`

दक्षिण अफ्रिकामा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको ग्रामीण क्षेत्रमा एउटा मिनीबस ट्याक्सी र पिकअप ट्रक एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ ।

प्रान्तीय यातायात प्रवक्ता उनाथी बिनकोसेका अधिकारीले जोहानेसबर्गबाट करिब एक हजार किलोमिटर दक्षिणमा पर्ने पूर्वी केप शहर माकोमा नजिकै स्थानीय समय अनुसार शनिबार मध्यरातमा भएको दुर्घटनामा परी १५ जनाको मृत्यु भएको र पाँच जना गम्भीर घाइते भएको जानकारी दिए ।

मृत्यु हुनेमा दुवै गाडीका चालक रहेको र के भएको हो भन्नेबारे अनुसन्धान गरिने बिनकोसेले बताए । दुर्घटनामा कोन्से शहरबाट केपटाउनतर्फ जाँदै गरेको मिनीबसमा सवार १३ जना यात्रुको मृत्यु भएको थियो ।

दक्षिण अफ्रिकामा परिष्कृत र व्यस्त सडक सञ्जाल छ । तीव्र गति, लापरबाहीपूर्वक सवारी साधन चलाउनु र पूराना सवारी साधनका कारण हुने दुर्घटनाले सडक दुर्घटनामा परी हुने मृत्यु पनि उच्च दरमा हुने गरेको छ ।

सडक यातायात व्यवस्थापन निगमको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ मा सडक दुर्घटनामा परी ११ हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो भने दुर्घटनामा पीडित भएका ४५ प्रतिशतभन्दा बढी पैदलयात्री रहेका थिए ।

राष्ट्रियसभाद्वारा केआइआइटीमा भएको घटनाको छानबिन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भारतको उडिसा राज्यस्थित भुवनेश्वरको केआइआइटीमा एकै प्रकृतिको घटना दोहोरिएकाले त्यसबारे सत्य, तथ्य छानबिन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरुले केआइआइटी कलेजमा अध्ययानरत छात्रा प्रिन्सा साहको रहस्यमय निधन भएको उल्लेख गर्दै छानबिन गर्न माग गरेका थिए त्यसपछि सभाअध्यक्ष दाहालले सत्य, तथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरुले उठाएका अन्य विषयको जवाफ संसद् नियमावलीले तोकेको समयभित्रै दिन पनि उनले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगका पदाधिकारी सिफारिसलाई विश्वसनीय बनाउन प्रधानमन्त्रीसँग द्वन्द्वपीडितको माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित ध्यानाकर्षणपत्र बुझाएका छन् ।

आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा द्वन्द्वपीडितले सिफारिस समितिले आफूहरुसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

ध्यानाकर्षणपत्रमा दलीय भागवण्डा नभई निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्यमा सिफारिस हुनुपर्ने माग गरेका छन् ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूची प्रकाशन गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले आफूले द्वन्द्वकालदेखि नै शान्तिका पक्षमा स्पष्ट कुरा राख्दै आएकाले अहिलेको सरकारका पालामा गठन हुने आयोग र यसका प्रक्रियामा अविश्वास नगर्न आग्रह गरे ।

राजनीतिक असमझदारीका कारणले यो प्रक्रिया लामो समय लिएको स्पष्ट गर्दै बलात्कारजस्ता मानवताविरुद्धको जघन्य अपराध गर्नेलाई कानुनी कठघरामा उभ्याएर सजाय दिएरै छाड्ने तथा पीडितलाई न्याय र परिपूरण दिएरै छाड्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘मलाई पीडितहरुसँग खेल्नु, छक्याउनु र अल्मल्याउनु छैन । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा दिशामा जाउँ भन्ने मात्रै मेरो ध्यान हो । द्वन्द्वमा प्रत्यक्ष सम्लग्न नहुँदा नहुँदै पनि मेरो पार्टी नेकपा (एमाले) पनि एक प्रकारले पीडित पार्टी हो । शान्तिका पक्षमा लाग्दा लाग्दै हाम्रा नेताहरुलाई पनि अमानवीयरुपमा मारिएको छ । समग्रमा भन्ने हो हिंसात्मक राजनीतिबाट हामी सबै पीडित छौँ । त्यसबेलाका द्वन्द्वरत पक्ष सरकार र माओवादी पनि पीडित छन् । पीडक पनि त्यहीँभित्र छन् । देशै पीडित छ । अब यस्ता शृङ्खला सँधैका लागि रोकौँ भन्ने हाम्रो प्रयास हो, यो प्रक्रियामा नआत्तिएर धैर्यपूर्वक, अशल र सही परिणाम ल्याउनका निम्ति एक भएर लाग्न म आग्रह गर्छु ।’

भेटका अवसरमा प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेललगायत सहभागी थिए ।

क्रिप्टो–करोडपतिका अपहरित पितालाई फ्रान्सेली प्रहरीद्वारा मुक्त

पेरिस । फ्रान्सको राजधानी पेरिसमा क्रिप्टो करोडपति छोराबाट फिरौती असुल गर्न अपहरण गरिएका एक व्यक्तिलाई छुटाउन फ्रान्सेली प्रहरी सफल भएको छ ।

गत हप्ता अपहरणमा परेका ती व्यक्तिलाई खोज्न प्रहरीले सप्ताहन्तमा छापा मारेको अभियोजनकर्ताले बताएका छन् ।

अभियोजनकर्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ती व्यक्तिको पहिचान नखुलाइएको तर पेरिसको उपनगर एसोनबाट शनिबार राति प्रहरीले छापा मारी उनलाई अपहरणमुक्त गरेको हो ।”

उनलाई बिहीबार मध्यरातमा पेरिसको दक्षिणी १४ औं इलाकाबाट अपहरण गरिएको थियो ।
नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै एक प्रहरी अधिकारीले स्की मास्क लगाएका चार जनाले उनलाई डेलिभरी भ्यान हाली अपहरण गरेको बताएका छन् ।

अभियोजनकर्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पीडित व्यक्ति क्रिप्टोकरेन्सीमा पैसा कमाउने व्यक्तिका पिता भएको प्रारम्भिक अनुमान गरिएको छ।”

अपहरणकारीले ५० लाखदेखि ७० लाख युरो (५७ लाख देखि ७९ लाख अमेरिकी डलर) फिरौती माग गरेको ‘ले पेरिसियन’ पत्रिकामा समाचार छापिएको थियो ।

अनुसन्धानमा संलग्न एक स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार अपहरित व्यक्तिको एउटा औँला काटिएको अवस्थामा भेटिएको छ । स्रोतले भन्यो, “प्रहरीले छापा नमारेको भए उहाँको अन्य अङ्भङ्ग हुने डर थियो।”

अपराधीहरूले प्रयोग गरेको हुन सक्ने’ गाडी चलाइरहेका संदिग्धलाई हिरासतमा लिएपछि अभियोजकहरूले पक्राउ पर्नेको सङ्ख्या चारबाट पाँच पुगेको बताएका छन् र उनीहरू सबै २० बर्षभन्दा माथिका रहेका बताइएको छ ।

फ्रान्सका आन्तरिक मामिला मन्त्री ब्रुनो रिटेललेउले एक्समा एक सन्देश जारी गर्दै ती व्यक्तिलाई मुक्त गर्न प्रहरीले चलाएको ‘निर्णायक’ अभियानको प्रशंसा गरेका छन् ।

माल्टाको एक क्रिप्टो मार्केटिङ फर्मका मालिक उनका पति र धनाढ्य छोरालाई विगतमा धम्कीको निशाना बनाइएको पीडितकी श्रीमतीले अनुसन्धानकर्तासँग बताएकी छन् ।

जनवरी २१ मा एक फ्रान्सेली क्रिप्टो मालिक र उनको साथीको अपहरणपछि भएको यो पछिल्लो अपहरणको घटना हो ।

पीडित डेभिड बाल्यान्डले क्रिप्टो फर्म लेजरको सह–स्थापना गरेका थिए भने यसको मूल्य एक अर्ब डलरभन्दा बढी थियो।

अपहरणकारीहरूले बाल्यान्डको औँला काटिदिएका र मोटो फिरौतीको माग गरेका बुझिएको छ ।

अपहरित व्यक्ति बाल्यान्डकी प्रेमिका पेरिसको एसोनको उपनगरमा कारको सामान राख्ने ठाउँमा बाँधिएको अवस्थामा फेला परेका थिए ।

उक्त घटनामा नौ जना शङ्कास्पद व्यक्तिहरू आपराधिक अनुसन्धानको दायरामा छन्, जसमा यसअघि पनि प्रहरीकोमा अपहरणको मुद्दा परेका २६ वर्षीय कुख्यात संदिग्ध पनि समावेश छन् ।

यसअघि जनवरीमा पनि ५६ वर्षीय एक व्यक्ति म्यान्स शहर नजिकै कारको बुट (सामान राख्ने ठाउँ)मा भेटिएका थिए ।

उनी दुबईबाट सञ्चालित एक क्रिप्टो–इन्फ्लुएन्सरका पिता थिए, जसले आफ्नो मुनाफाबारे अनलाइनमा घमण्ड गरेपछि अपहरण गरिएको र पछि फिरौतीको पनि माग गरिएको थियो ।

प्रधानमन्त्रीसमक्ष प्युठानको विकासका निम्ति बजेट व्यवस्था गर्न सांसद थापाको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद सूूर्यबहादुर थापाले प्युठान जिल्लाका भौतिक पूर्वाधार र विकास निर्माणका योजनालाई आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समावेशका लागि अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा प्युुठानबाट निर्वाचित सांसद थापाले भालुवाङ–प्युठान, बाग्दुला–भीमगिठे सडक, मदन भण्डारी राजमार्गलगायत योजनाका लागि ध्यानाकर्षण गराएको हो ।

सांसद थापाले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यका, भालुवाङबाट प्युुठान जिल्ला सदरमुकाम जोड्ने भालुवाङ–प्युठान मोटरबाटोलाई चकचके–भिङ्गृ–लिबाङ एवं चकचके खलङ्गासम्म दुवै खण्डलाई एउटै सङ्केत नम्बर कायम गर्न आग्रह गरे ।

यो सडकलाई दुुई लेनमा स्तरोन्नित गरी राष्ट्रिय राजमार्गमा समावेश हुन छुट भएकाले अविलम्ब समेट्नुपर्नेमा उनको जोड थियो ।

सांसद थापाले विगत १० वर्षदेखि स्रोत सुनिश्चित भई ठेक्का लागेर पनि निर्माण अलपत्र परेको बाग्दुला–भीमगिठे सडकअन्तर्गत निर्धारित बाग्दुला–मच्छी–ठूलाबेँसी–भीमगिठे सडकको नयाँ ठेक्का अविलम्ब लगाउन माग गरे ।

यसैगरी, मदनभण्डारी राष्ट्रिय राजमार्गअन्तर्गत सौतामारे–मच्छी खण्ड ठेक्का लागेर काम भइरहेकामा द्रुतगतिमा निर्माण हुनुुपर्ने, गोखुङ्गा–बाग्दुला खण्डका वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेकाले ठेक्का लगाउनुुपर्ने सांसद थापाको जोड थियो ।

प्रधानमन्त्रीसमक्ष प्रस्तुत मागपत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सहरी विकास मन्त्रालयअन्तर्गत पक्की पुल र जिल्लामा विभिन्न स्थानीय तहका गरी दुुई हजार ३७७ सुरक्षित नागरिक आवास कार्यक्रमका योजना, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय, अर्थ मन्त्रालयअन्तर्गत सात क्रमागत योजना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत स्वर्गद्वारी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्नेगरी बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।

राष्ट्रिय योजना आयोगका समपूरक तथा विशेष अनुदानका आठ योजना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत चार योजना, खानेपानी मन्त्रालयअन्तर्गत १४ योजना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत १० योजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत प्युठान नगरपालिकामा बृहत् प्रदर्शनीस्थल निर्माण, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत दुई योजनाका लागि सांसद थापाले प्रधानमन्त्रीमार्फत बजेट माग गरेका छन् ।

‘केआइआइटीमा विद्यार्थी पठाउन बन्द गरौँ’

काठमाडौं । राष्ट्रियसभा सदस्यले भारतको उडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन् । त्यहाँ जान चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन नहुनेमा पनि उनीहरूले जोड दिए ।

आइतबारको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा उनीहरूले केआईआईटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृंखलाबद्ध मृत्युले सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका निम्ति एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले केआईआईटीका निम्ति एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन् ।

आकस्मिक समयमा जनता समाजवादी पार्टी, नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गरे ।

घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का गंगाकुमारी बेल्वासे र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सुमित्रा बिसी थिए ।

नवनियुक्त राज्यमन्त्री गर्बुजाले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजालाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटरमा आइतबार आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कार्यक्रममा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

माल्दिभ्सका राष्ट्रपति मुइज्जुद्वारा १५ घण्टा लामो पत्रकार सम्मेलन

कोलम्बो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टा सम्म पत्रकार सम्मेलन गरी युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीको यसअघिको रेकर्ड तोडेको उनको कार्यालयले जनाएको छ ।

मुइज्जुले स्थानीय समयअनुसार शनिबार बिहान १० बजे सुरू गरेको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको हो ।

“राष्ट्रपति मुइज्जुले पत्रकारका प्रश्नको निरन्तर जवाफ दिँदै सम्मेलन मध्यरातसम्म लम्बिएको र यो उहाँले राष्ट्रपतिका रूपमा बनाएको नयाँ विश्व कीर्तिमान भएको छ,” विज्ञप्तिमा भनिएको छ।

सन् २०१९ को अक्टोबरमा युक्रेनको नेसनल रेकड्र्स एजेन्सीले जेलेन्स्कीको १४ घण्टे पत्रकार सम्मेलनले बेलारुसका प्रभावशाली नेता अलेक्जेन्डर लुकासेन्कोको सात घण्टाभन्दा लामो रेकर्ड तोडेको दाबी गरेको थियो ।

मालदिभ्स सरकारले मुइज्जुको विस्तारित सत्रलाई शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मनाउने उद्देश्यले आयोजना गरिएको जनाएको छ ।

उनले समाजमा प्रेसको महत्वपूर्ण भूमिकालाई स्वीकार गर्दै तथ्यपरक, सन्तुलित र निष्पक्ष रिपोर्टिङको महत्वमा जोड दिएका छन् ।

लामो सत्रको दौडान मुइज्जुले पत्रकारमार्फत जनताका सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ पनि दिएका थिए ।

सन् २०२३ मा सत्तामा आएका मुइज्जुको नेतृत्वमा माल्दिभ्स रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले प्रकाशित गरेको सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा १८० देशमध्ये दुई स्थान माथि चढ्दै १०४औँ स्थानमा पुग्न सफल भएको छ ।

शनिबारको सत्रमा उनले पत्रकार र उनीहरूमार्फत् जनताको विभिन्न प्रश्नको जवाफ दिएको विज्ञप्तिमा उल्लेख छ ।

करिब दुई दर्जन पत्रकारको उपस्थिति रहेको पत्रकार सम्मेलनभन्दा पहिले मुइज्जुका पूर्ववर्तीले सन् २००९ मा समुद्रको सतह बढ्न सक्ने खतरालाई उजागर गर्न पहिलो पटक ‘पानीमुनि मन्त्रीपरिषद्को बैठक’ आयोजना गरेर अर्को विश्व रेकर्ड कायम गरेका थिए ।

पूर्व राष्ट्रपति मोहम्मद नसिदले हिन्द महासागरको पानीमुनि मन्त्री परिषद्को बैठक आयोजना गरेका थिए  भने यसको राष्ट्रिय टेलिभिजनद्वारा प्रत्यक्ष प्रशारण गरिएको थियो ।

माल्दिभ्स समुद्रको सतह बढाउनसक्ने ग्लोबल वार्मिङविरुद्धको लडाइँको अग्रपङ्क्तिमा छ र विश्वव्यापी तपक्रम वृद्धिले भूमध्यरेखामा छरिएर रहेका एक हजार १९२ साना कोरल टापुहरूको देशलाई दलदलमा पार्न सक्ने जोखिम रहेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जित

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले चुनावमा भारी मतले विजयी हुँदै जीवनयापनको पीडा र करको उथलपुथलको सामना गर्न ‘अनुशासित र व्यवस्थित’ सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

६२ वर्षीय अल्बानिज र उनकी हुनेवाला जीवन सङ्गिनी हेडन पुरानो सिड्नीको भित्री भागमा रहेको क्याफे इटालियामा पुग्दा त्यहाँका बासिन्दाले उनीहरूलाई ताली बजाएर स्वागत गरेका थिए ।

अल्बानिजको लेबर पार्टीले १५० सदस्यीय संसद्मा कम्तीमा ८३ सिट जित्ने अनुमान गरिएको आंशिक परिणामले देखाएको छ ।

विपक्षी नेता पिटर डटनको कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले जम्मा ३८ सिट अन्य दलले १२ सिट जितेका छन् भने अन्य १७ सिटको अझै मत परिणाम आइसकेको छैन ।

“हामी हाम्रो दोस्रो कार्यकालमा सरकारका क्रियाकलापलाई ‘अनुशासित र व्यवस्थित’ रूपमा अघि बढाउने पहल गर्नेछौँ,” अल्बानिजले निर्वाचन परिणाम आफ्नो पक्षमा आएको सुनिश्चततापछि क्याफेमा गरिएको पत्रकार सम्मेलनमा भने ।

“हामी हरेक दिन कडा परिश्रम गर्नेछौँ,” उनले भने । अल्बानिजको कडा आलोचकका रूपमा निर्वाचनमा होमिएका विपक्षी नेता तथा पूर्व प्रहरी डटनले निर्वाचनमा आफ्नै सीट गुमाउनुको दुर्लभ अपमान सहनुपर्यो ।

उनलाई आलोचकहरूले नागरिक सेवामा कटौती गर्ने नीतिहरूको लागि ‘ट्रम्प–लाइट’ को संज्ञा दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापार शुल्क र उनीहरूले फैलाएको अराजकता लेबर पार्टीको विजयमा सबैभन्दा ठूलो कारक नहुन सक्छ तर विश्लेषकहरूले तिनीहरू बिजयका लागि सहयोगी बनेको बताएका छन् । 

लगानीका लागि पहिला नागरिकता दिन गैरआवासीय नेपालीको माग

काठमाडौँ । संविधानसभाबाट जारी भएको संविधानमा उल्लेख भएअनुसार गैर आवासी नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिनुपर्ने माग गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशनका अवसरमा आइतबार आयोजित नागरिकतासम्बन्धी समूह छलफलका वक्ताले संविधान एवं कानुनमा भएको गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी व्यवस्था अझै कार्यान्वयन हुन नसकेकाले समस्या भइरहेको बताए ।

एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताले भ्रमण गर्न बाहेक अरु अधिकार प्राप्त हुन नसकेको बताए । भारतलगायत दक्षिण एशियाली देशले दोहोरो नागरिकताको अधिकारी दिइरहेको उनले सुनाए ।

अमेरिकामा अधिवक्ताका रुपमा काम गरिरहेका एनआरएनए खगेन्द्र जिसीले गैरआवासीय नेपालीको नागरिकता नभएकैले नेपालमा लगानीको वातावरण नसकेको जिकिर गरे ।

एनआरएनए नेता एसी शेर्पाले विश्वका ८४ देशमा बस्ने गैरआवासीय नेपालीको समस्याका रुपमा रहेको नागरिकताको विषयलाई समाधान गर्न माग गरे । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले विश्वका ७२ देशमा दोहोरो नागरिकताको व्यवस्था रहेको उल्लेख गरे ।

नागरिकता ऐन, २०६३ को दफा १० खारेज गरे नेपालमा लगानी वातावरण थप हुने वरिष्ठ अधिवक्ता न्यौपानेको दाबी थियो ।

एनआरएनए बेलायतका अध्यक्ष प्रेमगाहा मगरले नेपालबाट बाहिर गएर काम गर्ने धेरै नेपालीले अङ्गीकृत र जन्मसिद्ध नागरिकता पाएर दोस्रो दर्जाको नागरिक भएर बसेको उल्लेख गरे । ती देशमा अप्ठ्यारो अवस्था आए अङ्गीकृत र जन्मसिद्ध नागरिकता खारेज हुने भएकाले वंशजका आधारमा नेपालमा पाउने नागरिकताको अधिकारबाट बञ्चित गरिनु नहुने उनको तर्क थियो ।

अधिवक्ता कपिल ढकालले एनआरएनए ऐन बनाइ संविधानमा आर्थिक, सांस्कृतिक र सामाजिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरे पनि कार्यान्वयन नभएको बताए । क्याप्टेन हितमान गुरुङले एनआरएनएले देशका लागि केही गर्न आउँदा पनि सरकार संवेदशील हुनुपर्नेमा जोड दिए ।

