प्रचण्डको प्रश्न : नेताहरुलाई बचाउने सेनाले सिंहदरबार किन जोगाएन ?


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सेनाले सिंहदरबार जल्नबाट किन जोगाएन भनी प्रश्न गरेका छन् । आज (शुक्रबार) सम्पादकहरुसँगको संवादमा उनले नेताहरूलाई जोगाउने सेनाले सिंहदरबार लगायत राज्यका महत्वपूर्ण निकाय किन नजोगाएको भन्दै प्रश्न गरेका हुन् ।
‘सेनाले हामीलाई त जोगायो । त्यसका लागि नेपाली सेनालाई धन्यवाद छ’ उनले भने, ‘तर हामीलाई जोगाउने सेनाले सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, शीतल निवास जस्ता राज्यका महत्वपूर्ण निकाय किन जोगाएन भन्ने हामीलाई लागेकै छ ।’ उनले अहिलेको अवस्था आउनुमा भू–राजनीतिक कारण रहेको दाबी समेत गरेका छन् । ‘यो अवस्था आउनु भू–राजनीतिक कारण हो । हामी भू–राजनीतिक अवस्थाकै कारण फस्यौँ’ उनले भने । चुनावपछि पनि सबैको सहमतिमा जेनजीको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।
‘सक्कली जेनजीसँग सहकार्य गरेर नक्कलीलाई एक्सपोज गरौं’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरू सार्वजनिक (एक्सपोज) गर्नुपर्ने बताएका छन् । उनले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय नै भएको र नेपालको आन्दोलनमा पनि देशी–विदेशी शक्तिहरू सक्रिय भएको अनुभव आफूले गरेको बताए ।
‘जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय भयो । विभिन्न देशमा चल्दै छ,’ उनले भने, ‘एक भारतीय बौद्धिकले जेनजी आन्दोलन चटपटे हो भने । राजावादीदेखि देशी–विदेशी समेत छन् । मलाई पनि त्यस्तै लाग्यो ।’ उनले २३ गतेको प्रदर्शनमा आन्तरिक र २४ गतेको प्रदर्शनमा बाह्य पक्षको मुख्य भूमिका रहेको पनि बताएका छन् ।