‘डार्क फाइल’को नक्कली अडियो बनाएर सिधाकुरालाई उपलब्ध गराउने राजकुमार पक्राउ


विराटनगर । नक्कली अडियो बनाएर सिधाकुरा अनलाइन मिडियालाई उपलब्ध गराउने राजकुमार तिमिल्सिना पक्राउ परेका छन् । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा मुछिएका राजकुमार तिम्सिनालाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार (साउन ४) साँझ इटहरीबाट पक्राउ गरेको हो ।
फेक अडियो बनाएको घटनामा राजकुमारलाई सर्वोच्च अदालतले ६ महिना कैद सजाय तोकेको थियो । सर्वाेच्चको फैसलापछि उनी फरार थिए ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार इटहरी–५ पचरुकीमा महिलाबीचको लेनदेन विवादमा जोडिएपछि तिम्सिना पक्राउ गरेका थिए । पक्राउ परिसकेपछि मात्रै उनको वास्तविक परिचय खुलेको हो ।
सर्वोच्च अदालतको बृहत पूर्णइजलासले गत असोज १४ गते राजकुमार तिमल्सिनालाई ६ महिना कैदको फैसला सुनाएको थियो । सोही प्रकरणमा सर्वोच्चले गएको असोज १३ गते सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई अदालतको अवहेलना कसुरमा दोषी ठहर गर्दै तीन महिना कैद सजाय तोकेको थियो । तर, उनीहरूले क्षमायाचना गरेपछि सात दिन मात्र जेल बसेर छुटेका थिए ।
राजकुमारले सर्वोच्चकै न्यायाधीश र केही मिडिया हाउस सञ्चालकको योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दामा ‘सेटिङ’ हुने गरेको नक्कली अडियो तयार पारेको खुलेको थियो ।