`

खेलकुदमन्त्रीलाई विकासका संरचनागत सुधारका सुझाव

Nepal One HD २० कार्तिक २०८२ २१:०५
खेलकुद

काठमाडौँ, २० कात्तिकः नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग नेपाल अटोमोबाइल्स एशोसिएसनका प्रतिनिधिले आज मन्त्रालयमा भेटगरी सुझावपत्र पेस गरेका छन् । सङ्घका मार्शल एण्ड ट्रेनिङ कमिसनका सचिव आशिष रौनियार र ई–स्पोर्टस् कमिसनका सचिव तथा स्पोर्टस एण्ड इभेन्ट अफिसर अङ्कित भण्डारीसहितको टिमले सङ्घकोतर्फबाट बधाई दिँदै नेपालमा मोटरस्पोर्टस् र साहसिक खेलकुदको विकासका लागि ठोस नीति, कार्यक्रम र संरचनागत सुधारका सुझावहरू समेटिएको पत्र बुझाएका हुन् ।

सो अवसरमा सङ्घका प्रतिनिधिले युवा तथा खेलकुद मन्त्रालयले साच्चै ‘युवा सोच र साहसिक दृष्टि’ भएको मन्त्री पाएकामा खुसी व्यक्त गर्दै नेपालका साहसिक तथा पर्यटकीय खेलकुद क्षेत्रले ठूलो अपेक्षा गरेको बताएका थिए । प्रतिनिधिले नेपाली खेलकुदलाई साँच्चिकै व्यवस्थित, व्यावसायिक र आशालाग्दो बनाउने मन्त्रालयको अभियानमा नेपाल अटोमोबाइल्स एशोसिएसनको सधैँ साथ सहयोग र समर्थन प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

सङ्घकोतर्फबाट सुझाव पत्र बुझ्दै मन्त्री गुप्ताले सुझाव अत्यन्त व्यवस्थित, व्यावसायिक र दूरदर्शी रहेको बताउँदै, “मन्त्रालयले यति गहिरो र व्यावहारिक सुझाव पहिलो पटक पाएको हो”, भन्नुभयोे । उहाँले सङ्घकोतर्फबाट साच्चै युवा खेलाडी तथा अफिसियलमार्फत प्राप्त सुझावले युवावर्गमा हौसला पुग्ने बताउनुभयो ।

सुझाव पत्रमा भनिएको छ, “नेपालको साहसिक तथा पर्यटकीय खेलकुदको विद्यमान अवस्थाको अध्ययन गरी सुझाव तथा रणनीतिक योजनाको प्रस्ताव तयार गर्न एउटा कार्यदल गठन गर्दै नेपाललाई साहसिक तथा पर्यटकीय खेलकुदको केन्द्रको रूपमा विकास गर्न नीतिगत, कार्यक्रमिक तथा बजेटकोसमेत व्यवस्था गर्नुपर्ने आवश्यक देखिन्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *