सरकारका राम्रा कामलाई समर्थन, गलत भए सडकबाट खबरदारी गर्छाैँ : कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित मत प्राप्त गर्न नसके पनि जनताबाट प्राप्त माया, विश्वास र आशाले आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने बताएका छन्।
मङ्गलबार जारी वक्तव्यमा उनले भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै उठेको जनआवाजपछि सम्पन्न भएको चुनावले देशमा नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको सन्देश दिएको बताए। उनले पार्टीप्रति सद्भाव राख्दै देशभर मतदान गर्ने मतदाता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
‘भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै उठेको जेन-जी विद्रोहपछि सम्पन्न चुनावमा उज्यालो नेपाल पार्टीप्रति माया, विश्वास र आशा राख्दै देशभरि हाम्रा उम्मेदवारहरूलाई मतदान गर्नुहुने सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ घिसिङले वक्तव्यमा भनेका छन्।
उनले चुनावी अभियानमा अहोरात्र खटिएका पार्टीका नेता, कार्यकर्ता तथा सहयोगीहरूप्रति पनि विशेष धन्यवाद व्यक्त गरेका छन्। साथै विषम् परिस्थितिका बीच पनि चुनाव सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्याउने प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति आभार प्रकट गरेका छन्।
घिसिङका अनुसार यसपटकको चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसर थियो। उनले देशलाई नाराभन्दा पनि स्पष्ट दृष्टिकोण, ठोस योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन्।
‘देशलाई नाराले होइन-दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक छ,’ उनले भने, ‘समस्या घोषणामा होइन, कार्यान्वयनको कमजोरीमा छ।’
उनले अहिले पनि विकास निर्माणका काम सुस्त हुनुको मुख्य कारण निर्णय गर्न नसक्ने प्रणाली भएको बताए। एउटा पुल बनाउन वर्षौँ लाग्ने, ठेकेदारले काम नगरे पनि कारबाही हुन नसक्ने अवस्था विकासको बाधक बनेको उनको भनाइ छ।
ऊर्जा क्षेत्रको अनुभव स्मरण गर्दै घिसिङले साहसी निर्णय र दृढ नेतृत्व भएमा असम्भवजस्तो देखिने काम पनि सम्भव हुने उदाहरण नेपालले देखिसकेको बताए। ‘हामीले १८ घण्टासम्मको लोडसेडिङको अँध्यारो पनि देख्यौँ, तर दृढ नेतृत्व र निर्णयले त्यो अँध्यारोलाई चिरेर उज्यालो सम्भव हुन्छ भन्ने प्रमाणित गर्यौँ,’ उनले उल्लेख गरे।
घिसिङले छोटो समयमै देशका करिब ९९ प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्याउने, नेपाल विद्युत् प्राधिकरणलाई पुनर्जीवित गर्ने तथा ऊर्जा क्षेत्रलाई निर्यातमुखी बनाउने प्रयासहरू भएको बताए।
यसैबीच उनले निर्वाचनबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो जनमत प्राप्त भएको उल्लेख गर्दै जनताको आकांक्षा पूरा गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।
‘सरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जानेछ,’ उनले भने।
घिसिङले चुनावी परिणामले निराश नहुन आग्रह गर्दै उज्यालो नेपाल निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
