`

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी चैत्र १० गते आइतबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ ।

मंगलबार बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

कार्यसम्पादनमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

भरिया समातेर जनताको आँखामा छारो हाल्ने काम नगरौँ : खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध रकम बरामद प्रकरणमा भरियालाई मात्रै समातेर जनताको आँखामा छारो हाल्ने काम नगर्न आग्रह रगरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्ता घटनामा ड्राइभरलाई पक्राउ गर्ने तर तस्करसम्म नपुग्ने प्रवृत्ति देखिएको स्मरण गरे। साथै उनले नाइके जुन तहको भए पनि कारबाही गर्न माग गरेका छन्।

उनले भने, ‘यस्ता घटनामा ड्राइभरहरूलाई मात्रै समात्ने तर मेन नाइकेहरूसम्म सरकार नपुगे आँखामा छारो हालेजस्तो हुन्छ। त्यसैले जुन तहको भएपछि नाइकेहरूसम्म पुगोस्। र कारबाहीको दायरामा ल्याओस्।’

उनले ठूलो अवैध रकम समात्न सफल नभएको सरकारलाई धन्यवाद दिदै, सरकार भ्रष्टाचारी र तस्करहरूलाई कारबाही गर्न तयार रहेको सन्देश दिन पनि माग गरे।

यौन व्यवसाय सम्बन्धी अभिव्यक्तिमा कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

 काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति संसदमा माफी मागेका छन् ।

यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति उनले आजको संसद् बैठकमा माफी मागेका हु्न।

यही चैत ३ गते संसदको विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो ।

उनले भने, ‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित संसदका सदस्यहरु एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु ।’

जाजरकोटमा बाख्रा चराउन गएका खडक डाँगीको भीरबाट लडेर मृत्यु

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए ।

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए ।

नौ महिनापछि पृथ्वीमा फर्किए नासाका दुई अन्तरिक्षयात्री

बीबीसी । अन्तरिक्षमा जम्मा आठ दिन बिताउने उद्देश्य राखेर त्यहाँ गएका नासाका दुई अन्तरिक्षयात्री नौ महिनापछि पृथ्वीमा फर्किएका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्पेश एक्स क्याप्सुलमार्फत बुच विल्मोर र सुनीता विलियम्स अनि दुई जना अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको तटीय क्षेत्र नजिकै १७ घण्टाको यात्रापछि अवतरण गरेका थिए ।

उक्त क्याप्सुलबाट बाहिरिने क्रममा उनीहरू मुस्कुराइरहेको र हात हल्लाइरहेको भिडियो सार्वजनिक भएको छ । नासाका अधिकारीहरूले सबैको अवस्था राम्रो रहेको बताएका छन् । बुच र सुनी गएको जुनमा अन्तरिक्षमा पुगेका थिए तर उनीहरूको अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि उनीहरू त्यही फसेका थिए ।

मतदान, क्रिस्मस डिनरको आनन्द र शून्य गुरुत्वाकर्षणमा शारीरिक अभ्यासजस्ता कुराहरूले बुच विल्मोर र सुनीता विलिअम्सलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा लामो समयको बसाइँमा व्यस्त राख्यो । अन्ततः झन्डै नौ महिनापछि यी दुई अन्तरिक्षयात्री स्पेसएक्स ड्रागन क्याप्सुलमा पृथ्वी फर्किए । त्यसो भए हामीभन्दा ४०० किलोमिटर माथि परिक्रमा गर्ने नासाका अन्तरिक्षयात्रीहरूको जीवन कस्तो रह्यो र उनीहरूले त्यहाँ कसरी समय बिताए ? अवश्य पनि उनीहरूलाई त्यहाँ व्यस्त राख्ने धेरै गम्भीर कुराहरू थिए ।

५९ वर्षीया सुनी र ६२ वर्षीय बुचले स्टेशनमा कार्यरत मिशनहरूलाई मर्मतसम्भार र अन्य अभ्यासमा मद्दत गर्दै ’स्पेशवाक’हरू समेत गरे । जनवरी मध्यतिर सुनी आईएसएसमा रहेका सहकर्मी निक हेगसँग यानको मर्मत गर्न बाहिर निस्किइन्। । त्यसै महिनाको अन्त्यतिर उनी र बुच सँगै बाहिर निस्किए ।

उनीहरूले गरेका मुख्य काममा स्टेशनको गतिविधि नियन्त्रण गर्ने उपकरणहरू मर्मत गर्ने, एनआईसीइआर एक्स–रे टेलिस्कोपमा प्रकाशसम्बन्धी फिल्टरहरू थप्ने र अन्तर्राष्ट्रिय डकिङ एडाप्टरमा रिफ्लेक्टर उपकरण प्रतिस्थापन गर्नेलगायत थिए ।

बुच र सुनीले उक्त अवस्थालाई लामो समयको अन्तरालमा आफू अनुकूल बनाउँदै गए । सेप्टेम्बरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले आफूहरू ‘अनपेक्षित (घटना)को अपेक्षा’ गर्न प्रशिक्षित भएको जनाएका थिए। उनीहरूलाई अवश्य पनि पृथ्वीबारे सोच्ने अवसर दियो। उनीहरूले कैयौँ सूर्योदय र सूर्यास्त देख्न पाए।

स्पेश स्टेशनले प्रत्येक २४ घण्टामा १६ पटक पृथ्वीको फन्को लगाउने क्रममा १६ सूर्योदय र सूर्यास्त देख्छ । उक्त स्टेशनमा हुनेहरूले प्रत्येक ४५ मिनेटमा सूर्योदय वा सूर्यास्त देख्छ । पृथ्वीको यस्तो अनौठो दृश्यको साथ बाँच्न पाउनुले यसलाई मनन गर्न प्रशस्त अवसर दिने सुनीले अनुभूत गरेकी छन्।

‘यसले तपाईँलाई भिन्न तरिकाले सोच्न सक्ने अवसर दिन्छ। यो हामीसँग भएको एक मात्र ग्रह हो र हामीले यसको रेखदेख राख्नुपर्छ,’ उनले भनिन् । बुच र सुनीसँगै आईएसएसमा रहेका डन पेटिट र ननिक हग पनि अमेरिकी नागरिक हुन्। उनीहरू चारै जनाले गत वर्षको अमेरिकी निर्वाचनमा मतदानको अवसर पाए ।

मतदानमा सहजीकरण गर्नका लागि ह्युस्टनस्थित मिशन कन्ट्रोल सेन्टरले इन्क्रिप्टेड इमेलमार्फत् आईएसएसमा मतपत्र पठाएको थियो । ती अन्तरीक्षयात्रीहरूले मतपत्रमा मत जाहेर गरेपछि भूउपग्रहको माध्यमबाट न्यू मेक्सिकोको ग्राउन्ड टर्मिनलमा जोडियो ।

त्यहाँबाट ल्यान्डलाइनहरूले मतपत्रलाई मिशन कन्ट्रोलमा पठाए र त्यहाँबाट विद्युतीय रूपले त्यो उनीहरूको निर्वाचन क्षेत्र पठाएर मत दायर गराइयो । बुचका लागि दिनको सुरुवात बिहान ४ः३० मा हुन्थ्यो भने सुनी केही ढिलो गरी ६ः३० मा उठ्ने गरिन् । दुवैले अन्तरिक्षमा बस्दा हड्डीको घनत्वमा हुने कमीसँग लड्न दैनिक दुई घण्टा वा सोभन्दा बढी व्यायाम गरेर आनन्द लिएको बताउँछन् ।

लिबियाद्वारा १७७ गैरकानुनी आप्रवासी नाइजेरिया फिर्ता

त्रिपोली । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ ।

सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफी शासनको पतनपछि देशमा अस्थिरता र अराजकताका कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने छनोट गरेका थिए ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।

‘आज, अवैध आप्रवासन नियन्त्रण विभागको निर्वासन कार्यालयबाट, हामीले त्रिपोली मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान मार्फत १७७ महिला र केही बाल आप्रवासीहरूलाई नाइजेरिया फिर्ता पठाएको छौँ,’ निर्वासन अधिकारी मोहम्मद ब्रेदाले भने ।

यस समूहमा नौ बालबालिका र आठ शिशुहरू थिए । सोमबार, लिबियाका आन्तरिक मन्त्री इमाद अल–तरबेलसीले युरोपेली सङ्घलाई अवैध आप्रवासन रोक्न थप सहयोग प्रदान गर्न आग्रह गरे । लिबियाको दक्षिणी सिमानाहरू सुरक्षित गर्न यो समस्या समाधान गर्नु धेरै महत्वपूर्ण छ ।

अल–तारबेल्सीले बसाइँसराइको मूल कारणहरूलाई सम्बोधन गर्न आप्रवासीहरूको उत्पत्ति भएका देशहरूमा विकास परियोजनाहरूको लागि पनि आह्वान गरेका छन् ।

दक्षिण सुडानमा नागरिकको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

जुबा । संयुक्त राष्ट्रका एक दूतले दक्षिण सुडानको नासेर, उलाङ र बालित काउन्टीहरूमा बढ्दो हिंसाको बारेमा गहिरो चिन्ता व्यक्त गरेकी छन् । बढ्दो हिंसाले स्थानीय जनसङ्ख्यालाई असर गरिरहेको र मानवीय कार्यमा बाधा पुर्याइरहेको उनले बताए ।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्र मानवीय संयोजक अनिता किकी गेबेहोले भनेकी छन्,’हिंसाले पहिले नै कमजोर समुदायहरूलाई ठूलो जोखिममा पारिरहेको छ । म सबै पक्षहरूलाई मानवीय सहयोगलाई आवश्यक परेकाहरू विशेष गरी महिला, बालबालिका र वृद्धवृद्धाहरूसम्म सुरक्षित रूपमा पुग्न अनुमति दिन आग्रह गर्दछु । फेब्रुअरीको अन्त्यमा सुरु भएको हिंसाबाट ५० हजार मानिस विस्थापित भएका छन्, जसमध्ये १० हजार छिमेकी इथियोपियामा भागेका छन् ।’

दक्षिण सुडान र इथियोपियाको सिमानामा अवस्थित नासिरको बाहिरी इलाकामा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको र धेरै जना घाइते भएको बताइएको छ ।

मार्च ७ मा नासिरमा उद्धार अभियानमा रहेको संयुक्त राष्ट्र सङ्घको हेलिकप्टरमा बिद्रोही समूहले गोली चलाउँदा दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्सका दर्जनौं सैनिक, एक जनरल र एक संयुक्त राष्ट्र सङ्घका कर्मचारीको मृत्यु भएको थियो ।

‘असुरक्षाका कारण २३ जना मानवीय कामदारहरूलाई स्थानान्तरण गरिएको छ । नासिरमा हैजा उपचार एकाइ बन्द गरिएको छ, जसले गर्दा उलाङ, नासिर र बालिएट काउन्टीहरूमा चलिरहेको प्रकोप झनै खराब भएको छ, जहाँ हालै ८४० हैजाका घटना रिपोर्ट गरिएका छन् ।’

‘मानवीय समुदायले सहायता गर्न सक्दो प्रयास गरिरहेको छ, तर असुरक्षा र विश्वव्यापी कोष कटौतीले महत्वपूर्ण सहायता प्रदान गर्ने हाम्रो क्षमतालाई असर गरिरहेको छ,’ गेबेहोले थपिन् ।

अमेरिकाले नेपाललाई दिँदैआएको आर्थिक सहयोगले निरन्तरता पाउने ट्रम्पका सुरक्षा निर्देशकको आश्वासन

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँ दिल्लीमा मंगलबार भेटवार्ता भएको छ ।

भारतको विदेश मन्त्रालयद्वारा नयाँदिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरिन् ।

विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारसँग आग्रह गरेको स्मरण गराउँदै उनको अझैसम्म रिहाइ हुन नसकेकाले सहयोगको अपेक्षा गरेको बताइन् ।

इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिनलाई सन् २०२३ को अक्टोबरमा हमासले इजरायली भूमिबाट अपहरण गरेर लगेका थिए । उनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ ।

विश्वका नेता एवं आफ्ना समकक्षीहरुसँगको भेटमा परराष्ट्रमन्त्री डा राणाले विपिन जोशीको रिहाइका लागि सहयोगको याचना गर्दै आएकी छन् ।

भेटवार्ताका क्रममा वरिष्ठ सुरक्षा निर्देशक रिकीले अमेरिकाले नेपाललाई दिँदैआएको आर्थिक सहयोगले निरन्तरता पाउने भनी आश्वस्त गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बारको निर्वाचनमा कानुन व्यवसायीका तीन संगठन एकठाउँमा उभिने

काठमाडौं । कानुन व्यवसायीका तीन संगठन चैत्र २३ गते हुन गइरहेको नेपाल बार एसोशिएसनको निर्वाचनका लागि एकैठाउँमा उभिएका छन् ।

नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसन, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठन, नेपाल र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनले विज्ञप्ति जारी गरी निर्वाचनमा एकैठाउँमा उभिने बताएका हुन् ।

तीन संगठनको संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, ‘सदाझैँ प्रत्येक तीन वर्षमा हुने नेपाल बार एशोशिएसनको निर्वाचन आगामी चैत्र २३ गते हुन गइरहेको सर्वविदितै छ । न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै, करिव दश वर्ष संवैधानिक अभ्यासको पुनरावलोकन गरी संविधान संसोधन समेत गर्नुपर्ने र नेपाल बार एशोशिएशनको नीतिगत, संरचनागत र संगठनात्मक स्वरुप समेत परिवर्तन गर्न विधान संसोधनमा अधिकतम वखतमा बलियो कार्यसमिति निर्माण गर्न सतत् उद्देश्यका साथ हामीहरु एकै ठाँउमा उभिएको कुरा सगौरव अनुरोध गर्न चाहन्छौँ ।’


उनीहरुले न्यायपालिकाको विकृति, विसंगतीको अन्त्य गर्न र न्यायपालिकाको जनअस्था अभिवृद्धि गर्नका लागि बलियो बार, बलियो प्रभाव र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने ऐतिहासिक कार्यभार पूरा गर्न, गराउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

बारको चुनावमा यी संगठनबाट प्रा. डा. विजयप्रसाद मिश्र अध्यक्ष र वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला महासचिवको उम्मेदवार छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘बलियो बार, बलियो प्रभाव र सशक्त भूमिकासहितको देखिने र सुनिने बारको लागि हामीले अघि सारेको उम्मेदवारहरुको सम्पूर्ण टिमलाई अमूल्य मतदान गरी अत्याधिक मतसहित विजयी गराई सेवा गर्ने मौका प्रदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछौँ ।’

उनीहरुले आफूहरुका उम्मेदवार सक्षम, पूर्ण व्यवसायिक र समावेशी रहेको उल्लेख गरेका छन् ।

राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख गाजामा इजरायली हवाई आक्रमणबाट ‘आतङ्कित’

जेनेभा । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले जनवरीमा नाजुक युद्धविराम लागु भएपछि गाजामा भएको सबैभन्दा तीव्र इजरायली हवाई आक्रमणमा मङ्गलबार आतङ्कित भएको बताएका छन् । आक्रमणमा सयौँको मृत्यु भएको छ ।

“गत रात गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीबाट म आतङ्कित छु”, भोल्कर टर्कले एक विज्ञप्तिमा भने, “यसले त्रासदीमा त्रासदी थप्नेछ ।”

इजरायलले मङ्गलबार जनवरी १९ मा युद्धविराम लागू भएपछि यसको सबैभन्दा तीव्र आक्रमण गर्दै सबै बन्धकहरूको फिर्ती नभएसम्म गाजामा लडाइँ जारी राख्ने प्रतिज्ञा गरेको छ ।

हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा ३३० भन्दा बढी मानिस मारिएको जनाएको छ ।

अहिलेसम्म आक्रमणको जवाफ नदिएको हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम वार्तामा गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ र गाजामा अझै जीवित बन्धकहरूका लागि लडाइँमा फर्कनु ‘मृत्युदण्ड’ हुन सक्ने चेतावनी दिएको छ ।

“यो दुःस्वप्न तुरुन्तै अन्त्य हुनुपर्छ, पछिल्लो १८ महिनाको हिंसाले यो सङ्कटबाट बाहिर निस्कने कुनै सैन्य बाटो छैन भनेर प्रशस्त रूपमा स्पष्ट पारेको छ”, टर्कले भने, “अन्तर्राष्ट्रिय कानूनअनुसार राजनीतिक समाधान नै अगाडि बढ्ने एक मात्र उपाय हो । इजरायलले अझ बढी सैन्य बलको सहारा लिनुले पहिले नै विनाशकारी अवस्था भोगिरहेका प्यालेस्टिनी जनसङ्ख्यामाथि थप दुःख मात्र थप्नेछ ।”

“बन्धकहरूलाई तुरुन्तै र बिना शर्त रिहा गरिनुपर्छ । सबै अनियमित रूपमा थुनामा रहेका व्यक्तिहरूलाई तुरुन्तै र बिना शर्त रिहा गरिनुपर्छ । युद्ध स्थायी रूपमा अन्त्य हुनुपर्छ”, उनले भने, “हामी सबै प्रभावशाली पक्षहरूलाई शान्ति प्राप्त गर्न र नागरिकहरूको थप पीडा रोक्न आफ्नो शक्तिमा सबै कुरा गर्न आग्रह गर्दछौँ ।”

डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता विवाद चाँडो टुङ्ग्याउन सांसदहरुको माग

काठमाडौँ। सार्वजनिक लेखा समितिका सदस्यले समितिको काम प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिएका छन् ।


समितिको मंगलबारको बैठकमा सांसदले महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको बेरुजु फर्छ्यौट तथा सम्परीक्षण र उजुरी माथिको छानबिन प्रभावकारी हुन नसकेको बताएका हुन् ।

सभापति ऋषिकेश पोखरेलले समितिलाई थप प्रभावकारी र नतिजामुखी बनाउन विभिन्न नौ वटा उपसमिति बनाएर काम गरिरहेको बताए ।

महालेखापरीक्षक कार्यालयको प्रतिवेदन माथिको छलफल र समितिमा परेका उजुरीलाई फर्छ्यौट गर्नका लागि उपसमिति गठन गरिएको र हालसम्म समितिबाट भए गरेका कामलाई समावेश गरी प्रतिवेदनको मस्यौदा तयार पारिएको उनको भनाइ छ । समितिमा हालसम्म परेका एक सय १४ वटा उजुरी माथि छानबिन हुन सकेको छैन ।

आजको बैठकमा समिति सदस्य जनार्दन शर्माले महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमाथि छलफल हुन नसकेको बताए । त्यसैगरी समितिमा परेका उजुरीहरुको प्राथमिकीकरण गरी चाँडै टुङ्गोमा पुर्याइनुपर्नेमा उनले जोड दिए ।

सांसद रामकृष्ण यादवले समितिका काम नतिजामुखी हुन नसकेको बताए । नियमित बैठक बस्न नसकेको, समितिले दिएका निर्देशन सम्बधित निकायबाट कार्यान्वयन नभएकोलगायतका विषय उनले उठाए ।

सांसद प्रेमबहादुर आलेले राज्यको सम्पत्ति दुरुपयोग भएको विषयमा लेखा समितिले निष्पक्ष र प्रभावकारी ढङ्गले छानबिन गर्न सक्नुपर्ने बताए ।

डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता विवाद चाँडो टुङ्ग्याउनुपर्ने र गौतमवुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आर्थिक घोटाला भएको विषयमा पनि छानबिन थाल्नुपर्ने उनको भनाइ थियो ।

सांसद मनिष झाले समितिका बैठक नियमित बस्नुपर्ने र समितिबाट भएका निर्देशन सम्बन्धित निकायले पालना गरे–नगरेको बारे सोधखोज गरिनुपर्ने बताए । समितिका निर्णयको कार्यान्वयन र प्रभावकारिता कति छ भनेर समितिले हेर्न सक्नुपर्ने उनको भनाइ छ । यसअघि समितिले सिमेन्ट र फलामे डण्डीको मूल्यवृद्धि बारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिएको निर्देशन कार्यान्वयन हुन नसकेको बताए । एकातर्फ उपभोक्ता पीडित भइरहने र अर्कोतर्फ समितिको निर्देशनसमेत पालना नभएको अवस्थामा यसको जवाफ खोजिनुपर्ने उनको भनाइ थियो ।

सांसद राजेन्द्रकुमार केसीले पनि सिमेन्ट र ड्ण्डीको मूल्य वृद्धि बारे समितिले दिएको निर्देशनको नतिजा शून्य रहेको बताए । पोखरा र भैरहवा विमानस्थलमा भएको भनिएको घोटलाको विषयमा लेखा समितिले अध्ययन र छानबिन गर्नुपर्नेमा उनले जोड दिए । 

इजरायली प्रधानमन्त्रीसमक्ष गाजामा बन्धकहरूको ‘हत्या रोक्न’ परिवारहरूको आग्रह

जेरुसेलम। इजरायलले जनवरीको युद्ध विरामपछि उक्त क्षेत्रमा सबैभन्दा घातक आक्रमण गरेपछि गाजामा रहेका इजरायली बन्धकहरूका परिवारहरूले मंगलबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई ‘बन्धकहरूको हत्या र बेपत्ता हुने काम रोक्न’ माग गरेका छन् ।

“बन्धकहरूका परिवारहरूले आज बिहान प्रधानमन्त्री, रक्षामन्त्री र वार्ता टोलीका प्रमुखसँग बैठकको माग गर्छन्, जसमा उनीहरूलाई बन्धकहरूलाई सैन्य दबाबबाट कसरी जोगाउने र उनीहरूलाई कसरी फिर्ता ल्याउने इच्छा छ भनेर आश्वासन दिइनेछ”, बन्धक एवं बेपत्ता परिवार मञ्चले एक विज्ञप्तिमा भनेको छ, “बन्धकहरूको हत्या र बेपत्ता हुन रोक्नुहोस्, पहिले, तिनीहरूलाई फिर्ता गर्नुहोस्–त्यसपछि अरू सबै कुरा भन्दै बन्धकका परिवारहरूले माग गर्नेछन् ।”

बन्धकहरूका परिवारहरूले मंगलबार पछि जेरुसेलममा नेतन्याहुको कार्यालय बाहिर विरोध प्रदर्शनको आह्वान गरेका छन् । इजरायलले जनवरी १९ मा युद्ध विराम सुरु भएयता सबैभन्दा तीव्र आक्रमण गर्दै सबै बन्धकहरू फिर्ता नहुँदासम्म गाजामा लड्ने प्रतिज्ञा गरेको छ ।

“बन्धकहरूका परिवारहरूले आफ्ना प्रियजनहरूको भाग्यका लागि जिम्मेवार सरकारी अधिकारीहरूसँग बैठकका लागि याचना गरिरहेका छन् । उनीहरूको याचना अनुत्तरित छ”, परिवारहरूले एक वक्तव्यमा भनेका छन्, “अब स्पष्ट हुन्छ – सरकारी अधिकारीहरूले उनीहरूसँग भेटघाट गरेनन् किनकि उनीहरूले युद्ध विरामको विस्फोटको योजना बनाइरहेका थिए, जसले उनीहरूका परिवारका सदस्यहरूलाई बलि चढाउन सक्छ ।”

हमासको सन् २०२३ अक्टोबरको आक्रमणमा पक्राउ गरिएका दुई सय ५१ बन्धकमध्ये ५८ जना अझै पनि गाजामा राखिएका छन् तीमध्ये ३४ जना इजरायली सेनाले मृत भएको बताएको छ ।

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबिच नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँदिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरूबिच आज मंगलबार सो भेटवार्ता भएको हो। भेटका क्रममा नेपाल–युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो।

त्यस अवसरमा मन्त्री डा. राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि उनीमार्फत युक्रेन सरकारसँग आग्रह गरेकी थिइन् ।

नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहे पनि मानव तस्करहरूमार्फत नेपालीहरूलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको स्पष्ट गर्दै मन्त्री डा. राणाले रुसी सेनामा कार्यरत रहेका ती सात नेपाली युद्धबन्दीका रूपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरूको रिहाइको माग गरेकी हुन्।

उनीहरूलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको जानकारी दिँदै उनले ती सात नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गरिन्।

त्यस भेटका क्रममा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यस भेटका क्रममा मन्त्री डा. राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्यलगायतमा उम्मेदवारी दिएकाले त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रहसमेत गरिन्।

यसैबिच यस भेटका क्रममा दुई देशका बिचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट वाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके, टाउको उठाउन खोजे ठूलो मूल्य चुकाउनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजामहाराजालाई नेपाली जनताले इतिहासको विषय बनाइसकेको बताएका छन् ।

मंगलबार २७औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान समारोहमा उनले पहिलेका राजामहाराजाहरुलाई इतिहासको विषय बनाइसकेको नेपाली जनता, नेपाल र नेपालको संविधानले फेरि अर्को मुर्खता गर्न नहुने भन्दै यस्तो काम भएमा निकै ठूलो मूल्य चुकाउनुपर्ने बताए ।

जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको संविधानमाथि प्रश्न उठाउने प्रयास र दुश्साहस भएको पनि उनको भनाइ छ ।

उनले भने, ‘नेपालको संविधानले पहिलो पटक इतिहासमा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न गरेको छ । यो सबैभन्दा ठूलो ऐतिहासिक उपलब्धी हो । जसले जनतालाई व्यक्ति, राजामहाराजा र तानाशाहको हातबाट खोसेर सार्वभौम अधिकार जनताको हो भन्ने मान्यता स्थापित गरेको छ ।’

उनले लामो संघर्ष र बलिदानपछि, संविधान सभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको ठाउँसम्म आइपुगेको भन्दै यसैको बलिदानको फलको रुपमा नयाँ संविधान बनेको पनि उल्लेख गरेका छन् ।

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

काठमाडौं। प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिएका हुन्। कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिको सिफारिसका आधारमा डा वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय बनाउने गरी काम अघि बढाउन शुभकामना दिए।

त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी थिए।

नवनियुक्त उपकुलपति प्राडा वाग्ले यसअघि सो विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार थिए।

‘किरात सांस्कृतिक’ भवन निर्माण गरिँदै

भोजपुर । टेम्केमैयुङ–९ लखर्कको पाँचधोरमा ‘किरात सांस्कृतिक’ भवन निर्माण सुरु गरिएको छ । किरात संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक भवन निर्माण थालिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु ८० लाख लागतमा उक्त भवनको निर्माण भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नवराज माङ्गपाहाङ्गले जानकारी दिए । चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरी निर्माण भइरहेको भवनको हालसम्म करिब ५० प्रतिशत काम सकिएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए ।

ऐतिहासिकता प्रदान गर्न काठमाडौँबाट कालिगड ल्याएर किरात संस्कृति झल्कने कलात्मक भवन निर्माण भइरहेको उनको भनाइ छ । “किरात संस्कृतिको संरक्षण विकाससँगै पुस्तान्तरण गर्ने लक्ष्यले यहाँ किरात सांस्कृतिक भवन निर्माण भइरहेको छ,” वडाध्यक्ष माङ्गपाहाङ्गले भने, “मुख्य रुपमा यहाँ किरात समुदायको संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन, वेशभूषा सङ्ग्रहित गरिनेछ । भवनमा राखिने सामग्रीले किरात संस्कृतिको झल्को दिनेछ । यहाँबाट किरात परिकारका बारेमा जानकारी प्रदान गर्ने लक्ष्य छ ।”

निर्माण भइरहेको सो भवन ढुङ्गा, सुर्की र चुनाको प्रयोगबाट निर्माण भइरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिनुभयो । भवनको झ्याल, ढोका, निदल, दलिन, थामलगायतमा किरात संस्कृति झल्कने, ढोल, झ्याम्टा, चिण्डो, धनुवान, मुर्चुङ्गा विनायोको चित्र रहने छ ।

पाँचधारेमा पर्यटनलाई लक्षित गरेर पाँचधारे पोखरी, किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण तथा पदमार्ग निर्माण गरिएको छ । हाल यहाँ निर्माण भइरहेको पदमार्गलाई मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्य रहेको वडाले जनाएको छ ।

२५ करोड रकमसहित पक्राउ परेका लामा सुन तस्करीमा यसअघि पनि परेका थिए जेल

मंगलबार बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ परेका ट्रक चालक यसअघि पनि ७ केजी सुनसहित पक्राउ परेको खुलेको छ ।

प्रहरीले स्रोत नखुलेको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ । उक्त ट्रक टोखाको झोरबाट प्रहरीले बरामद गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिउँसो पत्रकार सम्मेलन गरेर उक्त रकम रसुवागढीको केरुङ नाका हुँदै चीनतर्फ लग्दै गरेको सूचनाको आधारमा बरामद गरिएको जनाएको छ । सोक्रममा ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका छन् ।

उनी यसअघि नै ७ किलो सुन तस्करी अभियोगमा ५ वर्ष जेल बसेर आएको खुलेको प्रहरीले जनाएको छ । हिजो राति ११ बजे ठूलो परिमाणमा यूरो तथा डलर रसुवा गढी नाका चीन कटाउन लागिएको सूचना प्रहरीलाई आएको थियो ।

ना.१ ख १६५२ नम्बरको मालबाहक ट्रक शंका लागेर रोकेर कार्यालयमा ल्याई खानतलासी गर्दा ट्रकको ड्राइभर बस्ने क्याबिनको ‘बोनट’ मा फल्स बटम बनाई लुकाइएको अवस्थामा भेटिएको प्रहरी अधिकारीले बताए । लामा भरियाको रूपमा चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अमेरिकी डलर ३ हजार ११९ ५० दरको १७९, ८ लाख यूरो ५८ हजार ८सय ५० रूपैयाँ बढी रहेको छ । अनुसन्धान अधिकृतहरुको अनुसार लामा राजश्व छलि तथा सुन चोरी पैठारी अभियोगमा पक्राउ परेका हुन् ।

यस्तो छ सहरी विकास मन्त्रालयको वित्तीय प्रगति विवरण

काठमाडौं । सहरी विकास मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयको जम्मा ९१ अर्ब ३५ करोड २३ लाख बजेट रहेकोमा संघतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रहेको थियो । जसमध्ये चालुतर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पूँजीगत तर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार विनियोजित छ ।

हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पूँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको छ । समग्रमा हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायण मैनालीले जानकारी दिए ।

मन्त्रालयले २०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ ।

‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापेट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ वैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ताा मैनालीले भने ।

त्यस्तै, मन्त्रालयले गत असोज ३ बाट धरहरा सञ्चालन भएपछि २ करोड ३७ लाख बढी राजस्व संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।

यस्ता छन् मन्त्रायलका अन्य भौतिक प्रगतिहरूः

-राष्ट्रिय शहरी नीति स्वीकृत भएको छ 

–स्थानीय पूर्वाधार विकास विभागबाट त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गेपुल निर्माण कार्य सम्पन्न भई संचालन
–झापास्थित दमक व्यापारिक कम्पलेक्सको निर्माण सम्पन्न

–काठमाडौं उपत्यका विकास प्राधिकरणबाट सार्वजनिक जग्गा संरक्षण अन्तर्गत कीर्तिपुरमा चम्पादेवी पार्क र भैंसेपाटी प्लाजामा दुई वटा पार्क निर्माण सम्पन्न

–बागमती सुधार आयोजना अन्तर्गत यस आवमा २०० मीटर नदी तटबन्ध, ३५० मीटर सडक कालोपत्रे र १५० मीटर मुख्य ढल निर्माण

–नगर विकास कोषबाट शहरी खानीपानी सरसफाई आयोजना अन्तर्गत ११ वटा आयोजना निर्माण सम्पन्न भएको र १६ वटा आयोजना स्तरउन्नति

–शहरी उत्थान तथा जिविकोपार्जन सुधार आयोजना अन्तर्गत नगरपालिकाहरुको समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने गरी एसीयाली विकास बैक सँग सम्झौता भई पोखरा, जनकपुर, देवदह, सेनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा कार्यक्रम अघि बढेको

आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० वटा गैँडा मृत फेला

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षमा मृत भेटिएका गैँडाहरु प्राकृतिक कारणले मरेका हुन् । बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर र बुढो भएर मरेका हुन् ।

यस आर्थिक वर्षमा चोरी–सिकारीका कारण भने गैँडा नमरेको उनले जानकारी दिए । गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले हो भने दुईवटा चोरी–सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।

मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी–सिकारीले मारेका थिए ।

प्राकृतिक कारणले धेरै गैँडा मरेपछि वन तथा वातावरण मन्त्रालयले मृत्युको कारण खोजी गर्न समिति बनाएको थियो । पछिल्ला वर्षहरुमा प्राकृतिक कारणबाट हुने गैँडाको मृत्यु दर घट्दै आएको छ । आव २०७५/७६ मा प्राकृतिक कारणले मात्र ४३ गैँडा मरेका थिए । त्यसपछिका वर्षहरुमा प्राकृतिक कारणले हुने मृत्युदर घट्दै आएको छ ।

सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ रहेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा गैँडा गणना कार्यक्रम रहेपनि स्थगन भएको छ ।

चीनको छेन्दुबाट पोखरामा व्यावसायिक उडान सुरु

पोखरा । चीनको छेन्दुबाट आएको सिचुवान एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

मंगलबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरको जहाज अवतरण गरेको हो । यो जहाजले आज पोखराबाट छेन्दुका लागि पहिलोपटक व्यवसायिक चाटर्ड उडान गर्दैछ ।

पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलो पटक पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा व्यावसायिक ‘चार्टर्ड’ उडान गर्न लागिएको हो ।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् ।

उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट तीनवटा चार्टर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिएका छन् ।

चार्टर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर ६२ हजार रुपैयाँ तय गरेको छ । एयरलायन्सले तीनवटा चाटर्ड उडान पछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ । चीनस्थित चाइना ट्राभल्स इन्टरनेशनल छेन्दुले सुरुवाती उडानमा सहकार्य गरिरहेको छ ।

यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास लिइएको उनको भनाइ छ । उनका अनुसार आगामी तीन महिनासम्ममा करिब एक हजार २५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट सिधा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

पोखराबाट पहिलोपटक हुन लागेको व्यवसायिक चाटर्ड उडानमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन व्यवसायी र सञ्चारकर्मी सहभागी हुँदैछन् ।

को हुन् नेपाल प्रहरीको नयाँ आइजिपी बनेका दीपक थापा ?

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नेपाल प्रहरीको ३१औँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिह्न ग्रहण गर्दै महानिरीक्षक थापाले समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी पनि मुक्त नरहेको भन्दै आवश्यक सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफूले प्रहरीको सेवामा प्रवेश गरेदेखि नै निष्ठापूर्वक काम गरेको भन्दै सङ्गठनको नेतृत्व गर्दा पनि निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता जनाए । उनले सङ्गठनभित्र कार्यक्षमताको उचित मूल्याङ्कन गर्ने र पूर्वाग्रही भावना नराखी समन्वयात्मक भूमिकामा लाग्ने बताए ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव दुवाडीले विभिन्न अपराधका घटनाबाट नयाँ चुनौती उत्पन्न भएकाले यसलाई सहज रुपमा समाधान गर्ने विश्वास व्यक्त गरे । उनले मुलुकको शान्ति सुरक्षा कायम गर्न मन्त्रालयबाट सदैव सकारात्मक सहयोग हुने बताए ।

यसअघिका नेपाल प्रहरीको ३० औँ आईजीपी वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिँएको छ । कुँवरको कार्यकाल सकिनुअघि सरकारले थापालाई नयाँ नेतृत्वका रूपमा चयन गरेको हो।

थापाका प्रतिस्पर्धीको रूपमा एआइजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी थिए। दुई प्रतिस्पर्धीभन्दा वरिष्ठतामा अगाडि रहेकाले थापालाई सरकारले प्रहरी महानिरीक्षक बनाएको हो।

थापा २०२८ मंसिर ८ गते, सूर्यवनायक नगरपालिका-८ सिपाडोल, भक्तपुरमा जन्मदिएका थिए। उनी २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षक बनेका थिए।

उनी २०६३ साल भदौ ८ गते प्रहरी नायब उपरीक्षक बनेका थिए। २०७२ साउन ८ गते प्रहरी उपरीक्षक बनेका थापा २०७५ चैत ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भए।

२०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक बनेका थापा त्यही वर्ष चैत ६ गते प्रहरी अतिरिक महानिरीक्षक भएका थिए।नेपाल प्रहरीको विभिन्न निकायमा काम गरिसकेका थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख छन्।

उनले कानुनमा एलएलबी, राजनीति शास्त्रमा एमए र जनप्रशासनमा एमपिए गरेका छन्। उनी नेपाल प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय, प्रशासन विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखसमेत भइसकेका छन्।

साथै, उनले बागमती प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, तथा विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा काम गरेका छन्।

थापाले संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत सुडान र लाइबेरियामा पनि सेवा गरिसकेका छन्। थापा प्रहरी संगठनको विद्यमान ३० वर्षे सेवा अवधि अनुसार ६ महिना प्रहरी महानिरीक्षकको कुर्सीमा हुनेछन्।

तर, गृह मन्त्रालयले प्रहरी सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। उक्त विधेयक कार्यान्वयनमा आएको खण्डमा थापाको कार्यकाल छ महिना थपिने छ।

थापा राजनीतिक सन्तुलन मिलाएर कार्यसम्पादन गर्ने छवि बनाएका अधिकृत भनेर चिनिन्छन्। उनी आक्रामक प्रहरी अधिकृत पनि हुन्। थापालाई मंगलबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्ने कार्यक्रम छ। सो कार्यक्रम सकिएपछि थापा प्रहरी प्रधान कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन्।

कुँवरले दुई वर्ष लामो कार्यकालमा धेरै काम गरे पनि सरुवा(बढुवाजस्ता महत्वपूर्ण कार्यहरूमा राजनीतिक शक्तिकेन्द्रसँग नतमस्तक भएको आरोप खेपेका थिए। छ महिनाको छोटो कार्यकालमा थापाले प्रहरी संगठनलाई कुन बाटोमा डोर्‍याउँछन् हेर्न बाँकी छ।

प्रहरीमा व्यापक सुधार आवश्यक छः नवनियुक्त आईजीपी थापा

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।

मंगलबार गृह मन्त्रालयमा दज्र्यानी चिन्ह लगाएपछि उनले प्रहरी भित्रको सुधार आफैंबाट सुरू गर्ने बताएका हुन् ।

उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ । सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन।’

उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताए । थापालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीमा बढुवा गरेको थियो ।

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गराएका छन् ।

लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमाना स्थित रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ड्याम (बाँध)बाट खोलातर्फ पानी फर्काएर आयोजना बन्द गराएका हुन् ।

रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी ऊर्जा कम्पनी लिमिटेड र लोवर मिड रावाखोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्टले फरक–फरक तीन ठाउँमा जलविद्युत् आयोजना सञ्चालन गरेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, ६ दिप्सुङ र ७ सुङ्देलका स्थानीयले उक्त जलविद्युत् आयोजना सञ्चालक कम्पनीबाट मुआब्जा नपाएको गुनासो गरेका हुन् ।

जलविद्युत् आयोजनाको ट्रान्समिसन र पाइपलाइन विस्तारका क्रममा प्रयोग गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति स्थानीयवासीले हालसम्म प्राप्न नगरेपछि चरणबद्ध आन्दोलन सुरु गरिएको निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिका संयोजक माइतीराज राईले बताए ।

“रावाखोलामा सञ्चालित तीनवटै जलविद्युत् आयोजना कम्पनीले जग्गाधनीहरुलाई क्षतिपूर्ति दिएका छैनन् । उनीहरुले स्थानीयलाई ठगी गरेका छन्”, उनले भने, “जनता ठगीमा परेको विषयमा स्थानीय सरकारलाई समेत जानकारी गराएका छौँ । अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । तोकिएको समयमा सम्बन्धित जग्गाधनीलाई मुआब्जा उपलब्ध नगराएपछि निर्धारित कार्यक्रमअनुसार पानी खोलातर्फ फर्काएर आयोजना बन्द गरिएको छ ।”

निर्माणाधीन हलेसी ऊर्जा कम्पनी लिमिटेड जलविद्युत् आयोजनाको ट्रान्समिसनलाइनले बाक्सिलाका ३८ जनासहित ४९ घरको जग्गा प्रयोग गरेको छ । जलविद्युत्को पोल र तार टाँग्ने क्रममा स्थानीयको करिब पाँच हजार २०० मिटर जग्गा प्रयोग भएको सङ्घर्ष समितिले जनाएको छ ।

पाइपलाइन विस्तारका क्रममा सुङ्देलका २४, बाक्सिलाका दुई र दिप्सुङका एक जनाको गरी ३८ कित्ता जग्गा प्रयोग गरिएको छ । रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युत्को काम सम्पन्न भएपछि मुआब्जा दिने भन्दै ट्रान्समिसनको काम गरेको तर हालसम्म मुआब्जा नदिएको जग्गाधनीको गुनासो छ ।

रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युत्को काम सकिएपछि सबै जग्गाधनीलाई क्षतिपूर्ति दिने र क्षति पुगेको जग्गा कम्पनीको नाममा सार्नेगरी पाइपलाइनको काम सुरु गरेको थियो । तर, हालसम्म सो सहमति कार्यान्वयन नभएको सङ्घर्ष समितिको भनाइ छ ।

रावा इनर्जी डेभलपमेन्ट प्रालिले खोलामा दश प्रतिशत पानी नछाडेको सङ्घर्ष समितिको आरोप छ । २।५ मेगावाटको विद्युत् उत्पादनको तयारी गरेको हलेसी ऊर्जा कम्पनी लिमिटेडले सर्वोच्चको आदेश विपरीत कृष्णमायाँ खत्रीको जग्गामा पाइपलाइनको काम गरिरहेको छ ।

निर्माणाधीन हलेसी ऊर्जा कम्पनी लिमिटेडले विद्युत् उत्पादनको प्रक्रिया पूरा नगरी छ कित्तामा रहेको ३८४ रोपनी सरकारी जग्गा प्रयोग गरेको सङ्घर्ष समितिले जनाएको छ । हलेसी ऊर्जाले सुङ्देलमा जलाशय र बाक्सिलामा पावरहाउस बनाएर विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।

मुआब्जा विवाद प्रकरणलाई लिएर स्थानीयवासीले जलविद्युत् आयोजना नै बन्द गराएपछि आज दुवै पक्षलाई गाउँपालिकाको कार्यालयमा छलफलका लागि बोलाइएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिए ।

अस्पताल तथा स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति ‘अनलाइन’बाटै

भक्तपुर । बागमती प्रदेशका १३ जिल्लामा सञ्चालित सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता, नवीकरण तथा स्तरोन्नतिका लागि ‘अनलाइन’ बाटै आवेदन दिन सकिने भएको छ ।

हिजो सोमबार बाग्मती प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका स्वास्थ्य संस्थाहरुको दर्ता, नवीरकण तथा स्तरोन्नतिका लागि अनलाइन सेवा शुभारम्भ गरेको बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले जानकारी दिए ।

निजीस्तरका अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता, नवीकरण र स्तरोन्नति हुनुअगाडि सम्बन्धित निकायबाट हुने अनुगमनमा आर्थिक चलखेलको आरोप लागेपछि बाग्मती प्रदेश सरकारले अनलाइनबाटै आवेदन दिने गरी सेवा सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्यमन्त्री थापाले भने, “बाग्मती प्रदेशभित्रका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता तथा नवीकरण सुरु गरेका छौँ, यसका लागि अब कुनै झन्झट व्यहोर्नु पर्दैन ।” उनले अनलाइनबाट आवदेन दिएपछि मापदण्ड पूरा भए नभएको हेरेर दर्ता नवीकरण र स्तरोन्नति गरिने बताए । मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थाहरुको हकमा मन्त्रालयले ६ महिनाको समय थप दिने, ६ महिनाभित्र पनि मापदण्ड पूरा नगर्नेहरुको दर्ता, नवीकरण नगरिने र सेवा बन्द गर्नेरगराउने प्रक्रियामा जाने बताए ।

मन्त्री थापाले स्वास्थ्य सेवा ऐन पारित गरेसँगै बाग्मती प्रदेशभित्रका सरकारी अस्पतालहरुले नर्सिङ कलेज सञ्चालन गर्न खुल्ला भएको बताए । मन्त्री थापाले अस्पतालको सेवालाई चुस्त र दुरुस्त बनाउने ई–हाजिरी सेवा सुरु गरेर बाग्मती प्रदेश मन्त्रालयबाटै दैनिक निरीक्षण गर्ने व्यवस्था गर्न लागिएको बताए ।

मन्त्रालयको सचिव डा सुमित्रा गौतमले निजी अस्पताल एवं स्वास्थ्य संस्थाहरुलाई सहजीकरणसँगै नियमनमा कडाइ गर्ने तयारी गरेको बताइन्।

मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरुको नियमनलाई पनि चुस्त–दुरुस्त बनाउन सेवाहरुको मूल्य निर्धारण गर्ने, १० प्रतिशत शय्या गरिबहरुका लागि दिएरनदिएको हेर्ने र अनिवार्य गर्न कडाइ गर्ने, सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरुको मन्त्रालयबाटै निरीक्षण गर्न सक्ने व्यवस्था गर्ने गरी तयारी गरेको बताइन् ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको झण्डै दुई लाख

नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७५ हजार २०० रुपैयाँ कायम छ ।

मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँ किनबेच भएको थियो ।

नेपाली बजारमा यसअघि छापावाल सुनको उच्च मूल्य यही चैत १ गते एक लाख ७४ हजार ५०० रुपैयाँ कायम थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

गृह मन्त्रालयमा मंगलबार बिहान गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी थापालाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

बसन्तबहादुर कुँवर अवकासमा गएसँगै सोमबार बसेको मन्त्रिपरिषदको बैठकले थापालाई आईजीपी नियुक्त गरेको थियो । थापा २०५२ भदौ १९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् ।

काठमाडौंबाट २५ करोड रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ठूलो परिमाणमा नगदसहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले २५ करोड रुपैयाँबराबरको रकम बरामद गरेको हो ।

ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको रकममा नेपाली, अमेरिकी डलर र युरोलगायत छन् ।

‘जसको काम उसको प्रशंसाको संस्कृतिबाट किन विमुख हुँदैछ, नेपाली समाज ?’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केन्द्रीय सरकारको नेतृत्वको आलोचनाको रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेको बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले केन्द्र सरकारको बजेटबाट सम्पन्न योजनाको फोटो राखेर स्थानीय जनप्रतिनिधिको प्रशंसा गर्ने प्रचलन अन्यत्र पनि सरेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘केन्द्र सरकारको बजेट कार्यक्रमबाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँको स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेछ ! ? जसको काम उसको प्रशंसाको संस्कृतिबाट किन विमुख हुँदैछ, नेपाली समाज ?’

गाजामा इजरायली आक्रमण, कम्तीमा दुईसय जनाको मृत्यु

बीबीसी । इजरायली लडाकु विमानहरूले गाजाका विभिन्न भागमा युद्धविराम सुरु भएयताकै ठूला हवाई हमलाहरू गरेका छन् । गाजाका अधिकारीहरूले उक्त हमलामा कम्तीमा २०० जनाको मृत्यु भएको बताएका छन् ।

ज्यान गुमाउनेमा उक्त भूभागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वत्था पनि रहेको बताइएको छ । आक्रमणमा उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाइएको थियो । एउटा विज्ञप्तिमा इजरायलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरिरहेको बताएको छ ।

प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो । हमासलाई दबाव दिन इजरायलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरेको छ ।

हमासले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ । उसले सो हमलाले बाँकी इजरायली बन्धकको भविष्यलाई अन्योलपूर्ण बनाएको पनि जनाएको छ ।

इजरायली अधिकारीले आक्रमण आवश्यक रहुन्जेल जारी रहने र हवाई हमलामा मात्रै सीमित नरहने बताएका छन् । इजरायलले गाजा नजिकैका विद्यालयहरू हवाई हमलापछि आफूले बन्द गरेको जनाएको छ ।

मध्यगाजामा तीनवटा घरमा हमला गरिएको छ भने गाजा सिटीको एउटा भवन तथा खान युनिस र रफाहका विभिन्न स्थानमा पनि हमला भएको प्रत्यक्षदर्शी र स्वास्थ्यकर्मीलाई उदृत गर्दै समाचारसंस्था रोएटर्सले जनाएको छ । जनवरी १९ मा युद्धविराम आरम्भ भएयता इजरायलले गाजामाथि गरेको हवाई हमलाको यो सबैभन्दा ठूलो शृङ्खला हो ।

इजरायली सेनाको आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु

बीबीसी । इजरायली सेनाले गाजापट्टीमा व्यापक हमला गरेको छ । गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायली सेनाको आक्रमणबाट कम्तिमा ३४ प्यालेस्टिनीहरू मारिएका छन् भने ७० जना घाइते भएका छन् ।

इजरायल रक्षा बलले हमाससँग सम्बन्धित आतंकवादी लक्ष्यहरुलाई लक्षित आक्रमण गरिरहेको बताएको छ । जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा भएको यो ठूलो हवाई आक्रमण हो । गाजामा युद्धविराम बढाउने वार्ताहरू सम्झौतामा पुग्न असफल भइरहेका बेला यो आक्रमण भएको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री काट्जले मंगलबार बिहान हमलाको आदेश दिएका थिए । चिकित्सक र प्रत्यक्षदर्शीहरूका अनुसार मध्य गाजाको देइर अल–बलाहमा तीन घर, गाजा शहरको एउटा भवन र खान युनिस र रफाहमा लक्षित गरी आक्रमण गरिएको छ।

राष्ट्रसङ्घको आणविक निगरानी संस्थासँग सहकार्य गर्न ‘प्रतिबद्ध’ रहेको इरानको भनाइ

तेहरान । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले आफ्नो देश संयुक्त राष्ट्रसङ्घको आणविक संस्थाका प्रमुख राफेल ग्रोसीसँगको भेटवार्तापछि उनको देश संस्थासँग सहकार्य गर्न ‘प्रतिबद्ध’ रहेको बताएका छन् ।

घरिबाबादीले एक्समा एक पोस्टमा भियनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुखसँग भएको वार्ता ‘खुला र रचनात्मक’ भएको बताए । “आफ्नो राष्ट्रिय सुरक्षा र चासोको रक्षा गर्दा इरान आफ्नो सुरक्षा दायित्वको ढाँचाभित्र आइएइएसँग सहयोग गर्न प्रतिबद्ध छ”, उनले आणविक हतियारको प्रसारलाई रोक्ने उद्देश्यले एजेन्सी प्रोटोकललाई उल्लेख गर्दै भने ।

आफ्नो पोस्टमा ग्रोसीले ‘इरानको आणविक कार्यक्रमको शान्तिपूर्ण प्रकृतिको विश्वसनीय ग्यारेन्टी प्रदान गर्न सहयोग अपरिहार्य’ भएको बताए ।

यसअघि सोमबार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगााईले बैठक ‘एजेन्सीसँग हाम्रो चलिरहेको संलग्नताको एक हिस्सा’ भएको बताएका थिए ।

घरिबाबादीले शुक्रबार बेइजिङमा आफ्ना रुसी र चिनियाँ समकक्षीहरूसँग वार्तामा भाग लिएपछि अस्ट्रियाको राजधानीमा भएका छलफलहरू भएका हुन् ।

“इरानको शान्तिपूर्ण आणविक सुविधाहरू विरुद्धको खतरा बढेको छ, हामीले आइएइएसँग परामर्श तीव्र पार्नु स्वाभाविक हो”, बगाईले भने ।

मार्च ७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीलाई देशको आणविक कार्यक्रममा नयाँ वार्ताको आग्रह गर्दै पत्र लेखेका थिए  तर अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिएका थिए ।

इरानले पत्र प्राप्त गरेको पुष्टि गरेको छ । बगाईले सोमबार ‘मूल्याङ्कन पूरा भएपछि’ जवाफ दिइने बताए ।
दशकौँदेखि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेका पश्चिमी देशहरूले तेहरानले आणविक हतियार विकास गर्न खोजिरहेको आशङ्का गर्दै आएका छन् ।

इरानले यी दाबीहरू अस्वीकार गर्दै आफ्ना आणविक गतिविधिहरू ऊर्जा उत्पादन सहित केवल शान्तिपूर्ण उद्देश्यका लागि भएको जोड दिंदै आएको छ ।

सन् २०१५ मा इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू–बेलायत, चीन, फ्रान्स, रुस र संयुक्त राज्य अमेरिकाका साथै जर्मनीसँग आफ्नो आणविक गतिविधिहरू सीमित गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो ।

तर सन् २०१८ मा ट्रम्पले एकतर्फी रूपमा अमेरिकालाई सम्झौताबाट बाहिर निकालेका थिए ।
तेहरान एक वर्षसम्म सम्झौता अन्तर्गतका आफ्नो दायित्वप्रति प्रतिबद्ध रह्यो तर त्यसपछि युरेनियम समृद्धिकरण स्तरहरू ६० प्रतिशतसम्म बढाउँदै तिनीहरूबाट पछि हट्न थाल्यो ।

यी स्तरहरू आणविक बम विकास गर्न आवश्यक ९० प्रतिशत सीमाभन्दा धेरै नजिक छन् र सम्झौताअन्तर्गत इरानको समृद्धिकरण सीमा तीन दशमलव ६७ प्रतिशतभन्दा धेरै माथि छन् ।

हालैका महिनाहरूमा इरानले आफ्नो आणविक गतिविधिहरूमा प्रतिबन्धको बदलामा तेहरानमाथि प्रतिबन्धहरू हटाएको सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासमा बेलायत, फ्रान्स र जर्मनीसँग धेरै चरणको वार्ता गरेको छ ।

३० भन्दाबढी राष्ट्रले युक्रेन गठबन्धनमा सैनिक पठाउने

लन्डन । बेलायत सरकारले युक्रेनमा कुनै पनि युद्धविरामको रक्षा गर्न तथाकथित गठबन्धनको एक हिस्साका रूपमा ‘उल्लेखनीय सङ्ख्यामा’ राष्ट्रहरूले सेना उपलब्ध गराउने बताएको छ ।

बेलायतले ‘३० भन्दा बढी देशले’ कुनै न कुनै रूपमा समूहमा योगदान गर्ने अपेक्षा गरेको प्रधानमन्त्री किर स्टार्मरका प्रवक्ताले पत्रकारहरूलाई बताए ।

प्रधानमन्त्रीले हप्तान्तमा भने, ‘विभिन्न देशहरूबाट विभिन्न क्षमताहरू हुनेछन्, तर इच्छुक राष्ट्रहरूको गठबन्धनले के प्रदान गर्न सक्छ भन्ने सम्बन्धमा अहिले परिचालन छलफलहरू भइरहेका छन्”, प्रवक्ताले भने, “हामीले ३० भन्दा बढी देश संलग्न हुने अपेक्षा गरिरहेका छौँ । स्पष्ट रूपमा योगदान क्षमताहरू फरक हुनेछन्, तर यो एक उल्लेखनीय बल हुनेछ, उल्लेखनीय सङ्ख्याका देशहरूले सैनिक प्रदान गर्नेछन् र ठूलो समूहले अन्य तरिकाहरूमा योगदान गर्नेछ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना युद्ध अन्त्य गर्न रुससँग प्रत्यक्ष वार्ता सुरु गरेपछि स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले गठबन्धन स्थापना गर्ने प्रयासको नेतृत्व गरिरहेका छन् । युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कुनै पनि युद्धविराम उल्लङ्घन गर्नबाट रोक्न अमेरिकी समर्थनसँगै यो समूह आवश्यक रहेको उनीहरुले बताएका छन् ।

स्टार्मर र म्याक्रोनले युक्रेनमा बेलायती र फ्रान्सेली सेनालाई भूमिमा राख्न इच्छुक रहेको बताएका छन् तर अन्य कति देशहरू पनि यस्तै गर्न इच्छुक छन् भन्ने स्पष्ट छैन ।

बेलायती प्रधानमन्त्रीले शनिबार करिब २६ जना अन्य नेता र युरोपेली सङ्घ (इयु) तथा नाटोका प्रमुखहरूको भर्चुअल कलमा योजना अब ‘परिचालन चरण’ मा जाने बताएका थिए ।

दर्जनौँ सैन्य प्रमुखहरू बिहीबार ती छलफलहरूलाई अगाडि बढाउन बेलायतमा भेट्ने भएका छन् ।
केही देशले लजिस्टिक वा निगरानीमा योगदान दिन सक्ने सम्भावना बढाउँदै स्टार्मरले गठबन्धनलाई समर्थन गर्ने कुनै पनि प्रस्तावलाई स्वागत गरेको बताएका छन् ।

उनका प्रवक्ताले इन्जिनियरिङ सहयोग, विमानस्थलहरूको प्रयोग र चालक दलका सदस्यहरूको आवासलाई योगदान दिन सकिने क्षेत्रका रूपमा प्रकाश पारेका थिए ।

