जाँचबुझ आयोगको म्याद एक महिना थप्न सरकारलाई आग्रह
काठमाडौं । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ । बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो । मन्त्रिपरिषद्को असोज ५ को निर्णय अनुसार गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि तीन सदस्यीय उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।
उक्त गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सुरक्षा निकायका प्रमुखसंग सोधपुछ गदै आएको छ । ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । सोहि अनुसार आयोगको म्याद यही पुस ९ गते सकिँदै छ । त्यसैले जाँचबुझ आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए । उनका अनुसार अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने तयारी गरिएको छ । गत मंसिर २५ गते जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको थियो ।
