‘गगन सरकार’काे सपना चकनाचुर : काङ्ग्रेसकाे सर्मनाक हारले राजीनामाकाे दबाबमा गगन
काठमाडौं । ‘अबकी बार, गगन सरकार’ चुनावअघि चर्को नारा लाग्यो । उता रास्वपाले ‘अबकी बार, बालेन सरकार’ को नारा देशव्यापी गुञ्जयमान गरेको थियो ।
कांग्रेस सभापति गगन थापा मधेसबाट निर्वाचित भएर देशकै नेतृत्व गर्न चाहन्थे । उनको दल कांग्रेसबाट उनी भावी प्रधानमन्त्रीमा प्रस्तावित उम्मेदवार थिए ।
संसदीय प्रणाली भएको देशमा भावी प्रधानमन्त्रीका अनुहार देखाएर दलहरू निर्वाचनमा जान्छन्, यस्तोमा कांग्रेसले गगन र रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्यो र निर्वाचनमा गयो ।
तर, कांग्रेसको निर्वाचनमा सर्मनाकलाग्दो हार भयो । गगन आफैं रास्वपाका अमरेशसँग पराजित भए । अर्को शब्दमा भन्दा प्रधानमन्त्री बन्ने गगन सपना अमरेशले चकनाचुुर बनाइदिए ।
अघिल्लो प्रतिनिधिसभामा ८९ सिटसहित पहिलो दल भएको कांग्रेस दोब्बरभन्दा कम सिट अन्तरले दोस्रो दल भएको छ । अर्थात् प्रत्यक्ष र समानुपातिकमा गरी कांग्रेले ३७ सिट जितेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको लज्जास्पद हार गगन नेतृत्वमा कांग्रेस निर्वाचनमा जाँदा भयो ।
जबकि, विशेष महाधिवेशन गरेर आफूहरू बदलिएको र बदलिएको कांग्रेसको नेतृत्व गर्दै देश बदल्ने शंखघोष गगनले गरेका थिए ।
तर, रास्वपाले देशव्यापी अभूतपूर्व जनमत प्राप्त गरी दुई तिहाइ नजिकको शक्तिशाली सरकार गठन गर्न लाग्दा गगन भने राजीनामाको दबाब थेगिरहेका छन् ।
भनिन्छ, राजीनामा दिने मुुडमा छन् । राजीनामा भने आएको छैन । पार्टीभित्र खासगरी निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले गगनको राजीनामा जोड्तोडले मागिरहेका छन् ।
गगनको नेतृत्वमाथि प्रश्न उठाइरहेका छन् । विशेष महाधिवेशनमार्फत तत्कालीन सभापति शेरबहादुर देउवालाई हटाएर थापालाई नेतृत्वमा ल्याउने कदमको औचित्य सकियो भनिरहेका छन् ।
उनीहरूको भनाइमा पार्टीले निर्वाचनअघि नेतृत्व परिवर्तन गरेर नयाँ ऊर्जा ल्याउने अपेक्षा गरे पनि त्यसको परिणाम सकारात्मक आउन सकेन ।
खासगरी देउवापक्षीय नेता जितजंग बस्नेत, दुजाङ शेर्पालगायतले गगनको सभापतिबाट राजीनामा मागिरहेका हुुन् । उनीहरूका अनुसार पार्टीलाई पुनर्गठन र आगामी राजनीतिक यात्राका लागि नयाँ ढंगले अघि बढाउन नेतृत्वले जिम्मेवारी लिनुपर्ने अवस्था आएको छ ।
यद्यपि कांग्रेसभित्र सबै नेताहरूको धारणा एउटै भने छैन । थापा निकट नेताहरूले भने अहिले राजीनामा माग्नु हतारो हुने तर्क गर्दै नेतृत्वलाई समय दिनुपर्ने बताएका छन् ।
पार्टीका उपसभापति विश्वप्रकाश शर्मा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलगायत नेताहरू गगनले राजीनामा दिनु नहुने भन्दै गगनको बचाउमा उत्रिएका छन् ।
उनीहरूसहित गगनपक्षीय नेताहरू कांग्रेसले निर्वाचनमा प्राप्त गरेको परिणाममा देउवालाई दोष दिइरहेका छन् ।
तर, देउवापक्षीय नेताहरूले गगनको राजीनामा नै अन्तिम विकल्प भनिरहेका छन् । यस्तोमा गगनले हालै उपसभाति विश्वप्रकाश शर्मासँगै निकट केही नेतासँग छलफल गरेका छन् । छलफलपछि उनको राजीनामा तत्कालका लागि रोकिएको देखिएको छ ।
यद्यपि, राजनीतिक विश्लेषकहरूका अनुसार गगनले चुनावी कमान्ड र दलीय कमान्ड गरेको बेला कांग्रेस यो परिणामले पार्टीभित्र नेतृत्व, रणनीति र संगठनात्मक संरचनाबारे व्यापक बहस सुरु हुने संकेत देखिएको छ। विगतमा पनि निर्वाचन परिणामपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको विषयले तीव्रता पाउने गरेको इतिहास छ।
विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर नयाँ पुस्तालाई जिम्मेवारी दिइएपछि कांग्रेसले पुनः सशक्त रूपमा उदाउने अपेक्षा गरिएको थियो। तर हालको निर्वाचन परिणामले पार्टीभित्र निराशा र असन्तुष्टि बढाएको देखिन्छ।
अब कांग्रेसभित्र आगामी दिनमा नेतृत्वको विषय, संगठन पुनर्गठन तथा राजनीतिक रणनीतिबारे गम्भीर बहस हुने निश्चित जस्तै देखिएको छ।
सभापति थापाले राजीनामा दिने वा नेतृत्वमै रहेर पार्टीलाई पुनः संगठित गर्ने भन्ने विषयले निकट भविष्यमा कांग्रेस राजनीतिमा महत्त्वपूर्ण मोड ल्याउन सक्ने आकलन गरिएको छ।
