नेपालमा एआई नीति तथा शासकीय व्यवस्थाबारे उच्चस्तरीय परामर्श
काठमाडौँ – नेपालस्थित क्यानडेली दूतावासले क्यानडाको हम्बर पोलिटेक्निकसँगको सहकार्यमा नेपालमा कृत्रिम बुद्धिमत्ता एआईसम्बन्धी नीति तथा नियमन व्यवस्थाबारे सरोकार भएका निकायसँग उच्चस्तरीय परामर्श गरेको छ ।
उक्त परामर्श कार्यक्रम क्यानडा सरकारको इन्डोप्यासिफिक एङ्गेजमेन्ट इनिसिएटिभअन्तर्गत स्ट्रेन्थनिङ गभर्नेस एण्ड रिजनल को–अपरेसन क्षेत्रीय कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो । यो कार्यक्रम बङ्गलादेश, नेपाल, भुटान, भारत र श्रीलङ्कामा कार्यान्वयन हुँदै आएको छ । यसको उद्देश्य एआई नियमन, साइबर सुरक्षा तयारी तथा जिम्मेवार प्रविधि अवलम्बनमा संस्थागत क्षमता सुदृढ गर्नु र क्षेत्रीय सहकार्यलाई अघि बढाउनु भएको नेपालस्थित क्यानडेली दूतावासले जनाएको छ ।
नेपालमा आयोजित परामर्श कार्यक्रममा नीतिनिर्माता, सरकारी अधिकारी, शिक्षाविद् तथा संस्थागत र उद्योग क्षेत्रका सरोकारवालाहरूको सहभागिता थियो । कार्यक्रममा एआई नियमनसँग सम्बन्धित अवसर र चुनौतीका बारेमा छलफल भएको थियो । छलफलका मुख्य विषयहरूमा नीतिगत तयारी, नैतिक तथा जिम्मेवार एआई प्रयोग र भविष्यका डिजिटल निमयन ढाँचाहरू निर्माणमा सार्वजनिक संस्थाहरूको भूमिका रहेका थिए ।
सोही अवसरमा क्यानेडेली उपराजदूत मार्क एलनले भन्नुभयो, “क्यानडाले एआईबाट नवप्रवर्तन, आर्थिक वृद्धि र सामाजिक लाभ हासिल गर्न सक्ने सम्भावनालाई लामो समयदेखि प्रवर्द्धन गर्दै आएको छ, इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत यस्ता परियोजनामार्फत एआई क्षेत्रमा हाम्रो नेतृत्व राष्ट्रिय सीमाभन्दा बाहिरसम्म विस्तार भइरहेको छ । सुरक्षित, जिम्मेवार र नवप्रवर्तनशील एआई प्रणालीको विकासका लागि दिगो डिजिटल पूर्वाधार र नियमन ढाँचा निर्माणमा नेपाललाई सहयोग गर्ने विश्वासिलो साझेदारका रूपमा क्यानडाको दृढ प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छु ।”
परामर्श कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले नेपालमा एआई क्षेत्रको हालसम्मको प्रगति तथा सम्भावनाहरूबारे जानकारी गराउनुभयो । परामर्श कार्यक्रमपश्चात् क्यानडाको हम्बर पोलिटेक्निकद्वारा एक दशमलव पाँच दिने एआई क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालामा सार्वजनिक क्षेत्रको शासकीय व्यवस्था र नीतिगत कार्यान्वयनमा एआईको व्यावहारिक प्रयोगमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको थियो ।
