प्रधानमन्त्रीको चासोपछि आन्तरिक हवाई भाडा घटाउन वायुसेवा कम्पनी सहमत
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको चासो र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश)को सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गर्न सहमत भएका छन्।
नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै हवाई टिकटको भाडा बढाइएको गुनासो आएपछि प्रधानमन्त्री शाहले यस विषयमा चासो देखाएका थिए। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो।
छलफलका क्रममा स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री तथा वितरण गर्ने विषयमा वायुसेवा कम्पनीहरू सहमत भएका हुन्।
क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार यात्रुलाई सहुलियत हुने गरी स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने र त्यस्तो भाडादरबारे सम्बन्धित कम्पनीको बिक्री तथा वितरण प्रणालीमार्फत सार्वजनिक गर्ने सहमति भएको छ।
चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले हवाई टिकटको मूल्यमा मनोमानी हुन नदिन र यात्रुलाई सहज रूपमा हवाई सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको क्यानले जनाएको छ।
