डलाई परिचालित गरिनेछ।
153 तीन तहका सरकारको काममा समन्वय गर्न प्रधानमन्त्रीको अध्यक्षतामा गठित संयन्त्रहरू आवश्यकता अनुसार परिचालन गरिनेछ।
माननीय सदस्यहरू
154 नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को प्रस्तुत नीति तथा कार्यक्रमले संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनमार्फत “समृद्ध नेपाल सुखी नेपाली”को सपनालाई साकार पार्नेछ। यस नीति तथा कार्यक्रममा अन्तर्निहित उद्देश्य प्राप्त गर्न सरकारले राष्ट्रिय सहमति, सहकार्य र सामूहिक प्रतिबद्धताको नीति अवलम्बन गर्नेछ। प्रस्तुत नीति तथा कार्यक्रमको कार्यान्वयनमा सरकारलाई सबैबाट सक्रिय सहयोग प्राप्त हुने विश्वास व्यक्त लिएको छु।
155 अन्त्यमा, सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मी, मजदुर, किसान, उद्योगी व्यवसायी, बैङ्क तथा वित्तीय क्षेत्र, सामुदायिक तथा सहकारी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी लगायत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। नेपालको विकासमा निरन्तर सहयोग पुर्‍याउँदै आएका छिमेकी देश लगायत सबै मित्रराष्ट्र तथा विकास साझेदारलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग प्राप्त भइरहने विश्‍वास व्यक्त गर्दछु।

धन्यवाद।

महिमानसिंहलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले शुक्रवार चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो । बुधबार पक्राउ परेका विष्टलाई शुक्रबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ गरेका थिए । उनीविरुद्ध लिखत किर्ते कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विष्टले पदको दुरुपयोग गरी रेशमलाई पक्राउ गर्न डिल्लीबजार कारागारको नाममा पत्र पठाएका थिए । लगत्तै प्रहरीले नियन्त्रणमा लिएर रेशमलाई कारागार बुझाएको थियो ।

सर्वोच्चले महिमान विष्टको पत्र अनधिकृत भएको भन्दै रेशमलाई रिहा गर्न अर्को पत्र पठाएको थियो । त्यसपछि करिब साढे चार घण्टाको कारागार बसाइपछि रेशम थुनामुक्त भएका थिए । महिमानविरुद्ध तीन वटा कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिनिधिसभामा नीति कार्यक्रममाथि ६ दिन छलफल हुने

काठमाडौँ । सङ्घीय संसद्मा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीबाट जवाफका लागि यही वैशाख २२, २३, २४, २५, २६ र २८ गतेका दिन तोकेको जानकारी गराए ।

उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वको आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक घन्टा अगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन सम्बन्धित दलका पदाधिकारीलाई आग्रह गरे ।

सभामुख घिमिरेले नीति कार्यक्रममाथि संशोधन राख्न चाहने सांसदले सोको सूचना यही वैशाख २० र २१ गते बिहान ११ देखि अपराह्न ३ बजेभित्र कार्यव्यवस्था शाखामा दिन सक्ने जानकारी गराए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका निकायहरूको काम कारबाहीलाई पारदर्शी बनाइने

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारणका मामलामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा रहेकामा सरकारले आगामी दुई वर्ष सबैखालका अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्ने नीति लिएको छ ।

शुक्रबार सदनमा पेस गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रमले मुलुकलाई दुई वर्षभित्र सम्पत्ति शुद्धीकरण निवारण मामलाका सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने लक्ष्य राखेको हो ।

“सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनाअनुसारका कार्यसम्पन्न गरी विसं २०८३ भित्रै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तरराष्ट्रिय मापदण्ड पूर्ण पालना गर्ने मुलुकको श्रेणीमा पुर्याइनेछ । सम्पत्ति शुद्धीकरणलाई नियमन गर्न अनुसन्धान र अभियोजन प्रणाली पारदर्शी र प्रभावकारी बनाइनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गरी सार्वजनिक सेवा र विकास प्रशासनलाई थप प्रभावकारी र नतिजाउन्मुख बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

विकास आयोजनाहरूको नतिजामूलक अनुगमन गर्ने तथा अनुगमन गर्ने निकायले गरेका कामको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुगमन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
सुशासन र छरितो प्रशासनको लागि प्रधानमन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय शासकीय सुधार आयोगले निर्देश गरेबमोजिम क्रमशः सुधारका कार्यहरू बढाइने जनाइएको छ । यस्तै, निर्णय प्रक्रियामा सरलीकरण र प्रविधिमार्फत सेवाको रूपान्तरणका लागि ई–गभर्नेन्स बोर्डलाई सक्रिय बनाइने सरकारले प्रतिबद्धता जनाएको छ ।

सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउँदै नागरिकको पहुँच सुनिश्चित गर्न निरन्तर सूक्ष्म निगरानी गरिने जनाइएको छ । यस्तै, हेलो सरकारमार्फत प्राप्त गुनासाहरूको शीघ्र सम्बोधनका लागि ‘रेपिड रेस्पन्स टिम’ परिचालन गरिनेछ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिइने र सरकारी निकायहरूमा पारदर्शिता तथा जवाफदेहिता वृद्धि गर्न भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति र कार्ययोजना कार्यान्वयन गरिने जनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका निकायहरूको काम कारबाहीलाई पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । तस्करी, भ्रष्टाचार र राज्यको सम्पत्ति दुरुपयोग नियन्त्रणमा यी निकायहरूको भूमिका थप सुदृढ बनाइने जनाइएको छ ।

आर्थिक र वित्तीय प्रणालीमा पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने तथा कसुरजन्य सम्पत्ति जफत गरी राज्यको स्वामित्वमा ल्याउने प्रक्रियालाई निरन्तरता दिइने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रिय लेखा अनुमानको आधार वर्ष परिवर्तन गर्न आवश्यक सडक यातायात सेवा प्रदायक प्रतिष्ठान सर्वेक्षण, निजी स्वास्थ्य सेवा प्रदायक प्रतिष्ठान सर्वेक्षण र सहकारी सर्वेक्षणको कार्य सम्पन्न नीति पनि सरकारले लिएको छ । यस्तै, राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्याङ्क सङ्कलन कार्य यसै वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

सार्वजनिक खरिद कार्यलाई परिणाममुखी र प्रभावकारी बनाउन विद्युतीय खरिद प्रणालीको स्तरोन्नति गर्ने, औद्योगिक तथा पूर्वाधार आयोजनाका लागि बाह्य लगानी जुटाउन लगानी बोर्डलाई परिचालन गरिने पनि सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गरिने

काठमाडौँ । सरकारले सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अस्पताललाई अनलाइन सेवामा आबद्ध गर्नेगरी नागरिक एपलाई सुधार गरिने बताए ।

सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गरिने उनले बताए । स्वास्थ्य प्रणालीको विकास जनसङ्ख्या, भूगोल र रोगको भारका आधारमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

जनसङ्ख्या वृद्धि दरलाई पुनःस्थापना दरभन्दा कम हुन नदिने गरी जनसङ्ख्या नीति तर्जुमा गरिने भएको छ । साथै स्वास्थ्य र जनसाङ्ख्यिक दर्ता प्रणालीलाई एकीकृत स्वास्थ्य सूच्ना प्रणालीसँग आबद्ध गर्ने सरकारको योजना छ ।

युवालाई प्रमुख वाहकका रुपमा परिचालन गरिने

काठमाडौँ । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वाहकका रुपमा परिचालन गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै युवामा स्वयंसेवी र सदाचारी भावना विकास गरिने उल्लेख गरे । नीति तथा कार्यक्रममा युवाको शारीरिक र मानसिक विकासका लागि नियमित खेलकुदसमेत सञ्चालन गरिने उल्लेख छ ।

‘क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट’को विकास गरिने

काठमाडौँ । सरकारले जलवायु परिवर्तन तथा स्वास्थ्य चुनौतीको समाधानको ‘क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट’को विकास गरिने भएको छ । आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनले सङ्क्रामक रोगको रोकथाम र महामारीको प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणालीलाई सुदृढ गरिने पनि उल्लेख गरे ।

हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरी कार्यक्रमहरु सञ्चालन गरिने सरकारको योजना रहेको उनको भनाइ थियो ।

सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो बनाइने

काठमाडौँ । सरकारले तीन तहका सरकारबीच समन्वय र सहकार्यमा सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो वातावरणमैत्री बनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था सुधार गर्ने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले भने, “सवारी दुर्घटना न्यूनीकरण गर्न यात्रुलक्षित सचेतना कार्यक्रम गर्ने तथा सवारी चालकको क्षमता विकास गरी जिम्मेवारी बनाइनेछ ।”

रणनीतिक र व्यापारिक महत्वका सडकखण्डको क्रमशः निर्माण र स्तरोन्नति गर्दै रुग्ण पुल तथा आयोजनाको निर्माण द्रुतगतिमा अगाडि बढाउने सरकारको योजना छ । सरकारले वैदेशिक सहायतामा सञ्चालन हुने सबै परियोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने समेत घोषणा गरेको छ ।

सरकारले राष्ट्रिय राजमार्गमा विशेष प्रकृतिका पुलहरु निर्माण गर्ने, सरुङमार्ग, द्रुतमार्गजस्ता आधुनिक निर्माणमा जोड दिने भएको छ । सडक तथा पुलको निर्माण र परिचालनमा तीन तहका सरकारको बीचमा समन्वय र सहकार्य गरी अगाडि बढ्ने योजना सरकारको छ ।

सडक सुविधा नपुगेका दुर्गम क्षेत्रको यातायातलाई सहज तुल्याउन तुइन व्यवस्थापन गर्ने र झलुङ्गे पुलको निर्माण गर्ने राष्ट्रपति पौडेलले उल्लेख गरे ।

‘जेन्जी’ पुस्तालाई लक्षित गरी ‘स्टार्टअप’ कार्यक्रम सुरु गरिने

काठमाडौँ । सरकारले सबै उद्यममा ‘बिजनेस प्लान’ र त्यसको ‘इकोसिस्टम’ निश्चित गरी ‘जेन्जी’ पुस्ता लक्षित ‘युवा पुस्ता स्टार्टअप’ कार्यक्रम सुरु गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गरिने बताए ।

राष्ट्रपतिले पौडेलले भने, ‘उद्यमशीलतामैत्री शिक्षा अपनाई श्रम क्षेत्रमा रहेको सीपयुक्त श्रम शक्तिको अभाव र सीपहीन श्रमशक्ति जगेडामा रहने अवस्थाको अन्त्य गर्ने, यसका लागि हालको पाठ्यक्रम, अध्ययन सिकाइ विधिमा व्यापक परिवर्तन गरिनेछ ।’

उनले विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्न नीतिगत तथा कानुनी प्रबन्ध गर्ने, विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान तथा विकासतर्फ केन्द्रित गर्ने उल्लेख गरे ।

गम्भीर प्रकृतिका रोगको उपचार स्वास्थ्य बीमाबाटै गरिने

काठमाडौँ । सरकारले गम्भीर प्रकृतिका उपचार स्वास्थ्य बिमाबाट गरिने व्यवस्था गर्ने भएको छ । सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गम्भीर प्रकृतिका रोगको उपचार बीमाबाट हुनेगरी सुविधा थैली परिमार्जन गर्न आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले बीमा सेवाको सुशासन र वित्तीय दायित्वका लागि बीमा बोर्डको पुनः संरचना गरिने उल्लेख गरे ।

साथै बीमा प्रणालीमाथिको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधि बीमा प्रणालीमा जोडिने जनाइएको छ ।

धौवादी फलाम कम्पनी र सेजलाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गरिने

काठमाडौँ । सरकारले धौवादी फलाम कम्पनी र विशेष आर्थिक क्षेत्र (सेज) लाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने अवधारणा अघि सारेको छ ।

सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत यस्तो नीति लिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै यी दुवैलाई सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाउने सरकारको नीति रहेको उल्लेख गरे ।

यस्तै, पेट्रोलियम, फलाम, तामाजस्ता खानीको उत्खनन र प्रयोगलाई महत्वका साथ अघि बढाइने बताए । व्यावसायिक वातावरण सुधार गर्न सरकारले अध्यादेशमार्फत सुरु गरिएका नीतिगत सुधारका कार्यक्रमको आधारमा उद्यमशीलतामा निजी लगानी प्रवद्र्धन गर्ने नीति सरकारले लिएको राष्ट्रपति पौडेलले उल्लेख गरे ।

यस्तै, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यसहित मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न विधामा उद्यमशीलताको अवसर सिर्जना गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्थानीय कच्चापदार्थ, उद्यमशीलता र सीपमा आधारित औद्योगिक विकासलाई प्रोत्साहित, सहकारी तथा सामुदायिक क्षेत्रलाई उद्योगतर्फ आकर्षित गर्ने, स्टार्टअप कर्जा कार्यक्रम विस्तार, स्टार्टअप उद्यमीलाई सबै प्रदेशमा व्यवसाय संवद्र्धन केन्द्र स्थापनालगायतका नीति सरकारले लिएको छ ।

