`

गाजामा इजरायली हवाई आक्रमणमा ४० भन्दाबढीको मृत्यु

Nepal One HD २९ असार २०८२ २२:११
विश्व

गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार दिएको जानकारीअनुसार, इजरायली हवाई आक्रमणमा कम्तीमा ४३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । आक्रमण बजार, पानी वितरण केन्द्र र शरणार्थी शिविरहरूलाई लक्षित गरी गरिएको थियो ।

यता, इजरायल र हमासबीच २१ महिनादेखि चलिरहेको युद्ध अन्त्य गर्न कतारको राजधानी दोहामा भइरहेको युद्धविराम वार्ता एक सातासम्म प्रयास हुँदाहुँदै अड्किएको छ । दुवै पक्षले एकअर्कामाथि वार्ता अवरुद्ध पार्ने आरोप लगाएका छन् ।

गाजामा हिंसा जारी रहँदा, युद्धका कारण दुई करोडभन्दा बढी जनसंख्या मध्ये अधिकांश कम्तीमा एकपटक विस्थापित भइसकेका छन् । खाद्य संकट, इन्धनको चरम अभाव र अस्पतालहरूको सेवा प्रभावित बनेको भन्दै संयुक्त राष्ट्रसंघका सात निकायले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

गाजाको नुसेरात शिविरमा पानीको धारा नजिक भएको ड्रोन आक्रमणमा आठ बालबालिकासहित १० जना मारिएको जनाइएको छ । गाजा सिटीमा रहेको एक व्यस्त बजारमा गरिएको आक्रमणमा ११ जनाको मृत्यु भएको हो ।

स्थानीय बासिन्दाहरूले अनुभव सुनाउँदै भने,’हामी बिहानै ठूलो विस्फोटको आवाजले ब्यूँझियौँ । छिमेकीको घर पूर्ण रूपमा ध्वस्त भयो र उनका साना बालबालिकासहित सबै भग्नावशेषमा पुरिए ।’

अर्का एक बासिन्दा महमुद अल–शामीले भने,’हामीमाथि जे भइरहेको छ, त्यो मानव सभ्यताको इतिहासमै कहिल्यै भएको थिएन । अब यस युद्धको अन्त्य हुनुपर्छ ।’

गाजाको दक्षिणी सागरकिनारस्थित अल–मावासी क्षेत्रमा विस्थापित बसेको पालमाथि भएको आक्रमणमा पनि तीन जना मारिएका छन् ।

इजरायली सेनाले पछिल्ला २४ घण्टामा गाजा क्षेत्रमा १५० भन्दा बढी स्थानमा आक्रमण गरेको बताएको छ । ती आक्रमणमा हमासका लडाकु, हतियार भण्डारण केन्द्र, तोप तथा साना हतियार प्रहार गर्ने ठाउँहरू समावेश छन् ।
युद्धग्रस्त क्षेत्रमा सञ्चारको अभाव र पहुँचको कठिनाइका कारण मृतकको संख्या र घटनाको स्वतन्त्र पुष्टि गर्न सकिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *