`

काश्मीर आक्रमणपछि भारतसँगको तनावमा मध्यस्थता गर्न इरानका शीर्ष कूटनीतिज्ञ पाकिस्तानमा

इस्लामाबाद । गत महिना काश्मीरको भारतीय नियन्त्रित भागमा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि इस्लामाबाद र नयाँदिल्लीबीचको तनावमा मध्यस्थता गर्ने प्रयास गर्न इरानका विदेशमन्त्री सोमबार पाकिस्तानमा छन् ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीको भ्रमण विवादित काश्मीर क्षेत्रमा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि तनाव बढेदेखि कुनै पनि विदेशी महानुभावको पहिलो भ्रमण हो । यो भ्रमण तेहरानले आणविक सशस्त्र छिमेकीहरूबीचको तनाव कम गर्न मद्दत गर्ने प्रस्ताव गरेको केही दिनपछि भएको हो ।

इस्लामाबाद नजिकैको विमानस्थलमा अवतरण गरेपछि वरिष्ठ पाकिस्तानी अधिकारीहरूले अराघचीलाई स्वागत गरेका थिए । उनले आफ्ना पाकिस्तानी समकक्षी इशाक डार, राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शाहबाज सरिफलाई भेट्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले थप विवरण दिएको छैन ।

क्याबिनेट मन्त्री अत्ताउल्लाह तरारले यही वैशाख ९ गते (अप्रिल २२) मा पहलगामको रिसोर्ट सहरमा भएको आक्रमणको प्रतिक्रियामा भारतले पाकिस्तानमा आक्रमण गर्न सक्ने विश्वसनीय खुफिया जानकारी इस्लामाबादसँग रहेको बताएपछि गत हप्तादेखि पाकिस्तानको सशस्त्र सेना उच्च सतर्कतामा रहेको छ ।

पाकिस्तानले आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ र विश्वसनीय अन्तर्राष्ट्रिय अनुसन्धान गर्न प्रस्ताव गरेको छ । नयाँदिल्लीले अहिलेसम्म यो प्रस्ताव स्वीकार गरेको छैन । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूसहित धेरै विश्व नेताले दुवै पक्षलाई संयम अपनाउन र थप तनावबाट बच्न आग्रह गरेका छन् ।

काश्मीर भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले पूर्ण रूपमा दावी गर्छन् । दुई देशले आफ्नो तीन युद्धमध्ये दुईवटा यस हिमालय क्षेत्रका लागि लडेका छन् र प्राय काश्मीरमा उनीहरूको प्रतिस्पर्धी दाबीका कारण उनीहरूको सम्बन्ध द्वन्द्व, आक्रामक कूटनीति र आपसी शङ्काबाट आकार लिएको छ ।

पछिल्लो झडपले दुई देशलाई एक अर्काका कूटनीतिज्ञ र नागरिकहरूलाई निष्कासन गर्न, साथै हवाई क्षेत्र बन्द गर्न प्रेरित गरेको थियो । 

मेक्सिकोमा अमेरिकी सैनिक पठाउने ट्रम्पको प्रस्ताव

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागुऔषध तस्करी विरुद्ध लड्न मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँग फोनमा अमेरिकी सेना पठाउने प्रस्ताव राखेको पुष्टि गरेका छन्।

सेनबामले शनिबार एक सार्वजनिक कार्यक्रममा उनले आफ्नो देशमा अमेरिकी सेना पठाउने ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेको तर यसको सट्टा उनले नजिकको सहयोग र सूचना साझेदारीको प्रस्ताव गरेको खुलासा गरेका थिए ।

ट्रम्पले आइतबार पत्रकारहरूलाई कार्टेलहरू ‘डरलाग्दा मानिसहरू हुन् जसले दायाँ बायाँ मानिसहरूलाई मारिरहेका छन्’ भन्ने दाबी गर्दै आफूले सैनिक तैनाथीको प्रस्ताव गरेको ‘सत्य हो’ भने ।

“उनीहरूले लागुऔषध बेचेर र हाम्रा मानिसहरूलाई नष्ट गरेर धन कमाएका छन्, हामीले गत वर्ष तीन लाख मानिसलाई फेन्टानिल र लागुऔषधका कारण गुमाएका थियौँ”, ट्रम्पले भने, “यदि मेक्सिकोले कार्टेलहरूसँग मद्दत चाह्यो भने हामी भित्र गएर त्यसो गर्न पाउँदा सम्मानित हुनेछौँ । मैले उहाँलाई त्यही भनेँ । म भित्र गएर यसो गर्न पाउँदा सम्मानित हुनेछु ।”

ट्रम्पले मेक्सिकोमा भन्सार शुल्क लगाउने तर्कका रूपमा प्रयोग गर्दै मेक्सिकोले आप्रवासी र लागुऔषध, विशेष गरी फेन्टानिल, संयुक्त राज्य अमेरिकामा तस्करी रोक्न पर्याप्त काम नगरेको लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

उनले अमेरिकाको दक्षिणी छिमेकी ‘पूर्ण रूपमा अपराधिक कार्टेलहरूको प्रभुत्वमा छ जसले हत्या, बलात्कार, यातना दिन्छन्’ भनेर मार्चको सुरुमा मेक्सिकालीहरूलाई क्रोधित बनाएका थिए ।

आइतबार ट्रम्पले सेनबामले गैर–राज्य सशस्त्र समूहहरूबाट प्रतिशोधको धम्कीमा सेनाको आफ्नो प्रस्तावलाई अस्वीकार गरेको दाबी गरे ।

“मेक्सिकोका राष्ट्रपति एउटी प्यारी महिला हुनुहुन्छ तर उहाँ कार्टेलहरूबाट यति डराउनुहुन्छ कि उहाँ सिधै सोच्न पनि सक्नुहुन्न”, ट्रम्पले पत्रकारहरूलाई भने । 

जनताको मन मस्तिस्कमा यतिबेला सरकार छैन, ढलिसकेको छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नैतिकरुपमा ढलिसकेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा भाग लिँदै अध्यक्ष प्रचण्डले सरकार प्राविधिकरुपमा रहेपनि जनताको मनबाट भने ढलिसकेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीलाई भने,‘प्राविधिकरुपमा त तपाईंको सरकार छ, तर जनताको मन मस्तिस्कमा यतिबेला नैतिकरुपमा भन्नेहो भने सरकार छैन, ढलिसकेको छ । मेरो चिन्ता सरकारको कार्यशैलीले तपाईंहरुमात्र ढल्नुहुन्न । लोकतन्त्रमाथि विरोध गर्नेहरुको जमात बढेको छ । सरकारको कार्यशैलीले जन्माएको असन्तुष्टिलाई प्रतिगामीले एकतावद्ध गर्दैछन् । झन् यो नीति तथा कार्यक्रमले जनतालाई निराशा लगेको छ।’

नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको प्रचण्डको टिप्पणी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका हुन् ।

उनले गतवर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रुप दिन खोजिएको भएपनि यस वर्ष सरकारले उक्त प्रक्रिया भत्काएको बताए ।

उनले भने, ‘मैले यही सम्मानित संसदमा माननीय सांसदका मतहरुलाइ समेत ध्यानमा राखेर नीति तथा कार्यक्रमको कर्मकाण्डीय परम्परा भत्काउन खोजेको थिएँ । तर सरकारले त्यसलाई नै भत्काइदियो ।’

प्रचण्डले सांसदका सुझावहरु समेटेर यो परिमार्जन भई सोहीअनुरुप बजेटमा प्रतिविम्बित हुन सक्ने कुरामा सरकारले बेवास्ता गरेको बताए । उनले सरकार संख्याको दम्भ र निरंकुशतावादी चिन्तनमा रहेको आरोप लगाए ।

उनले भने, ‘सरकारसँग संख्याको दम्भ छ, जे गरेपनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन छ। त्यही भएर नीति तथा कार्यक्रम र बजेटका बारेमा संसदमा हुने छलफललाई फेरि कर्मकाण्डी बनाइयो। फेरि एउटा औपचारिकतामा यसलाइ प्रस्तुत गरियो । म सच्च्याउन माग गर्दछु।’