यस्तै, लजिस्टिक गुरुयोजना बनाउने, रेल र जल परिवहनको पूर्वाधार बनाई ढुवानी लागत घटाउने, रुग्ण उद्योगलाई सञ्चालनमा ल्याउने, राष्ट्रिय सुरक्षा भण्डार र खाद्य सुरक्षा भण्डारमा आवश्यक खाद्यान्न मौज्दात राख्नेजस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।

साथै, अन्तरदेशीय पेट्रोलियम पाइपलाइन र भण्डार क्षमता बढाउने नीति सरकारको छ । ग्रिन हाइड्रोजनको प्रारम्भिक प्रयोगका लागि तयारी गर्ने र पेट्रोलमा बायो इथानोल मिश्रणको नीति कार्यान्वयन गरिने पनि उल्लेख गरिएको छ ।

सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिने

काठमाडौँ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसद् बैठकमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणालाई थप सुुदृढ गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गरिने उनले उल्लेख गरे ।

सहकारीका बचतकर्ताको बचत फिर्ताका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण कोष खडा गरिने

काठमाडौं । सरकारले सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्या समाधान तथा कोष स्थापना गरेर बचत फिर्ता गर्ने सरकारले भएको छ ।

शुक्रबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ताको घोषणा गरेका हुन् । उनले बचत फिर्ताका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कोष खडा गरिने बताए ।

उनले सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने पनि बताए । त्यस्तै सरकारले सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गर्ने घोषणा गरेको छ ।

उद्यमशीलतामैत्री शिक्षामा जोड दिइने

काठमाडौं । सरकारले विद्यालय शिक्षा ऐन बनाउने भएको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाइने बताएका हुन् ।

राष्ट्रपति पौडेलले विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध पनि गरिने बताए ।

उनले उद्यमशीलतामैत्री शिक्षामा जोड दिने सरकारको नीति रहेको र पाठ्यक्रममा सुधार गरिने बताए । उच्च शिक्षालाई अनुसन्धानमुलक बनाइने उनले बताए ।

सरकार लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न प्रतिबद्ध छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा रहेका कमीकमजोरीलाई सच्याउन संविधान संशोधन गर्ने बताएका छन् ।

शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने बताएका हुन् ।

उनले गणतन्त्रविरोधीलाई पनि कडा प्रतिवाद गरिने बताए । उनले भने, ‘गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गरिने छ । समाजमा बेला बेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी संविधान र व्यवस्थाप्रति अफवाह फैलाई अराजकता सिर्जना गर्नेहरू विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ छ ।’

नेपाल विद्युत् प्राधिकरणको स्वेतपत्र जारी, प्राधिकरण ५ अर्ब भन्दाबढी घाटामा रहेको दाबी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेत पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक हेतेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

श्वेतपत्र सार्वजनिक गर्दै उनले हालसम्म प्राधिकरण हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको उल्लेख गरेका छन् । उनले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानीमै रहेको जानकारी गराएका हुन् ।

आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानीमै रहेको उनले बताए ।

सुनकोशी मरिन आयोजना समयमै निर्माण सम्पन्न गर्न उर्जामन्त्री खड्काको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनकोशी मरिन बहुउद्देश्यीय ‘डाइभर्सन’ आयोजना समयमै निर्माण गर्न निर्देशन दिएका छन् ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ‘वर्तमान ठेक्का कार्यान्वयनको अवस्था समस्या एवम् चुनौती’बारे शुक्रबार जानकारी लिँदै मन्त्री खड्काले राष्ट्रिय गौरवको आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नेगरी समाधान खोज्न निर्माणमा संलग्न पक्षलाई निर्देशन दिएका हुन् ।

“सुनकोशी मरिनबारे प्रधानमन्त्रीले बारम्बार चासो राख्दै आउनुभएको छ, यो आयोजना समयमै निर्माण गर्न समाधान खोज्न जरुरी छ”, उनले भने । एउटै निर्माण व्यवसायीले धेरै आयोजना लिने र समयमै काम सम्पन्न नगर्ने प्रवृतिले विकासमा ढिलाइ भएको उनको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नै रहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासमेत चार वर्षमा बन्नुपर्नेमा ६ वर्षसम्म पनि ६० प्रतिशत मात्र प्रगति हुनु दुःखको कुरा भएको मन्त्री खड्काले बताए ।

मन्त्रालयकी सचिव सरीता दवाडीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति न्यून भएको बताए । “पटकपटक विभाग र मन्त्रालयको टोलीले आयोजनाको प्रगतिबारे चासो लिए पनि सोचेजस्तो प्रगति भएन,” उनले भने ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले निर्माणमा संलग्न व्यवसायीले प्रतिबद्धता पूरा गर्न नसक्दा आयोजना निर्माणमा ढिलाइ भएको बताए । 

सुमन र सम्पदा उत्कृष्ट खेलाडी

काठमाडौँ । काठमाडौँका सुमन घले र सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

सुमन पुरुषतर्फ तथा सम्पदा महिलातर्फ उत्कृष्ट खेलाडी बनेका हुन् । नेपाल तेक्वान्दो सङ्घ, बागमती प्रदेश र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्तरुपमा आयोजित प्रतियोगिताको पुरुष ५०–५४ किलो तौल समूहमा सुमनले स्वर्ण पदक जितेका हुन् । यस्तै महिला ४०–४३ किलो तौल समूहतर्फ सम्पदाले स्वर्ण पदक जितेकी हुन् ।

यसैगरी पुरुष ४६–५० किलो तौल समूहमा करण ढोली, ५४–५८ किलो तौल समूहमा अर्पण लामा, ५८–६३ किलो तौल समूहमा सुझपकुमार यादव र ६३–६८ किलो तौल समूहमा आशिष भुजेलले स्वर्ण जिते ।

यस्तै महिला ४३–४६ किलो तौल समूहतर्फ सुप्रिमा बजगाईं, ४६–४९ किलो तौल समूहतर्फ रोजिना लामा, ४९–५३ किलो तौल समूहतर्फ प्रतिमा भुजेल र ५३–५८ किलो तौल समूहतर्फ मनीषा तामाङले स्वर्ण जिते ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो सङ्घ, बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा पुरुष/महिलातर्फ गरी गरी २१० खेलाडीले प्रतिस्पर्धा गरेका तेक्वान्दो प्रशिक्षक रञ्जितबहादुर डङ्गौराले जानकारी दिए ।

एनपिआर, पिबिएस सार्वजनिक कोष कटौती गर्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार संस्थाहरूलाई पक्षपाती भएको आरोप लगाउँदै बिहीबार एनपिआर र पिबिएसको सार्वजनिक कोष कटौती गर्न खोज्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

एनपिआर र पिबिएस केवल आंशिक रूपमा अमेरिकी करदाताद्वारा वित्त पोषित छन् र निजी अनुदानमा धेरै निर्भर छन् ।

ट्रम्पको धेरैजसो मुख्यधाराका समाचार मिडियासँग लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेको छ । पहिले तिनीहरूलाई ‘जनताको शत्रु’ भनेर वर्णन गरिएको थियो ।

एउटा उल्लेखनीय अपवाद शक्तिशाली रूढिवादी प्रसारक फक्स न्यूज हो । यसका केही आयोजकले उहाँको प्रशासनमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।

“नेसनल पब्लिक रेडियो (एनपिआर) र पब्लिक ब्रोडकास्टिङ सर्भिस (पिबिएस) ले कर्पोरेसन फर पब्लिक ब्रोडकास्टिङ (सिपिबी) मार्फत करदाताको कोष प्राप्त गर्दछन्”, ट्रम्पले आफ्नो कार्यकारी आदेशमा भने, “त्यसैले म सिपिबीको निर्देशक मण्डल र सबै कार्यकारी विभाग र एजेन्सीहरूलाई एनपिआर र पिबिएसका लागि सङ्घीय कोष बन्द गर्न निर्देशन दिन्छु ।”

उनले थपे कि “कुनै पनि संस्थाले करदाता नागरिकहरूलाई वर्तमान घटनाहरूको निष्पक्ष, सही, वा निष्पक्ष चित्रण प्रस्तुत गर्दैन।”

उनले थपे कि “कुनै पनि संस्थाले करदाताका नागरिकहरूलाई वर्तमान घटनाहरूको निष्पक्ष, सही वा निष्पक्ष चित्रण प्रस्तुत गर्दैन”, उनले भने ।

सन् २०२७ सम्मका लागि कंग्रेसले सिपिबीको बजेट स्वीकृत गरिसकेकाले यसले ट्रम्पको आदेशको दायरामाथि प्रश्न खडा गरेको छ ।

चार करोडभन्दा बढी अमेरिकी प्रत्येक हप्ता एनपिआर सार्वजनिक रेडियो सुन्छन् र उनीहरूको अनुमान अनुसार प्रत्येक महिना पिबिएस नेटवर्कबाट तीन करोड ६० लाखले स्थानीय टेलिभिजन स्टेसन हेर्छन् ।

एनपिआर निर्देशक क्याथरिन माहेरले मार्चमा अनुमान रेडियो स्टेसनले सन् २०२५ मा सिपिबीबाट करिब १२ करोड डलर प्राप्त गर्ने अनुमान गरेका थिए । यो यसको बजेटको पाँच प्रतिशतभन्दा कम हो ।

मिडिया अधिकार समूह आरएसएफले शुक्रबार ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा ‘प्रेस स्वतन्त्रतामा खतरनाक गिरावट’ र विश्वभरका स्वतन्त्र पत्रकारहरूका लागि ‘अभूतपूर्व’ कठिनाइहरूको बारेमा चेतावनी दिएको छ । 

भेनेजुएलाका ३ लाख ५० हजार आप्रवासीको कानूनी सुरक्षा खारेज गर्न सर्वोच्च अदालतलाई ट्रम्प प्रशासनको आग्रह

वासिङ्टन । ट्रम्प प्रशासनले बिहीबार सर्वोच्च अदालतलाई तीन लाख ५० हजार भेनेजुएलालीबाट अस्थायी कानूनी सुरक्षा हटाउन आग्रह गरेको छ । यसले उनीहरूलाई निर्वासनको जोखिममा पार्न सक्छ ।

न्याय मन्त्रालयले उच्च अदालतलाई सान फ्रान्सिस्कोको एक सङ्घीय न्यायाधीशको फैसलालाई रोक्न आग्रह गरेको छ । उक्त फैसलाले भेनेजुएलाका लागि अस्थायी संरक्षित स्थिति (टिपिएस) कायम राखेको थियो अन्यथा यो गत महिना समाप्त हुने थियो ।

यस स्थितिले संयुक्त राज्य अमेरिकामा पहिले नै रहेका मानिसहरूलाई कानूनी रूपमा बस्न र काम गर्न अनुमति दिन्छ किनभने तिनीहरूको मूल देशहरू प्राकृतिक प्रकोप वा नागरिक द्वन्द्वका कारण फर्कन असुरक्षित मानिन्छन् ।

सङ्घीय अपिल अदालतले यसअघि प्रशासनको अनुरोधलाई अस्वीकार गरेको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासीहरूलाई देशमा रहन अनुमति दिने विभिन्न सुरक्षा फिर्ता लिन आक्रामक रूपमा कदम चालेको छ । यसमा कुल छ लाख भेनेजुएलाली र पाँच लाख हाइटीवासीका लागि टिपिएस समाप्त अन्त्य गर्ने कुरा समावेश छ । टिपिएस १८ महिनाको अन्तरालमा प्रदान गरिन्छ ।

टेक्सासका एक सङ्घीय न्यायाधीशले १८औँ शताब्दीको युद्धकालीन कानूनअन्तर्गत भेनेजुएलालीहरूलाई निर्वासित गर्ने प्रशासनको प्रयासलाई अवैध ठहर गरेको दिन नै उच्च अदालतमा आपत्कालीन अपिल आएको थियो । यी मामिलाहरू सम्बन्धित छैनन् ।

संरक्षणहरू अप्रिल ७ मा समाप्त हुने थियो तर अमेरिकी जिल्ला न्यायाधीश एडवर्ड चेनले ती योजनाहरूमा रोक लगाए । उनले म्याद सकिएपछि लाखौँ मानिसको जीवनलाई गम्भीर रूपमा अवरुद्ध गर्ने खतरा थियो र अर्बौं डलरको आर्थिक गतिविधि गुम्न सक्थ्यो भन्ने पत्ता लगाए ।

डेमोक्रेटिक राष्ट्रपति बाराक ओबामाद्वारा नियुक्त न्यायाधीश चेनले कार्यक्रमलाई जीवित राखेर सरकारले कुनै हानि देखाएको नभएको पाए ।

तर प्रशासनको तर्फबाट महान्यायाधिवक्ता डी जोन सोअरले चेनको आदेशले आप्रवासन र विदेशी मामिलामा प्रशासनको शक्तिमा हस्तक्षेप गरेको बताए ।

यसका अतिरिक्त सोअरले न्यायाधीशहरूलाई भने, “संरक्षित स्थिति अन्त्य गर्नबाट प्रभावित व्यक्तिहरूसँग देशमा रहन प्रयास गर्नका लागि अन्य कानूनी विकल्पहरू हुन सक्छन् किनकि टिपिएस समाप्त गर्ने निर्णय अन्तिम निष्कासन आदेश सरह होइन ।”

प्राकृतिक प्रकोप वा नागरिक द्वन्द्वबाट पीडित देशहरूमा निर्वासन रोक्नका लागि काङ्ग्रेसले सन् १९९० मा टिपिएसको स्थापना गरेको थियो । 

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन्।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गरेका हुन्।

उनले मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने बताए।

“हाम्रो मुलुक उर्बर र जीवनमय छ। यहाँ लगानीको प्रचुर सम्भावना छ। हामी हाम्रै पालामा केही गर्न सक्छौँ भन्ने आत्मविशवासका साथ काम गरौँ। हाम्रो यात्रा अग्रगामी कदमतर्फ अवश्य बढ्नेछ,”, प्रधानमन्त्री ओलीले भने, ” शिक्षालगायत हरेक क्षेत्रमा सूचना र प्रविधिको प्रयोग बढ्दै गएको छ। एसइइमा ५२ प्रतिशत विद्यार्थी अनुत्तिर्ण हुने अवस्था अन्त्यका लागि व्यक्तिगत पहलमा पनि गत वर्षदेखि अनलाइन माध्यमबाट महत्वपूर्ण विषयमा कक्षा सञ्चालन गरियो। विद्यार्थीहरुको भविष्य अन्धकारमा पार्नु हुन्न भनेर गरिएका यस्ता कामलाई प्रोत्साहन गर्नुपर्छ।”

प्रधानमन्त्री ओलीले अब हामीले आफ्नै सुरक्षासहितको डेटा प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि सूचना प्रविधिको विकास आफैमा जवाफ भएको टिप्पणी गरे।

“एक लाइन टेलिफोन पाउन मन्त्रीको तोक लगाउनुपर्ने अवस्थाबाट हामी धेरै अघि बढिसकेका छौँ। अन्तरक्षिमा पनि आफ्नै स्याटेलाइट पठाउने प्रयास सुरु भएको छ। यस क्षेत्रमा नयाँ पुस्ताका एक सय एक हस्ती तयार भइसकेका छन्,”, उनले भने,“हामी आत्मविश्वासका अघि बढौँ। सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन र तालिममा जोड दिँदै जानोछौँ। अब मुलुकको समृद्धिका लागि कुनाकुनाका जनजनमा विकास र सुशासनका लागि सूचना तथा सञ्चार प्रविधिको विस्तार र प्रयोगमा जानुपर्छ। सूचना र प्रविधिको दुरुपयोग गरेर मान्छेको हुर्मत लिने प्रवृत्तिबाट चाँही सचेत हुनुपर्छ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी धनी प्रमाणपत्र (ब्लु बुक) लाई नागरिक एपमा आबद्ध गर्ने कार्यको शुभारम्भ गरे।

कार्यक्रममा राष्ट्रिय सूचना प्रविधि अवार्डबाट प्रा.डा. शशीधर राम जोशीसहित विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत गरिएको थियो।

काठमाडौंको परोपकारस्थित पुलमुनी एक पुरूषको हत्या

काठमाडौं । काठमाडौंको परोपकारस्थित पुलमुनी एक पुरूषको हत्या भएको छ । काभ्रेको भुम्लु गाउँपालिका–१० का ४२ वर्षीय माइला भन्ने विक्रम तामाङको हत्या भएको हो ।

हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिएका छन् ।

उनकाअनुसार वैशाख १६ गते बिहान साढे ११ बजेतिर धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला फेला परेका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो ।

तर उपचारको क्रममा उनको साढे १२ बजे मृत्यु भएको थियो । प्रहरीले प्राविधिक एवं विभिन्न विधिको प्रयोग गरी हत्या आरोपी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–७ घर भई डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरेको छ ।

भारतीय विदेश मन्त्रालयले भन्यो-प्रिसा मृत्युबारे ओडिसा प्रहरीले अनुसन्धान गरिरहेको छ

काठमाडौं । भारतीय विदेश मन्त्रालयले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गर्दै भारत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षाको विषयमा गम्भीर रहेको बताएको हो ।

उसले भारत सरकार नेपाली अधिकारी, उडिसा राज्य सरकार र केआइआइटीको व्यवस्थापनसँग नजिक रहेर कुराकानी गरिरहेको उल्लेख गरेको छ ।

मन्त्रालयले ओडिसा सरकारले मृतक परिवारलाई पूर्ण सहयोग प्रदान गरेको र प्रहरीले यस घटनाको अनुसन्धान थालेको जनाएको छ ।

वीरगञ्जकी प्रिसा साह बिहीबार राति आफ्नै होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यसअघि गत फागुनमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएकी थिइन् ।

ताकमगाउँमा चलचित्र ‘माइतीघर’को छायाङ्कन

म्याग्दी । गुर्जा चुरेन र धौलागिरि हिमालको लस्करलाई नजिकबाट देख्न सकिने म्याग्दीको पर्यटकीय गाउँ ताकममा चलचित्र ‘माइतीघर’ को छायाङ्कन सुरु गरिएको छ । धवलागिरि गाउँपालिका–७ ताकमगाउँ धौलागिरि पदमार्गअन्तर्गत पहिलो पर्यटकीय बस्तीका रुपमा परिचित छ । यहाँ पहिलोपटक चलचित्रको छायाङ्कन गर्न थालिएको हो ।

गाउँमा ठूलो पर्दाको चलचित्र छायाङ्कन गर्न निर्माता र कलाकारहरुको टोली आएपछि स्थानीयवासीले बाजागाजा र नाचगान गरेर स्वागत गरेका छन् । त्यस अवसरमा स्थानीय मन्दिरमा पूजापाठ गरेर धवलागिरि गाउँपालिका अध्यक्ष प्रेम पुनले र वडाध्यक्ष अशोक खत्रीले छायाङ्कन कार्यको शुभारम्भ गरे ।

चक्रिय धौलागिरि पदमार्ग, गुरिल्ला पदमार्ग र ढोरपाटन जलजला जाने पदमार्गले समेटिएको यस गाउँमा चलचित्रको छायाङ्कनले देश–विदेशमा परिचित गराउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष पुनले बताए ।

आँखै अगाडि ठोकिन आउने हिमाल र परम्परागत ढुङ्गे घरहरूमा मिलेर बसेको ताकमगाउँ मनमोहक देखिन्छ । चलचित्रका निर्माता रोहित अधिकारीले छायाङ्कन गरिने ४० दिनमध्ये २० दिन ताकम र धारापानीगाउँमा छायाङ्कन हुनेछ भने बाँकी दृश्य म्याग्दीकै दरबाङ, तातोपानी क्षेत्रमा छायाङ्कन गरिने जानकारी दिए ।

आगामी दसैँको फूलपातीमा प्रदर्शनमा ल्याउने लक्ष्यसहित छायाङ्कन सुरु गरिएको चलचित्रमा धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देललगायत कलाकारको प्रमुख अभिनय रहेको छ ।

मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायाङ्कन सुसन प्रजापतिले गर्ने जनाइएको छ । रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको निर्मातामा अधिकारी, रबिन शेरचन र धीरज तामाङ रहेका छन्भने कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र नीरज कटुवाल छन् ।

पोखरा विमानस्थलमा भएको अनियमितताको न्यायिक छानबिन आवश्यक छः महासचिव गुरुङ

कास्की । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटमा उनले हालै संसदीय छानबिन उपसमितिले दिएको प्रतिवेदनका आधारमा न्यायिक छानबिन गर्नुपर्ने बताएका हुन् ।

महासचिव गुरुङले भने, ‘पोखरा विमानस्थलबारे संसदीय समितिले नीतिगत प्रतिवेदन दिएको छ । यसका आधारमा कानुनविद्, इञ्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्तासहितको न्यायिक छानबिन गरिनुपर्छ र दोषीहरू कारबाहीको भागीदार बन्नुपर्छ ।’

उनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको वर्तमान सरकारले गर्ने राम्रा कामको माओवादी केन्द्रले जहिले पनि सहयोग र समर्थन गर्ने बताए ।

‘हामी परम्परागत ढर्राबाट चल्ने प्रतिस्पर्धी होइनौँ । गुण र दोषका आधारमा सरकारको समर्थन वा विरोध गर्छौं । सरकारले राम्रो काम गर्दा विरोध गर्दैनौँ तर हाल दुई ठूलासहितको बलियो सरकार हुँदासमेत राम्रो काम गर्न सकेको छैन’, महासचिव गुरुङले भए ।

उनले देशमा प्रतिगामी षड्यन्त्रलाई परास्त गर्न, राष्ट्रिय एकता र स्वाधीनताका लागि शान्तिसम्झौताका सहयात्री दलहरू एकैठाउँमा रहनुपर्ने आवश्यकता औँल्याए ।

निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता नदिए सम्बन्धन रोक्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् ।

आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोलीसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय नमाने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका हुन् ।

उनले आयोगको निर्णय निजी मेडिकल कलेजले मान्नैपर्ने बताए । उनले भने, ‘आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय नमान्ने हो भने निजी मेडिकल कलेजको सम्बन्धन खारेज हुन सक्छ । चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्छ ।’

आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

तर निजी मेडिकल कलेजहरुले निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन् । केही निजी मेडिकल कलेज सञ्चालकले आवासीय चिकित्सकले माफी माग्नुपर्ने भनेर धम्की दिइरहेको र कलेजमा जान पनि रोकेको गुनासो गरेका छन् ।

सोही गुनासोसहित आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोली स्वास्थ्यमन्त्री पौडेलकहाँ पुगेको थियो । मन्त्री पौडेलले आन्दोेलनमा रहेका चिकित्सकहरुलाई उपचार सेवामा फर्किन आग्रह गरेका छन् ।

सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक

मनाङ । गृहमन्त्री रमेश लेखकले हरेक स्थानमा हुने विपद्‌मा उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी बल अब्बल बन्दै गएको बताएका छन् ।

शुक्रबार आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा उनले विपद्‌मा उद्धार गर्ने कार्यले देश तथा विदेशका मानिसको विश्वास र भरोसा बढाएको बताए ।

गृहमन्त्री लेखकले भने, ‘सीमा सुरक्षा, विपद्‌बाट मानिस आक्रान्त भएको अवस्थामा सशस्त्र प्रहरीले खेल्ने भूमिका र योगदान सराहनीय छ । यही योगदानले सशस्त्र प्रहरी भरोसायोग्य बनेको छ । यसलाई थप उत्कृष्ट बनाउन लागिपरेका छौँ ।’

उनले मनाङ स्वर्गको आभास दिने पर्यटकीय क्षेत्र भएकाले यहाँ हुने पर्वतीय जोखिम उद्धारमा सशस्त्रले सहयोग पुर्‍याउने गरी प्रशिक्षित गरिएकाले आगामी दिनमा स्थानीयहरूका साथै पर्यटकलाई सहज हुने विश्वास व्यक्त गरे ।

विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्गमा आउने पर्यटकको यात्रा सुरक्षित बनाउन मद्दत पुग्ने भन्दै गृहमन्त्री लेखकले पर्यटन देशको अर्थतन्त्रलाई वृद्धि गर्ने महत्त्वपूर्ण क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन आवश्यक रहेकोमा जोड दिए ।

‘यहाँ हुने पर्यटकीय गतिविधिले नै जिल्ला र देशको अर्थतन्त्रलाई टेवा पुग्छ । त्यसैले जोखिम मानिएको यस पदमार्गमा यात्रा गर्दा सुरक्षित छौँ भन्ने आभास दिन सक्नुपर्छ,’ उनले भने, ‘अब यहाँबाट दीक्षित सशस्त्र प्रहरीले जोखिमयुक्त हिमालमा यात्रा गर्ने पर्यटकलाई सुरक्षित बनाउन थप महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ । विश्वको आकर्षणको केन्द्र मनाङको पर्यटन प्रवर्द्धनका लागि यात्रा सुरक्षित बनाउँदै पर्यटक आगमनलाई वृद्धि गर्न लाग्नुपर्छ ।’

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उच्च पहाडी र हिमाली क्षेत्रमा हुने गरेका विपद् तथा जोखिममा यस तालिमले थप जिम्मेवारी दिएको बताए । उनले जल उद्धारलाई जस्तै पर्वतीय उद्धारलाई पनि प्राथमिकताका साथ अगाडि बढाउन आवश्यक रहेको धारणा राखे ।

