उद्धार तथा राहत कार्यमा सरकारद्वारा लापरबाहीको हद भयो : ओली [भिडियो]
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको गम्भीर लापरबाहीका कारण उद्धार तथा राहत कार्य प्रभावित भएको आरोप लगाएका छन्।
सरकारले संकटको समयमा वास्तविक स्वयंसेवकहरूलाई रोकेर निश्चित समूहलाई मात्रै हेलिकप्टर प्रयोग गर्न छुट दिएको भन्दै उनले कडा आपत्ति जनाएका हुन्।
अध्यक्ष ओलीले सुरुङमा फसेका मानिसहरूको उद्धारका लागि सरकार गम्भीर नभएको उल्लेख गर्दै भने, ‘११-१२ दिनपछि मान्छे आफैँ सुरुङबाट निस्किन्छ, न अरुलाई पस्न दिइन्छ न आफू गएर निकालिन्छ। यो गम्भीर विषय र सरकारको लापरबाहीको हद होइन?’
सरकारको आलोचना गर्ने समय नभएको भन्दै केही कमीकमजोरी औंल्याएका ओलीले ‘हामी नेपाल’ नामक संस्थाको भूमिकाप्रति शंका व्यक्त गरेका छन्।
राज्यले सबै हेलिकप्टर नियन्त्रणमा लिएर सो संस्थालाई मात्रै सपिङदेखि अन्य विभिन्न बहानामा हेलिकप्टरको दुरुपयोग गर्न दिएको उनको आरोप छ।
उनले प्रश्न गर्दै भने, ”हामी नेपाल’ भन्नेलाई हेलिकप्टरको सदुपयोग-दुरुपयोग गर्न दिने? ‘हामी नेपाल’ को हो, के हो? युनिफर्ममै गयो, अनि साँचिकैको स्वयंसेवामा लाग्नेहरूलाई चाहिँ उद्धारमा समेत जान नदिने?’ सरकार यस्ता संस्थाको नियन्त्रण वा मातहतमा चलेको जस्तो देखिएको उनको टिप्पणी छ।
सुरुको समयमा देशमा आएका विज्ञ टोलीलाई समेत सरकारले फर्काएको विषयमा सरकारले स्वीकार गरिसकेको स्मरण गराउँदै उनले यस प्रकारका क्रियाकलापले सरकारको कार्यशैली कमजोर देखाएको बताए।
सरकार आलोचनाभन्दा माथि नरहेको र संकटको बेला सरकारलाई आलोचना तथा सुझाव दिन पाइनुपर्ने स्पष्ट पार्दै उनले राज्यले विपद् व्यवस्थापन र उद्धार कार्यमा पक्षपात नगरी पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन्।
