`

मन्त्रिपरिषद बैठकद्वारा प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत गरेको हो ।

यही असार १४ देखि २० गतेसम्म संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । त्यस्तै बैकठले सहसचिव डा.डा.खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गरेको छ ।

धवलशम्सेर रिहा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्सेर राणा ३ लाख धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

आदेशपछि उनी आजै धरौटी बुझाएर रिहा भएका हुन् । राणा आज बिहान अदालतमा हाजिर भएका थिए। तीनकुने घटनामा हाजिर जमानीमा छुटेका उनी मुद्दा दायर गर्दा उपस्थित भएका थिएनन् । चैत १५ गते राति पक्राउ परेका राणालाई प्रहरीले स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते हाजिरी जमानीमा छाडेको थियो ।

गत चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो ।

यसअघि तीनकुने घटनामा अदालतले ३२ जनालाई धरौटीमा छाड्दै दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

स्थानीय उत्पादन प्रवद्र्धनमार्फत रोजगारी वृद्धि गर्ने सरकारको नीति : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना गर्ने स्पष्ट नीति अवलम्बन गरिएको बताएका छन् ।

ललितपुर महानगरपालिकाद्वारा आयोजित चौथो महिला उद्यमी सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले महिला उद्यमशिलतालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै महिलाद्वारा सञ्चालित उद्यममा कर छुटको व्यवस्था गरिएको जानकारी दिए ।

“वर्तमान सरकारले ल्याएको बजेटमा उद्यमशिलतालाई प्राथमिकता दिइएको छ,” मन्त्री भण्डारीले भने, “उद्योग मन्त्रालयले प्रस्ताव गरेका ३१ वटा कार्यक्रम बजेटमा समावेश गरिएका छन्।”

उनका अनुसार नवप्रवर्तनमा आधारित उद्यम स्थापना गर्न चाहनेलाई लक्षित गर्दै आगामी आर्थिक वर्षका लागि ७३ करोड रुपैयाँ स्टार्टअप कर्जाका लागि विनियोजन गरिएको छ । त्यसैगरी, दलित महिला उद्यमीलाई लक्षित गर्दै ‘भगत सर्वजीत महिला उद्यमशिलता कार्यक्रम’ सञ्चालनमा ल्याइएको  उनको भनाई छ ।

मन्त्री भण्डारीले सार्वजनिक निकायहरूलाई स्वदेशी उत्पादनको प्रयोग गर्न निर्देशन दिइसकिएको उल्लेख गर्दै यस्तो अभ्यासले स्थानीय उत्पादन, सीप र श्रमलाई प्रत्यक्ष लाभ पुग्ने बताए ।

उनले भने, “सार्वजनिक निकायहरूले स्वदेशी उत्पादनको प्रयोग गरेमा आर्थिक चक्र देशभित्र घुम्छ। त्यसैले म ललितपुर महानगरलाई आग्रह गर्छु– सातामा कम्तीमा तीन दिन स्वदेशी लुगा अनिवार्य रूपमा प्रयोग गरियोस् ।”

नेपालमै उत्पादन हुने कोदोको मदिरा प्रयोगसम्बन्धी सरकारले गृहकार्य अगाडि बढाइरहेको भन्दै उनले  स्वदेशी उत्पादनको गुणस्तर वृद्धिसँगै निर्यात प्रवद्र्धन गर्न उद्यमीहरूलाई आग्रह समेत गरेका छन् ।

यस्तै  कार्यक्रमकी अध्यक्ष तथा ललितपुर महानगरपालिकाकी उप–प्रमुख मञ्जली शाक्य बज्राचार्यले हालै सरकारद्वारा ल्याइएका नीति स्वागतयोग्य रहेको बताउँदै महानगरले ती नीति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर देशकै पहिलो नगरपालिका भएकाले अन्य नगरपालिकाभन्दा फरक ढंगले काम गर्दै आएको उल्लेख गर्दै उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

धवलशमशेर राणालाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणालाई धरौटीमा छाड्न आदेश भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

राणा सोमबार बिहानै अदालतमा उपस्थित भएपछि आजै उनको बयान गरिएको थियो । गत चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो ।

राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो । यसअघि तीनकुने घटनामा अदालतले ३२ जनालाई धरौटीमा छाड्दै दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

बजेटका कारण कांग्रेस र एमालेबीचको सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई लिएर नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको सहकार्यमा असर नपर्ने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटबारे प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको सोमबार जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले बजेटलाई देखाएर एमाले र कांग्रेसबीच दूरी बढाउने प्रयास भइरहेको बताउँदै त्यसले द्विदलीय साझेदारीमा फरक नपर्ने उल्लेख गरे ।

‘कांग्रेस र एमालेका बीचमा कहीँकतै दूरी सिर्जना गरेर खेल्न सकिन्छ कि भनेर प्रयास भइरहेका छन् । त्यो व्यर्थको प्रयास नगर्न म आग्रह गर्न चाहन्छु । एमालेले कांग्रेसको जस्तो बजेट ल्याएको र कांग्रेसले एमालेको जस्तो बजेट ल्याएको भनेर दुई दलबीच दूरी सिर्जना गर्न प्रयास गरेको देखिन्छ’, अर्थमन्त्री पौडेलले भने, ‘त्यो व्यर्थको प्रयास छोडिदिए हुन्छ । त्यो ऊर्जा र समय अरु कुनै रचनात्मक काममा लगाउँदा हुन्छ । बजेटभित्र छिरेर कांग्रेस र एमालेका बीच फुट ल्याउने प्रयास नगर्दा हुन्छ ।’

सरकारले संसदमा पेस गरेको वार्षिक आय र व्ययको अनुमानमाथि उठेको प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र बिग्रनुमा अहिलेको नभई पूर्ववर्ती सरकार जिम्मेवार रहेको आरोप लगाए ।  अघिल्लो सरकारले लिएका खराब नीतिलाई वर्तमान सरकारले निरन्तरता दिन नसक्ने उनले बताए ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले करका सिद्धान्तभन्दा विपरीत रहेको अग्रिम आयकरको व्यवस्था हटाएको  अर्थमन्त्री पौडेलले बताए । आम्दानी नगर्दै आयकर लगाउने विगतको अभ्यासलाई सच्च्याइएको उनले बताए ।

सम्पत्ति शुद्धीकरण निवारणमा वित्तीय कारबाही कार्यदलको‘ग्रेलिष्ट’मा पर्नुको कारण पूर्ववर्ती सरकार भएको  आरोप अर्थमन्त्री पौडेलले लगाए।

‘देशलाई ग्रेलिस्टबाट बाहिर निकाल्नुपर्ने छ । त्यसका लागि रणनीति, कार्ययोजना बनेका छन्’, उनले भने । सघन निगरानी सूचीबाट चाँडै बाहिर निस्कन र भविष्यमा यस्तो अवस्था आउन नदिन रणनीति बनाएर अघि बढ्ने गरी बजेट ल्याएको उनले बताए । सम्पत्ति शुद्धीकरण निवारणको मामिलामा अनुसन्धान र अभियोजनका काम कमजोर हुँदा ग्रेलिस्टमा परेकामा अब त्यसलाई प्रभावकारी बनाइने अर्थमन्त्रीले बताए ।

आगामी आवको बजेटको स्रोत र खर्चको अनुमान कार्यान्वयन हुने प्रकृतिको रहेको, बजेटको आकार यथार्थपरक रहेको भन्दै अर्थमन्त्रीले स्रोतको व्यवस्थापन हुन सकेन भने बजेट कार्यान्वयन हुन नसक्ने बताए । उनले आय र व्यय दुवैको अनुमान यथार्थपरक भएको भएको बताए ।

‘यसपटकको बजेटमा म सबैभन्दा बढी प्रस्तावित विनियोजन मात्र होइन स्रोत पनि यथार्थपरक र कार्यान्वयनयोग्य हुनुपर्छ भन्नेमा सचेत थिएँ । बजेटमा राजस्व परिचालन, अन्तराष्ट्रिय सहयोग र आन्तरिक ऋणको तथ्यपरक अनुमान भएको छ’, अर्थमन्त्रीले भने ।

अघिल्लो सरकारले महत्वाकाङ्क्षी राजस्व लक्ष्य राख्ने गरेको र त्यो सम्भव देखिएको उनले उल्लेख गरे । ‘विगतमा ४१ प्रतिशतसम्म राजस्व बढ्नसक्ने अनुमान गरेर बजेट ल्याएका उदाहरण हामीसँग छन् । तर आगामी आवको बजेट चालु आवको संशोधित राजस्व अनुमानको तुलनामा १७ प्रतिशत मात्रै बढ्ने भनेर आन्तरिक राजस्वको अनुमान गरिएको छ’, उनले भने, ‘चुहावट नियन्त्रण गर्ने, करका दायरा विस्तार गर्ने, कर प्रशासन चुस्त बनाउनेजस्ता कार्यबाट हामी १७ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य पूरा गर्छौं ।’

वैदेशिक स्रोतको अनुमान गर्दा पनि पूर्वतयारी सकिएका र कार्यान्वयनको चरणमा जान योग्य आयोजना र कार्यक्रम हेरेर मात्रै अनुमान गरिएको अर्थमन्त्री पौडेलको भनाइ छ । बजेटको परीक्षण कार्यान्वयनका क्रममा हुने पनि उनले बताए ।

सार्वजनिक ऋण बढेको र ऋणको पासोको चुनौती थपिएको भनिए पनि सरकारले प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा आन्तरिक र बाह्य ऋणको अनुमान गरेको अर्थमन्त्रीले बताए ।

आगामी आवको बजेट बनाउँदा आर्थिक अनुशासन कायम गर्न साना तथा खुद्रा आयोजना छर्ने र आर्थिक अनुशासनबाट विचलित हुने गरी बजेट पेस नभएको उनले बताए । भूमि बैंकको प्रयोग, प्रभाव र नतिजा विश्लेषण नगरिकन विरोधका लागि मात्रै विरोध नगर्न पनि उनले प्रतिपक्षी दलहरुलाई आग्रह गरे । बाँझो जमिन सदुपयोग गर्ने र उत्पादकत्व बढाउनका लागि भूमि बैंकको अवधारणा आएको उनले स्पष्ट गरे ।

आगामी आवको बजेटमा परेको जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) मा ‘टेक एन्ड पे’को व्यवस्थाबारे धेरै आलोचना भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अहिले संसद्मा विचाराधीन विद्युत् विधेयकले निजी क्षेत्रलाई पनि विद्युत् व्यापारका लागि बाटो खोल्ने भएकाले निजी क्षेत्रले आफैँ विद्युत् बेच्न सक्ने र नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्तिको अवस्था हेरेर विद्युत् किन्ने भएकाले यो व्यवस्था गरिएको बताए ।

जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी निरुत्साहन गर्नका लागि नभई उनीहरुलाई उत्पादन, प्रसारण र वितरणमा समेत अधिकार दिएर थप लगानी अभिवृद्धि गर्ने उद्देश्यसहित यो व्यवस्था ल्याइएको अर्थमन्त्रीले बताए ।

छरिएका सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्ने नीति बजेटले लिएको, विभिन्न ५१ प्रकारका अवकाश कोष सञ्चालनमा रहेकामा त्यस्ता कोषको व्यवस्थापन हुन नसक्दा लाभग्राहीहरुले लाभ नपाएकाले ती कोषलाई व्यवस्थित गर्ने योजना सरकारले बजेटमार्फत ल्याएको उनको भनाइ छ ।

‘अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको आत्मविश्वास बढाउने, लगानी प्रवद्र्धन गर्ने, पुँजीगत खर्च बढाउने, विदेशी लगानी प्रवद्र्धन गर्ने, नवप्रवर्तनलगायत विषयलाई प्रवद्र्धन गरी अर्थतन्त्र गतिशील तुल्याउने लक्ष्यका साथ बजेट आएको छ’, उनले बताए ।

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि स्रोत व्यवस्थापन गर्ने, लगानी मोडालिटी टुङ्ग्याउने र आयोजना अघि बढाउने गरी बजेटमा व्यवस्था गरिएको अर्थमन्त्रीले बताए ।

दूधकोशी जलाशययुक्त आयोजनालाई जग्गा प्राप्तिका लागि बजेट छुट्याइ प्रक्रिया अघि बढेको, हुलाकी राजमार्ग आगामी दुई वर्षभित्र पूरा गर्नेगरी रकम विनियोजन भएको तथा बजेटले राष्ट्रिय गौरव र राष्ट्रिय महत्वका आयोजनामा बजेट अभाव हुन नदिने व्यवस्था मिलाइएको जानकारी दिए ।

रुग्ण उद्योगहरुको अवस्था अध्ययन,चुरेको संरक्षण उच्च प्राथमिकतामा रहेको, बजेटमार्फत ल्याइएका विभिन्न सेवा सुविधालाई कुनै व्यक्ति, समूह वा निजी क्षेत्रलाई पोस्नका लागि ल्याइएको भनेर लगाइएका आरोपको अर्थमन्त्रीले खण्डन गरे ।

सङ्घीय सरकारले कार्यान्वयन गर्नेगरी आगामी तीन करोडभन्दा कम लागतका आयोजना बजेटमा नपरेका उनले स्पष्ट पारे ।

‘चालु आवमा सिर्जित दायित्व भुक्तानीका लागि, चालु आयोजना सम्पन्न गर्ने प्रयोजनका लागि र विपद् पछिको पुनर्निर्माणका लागि रु तीन करोडभन्दा कम लागतका आयोजनामा बजेट विनियोजन भएको हुन सक्छ । सङ्घीय सरकार आफैले कार्यान्वयन गर्ने योजना तीन करोड भन्दा कम लागतका छैनन् । साना आयोजना सङ्घीय सरकारले कार्यान्वयन नगर्ने कुरामा सरकार स्पष्ट छ ।’, अर्थमन्त्री पौडेलले भने ।

बैठकमा  अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गरे ।

पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

हिल्टन होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजुका पुत्र जयवीर देउवाको लगानीसम्बन्धी सामग्री प्रसारण गरेवापत पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो । उक्त उजुरीमा ब्युरोले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको थियो ।

उजुरीपछि काठमाडौं जिल्ला अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पाठकका तर्फबाट आइतबार उच्च अदालत पाटनमा निवेदन परेको थियो ।

जलविद्युत परियोजनाबारे राष्ट्रपति पौडेलको चासो

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग जल विद्युत आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।

सोमबार शीतल निवास बोलाएर मन्त्री खड्कासँग यस्तो जानकारी लिएका हुन् । पौडेलले १ सय ४० मेगावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माण कार्यको प्रगति विवरणको जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराएको स्वकीय सचिवालयले जनाएको छ ।

यस्तै उनले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेगावाटको तल्लो सेती परियोजनाको यथाशीघ्र कार्यान्वयनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिए । राष्ट्रपति पौडेलले जलविद्युत परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि चासो राखेको स्वकीय सचिवालयले जनाएको छ ।

रास्वपासँग कांग्रेसले खोज्यो मानव तस्करीको स्पष्ट परिभाषा

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मानव तस्करीको परिभाषा स्पष्ट गर्न आग्रह गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले रास्वपालाई लक्षित गर्दै कसलाई मानव तस्कर भन्न खोजेको हो त्यो स्पष्ट पार्न आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘यहाँ मानव तस्करीको कुराहरू उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ? जसले पाँच पाँच जना व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि कुन विषयको मानव तस्करी हो भनेर सदनमा स्पष्ट पारियोस् भनेर म भन्न चाहन्छु ।’

अर्थमन्त्री विष्णु पौडेल बोल्दै गर्दा रास्वपाका सांसदहरुले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै नाराबाजी गरेपछि सभामुखसँग समय मागेर थिङले यस्तो बताएकी हुन् ।

शर्मिला बर्देवाको ‘खै त मायाले कुरा बुझेको’

काठमाडौं । गायिका शर्मिला बर्देवा तथा गायक प्रमोद शर्माले नयाँ गीत ‘खै त मायाले कुरा बुझेको’ सार्वजनिक गरेका छन् ।

गीतमा गीतकार दीनेशराज पुरी, नृत्य निर्देशक सियोन श्रेष्ठ र संगीत संयोजन राजेन्द्र बजगाईंको रहेको छ । यस्तै एल्बम काष्टमा सुधीर श्रेष्ठ, विना रावत तथा कविता तोलंगीको अभिनय रहेको छ ।

११ महिनामा ४२ हजार पर्यटकले गरे रसुवा भ्रमण

रसुवा । प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको हिसाबले धनी एवं रमणीय लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

विशेषगरी पवित्र तीर्थस्थलको दर्शनसहित हिमाल तथा पहाडको सुन्दर दृश्य हेरी रमाउने र स्थानीय तामाङ समुदायको कला संस्कृतिको अवलोकन गर्ने उद्देश्यले पर्यटक रसुवा आउने गरेको देखिन्छ ।

चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रमा ४२ हजार २३० आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका अभिलेखकर्ता रेञ्जर केशव ढौडारीका अनुसार स्वदेशी ३० हजार ७५० र बाँकी ११ हजार ४८० विदेशी नागरिक गत साउनदेखि जेठ मसान्तसम्ममा रसुवा जिल्ला घुम्न आएका हुन् । गत आर्थिक वर्ष रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या ३२ हजार ५९७ रहेको निकुञ्जले जनाएको छ ।

आन्तरिक पर्यटक लाङटाङतर्फको प्राकृतिक दृश्यको अवलोकनपछि गोसाइँकुण्डमा जलस्नान गरी फर्कने गर्दछन् । सङ्घीय राजधानी काठमाडौँबाट नजिक रहेको धार्मिक तथा पर्यटकीयस्थल रसुवामा विशेषगरी तीथयात्रुसहित युवायुवतीको घुम्न आउनेक्रम बढेको छ ।

निकुञ्जका अनुसार सोही अवधिमा आगन्तुक पर्यटक, वन पैदावार र हेलिकोप्टर अवतरण शुल्कबापत चार करोड ८१ लाख राजस्व सङ्कलन भएको छ । नेपालीलाई प्रतिव्यक्ति एक सय, ‘सार्क’ राष्ट्रका नागरिकलाई एक हजार ५०० र अन्य देशका पर्यटकलाई तीन हजारका दरले निकुञ्ज प्रवेश शुल्क लिने कानुनी व्यवस्था रहेबमोजिम उक्त रकम सङ्कलन भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।

यसैगरी, ‘मानसरोवर कैलास’ यात्राका लागि दुई हजार ९५२ जना रसुवागढी नाका हुँदै चीनतर्फ प्रस्थान गरेको स्थानीय अध्यागमन कार्यालयले बताएको छ ।

अध्यागमन कार्यालय घट्टेखोला रसुवागढीका प्रमुख लेखनाथ खतिवडाका अनुसार मानसरोवरका अतिरिक्त ८८५ जना तिब्बतको लाह्सा र १५९ जना चाइना एभरेष्टतर्फ प्रस्थान गरेका छन् ।

बजेट केही मन्त्रालयको कब्जामा परेको जस्तो देखिन्छः सांसद ज्वाला

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले संसदको वर्तमान सञ्चालन शैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ज्वालाले प्रतिपक्षी दलका सांसदहरुले वेल घेराउ र नाराबाजी गरिरहेका बेला संसद चल्नु आफैंमा दुखद पक्ष भएको बताएका हुन् ।

उनले भने, ‘मलाई एउटा कुरा अनौठो लागेको छ । वास्तवमा संसदमा प्रतिपक्षी दलका माननीयज्यूहरु वेल घेराउ र नाराबाजीमा हुनुहुन्छ । यता हामीले संसद चलाइरहेका छौं । यो कस्तो परम्परा हामी बसाल्दै छौं ?’

सांसद ज्वालाले बजेट छलफलप्रति पनि असन्तुष्टि जनाउँदै सौद्धान्तिक छलफल अघि नबढ्दै मन्त्रालयगत बजेट पुस्तक वितरण गरिनु गलत भएको बताए ।

उनले भने,‘यसले सौद्धान्तिक छलफल रुमलिएको छ । अब छलफल त्यता केन्द्रित हुने अवस्था छ । सहरी विकास मन्त्रालयको मात्र कुरा गर्दा पनि बजेट सरकारका केही मन्त्रीहरूले एकलौटी रूपमा कब्जा गरेको जस्तो देखिन्छ ।’

उनले मन्त्री र नेताका बुवाआमाको नाममा, पार्टी र जनसंगठनका कार्यालय निर्माणका लागि अर्बौं रुपैयाँ विनियोजन गरिएको बताए ।

उनले भने,‘जस्तो सहरी विकास मन्त्रालयको मात्रै कुरा गर्दाखेरी यो बजेटलाई सरकारका मन्त्रीहरुले एकलौटी कब्जा गरेको जस्तो देखिन्छ । मन्त्री र नेताका बुवाआमाका नाममा, पार्टी र जनसंगठनका पार्टी कार्यालय बनाउन अर्बौं रकम बाँडिएको छ । तर दुर्गम जिल्लाहरुमा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूत आवश्यकताहरुमा बजेट नभएर जनताहरु छटपटाइ रहेका छन् ।’

 हसिनालाई मुद्दाको सामना गर्न  स्वेदश फर्कन अदालतको आदेश

ढाका । बङ्गलादेशको युद्ध अपराध अदालतले सोमबार फरार पूर्व नेता शेख हसिनालाई मानवता विरुद्धको अपराधको आरोपमा मुद्दाको सामना गर्न फर्कन आदेश दिएको छ ।

७७ वर्षीया हसिना सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको जन विद्रोहको चरमोत्कर्षमा हेलिकप्टरबाट ढाका छोडेर भारत भागेकी थिइन् । उनले बङ्गलादेश फर्कने प्रत्यर्पण आदेशको अवहेलना गरेकी छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार हसिनाको सरकारले सत्तामा टिकिरहने असफल प्रयासमा दमनकारी कारबाही सुरु गर्दा सन् २०२४ जुलाई र अगस्टको बीचमा एक हजार चार सय जनासम्मको मृत्यु भएको थियो ।

हसिना र उनको पदच्यूत सरकार र उनको अहिले प्रतिबन्धित पार्टी अवामी लिगसँग जोडिएका पूर्व वरिष्ठ व्यक्तित्वहरूमाथि बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) मा मुद्दा चलाइएको छ ।

अभियोजकहरूले हसिनाविरुद्ध उक्साहट, उत्प्रेरणा, संलग्नता, सहजीकरण, षड्यन्त्र र सामूहिक हत्या रोक्न असफलता सहित पाँच आरोप दायर गरेका छन् । ती आरोप बङ्गलादेशी कानूनअनुसार मानवता विरुद्धको अपराधसम्म पुग्छन् ।

“अदालतले अभियोजन टोलीलाई यथाशीघ्र अदालतमा उपस्थित हुन बोलाउने सूचना जारी गर्न निर्देशन दिएको छ”, मुख्य अभियोजक मुहम्मद ताजुल इस्लामले सोमबार भने ।

हसिना फर्किन असफल भएमा जुन २४ मा उनको अनुपस्थितिमा मुद्दा सुरु हुनेछ । हसिनाले गृह मन्त्रालय र प्रहरीका निर्देशनहरूमार्फत सुरक्षा बलहरूलाई प्रदर्शनहरू दबाउन आदेश दिनुभएको थियो भन्ने अभियोजनको तर्क छ । हसिनामाथि अन्य दुई अधिकारीसँगै मुद्दा चलिरहेको छ । तीमध्ये एक, पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल छन् । उनीमाथि समान आरोपहरू छन् । उनी पनि फरार छन् ।

दोस्रो, पूर्व प्रहरी प्रमुख चौधुरी अब्दुल्लाह अल मामुन हिरासतमा छन् र सोमबार उनी अदालतमा उपस्थित भएका थिए ।

हसिना सरकारका वरिष्ठ व्यक्तिहरूको अभियोजन अहिले सत्ताका लागि सङ्घर्ष गरिरहेका धेरै राजनीतिक दलहरूको प्रमुख माग हो ।

अन्तरिम सरकारले सन् २०२६ अप्रिलमा चुनाव गराउने बताएको छ । यद्यपि केही दलले पहिले मतदानका लागि दबाब दिइरहेका छन् ।

‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्रसारण गरेवापत लिने शुल्क ‘ह्विलिङ चार्ज’को विषयलाई चाँडो टुङ्ग्याउन विद्युत् नियमन आयोगलाई निर्देशन दिएका छन् ।

सोमबार ऊर्जा मन्त्रालयमा ‘ह्विलिङ चार्ज’सम्बन्धी भएको छलफलमा मन्त्री खड्काले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा ल्याइसकेकाले विद्युत् प्रसारण गर्दा लाग्ने ‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन निर्देशन दिएका हुन् ।

“सरकारले लिएको ऊर्जा विकासका लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको बाटो खोलिएको छ, प्रसारण लाइन निर्माण गरेवापतको लाग्ने शुल्क टुङ्ग्याउन नसक्दा काम अगाडि बढ्न सकेको छैन, एक हप्ताभित्र ‘ह्विलिङ चार्ज’को विषयलाई टुङ्ग्याउनुहोस्”, मन्त्री खड्काले भने ।

मन्त्री खड्काले निजी क्षेत्रको सहभागितामा प्रसारण लाइन निर्माण गर्ने निर्णय गरेको लामो समय भइसक्दा ‘ह्विलिङ चार्ज’ को विषय टुङ्ग्याउन नसक्दा समस्या परेको बताए । रातदिन नभनी ‘ह्विलिङ चार्ज’ को विषयलाई टुङ्ग्याउनुपर्ने मन्त्री खड्काको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले प्रसारण लाइनको अभावका कारण खोलामा उत्पादित विद्युत् खेर गइरहेको र सुक्खा याममा भारतबाट विद्युत् आयत गर्नुपर्ने अवस्था रहेको भन्दै अब त्यसो हुन नदिने गरी काम गर्नुपर्ने बताए ।

बैठकमा विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल र आयोगका सदस्य डा मधुसुदन अधिकारीले प्रसारण लाइनमा ‘ह्विलिङ चार्ज’को शुल्कबारे आयोगले अहिलेसम्म गरेको तयारीबारे मन्त्री समक्ष प्रस्तुत गरेका थिए ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य र मन्त्रालयका सहसचिवलगायत उच्च तहका कर्मचारीको सहभागीता रहेको थियो ।

शेयर बजारमा १३ अर्ब १८ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले बढेर दुई हजार छ सय ५८ दशमलव ६६ विन्दुमा कायम भएको हो ।

आज तीन सय १८ कम्पनीका तीन करोड ३६ लाख ३७ हजार नौ सय ६६ कित्ता शेयर एक लाख पाँच हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार सात सय ४२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह एक दशमलव २२, जलविद्युत् एक, लगानी शून्य दशमलव १३ उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३ र अन्य समूह शून्य दशमलव प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक चार दशमलव ६९ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ४८, विकास बैंक शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव ५९, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव २५ र व्यापार समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा पिओर इनर्जी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुमाउनेमा भने अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ५८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाईड्रोपावर लिमिटेडको रू ९५ करोड १६ लाख २२ हजार छ सय ८७ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै खरिदबिक्री भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन ८०–२० को २७ लाख एक हजार आठ सय कित्ता शेयर किनबेच भएको छ ।

इरान र इजरायललाई तनाव कम गर्न ‘तुरुन्तै’ कदम चाल्न चीनको आग्रह

बेइजिङ । तेहरानले इजरायली सहरहरूमा मिसाइल आक्रमणको वर्षा गरेपछि र इजरायलले इरानभित्र गहिरो सैन्य लक्ष्यहरूमा प्रहार गरेपछि चीनले सोमबार इरान र इजरायललाई तनाव कम गर्न ‘तुरुन्तै’ कदम चाल्न आग्रह गरेको छ ।

“हामी सबै पक्षलाई तुरुन्तै तनाव घटाउने उपायहरू अपनाउन, क्षेत्रलाई ठूलो अशान्तिमा डुब्नबाट रोक्न र वार्तालापमार्फत समस्या समाधानको सही बाटोमा फर्कने अवस्था सिर्जना गर्न आग्रह गर्छौं”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने ।

दशकौँको शत्रुता र प्रोक्सी तथा गुप्त अपरेसनहरूमार्फत लडिएको लामो छायाँ युद्धपछि गत हप्ता इजरायलको इरानमाथिको अचानक आक्रमणले अहिलेसम्मकै तीव्र लडाइँ सुरु गरेको छ र लामो द्वन्द्वको डर जगाएको छ । यो द्वन्द्वले मध्यपूर्वलाई समेट्न सक्छ ।

इजरायलले आफ्नो आक्रमणले सैन्य र आणविक सुविधाहरूमा प्रहार गरेको र धेरै शीर्ष इरानी कमान्डर र आणविक वैज्ञानिकहरू मारिएको बताएको छ । यद्यपि एक वरिष्ठ अमेरिकी अधिकारीले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई मार्ने योजनाबाट पछि हट्न भनेका थिए ।

चीनका शीर्ष कूटनीतिज्ञ एवं विदेशमन्त्री वाङ यीले शनिबार आफ्ना इजरायली र इरानी समकक्षीहरूसँग गरेको फोनवार्तामा उनले दुवैलाई तेहरानप्रति बेइजिङको समर्थन स्पष्ट पारेको विदेश मन्त्रालयले बताएको छ ।

चीनको इरानसँग घनिष्ठ सम्बन्ध छ । चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र यसको तेलको मुख्य खरिददाता हो भने तेहरान अझै पनि कडा अमेरिकी प्रतिबन्धमा छ ।

“सबै सम्बन्धित पक्षहरूले तुरुन्तै वृद्धिमा ब्रेक लगाउन र तनाव कम गर्न कदम चाल्नुपर्छ”, गुओले सोमबार भने, “बलले दिगो शान्ति ल्याउन सक्दैन । चीनले यस क्षेत्रमा थप अशान्ति रोक्न सम्बन्धित पक्षहरूसँग सञ्चार जारी राख्नेछ, शान्ति प्रवद्र्धन गर्नेछ र वार्तालाई प्रोत्साहन दिनेछ ।”

एयर इन्डिया दुर्घटनापछि अवशेषको प्रतीक्षामा आफन्त

अहमदाबाद (भारत) । दशकौँमा विश्वको सबैभन्दा खराब विमान दुर्घटनापछि भारतीय स्वास्थ्य अधिकारीहरूले आफन्तहरूलाई आफ्ना प्रियजनहरूको शव हस्तान्तरण गर्न थालेका छन् । यद्यपि अधिकांश परिवारहरू अझै पनि डिएनए परीक्षणको नतिजाका लागि सोमबार प्रतीक्षा गरिरहेका छन् ।

पश्चिमी सहर अहमदाबादमा एयर इन्डियाको जेट दुर्घटना हुँदा मारिएका दुई सय ७९ जना मध्ये केहीको अन्त्येष्टि गरिएको छ भने अरूले पीडादायी प्रतीक्षाको सामना गरिरहेका छन् ।

“उनीहरूले ४८ घण्टा लाग्छ भनेका थिए । तर चार दिन भइसक्यो र हामीले कुनै जवाफ पाएका छैनौँ”, २२ वर्षीय रिनल क्रिश्चियनले भने । उनका दाजु जेटलाइनरमा यात्रु थिए ।

बिहीबार लन्डन जाने विमान अहमदाबादको आवासीय क्षेत्रमा ठोक्किँदा विमानमा सवार दुई सय ४२ यात्रु र चालक दलमध्ये एक जना मात्र बाँचेका थिए भने जमिनमा पनि कम्तीमा ३८ जनाको मृत्यु भएको थियो ।

“मेरो दाजु परिवारको एकमात्र कमाउने व्यक्ति थिए”, क्रिश्चियनले आइतबार भने, “अब के हुन्छ ?”

सहरको एक दाहसंस्कारमा करिब २० देखि ३० जना शोकाकुलहरूले लन्डनमा काम गरिरहेकी यात्रु मेघा मेहताको अन्त्येष्टि समारोहमा प्रार्थना गरे ।

अहमदाबादको सिभिल अस्पतालका डाक्टर राजनीश पटेलका अनुसार आइतबार बेलुकासम्म ८० दुर्घटना पीडितहरूको पहिचान भएको थियो । “यो सावधानीपूर्वक र ढिलो प्रक्रिया हो, त्यसैले यो सावधानीपूर्वक मात्र गर्नुपर्छ”, पटेलले भने ।

आफ्नो नाम उल्लेख गर्न नचाहने एक पीडितका आफन्तले उनीहरूलाई कफिन प्राप्त गर्दा खोल्न नदिने निर्देशन दिइएको बताए । प्रत्यक्षदर्शीहरूले नराम्ररी जलेका शव र छरिएका अवशेषहरू देखेको बताएका छन् ।

कामदारहरूले आइतबार घटनास्थलबाट भग्नावेशष सफा गर्ने काम जारी राखेका थिए भने प्रहरीले क्षेत्रको निरीक्षण गरेको थियो । बोइङ ७८७–८ ड्रिमलाइनर विमान उडान भरेको केही समयपछि मेडिकल स्टाफले प्रयोग गरेको भवनमा ठोक्किएको थियो ।

विमानमा एक सय ६९ जना भारतीय, ५३ जना ब्रिटिस, सात जना पोर्चुगिज र एक जना क्यानाडाली तथा १२ जना चालक दलका सदस्य रहेको एयर इन्डियाले जनाएको छ ।

– हामीले जान्नुपर्छ –

भारतीय अधिकारीहरूले अझै पनि विपत्तिको कारण पहिचान गर्न सकेका छैनन् र एयर इन्डियाका ड्रिमलाइनरहरूको निरीक्षणको आदेश दिएका छन् ।

अधिकारीहरूले आइतबार दोस्रो ब्ल्याक बक्स, ककपिट भ्वाइस रेकर्डर, फेला परेको घोषणा गरेका छन् । यसले खोजकर्ताहरूलाई के गलत भयो भन्ने बारे थप सङ्केत दिन सक्छ ।

उड्डयनमन्त्री राम मोहन नायडु किन्जारापुले शनिबार पहिलो ब्ल्याक बक्स, फ्लाइट डाटा रेकर्डरको डिकोडिङले दुर्घटनाको परिस्थितिमा ‘गहिरो अन्तर्दृष्टि दिने’ आशा गरेको बताए ।

भग्नावशेषबाट एक व्यक्ति बेलायती नागरिक विश्वास कुमार रमेश जीवित निस्केका थिए । उनका भाइ पनि उडानमा थिए । आफ्नो भाइलाई फेला पार्न डिएनए मिलानको पर्खाइमा रहेका इम्तियाज अलीले एयरलाइन्सले परिवारलाई छिटो सहयोग गर्नुपर्ने बताए ।

“म उनीहरूसँग निराश छु । यो उनीहरूको कर्तव्य हो”, शनिबार एयरलाइनले सम्पर्क गरेका अलीले भने, “अर्को चरण यो दुर्घटनाको कारण पत्ता लगाउनु हो । हामीले जान्नुपर्छ ।”

मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छः सांसद गिरी

काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले विनियोजन गरिएको बजेट मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा केन्द्रित रहेको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले बजेटले मुलुकको बिग्रिएको अर्थतन्त्रलाई लयमा फर्काउने तथा सुखी नेपाली समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्ने किसिमको रहेको बताए ।

सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न योग्य रहेको र आर्थिक लक्ष्य हासिल गर्नका लागि सहयोग गर्ने सांसद गिरीको भनाइ छ । “बजेटमा १३ खर्ब १५ अर्ब राजस्व सङ्कलनका अनुमान गरिएको छ, चालु आर्थिक वर्षमा राजस्व वृद्धिको लक्ष्य ३१ प्रतिशत वृद्धिको लक्ष्य निर्धारण गरिएको थियो, विगतमा लक्ष्य अनुसारको उपलब्ध हासिल हुन सकेका थिएनन्,” उनले भने, “राजस्वको लक्ष्य हासिल गर्नका लागि सुशासन कायम गर्न सरकार प्रतिबद्ध हुनुपर्छ, निजी क्षेत्रको मनोबल बढाउन आवश्यक छ ।”

सांसद गिरीले यथार्थको धरातलमा रहेर राष्ट्रिय योजना आयोगले दिएको बजेटको सिलिङको सीमा नबढाई बजेट आएको र विकासका योजनाहरु घटाउनु राम्रो पक्ष रहेको बताए ।

“बजेटमा कृषि क्षेत्रको बजार व्यवस्था, बिमाको सुविधा, मल, बीउ, औजारमा अनुदान दिने कुराहरु आएका छन् । निजी क्षेत्रलाई लगानीका लागि आकर्षण गर्ने र कृषिमा आत्मनिर्भर बन्ने बाटोमा देश अगाडि बढ्ने कुरा सकारात्मक छन्,” उनले भने, “बाँझो जमिनलाई उत्पादन कार्यमा लगाउने, कृषि र वनका उद्यमका लागि मिसन खरिदमा कर छुट दिने व्यवस्था गरिएको छ । यो सकारात्मक छ ।”

सांसद गिरीले युवा पुस्ताहरुलाई नेपालमा नै रोजगारी दिएर विदेश पलायन हुनबाट रोक्ने सरकारको नीति पनि प्रशंसनीय रहेको बताए ।

“यही देशमा भविष्य छ खोज्ने युवाहरुलाई आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटमार्फत आइटी क्षेत्रमा आकर्षण गर्न खोजिएको छ,” उनले भने, “रोजगारी वृद्धि गर्ने कार्यमा युवाहरु लाग्नेछन् । अब मुलुकमा नै युवाहरुले रोजगारी पाउनेछ । तर, नीतिको प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्छ ।”

सांसद गिरीले सार्वजनिक खर्च कटौतीमा सरकारको ध्यान पुग्नुपर्ने र घाटामा भएका सार्वजनिक संस्थाको व्यवस्थापन गर्नुपर्ने सुझावसमेत दिए ।

परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीबारे इजरायली राजदूतसँग जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानबीचको युद्धबाट विकसित परिस्थितिबारे नेपालका लागि इजरायली राजदूत स्मगलर एरी बाससँग जानकारी लिएकी छन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका हुन् ।

त्यस अवसरमा मन्त्री राणाले इजरायलमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरिन् । भेटका क्रममा राजदूत बासले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेका जानकारी गराएका थिए ।

आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराएको थियो ।

पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँस्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन् ।

मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने विज्ञप्तिमा स्पष्ट गरेको थियो ।

फेसबुकमा अलविदा लेखेर सम्पर्कबिहीन भएका चिकित्सक फेला

काठमाडौं । सामाजिक संजालमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा. श्रेष्ठलाई काठमाडौँको तार्केश्वर नगरपालिका– ३ स्थित श्रीनाथ वुटिक रिसोर्टमा फेला पारेको परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीले उनको मोबाइलको अन्तिम लोकेसनको आधारमा खोज तीव्र पारेको थियो । फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कबिहिन भएपछि उनलाई खोज्न प्रहरीलाई अनुरोध गरिएको थियो ।

रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर मोवाइल बन्द गरेका थिए । १८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा श्रेष्ठले आफूलाई काम गर्न नदिएको भन्दै स्वास्थ्य मन्त्रालयले समेत सहयोग नगरेको आरोप लगाएका छन् ।

भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणलाई तत्काल छानबिन समिति बनाएर गम्भीर ढंगले अध्ययन र छानबिन गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने अडान राखेको भन्दै यस विषयलाई गम्भीररुपमा लिएर तत्काल छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

उनले भने, ‘यसबारे गम्भीर ढंगले अध्ययन र छानबिन गर्न जरुरी छ । सबैले उठाउँदै आइरहेको विषय यही थियो । उहाँहरूले छानबिन समिति नबनेसम्म सदनअवरोध गर्ने कुरा जानकारी गराउनु भएको छ । सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ । हामीले त्यो कुरामा विश्वास पनि गरेको छौं । म सरकारसँग आग्रह गर्छु अब ३० दिन लगाउन जरुरी छैन, केहीदिन तत्काल गठन गरेर सबैको भावना केन्द्रिकृत गर्न सरकारलाई आग्रह गर्छु ।’

त्यस्तै उनले शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने सरकारले प्रतिबद्धता जनाएको स्मरण गर्दै कुनै बहानामा सो जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने बताए । निरन्तर नाराबाजी गरिरहेको रास्वपाले भने बस्नेतले बोल्ने क्रममा नाराबाजी रोकेर मौन समर्थन जनाएको छ ।

सूर्य थापाको प्रश्नः हामी रत्नपार्कमा छौं कि शहिदगेटमा ?

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले रास्वपाको नाराबाजीप्रति लक्षित गर्दै हामी रत्नपार्कमा छौ कि शहिदगेटमा छौं भन्ने मेसो नपाएको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बजेटमाथि बोल्दै गर्दा सांसद थापाले नियमापत्ति जनाएका छन् ।

उनले भने, ‘हामी सबै सदस्यहरुले कस्तो मर्यादा पालना गर्नुपर्ने हो ? र कस्तो मर्यादाकाबीचमा यो बैठक गर्नुपर्ने हो ? ध्यानाकर्षण गराउन चाहन्छु । हामी रत्नपार्कमा छौं कि शहिदगेटमा छौ कि, कलंकी वा पोखराको चिप्लेढुंगामा छौँ ? मैले बुझ्न सकिन, माननीयहरुका कुर्सी रोइरहेका छन् ।’

थापाले यस्तो भनाई राखेपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको भन्दै बस्नेतलाई आफ्नो भनाई अगाडि बढाउन आग्रह गरेका थिए । भिजिट भिसा प्रकरणमा रास्वपाका सांसदहरु आज पनि नाराबाजी गर्दैै वेल घेराउ र पलेंटी कसेर बसेका छन् ।

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन् ।

धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड ट्याङ्की निर्माणको सोमबार शिलान्यस गर्दै महामन्त्री शर्माले मुलुकमा सबै समस्याको समाधान गर्ने नेतृत्वको जरुरी भएको बताएका हुन् ।

उनले प्रत्येक चुनावले नयाँ सरकार बनाउने तर प्रधानमन्त्री चाहिँ पुरानै व्यक्ति हुने परिपाटीले नागरिकमा गुनासो र असन्तुष्टि बढिरहेको बताए ।

‘यो दल, ऊ दल, यो गुट र ऊ गुटको होइन सिङ्गो राष्ट्रको अभिभावकको जरुरी छ,’ उनले भने, ‘अब त्यसको हल हामी गर्छौं ।’

महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८३ सालपछि अभिभावकीय भूमिका निर्वाह गर्नेगरी अवधारणा बनाउन आवश्यक रहेको बताए ।

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः उद्योगमन्त्री भण्डारी

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्ने बताएका छन् ।

ललितपुर महानगरपालिकाद्वारा सोमबार एकान्तकुनामा आयोजित चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले अरु देशका बजार नेपाल बन्ने समस्यालाई हामीले नेपालभित्रै साना, लघु र घरेलु उद्योगको प्रवद्र्र्धनबाट समाधान गर्नुपर्ने बताए ।

“हामी मेड इन नेपालको उत्पादनलाई खरिद गर्नेछौँ, हरेक जनप्रतिनिधि र कर्मचारीले पाउने पोसाक भत्ताले नेपाली उत्पादनहरु खरिद गर्नुपर्छ, हाम्रो दैनिक जीवनमा नेपालका उत्पादनले प्राथमिकता पाउनुपर्छ, हाम्रो उत्पादनको ब्राण्डिङ पहिलो प्राथमिकता हो, बजेटमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ, कानुन, विधि र नीतिगत रुपमा सम्बोधन गरेर उपलब्धि हासिल गर्नुछ, थुप्रै कानुनका सुधारहरु सरकारले गरेको छ, लगानीमा क्षेत्रहरु पहिचान गरेर प्राथमिकतामा राख्न सरकारले जोड दिएको छ ।”

मन्त्री भण्डारीले महिलाले सञ्चालन गर्ने उद्योगमा सरकारले कर छुटको सहुलियत दिएको छ भन्दै उद्योग मन्त्रालय नेपालको जिडिपीमा उद्योगको योगदान बढाउन नीति र कानुनमा सहुलियत दिने कुरामा ध्यान दिएर लागेको बताए ।

“बजेटमा रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषयलाई समेटिएको छ, स्टार्टअप र रचनात्मक उद्यमशील परियोजनालाई रु २५ लाखसम्म दिने कार्यक्रम समावेश गरेका छौँ, महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्नुपर्छ”, उनले भने ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालकै सबैभन्दा जेठो स्थानीय पालिकाले गर्ने काम अरु स्थानीय तहले अनुसरण गर्ने खालको हुनुपर्छ भन्दै यसका लागि सबै कर्मचारीले ध्यान दिएर कार्यसम्पादन गर्न आग्रह गरे ।

जलवायु परिवर्तन र मुस्ताङको सकस

-लोकराज अवस्थी
जलवायु परिवर्तनले विश्वलाई प्रभावित पार्दै आइरहेको छ । यो सामूहिक समस्याका रुपमा देखापरेको छ । यसले विश्वको ध्यान केन्द्रित गरिहेको छ । जलवायु परिवर्तनले समग्र मानव जातिलाई मात्र नभएर पर्यावरणीय चक्रलाई नै खल्बल्याइरहेको छ । जसरी जलवायु परिवर्तनले विश्वभरि असर पारेको छ, त्यसैगरी नेपाल पनि प्रभावित बन्दै आइरहेको छ । जलवायु परिवर्तनले सबैभन्दा बढी असर नेपालका उच्च हिमाली क्षेत्रमा पारेको देखिन्छ । समग्रमा भन्ने हो भने जलवायु परिवर्तनले वातवारणीय असर मात्र पारेको छैन्, मानवीय सङ्कट पैदा गरेको छ । युगौँदेखिको परम्परा र संस्कृति लोपन्मुख भइरहेको छ । रैथाने कृषि प्रणाली तथा प्रविधि र खानाका परम्परागत परिकारहरु हराउँदै गइरहेका छन् । मानवीय सम्बन्ध, सामाजिक अन्तरसम्बन्ध तथा भौगोलिक सम्पन्नता पनि जलवायु परिवर्तनले प्रभावित बनाएको छ । मानव र वन्यजन्तुबीचको सम्बन्ध पनि खल्बलाएको छ । प्राकृतिक द्वन्द्व सिर्जना गराएको छ । र, जलवायु परिवर्तनले परम्परा र आधुनिकताबीचको नवीन सङ्घर्ष जन्माएको छ ।

म्यान्ग्रोव फाउन्डेसनले गरेको एक अध्ययनअनुसार उच्च पहाडी भेगमा पछिल्ला केही दशकहरुमा नाटकीय परिवर्तनहरु आएको जनाएको छ । उक्त अध्ययनले पहिले वर्षभरि हिउँले ढाकेका पहाडहरु अहिले खाली र सुक्खा हुँदै गइरहेका छन् । र, हिमाली क्षेत्रमा हिमनदी, बरफ र हिउँले ढाकिएको क्षेत्र विश्वको औसतभन्दा धेरै छिटो घटिरहेको जनाएको छ । हिमाली क्षेत्र, अरू क्षेत्रभन्दा दुई गुणा छिटो तात्दै गइरहेको अनुसन्धानले जनाएको छ । विश्व तापमानले हिउँ र बरफको मात्रामा गम्भीर प्रभाव पारेको छ । यसले हिमाली क्षेत्रमा मानवीय सङ्कट पैदा गर्दै गइरहेको छ । यो मानव जाति र प्रकृति दुवैका समस्या बन्न पुगेको छ ।

यस्तै, मुस्ताङ पनि जलवायु परिवर्तनको असरबाट प्रत्यक्ष प्रभावित भइरहेको छ । पानी नपर्ने तर हिउँ पर्ने भनेर चिनिएको हिमालपारिको जिल्ला मुस्ताङमा नियमित हिउँ पर्न छोडेको वर्षौं भयो । हिउँमै जन्मी हुर्की खेलेका मुस्ताङीलाई हिउँ नै बिरानो बन्न थालेको छ । हिउँदमा कहिलेकाहीँ देखिने हिउँले उनीहरुलाई जिस्काइरहेको अभास हुन थालेको छ । उनीहरु सोचिरहेका छन्, किन उहिलेको जस्तो हिउँ पर्दैन ? किन पहिलेको जस्तो खेतीपाती हुँदैन ? जस्ता प्रश्नहरुले घच्घच्याइरहेको छ ।  उनीहरुले जीवनशैली फेरिएको अनुभव गरिरहेका छन् । आफ्नै आँखा अगाडि हिमाल डाँडामा परिणत भएको देखेका छन् । कृषि उत्पादन भूमि सुक्खा बगरमा परिणत भएको अनुभव गरिहेका छन् । उनीहरुले आफ्ना लेकहरुमा याक, चौँरी तथा च्याङ्ग्राका बथानहरुको अगुवाइ गर्न छाडिसके । वरिपरिका सुक्खा डाँडाहरुमा बेमौसममा पहिरो गएको आफ्नै आँखासामु देखेका छन् ।

गाउँको पानीको मूलमा पानी आउन छोडेको छ । हिमालबाट आउने पानीका मुहानहरुमा पानी कम हुँदै गइरहेको छ । स्थानीय भाषा, कला तथा संस्कृतिमा परिवर्तन आएको छ । स्थानीय परम्परामा आधारित व्यवसाय सङ्कटमा परेका छन् । मुस्ताङबासी यस्तै परिवर्तन भोग्दैदेख्दै आइरहेका छन् । समयक्रमसँगै भएको परिवर्तनले स्थानीय बासिन्दाको जीवनशैली तथा प्रभावित भएको छ । योभन्दा ठूलो असर प्रकृतिमा परेको छ । यसको मूल कारण भनेको जलवायु परिवर्तन हो ।

जलवायु परिवर्तनले मुस्ताङमा मानिसको बासस्थान मात्र नभएर पर्यावरण नै प्रभावित भइरहेको छ । मुस्ताङमा पनि अरू हिमाली क्षेत्र जस्तै हिमताल सङ्कटमा रहेका छन् । ताल सुक्ने तथा विस्फोट हुने खतरा पनि बढी रहेको छ । पछिल्ला वर्षहरुमा मुस्ताङमा पानी पर्न थालेको छ । यसको कारण बाढीको प्रकोपमा स्थानीय गाउँबस्तीहरु मारमा पर्ने गरेका छन् । उदाहरणका लागि, २०८० साउन २८ गते कागबेनीमा आएको बाढीले त्यस क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । समयमा समयमा हुने तीव्र हावाहुण्डरी तथा असिनापानीले कृषिबालीमा असर पर्न थालेको छ । मुख्यगरी अप्रत्याशित हुने हिमपात, बरफको आँधी तथा खडेरीले पनि जनजीवन प्रभावित हुने गरेको छ । यसले गर्दा यस क्षेत्रका गरिबी रेखामुनि रहेका तथा भौगोलिक जोखिममा परेका समुदायलाई बढी प्रभावित बनाएको छ ।

गाउँघरमा खाना पकाउनका लागि प्रयोग हुने दाउरा पनि पाइँदैन । डाँडामा भएका सामान्य बुट्यानबाहेक ठूल्ठूला रूखहरु लोप हुँदै गइरहेका छन् । बुबाबाजेले घरमाथि जम्मा पारेका दाउरा अचेल नासोका रुपमा मात्र छन् । किनभने उतिबेलाको जस्तो घनाजङ्गल अहिले छैनन् । अचेल खाना पकाउन ग्यासको प्रयोग गरे पनि हिउँदमा जाडो हुँदा भने निकै कठिनाइ भोगिरहेका छन् । दाउरा नहुँदा बालबालिका तथा ज्येष्ठ नागरिक अझ बढी प्रभावित हुने गरेका छन् । उनीहरुका लागि जाडोबाट बच्न एक मात्र उपाय भनेको दाउरा बालेर आगो ताप्नु र घरलाई न्यानो बनाउनु हो । तर अब त्यो सम्भावना कम हुँदै गइरहेको छ । यसको कारण हिउँदे जीवन प्रभावित हुन थालेको छ ।

जलवायु परिवर्तनसँगै बढ्दो तापक्रम तथा वायुमण्डलमा आएको परिवर्तनले यस क्षेत्रमा स्थानीयको स्वास्थ्यमा समस्या देखिन थालेका छन् । मुस्ताङको जोमसोम उपत्यका तथा वरिपरिका बस्तीहरुमा लामखुट्टे देखिन थालेका छन् । जुन भविष्यमा स्थानीय बस्तीका लागि निकै ठूलो स्वास्थ्य समस्या बन्नेछ । बढी हावा चल्ने कारणले बेमौसमा चिसो हुने गरेको छ । यसका कारण रुघाखोकी तथा ज्वरोलगायत रोगहरु बढिरहेका छन् । यसमा पनि अझ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी प्रभावित बनाएको छ ।

जलवायु परिवर्तनले मुस्ताङका विभिन्न क्षेत्रहरु हुने खेतीपाती तथा पशुपालनलाई प्रभावित बनाएको छ । यस क्षेत्रका मुख्य कृषिबालीहरु आलु, उवा, जौ तथा फापरलगायतका उत्पादनमा कमी आएको छ । कमी आउनुको मुख्य कारण बेलैमा हिउँ नपर्नु हो । यस क्षेत्रमा हिउँ नपरेसम्म बाली सप्रिँदैन । हिउँ नपरेपछि सिँचाइमा पनि समस्या देखिन थालेको छ । स्थानीय नदीनालाहरुमा पानीको मात्रा कम हुन थालेको छ । अझ सानातिना खोलाहरु त सुक्दै गइरहेका छन् । हिउँ तथा पानी नपरेपछि खेतबारी सुक्खा हुँदै गएका छन् । अर्को कुरा, पशुपालन गर्न कठिनाइ भएपछि मलको अभाव भएको छ । स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादनले सहजै बजार नपाउनु पनि समस्याको रुपमा देखिएको छ ।

पशुपालन यहाँको अर्को मुख्य पेसा हो । च्याङग्रा, चौँरी तथा भेडाबाख्राहरु पाल्न कठिन हुन थालेको छ । पशुपालन नहुँदा ऊन उत्पादनमा कमी आएसँगै धेरैको मुख्य पेसा नै सङ्कटमा परेको छ । एकातिर व्यवसाय घटेको छभने अर्कोतिर स्थानीय कलासंस्कृति तथा परम्परामा आधारित लुगाहरु उत्पादन हुन छोडेको छ । यसले मस्ताङको मौलिक परिचय नै सङ्कटमा परिरहेको छ । अर्को कुरा, प्रशस्त मात्रामा स्थानीय कृषि उत्पादन नहुँदा स्थानीय बासिन्दा बाहिरबाट आएको महङ्गो खानेकुरा खान बाध्य छन् । त्यति मात्र हैन, स्थानीय रैथाने खाना तथा परिकारहरु लोप हुँदै गइरहेका छन् । यसले मुस्ताङीको जीवनचक्रलाई परिवर्तन गरेको छ । उनीहरुलाई अचानक आएको परिवर्तनलाई स्वीकार्न सकस हुँदै आएको छ ।

गाउँहरु युवाविहीन देखिन्छन् । गाउँमा आफ्नो भविष्य नदेखेका युवाहरु जीविकोपार्जनका लागि गाउँ छोड्न बाध्य छन् । एकातिर अवसरको कमी, अर्कोतिर परम्परागत व्यवसाय सङ्कटमा परेको कारण युवाहरुका लागि गाउँ बस्नयोग्य रहेन । आफूले भोगेका पीडा आफ्ना सन्तानले नभोगून् भनेर परिवारले उनीहरुलाई पढाइका लागि भनेर शहर पठाउन थालेका छन् । आफ्नो सुन्दर भविष्यका लागि युवाहरु पोखरा, काठमाडौँ तथा विदेश जान थालेका छन् । गाउँ छोड्ने युवाको सङ्ख्या दिनानुदिन बढिरहेको छ । गाउँमै बसिरहेका युवाहरुलाई पनि सहज छैन । उनीहरु पनि विकल्पको खोजीमा छन् । यही क्रममा युवा पलायन हुँदै गए भने मुस्ताङका बस्ती उजाड हुँदै जानेछन् । मुस्ताङको त्यो गौरवमय इतिहास, कला, संस्कृति तथा पहिचान सङ्कटमा पर्नेछ ।

हिमाल संरक्षणका लागि नेपाल सरकारले दिगो नीति तथा योजना ल्याउनुपर्छ । मुस्ताङ मात्र नभएर हिमाल जोगाउनका लागि विशेष पहलकदमी गरिनुपर्छ । स्थानीय भाषा, कला, संस्कृति तथा पहिचानलाई जोगाउनका लागि पनि सरकारले दीर्घकालीन रणनीति अपनाउनुपर्छ । हिमाली क्षेत्रमा बसोबास गरिरहेकाहरुको वैकल्पिक जीवन जिउने कला तथा सीपको विकास सुनिश्चित गरिनुपर्छ ।  त्यति मात्र हैन, सरकारले मुस्ताङबासीलाई जलवायु न्याय दिनुपर्छ । जलवायु परिवर्तनले पारेको क्षति तथा असरलाई न्यूनीकरण गर्न पनि उनीहरुलाई क्षतिपूर्ति तथा न्याय दिइनुपर्छ । जलवायु न्याय सुनिश्चित गर्न नेपाल सरकारले ठोस नीति तथा कार्यक्रम तत्कालै ल्याइनुपर्छ, जसले गर्दा उनीहरुलाई राहत मिलोस् । जीवन जीउने कलाको विकास हुँदै जाओस् र जीवन्त मुस्ताङ बचिरहोस् ।

(लेखक जलवायु परिवर्तनसम्बन्धी अध्यता हुनुहुन्छ)

 

चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

चितवन । गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जङ्गे कुमालको मृत्यु भएको छ ।

कुमाललाई आइतबार राति मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा माछा मार्न गएको बेला गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

कुमालको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पाँचखालका तरकारी सुरक्षित र खानयोग्य रहेको प्रमाणित

काठमाडौँ । तरकारी र खाद्यान्नको भण्डारका रुपमा परिचित पाँचखाल नगरपालिकामा उत्पादन भएका तरकारी ‘सुरक्षित र खानयोग्य’ रहेको परीक्षणले देखाएको छ ।

गत जेठ अन्तिम साता विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीका प्राविधिकहरुद्वारा सङ्कलित विभिन्न १५ जातका स्थानीय तरकारी परीक्षण गर्दा विषादीको अवशेष निकै कम देखिएको हो ।

प्राविधिक टोलीले पाँचखालका कृषकको खेतबारीमै पुगेर उत्पादित लौका, तुनेबोडी, काँक्रो, गालेभेँडा, बुलेट खुर्सानी, बन्दा, हरियो फर्सी, भेँडेखुर्सानी, रायो साग, हरियो धनियाँ, भिण्डी, तीतेकरेला, भण्टा, घिरौँला सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरेकामा ती तरकारीमा सरदर ०.२१ देखि १२.२४ प्रतिशतसम्म विषादीको अवशेष देखिएको स्पष्ट गरेको छ ।

विषादी अवशेष द्रूत विश्लेषण कार्यविधि, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ देखिए उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख छ ।

विगत ३ वर्षदेखि नियमित रुपमा गरिएको परीक्षणबाट पाँचखालमा उत्पादित तरकारी सुरक्षित र खानयोग्य रहेको नगर कृषि शाखाले जनाएको छ । शाखाका अनुसार पछिल्ला केही वर्षदेखि विषादी प्रयोग कम तथा जैविक विषादीको प्रयोगदर बढ्दै जानुले पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत घट्दै गएको हो । पाँचखालमा उत्पादित तरकारीमा सरदर ३ देखि ९ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० ‘इमिसन रेट’सम्मका तरकारी उत्पादन भइरहेको परीक्षण प्रतिवेदनले देखाएको छ ।

नगरपालिकाले ‘पाँचखाल नगर–कृषि सहर’ को नारासँगै खाद्यान्न एवं तरकारी बालीमा विषादी न्यूनीकरण गर्न ‘लभग्रिन नेपाल’ नामक संस्थासँग सहकार्य गर्दै आएको थियो । “पाँचखालमा विषादीरहित ताजा तरकारी उत्पादन र स्वच्छ पिउने पानीका लागि निकै ठूलो प्रयासहरु भइरहेका छन्, हामीले यी दुई विषयलाई प्राथमिकता दिँदै आएकाले सार्थकता पाउँदैछ”, नगरप्रमुख महेश खरेलले भने ।

नगरले माटो परीक्षण, माटोको क्षमता सुधारका लागि चुन वितरण, कृषकलाई जैविक विषादीसम्बन्धी नियमित तालिम, तरकारी तथा अन्य बालीमा जैविक विषादीको प्रयोगमा जोड दिने तथा विद्यालयस्तरदेखि नै विषादीविरुद्धको चेतनामूलक कार्यक्रमले पाँचखाल क्षेत्रमा रासायनिक मल तथा विषादीको प्रयोग न्यून बन्दै गएको जनाएको हो ।

खरेल भनछन्, “प्राङ्गारिक उत्पादनमा जोड दिई सोही अनुसार कृषकलाई जागरुक बनाएपछि परिणाम सकारात्मक देखिएको छ, हामीले निरन्तर गरेका परीक्षणमा रासायनिक मल र विषादीको प्रयोग साह्रै न्यून रहेको देखिएको छ ।” उनका अनुसार लभग्रिन नेपालले पाँचखालको ‘अग्र्यानिक तरकारी’ उत्पादनमा निकै ठूलो सहयोग गरेको छ । स्थानीयस्तरमा उत्पादित तरकारीको पाँचखालमै नियमित परीक्षण, ग्रेडिङ, लेबलिङ र प्याकेजिङ गरी बजारमा पु¥याउन नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले बताए ।

खरेलका अनुसार नगर कार्यालय र लभग्रिन नेपालद्वारा संयुक्त रुपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिब ४ वर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायतका बाली अग्र्यानिक बनेका छन् । खरेलले भने, “लभग्रिन नेपालको थप परियोजना सञ्चालनले ‘पाँचखाल नगरः कृषि सहर’को अभियानलाई सार्थकता दिनेमा विश्वास्त हुनुपर्छ ।” लभग्रिन नेपालले पाँचखालका विभिन्न स्थानमा विगत चार वर्षदेखि १८ महिने एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आइपिएम) कृषक पाठशाला सञ्चालन गर्दै आएको छ ।

हालसम्म नगरका १ हजार २०० अगुवा कृषकले विभिन्न चरणमा उक्त कृषक पाठशालामा अध्ययन गरिसकेका छन् । तरकारी तथा अन्य बालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै पाँचखाल नगरको सबै क्षेत्रमा जैविक विषादी प्रयोगलाई प्राथमिकता दिई समय र मौसमको तालिका मिलाएर २२ थरीका आइपिएम प्रविधिसम्बन्धी विषयमा कृषक पाठशालामा पढाइने गरिएको छ ।

यस्तै उक्त संस्थाले विद्यालय तहदेखि नै विषादीबारे जानकारी, प्रयोग तथा असरबारे जानकारी गराउँदा निकट भविष्यमा विषादी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने अपेक्षासहित पाँचखाल नगरका १३ सामुदायिक तथा सात निजी माध्यमिक विद्यालयका विद्यार्थीलाई सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको थियो । विद्यार्थीलाई कक्षामै अनधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि पर्यायवरण प्रणाली तथा वातावरणमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट सचेतना गराउँदै आएको सो संस्थाका निर्देशक नारायण ज्ञवालीले जानकारी दिए । रासस

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

काठमाडौँ । नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) सोमबार आयोजना गरिएको कार्यक्रममा ‘यौन दुर्वलतासम्बन्धी राष्ट्रिय सर्वेक्षण–२०२४’ नतिजा सार्वजनिक गर्दै ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको प्रमुख अनुसन्धानकर्ता डा खेमबहादुर कार्कीले जानकारी दिए ।

विश्वमा करिब महिलामा ४९ प्रतिशत र पुरुषमा ४३ प्रतिशतले कुनै न कुनै प्रकारको यौन दुर्वलता रहेको तथ्याङ्क रहेको छ ।

नेपालमा पहिलोपटक गरिएको सर्वेक्षणका प्रमुख अनुसन्धानकर्ता डा कार्कीका अनुसार यौन दुर्वलता हुने ७२ प्रतिशत पुरुषमध्ये पाँच प्रतिशत वयस्क पुरुषको गम्भीर दुर्वलता र ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्वलता छ ।

उनले यौन दुर्वलता भएकामध्ये करिब ८४ प्रतिशत पुरुषहरूले सम्भोगबाट सन्तुष्टि प्राप्त गर्न नसकेको र ९२ प्रतिशत महिला तथा पुरुषमा यौन चाहना नै नहुने बताए ।

“यौन दुर्वलता हुने महिलाहरूमा ९४ प्रतिशतमा यौन उत्तेजना नै नहुने हुन्छ भने ८६ प्रतिशतमा योनी सुक्खा हुने समस्या छ । करिब ६६ प्रतिशत महिलाहरूले यौन सम्पर्कको समयमा पीडा महसुस गर्छन्,” अध्ययनको प्रतिवेदनमा भनिएको छ ।

अध्ययनमा यौन दुर्वलता भएका ९० प्रतिशतभन्दा बढी व्यक्तिहरूमा यसको मुख्य कारण मनोवैज्ञानिक जस्तै तनाव, चिन्ता, नैराश्यता र कुनै दर्दनाक घटनाबाट उत्पन्न अवस्था रहेको प्रमुख अनुसन्धानकर्ता डा कार्कीले जानकारी दिए ।

सर्वेक्षणका अनुसार महिला र पुरुष दुवैमा रहेको यौन दुर्वलताको स्तर सबैभन्दा धेरै मधेश प्रदेश ७३ प्रतिशत र त्यसपछि कर्णाली प्रदेशमा ७१ प्रतिशत छ ।

प्रमुख अनुसन्धानकर्ता डा कार्कीले मधेश र कर्णाली प्रदेशमा देखिएको यौन दुर्वलताले विकासको दृष्टिकोणले पछाडि परेका ठाउँमा यौन दुर्वलता पनि बढी हुन्छ भन्ने अनुमान गर्न सकिने बताए ।

यौनरोग विशेषज्ञसमेत रहेका उनले यौन दुर्वलताको प्रमुख कारण मानसिक तनाव, व्यस्त जीवनशैली, श्रीमान्श्रीमती छुट्टिएर बस्नुपर्ने अवस्था, एकापसको द्वन्द्व, पारिवारिक कलह, काम र आरामको असन्तुलन रहेको बताए ।

यस्तै, शारीरिक कारणहरूमा यौन अङ्गमा हुने सङ्क्रमण, श्रीमान् वा श्रीमतीमा भएको स्वास्थ्य समस्या प्रमुख रहेका छन् । यसैगरी, सर्वेक्षणले धेरै मोटोपन भएका व्यक्तिमा मोटोपन नभएको व्यक्तिहरूको दाँजोमा बढी यौन दुर्वलता देखिएको छ ।

यस्तै, यौन दुर्वलता मधुमेह, उच्चरक्तचाप भएका बिरामीमा पनि हुने गरेको उनले बताए । अध्ययनले १८ वा १८ वर्षभन्दा कम उमेरमा विवाह गर्नेहरूमा यौन दुर्वलताको दर ६८ प्रतिशत र २५ वर्ष पूरा भएर विवाह गर्नेहरूको दर ६१ प्रतिशतभन्दा उच्च रहेको देखाएको छ ।

फलफूल र सागसब्जीसहितको स्वस्थकर खाना खानेमा ६५ प्रतिशत, फलफूल र सागसब्जी नखानेमा ६८ प्रतिशत यौन दुर्वलताको रहेको छ ।

प्रमुख अनुसन्धानकर्ता डा कार्कीका अनुसार व्यक्तिले हरेक दिन कम्तीमा ४०० ग्राम हरियो सागसब्जी तथा फलफूल खाने मानिसमा यौन दुर्वलता दर कम रहेको पाइएको बताए ।

यस्तै, अध्ययन प्रतिवेदनमा सुर्ती सेवन वा मदिराजन्य पदार्थको सेवनले पनि यौन दुर्वलता बढाएको उल्लेख गरिएको छ । लामो समय सुर्ती सेवन गरेर छाडेकामा ८० प्रतिशतमा यौन दुर्वलता देखिएको छ ।

त्यसैगरी, मदिरा सेवन गर्नेहरूमा ६९ प्रतिशत र नगर्नेहरूमा ५९ प्रतिशत यौन दुर्वलता रहेको पाइएको छ । सोलिड नेपालले नेपालका सातवटै प्रदेशका ३४ वटा जिल्लाका तीन हजार ३८२ जना विवाहित महिला र पुरुषमा गत असारदेखि पुस महिनासम्म सर्वेक्षण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छाले यौन दुर्वलतासम्बन्धी अध्ययन निकै जटिल रहेको भन्दै अध्ययनले नेपालको यौन दुर्वलताको अवस्थाको उजागर गरेको बताए ।

“अध्ययनमा यौन दुर्वलता मुलुककै समस्याका रुपमा देखिएको पाइयो,” उनले भने, “अब आयोगले पनि यौन दुर्वलता घटाउने खालका कार्यक्रमसम्बन्धी नीति बनाउनेछ ।”

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानका डिन डा मोहनराज शर्माले पहिलोपटक गरिएको यौन दुर्वलतासम्बन्धी अध्ययनबाट नेपालको स्वास्थ्य सेवालाई नै चुनौती थपेको बताए । उनले यौन दुर्वलता घटाउने कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशन डा विवेककुमार लालले यौन दुर्वलताले प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्यमा पनि असर गर्ने भएकाले देखाउने भन्दै यौन दुर्वलतासम्बन्धी कार्यक्रमलाई आफूहरुले समावेश गर्ने बताए ।

प्रमुख अनुसन्धानकर्ता डा कार्कीले आमा समूह, उपभोक्ता समूह, स्वास्थ्य समूहको नियमित कार्यक्रममा यौन दुर्वलता रोकथाम र नियन्त्रणसहितको जिम्मेवार स्वस्थ यौन व्यवहारका बारेमा छलफल चलाउन जरुरी रहेको बताए ।

यस्तै, सेवाग्राहीको सहज पहुँच सुनिश्चित हुनेगरी अस्पतालहरू र स्वास्थ्य सेवा प्रदायक संस्थामा यौन स्वास्थ्यसम्बन्धी बहु–विशेषज्ञ सेवा क्लिनिक तथा मनोविमर्श केन्द्रको स्थापना गर्नुपर्ने उनले बताए ।

संसदमा रास्वपाको नाराबाजी, राप्रपाद्वारा बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै संसदमा आजपनि नाराबाजी गरिरहेको छ । सोमबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका छन् ।

सभामुख देवराज घिमिरेले वेल घेराउका बाबजुत संसद अघि बढाएका छन् ।रास्वापले भिजिट भिसाको नाममा सेटिङमा मानव बेचबिखन भएकाले त्यसको छानबिन हुनुपर्ने माग गर्दै आइतबार पनि सदनमा नाराबाजी गरेको थियो ।

एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरुसहितका प्रतिनिधिको छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार भएको छलफलमा तीन तहकै सरकारस्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री रघुजी पन्त, जीवन विज्ञान संस्थाका संस्थापक एलपी भानु शर्मा र गुरु रमेश नेपाल, मूल समारोह समितिका सदस्यसचिव शिवकुमार सापकोटालगायत सहभागी थिए ।

हरेक जुन २१ (असार ७) मा मनाइने यो दिवसको यस वर्षका लागि ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यका साथ मनाउने तय गरिएको छ ।

दिवस मनाउन गत जेठ २९ गते शिक्षा मन्त्रालयमा शिक्षामन्त्री पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको उपस्थितिमा भएको बैठकले शिक्षामन्त्री पन्तको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको थियो ।

अहिले देशको मुख्य समस्या नै सुशासन होः अध्यक्ष लिङ्देन(अन्तरवार्ता)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बिजुली उत्पादनबाट मात्रै पनि नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिने बताएका छन् । उनले खाडी मुलुकले पेट्रोलियम पदार्थ बेचेर सुखी र सम्पन्न जीवन बिताएजस्तै हामीले पनि विद्युत् निर्यातबाट मात्रै पनि सुख र समृद्धिको अनुभूति गर्न सकिने धारणा राखे ।

गएको संसदीय निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लिङ्देनसँग राससका समाचारदाता सुशील दर्नालले नेपालको संसदीय अभ्यास, संविधान कार्यान्वयन, संशोधन, सङ्घीय संरचना, युवा पलायन, देशको आर्थिक विकास र सुशासनलगायत समसामयिक विषयमा लिएको अन्तर्वार्ताको सम्पादित अंशः

अध्यक्षज्यू, आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

–अहिले सङ्घीय संसद्को बर्खे अधिवेशन चलिरहेको छ । यो बजेट अधिवेशन पनि हो । संसद्को गतिविधिसँगै पार्टीको काममा बढी व्यस्त छु ।

अहिलेको संसदीय अभ्यासलाई कसरी विश्लेषण गर्नुभएको छ ?  

–हाम्रो निर्वाचन प्रणाली र यसले उत्पन्न गरेको जटिलता संसद्ले व्यहोर्नु परेको छ । त्यसमाथि पनि सरकार जिम्मेवारीपूर्वक प्रस्तुत हुन नसक्दा संसद् सुचारु र प्रभावकारी हुन सकेको छैन । जनताको अपेक्षा अनुसारको परिणाम दिन सकेको छैन । सैद्धान्तिक रूपमा संसद् कानुन निर्माण गर्ने थलो हो । थुप्रै विधेयक अलपत्र अवस्थामा छन् । विधेयकहरूको प्राथमिकीकरण पनि गरिएको छैन ।  दलीय छायाँमा संसद् चलिरहेको छजस्तो लाग्छ । सांसदले आफ्नो विवेक प्रयोग गर्नेभन्दा पनि ठूला राजनीतिक दलले आफ्नो स्वार्थ अनुकूल कानुन निर्माण गर्ने काम भएको छ । सदनमा उठेका राष्ट्रियता र जनताका दैनिक समस्यालाई पनि सरकारले सम्बोधन गरेजस्तो लाग्दैन ।

संविधान कार्यान्वयनको अवस्थालाई कसरी हेर्नुभएको छ ?

–हाम्रो पार्टीले संविधानका मूलभूत विषयमा फरक मत राख्दै आएको छ । यो संविधान अपूर्ण छ । यद्यपि, जसले आफूलाई  संविधानको पक्षधर भनेका छन्,  उनीहरूले नै अहिले संविधान उल्लङ्घन गरेका छन् । संविधान बनाउनेले नै संविधानको मर्म र भावना विपरीत काम गर्दै आएका छन् । संविधानले कुनै पनि दर्शन र विचारलाई निशेध गरेको छैन । तर, सत्ता सञ्चालकले नै निषेधको राजनीतिलाई प्राथमिकता दिँदै बहुमतको बल प्रयोग गर्ने ढङ्गले अगाडि बढेको देखिन्छ ।

संविधान  अपूर्ण छ भन्नुहुन्छ, तर तपाईंहरू यही संविधानको अभ्यासका आधारमा सांसद बन्नुभएको होइन र ?

–संविधानले राजनीतिक दल खोल्न पाउने सुविधाबाट कसैलाई पनि वञ्चित नगरिने भनेको छ । राजनीतिक दल खोलेपछि दलले आफ्नो दर्शन र मान्यता प्राप्तिका लागि प्रचार÷प्रसार गर्न पाउनेछ । संविधानले सभा र जुलुस गर्न नपाउने कुनै पनि कानुन बनाउन पाइने छैन भनेको छ ।  सबै व्यक्तिले एउटै राजनीतिक विचार धारा वा दर्शन मान्नुपर्छ भन्ने छैन । त्यसैले हामीले राखेको एजेन्डा संविधान विपरीत छैन ।

संविधान संशोधन कुन–कुन विषयमा गर्नुपर्ने आवश्यकता देख्नुभएको छ ?

–समावेशी/समानुपातिक जस्ता संविधानका केही सकारात्मक पक्ष छन् । हामीलाई २००७ सालको परिवर्तनले प्रजातन्त्र, २०४६ सालले बहुदलीय व्यवस्था  र २०६२/६३ को परिवर्तनले समावेशी/समानुपातिकता दिएको छ । यी तीनवटा उपलब्धिलाई नकार्न सकिँदैन । यी सकारात्मक विषयलाई कायम राख्दै अरू थ्रुपै विषय संशोधन गर्नुपर्ने  छ । जस्तोः राज्य संरचना, निर्वाचन प्रणाली, नियुक्ति प्रणालीमा आमूल परिवर्तन गर्नुपर्नेछ । प्रदेश सरकारका बारेमा पनि पुनःविचार गर्नुपर्छ । शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क हुनुपर्छ । सम्पूर्ण संवैधानिक नियुक्ति दलीयभन्दा पनि योग्यता र क्षमताका आधारमा हुने व्यवस्था गर्नुपर्छ । यी सबै कुराको व्यवस्था संविधानमै गरिनुपर्छ ।

अबको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ ?

–अहिलेको निर्वाचन प्रणाली अत्यन्त भद्दा छ । एउटा सानो निर्वाचन क्षेत्रबाट जितेको मानिस प्रधानमन्त्री हुने व्यवस्था छ । प्रधानमन्त्री सिङ्गो देशप्रतिभन्दा पनि एउटा सानो निर्वाचन क्षेत्रप्रति मात्रै केन्द्रित भएको देखिन्छ । यसको अन्त्य नगरेसम्म समग्र देशको प्रधानमन्त्री हुन सक्दैन । त्यसकारण प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने निर्वाचन प्रणाली हुनुपर्छ । यी सबै कुरा गर्दै जाने हो भने देशलाई सुधार गर्दै स्थिरतातर्फ लैजानुपर्छ । प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था गर्नुपर्छ । सांसदले मन्त्री हुन नपाउने व्यवस्था हुनुपर्छ ।

देशमा सुशासन कायम गर्न के गर्नुपर्छ होला ?

–अहिले देशको मुख्य समस्या नै सुशासन हो । सुशासनसँग जोडिएको भ्रष्टाचारको विषय मानिसका लागि सामान्य र परम्परा जस्तो भयो भन्नेमा कसैको असहमति छैन । भ्रष्टाचार गर्नु के नयाँ विषय भयो र भन्ने मानिसमा पर्न थालेको छ । अहिले भ्रष्टाचार कहाँ छ भनेर खोज्नेभन्दा पनि भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने स्थिति भयो । भ्रष्टाचार मुख्यगरी राजनीतिक नेताले नै गरेका छन् ।  अख्तियार र अदातलले राम्रो काम गरेका छैनन् भन्ने होइन । तर, भ्रष्टाचारीलाई कारबाही गर्ने निकाय अख्तियार र अदालतमा राजनीतिक भागबन्डाका  आधारमा नियुक्ति हुने गरेको छ । अनि आफूलाई नियुक्त गर्ने दलको नेतालाई अख्तियार र अदालतले कसरी कारबाही गर्न सक्छ ? त्यसकारण समस्या हाम्रो नियुक्ति प्रणालीमा छ । निर्वाचन प्रणालीमा छ । हाम्रो निर्वाचन प्रणाली खर्चिलो भयो । त्यसले भ्रष्टाचारलाई बढावा दिएको छ । यति सानो देशमा यति धेरै जनप्रतिधिको सङ्ख्या पनि आवश्यक छैन । जनप्रतिनिधि मात्रै होइन हामीले कर तिरेर पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई समेत तलब खुवाउनु परेको छ । विदेशीसँग ऋण लिएर तलब दिन परेको छ । त्यसकारण यी सबैमा हामीले व्यापक रूपमा परिवर्तन गर्नुपर्ने छ ।

देशको युवा पलायनलाई कसरी हेर्नु गर्नुभएको छ ?

–मैले पछिल्लो समयमा आर्थिक रूपमा प्रगति गरेका धेरै देशको भ्रमण गरेँ ।  युवाको रोजगारदाता कसरी धनी भए भनेर देख्ने र बुझ्ने अवसर पाएँ । हाम्रो देशभन्दा प्राकृतिक स्रोत÷साधन र सम्भावनाको हिसाबले अत्यन्तै जटिलतामा रहेका देशले पनि धेरै ठूलो प्रगति गरेका छन् । त्यो प्रगति नेतृत्व, दूरदृष्टि र प्रणालीमा सुस्पष्टता नै हो । हाम्रो देशमा अथाह सम्भावना छ । दुनियाँ बन्ने, हाम्रो देश मात्रै बन्न नपर्ने कुनै कारण छैन । हाम्रो देशमा पनि राम्रो नेतृत्व हुने र इमान्दारिताका साथ काम गर्ने हो भने ५÷१० वर्षभित्रैमा देश बनेको देख्न सकिन्छ । त्यसका लागि प्रणाली पनि ठीक हुनुपर्यो ।

देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन के गर्न सकिन्छ ?

–नेपाल ऊर्जामा अथाह सम्भावना भएको देश हो । यसको मात्रै ठीक ढङ्गले उपयोग गर्न सकियो भने धेरै गर्न सकिन्छ । जलस्रोतबाट विद्युत् उत्पादन गर्न सक्छौँ । जसरी अरबियन देशले पेट्रोलियम पदार्थबाट सुखी र सम्पन्न जीवन बिताइरहेका छन्, त्यसरी नै विद्युतीबाट नेपाली नागरिकले सुखको अनुभूति गर्न पाउँछन् । अहिले हामीले तीन हजार मेघावाट बिजुली उत्पादन गरेका छौँ । हाम्रो क्षमता ८३ हजार मेगावाट भन्छौँ । तर, म भन्छु एक लाख भन्दा बढीको क्षमता छ । त्यसकारण हामीले बिजुलीलाई उच्च प्राथमिकतामा राखेर लगानी गर्नुपर्छ । लगानीको निमित्त सबैलाई आमन्त्रण गर्ने र हामी इमान्दार बन्ने हो भने देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन सकिन्छ । अधिक बिजुली उत्पादन गर्ने हो भने चाँडै पेट्रोलियम पदार्थलाई विस्थापित गर्न सकिन्छ । गाडीहरू बिजुलीबाट चल्न सुरु हुन्छ । भान्सा ग्यासले होइन, बिजुलीले चल्न थाल्छ । सँगसँगै पर्यटनको सम्भावना पनि त्यतिकै छ । अझै धार्मिक पर्यटनबाट देशको आर्थिक विकास गर्न सक्ने धेरै सम्भावना छ ।

नेपालमा कृषिको विकास र आत्मनिर्भर कसरी बनाउन सकिन्छ ?

–कृषिमा धेरै सम्भावना छ । हामीले कृषिलाई आधुनिकीकरण गर्न सकेका छैनौँ । अहिले ६० प्रतिशतभन्दा बढी मानिस कृषिमा संलग्न छन् । तर, हाम्रो उत्पादनले खान पनि पुग्दैन । नेपालले फलफूल, तरकारी र अन्य खाद्यान्न अर्बौंको आयात गरिरहेका छौँ । तर, इजरायल जहाँ तीन प्रतिशत मानिस मात्रै कृषिमा संलग्न छन् तर निर्यात गर्छन् । हामीले हाम्रो कृषिलाई प्राथमिकतामा राख्नै सकेका छैनौँ । साँढे तीन दशक भयो ठूला दलहरूले देश चलाएको । तर, एउटा मल कारखानाको स्थापना हुन सकेको छैन । किसानले पैसा तिरेर मल खरिद गर्न पाएको छैन । हामीले कृषिमै राम्रो गर्न सक्ने हो भने ४० हजार तलबका लागि युवा विदेसिनु पर्दैन ।

लस एन्जलसमा कर्फ्यू केही दिन’ जारी रहने

 

लस एन्जलस । लस एन्जलसमा राति लगाइएको कर्फ्यू  ‘केही दिन’ जारी रहने मेयर करेन बासले बताएका छन् । यो नवौँ दिनको प्रदर्शन हो जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सैन्य समर्थित दमनकारी कारबाही सुरु गर्न बाध्य बनाएको छ ।

डेमोक्रेट नेतृत्वको क्यालिफोर्नियाको भारी ल्याटिनो जनसङ्ख्या भएको सहरमा कागजातविहीन आप्रवासीहरूलाई पक्रन ट्रम्प प्रशासनले सुरु गरेको आप्रवासन छापाको विरोधमा प्रदर्शनकारीहरूले जुन ६ देखि विरोध प्रदर्शन सुरु गरेका थिए ।

र्यालीहरू प्रायः शान्तिपूर्ण र डाउनटाउन लस एन्जलसको सानो क्षेत्रमा सीमित छन्, तर छिटपुट र आँखा खिच्ने हिंसाले बिगारेको छ । र्यालीलाई रिपब्लिकन ट्रम्पले चार हजार नेसनल गार्ड र सात सय मरिन पठाउने बहानाको रूपमा प्रयोग गरेका छन् ।

स्थिति नियन्त्रणमा रहेको दाबी गर्ने स्थानीय अधिकारीहरूको विरोधका कारण यो असाधारण तैनाथी भएको हो ।

बासले तोडफोड र लुटपाटका घटनाहरू रोक्नका लागि विरोध प्रदर्शनको मुटुमा रहेको डाउनटाउन क्षेत्रमा जुन १० मा रातभर कफ्र्यू जारी गरेका थिए ।

उनले हिंसात्मक घटनाहरूका पछाडि रहेका व्यक्तिहरूको सङ्ख्या ‘कम हुनेछ’ भन्ने आशा गरिरहेको बताए ।

“त्यसैले मलाई थाहा छ कफ्र्यू कम्तीमा केही दिनसम्म चल्नेछ”, स्थानीय समाचार च्यानल केटिएलएसँगको टेलिभिजन अन्तर्वार्तामा अझ कति दिन लाग्ने भनेर भविष्यवाणी गर्न नसक्ने उल्लेख गर्दै उनले भने, “हामीलाई थाहा छैन कति छापाहरू हुनेछन्, हामीलाई थाहा छैन छापाहरूको प्रकृति के हुनेछ र हरेक पटक त्यस्तो हुँदा यसले सहरमा धेरै रिस उत्पन्न गर्छ ।”

प्रदर्शनबाट अप्रभावित देखिएका ट्रम्पले सङ्घीय अधिकारीहरूलाई लस एन्जेलस सहित उनीहरूको निर्वासन प्रयासहरू बढाउन निर्देशन दिए ।

बासले लस एन्जलसमा अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) एजेन्सीले छापा मारेको आक्रोश र डरको उल्लेख गरे ।

“मानिसहरू आफ्नो घर छोड्न डराउँछन् । छापाहरूले कहिलेकाहीँ ‘अन्धाधुन्ध’ लाग्छन्”, उनले भने,  “यो संयुक्त राज्य अमेरिका हो । यदि तपाईँ सार्वजनिक रूपमा बाहिर जानुहुन्छ भने तपाईँले आफ्ना कागजातहरू देखाउनु पर्दैन । यो लक्षित छ भनेर विश्वास गर्न मलाई गा¥हो छ ।”

चलचित्र विकास बोर्डले २५ वर्षयता सर्वाधिक कमाई गर्ने २५ फिल्मलाई सम्मान गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले स्थापनाको २५ औँ वार्षिकोत्सवको अवसरमा विगत २५ वर्षयता सर्वाधिक कमाई गर्ने फिल्मलाई सम्मान गर्ने भएको छ। बोर्डले विज्ञप्ति जारी गरी २५ फिल्मलाई सम्मान गर्ने जानकारी दिएको हो।

विकास बोर्ड स्थापना भएको मितिबाट २०८२ साल जेठको मसान्तसम्म रिलिजमा आएका फिल्ममध्येबाट ५ करोड भन्दा माथि व्यापार गर्ने २५ फिल्मलाई सम्मान गर्न लागिएको हो।

विकास बोर्डको स्थापना बि.स. २०५७ साल असार १६ गते भएको थियो। विकास बोर्डले ५ करोड भन्दा बढी कमाई गर्ने फिल्मका निर्मातालाई असारको ७ गते भित्र निवेदन दिन पनि आग्रह गरेको छ।

निर्माताले फिल्म दर्ता गर्दा सम्बन्धित वर्षको फिल्म निर्माण कम्पनीको अडिट रिपोर्ट, चलचित्र वितरकले चलचित्र निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात पेश गर्न समेत आग्रह गरेको छ।

असार ६ गते ग्वार्कोस्थित फ्लाइओभर प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए ।

यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।

मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो ।

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

धरान । सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेको उनले बताए । कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती रहेको छ ।

हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ला वन कार्यालय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलीले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए ।

सरकारकै कारण प्रतिगामी शक्तिहरु सल्बलाइरहेका छन्ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अभियानले नागरिकमा उत्साह बढेको भन्दै अहिलेको सरकारले जनताका असन्तुष्टि पैदा गरेको बताएका छन् ।

सोमबार शहिद रितबहादुर खड्काको १३औं स्मृति दिवसमा आयोजित कार्यक्रममा श्रेष्ठले सरकारको गलत नीतिका कारण जनतामा असन्तुष्टि बढेको बताएका हुन् ।

उनले भने, ‘अहिलेको सरकार भ्रष्ट र निरङ्कुश छ । जसले देशमा आजको आवश्यकता पूरा गर्ने कुरा छाडौं देशलाई संकटको दिशातिर धकेलिरहेको छ । यसैको जगमा टेकेर गरेका गलत कामले जनताका असन्तुष्टि बढेको छ । त्यस कारणल प्रतिगामी शक्तिहरु सल्वलाइरहेका छन् ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरु आफ्नो पार्टीका लागि शक्तिको स्रोत रहेको बताए ।

सापकोटाले विभिन्न अभियानमा जाँदा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई उर्जाको रुपमा लिएको बताएका हुन् । प्रवक्ता सापकोटाले अभियानका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वेपत्ता भएकालाई पनि शहिद घोषणा गरिने भनेर दिएको अभिव्यक्तिले वेपत्ता परिवारका सदस्यमा चमक आएको बताए ।

प्रतिनिधिसभा बैठक बहिष्कार गरेको दिनको बैठक भत्ता नलिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलले असार १ गते प्रतिनिधिसभा बहिष्कार गरेको दिनको बैठक भत्ता नलिने निर्णय गरेको छ । संसद सचिवालयलाई पत्र पठाएर प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भत्ता नलिने जानकारी गराएका हुन् ।

पत्रमा भनिएको छ, ‘हाम्रो पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसदमा अबरोध भएको समयमा पनि जबर्जस्ती बैठक सञ्चालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले यो बैठक बापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गरी सहयोग गरिदिन अनुरोध छ।’

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

कावासोती । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनको अनुभवलाई ध्यान दिदैं यससँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, संगठनात्मक संरचनामा सबलिकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

चुरे संरक्षण दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठनको उद्देश्य अनुरूपका उपलब्धि हाँसिल भएनभएको समिक्षा गरि यसतर्फ सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी रहेको बताए ।

सो अवसरमा नवलपरासीको कावासोती नगरपालिका–३ मा अवस्थित अठ्ठाइस विघा क्षेत्रको ज्योतीपुन्ज सामुदायिक वनमा राष्ट्रपति पौडेलले बर र प्रथम महिला सविता पौडेलले पिंपल रोपेर चुरे संरक्षण दिवस शुभारम्भ गरे ।

उनले चुरे संरक्षणको यति ठूलो जिम्मेवारी पाएको संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै संस्थाको काम प्रभावकारी हुने भन्दै यसतर्फ पनि ध्यान जानुपर्ने उल्लेख गरे ।

उनले भने,–‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत गल्छी पहिरो तथा खहरे रोकथाम, तालतलैया तथा सीमसार व्यवस्थापन, पोखरी निर्माण, नदी उकास जग्गा संरक्षण तथा वृक्षारोपण, कृषि वन कार्यक्रम, संवेदनशील क्षेत्र संरक्षणलगायतमा केही काम भए पनि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति जुन उदेश्यअनुसार गठन भएको थियो त्यसअनुसार अझै उपलब्धि हाँसिल गर्न सकिएको छैन ।’

उनले चुरे क्षेत्रको प्राकृतिक श्रोतहरूको संरक्षण र सदुपयोग गरी चुरे क्षेत्रको वर्तमान अवस्थामा सुधार गर्ने, चुरे क्षेत्रमा भइरहेको वा हुनसक्ने सम्भावित क्षयीकरणलाई न्यूनीकरण गर्ने र स्थानीय जनताको जिवनस्तरमा सुधार गर्ने उद्देश्यका साथ चुरे पहाडको जलाधार क्षेत्रका १६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई वातावरण संरक्षण क्षेत्र कायम गरी उक्त क्षेत्रको दिगो संरक्षण तथा व्यवस्थापन गर्न नेपाल सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको गठन गरेको स्मरण गराए ।

उनले भने, ‘३७ जिल्लामा फैलिएको चुरे क्षेत्र नेपालका करिव ६० प्रतिशत मानिसको जीवन पद्धतिसँग जोडिएको छ । जनसंख्याको चाप, गरीबी, अवैज्ञानिक खेतिप्रणाली, वन अतिक्रमण, नदीजन्य पदार्थको दोहनजस्ता मानवीय कृयाकलापहरूको कारणले गर्दा यस क्षेत्रका प्राकृतिक श्रोतहरूको क्षयिकरण भइरहेको छ ।’

राष्ट्रपति पौडेलले माथिबाट गेग्रान आउने, त्यसले खोला पुरिने र खोला गाउँ तथा खेततिर हिडेपछि ठूलो क्षय हुने गरेकाले खोला घर (बाटो) खोलेर गेग्रानको उपयोग गर्न सके तराई–मधेशलाई बचाउन सकिने धारणा व्यक्त गरे ।

राष्ट्रपति पौडेलले चुरे संरक्षणमा नेपाली सेनाको सहभागिता उपलब्धिमूलक रहँदै आएको उल्लेख गर्दै क्षतिग्रस्त क्षेत्रलाई वृक्षारोपण र संरक्षण गरेर हराभरा बनाउने र पानीको संरक्षणको लागि ठूला–ठूला पोखरी निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्ने जुन काम भएको छ, यसलाई अझै व्यापक बनाउनुपर्ने बताए ।

उनले कमलो चट्टानबाट निर्मित चुरे क्षेत्र भौगर्भिक हिसावले कमजोर छ जसका कारण यो क्षेत्र भू–क्षय, बाढीपहिरो, नदी कटानलगायतका प्राकृतिक प्रकोपहरूबाट अति जोखिमयुक्त र संवेदनशील क्षेत्रको रूपमा रहेको भन्दै चुरे पहाडको भु–क्षय तथा पहिरोको कारणले उत्पन्न बाढीले तराईको उर्वराभूमि मरुभूमी बन्ने खतरा बढिरहेको बताए ।

उनले भने,‘चुरे क्षेत्र तराईको जल पुर्नभरण क्षेत्र हो । चुरे क्षेत्र जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविक मार्ग भएकोले पारिस्थितिकीय प्रणाली संरक्षण तथा सन्तुलनमा महत्वपूर्ण भूमिका खेलेको छ ।’

राप्रपाका महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन् । उनी आज बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए ।

राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित चार वटा मुद्दामा अभियोजन गरिएको छ । उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ ।

इजरायली आक्रमणबाट बच्न इरानका सर्वोच्च नेता नै भूमिगत बङ्करभित्र

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको हत्या गर्ने इजरायली योजना रोकिदिएका छन् ।

लगातार चौथो रात पनि दुई देशबीच घातक आक्रमण र प्रत्याक्रमण जारी छ । शुक्रबारयता इरानमा कम्तीमा २२४ जनाको ज्यान गएका विवरण आएका छन्। इजरायलमा कम्तीमा १२ जनाको ज्यान गएको छ ।

इरानका सर्वोच्च नेतालाई मारिदिने इजरायलको योजनालाई ट्रम्पले व्यक्तिगत रूपमा हस्तक्षेप गरेर रोकिदिएको र अहिलेको द्वन्द्वको अवस्थामा त्यस्तो योजना ‘राम्रो उपाय’ नभएको उनले बताएका छन् ।

एकजना वरिष्ठ अमेरिकी अधिकारीलाई उदृत गर्दै रोएटर्स समाचार संस्थाले इरानीहरूले कोही अमेरिकी नमारेको हुनाले तेहरानको राजनीतिक नेतृत्व विरुद्धका हमलालाई वाशिङ्टनले समर्थन नगर्ने बताए । ह्वाइट हाउसले इजरायलले उसको ध्यान इरानको परमाणु क्षमता ध्वस्त पार्नेतर्फ केन्द्रित गर्न सुझाएको विश्वास गरिन्छ ।

यी विवरणबारे ट्रम्पले कुनै सार्वजनिक टिप्पणी गरेका छैनन्। एक अमेरिकी टेलिभिजनसँगको अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले पनि यसबारे सोधिएका प्रश्नको जवाफ दिनबाट तर्किएका छन् ।

शुक्रबारकै इजरायली हमलामा इस्लामिक रिभोलुशनरी गार्डस्का कमान्डर इन चीफ होसेन सलामी, इरानको सशस्त्र सेनाको चीफ अफ स्टाफ मोहम्मद बघेरी तथा कैयन् वरिष्ठ परमाणु वैज्ञानिकहरू मारिएका थिए।

यस्तो छ प्रदेशको बजेट

काठमाडौ । प्रदेश सरकारहरुले आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएका छन् । प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आगामी आर्थिक बर्षको लागि आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गरेका हुन् ।

केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । सोही अनुसार प्रदेश सरकारहरुले बजेट ल्याएका हुन् ।

बागमती प्रदेशले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट
बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आइतबार प्रदेशसभामा पेस गरेको बजेटमध्ये आगामी आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ अर्थात् ३८ दशमलव ६ प्रतिशत र पुँजीगततर्फ ४२ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ अर्थात् ६१ दशमलव ४ प्रतिशत बजेट विनियोजन गरेका हुन् । यसपटकको बजेटमा पूँजीगत खर्चलाई उच्च प्राथमिकता दिइएको छ ।

बजेट खर्चका लागि स्रोत व्यवस्थापनतर्फ सरकारले कर राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। त्यसका साथै अन्य आन्तरिक स्रोतबाट ६ अर्ब ७९ करोड ४ लाख रुपैयाँ उठाउने अनुमान गरिएको छ। संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण (राजस्व बाँडफाँट, समानीकरण अनुदान, सशर्त अनुदान, विशेष तथा पूरक अनुदान) मद्दतबाट ४१ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । यसैगरी, अघिल्लो वर्षको बचत तथा संचित कोण लगायत विविध स्रोतबाट १६ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ खर्च धानिने प्रदेश सरकारको भनाइ छ ।

गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ९८ करोडको बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।

चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड (३९.५%), पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ ।

पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड अनुमान छ । यस्तै, समपूरक अनुदानमा ६३ करोड, विशेष अनुदान ४९ करोड अनुमान छ भने प्रदेशले ५ अर्ब ४५ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य रहेको छ ।

प्रदेशमै लाइसेन्स छपाई गर्न आगामी आर्थिक वर्षका लागि सरकारले आगामी १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

बजेटमा कृषि मन्त्रालयलाई २ अर्ब ८ करोड, उद्योग तथा पर्यटन मन्त्रालयलाई ८४ करोड २१ लख, वन तथा वातावरण मन्त्रालयलाई १ अर्ब ६ करोड, सामाजिक विकास तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३९ करोड, स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ३२ करोड, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई ११ अर्ब ९८ करोड, उर्जा, जलस्रोत तथा खानेपानीलाई ३ अर्ब ८८ करोड छुट्याएको छ ।

मधेस सरकारले ल्यायो ४६ अर्ब ९८ करोडको बजेट
जनकपुरधाम । मधेस सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि लागि बजेट प्रस्तुत गरेको छ । आइतबार प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेटको ३५.८९ प्रतिशत अर्थात १६ अर्ब ७२ करोड ५ लाख १७ हजार चालु तर्फ बजेट विनिजयोजन गरेको छ । पूजिगत तर्फ ६४.११ प्रतिशत अर्थात ३० अर्ब २६ करोड २८ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक श्रोतको राजश्वबाट ९ अर्ब ५० करोड ८३ लाख, समानीकरण अनुदानबाट ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानबाट ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानबाट ३९ करोड ४५ लाख, समपुरक अनुदानबाट ३५ करोड ८२ लाख गरी कुल १२ अर्ब ७३ करोड ६४ लाख , संघिय राजश्य बाँडफाँडबाट १२ अर्ब ३५ करोड ८४ लाख, गत आवको मौज्दातबाट १० अर्ब ३८ करोड २ लाख ५१ हजार व्यहोर्दा २ अर्ब न्युन रह्नेछ । सो रकम आन्तरिक ऋणबाट जुटाइने छ ।

कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले बजेट प्रस्तुत गरेका हुन् । आर्थिक मामिला मन्त्री रानामगरले बजेट समावेशी, समन्यायिक र दिगो विकासको लक्ष्यसहित बजेट ल्याइएको बताए ।

कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको रानाले बताए । यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो । कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ३५ अर्ब २७ करोड ९३ लाख बजेट विनियोजना गरिएको थियो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख रहेको छ ।

यस्तै समपूरक अनुदानबाट ३९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरण जम्मा ३२ अर्ब ७४ करोड ७९ लाख र रोयल्टीबाट प्राप्त हुने रकम ३५ करोड ६ लाख खर्च ६ लाख रुपैयाँ खर्च व्यहोरिने आर्थिक मामिला तथा योजनामन्त्री मगरले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरेको छ ।

प्रदेशसभाको आइतबारको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ८३ करोड ८२ लाख छ हजार रहेको जानकारी दिए ।

यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत रु तीन अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ रु एक करोड विनियोजन गरिएको छ । विनियोजित कुल बजेटको चालुतर्फ ३० दशमलब ४९ प्रतिशत, पुँजीगततर्फ ५९ दशमलब २५ प्रतिशत हो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६५ करोड, नेपाल सरकारवाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु नौ अर्ब ८७ करोड २५ लाख अनुमान गरिएको छ ।

यसैगरी, सङ्घीय रोयल्टी बाँडफाँडबापत प्राप्त हुने रु आठ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु आठ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम रु सात अर्ब ६६ करोड ६३ लाख ४८ हजार, ससर्त अनुदानबाट प्राप्त हुने रु चार अर्ब १६ करोड ३० लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु ५१ करोड ६० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्यायो करिव ३९ अर्बको बजेट

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

जसमा चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजन गरिएको छ ।

आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् । यो बजेट गत वर्षको हाराहारी कै छ ।

वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत अनुमान गरिएको छ ।

चालू आर्थिक वर्ष २०८१/०८२ को लागि ३८ अर्ब ९७ करोडको ल्याएको थियो । लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी : खुसी नागरिकको दीर्घकालिन आकांक्षा हासिल गर्ने संकल्प गरेको छ ।

जसअन्तर्गत कृषिमा उत्पादन र उत्पादकत्व बृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच, उद्यमशीलता विकास, दिगो पूर्वाधार विकास, सामाजिक न्याय सहितको समावेशी विकास र उत्पादनशील रोजगारी सृजना गर्दै आर्थिक असमानता र गरिबी न्यूनिकरणमा सहयोग पुग्नेगरी बजेटले प्राथमिकतामा राखेको छ ।

उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न गरिबी न्यूनीकरण तथा आर्थिक असानता घटाउने गरी बजेट तथा कार्यक्रमलाई केन्द्रित गरिएको जनाइएको छ ।