उनले नीति तथा कार्यक्रमले सत्तारुढ दलका सांसदलाई नै उत्साहित नभएका बताए । उनले भने, ‘राष्ट्रपतिले आगामी वर्षका नीति तथा कार्यक्रम बाचन गरिरहँदा सत्तारुढ दलका सांसदको बेन्चमा छाएको मौनताले नै नीति तथा कार्यक्रमबारे धेरै कुरा प्रतिबिम्बित गरेको छ । सांसदहरुले किन टेबल नबजाएको भन्दै सम्माननीय प्रधानमन्त्रीले आफ्नै सांसदहरुसँग गरेको दुःखेसो र नीति तथा कार्यक्रमलाई सर्मथन गर्न पटक–पटक दिएको निर्देशनले नै प्रष्ट पारेको छ।’

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन् ।

‘राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ, लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रुपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँंदै आएको छ’, राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नहुने धारणा उनले व्यक्त गरे ।

‘लोकतन्त्रको लाभ नागरिकसम्म पुर्याउन उनीहरूको सशक्तीकरण आवश्यक हुन्छ, जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव हुन्न’, उनले भने ।

राष्ट्रपति पौडेलले नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको कामकारवाही नागरिकप्रति जवाफदेही हुनै पर्दछ भन्ने सिद्धान्तको जगमा सूचनामा नागरिकको पहुँचको अधिकारलाई आधुनिक लोकतान्त्रिक राज्यहरूले संरक्षण गरेको बताए ।

पारदर्शिता र जवाफदेहिता सहभागितामूलक लोकतन्त्रको आधारभूत आवश्यकता भएको उनको भनाइ थियो ।

उनले सार्वजनिक सूचनामा नागरिकको पहुँचले वेथिति र अनियमितता नियन्त्रण, स्वेच्छाचारिता र दण्डहिनताको अन्त्य, भ्रष्टाचारको रोकथाम र नियन्त्रण, सुशासनको प्रत्याभूति, विधिको शासनको सुनिश्चितता एवं मानव अधिकारको संरक्षणमा सहयोग पुग्ने बताए । ‘त्यही भएर भन्ने गरिन्छ सूचना नै लोकतन्त्रको प्राण वायु हो’, राष्ट्रपति पौडेलले भने ।

सूचनाको हकले सरकार र सार्वजनिक निकायको काम, कारवाहीप्रति नागरिकको परीक्षण र मूल्यांकन गराउँछ भन्दै उनले यसबाट नै सरकारप्रतिको विश्वास अभिवृद्धि हुने बताए।

‘यसकारण पनि सार्वजनिक निकायका काम, कारवाहीको परीक्षण र निगरानी गर्न सूचनाको हकको प्रभावकारी कार्यान्वयन अत्यावश्यक छ, सुसूचित समाजले मात्रै लोकतन्त्रलाई क्रियाशील गराउँछ भन्ने हामी सबैले मनन गरौं’, राष्ट्रपति पौडेलले भने ।

स्वभाविक रुपमा सबै सूचना सार्वजनिक हुँदैनन् भन्दै उनले कानूनमा व्यवस्था भएका अति संवेदनशील पाँच प्रकारका सूचना संरक्षण गरेर राखिने विषयहरू पनि जनताकै हितका लागि हुन् भन्ने पनि भुल्न नहुने बताए ।

सरकार ढल्ने वक्तव्य र बकवासहरु निरर्थक सावित भएः सांसद थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सरकार ढलिहाल्ने वक्तव्यमा नरमाउन नेकपा माओवादी केन्द्रलाई सुझाव दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले माओवादी प्रचण्डलाई लक्षित गर्दै यस्तो बताएका हुन् । उनले कांग्रेस–एमालेको सरकारले सहमतिमा काम गरिरहेको दाबी गरे ।

उनले भने,‘आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकें, अब रहँदैनजस्ता वक्तव्यबाजीहरुले हरेक दिन मिडिया रंगिने र समाजमा ध्वनी प्रदुषण हुनेक्रम जारी छ । त्यस्ता वक्तव्य र बकवासहरु निरर्थक सावित भएका छन् ।’

थापाले लुटपाट र आगजनीबाट व्यवस्था नबदलिने भन्दै निन्द्राबाट ब्युँझिएर यथार्थलाई आत्मसाथ गरेर अघि बढ्न राजावादीलाई सुझाव दिए । उनले राप्रपालाई सांसद गीता बस्नेतको खोजीमा सहयोग गर्न आग्रह गरे ।

धनकुटामा बस दुर्घटना हुँदा एक जनाको मुत्यु, १४ घाइते

भोजपुर । धरानबाट धनकुटा आउँदै गरेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । सोमबार विहान १०ः१५ बजेतिर धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

घाइतेमध्ये धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । अन्य घाइतेमा भोजपुरको षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा–१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा रहेका छन् ।

साथै भोजपुर नगरपालिका–११ का सविना बराइली, सोही ठाउँका देवी टविक, धनकुटाको साँगुरीगढी गापा–६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका–११ कापुर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ का लिलाबहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी गाउँपालिका–६ का दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार विक पनि घाइने भएका प्रहरीले उल्लेख गरेको छ ।

आगामी बजेटबारे अर्थमन्त्री पौडेलद्वारा देउवासँग छलफल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे परामर्श गरेका छन् ।

सोमबार बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगी अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् ।

त्यस अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

‘पोखरामा बेलुन पड्किँदा न्यायिक समिति बनाउने तर सविन महर्जनलाई टाउकोमा गोली हानेको घटनामा किन नबनाउने ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आंतक’ मच्चाएको आरोप लगाएका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा शाहीले तीनकुनेमा भएको घटनामा मानव अधिकार चरम उल्लंघन भएको बताएका हुन् ।

उनले घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न माग गरेका छन् । उनले भने, ‘राज्यलाई म सोध्न चाहन्छु–पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानविन समिति बनाउनेले सविन महर्जनलाई टाउकोमा गोली हानेर मार्नेले आज न्यायिक छानबिन समिति किन बनाउँदैन ? त्यो न्यायिक छानबिन समिति बनाउन आवश्यक छ ।’

उनले राज्य र सरकारमा बस्ने व्यक्तिले गोली हान्न पाउने पुनःअधिकार यदि राज्यले नै दिएको हो भने आफूहरु सत्ताबाट बाहिरिनुपर्छ भन्ने कुरा ख्याल राख्न आग्रह गरे ।

नमूना बन्यो गौरादहको ‘सहकारी खेती’ र ‘कृषि घरबास’

-चन्द्रकला भण्डारी, झापा । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्द्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरुले सम्हाल्दै आएका छन् ।

कृषकहरुलाई आर्थिक रुपमा सबल र खेतीमा यान्त्रिकीकरण गर्ने सोचका साथ सहकारीले २०७० मा गौरादह–५ का ८१ परिवारको ८० बिगाहा जग्गा समेटेर कृषक सदस्यकै सहभागितामा सामूहिक खेती सुरु गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताए । त्यही सामूहिक खेती अहिले ‘नमुना एकीकृत सहकारी खेती’ को रुपमा कृषि अभ्यासको नमूना बनेको छ । खेती अवलोकन गर्न आउनेहरु बढेपछि यहाँ ‘कृषि घरबास’ सञ्चालनले पर्यटन प्रवर्द्धन भएको छ ।
‘सहकारी खेती’ ले दुई गुणा आम्दानी

सहकारी संस्थाको १३ वटा अन्तर समूह र ३०४ वटा साना किसान समूहमा एक हजार ९५६ जना महिला सदस्य आबद्ध छन् । त्यसमध्ये ८१ परिवारको समूह सहकारी खेतीमा जोडिएको छ । सहकारी खेतीको वार्षिक कारोवार दुई करोड ५० लाख रहेको नमुना सहकारी खेतीका अध्यक्ष बेदनिधि चापागाई बताउँछन् । वार्षिक कारोवारमध्ये एक करोड श्रमवापत सदस्य कृषकहरुले नै पाउने गरेका छन् ।

यो वर्ष एक बिघा जग्गाको शेयरवापत सदस्य कृषकले सहकारी खेतीबाट रु ६२ हजार नौ सय पाएको चापागाईंले जानकारी दिए । एक कठ्ठाको एक शेयर हुने आधारमा एक बिघाको २० शेयर मानिने गरेको छ । “जग्गाको २० शेयर (एक बिघा) वापत ६२ हजार नौ सय पाउनुभयो,” उनले भने, “मुनाफाको ४० प्रतिशत बेग्लै पाउनुहुन्छ भने खेतीमा श्रम गरेमा एक घण्टाको रु। ७० देखि १०० सम्मका दरले ज्याला पनि पाउनुहुन्छ ।” एकलभन्दा सामूहिक खेती गर्दा बढी प्रतिफल पाइने भएकाले सहकारीका सदस्यहरु सहकारी खेतीमा रमाउनु भएको उनको भनाइ छ ।

खेतीबाट धान, मकै र तोरीको गुणस्तरीय बीउ उत्पादन हुने गरेको छ । यहाँ उत्पादित बीउ झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहासम्म बिक्री भइरहेको छ । सहकारी खेती चक्लाबन्दी खेतीको एउटा नयाँ नमूना भएको चापागाईं बताउँछन् ।

“परिवार खण्डिकरण भएर परिवारको स्वामित्वमा जग्गा थोरै हुन थालिसकेको छ,” उनी भन्छन्,“थोरै जग्गामा आधुनिक प्रविधि र यान्त्रिकरण सम्भव हुँदैन । त्यसैले कसरी धेरै जग्गाको एउटै चक्ला बनाएर खेती गर्ने भन्ने विषयमा हामीले सहकारी मोडेलको सामूहिक कृषि अभ्यास गरेका हौं । सफल प्रमाणित भइसकेको हुँदा यस अभ्यासलाई देशका अन्य भागमा पनि प्रयोगमा ल्याउन सरकारले प्रोत्साहित गर्नुपर्छ ।”

सुविधायुक्त ‘कृषि घरबास’

सहकारी खेती सुरु भएपछि कृषिमा भइरहेको नौलो अभ्यास हेर्न टाढादेखि आन्तरिक पर्यटकहरुको चहलपहल बढ्नु स्वाभाविक नै हो । गौरादह ग्रामीण क्षेत्र भएकाले यहाँ पाहुनालाई बस्ने र खाने ठाउँको अभाव थियो । गाडी लिएरै खेती अवलोकन गर्न आउनेहरुले गाउँमै बस्ने ठाउँ भए पनि हुन्थ्यो भन्न थालेपछि सदस्यहरुकै सहभागितामा पाहुना घर बनाउने सोच आएको अध्यक्ष ढकालले बताए ।

उनका अनुसार सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने योजनाअन्तर्गत मुलुकका सयवटा रमणीय स्थललाई पर्यटकीय गन्तब्य घोषणा गर्यो । सरकारको सय गन्तब्यमध्ये गौरादहको सहकारी खेतीलाई देशकै एउटा मात्र कृषि पर्यटन क्षेत्र भनेर पहिचान प्राप्त भयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक करोड ६० लाखको आर्थिक सहयोगमा १२ कठ्ठा जग्गामा नेपालकै पहिलो ‘कृषि घरबास’ निर्माण भयो । जसलाई सुरुमा पाहुना घर भनियो । पछि नमूना कृषि घरबास (होमस्टे) को रुपमा यसलाई दर्ता गरियो ।

‘कृषि घरबास’ अन्तर्गत निर्माण भएको सुविधायुक्त पाहुना घरमा ५० जना अट्ने वातानुकूलित कोठाहरु छन् । आठ वटा कोठा र ५० जना अट्ने तालिम हल छ । त्यसमध्ये दुई वटा कोठामा दुईरदुई वटा बिछ्यौना छन् भने छ वटामा आठ वटाका दरले बिछ्यौना राखिएको छ । बस्नका लागि प्रति व्यक्ति दुई सय शुल्क लिने गरिएको छ । पाहुना घरमा बस्नेलाई सहकारीले आफ्नै खेतीमा उत्पादन गरेका जैविक खाद्यपदार्थ खुवाउने गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट ३० किलोमिटर दक्षिणमा चार वर्षदेखि सञ्चालनमा रहेको यो ‘कृषि घरबास’मा मासिक औसत आठ वटा सवारी साधन भाडामा लिएर पर्यटकहरु बास बस्ने गरी आउने गरेका छन् । कृषिको अध्ययन भ्रमण गर्नेहरु वर्सेनि ठूलो सङ्ख्यामा आउँछन् । एकान्त र शान्त ठाउँ भएकाले यहाँ आवासीय तालिमहरु हुने गरेका छन् ।

महिनामा औसत ५ देखि ७ दिन तालिमका कार्यक्रमहरु सञ्चालन हुने गरेको छ । सय जना पाहुनालाई बस्ने र खाने व्यवस्थापन गर्न सकिने चापागाईले बताए । दुई सय जनासम्म पाहुना आउँदा छेउछाउका सदस्यको घरको कोठामा बस्ने व्यवस्था मिलाउने गरिएको र त्यसको आम्दानी सदस्यले नै पाउने गरेका छन् ।

कृषि पर्यटन क्षेत्र भएकाले किसानहरुले प्रयोग गरिरहेको प्रविधिको प्रदर्शनी हेर्न, बुझ्न र अध्ययन अवलोकन गर्न कृषि समूह, सहकारी समूह र विद्यार्थी समूह आउने गरेका छन् । नार्क र गौरादह नगरपालिकाको सहकार्यमा प्रविधि हस्तान्तण कार्यक्रमसमेत यहाँ सञ्चालन भइरहेको छ । गौरादहमा पर्यटक बस्ने अरु ठाउँ छैन ।

“पाहुना घरमा लजिङ, फुडिङ, बत्ती, पानी, शौचालय, बाथरुमको राम्रो व्यवस्था गरेका छौं,” चापागाई भन्छन्,“एक जना मानिस बसेपछि तन्ना, सिरानी, सिरकका खोलहरु फेर्ने गरिएको छ । सफा सुग्घर राखिएको छ । बगैँचा भएकाले फोटो खिच्न र घुम्नका लागि टाढा जानुपर्दैन ।”

‘एक घर एक रोजगार’

किसानहरुको जीवनस्तर उकास्नका लागि सामूहिक खेती र पाहुना घरसँगै रोजगारीको अवसर सिर्जना हुने गरी महिला उद्यमशीलतालाई सहकारीले प्रोत्साहित गरेको अध्यक्ष ढकाल बताउँछन् । सहकारीका महिला सदस्यहरुले अचार, पापड, आलु चिप्स, दुग्ध परिकार लगायतका लघु खाद्य उद्योग सञ्चालनमा ल्याएका छन् । त्यसबाट ३५ परिवार स्वरोजगार भएका छन् भने २५ परिवारको हरेक घरका एक जनाले उद्योगमा रोजगारी पाएका छन् ।

नमूना सहकारी खेतीकै कारण ‘कृषि घरबास’ चलेको र लघु उद्योग सञ्चालनका कारण रोजगारीको सिर्जना भएकाले यहाँका हरेक महिला आर्थिक रुपमा आत्मनिर्भर बनेका छन् । नमूना खेतीअन्तर्गत माछापालन, प्याज खेती र तरकारी खेती समेत भइरहेको व्यवस्थापक अर्जुन खतिवडा बताउँछन् ।

नेपालमा हेपिएको व्यवसायमा लिइने गरिएको कृषिलाई सामूहिक रुपमा अभ्यास गर्दा किसान अधिक रुपमा लाभान्वित हुने भएकाले गौरादहका महिलाहरुले बिगत एक दशकदेखि सफल रुपमा प्रयोगमा ल्याएको यो कृषि विकासको मोडललाई अन्यत्र पनि प्रवर्द्धन गर्न सकिने सम्भावना देखिएको छ । 

सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संस्थापक नेता रेशम चौधरीको पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ नदिए सरकारलाई दिएको समर्थन फिर्ताको चेतावनी दिएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सचेतक लालवीर चौधरीले रेशम पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन् ।

उनले रेशमलाई अपहरण शैलीमा पक्राउ गरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘जनमत पार्टीसँग एकता हुनै लाग्दा पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्याइयो । रेशम पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ नदिए सरकारलाई दिएको समर्थन फिर्ता गर्छौं ।’

सर्वोच्च अदालतका कर्मचारीले लेखेको फर्जी पत्रका कारण गत वैशाख १७ गते रेशम चौधरी पक्राउ पछि केही घण्टा डिल्लीबजार कारागारमा राखिएका थिए । सांसद डा अमरेशकुमार सिंहले सरकारको षड्यन्त्रमा रेशम चौधरी पक्राउ परेको आरोप लगाए ।

बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले तराई मधेशका नागरिकमाथि राज्यबाटै विभेद भइरहेको आरोप लगाए । त्यस्तै, मधेशका नागरिकमाथि सार्वजनिक रुपमा दुव्र्यवहार हुने गरेको पनि उनको भनाइ छ । रेशम चौधरीको गिरफ्तारी पनि विभेदकै अर्को रुप रहेको सांसद ठाकुरको भनाइ थियो ।

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने तय भएको दिन कार्यक्रमस्थल प्रज्ञा भवनबाटै रेशमलाई पक्राउ गरिएको थियो । त्यसपछि पार्टी एकता प्रक्रिया स्थगित भएको थियो ।

केआइआइटीमा प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्युबारेमा सत्यतथ्य पत्तालगाउन सरकारलाई रुलिङ गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्रिसाको मृत्युकाबारेमा आवाज उठाएका थिए । त्यसपछि सभामुख घिमिरेले भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु हुनु राष्ट्रको संवेदनशील विषय भएको भन्दै सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका हुन् ।

साथै उनले घटनाबारे संवाद अघि बढाएर परिवारलाई सहयोग गर्न र विदेशमा अध्ययनरत विद्यार्थीको आवश्यक सुरक्षा मिलाउन सरकारलाई निर्देशन दिएका छन् । उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालपछि प्रिसा साहको रहस्यमय मृत्यु भएको थियो ।

सभामुख घिमिरेले भने, ‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु । साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न अपील गर्दछु ।’

केआइआइटीमा नेपाली विद्यार्थी मृत्युको छानबिन गरेर मात्र पुग्दैन, सत्यतथ्य खोजी हुनुपर्छः सांसद पौडेल

काठमाडौँ । सांसदहरुले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा श्रृंखलावद्धरुपमा नेपाली विद्यार्थीको मृत्यु भएको घटनाकोबारेमा छानबिन गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले घटनाको अनुसन्धान मात्र नगरी सत्य तथ्यको खोजी गर्नुपर्ने बताएका हुन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले १२ सय नेपाली अध्ययनरत उक्त विद्यालयमा भएको घटनामा अनुसन्धान भइरहेको भनेर मात्र नपुग्दै भन्दै । सत्य तथ्यको खोजी गर्नुपर्ने बताए ।

त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले किटमा भएको घटनाबारे सरकार मौन रहेको भन्दै आपत्ति जनाए । उनले परराष्ट्र मन्त्रालय र मन्त्री विदेश घुम्न मात्र व्यस्त भएको भन्दै नेपालीको सुरक्षामा ध्यान दिन आग्रह गरे ।

विश्वकप छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको छ । जसमा समूह सी मा नेपाल, हङकङ र बहराइन रहेका छन् ।

छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । तीनवटै समूहको शीर्ष टोलीले सुपर राउण्ड लिग खेल खेल्नेछन् ।

मे ९ मेदेखि २० सम्म थाइल्यान्डमा हुने छनोट प्रतियोगितामा घरेलु टोली थाइल्याण्डसहित नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र यूएईले प्रतिस्पर्धा गर्नेछन् ।

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

मुस्ताङ। मुस्ताङस्थित मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिनुपर्ने आवश्यकता औंल्याइएको छ।

मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए।

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय प्रवद्र्धन गर्न सकिन्छ भनेर उनी सहितको टोलीले गत शनिबार भ्रमण समेत गरेको थियो। यहाँका तीन धार्मिक सम्पदासँग जोड्ने गरी मुक्तिनाथ क्षेत्रमा करिब चार किलोमिटर दूरीमा पदमार्ग निर्माण गर्नुपर्ने उनले जानकारी दिए। उनले भने, “स्थानीय नागरिकसँगै मिलेर मुक्तिनाथ विकास समितिले पदमार्ग निर्माणलाई अघि बढाउने छ। ”

प्रजिअ भुसालसहित प्रशासन कार्यालयका कर्मचारी प्रकाश पौडेल ,पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर जगदिशचन्द्र जोशी र मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीलगायत एघार जनाको टोली रहेको थियो। टोलीले वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको जनाइएको छ।

आल्काट्राज जेल पुनः सञ्चालन गर्न ट्रम्पको आदेश

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यालिफोर्नियाको तटपारि रहेको टापुमा अवस्थित पुरानो जेल आल्काट्राजलाई पुनः सञ्चालन र विस्तार गर्न आफूले सरकारलाई आदेश दिएको उल्लेख गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक सन्देश लेख्दै ट्रम्पले ‘लामो समयदेखि अमेरिका दुष्ट, हिंस्रक तथा पटके अपराधीहरूबाट पीडित भइरहेको’ बताए ।

आल्काट्राजको पुनः सञ्चालनले ‘कानुन, व्यवस्था र न्यायको प्रतीक’को काम गर्ने उनले बताए । उनले भने, ‘म आज ब्यू रो अफ प्रिजन, न्याय मन्त्रालय, सङ्घीय जाँच ब्यूरो तथा होमल्यान्ड सेक्युरिटीलाई उल्लेखनीय रूपमा विस्तारित र पुनर्निर्मित आल्काट्राजलाई पुनः सञ्चालनमा ल्याउन निर्देशन दिँदै छु, ।’

उक्त जेलमा अमेरिकाका सबभन्दा डरलाग्दा तथा हिंस्रक अपराधीलाई राखिने छ । आपराधिक गुटका आरोपित सदस्यहरूलाई एल साल्भाडोरका जेलमा पठाउने नीतिका कारण राष्ट्रपति ट्रम्प र अदालतबीच टकराब भइरहेको छ ।

मार्चमा उनले भेनेजुएलाली गुटका २ सयभन्दा धेरै आरोपित सदस्यहरूलाई त्यहाँ पठाइदिएका थिए । देशभित्रका अपराधीलाई समेत विदेशी जेलमा पठाइदिने टिप्पणी उनले गर्ने गरेका छन् । क्यालिफोर्निया राज्यको स्यान फ्रान्सिस्को सहरस्थित गोल्डन गेट ब्रिज नजिकै सानो टापुमा रहेको आल्काट्राज जेल सन् १९६३ मै बन्द गरिएको थियो ।

अहिले उक्त स्थल पर्यटकीय आकर्षणको रूपमा रहेको छ । सुरुमा नौसैनिक सुरक्षा किल्लाको रूपमा रहेको आल्काट्राजलाई बीसौँ शताब्दीको प्रारम्भमा पुनर्निर्माण गरियो र एक सैन्य कारागारका रूपमा स्थापित गरियो ।

सन् १९३०को दशक ताका उक्त जेलको सञ्चालनको जिम्मा न्याय मन्त्रालयले लिएको थियो र उसले सङ्घीय कारागारमा रहेका दोषीहरूलाई त्यहाँ राख्न थालेको थियो । उक्त जेलका केही कुख्यात बन्दीहरूमा ग्याङ्गस्टर अल क्यापोन, मिकी कोहेन र जोर्ज ‘मेशिन गन’ केली थिए ।

सन् १९६२ मा बनेको बर्ट ल्याङ्क्यास्टर अभिनीत चलचित्र ’बर्डम्यान अफ आल्काट्राज’ले सो जेल झन् चर्चित बन्यो ।

उक्त चलचित्र हत्यामा दोषी ठहर भएका रोबर्ट स्ट्रडको कहानीमा आधारित थियो जसले उक्त जेलमा आजीवन कारावासको सजाय भोग्दै गर्दा चराहरूको अवलोकनमा रुचि राखे र कालान्तरमा एक चरा विज्ञ बन्न पुगे ।

त्यस्तै सन् १९९६ को चलचित्र ’द रक’ पनि त्यहीँ छायाङ्कन गरिएको थियो। सन कनरी र निकोलस केजले एक पूर्व एसएएस क्याप्टेन र एफबीआईका रसायनविद्को भूमिका खेलेका उक्त चलचित्रमा आल्काट्राज टापुबाट उद्धार गरिएको कहानी छ ।

तर सञ्चालन गर्न निकै महँगो भएकाले सो जेल बन्द गरिएको सङ्घीय जेल ब्यूरोको वेबसाइटमा उल्लेख गरिएको छ । छुट्टै टापुमा रहेकाले अन्य सङ्घीय जेलको तुलनामा त्यसको सञ्चालन खर्च तीन गुना धेरै भएको बताइएको छ।

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

घोराही । वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका-१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन् ।

उनले करिव ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका हुन् । उनले भने,“विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाँही धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।”

बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पुर्‍याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी । उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ । थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाएका छैनन ।

थापालाई लाग्छ म एक दिन बिरामी भएँभने यो दूध अर्को दिन कहाँ लगेर बेचुँ । गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरेपनि दूध बजारसम्म पु¥याउने काम भने थापा आफैले मात्र गर्दै आएका हुन् । सुरुमा दुईवटा गाईबाट यो पेसामा लाग्नुभएका थापासँग हाल १७ गाई छन् । तीमध्ये सात वटा दुहुना छन् । दैनिक ८० लिटर दूध उत्पदान हुने गरेको थापाको भनाइ छ ।

विदेशमा कमाएको पैसाले घोराही बजारमा घडेरी किनेर एक तलाको घर बनाएका थापाले स्वदेश आएपछि ट्रक किन्नेदेखि बाख्रा पाल्नेसम्मको काम गरे । अन्य पेसामा सफल नभएका थापा गाईपालनमा भने सफल भएका हुन् ।

उनले भने, “मैले मासिक एक लाख बढी आम्दानी गर्दै आएको छु मेहनत गरे आफ्नै देशमा पैसा फल्दोरहेछ ।” गाईपालनबाट पाँच वर्षमा थापाले करिब रु ५० लाख आम्दानी गर्नुका साथै जिल्लाकै एक उदाहरणीय किसान बनेका छन् ।

ललितपुरमा कारले बिजुलीको पोलमा ठक्कर दिएर ठूलो दुर्घटना

काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएपछि सडक बन्द गरिएको छ । कारले विजुलीको पोलमा ठोक्किएर पोल भाँचिएपछि सडक बन्द भएको हो ।

त्यसक्रममा कारमा सवार तीन जना घाइते भएका र उनीहरुको बीएण्डबी अस्पताल उपचार भइरहेको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।

उनले अहिले ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक समेतको सहयोगमा पोल हटाउने प्रयास भइरहेको छ । हाछेथुले मापसे गरी सवारी चलाउँदा कार दुर्घटना भएको बताए ।

चेल्सीसँग लिभरपुल पराजित

काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले लिग विजेता लिभरपुललाई ३–१ को फराकिलो अन्तरले पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

स्ट्यामफोर्ड ब्रिजमा घरेलु टोलीका लागि एन्जो फर्नान्डेजले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई उत्कृष्ट सुरुवात दिलाए । दोस्रो हाफको ५६औं मिनेटमा लिभरपुलका जारेल क्वान्साहको आत्मघाती गोलका कारण चेल्सीले अग्रता दोब्बर बनायो ।
खेलको ८५औं मिनेटमा भर्जिल भान डाइकले हेडरमार्फत एक गोल फर्काए पनि, इन्ज्युरी समयको छैटौं मिनेटमा कोल पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।

यो जितसँगै चेल्सी ६३ अंकसहित लिगको पाँचौं स्थानमा यथावत् छ। छैटौं स्थानमा रहेको नटिङ्घम फरेस्टभन्दा चेल्सी तीन अंकले अगाडि छ । फरेस्टले सोमवार क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, चेल्सी अब चौथो स्थानको न्युक्यासल युनाइटेडसँग अंक बराबरीमा पुगेको छ। यी दुई टोलीबीचको खेल अर्को साता सेन्ट जेम्स पार्कमा हुनेछ, जुन च्याम्पियन्स लिग स्थानको लागि निर्णायक हुनसक्छ ।

त्यसैगरी, म्यानचेस्टर युनाइटेड फेरि पराजित भएको छ । बेन्टफोर्डसँग ४–३ को हार बेहोरेको युनाइटेडको लिगमा संकट थपिएको छ । अन्य खेलमा ब्राइटन र न्युक्यासल तथा वेस्टह्याम र टोटेनहमबीच १–१ को बराबरी भएको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई अन्तिमरुप दिन समितिको निर्देशन

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१औं बैठक कार्यकारी समितिका अध्यक्ष गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैठकले विगतमा भएका मनसुनजन्य विपद्का कारण सृजित भएको जनधनको क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतको आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ लाई यथाशीघ्र अन्तिम रुप दिन र कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन प्राधिकरण तथा सरोकारवाला सबै निकायलाई बैठकले निर्देशन दिएको छ ।

त्यसैगरी, बैठकले निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग र भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ को बस्ती तथा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ८, ९ र १० का बस्तीहरुलाई संरक्षण गर्न उल्लिखित क्षेत्रलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ (१) बमोजिम घोषणा भएको मितिले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

बैठकका क्रममा गृहमन्त्री लेखकले गत असोजको अविरल वर्षाका कारण गएको बाढी पहिरोमा परेका नागरिकलाई उद्धारको लागि अहोरात्र खटिँदा स्वास्थ्यमा जटिल समस्या उत्पन्न भई उपचारका क्रममा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालले विपद् व्यवस्थापनमा पुर्याएको विशेष योगदानको उच्च कदर गर्दै निजको जीवन संगीनी सुजी कुँवरलाई मरणोपरान्त सम्मान पत्र प्रदान गरे ।

बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चात्को पुनर्लाभ (पुनर्निर्माण तथा पुनस्र्थापना) योजना (२०८१/०८२–२०८३/०८४) को कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै क्षति आकलन हुन बाँकी घरधुरीको तदारुकताका साथ कार्यसम्पन्न गर्न प्राधिकरणलाई बैठकले निर्देशन समेत दिएको छ।

९५ लाख रुपैयाँसहित काठमाडौँबाट चारजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँबाट श्रोत नखुलेको करिव एक करोड रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार अपरान्ह काठमाडौँको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडी सडकबाट चार जनालाई ९५ लाख १७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी गाउँपालिका १ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका ३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका रहेका परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।

रविन्द्र मिश्रलाई थप पाँच दिन म्याद थप

काठमाडौं । अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंले मिश्रलाई थप पाँच दिन थुनाम राख्न अनुमति दिएको हो ।

काठमाडौंको तीनकुनेमा चैत १५ भएको घटनामा संलग्न भएको आरोपमा मिश्रलाई पक्राउ गरेको थियो । मिश्रलाई रिहा गर्न दबाब बढेपनि प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

विकल पौडेलसहित तीन जना दोषी ठहर, ४० करोड ७५ लाख जरिवाना

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिद प्रकरणमा भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतले पौडेलसहित तीन जनालाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको आइतबारको इजलासले पौडेललाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।

म्याक्स इन्टरनेसनल प्रालि र सो कम्पनीका सीईओ अकबर हुसेन पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेषले अख्तियारको दाबीबमोजिम प्रतिवादीहरूले ४० करोड ७५ लाख ५७ हजार ७ सय ४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको हो ।

यो रकम दामासाहीले तीन प्रतिवादीबाट असुल्ने फैसलामा उल्लेख छ । विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र यसका सञ्चालक अकबर हुसेनबाट जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने फैसलामा उल्लेख छ ।

अपराधपीडित संरक्षण ऐनबमोजिम तीनै प्रतिवादीसँग जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्न पनि अदालतले भनेको छ । पौडेलविरुद्ध दुई कसुरमा गरी दुई वर्ष कैदको सजाय ठहर भएको छ भने अकबर हुसेनलाई डेढ वर्ष कैद ठहर भएको छ ।

पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाएको छ ।

पौडेलसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई (मेकानिकल) नवीनकुमार पोखरेल, सुरक्षण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेविरूद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

उनीहरूलाई भने विशेष अदालतले सफाइ दिएको छ । उनीहरू खरिद प्रक्रियामा संलग्न देखिए पनि खरिद कार्यमा कुनै निर्णायक भूमिका नदेखिएको फैसलामा भनिएको छ ।

पार्टीभित्रका समस्या आन्तरिकरुपमा समाधान गर्न नेताहरुलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

आइतबार बसेको सचिवालय बैठकले योजनाहरुको छनोट र योजनाहरुको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल भएकाले बजेट ठोस र परिणाममूखी ढंगबाट आउनुपर्ने सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले विगतमा योजनाहरुको छनोट र योजनाहरुको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल देखिएको बताए ।

उनले भने, ‘मूलतः नीति कार्यक्रमले भने जस्तै बजेट पनि एकदमै ठोस र परिणाममूखी होस् । विगतमा योजनाहरुको छनोट र योजनाहरुको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल देखिएको छ । भद्रगोललाई चिर्दै बजेट आओस् ।’

साथै एमालेले दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन नहुने टिप्पणी गरेको छ । उपमहासचिव ज्ञवालीले पार्टीका समस्या पार्टीले नै सुल्झाउनुपर्ने बताए ।

उनले भने, ‘दलहरूभित्र कतिपय आन्तरिक समस्या हुन सक्छन् । त्यसलाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन हुँदैन भन्ने लाग्छ । दलभित्रका समस्या आफ्ना ठाउँमा होलान् । हाम्रो पार्टीभित्र केही समस्या छ भने समाधान गर्ने दायित्व हाम्रो हो । अरु पार्टीसँग समस्या छ भने उहाँहरूले समाधान गर्ने हो ।’

बैठकले राजनीतिक स्थायित्व खल्बल्याउन खोज्ने पक्ष कमजोर भएको निष्कर्ष पनि निकालेको छ ।

संक्रमणकालीन न्याय र समसामयिक सवालमा ओली- प्रचण्ड छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेता छलफलमा जुटेका हुन् । उनीहरुबीच शान्ति प्रक्रियासँग सम्बन्धित दुई आयोगका पदाधिकारी नियुक्तिमा केन्द्रित रहेको बताइएको छ ।

छलफलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एमाले नेता अग्नि खरेल सहभागी छन् ।

अदिशलाई स्वर्ण पदक

काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा स्वर्ण पदक जितेका छन् ।

अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा आइतबार भएको खेलमा अदिशले १७ वर्षमुनि उमेर समूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन छ दशमलव २३ अङ्क जोडे ।

दश दिनको अवधिमा अदिशको यो दोस्रो अन्तरराष्ट्रिय पदक हो । यसअघि उनले २१औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सोही स्पर्धामा रजत जितेका थिए । वाटा ओपन जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको थियो ।

अदिश जापानबाटै गोल्डकोस्ट ओपन खेल्न अस्ट्रेलिया गएका थिए । नामी इन्टरनेसनल कलेजमा ११ कक्षामा अध्ययनरत अदिश तेक्वान्दोमा तेस्रो डान प्राप्त खेलाडी हुन् ।

नारायणी अस्पताल वीरगंजका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जस्थित नारायणी अस्पतालका तत्कालीन निर्देशक डा. सञ्जय ठाकुरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आयोगले आइतबार अस्पतालको आकस्मिक कक्ष भवन निर्माण र ‘इन्टरलक ब्लक’ बिछ्याउने सम्बन्धी ठेक्कामा मिलेमतो गरेको गरेको दाबीसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक निर्माण कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी हानिनोक्सानी पुर्याएको अख्तियारले दाबी गरेको छ ।

अभियोगपत्रमा भनिएको छ, ‘लक्षित बोलपत्र बाहेकका अन्य बोलपत्र प्रस्तावलाई असफल कायम गरेको, स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्र सम्बन्धी कागजात तयार गरी कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराई १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानूनी हानिनोक्सानी पुर्याएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ ।’

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम सिफारिस समिति सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले उक्त जानकारी दिए ।

बैठकले कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि संयुक्त राज्य अमेरिका जान बिदा स्वीकृत गर्ने निर्णय गरेको छ । उनको अनुपस्थितिमा उनले सम्पादन गर्दै आएको कार्य गर्न सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथीमा र दुई जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले वन तथा वातावरण मन्त्रालयअन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई पोसाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, आगामी जेठ ११ गतेदेखि १३ गतेसम्म क्यानडामा आयोजना हुने ग्लोबल कन्फ्रेन्स फर अ कास्ट–फ्रि वरल्ड, २०२५ मा सहभागीका लागि वन तथा वातावरण राज्यमन्त्री रुपा विकलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने, स्वास्थ्य बिमा बोर्ड, गेटा अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र डडेल्धुरा अस्पतालको आर्थिक वर्ष २०८१/८२ का लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङले सरकारले नेपाल हज समिति (गठन तथा सञ्चालन) आदेश, २०८१ स्वीकृत गर्ने, बालबालिकासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने, नेपाल स्मार्ट सहरसम्बन्धी सूचकहरू, २०८१ स्वीकृत गर्ने, स्वाथ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने सरकारको निर्णयसमेत गरेको बताए ।

बैठक सरकार र शिक्षक महासङ्घबीच भएको नौ बुँदे सम्झौता सम्बोधन गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता गुरुङले जानकारी दिए । उनका अनुसार आगामी जेठ ६ गतेदेखि ९ गतेसम्म अजरबैजानको बाकुमा आयोजना हुने छैटौँ प्लेनरी मिटिङ अफ द ग्लोबल अपरेसन नेटवर्क अफ एन्टी–कोअपरेसन ल इनफोर्समेन्ट अथोरिटिज मा सहभागी हुन दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा हरि पौडेललाई स्वीकृति प्रदान गरेको छ ।

साथै आगामी जेठ १३ गतेदेखि १७ गतेसम्म जापानको काउन्टर टेरोरिजम युनिटका पदाधिकारीहरूसँगको छलफलमा सहभागी हुन राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले भन्यो- प्रश्नपत्र बाहिरिएको हल्लामा सत्यता छैन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अगाडि नै प्रश्नप्रत्र बाहिरिएको भन्ने खबरमा सत्यता नभएको बताएको छ ।

बोर्डले आइतबार विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको भन्ने हल्लामा सत्यता नभएको बताएको हो । बोर्डले बाहिरिएको भनिएको अंग्रेजी विषयको प्रश्नपत्र पुरानो भएको पनि स्पष्ट पारेको हो ।

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

काठमाडौं । नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक डा. अर्जुन कार्की नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले कार्कीलाई उपकुलपति नियुक्त गरेको हो ।

त्यस्तै, विश्वविद्यालयको रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्य नियुक्त भएका छन् । उप–कुलपति तथा रजिष्ट्रारको नियुक्ति सिफारिस समितीको सिफारिसको आधारमा परिषद तथा कुलपतिबाट ऐनको प्रावधान अनुसार गरिएको बताइएको छ ।

‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने माओवादी पदाधिकारी बैठकको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने भएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरू गर्ने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यस्तै बैठकले ‘हुलाकी मार्गकेन्द्रित ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’को समीक्षा गरेको छ । सो अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्र कै अभियान बन्न पुगेको पनि माओवादीले जनाएको छ ।

बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको थियो।

बेलायतमा आतङ्कवादविरुद्धको अनुसन्धानमा सात इरानीसहित आठ जना पक्राउ

लण्डन । बेलायती प्रहरीले आतङ्कवादविरोधी दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ ।

लण्डनको महानगरीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एउटा अपरेसनमा चार जना इरानीसहित पाँच जनालाई ’आतङ्कवादी गतिविधिको तयारी गरेको’ आशङ्कामा पक्राउ गरिएको छ ।”

लण्डन, स्विन्डन र ग्रेटर म्यानचेस्टर क्षेत्रमा ‘आतङ्कवादी अपराध’ गर्न खोजेको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको हो ।

ती पुरुष २९ देखि ४६ वर्ष उमेर समूहका रहेका र उनीहविरूद्ध आतङ्कवादविरोधी प्रहरीले शनिबार ‘कुनै खास परिसरलाई निशाना बनाउने शंकास्पद षडयन्त्र’ गरेको आरोपमा पक्राउ गरेको थियो ।

चारै जना इरानी नागरिकलाई आतङ्कवाद ऐनअन्तर्गत पक्राउ गरिएको थियो भने पाँचौं व्यक्ति, जसको राष्ट्रियता अझै पुष्टि हुने काम भइरहेको छ, लाई प्रहरी र आपराधिक प्रमाण ऐन अन्तर्गत हिरासतमा लिइएको हो ।

गृहमन्त्री यवेट कूपरले ‘राष्ट्रिय सुरक्षा खतरा’ प्रति बेलायतको प्रतिक्रियाको एक हिस्साका रूपमा यी ‘गम्भीर अभियान’ चालिएको बताएका छन् ।

महानगरीय प्रहरीका आतङ्कवाद विरोधी प्रमुख डोमिनिक मर्फीले भने, “यो द्रुत गतिमा चलिरहेको अनुसन्धान हो र हामी प्रभावित स्थलमा रहेका व्यक्तिहरूसँग नजिकबाट काम गरिरहेका छौँ ताकि उनीहरूलाई अद्यावधिक राख्न सकियोस्।”

उनले भने, ‘अनुसन्धान अझै प्रारम्भिक चरणमा छ र हामी कुनै सम्भावित उत्प्रेरणा स्थापित गर्न र यस मामिलासँग सम्बन्धित जनतामा थप जोखिम हुन सक्छ कि भनेर पहिचान गर्न विभिन्न प्रकारका अनुसन्धानको खोजी गरिरहेका छौँ ।

यसैबीच शनिबार लण्डनमा आतङ्कवाद विरोधी प्रहरीले चलाएको अर्को कारबाहीमा इरानी नागरिकसहित अन्य तीन जनालाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरीले लण्डनमा पक्राउ परेका तीनै जना ‘शुक्रबार पाँच जनालाई पक्राउ गरिएको घटनासँग सम्बन्धित नभएको’ पुष्टि गरेको छ ।

उनीहरू ३९, ४४ र ५५ वर्षका पुरुष् व्यक्ति रहेको र उनीहरूलाई राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत पक्राउ गरिएको थियो । विदेशी हस्तक्षेप र जासुसीलगायत ‘राज्यका खतरा’लाई रोक्न कानुन प्रवर्तनका लागि प्रहरीलाई थप अधिकार दिएको छ । कूपरले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रहरीलाई धन्यवाद दिएका छन् ।

“यी गम्भीर घटनाहरू हुन् जसले राष्ट्रिय सुरक्षा खतराहरूको लागि हाम्रो प्रतिक्रिया अनुकूलन गर्न जारी आवश्यकतालाई प्रदर्शन गर्दछ,” कूपरले पीए न्यूज एजेन्सीसँग भने ।

उनले भने, “देशलाई सुरक्षित राख्न आवश्यक सबै कार्य र सुरक्षा मूल्याङ्कनलाई समर्थन गर्न सरकारले प्रहरी र गुप्तचर निकायहरूसँग काम गरिरहेको छ।” 

चिनियाँ राष्ट्रपति सीले यसैसाता रुस भ्रमण गर्ने

मस्को । चिनियाँ राष्ट्रपति सी चिनफिङ जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७ देखि १० सम्म रूसको भ्रमण गर्ने क्रेमलिनले आइतबार जनाएको छ ।

रुसी राष्ट्रपतिको कार्यालयका अनुसार भ्रमणका क्रममा सीले पुटिनसँग ‘साझेदारी र रणनीतिक सम्बन्ध विकास’ तथा ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय एजेन्डाका विषयमा’ द्विपक्षीय वार्ता गर्ने जनाएएको छ ।

रुसी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुई देशका राष्ट्रप्रमुख र सरकारका मन्त्रीहरू सहभागी हुने भ्रमणको शिलशिलामा द्विपक्षीय दस्तावेजहरूको शृङ्खलामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मे ९ मा रुसले आयोजना गरेको दोस्रो विश्वयुद्धमा जर्मनीमाथिको युद्धमा विजय प्राप्त गरेको उपलक्ष्यमा युक्रेनमा जारी युद्धमा तीन दिने युद्धविरामको आदेश दिएका छन् ।

चीनले तीन वर्षे युद्धमा आफूलाई तटस्थ पक्षका रूपमा चित्रित गरेको छ यद्यपि पश्चिमा सरकारहरूले रुससँगको घनिष्ठ सम्बन्धले मस्कोलाई महत्वपूर्ण आर्थिक र कूटनीतिक सहयोग दिएको बताएका छन् ।

यसवर्ष पनि बाली लगाउने बेलामा किसानलाई रासायनिक मल अभाव हुने

काठमाडौँ । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक समितिको  आइतबारको  बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, “हाम्रा लागि ११ लाख टन रायायनिक मल आवश्यक पर्दछ, तर हामीसँग चार लाख टन मात्र छ । अहिले पनि बजारमा रासायनिक मलको अभाव छ, त्यसैले कृषि मन्त्रालयले यो पटकबाट प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नैपर्छ भन्ने मनसाय राखेर अगाडि बढेको छ ।”

सरकारले चाँडै राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रम लागू गर्ने मन्त्री अधिकारीको भनाइ छ । देशलाई कृषमार्फत अगाडि बढाउन किसानलाई विद्युत्मा सहुलियत दिने विषयमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको उनले जानकारी दिए ।

उनले भने, “हामी कुखुराको मासु, अण्डा र मकैलागायत कृषिउपज उत्पादनमा आत्मनिर्भर हुँदैछौँ भन्दैगर्दा भारतबाट जस्तो मूल्यमा दाना आयात हुन्छ । दाना बनाउने कच्चा पद्दार्थ लिएर उत्पादन गर्न थालियो भने तयार भएको दाना खरिद गर्नुभन्दा महँगो पर्छ, यो विषयमा अर्थमन्त्रालयसँग गम्भीर रूपमा छलफल गर्नुपर्ने देखिएको छ ।”

कृषकहरूले खेती गर्दैगर्दा विशेष गरेर बाँदर, नीलगाई र बँदेलले दुःख दिएका सन्दर्भ उल्लेख गर्दै सरकारले यथनशीघ्र समस्या समाधान गर्दै उचित व्यवस्थापन गरिने मन्त्री आधिकारीले बताए ।

“चालु आर्थिक वर्षका लागि कूल बजेटको तीन प्रतिशत यो क्षेत्रका लागि थियो, तर आगामी वर्षका लागि दुई दशमलव छ प्रतिशत मात्रै छ, हामीलाई कम्तीमा पाँच प्रतिशत बजेट चाहिएको छ, १० प्रतिशत पुर्याउन सकेका खण्डमा सिङ्गो नेपाली आत्मनिर्भर हुन्छ भन्ने हाम्रो आँकलन हो”, उनले भने ।