बेलायतमा कार्यरत अधिवक्ता सुरेन्द्र श्रेष्ठले नागरिकता ऐन, २०२० को पृष्ठ १९ मा विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता लोप हुने व्यवस्था रहेको र त्यसपछिका नागरिकता ऐनले पनि यसलाई कायमै राख्दै आएको बताए ।

एनआरएनएका पूर्वअध्यक्ष रवीना थापाले नेपालमा आन्दोलन गरे मात्र केही हुन्छ, भन्ने सन्देश प्रवाह भइरहेको उल्लेख गर्दै कानुनसम्मत मागको सुनुवाइ हुर्नुे बताइन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गैरआवासीय नेपाली ऐन र संविधानमा भएको व्यवस्था पनि कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव पुष्कर नेपालले नयाँ कानुन मस्यौदा भइरहेकाले त्यसमा उठेका विषयलाई समावेश गर्ने प्रतिबद्धता जनाए ।

डा बलराम श्रेष्ठले विदेशमा ज्ञान, सीप, पुँजी भएकालाई नागरिकता लिन आउँ भनी स्वागत गर्ने बताए । एनआरएनए नेता योगेन्द्रबहादुर क्षत्रीले संविधान र कानुनअनुसार नै गैरआवासीय नेपालीले नागरिकता पाउनुपर्ने बताए । 

प्रहरीमा असल नेतृत्व निर्माणका लागि स्टाफ कोर्सले ठूलो मद्दत गर्ने गृहमन्त्रीको विश्वास

काठमाडौं । नेपाल प्रहरीमा लिडरसिप एन्ड स्टाफ कोर्स सुरु भएको छ । आइतबार भृकुटीमण्डपस्थित पुलिस क्लबमा गृहमन्त्री रमेश लेखकले पहिलो पटक स्टाफ कोर्सको उद्घाटन गरेका छन् ।

स्टाफ कलेजको प्रवेश परीक्षामा १७ जना डीएसपी उत्तीर्ण भएका छन् । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको सुरुवात गरिएको हो । स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले प्रहरीको असल नेतृत्व निर्माणका लागि यसले ठूलो मद्दत गर्ने बताए । उनले प्रहरीमा यसले ठूलो र सकारात्मक परिवर्तन ल्याउने बताए ।

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरुको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरु मेघौली हुँदै जङ्गलभित्रका लक्जरी रिसोर्टहरुमा पुग्थे । जङ्गलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा नेपालका राजपरिवारदेखि विदेशी पर्यटकका लागि आकर्षक केन्द्र थियो ।

पर्यटन क्षेत्रका लागि ‘हाइ इन्ड’ भनिने धनी पर्यटकका लागि त्यहाँसम्म पुर्याउनका लागि मेघौलीमा विमानस्थल नै बनाइएको थियो । काठमाडौँबाट हेलिकप्टर तथा ट्विनअटर विमानबाट उनीहरु मेघौली विमानस्थल पुग्थे र त्यहाँबाट जङ्गल प्रवेश गर्दथे । जानकारहरुका अनुसार त्यो समयमा विमानस्थलमा दैनिक १० वटासम्म उडान हुन्थे । अहिले उक्त विमानस्थलमा कहिलेकाहीँ नेपाली सेनाले प्याराजम्पिङ गर्दै आएको छ ।

टाइगर टप्समा एक रात बिताउनका लागि त्यो समयमा पर्यटकले ५०० अमेरिकी डलरसम्म तिर्दथे । विसं २०२० मा अमेरिकी नागरिक टुडी ली वाने र हेर्ब केलिनले टाइगर टप्स स्थापना गरेका थिए भने २०२८ सालमा बेलायती नागरिक जिम एवर्डस्ले खरिद गरी सञ्चालन गरेका थिए ।

पर्यटकहरु टाइगर टप्समा बस्ने र मेघौलीको जङ्गली जनावरको सिकार गर्दथे । टाइगर टप्समा बेलायतकी महारानी एलिजाबेथ, बेलायतका तत्कालीन युवराज फिलिप, अमेरिकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलगायतका प्रतिष्ठित व्यक्तिहरु आएका थिए ।

विसं २०३० मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि त्यहाँ जाने पर्यटक अझ बढेका थिए । तर २०६९ सालमा स्पष्ट कानुनको अभावमा निकुञ्जभित्र रहेका रिसोर्ट बन्द भए । अहिले टाइगर टप्स मात्रै होइन, निकुञ्जभित्र सञ्चालनमा रहेका मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जङ्गल लज, आइल्याड जङ्गल रिसोर्ट, टेम्पल टाइगर रिसोर्ट, गैँडा वाइल्डलाइफ क्याम्प बन्द भएका छन् ।

टाइगर टप्सले अझै पनि रेखदेखका दुई वटा हात्तीसहित कर्मचारी खटाइरहेको स्थानीय बताउँछन् । निकुञ्जभित्रका रिसोर्ट बन्द भएसँगै मेघौलीमा खर्चालु पर्यटकको सङ्ख्या पनि घट्न थाल्यो । त्यहाँ आइरहेका पर्यटक अफ्रिकी मुलुकतर्फ आकर्षित भए । त्यसपछि मेघौलीको वाइल्डलाइफ पर्यटनमा उल्लेख्य गिरावट आयो ।

यद्यपि पछिल्ला केही वर्षयता मेघौलीमा पुनःलक्जरी पर्यटनको विकास हुन थालेको सङ्केत देखिएको छ । निकुञ्जसँगै बग्ने राप्ती नदी किनारमा आरामदायी होटल तथा रिसोर्ट सञ्चालनमा आउनेक्रम बढेको छ । ती रिसोर्टमार्फत हाइ इन्ड अर्थात् खर्चालु पर्यटक बढेका छन् । यसले मेघौलीको पर्यटनलाई पुनःजीवित गर्ने सङ्केत दिएको छ ।

मेघौलीमा पर्यटक बढ्न वाइल्डलाइफमा रुचि राख्ने हाइ इन्ड पर्यटक बढ्न थालेपछि रिसोर्टमा लगानी गर्ने पनि बढेका छन् । पछिल्लो समय मेघौलीमा पर्यटक बढ्न थालेको र लगानी पनि बढ्दै गएकाले आगामी दिनमा मेघौली लक्जरी पर्यटनका लागि प्रमुख गन्तव्य बन्ने विश्वास रहेको बताउँछन्, सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने । सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले हालै मेघौलीमा सिद्धार्थ वाइल्ड लाइफ रिट्रिट सञ्चालनमा ल्याएको छ ।

यसअघि साराङ वाइल्डलाइफ स्याङचुरी रिसोर्टका नाममा सञ्चालनमा रहेको रिसोर्टलाई सिद्धार्थले सिद्धार्थ वाइल्ड लाइफ रिट्रिटका रुपमा सञ्चालनमा ल्याएको हो । “चितवनको मेघौली वाइल्डलाइफ टुरिजमका लागि निकै राम्रो गन्तव्य हो भन्ने लाग्छ, पछिल्लो समय यो सोहीअनुसार विकास पनि भइरहेको छ, विभिन्न प्रजातिको चराचुरुङ्गीको चिरबिरदेखि प्रकृतिमा रमाउन चाहनेका लागि यो सबैभन्दा उत्तम विकल्प बनेको छ”, उनले भने ।

राप्ती र नारायणी नदीले घेरिएको मेघौली सुन्दर टापु । यहाँ थारु र कुमाल समुदायको बाहुल्य छ । आगन्तुकहरुले राप्ती नदीमा डुङ्गामा सयर गर्दै गोलाघाट पुगेर सूर्यास्तको मजा लिन सक्छन् भने नदी किनारमा हात्तीसँग नुहाउने पनि सुविधा छ । बिहानै हात्ती तथा जिपमा जङ्गल सफारी गरी जङ्गली हात्ती, गैँडा, बाघ, मयुँर, बँदेल, विभिन्न प्रजातिका मृगका साथै करिब ५०० भन्दाबढी प्रजातिका चरा पनि देख्न सकिन्छ । यो क्षेत्र जङ्गली वन्यजन्तुका हिसाबले खुला चिडियाखाना सहर छ ।

चितवनको भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर दक्षिण–पश्चिममा पर्ने मेघौलीसम्म पुग्नका लागि कालोपत्र सडकको सुविधा छ । निकुञ्जको किनार हुँदै कलकल बग्ने राप्ती नदी छ । नदीमा डुङ्गा सयर गर्दै विभिन्न प्रजातिका चरा र जङ्गली जनावर हेर्ने सुविधाले जो–कोहीलाई रोमाञ्चक बनाउँछ । राप्ती र नारायणी नदीको सङ्गम रहेको गोलाघाट सूर्यास्तका लागि प्रख्यात छ । जहाँ हरेक साँझ आन्तरिक र बाह्य पर्यटकहरु पाल टाँगेर सूर्यास्तको दृश्य हेर्दै रात्रिभोजको रमाइलो गरिरहेको देख्न सकिन्छ ।

मेघौली चराचुरुङ्गीको चिरबिर आवाजले मात्रै होइन एकसिङ्गे गैँडा, नदी किनारमा घाम ताप्ने गोहीले जो कोही पर्यटकलाई आकर्षित गर्छन् । त्यतिमात्रै होइन, प्रकृतिमा चासो राख्नेहरु, अध्ययनकर्ताहरुलाई पनि यसले आकर्षित गरिरहेको छ । त्यसैले त प्रकृतिको सुन्दरता र शान्त वातावरणमा रमाउन चाहने पर्यटकहरु पछिल्लो समय मेघौली पुग्ने गरेका छन् । मेघौलीको पर्यटन प्रवद्र्धन हुन थालेसँगै यहाँको थारु तथा कुमालको संस्कृतिक संरक्षणका साथै रैथाने खाना प्रवद्र्धन भइरहेको मेघौली पर्यटन विकास समितिका अध्यक्ष राजु भुसालको भनाइ छ ।

“पछिल्ला केही वर्षयता मेघौलीमा खर्चालु पर्यटक बढ्न थालेका छन्, यसले यहाँको रैथाने खाना र संस्कृति प्रवद्र्धनमा सहयोग पुगेको छ, बढ्दो पर्यटक र लगानीले मेघौलीको पर्यटनलाई पुनर्जीवन दिन्छ भन्ने लागेको छ”, उनले भने ।

उनका अनुसार मेघौलीमा थारु र कुमाल समुदायले घरबास (होमस्टे) सञ्चालनमा ल्याएका छन् । यसले उनीहरुको आम्दानी बढाएको छ भने मेघौलीको पर्यटन क्षेत्रको विकासमा सहयोग गरेको छ । “प्राकृतिक सुन्दरता, वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न, जैविक विविधताका क्षेत्रमा मेघौलीमा ठूलो सम्भावना छ, पर्यटनमार्फत यहाँको संस्कृति, परम्परा र रहनसहनको संरक्षणमा ठूलो सहयोग पुगेको छ”, उनले भने ।

