प्रचण्ड गर्मी र राप,असारमै सकियो आँप
महोत्तरी। सामान्यतया मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन मानिन्छ। तर यस वर्ष असार महिना पूरा नहुँदै महोत्तरीका अधिकांश बगैँचाबाट सबै जातका आँप सकिएका छन्।
अत्यधिक गर्मी, वर्षाका कारण फल झर्ने समस्या र बजार व्यवस्थापनको अभावले किसान समयअघि नै आँप बिक्री गर्न बाध्य भएका हुन्।
महोत्तरीमा बम्बई, मालदह, कृष्णभोग, कलकतिया, आम्रपाली, अभिया, मल्लिका, जर्दा, हर्दिया, गुलावखासलगायत विभिन्न जातका आँप उत्पादन हुने गर्छ। सामान्यतया जेठको मध्यदेखि भदौसम्म क्रमशः यी जातका आँप पाक्ने भए पनि यस वर्ष असार नबित्दै बगैँचा रित्तिएका छन्।
भङ्गाहा-४ रामनगरका किसान हरिदेव साहका अनुसार पछि पाक्ने आँपसमेत असार १५ तिरै टिपेर लगिएको छ। ‘बगैँचा ठेक्कामा दिएका थियौँ। पछि पाक्ने आँप पनि सबै टिपेर लगे, अहिले बोट खाली छन्,’ उनले भने।
किसान गङ्गाराम महतोका अनुसार असारको सुरुदेखि अत्यधिक गर्मी र रातभरि पर्ने वर्षाले धेरै फल कुहिने र झर्ने अवस्था सिर्जना भयो। त्यसैले क्षति बढ्न नदिन किसानले समयअघि नै आँप बिक्री गरेका हुन्। भदौमा पाक्ने अभिया र भदैयाँ जातका आँपसमेत असारमै सकिएको उनले बताए।
समयअघि टिपिएका आँप बजारमा पकाउन प्रायः क्याल्सियम कार्बाइडजस्ता रसायन प्रयोग गरिने भएकाले उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्ने चिन्ता पनि बढेको छ। कार्बाइडबाट पकाइएको आँप प्राकृतिक रूपमा पाकेको आँपजस्तो स्वादिलो नहुने र स्वास्थ्यका लागि पनि उपयुक्त नमानिने विज्ञहरूको भनाइ छ।
बर्दिबास–१२ बिजलपुराका किसान विश्वनाथ सिंहका अनुसार धान रोपाइँको चटारो सुरु भएसँगै धेरै किसानले आँप पूर्ण रूपमा नपाक्दै बिक्री गरेर खेतीपातीमा लागेका छन्। ‘बोटमै पाकेको आँपको स्वाद र मूल्य दुवै राम्रो हुन्छ, तर परिस्थितिले हतारमा बेच्नुपर्ने अवस्था आयो,’ उनले भने।
कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार जिल्लामा करिब तीन हजार हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ। तर प्रशोधन उद्योग, चिस्यानघर र व्यवस्थित भण्डारण सुविधाको अभावका कारण किसानले उत्पादन लामो समयसम्म सुरक्षित राख्न सक्दैनन्।
फलस्वरूप उनीहरू बजारको माग र प्राकृतिक अवस्थाको दबाबमा समयअघि नै उत्पादन बिक्री गर्न बाध्य हुने गरेका छन्।
