`

प्रधानमन्त्रीलाई विप्लवको प्रश्न : चुनाव गर्न चाहेको कि युद्ध ?

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेका भन्दै आपत्ति जनाएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरुमा प्रहरीहरुले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले सो ठाउँमा रहेका प्रहरी तत्काल फिर्ता बोलाउने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा होमिने चेतावनी समेत दिए । सरकारले चुनाव गर्न चाहेको हो कि युद्ध ? प्रधानमन्त्री कार्कीलाई विप्लवको प्रश्न थियो । उनले सो ठाउँबाट प्रहरी फिर्ता बोलाउने र अपरेशनमा जाने काम गलत थियो भनेर माफी नमागे सरकारले ठूलो मूल्य चुकाउनु पर्ने समेत चेतावनी दिए ।

महासचिव विप्लवले भने, ‘हाम्रो केन्द्रिय कम्युनमा प्रहरीहरुको अपरेशन भयो । हामी सुशीला कार्कीलाई यहीबाट थ्रेट गर्न चाहन्छौँ–राम्रोसँग सुन–तिमीले चुनाव गर्न चाहेको हौं कि युद्ध गर्न चाहेका हौं ? यो कुराको फैसला चाहिन्छ । तिमीले सोचेको होला–माओवादीलाई यसोउसो दवाव हालेर यहाँ सायद पत्रकार साथीहरु पनि आउनु भएको छ । राम्रोसँग सुन । गृहमन्त्री, सुशीला राम्रोसँग सुन । हामी त शान्तिपूर्ण ढंगले प्रतिष्पर्धामा उत्रिएका छौँ । शान्तिपूर्ण ढंगले यो राज्य हामीलाई दिनुस् भनेर नेपाली जनतालाई अपिल गर्दैछौ ।’

उनले भने, ‘चुनावमा जाने तयारी गर्दैछौँ । हामी त दर्ता गरेर सबै मूल्य मान्यता पालना गरेर निर्वाचनमा जान खोज्दैछौँ नि । यतापटीको हाम्रो इमान्दारिता, स्वाभिमानता, साम्राज्यवादीहरुसँगको हाम्रो लडाईलाई, यहाँको दलालसँगको हाम्रो लडाईलाई घुमाउरो तरिकाले सोचेर हिजोको रोल्पामा रोमियो अपरेशन गरेर जनयुद्ध जन्माएको जस्तो यदि तिमीले अर्को परिकल्पना गरेका छौँ र हाम्रो केन्द्रिय कम्युनबाट तुरन्तै पुलिस फिर्ता गरेनौ र त्यहाँ भएका सबै गल्तीमा माफी मागेनौ भने चर्को मूल्य चुकाउनु पर्छ भन्ने हामी भन्न चाहन्छौँ ।’ महासचिव विप्लवले निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने समेत घोषणा गरे ।

गगन–विश्वले भने–अब विशेष महाधिवेशन अनिवार्य बन्यो

काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशन समयमै हुन नसक्ने संकेत देखिएसँगै विशेष महाधिवेशनको बहस निर्णायक मोडमा पुगेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधानले तोकेको समय सीमाभित्र नियमित महाधिवेशन सम्पन्न नभए विशेष महाधिवेशन अनिवार्य हुने स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरूले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै महामन्त्री थापाले पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विधानअनुसार विशेष महाधिवेशन अपरिहार्य दायित्व बन्ने बताए ।
उनले भने, ‘यदि पुसभित्र नियमित महाधिवेशन भएको भए ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूको माग स्वतः सम्बोधन हुने थिया े। तर अब त्यो सम्भव नदेखिएकाले विशेष महाधिवेशन विधानको अनिवार्य व्यवस्था हो ।’ थापाले विशेष महाधिवेशनको प्रक्रिया र कार्यविधिबारे केन्द्रीय कार्यालयमा छलफल गरी निष्कर्षमा पुगिने पनि स्पष्ट पारे ।

महामन्त्री विश्वप्रकाश शर्माले पनि थापाको धारणा पूर्ण रूपमा साझा रहेको बताउँदै विधानको पालना गर्नु पार्टी नेतृत्वको सामूहिक जिम्मेवारी भएको उल्लेख गरे । उनले भने, ‘विधानमा जे लेखिएको छ, त्यसलाई लागू गर्नु महामन्त्री, केन्द्रीय समिति र कार्यवाहक सभापति समेतको दायित्व हो । अब विशेष महाधिवेशनको स्पष्ट कार्यतालिका बनाउन कार्यसम्पादन समितिमा प्रस्ताव लैजान्छौँ ।’ यसैबीच, विशेष महाधिवेशन पक्षधर समूहले पार्टीले सार्वजनिक गरेको १५औँ महाधिवेशनको कार्यतालिकामाथि कडा असन्तुष्टि जनाएको छ । उनीहरूले उक्त कार्यतालिका ‘प्रथम दृष्टिमै अविश्वसनीय’ रहेको निष्कर्ष निकाल्दै नियमित महाधिवेशन गर्ने गम्भीर प्रयास वा स्पष्ट नियत नदेखिएको आरोप लगाएका छन् ।

कार्यवाहक सभापतिलाई बुझाइएको स्मरण पत्रमा उनीहरूले विधानले तोकेको समयसीमा २०८२ मंसिरभित्र १५औँ महाधिवेशन सम्पन्न गर्न माग गरिएको उल्लेख गरेका छन् । अन्यथा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम स्वतः विशेष महाधिवेशन आह्वान गर्नुपर्ने उनीहरूको माग छ ।पत्रमा उल्लेख भएअनुसार, २४८८ जना महाधिवेशन प्रतिनिधि (५४.५८ प्रतिशत) ले २०८२ असोज २९ गते विशेष महाधिवेशनको मागसहित पार्टी केन्द्रीय कार्यालयमा औपचारिक निवेदन दर्ता गरिसकेका छन् । पक्षधरहरूले प्रारम्भमा केन्द्रीय कार्यसमितिलाई ‘शङ्काको सुविधा’ दिँदै केही समय पर्खिए पनि पछिल्ला केन्द्रीय समिति बैठक र त्यसपछिका गतिविधिले समयमै महाधिवेशन गर्ने इच्छाशक्ति नदेखाएको निष्कर्षमा पुगेको बताएका छन् । विशेष महाधिवेशन पक्षधरहरूको यो दबाब, महामन्त्रीद्वयको सार्वजनिक समर्थन र विधानको स्पष्ट व्यवस्थाले नेपाली कांग्रेसभित्र आगामी दिनमा विशेष महाधिवेशनको राजनीतिक बहस झनै तीव्र हुने संकेत देखिएको छ ।

सरकार भङ्ग गर्न माग गर्दै विप्लव माओवादीले शुरु गर्‍यो आन्दोलन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले सरकारविरुद्ध आन्दोलन शुरु गरेको छ । शुक्रवारबाट काठमाडौंमा आन्दोलन शुरु भएको घोषणा गरेको हो । उनीहरुले सरकारविरोधी नाराबाजी गरेर विरोध जनाएका छन् । सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरुको माग छ। आन्दोलन घोषणा गर्दै महासचिव चन्दले अन्तरिम सुशीला कार्की सरकारलाई कठपुतलीको संज्ञा दिँदै उनीहरुको मनोभ्रम ध्वस्त पार्न आफूहरु तयार रहेको बताए । शुक्रबारबाट माओवादीले आन्दोलनको कार्यक्रम शुरु गरेको र यो निरन्तर जारी रहने बताए ।

चार महिनापछि फेरि मिले रेशम–रञ्जिता, शनिबार पार्टी एकता घोषणा

काठमाडौं । चार महिनाअघि विभाजन भएका रेशम चौधरी र रञ्जिता श्रेष्ठले नेतृत्व गरेको पार्टीबीच भोलि (शनिबार) एकता हुने भएको छ । शनिबार सिनामंगलस्थित नाउपा नेपाल कार्यालयमा दिउँसो १ बजे पार्टी एकताको घोषणा हुने जनाइएको छ । रेशम जेलमा रहेका बेला रञ्जिताको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा छोटो समयमै राम्रो नतिजा ल्याएको थियो । तर दम्पतीबीचको विवादका कारण पार्टी केही समय सुस्त बनेको थियो ।

टीकापुरमा भएको पहिलो महाधिवेशनपछि रञ्जितालाई हटाउँदै रेशम अध्यक्ष भएपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यसको करिब दुई वर्षपछि भदौ २९ गते रेशमले नाउपाबाट अलग भएर कबीर सोबको अध्यक्षतामा नाउपा नेपाल दर्ता गरेका थिए । नाउपा नेपालसँग भोलि एकता गर्ने करिब सबै तयारी पुरा भइसकेको नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् । उनले सुनाइन्, ‘केही कारणले उहाँहरू पार्टी छाडेर जानु भएको थियो, फेरि मैले प्रयास गरेर मिलाएँ । भोलि एकता गर्ने करिब सबै तयारी पुरा भइसकेको छ ।’ एकताको पछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न नाउपा नेपालकै प्रयोग गर्ने श्रेष्ठले बताइन् ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण–पत्र

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण–पत्र बुझाएको छ । नियमित महाधिवेशन नहुने संकेत देखिएपछि असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसहित बुझाएकाहरुले पार्टी केन्द्रीय कार्यालयमा पुगेर स्मरण–पत्र बुझाएका हुन् । नेता देवराज चालिसेले नियमित महाधिवेशन नहुने अवस्थामा विशेषको विकल्प नभएको जनाउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएको जानकारी दिए । देशव्यापी हस्ताक्षर अभियान चलाएको समूहले २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाएको थियो ।

नेपालको छवि राम्रो बनाउन काम गर्नेछु : मन्त्री शर्मा

काठमाडौं । नव नियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताएका छन् । शुक्रवार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएका हुन् । उनले आफू मन्त्रीपरिषदमा आउँदा राम्रो हुन्छ भने आउनु पर्छ भनेर मन्त्री बनेको बताए । उनले निर्वाचनको सम्बन्धमा छिमेकी देशहरुसँग कुनै सहयोग लिनुपर्ने रहेछ भने सही तरिकाले सहकार्य गर्ने बताए । उनले मित्र राष्ट्रहरुसँगको सम्बन्ध सकारात्मक रुपमा अघि बढाउने प्रतिवद्धता जनाए ।

उनले भने, ‘नेपालको इमेज संसारभर कसरी राम्रो गर्ने भन्ने विषयमा अघि बढ्नेछु । यो मुलुक हाम्रो हो । हामीले जति खालि राख्छौँ त्यति समस्या हुन्छ । हामी आएर मुलुकको, मन्त्रालयको उद्धार हुन्छ भने रोक्नु हुँदैन भनेर आएको हुँ । हरेक राजदूतहरुको आफूले विभिन्न मुलुकमा गरेका कामहरु हेरिएको होला । त्यसरी नै काम गरिएको होला भन्ने विश्वास छ । मैले छिमेकी देशहरुसँग सकारात्मक रुपमा भूमिका खेल्छु । उनीहरु उदयीमान देश हुन् । सहकार्य गर्दै अघि बढ्न सकिन्छ । अहिले मुलुक चुनावमय भइसकेकै छ । गति लिइसकेको छ । चुनावमा मन्त्रालयले छिमेकी र कुनै देशसँग सहकार्य गर्नुपर्ने रहेछ भने सही तरिकाले उठान गर्नेछ ।’

मन्त्री शर्माले आज मात्रै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । मन्त्री शर्माले प्रधानमन्त्रीबाट कार्यादेश आएपछि आफ्ना कामका बारेमा जानकारी गराउने उपस्थित सञ्चारकर्मीहरुलाई बताए । उनले भने, ‘भर्खर त म आएँ, पदभार ग्रहण गरें, अब कार्यादेश आउन बाँकी छ कार्यादेश आएपछि अनि बल्ल म भन्न सक्छु । यतिबेला मैले पदभार मात्र ग्रहण गरेको हुँ।’

विद्युतीय प्रसारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौँ । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ । नयाँ व्यवस्थाअनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएपनि सुरक्षाका मापदण्ड भने यथावत् रहनेछन् । प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न भने पाइँदैन ।

प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा लाइनको सुरक्षित सञ्चालन, मर्मतसम्भार र सार्वजनिक सुरक्षालाई ध्यानमा राखी लाइनको केन्द्रबाट दायाँ र बायाँ दुवैतर्फ निश्चित दूरीसम्मको क्षेत्रलाई राइट अफ वे तोकिएको हुन्छ । राइटअफ वेको चौडाइ प्रसारण लाइनको भोल्टेज स्तर, टावरको उचाइ, तारको झुन्डिने अवस्था (स्याग) तथा प्राविधिक मापदण्डका आधारमा निर्धारण गरिन्छ । ६६ तथा १३२ केभी प्रसारण लाइनका लागि तारेको केन्द्रबाट दायाँवायाँ ९-९ मिटर गरी १८ मिटर, २२० केभी प्रसारण लाइनको १५-१५ गरी ३० मिटर र ४०० केभीको २३-२३ गरी ४६ मिटर राइट अफ वे रहने व्यवस्था छ ।

प्रसारण लाइन निर्माण गर्दा टावर प्याड रहने ठाउँको जग्गा मुआब्जा रकम दिएर अधिग्रहण गरिन्छ । अर्थात् जग्गाको स्वामित्व आयोजनाको नाममा रहन्छ । तर राइट अफ वेमा भने जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी निश्चित प्रतिशत क्षतिपूर्ति दिइन्छ । हाल राइट अफ वेमा पर्ने जग्गाको मूल्याङ्कन गरिएको रकमको १०–२५ प्रतिशतसम्म क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिँदै आएको छ । सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको हो ।

‘सम्बन्धित जग्गाधनीलाई क्षतिपूर्ति दिई त्यस्तो जग्गामा परेको विद्युतीय प्रसारण लाइनको राइट अफ वे क्षेत्रको कित्ताकाट गरिदिन प्रचलित कानुन बमोजिम सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिनेछ,’ भूउपयोग नियमावलीमा उल्लेख छ । प्रसारण लाइनको राइट अफ वेमा पर्ने निश्चित क्षेत्र पर्ने तर पूरै क्षेत्रको कित्ताकाट नहुँदा जग्गाधनीहरूलाई कित्ताकाट, नामसारी तथा बैंक तथा वित्तीय संस्थामा धितो राख्न नपाउँदा आर्थिक तथा सामाजिक समस्या पर्दै आएको थियो । अब राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रलाई कित्ताकाट गर्न सकिने हुँदा जग्गाको कारोबार सहज हुने र जग्गाधनीले आफ्नो सम्पत्तिको कानुनी उपयोग गर्न पाउने देखिएको छ ।

को हुन् १०३ दिनपछि परराष्ट्र मन्त्री बनेका बालानन्द शर्मा ?

काठमाडौँ ।  सरकारले एक सय तीन दिनपछि बालानन्द शर्मालाई आज परराष्ट्र मन्त्रीमा नियुक्त गरेको छ  । तकालिन विद्रोही नेकपा माओवादी शान्ती प्रक्रियामा आईसकेपछि सेना समायोजन प्राविधिक समितीका संयोजक रहेका शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले आज एक समारोहका बीच सपथ ग्रहण गराएका हुन् ।

 लेफ्टिनेन्ट जनरल बालानन्द शर्मा सेनाको पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । सन् १९६९ मा नेपाली सेना (तत्कालीन शाही नेपाली सेना) मा प्रवेश गरेका शर्माले नेपाल तथा विदेशमा दीर्घकालीन अध्ययन तथा कार्यअनुभव हासिल गरेका छन्।

उनले नेपाली सेनामा ३९ वर्षसम्म सेवा गर्दै विभिन्न पदहरू सम्हालेका छन् । तीमध्ये लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (UNIFIL) मा सहायक वरिष्ठ सैनिक अधिकृत, इन्फेन्ट्री ब्रिगेडमा ब्रिगेडियर मेजर, शाही नेपाली सेना विद्यालयका प्रमुख प्रशिक्षक, स्टाफ कलेज, इन्फेन्ट्री ब्याटालियनका कमाण्डर, सोभियत संघ (USSR) का लागि रक्षा सहचारी, नेपाली सेनाको सैनिक प्रशिक्षण निर्देशनालयका निर्देशक, मास्टर जनरल अफ अर्डनन्स (MGO) आदि पदहरू उल्लेखनीय छन्। साथै उनले गोलान हाइट्समा रहेको संयुक्त राष्ट्रसंघीय डिसइन्गेजमेन्ट फोर्स (UNDOF) का फोर्स कमाण्डरका रूपमा पनि सेवा गरेका छन्।

मे २०२१ मा नेपाल सरकारले उनलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (CCMC) को प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer) को रूपमा नियुक्त गरेको थियो ।

विक्रम सम्वत् २००५ चैत्र २३ मंगलवार कुस्मा पर्वतमा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेका छन् ।

बाबुराम–जनार्दनलाई छाडेर युवा नेता रास्वपामा प्रवेश

काठमाडौं । विभिन्न क्षेत्रमा स्थापित तीन सय बढी मधेसी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल एवं महामन्त्री कविन्द्र बुर्लाकोटीले स्वागत गरे ।

केही समयअघि जेन–जी अगुवाहरु पनि पार्टी प्रवेश गरेका थिए । पछिल्लो समय नयाँ राजनीतिक दलहरुप्रति सबैको चासो बढ्दै गएको छ । बाबुराम भट्टराई–जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का एक युवा नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । अघिल्लो महिना गठन भएको प्रलोपा छोडेर नेता दिपक महतोले रास्वपा रोजेका हुन् ।

सरकारका प्रवक्तालाई प्रचण्डले भने– फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौं

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मै चुनाव हुनुपर्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलसँगको भेटमा प्रचण्डले चुनावको विकल्प नभएको बताएका हुन् ।

प्रचण्डलाई भेटेपछि सरकारका प्रवक्ता खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलको शीर्ष नेताहरूसँग भेट गरेको हुँ । प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ, निर्वाचनको लागि सरकारलाई सहयोग हुन्छ ।’

१२ जिल्लामा नयाँ सीडीओ, ६ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाउने निर्णय गरेको छ। गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत शुक्रबार उक्त सरुवा गरेको हो । सरुवा हुनेमा १२ जना सीडीओ, हालै बढुवा भएका सापकोटासहित ७ जना पदस्थापन भएका हुन् । यीमध्ये ६ जना सहसचिव र एक जना उपसचिव हुन् ।

शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले दोलहा, सिन्धुपाल्चोक, तनहुँ इलाम लगायत १२ जिल्लामा नयाँ सीडीओ खटाउने निर्णय गरेका हुन् । निर्णयअनुसार भोजपुरमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना र दोलखामा रामकृष्ण अधिकारीलाई खटाउने निर्णय भएको छ ।

यस्तै सिन्धुपाल्चोकमा शिवलाल तिवारी, इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दिपकराज नेपाल र सल्यानमा महेन्द्र कुमार सापकोटालाई खटाइएको छ । सरुवाअनुसार केही सहसचिव तथा उपसचिवलाई गृह मन्त्रालय अन्तर्गत विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने केही सिडिओलाई मन्त्रालय तथा अन्य निकायमा तानिएको छ । अन्यलाई सरुवा गरिएको हो । कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरेलाई सरुवा गरिएको छ । यसअघि उनी नुवाकोटमा प्रमुख जिल्ला अधिकारी थिए ।

नव नियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ

काठमाडौं । नव नियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ खुवाएका हुन् । नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्मा आज प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरूलगायत सहभागी थिए । उनले आजै पदभार ग्रहण गर्दैछन् । अब प्रधानमन्त्री कार्कीले आफूसँग रक्षा र खानेपानी मन्त्रालय राखेकी छिन् । आज हुन लागेको मन्त्रिपरषद् विस्तार पाँचौ पटक भएको हो । पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए । नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रुपमा उनलाई चिनिन्छ ।

राजनीतिक दबाबका बीच ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम दिएर घर फर्काउने काममा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । प्रधानमन्त्री नेतृत्वको सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको सफल नेतृत्व गरेका उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी समेत दिएको थियो ।

जाँचबुझ आयोगविरूद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

काठमाडौं । जाँचबुझ आयोगविरुद्ध दर्ता भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शुक्रबार रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो । उक्त आदेशमा के छ भन्ने खुलिसकेको छैन ।भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगविरूद्ध दायर रिट सर्वोच्चले खारेज गरेको हो ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीसहितलाई काम कारबाही गर्न रोक लगाउन माग गर्दै अधिवक्ता विपिन ढकालले कात्तिक १८ गते सर्वोच्चमा रिट दायर गरेको थियो। पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी न्याय प्रणालीले अबलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन हुन गएको रिटमा उल्लेख थियो ।

अध्यक्ष कार्कीले आफैले छानबिन गर्नुपर्ने विषयका सम्बन्धमा आफ्ना समाचार शेयर गर्नु र अन्तर्वार्ता दिनुले स्वच्छ सुनुवाइको सिद्धान्त र निर्दोषिताको सिद्धान्तको उल्लंघन भएको पनि रिटमा उल्लेख गरिएको थियो । उनीहरूलाई निवेदनको अन्तिम टुंगो नलागुञ्जेलसम्म अध्यक्ष तथा सदस्यको रूपमा कुनै कार्य नगर्न र नगराउन अन्तरिम आदेशको माग गरिएको थियो ।

 

ओली, देउवा र प्रचण्ड ‘फकाउन’ निवासमै सरकार

काठमाडौँ । सरकार आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन तीव्र रुपमा राजनीतिक संवादमा जुटेको छ । निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नका लागि सरकारले प्रमुख राजनीतिक दलहरू, तिनका शीर्ष नेता तथा सरोकारवाला निकायहरूसँग लगातार छलफल गरिरहेको छ । पछिल्ला दिनहरूमा सरकारको सक्रियता झनै बढेको देखिन्छ, जसलाई आगामी फागुन २१ गते तोकिएको निर्वाचनको तयारीसँग जोडेर हेरिएको छ ।

यसैक्रममा गत मंगलबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिको पहलमा प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरू–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी थिइन् । जेन–जी आन्दोलनपछिको यो पहिलो उच्चस्तरीय राजनीतिक भेटवार्ता मानिएको थियो । उक्त भेटपछि सरकारले अन्य राजनीतिक दलहरूसँग पनि छलफलको क्रमलाई निरन्तरता दिएको छ ।

आज (शुक्रबार) मात्रै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेल उच्चस्तरीय राजनीतिक भेटघाटका लागि विभिन्न मुख्य तीन दलका पार्टी कार्यालय र शीर्ष नेताहरूका निजी निवाससम्म पुगेका छन् । यसअघि विभिन्न पार्टी कार्यालयको निरीक्षण गरेका खरेल आज प्रमुख तीन दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेका छन् । मन्त्री खरेलले बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्जस्थित उनको निजी निवासमा भेटेका थिए । त्यसपछि उनी भ्रक्तपुरको गुण्डु हुँदै हात्तीवन पुगेका हुन् ।

देउवासँगको भेटपछि खरेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु पुगेका थिए । करिब एक घण्टा लामो छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको खरेलको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटमा आगामी फागुन २१ का लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन, सुरक्षा अवस्था र राजनीतिक वातावरणका विषयमा विस्तृत छलफल भएको थियो ।

छलफलका क्रममा एमाले अध्यक्ष ओलीले नेकपा एमाले निर्वाचनबाट नभाग्ने स्पष्ट धारणा राख्दै सरकारले निष्पक्ष र भयरहित वातावरण तयार गर्न नसकेको टिप्पणी गरेका थिए । ओलीले भागेका कैदी, लुटिएका हातहतियार र नेताहरूमाथि लगाइएको स्थानहदको विषय उठाउँदै अहिले पनि देशमा डर, त्रास र भयको अवस्था कायमै रहेको बताए । ‘तपाईंहरू चुनाव–चुनाव भनिरहनुभएको छ, तर भागेका कैदीबन्दी बाहिरै छन्, लुटिएका हातहतियार फिर्ता भएका छैनन् । यस्तो अवस्थामा चुनाव कसरी सम्भव हुन्छ ?’ भन्दै ओलीले प्रश्न उठाएका थिए । साथै उनले नेकपा एमाले लोकतान्त्रिक प्रक्रियाबाट कहिल्यै नभाग्ने र सधैं निष्पक्ष तथा भयरहित निर्वाचनको पक्षमा रहेको स्पष्ट पारे ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले सरकारले फागुन २१ मै निर्वाचन गर्नेगरी पूर्ण तयारीका साथ अघि बढिरहेको बताए । ‘मैले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यूसँग निर्वाचन केन्द्रित छलफल गरेको छु,’ खरेलले भने, ‘उहाँहरूले उठाउनु भएको सुरक्षा र वातावरणसम्बन्धी चिन्ता स्वाभाविक हो । सरकार ती सबै विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्दैछ ।’

खरेलका अनुसार निर्वाचन आयोग चुनाव गर्न तयारी अवस्थामा छ, सुरक्षा व्यवस्था मजबुत बनाइएको छ र २०७९ को निर्वाचनको तुलनामा यसपटक जनताको उत्साह अझै बढेको छ । करिब १० लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै उनले सबै दललाई भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । मन्त्री खरेलले आजै नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटघाट गरेका छन् । सरकारको यो सक्रियताले निर्वाचन समयमै हुने अपेक्षा बढेको छ भने राजनीतिक दलहरूबीच सहमति र विश्वासको वातावरण बनाउने प्रयासका रूपमा यसलाई हेरिएको छ ।

 

रवि–बालेन ‘निर्णायक’ भेट गर्दै, सहमति अन्तिम मोडमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच सहमति जुटाउने प्रयास निर्णायक चरणमा पुगेको छ । दुवै पक्षका प्रतिनिधिहरूले तयार पारेको सहमतिको मस्यौदा अन्तिम रूप दिँदै आजै निष्कर्ष सार्वजनिक गर्ने तयारी छ ।

बुधबार रास्वपाका केन्द्रीय सदस्य असिम साह, बालेनका निकट कुमार ब्यञ्जनकार र निर्देशक आसिफ साहले सभापति लामिछानेसँग भेटवार्ता गरेका थिए । छलफलपछि सहभागी एक सदस्यले वार्ता सकारात्मक रहेको र सहमति निष्कर्षउन्मुख रहेको बताए । यसअघि तयार पारिएको खाकामा आजै हस्ताक्षर हुने सम्भावनाबारे पनि आन्तरिक छलफल चलिरहेको छ ।

सहमतिको ड्राफ्ट तयार गर्न बनेको कार्यदलमा सुनिल लम्साल, शिशिर खनाल, असिम साह र कुमार ब्यञ्जनकार छन् । बालेन निकट नेताहरूका अनुसार, रास्वपाले बालेनलाई पार्टीको दोस्रो वरीयतामा राख्दै आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा ‘प्रोजेक्ट’ गर्ने प्रस्तावमा लचकता देखाएको सन्देश पुगेको छ ।

यसअघि भएका वार्तामा बालेनले आउने चुनावमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नुपर्ने शर्त राख्दै आएका थिए । सोमबारको भेटपछि उनका एक सहयोगीले यही बटमलाइन नभए वैकल्पिक राजनीतिक यात्रालाई अगाडि बढाउने तयारी भएको बताएका थिए ।

बुधबार ज्वागलस्थित कुमार ब्यञ्जनकारको निवासमा बालेनले विभिन्न दलका नेतासँग भेटघाट गरेका थिए, जहाँ रास्वपा सभापति लामिछाने र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि संवाद भएको थियो । अब दुवै नेताबीच हुने प्रत्यक्ष भेटलाई निर्णायक मानिएको छ । सहमति भएमा बालेन र उनका समर्थक वैकल्पिक तथा ‘जेन–जी’ समूहहरू रास्वपामा समेटिने दाबी गरिएको छ । सहमति नतिजा सार्वजनिक हुनासाथ राजनीतिक वृत्तमा नयाँ समीकरणको तस्वीर स्पष्ट हुने अपेक्षा गरिएको छ।

 

नेकपा संयोजक प्रचण्डसँग सञ्चारमन्त्रीको भेटवार्ता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । सरकारी राजनीतिक संवाद समितिका सदस्य समेत रहेका मन्त्री खरेलले शुक्रवार दाहाललाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् ।

भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ । यसअघि मन्त्री खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ ।

 

अवकासपछि असईमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल प्रहरीको एक प्रहरी सहायक निरीक्षक (असई) ले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा दरबन्दी भइ कलंकीमा रहेका सेवानिवृत्त प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेर भ्रष्टाचार गरेको आरोपमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भट्टले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेरै प्रहरी जवानबाट सेवा प्रवेश गरी असईमा रिर्टायड भएर पेन्सन सुविधा समेत लिइरहेको खुल्न आएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । भट्टले प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा प्रयोजनका लागि भारतबाट ल्याएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी व्यक्तिगत फाइदा लिएकाले शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानबिन गरी कारवाही गर्न उजुरी परेको थियो । सोही उजुरी अनुसन्धान गर्ने क्रममा भट्टले जवानमा प्रवेश गर्ने बखत नै नक्कली सर्टिफिकेट पेश गरी जागिर खाएको खुल्न आएको हो ।

अनुसन्धानको क्रममा भट्टले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट जारी भएको देखिने NAME: CHAKAR DEB BHATT, ROLL NO. 660057, YEAR: 1991, SENIOR SCHOOL CERTIFICATE EXAMINATION, 1991 को MARKS STATEMENT र PROVISIONAL CERTIFICATE  लगायतका शैक्षिक योग्यता झुट्टा रहेको पाइएको हो । सोही झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्रहरी जवान पदमा २०५० साल चैत २० गते नियुक्ती लिई प्रहरी सहायक निरीक्षक पदसम्म पदोन्नति भई हाल नेपाल सरकारबाट निवृत्तभरण लिइरहेका थिए ।

उनले निवृत्तभरण हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसूर गरेको पुष्टि हुन आएको हुँदा उनको उक्त कार्य साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूर भएको हुँदा निजलाई साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२तथा दफा २९ को उपदफा (२) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।

 

 

 

रोहित बने ओमोडा र जेको गाडीको ब्राण्ड एम्बासडर, पाए एनपीएलमा जितेको कार

काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्राण्ड एम्बासडर घोषणा गरेको छ । पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन–२ को उपाधि जितेको थियो । यो उपलब्धिको सम्मान गर्दै एसपीजी अटोमोबाइल्सले पौडेललाई जे फाइभ ईभी गाडी प्रदान गरेको छ । साथै गाडीमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ । कम्पनीले यसअघिका ब्राण्ड एम्बासडर दीपेन्द्र सिंह ऐरीलाई सम्मान पनि गरेको छ ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

       

जेनजी आन्दोलन संविधानको मर्मलाई सुदृढ बनाउने अवसर : उपराष्ट्रपति यादव

काठमाडौं । जेनजी आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको उपराष्ट्रपति रामसहायप्रसाद यादवले बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले जेनजी आन्दोलनले शिक्षण सिकाइलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको बताए ।

‘गत भदौमा जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको अवस्था छ। यसले शिक्षण सिकाईलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको छ,’ उनले भने । उनले लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि जेनजी आन्दोलनले प्रदान गरेको उल्लेख गरे। ‘लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि यसले प्रदान गरेको छ । त्यसैले थप परिमार्जित, रुपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन जरुरी छ,’ उनले भने ।

मुलुकमा परिमार्जित, रुपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले त्यसमा निजी क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताए । ‘निजी शिक्षालयहरूले शैक्षिक गुणस्तरमा थप योगदान पुर्‍याउने विश्वास मैले लिएको छु । यसका लागि सरकार नीतिसँग मेल खाने, स्थानीय संस्कृति र मूल्यलाई सम्मान गर्ने पाठयक्रम विकासमा यस संस्थाले सहकार्य गर्दै अघि बढ्नु पर्दछ,’ उनले भने । उनले सरकार नीतिसँग मेल खानेगरी शैक्षिक गतिविधिलाई अघि बढाउन पनि निजी क्षेत्रका शिक्षालको ध्यानाकर्षण गराए । ‘शिक्षकलाई निरन्तर तालिम, अनुसन्धान र नवप्रवद्र्धनमा प्रोत्साहन गर्दै राष्ट्र अनुकूल ज्ञान उत्पादनमा योगदान दिनु पर्दछ । समावेशी शिक्षा, समुदायसँग सहकार्य र राष्ट्र निर्माणमा सक्रिय सहभागिता अपेक्षित छ,’ यादवले भने ।

ओलीलाई सरकारका प्रवक्ताले भने–चुनावको वातावरण बनिसक्यो, सुरक्षा व्यवस्था मजबुत बन्छ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचन केन्द्रित छलफल भएको छ । ओलीसँग भेटेर निस्किएका सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण बनिसकेकाले एमाले पनि चुनावका लागि तयारी गरिरहेको बुझिएको बताएका छन् ।

‘मुख्य राजनीतिक दलको कार्यालयमै गएर पनि नेतासँग कुरा गरियो । राष्ट्रपतिले पनि छलफल शीर्ष नेतृत्वसँग कुरा गर्नु भयो,’ उनले भने, ‘सरकारको तर्फबाट सुरक्षा मजबुत भएको कुरा जानकारी गराएँ । सरकार पनि तयार छ । निर्वाचनमा भाग लिन आग्रह गर्न पनि म यहाँ आएको थिएँ ।’ उनले ओलीले निर्वाचनको वातावरण बनिसकेकोमा शंका गरेको पनि बताए । ‘सुरक्षा कुरा राम्रो बनाउनु पर्‍यो भन्ने दलको भनाइ त राम्रो हो नि,’ खरेलले भने । चुनाव बहिष्कार गर्ने कुरा छैन । दल दर्ता भइसकेको छ । समन्वय र छलफल गरौँ भन्ने छ ।’

उनले एमाले अध्यक्ष केपी ओलीले सुरक्षाको बारेमा प्रश्न उठाएको बताएका छन् उनले सरकारको तर्फबाट चुनावको वातावरण बनेको जानकारी गराउँदै भोट माग्ने र भोट हाल्ने अवस्था सुरक्षित रूपमा बन्ने कुरामा आश्वस्त पारेको बताए । ओलीलाई सरकारले लगाएको स्थान हदबारेको प्रश्नमा उनले भने, ‘सरकारको लक्ष्य नै निर्वाचन हो, यो लक्ष्य प्राप्तिको लागि कुनै अल्झन्, अप्ठ्यारा, चुनौतीहरू छन् भने, त्यसलाई सहज बनाउनुपर्नेछ भने निर्वाचनको गन्तव्यमा पुग्नको लागि सरकारले त्यो खालको वातावरण बनाउँछ, बनाएरै अघि बढ्नुपर्छ ।’

प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् । प्रधानमन्त्रीले भोलि (शनिबार) का लागि वैठक बोलाएकी हुन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले खरेलले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठकको निम्तो दिइसकेका छन् । उनले आजै प्रचण्डलाई पनि भेटेर निम्तो दिने कार्यक्रम छ ।

ऐतिहासिक र पुरातात्विक महत्वको मकवानपुर गढी {तस्वीरहरु}

मकवानपुर । ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर जिल्ला सदरमुकाम हेटौँडाको बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मिटर उचाइको पहाडीको थुम्कोमा अवस्थित छ । आफ्नो छुट्टै इतिहास रहेको मकवानपुर गढी आधुनिक नेपालको स्थापना हुनुपूर्व सेन वंशीय शासनको ऐतिहासिक विरासतको जीवन्तको रूपमा रहेको छ । परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर गढीले तत्कालीन समयको सामरिक महत्व तथा राज्यको सुरक्षात्मक उपाय झल्काएको छ ।

मकवानपुर गढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरू भत्किएर जीर्ण बनेपछि जीर्णोद्धार गरिएको थियो । पुरातत्त्वले मकवानपुर गढीको भत्किएका भागहरूलाई मर्मत गरी पुरानै आकृतिमा संरचनाहरू निर्माण गरेको हो । यहाँ चितवन, मकवानपुर र मधेश प्रदेशका विद्यार्थीहरु अध्ययन भ्रमण र पिकनिक खान आउने गरेका छन् । यहाँको ऐतिहासिक महत्त्व, मनमोहक दृश्य र पुराना किंवदन्तीले यहाँ पुग्ने जो कोहीलाई प्रसन्नता प्रदान गर्ने गरेको छ ।

मकवानपुर गढीभित्र वंश गोपाल मन्दिर छ । मन्दिरभित्र कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । मन्दिरको केही तल एउटा गुफा छ । त्यही गुफाबाट कृष्ण ओहोरदोहोर गर्थे भन्ने जनविश्वास समेत रहेको छ । कृष्ण राति बाहिर जाने र बिहान मात्रै फर्कने गर्दा अनिष्ट आइपर्ला भनेर गाउँलेले कृष्णलाई बाँधेर राखेको किम्बदन्ती समेत रहेको स्थानीयले जानकारी दिएका छन्

सेन वंशका राजाहरूले १३ औँ शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ । सेन वंशका प्रतापी राजा मुकुन्द सेन कै नामबाट मुकुन्दपुर, माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको हो भन्ने जनविश्वास छ । सेन वंशका लोहाङ्गसेनदेखि अन्तिम राजा दिग्बन्धन सेनसम्मका राजाहरूले करिब तीन सय वर्षसम्म मकवानपुर गढीलाई राजधानी बनाई राज्य गरेका थिए ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

नेपालमा रहेका खाद्यान्नमा देखियो ‘ट्रान्स फ्याक्ट’ : मुटुलाई हानी

काठमाडौँ । हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य अंगका रूपमा लिइने मुटुलाई नै हानी गर्नसक्छ । पछिल्लो समय नेपालमा पनि खाद्य पदार्थहरूमा ट्रान्स फ्याक्ट बढी देखिन थालेको छ र मुटुलाई नै हानी गर्न सक्ने खतरा बढेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा खासगरी औद्योगिक कच्चा पदार्थबाटै ट्रान्स फ्याक्ट बढी राखेर खाद्य पदार्थहरू बनाइने गरेको भेटिएको छ । त्यस्तो मात्रा खासगरी पाउरोटी, कुकिजहरुमा धेरै रहेको अनुगमनका क्रममा भेटिएको हो ।

विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले पप, बेकरी, बिस्कुटसहित विभिन्न प्रशोधित वस्तुहरूमा ट्रान्स फ्याक्ट बढी हुनसक्ने भएकाले यसको अनुगमनलाई बढाइएको बताइन् । उनकाअनुसार केही दिनअघि पपको नमुना टेस्ट गरिएको थियो । त्यसमा अत्यधिक ट्रान्स फ्याक्ट देखिएकाले बजारबाटै फिर्ता लैजान कम्पनीलाई सचेत गराएको थियो । पपसहित बिस्कुटहरू लगायतमा समेत ट्रान्स फ्याक्ट अत्यधिक रहेको सम्भावना छ । त्यसमा विभागले अनुगमन बढाउँदैछ ।

नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना, २०२१–२०२५ लाई नेपालले ०७८ माघ २४ मा स्वीकृत गरेको थियो । ट्रान्सफ्याट सीमित गर्ने नीति स्विकार्दै औद्योगिक प्रक्रियाबाट उत्पादित खानेकुरामा ट्रान्सफ्याटको मात्रा २ प्रतिशत भन्दा तल राख्ने सरकारले नीति लिएको थियो । उद्योगमा निर्मित र प्याक गरिएका खानेकुरामा ट्रान्स फ्याटको मात्रा २ प्रतिशत भन्दा तल हुने नीति सरकारको छ । यसलाई कार्यान्वयनमा ल्याइएको वैद्यको भनाइ छ । यो नीति औद्योगिक रूपमा उत्पादित अस्वस्थकर चिल्लो पदार्थलाई राष्ट्रिय खाद्य प्रणालीबाट सन् २०२३ सम्म निवारण गर्ने एउटा रणनीतिक उपक्रम पनि रहेको उनको भनाइ छ ।

विभागकी महानिर्देशक वैद्यकाअनुसार ट्रान्स फ्याट एउटा प्राकृतिक रूपमा पाइन्छ । प्राकृतिक रूपमा पाइने ट्रान्स फ्याटलाई रुमिनेन्ट ट्रान्स–फ्याटी एसिड पनि भनिन्छ । यी ट्रान्स फ्याट रुमिनेन्ट जनावरहरू (जस्तै गाई, भेडा आदि) को पाचन प्रणालीमा रहेका ब्याक्टेरियाबाट उत्पादन हुन्छन् । यस्ता ट्रान्स फ्याट ती जनावरबाट प्राप्त हुने खाद्य पदार्थहरूमा सानो मात्रामा पाइन्छन् । औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स फ्याटहरू भने खाद्य पदार्थहरूमा प्रयोग गरिने वनस्पति तेलको आंशिक हाइड्रोजनेसन प्रक्रियाबाट बनाइने वैद्य बत्ताउँछिन् । उनकाअनुसार यी ट्रान्स फ्याट प्रशोधित खाद्य पदार्थहरूमा पाइन्छन् । औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स फ्याटको मात्रा प्राकृतिक रूपमा पाइने ट्रान्स फ्याटको तुलनामा सामान्यतया धेरै बढी हुन्छ ।

वैद्यकाअनुसार औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स फ्याटहरू फास्ट फुड, बेक गरिएका खाद्य पदार्थहरू जस्तै पाई, बिस्कुट, पेस्ट्री, मिठा रोल, केकस बिस्कुटस तारेका खानेकुराहरूमध्ये फ्रेन्च फ्राइज, चिकन नगेट्स, केही कबाबहरूस माइक्रोवेभमा तताउन मिल्ने तयार पपकर्नस वेफर तथा अन्य बेकरी सामग्रीस जमेको मिठाइस इन्स्ट्यान्ट नुडल्सस सर्टनिङस आंशिक रूपमा हाइड्रोजनेट गरिएका तेलहरूस केही प्रकारका मार्जारिनमा पाइन्छ ।

महानिर्देशक वैद्यले भने ‘नेपाल सरकारले २०८० साल माघ महिनामा ट्रान्स फ्याट सम्बन्धी मापदण्ड ल्याएको छ । यो मापदण्ड औद्योगिक ओरिजिनको ट्रान्स फ्याटको लागि मात्र लागू हुन्छ । ट्रान्स फ्याट फर्म भनेको सिस फर्म र ट्रान्स फर्म दुइटा फर्ममा हुन्छ, त्यसलाई फ्याटी एसिड भन्छ । घिउ तेलमा हुने फ्याट एसिड भनेको त्यहाँ भएको उपस्थित मोलिक्युलहरू हो । जसले चाहिँ घिउ तेल बन्दछ र मोलिक्युलमा, केही चेन्जेजहरू आउँछ । त्यसको चाहिँ स्ट्रक्चरमा अलिकति ट्विस्ट हुन्छ । जसले गर्दा अर्को फर्मभन्दा फरक हुन्छ । यो न्याचुरल्ली पनि उपस्थित हुन सक्छ हैन । जस्तो, गाई वस्तुको घिउ, दूधहरूमा पनि यो उपस्थित हुन्छ तर त्यो एकदम कम मात्रामा हुन्छ १÷२ प्रतिशत हुन्छ । मासुमा पनि हुने भयो, बोसोमा पनि हुन सक्ने भयो । वनस्पतिजन्यमा चाहिँ यो ट्रान्स फ्याट उपस्थित हुँदैन । अर्को यसको ट्रान्स फ्याटको उत्पत्ति कहाँ हुनसक्छ भन्दा, जस्तो वनस्पतिजन्य तेलहरूलाई पनि हामीले एकदम तातो डिग्री सेन्टिग्रेडमा तताउँदा र रिपिटेडली त्यसलाई तताउँदा पनि यो ट्रान्स फ्याट उत्पन्न हुन्छ ।

त्यसको मोलिक्युलर फर्ममा स्लाइटली बेन्ट हुने आइसोमर बन्छ र त्यो गएर हाम्रो शरीरको लागि हानिकारक कसरी हुँदो रहेछ भन्दा जसरी यो ट्राइग्लिसराइडहरूको बारेमा हामीले सुनेका छौँ नि, टीजी बढ्यो, टीजी बढ्यो भन्छौँ नि, मुटुको रोगको कारक तत्त्वहरू, जसले गर्दाखेरि मुटुकोमा बग्ने रगतको जुन धमनीहरू हुन्छ, क्यापिलरीहरूमा गएर चाहिँ यसले बिस्तारै त्यहाँ डिपोजिट हुन थाल्छ । त्यसले गर्दाखेरि चाहिँ मुटुको धमनी साँघुरो हुँदै जान्छ र जुन अल्टीमेटली हार्ट अट्याकको कारण बन्नसक्छ ।

यसको डाइरेक्ट कोरिलेसन भेटिएको हुँदाखेरि यसप्रकारको ट्रान्स फ्याटी एसिडहरूलाई चाहिँ हामीले चाहिँ हाम्रो डाइटको माध्यमबाट आउँछ हैन । हाम्रो शरीरमै त्यो उत्पन्न हुने होइन, हामीले खाको खानाबाट उत्पन्न हुने पनि होइन । हामीले खाएको खानाको माध्यमबाट हामीले प्राप्त गर्ने हुने हुनाले, यसलाई हामीले न्यूनीकरण गर्नुपर्छ । प्राकृतिक रूपमा उपस्थित वस्तुहरूमा घिउ, बटरमा हुने ट्यान्स फ्याक्टी हुन्छ । ट्यान्स फ्याक्टी खसिको मासु, पशुजन्य पदार्थमा पनि हुने भयो । त्यसै पशु पन्छीबाट आउने पनि हुने भयो । तर यसलाई हामीले अलिकति न्यूनीकरण गर्नसक्छौँ । तर अर्को यसको ट्रान्स फ्याटको महत्वपूर्ण स्रोत जुन पछिल्लो २०÷३० वर्षमा भेजिटेबल घिउमा एकदमै प्रयोग भएको छ ।

किनभने घिउको त्यो सस्तो अल्टरनेटिभको रूपमा आएको छ । र त्यसको पनि मोलिक्युलर गर्दा त्यसमा फ्लेक्सिबिलिटी धेरै छ । धेरै खालको परिकारहरू त्यसबाट बन्ने गर्छन् । जस्तो भेजिटेबल घिउ घर–घरमै पनि त्यो प्रयोग भइरहेको अवस्था छ, अहिले पनि प्रयोग भइरहेको छ । त्यो हाइड्रोजेनेशन विधिबाटवनस्पतिजन्य तेललाई एकदमै हाई टेम्प्रेचरमा यो हाइड्रोजेनेशन भनिन्छ, हाइड्रोजन ग्यास पास गरिन्छ र त्यो वनस्पति तेल र हाइड्रोजन एटमको बीचमा जब मोलिक्युलको बीचमा रियाक्सन हुन्छ, अनि त्यो चाहिँ सोलिडमा चेन्ज हुन्छ हैन, त्यसले गर्दा जसलाई हामी वनस्पति घिउ भनेर चिन्दछौँ ।

वनस्पति घिउ, त्यसकारण वनस्पति तेलबाट बन्ने भयो, अल्टीमेटली त्यो एकदमै सस्तो चाहिँ अल्टरनेटिभ भयो । तर त्यसको डिमेरिट पछिल्लो दशकमा आएर यो जुन डेनमार्कबाट यसको रिसर्चहरू सुरु भयो । त्यो हेर्दाखेरि यो हेल्थ हाजार्डको लागि, यो डाइरेक्टली यो कोरिलेटेड देखियो मुटुको रोगसँग देखियो र पछाडि बिस्तारै यसको लिमिट म्याक्सिमम तोकिन थालेको हो ।’ वैद्यकाअनुसार प्रत्येक वर्ष करिब ५ लाख ४० हजार मृत्यु औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स–फ्याटी एसिडको सेवनका कारण हुने गरेको अनुमान छ । भारतमा मात्र कोरोनरी हार्ट डिजिजका कारण ६० हजार भन्दा बढी मृत्यु ट्रान्स फ्याटसँग सम्बन्धित छन् ।

कुल क्यालोरीमा ट्रान्स फ्याटको मात्रा प्रत्येक २ प्रतिशतले बढ्दा, कोरोनरी हार्ट डिजिजको जोखिम २३ प्रतिशतले बढ्ने अध्ययनहरूले देखाएको वैद्यको भनाइ छ । उनकाअनुसार ट्रान्स फ्याटको सेवनले तौल वृद्धि गराउँछ र टाइप–२ मधुमेह हुने जोखिम बढाउँछ । त्यस्तै, अत्यधिक ट्रान्स फ्याट सेवनले कुनै पनि कारणबाट हुने मृत्युको जोखिम ३४ प्रतिशतले र कोरोनरी हार्ट डिजिजका कारण हुने मृत्यु २८५ ले बढाउँछ । ट्रान्स फ्याटले खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ भने राम्रो कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

एकताका लागि रास्वपाको प्रस्ताव: बालेन प्रधामन्त्री, कुलमानलाई दोस्रो बरियता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल र बालेन शाह समूहबीच एकताका लागि रास्वपाले ठोस प्रस्ताव पेश गरेको छ । रास्वपाको प्रस्तावमा छलफल गरि सकेसम्म आजै निर्णयमा पुग्ने प्रयास भइरहेको बताइएको छ ।

बालेननिकट स्रोतले दिएको जानकारी अनुसार रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सार्न सहमत भएको छ ।

यस्तै, ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पार्टीमा दोस्रो बरियता दिन तयार भएको छ ।

यी विषय करिब टुंगिएकाले पार्टीको केन्द्रीय समिति, समानुपातिक र प्रत्यक्षतिरको बाँडफाँडमा सहमति जुटे आजै निष्कर्ष निस्किने बताएको छ ।

पार्टीमा बालेनको पद वा बरियता के हुने भन्नेमा छलफल भइरहेको बताइएको छ । रास्वपा स्रोतका अनुसार बालेनले पार्टीमा कुनै पद दाबी गरेका छैनन् । बिहीबारको भेटमा लामिछानेले बालेनसँग समानुपातिका ७०-३० प्रतिशत बाँडफाँड गर्ने प्रस्ताव गरेका थिए, यसमा कुलमान पनि थपिने भएपछि थप छलफल हुनेछ ।

सञ्चारमन्त्री खरेलले गरे गुण्डुमा ओलीसँग भेटवार्ता

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटवार्ता गरेका छन् । अहिले ओली निवास गुण्डुमा भेटघाट भइरहेको छ । चुनावी वातावरणका लागि खासगरी ठूला दल र नेतासँगको सम्बन्ध सुधारमा लागेको सरकारले पछिल्लो समय उच्चस्तरीय समिति नै बनाएर संवाद थालेको छ ।

भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिको विषयमा छलफल भएको बताइएको छ । यसअघि खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । खरेलको सचिवालयका अनुसार आजै उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट्दै छ्न् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल थालेको हो ।

