`

दलाई लामाको जन्मदिन मनाउन अनुमति दिएको भन्दै सरकारको निर्णयप्रति झलनाथ खनालको आपत्ति

Nepal One HD २५ असार २०८३ ११:४७
प्रमुख खबर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले धर्मगुरु दलाई लामाको जन्मदिन मनाउन अनुमति दिएको भन्दै कडा आपत्ति जनाएका छन्।

‘एक चीन नीतिमा दृढ बनौँ, नेपालको भूमि चीनविरुद्ध प्रयोग गर्न नदिऔँ’ शीर्षकमा जारी प्रेस वक्तव्यमा खनालले सरकारले नेपालको इतिहासमै पहिलोपटक दलाई लामाको जन्मदिन मनाउन अनुमति दिएको दाबी गर्दै उक्त निर्णयलाई राष्ट्रहितविपरीत भएको बताएका छन्।

उनले स्वयम्भूस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गर्न अनुमति दिइनुले नेपाल–चीनबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धमा असर पर्ने उल्लेख गरेका छन्।

खनालले उक्त कार्यक्रममा अमेरिका, फ्रान्स, युरोपेली संघ तथा अष्ट्रेलियाका राजदूतहरूको उपस्थिति पनि गम्भीर र आपत्तिजनक भएको दाबी गरेका छन्। नेपाललाई चीनविरोधी गतिविधिको केन्द्र बनाउन खोजिएको आरोप लगाउँदै उनले नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिनुपर्ने बताएका छन्।

प्रेस वक्तव्यमा उनले सरकारको कदमलाई ‘राष्ट्रहितविरोधी’ र ‘साम्राज्यवादपरस्त’ भन्दै आलोचना गरेका छन्। नेपाली जनता एक चीन नीताप्रति दृढ रहेको उल्लेख गर्दै नेपालले चीन र भारत दुवै छिमेकीसँग सन्तुलित, सौहार्दपूर्ण र रचनात्मक सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिएका छन्।

खनालले देशलाई वैदेशिक ऋणको भारमा धकेल्ने नीतिले नेपालको हित नगर्ने दाबी गर्दै सरकारले राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। साथै, चीनसँगको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउनु नै नेपालको तत्कालीन र दीर्घकालीन हितमा हुने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *