सम्पूर्ण लामाको नियुक्तिले बालेन सरकारमाथि उठ्यो प्रश्न
काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामाको पुनःनियुक्तिले बालेन सरकारमाथि प्रश्न उठेको छ । २०७२ को भूकम्पका कारण क्षतिग्रस्त बौद्धनाथ स्तूपको पुनर्निर्माणका लागि दाताहरूबाट प्राप्त सहयोग विवरण सार्वजनिक नगरेको आरोप लागेका लामालाई अध्यक्षमा नियुक्तिले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाएको दाबी गर्ने बालेन सरकारमाथि प्रश्न उठेको हो ।
स्रोतका अनुसार पुनर्निर्माणका लागि ताइ सितु रिम्पोछेले करिब १२ करोड रुपैयाँसहित सुन उपलब्ध गराएका थिए । अन्य सहयोगदाताले पनि पुनर्निर्माणका लागि सहयोग उपलब्ध गराएकोमा लामाले सार्वजनिक नगरेको र स्वतन्त्र ढंगले उनमाथि स्वतन्त्र छानबिनको माग केही सरोकारवालाले गर्दै आएका छन् । स्रोत भन्छ, ‘भारतको धर्मशालास्थित ताइ सितु रिम्पोछेले महास्तूप पुनर्निर्माणका लागि २६ किलो सुन दान दिएका थिए भने अन्य दाताबाट थप ५ किलो सुन प्राप्त भएको थियो । यही सुनसहित नगद तथा अन्य सहयोगको हिसाब–किताबमा अनियमितता भएको भन्ने छ ।’
महालेखा परीक्षक कार्यालयको ५५औँ वार्षिक प्रतिवेदनले पनि विदेशी दाताबाट प्राप्त सुन, नगद तथा जिन्सी सहयोगको विवरण पारदर्शी रूपमा अभिलेखीकरण नगरिएको उल्लेख छ । पुनर्निर्माणमा १४ किलो ५८० ग्राम सुन मात्र आवश्यक पर्ने अवस्थामा ३१ किलो सुन खपत भएको देखाएर करिब ८ करोड ८८ लाख ८ हजार रुपैयाँ बराबरको अनियमितता भएको औँल्याइएको छ ।
तर, लामा पक्षले भने आरोपलाई अस्वीकार गर्दै आएको छ । उनलाई यही १९ असारमा पर्यटनमन्त्रीस्तरीय निर्णयबाट अध्यक्षमा मनोनीत गरेको थियो ।