भुसालका अनुसार टाइगर टप्सलगायतका रिसोर्ट सञ्चालनमा हुँदासम्म मेघौली पर्यटनको गन्तव्यमात्रै थिएन, यहाँ अन्तरराष्ट्रिय हात्ती पोलो खेल पनि आयोजना हुन्थ्यो । तर टाइगर टप्सलगायतका रिसोर्ट बन्द भएसँगै उक्त खेल पनि बन्द भएको छ । रिसोर्टहरु बन्द भएपछि स्थानीयको उत्पादन बिक्री भएन भने सयौँको सङ्ख्यामा स्थानीयले रोजगारी पनि गुमाए ।

निकुञ्जभित्रका रिसोर्ट बन्द भएपछि मेघौलीमा २०७३ सालमा चौधरी ग्रुपको मेघौली सेराइ ए ताज सफारी लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ भने २०७० सालमा बाराही ग्रुपको बाराही जङ्गल लज सञ्चालनमा छ । मेघौलीमा पर्यटकीय गतिविधि बढ्न थालेपछि युरोपियन होटलहरुको समूह इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी)ले रु एक अर्बभन्दा बढी लगानीमा लस्ट होराइजन सफारी रिसोर्ट एण्ड स्पा प्रालि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । हाल उक्त रिसोर्ट मेघौलीको राप्ती नदी किनारमा निर्माणाधीन छ ।

ठूलो लगानीमा मेघौलीमा रिसोर्टहरु सञ्चालनमा आउन थालेपछि गुणस्तरीय पर्यटकका लागि मेघौली पहिले रोजाइको गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यी रिसोर्टहरुले अधिकतम् ७०० अमेरिकी डलरसम्म एक दिनको प्याकेज बिक्री गरिरहेका छन् । मेघौली सौराहको तुलनामा निकै शान्त छ । सौराहमा जस्तो भीड पनि छैन । यहाँ पर्यटकहरु शान्त वातावरणमा प्रकृतिसँग रमाउन पाउँछन् ।

मेघौली पर्यटन विकास समितिले यहाँ बेतारी खोला परियोजनाका नाममा बोटिङ सञ्चालन गर्ने योजना बनाएको छ । समितिले आर्थिक वर्ष २०८२/८३ मा यसको विस्तृत अध्ययन प्रतिवेदन तयार पारी निर्माण सुरु गर्ने योजना बनाएको जनाएको छ । हाल मेघौलीमा साना र ठूला गरी करिब २० वटा होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् भने केही घरबास पनि छन् ।

मेघौलीलाई लक्षित गरी विगत दुई दशकदेखि पर्यटक पथप्रदर्शकका रुपमा कार्यरत मनिष लिम्बू यो क्षेत्र वन्यजन्तु तथा जैविक विविधताका लागि उत्कृष्ट भएको बताउँछन् । “अहिले अधिकांश पर्यटकहरु वन्यजन्तु अवलोकन गर्न, विभिन्न प्रजातिको चरा हेर्न तथा अध्ययन गर्न, जङ्गल वाक तथा सूर्यास्तका लागि मेघौली आउन थालेका छन्”, उनले भने, “मौसम सफा भएको समयमा यहाँबाट माछापुच्छ्रेलगायतका हिमालसमेत देख्न सकिन्छ ।”

बिहानदेखि सुनिने विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरबिरदेखि जिप र हात्ती सफारी गरी चितवन राष्ट्रिय निकुञ्ज एक्सप्लोरका लागि मेघौली पहिलो रोजाइको गन्तव्य बन्न थालेको छ । रिसोर्टहरुले पनि बोटिङ, जङ्गल वाकका साथै जङ्गल सफारीजस्ता सुविधालाई लक्जरी प्याकेजमा समावेश गर्दै आएका छन् । जङ्गल सफारीका लागि रिसोर्टहरुले हात्ती पालेका छन् । हात्ती सफारीका साथै हात्तीसँग दिन बिताउनका लागि पनि पर्यटकहरु मेघौली पुग्न थालेका छन् ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’ का कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । बिहान ‘इन रुट वेदर’ का कारण अन्तर्राष्ट्रियतर्फ जजिर एयरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट)को विमान डाइभर्ट भएको उनले जानकारी दिए ।

रामेछापबाट लुक्ला उड्ने समिट र तारा एयरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् । वर्षा रोकिएसँगै काठमाडौँ विमानस्थलसहित काठमाडौँ बाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका प्रवक्ता शेर्पाले जानकारी दिए । दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायुसेवा निगमको काठमाडौँ–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको उनले बताए ।

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो । अहिले काठमाडौँ आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’ मा उल्लेख छ ।

बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेकाले वर्षा गराएको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ ।

बचत अपचलन गरेको आरोपमा पातालग्गा सहकारीका पूर्वअध्यक्ष पक्राउ

झापा । सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिए । खनाललाई आजै जिल्ला अदालत झापामा उपस्थित गराइने उनको भनाइ छ ।

खनालले विसं २०७८ भदौ २३ गते आफू, पत्नी, भाइ, बहिनी र मामाससुराका नाममा रु दुई करोड छ लाख आठ हजार ३८३ ऋण निकालेर फरार भएका थिए ।

विसं २०७८ कात्तिक १६ गते संस्थाका उपाध्यक्ष टंकप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए ।

पातालग्गा सहकारीमा एक हजार ५०० भन्दा बढी सदस्य छन् । सदस्यको बचत हिनामिना गरेर खनाल फरार भएपछि त्यसपछि अध्यक्ष चयन भएका युवराज गिरीले निजी घरजग्गा बैंकमा धितो राखेर निकालेको पैसाले बचतकर्ताको रकम फिर्ता भइरहेको बताए ।

झापा जिल्ला अदालतबाट विसं २०७९ मङ्सिर १४ गते उक्त मुद्धाका पाँच जना आरोपीका नाममा हाजिर हुन आउने म्याद जारी भएको थियो । खनालकी बहिनी विर्तामोड नगरपालिका–२ निवासी गोमा खनाल भण्डारी र मामाससुरा भद्रपुर नगरपालिका–८ निवासी अनन्तजीवन लुइँटेल पक्राउ परेका थिए ।

अदालतको आदेश बमोजिम एक लाख ५० हजार धरौटीमा गोमा खनाल भण्डारी र ७५ हजार धरौटीमा अनन्तजीवन लुइँटेल तारेखमा छुटेका थिए । अहिले खनालकी पत्नी कमलादेवी भट्टराई र भाइ सीताराम खनालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

झापामा सहकारीको बचत अपचलन गरेको अभियोगमा पक्राउ परेका अन्य सहकारीका सञ्चालक तथा कर्मचारीविरुद्ध पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शिवगञ्जस्थित सेवा केन्द्रका प्रमुख जीवन भुजेललाई रु तीन करोड ३५ लाख ४०० हिनामिना गरेको अभियोगमा गत चैतमा प्रहरीले पक्राउ गरेको थियो । भुजेलविरुद्ध सम्बन्धित सहकारीले नै प्रहरीमा जाहेरी दिएको थियो ।

यसैगरी, शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल र व्यवस्थापक मित्रलाल भट्टराई सहकारीको बचत अपचलन गरेको अभियोगमा गत कात्तिकमा पक्राउ परेका थिए ।

अध्यक्ष खनाल र व्यवस्थापक भट्टराईले मिलेमतोमा सहकारीमा सर्वसाधारणले राखेको बचत रु एक करोड ३९ लाख ७७० हिनामिना गरेको भनी प्रहरीमा जाहेरी परेको थियो । हाल यो मुद्धा झापा जिल्ला अदालतमा विचाराधीन रहेको छ ।

अझै भेटिएन सडकमा भासिएको गाडी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका गौरीगाउँमा सडकमा भासिएको गाडी अझै फेला परेको छैन । गाडी खोज्न शनिबार दिनभर प्रयास गर्दा पनि गाडी फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, गाडी भासिएको खाल्डोको पानी सुकाएर गाडी खोजी गरिएको भएपनि फेला पार्न सकिएको छैन । बाँस डुबाएर प्रयास गरिएकोमा सो प्रयास पनि सफल नभएको प्रहरीले जनाएको छ ।

गाडी डुबेको खाल्टोबाट जति पानी बाहिर फाल्यो उति वरपरको माटो खाल्डोमा खसेर पुरिँदै जान थालेपछि खाल्डोमा डुबेको गाडी फेला पार्न समस्या भएको हो ।

गैरीगाउँको सो सडकमा शुक्रबार हरिराम राईको ना.४ च ४८३३ नम्बरको माछा ढुवानी गर्ने गाडी सडक भासिएको सोही खाल्डोमा परेको हो । गाडीका चालक र सहचालकले भने गाडी भासिनु अघि नै हामफालेर ज्यान जोगाएका थिए ।

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आइतबार छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त, तीनवर्षमा ४४ प्रतिशत भौतिक प्रगति

गण्डकी । तीनवर्षे ठेक्का अवधि सकिन चार महिना बाँकी रहँदा पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति जम्मा ४४.६६ प्रशित पुगेको छ । पोखरा–मुग्लिन सडकमा पर्ने उक्त पुलको ठेक्का अवधि आगामी भदौमा सकिँदै छ । विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो ।

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख कृष्णबहादुर कुँवरले पुल बन्न अझै एक वर्ष लाग्ने बताए । “मापदण्डभित्रका संरचना हटाउन खोज्दा अवरोध आएकाले सुरुको चरणमा निर्माणले गति लिन सकेन, पुलको डिजाइन स्वीकृत हुन पनि समय लाग्यो”, उनले भने, “पुलका लागि चाहिने केबललगायत सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा ढिलाइ भइरहेको हो ।”

‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चारवटा जगको काम पूरा भएको उनले जानकारी दिए । तीनवटा टावर निर्माण भइसकेको र एउटा निर्माणका क्रममा रहेको प्रमुख कुँवरले बताए । आकर्षक डिजाइनमा बन्ने उक्त ‘सिग्नेचर’ पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकका अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्ने प्रमुख कुँवरले बताए ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक ९४ करोडको ठेक्कामा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको हो । ‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण पनि बढ्ने छ । पुरानो प्रविधिको भन्दा अहिले बनाउन लागि पुल डिजाइनका हिसाबले आकर्षक रहेको जनाइएको छ ।

एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने प्रमुख कुँवरले बताउनुभयो । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा सिग्नेचर पुल निर्माणाधीन अवस्थामा छन् ।

पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ साल वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको ‘लाइफ लाइन’का रूपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा हालसम्म भौतिक प्रगति ८२.९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने)मा ५०.३४ प्रतिशत पुगेको छ ।

कुल ४१.४५ किमी दूरीको पूर्वी खण्डमा तीन किमीमात्र कालोपत्र हुन बाँकी छ । कुल ३८.८८ किमी दूरीको पश्चिम खण्डमा हालसम्म ३५.५ किमी एकतर्फी (दुई लेन) सडक कालोपत्र भइसकेको प्रमुख कुँवरले बताए। “करिब तीन किमी सडक एकतर्फी कालोपत्र हुन बाँकी छ, १८ किमी दूरीमा दुईतर्फी नै कालोपत्र भइसकेको छ”, उनले भने, “आउँदो असारभित्रमा ३० किमी दूरीमा दुईतर्फी नै कालोपत्र सक्ने लक्ष्य छ ।”

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको बलाधिकृत रथी निर्मलकुमार थापाले निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गरे ।

सैनिक तालिम महानिर्देशनालयद्वारा सञ्चालित प्रतियोगितामा १५ महिलासहित एक सय ९६ खेलाडीले विभिन्न १४ समूहमा प्रतिस्पर्धा गर्ने छन् । यही वैशाख २८ गतेसम्म चल्ने तेस्रो संस्करणको उक्त प्रतियोगितामा विभिन्न नौवटा क्लबका खेलाडीको सहभागिता छ ।

खेलाडीको दक्षता, सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येय रहेको प्रतियोगिता प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै आएको छ ।

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनकाअनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी

काठमाडौं । नेपाली क्रिकेट संघले क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा गरेको छ । क्यानले युके टूरका लागि २५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा नयाँ खेलाडीहरूमा किरण ठगुन्ना, रुपेश सिंह, युवराज खत्रीलगायतका छन् ।

आवासीय चिकित्सक र सरकारबीच सहमति

काठमाडौँ । आवासीय चिकित्सक र सरकारबीच सहमति भएको छ । शनिवार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलमा सहमति भएको हो ।

सहमति भएसँगै आवासीय चिकित्सकहरूको आन्दोलन स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरूका लागि यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरू आन्दोलन छोड्न सहमत भएका हुन् ।

करिडोरले फेरिँदै हर्मिचौरवासीको जीवनस्तर

गुल्मी। “पहिले रिडी पुग्न हिँडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा आधा घण्टामै पुगिन्छ”, कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका रामप्रसाद पाण्डेले भने, “करिडोरले हाम्रो दैनिकी बदलिदिएको छ।”

कालीगण्डकी करिडोर नबन्दै हर्मिचौरलगायतका भेगका नागरिक सदरमुकाम तम्घास जान पाल्पाको सडक प्रयोग गर्नुपर्नेमा अहिले भने सिधा रिडीको बाटो प्रयोग गर्न सकिने पाण्डेले बताए।

हर्मिचौरमा सिलाइ–कटाइ पसल सञ्चालन गरिरहेका वीरबहादुर दर्जीलाई पनि सामान ल्याउन करिडोर निर्माणपछि सहज भएको छ। पहिले बागलुङबाट सामान ल्याउनुपर्दा समस्या रहेकामा अहिले करिडोर निर्माणपछि बुटवल आवतजावत गर्न सहज भएको उनले सुनाए।

“सामान ल्याउन र बिक्री गर्न बाटोका कारण केही समस्या थियो, करिडोर निर्माण भएपछि सहज कम मूल्यमै सामान ल्याउन सकिएको छ”, उनले भने। उनले आफू र आफूजस्तै व्यवसायीलाई करिडोर निर्माणले सहज बनाएको बताए। कोरला नाका हुँदै चीनको मानसरोवर जोड्ने करिडोरको गुल्मीमा ३९ किलोमिटर भाग पर्दछ। गुल्मीका रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी गाउँपालिकाका नागरिक करिडोरबाट लाभान्वित छन्।

करिडोर निर्माणपछि सदरमुकाम तम्घाससम्मको आवतजावत, विद्यालय तथा स्वास्थ्य संस्थासम्मको पहुँच सहज भएको छ। त्यसैगरी बुटवल, पोखरा र काठमाडौँसम्मको दूरी पनि छोट्टिएको छ। करिडोर नहुँदा यहाँबाट काठमाडौँ जान बागलुङ वा रिडी गएपछि मात्र बस चढ्नु पर्दथ्यो भने अहिले घरबाटै रात्रिकालीन सेवाको बस चढ्न पाइने भएको सत्यवतीकी मिना क्षेत्रीले बताइन्।

रिडीबाट पूर्तिघाटसम्मको व्यापार गुल्मी सदरमुकामभन्दा बुटवल र बागलुङसँग बढी नजिक छ। त्यसमा सडकले थप सहजता मिलेको छ। करिडोर (गुल्मी खण्ड) निर्माण सम्पन्न भएपछि सडक क्षेत्रमा सयौँको संख्यामा व्यापारिक फार्म खुलेका छन्।

होटल तथा रेस्टुराँ कृषि फार्म, कपडा पसल, गल्ला तथा किराना पसल, कस्मेटिकलगायत खुल्न थालेको कालीगण्डकी गाउँपालिका पूर्तिघाटका लीलबहादुर केसीले बताए। “करिडोर निर्माणले पर्यटक प्रवर्द्धनमा समेत सहयोग मिलेको छ”, उनले भने।

व्यावसायिक फार्म स्थापना हुँदा एकातर्फ गाउँमै रोजगारी सिर्जना भएको छ भने अर्कातर्फ स्थानीय उत्पादनको बजारीकरण भएको छ। फार्म पालिकामा दर्ता हुँदा स्थानीय सरकारको राजस्वमा समेत वृद्धि भएको त्यस क्षेत्रका पूर्वसांसद एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले बताए। “करिडोरले यातायात मात्र होइन, यस क्षेत्रको भविष्य नै बलियो बनाएको छ, करिडोर निर्माण नभएको भए यो विकट रहन्थ्यो”, उनले भने।

नवलपरासीको गैँडाकोटबाट चीनको उत्तरी भाग कोरलासम्म फैलिएको कालीगण्डकी करिडोर २५४ किलोमिटरको छ। जसमा नवलपुरमा ७८, पाल्पा र बागलुङमा ३६ किलोमिटर सडकखण्ड पर्छ। हालसम्म १९७.३ किलोमिटर सडक कालोपत्र भएको छ।

करिडोरले नवलपुरका तीन, पाल्पाका पाँच, गुल्मीका तीन तथा बागलुङमा एक पालिका छोएको छ। करिडोरमा बनाउनुपर्ने ५९ पुलमध्ये ३५ वटा निर्माण सम्पन्न भएका छन्। सात वटा निर्माणाधीन छन् भने १७ पुलको ठेक्का हुन बाँकी रहेको कालीगण्डकी करिडोर कार्यालयका इन्जिनियर अरुण खत्रीले जानकारी दिए।

गणतन्त्र र संविधान जोगाउन समाजवादी मोर्चा: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र संविधान जोगाउन समाजवादी मोर्चा अगाडि सारिएको बताएका छन् ।

शनिबार नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले वर्तमान राजनीतिक परिस्थितिमा राजावादी शक्तिहरू पुनः सक्रिय हुन खोजेको बताए । उनले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टी आफ्नो तरिकाबाट भूमिका खेलिरहेको छ । अहिले राजावादी शक्तिहरुले टाउको उठाउन खोजेका छन् । झण्डै उनीहरु हावी होलान् की भन्ने भैइसक्या थियो । त्यस्तो बेलामा हामीले समाजवादी मोर्चालाई अगाडि बढाएर परास्त गर्ने काम गर्यौं ।’

उनले पार्टी सानो वा कमजोर भएको मानसिकता त्याग्नुपर्नेमा जोड दिए । उनले अरूलाई सिध्याएर नभई प्रतिस्पर्धामार्फत जनताको विश्वास जित्दै अगाडि बढ्ने बताए ।

उनले भने,‘हामी प्रतिस्पर्धाको राजनीतिबाटै अगाडि बढ्छौं । बहुदलीय प्रतिस्पर्धाबाटै अगाडि बढ्छौं । निर्दलीय, एकदलीय शासनको पक्षमा हुने छैनौं । दुई दलीय व्यवस्थाको वकालत गर्नेलाई चुनौती दिन्छौं ।’

राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छः उपाध्यक्ष सापकोटा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्नेमा जोड दिएका छन् ।

मार्क्सवादी ज्ञान केन्द्रले शनिबार आयोजना गरेको ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल: तुलनात्मक अध्ययन’ शोध ग्रन्थमाथिको पृष्ठपोषण कार्यक्रममा उनले राष्ट्रिय दृष्टिकोण निर्माणमा दलहरूबीच बहस हुन नसक्नु दु:खद् भएको बताए ।

पूर्वसभामुख सापकोटाले समाजवाद नै अहिलेको सर्वोत्कृष्ट राजनीतिक व्यवस्था भएकाले राष्ट्रिय पुँजीको विकास गरेर त्यसतर्फको यात्रा अघि बढाइनुपर्नेमा जोड दिए ।

उनले भने, “संविधानसभाबाट जारी संविधानमा समाजवादोन्मुख राज्य व्यवस्था हुने भनेर उल्लेख गरिएको छ, यो ठूलो उपलब्धि हो, अब संविधानमा टेकेर वैज्ञानिक समाजवादका लागि संघर्ष गर्नुपर्छ ।”

राजनीतिक परिवर्तन पछाडि जनअपेक्षाअनुसार आर्थिक सामाजिक रूपान्तरण नभएको स्विकार्दै उनले गणतन्त्र र राजतन्त्रबीच कुनै हालतमा तुलना गर्न नमिल्ने बताए ।

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले राष्ट्रिय मुद्दामा पक्ष–विपक्ष नभई दलहरू एक ठाउँमा उभिनुपर्ने बताए ।

“परराष्ट्र नीति, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगारीका एजेण्डामा साझा संकल्प गर्न सक्यौँ भने मात्र मुलुकको समृद्धि सम्भव छ”, उनले भने । जनअपेक्षा पूरा गर्न सन्तुलित र समानुपातिक विकासको अवधारणा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले काँग्रेसले समाजमा देखिएको नैराश्यताको गम्भीर अध्ययन आवश्यक भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सचिव सावित्राकुमारी भुसालले राजनीतिक परिवर्तनपछाडिको आर्थिक तथा सामाजिक अवस्था प्रगति पथमा रहेको उल्लेख गर्दै बहुदलपछि नवउदारवादको नक्कल गरेर राष्ट्रिय उद्योगधन्दा निजीकरण गर्दा मुलुकले दुर्दशा भोगिरहेको बताइन् ।

बाग्मती प्रदेशसभा सदस्य इन्द्र गौतमले गणतन्त्रको स्थापनापछि मुलुकले फड्को मारेको जनाउँदै गणतन्त्र अघि र पछिको अवस्थाबारे तुलनात्मक अध्ययन गरेर शोध ग्रन्थ प्रकाशन गर्दा राजनीतिक परिवर्तनपछिको उपलब्धिको दस्तावेजीकरण हुने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणि अधिकारीले नागरिकको चेतना र खुलापनले अहिलेको आर्थिक र सामाजिक उपलब्धिलाई लिएर चित्त बुझाउने अवस्था नरहेको बताए ।

“हिजोसँग तुलना गर्दा ‘छलाङ’ मारेका हौँ, तर यतिले मात्र पुगेको छैन भनेर स्वीकार गर्नुपर्छ”, उनले भने, “अब मुलुकको नेतृत्व गर्ने दायित्व नयाँ पुस्ताको हो भनेर सिकाउनुपर्छ ।”

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बालमुकुन्द रेग्मी र नेपाल खुला विश्वविद्यालयका उपप्राध्यापक रुमा मानन्धरले गणतन्त्रपछि मुलुकले धेरै क्षेत्रमा प्रगति हासिल गरिरहेको उल्लेख गर्दै अब समाजवादी विकासको मोडल अपनाउनुपर्नेमा जोड दिइन् ।

केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले गणतन्त्र अगाडि र पछाडिको नेपाल आर्थिक तथा सामाजिक विकासको अवस्थाबारे आम नागरिकलाई जानकारी दिन शोध ग्रन्थ तयार गर्न लागिएको जानकारी दिए । शोध ग्रन्थ अनुसन्धान संयोजक डा. निमानन्द रिजालले गणतन्त्र घोषणापछि वैदेशिक ऋणको अनुपात घटेको, आन्तरिक तथा बाह्य लागनी, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षालगायत आधारभूत सुविधाको पहुँच अभिवृद्धि भएको तथ्यांक प्रस्तुत गरे।

रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

मान्म । कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो ।नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो ।

केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ । सबस्टेसन निर्माण सम्पन्न भएपछि रास्कोटसहित छिमेकी पालिका र बाजुरा जिल्लासम्म गुणस्तरीय विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरणका प्राविधिक रमेश शाहीले बताए ।

“प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन, कालीकोटको रास्कोटमा मात्र नभएर बाजुराको पूर्वी क्षेत्रमा पनि विद्युत् पहुँच विस्तार हुनेछ,” उनले भने ।

रास्कोटमा हाल ११ केभिए प्रसारण लाइन छ । उक्त प्रसार लाइनका कारण गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभिए प्रसारण लाइनको सबस्टेसन निर्माण गर्न लागिएको हो ।

यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । 

किशोर–किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’ सेवा

काठमाडौँ । सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ सेवा सुरु गरेको छ । उक्त सेवामार्फत अभिभावकले आफ्ना छोराछोरीको टिकटक खाता आफ्नो खातासँग जोडेर उनीहरूको डिजिटल गतिविधिमा नियन्त्रण राख्न सक्ने जनाइएको छ ।

टिकटकका अनुसार उक्त सेवाको उद्देश्यले जिम्मेवार र सुरक्षित अनलाइन बनाउनु हो । ‘फ्यामिली पेयरिङ’ सुविधामार्फत अभिभावकहरूले आफ्ना बालबालिकाको दैनिक ‘स्क्रिन’ समय सीमित गर्न, सन्देश पठाउन वा ‘कमेन्ट’ गर्न नपाउने बनाउन, उमेरअनुसारको मात्रै विषयवस्तु देखिने बनाउन, खाता खोज्न मिल्ने/नमिल्ने बनाउने तथा सर्च सेटिङ नियन्त्रण गर्न सक्ने सुविधा प्राप्त हुने कम्पनीले जानकारी दिएको छ।

यो सेवा सुरु गर्नका लागि टिकटकको ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुमा गई क्यूआर कोड स्क्यान गरेर अभिभावक र किशोर प्रयोगकर्ताको खाता आपसमा लिंक गर्नुपर्छ । एकपटक जोडिएपछि, अभिभावकहरूले आफ्ना छोराछोरीको मोबाइल नछोइकनै आफ्नै फोनबाट सुरक्षासम्बन्धी सेटिङहरू व्यवस्थापन गर्न सक्नेछन् ।

टिकटकका दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भने, “समाजको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो, विशेष गरी किशोर प्रयोगकर्ताको हकमा फ्यामिली पेयरिङ सुविधा नेपालका लागि उपयुक्त हुने अपेक्षा छ ।”

नीति तथा कार्यक्रम जनताको हितमा नरहेको पूर्वप्रधानमन्त्री खनालको जिकिर

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारमा दलाल पूँजीवादी पार्टीहरु रहेकाले जनताको हितमा नीति तथा कार्यक्रम नबनेको बताएका छन् ।

शनिबार नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको समस्या समाधान नगर्ने बताएका हुन् ।

उनले दुई पार्टीको सरकार दलाल पूँजीवादीको भएको आरोप लगाए । उनले भने, ‘अहिले दुई वटा पार्टीको सरकार छ एउटा पार्टी दलाल पूँजीवादी पार्टी हो । त्यो पार्टीले जनताको समस्या समाधान गर्ला भनेर आम जनताले सोचेकै छैन । हिजो पनि छैन, आज पनि छैन । दोस्रो ठूलो पार्टी नेकपा एमालेले ल्याएको नीति कार्यक्रम हो तर यो नीति कार्यक्रममा कांग्रेसको नीति र कार्यक्रम भन्दा भिन्न केही छैन । यो दुःखद् कुरा हो ।’

उनले सरकारमा भएको पार्टीले ल्याएको नीति कार्यक्रमबाट आफूहरु फरक बाटो हिँड्नुपर्नेमा स्पष्ट भएको पनि बताए । उनले समाजवादी व्यवस्था नआएसम्म आवश्यकता पुरा नहुने भन्दै समाजवादी क्रान्ति आजको आवश्यकता रहेको बताए ।

भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण

नेपालगञ्ज। कोहलपुर नगरपालिकामा आजदेखि जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रम सुरु भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सो नगरपालिकाका वडा नं १ का भूमिहीन दलित खडके दमाईलाई प्रमाणपत्र हस्तान्तरण गरेर उक्त कार्यक्रमको थालनी गरेका हुन् । पहिलो चरणमा ७१ जना भूमिहीन, दलित सुकुमबासीले जग्गाधनी पूर्जा पाएका छन् ।

त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीले आज प्रदान गरिएको जग्गा सम्बन्धित व्यक्तिको नभई अन्यको भएको पाइए पूर्जा जफतका साथै दोषीलाई कडा कारबाही गरिने चेतावनी दिए ।

मन्त्री अधिकारीले भूमिहीन सुकुमबासी र भूमिहीन दलितलाई जग्गा प्राप्तिमा कुनै शुल्क नलाग्ने जानकारी दिए । स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि अधिकार दिइएको उल्लेख गर्दै उनले स्थानीय तहलाई असार मसान्तसम्ममा वर्गीकरणको सबै काम पूरा गर्न आग्रह गरे।

‘सबै पालिकाले जग्गाको वर्गीकरण असार मसान्तसम्म गरेर पठाउनुभएन भने जग्गाको किनबेच र कित्ताकाट बन्द हुन्छ’, उनले भने। सुकुम्बासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले सुकुमबासी समस्या समाधानका लागि सरकार क्रियाशील रहेको बताए।

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधिसभाका सदस्य सूर्य ढकाल, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना, कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आर्चाय, उपप्रमुख संङ्गीता सुवेदीलगायत वक्ताले पूर्जा वितरणमा विलम्ब भएको गुनासो गरे।

बाँकेमा हालसम्म ५४ हजार हाराहारीमा पूर्जाका लागि आवेदन परेको छ । चालु आर्थिक वर्षमा छ हजार प्रमाणपत्र वितरण गर्ने आयोगको लक्ष्य छ ।

कानुनी अनुसन्धानको प्रणाली सुधार्नुपर्छ : न्यायाधीश मल्ल

लुम्बिनी । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले कानुनी अनुसन्धानको वर्तमान प्रणालीलाई सुधार गर्नुपर्ने बताएकी छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्कुल अफ ल ले आयोजना गरेको ‘राष्ट्रिय अभ्यास अदालत’ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा नेपालको संविधानले करुणासहितको न्यायको कल्पना गरेको उनले बताइन्।

अरुलाई पीडाबाट मुक्त गराउनु न्यायको अभिप्राय भएको उल्लेख गर्दै उनले भनिन्, ‘कानुन र करुणा एकअर्काका विपरीत होइनन्, कानुनले न्याय बुझ्नुपर्छ, करुणायुक्त न्याय आजको आवश्यकता हो, त्यसो भएन भने न्याय हुँदैन । अपराधको अनुसन्धान र अभियोजनामा पनि करुणा हुनुपर्छ ।’

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले कानुनमा न्यायिक करुणाको व्यवस्था हुनुपर्ने विचार व्यक्त गरे। महान्यायाधिवक्ता रमेश बडालले बुद्धले दिएका सन्देशलाई न्याय प्रणालीमा रूपान्तरण गर्दै जान आवश्यक रहेको बताए।

नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले बौद्ध न्याय प्रणालीलाई न्यायसम्पादनमा अनुशरण गर्दा कानुनी क्षेत्रमा नयाँ अभ्यास स्थापित हुने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने जनशक्ति विश्वविद्यालयले उत्पादन गर्दै आएको बताए।

गैरआवासीय नेपालीलाई राजनीति नगर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छिन् ।

शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन् ।

उनले भनिन्, ‘यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईंहरुले सहयोग गरिदिनुस् ।’

परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरू आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्त्वपूर्ण माध्यम रहेको बताइन् ।

उनले गैरआवासीय नेपाली(एनआरएनए)को परिचयपत्र (एनआरएनए कार्ड) मस्यौदाको अन्तिम चरणमा रहेको भन्दै छिटै नयाँ रुपमा वितरण गर्ने बताइन् ।

एनआरएनएको एकता महाधिवेशन उद्घाटन सत्रमा परराष्ट्रमन्त्री रणाले परराष्ट्र मन्त्रालयमा मस्यौदा भइरहेको विधेयकलाई अन्तिम रुप दिँदै कार्ड वितरण हुने कुरातर्फ संकेत गर्दै यस्तो बताएकी हुन् ।

सर्वोच्च अदालतको फैसला अनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा शनिबारदेखि एकता महाधिवेशन शुरु भएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने एनआरएनएका पूर्व अध्यक्षहरुले परिचयपत्रको बारेमा प्रश्न उठाएपछि परराष्ट्रमन्त्री देउवाले छिटै वितरणको वाचा गरेकी हुन् ।

परराष्ट्रमन्त्री राणाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने दायित्व अन्तर्गत एकता महाधिवेशन भएको भन्दै सवै गैरआवासीय नेपालीहरुलाई मिलाएर लैजान पनि शुभकमना दिइन् । उनले नेपालीहरुको एकताले नै देशलाई सहयोग पुग्ने भन्दै विवादलाई सबैले विर्सेर एकता गर्न आग्रह गरिन् ।

पार्टीका सांसदलाई प्रधानमन्त्रीको निर्देशनः नीति तथा कार्यक्रमको ढुक्कले समर्थन गर्नु

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसदमा शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढङ्गले आएकाले ढुक्क भएर दृढतापूर्वक तिनलाई समर्थन गर्न आफ्नो दलका सांसद्हरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार भएको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार, राजनीतिक स्थायित्वका साथ सुशासन कायम गरी अर्थतन्त्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको बताए ।

‘हाम्रा नीतिहरु सही छन्, यसमा साथीहरु ढुक्कले लागे हुन्छ । संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नुपर्दैन । हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ । हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौँ ।’ पार्टी अध्यक्ष ओलीले भने, ‘हाम्रो दलमा वैचारिक एकता छ । स्पष्टता र दृढता हामीसँग छ, यो स्पष्टता र दृढतालाई संसद्का गतिविधिमा अझ प्रभावकारी रूपमा प्रकट गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले विकासका दृष्टिले पछाडि परेको समूहको उत्थान हुनेगरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रूपमा सहकार्य, शान्ति सुव्यवस्थाप्रति जिम्मेवर र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याइएको बताए ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार समाजमा विकासको प्रतिफल प्राप्त गर्नबाट वञ्चितहरुको पहुँच वृद्धि हुनुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तरराष्ट्रिय सम्बन्ध कायम गर्दै आएको उल्लेख गरे ।

दलको बैठकमा नीति तथा कार्यक्रमबारे एमालेका उपमहासचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडाले मुलुकको समसामयिक राजनीति तथा आर्थिक उन्नयनका अवसर र चुनौतीबारे विचार व्यक्त गर्ने कार्यक्रम छ ।

सामाजिक न्यायको पक्षमा माओवादीले नयाँ क्रान्ति गर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जाने संकल्प गरेको बताएका छन् ।

शनिबार दक्षिणकाली नगर सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मैले जस्तै तपाईंहरूले पनि यो आँट गरे समाजवादको आधार तयार हुने बताएका हुन् ।

प्रचण्डले सबैले आँट गरे एक वर्षभित्र देशको राजनीतिक रङ्गमञ्च बदलिनसक्ने बताए । उनले भने, ‘म अहिले ७१ वर्ष भए पनि नयाँ क्रान्तिको नेतृत्व गर्ने र समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट जाने संकल्पमा छु । तपाईंहरूले पनि यो आँट गर्नुभयो भने यो देशको राजनीतिक रंगमञ्च बदल्न सक्नुहुनेछ ।’

उनले पछिल्लो पटक पार्टीले आयोजना गरेको तराई–मधेश जागरण अभियानबाट आफूलाई अझै उत्साह थपिएको बताउँदै संगठन निर्माणका लागि पार्टी पंक्तिलाई निर्देशन दिए । उनले भ्रष्टाचार र सामाजिक विभेदको विरुद्ध, सामाजिक न्यायको पक्षमा माओवादीले नयाँ क्रान्ति गर्न सक्ने बताए ।

भारतद्वारा दार्चुलामा नेपाली भूमिमा तटबन्ध निर्माण

दार्चुला । दार्चुलाको सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध गरेका छन् । २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ ।

नेपाली भूभागमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकाले त्यसलाई अविलम्ब रोक्न कूटनीतिक पहल थाल्नुपर्ने माग गर्दै नेकपा एमाले जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा छिमेकी भारतले तटबन्ध निर्माण गरिरहेको छ । नेपाली भूमि मात्र नभई नदीको धार नै परिवर्तन हुनेगरी तटबन्ध निर्माण जारी रहेकाले त्यसलाई रोक्न प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताए ।

कूटनीतिक माध्यमबाट समस्याको समाधान यथाशक्य चाँडो गर्न परराष्ट्रको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए । महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको क्षेत्रमा अन्तर्राष्ट्रिय सीमारेखा मिचेर तटबन्ध निर्माण भइरहेको जानकारी दिँदै अध्यक्ष घर्तीले त्यसलाई रोक्न माग गरे ।

भारतले निर्माण गरिरहेको तटबन्धका सम्बन्धमा तत्काल कूटनीतिक पहल थाल्न आफूले पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनले आफू निरन्तर भारतीय समकक्षीहरुसँग सम्पर्कमा रहेको बताउँदै निर्माण रोक्न आग्रह गरेको जानकारी दिए । 

भारत र पाकिस्तानको सिमानामा रहेका बासिन्दाहरू फिर्ता

भारत । पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दाहरूले प्रतिद्वन्द्वी सेनाहरूबिचको द्वन्द्वको आतङ्कको कारण आफ्ना परिवारलाई सीमाबाट फिर्ता पठाएका छन् ।

चेनाब नदीको किनारमा बसोबास गर्नेसेन्थको कृषि बस्तीका करिब एक हजार ५०० बासिन्दालाई द्वन्द्वको डरले स्थानान्तरण गरेको जनाइएको छ । “हामी दीर्घकालीन योजना बनाउन सक्दैनौँ,” गाउँ प्रमुख सुखदेव कुमारले भने ।

कठिन अवस्थाका कारण ‘यहाँका अधिकांश गाउँलेहरूले आधारभूत घर बनाउनेभन्दा बढी लगानी नगर्ने उनले उल्लेख गरे ।

भारतले पाकिस्तानलाई कस्मिरमा सर्वसाधारणमाथिको आक्रमणलाई समर्थन गरेको आरोप लगाएपछि दुई छिमेकीहरूबिचको सम्बन्ध बिग्रिएको छ ।

पहलगाममा अप्रिल २२ मा भएको आक्रमणमा क्याबो बोकेको आरोपमा भारतीय प्रहरीले तीन जनाको खोजी जारी राखेको छ भने संयुक्त राष्ट्रसङ्घले उनीहरुलाई आतङ्कवादी घोषणा गरेको छ ।

यता पाकिस्तानले भने २६ जनाको हत्या गर्ने सहयोग गरेको आरोपलाई इस्लामाबादले अस्वीकार गरिरहेको छ ।

भारतीय सेनाले शनिबार आफ्ना सैनिकहरूले पाकिस्तानी सैनिकहरूसँग कश्मीरसँगको सीमामा गोली चलाएको बताएको छ ।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानको विवादित क्षेत्र बनेको छ ।
गाँउ प्रमुख कुमारले अधिकांश परिवारहरूले सुरक्षित आवासका लागि अर्को ठाउँमा घर बनाई सरेका र शिविरमा करिब एक तिहाइ मात्र मानिसहरूमा रहेको बताए ।

सन् १९९९ मा दुवै पक्षले आक्रमण गर्दा यो क्षेत्र नराम्ररी प्रभावित भएको जनाइएको छ । “पहलगाममा आक्रमण भए देखि बालबालिका डरैडरमा बाँचिरहेका छन् भने वार्ताका माध्यमबाट आफ्ना मतभेद समाधान गर्न नयाँ दिल्ली र इस्लामाबादमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।

संयुक्त राज्य अमेरिकाले ‘तनाव कम गर्न’ आग्रह गरेको छ, छिमेकी चीनले ‘संयम’ रहन आग्रह गरेको छ, र युरोपेली सङ्घले शुक्रबार स्थिति ‘चिन्ताजनक’ भएको चेतावनी दिएको छ ।

राष्ट्रसंघका महासचिव र इरानी विदेशमन्त्रीवीच आणविक कार्यक्रमबारे छलफल

तेहरान । इरानका विदेश मामिला मन्त्री सैयद अब्बास अराघची र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ओमानले मध्यस्थतामा भएको तेहरान र वासिङ्टन वार्ताको पछिल्लो प्रगतिबारे छलफल गरेका छन् ।

इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुवै पक्षले पछिल्लो क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमबारे पनि छलफल गरेका छन् ।

अराघचीले आफ्नो शान्तिपूर्ण आणविक कार्यक्रमसँग सम्बन्धित समस्या समाधान गर्न कूटनीतिको बाटो रोज्ने इरानको ‘जिम्मेवार’ दृष्टिकोणलाई प्रकाश पारेका छन् । उनले आणविक हतियारसम्बन्धी सन्धिको सदस्यको रूपमा, इरानले शान्तिपूर्ण उद्देश्यका लागि आणविक ऊर्जा प्रयोग गर्ने आफ्नो अधिकारमा जोड दिदै युरेनियमको संवद्र्धनका लागि अन्तर्राष्ट्रिय दायित्वप्रति प्रतिबद्ध रहेको बताए ।

अधिकारीहरूको ‘विरोधाभासी’ व्यवहार र टिप्पणी, इरानी राष्ट्र विरुद्ध प्रतिबन्ध र धम्कीहरूको निरन्तरता, कूटनीतिक मार्गमा अगाडि बढ्न वाशिङ्गटनको गम्भीरताबारे अविश्वास र शङ्का बढेको छ।

संयुक्त राष्ट्रसङ्घका प्रमुखले इरानका विदेशमन्त्रीले अमेरिकासँगको वार्तासँग सम्बन्धित घटनाक्रमबारे व्याख्या गरेकोमा प्रशंसा गर्दै कूटनीतिक प्रक्रिया जारी राख्ने बताए ।

इरान र संयुक्त राज्य अमेरिकाले अप्रिल १२ र २६ मा ओमानको मस्कटमा पहिलो र तेस्रो चरणको अप्रत्यक्ष वार्ता र अप्रिल १९ मा इटालीको रोममा दोस्रो चरणको वार्ता गरेका थिए ।

थाइल्यान्डमा बन्दकुधारीद्वारा गोली हानी तीन जनाको हत्या

बैंकक । दक्षिणी थाइल्यान्डमा विद्रोहीबाट प्रभावित एक बन्दुकधारीले एक बालकसहित तीन जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् ।

अधिकारीका अनुसार लामो विद्रोहबाट प्रभावित थाइल्यान्डको नरथिवाट प्रान्तको टाक बाई जिल्लाको आवासीय क्षेत्रमा शुक्रबार राति आक्रमणकारीले गोली चलाउँदा नौ वर्षीया बालिका र एक जना वृद्धासहित तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

एकजना पीडितको घटनास्थलमै मृत्यु भएको र अन्य दुईको जना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी अधिकारी वाताना थुरारतलेलाई उदृत गर्दै एएफपीले जनाएको छ । आक्रमणकारी विद्रोही समूहसँग सम्बन्धित रहेको आशङ्का प्रहरीले गरेको वातानाले बताए ।

थाइल्याण्डको दक्षिणका नाराथिवत, पट्टानी र याला प्रान्तमा धार्मिक पृथकतावादीहरूले सन् २००४ पछि अहिलेसम्म सात हजार भन्दा बढी मानिसको हत्या गरेको जनाएका छन् ।

सन् २००४ मा, थाई सुरक्षा बलले टाक बाईको प्रहरी चौकी बाहिर प्रदर्शनकारीहरूको भिडमा गोली हान्दा सात जनाको मृत्यु भएको थियो ।

संविधान कार्यान्वयन तथा नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रम आएको उपप्रधानमन्त्री सिंहको दाबी

ललितपुर । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम राजनीतिक आर्थिक सामाजिक गतिविधि बढाउने गरी आएको बताएका छन्।

स्यस्य समाज यलको ११औँ स्थापना दिवसका अवसरमा शनिबार मंगलबजारमा आयोजित नगरपरिक्रमा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार ठूलो संघर्ष र बलिदानीबाट जारी भएको संविधान कार्यान्वयन तथा नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए।

‘हरेकको जीवन सहज र सफल होस् भन्दै राजनीतिक स्थिरता दिँदै प्रतिकूलताबाट सहज बनाउन वर्तमान सरकार गठन भएको हो, धेरै संघर्ष गरेर प्राप्त गरेको संविधानअनुसार अभ्यास गर्न पाएको कुरा भुल्नुहुँदैन’,उनले भने।

उनले हरेक जातजातिको सहभागिताबाट समाजमा परापूर्वकालदेखि पुर्खाहरुले मिलेर समाजलाई अगाडि बढाउन गरेको योगदान र देखाएको सकारात्मक कुरालाई निरन्तरता दिन स्यस्य समाजले उल्लेखनीय काम गर्ने विश्वास व्यक्त गरे। उपप्रधानमन्त्री सिंहले विभिन्न भाषाभाषी भएको नेपाली समाजमा सबैलाई समेटेर योगदान र मूल्य–मान्यताको सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

‘काठमाडौं उपत्यकाका सबै जातीय समुदायले एकताका साथ काम गर्न सक्नुपर्छ, एक्लाएक्लै काम गरेर समाजको एकता कायम हुन सक्दैन, समुदायमा जुनसुकै विद्यामा उल्लेख्य काम गरेकालाई सम्मान गर्ने परम्परा कायम राख्नुस्, सहिष्णुता कायम गरेर समाजमा उल्लेख्य काम गरेकालाई सम्मान गर्नुस्’, उनले भने।

स्यस्य समाजका अध्यक्ष नवीनमंगल जोशीले स्यस्य समाजले एकता, सद्भाव र सहिष्णुतालाई जोड दिँदै संस्कृति संरक्षणका लागि समाजले काम गर्दै आएको जानकारी गराए।

विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गर्न आवश्यक छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएकाले यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति, सभ्यताको एकता एवं ऐक्यबद्घता रहेको बताएका छन् ।

यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउनुपर्नेमा उनले जोड दिए ।
राष्ट्रपति पौडेलले शनिबार नागार्जुन –७ रामकोटमा निर्मित बद्रीनारायण मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा भने, “हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत हो । यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिन्छ । यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउनुपर्छ, यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ ।”

सम्प्रदायभन्दा माथि धर्म र धर्मभन्दा माथि अध्यात्म हुन्छ भन्दै राष्ट्रपतिले वैदिक सनातन संस्कति र परम्पराको प्रवद्र्धन गर्न मन्दिरका माध्यमबाट योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै उनले यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

“विश्वमा भौतिक विकासको होडबाजी बढ्दो छ, यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदो छ, यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौँ, आध्यात्मिक जागरण ल्याउन र यसबाट उत्पन्न हुने मानव सेवा भावले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा मन्दिरबाट योगदान पुग्ने मैले विश्वास लिएको छु”, राष्ट्रपतिले भने ।

अस्ट्रेलियाको चुनावमा महँगी र अमेरिकी कर नीति प्रभाव चर्चामा

सिड्नी । जीवनयापनको खर्च, जलवायुको चिन्ता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धि एजेन्डा बनेको आमनिर्वाचनमा शनिबार लाखौं अस्ट्रेलियाली नागरिकले मतदान गर्नेछन् ।

मतदाताहरूले वामपन्थी झुकाव भएका वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानीज र परम्परावादी प्रतिद्वन्द्वी पिटर डटनमध्ये एकलाई रोजिरहेका छन् ।

अल्बानीजको सत्तारुढ लेबर पार्टीले दोस्रो कार्यकालका लागि चुनाव जित्ने जनमत सर्वेक्षणहरूले देखाएका छन् ।

मतदानको पूर्वसन्ध्यामा प्रधानमन्त्री अल्बानीजले च्यानल सेभेनसँग भने, “पवित्र मतदान मतदाताले दिने एक प्रकारको अभिमत हो जसमा जीत दलहरूको आजको लक्ष्य हो ।”

प्रधानमन्त्री अल्वानीजले भने, “यदि म अस्ट्रेलियाको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएँ भने आगामी तीन वर्षमा मैले अष्ट्रेलियाका लागि गर्न सकिने विकासको नेतृत्व लिनेछु । सबै क्षत्रका समस्यालाई सम्बोधन गर्ने प्रयास गरिनेछ ।”

सर्वेक्षणमा केही प्रतिशत अङ्कले पछि परे पनि डटनले ‘शान्त अस्ट्रेलियालीहरू’ले अझै पनि आश्चर्यचकित पार्न सक्ने बताए ।

उनले च्यानल नाइनसँग भने, “मलाई लाग्छ कि उनीहरू मतदान केन्द्रमा गएर भन्नेछन्ः ‘तपाईंलाई के थाहा छ? म एन्थोनी अल्बानीजलाई विगत तीन वर्षका कामका लागि मन पराएको छैन ।”

आफू पराजित भए विपक्षी नेता नै रहने कि नरहने भन्ने प्रश्नमा डट्टनले आफू जितको कुरा मात्र गरिरहेको बताए । उनले भने, “म ५४ वर्षको भएँ । म अझै पनि धेरै जवान छु र म यो देशको विकासका लागि एक ज्वलन्त उदाहरण बन्नेछु ।”

पहिलो मतदान अस्ट्रेलियाको पूर्वी तटमा स्थानीय समयअनुसार बिहान ८ :०० बजे सुरु भएको थियो भने त्यसपछि देशका पश्चिमी शहर र दूरदराजका टापु क्षेत्रमा मतदान भएको थियो ।

निर्वाचनका लागि एक करोड ८१ लाख मतदाताले नाम दर्ता गराएका छन् । तीमध्ये एक तिहाइभन्दा बढीले प्रारम्भिक मतदान गरेको निर्वाचन अधिकारीले बताएका छन् ।

२० अष्ट्रेलियन डलर (१३ अमेरिकी डलर) जरिवाना लागू गरिएको मतदान गर्नु अस्ट्रेलियालीहरूका लागि अनिवार्य छ र यसले गर्दा शीर्ष ९० प्रतिशतभन्दा बढी मतदान हुने विश्वास गरिएको छ ।
मतदान निकै प्रतिस्पर्धात्मक नभए शनिबार रातिसम्ममा नतिजा आउन सक्छ ।

६२ वर्षीय अल्बानीजले नवीकरणीय ऊर्जालाई अङ्गीकार गर्ने, बिग्रँदो आवास सङ्कटको सामना गर्ने र खस्कँदो स्वास्थ्य सेवा प्रणालीमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

लिबरल पार्टीका नेता तथा पूर्व प्रहरी अधिकारी डट्टन आप्रवासनमा कटौती गर्न, अपराधनियन्त्रण गर्न र आणविक शक्तिमाथि लामो समयदेखि लगाइएको प्रतिबन्ध हटाउन चाहन्छन् ।

केही सर्वेक्षणहरूले डट्टन ट्रम्पको पक्षमा खुलेर देखिएका छन् छ उनले यस वर्ष विश्वव्यापी मञ्चमा विशेष ‘गुरुत्वाकर्षण’साथ उदाएका ‘ठूलो विचारक’ को रूपमा प्रशंसा गरेका छन् ।

५९ वर्षीय मतदाता एलन ह्विटम्यानले शनिबार मतदान गर्नुअघि भने “मेरो मतलब, डोनाल्ड ट्रम्प चोट लागेको सर्पजत्तिकै आक्रामक देखिनुभएको छ र हामी सबैलाई यो थाहा छ र हामीले यसको वरिपरि सुटुक्क छिप्नुपर्छ ।”

देशको जिम्मेवारी तरुणको काँधमा छः शेखर कोइराला

नवलपुर (नवलपरासी) । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले तरुणहरूको काँधमा देशको जिम्मेवारी रहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आज आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा उनले भविष्यमा देशको नेतृत्व युवाले गर्ने भएकाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न उनीहरूलाई आह्वान गरे।

राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरण तथा देशको आर्थिक विकासका निम्ति युवा वर्गले सचेत भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

यसैबीच, नेता कोइरालाले शुक्रबार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अक्षरस: कार्यान्वयनमा जोड दिएका थिए ।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रम उपयोगी रहेका र तिनको अक्षरस: कार्यक्रम अपरिहार्य रहेको बताए। नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष फितलो हुननहुनेमा उनको जोड थियो ।

फरक प्रसङ्गमा उनले पार्टीको १५औँ महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताए। महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने बताउँदै उनले महाधिवेशनबाट पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गरे ।