`

सरकारको कामलाई लिएर सत्तारुढ दलमै ठूलो निराशा छः उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई लयमा ल्याउन सरकारले कुनै ध्यान नदिएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै वाग्लेले सरकार गठन भएको १० महिनापछि पनि नीति तथा कार्यक्रममा पुरानै योजना राखेको बताए ।

उनले महत्त्वपूर्ण विषयभन्दा ‘रुटिन’जस्तो नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै उत्साह, रौनक र उद्देश्य नभएको आरोप लगाए ।

उनले भने, ‘नीति तथा कार्यक्रम हेर्दा आफ्नो शक्ति नै थाहा नपाएको जस्तो महसुस हुन्छ । कुनै उत्साह छैन। कुनै रौनक छैन। विराट उद्देश्य हुनुपर्ने हो । लगभग शून्य छ।’

उपसभापति वाग्लेले दुई दलको सरकार गठन हुँदा गरिएको ७ बुँदे सहमतिमा भ्रष्टाचार नियन्त्रण गर्ने कुरा राखिएको भए पनि त्यो अहिले मजाक जस्तै भइरहेको बताए ।

उनले भने,‘सात बुँदेमा भनिएको थियो, हामी भ्रष्टाचार गर्दैनौँ, सुशासन दिन्छौँ । त्यो एउटा मजाक भइसकेको छ।’

उनले सरकारको कामकारबाहीप्रति अनौपचारिकरुपमा बुझ्दा सत्तारुढ दलमै ठूलो निराशा भएको आफूले पाएको बताए ।

सरकारको नीति तथा कार्यक्रम परम्परागतः सांसद पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको वैठकमा आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद पौडेलले भने, ‘सार्वजनिक नीति प्रवाह, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने कुरा, नागरिक एप्स, अनलाइन कर प्रणाली, डिजिटल फाउन्डेसन, साइबर सुरक्षा, डिजिटल नेपाल र बैङ्क प्रणालीजस्ता विषय गत वर्षको नीति तथा कार्यक्रममा समावेश थिए, अहिले त्यसलाई कपी गरेर नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।’

सांसद पौडेलले नीति तथा कार्यक्रमले राष्ट्र निर्माणका निम्ति दृढ सङ्कल्पलाई समेट्नुपर्ने उल्लेख गर्दै देशको समग्र विकासलाई बजेटले समेट्न नसकेको आरोप लगाए ।

चालु आर्थिक वर्षकै राष्ट्रिय गौरवका आयोजना बजेट अभावका कारण ठेक्कामा समस्या परेको उल्लेख गरे । राजी जमरा सिँचाइ आयोजना, मदन भण्डारी राजमार्ग, खेलमैदान, जलविद्युत् योजना नीति तथा कार्यक्रममा उल्लेख गर्न उनले माग गरे ।

चालु आर्थिक वर्षको १० महिनामा ३१.९ प्रतिशत मात्रै विकास बजेट खर्च भएको सांसद पौडेलको भनाइ थियो । उनले भने, ‘सहिदलाई सम्मान गर्ने सवालमा एउटै भाषा प्रयोग गर्नुपर्छ ।’

भ्रष्टाचार छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग गठन गर्न सांसद गुरुङको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद गुरुङले आयोग गठनको माग गरेका हुन् ।

सांसद गुरुङले भ्रष्टाचारको अन्त्य गर्दै सुशासनका निम्ति २०४६ सालयता लाभ पदमा पुगेका सबै नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गरे ।

त्यस्तो आयोगले अध्ययन गरेपछि सम्पत्तिको स्रोत नखुलेमा त्यस्तो सम्पत्ति जफत हुनुपर्ने उनको भनाइ छ ।

उनले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि प्रस्तुत नीति तथा कार्यक्रमको स्वागद गर्दै सहमतिका आधारमा संशोधन गर्नुपर्नेमा जोड दिए । उनले संविधान संशोधनका निम्ति सर्वदलीय समिति गठन गरिनुपर्ने बताए ।

उपसभापति गुरुङले सरकार गठनका क्रममा राजनीतिक दलबीच समन्वय, आपसी संवाद, सहकार्य र सहमति भए जस्तै देशको विकासका निम्ति पनि दलहरुबीचको सहकार्य गर्नुपर्नेमा जोड दिए ।

‘फरक पार्टी वा फरक विचार हुँदैमा शत्रुतापूर्ण व्यवहार नगरौँ, हाम्रो साझा शत्रु गरिबी हो, गरिबीको विरुद्ध लागौँ,’ उनले भने ।

जुडो टोली भूटान प्रस्थान

काठमाडौं । प्रथम दक्षिण एसियाली युथ जुडो डेभलपमेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ११ सदस्यीय नेपाली टोली मंगलबार भूटानको थिम्पु प्रस्थान गरेको छ ।

यही वैशाख २४ देखि २९ गतेसम्म हुने उक्त प्रतियोगितामा चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका छन् । पुरुष ४० किलो मुनिको तौल समूहमा विसाज महर्जन र सदिन तामाङ, ५० किलो मुनिको तौल समूहमा जुविन महर्जन तथा ३६ किलो मुनिको तौल समूहमा साइमन तामाङले खेल्नेछन् ।

यस्तै, महिला ५७ किलो मुनिको तौल समूहमा श्रष्टा नापित तथा ३६ किलो मुनिको तौल समूहमा जेनिशा वाइवाले प्रतिष्पर्धा गर्नेछन् । प्रशिक्षकमा योगन्द्र विष्ट, अफिसियलमा नवीन महर्जन, आइटी अफिसियलमा लखनराज थापा मगर र कुलबहादुर कुँवर तथा निर्णायकमा किरण गडेल रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलगायतले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतियोगितामा नेपालसहित भारत, भूटान र बङ्गलादेशका खेलाडीको सहभागिता रहने प्रशिक्षक धर्मकुमार श्रेष्ठले जानकारी दिए ।

सरकारको औचित्य, योग्यता र जनउत्तरदायित्व सुशासनमा देखिनुपर्छः सांसद केसी(अन्तरवार्ता)

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारको औचित्य, योग्यता र जनउत्तरदायित्व सुशासनमा देखिनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिनिधिसभाका सदस्य नेता केसीले अव्यवस्था, पक्षपात, विधिविहीनता र भ्रष्टाचारले आम जनमानसमा निराशा, अविश्वास र असन्तुष्टिको अवस्था सृजना गरेको टिप्पणी गरेका छन् । नेता केसीसँग राससका समाचारदाता सुशील दर्नालले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

प्रतिनिधिसभामा तपाईंको हालसम्मको अनुभव कस्तो रह्यो ?

–म हालसम्म पटक–पटक जननिर्वाचित सांसदका रुपमा जनप्रतिनिधि भएँ । संविधानसभा सदस्य पनि निर्वाचित भएँ । चारपटक विभिन्न मन्त्रालय सम्हालेँ । जनताका असीमित आवश्यकता र सरकारको सीमित साधन–स्रोतका बीच न्यायोचित वितरण नै कुशल र व्यावहारिक नेतृत्वको योग्यता हो भन्ने म ठान्दछु । तर, त्यस्तो व्यवहारमुखी मान्यता कार्यान्वनयमा रुपान्तरण हुन सकेन । यस आधारमा भन्नुपर्दा विभिन्न पटकका मेरा संसदीय अनुभवहरूमा विविधता छ । सबै सांसदहरूका कार्यसम्पादन र भूमिका आ–आफ्नै छन् । भ्रष्टाचार, दण्डहीनता र आर्थिक अराजकतालाई नियन्त्रण गरेर सुशासन, लोकतन्त्र, दिगो विकास र जनता लाभान्वित हुने व्यवस्थाको सुनिश्चितताका लागि मैले निरन्तर रुपबाट आफ्नो भूमिका र प्राथमिकतालाई लगाएको छु । मुलुकका समस्या समाधान गर्ने विषयमा मेरो ज्ञानले भ्याएसम्म र सहमति र सहकार्यका आधारमा चल्नुपर्छ, तर सहमति भनेको कसैले कसैसँग पनि गर्ने आत्मसमर्पण होइन । यो त सहअस्तित्व, र सहसम्मानका साथको कार्यपद्धति हो । विधिविहीनता, भ्रष्टाचार, दण्डहीनता र कुशासनप्रति उदासीनता वरण गर्ने कुरामा मैले कसैसँग कम्प्रोमाइज गरिनँ र सहकार्य पनि गर्न सक्दिनँ । यस आधारमा आफ्नो भूमिका र दृढ मान्यतामा म सन्तुष्ट छु ।

संविधान कार्यान्वयनको अवस्थालाइ कसरी हेर्नु भएको छ ?

–नेपालको संवैधानिक इतिहासमा आजसम्म सातवटा संविधान जारी भए । तिनका उत्पत्ति र समाप्तिले हामीलाई धेरै अनुभव र मार्गदर्शन दिएका छन् । जननिर्वाचित संविधानसभाले बनाएको यो संविधानको भावनामा पूर्ववर्ती संविधानका विशेषता, अनुभव र कमी–कमजोरीको निचोड अन्तरनिहित छ । जस्तो समावेशिता र सामाजिक न्याय यो संविधानको सबभन्दा महत्वपूर्ण विशेषता हो, जो वञ्चितीकरणको लामो र तीतो अनुभवले आवश्यकताका रुपमा ल्याएको हो । निरङ्कुशताका सबै सम्भावनालाई यो संविधानले रोकेको छ । तर हाम्रै अव्यवस्था, पक्षपात, विधिविहीनता र भ्रष्टाचारले आम जनमानसमा निराशा, अविश्वास र असन्तुष्टिको अवस्था सृजना भएको छ । यो नै आजको प्रमुख राष्ट्रिय चुनौती हो । सत्ताबाट बारम्बार देखाइने कमी–कमजोरी, उदासीनता र हेलचेक्र्याइँले गर्दा यसको कार्यान्वयनमा समस्या उत्पन्न भएको छ । मुख्य रुपमा संविधानको लोकतान्त्रिक र जनउत्तरदायी ध्येयमा कुनै खोट छैन । व्यवस्थामा होइन, व्यवस्थापकमा देखिएको मनपरितन्त्र र स्वेच्छाचारिता आजको समस्या हो ।

संविधान संशोधनको विषयलाई कसरी हेर्नुभएको छ ?

–सरकार संविधानको  अनिवार्य पालनकर्ता र जनतालाई परिपालन गराउने शक्ति हो । सत्ताले संविधानको अक्षर र भावनाअनुरुप यसको पालना गर्नु अनिवार्य हुन्छ । २०७२ मा वर्तमान संविधान जारी भएपछिका दिनमा आ–आफ्नै पक्ष, पहिचान र पृष्ठभूमि बोकेर आएका विभिन्न किसिमका सरकारहरू गठन भए । संविधान मुलुकको मूल कानुन, जीवन्त, गतिशील र सर्वोच्च दस्तावेज भएकाले यसको कार्यान्वयनमा राष्ट्रको आवश्यकताअनुरुप सहमतिका आधारमा समयसापेक्ष संशोधन र परिमार्जन गर्दै अग्रगति दिइरहनुपर्ने राजनीतिक कौशल नेतृत्वमा हुनुपर्छ । हाम्रो संविधानमा पनि संशोधन, परिमार्जन, अझ बढी स्पष्टता र मेलमिलाप तथा राष्ट्रिय सहमतिको खाँचो हामी सबैले अनुभव गरिरहेका छौँ । त्यसैले नेपाली कांग्रेस, एमाले र अन्य राजनीतिक दलका बीच वर्तमान सरकारको गठन गर्दा भएको सातबुँदे सहमतिमा संविधानमा आवश्यक संशोधन गर्नुपर्ने प्रतिबद्धता समेटिएको छ । तर यो प्रतिबद्धताको बाबजुद १० महिना बितिसक्दा पनि यतातिर कुनै  तर्खर नगर्नु दुःखद आश्चर्य भएको छ । कांग्रेस–एमाले गठबन्धन सरकारको औचित्यका रुपमा प्रस्तुत यस बुँदामा देखिएको मौनता र अकर्मण्यताले सत्ता गठबन्धनको प्रतिबद्धतामा प्रश्न उठेको छ ।

सुशानका लागि सरकारलाई तपाईंको सुझाव के छ ?

–सरकारको औचित्य, योग्यता र जनउत्तरदायित्व कार्यरुपमा सुशासनमा देखिनुपर्छ । लोकतन्त्र र सुशासनसँग भ्रष्टाचार एकसाथ चल्न सक्दैनन् । यो भाषणको मसला होइन जिम्मेवारी र कर्तव्यको प्राथमिकता हो । भ्रष्टाचार, दण्डहीनता, अराजकताको अन्त्य, अधिकतम जनहित र विधिको शासन, स्वतन्त्र र जिम्मेवारीप्रति जागरुक न्यायपालिकाको अस्तित्व नै सुशासनको पहिलो विशेषता हो । यति गर्न सक्ने सरकार भएमा त्यसले लोकतन्त्रको नवयुग ल्याउन सक्छ । यसमा सरकारले कसैसँग मोलाहिजा वा सौदाबाजी र सत्तामा आफ्नो आयु लम्ब्याउने चेष्टा गर्नु हुँदैन । सुशासनको मूल आदर्श नै विधिको शासन, दण्डहीनताको अन्त्य र भ्रष्टाचार मुक्त समाजको स्थापना हो । यतातिर राज्यशक्ति सम्पूर्ण रुपमा केन्द्रित हुनु आवश्यकता छ । सुशासनको सुगारटाई भाषण निरर्थक हुन्छ ।

सङ्घीयता अझै सुदृढ बनाउन के गर्नु पर्ला ?

–सुरुमै के प्रस्ट होऔँ भने देशमा विद्यमान समस्या र चुनौतीका लागि सङ्घीय राज्यसंरचना आफैँ समाधान होइन, एकात्मक राज्य संरचनाको विकल्प हो । सङ्घीयता लागू गर्ने चरणमा हामीकहाँ यसबारे बहस नै गलत तरिकाले गरियो । सङ्घीयता नै देशको समाधान हो भन्ने भाष्य रचना गरियो । यही भाष्यको परिणामस्वरुप आज जनतामा छाएको निराशाले गर्दा सङ्घीयता  विवादको विषय बन्नपुगेको छ । अर्कातिर आज देखिएको जनप्रतिनिधिको भारी देशले थेग्न सक्दैन । करिब ३६ हजारभन्दा बढी प्रतिनिधित्वको औचित्य र भार देशलाई आवश्यक हो कि होइन ? तसर्थ स्थानीय, प्रदेश र केन्द्रीय प्रतिनिधित्वको सङ्ख्यामा ५० प्रतिशत घटाउनुपर्छ भन्ने मेरो धारणा छ ।

हरेक प्रदेश आर्थिक, प्रशासनिक, जनतालाई दिने सेवासुविधामा आत्मनिर्भर भएमा मात्र सङ्घीयता सुदृढ हुन्छ । हरेक कुरामा केन्द्रको मुख ताक्ने, केन्द्र सरकार गठन र विघटन हुनेबित्तिकै प्रदेश सरकारहरू पनि बन्ने वा भत्किने अवस्थाले सङ्घीयता सबल र सक्षम हुँदैन । भ्रष्टाचार, दण्डहीनता, अराजकता, अपारदर्शिता, भागबन्डा जस्ता विसङ्गति र विकृतिले सङ्घीय व्यवस्थालाई पनि घातक असर पु¥याएको छ । सरकारले हालै गठन गरेको शासकीय सुधार आयोगले सङ्घीयताको सफलता र प्रदेशहरूको औचित्य र जनउपयोगितालाई सार्थक र सफल बनाउने दिशामा ठोस उपाय दिन सक्नुपर्छ ।

युवा पलायन रोक्न सरकारलाई तपाईंको सुझाव के छ ?

– युवापुस्ताका चाहना र आवश्यकतालाई सरकारले कार्यमूलक सम्बोधन गर्न सक्नुपर्छ । हरेक दिन तीनदेखि पाँच हजार युवाहरू विदेसिन विवश छन् र हरेक दिन तीनदेखि पाँचवटा लास बाकसमा देश भित्रिरहेका छन् । यसको निराकरण नै राष्ट्रको पहिलो कर्तव्य हो । सरकारले के बुझ्नुपर्छ भने विदेशले ‘आइज’ भनेर जबरजस्ती तानेर हाम्रा युवाहरूलाई लगेको होइन । देशले ‘जा’ भनेर धकेल्ने बाध्यात्मक वातावरण बनाएको कारण उनीहरू तपाईंकै शब्दमा ‘पलायन’ भएका हुन् । उनीहरूलाई ‘योग्यता अनुसारको काम र काम अनुसारको दाम’ पाउने, न्यायोचित रोजगारी र वृत्तिविकास (क्यारियर) को वातावरण बनाउनुपर्छ । लगानी, उत्पादन र निर्यातमा वृद्धि सँगसँगै रोजगारीमा स्वतः वृद्धि हुन्छ । हाम्रो युवापुस्ताले सूचना प्रविधि, अनलाइन सेवा, अन्य सेवा क्षेत्र, खेलकुद आदिमा देशले गर्व गर्ने खालको योगदान पुर्याएका छन्, अझ बढी योगदान पुर्याउने सामथ्र्य राखेका छन् । यसको प्रोत्साहन र कदर हुनुपर्छ ।

मुलुकको विकासका लागि राजनीतिक दलहरूलाई तपाईंको सुझाव के छ ?

