`

रवि–बालेन सम्झौतापछि कुलमानकाे पार्टीले भन्यो–जेनजी आन्दोलनको भावना समेटिएन

काठमाडौं । वैकल्पिक राजनीतिक धार निर्माणको बहुप्रतीक्षित प्रयास अन्ततः त्रिपक्षीय एकतामा रूपान्तरण हुन सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सहमति भए पनि उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङ यो प्रक्रियाबाट अलग भएका छन् । उज्यालो नेपाल पार्टीले उक्त सहमतिले ‘जेनजी आन्दोलनको मूल भावना’ नसमेटेको भन्दै असहमति जनाएको छ ।

आइतबार बिहान रवि र बालेनले सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै दुई पक्षीय एकताको औपचारिक घोषणा गरे । सहमतिअनुसार एकतापछिको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने समझदारी गरिएको छ । तर यही संरचनाले उज्यालो नेपाल पार्टीको पहिचान र भूमिकालाई ओझेलमा पार्ने निष्कर्षसहित कुलमान पछाडि हटेका हुन् ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न जितराम लामाले सहमतिप्रति असन्तुष्टि जनाउँदै भने, ‘यो सम्झौता अपेक्षाकृत थिएन । त्यहाँ पदको भागबण्डा बाहेक भोलिको रोडम्याप, नीतिगत स्पष्टता र देशका समस्या समाधानका उपाय देखिँदैनन् । जेनजी आन्दोलनको भावना सम्पूर्ण रूपमा समेटिएको छैन ।’ उनका अनुसार पार्टीले अब आफ्नै ढंगले संगठन विस्तार गर्दै कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर जनतामा जाने निर्णय गरेको छ ।

एकताका लागि शनिबार राति बालुवाटारस्थित एक निजी निवासमा रवि, बालेन र कुलमानबीच लामो छलफल भएको थियो । सुरुमा बालेन र कुलमानबीच भइरहेको संवादमा रवि जोडिएपछि त्रिपक्षीय वार्ता अघि बढेको बताइन्छ । तर पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व संरचना र शक्ति बाँडफाँडका विषयमा सहमति नजुट्दा कुरा टुंगिन सकेन । छलफलमा सबै संरचना र पहिचान रास्वपाकै रहने र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रस्ताव आएको थियो । यसले उज्यालो नेपाल पार्टीको अस्तित्व नै विलय हुने ठहरसहित कुलमानले अस्वीकार गरेका थिए ।

स्रोतहरूका अनुसार कुलमानले पार्टीको नाम र चुनाव चिह्न उज्यालो नेपाल पार्टीकै स्वीकार गर्नुपर्ने प्रस्ताव राखेका थिए । अध्यक्ष वा प्रधानमन्त्री दुवै पद आवश्यक नरहेको भन्दै संरचनागत सम्मान र दीर्घकालीन राजनीतिक दिशामा जोड दिएका थिए । तर रवि र बालेन यसमा सहमत नभएपछि सहकार्य टुटेको हो ।

यसअघि पुस ४ गते जेलबाट रिहा भए लगत्तै रवि लामिछानेले २१ फागुनको निर्वाचनअघि नै वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गर्दै बालेनसँग एकताका लागि पहल गरेका थिए । पुस ७ गते कमलपोखरीमा भएको पहिलो भेटमा रविले बालेनलाई रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गर्न प्रस्ताव गरेका थिए । चुनावपछि शक्ति बाँडफाँड मिलाउने आश्वासन दिइए पनि बालेनले सुरुदेखि नै स्पष्ट संरचना र भूमिकाको माग गरेका थिए ।

त्यसपछि बालेनले आफ्नै ‘देश विकास पार्टी’ अगाडि बढाउने तयारी थालेका थिए । उनले राजनीतिक–सामाजिक क्षेत्र, निजी क्षेत्र र युवा पुस्ताका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै वैकल्पिक शक्ति निर्माणको संकेत दिएका थिए । बालेन अलग बाटोमा अघि बढेको बुझाइपछि रविले पुनः संवाद थाले र पुस १० गतेको छलफलमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएको बताइन्छ । त्यसपछि दुवै पक्षका प्रतिनिधि रहेको कार्यदलले एकता सम्झौताको मस्यौदा तयार गर्न थालेको थियो ।

तर उज्यालो नेपाल पार्टीका प्रतिनिधिलाई कार्यदलमा समेटिन नसक्नु, रविले जेलबाट छुटेपछि कुलमानसँग प्रत्यक्ष संवाद नगर्नु र शक्ति बाँडफाँडमा लचकता नदेखिनुका कारण कुलमान असन्तुष्ट बने । शनिबार उज्यालो नेपाल पार्टीले एकताको नाममा आफ्नो अस्तित्व गुमाएर विलय नहुने औपचारिक निर्णय समेत गरिसकेको थियो ।

यद्यपि अन्तिम समयसम्म बालेनले कुलमानलाई मनाउने प्रयास जारी राखेका थिए । शनिबार बिहान र साँझ गरी दुई पटक भेटवार्ता भए पनि निर्णायक सहमति जुट्न सकेन । परिणामतः चर्चित त्रिपक्षीय वैकल्पिक राजनीतिक धार निर्माणको प्रयास दुई पक्षीय सहमतिमा सीमित रह्यो । अब रवि–बालेन एउटै प्लेटफर्मबाट अघि बढ्ने भएका छन् भने कुलमान घिसिङ आफ्नै दलसहित अलग राजनीतिक यात्रामा निस्कने संकेत स्पष्ट देखिएको छ ।

 

बालेन–रवि सहमतिबारे पोखरेलको टिप्पणी–षड्यन्त्रको दोस्रो चरणको तयारी शुरु

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको सन्दर्भमा भदौ २३ र २४ गते भएका घटनाका योजनाकार र मतियार क्रमशः सार्वजनिक हुन लागेको दाबी गरेका छन् । उनले ती घटनालाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेन जस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरणको रूपमा व्याख्या गर्दै अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी सुरु भएको आशंका व्यक्त गरेका छन् ।

सात बुँदे सहमति भएकै दिन बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरिएको र त्यस क्रममा केही युवाको ज्यान गएको आरोप लगाएका छन् । उनका अनुसार भदौ २४ गते त्यसैको आडमा मुलुकको अस्मिता र सामथ्र्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गर्ने प्रयास भयो । यी सबै गतिविधि कुनै आकस्मिक घटना नभई संगठित विध्वंसको हिस्सा भएको उनको निष्कर्ष छ ।

पोखरेलले उक्त घटनाहरूको पृष्ठभूमिमा रहेको शक्तिको पहिचान अब बाहिरिँदै गएको उल्लेख गर्दै विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै जाने दाबी गरेका छन् । उनले नेपाललाई भूराजनीतिक द्वन्द्वमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति गम्भीर सतर्कता अपनाउनुपर्ने बताए । नयाँ राजनीतिक शक्तिहरू एकीकृत हुने प्रक्रियामा रहेको बेला पोखरेलले संविधान र लोकतन्त्रका पक्षधर पुराना शक्तिहरूबीच समेत एकताको आवश्यकता औंल्याएका छन् । उनले देशभक्त शक्तिहरू सचेत र एकजुट हुनुपर्नेमा जोड दिँदै नेपाल राष्ट्रलाई बाह्य भूराजनीतिक खेलको गोटी बन्नबाट जोगाउन सबै पक्षले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका छन् ।

 

रवि–बालेन सहकार्यबारे सरकारका प्रवक्ता खरेल : समृद्ध नेपालको गन्तव्य तय हुँदैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भएको सात बुँदे सहमतिले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । यसै सन्दर्भमा अन्तरिम चुनावी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले यसलाई सकारात्मक र नूतन अध्यायको संज्ञा दिएका छन् ।

‘जेनजी’ आन्दोलनको जगमा गठित सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो सहकार्यलाई ‘नयाँ दिनको नयाँ सुरुवात’ भनेर टिप्पणी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदैछ…।’

 

रास्वपामा बालेनलाई सभापति रवि पछिको वरीयता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिका मेयर बालेन शाह रवि लामिछाने पछिको वरियतामा रहने भएका छन् । आज (आइतबार) बिहान रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । उक्त सहमति अनुसार बालेन शाहलाई आगामी निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार र निर्वाचनपछि संसदीय दलको नेता बनाउने छ ।

तर सहमतिमा बालेन शाह रास्वपामा कुन जिम्मेवारीमा रहने भन्ने विषयमा केही उल्लेख छैन । बालेन निकट केपी खनालका अनुसार बालेनलाई रास्वपामा दोस्रो वरीयता दिने सहमति छ । ‘भावी प्रधानमन्त्रीको उम्मेद्वार र संसदीय दलको नेता हुने भएकाले उहाँ पार्टीमा दोस्रो वरीयतामा रहनु हुन्छ,’ बालेनका निकट केपी खनालले सुनाए, ‘मेयर बालेनले कुनै पदको कुरा वार्तामा गर्नु भएको छैन । उहाँले देशलाई निकास दिनुपर्छ भन्ने हिसाबले कुरा गर्नुभएको थियो । तर भावी प्रधानमन्त्रीको हिसाबले उहाँ सभापति रवि लामिछानेपछिको वरीयतामा रहनुहुन्छ ।’

सहमतिमा केन्द्रीय समितिमा बालेन पक्षका को को र कति जना सहभागी हुने भन्ने विषय उल्लेख गरिएको छैन । तर युवा अभियन्ता र अनुभवी विज्ञलाई समायोजन गर्ने भनिएको छ । ‘एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,’ सहमतिमा उल्लेख छ ।

रवि–बालेन सहमतिपछि हर्क साम्पाङको टिप्पणी : देश लिलाम गर्ने खेल सुरु भयो (भिडियो)

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच देखिएको पछिल्लो राजनीतिक समझदारीप्रति तीव्र असन्तोष व्यक्त गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै साम्पाङले उक्त सहकार्यलाई सत्ता–केन्द्रित र जनभावनाविपरीतको राजनीतिक गठजोडका रूपमा व्याख्या गरेका छन् ।

साम्पाङले भिडियो सन्देशमा रवि लामिछाने र बालेन शाहको नाम प्रत्यक्ष रूपमा नलिइए पनि संकेतात्मक भाषामा उनीहरूको राजनीतिक शैली, उद्देश्य र भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । उनले विशेष गरी काठमाडौं महानगरपालिकाका मेयरतर्फ इंगित गर्दै नयाँ पुस्ता अर्थात् ‘जेन–जी’ को भावना प्रयोग गरेर राजनीतिक लाभ लिन खोजिएको आरोप लगाए ।

उनका अनुसार युवाहरूलाई आन्दोलन र सडक संघर्षतर्फ धकेल्ने तर निर्णायक घडीमा नेतृत्वकर्ताहरू स्वयं अगाडि नआउने प्रवृत्ति खतरनाक छ । ‘युवाहरूलाई उक्साएर भिडन्ततर्फ पठाइन्छ, तर आफू भने सुरक्षित ठाउँमा बसेर तमासा हेरिन्छ’, साम्पाङले आक्रोशपूर्ण शैलीमा भनेका छन् । उनले यस्तो प्रवृत्तिले देशलाई थप अस्थिरतामा धकेल्ने चेतावनी पनि दिए ।

देश कठिन परिस्थितिमा परेका बेला नेतृत्वले जिम्मेवारीबाट पन्छिएर मौन बस्ने र अहिले चुनाव नजिकिँदै जाँदा नैतिकताको कुरा गर्दै जनतासामु पुग्न खोज्नु गलत भएको उनको भनाइ छ । सिंहदरबार जल्दा, देश संकटमा पर्दा टुलुटुलु हेरेर बस्नेहरूले कुन आधारमा जनताको विश्वास मागिरहेका छन् भन्ने प्रश्न उनले उठाए ।

रवि–बालेनबीचको सहकार्यलाई साम्पाङले विदेशी शक्तिको इसारामा भएको ‘सेटिङ’ भन्दै आलोचना गरेका छन् । उनका अनुसार यो गठबन्धन राष्ट्र निर्माणभन्दा पनि सत्ता र कुर्सी प्राप्तिको उद्देश्यले बनेको देखिन्छ । ‘देशलाई लिलाम गर्ने खेल सुरु भएको छ’, साम्पाङले भने, ‘विदेशी प्रभावलाई हामीले पहिल्यै महसुस गरिसकेका छौं, अब त्यसलाई संस्थागत गर्ने प्रयास भइरहेको छ ।’

उनले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सहकारी ठगी प्रकरण र एमसीसी सम्झौताका पक्षधरहरूसँगको नजिकियताप्रति पनि प्रश्न उठाएका छन् । सहकारी पीडितका मुद्दा र विवादास्पद सम्झौताका समर्थकहरूसँग मिलेर बनेको कुनै पनि सरकार जनताको वास्तविक समस्यामा केन्द्रित हुन नसक्ने साम्पाङको ठम्याइ छ । समग्रमा, हर्क साम्पाङको अभिव्यक्तिले नयाँ राजनीतिक शक्तिहरूबीच देखिएको सहकार्य र त्यसको उद्देश्यबारे सार्वजनिक बहसलाई थप चर्काउने संकेत गरेको छ । उनले आफू राष्ट्र, श्रम र स्वाभिमानको पक्षमा अडिग रहने र कुनै पनि किसिमको सत्ताकेन्द्रित सम्झौतासँग सम्झौता नगर्ने सन्देश दिएका छन् ।

 

मेयरको दौडमा रविका दाजु हरिशरण, स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । मध्यराति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको सहमतिलाई ‘सकारात्मक संकेत’ भन्दै रविका दाजु तथा रेडियोकर्मी हरिशरण लामिछानेले काठमाडौँको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

हरिशरण लामिछानेले सार्वजनिक वक्तव्यमार्फत दुई भाइबीच भएको राजनीतिक समझदारीप्रति सम्मान र खुशी व्यक्त गर्दै आफू काठमाडौँ महानगरको भावी मेयर पदको दौडमा उत्रिने प्रबल सम्भावना रहेको बताएका छन् । ‘दुई भाइको सम्झौताले देशको राजनीतिमा नयाँ सन्देश दिएको छ’, उनले उल्लेख गर्दै आफ्नो उम्मेदवारी स्वतन्त्र हुने स्पष्ट पारेका छन् ।

रेडियो नेपालबाट सेवानिवृत्त लामिछाने प्रसारण क्षेत्रका चर्चित र विवादास्पद पात्रका रूपमा चिनिन्छन् । विशेषगरी भदौमा भएको जेन्जी आन्दोलनका क्रममा उनले रेडियो नेपालको स्टुडियो प्रवेश गरी १५ मिनेटभन्दा बढी समय राष्ट्रिय प्रसारण नियन्त्रणमा लिएको घटनाले उनलाई व्यापक चर्चामा ल्याएको थियो ।

उनको उम्मेदवारी घोषणाले काठमाडौँको मेयर चुनाव थप रोचक बन्ने संकेत देखिएको छ । स्वतन्त्र उम्मेदवारको रूपमा लामिछानेको प्रवेशलाई केहीले वैकल्पिक राजनीतिक आवाजको रूपमा हेरेका छन् भने केहीले यसलाई प्रतीकात्मक र व्यंग्यात्मक राजनीतिक कदमका रूपमा टिप्पणी गरेका छन् । अब काठमाडौँको मेयर चुनावमा ‘लामिछाने’ थरको अर्को दाबीले मतदातामाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

 

हस्ताक्षरपछि रविले भने–सहमति नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक एकताको औपचारिक सहमति भएको छ । आइतबार बिहान दुबै नेताले सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेका हुन् ।

सहमति अनुसार एकता पछि कायम रहने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो घेराभित्र निलो घण्टी रहनेछ भने चुनाव चिह्न पनि ‘घण्टी’ नै हुनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमतिपत्रमा उल्लेख छ ।

राजनीतिक संरचनाको विषयमा पनि स्पष्ट सहमति गरिएको छ । रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ । यसले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरणको संकेत दिएको छ।

सहमति पछि प्रतिक्रिया दिँदै रवि लामिछानेले सामाजिक सञ्जालमार्फत आफूहरूको कदम व्यक्ति केन्द्रित नभएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘सहमति भनेको नेताले खोजे जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।’ उनको भनाइले यो एकता व्यक्तिगत महत्वाकांक्षाभन्दा देशको आवश्यकतालाई केन्द्रमा राखेर गरिएको दाबी गर्छ ।

रवि–बालेनबीचको यो सहमतिलाई नयाँ पुस्ताको राजनीति र वैकल्पिक शक्तिको प्रयासका रूपमा हेरिएको छ । विशेष गरी काठमाडौं महानगरका मेयरका रूपमा बालेनको सक्रियता र रास्वपाको उदयसँगै बनेको यो एकताले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

रवि–बालेन मिल्दा किन बाहिरिए कुलमान ?

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयास अन्ततः त्रिपक्षीय एकतामा पुग्न सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भए पनि उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङ भने यो प्रक्रियाबाट अलग भएका छन् ।

रातभर चलेको छलफलपछि आइतबार बिहान रवि र बालेनले मात्रै सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एकताको औपचारिक घोषणा गरेका छन् । सहमतिअनुसार एकतापछिको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने समझदारी भएको छ । यही सहमतिले रवि–बालेन–कुलमानलाई एउटै राजनीतिक शक्तिमा जोड्ने प्रयास असफल बनाएको हो ।

एकताका लागि शनिबार राति बालुवाटारस्थित एक निजी निवासमा रवि, बालेन र कुलमानबीच लामो छलफल भएको थियो । सुरुमा बालेन र कुलमानबीच वार्ता भइरहेको ठाउँमा रवि प्रवेश गरेपछि त्रिपक्षीय संवाद सुरु भएको स्रोतहरू बताउँछन् । तर पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व संरचना र शक्ति बाँडफाँडको विषयमा सहमति नजुट्दा कुलमान अन्ततः पछि हटेका हुन् ।

छलफलका क्रममा सबै संरचना र पहिचान रास्वपाकै रहने, बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रस्ताव आएको थियो । तर यसले उज्यालो नेपाल पार्टीको अस्तित्व समाप्त हुने निष्कर्ष निकाल्दै कुलमान यसमा सहमत नभएको बताइन्छ । स्रोतका अनुसार कुलमानले पार्टीको नाम र चुनाव चिह्न आफ्नो दलको स्वीकार गर्नुपर्ने प्रस्ताव राखेका थिए भने अध्यक्ष वा प्रधानमन्त्री दुवै पद आफूलाई आवश्यक नरहेको बताएका थिए । तर यो प्रस्तावमा रवि र बालेन सहमत नभएपछि सहकार्य टुटेको हो ।

यसअघि पुस ४ गते जेलबाट रिहा भए लगत्तै रवि लामिछानेले २१ फागुनको निर्वाचनअघि नै वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै बालेनसँग एकताका लागि पहल गरेका थिए । पुस ७ गते कमलपोखरीस्थित रास्वपाका सांसद असीम शाहको निवासमा करिब छ घण्टा चलेको पहिलो भेटमा रविले बालेनलाई रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गर्न प्रस्ताव गरेका थिए । चुनावपछि सबै कुरा मिलाउने आश्वासन दिइए पनि बालेनले शक्ति बाँडफाँड स्पष्ट हुनुपर्ने अडान राखेका थिए ।

त्यसपछि पुस ८ गतेदेखि बालेनले आफ्नै ‘देश विकास पार्टी’ अगाडि बढाउने तयारी थालेका थिए । राजनीतिक–सामाजिक क्षेत्र, निजी क्षेत्र र युवा पुस्ताका प्रतिनिधिसँग उनले छुट्टाछुट्टै भेटवार्ता समेत गरेका थिए । बालेन छुट्टै शक्ति निर्माणतर्फ अघि बढेको संकेत पाएपछि रविले पुनः संवाद थालेका थिए। पुस १० गते भएको अर्को लामो छलफलमा रवि बालेनलाई आफूपछिको वरीयतामा राख्दै प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएका थिए । त्यसपछि दुवै पक्षका दुई–दुई सदस्य रहेको कार्यदलले एकता सम्झौताको मस्यौदा तयार गर्न थालेको थियो ।

तर कुलमानसँग भने रविले जेलबाट छुटेपछि प्रत्यक्ष छलफल नगरेको, एकताका लागि बनाइएको कार्यदलमा उज्यालो नेपाल पार्टीका प्रतिनिधि नराखिएको र शक्ति बाँडफाँडमा लचिलो नदेखिएको भन्दै कुलमान असन्तुष्ट बनेका थिए । शनिबार उज्यालो नेपाल पार्टीले एकताको नाममा आफ्नो अस्तित्व गुमाएर बिलय नहुने औपचारिक निर्णय पनि गरेको थियो ।

यद्यपि कुलमानलाई मनाउने प्रयास बालेनले अन्तिम समयसम्म जारी राखेका थिए । शनिबार बिहान र साँझ गरी दुई पटक भेटवार्ता भए पनि निर्णायक सहमति जुट्न सकेन । अन्ततः त्रिपक्षीय छलफल भएको पहिलो अवसरमै शक्ति बाँडफाँडको विषय नै बाधक बन्यो र कुलमान यो एकता प्रक्रियाबाट बाहिरिए । यससँगै वैकल्पिक राजनीतिक धार निर्माणको चर्चित प्रयास दुई पक्षीय सहमतिमा सीमित भएको छ भने कुलमान घिसिङ आफ्नै दलसहित अलग बाटोमा अघि बढ्ने संकेत स्पष्ट भएको छ ।

दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै, सभापति रवि, बालेन प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं । नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बृहत् एकताको सहमति भएको छ । लामो समयको छलफल र रातभर चलेको वार्तापछि दुवै पक्ष ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एउटै राजनीतिक धारमा उभिन सहमत भएका हुन् ।

सहमतिअनुसार एकतापछि पनि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । पार्टीको झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृतिसहित कायम रहनेछ भने चुनाव चिन्ह ‘घण्टी’ नै हुनेछ । केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने व्यवस्था गरिएको छ । पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिनेछ।

सहमति पत्रमा नवयुवाहरूले भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध उठाएको आन्दोलनको भावना आत्मसात् गर्ने उल्लेख छ । आन्दोलनका क्रममा घाइते भएका तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि दुवै पक्षले व्यक्त गरेका छन् । साथै नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन हासिल गर्दै आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहितको मार्गचित्र इमानदारीपूर्वक कार्यान्वयन गर्ने सहमति भएको छ ।

एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सुदृढ र फराकिलो बनाइने उल्लेख गरिएको छ । यस क्रममा युवा अभियन्ता, प्राविधिक विज्ञ तथा अनुभवी व्यक्तित्वहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर जिम्मेवारी दिइनेछ । लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा केन्द्रित भई अन्य परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा गोलबद्ध हुन आह्वान गर्ने निर्णय गरिएको छ ।
सहमति कार्यान्वयनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गरिने छ । नेतृत्व, सिद्धान्त र चुनाव चिन्ह ‘घण्टी’मा एकीकृत हुँदै वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने लक्ष्य दुवै पक्षले अघि सारेका छन् ।

हस्ताक्षर कार्यक्रममा रास्वपाका तर्फबाट स्वर्णिम वाग्ले, डिपी अर्याल, शिशिर खनाल र असिम शाह सहभागी थिए भने बालेन पक्षबाट कुमार बेन, केपी खनाल, निश्चल बस्नेत, भुपदेव शाह र सुदिप ढकालको उपस्थिति रहेको थियो । यो एकताले आगामी निर्वाचन र समग्र नेपाली राजनीतिमा नयाँ बहस र सम्भावनाको ढोका खोलेको विश्लेषण हुन थालेको छ ।
यी हुन् सात बुँदे सहमति

रवि–बालेन हस्ताक्षरमा को–को थिए साक्षी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच गोप्य वार्तापछि सहमति भएको छ । अत्यन्तै सीमित व्यक्तिहरू मात्रै सहभागी भएको वार्तापछि आज बिहान करिब चार बजेतिर सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

हिजो रातिसम्म पनि वार्ता चलिरहेको विषयमा सञ्चारकर्मीलाई जानकारी नदिइएको र सहमति प्रक्रिया पूर्ण रूपमा गोप्य राखिएको बताइएको छ । हस्ताक्षर समारोहमा दुवै पक्षका करिब एक दर्जन व्यक्तिहरू उपस्थित थिए, जसलाई सम्झौताका प्रत्यक्ष साक्षीका रूपमा लिइएको छ ।

रास्वपाको तर्फबाट उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल र असिम साह वार्ता तथा हस्ताक्षर प्रक्रियामा सहभागी थिए । असिम साहका दाइ आसिफ साहको पनि उपस्थिति रहेको थियो । सहमतिमा उल्लेख भएअनुसार पार्टी सभापति रवि लामिछाने यथावत रहने र भावी प्रधानमन्त्रीको रूपमा बालेन साहलाई अघि सारिने समझदारी भएको जनाइएको छ ।

बालेनको पक्षबाट कुमार बेन, भुपदेव साह, सुदिप ढकाल, जेन–जी युवा अगुवा केपी खनाल तथा कलाकार निश्चल बस्नेतलगायत निकट व्यक्तिहरू उपस्थित थिए । हस्ताक्षरपछि रवि लामिछाने र बालेन साहले एकअर्कालाई अंगालो हाल्दै सहमतिको औपचारिक घोषणा गरेका थिए । त्यसपछि सहभागी सबैले सामूहिक तस्बिर खिचाएका थिए ।

सम्झौतापछि प्रतिक्रिया दिँदै रास्वपा सभापति रवि लामिछानेले यो सहमति नेताहरूको व्यक्तिगत चाहनाअनुसार नभई देशलाई आवश्यक पर्ने दिशामा केन्द्रित भएको बताएका छन् । लामो समयदेखि चल्दै आएको संवाद र प्रयासपछि भएको यो सहमतिलाई दुवै पक्षले ‘ब्रेकथ्रु’ को रूपमा लिएका छन् ।

देश जोगाउन निर्वाचनअघि नै राजा, दल र जेनजीबीच नयाँ समझदारी गरौं : राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निर्वाचनअघि नै राजा, राजनीतिक दल र नवयुवा पुस्ता लगायत सरोकारवालाहरू सबैले नयाँ समझदारी गर्न आग्रह गरेका छन् । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

उनले अहिलेको व्यवस्थाले देश माथि जान नसक्ने जिकिर गरे । उनले देश जोगाउने हो भने राजा, राजनीतिक दल र जेन–जी सहितको नयाँ समझदारी गर्नुपर्ने बताए। अहिलेकै व्यवस्थाबाट हुने निर्वाचनले भविष्यमा झनै ठुलो द्वन्द्व निम्त्याउने बताए । उनले अहिले देश गम्भीर दुर्घटनाको डिलमा रहेको बताए ।

अध्यक्ष लिङदेनले भने ‘यही गणतन्त्र, यही धर्मनिरपेक्षता, यही संघीयता, यही संविधान र यही संवैधानिक व्यवस्थाबाट यो देशलाई दुर्घटनामा जानबाट रोक्न सकिन्छ रु यही संविधान र यही व्यवस्थाअन्तर्गत हुने चुनावबाट भविष्यमा यो भन्दा पनि ठुलो द्वन्द्व हुनसक्ने सम्भावनाबाट रोक्न सकिन्छ ? नेपाली पन र नेपाली मन जीवित छ भने यो भ्रष्ट व्यवस्थाबाट देश उँभो लाग्दैन ।’

उनले भने, ‘देश बचाउने र बनाउने हो भने यो चुनावअघि नै राजा, राजनीतिक दल, नवयुवाहरूको पुस्ता र सबै सरोकारवालाहरूसँगबाट नयाँ समझदारी कायम गरेर कुनै पार्टी, कुनै शक्तिले हार्ने, जित्ने नभई कसैले नहार्ने र देशले जित्ने नयाँ समझदारी कायम गरौँ । आज देश गम्भीर दुर्घटनाको मुखमा पुगेको छ । भदौ २३ र २४ गतेको घटना हाम्रो आँखाले देखेका छौँ । काँग्रेस र कम्युनिस्टहरूले नाम नै फेरिसके । माओवादीले त आफ्नो नाम पनि भन्न नसक्ने भनेर नाम नै फेरिसक्यो । माओवादी भन्यो भने त फेला परिएला भनेर । यिनीहरूले देश चलायौँ भन्थे, हामीले देश चलाइरहेका छौँ भन्थे ।’ अध्यक्ष लिङदेनले नेपाली मन र नेपाली पन जीवित छ भने अहिलेकै प्रणालीबाट देश अघि बढ्न नसक्ने बताए ।

 

चुनावमा जान वातावरण र सुरक्षाको व्यवस्था हुनुपर्‍यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा जान दलहरू तयार रहे पनि वातावरण नबनेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा शनिबार बालुवाटारमा भएको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनु पर्ने बताएका हुन् । ‘कांग्रेसलगायत सबै पार्टीहरू चुनावमा जान तयार छन्, तर वातावरण बनिसकेको छै, वातावरण बनाउनुपर्‍यो, सुरक्षाको व्यवस्था हुनुपर्‍यो,’ उनले भने ।

एमाले पनि चुनावमा जान तयार हो भन्ने सञ्चारकर्मीको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिए । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी थिइन्। सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने तयारी गरिरहेको छ ।

कुलमानले गरे रवि सभापति र बालेन प्रधानमन्त्री बनाउने प्रस्ताव अस्वीकार

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले नयाँ राजनीतिक दलहरूबीच एकता गरी गठन हुने प्रस्तावित पार्टीको सभापति रवि लामिछाने र आगामी निर्वाचनपछिको प्रधानमन्त्री काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बन्ने प्रस्ताव अस्वीकार गरेको छ ।

त्रिपुरेश्वरस्थित उज्यालो नेपालको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र मेयर बालेनको तर्फबाट आएको प्रस्तावमाथि छलफल गर्दै उक्त प्रस्ताव स्वीकार्य नहुने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार एकताका नाममा आएको प्रस्तावमा पार्टी संरक्षक कुलमान घिसिङको भूमिका तथा उज्यालो नेपालको हिस्सेदारीबारे कुनै ठोस खाका नआएको र आफ्नो पक्षको मात्र कुरा राखिएको भन्दै प्रस्ताव अस्वीकार गरिएको हो । यद्यपि, नयाँ राजनीतिक शक्तिहरूबीच एकताको प्रयास भने निरन्तर अघि बढाउने विषयमा बैठकमा सहमति बनेको छ । उज्यालो नेपालका केन्द्रीय सदस्य डा. अभिषेक सिंहले रास्वपा र मेयर बालेनसँग सहकार्यका विषयमा छलफल जारी रहने जानकारी दिएका छन् ।

रोल्पादेखि घुम्दै गोर्खा पुगेका ‘प्रचण्ड’ यसपालीको निर्वाचन कताबाट लड्दैछन् ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पाबाट पनि प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन् । यस पटकको प्रतिनिधि सभा निर्वाचनका लागि प्रचण्ड सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा रहेका छन् । यसअघि सिन्धुलीबाट चुनाव लड्ने चर्चा चलेका प्रचण्ड गोर्खाबाट पनि प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारका रुपमा सिफारिस भएका थिए ।

प्रचण्डको राजनीतिक यात्रा दशकौं पुरानो छ । १० वर्षे शसस्त्र विद्रोहपछि २०६४ सालको संविधान सभा निर्वाचनबाट उनी चुनावी राजनीतिमा प्रवेश गरेका थिए । २०६४ को निर्वाचनमा उनले काठमाडौँ क्षेत्र नम्बर १० र रोल्पा क्षेत्र नम्बर २ बाट विजयी भई संसदमा स्थान बनाए । त्यसयता प्रचण्ड हरेक निर्वाचनमा फरक क्षेत्रबाट चुनाव लड्दै आएका छन् । दोस्रो संविधान सभा निर्वाचनमा उनी सिराहा क्षेत्र नम्बर पाँचबाट विजयी भए । त्यसपछि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट चुनाव जिते । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित बने ।

हाल सरकारले आगामी फागुन २१ का लागि प्रतिनिधि सभा निर्वाचन तोकेको छ । यसपटक पनि प्रचण्ड गोरखा छोडेर अर्को फरक निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । रोल्पा, काठमाडौं, सिराहा, चितवन र गोरखामा विजय हासिल गरेपछि प्रचण्ड यसपटक जन्मथलो कास्कीबाट चुनाव लड्ने चर्चा बढेको छ । तर प्रचण्ड लड्ने भनेको कास्की निर्वाचन क्षेत्र नम्बर-३ मा उनको पार्टीको जनमत कमजोर रहेको बताईन्छ । 

अहिलेसम्म गोरखा–२ बाट प्रचण्डको नाम सिफारिस भइसकेको छ । तर सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, महोत्तरी र रोल्पा लगायतका जिल्लाबाट पनि प्रचण्ड चुनावमा उठ्ने सम्भावना रहेको चर्चा भइरहेका छन् । यद्यपि, प्रचण्डले अहिलेसम्म कताबाट निर्वाचन लड्ने भन्ने करामा अन्तिम निर्णय गरेका छैनन् । उनले राजनीतिक रणनीति र क्षेत्रको चुनावी अवस्था अनुसार निर्णय गर्ने बताइएको छ । यसरी प्रचण्डको चुनावी यात्राले नेपालको प्रतिनिधि सभा निर्वाचनमा निकै रोचक मोड ल्याउने देखिन्छ ।

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका–३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ । गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए ।

पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतकको शब सीमावर्ती भारतीय नाका गलगलिय हुँदै आज घर ल्याइएको छ । जबर्जस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम मिया चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए ।

भ्रष्टाचारको मुद्दामा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १५ वर्षको जेल सजाय

एजेन्सी । मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी ठहर भए पछि १५ वर्षको जेल सजाय सुनाइएको छ । क्वालालम्पुर उच्च अदालतले शुक्रबार फैसला सुनाएको अल जजिराले जनाएको छ ।

नाजिबलाई राज्य लगानी कोष १– मलेसिया डेभलपमेन्ट बरहाद (१–एमडिबी) बाट अवैध रूपमा २.२ अर्ब मलेसियन रिङ्गिट (करिब ५४ करोड ३० लाख अमेरिकी डलर)आफ्नो व्यक्तिगत बैंक खातामा हस्तान्तरण गरेको अभियोगमा दोषी ठहर गरिएको जनाइएको छ । अदालतले उनलाई शक्तिको दुरुपयोग गरेको चार वटा आरोप र सम्पति शुद्धिकरणको २१ वटा अभियोगमा दोषी ठहर गरेको छ ।

फैसला सुनाउँदै न्यायाधीश कोलिन लरेन्स सेक्वेराहले यो मुद्दा राजनीतिक रूपमा सञ्चालित भएको भन्दै नाजिबको बचाउलाई अस्वीकार गरेका छन् । 

उनले ‘अभियुक्त आफूमाथि लगाइएका आरोपहरूमा राजनीतिक रूपले प्रेरित भन्ने तर्कलाई निर्विवाद खारेज गर्दै अभियुक्तले १–एमडिबीमा आफ्नो शक्तिशाली पदको दुरुपयोग गरी कसुरदार ठहर भएको बताए।

नाजिबले प्रधानमन्त्री, अर्थमन्त्री र १–एमडिबीको सल्लाहकार बोर्डको अध्यक्षको रूपमा आफ्नो भूमिकाको दुरुपयोग गरी एक दशक भन्दा पहिले सार्वजनिक कोषलाई व्यक्तिगत लाभका लागि प्रयोग गरेको अल जजिराले जनाएको छ ।

१–एमडिबी काण्डसँग सम्बन्धित नाजिबको यो दोस्रो सजाय हो । यस अघि सन् २०२० मा कोषबाट करिब एक करोड अमेरिकी डलरको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरी  १२ वर्षको जेल सजाय सुनाइएको थियो भने पछि सजाय घटाएर छ वर्षमा झारेको थियो ।

गत वर्ष नाजिबले १–एमडिबी विवादमा आफ्नो भूमिकाका लागि मलेसियालीहरूसँग माफी मागेको समेत जनाइएको छ ।

देउवा, ओली र प्रचण्डले प्रधानमन्त्री कार्कीसँग गरे निर्वाचनमा जाने प्रतिबद्धता

काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् । आज (शनिबार) प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।

‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं । कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनु पर्छ,’ बैठकमा कांग्रेस सभापति देउवाले भने ।

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको रावलले बताए । त्यसका लागि सरकारले सुरक्षाको वातावरण मिलाउनु पर्ने देउवाको भनाइ छ । ‘सरकारले सुरक्षाको वातावरण मिलाउनु पर्छ,’ उनले भने ।

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । आज उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे ।

मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भन्दै सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन’, उनले भने, ‘देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ । त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ ।’ उज्यालो नेपाल पार्टीले देशभर आफ्ना सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको उल्लेख गर्दै मन्त्री घिसिङले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको बताए ।

उनले भने, ‘एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ ।’ कार्यक्रममा उनले राजनीतिक एकताको विषयमा आफ्नो धारणा स्पष्ट पारे । कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने भन्दै नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए । ‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन’, उनले भने, ‘सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो ।’

जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट भएको हेर्न चाहेकाले जनताको इच्छा नयाँ राजनीतिक शक्तिहरू एक होऊन् भन्ने भएकाले नयाँ शक्तिहरुले अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने उनको भनाइ छ । उनले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै घरमा बत्ती बाल्ने बित्तिकै ‘उज्यालो’ को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँ–गाउँसम्म पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

‘घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनु पर्छ’, उनले भने । मन्त्री घिसिङले जनतामाझ उज्यालो पार्टीप्रति विश्वास बढ्दै गएको उल्लेख गरे । ‘हामीसँग आम जनताको विश्वास छ’, उनले भने, ‘यो विश्वासलाई अझ बलियो बनाउँदै निर्धक्क भएर अघि बढ्नुपर्छ ।’ कार्यक्रममा उज्यालो नेपाल पार्टीका विभिन्न नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

बढ्दै निमोनियाका बिरामी : जाडोमा कसरी बच्ने ?

काठमाण्डाैँ । चिसो बढ्दै जाँदा नेपालमा निमोनियाका बिरामीको संख्या वर्षेनी बढ्ने गरेको देखिन्छ । चिसोबाट पर्याप्त रूपमा जोगिन नसक्नु, कमजोर प्रतिरक्षा प्रणाली, धुवाँ–धुलो र धूम्रपानजस्ता कारणले जाडोमा निमोनियाको जोखिम बढी हुन्छ । विशेषगरी धेरै चुरोट खाने व्यक्ति तथा धुलो–धुवाँयुक्त वातावरणमा काम गर्नेहरू निमोनियाकाे उच्च जोखिममा पर्छन् । यस्ता व्यक्तिहरूमा शरीरको ‘सेल्फ क्लियरेन्स मेकानिजम’ कमजोर हुने भएकाले फोक्सोमा पुगेका कीटाणु छिटो बाहिर निकाल्न सकिँदैन र निमोनियाले सजिलै आक्रमण गर्छ ।

निमोनिया फोक्सोमा हुने संक्रमण हो, जुन ब्याक्टेरिया, भाइरस वा फङ्गसका कारण हुन्छ । सामान्य रुघाखोकी, फ्लु वा अन्य श्वासप्रश्वाससम्बन्धी संक्रमणका कीटाणु साससँगै फोक्सोसम्म पुग्दा निमोनिया हुन सक्छ । संक्रमित व्यक्तिको खोकी वा हाछ्युँबाट निस्कने थोपाका माध्यमबाट पनि यो रोग सर्न सक्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका, वृद्धवृद्धा, कुपोषित व्यक्ति तथा दीर्घ रोगीहरूमा निमोनियाको जोखिम बढी हुन्छ । त्यस्तै, अत्यधिक चिसोमा बस्नु, प्रदूषित वातावरणमा धेरै समय बिताउनु, धूम्रपान गर्नु वा रुघाखोकीको समयमै उपचार नगर्नुले पनि निमाेनियाकाे संक्रमण गहिरिँदै फोक्सोसम्म पुग्न सक्छ ।

ज्वरो आउनु, लगातार खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु, छाती दुख्नु, थकान महसुस हुनु तथा कहिलेकाहीँ खकारमा रगत देखिनु निमोनियाका मुख्य लक्षण हुन् । 

जाडोमा निमोनिया बढी हुनुको मुख्य कारण हाम्रो स्वासनलीमा रहेका ससाना सिलिया हुन् । यी सिलियाले खकार र सिँगानको माध्यमबाट फोक्सोमा पुगेका जीवाणु बाहिर निकाल्ने काम गर्छन् । तर जाडो मौसममा चिसोका कारण यी सिलिया निष्क्रिय वा कम सक्रिय हुन्छन् । यसले फोक्सोमा कीटाणु जम्ने सम्भावना बढाउँछ र निमोनियाको जोखिम बढ्छ ।

जाडोमा निमोनियाबाट बच्न न्यानो कपडा लगाई चिसो हावा र पानीबाट जोगिनु निकै नै आवश्यक हुन्छ  । निमोनियाबाट बच्न हात साबुनपानीले बारम्बार धुने, खोकी वा हाछ्युँ गर्दा रुमाल वा टिस्यु प्रयोग गर्ने जस्ता सरसफाइका उपाय अपनाउनुपर्छ । फ्लु र निमोनियाका खोप विशेषगरी साना बच्चा, वृद्ध तथा दीर्घ रोगीहरूका लागि निकै उपयोगी हुन्छन् । सन्तुलित र पोषणयुक्त खाना खानु, प्रशस्त पानी पिउनु र पर्याप्त आराम लिनुले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ । 

निमोनियाको उपचार बिरामीको उमेर, स्वास्थ्य अवस्था र संक्रमणको अवस्थाअनुसार फरक–फरक हुन्छ । निमोनिया ब्याक्टेरियाका कारण भएको हो भने चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिक औषधि प्रयोग गरिन्छ भने भाइरसका कारण भएको निमोनियामा प्रायः सहायक उपचार, आराम तथा आवश्यक परेमा एन्टिभाइरल औषधि दिइन्छ । त्यस्तै सास फेर्न गाह्रो भएमा अक्सिजन दिनुपर्छ र अवस्था गम्भीर भएमा अस्पतालमा भर्ना गरी निरन्तर निगरानी गरिन्छ । 

बालबालिका, वृद्धवृद्धा र दीर्घ रोग भएका व्यक्तिमा जटिलता बढ्न सक्ने भएकाले समयमै उपचार अत्यन्त महत्त्वपूर्ण हुन्छ ।

चुनाव जित्नु छैन, प्रधानमन्त्री बाँडिसके : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव भएको छैन प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गरिसकेको भन्दै व्यङ्ग गरेका छन् । उनले झापा बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै यस्तो व्यङ्ग गरेका हुन् ।

उनको यस व्यङ्ग रास्वपा र काठमाडौँका मेयर बालेन शाहलाई लक्षित देखिन्छ । उनले भनेका छन् ‘चुनाव भएको छैन, जित्नु कहाँ छ कहाँ छ, प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गर्दै गर्नुभएको साथीहरूलाई सोध्न चाहन्छु, यी संविधान र संवैधानिक व्यवस्थाबाट देशलाई दुर्घटनाबाट रोक्न सकिन्छ ।’ उनले वर्तमान संविधान र संवैधानिक व्यवस्थाबाट देशलाई दुर्घटनाबाट रोक्न नसकिने बताएका छन् ।

देउवा, ओली र प्रचण्डलाई प्रधानमन्त्रीको आग्रह : निर्वाचन जसरी पनि सफल पारौं

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी छन्।प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग भएको छलफलमा उनले ती दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका निम्ति लाग्न आह्वान गरिन् । उनले निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएकामा जोड दिइन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार ‘यो निर्वाचन जसरी पनि सफल पारौँ । सबै यसमा सहभागी हुनुपर्छ । तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने सरकारले ठानेको छ । निर्वाचनको वातावरण बनिरहेको छ । यो स्वागतयोग्य छ’, तीन पूर्व प्रधानमन्त्रीलाई प्रधानमन्त्रीले भनिन् ।

निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन सरकारले उपलब्ध गराएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुरक्षाकर्मीको मनोबल बढेको बताइन् । छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए । प्रधानमन्त्रीलाई बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले साथ दिएका थिए ।

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटारमा ओली

काठमाण्डाैँ । जेनजी आन्दोलनका कारण सत्ता गुमाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । सत्ता गुमाएपछि ओलीको बालुवाटार आगमनलाई समसामयिक राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । यसअघि आन्दोलन चर्किएको समयमा सुरक्षाका कारण तत्कालीन प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट बाहिरिएका थिए । त्यसयता बालुवाटार नआएका ओलीको आजको उपस्थितिलाई विशेष अर्थका साथ विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको तीन शीर्ष नेताबीचको छलफलमा सहभागी हुन ओली बालुवाटार पुगेका हुन् । उक्त छलफलको मुख्य एजेन्डा आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन र त्यससँग सम्बन्धित राजनीतिक सहमति रहेको बताइएको छ ।

हाल सरकारले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न उच्चस्तरीय राजनीतिक छलफललाई तीव्र बनाउँदै लगेको छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले प्रमुख दलहरूबीच सहमति जुटाउने प्रयासलाई प्राथमिकता दिएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको सक्रिय पहलमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेकी थिइन् । उक्त भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, निर्वाचनको वातावरण र दलहरूबीचको आपसी अविश्वासका विषयमा छलफल भएको थियो ।

शीतलनिवासको छलफलपछि पनि सरकारको सक्रियता निरन्तर देखिएको छ । त्यसको केही दिनपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेल प्रमुख तीन दलका शीर्ष नेताहरूलाई भेट्न उनीहरूकै निवासमा पुगेका थिए । यस भेटलाई सरकार र प्रमुख दलबीच संवादको सेतुका रूपमा लिइएको थियो ।

त्यसकै भोलिपल्ट आज प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेताहरूसँग बालुवाटारमा प्रत्यक्ष छलफल गरिरहेकी छन् । यस छलफलबाट निर्वाचनको मिति, प्रक्रियागत सहमति र राजनीतिक स्थायित्वका विषयमा ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको छ । राजनीतिक दलहरूबीच सहमति नजुटेमा निर्वाचन प्रभावित हुने चिन्ता बढिरहेका बेला यस्ता उच्चस्तरीय संवादलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

३ दलका शीर्ष नेतासँग छलफलमा प्रधानमन्त्री

काठमाडौँ ।  आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि वातावरण बनाउने सिलसिलामा प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल सुरु गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालसँग संवाद थालेकी हुन् । प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीचको पछिल्लो तिक्तताका कारण उत्पन्न गतिरोध हटाउन गत पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले पनि उनीहरुको भेटवार्ता गराउन सहजीकरण गरेका थिए । राष्ट्रपति पौडेलले आफ्नो रोहबरमा प्रधानमन्त्रीसहित देउवा, ओली र दाहाललाई सँगै राखेर जेन-जी आन्दोलनपछि विकास भएको सरकार र प्रमुख तीन दलबीचको  विकसित संवादहीनता तोडेका थिए । 

प्रमुख तीन दलका नेताहरूले सुरक्षास्थिति सुदृढ बनाउन, एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई लगाइएको स्थानहद फुकुवा गरेर चुनावी वातावरण बनाउनुपर्ने माग गर्दै आइरहेका छन् ।

अर्घाखाँचीमा गोठभित्र भेटियो विष्फोटक पदार्थ

अर्घाखाँची।  प्रहरीको गस्ती टोलीले अर्घाखाँचीमा  खाली गोठभित्र लुकाई राखेको अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी दिवसबहादुर जीसीको कमाण्डमा खटिएको टोलीले शुक्रबार शीतगंगा नगरपालिका–११ बोक्सेस्थित गोठमा बिस्फाेटक पदार्थ फेला पारेको थियो ।

जंगलभित्र खाली रहेको उक्त गोठमा भरुवा बन्दुक दुई थान, ग्रिनेड १४ थान, डेटोनेटर १२ थान, प्लाष्टिकको पाइप र लञ्चर जस्तो देखिने पदार्थ तीन थान, प्रेसर कुकर बम एक थान, स्टिलको डलु बम एक थान, बिजुलीको तार चार बण्डल, बारुद पाँच सय ग्रामसहित अन्य बिष्फोटक सामग्री भेटिएको डीएसपी जीसीले बताए । बिस्फाेटक पदार्थलाई सेनाकाे टाेलीले डिस्पाेज गरेकाे उनले बताए ।

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको एक नेताले जानकारी दिए । सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले  समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ । त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको ती नेताले जानकारी दिए । 

सुदूरपश्चिममा सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ । सुदूरपश्चिमका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ । कैलालीमा दुई जना तथा कञ्चनपुर र डडेल्धुरामा एक–एक जनाको मृत्यु भएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। से ४ प ६७६० नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकछेउको पिल्लरमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ लम्कीका २५ वर्षीय चालक अनिष भण्डारी र पछाडि सवार १५ वर्षीय तुफान भण्डारी घाइते भएका थिए । चालक अनिषको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो।

त्यसैगरी, कैलालीकै बर्दगोरिया गाउँपालिका–१ र ४ को सिमानामा रहेको काँडा पुलमा अर्को मोटरसाइकल दुर्घटना भएको छ । से ७ प ८१६५ नम्बरको मोटरसाइकल पुलको किनारमा ठोक्किँदा घोडाघोडी नगरपालिका–११ का २४ वर्षीय चालक विशाल कठरिया र २३ वर्षीया रीता कठरिया घाइते भएका थिए । चालक विशालको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–५ वनसमिति क्षेत्रमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा म १ त ९३१ नम्बरको ट्याक्टर र सु प प्र ०२००४ प २६८८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा शुक्लाफाटा नगरपालिका–५ का ४५ वर्षीय गड्डु विक गम्भीर घाइते भएका थिए। टाउको र खुट्टामा चोट लागेका उनको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४० वर्षीय वीरराम पोखरेल घाइते भएका छन् । ट्याक्टर, चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

सुनको मूल्य निरन्तर आकाशिदै

काठमाडौँ । केही दिनयता सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। 

गत बुधबार छापावाल सुन प्रतितोला रु. दुई लाख ६८ हजार १०० मा र चाँदी रु. चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन दुई लाख ६७ हजार ५०० र चाँदी रु. चार हजार ४०० मा कारोबार भएको थियो ।

अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रमुख दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री

काठमाण्डाैँ । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछिन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे छलफल तय भएको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा चुनावको तयारीमा छ ।

बालेन र कुलमानबीच ज्वागलमा वार्ता जारी, रास्वपासँगको छलफल कहाँ पुग्यो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच ललितपुरको ज्वागलमा छलफल चलिरहेको छ । कुमार बेनको निवासमा भइरहेको यो भेटवार्तालाई वैकल्पिक राजनीतिक शक्तिको सम्भावित नयाँ ध्रुवीकरणका रूपमा हेरिएको छ ।

उनीहरू निकट स्रोतका अनुसार बालेन र कुलमानबीच मिलेर अघि बढ्ने विषयमा करिब–करिब सहमति बनिसकेको छ, तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको त्रिपक्षीय समझदारी भने अझै टुंगोमा पुगेको छैन । बालेन र कुलमानबीच देश विकासलाई केन्द्रमा राखेर नयाँ राजनीतिक मोर्चा बनाउने विषयमा पहिलेदेखि नै संवाद हुँदै आएको थियो । यही समीकरणमा रास्वपालाई पनि समेट्ने प्रयासस्वरूप रास्वपा सभापति रवि लामिछानेसँग पटक–पटक भेटवार्ता भयो । तर, मुख्य अड्चन सांगठनिक संरचना र शक्ति बाँडफाँडमै देखिएको छ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने र पार्टीभित्र रवि लामिछानेपछिको वरीयता दिने प्रस्ताव गरेको थियो । साथै, पार्टीको आधारभूत तहदेखि संगठन विस्तार भइसकेको र संसदीय अनुभव समेत हासिल गरिसकेको दाबी गर्दै सांगठनिक ‘स्टेक’ मा रास्वपाको प्रमुख हिस्सेदारी हुनुपर्ने अडान राख्यो । तर, बालेन पक्ष यसमा सहमत देखिएन ।

बालेन निकट स्रोतका अनुसार सीके राउतलगायत अन्य दल तथा स्वतन्त्र धारका नेता–कार्यकर्तालाई समेत समेटेर पार्टीलाई बृहत्तर बनाउने सोच भएकाले कुनै एक दलको सांगठनिक वर्चस्व स्वीकार्न कठिन भएको हो । यही कारणले रास्वपा र बालेनबीचको छलफल सकारात्मक मोड लिन नसकेको बताइन्छ ।

शुक्रबार नै सहमति टुंग्याउने भनिए पनि अन्तिम समयमा बालेन पक्षले कुलमान घिसिङलाई पनि सँगै अघि बढाउनुपर्ने अडान राखेपछि सहमति थप अनिश्चित बनेको थियो । सुरुमा बालेन र रास्वपाबीच दुईपक्षीय समझदारी गरेर पछि कुलमानलाई जोड्ने योजना थियो । सो क्रममा पार्टीभित्रको पदीय बाँडफाँड र तल्लो तहको व्यवस्थापनमा ५०–५० प्रतिशत हिस्सेदारीको प्रस्तावमा संवाद अघि बढिरहेको थियो ।

तर, अन्तिम चरणमा त्रिपक्षीय सहमति अनिवार्य हुनुपर्ने भनिएपछि प्रक्रिया जटिल बन्यो । शुक्रबार राति तीनै नेताबीच ‘डिनर मिटिङ’ गर्ने तयारी समेत भए पनि त्यो भेट हुन सकेन । त्यसपछि बालेन गोदावरी पुगेर आफ्ना निकट सहयोगीसँग छलफलमा जुटेका थिए । शनिबार बिहानदेखि भने कुलमान र बालेनबीच पुनः ज्वागलमै संवाद चलिरहेको छ ।

रास्वपा पक्षले यो भेटपछि मात्र सम्भावित सहमतिबारे स्पष्टता आउने बताएको छ । रास्वपाका एक नेताका अनुसार दुईपक्षीय मात्र भएको भए सहमति यसअघि नै टुंगिसक्थ्यो, तर अब त्रिपक्षीय समीकरणले निर्णयलाई अनिश्चित बनाएको छ । यद्यपि, स्रोतहरू भन्छन्, ‘यदि रास्वपासँग सहमति हुन सकेन भने पनि बालेन र कुलमान भने एउटै धारमा उभिने सम्भावना प्रायः निश्चित छ । कुलमाननिकट नेताका अनुसार रविसँगको छलफलमा समेत बालेनले कुलमानको पक्षबाट कुरा राखिरहेका छन् ।’

राजनीतिक वृत्तमा यो छलफललाई वैकल्पिक शक्तिको भविष्य निर्धारण गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ । ज्वागलमा चलिरहेको वार्ताले नयाँ सहमति जन्माउने हो कि छुट्टै ध्रुवीकरणतर्फ लैजाने हो भन्ने प्रश्नको उत्तर भने अब बालेन–कुलमान भेटको निष्कर्षसँगै स्पष्ट हुने देखिन्छ ।

राष्ट्रपति पौडेल र पूर्व प्रधानमन्त्री नेपालबीच एक घण्टा भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेलले आज (शनिबार) बिहान नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक समेत रहेका नेपालसँग एक घण्टा लामो भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो । भेटवार्ता समयमै निर्वाचन गराउने, सबै दल र समूहहरूलाई मिलाएर निर्वाचन गराउनेलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

रविसँग सहमतिअघि कुलमानलाई भेट्दै बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्नुअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।

सबै पक्षलाई मिलाएर सहमतिमा पुग्ने प्रयास भइरहेका बेला सहमतिमा हस्ताक्षर हुनुअघि कुलमान र बालेनबीच प्रत्यक्ष छलफल गर्ने तयारी भएको स्रोतले जनाएको छ । यसैक्रममा शुक्रबार राति बालेन शाह गोदावरीमा आफ्ना सल्लाहकार कुमार बेन, भुपदेव शाह, केपी खनाललगायत व्यक्तिसँग छलफलमा बसेका थिए । उक्त भेटलाई सम्भावित राजनीतिक सहकार्य र भावी रणनीतिका रूपमा हेरिएको छ ।

बालेन निकट स्रोतका अनुसार उनी शनिबार गोदाबारीबाट निस्किएर सिधै कुलमान भेट्न निस्किएका हुन् । कुलमान घिसिङनिकट स्रोतले पनि बालेन र घिसिङबीच भेटवार्ता हुने पुष्टि गरेको छ ।

 

रौतहटको मदिरा उद्योगमा विष्फोट : एकको मृत्यु, ६ जना घाइते

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ स्थित एक मदिरा उद्योगमा शनिबार बिहान विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अरु ६ जना कामदार घाइते भएका छन्।

कटहरीया नगरपालिका–९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ भने बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन् ।

बिहान अचानक ठूलो आवाजसहित डिस्टिलरीको बोइलर विष्फोट भएको थियो । घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको एसपी कार्कीले बताए । विष्फोटबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै रहेको उनले बताए ।

कांग्रेस कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज शनिबार पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही दिन यता बसिरहेको छ ।

यसअघि शुक्रबार महाधिवेशनको तयारी र निर्वाचनबारे नेताहरूले धारणा राखेका थिए । संस्थापनइतर मात्र नभएका संस्थापन पक्षका केही नेताहरूले समेत नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।

विशेष महाधिवेशन मागकर्ताहरूले पक्षधरले पनि शुक्रबार पार्टीलाई स्मरण पत्र बुझाएका छन् । पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ दिएर केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेललाई स्मरण पत्र बुझाएका हुन् । यसअघि कांग्रेसले यही पुस २६–२८ मा १५ औं महाधिवेशन गर्नेगरि कार्यतालिका तय गरेको थियो ।

‘साउथ फिल्मको हिरो जस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीं पुर्‍याउँदैन’

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दक्षिण भारतीय चलचित्रका नायक जस्तै चमत्कारी पात्रको अपेक्षामा गरिने राजनीति देश निर्माणका लागि उपयोगी नहुने टिप्पणी गरेका छन् । व्यक्तिको भूमिका महत्वपूर्ण भए पनि अन्ततः मुलुक बन्ने आधार विचार, संस्था, प्रणाली र सामूहिक प्रयास हुने उनको तर्क छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच चलिरहेको एकता संवादलाई लक्षित गर्दै पछिल्लो समय अनावश्यक ‘हाइप’ सिर्जना गर्न खोजिएको टिप्पणी गरेका छन् । विचार मिलेर सहकार्य हुनु सकारात्मक भए पनि बालेन–रविबीचको नजिकिँदो सम्बन्ध विचारमा आधारित हो कि स्वार्थमा, त्यसको मूल्यांकन समयले गर्ने उनले बताएका छन् ।

