टिकट नपाएपछि नवीना : अनुभवीलाई पाखा लगाउँदा पार्टी कमजोर हुन्छ
काठमाडौं । नेकपा एमालेकी नेतृ नवीना लामाले आगामी निर्वाचनमा पार्टीबाट टिकट नपाए पनि आफ्नो राजनीतिक प्रतिबद्धता र समर्पण कमजोर नहुने स्पष्ट पारेकी छन् । काभ्रे–१ बाट उम्मेदवारका रूपमा सिफारिसमा परेकी लामा केन्द्रीय सचिवालयको अन्तिम निर्णयमा नपरेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।
उनले पार्टीभित्र लामो समयदेखि योगदान दिएका, संघर्ष र मेहनत गरेका तथा जित्ने सम्भावना भएका अनुभवी नेताहरूलाई अवसर नदिइनु दुःखद भएको बताएकी छन् । यस्ता निर्णयले पार्टी कार्यकर्ताको मनोबलमा नकारात्मक असर पार्ने उनको भनाइ छ ।
‘पार्टीभित्र केही सिनियर, लामो योगदान, दुःख र मेहनत गरेका तथा जित्ने सम्भावना भएका उम्मेदवारलाई अवसर नहुनु दुःखद कुरा हो’, उनले लेखेकी छन्, ‘यस्ता निर्णयले कार्यकर्ताको मनोबलमा असर पार्छ । अहिले पार्टी एक बनाउने समय हो ।’
लामाले पार्टी नेतृत्वले यस्ता विषयलाई गम्भीरतापूर्वक समीक्षा गर्ने विश्वास व्यक्त गर्दै योगदानको सही मूल्यांकन हुने संस्कार बलियो बनाउनु आवश्यक रहेको उल्लेख गरेकी छन् । उनका अनुसार पार्टी बलियो बन्न अनुभवी र निष्ठावान कार्यकर्ताको भूमिका निर्णायक हुन्छ ।
आफूले पार्टीमा झण्डै तीन दशक लगानी गरिसकेको स्मरण गराउँदै उनले पछिल्लो १२ वर्षदेखि एमालेको जितका लागि आफ्नो सम्पूर्ण ऊर्जा केन्द्रित गरेको बताएकी छन् । टिकट नपाए पनि पार्टीप्रतिको समर्पण यथावत् रहने उनको अडान छ ।
‘हामीले गरेको संघर्ष, योगदान, इमानदारी र भोगेका चुनौतीहरू कहिल्यै व्यर्थ हुँदैनन्’, उनले भनेकी छन्, ‘समय लाग्ला, तर तिनको मूल्यांकन अवश्य हुन्छ । धैर्य, साहस र हिम्मत नै हाम्रो चिनारी हो ।’ उनले अहिलेको मुख्य जिम्मेवारी व्यक्तिगत असन्तुष्टिभन्दा माथि उठेर पार्टीलाई जिताउनु भएको उल्लेख गरेकी छन् । सबै नेता–कार्यकर्ता एक मन र एकताका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिएकी छन् ।
नवीना लामाको अभिव्यक्तिलाई पार्टीभित्र टिकट वितरणप्रति उठिरहेको असन्तुष्टि र आत्मसमीक्षाको संकेतका रूपमा हेरिएको छ । साथै, टिकट नपाए पनि पार्टीप्रति निष्ठा कायम राख्ने उनको धारणा एमालेभित्र अनुशासन र प्रतिबद्धताको उदाहरणका रूपमा पनि लिइएको छ ।