– सर्वप्रथम पार्टी सुधारका कार्यसूचीप्रति गम्भीर हुनु नै प्रत्येक पार्टीको दायित्व हो । हाम्रा सम्पूर्ण दलहरूमा आन्तरिक प्रजातन्त्र प्रवद्र्धन, नेतामुखी होइन नीतिमुखी पद्धतिको निर्माण, व्यक्ति होइन संस्थामुखी र विधिबाट सञ्चालित प्रक्रियाअनुसार पार्टी सुधार आजको अनिवार्य आवश्यकता हो । पार्टी नै प्रथम पाठशाला हो जसबाट सुशासनमा प्रशिक्षित व्यक्तित्व नै राष्ट्रको सुशासनको संवाहक बन्नसक्छ । तसर्थ, हरेक दलको संरचना, अस्तित्व र विशेषता आ–आफ्नै प्रकारको छ । मैले दिने सुझाव यतिमात्र छ–भ्रष्टाचार, दण्डहीनता र कुशासनलाई प्रश्रय दिने काम नगरौँ । राष्ट्रिय एकताको भावनामा वैमनस्यता र फाटो ल्याउने निषेधको राजनीतिलाई स्थान नदिऔँ । लोकतन्त्र, नागरिक स्वतन्त्रता तथा अधिकार, विधिको शासन र कानुनी राजको बाटो अवरुद्ध हुने र हिंसात्मक काम कतै कसैबाट कदापि नहोस् । हाम्रो समर्थनले सरकार राष्ट्रिय हितमा सफल होस् । हाम्रो विरोधले सरकार ठीक बाटोमा चल्न बाध्य होस् भन्ने प्रतिपक्षी मानसिकता नै लोकतन्त्र सशक्तीकरणको अजय स्रोत हो ।

तपाईंको अबको योजना के छ ?

– मुलुकलाई सुशासनपूर्ण सार्थक र जनउत्तरदायी लोकतन्त्र, संविधानको सफल कार्यान्वयन, जनताको न्यायपूर्ण भावना र चाहनाको प्रतिनिधित्वका लागि सक्दो प्रयत्नमा छु । यसैलाई निरन्तरता दिइरने मेरो प्रयत्न रहने छ ।

‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

पर्वत । ऊर्जा नदीका रुपमा विकास भएको पर्वतको मोदीखोलामा उत्पादित जलविद्युत्लाई एकीकृत रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ ।

कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–२ देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेसनसम्म नयाँ प्रसारण लाइन निर्माण सुरु गरिएको हो । प्रसारण लाइनका लागि हाल जग्गा अधिग्रहण भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा रु एक करोड बराबरको जग्गा अधिग्रहण भइसकेको अयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए ।

आयोजना प्रमुख अग्रवालका अनुसार यो प्रसारण लाइन करिब साढे आठ किलोमिटर लम्बाइको हुनेछ । तल्लो मोदीदेखि नयाँ मोदी सबस्टेसनसम्मको प्रसारण लाइन करिब सात/आठ महिनाअगाडि निर्माण भइसक्नुपर्ने थियो, जग्गा अधिग्रहणकै कारण ढिला भएको उनले बताए । सम्झौता मिति अझै बाँकी भए पनि यो काम पूरा गर्न डेढ वर्ष लाग्न सक्ने अग्रवालको भनाइ छ ।

कुश्मादेखि नयाँ मोदीसम्म प्रसारण लाइनले जोडेपछि विद्युत् व्यवस्थापनका लागि ‘रिङ लाइन’ निर्माण हुने भएको छ । “अहिले कुश्माबाट बुटवल हुँदै भरतपुर, दमौली, लेखनाथ, लाहाचोक हुँदै न्यू मोदीमा आएको छ । अब यो न्यू मोदी र कुश्मा जोडियो भने प्रसारण लाइनको सर्कल बन्छ”, आयोजना प्रमुख अग्रवालले भने, “यो सर्कल बनेपछि कुनै एक ठाउँमा सिस्टम फेल भए पनि विद्युत्को आपूर्ति दुरुस्तै रहन्छ ।”

यो प्रसारण लाइन एक सय ३२ केभी डबल सर्किट रहेको अग्रवालले जानकारी दिए । आयोजनाको काम सम्पन्न गर्न ३५ करोडमा ठेक्का सम्झौता भएको भए पनि जग्गा व्यवस्थापनसहितका अन्य कामहरू गर्दा करिब ५० करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

एक सय ३२ केभी प्रसारण लाइन आयोजनाको टावर फाउन्डेसन निर्माणका लागि विभिन्न २६ वटा कित्ता जग्गाहरू अधिग्रहण गरी एक करोड पाँच लाख मुआब्जा वितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । अधिग्रहण गरिएका जग्गाको मुआब्जा निर्धारण भएकाले रकम बुझ्न आउन जिल्ला प्रशासन कार्यालयले जग्गाधनीहरूलाई सूचना जारी गरेको छ ।

प्रसारण लाइनका टावर निर्माणका लागि पहिलो चरणमा मोदी गाउँपालिका–५ बाजुङ तथा कुश्मा नगरपालिका–३ दुर्लुङ, कुश्मा नगरपालिका–७ खरेहा तथा वडा नं ८ चुवामा अधिग्रहण गरिने जग्गाको मुआब्जा दिन लागिएको हो । जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ बमोजिम मुआब्जा प्राप्त गर्नेहरुलाई मुआब्जा बुझ्नका आह्वान गरिएको प्रजिअ घिमिरेले बताए ।

पर्वतको मोदीखोलाबाट हाल चारवटा विद्युत् आयोजनामार्फत करिब ७४ मेगावाट विद्युत् उत्पादन भइरहेको छभने केही आयोजनाहरु निर्माण हुने चरणमा छन् । 

‘कुलमान हटाएकोमा तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ ?’

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई सरकारले हटाएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुटुमा नै गोली लागेजस्तो भएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले काम गर्ने ट्युनिङ नमिलेपछि सरकारले कुलमान हटाएको भन्दै यस विषयमा प्रचण्डले टाउको दुखाउनु नपर्ने बताएका हुन् ।

उनले विगतमा आफूले मुख्यसचिव बनाउँदा गरेको निर्णय र प्रधानसेनापति हटाएको विषय स्मरण गर्नपनि प्रचण्डलाई आग्रह गरे ।

उनले भने, ‘अहिले केपी शर्मा ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ ? एउटा सहसचिव लेभलको कर्मचारी हो, सरकारसँग उसको ट्युनिङ मिलेन, उसको एउटा बन्दोबस्ती भयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होइन । यस्ताखाले बेथितिहरु आफ्नो पालामा भएका छन् । एकपटक स्मरण गर्नुस् ।’

त्यस्तै सचिव भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाए । उनले यस्ता घटना हुनु दुःखद भएको भन्दै आगामी दिनमा यस्तो नदोहोरिने सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

उपत्यकाव्यापी खुला मेयर कप फुटबलमा काठमाडौंद्वारा चाँगुनारायण ५–० गोलले पराजित

काठमाडौँ । गोदावरी उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत सोमबार खेलमा काठमाडौँ महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५–० गोलले पराजित गरेको छ ।

ललितपुरको एन्फा फुटबल ग्राउण्ड सातदोबाटोमा भएको खेलमा महानगरपालिकाकातर्फबाट राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले १/१ गोल गरेका थिए।

समूह बि मा रहेको महानगरपालिकाले यसपछिको खेल मध्यपुर थिमी नगरपालिकासँग खेल्नेछ । काठमाडौँ महानगरपालिका मेयर कप फुटबल पहिलो संस्करणको विजेता हो ।

आज ललितपुरको कोन्ज्योसोम गाउँपालिका र काठमाडौँको तारकेश्वर नगरपालिकाबीच खेल हुँदैछ । महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरुको व्यवस्थापन खेलकुद विज्ञ नविन चित्रकारले गरेका छन् ।

यसअघिका प्रतियोगितामा ललितपुर महानगरपालिकाले बागमती गाउँपालिकालाई ७–३ गोलले पराजित गरेको छ । यस्तै गोदावरी नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ६–१ ले पराजित गरेको छ । कागेश्वरी मनोहरा र दक्षिणकाली बिचको प्रतिस्पर्धामा दक्षिणकालीद्वारा ५–० गोलले कागेश्वरी मनोहरालाई पराजित गरेको छ ।

प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिका, चन्द्रगिरी नगरपालिका, तारकेश्वर नगरपािलका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् । यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिका प्रतिस्पर्धामा छन् ।

सेमिफाइनलको पहिलो खेल समूह ‘ए’ को विजेता र समूह ‘सी’ का विजेता बिच हुनेछ । यस्तै दोस्रो खेल समूह ‘वी’ र समूह ‘डी’ का बिच हुनेछ । सेमिफाइनल खेल ‘१’ का विजेता र सेमिफाइनल खेल ‘२’ का विजयी बिच फाइनल खेल हुनेछ । लगातार वर्षाका कारण पूर्वनिर्धारित तालिकामा खेल सञ्चालन हुन सकेको छैन ।
प्रतियोगिताको बिजेता टिमलाई नगद ५ लाख रुपैयाँसहित ट्रफी, उपविजेता टिमलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

‘लन्डन म्याराथन’ मा आफ्नै कीर्तिमान तोड्दै ‘गोल्डेन गर्ल ’

रामनाथ घिमिरे, लन्डन । हालसम्मकै धेरै सहभागीले दौड पूरा गरेर विश्व कीर्तिमान कायम गरेको लन्डन म्याराथनले आगामी वर्ष सन् २०२६ को दौडका लागि अर्को विश्व कीर्तिमानी कायम गरेको छ । 

यसवर्ष निर्धारित ४२ किलोमिटर दूरी हालसम्म संसारकै सर्वाधिक ५६ हजार ६४० जनाले पूरा गरेर नयाँ कीर्तिमान बनेको केही दिन नबित्दै आगामी वर्षको लन्डन म्याराथनमा सहभागिता जनाउन चाहनेहरुको सङ्ख्याले नयाँ कीर्तिमानी कायम गरेको आयोजक लन्डन म्याराथन इभेन्ट्सका प्रमुख कार्यकारी ह्यू ब्राशरले बताए । 

आगामी वर्षका लागि गत शुक्रबार आवेदन दिन सकिने अन्तिम दिन ११ लाख ३३ हजार ८१३ जनाले नाम दर्ता गराएका छन् । हालै सम्पन्न म्याराथनमा विश्वभरबाट आठ लाख ४० हजार ३१८ जनाले सहभागिताका लागि नाम दर्ता गरेका थिए । त्यसमध्ये १०० भन्दा बढी नेपाली सहभागी थिए ।

आफ्नै कीर्तिमान तोड्दै ‘गोल्डेन गर्ल’

लन्डन म्याराथनमा सहभागीमध्येकी एक थिइन्, नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठ । नेपाली खेलकुदमा ‘गोल्डेन गर्ल’ का नामले परिचित उनले पहिलो पटक लन्डन म्याराथनमा सहभागिता जनाउँदै नयाँ कीर्तिमान कायम गरिन् । श्रेष्ठले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरिन् । 

सन्तोषीलाई लन्डन म्याराथनमा दौडिन लाग्दा आफू भीडमै हराएर अल्मलिएको र बाटो नपाएको जस्तो अनुभव भएको थियो । सयौँ  धावकसँग दौडिएको अनुभव भए पनि लाखौँको भीडमा पहिलो पटक दौडिँदा अत्यास लागेको उनले बताइन् । उनले भनिन्, “सुरुमा त बेकार आएछु । आफ्नै रेकर्ड सुधार गर्ने लक्ष्य पूरा नहुने भयो भन्ने लागेको थियो ।”

सुरुका एक घण्टा आफू अन्योलमै परेको र त्यसपछि प्रदर्शन राम्रो  भएको उनले बताइन् । “जति मानिस भए पनि मैले मेरो काम पूरा गर्नुपर्छ, मेरो र देशको नामका लागि मैले राम्ररी दौड पूरा गर्नुपर्छ भन्ने लागेर सम्हालिएर दौडिएँ”, उनले भनिन् ।

सन्तोषीले पहिलो पटक पेरिस ओलम्पिकको महिला म्याराथनमा सहभागिता जनाउँदाको क्षण स्मरण गरिन् । ती दुई म्याराथनको अनुभव आकाश पातालको फरक रहेको उनले सुनाइन् । 

लन्डन म्याराथनको ‘फिनिस लाइन’ पूरा गर्ने बेला ‘ट्रयाक’ पाउनसमेत कठिन भएको उनको अनुभव रह्यो । तर, दौड पूरा गर्ने बेलामा आयोजकले आफ्नो नाम लिँदै राष्ट्रिय कीर्तिमान तोडिएको सुनाउँदा भने आफू खुसीले स्तब्ध भएको बताइन् ।

“विश्वका लाखौँ मानिस सहभागी प्रतियोगितामा आफ्नो र देशको नाम सुन्दा गर्वले छाती ढुक्क फुलेको क्षणको वर्णन गर्ने शब्द नै छैन,” उनले भनिन् ।

सन् २०२४ मा बङ्गबन्धु अन्तर्राष्ट्रिय म्यारथनमा सन्तोषीले ढाकामा २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा दौड पूरा गर्दै स्वर्णसहित नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । पुष्पा भण्डारीका नाममा रहेको २ घण्टा ४८ मिनेटको राष्ट्रिय कीर्तिमान तोडेकी सन्तोषीलाई पहिलो म्याराथनको त्यही कीर्तिमानी प्रदर्शनले पेरिस ओलम्पिकको ढोका खोलेको थियो ।

पेरिस ओलम्पिकमा निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरेकी सन्तोषी  २८ वर्षपछि ओलम्पिकको महिला म्याराथनमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी थिइन् । पेरिस ओलम्पिकसँग लन्डन ओलम्पिकको तुलना गर्दै सन्तोषीले भनिन्,  “हरेक खेलाडीलाई जस्तै मलाई पनि ओलम्पियन हुन पाए भन्ने हुन्थ्यो । त्यो  प्राप्त गरेँ । “नेपाल रन युके’को सहयागले लन्डन म्याराथन पनि दौडिन पाएँ, यो नितान्त फरक अनुभव हो ।”

विश्वका सबै ठूला म्याराथनमा सहभागी भई नयाँ पुस्तालाई प्रेरणा दिने र विभागीय टोलीमा आबद्ध नभए पनि  खेलकुदमा केही गर्न सकिन्छ भन्ने सन्देश दिने चाहना उनको छ । सन् २०१९ मा काठमाडौँमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)बाट पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी सन्तोषीले १० हजार मिटरमा स्वर्ण पदक जितेकी थिइन् । भारतकी खेलाडीलाई १० मिली सेकेन्डले उछिनेर उनले स्वर्ण उचाल्नु पहिले नेपाली महिलाले एथ्लेटिक्समा अन्तरराष्ट्रिय स्वर्ण जितेको थिएन ।

 उनले राष्ट्रियस्तरका दर्जनौँ म्याराथनमा उपाधि जितेकी छन् । नेपाल रन युकेको आर्थिक सहयोगमा लन्डन म्याराथनमा दौडिएर नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी सन्तोषीले नेपाली फर्किनु अघि भनिन्, “लन्डन म्याराथनका विजेताहरुलगायत धेरै अन्तरराष्ट्रिय धावक र प्रशिक्षकहरुसँग भेट भयो कुराकानी भयो । तिमीले धेरै सुधार गर्न सक्छौ भनेर सबैले प्रोत्साहन दिनुभयो । यो नै मेरा लागि ठूलो सफलता हो ।” 

नेपाल रन युकेका संस्थापक सन्तोष राईले पनि नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर ‘गिनिज वल्र्ड रेकर्ड’ बनाएका छन् ।  उनले दुई घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरे । नेपाल रन युकेको संयोजनमा भाग लिएका सबै ९६ जनाले निर्धारित दूरी पूरा गरेका थिए । तर नेपाल रन युकेको संयोजनबाहेक पनि नेपालीहरु लन्डन म्याराथनमा सहभागी भएका थिए ।

यस वर्षको लन्डन म्याराथनमा पुरुषतर्फ केन्याका सबस्टियन सावे २ घण्टा २ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै उपाधि विजेता बने भने इथियोपियाकी टिस्ट आसिफाले २ घण्टा १५ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै विजेता बनिन् ।

रेशम पक्राउबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा जनमत पार्टीका सांसदहरुले पार्टीका संरक्षक रेमश चौधरीलाई बिनाकारण पक्राउ गरी कारागार चलान गरिएका विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेपछि सभामुखले उक्त रुलिङ गरेका हुन् ।

जनमत पार्टीका सांसद अब्खुल खानले संरक्षक चौधरी पक्राउ सम्बन्धमा सरकारले स्पष्ट जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताए ।

सभामुख घिमिरेले यही वैशाख २५ गतेको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त घटनाका सम्बन्धमा सदनमा उपस्थित भएर जवाफ दिने जानकारी दिँदै सदनको कामकारबाही अघि बढाउन आग्रह गरे ।

चौधरी पक्राउका सम्बन्धमा गृहमन्त्री लेखकले जवाफ दिने सभामुख घिमिरेको जानकारीपश्चात् सदन नियमित कार्यसूचीमा प्रवेश गरेको छ ।

ट्रम्पको भन्सार नीति अमेरिकामा अभावको कारण बन्न सक्ने पूर्व उपराष्ट्रपति पेन्सको चेतावनी

वासिङ्टन । अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले ट्रम्प प्रशासनको भन्सार नीतिको आलोचना गर्दै सम्भावित अभावले अमेरिकीहरूलाई ह्वाइट हाउसबाट ‘फरक दृष्टिकोणको माग’ गर्न बाध्य पार्न सक्ने बताएका छन् ।

सिएनएनसँगको प्राइमटाइम अन्तर्वार्तामा पेन्सले विभिन्न विषयहरूमा छलफल गरेर सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवनमा आक्रमण गरेको आरोपमा अभियोजन गरिएका लगभग सबै दङ्गाकारीलाई माफी दिएकोमा आफ्ना पूर्व बोस ट्रम्पको आलोचना गरे ।

आफ्नो दोस्रो कार्यकालमा डोनाल्ड ट्रम्पले अन्य देशहरूले ‘अनुचित’ अभ्यासहरू अपनाएको र वासिङ्टनले हरेक देशसँग व्यापार सन्तुलन हासिल गर्न आवश्यक रहेको दाबी गर्दै लगभग सबै अमेरिकी व्यापारिक साझेदारहरूमाथि व्यापक भन्सार शुल्क लगाएका छन् ।

पेन्सले आफ्नो पहिलो कार्यकालमा ट्रम्पका लागि उपराष्ट्रपतिको रूपमा सेवा गरे तर विशेष गरी सन् २०२० को चुनावमा धाँधली भएको ट्रम्पको दाबीलाई लिएर रिपब्लिकन अर्बपतिसँग मतभेद राखेका थिए ।

पेन्सले ट्रम्पको भन्सार नीतिहरू ‘अनिवार्य रूपमा नयाँ औद्योगिक नीति हो जसले मुद्रास्फीति निम्त्याउँछ, जसले उपभोक्ताहरूलाई हानि पुर्‍याउँछ र अन्ततः अमेरिकी अर्थतन्त्रलाई हानि पुर्‍याउँछ’ भन्ने ‘चिन्ता’ भएको बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शक्ति मात्र बुझ्नुहुन्छ’ भन्दै पूर्व उपराष्ट्रपति पेन्स रुस–युक्रेन युद्धमा ट्रम्पसँग असहमत देखिए ।

“यदि पछिल्ला तीन वर्षले हामीलाई केही सिकाउँछ भने भ्लादिमिर पुटिन शान्ति चाहनुहुन्न, उहाँ युक्रेन चाहनुहुन्छ”, उनले भने ।

ट्रम्प प्रशासनले युद्धमा युद्धविराम सुरक्षित गर्ने प्रयासको नेतृत्व गरेको छ । अमेरिकी अधिकारीहरूले प्राय: द्वन्द्वमा मस्कोको अनुरूप अमेरिकी स्थितिहरू परिवर्तन गरेको देखिन्छ ।

तथापि ट्रम्पले वार्तामा भएको गतिरोधबारे पुटिनप्रति बढ्दो अधैर्य व्यक्त गरेका छन् । अधिकारीहरूले वासिङ्टनले यदि चाँडै ठोस परिणामहरू नआए प्रक्रियाबाट बाहिरिने संकेत दिएका छन् ।

ट्रम्पलाई जो बाइडेनसँग हारेको चुनावी परिणामको प्रमाणीकरण रोक्नका लागि अमेरिकी विधायी शक्तिको केन्द्रमा आक्रमण गरेका संसद् भवनका दङ्गाकारीहरूलाई माफी दिएकामा पेन्सले निराशा व्यक्त गरे ।

“राष्ट्रपति ट्रम्पले त्यस दिन कानून प्रवर्तन अधिकारीहरू विरुद्ध हिंसामा संलग्न मानिसहरूलाई क्षमा गरेको देखेर म निकै निराश थिएँ”, पेन्सले भने, “राष्ट्रपतिलाई संविधानअन्तर्गत माफी दिने हरेक अधिकार छ, तर त्यस क्षणमा, मैले यसले गलत सन्देश पठाएको महसुस गरेँ ।”

ट्रम्पका समर्थकहरूले बाइडेनको विजय प्रमाणीकरणमा पेन्सको सहभागितालाई विश्वासघात मानेका थिए र रिपब्लिकनका लागि आयोजित र्‍यालीहरूमा “माइक पेन्सलाई झुण्ड्याऊ!“ भन्ने नाराहरू सामान्य भएका थिए।

तथापि पेन्सले ‘अन्तमा ती दुर्भाग्यपूर्ण दिनहरू नभएसम्म हामीबीच कहिल्यै अन्तरक्रिया भएको थिएन’ भन्दै पेन्सले आफू अझै पनि ‘ट्रम्प–पेन्स प्रशासनको रेकर्डमा गर्व’ गर्ने बताए ।

संयुक्त राष्ट्रसङ्घद्वारा विकासमा ‘अस्थिर’ मन्दीको चेतावनी

संयुक्त राष्ट्रसङ्घ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायतामा नाटकीय रूपमा कटौती गर्नुभन्दा धेरै अघि नै विश्वव्यापी महामारीपछिको पुनरुत्थान शक्ति गुमाउन थालेपछि, मानवताले सन् २०२४ मा विकासमा अप्रत्याशित र ‘अस्थिर’ मन्दी दर्ता गरेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिएको छ ।

जीवनस्तर, स्वास्थ्य र शिक्षाको मापन गर्ने संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडिआई) अनुसार सन् २०२३ सम्ममा विश्व कोभिड–१९ महामारीको आघातबाट बाहिर आएको थियो ।

तर मङ्गलबार जारी गरिएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को वार्षिक प्रतिवेदनअनुसार त्यो पुनरुत्थानले गति गुमाउँदै गरेको देखिन्छ ।

“यदि त्यो ‘अस्थिर’ मन्दी नयाँ सामान्य बन्यो भने सन् २०३० सम्ममा मानव विकासको स्तर हासिल गर्ने आशा दशकौँसम्म तल झर्न सक्छ जसले हाम्रो विश्वलाई कम सुरक्षित, बढी विभाजित र आर्थिक र पारिस्थितिक आघातको जोखिममा पार्न सक्छ”, युएनडिपीका प्रमुख अचिम स्टेनरले चेतावनी दिए ।

हालै केही देशले घोषणा गरेको अन्तर्राष्ट्रिय सहायतामा गम्भीर कटौती – विशेष गरी संयुक्त राज्य अमेरिकामा, जहाँ ट्रम्पले कार्यक्रमहरू कटौती गरेका छन् र मुलुकको मुख्य विदेशी विकास शाखा युएसएआइडी (युएसएड) लाई विघटन गरेका छन्, यस समस्यालाई अझ बढाउने स्टेनरले एएफपीलाई एक अन्तर्वार्तामा बताए ।

“यदि धनी देशहरूले विकासका लागि कोष दिन रोके भने, यसले अन्ततः अर्थतन्त्र, समाजलाई असर पार्नेछ र मलाई लाग्छ यसले मानव विकास सूचकाङ्क, कम आयु, घट्दो आय, थप द्वन्द्वको रेखामा एक वा दुई वर्ष तल पनि दर्ता गर्नेछ”, उनले भने ।

युएनडिपी विशेषज्ञहरू अझै सन् २०२४ मा देखिएको मन्दीको अन्तर्निहित कारणहरूबारे निश्चित छैनन् ।

तर उनीहरूले कम आयुमा प्रगतिको कमीलाई एक प्रमुख कारक पहिचान गरेका छन्, जुन कोभिडको दुष्प्रभावसँग वा विश्वभर बढ्दै गएका युद्धहरूसँग जोडिएको हुन सक्छ ।

त्यहाँ आशाको सम्भावित झलक छः आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० ले विकास सुरु गर्ने अवस्था सिर्जना गर्न सक्ने युएनडिपीले सुझाव दिएको छ ।

“एआई व्यक्तिगत अर्थतन्त्रको विकास गर्न सम्भवतः सबैभन्दा ठूलो सम्भावित केन्द्रविन्दु हो, तर गरिब मानिसहरू, धनी मानिसहरू पनि फरक मार्गमा छन् । यसले हाम्रो जीवनको लगभग हरेक पक्षलाई परिवर्तन गर्नेछ”, स्टेनरले भने ।

यो मानिसहरूले कसरी प्रविधि प्रयोग गर्छन् भन्ने कुरामा निर्भर गर्ने प्रतिवेदनले जोड दिएको छ ।

प्रतिवेदनअनुसार जोखिमहरू छन्, गरीब देशहरूमा एआईको पहुँच धनी देशहरूमा जस्तो छैन र सांस्कृतिक पूर्वाग्रहले उपकरणहरू विकसित गर्ने तरिकालाई प्रभाव पार्न सक्छ ।

“तर हामी त्यो जोखिम कम गर्नाका लागि डिजाइन गर्न सक्छौँ”, उदाहरणका लागि चिकित्सा अनुसन्धानका लागि एआई प्रयोग गर्न बाधा हुनु हुँदैन भन्दै स्टेनरले भने ।

“भविष्य हाम्रो हातमा छ”, युएनडिपी प्रतिवेदनले भन्यो, “प्रविधि मानिसहरूको बारेमा हो, केवल वस्तुहरू मात्र होइन । आविष्कारको चमक–दमकभित्र महत्त्वपूर्ण छनोटहरू लुकेका छन्, थोरै वा धेरैले, जसको परिणामहरू पुस्तौँसम्म प्रतिध्वनित हुनेछन् ।” 

राजनीतिक प्रतिशोधको क्रम चलिरहे हेरेर मात्र नबस्ने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार राजनीतिक प्रतिशोध साँध्ने काममा लागेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद मनिष झाले सरकारले राजनीतिक प्रतिशोध साँध्नका लागि नेताहरूलाई पक्राउ गर्ने र बयान लिन थालेको भन्दै आपत्ति जनाएका हुन् ।

अख्तियारले पतञ्जली योगपीठको जग्गा हदबन्दी फुकुवा प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग केही दिनअघि बयान लिएको थियो । सांसद झाले अध्यक्ष नेपालसँग यसरी बयान लिइनुपर्ने कुरा राजनीतिक प्रतिशोध भएको बताए ।

उनले भने, ‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको, हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौं। हाम्रो पार्टी सभापतिप्रति प्रतिसोध साँधियो, हालसालै रेशम चौधरीप्रति भयो। माधवकुमार नेपालको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौं। अब के सीके राउतप्रति आक्रमण हुन्छ कि ?’

उनले यो सबै कुरालाई पार्टीले राजनीतिक प्रतिशोधको क्रमको रूपमा हेरिराखेको बताए । उनले अहिले राजनीतिक प्रतिशोधको क्रम चलिरहेको भन्दै त्यसलाई हेरेर मात्र सधैं चुप लागेर बस्न नसक्ने चेतावनी दिए ।

सांसद झाले जानकी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आपत्ति जनाए ।

रेशम पक्राउको छानबिन गर्न सांसद श्रेष्ठको माग

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारको जवाफ माग गरेकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले घटनाको गहिरो अनुसन्धान गर्न माग गरेकी हुन् । उनले यो घटनाले संघीयता र समावेशीतामा चोट लागेको बताइन् ।

उनले आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भन्ने सुनिश्चितताको मागसमेत गरेकी छन् । उनले भनिन्, ‘सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु– यो घटनाको गहिरो अध्ययन होस् । वैशाख १७ गते भएको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्। रेशम चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफ दिइयोस्।’

उनले लोकतन्त्रप्रति विश्वास कायम रहने अवस्था बनाउन आग्रह गरिन् । उनले भनिन्, ‘लोकतन्त्रप्रति हाम्रो विश्वास कायम रहोस् । र, सत्यप्रति सरकारको जवाफ नटुटोस् ।’

वैशाख १७ गते सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका कर्मचारी महिमानसिंह विष्टको अनधिकृत पत्रका आधारमा रेशम चौधरी पक्राउ परी पाँच घन्टा डिल्लीबजार कारागारमा रहेर रिहा भएका थिए । सर्वोच्चका कर्मचारी विष्टलाई प्रहरीले अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ।

तोलामा एकैदिन ५३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५ हजार ३ सयले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी मूल्य पनि बढेको छ । सोमबार १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १ हजार ९ सय ६५ रुपैया कायम भएको महासंघले जनाएको छ ।

प्राधिकरणको श्वेतपत्रबारे महालेखालाई स्पष्ट पार्न सुमनाको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्युत प्राधिकरणले जारी गरेको श्वेतपत्र बारे महालेखापरिक्षकको कार्यालयले स्पष्ट पार्नुपर्ने बताएकी छन् ।

मंगलबार सामाजिक संजालमार्फत सांसद श्रेष्ठले प्राधिकरणको श्वेतपत्रमा कुलमान घिसिङले दावी गरे जस्तो नाफामा हैन घाटामा छ भन्ने भाष्य स्थापित गर्न खोजिए जस्तो देखिएको उल्लेख गर्दै सरकारी संस्थान भएकोले प्राधिकरणको वित्तीय अवस्थाको लेखाजोखा महालेखापरिक्षक कार्यालयले गर्ने र यस बारेमा महालेखाले प्रष्टीकरण दिनुपर्ने उल्लेख गरेकी हुन् ।

उनले भनेकी छन्, ‘सरकारी संस्थान भएकोले प्राधिकरणको वितीय अवस्थाको लेखाजोखा हरेक साल महालेखापरीक्षकको कार्यालयले गर्छ । कार्यकारीले मनपरी तथ्याङ्क राखेको भए महालेखाले सच्याउँथ्यो होला । अहिले आएर सबै गलत भन्नु यसैको लागि बनेको संवैधानिक निकाय महालेखाको विश्वसनीयतामा प्रश्न उठाउनु हो । यो नितान्त प्राविधिक विषय भएकोले महालेखाले आममानिसले समेत बुझ्ने गरेर प्रष्टिकरण दिन्छ भन्ने आशा लिएकी छु । संसदको सार्वजनिक लेखा समितिले पनि यो विषयमा खोज गरोस् । नेपाल विद्युत प्राधिकरण कमै मात्र सरकारी संस्थामध्ये एक हो जसको कामबाट आमजनता सन्तुष्ट छन्, यसमा निवर्तमान कार्यकारी कुलमानजी, उहाँ अघिका कार्यकारी र सबै कर्मचारी सबैको महत्वपूर्ण योगदान छ । उर्जामन्त्रीले कुलमानजीको योगदानको अनादर गरेर सार्वजनिक वक्तव्य दिइरहनु हुन्छ, यो श्वेतपत्र पनि त्यसैको निरन्तरता मात्र होइन भन्ने आशा लिएकी छु ।’ केही दिनअघि प्राधिकरणले श्वेतपत्र जारी प्राधिकरण घाटामा रहेको बताएको थियो ।

फिल्म ‘रंगी’ लण्डनमा पनि प्रदर्शन हुने

काठमाडैं । नेपाली फिल्म ‘रंगी’ लण्डनमा पनि प्रदर्शन हुने भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्म मे ९ तारिखमा लण्डनका २७ वटा हलबाट प्रदर्शनमा आउन लागेको हो ।

यस फिल्मलाई महारानी प्रोडक्सनको विक्रम जोशीले प्रदर्शनका लागि जिम्मा लिएका छन् । फिल्मको लण्डनमा प्रदर्शनका लागि सेन्सर पास भइसकेको जोशीले बताए ।

उनका अनुसार यो फिल्मले लण्डनमा प्रदर्शनका लागि सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ। यसअघि यो फिल्म अष्ट्रेलियाको विभिन्न शहरमा प्रदर्शनमा आएको थियो । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म बाबुछोरीबीचको कथामा आधारित रहेको छ।

युक्रेनको ड्रोन आक्रमणपछि मस्कोका चार प्रमुख विमानस्थल बन्द

किएभ । युक्रेनले लगातार दोस्रो रात मस्कोलाई लक्षित गर्दै रातभर ड्रोन आक्रमण गरेको छ । रुसको उड्डयन निगरानी गर्ने संस्था रोसाभियाट्सियाले सुरक्षा सुनिश्चित गर्न राजधानीका चारै प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको छ ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा कम्तिमा १९ वटा युक्रेनी ड्रोनहरू विभिन्न दिशाबाट शहर पुग्नु अघि नै नष्ट गरिएको उल्लेख गरेका छन् ।

उनले नष्ट गरिएका ड्रोनको केही भग्नावशेष शहरतिर जाने प्रमुख राजमार्गहरू मध्ये एकमा खसेको र कुनै हताहत नभएको बताएका छन् ।

युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन । तर युक्रेनी शहर खार्किभका मेयरले रुसले रातारात शहर र किभ क्षेत्रमा ड्रोन आक्रमण गरेको बताएका छन् ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

पाल्पा । घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार छन् । बिहान उज्यालो भएदेखि साँझ अबेरसम्म घार वरिपरि नै बस्न मन पराउने जयनारायण न्यौपाने अहिले भने घार देख्दा विक्षिप्त छन् ।

मौरीघार उनलाई आम्दानीको स्रोतमात्र नभई दिन बिताउने माध्यम बनेको थियो । घारसँग रमाउँदै दिन कटाउने उनलाई घार देख्दा मन भारी भएर आउँछ । रामपुर नगरपालिका–६ किसानटोलका किसान न्यौपाने घारमा रहेका मौरी मरेर सखाप भएपछि उनी चिन्तित छन् ।

एक्कासी मौरी मरेपछि उनलाई व्यवसाय निल्नु न ओकल्नुजस्तै बनेको छ । बगैँचामा मौरीसँगै भुलेर दिन कटाउन पाउँदा समय बितेको पत्तो हुँदैनथ्यो । यसरी नै मौरीको रेखदेख गरेर समय बिताउने गरे पनि हिजोआज भने मौरी बगैँचामा पस्न पटक्कै मन छैन । मौरीका रित्ता घार देख्दा उनको मन विक्षिप्त बनेको छ ।

“बगैँचाभरि मौरीको हेरचाह गरेर समयको गएको पत्तो हुँदैनथ्यो, अहिले मौरी सबै मासिएपछि घरमा दिन कटाउन गाह्रो भएको छ”, उनले भने, “हिजोका दिन खाना खाने समयबाहेक बगैँचामा नै बसेर दिन बिताउँथे, घरमा कोही आफन्त, साथीभाइ, इष्टमित्र आए पनि बगैँचातिर डुलाउँथे, अहिले बगैँचाभित्र पस्न पनि मन छैन, मौरीघार रित्ता देख्दा मन खिन्न भएर आउँछ ।”

छिमेकीले बालीनालीमा विषादी छरेका कारण फार्ममा भएका मौरी मरेर करिब रु सात लाख बराबरको नोक्सानी व्यहोर्नुपरेको उनी बताउछन् । विषादीले ८५ गोलाघारमा तयार गरिएको मौरी सबै क्षति हुन पुगेको उनले सुनाए । विसं २०५५ देखि ‘न्यौपाने मौरी उद्योग’ स्थापना गरेर मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपानेले पहिलोपटक ठूलो क्षति व्यहोर्नुपरेको जनाए ।

यस वर्ष उनी ६० घार गोलासहित मौरी बिक्री गर्ने तयारीमा थिए । विभिन्न ठाउँबाट मौरी तयार हुनुअगावै माग आइसकेको थियो । तर पठाउने तयारी गरिरहेको अवस्थामा एक्कासी मौरी सबै नष्ट हुनपुगेको छ । “छिमेकीले खेतबारीमा विषादी छर्कँदा मौरीमा ठूलो क्षति पुगेको छ, व्यवसायका क्रममा पहिलोपटक यस्तो क्षति भोग्नुपरेको छ, घारमा राखिएका मौरी मरेपछि बगैँचामा फर्कन मन छैन, रित्ता घार देखेर मन खिन्न बनेको छ”, उनले भने ।

बगैँचामा पसेर मौरीको हेरचाह, स्याहार गरेर उनले आफ्नो समय बिताए । मौरी नै जीवन जिउने साहारा थियो । बुढेसकालको साहारा र नयाँ पुस्तालाई मौरीपालन व्यवसायबारे जानकारी दिन आफ्नै घरमा व्यवसाय चलाए । उनी उमेरले करिब आठ दशक भए पनि फूर्तिलो बनेर मौरीसँग रमाए । मौरीसँग उनको एक किसिमको गहिरो मायाप्रेम नै बसेको छ । गत फागुनको पहिलो हप्ताबाट विषादीका कारण मौरी मर्न थालेको उनले बताए ।

लामो समयदेखि यस व्यवसाय सञ्चालन गर्दै आएका न्यौपानेले जीवनकालमै यस्तो महामारीका रूपमा क्षति भोग्नुपरेको सुनाए । आफ्ना अभिभावक गुमाउँदाभन्दा बढी पीडावोध भएको दुःखेसो उनले व्यक्त गरे ।

“मौरीको प्रागसेनले बाली बिरुवालाई राम्रो बनाउँछ, चरनका लागि मौरी बिहान ३ः३० बजे नै निस्केर ९ः०० बजे घारमा आएर बस्छन्, बिहानको समयमा बालीबिरुवामा विषादी छर्कँदालगत्तै चर्न जाने भएकाले रस सेवनले मौरी मासिएको छ, साँझ ५ः०० बजेपछि विषादी प्रयोग गरेको भए कम क्षति हुन्थ्यो”, उनले भने ।

मह बिक्रीबाट न्यौपानेले वार्षिक रु पाँच लाखदेखि छ लाखसम्म आम्दानी गर्दै आएका छन् भने सरदरमा ८० गोलासहितको घार बिक्री गर्दै आएको उनी बताउछन्। गोलासहित एक घारको रु नौ हजार, खाली घारलाई रु पाँच हजारमा बिक्री भइरहेको छ । गोलासहित बिक्री गर्दा व्यवसायीलाई फाइदा हुने गरेको उनको अनुभव छ ।

पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, गुल्मी, झापालगायत विभिन्न जिल्लामा यहाँबाट मौरी तथा घार पठाउने गरिएको छ । उद्योगमा नै मौरीघार तयार पारिने भएको हुँदा विभिन्न जिल्लाबाट घार खरिद गर्न आउने गरेका छन् ।

मौरीलाई जोगाउन स्थानीय निकायबाट किसानलाई चेतनामूलक कार्यक्रम ल्याउन उनको माग छ । मौरीपालन क्षेत्र अध्ययन गरेर कुन समयमा विषादी छर्कँदा उपयुक्त हुन्छ, त्यसबारेमा किसानलाई सुसूचित गराउन पूर्वजानकारी दिइयो भने किसानले पनि उपयुक्त समयमा विषादी प्रयोग गर्ने उनको भनाइ छ ।

बजेटका विषयमा अर्थमन्त्री पौडेल र प्रचण्डबीच छलफल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

प्रचण्डलाई भेट्न अर्थमन्त्री पौडेल मंगलबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । अर्थमन्त्री पौडेलले प्रचण्डसँग आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्श गरेका हुन् ।

बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेल पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श लिइरहेका छन् ।

सोमबार अर्थमन्त्री पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग बजेटबारे परामर्श लिएका थिए । त्यसक्रममा देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका थिए ।

धनकुटामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

धनकुटा । धनकुटामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । सोमबार धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका–६ औद्योगिकग्राम गोलाईनजिक दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएका भोजपुरको षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भूजेलको पनि धनकुटा अस्पतालमा उपचारका क्रममा सोमबार नै मृत्यु भएको थियो ।

ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरूद्ध १ अर्ब २० करोड असुल गर्न माग गर्दै मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी कसूरमा ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

सोमबार विभागले १ अर्ब २० करोड असुल उपर गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ नयाँ बानेश्वरस्थित ठेका पट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल वीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैकमार्फत नगरेको अभियोगपत्रमा उल्लेख छ ।

क्रिकेटर आदिल अन्सारीमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले स्पट फिक्सिङ प्रकरणमा मुछिएका नेपाली क्रिकेटर आदिल अन्सारीमाथिको निलम्बन फुकुवा गरेको छ ।

दुई वर्षअघि आयोजित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० का दौरान उनी स्पट फिक्सिङमा मुछिएका थिए ।

यसअघि क्यानले २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म आयोजना भएको नेपाल टी–२० का दौरान स्पट फिक्सिङमा मुछिएपछि तत्कालीन राष्ट्रिय टिमका सदस्यसमेत रहेका अन्सारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘क्यान इन्टिग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी उनको प्रतिबन्ध फुकुवा गर्ने निर्णयसहितको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने गरी २१ गतेदेखि मोहम्मद आदिल आलमको प्रतिबन्ध फुकुवा गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

स्पट फिक्सिङ प्रकरणमा आदिलसँगै नेपाली टिमकै पूर्वसदस्य महबुब आलम, नितेश गुप्ता, नविन कँडेल र रवि माझीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । तर पाँचैजनालाई जिल्ला अदालत काठमाडौंले दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो ।

आवासीय चिकित्सकलाई तत्काल आठौँ तहको भत्ता दिनूः शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको १६ बैठकले गरेको निर्णय अनुसार आठौँ तह बराबरको निर्वाह भत्ता दिन निजी मेडिकल कलेजहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी आयोगको गत माघ २५ गते बसेको बैठकले गरेको निर्णय बमोजिम निर्वाह भत्ता दिन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिए सरह स्वास्थ्य सेवाको आठौं तह निर्वाह भत्ता उपलब्ध गराउन सम्बन्धित विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजलाई निर्देशन दिने भनेर प्रष्ट रूपले उल्लेख गरिएको छ। उक्त निर्णयअनुसार सरकारी स्वास्थ्य सेवाको आठौं तह सरह रकम सम्पूर्ण आवासीय चिकित्सकलाई तत्काल उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गर्दछौं ।’

चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न दिँदैनौंः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिइने बताएका छन् ।

जीपी कोइराला फाउन्डेसनले सोमबार काठमाडौँमा आयोजना गरेको नेपाल–चीन सम्बन्ध दर्साउने फोटो प्रदर्शनीमा सभापति देउवाले एक चीन नीति नेपालले लिएको भन्दै चीनविरुद्ध नेपालको भूमि प्रयोग नदिइने बताएका हुन् ।

उनले दुई मुलुकबीचको सांस्कृतिक आर्थिक, सामाजिक साझेदारी सदैव मजबुत रहेको बताए । पारस्परिक सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि नेपाल र चीन सहकार्य गर्दै आएको उनले बताए ।

नवलपरासीको केलादी खोलामा डुबेर दुई किशोरको मृत्यु

नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिका–३ केलादीमा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

सोमबार स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र भरतपुर–४ धर्मचोकका १६ वर्षीय शिशिर पन्त रहेका छन् ।

साथीहरूसँग जुक्तिखोलामा पौडी खेल्न गएका किशोर डुबेर बेपत्ता भएकामा प्रहरी टोलीले खोजी गर्दा दुवै जनाको शव फेला परेको हो ।

फेवातालमा फसेका आठ जनाको उद्दार

पोखरा । हावाहुरीका कारण पोखराको फेवातालमा फसेका ८ जनाको सशस्त्र प्रहरीले उद्दार गरेको छ ।

सोमबार दिउँसो अचानक हावाहुरी चल्दा स्ट्यान्ड अप प्याडल बोर्डबाट तालमा खसेका र अलपत्र परेका ८ जनाको उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २४ गण हेडक्वार्टर कालिका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिएका छन् ।

प्रहरीकाअनुसार ८ जनामध्ये ६ जना हावाहुरी चलेपछि प्याडल बोर्डमै सवार रहेको अवस्थामा तालको बीच भागमा अलपत्र परेका थिए ।

बाँकी २ जना चितवनका रेशम थापा र कास्कीका विजय सुनारको तालमा खसेको अवस्थामा उद्धार गरिएको थियो । सशस्त्र प्रहरी बल र नेपाल सेनाको टोली उद्धारमा खटिएको थियो ।

तस्बिरः सशस्त्र प्रहरी

यस्तो छ संसदमा प्रचण्डको सम्बोधनको पूर्णपाठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम यथार्थभन्दा टाढा भएको बताएका छन् ।

यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आज प्रतिनिधिसभामा धारणा राख्दै अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको आरोप लगाए ।

उनले भने, ‘नीति तथा कार्यक्रमले न त विगतको समीक्षा गरेको छ, न वर्तमान सङ्कटसँग जुध्न सक्ने योजना बोकेको देखिन्छ । यसले जनता र राष्ट्रका गहिरा आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको छ ।’

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको भाषा अमूर्त, औपचारिक र अनुप्रेरणाहीन रहेको भन्दै सत्तारूढ पक्षकै सांसदहरू मौन रहनु गम्भीर सङ्केत भएको बताए ।

अध्यक्ष दाहालले कृषि, जलस्रोत, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, सङ्घीयता र सामाजिक न्याय जस्ता राष्ट्रिय प्राथमिकता भएका विषयलाई पृष्ठपोषण गर्न असफल भएको टिप्पणी गरे । उनका अनुसार नीति तथा कार्यक्रमले न्याय, समानता र समावेशी लोकतन्त्रप्रति सरकारले कस्तो दृष्टिकोण राखेको छ भन्ने कुरा प्रष्ट पार्न सकेको छैन ।

उनले नीति तथा कार्यक्रममा व्यापक पुनःविचारको आवश्यकता रहेको उल्लेख गर्दै, जनमुखी, व्यावहारिक र उत्पादनमुखी कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरे । उनले सरकारलाई जनतासँग संवाद गर्न, यथार्थ बोध गर्न र दीर्घकालीन समाधानमा केन्द्रित हुन आग्रह गरे ।

प्रचण्डको सम्बोधनको पूर्णपाठ

सम्मानीय सभामुख महोदय,

सर्वप्रथम म राष्ट्रिय स्वाधिनता र संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति अफ्नो प्राण उत्सर्ग गर्ने महान सहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, बिभिन्न कालखण्डका क्रान्ति र आन्दोलनका वेपत्ता योद्धा, यातना पीडित र घाइते योद्दाहरुप्रति सम्मान व्यक्त गर्दछु।

आजको दिन विश्व सर्वाहारा वर्गका र माक्र्सवादका प्रर्वतक कार्लमाक्सको जन्म दिन पनि परेको हुनाले म दुनियाँले स्वीकार गरेको एउटा तथ्य एक हजार वर्ष यता माक्सको जस्तो विचार दिन कसैले सकेको छैन भनेर सबैले स्वीकारिएका महान् व्यक्तित्व माक्सप्रति पनि श्रद्धा व्यक्त गर्न चाहन्छु ।

सम्माननीय राष्ट्रपतिद्वारा वाचन गरिएको सरकारको नीति तथा कार्यक्रममाथि चर्चा गर्नुपूर्व म यसको प्रक्रियाका सम्बन्धमा केही कुरामा माननीय सदस्यहरुको ध्यानाकर्षण गर्न चाहान्छु । मैले यही सम्मानित संसदमा माननीय सांसदका मतहरुलाई पनि महत्व दिने र परम्परागत तरिकाले माननीय सांसदहरुले विचार राख्ने तर त्यो नीति तथा कार्यक्रममा परिर्माजन हुन नसक्ने यो अलोकतान्त्रिक तरिका तोड्नुपर्छ भन्ने सोचेर मैले गत साल अध्यादेश मार्फत नयाँ पहल गरेको थिए । मलाई लाग्छ माननीय सदस्यहरुलाई यो कुरा पक्कै पनि स्मरण होला ।

त्यतिबेला बजेट प्रस्तुतिको तीन महिना अगावै नीति तथा कार्यक्रमबारे नयाँ क्यालेण्डर जारी गरिएको थियो। यो लोकतान्त्रिक विधि लागु हुन सकेको भए सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधीहरुका सुझाव समावेश गर्न सहज हुन्थ्यो । माननीयहरुका सुझावहरु समेटिएर यो परिर्माजन हुन्थ्यो र बजेट निर्माणमा समेत त्यसले सकारात्मक भुमिका खेल्थ्यो । तर मलाई थाहा छ्रैन यो सरकारले गत सरकारको त्यो निर्णयलाई के आधारमा खारेज गर्यो र फेरि अहिले कर्मकाण्डीय र परम्परागत तरिकाले नै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

सायद सरकारलाई दुइ तिहाइको अहंकार होला । त्यसैले सरकारले आफ्नो चरित्र अनुसार नै गत वर्षको प्रावधानलाइ खारेज गर्यो । सरकारसँग संख्याको छ, जे गरेपनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन छ । त्यही भएर नीति तथा कार्यक्रम र बजेटका बारेमा संसदमा हुने छलफललाई फेरि परम्परागत नै बनाइयो। म प्रतिपक्षी दलको नेताको हैसियतले यसको आलोचना गर्न चाहान्छु र सांसदलाई फगत कुरा राख्ने तर त्यसको कुनै सुनुवाई नहुने थलोको रुपमा होइन । सरकारको नीति तथा कार्यक्रमा विचार राख्न पाउने र सांसदहरुले राखेका विचार आधारमा त्यसलाई परिमार्जन गर्ने लोकतान्त्रिक प्रक्रियाको पुर्नवहाली गरियोस् भनेर म सरकारसँग विशेष जोडकासाथ माग गर्न चाहान्छु

यही २०८२ बैशाख १९ गते सम्मानिय राष्ट्रपतिज्यूले आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा सत्तारुढ दलका सांसदहरुको बेन्चमा छाएको मौनताले नै नीति तथा कार्यक्रमबारे धेरै कुरा प्रतिबिम्बित गरिसकेको छ। यति मात्रै नभएर, नीति तथा कार्यक्रमको स्तुती र प्रशंसामा टेबल नबजाएको भन्दै आफ्नै सांसदहरुसँग सम्माननीय प्रधानमन्त्रीको दुखेसो र नीति तथा कार्यक्रमलाई समर्थनका लागि आफ्नै दलका सांसदहरुलाई निर्देशन दिनुपर्ने अवस्था पनि देखियो। सत्तासीन सांसदहरुमा नै नीति तथा कार्यक्रमप्रति आसा र उत्साह पैदा हुन सक्दैन भने आम जनताका लागि यसले सन्तुष्ट हुने ठाउँ कतै देखिन्न । छलफलमा नजाँदै देखिएका यी परिदृष्यहरुले यो नीति तथा कार्यक्रम कस्तो र कसका लागि आएछ भन्ने अनुमान लगाउन सकिन्छ ।

दुइतिहाइको दम्भ बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार अहिले आफैंभित्रबाट एक्लिएको अवस्थामा नीति तथा कार्यक्रम पनि मात्र परम्परा धान्न आएको छ। यसले अर्थतन्त्र सामु देखिएका जटिलता, जनस्तरमा चुलिएको असन्तोषलाइ सम्बोधन गर्न सकेको छैन। नीति तथा कार्यक्रमले राष्ट्रिय महत्वका महत्वपूर्ण पक्ष बिर्सेको छ। नीतिगत मार्गनिर्देशनका रुपमा नीति तथा कार्यक्रमको सुरुआतमा उल्लेख भएका ‘क देखि ट’ अन्तर्गतका बिषयहरुमा अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेका कृषि, पर्यटन, जलश्रोत, वनजस्ता क्षेत्रहरु तथा सामाजिक न्यायका मुद्दाहरु प्राथमिकतामा पर्न सकेका छैनन्।

सरकारको नीति तथा कार्यक्रमले सरकारको सोच र राष्ट्रको दिशा निर्देशित गर्दछ। सरकार के सोचिरहेको छ ? देशलाई कहाँ लैजान खोजिरहेको छ? राष्ट्रका सामु देखिएका समस्याहरुलाई कसरी हल गर्न खोजिएको छ ? सरकारको प्राथमिकता के हो ? र, त्यसका लागि कुन नीतिमार्फत के कस्ता कार्यक्रम अगाडि ल्याउन चाहन्छ भन्ने कुराको ऐना हो नीति तथा कार्यक्रम। तर विगत र वर्तमानको सामान्य समिक्षा नै नगरी, नेपाली समाजको धरातलीय यथार्थ बोध नै नगरी, व्यापक बहस र छलफल नै नगरी अमूर्त, अव्यवहारिक र औपचारिकता पुरा गर्न मात्र नीति तथा कार्यक्रम ल्याइएको छ । त्यसो त सरकारसँग जनताको कुरा सुन्ने अनि समाजका विभिन्न पक्षसँग संवाद गर्ने इच्छाशक्ति र अझ भनौं समय नै छैन । स्वार्थ समूह र विचौलियाहरुको लगाममा कुदिरहेको सरकारको ध्यान आलोचना गर्नेहरुलाइ थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साँध्ने अनि गठबन्धन निर्माणका सूत्राधारहरुको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै छ।

सभामुख महोदय

यतिखेरको मूल समस्या भनेको सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति शुद्धिकरण, राजस्व चुहावट, भ्रष्टाचार र कुशासन हो । नीति तथा कार्यक्रममा यस बिषयलाई कुनै महत्व दिइएको छैन । जबकि भ्रष्टाचार बढेको र कालो धन शुद्धिकरण गर्ने क्रम बढेको फाइनान्सियल एक्सन टास्कफोर्स ९एफएटिएफ० ले नेपाललाई ग्रेलिष्टमा राखेको अवस्था छ। देशलाई यथाशीघ्र उक्त लिष्टबाट बाहिर ल्याउने कार्यमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा यसलाई तपसीलको विषय बनाएर २ वर्ष पछिमात्र ग्रे लिष्टबाट हट्ने लक्ष्य राखिनुले सरकारको नियत र गैर जिम्मेवार चरित्र मात्र देखिएको छ।

म माननीय सांसदहरुलाइ के स्मरण गराउन चाहन्छु भने मेरो नेतृत्वको सरकारले ९एफएटिएफ०ले देखाएका विभिन्न क्षेत्रहरुमध्ये कानून, संगठनात्मक संरचना र प्रणाली निर्माण जस्ता टेक्निकल कम्लायन्स पूरा गरेर भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण कार्य विरुद्ध कार्यविधि नै बनाएर निर्मम ढंगले एक्सन लिन शुरु गरेको थियो ।

तस्करी, भ्रष्टाचार र राजस्व छली विरुद्धको कारवाही र सम्पत्ति जफत गर्ने कार्यले निरन्तरता पाएको भए देश सम्पत्ति शुद्धिकरणको ग्रेलिष्टमा नपर्ने संभावना अधिक थियो । तर भ्रष्टाचारीहरुलाई बचाउनकै लागि मध्यरातमा बनेको सरकारले भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरण विरुद्धको कारबाही रोक्यो ।

फलस्वरुप टेक्निकल कम्प्लायन्स पुरा गरे पनि सम्पत्ति शुद्धिकरण गर्नेमाथि कारबाही गर्न र सम्पत्ति जफत गर्न चुकेको भनेर ग्रेलिष्टमा समावेश हुनुपर्ने बिडम्बना देखा पर्यो।

अवैध कारोबार, राजस्व छली, भ्रष्टाचार, सरकारी सम्पत्तिको दोहन र अनियमिततामा संलग्नहरुलाई कारबाही गर्नसके मात्र देश सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टबाट निस्कन सक्दछ। म खबरदारी गर्न चाहन्छु, सरकारका काम र यो विषयलाइ नीतिगत प्राथमिकता देओस् नत्र देश ग्रे लिष्टबाट बाहिर निस्कनुको सट्टा कालो सूचिमा पर्ने खतरा बढ्ने छ।

मेरो नेतृत्वको सरकारले सुशासनका कैयन कीर्तिमान कायम गरेको स्मरणीय नै छ। राजनीतिक आग्रह पूर्वाग्रह नहेरी सम्झौतारहित किसिमले सुशासनका पक्षमा उभिएकै कारण त्यही सुशासनको डरले वर्तमान सरकार बनेको तथ्य आम जनताले सुरुमै महसुस गरेको कुरा हो। सुसानको यही डरले बनेको सरकारले गठनभएलगत्तै भ्रष्टाचारी जोगाउन सत्ताको दोहन कसरी गर्यो भन्ने कुरा जगजाहेर छ। जनतामा चरम निरासा छाउनुको यो एउटा प्रमुख कारण बन्यो । सरकार गठनसँगै एकपछि अर्को फाइल बन्द भए । त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिनाको त फाइल नै गायब पारियो।

मेरिटोक्रेसी ध्वस्त बनाइयो । लिष्टको चाङ पढ्न अहिले सम्भव छैन। म फेरी पनि आग्रह गर्न चाहन्छु, सरकारले दूधको साक्षी बिरालो भनेझैं दुनियाँ हँसाउने गरी कथित सुशासन आयोग गठन गरेर होइन, आफ्ना कामद्वारा भ्रष्टाचार विरोधी भएको र सुशासनका पक्षमा रहको प्रमाणित गरोस् । २०४७ पछि सार्वजनिक जिम्मेवारीमा रहेका सबै व्यक्तिहरुको सम्पत्ति छानवीन गर्न उच्चस्तरिय आयोग निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरियोस् । अहिलेसम्म चर्चामा रहेका सबै काण्डहरुको न्यायिक छानबीन गर्ने विषय समेटियोस् । होइन भने भ्रष्टाचार र कुशासनको पोखरीमा नुहाएर सुशासनको कुरा गर्नु बादशाहको नयाँ लुगा भन्दा किमार्थ फरक हुन सक्दैन।

सभामुख महोदय,

नीति तथा कार्यक्रममा विकास प्रक्रियालाई बस्तुसम्मत तवरले निर्देशित गर्न ठोस कार्ययोजना ल्याउनुको सट्टा विगतमा शुरु गरिएका राम्रा कार्यहरुलाई पनि खारेज गर्न खोजिनु आपत्तीजनक छ। यसअघि देशको द्रुत र सन्तुलित विकासका लागि सघन अध्ययन र छलफलबाट अघि सारिएका राष्ट्रिय गौरवका आयोजनाहरु कार्यान्वयन गर्ने कार्यलाई प्राथमिकता दिइएको छैन ।

अचम्म त के छ भने सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजनाको नाम समेत उल्लेख गरिएको छैन। पूर्वपश्चिम र उत्तरदक्षिण सडकमार्ग, रेलमार्ग, सिँचाइ आयोजना, जलविद्युतका कैयन माइलस्टोन परियोजना, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता देश विकासको आधार तयार गर्ने आयोजनाहरुलाई पन्छ्याएर भ्यू टावर र पानी जहाजका आयोजनालाइ प्राथमिकता दिएर कस्तो समृद्धि हासिल गर्न खोजेको हो सरकारले? राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी नयाँ कार्ययोजना ल्याउन के ले रोकेको हो दुई तिहाईको सरकारलाई ? कतै यी आयोजनाहरु सम्पन्न भएमा माओवादी लगायत विपक्षी पार्टीहरुले जस पाउँछन् भन्ने संकीर्णता र पूर्वाग्रहले त काम गरेन?

सभामुख महोदय,

कृषि क्षेत्रमा हाम्रो उत्पादन प्रणाली, उत्पादकत्व क्षमता, अन्तर्राष्ट्रिय व्यापारमा बस्तु प्रतिष्पर्धाको अवस्थालगायतका कतिपय पक्षहरु केलाउँदा अबको बाटो समुदायमा आधारित ग्रामिण कृषि अर्थतन्त्रको विकास समृद्धिका लागि अनिवार्य शर्त हो । यसका लागि कृषिमा आधारित उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमहरु सघनरुपमा सञ्चालन गर्ने, बजारिकण र यान्त्रिकीकरण मार्फत समुदायमा आधारित उत्पादन प्रणालीको विकास गर्ने, उत्पादनका साधन तथा बजारको सुनिश्चितता राज्यबाट गर्दै कृषि पेशालाई सम्मानजनक पेशाका रुपमा विकास गर्नु जरुरी हुन्छ । भू–उत्पादकत्वको वैज्ञानिक मापनका आधारमा कृषि उपज विशेष उत्पादन क्षेत्र निर्धारण गरि लगानी आकर्षित गर्नुपर्दछ।

तर अहिले प्रस्तुत नीति तथा कार्यक्रमले कृषि उत्पादनको नेपाली विशिष्टतालाई सम्बोधन गर्न सकेको छैन । गत वर्ष कृषि क्षेत्रका सम्भावनाहरुलाई विशेषरुपमा सम्बोधन गर्न नीति कार्यक्रममार्फत ‘कृषिमा लगानी दशक अभियान’ घोषणा गरिएको थियो। तर सरकारले उक्त अभियानको महत्व र गाम्भीर्यता नै बुझ्न सकेन र अहिले नीति तथा कार्यक्रममा उक्त विषय समेटिएन। यसैगरी गत वर्ष प्रस्तावित उत्पादन र रोजगारका लागि साझेदारी कार्यक्रम, किसान सूचिकरण र कृषि सेवा सहुलियतलाई किसान परिचयपत्रसँग आवद्धता गर्ने कार्यक्रम, जडिबुटी र प्राकृतिक श्रोतमा आधारित हिमाल समृद्दि उद्यमशीलता कार्यक्रमलाई किन अघि बढाइएन ?

प्रत्येक प्रदेशमा १ हजार गाईभैसी पालन हुने गरी श्रोत केन्द्र विकासको कार्यक्रम किन गायब पारियो ? कृषि क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न वडास्तरमा नै नमूना फार्म स्थापनाको कार्यक्रम किन काटियो? एकीकृत कर्णाली सिचाईं विशेष कार्यक्रमसँग सरकारको के को आपत्ती हो ? र यसलाई नीति तथा कार्यक्रममा समेटिएन? कृषि क्षेत्रमा नयाँ ढंगले, नयाँ सोँच र भिजनका साथ नीति नबनाउने हो भने कसरी सम्भव छ उत्पादकत्व वृद्धि ?

सरकारले जनतासँग प्रत्यक्ष जोडिएका, समुदायलाई प्रत्यक्ष लाभ दिने र नेपालको समृद्धिका लागि अति महत्वपूर्ण कार्यक्रममाथि कैंची चलाएको छ । तर विचौलियाहरुका लागि भने कानुनीरुपमा नै ढोका खुला गरेको छ। उदारवादी कृषि उत्पादन प्रणालीबाट आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण गर्न सकिन्न भन्ने तथ्यलाई उपेक्षा गर्दै सरकारले भूमाफिया र विचौलियाहरुलाई लाभ हुने गरी नीतिगत प्रस्ताव गरेको छ। स्थानीय तहकै मार्फत हुनसक्ने प्रक्रियालाई किन केन्द्रीकृत संरचना चाहियो ?

सभामुख महोदय

अत्यन्तै अप्राकृतिक, अपारदर्शी र असंवैधानिकरुपमा यो गठबन्धनको सरकार बनेपछि सम्मानित संसदमा मैले भनेको थिएँ, ‘मेरो अनुरोध छ, मसँग बदला लिने निहुँमा दलित, महिला, श्रमिक समुदायका पक्षमा, घाइते अपांगका पक्षमा मेरो नेतृत्वको सरकारबाट बजेटमार्फत अघि सारिएका कार्यक्रमहरु नच्यातियोस्।’ बिडम्बनाको कुरा, तपाईहरुले यो दश महिनामा ती सबै कार्यक्रम त च्यात्नुभो–च्यात्नुभो, अहिले नीति तथा कार्यक्रमसम्म आइपुग्दा तिनीहरुको शीर्षक नै ‘डिलिट’ गरिदिनुभयो । नीति तथा कार्यक्रममार्फत प्रचण्ड र माओवादीसँगको रिस तपाईहरुले कोसँग पोख्नुभयो?

दलितसँग, थारुसँग, महिलासँग । मुस्लिम, किसान, मजदूर, उपेक्षित भूगोल र क्षेत्रसँग । र, हटाइदिनुभयो उनीहरुको पक्षमा मेरो नेतृत्वले अघि बढाएका सबै कार्यक्रमहरु । तपाइहरुको सुशासन र सामाजिक न्यायको परिभाषामा परेनन् उनीहरु।

सरकार बनेपछि दलित समुदायको संवैधानिक अधिकार प्रत्याभूति गर्न ऐन बनाउनेतिर तपाईहरुको दृष्टि गएन । तपाईको दुई तिहाईको चश्माले अघिल्लो सरकारले व्यापक छलफलपछि अघि सारेको अधिकारसम्पन्न दलित विकास प्राधिकरण देखेन । गत वर्ष नीति कार्यक्रममा रहेको दलित प्राधिकरणका लागि विधेयकको तयारी त भएन नै, अहिले आएर त नीति कार्यक्रमबाटै त्यसलाई हटाउनु भयो । त्यसो त विचौलिया र दलाल पूँजिपतिहरुको सेवामा तल्लीन सरकारका लागि दलित त को हुन र ? हिजो पनि पीँधमा मिल्काउनु भएकै हो, आज पनि त्यही गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले बारम्बार सुखी नेपाली, समृद्ध नेपालको नारा भन्नुहुन्छ । म सोध्न चाहन्छु, प्रधानमन्त्री ज्यू, सरकारको नीति तथा कार्यक्रमबाटै दलितलाई बहिस्कार गरेर कुन नेपालीलाई खुसी बनाउनु खोज्नुभएको हो ? छोरीहरुका लागि कार्यक्रम हटाएर कस्तो समानता खोज्नुभएको हो? कसको समृद्धिका लागि हो नीति कार्यक्रम?

हेक्का रहोस्, उत्पीडित वर्ग र समुदायलाई सुखी बनाउन नै हामी बलिदानीपूर्ण संघर्षमा होमिएका हौं । अहिलेको परिवर्तन यिनै दलित, महिला, आदिवासी जनजित, मजदूर, किसान, थारु, मधेसी, मुस्लिमलगायतका उपेक्षित, उत्पीडित समुदायको संघर्षको प्रतिफल हो। संविधानका हरेक पानामा तिनै सीमान्त र उत्पीडित वर्गको रगत र पसिना छ। समानता, समावेशीता र सन्तुलित विकास नै हाम्रो संविधानको सुन्दर पक्ष हो । अनि उनीहरुका अधिकार संस्थागत गर्न नीति ल्याउनु पर्दैन? चाहिन्न कार्यक्रम? भएका कार्यक्रममा पनि कैची चलाएर, सीमान्त वर्गको आत्मसम्मान कुल्चेर, उनीहरुको जीवनमा परिवर्तन नल्याइ कस्तो र कसको समृद्धि खोज्नुभएको हो प्रधानमन्त्रीज्यू?

अहिले लाखौं नेपालीहरु विदेशमा छन् । आर्थिक परिसूचकको रिपोर्ट प्रस्तुत गर्दा उनीहरुले नै पठाएको रेमिट्यान्सको वृद्धिदरमा देखाउँछौं हामी । अहिले पनि सरकारले रेमिट्यान्स बढेको भनेर सगर्व प्रगति बाँडेको छ। तर आँसु, रगत र पसीना बगाएर रेमिट्यान्स पठाउने विदेशमा रहेका नेपालीहरुका लागि राज्यको केही दायित्व हुँदैन? उनीहरुले पठाएको पैसा या नेपाल फर्किएपछि उनीहरुको ज्ञान र सीपको उपयोग गर्नेतर्फ सरकारले सोच्नुपर्दैन? सम्मानजनक आप्रवासन र फर्केपछि रिटर्नी उद्यमशीलताको कुरा खै कहाँ छ नीति तथा कार्यक्रममा। यहाँ पनि बदला नै लिनुभएछ । गत वर्ष नीति तथा कार्यक्रम र बजेटमा १ लाख रिटर्नी प्रवासीहरुलाई उद्यमशीलतामा जोड्न प्रस्तावित ‘रेमिट्यान्स उद्यमशीलता कार्यक्रम’ किन अटाइएन नीति तथा कार्यक्रममा? १० महिना बितिसक्दा कार्यक्रम त चलेन चलेन, अहिले आएर नीति तथा कार्यक्रमबाटै त्यसलाई हटाउनु भयो। दुखको कुरा, सरकारले देख्ने सुखी नेपालीमा प्रवासी श्रमिकहरु परेनन्।

सरकार गठन भएदेखि नै तपाईहरुको सम्पूर्ण ध्यान विचौलियाहरुको सेवामा रह्यो। कतिसम्म भने एउटा अड्डाको प्रमुख परिवर्तन गर्न मात्रै तपाईहरुले दर्जनबढी निर्णय गर्नुभयो। महिनौंसम्म लाग्नुभयो । एउटा इगो पुरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिंगलाई हटाइ छोड्नुभयो । कुलमानलाई समर्थन गरेको झोंकमा आफ्नै मन्त्रीलाई निष्काशित गर्नुभयो। बिजुलीको अर्बौं बक्यौता नतिर्नेहरुलाई खुसी पार्नुभयो तर त्यहीँनेर अघिल्लो सरकारले ५ लाख भूमिहीन, सुकुम्बासीहरुलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईहरुमा पलाएन ? अहिले पनि निकै कञ्जुस्याईं गरेर नीति कार्यक्रममा उनीहरुको व्यवस्थापन गरिनेछ भनेर एक लाइन लेख्नुभएछ। तर माफियाहरुका पक्षमा भूमिसम्बन्धी विधेयक ल्याएर कसरी गर्नुहुन्छ व्यवस्थापन? त्यसैपनि पत्याउने आधार बाँकी राख्नुभएको छ र? बजेटमा भएको कुरा त कार्यान्वयन गर्न सक्नुभएन।

सभामुख महोदय,
एउटा सबैले स्वीकारेको सत्य के हो भने आत्मनिर्भर अर्थतन्त्रको विकास नभएसम्म हामी समृद्ध बन्न सक्दैनौं । र, यसका लागि कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रको विकास गर्नु अनिवार्य शर्त हो । उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना आवश्यक छ। उत्पादनका क्षेत्रहरुको विशिष्टिकरण र प्राथमिकीकरणा गरी स्थानीय विशिष्टतामा उद्योगहरुको विकास गर्ने, नवप्रवर्तन र स्टार्टअपलाई व्यापकता दिनु जरुरी हो। मेरो नेतृत्वको सरकारले यही कुरालाई विशेष ध्यान दिएर गुणात्मक परिवर्तनको आधारशील प्रस्तुत गरेको थियो । सीप विकास, उद्यमशीलता विकास र स्वरोजगार प्रवद्र्धन हुनेगरी मेक इन नेपाल र मेड इन नेपालको सोँच अघि सारिएको थियो । तर अहिले यी कार्यक्रम पनि हटाइए । सरकारलाई पचेनन्। समुदायमा आधारित अर्थतन्त्रको विकासका लागि रैथाने परम्परागत सीप र पेशामा आधारित उद्यमको प्रवद्र्धन, पारम्परिक हस्तकला प्रवद्र्धन र निर्यात जस्ता दूरगामी महत्वका कार्यक्रमहरु समेत सरकारको नीति तथा कार्यक्रममा अटेनन्।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रमले सरकारसँग नेपालको रुपान्तरणको ढाँचा र सोँच नै नभएको स्पष्ट देखियो । नीति तथा कार्यक्रममा विकासको ढाँचामा कोर्स करेक्सन गरिने भनेर उल्लेख गर्नुभएको छ। तर के चाहिँ करेक्सन गर्ने हो अनि कसका लागि गर्ने हो? काटिएका कार्यक्रम र राखिएका कार्यक्रमले कसका लागि करेक्सन हुँदैछ हाम्रो प्रणाली ? दलाल पूँजिवादको साटो राष्ट्रिय पूँजिवादको विकास, समुदायमा आधारित अर्थतन्त्रको विकास, रैथाने ज्ञान र सीपको प्रवद्र्धनमार्फत् स्थानीय श्रोतमा आधारित उद्यमशीलताको विकास, आयातमुखी भन्दा निर्यातमुखी उत्पादन र उद्यमको विकासको नीति लिनुपर्ने होइन र? तर तपाइहरुले कोर्स करेक्सनको कैंची कहाँ चलाउनुभयो त ? म भन्छु, माथिका कैयन कार्यक्रमसँगै कैँची चल्यो गत वर्ष अघि सारिएको सुदुरपश्चिममा मेगा फुड पार्क स्थापना गर्ने कार्यक्रममा ।

कर्णाली प्रदेशमा खाद्य तथा फलफूल प्रशोधन केन्द्र स्थापना गर्ने कार्यक्रममा अनि घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी नियन्त्रित उत्पादन, ब्राण्डिंग र निर्यात विशष कार्यक्रममा । स्थानीय उत्पादनले बजार नपाएको बेला रैथाने उत्पादनलाई आपूर्ति श्रृंखलामा आवद्ध गरी सहज बजार पहुँच सुनिश्चित गर्न गत वर्ष प्रदेशहरुमा स्वदेशी मार्ट स्थापना गर्ने कार्यक्रमा समेत दुइ तिहाइको कैंची चल्यो। यी दीर्घकालिन महत्वका कार्यक्रमहरु अहिले नीति तथा कार्यक्रमबाट डिलिट गरिए ।

आर्थिक विकासका प्राथमिकता निर्धारण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि मार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न आर्थिक विकासको नयाँ युग र नयाँ चरणमा प्रवेशका लागि अत्यन्तै मेहनत र भिजनका साथ अघि सारिएका गण्डकी त्रिभुज परियोजना, आइटी दशक, सार्वजनिक सेवाहरुको डिजिटलाइजेसनका लागि ब्लूप्रिन्ट, नागरिक सेवा केन्द्र, निजगढ–ढल्केबर, नेपाली गलैंचा करिडोर स्थापना, कोशेली घर, एक पालिका एक डाउनटाउन, गाँजाको व्यवसायिक उत्पादन, हिल स्टेशन, प्रदेशको विशिष्टताका आधारमा आर्थिक उत्पादनको नयाँ मोडेल लगायतका कैयन नीति तथा कार्यक्रमहरु सरकारले रछ्यानमा मिल्काएको छ ।

यो सँगै महिलाहरुका लागि प्रधानमन्त्री छोरी कार्यक्रमदेखि जेष्ठ नागरिकहरुका लागि समेत अघि सारिएका नीतिहरुले निरन्तरता पाएनन् । तपाईहरुको विकासको ढाँचा र कोर्स करेक्सन कसका लागि हो ? यी कार्यक्रमहरुमा कैंची चलाएर कसलाई फाइदा पुर्याउँदै हुनुहुन्छ तपाईहरु ? को बन्छ सुखी अनि कसको समृद्धि हुन्छ ? भन्नै परेन । दुई तिहाइको अहंकारमा तपाईहरुले दौडाएको कुशासनको घोडाले आज लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाएको छ । त्यसकै प्रतिबिम्ब स्पष्टरुपमा नीति तथा कार्यक्रममा देखिएको छ।

सभामुख महोदय
मैले सरकारको नेतृत्व लिएको बेला गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने कार्य अघि बढेको थियो। तर अझै पनि गैरआवासीय नेपालीहरुले नागरिकताका आधारमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार व्यवहारतः प्रयोग गर्न पाएका छैनन । हातमा नेपाली नागरिकता छ, तर नेपाल आउँदा विदेशी पासपोर्टमा भिसा लगाएर आउनुपर्ने विडम्वनापूर्ण स्थितिको छ। यसलाई गम्भीरतापूर्वक लिइयोस्। गैर आवासीय नेपालीहरुको सीप, दक्षता र क्षमतालाई राष्ट्रनिर्माणका लागि उपयोग गर्ने नीतिगत वातावरण तयार पारियोस्। सङ्घीयता कार्यान्वयनका लागि अति जरूरी निजामती सेवा ऐन जारी हुन सकेको छैन । समायोजन लगायतका समस्या झेलिरहेका कर्मचारीको तलब तथा भत्ता विगत तीन वर्षदेखि रोकिएको छ। कर्मचारीहरूको न्यायिक तलब तथा सेवासुविधा वृद्धिमा देखिएका यावत समस्यालाई नीतिगतरूपमै सम्बोधन गर्नु जरुरी छ। सार्वजनिक पद धारण गर्ने पदाधिकारी एवं राष्ट्रसेवक कर्मचारीहरूले लगाउने पोसाक स्वदेशमैं उत्पादित कपडा मात्र प्रयोग गर्ने नीति कार्यान्वयनका लागि आवश्यक व्यवस्था हुनुपर्दछ।

हाम्रो संविधानले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराको मार्गनिर्देशन गरेको छ। सरकारले सोही अनुरुप नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हो । संघीयता बलियो बनाउन आवश्यक नीतिगत र कानुनी प्रब्नध गर्ने विषयले प्राथमिकता पाउनु पर्ने हो । तर नीति तथा कार्यक्रमले सारमा विश्वमा नै असफल भएको नवउदारवादको विकृत नयां संस्करणलाई अगाडि बढाउन खोजेको देखिन्छ । उदारवाद र विश्वव्यापीकरणको सिद्धान्तको पक्षपोषण र पैरवी गर्ने मुलुकहरु आज आफै आफ्नो अर्थतन्त्रको संरक्षणतर्फ फर्किएका बेला उदारवादको विकृत संस्करणलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रमहरु हटाउन म माग गर्दछु ।

देशले सन् २०२६ मा अल्पविकसित मुलुकको स्तरबाट स्तरोन्नति हुने, सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिले गर्ने, सन् २०३० भित्रै मध्यम आय भएको मुलुकको स्तरमा पुग्ने लगायतका लक्ष्य निर्धारण गरेको छ । यी राष्ट्रिय लक्ष्य पूरा गर्न द्रुत आर्थिक सामाजिक विकास हासिल गर्ने गरी तयारी जरूरी छ । हामीले अन्तर्राष्ट्रियरूपमा प्रतिवद्धता जनाएअनुरूप नै दिगो विकास लक्ष्य कार्यान्वयनमा जोड दिँदै १६औं पञ्चवर्षीय योजना तयार पार्यौं। अहिले नीति कार्यक्रम तयारी गर्दा ती लक्ष्यहरुसँग सामञ्जस्यता गरेको देखिएन । न त पञ्चवर्षीय योजनालाई नै नीतिगत मार्गचित्रको आधारका रुपमा लिएको देखियो। नीति तथा कार्यक्रमा बजार अर्थतन्त्र, बजार संयन्त्र परिचालन, निजी क्षेत्र, समुदाय र सहकारी क्षेत्र जस्ता बिषयहरु ओझेलमा परेका छन्। संवैधानिक निकाय र नियामक निकायहरुको प्रभावकारीता र सुढृढीकरण सम्बन्धमा नीति कार्यक्रम मौन छ । संघीयता सवलीकरण र संसदको प्रभावकारीताकोलागि कुनैनीति कार्यक्रम आएन ।

शासकीय सुधार आयोग गठन भएको छ तर यसको कार्यक्षेत्र र कार्यप्रकृयाको बारेमा हालसम्म केही सार्वजनिक भएको छैन । अनुगमन गर्ने निकायले गरेको कामको प्रधानमनत्री तथा मन्त्रिपरिषद कायार्यलयबाट अनुगमनको पनि अनुगमन गरिनेछ भन्ने उल्लेख छ । यसबाट संवैधानिक निकाय तथा नियामक निकायहरुलाई संविधान तथा कानूनद्धारा प्रदत्त अधिकारमा अंकुश लगाउन खोजिएको त होइन भन्ने प्रश्न उठेको छ।

सभामुख महोदय,
मैले यसअघि सम्मानित संसदमा सरकारलाई खबरदारी गर्दै भनेको थिएँ– “जनताप्रति सरकारको हदसम्म गैरजिम्मेवारी तर विचौलिया र स्वार्थसमूहको खुला तरफदारीले देश आक्रोशित छ। सत्तापक्षका मान्छेलाई कानुन मिच्न होइन, कानुन नै खान दिएको देखेर देश विचलित छ। उद्योगीबाट विजुलीको अर्वौं बक्यौता उठाउनै नखाजेको तर भुँइमान्छेका घरको लाइन काटेको देखेर रन्थनिएको देश पनि छ। त्यो आवेग र आक्रोश आज सामाजिक सञ्जालमा सीमित छ, तर मलाई चिन्ता छ, भोलि त्यो सडकमा पोखिन सक्छ। यही सत्य स्वीकार गरेर सरकार सुध्रियोस्।

तर यो दश महिनामा सरकार सुध्रिएन, सुध्रिन चाहेन । किनभने सरकार सुध्रिनको लागि गठन भएकै थिएन । एउटा निश्चित वर्गको स्वार्थका लागि बनेको थियो । मैले त्यतिबेला यो भनिरहँदा सत्ता बहिर्गमनको छटपटी भनेर समेत टिप्पणी गरियो । तर अहिले त यो तपाइहरुकै भाष्य बनिनसक्यो। सरकार सञ्चालन संयन्त्रकै सदस्यहरुले नै प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच भनेर सार्वजनिकरुपमा नै भन्ने अवस्था सिर्जना भयो । महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुइतिहाइके बेलुन त मैले फुटिसकेके देख्छु । हरेक नियुक्ती र निर्णयमा विचौलिया हावी छन्। जनताले सेवा प्रवाह सहजरुपमा पाउन सकेका छैनन्। सार्वजनिक संस्थानहरुमा चरम राजनीतिकरण भइरहेको छ। दश महिना बितिसक्दा पनि लोकका अगाडि गठबन्धन बनाउन जे भनेर सात बुँदे सहमति गर्नुभएको थियो त्यसतर्फ कहिँकतै पनि ध्यान देखिँदैन। हिजो मैले खबरदारी गरेको थिएँ आज त्यही कुरा तपाइहरुको असन्तुष्टी बनेको छ। मैले भनेको थिएँ सरकार आफ्नै कुशासनले ढल्छ भनेर ।

प्राविधिकरुपमा सरकार देखिएपनि नैतिकरुपमा सरकार ढलिसकेकै अवस्थामा छ। तर मेरो चिन्ता हिजो पनि थियो र आज पनि म त्यही भन्छु, सरकारको कार्यशैलीले तपाइहरु मात्रै ढल्दै हुनुहुन्न, त्यसबाट लोकतन्त्रमाथि नै प्रहार शक्ति बढिरहेको छ। लोकतन्त्रबाट बाहिरबाट भन्दा सरकारकै कारण बढी खतरा पैदा भएको छ। सरकारकै कार्यशैलीले जन्माएको असन्तुष्टिलाई प्रतिगामी र प्रतिक्रियावादीहरुले ऐतिहासिक बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रविरुद्ध कसरी प्रयोग गर्न पुगे भन्ने कुराको हामी साक्षी छौं । म प्रस्न गर्न चाहन्छु, अहिले चौतर्फीरुपमा लोकतन्त्रमाथि सुनियोजित आक्रमण भइरहेको बेला सरकारले ल्याएको नीति तथा कार्यक्रमले झनै निराशा बढाउँदैन र ? सत्तारुढ दलका इमान्दार र लोकतन्त्रप्रति इमान्दार प्रतिवद्ध माननीयहरु समेत यस पक्षमा गम्भीर विचार गर्न अनुरोध गर्छु।

भर्खरै मात्र हाम्रो पार्टीले हुलाकी मार्गकेन्द्रीत तराई मधेश जागरण अभियानको समापन गरेका छ। यो अभियानका क्रममा लाखौं जनतासँग प्रत्यक्ष संवाद गर्यौं। जनताका पीर मर्का र समस्या सुन्यौं। हामीले के पायौं जनतामा तीब्र परिवर्तनको हुटहुटी छ। उनीहरुमा व्यवस्थाप्रति भन्दा कुशासनप्रति आक्रोश छ। जनता समावेशी लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध छन्। तर उनीहरुमा राज्यको दोहन गरेर सीमित समूहको स्वार्थमा तल्लीन सरकारप्रति वितृष्णा छ। जनताले सामाजिक न्याय खोजेका छन् । सामन्तवादका सबैखाले अवशेषको अन्त्य खोजेका छन् । जातीय विभेद र महिला हिंसाबाट मुक्ति खोजेका छन् ।

समन्यायिक विकास खोजेका छन् । हुलाकी राजमार्गलाई आत्मनिर्भर कृषि अर्थतन्त्रको मेरुदण्ड मानेर उद्यमशीलताका तीब्र विकास खोजेका छन् । हामीले इतिहासको रथ उल्टयाउन खोज्ने प्रतिगामी तत्वहरुलाई परास्त गर्न र लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र मात्रै हो भन्ने स्थापित गर्न नीति तथा कार्यक्रमलाई समेत त्यहीरुपमा परिमार्जन गर्नु जरुरी छ।

यसलाई मूर्त र ठोस कार्यक्रमसहित बजेटसँग सामञ्जस्य गर्न सकिने गरी ल्याइनुपर्दछ। सरकार यस विषयमा गम्भीर बनोस्। हामी चाहन्छौ, नीति तथा कार्यक्रमले देशमा सरकारप्रति जनआक्रोशको अन्त गरोस। जनसरोकार, जनपेक्षालाई सम्बोधन गरोस् । सकारात्मक भाष्य निर्माण गरोस। अधिकार प्राप्तिका लागि महिनौ दिनसम्म शिक्षकहरु राजधानीका सडकमा प्रदर्शनमा उत्रिनु नपरोस, कर्मचारी, चिकित्सक, सहकारी पीडितहरुले आन्दोलनमा आउने वातावरण नबनोस्।

संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै विकास र समृद्धि तर्फ अगाडी बढने, उत्पादन, उत्पादकत्व बृद्धि, रोजगारी सिर्जना तथा युवाशक्तिलाई विदेश पलायनबाट रोकोस। प्रमुख प्रतिपक्षी दलका हैसियतले रचनात्मक, सिर्जनात्मक पक्षमा हामी सरकारलाई साथ दिन तयार छौं । तर संख्याको बलमा जनताका मुद्दा सम्बोधन नगरी ल्याइने नीति, कार्यक्रम र बजेटको कडा बिरोध गर्दछौं। धन्यवाद।
२०८२ वैशाख २२ गते

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम माथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूमा ३७ वटा संशोधन प्रस्ताव आएको जानकारी दिए ।

संसद्मा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनहरूमाथि सोमबारदेखि सुरू भएको छलफलमा प्रतिपक्ष सांसदहरूले असन्तुष्टि जनाएका छन् ।

नीति तथा कार्यक्रमले वर्तमान समस्याको समाधान गर्न नसकेको मात्र नभई भविष्यप्रतिको स्पष्ट दृष्टिकोणसमेत नबोकेको टिप्पणी गरेका छन् ।

स्पष्ट योजना र दूरदृष्टिको अभाव, समावेशीता सामाजिक न्याय र सुशासनप्रतिको कमजोर प्रतिबद्धता, निराशाजनक र पश्चगामी शैली, कार्यान्वयन पक्षको अपूर्णता र अस्पष्टता, सङ्घीयता र स्रोत व्यवस्थापनप्रति बेवास्ता, भ्रष्टाचार र अनियमितता सम्बोधनमा उदासीनतालगायतका टिप्पणी सांसदहरूबाट आएका हुन् ।

आफ्नो संशोधन राख्दै सांसदहरूले यो नीति तथा कार्यक्रमले विद्यमान समस्यालाई समाधान गर्न प्रयास नगरेको, पुरातनवादी र पश्चगन शैलीलाई प्रसय दिएको, नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नसकेको, शिक्षा स्वास्थ्यजस्ता मौलिक हक कार्यान्वयनका लागि स्पष्टता ल्याउन नसकेको विषयहरू औँल्याए ।

नीति तथा कार्यक्रममाथि आफ्नो संशोधन राख्दै सांसद सुदन किरातीले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बेला नीति तथा कार्यक्रममासमेत कुनै स्पष्ट योजना नआएको बताए । सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक हुन नसकेको विषय पनि उनले संसदमा उठाए ।

त्यस्तै, वित्तीय कारबाही कार्यदलको खैरो सूचीबाट कसरी बाहिर निकाल्ने भनेर स्पष्ट कार्ययोजना आउन नसकेको उनको भनाइ छ । गुणस्तरीय स्वास्थ्यको पहुँच विस्तार गर्ने विषयमा नीति तथा कार्यक्रमले कुनै विषय नसमेटेको सांसद किरातीले बताए ।

सरकारी शिक्षाको गुणस्तर बढाउने बारेको विषय पनि नीति तथा कार्यक्रममा नपरेको, कृषि क्षेत्रमा प्रभावकारी कार्यक्रम पर्न नसकेको पनि सांसद किरातीले बताए । कृषिजन्य उत्पादनको बजारको प्रत्याभूति गरिनुपर्ने, नेपाली रैथाने ज्ञान र सीपमा आधारित उद्यमशीलता प्रवद्र्धन गर्नेगरी नीति तथा कार्यक्रम आउनुपर्ने उनको भनाइ छ ।

सांसद जनार्दन शर्माले संसदमा पेस भएको वार्षिक नीति तथा कार्यक्रमको बुँदा नम्बर ‘क’ देखि ‘ट’ सम्म हटाउनुपर्ने बताए ।

सामाजिक न्यायका लागि विभेद अन्त्य गर्ने, श्रमयोग्य जनशक्तिलाई तालिम तथा उद्यमशीलता प्रवद्र्धन पर्ने, प्राकृतिक स्रोतसाधनको प्रयोग बढाउने, प्रविधिमा आधारित अर्थतन्त्रलाई जोड दिनुपर्नेलगायत विषय नीति तथा कार्यक्रममा स्पष्ट ढङ्गले आउन नसकेको शर्माको भनाइ छ । मुलुकको समग्र अर्थतन्त्रमा नै पुनःर्संरचना गरेर जानुपर्नेमा उनले जोड दिए ।

भ्रष्टाचार निवारण र सुशासन कायम गर्नका लागि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिनको पनि उनले माग गरे । त्यस्तै, जनताको अपेक्षाअनुसार काम हुन नसकिरहेका कारण व्यवस्थाप्रति नै निराशा बढिरहेका बेला विगतकै निरन्तरताको रटान र पुरानै कुरा आएको शर्माले बताए ।

लगानी प्रवद्र्धनमा बाधक कानुनलाई संशोधन तथा खारेज, अनावश्यक प्रशासनीय संयन्त्र खारेजलगायत विषमा सरकार गम्भीर हुन नसकेको आरोप शर्माको छ ।

दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्नका लागि नीतिगत, प्रक्रियागत र व्यावहारिक सुधार गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम आउनुपर्नेमा त्यसो हुन नसकेको सांसद शर्माको भनाइ छ ।

नीति तथा कार्यक्रम निराशा जगाउने र देशलाई थप पछाडि धकेल्ने प्रवृत्तिको रहेको आरो पलगाउनु हुँदै सांसद शर्माले राष्ट्रिय सहमतिका साथ नीति तथा कार्यक्रमा संशोधन गरिनुपर्ने बताए ।

सांसद डा अमरेशकुमार सिंहले समावेशी र समानुपातिकसम्बन्धी व्यवस्थामा सरकार अनुदार रहेको आरोप लगाए । नीति तथा कार्यक्रममार्फत शिक्षा र स्वास्थ्य क्षेत्रलाई तहसनहस पार्न खोजिएको पनि उनको भनाइ छ । त्यस्तै, सडक पूर्वाधार, पुललगायत संरचना कमजोर रहेको उनको भनाइ छ । नक्कली भुटानी शरणार्थी प्रकरण माथिको छानबिन, वाइडबडीको घोटाला छानबिन माथि कहाँ पुग्यो भनेर उनले संसदमा प्रश्न गरे । प्रदेशहरूले पैसा लिएर बजेट बाढ्ने गरेको र यो प्रवृत्ति प्रदेशहरूले सङ्घ सरकारबाट सिकेको उनको भनाइ छ ।

सांसद शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पश्चगमनमुखी, निराशामुखी र ‘सेन्टर टु राइट’ शैलीको रहेको बताए ।

नीति तथा कार्यक्रमले मुलुकको विद्यमान अवस्था, आवश्यकता, अवसर र चुनौतीलाई विश्लेषण गर्न नसकेको उल्लेख गर्दै उनले सरकारले समस्याको केन्द्रमा पुग्न नचाहेको आरोपसमेत लगाए । अहिलेको समस्या नीतिमा, संस्थागत व्यवस्थामा, विकास मोडलमा वा आचरणमा हो भनेर स्पष्ट हुनुपर्ने बेला आएको आवश्यकता उनले औंल्याए ।

अर्का सांसद वर्षमान पुनले सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रमको गन्तव्य हेर्दा अल्मलिएको र कतिपय अवस्थामा पछाडि फर्कन खोजेको जस्तो देखिएको बताए । शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउन अति आवश्यक रहेकोमा नीति तथा कार्यक्रमले त्यसलाई सम्बोधन नगरेको पुनको आरोप छ ।

नीति तथा कार्यक्रम पेस हुनुपर्नेमा नीति मात्रै पेस गरेको कार्यक्रम पेस गर्न नसकेको उनको भनाइ छ । कार्यक्रम पेस नगरेर बजेटमा चलखेल गर्न खोजेको पुनले उल्लेख गरे । त्यस्तै, सरकारले नीति तथा कार्यक्रमम र बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा ढिला प्रस्तुत गरेर बजेटमाथि छलफल गर्ने समय घटाउन खोजेको बताए ।

त्यस्तै, १६औँ आवधिक योजनाले भनेको ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को भावनाअनुसार नीति तथा कार्यक्रम आउन नसकेको पुनले बताए । सुशासन प्रवद्र्धनका लागि के गर्ने भन्ने कुरा नीति तथा कार्यक्रममा स्पष्ट नरहेको सांसद उनको भनाइ छ ।

त्यस्तै, खैरो सूचीबाट बाहिर निस्कने स्पष्ट कार्यनीति आउन नसहेको उनले उल्लेख गरे । बजेटको स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको, सङ्घीयता कार्यान्वयन र अधिकारको हस्तान्तरण प्रभावकारी बन्न नसकेको लगायतका विषय उनले संसदमा उठाए ।

अर्का सांसद रोशन कार्कीले अहिलेको सरकारको कार्यशैलीले गणतन्त्रलाई संस्थागत गर्ने नभई सिध्याउने बताइन् । रूग्ण र सम्पन्न हुन नसकेको आयोजना खारेज गर्ने कुरा नीति तथा कार्यक्रममा परेकोमा त्यस्ता आयोजनासँग जोडिएका सम्बन्धित पदाधिकारीलाई दण्डित गरिनुपर्ने पनि उनको सुझाव छ ।

शिक्षाको क्षेत्रमा व्यापार सुधार गर्ने तथा सामुदायिक विद्यालयको भौतिक सम्पत्ति सुरक्षित गर्नेतर्फ ध्यान पुर्याउनुपर्ने उनको भनाइ छ । यसै आर्थिक वर्षमा कृषि मल कारखाना स्थापना गर्ने कार्यअघि बढाउने विषय नीति तथा कार्यक्रमा राख्नुपर्ने सुझाव उनले दिइन् ।

सहकारी नीतिको पुनरावलोकन, वनमा खेर गएका काठमाको उपयोगजस्ता विषय सरकारको नीति तथा कार्यक्रममा राखिनुपर्ने सुझाव सांसद कार्कीले दिइन् ।

सङ्क्रमणकालीन न्यायमा देखिएको उल्झन

-राजेन्द्र सेन्चुरी

नेपालको राजनीतिक इतिहासमा २०६३ सालको विस्तृत शान्ति सम्झौता एउटा कोसेढुङ्गा हो, जसले एक दशक लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य ग¥यो । तर द्वन्द्व सकिएको झन्डै दुई दशक पुग्न लाग्दासमेत द्वन्द्वबाट प्रभावित नागरिकहरूले न्यायको अनुभूति गर्न सकेका छैनन् । द्वन्द्वकालमा घटाइएका जघन्य मानवअधिकार उल्लङ्घनका घटनालाई सम्बोधन गर्न २०७१ सालमा गठन गरिएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको उद्देश्य पीडितलाई न्याय, पीडकलाई जवाफदेहिता र समाजलाई मेलमिलापतर्फ डोर्याउनु थियो । तर, आजसम्मको यात्रा नियाल्दा यी आयोगहरू ती सबै कर्तव्यबाट विमुख भएको अनुभूति हुन्छ ।

एक दशक लामो अवधिमा आयोगहरूले ६६ हजार उजुरी सङ्कलन गरे पनि करिब चार हजारमा मात्रैमा अध्ययन भएको देखिन्छ, त्यो पनि विस्तृत हैन, प्रारम्भिक मात्रै । झट्ट हेर्दा संरचना छ, काम भइरहेकै होला भन्ने लाग्न सक्छ, तर गहिरिएर हेर्दा यो प्रक्रिया ढिलो, अपारदर्शी र राजनीतिक हस्तक्षेपले नराम्ररी प्रभावित भएको छ । सुरुमा भूकम्प, त्यसपछि कोरोना महामारी, अनि कहिले नेतृत्व विहीनता, कहिले अनुपयुक्त कानुन । यी सबै बहानाको निस्पट्ट अन्धकारमा पीडितको आवाज दिशाविहीनता भौँतारिइरहेको छ ।

आयोगहरू नेतृत्वविहीन हुने, सर्च कमिटी गठन हुने तर निष्कर्षमा नपुग्ने, राजनीतिक भागबन्डाको आधारमा पदाधिकारी चयन हुनेजस्ता विभिन्न प्रक्रियाहरु पटकपटक दोहोरिरहेका छन् । पदाधिकारी छनोटको प्रक्रियाको थालनी गरिए पनि अन्ततः गोजीका मान्छे नै ल्याइने परिपाटी चलेको देखिन्छ । यसैकारणले आयोगको स्वतन्त्रता र विश्वसनीयता माथि गम्भीर प्रश्न र आयोगको कामकारबाहीप्रति जनविश्वास कमजोर हुँदै आएको छ । यो अवस्था केबल प्रशासनिक अक्षमता मात्र होइन, यो हाम्रो राजनीतिक इच्छाशक्तिको कमजोरी पनि हो । आयोगहरूको संरचनात्मक कमजोरीले यसलाई अझ बिगारेको छ । काम गर्न आवश्यक स्रोत, जनशक्ति, स्वतन्त्रता केही पनि पर्याप्त पाउन सकेनन् आयोगहरूले । त्यसैले आयोगहरूमा उजुरी हाल्ने पीडित आज निराश छन् । उनीहरू न्यायको प्रतीक्षामा बसेका छन् तर न्याय भने ढिला, धमिलो र आकाशको फलजस्तो भएको छ ।

सङ्क्रमणकालीन न्यायको मूल उद्देश्य पीडितको आत्मसम्मान पुनःस्थापना गर्नु, समाजमा मेलमिलापको वातावरण तयार गर्नु र दण्डहीनताको अन्त्य गर्नु हो । तर, नेपालमा यो प्रक्रियालाई राजनीतिज्ञहरूले ‘बार्गेनिङ चिप’ का रूपमा प्रयोग गरे भन्ने जनगुनासो रहँदै आएको छ । यथार्थ के हो भने ६६ हजार उजुरीमध्ये सबै पीडितले सजाय चाहेका होइनन्, उनीहरू न्यायको अनुभूति खोजिरहेका छन् । र त्यस्तो न्याय कानुनी मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक र नैतिक पनि हुन सक्छ । र त भनिन्छ सङ्क्रमणकालीन न्याय भनेको केवल कानुनी प्रक्रिया मात्र होइन, यो सामाजिक, राजनीतिक र आर्थिक पुनस्र्थापनाको समग्र प्रक्रिया हो । तर नेपालमा यसलाई फौजदारी न्यायको सङ्कीर्ण दृष्टिकोणबाट मात्र हेरिएको छ । राजनीतिक दलहरू र सम्बन्धित सरोकारवालाहरू दुई ध्रुवमा बाँडिएका छन् – एक पक्षले पीडकहरूलाई पूर्ण आममाफीको व्यवस्था मिलाउन खोज्छ भने अर्का पक्षले सबैलाई कठघरामा उभ्याउनु पर्ने दृष्टिकोणको । यी दुई–ध्रुवीय सोचको परिणामस्वरूप सङ्क्रमणकालीन न्याय प्रक्रियामा लचिलोपनको अभाव र समझदारीको सङ्कट देखिन्छ ।

सर्वोच्च अदालतले द्वन्द्वकालीन गम्भीर मानवअधिकार उल्लङ्घनका मुद्दाहरू फौजदारी अदालतबाट अघि बढाउन सकिने फैसला गरिसकेको छ । यसले सरकार र आयोगहरूलाई समयमै निष्कर्षमा नपुगेको खण्डमा अन्तर्राष्ट्रिय दबाब र हस्तक्षेपको ढोका खोल्ने अवस्था पनि निम्त्याउन सक्छ । विश्वव्यापी क्षेत्राधिकार (युनिभर्सल जुरिस्डिक्सन) प्रयोग गरेर हाम्रा युद्ध–अपराध आरोपित नागरिकहरूलाई विदेशमा नै अभियोजन गर्ने स्थितिको पनि सिर्जना हुन सक्छ; कर्नेल कुमार लामाको बेलायतमा गिरफ्तारी त्यही प्रवृत्तिको एउटा उदाहरण हो ।

तसर्थ, जतिसक्दो चाँडो यो प्रक्रिया टुङ्ग्याउनुमै बुद्धिमत्ता रहन्छ । समस्या जटिल भए पनि समाधान अवश्य सम्भव छ । यसको लागि आवश्यक छ, सबै पक्षले सङ्क्रमणकालीन न्यायलाई कानुनी प्रक्रिया मात्र नभई राजनीतिक, सामाजिक र नैतिक प्रक्रिया मानेर अघि बढ्न । आजको सन्दर्भमा ‘रूपान्तरणमुखी न्याय’, जहाँ दण्डात्मक, परिपूरणमुखी र मेलमिलापकारी विधिहरू सँगसँगै सञ्चालन हुन्छन्, त्यो नै नेपालका लागि उपयुक्त ढाँचा हुनसक्छ । यसर्थ, अहिलेलाई प्रस्तुत केही विषयहरूमा ध्यान दिन आवश्यक देखिन्छ ।

सर्वप्रथम, आयोगहरूलाई स्वतन्त्र, निष्पक्ष र प्रभावकारी बनाउन आवश्यक छ । पदाधिकारी नियुक्तिमा पारदर्शिता, योग्यतामा आधारित र राजनीतिक हस्तक्षेपबाट मुक्त प्रक्रिया अवलम्बन गरिनुपर्दछ । ‘सर्च कमिटी’ केबल देखावटी बन्नु हुँदैन, त्यसलाई निष्पक्षता र जबाफदेहिताको मापदण्डमा बाँध्नुपर्छ । अनि मात्रै आयोगले जनताको भरोसा जित्न सक्छ । स्वतन्त्र र पेशेवर नेतृत्व हुने हो भने मात्रै आयोगले निष्पक्षता देखाउन सक्छ । यसका साथै, संसदीय निगरानी र सार्वजनिक पारदर्शिता पनि अनिवार्य हुनुपर्छ ।

दोस्रो, मेलमिलाप कार्यक्रमलाई सत्यको खोज–अनुसन्धानसँगै अघि बढाइनु पर्छ । जुन मुद्दामा पीडित स्वयं मेलमिलापमा जान इच्छुक छन्, ती मुद्दाहरू प्रारम्भमै निष्कर्षमा पुर्याउन सकिन्छ । यसले आयोगमाथिको कार्यभार घटाउँछ, स्रोत र समयको बचत गर्छ र पीडितलाई छिटो न्यायको अनुभूति गराउँछ । तेस्रो, स्थानीय तहमा मेलमिलाप संयन्त्र निर्माण गर्नुपर्छ । रुवान्डाको ‘गाचाचा’ अदालत वा सिएरा लियोनको सामुदायिक मेलमिलाप जस्ता मोडेलबाट सिक्न सकिन्छ । त्यसका लागि मेलमिलापको संरचना स्थानीय तहमा विस्तार गर्न सकिन्छ । न्यायिक समिति वा समुदायमा आधारित समितिहरूमार्फत यस्तो संरचना कार्यान्वयन गर्न सकिन्छ । पीडित र आरोपितबीचको सीधा संवाद, क्षमायाचना र पुनस्र्थापनाले समाजमा विश्वासको पुनर्निर्माण गरी दिगो शान्ति स्थापना गर्न सकिन्छ ।

चौथो, पीडितलाई कानुनी सहयोग, मनोसामाजिक परामर्श र परिपूरणका लागि आवश्यक सहायता प्रदान गर्न केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा कार्यान्वयन संरचना बनाइनु पर्छ । परिपूरण कार्यक्रमलाई प्रभावकारी बनाउन पीडित केन्द्रित योजना ल्याइनुपर्छ । मनोसामाजिक परामर्श, रोजगारी तालिम, शिक्षा, स्वास्थ्य सेवा तथा आवासको व्यवस्था जस्ता सेवा उपलब्ध गराउनु आवश्यक छ । कतिपय पीडितहरू न्यायिक कारबाहीभन्दा पनि आत्मसम्मान पुनः स्थापनालाई प्राथमिकता दिन्छन् । यस्तो अवस्थामा परिपूरण र मेलमिलापको संयोजनले उनीहरूलाई न्यायको अनुभूति गराउन सक्छ ।

पाँचौँ, द्वन्द्वकालीन इतिहासलाई औपचारिक पाठ्यक्रममा समावेश गर्नुपर्छ । सत्य कथा लेखनमार्फत आगामी पुस्तालाई सिकाउने र समाजलाई पुनः त्यस्तो गल्ती नदोहो¥याउने चेतना दिन सकिन्छ । साथै, सत्य निरूपणका लागि साक्षात्कार, श्रव्य दृश्य अभिलेख, स्मृति कार्यक्रमजस्ता क्रियाकलापले सामाजिक रूपान्तरणमा टेवा पुर्याउँछन् । छैटौँ, विशेष अदालत बनाएर अभियोजनको काम पनि सुरु गर्नुपर्छ । हामीले आज निर्णय गरेनौँ भने, भोलि अन्तर्राष्ट्रिय अदालतले हाम्रो सट्टा उक्त निर्णय गर्नेछ, जसले अन्तर्राष्ट्रिय जगतको अगाडि मौलिक भनी गर्व गरिएको नेपाली शान्ति प्रक्रियाको धज्जी मात्रै उड्ने छैन, देश नै अन्तर्राष्ट्रिय न्यायिकताको चङ्गुलमा फस्न सक्ने जोखिम आउन सक्छ । अन्ततः अन्तर्राष्ट्रिय समुदायले पनि अब आर्थिक सहयोगलाई सङ्क्रमणकालीन न्यायसँग जोड्न आवश्यक छ । त्यस्ता सहयोग केबल प्रवचन र प्रतिवेदनमा सीमित नराखी बजेट, प्रविधि, तालिम र जनशक्ति विकासमा केन्द्रित गर्नुपर्दछ । संयुक्त राष्ट्र सङ्घ, युरोपेली सङ्घ, एसियाली विकास बैङ्कजस्ता साझेदार संस्थाहरूले न्यायसँग जोडिएको विकासको धारणा पनि अघि बढाउन सक्नुपर्छ ।

सत्य, मेलमिलाप, परिपूरण, पुनस्र्थापना र दण्ड सबै चरणहरूलाई समेट्ने प्रक्रिया बिना सङ्क्रमणकालीन न्याय अधुरो रहन्छ । पीडितले न्याय मागेका छन्, प्रतिशोध होइन । त्यसैले अबको सङ्क्रमणकालीन न्यायको केन्द्रीकृत धारणा हुनुपर्छ “न सबैलाई आममाफी, न त सबैलाई जेल, तर सच्चा मेलमिलाप र सम्मानजनक परिपूरण ।” तर यदि हामी अझै पनि दुई–ध्रुवीय सोच छोडेर अघि बढ्न सकेनौँ भने द्वन्द्वपीडितले न्याय नपाउने मात्र होइन, नेपालले अन्तर्राष्ट्रिय बेइज्जती र यसै कारणले आन्तरिक अस्थिरताको सामना गर्नुपर्ने दिन नआउला भन्न सकिँदैन । त्यसैले अब शान्ति सम्झौताका मर्म र भावना अनुसार लचिलो, व्यावहारिक र रूपान्तरणमुखी न्यायको यात्रा तय गरौँ । शान्ति सम्झौताले लिएको दुई–पक्षको मिलन गराउने आशा–भरोसालाई फेरि एकपल्ट जीवन्त बनाऔँ । यसको लागि उच्चस्तरीय राजनीतिक प्रतिबद्धता, आयोगको पेसागत सशक्तता, पीडितप्रतिको समर्पण र समाजभित्र मेलमिलापको संस्कार विकास गरेर अघि बढौँ ।

(लेखक द्वन्द्व विश्लेषक हुनुहुन्छ) 

मन्त्रिस्तरीय बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी कोलम्बो प्रस्थान

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी श्रीलङ्का प्रस्थान गरेका छन् ।

एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रिस्तरीय क्षेत्रीय बैठकमा सहभागी हुन मन्त्री अधिकारी सोमबार श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गरेका हुन् ।

श्रीलङ्का सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्वचेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकमा जोखिम र जोखिम पूर्वको पूर्वसूचना र एकीकृत प्रयासका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । 

सरकारको नीति तथा कार्यक्रममा कमजोरी देखियोः गौतम

काठमाडौँ । सांसद वामदेव गौतमले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा कमजोरी रहेको बताएका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी गरेको प्रस्तावमाथिको छलफलका क्रममा गौतमले नीतिगत पक्ष धेरै भएको र कार्यक्रमको पक्ष कमजोर रहेको टिप्पणी गरे ।

‘नीति तथा कार्यक्रमले भ्रष्टाचार उन्मुलन गर्ने किसिमको योजना ल्याउन सकेन, आन्दोलन रोक्ने किसिमको कुनै शब्द उल्लेख गरिएन’, उनले भने, ‘संविधानले मार्गदर्शन गरेको समाजवादभन्दा अन्य व्यवस्थामा जान सकिदैन । समाजवादउन्मुख नीति तथा कार्यक्रम हुनुपथ्र्यो ।’

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर रुपन्देहीमा एकजनाको मृत्यु

भैरहवा (रुपन्देही)। बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको छ । उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय गोपाल टण्डनका रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार टण्डन हराएको भन्दै खोजीका लागि आइतबार प्रहरीमा परिवारले निवेदन दिएका थिए।

आज स्थानीयले हाइटेन्सन पोलमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका छिन् । प्रहरी प्रवक्ता कार्कीले टण्डनको मृत्यु दुर्घटनाका कारण भएको बताए।

“हामीले त्यस क्षेत्रको सिसिटिभी क्यामेराको रेकर्ड हेर्दा उहाँको दुर्घटना देखियो, थप अनुसन्धान भइरहेको छ”, उनले भने ।

सिसिटिभी रेकर्डमा लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल–११ कालिका पथमा विद्युत्को वालमा ठोक्किँदा दुर्घटना भएको देखिएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको सिसिटीभी दृश्यमा राति २ः१५ बजे दुर्घटना भएको देखिएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल पोल नजिकै थुपारिएको निर्माण सामग्री हुँदै पोलमा ठोक्किएको थियो ।

शेयर बजारमा गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ ।

सोमबार तीन सय १९ कम्पनीको एक करोड ८४ लाख ३७ हजार नौ सय ४२ कित्ता शेयर ६५ हजार आठ सय ८४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६३ करोड ४१ लाख ९३ हजार छ सय ९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

होटल तथा पर्यटन समूह शून्य दशमलव ०२, लघुवित्त शून्य दशमलव ११, म्युचुअल फन्ड शून्य दशमलव २० र निर्जीवन बीमा समूह शून्य दशमलव ०६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ३८, विकास बैंक शून्य दशमलव ७६, वित्त शून्य दशमलव ९७, जलविद्युत् शून्य दशमलव ७४, लगानी शून्य दशमलव १३ र जीवन बीमा शून्य दशमलव ११ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८८, व्यापार शून्य दशमलव ७२ र अन्य समूह शून्य दशमलव २२ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड र सिटिजन सुपर–३० म्युचुअल फन्डको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैनः स्वास्थ्यमन्त्री पौडेल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अधिकार नभएको बताएका छन् ।

सोमबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बीमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताए । सरकारी अस्पतालले बिमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने बताइरहेका छन् ।

सोही प्रसंगमा मन्त्री पौडेलले भने, ‘बीमा कार्यक्रम रोक्ने अधिकार सरकारी अस्पताललाई छैन । कसैले बीमा कार्यक्रम रोकेको भए दर्ता नवीकरण हुँदैन ।’

उनले कार्यक्रम वापतको दाबी भुक्तानी बीमा बोर्डले छिट्टै फरफारक गर्ने जानकारी समेत दिए । उनले थपे,’हिजो मात्र  चार अर्ब भुक्तानी भइसकेको छ, बाँकी रकम चालु आर्थिक वर्षभित्र पठाउने तयारीमा लागेका छौँ ।’

सरकारले बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले विभिन्न सङ्घसंस्थामार्फत सरकारले दिएका स्वास्थ्य बिमाका सुविधालाई एकीकृत प्रणालीमा ल्याउन आवश्यक रहेको बताए ।

उनले सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेना एवं नेपाल प्रहरीको परिवार कल्याणकारी कोषले गर्दै सञ्चालन गर्दै आएको बिमा कार्यक्रमलाई एकीकृत प्रणालीमा ल्याउन आवश्यक भएको बताए ।

बजेटका कारणले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा समस्या भएको भन्दै उनले यसलाई व्यवस्थित गरेर लैजान सरकारले काम गरिरहेको बताए ।

उनले भने,’गत वर्ष सरकारले बजेट भाषण गर्दा बीमा कार्यक्रमका लागि  सात अर्ब ५० करोड छुट्याउनुभयो । यसलाई  एक खर्ब आवश्यक पर्छ । यसको स्रोत व्यवस्थापन गर्नुपर्छ ।’

सुदूरपश्चिमका मुख्यमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

सुदूरपश्चिम ।  भारतको भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार लखनउमा भेटवार्ता भएको छ ।

मुख्यमन्त्री शाह र समकक्षी आदित्यनाथबीच दुई देशको सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीबीच देहरादूनमा भेटवार्ता भएको थियो ।

भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताका विषयमा छलफल भएको थियो ।

यस्तै मुख्यमन्त्री शाह र उत्तराखण्डका राज्यपाल गुरमित सिंहबीच समेत छुट्टै भेटवार्ता भएको थियो । मुख्यमन्त्री नेतृत्वको टोली सोमबारै धनगढी फर्किने बताइएको छ । भारत सरकारको औपचारिक निमन्त्रणामा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली यही वैशाख १६ गते भारत भ्रमणमा गएको हो ।

सरकारको हरेक नियुक्तिमा बिचौलिया समूह हावी भयोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको दुई तिहाइको बेलुन फुटिसकेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले हरेक नियुक्तिमा बिचौलिया समूह हावी भएकोबाट त्यसको पुष्टि भएको बताएका हुन् ।

उनले यो सरकार सच्चिन नसक्ने बताए । उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिसमेत गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।

उनले भने, ‘महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नुभएको छैन। दुई तिहाइको अहंकार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु ।’

त्यसैगरी प्रचण्डले सरकारले लोकलाई नै लज्जित पार्नेगरी विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको बताए ।

उनले भने, ‘एउटा अड्डाको प्रमुख परिवर्तन गर्न मात्रै तपाईंले दर्जनभन्दा बढी निर्णय गर्नुभयो । महिनौँसम्म मिहिनेत गर्नुभयो । एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएरै छाड्नुभयो । ठूलो बहादुरी काम गर्नुभयो । कुलमानलाई समर्थन गरेको झोँकमा आफ्नै मन्त्रीलाई पनि निष्कासित गर्ने ठाउँमा पुग्नुभयो ।’

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

गाजा । सोमबार प्यालेस्टिनी क्षेत्रको उत्तरमा भएका दुईवटा इजरायली हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ ।

गाजाको उत्तरपश्चिममा तीनवटा अपार्टमेन्टमा भएको इजरायली हमलामा १५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताएका छन् । उनकाअनुसार प्रभावित हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका थिए ।

गाजा सहरको उत्तरमा रहेको बेत लाहियास्थित एक घरमा भएको आक्रमणमा थप चार जनाको मृत्यु भएको चार जना घाइते भएको जनाइएको छ । इजरायली सेनाले भने हमलाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

 इजरायलले १८ मार्चमा प्यालेस्टिनी क्षेत्रमा आफ्नो आक्रमण पुनः सुरु गरेदेखि गाजा पट्टीमा निरन्तर हमला गरिरहेको छ । इजरायलले मार्च २ देखि सबै क्षेत्रमा सहायता प्रवेश अवरुद्ध गरेको थियो ।

इजरायलले नाकाबन्दी र विस्फोट गाजाका बन्धकहरूलाई रिहा गर्न हमासलाई दबाब दिने उद्देश्यले भएको बताइएको छ ।

सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणमा अपहरण गरिएका ५८ जना बन्धकहरू अझै पनि बन्धक जीवन विताइरहेका छन् । बन्दकमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।

एएफपीका अनुसार हमासको आक्रमणमा अधिकांश नागरिकसहित इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको थियो ।

इजरायली सेनाको जवाफी कारबाहीमा गाजामा कम्तिमा ५२ हजार ५३५ जनाको मृत्यु भएको हमासद्वारा नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउने ट्रम्पको आदेश

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी फिल्मनिर्माता र स्टुडियोहरू विदेशमा काम गर्ने प्रवृत्तिले हलिउड ‘विनाश’ भइरहेको दाबी गर्दै संयुक्त राज्य अमेरिका बाहिर बनेका सबै चलचित्रमा नयाँ कर लगाउने आदेश दिएको बताएका छन् ।

ह्वाइट हाउस आफ्नो आक्रामक व्यापार नीतिहरूमाथि बढ्दो आलोचनाको सिकारमा परेको बेला यो घोषणा आएको छ जसमा ट्रम्पले विश्वभरिका देशहरूमा व्यापक कर लगाएका छन् ।

“म वाणिज्य मन्त्रायल र संयुक्त राज्य व्यापार प्रतिनिधिलाई हाम्रो देशमा आउने विदेशी भूमिमा उत्पादित कुनै पनि र सबै चलचित्रमा एक सय प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्त सुरु गर्न अधिकार दिँदैछु”, उनले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखे, “हामी चलचित्रहरू फेरि अमेरिकामै बनेको चाहन्छौँ १”

वाणिज्यमन्त्री हावर्ड लुटनिकले ट्रम्पको सन्देश पुनः पोस्ट गर्दै भने, “हामी यसमा काम गरिरहेका छौँ ।”

कर कसरी कार्यान्वयन गरिने भन्नेबारे कुनै विवरण दिइएको छैन ।

धेरै सामानमा एक सय ४५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपतिको जुझारू व्यापार नीतिहरूको भार लिएको चीनले गत महिना आफूले आयात गरेको अमेरिकी चलचित्रको सङ्ख्या घटाउने बताएपछि ट्रम्पको पोस्ट आएको हो ।

“अमेरिकाको चलचित्र उद्योग धेरै छिटो मर्न थालेको छ । अन्य देशले हाम्रा फिल्म निर्माता र स्टुडियोहरूलाई संयुक्त राज्य अमेरिकाबाट टाढा लैजान सबै प्रकारका प्रोत्साहनहरू दिइरहेका छन्”, उत्पादन अन्य देशहरूमा आकर्षित हुनु ‘राष्ट्रिय सुरक्षा खतरा’ भएको दाबी गर्दै ट्रम्पले आइतबार लेखेका छन्, “हलिउड, र संयुक्त राज्य अमेरिकाभित्रका अन्य धेरै क्षेत्र ध्वस्त भइरहेका छन् ।”

चलचित्र उद्योगका लागि प्रभावहरू–वा वास्तवमा करहरू कसरी लागु गरिनेछ– भन्ने तत्काल स्पष्ट थिएन ।

पर्दाका लागि बढ्दो लोकप्रिय र लाभदायक उत्पादन क्षेत्र टेलिभिजन शृङ्खला प्रभावित हुनेछ कि भन्नेबारे ट्रम्पको पोस्टमा कुनै उल्लेख गरिएको थिएन ।

– अमेरिका शीर्ष पाँचमा छैन –

हलिउड संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रको एक प्रमुख क्षेत्र हो । यस क्षेत्रले मोशन पिक्चर एसोसिएसनको पछिल्लो तथ्याङ्क अनुसार २०२२ मा २३ लाखभन्दा बढी रोजगारी र दुई खर्ब ७९ अर्ब डलरको बिक्री उत्पन्न गरेको थियो ।

तर हलिउड हड्ताल र कोभिड महामारीको प्रभावको पृष्ठभूमिमा उद्योगले अझै पनि आफ्नो गति पुनः प्राप्त गर्न सङ्घर्ष गरिरहेको उद्योगका भित्रीहरूले बताएका छन् । हड्ताल र कोभिड महामारीले अमेरिकीहरूले चलचित्रहरू खपत गर्ने तरिका परिवर्तन गरेको छ र थिएटरमा भन्दा घरमा हेर्ने छनोट गरेको छ ।

उत्पादन ट्र्याकिङ सेवा प्रोडप्रोको जनवरीको रिपोर्ट अनुसार संयुक्त राज्य अमेरिका १४ अर्ब ५० करोड डलरको उत्पादन खर्चसहित एक शीर्ष फिल्मिङ केन्द्र हो । यद्यपि त्यो रकम दुई वर्ष अघिको तुलनामा २६ प्रतिशतले घटेको छ ।

यद्यपि स्टुडियो कार्यकारीहरूको सर्वेक्षणले सन् २०२५ र २०२६ का लागि उनीहरूको शीर्ष पाँच मनपर्ने उत्पादन स्थानहरू प्रस्तावमा प्रतिस्पर्धी कर प्रोत्साहन योजनाहरूका कारण संयुक्त राज्य अमेरिका बाहिर रहेको खुलासा गरेको छ ।

पहिलो टोरन्टो, त्यसपछि बेलायत, भ्यानकुभर, मध्य युरोप र त्यसपछि अस्ट्रेलिया थिए । क्यालिफोर्निया छैटौँ स्थानमा आएको छ ।

जनवरीमा आफ्नो पदग्रहण अघि ट्रम्पले लामो समयदेखि समर्थकहरू सिल्भेस्टर स्टेलन, मेल गिब्सन र जोन भोइटलाई हलिउडका विशेष दूतका रूपमा नियुक्त गरेका थिए ।

उनले ट्रुथ सोसलमा एक पोस्टमा मनोरञ्जन उद्योगलाई ‘पहिलेभन्दा अझ बलियो’ बनाउने बताएका छन् ।

ट्रम्प र रिपब्लिकनहरूले परम्परागत रूपमा मनोरञ्जन उद्योगबाट थोरै समर्थन पाएका छन् । टेलर स्विफ्टदेखि जर्ज क्लुनीसम्मका स्टारहरूले सन् २०२४ को राष्ट्रपति चुनावमा डेमोक्रेट कमला ह्यारिसलाई समर्थन गरेका थिए । 

काश्मीर आक्रमणपछि भारतसँगको तनावमा मध्यस्थता गर्न इरानका शीर्ष कूटनीतिज्ञ पाकिस्तानमा

इस्लामाबाद । गत महिना काश्मीरको भारतीय नियन्त्रित भागमा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि इस्लामाबाद र नयाँदिल्लीबीचको तनावमा मध्यस्थता गर्ने प्रयास गर्न इरानका विदेशमन्त्री सोमबार पाकिस्तानमा छन् ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीको भ्रमण विवादित काश्मीर क्षेत्रमा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि तनाव बढेदेखि कुनै पनि विदेशी महानुभावको पहिलो भ्रमण हो । यो भ्रमण तेहरानले आणविक सशस्त्र छिमेकीहरूबीचको तनाव कम गर्न मद्दत गर्ने प्रस्ताव गरेको केही दिनपछि भएको हो ।

इस्लामाबाद नजिकैको विमानस्थलमा अवतरण गरेपछि वरिष्ठ पाकिस्तानी अधिकारीहरूले अराघचीलाई स्वागत गरेका थिए । उनले आफ्ना पाकिस्तानी समकक्षी इशाक डार, राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शाहबाज सरिफलाई भेट्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले थप विवरण दिएको छैन ।

क्याबिनेट मन्त्री अत्ताउल्लाह तरारले यही वैशाख ९ गते (अप्रिल २२) मा पहलगामको रिसोर्ट सहरमा भएको आक्रमणको प्रतिक्रियामा भारतले पाकिस्तानमा आक्रमण गर्न सक्ने विश्वसनीय खुफिया जानकारी इस्लामाबादसँग रहेको बताएपछि गत हप्तादेखि पाकिस्तानको सशस्त्र सेना उच्च सतर्कतामा रहेको छ ।

पाकिस्तानले आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ र विश्वसनीय अन्तर्राष्ट्रिय अनुसन्धान गर्न प्रस्ताव गरेको छ । नयाँदिल्लीले अहिलेसम्म यो प्रस्ताव स्वीकार गरेको छैन । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूसहित धेरै विश्व नेताले दुवै पक्षलाई संयम अपनाउन र थप तनावबाट बच्न आग्रह गरेका छन् ।

काश्मीर भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले पूर्ण रूपमा दावी गर्छन् । दुई देशले आफ्नो तीन युद्धमध्ये दुईवटा यस हिमालय क्षेत्रका लागि लडेका छन् र प्राय काश्मीरमा उनीहरूको प्रतिस्पर्धी दाबीका कारण उनीहरूको सम्बन्ध द्वन्द्व, आक्रामक कूटनीति र आपसी शङ्काबाट आकार लिएको छ ।

पछिल्लो झडपले दुई देशलाई एक अर्काका कूटनीतिज्ञ र नागरिकहरूलाई निष्कासन गर्न, साथै हवाई क्षेत्र बन्द गर्न प्रेरित गरेको थियो ।