जुनमा हुने जी–७ शिखर सम्मेलनमा जेलेन्स्कीलाई क्यानडाको निमन्त्रणा

ओटावा । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी–७ शिखर सम्मेलनमा आमन्त्रण गरेका छन् ।

गत हप्ता कार्यभार सम्हाल्नुभएका कार्नीले सप्ताहन्तमा युक्रेनी नेतासँग कुरा गर्नुभएको उल्लेख गर्दै एक सरकारी अधिकारीले भने, “राष्ट्रपति जेलेन्स्कीलाई जुनमा अल्बर्टामा हुने जी–७ बैठकमा आमन्त्रित गरिएको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि रुस–युक्रेन युद्धतर्फ सात शक्तिशाली प्रजातन्त्रको समूहबीचको अनिश्चित दृष्टिकोणका बीचमा यो निमन्त्रणा आएको हो ।

गत हप्ता क्युबेकमा भएको जी–७ विदेशमन्त्रीहरूको बैठकअघि ट्रम्प प्रशासनले युक्रेनको ‘क्षेत्रीय अखण्डता’ का लागि लडाइँलाई समर्थन गर्ने शब्दावली र रूसी ‘आक्रमण’ को सन्दर्भलाई बेवास्ता गरेको थियो ।

तर त्यस्तो भाषा शुक्रबार जी–७ बैठकमा जारी विदेशमन्त्रीहरूको अन्तिम बयानमा समावेश थियो । यो रुसले अमेरिकी नेतृत्वको युद्धविराम पहलका सर्तहरू तत्काल स्वीकार गरेन भन्ने सन्दर्भमा सम्भवतः वासिङ्टनमा निराशाको सङ्केत हो ।

यस हप्ता पेरिस र लन्डनको भ्रमण गरिरहेका कार्नीले सामाजिक सञ्जालमा पोस्ट गर्दै जेलेन्स्कीले आफ्नो कलमा ‘युक्रेनको रक्षा र शान्तिलाई अगाडि बढाउनका लागि विश्वव्यापी प्रयासहरू’ बारे अपडेट दिएको बताए ।

“क्यानाडा रुसी आक्रमणविरुद्ध युक्रेनको स्वतन्त्रताको लडाइँलाई दृढतापूर्वक समर्थन गर्दछ”, उनले भने ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कार्नीसँगको कुराकानीलाई ‘राम्रो र सारगर्भित’ भनेका छन् ।

उनले ‘क्यानाडालाई सहयोग, विशेष गरी रक्षा प्याकेजहरू र हाम्रो ऊर्जा क्षेत्रको समर्थनका लागि धन्यवाद दिएको’ र ‘मस्कोमाथि दबाब बढाउनुपर्ने सही बुँदाहरू’ उठाएकामा कार्नीको प्रशंसा गरेको बताए ।

यस वर्षको जी–७ अध्यक्षता गर्ने क्यानाडाले जुन १५–१७ मा अल्बर्टाको कानानास्किसमा शिखर सम्मेलनको आयोजना गर्नेछ ।

ट्रम्पले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा युद्धविरामको प्रस्तावबारे छलफल गर्ने कार्यक्रम छ ।

शिक्षकहरूको निवृत्तिभरण कोष आगामी वैैशाखबाट लागु हुने

काठमाडौं । शिक्षकहरूको लागि निवृत्तिभरण कोष २०८२ वैशाखबाट लागु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार सूचनामार्फत यसबारे जानकारी दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार प्रतिनिधिसभामा संशोधन स्वीकार गर्दै ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ मा आवश्यक व्यवस्था गर्न सहमति दिएका हुन् ।

जसअनुसार ‘विधेयकको दफा १२ मा रहेको निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि देहायको ‘(क१) शिक्षक सेवा’ थप गर्न प्रस्ताव भएकोमा निवृत्तिभरण कोष ऐन, २०७५ मिति २०७५ ।१२।४ बाट प्रारम्भ भएकोमा विधेयकमा प्रस्तावित व्यवस्थाको भूत प्रभावी असर नहुने सुनिश्चितताको लागि निम्न बमोजिम संशोधन स्वीकार गर्दछु’, भनिएको छ ।

अब निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ (क१) शिक्षक सेवा थप भएको छ भने उक्त खण्ड बमोजिमको व्यवस्था वैशाख १ गतेदेखि प्रारम्भ हुने मन्त्रालयले स्पष्ट गरेको छ ।

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् ।

विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका हुन्  ।

उपकुलपति छनोटका लागि डा सुरेशराज शर्मा, डा अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो । विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो ।

काभ्रेपलाञ्चोकको वनेपा नगरपालिकामा २०२५ सालमा जन्मिएका नवनियुक्त उपकुलपति वाग्ले काठमाडौँ विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार थिए । उनले  विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डीन, उक्त स्कुलको विज्ञान विभागको प्रमुख र एड्जङ्कट प्रोफेसर रहेर काम गरिसकेका छन् ।

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका उनले बेलायतको ब्रिमिङ्घम विश्वविद्यालयबाट एमएस्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरे । उपकुलपतिको कार्यकाल चार वर्षको रहने छ ।

विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले भट्ट, सुमनकुमार कर्ण र मन्दिप सुवेदीको नाम सिफारिस गरेको थियो । भट्ट वातावरण तथा जलवायु परिवर्तनका विज्ञ हुन् ।

एसियन कप छनोटका लागि २३ सदस्यीय टोली घोषणा

काठमाडौं । एसियन कप छनोटको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा तीन खेलाडीले पहिलोपटक स्थान बनाएका छन् ।

टोलीमा गोलरक्षक अन्जल श्रेष्ठ, डिफेन्डर सुमन श्रेष्ठ र फरवार्ड सुवास बम ठकुरी पहिलोपटक समेटिएका हुन् । नेपालले चैत्र ८ गते सिंगापुरसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ भने चैत्र १२ गते मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ ।

नेपाली टोलीमा गोलकिपर: किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ छन् । त्यस्तै डिफेन्डरमा अनन्त तामाङ, बिमल पाण्डे, सनीस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ, मिडफिल्डरमा रोहित चन्द, लैकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, आरिक बिष्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान छन् । त्यसैगरी फरवार्डमा गिलेस्पी जंग कार्की, अञ्जन बिष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा छन् ।

दीपक थापा नेपाल प्रहरीको महानिरीक्षक नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

आईजीपी नियुक्तिसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थापाले मंगलबारदेखि प्रहरीको कमान्ड सम्हाल्नेछन् ।

आईजीपी वसन्तबहादुर कुँवरले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण आज रातिबाट अवकाश पाउने भएपछि थापा प्रहरीको ३१औँ आईजीपी बनेका हुन् । उनीसँगै एआईजी सुदीप गिरी र टेकबहादुर तामाङसमेत आईजीपीको प्रतिस्पर्धामा थिए । तर, सरकारले थापालाई आईजीपी नियुक्त गरेको हो ।

राजतन्त्र पुनःस्थापनाका लागि नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलन घोषणा

काठमाडौं । राजतन्त्र पुनःस्थापनाका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ ।

सोमबार काठमाडौंमा राजावादी समूहहरूको भेलाले सुवेदीको संयोजकत्वमा जनआन्दोलन गर्ने निर्णय गरेको हो ।

सुवेदीको संयोजतकत्वमा रहेको समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, रमा सिंह, रविन्द्र मिश्र हरिबहादुर बस्नेत सदस्य रहेका छन् ।

उनीहरुले राजतन्त्रको पुनःस्थापना, हिन्दूराज्य, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रणको माग गरेका छन् । उनीहरूले दलहरू र राजसंस्थावादीबच नवीन समझदारीको मागसमेत गरेका छन् ।

बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले थुनामुक्तको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालत खारेज गरिदिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले रिट खारेज गरिदिएको हो ।

गत माघ २ गते झाले थुनामुक्तको माग गर्दै निवेदन दायर गरेका थिए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्न झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले गत असार १३ गते उनलाई पक्राउ गरेको थियो ।

उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो । झासमेतका प्रतिवादीहरुले २८ करोड ८१ लाख ७४ हजार ५ सय रूपैयाँ पीडितबाट ठगी गरेको आरोप छ ।

उनलाई राष्ट्र हित प्रतिकूलको कसुरमा ५ वर्ष कैद र ५० हजार जरिवाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, किर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना, संगठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको माग गरिएको छ ।