`

प्रविधिमार्फत चुनावी एजेण्डा संकलन गर्दै घिमिरे, अनलाइनमा पनि मागे सुझाव

झापा- झापा क्षेत्र नं. २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार देवराज घिमिरेले आफ्नो चुनावी अभियानलाई प्रविधिमैत्री बताएका छन् । प्रतिनिधिसभाका निवर्तमान सभामुख समेत रहेका घिमिरेले यस पटक मतदाताका घरदैलोमा पुग्ने परम्परागत शैलीसँगै डिजिटल माध्यमलाई पनि सशक्त रूपमा प्रयोग गरिरहेका छन् ।

उम्मेदवार घिमिरेले आफ्नो चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) तयार पार्न स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता खोजेका छन् । यसका लागि उनले एक क्युआर कोड र वेबसाइट लिङ्क सार्वजनिक गर्दै झापा क्षेत्र नं. २ का मतदाताहरूसँग सुझाव आह्वान गरेका छन् ।

घिमिरेका अनुसार, आगामी कार्यकाल (२०८२-८७) का लागि बनाइने प्रतिबद्धता पत्रमा जनताका वास्तविक समस्या र आवश्यकतालाई समेट्न यो प्रविधि अपनाइएको हो। “झापा क्षेत्र नं. २ का आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको सुझावलाई नै हामीले हाम्रो मार्गचित्र बनाउनेछौँ,” उनको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भई सभामुखको भूमिका सफलतापूर्वक निर्वाह गरिसक्नुभएका घिमिरेलाई यस पटक ‘अनुभवी’ र ‘प्रविधिमैत्री’ उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ। उनले मतदाता भेटघाटका क्रममा स्थानीय विकास, पूर्वाधार र शिक्षाका मुद्दाहरूमा छलफल गर्दै डिजिटल माध्यमबाट आउने रचनात्मक सुझावहरूलाई पनि उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

टी-२० विश्वकप: इटालीले टस जित्यो, स्कटल्याण्डलाई ब्याटिङको निम्तो

काठमाडौँ । आइसीसी टी–२० विश्वकपको समूह ‘सी’ अन्तर्गत आज कोलकताको इडन गार्डेन रंगशालामा इटाली र स्कटल्याण्ड आमनेसामने छन्। खेलको टस इटालीले जितेको छ र उसले स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको छ।

इटाली कप्तान वेन म्याडसेनको नेतृत्वमा मैदान प्रवेश गरेको छ। टोलीमा एन्थोनी मोस्का, जस्टिन मोस्का, जेजे स्मट्स, ह्यारी मानेन्टी, बेन मानेन्टी, ग्रान्ट स्टीवर्ट, विकेटकिपर जियान–पिएरो मीड, मार्कस क्याम्पोपियानो, क्रिशन कालुगामेज र अली हसन छन्।

उता स्कटल्याण्डको नेतृत्व रिची बेरिङ्टनले गरिरहेका छन्। टोलीमा जर्ज मुन्से, माइकल जोन्स, ब्रान्डन म्याकमुलेन, टम ब्रुस, विकेटकिपर म्याथ्यू क्रस, मार्क वाट, माइकल लीस्क, ओलिभर डेभिडसन, ब्राड ह्वील र ब्राड करी रहेका छन्।

विश्वकप यात्रामा महत्वपूर्ण मानिएको यस खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ४ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २४० रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य तोलामा ३ हजार ४ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ५०० रुपैयाँ रहेको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य २४० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।

रुपन्देहीबाट लामिछानेको सन्देशः परिवर्तनको दुर्लभ अवसर आएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकले इतिहास लेख्ने दुर्लभ अवसर पाएको भन्दै यसपटकको निर्वाचनलाई परिवर्तनको निर्णायक मोडका रूपमा लिन आग्रह गरेका छन् । उनले अब्बल युवा नेतृत्वले मात्रै देशको विकास सम्भव हुने स्पष्ट पारेका छन् ।

रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले यसलाई सामान्य चुनावी सभा नभई जनताको जमघट भएको उल्लेख गरे । ‘यो सभा होइन, जमघट हो । मुलुकले इतिहास लेख्ने अवसर पाएको छ, यस्तो अवसर विरलै पाइन्छ,’ उनले भने, ‘अब्बल युवा नेतृत्वले मात्रै देशको विकास गर्न सक्छ ।’

विगतका निर्वाचन परिणामतर्फ संकेत गर्दै उनले धेरै उम्मेदवारले जिते पनि देशले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरे । ‘धेरैपटक धेरै उम्मेदवारले जिते, तर देशले जितेन । हामी देशलाई जिताउन हिँडेका हौँ,’ लामिछानेले भने ।

उनले जनताको शक्तिलाई कसैले पनि नजरअन्दाज गर्न नहुनेमा जोड दिए । विगतमा सत्तामा पुगेका नेताहरू जनताको अपेक्षाभन्दा आफ्नै इतिहास र शक्ति केन्द्रित राजनीतिमा अल्झिएको आरोप लगाउँदै उनले अब जनताले त्यस्ता प्रवृत्तिलाई पत्याउने अवस्था नरहेको बताए । ‘जनताको ताकतलाई नजरअन्दाज गर्नु हुँदैन । अहिलेसम्म जनतालाई नजरअन्दाज गर्नेहरू आफ्नै इतिहासमा केन्द्रित भए, अब जनताले उनीहरुलाई पत्याउने छैनन्,’ उनले भने ।

रास्वपाभित्रको एकता र आन्तरिक समझदारीबारे उल्लेख गर्दै उनले पद र भागबण्डाको राजनीतिभन्दा माथि उठेर नयाँ पुस्ता एक ठाउँमा उभिएको दाबी गरे । ‘हामी नयाँ साथीहरू एक ठाउँमा उभिएर आएका हौँ, पदमा कुनै भागबण्डा नगरी आएका हौँ,’ लामिछानेले स्पष्ट पारे ।

स्थिर सरकार निर्माणलाई मुख्य एजेन्डा बनाउँदै उनले आगामी पाँच वर्ष राजनीतिक अस्थिरताबाट देशलाई मुक्त गरिने प्रतिबद्धता जनाए । ‘५ वर्षको स्थायी सरकार बनाउने हो, एकै प्रधानमन्त्री रहने हो, त्यसका लागि स्थायी सरकार आवश्यक छ,’ उनले भने ।

विगतमा निर्वाचित जनप्रतिनिधिहरू जनताको मन र काममा कत्तिको पुगे भन्ने कुरा अहिले स्पष्ट भइसकेको उल्लेख गर्दै उनले नयाँ पुस्ताका उम्मेदवारप्रति विश्वास गर्न मतदातालाई आग्रह गरे । ‘अब युवा साथीहरू पहिलो पटक उम्मेदवार बन्दै हुनुहुन्छ, तपाईंको मत खेर जाने छैन,’ उनले आश्वासन दिए ।

लामिछानेले रुपन्देही क्षेत्र नम्बर-१ बाट पार्टीका महामन्त्री सुनील लम्साललाई उम्मेदवार बनाइएको जानकारी दिँदै उनलाई विजयी गराउन आग्रह गरे ।

गगन भिजन– विकासको मोडल परितर्वन गरौँ, त्यसअघि कानुन संशोधन गरौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालमा ठूला पूर्वाधार आयोजना वर्षौंसम्म पनि सम्पन्न नहुने अवस्थालाई गम्भीर प्रणालीगत समस्या भएको बताएका छन् ।

नारायणगढ-बुटवल सडक, पूर्व-पश्चिम राजमार्ग, फास्ट ट्र्याक र मेलम्चीजस्ता उदाहरण दिँदै उनले विकास आयोजनामा ढिलाइ नेपालका लागि दीर्घकालीन बाधा बनेको उल्लेख गरेका छन् ।

थापाका अनुसार नारायणगढबाट बुटवल जाने सडक कहिले बनिसक्छ भन्ने अझै निश्चित छैन । पूर्व-पश्चिम राजमार्ग र फास्ट ट्र्याकको अवस्था पनि उस्तै रहेको भन्दै उनले मेलम्ची आयोजना सम्पन्न हुन २५ वर्ष लागेको स्मरण गराए ।

‘हामीले ठूला-ठूला आयोजना हेर्‍यौँ भने पुग्छ । सबैको कथा उस्तै छ । सहरमा बनिरहेका सडक हेर्दा बल्ल बनेको हुन्छ, केही समयपछि खानेपानीले खन्छ, त्यसपछि ढल आउँछ, फेरि फाइबर बिछ्याउने नाममा खनिन्छ । कहिले बिजुली, कहिले टेलिफोनको अड्डा आउँछ,’ थापाले भने ।

उनका अनुसार यस्तो अवस्था अपवाद होइन, सामान्य अभ्यासजस्तै बनिसकेको छ । सानो, ठूलो वा मझौला कुनै पनि आयोजना समयमै नसकिने प्रवृत्तिले नागरिकको कष्ट मात्र होइन, मुलुकको आर्थिक अवसरसमेत गुमाइरहेको उनले बताए ।

‘यसले हाम्रो दुःख त बढाएको छ नै, आर्थिक अवसर पनि धेरै गुमाइरहेका छौँ । किनकि यसको अपर्च्युनिटी कस्ट नै अत्यन्तै ठूलो छ,’ थापाले भने ।

थापाले समस्या ठेकेदारलाई तर्साएर वा व्यक्तिगत निर्देशन दिएर समाधान नहुने स्पष्ट पार्दै पूर्वाधार क्षेत्रका कमजोरीको जडमै पुगेर सुधार गर्नुपर्नेमा जोड दिएका छन् । संसदमा रहेर काम गर्दा सतहमा देखिने समस्यामात्र होइन, संरचनागत कमजोरीमाथि ध्यान दिन आवश्यक रहेको उनले बताए ।

‘कुनै ठेकेदारलाई तर्साएर समस्या समाधान हुँदैन । कतै गएर  निर्देशन दिन्छु भनेर पनि हुँदैन । सिम्प्टममा होइन, यसको जरामा गएर काम गर्नुपर्छ,’ थापाको भनाइ छ ।

पूर्वाधार क्षेत्र सुधारका लागि कानुनी संरचना, कार्यान्वयन प्रणाली, निकायबीचको समन्वय र दीर्घकालीन योजना प्रणालीमै व्यापक सुधार आवश्यक रहेको उनको जोड छ ।

विश्वकपमा ईङ्ल्याण्डविरूद्धको प्रदर्शनपछि विश्वक्रिकेटमा नेपालको चर्चा , कसले के भने ?

काठमाडौं। टी-२० विश्वकपमा ईङ्ल्याण्डविरूद्ध नेपालको सशक्त प्रदर्शनपछि विश्व क्रिकेटका दिग्गजहरुले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन्।

साउथ अफ्रिकाका पूर्व क्रिकेटर डेल स्टेनले कुनै पनि बेला नेपाललाई आफ्नो आवश्यकता परेको खण्डमा जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्,’ यदि तपाईंलाई कहिल्यै आवश्यक परेमा म तपाईंलाई मेरो सेवाहरू प्रदान गर्दछु । उठ, उठ र उठ!’

त्यस्तै, भारतीय पूर्व चर्चित क्रिकेटर युवराज सिंहले नेपाल अन्तिम बलसम्म ईङ्ल्याण्डसँग लडेको बताए।
‘ नेपालप्रति ठूलो सम्मान, विश्वका उत्कृष्ट टोलीहरूमध्ये एकसँग भिड्दै अन्तिम बलसम्म संघर्ष गर्‍यो र विश्वास र साहसले के गर्न सक्छ भन्ने देखायो!  यस्तै संघर्षबाट टोलीहरू बलियो बन्छन् र यस्तै बाटो हुँदै च्याम्पियनहरू जन्मिन्छन् । क्रिकेट जगतको नजर अब नेपालतर्फ छ!’

चर्चित कमेन्टटेटर आकाश चोपडाले नेपालले राम्रो खेलेको प्रतिक्रिया जनाएका छन्। ‘धेरै नजिक तर पनि टाढा । राम्रो खेल्यो, राम्रोसँग लड्यो, नेपाल,’ उनले लेखेका छन्।


त्यस्तै, ईङ्लिस कमेन्टटेटर माईकल भाउनले नेपालले असाधारण खेल प्रस्तुत गरेको बताए । ‘क्रिकेटको कस्तो शानदार खेल,’ उनले नेपालको आजको खेलमा प्रतिक्रिया जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्,’नेपाली खेलाडीहरूले देखाएको सीप असाधारण थियो। जे भए पनि अन्तिममा इङ्गल्याण्डको जित नै भयो।’

भारतीय विश्वविख्यात स्पिनर रविचन्द्रन आश्विनले नेपाल उदयीमान तथा विशाल सम्भावना भएको क्रिकेट राष्ट्र भएको प्रतिक्रिया दिए । ‘नेपालको अद्भुत प्रदर्शन। नेपाल क्रिकेट- उदीयमान क्रिकेट राष्ट्रहरूमध्ये उनीहरू निश्चय नै उत्कृष्टमध्ये एक हुन्। अत्यन्तै ठूलो सम्भावना र उज्यालो भविष्य छ।’


कमेन्टटेटर तथा पूर्व भारतीय क्रिकेटर ईरफान पठानले नेपाल क्रिकेटमा सही बाटोमा रहेको प्रतिक्रिया दिए । ‘अन्तिम प्रहारहरु गर्न नेपाल चुक्यो तर नेपाल स्पष्ट रूपमा सही बाटोमा छ,’ उनले एक्समा लेखेका छन्,’उनीहरूले इङ्गल्याण्डलाई दबावमा राखेको देख्दा खुशी लाग्यो।’

विश्वपकमा टेष्ट राष्ट्रलाई हराउने सपना अधुरै, नेपाल ईङ्ल्याण्डसँग ४ रनले पराजित

 काठमाडौं । जारी विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ईङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ। निर्धारित २० ओभरमा १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएर १८० रन मात्रै बनाउन सक्यो। 

नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले २९ बलमा १ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, कप्तान रोहित पौडेलले ३४ बलमा २ चौका र २ छक्काको सहायतामा ३९ रन बनाए ।

लोकेश बमले नेपाली टोलीका लागि आक्रामक पारी खेले । उनले २० बलमा २ छक्का र ४ चौका प्रहार गर्दै ३९ रन बनाए । त्यसअघि ओपनर कुशल भुर्तेलले आक्रामक सुरु गर्दै ४ चौका र १ छक्काको मद्दतमा २९ रन जोडे ।

उता ईङ्ल्याण्डका लागि लियाम डसनले २ विकेट लिए भने जोफ्रा आर्चर, सम कुरान, विल ज्याक्स र लुके वुडले समान १/१ विकेट लिए।

त्यसअघि, मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले नेपालसामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा इंग्ल्याण्डले १ सय ८४ रन जोडेको हो।  उसका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्याकब वेथलले सर्वाधिक ५५ रन बनाए। उनले ३५ बलमा ४ चौका र ४ छक्काको सहायतामा ५५ रन जोडेका हुन्। 

त्यस्तै, इङ्ग्लिस कप्तान ह्यारी ब्रुकले पनि अर्धसतक प्रहार गरे। उनले ३२ बलमा ४ चौका र ३ छक्काको मदतबाट ५३ रन जोडे। विल ज्याक्सले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४ छक्का र १ चौकाको सहयोगमा ३९ रनको विष्फोटक पारी खेल्दा ओपनर जोश बटलरले १७ बलमा ५ चौकाको मद्दतमा २६ रन बनाए। 

यता नेपालका लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २/२ विकेट लिदा सन्दिप लामिछाने र शेर मल्लले समान १/१ विकेट लिए।

विश्वकपमा टेष्ट मान्यताप्राप्त राष्ट्रलाई हराउने सपना यसपटक पनि अधुरै रहेको छ। अघिल्लो विश्वकपमा पनि नेपाल साउथ अफ्रिका र बंगलादेशसँग सानो मार्जीनले पराजित हुदा विश्वकपमा टेष्ट मान्यताप्राप्त राष्ट्रलाई हराउन चुकेको थियो। 

 

ओलीको चुनाव प्रचार कार्यालयमा बालेन, केहीसँग मिलाए हात, कसे टाप

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित निर्वाचन प्रचार कार्यालयमा बालेन्द्र शाह (बालेन) पुगेका छन् ।

बालेन ओलीका चुनावी प्रतिस्पर्धी हुन् । आइतबार ओलीको प्रचार कार्यालयमा पुगेर उनी केहीसँग हात मिलाएर बाटो लागे । कोहीसँग दोहोरो संवाद गरेनन् ।

संवाद नगरे पनि त्यहाँ एक जनाले भने, ‘बालेनजी ! भेट भयो, खुसी लाग्यो ।’

ओली र बालेन झापा–५ का चुनावी प्रतिस्पर्धी हुन् । दुवैबीच व्यक्तिगत तहमै तिक्ततापूर्ण सम्बन्ध छ । त्यसमाथि चुनावी प्रतिस्पर्धी भएका छन् ।

ओली पनि यतिबेला चुनाव क्षेत्र झापा–५ मै छन् । बालेन पनि त्यहीँ छन् । दुईले एकअर्कालाई चुनौतीका रूपमा प्रस्तुत गरेका छन् ।

ओली तीनपटक प्रधानमन्त्री भइसकेका र झापाबाट ६ पटक निर्वाचित अग्ला कदका नेता हुन् । बालेन पनि काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख हुन् ।

उनले सार्वजनिक रूपमा नभनिए पनि जेन–जी विद्रोहको मुख्य कमान्डर हुन् जुन विद्रोहले ओलीको सत्ता ढलेको थियो ।

अहिले उनीहरू दुवै चुनावी मोर्चामा आमनेसामने छन् ।

कप्तान पौडेल ३९ रन बनाएर आउट

इंग्ल्याण्डसँगको टि-२० विश्वकपको पहिलो म्याचअन्तर्गत नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल ३९ रन बनाएर आउट भएका छन्। 

उनले ३४ बल खेल्दै २ छक्का र २ चौका हिर्काए।  यो सँगै नेपालको चौथो विकेट गुमेको छ। 

नेपाललाई जित्न अब २४ बलमा ५६ रनको आवश्यकता छ 

ऐरी ४४ रन बनाएर आउट

इंग्ल्याण्डसँगको टि-२० विश्वकपको पहिलो म्याचअन्तर्गत दिपेन्द्र सिंह ऐरी ४४ रन बनाएर पेभेलिएन फर्किएका छन्। 

उनले २९ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४४ रन जोडेका हुन्। 

ताजा स्थितिमा नेपालले १४.५ ओभरको खेल सकिदा तिन विकेटको क्षतिमा १२५ रनको योगफल तयार पारेको छ। नेपाललाई यो खेल जित्न अब ३० बलमा ६० रन चाहिएको छ।

घाम ताप्नु, रुखको छहारीमा बस्नु तर भोट घण्टीमा हाल्नु : रवि लामिछाने (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एकपटक बहुमत पाए देशलाई छाती ठोकेर अगाडि बढाउने दाबी गरेका छन् ।

कुनै बेला रास्पवालाई भोट हालेको भनेर गर्व गर्न मिल्ने देश बनाउने भन्दै उनले यसपटक रास्वपालाई रोज्न मतदाताहरूलाई आग्रह गरे ।

उनले मतदाताहरूलाई कांग्रेस र एमाले नछाडिकन भोट मात्रै रास्वपालाई हाल्न सुझाए ।

‘त्यो सिद्धान्तलाई छोड्नुहोस् भनेकै छैन मैले । बिहान घाम तापे भइहाल्यो नि । धेरै गर्मी भए रुखको छहारीमा बसे भइगयो नि । खाली भोट घन्टीमा हाल्ने त हो नि,’ उनले भने ।

एकपटक बहमुत पाए सुशासनको जग बसाएर छाड्ने लामिछानेले बताए ।

पावर ‘प्ले’ मा नेपालले २ विकेट गुमाउदा जोड्यो ४७ रन

काठमाडौं । इंग्ल्याण्डसँगको टि-२० विश्वकपको पहिलो म्याचअन्तर्गत नेपालले पावर प्ले मा २ विकेट गुमाएर ४७ रन बनाएको छ। 

नेपालका लागि ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन बनाएर आउट भए। त्यस्तै आसिफ सेखको ब्याटबाट ७ रन नेपालको खातामा जोडियो। 

अहिले क्रिजमा नेपालका लागि कप्तान रोहित पौडेल र उपकप्तान दिपेन्द्र सिंह ऐरी खेलिरहेका छन्।  

 

नेपालका दुवै ओपनर आउट, भुर्तेल २९ रन बनाएर आउट

काठमाडौं । नेपाल र इंग्ल्याण्डबीच भइरहेको विश्वकपको खेलमा कुशल भुर्तेल आउट भएका छन्। 

यो सँगै नेपाललाई दोस्रो झट्का लागेको छ। भुर्तेल १७ बलमा ४ चौका र १ छक्काको मधतामा २९ रन बनाएर आउट भएका हुन्।  उनलाई विल ज्याक्सले आउट पारेका हुन्।   

 

नेपाललाई पहिलो झट्का, आशीफ ७ रन बनाएर आउट

नेपाल र इंग्ल्याण्डबीच भइरहेको विश्वकपको खेलमा आसिफ़ शेख आउट भएका छन्। 

यो सँगै नेपाललाई पहिलो झट्का लागेको छ। शेख ९ बलमा ७ रन बनाएर आउट भएका हुन्।  उनलाई लियाम डसनले आउट पारेका हुन्।   

 

इंग्ल्याण्डले दियो नेपाललाई १ सय ८५ रनको लक्ष्य

काठमाडौं । भारतको वानखेडे स्टेडियमा जारी नेपाल र इंग्ल्याण्डबीचको खेलमा इंग्ल्याण्डले नेपाललाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा इंग्ल्याण्डले १ सय ८४ रन जोडेको हो।  उसका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्याकब वेथलले सर्वाधिक ५५ रन बनाए। उनले ३५ बलमा ४ चौका र ४ छक्काको सहायतामा ५५ रन जोडेका हुन्। 

त्यस्तै, इङ्ग्लिस कप्तान ह्यारी ब्रुकले पनि अर्धसतक प्रहार गरे। उनले ३२ बलमा ४ चौका र ३ छक्काको मदतबाट ५३ रन जोडे। विल ज्याक्सले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४ छक्का र १ चौकाको सहयोगमा ३९ रनको विष्फोटक पारी खेल्दा ओपनर जोश बटलरले १७ बलमा ५ चौकाको मद्दतमा २६ रन बनाए। 

यता नेपालका लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २/२ विकेट लिदा सन्दिप लामिछाने र शेर मल्लले समान १/१ विकेट लिए। 

 

अर्धसतक बनाएर आउट भए इङ्ग्लिस कप्तान ब्रुक, नन्दनलाई दोस्रो सफलता

काठमाडौं । इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले अर्धसतक प्रहार गरेका छन्।  भारतमा जारी नेपाल र इंग्ल्याण्ड बिचको खेलमा ब्रुकले अर्धसतक प्रहार गरेका हुन्। 

उनी अर्धसतक प्रहार गरेको अघिल्लो बलमै आउट हुन पुगे। उनलाई नन्दन यादवले शेर मल्लमार्फत क्याच आउट गराएका हुन्। नन्दनको लागि यो दोस्रो सफलता हो। उनले यो भन्दा अघि इङ्ग्लिस ओपनर बटलरलाई २६ रनमा आउट पारेका थिए।  

उनले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धसतक पुरा गरेका हुन्।  यसअघि अर्का ब्याटर ज्याकब वेथलले पनि अर्धसतक प्रहार गरेका थिए। 

ब्रुकको अर्धसतकसँगै इंग्ल्याण्डले यो समाचार तयार पार्दासम्म १९ ओभरको खेल सकिदा १६३ रनको योगफल तयार पारेको छ।  

ऐरीलाई दोस्रो सफलता, कुरान २ रनमा आउट

काठमाडौं ।नेपाली टोलीका उपकप्तान रहेका दिपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका छन्।  उनले ८ बलमा २ रन बनाएर खेलिरहेका सम कुरानलाई पेभेलिएनको बाटो देखाए। 

यो सँगै इंग्ल्याण्डको पाँचौ विकेट गुमेको छ।  ताजा स्थितिमा इंग्ल्याण्डले १६ ओभरको खेल सकिदा १३८ रनको योगफल तयार पारेको छ।

वेथललाई ऐरीले आउट गरे

काठमाडौं । अर्धसतक बनाएर खेलिरहेका ज्याकब वेथल आउट भएका छन्।  उनलाई दिपेन्द्र सिंह ऐरीले आउट गरेका हुन्।  

यो सँगै नेपाललाई चौथो सफलता मिलेको छ। वेथलले ३५ बलमा ४ चौका र ४ छक्का सहित ५५ रन जोडे। 

यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले १४ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १२८ रनको योगफल तयार पारेको छ।  

नेपालका विरुद्द वेथलको अर्धसतक

काठमाडौं । इंग्ल्याण्डका लागि तेसो नम्बरमा ब्याटिङ गर्न आएका ज्याकब वेथलले अर्धसतक प्रहार गरेका छन्।

उनले २८ बलमा ४ चौका र ४ छक्का सहित ५३ रन प्रहार गरेका हुन्।

यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले १२ ओभरको समाप्तीमा तिन विकेट गुमाउदै १०६ रन को योगफल तयार पारेको छ।

लामिछानेले लिए पहिलो बलमै विकेट

काठमाडौँ । भारतको वानखेड़े स्टेडियममा जारी विश्वकपमा सन्दिप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन्। 

उनले चौथो नम्बरमा ब्याटिङ गर्न आएका टम ब्यान्टनलाई आफ्नो बलिङ स्पेलको पहिलो बलमै पेभेलिएनको बाटो देखाएका हुन्। उनले ब्यान्टनलाई एलबिडब्ल्यु आउट गरेका हुन्। 

ब्यान्टनले ५ बलमा २ रन बनाए। 

यो सँगै ६.१ ओभरको खेल सकिदा इंग्ल्याण्डले ५७ रनको योगफलमा ३ विकेट गुमाएको छ।

बालेनको घरबाट ल्यापटप, चार्जर र भिडियो रेकर्डर चोरी आरोपमा तीन पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)को घरबाट चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूको नाम प्रहरीले सार्वजनिक गरेको छ्रैन । तर, तीन जना पक्राउ गरेको र उनीहरूको साथबाट बालेनको घरबाट चोरी भएका केही सामग्री बरामद गेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले नेपालवान एचडीलाई जानकारी दिए ।
प्रहरीले पक्राउ परेकाहरूबाट ल्यापटप, त्यसको चार्जर र भिडियो रेकर्डर बरामद गरेको हो । उनीहरूविरुद्ध प्रहरीले चोरीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

 

पावर ‘प्ले’ मा नेपालको मध्यमस्तरको प्रदर्शन, २ विकेट लिदा ५७ रन दियो

काठमाडौँ । जारी विश्वकपमा इंग्ल्याण्डले पावर ‘प्ले’ को समाप्तीमा ५७ रन बनाएको छ। 

पारीको दोस्रो ओभरमै पहिलो विकेट गुमाएको इंग्ल्याण्डले  चौथो ओभरमा दुवै ओपनर गुमाएको थियो। तर विकेटसँगैको इंग्ल्याण्डको रफ्तारको खेलाईले उसलाई पावर ‘प्ले’ मा ५७ रनको योगफलमा पुर्यायो। 

पावर ‘प्ले’ उसका लागि ओपनर जोश बटलरले २६ रन बनाएर पेभेलिएन फर्किए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्याकब बेथलले १३ बलमा २७ रन जोडे।  

यता नेपालका लागि भने शेर मल्ल र नन्दन यादवले समान १/१ विकेट लिए।   

 

नन्दनले लिए बटलरको विकेट

काठमाडौं । भारतको वानखेड़े स्टेडियममा जारी विश्वकपमा नन्दन यादवले नेपाललाई दोस्रो सफलता दिलाएका छन्। 

पहिलो पारीको ४.३ ओभरको खेल चल्दै गर्दा यादवले बटलरलाई आउट गरे। ताजा स्थितिमा इंग्ल्याण्डले ४.४ ओभरमा २ विकेटको क्षतिमा ४४ रन बनाएको छ।

इंग्ल्याण्डका लागि बटलरले १७ बलमा ५ चौकाको सहायतामा २६ रन बनाए।  

आदिवासी ज्ञान प्रणालीहरू केवल परम्परामा सीमित छैनन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व हुनुपर्ने बताएका छन् ।

नेपाल आदिवासी ज्ञान सम्मेलनको उदघाटन गर्दै राष्ट्रपति पौडेलले भने, ‘देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक छ । राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपछि नै राजनीतिक स्थायित्व सम्भव हुने हो भन्ने हामीले विर्सन हुन्न ।’

उनले देशलाई फूलवारीको रूपमा चित्रण गर्दै सबै जाति, भाषा र संस्कृति मान्ने समुदायलाई संविधानले समान अवसर दिएको उल्लेख गरे ।

‘यस फूलबारीलाई अझ सुन्दर, समुन्नत र सन्तुलित बनाउन सबै जाति, भाषा, संस्कृति र समुदायको समान पहुँच, समान अवसर र समान सम्मान अपरिहार्य हुन्छ। हाम्रो संविधानले निर्दिष्ट गरेको लक्ष्य पनि यही हो’, उनले भने ।

राष्ट्रपति पौडेलले आदिवासी जनजाति समुदायको भाषा, लिपि, संस्कृति, परम्परा, मूल्य–मान्यता, ज्ञान प्रणाली र धार्मिक विश्वासहरू केवल सांस्कृतिक सम्पदा मात्र नभएर ती नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधारहरू पनि भएको बताए ।

उनले यिनको संरक्षण, संवद्र्धन र समुचित विकासका लागि राज्यले नीतिगत, संस्थागत र संरचनागत रूपमा थप प्रभावकारी भूमिका निर्वाह गर्नु आवश्यक ठानेको बताए ।

‘आदिवासी ज्ञान प्रणालीहरू केवल परम्परामा सीमित छैनन् । यी सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ पनि हुन्,’ राष्ट्रपति पौडेलले बताए ।

नेपाललाई पहिलो सफलता, मल्लले लिए साल्टको विकेट

काठमाडौं । भारतको वानखेड़े स्टेडियममा जारी विश्वकपमा शेर मल्लले नेपाललाई पहिलो सफलता दिलाएका छन्। 

पहिलो पारीको १.१ ओभर चल्दै गर्दा मल्लले साल्टलाई आउट गरे। यो सँगै मल्लले टी-२० क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन्।  उनले डेब्यु खेलको पहिलो ओभरको पहिलो बलमै विकेट लिदै रेकर्ड बनाएका हुन्।  

शेयर बजार घट्दा पनि कारोबार ११ अर्ब बढी

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १०.२५ अंक घटेको छ । ०.३७ प्रतिशत गिरावट सहित सेयर बजार २६९८.४४ बिन्दुमा झरेको छ ।

आइतबार ‘अन्य’ र लगानी उपसूचक बाहेक अन्य सबै उपसूचकको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै २.१३ होटल र पर्यटन उपसूचकका लगानीकर्ताले गुमाएका छन् । आइतबार कुल ३ सय ३० धितोपत्रको १ लाख ११ हजार ९ सय ७८ कारोबारबाट २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच भएको छ । आइतबार कुल ११ अर्ब ६५ करोड ९७ लाख बराबर कारोबार भएको देखिएको छ ।

आज सबैभन्दा धेरै १० प्रतिशतले सुपर माई हाइड्रोपावरको मूल्य बढेको छ । यसबाहेक रिडी पावर कम्पनी, खानीखोला हाइड्रो, हिमालयन हाइड्रोपावर सहित धितोपत्रका लगानीकर्ताले समेत आज धेरै कमाएका छन् ।

कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाए ।

ईंग्ल्याण्डविरूद्ध नेपालको प्लेइङ-११, सोमपाल बाहिरिँदा नन्दनलाई अवसर

काठमाडौं । भारतमा जारी विश्वकपमा इंग्ल्याण्डविरुद्धको पहिलो खेलमा रोहित कुमार पौडेलको कप्तानीमा नेपालले आफ्नो अन्तिम-११ घोषणा गरेको छ। 

पौडेल कप्तान रहेको नेपालको अन्तिम ११ मा आसिफ शेख विकेटकिपर ब्याटर छन्।  त्यस्तै, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, आरिफ शेख, लोकेश बम, गुलशन झा, शेर मल्ल, नन्दन यादव ले अन्तिम-११ मा स्थान बाएका छन्। 

यसअघि दुईवटा विश्वकपका सबै खेल खेलेका सोमपाल कामी भने अन्तिम-११ मा परेका छैनन्।   

नेेपालविरूद्ध इंग्ल्यान्डले जित्यो टस

काठमाडौं । मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा समूह ‘सी’ अन्तर्गतको पाँचौं खेलमा इंग्ल्याण्ड र नेपाल भिड्दैछन्।

खेल आइतबार नेपाली समयअनुसार दिउँसा सवा तीन बजे हुँदैछ।

नेपालविरूद्ध इंग्ल्यान्डले टस जितेको छ भने पहिले ब्याटिङ गर्ने भएको छ। नेपाली टोलीमा शेर मल्लले डेब्यू गर्दैछन्।

यस्तै शेरसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलो पटक टी-२० विश्वकप खेल्दैछन्।

नेपाली टोली

कुशल भुर्तेल
आसिफ शेख
रोहित पौडेल
दीपेन्द्र सिंह ऐरी
आरिफ शेख
लोकेश बम
गुलशन झा
करण केसी
शेर मल्ल
नन्दन यादव
सन्दीप लामिछाने

 

टी-२० विश्वकप: न्युजिल्याण्डसँग अफगानिस्तान पराजित

काठमाडौं । भारत र श्रीलंकामा जारी टी-२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा अफगानिस्तान न्युजिल्याण्डसँग पराजित भएको छ । अफगानिस्तानले दिएको १८३ रनको न्युजिल्याण्डले १३ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

न्युजिल्याण्डका ओपनर टिम सेइफर्टले सर्वाधिक ६५ रन जोडे । यस्तै ग्लेन

भारतको चेन्नाईमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दक्षिण एसियाली टोली अफगानिस्तानले निर्धारित २० ओभरमा विकेट ६ गुमाएर १८२ रन जोड्यो ।

अफगानिस्तानका लागि गुलबदिन नैबले सर्वाधिक ६३ रन बनाए । उनले ३५ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । अफगानिस्तानका लागि सदिकउल्लाह अतलले २९, रमनुल्लाह गुरबाजले २७ तथा डार्बिस रसुलीले २० रनको महत्वपूर्ण योगदान गरे ।

न्युजिल्याण्डका लकी फर्गुसनले २ तथा म्याट हेनरी, ज्याकोब डफी र रचिन रविन्द्रले १-१ विकेट लिए ।

इंग्ल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ। 

भारतको वानखेडे स्टेडियममा टस हारेर नेपालले पहिले बलिङको निम्तो पाएको हो। 

काठमाडौं बन्यो विश्वको सातौँ प्रदूषित सहर

काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने  ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ ।

आज काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो ।

‘औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ’, उनले भने, ‘पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।’ सुवेदीले वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिइएको पनि जानकारी दिए ।

विपद् व्यवस्थापनविद् डा.धर्मराज उप्रेतीका अनुसार ० देखि ५० एक्युआई राम्रो (हरियो सङ्केत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेंलो सङ्केत) मानिन्छ । त्यस्तै, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ। १५१ देखि २०० एक्यूआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ ।

यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ । साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्शाङ्कन गरिने उल्लेख गरिएको छ

इङ्गल्याण्डसँग भीड्न नेपाल तयार, कस्तो रहला रणनीति?

१९९६ मा पहिलो अन्तराष्ट्रिय क्रिकेट म्याच खेलेको नेपाल आफ्नो क्रिकेट इतिहासमा तेस्रोपल्ट सिनियर टोलीको विश्वकप खेल्दैछ। यसअघि २०१४ मा बंगलादेशमा आयोजना भएको पहिलो टि-२० विश्वकप खेलेको नेपालले दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन १० वर्ष पर्खिनुपर्यो। यसअघि नेपालले अघिल्लोपटक अमेरिका र क्यारेबियनमा भएको २०२४ को विश्वकप खेलेको थियो।

क्रिकेटमा तिन फरक प्रकारका विश्वकप हुन्छन्। विश्व टेष्ट च्याम्पियनसिप, एकदिवसीय विश्वकप र टि-२० विश्वकप।  तिनमध्ये नेपालले अहिलेसम्म खेलेको र खेल्नलागेको विश्वकप टि-२० विश्वकप मात्रै हो। टि-२० क्रिकेट विश्वपक हुने सबैभन्दा छोटो फर्म्याट हो। 

२०२४ को विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि कुनै जित निकाल्न सकेन। अमेरिकामा निकटम प्रतिद्वन्द्वी मानिने नेदरल्याण्डसँग पराजित भएको नेपाल क्यारेबियनमा दुई ठुला ‘टेष्ट प्लेइङ नेसन’ साउथ अफ्रिका र बंगलादेशसँग झिनो अन्तरले पराजित भयो। अनुभवको कमी र धैर्यताको अभावबीच विश्वकपमा टेष्ट टिमलाई पराजित गर्ने अवसरबाट नेपाल त्यतिबेला चुक्यो। २०२४ को विश्वकपमा नेपाल साउथ अफ्रिकासँग १ रनले पराजित भएको थियो भने बंगलादेशसँग २१ रनले पराजित भएको थियो। 

कुनै पनि क्रिकेट प्लेइङ नेसन ‘टेष्ट मान्यता प्राप्त नेसन’ बन्नलाई विश्वकपमा अर्को ‘टेष्ट प्लेइङ नेसन’ लाइ पराजित गर्नुपर्ने ‘इन्टरनेसनल क्रिकेट काउन्सिल’(आईसीसी) को प्रावधान छ। नेपालले २०२४ को विश्वकपमा आईसीसीको उक्त प्रावधान पुरा गर्दै टेष्ट मान्यताप्राप्त राष्ट्र बन्ने अर्को खुड्किलो पार गर्नसक्थ्यो। तर साउथ अफ्रिकाले दिएको ११५ र बंगलादेशले दिएको १०७ रनको लक्ष्य भेटाउन नसक्दा नेपाल मन रित्तो बनाएर घर फर्कियो। 

२०१४ को विश्वकपमा नेपालले अफगानिस्तान र हङकङलाइ पराजित गरेको थियो। बंगलादेशसँग पराजित भएको नेपाल रनरेटमा पछाडि पर्दा त्यो बेला पनि सुपर-८ मा पुग्नबाट बंचित भएको थियो।  रोचक पक्ष के भने २०१४ को विश्वकपमा नेपालले अफगानिस्तानलाइ पराजित गर्दा अफगानिस्तान पनि एसोसियट राष्ट्रको सूचीमा थियो। तर २०१७ मा अफगानिस्तानले टेष्ट नेसनको मान्यता पाउदा नेपाल एकदिवसीय अन्तराष्ट्रिय खेल्ने देशको मान्यताका लागि लडिरहेको थियो।  पछि २०१८ मा नेपालले ओडीआई खेल्ने राष्ट्रको मान्यता पायो। 

यो बिचमा नेपाली क्रिकेट ठुलो अन्तरसंघर्षबाट गुज्रियो। क्यानभित्रको अनियमितता र गुटबन्दीका कारण बिचमा क्यान निलम्बनमा पर्यो।  जसले नेपाली क्रिकेट करीब २ वर्षसम्म अभिभावकविहीन अवस्थामा रहन पुग्यो। २०१८ मै ओडीआई स्टाटस पाएको नेपालले त्यसपछि पनि विश्वकप खेल्न अझै ६ वर्ष कुर्नुपर्यो। ओडीआई विश्वकपको ग्लोबल क्वालिफायरसम्म पुगेको नेपालले ओडीआई विश्वकप भने अझै खेलिसकेको छैन। 

आज नेपालले तेस्रोपटक विश्वकपमा विश्व क्रिकेटको हब मानिने ईङ्ग्ल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ। १६ औ शाताब्दीमा ईङ्ग्ल्याण्डका केन्ट र ससेक्स सिटीबाट क्रिकेट खेलको सुरुवात भएको थियो।  त्यही ईङ्ग्ल्याण्डसँग नेपालले पहिलोपल्ट खेल्दैछ। 

ईङ्ग्ल्याण्ड एकपटकको टि-२० विश्वकप विजेता हो। उसले २०२२ को विश्वकप जितेको थियो। विश्व क्रिकेटको महारथी मानिने ईङ्ग्ल्याण्डसँग नेपालले खेल्ने भएपछी यतिबेला नेपाली क्रिकेट समर्थक निकै उत्साहित देखिन्छन्। जोस बटलर, ह्यारी ब्रुक, जोफ्रा आर्चर, फिल साल्ट जस्ता विश्वविख्यात खेलाडी रहेको ईङ्ग्ल्याण्डसँग नेपालले कस्तो प्रदर्शन गर्ला?- चासोको विषय बनिरहेको छ। 

अझ नेपालका बलरहरुका विरुद्ध जोस बटलर र फिल साल्ट जब ब्याटिङ गर्न सँगै आउनेछन्, नेपाली बलरहरुका लागि अग्नीपरिक्षा सुरु भएजस्तै हुनेछ। अझ रोचक त त्यतिबेला देखिनेछ जब जोफ्रा आर्चरले नेपाली ब्याटरहरुलाई बलिङ गर्नेछन्।  आर्चर ती विश्वविख्यात बलर हुन्, जो १४०-१५० को एभरेज गति र त्यो गतिसँगै फाल्ने तिखो बाउन्सरको लागि चिरपरिचित छन्। समकालीन विश्व क्रिकेटमा तिखो बाउन्सरसहितको बलिङका लागि आर्चर निकै प्रख्यात बलर मानिन्छन्। 

नेपालले ईङ्ग्ल्याण्डलाइ पराजित गर्ने पहिलो लक्ष्य राखेको छ। नेपाली टोलीका कप्तान रोहित पौडेलले यसअघि नै एउटा पत्रकार सम्मेलनमा उक्त कुरा बताएका थिए। ईङ्ग्ल्याण्डको टोलीको नेतृत्व भने यसपटक ह्यारी ब्रुकले गरेका छन्।   

नेपाल र ईङ्ग्ल्याण्डबीचको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समय ३ बजेर १५ मिनेटमा सुरु हुदैछ।  ३३ हजार दर्शक क्षमता रहेको वानखेडे स्टेडियमको नेपाल र ईङ्ग्ल्याण्ड बिचको खेलको टिकट भने यसअघि नै सोल्ड आउट भइसकेको छ। 

ईङ्ग्ल्याण्डले नेपालसँग खेल्ने अन्तिम-११ यसअघि नै घोषणा गरिसकेको छ। उसले ह्यारी ब्रुकको नेतृत्वमा जोस बटलर(विकेटकिपर ब्याटर), फिल साल्ट, ज्याकब बेथल, टम ब्यान्टन,सम कुरान, विल ज्याक्स, लियाम डसन, जोफ्रा आर्चर, आदील रसिद, लुके वुडलाई आफ्नो अन्तिम ११ मा मौका दिएको छ। नेपालको अन्तिम-११ भने घोषणा हुन बाकि छ।  

विश्वकपको पहिलोचरण अन्तर्गत चार समुहमा रहेका २० वटा टोलीले एकआपसमा प्रतिष्पर्धा गरिरहेका छन्। चारवटा समुहबाट शिर्ष-२ मा रहने आठवटा टोली विश्वकपको सुपर-८ मा प्रवेश गर्नेछन्। नेपाल ग्रुप ‘सी’ मा छ।  ग्रुप ‘सी’ बाट सुपर-८ मा पुग्नलाई नेपालले कम्तिमा तिन टोलीलाई पराजित गर्नुपर्नेछ।

ग्रुप ‘सी’ अन्तर्गत नेपालका यसपछिका खेल इटाली, वेष्ट इन्डिज र स्कटल्याण्डसँग हुनेछन्। 

‘घण्टीसन्टी चाहिँदैन, काठमाडौं सबै जलाएछ घण्टीले’ (भिडियो)

काठमाडौं । देशको १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सिंगो देशवासीको ध्यान खिचेको क्षेत्र हो, झापा– ५ ।

सर्वाधिक चासोको चुनाव क्षेत्र हुनुमा यहाँ पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा उत्रिनाले हो ।

ओली चुनावमा पराजित भए उनी सत्ता राजनीतिबाट किनारा लाग्नेछन् । त्यसले गर्दा यो चुनाव ओलीलाई जित्नैपर्ने दबाब छ । उनी समर्थित एक मतदाताले यसपटक पनि ओलीलाई जिताउने बताइन् ।

‘घण्टीसन्टी चाहिँदैन । काठमाडौं सबै आगो लाएछ घण्टीले । अब झापालाई पनि खरानी बनाउन आँटेका होलान्, तर हामी जान्दैनौँ घण्टी । घण्टी हल्लाउँदैनौँ । मैले पहिलेदेखि भोट हालेको सूर्यनारायणलाई । केपी बालाई जिताउने नै भनिराखौँछौँ हामीले । हेरेको छ, बाटोघाटो, खोला आएको पनि बाँध कसिदेको छ,’ उनले भनिन् ।

उनले ओलीले चुनाव क्षेत्रमा राम्रो गरिदिएको दाबी गरिन् । त्यही भएर ओलीलाई यसपटक पनि जिताउन चाहेको उनले बताइन् ।

ओलीसँग खयरबारीका मतदाताले भने: खोलो बाँधियो, अब धनीपुर्जा चाहियो

दमक। झापा निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाको वडा नं. ६ को खयरबारी बस्ति रतुवा खोलाको किनारामा पर्दछ । खोलाको पुर्वी किनारामा रहेको यो बस्तिले अघिल्लो दशक सम्म पनि वर्षेनी बस्ति उठाउने गरेको थियो । तर, यहाँ दर्विलो गरि तटबन्धन गरिए पछि यो समस्याको अन्त्य भएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार खयरबारी पुगे ।  त्यहाँ पुग्दा उनले विगतमा रतुवा खोलाले दिएको दुःखको स्मरण गरे । बस्ति बगाउँदै गर्दा गाउँसम्म पुग्ने सडक पनि थिएन । तर, अहिले न सडकको दुःख छ न, खोलाको हैरानी । अध्यक्ष ओलीलाई यो सुविधा विस्तारका लागि स्थानीयले धन्यवाद दिए र अर्को अपेक्षा सुनाए, ‘खोला बाँधियो, बाटो आयो अब चाँहि धनीपुर्जा चाहियो ।’
स्थानीयबासीहरुले अझै पनि केहि परिवार भुमिहिन रहेको र केही स्थानमा अव्यवस्थित बसोबासको समस्या रहेकाले भुमिसम्वन्धिको समस्या समाधान गरि दिन आग्रह गरेका हुन् । अध्यक्ष ओलीले विगतमा समेत एमाले नेतृत्वकै सरकारले भुमि सम्बन्धि समस्या समाधानका लागि आयोग गठन गरेर काम थाले पछि अर्को सरकार आएर आयोगनै खारेज गरि दिने गरेकाले समस्या समाधान हुन नसकेको बताए। शनिबार समेत कमल गाउँपालिकामा केन्द्रित भएका ओली आइतबार समेत विभिन्न बस्तिमा पुगिरहेका छन् ।

यो निर्वाचनबाट रवि र बालेनको ‘पपुलिष्ट’ योजना पराजित हुन्छ: महेश बस्नेत

काठमाडौं। नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले यो निर्वाचनमा नेकपा एमाले एकमना एकताका साथ आएको बताएका छन् ।

नेकपा (एमाले) भक्तपुर क्षेत्र नं २ निर्वाचन परिचालन कमिटी अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले केही दिनमा बरालिएका युवाहरू पनि एमालेमा नै फर्कने बताए। यो निर्वाचन मार्फत रवि लामिछाने र बालेनको पपुलिष्ट योजना परास्त हुने बस्नेतको दाबी छ । ‘गुगल नेटवर्कबाट आएको पार्टी गुगलमा नै हुन्छ, नेकपा एमाले भूगोलमा हुन्छ’, उनले भने ।

संविधान बचाउन र विकासको लागि नेकपा एमालेलाई नै जिताउनु पर्नेमा उनको भनाइ छ । ‘हामीले यस वर्ष नसोचेको भोट ल्याएर विजय हासिल गर्नेछौ‌ं’, बस्नेतले भने ।

उनले राष्ट्र बचाउनको लागि पनि एमालेलाई मतदान गर्नुपर्ने बताए । शान्तिपूर्ण देश नेपाललाई बचाउन युवाको महत्वपूर्ण भूमिका हुने बताउँदै देश बचानको लागि युवाले दायाँबायाँ नगरी एमालेलाई भोट हाल्नु पर्ने बस्नेतको धारणा छ ।

एमालेले मुलुकको विकास र समृद्धिको लागि मिसन २०८४ को अभियान लिएर आएको भए पनि असंवैधानिक तरिकाले संसद विघटन गरेर २०८२ सालमा नै चुनावमा जानु परेको उनले बताए । यो चुनावमा एमालेले भाग नलिओस् र संसदलाई एमाले विहीन बनाउन सकिन्छ भन्ने षडयन्त्र गरिएको भए पनि त्यो सफल नभएको बस्नेतले बताए।
भदौ २३ र २४ को घटना आन्दोलन नभएका र त्यो नेपालीको चहना अनुसारको घटना नभएको उनले बताए । २३ गते सुरुमा विद्यार्थीले देशको अवस्था परिवर्तनको लागि प्रदर्शन गरेका भए पनि पछि त्यसलाई हाइज्याक गरी हिंसात्मक बनाइएको उनले दाबी गरे।

उनले भदौ २३ र २४ को घटना सुनियोजित आक्रमणकारीबाट भएको बताए । उनीहरूले लुटेर लैजान मिल्ने सामान जति सबै लगेका र लैजान नसक्ने सामान समेत घातक रसायन प्रयोग गरेर जलाइएको उनले बताए । ‘यो ठुलो अन्तर्राष्ट्रिय डिजाइन अनुसारको योजना हो, यो कुनै आन्दोलन होइन’, बस्नेतले भने।

पुराणमा पुगेरे ओलीले भने– हिन्दुराष्ट्र २–४ सय वर्ष अगाडिदेखि भन्न थालिएको हो (भिडियो)

काठमाडौं । झापा पुगेर नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओली पुराणमा सहभागी भएका छन् । त्यहाँ उनले भने, ‘म कुनै चुनाव प्रचार गर्न आएको होइन । तर मैले मेरो देश बनाउने संकल्प मात्रै भनिदिएको हो ।’

ओलीले नेपाललाई समृद्ध र विकसित बनाउने आफ्नो संकल्प एमालेको रहेको बताए । पुराणमा एक जना हिन्दु धार्मिक गुरुले हिन्दुराष्ट्र पुनःस्थापनाको विषय ओलीसामु उठाएका थिए ।

त्यसबारे जवाफ दिँदै ओलीले भने, ‘दुई–चार सय वर्ष अगाडिदेखि हिन्दुराष्ट्र भन्न थालिएको हो । हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो सभ्यताको विकास सनातनदेखि चल्दै आएको हो र सनातनबाट विकास हुँदै आएको हो ।’

उनले हिन्दु भएर वेद नबनेको भन्दै र हिन्दु धर्मले सनातन नबनाएको पनि तर्क गरे । उनले सनातन नै धर्म भएको बताए ।

तर, आफू एक धर्मको पक्षमा उभिएर अरु धर्मावलम्बीहरूको चित्त दुखाउने पक्षमा नरहेको उनले स्पष्ट पारे ।

टी-२० विश्वकप: न्युजिल्याण्डलाई अफगानिस्तानले दियो १८३ रनको चुनौति

काठमाडौं । भारत र श्रीलंकामा जारी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्याण्डलाई १८३ रनको चुनौति दिएको छ ।

भारतको चेन्नाईमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दक्षिण एसियाली टोली अफगानिस्तानले निर्धारित २० ओभरमा विकेट ६ गुमाएर १८२ रन जोड्यो ।

अफगानिस्तानका लागि गुलबदिन नैबले सर्वाधिक ६३ रन बनाए । उनले ३५ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । अफगानिस्तानका लागि सदिकउल्लाह अतलले २९, रमनुल्लाह गुरबाजले २७ तथा डार्बिस रसुलीले २० रनको महत्वपूर्ण योगदान गरे ।

न्युजिल्याण्डका लकी फर्गुसनले २ तथा म्याट हेनरी, ज्याकोब डफी र रचिन रविन्द्रले १-१ विकेट लिए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा वैदिक मन्त्रबाट प्रेरित : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा वैदिक मन्त्रबाट प्रेरित रहेको बताएका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका प्रचारप्रसारका क्रममा झापामा आयोजित भेटघाट कार्यक्रममा उनले उक्त नाराको धार्मिक–दार्शनिक आधारसम्बन्धी स्पष्टिकरण दिएका हुन्।

मतदातासँग कुराकानी गर्दै ओलीले वेदमा उल्लेखित ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत’ भन्ने श्लोकस्मरण गर्दै यही भावनाले राष्ट्र निर्माणको मार्ग देखाउने बताए। उनका अनुसार उक्त वैदिक वाक्यांशले सबै नागरिक सुखी, स्वस्थ र सुरक्षित बन्ने आकांक्षा अभिव्यक्त गर्छ, जसलाई एमालेले आफ्नो विकासशील राष्ट्रिय दृष्टिकोणसँग जोडेको हो। ‘यो मन्त्रले हामीलाई सुकार्य, सुमार्ग र सुमतिको बाटोमा अघि बढ्न प्रेरित गर्दछ,’ओलीले भने, ‘देशलाई फेरि पनि त्यही सकारात्मक मार्गमा लैजान हामी सबै मिलेर अघि बढ्नुपर्छ।’

कार्यक्रममा हिन्दुराष्ट्रको बहसबारे बोल्दै ओलीले पछिल्ला दुई–तीन सय वर्षयता यस विषयमा उठ्दै आएको माग नयाँ नभएको टिप्पणी गरे। उनका अनुसार सनातन परम्परा र वेदको उद्गम हिन्दु पहिचानसँग मात्र जोडिएको होइन, बरु हिन्दु धर्म त्यसै साँस्कृतिक–दार्शनिक परम्पराको एउटा पाटोका रूपमा विकसित भएको हो। ‘हिन्दु भएर वेद लेखिएको होइन, र सनातन पनि हिन्दु भएर मात्र बनेको होइन,’ उनले स्पष्ट पारे।

‘जेफ्री एपस्टिन’ फाइलमा दलाइ लामाको नाम १५० ठाउँमा ! लामाले गरे प्रतिवाद

काठमाडौं । भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्म गुरु दलाइ लामाले अमेरिकी बाल यौन दुराचारी जेफ्री एएपस्टिनको फाइलमा १५० पटक नाम आएपछि उनीसँग भेट्दै नभेटेको प्रतिक्रिया दिएका छन् ।

उनले आफ्नो नाम फाइलमा उल्लेख भएपछि प्रतिवादसमेत गरेका छन् ।

‘हालैका केही सञ्चारमाध्यमका समाचार तथा सामाजिक सञ्जालका पोस्टहरूमा ‘एपस्टिन फाइल’ सम्बन्धमा दलाई लामालाई जेफ्री एपस्टिनसँग जोड्ने प्रयास गरिएको छ,’ लामाको सचिवालयबाट आइतबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट रूपमा पुष्टि गर्छौँ कि दलाई लामाले जेफ्री एपस्टिनसँग कहिल्यै भेट गर्नुभएको छैन, न त उहाँको तर्फबाट कसैलाई पनि एपस्टिनसँग कुनै भेटघाट वा अन्तरक्रिया गर्न अनुमति दिनुभएको छ ।’

तर, अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको फाइलमा लामाको नाम उल्लेख छ । उनी पहिलोपटक विवादित भएका भने होइनन् । तीन वर्षअघि एक बालकलाई आफ्नो जिब्रोमा चुम्बन गर्न लगाएर विवादित भएका थिए ।

अमेरिकामा सीआईएको २० वर्ष तलब खाएको र उनले चीनविरुद्ध गुप्तचरीको काम गरेको अमेरिकाको ‘जर्नल अफ पब्लिक अफेयर्स’ले खुलासा गरेको थियो ।

त्यसबेला उनले महिनामै एक लाख ८० हजार अमेरिकी डलर तलबवापत बुझ्ने गरेका थिए ।

चीन–भारतबीचको युद्ध गराउन पनि उनको भूमिका रहेको भन्दै विगतमा आलोचना भएको थियो ।

 

टी-२० विश्वकप: न्युजिल्याण्डविरूद्ध अफगानिस्तानले रोज्यो ब्याटिङ

काठमाडौं । भारत र श्रीलंकमा भइरहेको टी-२० विश्वकपमा आजको पहिलो खेल अफगानिस्तान र न्युजिल्याण्डबीच हुँदै छ ।  चेन्नाईको एम.ए. चिदम्बरम रंगशालामा हुने खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ ।

क्रिकेटको पावरहाउस मानिने किवि टिमलाई अन्तिम भेटमा अफगानिस्तानले पराजित गरेको थियो । त्यसैले पनि आजको खेल रोचक हुने अपेक्षा गरिएको छ ।

न्युजिल्याण्ड र अफगानिस्तान यसअघि २०२४को टी-२० विश्वकपमा आमनेसामने भएका थिए । यो खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

यी दुई टीमले अहिलेसम्म दुई खेल खेलेका छन्, जसमा दुवैले एक-एक जित दर्ता गरेका छन् ।