ज्ञवालीका अनुसार, देश नबन्नुको कारण केही व्यक्तिहरू नमिल्नु हो भन्ने जस्तो भाष्य सिर्जना गर्नु यथार्थपरक होइन । ‘दक्षिण भारतीय फिल्महरूमा जस्तो नायक रंगमञ्चमा उत्रँदा सबै समस्या क्षणभरमै समाधान हुन्छन् भन्ने कल्पना राजनीतिमा लागू हुँदैन’, उनले लेखेका छन् । यस्ता ‘तिलस्मी’ अपेक्षाले देशलाई सही दिशामा अघि बढाउन नसक्ने उनको निष्कर्ष छ ।

उनले शासन प्रणाली, आर्थिक नीति, सामाजिक व्यवस्थापन, बदलिँदो भूराजनीतिक सन्दर्भमा राष्ट्रिय हितको रक्षा, जलवायु परिवर्तन जस्ता चुनौती, संविधानका विषयमा के संरक्षण र के परिमार्जन गर्ने भन्ने जस्ता गम्भीर प्रश्नमा बालेन–रविबाट स्पष्ट वैकल्पिक दृष्टिकोण नआएको आरोप पनि लगाएका छन् । ज्ञवालीको भनाइमा उनीहरूमा नकारात्मकता, निषेध र घृणाको राजनीति बढी देखिन्छ ।

मिडियामा देखिएको उत्साहप्रति पनि उनले प्रश्न उठाएका छन् । दुई दशकअघि ‘जनसरकार’ घोषणाका बेला देखिएको अत्यधिक प्रचार र त्यसपछि आएको निराशा सम्झँदै ज्ञवालीले ‘मिडिया हाइप’ बाट निर्माण गरिएका बिम्ब दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन् । ‘घोडा कति पानीदार हो भन्ने कुरा लामो दौडपछि मात्र थाहा हुन्छ’, उनले उल्लेख गरेका छन् । अन्त्यमा, ज्ञवालीले समाजलाई भावनामा होइन, तर्क र विवेकमा आधारित बनाउन सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै अत्यधिक अपेक्षापछि आउने निराशा पीडादायी हुने चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीले आज ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शनिबार) प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न लागेकी हुन् । छलफल दिउँसो ४ बजे हुने बताइएको छ ।

सरकारले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा प्रमुख तीन दलका नेतासँग छलफल गर्न लागेको हो । यसअघि शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तीनै नेतालाई छुट्टाछुट्टै भेटघाट गरेका थिए ।

केही दिन पहिले राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरता स्वरूप प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रवि-बालेन वार्ता आज पनि टुंगिएन, भोलि फेरि बस्ने

काठमाडौं । एकता प्रयासमा रहेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीचको वार्ता आज पनि टुंगिन सकेन । यसअघि शुक्रबारको वार्ताबाट सबै कुरा टुंग्याउने दाबी दुवै पक्षले गरेका थिए ।

आजको वार्तामा सबै कुरा नटुंगिएपछि भोलि फेरि वार्ता हुने छ ।

कुलमान घिसिङलाई समेत समेटेर एउटै दल बनाएर चुनावमा जाने तयारी गरिरहेका उनीहरूका लागि समय घर्किँदै गएको छ । एउटै दल बनाउने हो भने समानुपातिक उम्मेद्वारको सूची निर्वाचन आयोगमा बुझाउनु अघि नै उनीहरूबीच एकता हुनुपर्ने छ ।

 

 

काठमाडौँ महानगरपालिकाको १८ औँ नगरसभा अधिवेशनबाट नीति तथा कार्यक्रम माथिका संशोधन प्रस्ताव पारित

काठमाडौँ । विनियोजन ऐनको पहिलो संशोधन, बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव, विभिन्न ऐनहरुको संशोधन र विविधसहित ९ वटा कार्यसूचीका प्रस्ताव पेश, छलफल र पारित गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज नगर सभाको १८ औँ अधिवेशन सम्पन्न भएको छ । भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लवमा आयोजना भएको सभाका लागि आजै बसेको कार्यपालिकाको ४५ औँ वैठकले प्रस्तावको कार्यसूचीका विषयमा निर्णय गरेको थियो । कार्यपालिका बैठक पनि यही स्थानमा भएको थियो ।

सभामा महानगरपालिकाका उपप्रमुख एवं बजेट तर्जुमा समितिका संयोजक सुनिता डंगोलले, काठमाडौँ महानगरपालिका विनियोजन ऐन, २०८२ मा पहिलो संशोधन विधेयक, २०८२ र महानगरपालिकाको चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेटमा संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

डंगोलका अनुसार वार्षिक खरिद योजना, चौमासिक प्रगति विवरण अनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरु हेरफेर गर्न जरुरी देखिएको सभामा संशोधन प्रस्ताव पेश गरिएको हो । ‘विनियोजित वजेटहरुमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधि अनुसार समय लाग्ने, कतिपय वहुवर्षिय योजना अन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने तथा कुनैमा नपुग हुने देखिएको र केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नु पर्ने देखिएकोले संशोधन प्रस्ताव पेश गर्नु परेको उहाँको भनाइ थियो ।

सभाले आर्थिक विकास क्षेत्रमा ६७ करोड ६३ लाख ४ हजार रुपियाँ वजेट कायम गर्ने प्रस्ताव पारित गरेको छ । यस शीर्षकमा १७ औँ अधिवेशनले ६८ करोड ७४ लाख ५४ हजार रुपियाँ विनियोजन गरेको थियो । यस्तै ३ अरब १२ करोड ४२ लाख १४ हजार रुपियाँ विनियोजन भएको कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अरब १२ करोड ३७ लाख १४ हजार रुपैयाँ कायम गरिएको छ ।

१२ अरब १० करोड ८१ लाख ६० हजार रुपियाँ विनियोजन भएको पूर्वाधार विकास क्षेत्रमा १२ अरब ९ करोड ४५ लाख ६० हजार रुपियाँ बजेट कायम गरिएको छ । अघिल्लो अधिवेशनबाट ५ अरब ८२ करोड ३३ लाख ४१ हजार रुपैयाँ विनियोजन भएको सामाजिक विकास क्षेत्रमा ५ अरव ८० करोड ४१ हजार रुपियाँ कायम गरिएको छ ।

सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा ३ अरब ४१ करोड ९७ लाख २२ हजार रुपैयाँ कायम गरिएको छ । यस शीर्षकमा ३ अरब ३७ करोड ११ लाख ७२ हजार रुपियाँ विनियोजित थियो ।

नगर सभाको १७ औँ अधिवेसनले चालु आर्थिक वर्षका लागि २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपियाँ अन्य वाह्य व्यय भार हुने गरी २५ अरब ७६ करोड ४३ लाख ४१ हजार रुपियाँको वजेट स्वीकृत गरेको थियो । यो रकममध्ये आन्तरिक आय र वैक मौज्दात बाट २० अरब १२ करोड ६४ लाख रुपियाँ र नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानिकरण, राजस्व वाँडफाँडवाट अन्य रकम प्राप्त गर्ने लक्ष्य छ ।

अहिलेसम्मको खर्च
सभामा उपप्रमुख डंगोलले चालु आर्थिक वर्षको पुस ९ गतेसम्ममा ४ अरब ६४ करोड ३४ लाख ७१ हजार रुपियाँ खर्च भएको विवरण पेश गर्नुभयो । यो विनियोजित रकमको १८.४८ प्रतिशत हो । अहिलेसम्ममा चालु खर्च २८.४४ प्रतिशत र पूँजीगत खर्च १२.३९ प्रतिशत छ ।

क्षेत्रगत रुपमा हेर्दा पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत खर्च भएको छ । त्यस्तै सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ४५.९९ प्रतिशत खर्च भएको छ ।

विभागगत रुपमा हेर्दा सबैभन्दा धेरै प्रशासन विभागले ४६.५९ प्रतिशत खर्च गरेको छ । जसमा चालुतर्फ ४८.१८ प्रतिशत र पूँजीगततर्फ १०.२३ प्रतिशत खर्च भएको छ । आन्तरिक लेखा परीक्षण एकाईको खर्च प्रतिशत ३८.७२ प्रतिशत छ । हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमको २७.७३ प्रतिशत रकम खर्च भएको छ । अन्तराष्ट्रिय सम्वन्ध सचिवालयको खर्च २४.७९ प्रतिशत छ ।

वडा कार्यालयहरुमा भएको निकासा रकमका आधारमा खर्चलाई विश्लेषण गर्दा पौष ९ गतेसम्ममा सबैभन्दा धेरै वडा नं. ७ ले २४.९२ प्रतिशत चालु खर्च र ३२.३३ प्रतिशत पूँजीगत खर्च गरेको छ । वडाको कुल खर्च ३१.५३ प्रतिशत छ । वडा नं. १६ ले २६.१४ प्रतिशत, वडा नं. २३ ले २३.३१ प्रतिशत, वडा नं. १४ र वडा नं. १९ ले क्रमशः २१.९२ प्रतिशत र १९.६५ प्रतिशत खर्च गरेका छन् ।

अहिलेसम्मको आय
यो वर्ष १५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपियाँ आम्दानी हुने लक्ष्य राखिएको छ । त्यसमध्ये १० अरब १२ करोड ६४ लाख रुपियाँ आन्तरिक आयको लक्ष्य राखिएको छ । नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानीकरण, राजस्व वाँडफाँडवाट ४ अरब ४ करोड ३४ लाख रुपियाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ ।

यो लक्ष्यमा पुस ९ गतेसम्ममा ४ अरब २१ करोड १३ लाख ६७ हजार रुपियाँ राजस्व संकलन भएको छ । यसमा आन्तरिक आयतर्फ २ अरब ६७ करोड ७३ लाख ८८ हजार रुपियाँ, राजस्व वाँडफाँडवाट ७७ करोड ९९ लाख ८० हजार रुपियाँ, संघ तथा प्रदेश सरकारवाट प्राप्त सशर्त अनुदान ७५ करोड ३९ लाख ९८ हजार रुपियाँ प्राप्त भएको छ । समग्र आम्दानीलाई प्रतिशतमा हेर्दा कुल आम्दानीको लक्ष्य अनुसार २७.८६ प्रतिशत र आन्तरिकतर्फ २६.४४ प्रतिशत प्रगति भएको छ ।

सभामा, विधायन समितिका संयोजक मचाराजा महर्जनले महानगर प्रहरी ऐन, २०८० को पहिलो संशोधन विधेयक २०८२, सहकारी ऐन, २०७४ को संशोधन विधेयक २०८२ र भवन निर्माण मापदण्ड, २०८० पहिलो संशोधन २०८२ पेश गर्नुभएको थियो । भवन निर्माण मापदण्डका प्राविधिक विषयमा सहरी विकास विभागका प्रमुख सिनियर डिभिजन इञ्जिनियर हरिश्चन्द्र लामिछानेले विषय राख्नुभएको थियो । सभाले यी विधेयकहरु सर्वसम्मत पारित गरेको छ ।

४३ औँ कार्यपालिका बैठकले स्वीकृत गरेको करार दरबन्दी सभाले पारित गरेको छ । यस्तै महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्ने कार्यको लागि बागमती प्रदेश सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनको दफा ५ बमोजिम गठित समितिबाट पेश भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन नगर कार्यपालिकाबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याउन नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गरेको छ ।

२६ करोड ३९ लाख ५१ हजार ७३४ रुपियाँ वेरुजु नियमित तथा समपरीक्षण गराउने प्रस्ताव पारित
सभामा लेखा समितिका संयोजक गायत्री पुडासैनीले समितिको प्रतिवेदन पेश गर्दै यसअघि बेरुजु जनिएको २६ करोड ३९ लाख ५१ हजार ७३४ रुपियाँ नियमित तथा समपरीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा शिफारिस गर्ने प्रस्ताव राख्नुभएको थियो । यसमा आर्थिक वर्ष २०७३÷०७४ देखि २०८०÷०८१ सम्मको फछर्योट हुन बाँकी बेरुजुमध्ये नियमानुसार नियमित गराउनु पर्ने २२ करोड ७५ लाख ५१ हजार ७२३ रुपियाँ र समपरीक्षणका लागि प्रमाण प्राप्त भएको ३ करोड ६४ लाख ११ रुपियाँ छ ।

सभामा विजु श्रेष्ठ, रोजिना श्रेष्ठ, भगवान वुढाथोकी र सन्तोष ढुङ्गेलले प्रस्तावमाथि आफ्ना धारणा राख्नुभएको थियो ।

तस्बिरहरु:

बढ्दो हिंसाको जालोमा बङ्गलादेश

काठमाडौँ । गत साता विद्यार्थी नेता तथा ‘इन्कलाब मंच’ का संयोजक उस्मान हादीको मृत्युपछि बङ्गलादेश गम्भीर भूराजनैतिक र सामाजिक संकटमा फसेको छ । हादीको मृत्युसँगै सुरु भएको अशान्ति अहिले साम्प्रदायिक हिंसामा रूपान्तरित हुँदै देशका विभिन्न भागमा फैलिएको छ । हादी गत वर्ष बङ्गलादेशमा भएको व्यापक विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक थिए, जसले तत्कालीन सरकारविरुद्ध जनदबाब सिर्जना गरेको थियो ।

गत हप्ता हिन्दु भएको आरोपमा २७ वर्षीय दिपु चन्द्र दासलाई भीडले हत्या गरेपछि अवस्था झनै तनावपूर्ण बनेको छ । उस्मान हादीको हत्या भारतले गराएको र हत्यारालाई भारतले शरण दिएको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएको भीडको निशाना दिपु चन्द्र दास बनेका थिए । यस घटनाले साम्प्रदायिक संवेदनशीलता झनै चर्काएको छ ।

त्यसपछि बङ्गलादेशको राजबारी जिल्लामा डिसेम्बर २४ को राति करिब ११ बजे ‘सम्राट’ भनेर चिनिने २९ वर्षीय अमृत मण्डललाई भीडले कुटपिट गरी हत्या गरेपछि हिंसा अझ फैलिएको छ। उनलाई फिरौती मागेको आरोप लगाइएको थियो । तर सरकारले भने यो घटना साम्प्रदायिक नभई आपराधिक मनसायबाट भएको दाबी गरेको छ । अन्तरिम सरकारका अनुसार मण्डलविरुद्ध पांशा प्रहरी चौकीमा हत्या सहित कम्तीमा दुई मुद्दा दर्ता थिए र सन् २०२३ मा भएका फिरौतीका धेरै घटनामा उनी आरोपी थिए ।

हप्तैपिच्छे भइरहेका यस्ता हिंसात्मक घटनाले भारतसँग सीमा जोडिएका बङ्गलादेशका सिमावर्ती क्षेत्रमा प्रदर्शन र असन्तोष बढाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस अस्थिरताले आगामी फेब्रुअरी १२ मा तोकिएको चुनावमा प्रत्यक्ष असर पार्ने सम्भावना छ । गत वर्षको विद्यार्थी आन्दोलनपछि १५ वर्षदेखि सत्तामा रहेकी शेख हसिना पदच्युत भई भारतको शरणमा पुगेकी थिइन् । त्यसयता बङ्गलादेशको आन्तरिक राजनीति निरन्तर अस्थिर बन्दै गएको छ ।

संसद् पुनर्स्थापना हुँदैन, चुनाव नभए देश थप दुर्घटनामा पर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद पुनर्स्थापना नहुने दाबी गरेका छन् । पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले निर्वाचन नै नलडी आफू स्वतः ठुलो हुन पाइन्छ कि भनेर संसद् पुनः स्थापनाको कुरामा लागेको आरोप लगाए ।

उनले भने, ‘न्यायालयमा पनि जानु भएको छ । तर म तपाई सबै र जनतालाई भन्न चाहन्छु कुनै भ्रममा पर्न आवश्यक छैन । संसद् पुनर्स्थापना हुँदैन । निर्वाचन अब अगाडि आई नै सक्यो । निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने छ । मलाई विश्वास छ आज भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुनेछन् ।’

उनले आगामी निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको बन्ने दाबी समेत गरेका छन् । उनले जेनजी आन्दोलनपछि भदौ २५ गते राष्ट्रपति कार्यालयमा आफूहरूको सक्रियताकै कारणले देश थप दुर्घटनामा जानबाट बचाएको जिकिर गरे । उनले भने, ‘निर्वाचन नभए थप अन्योल हुन्छ । थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ । अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने र आम जनतालाई त्यता पट्टि आकर्षित गर्न जरुरी छ ।’

‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियो : रामप्रसाद भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको भन्दै घोषित मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताएका छन् । शुक्रवार आयोगको कार्यालयमा मिडिया सेन्टरको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने प्रश्नभन्दा आयोग धेरै अघि पुगिसकेको उनको भनाइ छ । उनले निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै निर्वाचनको वातावरण बिथोल्ने प्रयास कसैले गरेको पाइए आयोगलाई सतर्क गराउन सञ्चारमाध्यमहरुलाई आग्रह गरे ।

यस अवस्थामा राजनीतिक दलहरूको गतिविधि र भूमिकालाई समेत समेत ध्यानपूर्वक हेर्न उनको आग्रह छ । अन्तरिम सरकार गठनको समयमा राष्ट्रपतिले समेत संविधानअनुसार निर्वाचन गरिनुपर्ने र संविधानको संरक्षण तथा सुशासन कायम गर्न निर्वाचन नै एक मात्र विकल्प भएको कुरा राखेकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘निर्वाचनका कार्यक्रमहरु अगाडि बढ्दै गर्दा राजनीतिक दलहरु कहाँ छन् ? के गर्दैछन् ? निर्वाचनलाई दलहरुले कसरी हेरिहरेका छन् भन्ने कुरा भुल्नु हुँदैन । यदि कुनै तह र तप्काबाट निर्वाचन बिथोल्न सक्रिय तत्वहरुले तपाईहरुले पहिचान गरिदिनु भयो हामीलाई धेरै सहयोग हुन्छ । मैले शुरुमै भनिसके निर्वाचनको विकल्प निर्वाचनबाहेक अरु केही हुन सक्दैन ।’

उनले भने, ‘त्यसकारण निर्वाचन बिथोल्ने तत्वहरु देखिए यहाँहरुले बेलैमा सचेत गराउनु पर्छ । सहज ढंगले समाचार समेत संप्रेषण गरिदिनु पर्छ । निर्वाचन हुन्छ कि हुँदैन कि ? कस्तो हुन्छ भन्ने विषयको छलफल अब सकियो । अब हामी त्यो बाटोमा प्रवेश गर्दैनौँ । हामी निर्वाचनको बाटोमा धेरै अगाडि बढिसक्यौँ । अब फर्किनसक्ने अवस्था र स्थिति छैन । राष्ट्रपति ज्यूले सरकार गठनकै बखत संविधानमा थोरै छेड्खानी भएपनि अब संविधानबमोजिम निर्वाचन हुन्छ, संविधानको संरक्षण गर्नुपर्छ, मुलुकमा सुशासन कायम गर्नको लागि अरु विकल्प छैन निर्वाचन नै हो भनेर भन्नु भएको छ । मुलुकले थप आन्दोलन थेग्न सक्दैन । त्यसकारण तपाई हामी गौरव साथ बाँच्ने प्रयोजनको लागि पनि निर्वाचनमा सबैलाई सक्रिय रुपमा सहभागि गराएर सक्षम व्यक्तिहरुलाई संसदमा पठाउने तपाई हाम्रो दायित्व हो ।’