`

कोशीमा श्रम संस्कृति पार्टीको तहल्का, पानी आन्दाेलनदेखि संसद्सम्म हर्क साम्पाङ

रामचन्द्र जाेशी २६ फागुन २०८२ १३:५८
निर्वाचन विषेश

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कोशीको पूर्वी पहाड र पश्चिम पहाड मात्रै होइन, पूर्वी तराईका जिल्लाहरूमा पनि तहल्का पिट्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा देशव्यापी अभूतपूर्व जनलहर चल्दा पनि कांग्रेस, एमाले, नेकपा र राप्रपा निकै कमजोर देखिएको बेला पहिलोपटक निर्वाचन लडेको श्रम संस्कृति पार्टीले तीन सिट जित्यो ।

सुनसरी–१ मा पार्टी अध्यक्ष हर्क साम्पाङ, भोजपुरमा ध्रुव राई र खोटाङमा आरेन राई निर्वाचित भए ।

यी तिनैवटा क्षेत्रमा पटकपटक नेकपा एमालेले चुनाव जितेको थियो । तर, यसपटक श्रम संस्कृतिका उम्मेदवारहरूले विजयी झण्डै फहराउँदै संसद्को यात्रा तय गरे ।

समानुपातिक मत समाचार तयार गर्दासम्म ३ लाख ६० हजार पुग्नै लागेको छ । जबकि प्रत्यक्षमा एक सिट र समानुपातिकमा कुल सदर मतको तीन प्रतिशत प्राप्त गर्नुपर्ने थ्रेसहोल्डको व्यवस्था भएकोमा तीन प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय दल बनेको छ ।

यो चुनावमा कुनै नयाँ दल प्रतिनिधिसभामा प्रवेश गर्दैछ भने त्यो श्रम संस्कृति पार्टी मात्रै हो । मधेसकेन्द्रित राजनीतिक दलहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीदेखि रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले आधार इलाका मधेसमै पराजय बेहोर्नुपर्‍यो ।

२०४८ यताको हरेक संसदमा देखिने दुई साना वामपन्थी दल नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा पनि चुनावमा हारे ।

तर, धरानका पूर्वप्रमुखसमेत रहेका हर्क साम्पाङको दल श्रम संस्कृति पार्टी कोशीको भुगोलमा प्रभावशाली नयाँ शक्ति देखा पर्‍यो ।

कतिसम्म भने यो दलका उम्मेदवारहरू पाँचथर, इलाम–१ र २ सँगै मोरङ–२ मा निकटतम प्रतिद्वन्द्वी भए । पाँचथर र इलाम–१ मा कांग्रेस उम्मेदवार, इलाम–२ मा उम्मेदवार र मोरङ– २ रास्वपाका उम्मेदवारलाई टक्कर दिए ।

धनकुटामा एमाले उम्मेदवार र उदयपुर–२ मा रास्वपा उम्मेदवारसँग श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले उछिनपाछिन गरे ।

अझ रोचक त के भयो भने यसपटकको प्रतिनिधिसभा निर्वाचनको ‘इपिसेन्टर’ मानिएको झापा–५ मा अघिल्ला निर्वाचनहरूमा दोस्रो दल बन्ने कांग्रेसलाई चोथो स्थानमा धकेल्दै श्रम संस्कृति तेस्रो शक्ति बन्यो, जहाँ रास्वपा उम्मेदवार बालेन शाहले चुनाव जिते ।

पूर्वी तराईका जिल्लाहरू सुनसरी, मोरङ, झापा, पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, ओखलढुुंगादेखि सोलुुखुम्बुसम्मै श्रम संस्कृति पार्टीले दबदबा कायम गर्‍यो ।

नवनिर्वाचित सांसदसमेत रहेका पार्टी अध्यक्ष हर्कराज साम्पाङले हालै स्टाटसमार्फत् चुनाव प्रचार ६ महिनासम्म चुनाव प्रचारको अवधि भएको भए धेरै सिट जित्ने आशय प्रकट गरेका छन् । राजनीतिक विश्लेषकहरू भने हर्कले अलिक संयमतापूर्वक निर्वाचन प्रचार गरेको भए अझै धेरै सिट जित्ने विश्लेषण गर्छन् ।

उसो त श्रम संस्कृति पार्टीले गठन भएको करिब तीन महिनामा चुनावी माहोल तताएर कांग्रेस, एमाले, नेकपा, रास्वपादेखि मधेसकेन्द्रित दलहरूलाई असिनपसिन पार्ने जनशक्ति आर्जन गर्नु चानचुने होइन ।

जे होस् अब हर्क साम्पाङ र उनको दलको प्रवेश प्रतिनिधिसभामा भएको छ ।

पानी मुद्दाले नेता !

साम्पाङ ती नेता हुन्- जो केही वर्षअघिसम्म धरानकाे सडकमा माइक बोकेर एक्लै कराउँदै हिँड्ने विद्रोही पात्र थिए । हठी र अराजक भन्दै मानिसहरू बेवास्ता गर्थे ।

एक्लो आन्दोलनबाट सुरु भएको उनको राजनीतिक पाइला विधायकका रूपमा कानुन बनाउने जिम्मेवारीतर्फ सोझिएको छ ।

साम्पाङको कथा भने राजनीतिबाट सुरु भएको होइन । ०६४ सालतिर उनले ‘मिसिङ हर्ट’ नामको एल्बम निकालेर कलाकार बन्ने प्रयास गरेका थिए । साङ्गितिक क्षेत्रमा टिक्न सकेनन् ।

अचेल पनि कहिलेकाही उनी गितार बजाउँदै गीत गाउँछन् । श्रम संस्कृति पार्कमा दुई महिनाअघिसम्म उनकै गीत बज्थ्यो ।

यसले पनि उनी एकबेला साङ्गितिक क्षेत्रमा हाम्फालेका पात्र हुन् भन्ने देखाउँछ । उसो त उनको जीवनले अनेक मोड लियो । कहिले धरानका भाषा केन्द्रमा अंग्रेजी भाषा पढाए । कहिले इराक र अफगानिस्तानतिर वैदेशिक रोजगारीमा गए ।

विदेशबाट फर्केपछि भने उनको स्वभाव झन् विद्रोही भयो । धरानमा देखिएको भ्रष्टाचार, बेथिति र सरकारी बेवास्ताविरुद्ध उनी सडकमा एक्लै आन्दोलन गर्न थाले । हाते माइक बोकेर एक्लै भाषण छाँट्दै हिँडे । त्यहीबेला उनले आफ्नो उपनाम राखे– ‘क्रान्ति’ ।

उनले जोडतोडले उठाएको धरानको खानेपानी समस्या हो । पूर्वी सहर धरानमा दशकौँदेखि खानेपानी समस्या थियो । त्यसैलाई मुद्दा बनाएर साम्पाङले जनश्रमदान अभियान सुरु गरे ।

उनले सर्वसाधारणलाई आह्वान गरे, ‘सरकारले गरेन भने हामी आफैँ गर्छौँ ।’ उनलाई साथ दिन धराने जनता तयार भए ।

त्यहीबीच २०७९ मा स्थानीय तहको निर्वाचन भयो । निर्वाचनमा उनले धरान उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिए । स्वतन्त्र उम्मेदवार बनेका उनको प्रचारप्रसार टोली थिएन । एक्लै आफ्नो प्रचार गरेका उनको मूल एजेन्डा नै खानेपानी थियो । अन्ततः कांग्रेस, एमालेलगायत दलहरूलाई चकित पार्दै प्रमुख पदमा निर्वाचित भए ।

नगर प्रमुख भएपछि उनी खानेपानी समस्या समाधानमै तीन वर्ष केन्द्रित भए । शनिबारलाई श्रमबार भन्दै श्रमदान अभियान चलाए । उनलाई धराने जनताले बलियो साथ दिए । ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट पानी ल्याए । त्यस क्रममा आफैं पाइप तान्न पुगे ।

भनिन्छ, दैनिक करिब १०–११ लाख लिटर पानी धरान ल्याइएको छ । यही अभियानले उनलाई एकैपटक राष्ट्रिय चर्चामा ल्यायो ।

साम्पाङको सामाजिक सञ्जालमा १३ लाख फलोअर्स छन् । त्यो उनको बलियो हतियार हो । त्यहीँबाट उनले अभिव्यक्ति दिन्छन्, आलोचना गर्छन् र आफ्ना अभियान प्रचार गर्छन् ।

नेपाली कांग्रेस, एमालेदेखि नयाँ शक्तिसमेत उनको आलोचनाबाट जोगिएका छैनन् । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उसका नेतामाथि पनि उनी खुलेर टिप्पणी गर्दै आएका छन् ।

धरानको आवाज संसद्‍मा

४३ वर्षीय हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको राजनीतिक विचारधारा ‘हर्कवाद’मा आधारित छ ।

हर्कवाद प्रकृति, संस्कृति र प्रविधिमा आधारित मौलिक राजनीतिक दर्शन भएको साम्पाङ बताउँछन् ।

सोही विचारधारा अंगिकार गरेका हर्क र उनका दल सांसदहरू अब प्रतिनिधिसभामा प्रवेश गर्दैछन् । यद्यपि, हर्कको राजनीतिक शैली सधैं विद्रोही, ठाडो र कहिलेकाहीँ विवादास्पद मानिन्छ ।

त्यसैले आम जिज्ञासा छ– धरानका सडकमा सुनिएको विद्रोही आवाज अब प्रतिनिधिसभामा कत्तिको गर्जिनेछ ?

कतिपयले उनलाई ‘सशक्त प्रतिपक्षीय नेता’ हुने आकलन गरिरहेका छन् । २०६४ यताका संसद्मा राप्रपा नेता कमल थापा, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र पछिल्ला संसद्हरूमा सोही पार्टीका नेता प्रेम सुवाललाई प्रभावशाली प्रतिपक्षी नेताका रूपमा हेरिन्थ्यो ।

अबको संसद्मा साम्पाङलाई त्यही नेताहरूको कोटीमा देख्न पाइने आशा जनतामा देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *