‘मै अटल हूँ’ : पूर्वप्रम वाजपेयीको ९९औँ जन्मजयन्तीमा ‘देश पहेले’ को पहिलो गीत जारी
भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९९औँ जन्मजयन्ती मनाउँदै पङ्कज त्रिपाठी अभिनित ‘मै अटल हूँ’ का निर्माताहरूले ‘देश पहेले’ भन्ने पहिलो गीत जारी गरेका छन् ।
उक्त विशेष अवसरमा त्रिपाठीले इन्स्टाग्राममा उहाँको पहिलो गीतमार्फत प्रशंसकहरूलाई मनोरञ्जन प्रदान गर्नुभयो । उक्त गीतले इतिहासलाई पुनः लेख्ने कवि अटल बिहारी वाजपेयीको संसारमा लैजान्छ । जुबिन नौटियालले गाएको उक्त गीतमा मनोज मुन्तशिरको शब्द तथा पायल देवको सङ्गीत रहेको छ ।
‘मै अटल हूँ’ मा अभिनेता त्रिपाठीले पूर्वप्रधानमन्त्री वाजपेयीको भूमिका निर्वाह गर्नुभएको छ । फिल्मले दर्शकलाई उहाँको असाधारण जीवनसँग परिचित गराउँछ । हालै निर्माताहरूले फिल्मको ट्रेलर लन्च गरेका छन् । फिल्म पूर्वप्रधानमन्त्री वाजपेयीको जीवन वरपर घुमेको छ ।
ट्रेलर लन्चका क्रममा त्रिपाठीले राजनीतिमा उहाँको रुचि र अटल बिहारी वाजपेयीको बायोपिकका लागि आफूलाई कसरी तयारी गर्नुभएको थियो भन्नेबारे बताउनुभयो । उहाँले आफ्नो कलेजका दिनमा अखिल भारतीय विद्यार्थी परिषद् (एबिविपी) मा सहभागी हुँदाका रमाइला कुरा पनि स्मरण गर्नुभयो ।
“म युवा सङ्घमा थिएँ, म आन्दोलनमा सहभागी भएँ, म एक साता जेल पनि परेँ, म त्यो मार्गमा गइसकेको थिएँ, त्यसपछि मलाई राजनीतिको बाटो काँडाले भरिएको छ भन्ने महसुस भयो”, उहाँले भन्नुभयो, “त्यसैले मोड परिवर्तन गरेँ र सडक नाटकमा चासो राख्न थालेँ, पटनामा कैलदास रङ्गालय थियो, त्यहाँ मैले भर्ना गरेँ, मलाई यो ठिक जस्तो लाग्यो, यहाँ कम शब्दमा ‘म अभिनय गरिरहेको छु’ भनेर अभिनय गरिन्छ ।”
फिल्म ‘मै अटल हूँ’ को निर्देशन रवि जाधवले गर्नुभएको हो । फिल्म सन् २०२४ जनवरी १९ मा रिलिज हुनेछ । अभिनेता त्रिपाठीले अटल बिहारी वाजपेयीको कथालाई सिल्भर स्क्रिनमा ल्याउन पाउनु आफ्ना लागि सम्मानको कुरा भएको बताउनुभयो ।
“फिल्मभन्दा धेरै श्री अटल बिहारी वाजपेयीको भूमिका खेल्ने यात्रा मेरो हृदय नजिक छ, उहाँ वास्तवमै एउटा मिथक हुनुहुन्छ र हामी उहाँको प्रेरक कथालाई विश्वसामु ल्याउनका लागि सम्मानित महससु गरिरहेका छौँ, मलाई आशा छ ठूलो पर्दामा अटलजीको विरासतलाई ल्याउने हाम्रो प्रयासलाई दर्शकले सराहना गर्नेछन्”, उहाँले भन्नुभयो ।