 

सञ्चारमन्त्रीलाई देउवाले भने–सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाओस्

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन हुने विश्वासिलो वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबार बिहान आफ्नो निवासमा पुगेका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेललाई देउवाले यस्तो सुझाव दिएका हुन् । सरकारले अहिलेसम्म पनि निर्वाचन हुने विश्वसनीय वातावरण नबनाएको भन्दै देउवाले निर्वाचनको वातावरण तत्काल बनाउन सरकारलाई आग्रह गरेका हुन् । सरकारका प्रवक्तासमेत रहेका खरेलले आज प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

मन्त्री खरेल सुरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका हुन् । देउवालाई भेटेपछि मन्त्री खरेल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न गुण्डु पुग्ने छन् । सञ्चारमन्त्री खरेल दिउँसो १२ बजे नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उनकै निजी निवास पुग्ने कार्यक्रम रहेको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ ।

पूर्व जर्नेल शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै शपथ

काठमाडौं । नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनको आजै शपथ ग्रहणको तयारी भइरहेको छ । प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्व जर्नेल हुन् । माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्र मात्र होइनन्, कोभिड संकटको बेला सीसीएमसीमा समेत काम गरेका थिए ।

आजै दिउँसो २ बजे उनलाई मन्त्री पदको शपथ खुवाउने कार्यक्रम रहेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ । शर्माको नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्‌ १५ सदस्यीय बन्नेछ । अझै रक्षा र खानेपानी मन्त्रालय प्रधानमन्त्री कार्कीकै जिम्मेवारीमा छन् ।

 

 

 

आज–भोलिमै सहमति गर्ने तयारीसहित रवि–बालेनको टोली गृहकार्यमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच पछिल्ला दिनहरूमा तीव्र संवाद भइरहेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै धारमा ल्याउने उद्देश्यसहित दुवै नेताका सहकर्मीहरू सहमतिको खाका बनाउन व्यस्त छन् । स्रोतहरूका अनुसार आज वा भोलिसम्म सहकार्य वा एकतासम्बन्धी औपचारिक घोषणा हुने गरी गृहकार्य अन्तिम चरणमा पुगेको छ ।

फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने मिति नजिकिँदै गर्दा पुस १३ अगावै समझदारीमा पुग्नुपर्ने दबाब दुवै पक्षमा छ । यही कारण पुस ७ र पुस १० गते दुई चरणमा भएका छलफलमा रवि र बालेन सहमतिनजिक पुगेको रास्वपा निकट स्रोतको दाबी छ । ती भेटघाटमा चुनावी मोडालिटी, नेतृत्वको हैसियत, शक्ति बाँडफाँट र दीर्घकालीन राजनीतिक यात्राका विषयमा गम्भीर संवाद भएको बताइन्छ । छलफलमा सहभागी एक स्रोतका अनुसार आगामी चुनावमा नयाँ वैकल्पिक शक्तिहरू मिलेर जानुपर्नेमा दुवै नेताबीच मतभेद छैन । तर सहकार्य कुन ढाँचामा हुने, पार्टी एकता तत्काल गर्ने कि चुनावी तालमेलबाट अघि बढ्ने भन्ने विषय अझै अन्तिम टुंगोमा पुगिसकेको छैन । पावर सेयरिङ र नेतृत्वको क्रमबारे प्रारम्भिक सहमति बने पनि केही बुँदामा थप छलफल आवश्यक रहेको बताइन्छ ।

यसबीच उज्यालो नेपाल पार्टीका अवधारणाकार कुलमान घिसिङलाई समेत समेटेर फराकिलो वैकल्पिक मोर्चा बनाउने प्रस्तावमाथि पनि छलफल भइरहेको छ । बालेन र कुलमानबीच हालै छुट्टाछुट्टै भेटवार्ता भएका छन् । कुलमानलगायत विभिन्न सामाजिक–राजनीतिक व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउने पहलको अगुवाइ बालेनले लिएको बताइन्छ । बालेन काठमाडौं महानगरको नगरसभामा व्यस्त रहे पनि उनको टिमले निरन्तर छलफल र समन्वय गरिरहेको छ ।

रवि–बालेन संवादमा आन्दोलनमा सक्रिय जेनजी पुस्ताका प्रतिनिधिहरूलाई समेत समेटेर नयाँ वैकल्पिक राजनीतिक शक्ति घोषणा गर्ने सम्भावनाबारे पनि कुरा भइरहेको स्रोतहरू बताउँछन् । लामो समय मौन रहेका बालेनले पछिल्लो भेटघाटमा संसदीय राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्ने संकेत दिएको चर्चा छ । उनले पहिलो संसदीय निर्वाचन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापाबाट लड्न सक्ने संकेत निकटवर्तीसँग व्यक्त गरेको बताइन्छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि बालेन राष्ट्रियस्तरमै चर्चित बनेका थिए । सोही वर्ष भएको संसदीय निर्वाचनमा पहिलो प्रयासमै चौथो शक्तिका रूपमा उदाएको रास्वपा अब आगामी चुनावमा वैकल्पिक शक्तिहरूलाई एउटै मोर्चामा उभ्याउने रणनीतिमा जुटेको छ । प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमाले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सक्रिय भइरहँदा वैकल्पिक भनिएका दलहरू भने त्यसले निकास नदिने ठहर गर्दै चुनावी तयारी तीव्र बनाइरहेका छन् । रवि र बालेनबीचको संवादलाई निष्कर्षमा पुर्‍याउन असीम शाह, आसिफ शाह र कुमार बेन सक्रिय छन् । उनीहरूले विस्तृत सहमतिको खाका तयार पारेर आज रातिसम्म अन्तिम निर्णयमा पुर्‍याउने प्रयास गरिरहेका छन् । स्रोतका अनुसार तत्काल पार्टी एकता वा औपचारिक सहकार्यको घोषणा हुन सक्ने सम्भावना बलियो छ ।

निकटस्थहरूले जनाएअनुसार सम्भावित एकीकृत संरचनामा रवि शीर्ष नेतृत्वमा रहने र बालेन दोस्रो वरियतामा रहने समझदारी बनिरहेको छ । साथै पहिलो चरणमै बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने पुरानो प्रतिबद्धतामा रवि कायम रहेको बताइन्छ । यही बुँदालाई आधारभूत सहमतिको मुख्य आधार मानिएको छ । यसअघि संवाद अपेक्षित गतिमा नबढेपछि बालेनले आफ्ना निकट सहयोगीहरूको सल्लाहमा वैकल्पिक रूपमा ‘देश विकास पार्टी’को ब्यानरमा अघि बढ्ने तयारी थालेका थिए । पुस ७ गते कमलपोखरीमा भएको छलफलका विषय सार्वजनिक रूपमा फरक ढंगले प्रस्तुत भएको भन्दै उनी असन्तुष्ट बनेका थिए । तर पछिल्ला भेटवार्तापछि दुवै पक्ष फेरि सहमतिको दिशातर्फ फर्किएको देखिन्छ ।

पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपातबारे पनि छलफल भएको छ । रास्वपामा पहिले नै धेरै आकांक्षी रहेकाले समानुपातिक सूची ७०–३० को अनुपातमा बनाउने प्रस्ताव रविले राखेका थिए । त्यसमा लचिलो भएर संख्या तलमाथि गर्न सकिने विकल्प खुला राखिएको छ । बालेनले भने समानुपातिक संख्यामा खास चासो नदेखाएको बुझिएको छ र यसबारे सहकर्मीहरूलाई जिम्मा दिने संकेत गरेका छन् । रास्वपाको चुनाव चिह्न ‘घण्टी’ अन्तर्गत अघि बढ्न बालेनलाई ठूलो समस्या नभएको बुझिएको छ । पत्रकारहरूले चुनाव चिह्नबारे सोध्दा रविले ‘समयले बताउने’ प्रतिक्रिया दिए पनि अन्ततः सहमतिमा पुग्ने संकेत दिएका छन् ।

संवाद तिक्ततातर्फ मोडिन थालेपछि दुवै नेताका सहकर्मीहरूले अविलम्ब मिल्न दबाब दिएका थिए । कुलमान घिसिङसँग बालेनको छुट्टै छलफल, विभिन्न शक्ति र व्यक्तित्वलाई एउटै धागोमा बाँध्ने प्रयास र जेनजी पुस्ताको भावनालाई समेट्ने चाहनाले अहिलेको संवादलाई सकारात्मक मोडमा ल्याएको नेताहरू बताउँछन् । रास्वपा नेता असीम शाहका अनुसार छलफल सकारात्मक निष्कर्षतर्फ अघि बढिरहेको छ । उनका शब्दमा, नयाँ शक्तिहरूबीचको एकता जेनजी पुस्ताको समेत चाहना भएकाले त्यसलाई सम्मान गर्दै छिट्टै सकारात्मक सन्देश आउनेछ ।

 

लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायो : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बिना धितो ऋण दिने लुघवित्त संस्था बाहेक अरु कुनै नरहेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित वागमती प्रदेश लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उनले लघुवित्तले बिना धितोमा कर्जा प्रवाह गरेर गरिबी हटाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनकाअनुसार ३० को दशकमा लघुवित्तले मुलुकको गरिबीलाई घटाउन ठूलो भूमिका खेलेको छ ।

लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत दिएर उनीहरुलाई सक्षम बनाएको समेत श्रेष्ठले बताए । उपाध्यक्ष श्रेष्ठले लघुवित्तका कारण वित्तीय पहुँच बढेको बताउँदै राजनीति स्र्वथ पुरा गर्न लघुवित्तलाई बदनाम गरिएको समेत बताए । तर अहिले स्थिति सामान्यकरण भइसकेको उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठले भने, ‘नेपालमा समस्याहरु छन् । नेपालमा समस्या नभएको ठाउँ नै छैन । यति धेरै समस्या छन् समस्या सुन्दा सुन्दै समस्या पुराण जस्तो छ र यति धेरै समस्याको हामीले नै समाधान गर्नुपर्छ । कसैले समाधान गरिँदैन । लघुवित्त संस्थामा पनि विगतमा तीब्र विस्तार भयो, त्यससँगै केही समस्या सिर्जना भए । अहिले अलि मत्थरसँगै सुदृढीकरण पनि भएको छ ।’

उनले भने, ‘त्यो अनुसार अझ नयाँ ढंगले अघि बढ्नुपर्ने स्थिति पनि छ । ३० वर्षअघि जुन अवस्था थियो, त्यो भन्दा धेरै अघि बढिसकेका छौं । समाज परिवर्तन भएको छ । बसाइसराइ तीव्र छ । गाउँबाट शहर हुँदै विदेशतिर बसाइसराइ छ । समाजमा धेरै परिर्वतन आएको छ गरिबी पनि घटेको छ । त्यसमा लघुवित्तको भूमिकालाई नकार्न मिल्दैन । लघुवित्तले गरिवी हटाउन राम्रो भूमिका खेलेको छ । तीन वर्ष अघिसम्म कुनै बेला १०० जना जम्मा हुँदा ५० जना गरिब थियौँ । अहिले नयाँ मापदण्ड अनुसार १०० मा २० जना जति गरिब छौं ।’

उपाध्यक्ष श्रेष्ठले भने, ‘पुरानैलाई आधार मान्ने हो भने पनि अहिले हामी ४ प्रतिशतको गरिबीमा झरेका छौं । अहिले हामीलाई मोबाइल फोन भएन भने गरिब हुने स्थिति छ । हिजो मोबाइल फोन चाहिँदैन्थ्यो । अहिलेका हाम्रा आवश्यकताहरु विस्तारै परिवर्तन भएका छन् । सूचना प्रविधिको विकासले सहयोग गरेको छ । उपभोग गर्ने शैली पनि बढाएको छ । हामी दक्षिण एशियामा गरिबीको सुधार गर्ने देशमा पछौँ । हाम्रो मानव विकास सूचांकमा पनि सुधार भएको छ । त्यति हुँदाहुँदै पनि हामी सन्तोष छैनौँ । राजनीतिक अस्थीरताले हामीलाई धेरै गाँजेको अवस्था छ । लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत बढेको छ । वित्तीय पहुँच बढेको छ । बिना धितो ऋण दिने कुनै संस्था छ भने लुघवित्त संस्था हो । अरु संस्थाले कमै दिन्छन् । बिचमा केही विकृति विसँगती आए । अहिले केही राजनीति उद्देश्यले केही भड्काउन गर्ने काम पनि भएको छ । लघुवित्तका सदस्यहरु चनाखो हुनुपर्छ ।’
उनले हरेक क्षेत्रमा समस्या रहेकाले सम्बोधन गर्ने काम राज्यको भएकाले समाधान गर्दै जाने समेत प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनकाअनुसार महिला सशक्तिकरण, वित्तीय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ ।

ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भुमिका खेलेको बताउँदै लघुवित्तमा रहेका समस्याहरु हल गर्दै जानुपर्नेमा जोड दिनुभयो । यादवले भन्नुभयो–‘लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्वपूर्ण भुमिका खेलेको छ । महिला सशक्तिकरण, वित्तीय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ । ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भूमिका खेलेको छ । जो व्यक्तिसँग धितो दिने क्षमता छैन, अन्य बैंकबाट सेवा लिने अवस्था नभएकालाई वित्तीय, गैर वित्तीय सेवा लघुवित्तले दिएको छ ।’ लघुवित्तलाई परेका समस्यालाई राज्यले गम्भीर रुपमा हेर्नुपर्नेमा उहाँको जोड थियो ।

यस्तो छ रास्वपाको समानुपातिकतर्फका आकांक्षीको अन्तिम सूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

रास्वपाका अनुसार उम्मेदवारका लागि ४१४ जना आकांक्षीहरूले पार्टीमा आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन । सूचीमा नाम समावेश नगरिएकाहरूलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने रास्वपाले जनाएको छ।

हेर्नुस् सूची

 

आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।

गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० मा र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन रु दुई लाख ६७ हजार ५०० र चाँदी रु चार हजार ४०० मा कारोबार भएको थियो । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इजिप्टमा भवन भत्किँदा ८ जनाको मृत्यु

काठमाडौं । इजिप्टको कायरो दक्षिणमा पर्ने गिजा प्रान्तमा एक पाँचतले आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या आठ पुगेको इजिप्टको सरकारी समाचार वेबसाइट अहराम अनलाइनले जनाएको छ । भग्नावशेष हटाउने कार्यपछि उद्धार टोलीले अन्तिम बेपत्ता व्यक्तिको शव फेला पारेको छ ।

गिजाको घना बस्ती भएको इलाका इम्बाबामा उक्त भवन भत्किएको थियो । जसका कारण आसपासका अन्य भवनहरूमा पनि क्षति पुगेको थियो । जसलाई सुरक्षा मूल्याङ्कनको प्रतिक्षामा सावधानीका रूपमा खाली गरिएको छ ।

गिजा प्रान्तको आधिकारिक फेसबुक पेजमा जारी गरिएको एक विज्ञप्तिमा अधिकारीहरूले भवन रहेको सडक साँघुरो भएका कारण भारी मेसिनरी प्रयोग गर्न नसकिएकाले भग्नावशेष हटाउने काम हातैले गरिएको बताएका छन् । भवन भत्किनुको कारण पत्ता लगाउन एक विशेषज्ञ इन्जिनियरिङ समितिलाई खटाइएको छ । जसले भवनमा अनुमति बिना कुनै परिवर्तन गरिएको थियो वा निर्माण नियमहरूको उल्लंघन भएको थियो भन्ने विषयमा अनुसन्धान गर्नेछ ।

चीनको उच्च–गतिको रेल नेटवर्क ५० हजार किलोमिटर नाघ्यो

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो उच्च–गतिको रेल सञ्जाल भएको चीनले नयाँ रेल लाइनको शुरुवातसँगै ५० हजार किलोमिटरको कुल सञ्चालन माइलेज पार गरेको छ । नयाँ उच्च–गतिको रेल लाइनको प्रक्षेपणसँगै चीनको कुल सञ्चालन माइलेज ५० हजार किलोमिटरभन्दा माथि पुगेको हो ।यससँगै चीनले विश्वको सबैभन्दा ठूलो उच्च–गतिको रेल सञ्जालको रूपमा आफ्नो स्थान अझ सुदृढ बनाएको छ । शुक्रवार बिहान उत्तरपश्चिमी चीनको शान्सी प्रान्तको एक पवित्र क्रान्तिकारी केन्द्र यानआनबाट प्रान्तीय राजधानी सियानका लागि फक्सिङ बुलेट ट्रेन प्रस्थान गर्‍यो ।

यस प्रस्थानले नयाँ मार्गको उद्घाटन मात्र गरेन बरु राष्ट्रिय यातायात पूर्वाधारको विकासमा एक महत्वपूर्ण कोसेढुङ्गा पनि थपेको छ । फक्सिङ बुलेट ट्रेन चीनको स्वदेशी प्रविधिमा आधारित छ र यसले तिब्र गतिको साथसाथै यात्रुहरूलाई आरामदायी यात्रा प्रदान गर्दछ । ५० हजार किलोमिटरको यो उपलब्धिले चीनका विभिन्न शहरहरू बीचको दूरी घटाउन र आर्थिक गतिविधिहरूलाई गति दिन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

भारतको कर्नाटकमा बस र ट्रक ठोक्किँदा नौं जनाको मृत्यु

काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा एउटा निजी स्लिपर बस र ट्रक एकआपसमा ठोक्किँदा नौ जनाको मृत्यु भएको छ । अन्य धेरै यात्रीहरू घाइते भएका छन् । दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिव २०३ किलोमिटर उत्तर–पश्चिममा पर्ने चित्रदुर्गा जिल्लाको हिरियुर क्षेत्रस्थित गोरलाथु गाउँको राजमार्गमा बिहीवार भएको थियो । प्रहरीकाअनुसार विपरित दिशाबाट आउँदै गरेको ट्रकले सडकको डिभाइडर नाघेर बसलाई ठक्कर दिएको थियो ।

ठक्कर लगत्तै बसमा भीषण आगो लागेको र केही बेरमै आगोको लप्काले पूरै बसलाई आफ्नो चपेटामा लिएको थियो । बसमा चालक र सहचालकसहित कुल ३२ जना सवार रहेको रिपोर्टमा उल्लेख छ । भारतमा प्रायः सडकको जीर्ण अवस्था, ओभरलोडिङ र चालकको लापरवाहीका कारण यस्ता घातक सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।

उपमेयर डंगोलकाे नाममा ‘फेक अकाउण्ट’, क्यूआर पठाएर पैसा मागिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्वीर दुरुपयोग गर्दै नक्कली ह्वाट्सएप खाता (फेक अकाउण्ट) बनाएर ठगी गरेको खुलेको छ । डंगोलले सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त खाता र नम्बर आफ्नो नभएको स्पष्ट पार्दै सर्वसाधारणलाई सचेत गराएकी छन् । उनका अनुसार स्क्यामरले आफूलाई अप्ठ्यारो परेको भन्दै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको छ ।

उनले यसबारे नेपाल प्रहरी र सम्बन्धित दूरसञ्चार निकायलाई जानकारी गराइसकेको र कानुनी प्रक्रिया अघि बढाइसकेको बताइन् । साथै, कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्न र यस्ता सन्देशमा प्रतिक्रिया नदिन अनुरोध गरेकी छन् । डंगोलले लेखेकी छन्, ‘मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । यो म होइन र यो मेरो नम्बर पनि होइन। कृपया यस्तो सन्देश आएमा पैसा नपठाउनुहोस् र प्रतिक्रिया नदिनुहोस् ।’

 

हर्क साम्पाङले कारवाही गरेका परियार नेकपामा प्रवेश

काठमाडौं । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनलाई आज बिहान नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरेका छन् । बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।

परियारलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले उनीजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउनु खुशीको कुरा भएको बताएका छन् । डा. परियारले पनि जनयुद्ध र त्यसपछि गणतन्त्र स्थापनामा प्रचण्डले गरेको योगदानबाट आफू प्रभावित भएको बताएका छन् । उनले अब दलित मुक्ति आन्दोलनमा नयाँ उचाइमा पु¥याउन योगदान गर्ने बताए । उनलाई तत्काल केन्द्रीय सदस्य र बाँकी जिम्मेवारी थप छलफलपछि दिइने तयारी रहेको प्रचण्ड निकट एक नेताले जानकारी दिए ।

देउवालाई भेट्न महाराजगञ्ज पुगे सञ्चारमन्त्री खरेल, आजै ओली र प्रचण्डलाई भेट्दै

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन् । सरकारका प्रवक्ता समेत रहेका खरेलले आज एकै दिन प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उनको सचिवालयका अनुसार मन्त्री खरेल सुरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्न उनकै निवास महाराजगञ्ज पुगेका हुन् ।

देउवालाई भेटेपछि मन्त्री खरेल बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनकै निजी निवास गुण्डु पुग्ने छन् । अनि अन्त्यमा सञ्चारमन्त्री खरेल दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उनकै निजी निवास पुग्ने कार्यक्रम रहेको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ । यसबीच सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण तयार पार्न सरोकारवाला पक्षसँग समन्वय र संवादलाई तीव्रता दिएको छ । साथै यसबीच सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन पनि गरेको छ ।

मेयरबाट प्रधानमन्त्रीको बाटो बनाउँदै बालेन, पार्टी कार्यालय नै खोलेर सक्रिय

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले औपचारिक रूपमा दलीय राजनीतिमा प्रवेशको घोषणा गर्दै नयाँ राजनीतिक शक्ति निर्माणको तयारी तीव्र पारेका छन् । रास्वपा, उज्यालो नेपाललगायत दलसँग सहकार्यको प्रयास चलिरहेकै बेला बालेनले वैकल्पिक योजना स्वरूप आफ्नै पार्टी सञ्चालन गर्ने निष्कर्षसहित पार्टी कार्यालय समेत स्थापना गरिसकेका छन् ।

ललितपुरको ज्वागलमा ‘देश विकास पार्टी’ नामक दलको कार्यालय खोलिएको छ । निर्वाचन आयोगमा दर्ता भइसकेको यस पार्टीको चुनाव चिह्न ‘लौरो’ नै छ, जुन चिह्नबाट बालेन २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँका मेयर निर्वाचित भएका थिए । पार्टीकी अध्यक्ष सन्ध्या खनाल छिन् । बालेन निकट स्रोतका अनुसार उज्यालो नेपाल र रास्वपासँगको वार्ता निर्णायक मोडमा नपुगे स्वतन्त्र रूपमा अघि बढ्ने तयारी पहिल्यै गरिएको थियो ।

यही सन्दर्भमा बिहीबार बालेनले बिहानदेखि साँझसम्म ‘म्याराथन मिटिङ’ गर्दै विभिन्न राजनीतिक दलका नेता, जेन–जी प्रतिनिधि र पूर्व विवेकशील साझाका नेताहरूसँग लगातार छलफल गरे । कुपण्डोलस्थित आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको निवास र ज्वागल क्षेत्र केन्द्र बनाएर भएको भेटवार्ताले बालेन अब संसदीय राजनीतिमा सक्रिय हुने स्पष्ट सन्देश दिएको छ ।

दिनको सुरुआत ऊर्जा क्षेत्रमा चर्चित नाम कुलमान घिसिङसँगको भेटबाट भयो । उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा आएका घिसिङ र बालेनबीच सहकार्य लगभग टुंगिएको बताइन्छ । पार्टी एकता वा उज्यालो नेपाललाई निष्क्रिय बनाएर घिसिङ देश विकास पार्टीमा समाहित हुने विकल्पमाथि छलफल भएको स्रोतको दाबी छ ।

त्यसपछि बालेनले कांग्रेस नेता सुनील शर्मा, रास्वपाका सभापति रवि लामिछाने, पूर्व सांसद अमरेशकुमार सिंह र रास्वपाका पूर्व सांसद शिशिर खनालसँग भेट गरे । विशेष गरी रवि लामिछानेसँगको भेटलाई चासोका साथ हेरिएको छ । यसअघि नै बालेनलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सार्ने प्रस्ताव आएको भनिए पनि बिहीबारको भेटवार्ता निष्कर्षविहीन रह्यो ।

राजनीतिक दलका नेतासँगै बालेनले जेन–जी अभियानका अगुवा व्यक्तिहरूसँग पनि लामो संवाद गरे । रक्षा बम, रोहनराज दंगाल, युजन राजभण्डारी, सुदन गुरुङलगायत युवाहरूलाई भेट्दै उनले ‘स्वच्छ छवि भएकाहरू अगाडि आउनु पर्छ’ भन्दै नयाँ राजनीतिक अध्याय सुरु भएको बताएका छन् । २५ वर्ष पूरा गरेका युवालाई निर्वाचनमा उम्मेदवार बनाउने र जिम्मेवारी बाँडफाँडबारे छलफल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

साँझतिर बालेनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारसँग भेटवार्ता गरे । भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने सुझाव दिए भने सुनारले बालेनले आफू राजनीतिमा आएको र सहयोग अपेक्षा गरेको जानकारी दिए । लगातारको भेटघाटमा बालेनले आफू एक्लै चुनाव लडेर परिवर्तन सम्भव नभएको भन्दै १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । समानुपातिक सूची बुझाउने समय नजिकिँदै गर्दा देश विकास पार्टीले करिब ११० क्षेत्रमा उम्मेदवार तय गर्ने तयारी गरिरहेको बताइन्छ ।

मेयरको भूमिकाबाट राष्ट्रिय राजनीतितर्फ उक्लने तयारीमा देखिएका बालेनले ‘सबै नयाँ शक्ति मिलेर चुनावमा जानुहोस्’ भन्ने आह्वान गरेका छन् । ज्वागलबाट सुरु भएको यो राजनीतिक अभ्यासले आगामी निर्वाचनमा कस्तो रूप लिन्छ, त्यो भने अबको केही साताले स्पष्ट पार्नेछ ।

कांग्रेसमा अब महाधिवेशन कि चुनाव ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनको अन्योल झन गहिरो बनाएको छ । क्रियाशील सदस्यता टुंग्याउन नसक्दा महाधिवेशन तालिका हेरफेर हुनसक्ने चर्चा चलिरहेका बेला महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले महाधिवेशनअघि नेतृत्व परिवर्तन नभए संसदीय निर्वाचन नलड्ने घोषणा गरेपछि पार्टीभित्र तरंग पैदा भएको छ ।

बैठकमा महामन्त्री शर्माले अबको १६ दिनमै क्रियाशील सदस्यताको काम टुंग्याएर वडा र क्षेत्रीय अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरे । महाधिवेशनको मिति केही दिन सार्न सकिने उनको संकेत थियो । तर प्रगति न्यून देखिँदा दुवै महामन्त्री आक्रामक रूपमा प्रस्तुत भए ।

गगन थापाले फागुन २१ को निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको भन्दै त्यसो नभए आफू चुनाव नलड्ने स्पष्ट चेतावनी दिए । ‘नेतृत्व नफेरिए चुनावमा जान सकिन्न, अरू लड्नुस्, म लड्दिनँ,’ उनको भनाइ थियो । झापा–१ बाट एकल सिफारिस भएका विश्वप्रकाश शर्माले पनि चुनाव नलड्ने घोषणा दोहोर्‍याउँदै नयाँ र युवा उम्मेदवार अघि सार्नुपर्ने तर्क गरे ।

महामन्त्रीहरूको यस्तो अभिव्यक्तिपछि बैठकमा चर्को असन्तुष्टि देखियो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत आक्रोशित हुँदै महामन्त्रीहरूको अभिव्यक्तिले कांग्रेस कमजोर देखिएको आरोप लगाए । ‘नेतृत्व परिवर्तनले मात्र होइन, एकताले पार्टी बलियो हुन्छ,’ उनको भनाइ थियो ।

महाधिवेशनको तालिका सार्वजनिक भए पनि क्रियाशील सदस्यता र तल्ला तहका अधिवेशनमै अड्किएको कांग्रेसमा अब ‘महाधिवेशन कि चुनाव’ भन्ने बहस निर्णायक मोडमा पुगेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । दिउँसो १ः०० बजे बैठक पुनः बस्ने भएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबारदेखि सुरू बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले धारणा राखिसकेका छन् ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले क्रियाशील सदस्यता टुंग्याएर महाधिवेशनको प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ नभएको बताएका छन् । क्रियाशील सदस्यता टुंग्याउनु सबैभन्दा ठूलो चुनौती भएकाले वडादेखिको कार्यतालिका प्रभावित हुने उनको भनाइ छ । निर्णायक ‘क्याम्पेनर’ मानिने महामन्त्रीहरू नै चुनावबाट बाहिरिने चेतावनी दिएपछि कांग्रेस आगामी निर्वाचनमा कुन बाटो समात्छ भन्ने प्रश्न अझ गम्भीर बनेको छ ।

गैरहाजिर २० प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत २० जना प्रहरी कर्मचारी लामो समयदेखि कार्यालय सम्पर्कबाट बाहिर रहेको खुलेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार तीमध्ये केही कर्मचारी असोज महिनादेखि र केही कात्तिक महिनादेखि कुनै जानकारी नदिई आफैं गैरहाजिर रहँदै आएका छन् ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको हो । सूचनामा उल्लेख भएअनुसार सम्बन्धित प्रहरी कर्मचारीको खोजतलास गरिएको, प्रहरी नियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा गरिएको तथा सूचना टाँस गरिसक्दा पनि उनीहरू सम्पर्कमा नआएपछि सार्वजनिक रूपमा सूचना जारी गर्नुपरेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिर रहनुको स्पष्ट कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा उपस्थित नभए कडा कारबाही गरिनेछ । तोकिएको समयसीमाभित्र हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम १०९ को देहाय (ख) १ अनुसार उनीहरूलाई सेवाबाट हटाइने चेतावनी दिइएको छ ।

प्रहरी संगठनले अनुशासन, जिम्मेवारी र नियमित उपस्थितिलाई अत्यन्त महत्वपूर्ण मानेको उल्लेख गर्दै लामो समयसम्म बिना जानकारी गैरहाजिर रहनु संगठनात्मक मर्यादा र सेवाको दायित्वविपरीत हुने जनाएको छ । यस किसिमको कार्यले प्रहरी सेवाको विश्वसनीयता र कार्यक्षमतामा असर पर्ने भन्दै प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति सचेत रहन आग्रह गरेको छ । साथै, वैध कारणले उपस्थित हुन नसकेको अवस्थामा समयमै कार्यालयलाई जानकारी गराई कानुनी प्रक्रिया पूरा गर्नुपर्ने पनि सूचनामार्फत स्पष्ट पारिएको छ ।