अर्यालले भने, ‘सुरक्षाको प्रत्याभूतिले नै पर्यटक आगमनमा वृद्धि गराउन सकिन्छ । गोताखोरलाई जसरी उद्धारमा जुटेका सशस्त्र प्रहरीलाई जस्तै पर्वतीय उद्धारमा खटिने प्रहरीलाई पनि सेवा–सुविधासम्पन्न गर्न आवश्यक व्यवस्थापन गरिनुपर्छ । सरकारबाट व्यवस्थापन नहुँदासम्म कल्याणकारी कोषबाट भए पनि उद्धारमा खटिने सशस्त्र प्रहरीलाई रु एक हजार भत्ताको प्रबन्ध गरिनेछ ।’

शिक्षालयबाट ४५ जना दीक्षित भएका छन् । दीक्षान्त समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर घलेलगायतको उपस्थिति थियो ।

अमेरिकी व्यापार वार्ताको प्रस्तावप्रति चीन खुला 

बेइजिङ । चीनले शुक्रबार भन्सार शुल्कमा वार्ताका लागि अमेरिकी प्रस्तावको मूल्याङ्कन गरिरहेको तर वार्ता सुरु हुनुअघि विश्वव्यापी बजार र आपूर्ति शृङ्खलालाई हल्लाएको करहरू हटाउन वासिङ्टन तयार हुनुपर्नेमा जोड दिएको छ ।

धेरै चिनियाँ उत्पादनमा एक सय ४५ प्रतिशत पुगेको अमेरिकी भन्सार शुल्क अप्रिलमा लागु भएको थियो भने बेइजिङले संयुक्त राज्य अमेरिकाबाट आयातमा एक सय २५ प्रतिशत ताजा भन्सार शुल्क लगाएको छ ।
स्मार्टफोन, सेमिकन्डक्टर र कम्प्युटरजस्ता उच्च–स्तरका प्राविधिक वस्तुहरूले अमेरिकी भन्सार शुल्कबाट अस्थायी छुट पाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले भन्सार शुल्कमा वार्ताका लागि सम्पर्क गरेको बारम्बार दाबी गरेका छन् र यस हप्ता उनले ‘हामी सम्झौता गर्न जाँदैछौँ’ भन्ने धेरै राम्रो सम्भावना रहेको विश्वास गरेको बताए ।
बेइजिङको वाणिज्य मन्त्रालयले शुक्रबार अमेरिकाले सम्पर्क गरेको र यो प्रस्तावको ‘हाल मूल्याङ्कन’ गरिरहेको बताएको छ ।

तर मन्त्रालयले कुनै पनि वार्ताका लागि पहिले अमेरिकी पक्षबाट छुट चाहिने बताएको छ । “यदि अमेरिका वार्ता गर्न चाहन्छ भने, उसले त्यसो गर्न आफ्नो निष्कपटता देखाउनु पर्छ, आफ्नो गलत अभ्यासहरू सुधार गर्न र एकपक्षीय शुल्कहरू रद्द गर्न तयार हुनुपर्छ”, मन्त्रालयले भन्यो, “कुनै पनि सम्भावित वार्ता वा संवादमा यदि अमेरिकी पक्षले आफ्नो गलत एकपक्षीय भन्सार शुल्क उपायहरू सुधार गरेन भने, यसको मतलब अमेरिकी पक्ष पूर्ण रूपमा निष्ठाहीन छ र यसले दुई पक्षबीचको आपसी विश्वासलाई थप क्षति पुर्याउनेछ, एउटा कुरा भन्नु र अर्को गर्नु वा वार्ताको आडमा जबरजस्ती र ब्ल्याकमेल गर्ने प्रयासले पनि काम गर्दैन ।”

साङ्घाईको फुदान विश्वविद्यालयको सेन्टर फर अमेरिकन स्टडिजका निर्देशक वु सिन्बोले बेइजिङले कठोर धारणा अपनाउने सम्भावना रहेको बताए ।

“निस्सन्देह अमेरिकाले सकेसम्म चाँडो वार्ता सुरु गर्ने आशा गर्दछ, तर हाम्रो मनोवृत्ति होः तपाईँले पहिले इमानदारी देखाउन केही कदम चाल्नुपर्छ”, वुले भने, “एक पटक अमेरिकाले चीनमाथि लगाएको कर फिर्ता लिएपछि, वासिङ्टनको असन्तुलित द्विपक्षीय व्यापारको चिन्ता र यसको प्राविधिक विकासलाई ‘दबाउने’ अमेरिकी प्रयासहरूमा बेइजिङको पकड जस्ता हामी हाम्रो वैध चिन्ताहरूबारे छलफल गर्न सक्छौँ ।”
दर्जनौँ देशले वासिङ्टनसँग सम्झौता गर्न र उच्च, देश–विशिष्ट दरहरूबाट बच्न जुलाईमा समाप्त हुने ९० दिनको समयसीमा सामना गर्नुपरेको छ ।

यसको विपरित चीनले यदि आवश्यक परेमा व्यापार युद्धलाई अन्तिम क्षणसम्म लड्ने बताएको छ । यस हप्ता चीनको विदेश मन्त्रालयद्वारा सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोले ‘कहिल्यै पनि घुँडा नटेक्ने !’ प्रतिज्ञा गरेको छ ।

“चीनको स्थिति सधैँ पूर्ण रूपमा स्थिर रहेको छ”, वाणिज्य मन्त्रालयले शुक्रबार भन्यो, “यदि यो लडाइँ हो भने, हामी अन्त्यसम्म लड्नेछौँ; यदि यो कुरा हो भने, ढोका खुल्ला छ । भन्सार शुल्क युद्ध र व्यापार युद्ध एकतर्फी रूपमा अमेरिकी पक्षले सुरु गरेको थियो ।”

दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री राष्ट्रपति पदको दौडमा

सियोल । पूर्व राष्ट्रपतिको महाभियोगबाट सुरु भएको आकस्मिक चुनावमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री हान डक–सूले शुक्रबार राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

दक्षिण कोरियालाई लामो राजनीतिक उथलपुथलमा डुबाएको डिसेम्बरमा मार्सल लको दुर्भाग्यपूर्ण घोषणापछि जुन ३ मा हुने मतदानले पदबाट हटाइएका महाभियोगमा परेका पूर्वराष्ट्रपति युन सुक योललाई कसले प्रतिस्थापन गर्ने भन्ने निर्णय गर्नेछ ।