सांसद रुपा शशि चौधरीले नेपाली कृषिलाई आधुनिकीकरण गर्दै बजारीकरणको सुनिश्चितता गर्नुपर्नेमा जोड दिइन् । सांसद चन्दा चौधरीले मल आयातमा देखिएको विचौलियाको व्यवस्थापन गर्दै किसानका निम्ति सहज र सर्वसुलभ मलको व्यवस्था गर्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराइन्।

सांसदहरू यागेन्द्र मण्डल, अमृतलाल राजवंशी, भानुभक्त जोशी, सम्झना थपलिया, मिना तामाङ, अनिसा नेपाली, बिजुला रायमाझी र सूर्यकुमारी श्रेष्ठले देशलाई वर्षेखेती सुरु हुनुभन्दा अगावै किसानको सहज मल, बीउ र सिँचाइको व्यवस्था गर्न मन्त्रीसमक्ष माग गरे ।

अस्पताल विकास समितिको सेवामा एकरुपता ल्याउन विधेयक ल्याइँदै

काठमाडौँ ।  सङ्घीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन विधेयक ल्याइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अघि बढाउनुभएको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमाका लागि गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएको हो ।

अस्पतालपिच्छे रहेका विकास समितिमा भएका सेवा शुल्कको भिन्नता, खर्चमा देखिएको अपारदर्शिता तथा कर्मचारीको नियुक्ति तथा स्थायी प्रक्रियालाई एकरुपता ल्याउन लागिएको हो । 

हाल सङ्घीय अस्पतालहरुमा भएका छुट्टाछुट्टै समिति अस्तित्वमा हुँदा एकै खालका अन्य सङ्घीय अस्पतालभन्दा फरक नियम तथा सेवा शुल्क लिने गरिएको छ । यसलाई कम गर्नका लागि अब ऐनमार्फत एकीकृत रुपमा सेवा तथा नीतिगत व्यवस्था हुने गरी व्यवस्था गर्ने तयारी अघि बढाइएको हो ।

अस्पतालको आन्तरिक आम्दानीको खर्चको प्रवृत्तिसमेत एकै खालको नभएकाले यसलाई समेत नयाँ विधेयकमा समेट्ने तयारी मन्त्री पौडेलको छ । कतिपय अवस्थामा बढिरहेको प्रशासनिक खर्चसमेत कम गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृतिपछि नयाँ विधेयकको तर्जुमा प्रक्रिया अघि बढ्ने बताए । उनले भने, “विधेयक निर्माणको प्रक्रिया अघि बढ्नेछ । विज्ञहरुको परामर्शका आधारमा मस्यौदा तयार गरिनेछ ।”

नेप्सेमा ९ अर्ब २४ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से सामान्य घटेको छ । आइतबार नेप्से ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव ३९ विन्दुमा झरेको छ ।

आज बैंक, विकास बैंक, होटल, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै डेढ प्रतिशतले ओरालो लागेको छ ।

आज विन नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३२२ वटा कम्पनीका २ करोड १९ लाख कित्ता शेयर ९ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ ।

राष्ट्रपतिद्वारा लमजुङको बाहुनडाँडामा निर्मित राष्ट्रकविको स्मृतिमा निर्मित उद्यान उद्घाटन

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रकवि माधव घिमिरे उद्यान’ उद्घाटन तथा उनको शालिक अनावरण गरेका छन् । उनले राष्ट्रकवि घिमिरेको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुङ बाहुनडाँडामा निर्मित उद्यान र शालिक अनावरण गरेका हुन् ।

साथै राष्ट्रपतिले स्थानीयसँग भेटघाट गरेका छन् । राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठान तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट २० लाख, गण्डकी प्रदेशकै सामाजिक विकास मन्त्रालयबाट चार लाख र मस्र्याङ्दी गाउँपालिकाबाट तीन लाखको सहयोगमा पार्कको संरचना तथा शालिक निर्माण गरिएको हो ।

राष्ट्रकवि माधव घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको मस्र्याङ्दी–६, बाहुनडाँडा पुस्तुनमा भएको थियो । उनको २०७७ साल भदौ २ गते १०१ वर्षको उमेरमा काठमाडौँमा निधन भएको हो ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले सिकलसेल र थालेसिमियाका बिरामीलाई सङ्क्रमक रोगबाट जोगाउन भारत सरकारबाट प्राप्त खोप आज नेपालगञ्जस्थित भेरी अस्पताललाई हस्तान्तरण गर्दै पछिल्लो समयमा नेपालका सबैजसो सरकारी अस्पतालको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भइरहेको बताए ।

मन्त्री पौडेलले भने “अस्पताललाई अझै बढी सुधार गरेर लैजानुपर्ने आवश्यक्ता छ ।” भेरी अस्पतालबाट मुटु, मिर्गौला प्रत्यारोपण र जलनको उपचारका लागि स्थायी दरबन्दी स्वीकृत गरेर व्यवस्थित गराउन खोजिएको जानकारी दिँदै उनले भेरी विशिष्टकृत अस्पतालका रूपमा विकास हुन थालेकामा खुसी व्यक्त गरे ।

सरकारी अस्पतालका बारेमा विभिन्न प्रकारका नकारात्मक टिप्पणी सुनिने गरिएको बताउँदै मन्त्री पौडेलले त्यस्ता टिप्पणीरहित सेवा प्रदान गर्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिए । उनले सरकारले अस्पतालका भौतिक पूर्वाधार र जनशक्ति बढाउने विषयलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै सीमित बजेट र साधनस्रोतका कारण चाहेर पनि धेरै काम गर्न सक्ने अवस्था नरहेको बताए ।

उनले स्वास्थ्य बिमालाई व्यवस्थित गरेर सबैलाई निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य उपचार प्रदान गर्नेतर्फ सरकार गम्भीर भएकामा जोड दिँदै त्यसमा सरोकार भएका र स्वास्थ्यसम्बन्धी निकायको पनि सहयोग आवश्यक पर्ने आवश्यकता औँल्याए ।

मन्त्री पौडेलले भेरी अस्पतालमा सिकलसेलको छुट्टै उपचार कक्ष सञ्चालन गरिएपछि सहज भएको बताउँदै सो रोगबाट जोगाउन समुदायमा जनचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले मन्त्रालयले आफ्नो क्षमता अनुसार अस्पतालका माग र आवश्यकता पूरा गर्ने हरसम्भव प्रयास गरिरहेको बताए । अस्पतालका मेडिकल सुपरिटेण्टेण्ट डा निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएका सुधार र उपलब्धिका बारेमा जानकारी दिए ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अस्पतालका वरिष्ठ नर्सिङ प्रशासक आशा पण्डित र अस्पताल विकास समितिका सदस्य डा डक्टप्रसाद धितालले पनि अस्पतालको अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए ।

मन्त्री पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा देवकोटोले भारतबाट प्राप्त भएको खोपलाई संयुक्त रूपमा भेरी अस्पतालका प्रमुख डा निराजन सुवेदी र सिकलसेल एनिमिया सोसाइटी नेपालका महासचिव राजमोहन चौधरीलाई हस्तान्तरण गरे ।

मन्त्री पौडेलले भेरी अस्पतालमा सञ्चालनमा ल्याइएको जलन उपचार कक्ष र ‘सर्जिकलविङ्ग’को पनि उद्घाटन गरे । साथै उनले अस्पतालका विभिन्न विभाग र कक्षमा पुगेर निरीक्षण गर्नुका साथै बिरामीलाई भेटेर उपचारको अवस्थाबारे जानकारी लिएका थिए ।

भेरी अस्पतालको नयाँ भवनमा सञ्चालनमा आएको छ शय्याको जलन उपचार कक्ष र १४ शय्याको सर्जिकलविङ्गबाट यस क्षेत्रका अग्निपीडित बिरामीको उपचारमा सघाउ पुग्ने अस्पताल विकास समितिले विश्वास लिएको छ । 

प्रधानमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।

आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव पर्ने र सन्दर्भमा पनि कुराकारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।