चुनावी कानून उल्लङ्घन गरेको आरोपमा राष्ट्रपति पदका उम्मेद्वारलाई पुनः सुनुवाइको आदेश दिएपछि र हानसहित दुई प्रमुख सरकारी व्यक्तित्वले राजीनामा दिएपछि बिहीबार देशमा राजनीतिक अस्थिरता बढेको छ ।

हानले बिहीबार कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीका रूपमा राजीनामा गर्दा सम्भावित राष्ट्रपतिको उम्मेदवारी दिने सङ्केत गरेका थिए । उनले ‘ठूलो जिम्मेवारी लिन’ इच्छुक रहेको बताएका थिए ।

“मैले गहिरो रूपमा माया गरेको कोरिया गणतन्त्रको भविष्यका लागि र हामी सबैका लागि, मैले जे गर्न सक्छु गर्ने निर्णय गरेको छु”, हानले शुक्रबार टेलिभिजन भाषणमा भने, “यो राष्ट्रपति चुनावमा हाम्रा जनताले रोज्नका लागि म सक्दो प्रयास गर्नेछु ।”

डिसेम्बरमा संसद्ले युनलाई महाभियोग लगाएपछि पूर्व प्रधानमन्त्री हानले देशको कार्यवाहक राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए ।

पचहत्तर वर्षीय करियर ब्युरोक्र्याट हानले युनको पिपुल पावर पार्टीसँग मिलेर लिबरल फ्रन्ट रनर ली जे–म्युङ विरुद्ध एकीकृत कन्जरभेटिभ अभियान सुरु गर्ने अपेक्षा गरिएको छ ।

उदार र कन्जरभेटिभ दुवै सरकारमा हानले अर्थमन्त्री, व्यापार मन्त्री र अमेरिकाका लागि देशको राजदूतसहित धेरै वरिष्ठ भूमिका सम्हालेका छन् ।

विशेष गरी हानले दुई पटक प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएको छ । पहिलो स्वर्गीय पूर्व राष्ट्रपति रोह मो–ह्युनको अधीनमा र हालसालै युनको अधीनमा ।

“मैले गणतन्त्र कोरियाको गौरवशाली सार्वजनिक सेवकका रूपमा आर्थिक विकासको अग्रपङ्क्तिमा सेवा गर्न मेरो जीवन समर्पित गरेको छु”, हानले भने । उनले वासिङ्टनको करहरू समावेश भएको व्यापारमा चलिरहेको सङ्कटलाई सम्बोधन गर्ने वाचा गरे ।

उनले राष्ट्रपतिको कार्यकाल छोटो गर्न संविधान संशोधन गर्ने वाचा पनि गरे ।

दक्षिण कोरियाको एकल पाँच वर्षे राष्ट्रपति कार्यकालले लामो समयदेखि एक व्यक्तिमा अत्यधिक शक्ति केन्द्रित गरेकोमा आलोचनाको सामना गरिरहेको छ । आलोचकहरूले यसलाई पर्याप्त नियन्त्रण र सन्तुलनको अभाव भएको आरोप लगाएका छन् ।

हानको घोषणा देशको सर्वोच्च अदालतले अघिल्लो अभियानका क्रममा झूटो बयान दिएकोमा दोषी नभएको फैसला खारेज गरेको एक दिनपछि आएको छ ।

सोही दिन हानलाई कार्यवाहक राष्ट्रपतिका रूपमा प्रतिस्थापन गर्न तयार भएका अर्थमन्त्री चोई साङ–मोकले विपक्षी सांसदहरूले मार्सल ल घटनामा संलग्न भएको आरोपमा उनको महाभियोगमा मतदान गरेपछि राजीनामा दिए । चोईको राजीनामापछि महाभियोग प्रक्रिया स्थगित गरिएको थियो । 

नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

काठमाडौँ । सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले छुट बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिए । “नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई हामीले वैशाख ३१ गते खोप लगाउँदैछौँ”, उनले भने, “त्यो दिन विगतमा नियमित खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउनेछन् ।”

नेपालमा पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन् । शाखाप्रमुख डा गौतमले छुटेका पाँच प्रतिशत बालबालिकालाई खोजी गरेर खोप लगाइने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुट भएका आ–आफ्ना सबै बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ ।

कर्णालीको पर्यटनमा लगानी गर्न मुख्यमन्त्री कँडेलको आग्रह

धनकुट । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको पर्यटन क्षेत्रमा लगानीका गर्न आग्रह गरेका छन् ।

शुक्रबार भेडेटारस्थित स्काइवाक अवलोकनपछि उनले निर्माण कम्पनी वन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिलाई कर्णाली प्रदेशमा पनि साहसिक पर्यटनको ठूलो सम्भावना भएको उल्लेख गर्दै लगानी गर्न आग्रह गरे ।

“आज यहाँको स्काइ वाकमा अवलोकन गर्न पाउँदा निकै खुसी लागेको छ, म चाहन्छु, निर्माण कम्पनीले कर्णाली प्रदेशको पर्यटन विकासका लागि लगानी गर्नुहोस्, यसका लागि प्रदेश सरकार सहजीकरणका लागि तयार छ”, उनले भने ।

उनले स्काइ वाकमा हिँड्दा डरसँगै खुसीको अनुभव भएको प्रतिक्रिया समेत दिए ।धनकुटाको साँगुरीगढी गाउँपालिका–४ र धरान उपमहानगरपालिका–६ को संगमस्थल भेडेटारस्थित चाल्र्स प्वाइन्टमा २० करोडमा स्काइवाक निर्माण गरिएको हो । स्काइवाक निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढेको स्काइवाक भेडेटारका निर्देशक सुनिल भुसालले बताइन् ।

स्काइवाकबाट भेडेघाटर बजार, धरानदेखि इटहरीसम्मको मनोरम दृश्य तथा चारकोसे झाडी, सानोपाथीभरा मन्दिर साँगुरीगढीलगायतको दृश्यावलोकन गर्न सकिन्छ । स्काइवाकको अनुभव लिनका लागि प्रतिव्यक्ति ५०० रुपैयाँ शुल्क तोकिएको छ ।

स्काइवाकमा ३३ मिमि सिसाको प्रयोग गरिएको छ भने परियोजनामार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब १०० जनाले रोजगारी पाएका छन् । यहाँ स्वदेशीसँगै भारतीय र बंगलादेशी पर्यटक आउने गरेका छन् ।

त्यसअवसरमा नेकपा (एमाले) प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, एमाले नेता विशाल भट्टराई, यज्ञराज सुनुवार, कोसी प्रदेशसभा सदस्य निरन राईलगायतको उपस्थिति थियो ।