`

तीन वर्षमा तीनपटक मतदान गर्दै इलाम–२ का मतदाता : विजयी झण्डा कसले फहराउलान् ?

काठमाडौं । इलाम–२ मा प्रतिनिधिसभा निर्वाचन फेरि एकपटक प्रतिष्ठाको लडाइँमा परिणत भएको छ ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनपछि छोरा सुहाङ नेम्बाङलाई संसद् पठाएका मतदाता अब डेढ वर्ष नबित्दै फेरि मतदान गर्न बाध्य छन् ।

एमालेले यसपटक पनि सुहाङ नेम्बाङलाई नै उम्मेदवार बनाएको छ । कांग्रेसबाट भेषराज आचार्य उम्मेदवार छन्, जो सुहाङका बुबा सुवाससँग पटक–पटक झिनो मतान्तरले पराजित भएका थिए ।

यसपटक उनै भेषराज बुबासँग भएको हारको बदला छोरा सुहाङसँग लिन चुनावी मैदानमा उत्रिएका छन् । यसले इलाम–२ मा चुनाव व्यक्तिगत प्रतिष्ठा र राजनीतिक विरासतको संघर्षमा परिणत भएको छ ।

यहाँ यसपटक १४ जना उम्मेदवार छन् । तर, निर्णायक भिडन्त एमाले र कांग्रेसबीच हुने लगभग निश्चित छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा, श्रम संस्कृति पार्टीसहित अन्य साना दलको संगठनात्मक प्रभाव कमजोर देखिँदा मुख्य प्रतिस्पर्धा दुई ठूला दलमै सीमित हुने संकेत देखिएको छ ।

यसबीच उपनिर्वाचनमार्फत संसद् पुगेका सुहाङ दोस्रो जितको खोजीमा छन् । संगठन शक्ति, अघिल्लोपटक निर्वाचन क्षेत्रमा केन्द्र सरकारका मन्त्रालयहरूबाट पारेका केही विकासे योजना, बुबा सुवासको लोकप्रियता आफ्नो जितको प्रमुख आधार भएको सुहाङ बताउँछन् ।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल तथा स्थानीय उत्पादनमार्फत रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाएका छन् ।

‘उनले नेपालवान एचडीसँग भने, ‘अघिल्लोपटक जसरी इलाम–२ का मतदाताहरूको माया पाएँ, यसपटक पनि पाउने विश्वास छ ।’

सुहाङको घोषणापत्र भने सार्वजनिक हुन बाँकी छ । किनभने पार्टी केन्द्रले नै घोषणापत्र सार्वजनिक गरिसकेको छैन ।

कांग्रेस उम्मेदवार आचार्य भने यसपटक परिणाम उल्टिने दाबी गर्छन् । विकास, सुशासन र सामाजिक न्यायलाई एजेन्डा बनाएका उनले आफू तीन दशकदेखि इलामको सामाजिक–राजनीतिक क्षेत्रमा सक्रिय रहेको दाबी गरे । ‘यसअघि जनादेश पाउन सकिनँ, तर यसपटक इलामे जनताले मलाई न्याय गर्ने विश्वास छ,’ उनले भने ।

रास्वपाका उम्मेदवार गोकुल राई सबैभन्दा कान्छा उम्मेदवार हुन् । परिवर्तनको एजेन्डासहित मैदानमा उत्रिएका उनले यसपटक उपनिर्वाचनभन्दा फरक नतिजा आउने दाबी गरेका छन् ।

तर, अघिल्लो नतिजाले रास्वपाको कमजोर सांगठनिक शक्ति देखाइसकेको छ । यहाँ नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ, श्रम संस्कृति पार्टीका सुदीप राईसहित १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

इलाम–२ मा कुल एक लाख १९ हजार ४८९ मतदाता छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू प्रचार–प्रसारमा सक्रिय बन्दै गएका छन् ।

निर्वाचन आचारसंहिताअनुसार फागुन ४ देखि खुला प्रचार सुरु भएसँगै इलाम–२ को चुनावी माहोल थप तातेको छ । अधिकांश उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । मतदाता उम्मेदवारका प्रतिबद्धता सुन्दै उनीहरूका एजेन्डाको लेखाजोखा गरिरहेका छन् । तर, अधिकांश दलले औपचारिक घोषणापत्र र विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छैनन् ।

गत उपनिर्वाचनमा यसपटक पनि एमाले उम्मेदवार रहेका सुहाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गरेका थिए । सुहाङले २७ हजार ७७२ मत पाउँदा खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए ।

त्यही उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका थिए ।

उपनिर्वाचनको समानुपातिक मततर्फ पनि इलाम–२ मा एमाले नै सबैभन्दा अगाडि छ । एमालेले २६ हजार ५६२ मत पाउँदा कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो ।

यस्तै तत्कालीन नेकपा माओवादी केन्द्रले ५ हजार १५३, रास्वपाले ४ हजार ६८६ र मंगोल नेसनल अर्गनाइजेसनले १ हजार ६६१ समानुपातिक मत प्राप्त गरेका थिए ।

एमालेपछि कांग्रेसको दिग्विजय काठमाडौं–१ मा रवीन्द्र मिश्र बनाउँदै जितको माहोल

काठमाडौं । तेस्रोपटकको आक्रमणमा कान्तिपुरमाथि पृथ्वीनारायण शाहले विजय हासिल गरेको दृष्टान्त पेस गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र आफू पनि तेस्रोपटकमा विजयी हुने दाबी गरिरहेका छन् ।

उनले प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा लगातार हारे । लगातार चुनाव हारेको क्षेत्र काठमाडौं– १ हो । यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका मिश्र विजयी हुँदै संसद् पुग्ने तीब्र आकांक्षामा देखिएका छन् । उनी यतिबेला मत माग्दै घरदैलोमा छन् ।

आइतबार बिहान उनले एउटा भिडियो सामाजिक सञ्जालमा शेयर गरे । भिडियोमा एक जना समर्थकले ‘भोट के मा ? भनेर नारा लगाउँदा मिश्रसहित उनका समर्थकहरूको एउटा समूह ‘हलो’मा भनिरहेको देखिन्छ । जोसिलो पारामा केहीबेर नारा लगाएपछि ‘क्षेत्र नम्बर–१ मा कसलाई जिताउने ?’ भन्दा ‘रवीन्द्र मिश्रलाई’ भनेको देखिन्छ ।

मिश्रको दल राप्रपाले २०४८ यताको कुनै निर्वाचन काठमाडौं–१ मा जितेकै छैन । यदि मिश्रले जिते भने त्यहाँ राप्रपाको पहिलो जित हुनेछ । तर, पछिल्ला निर्वाचनहरूले त्यहाँ कांग्रेस, एमालेसहितका दलहरूको जनमत घट्दो देखाउँछ ।

२०७९ र २०७४ मा मिश्रले कांग्रेसका तत्कालीन उम्मेदवार प्रकाशमान सिंहलाई आछुआछु नै पारे ।

जबकि, सिंह २०६४ यताका हरेक निर्वाचनमा एकछत्र विजयी हुने नेता हुन् । सिंहको दिग्विजयले कांग्रेस मजबुत भएको देखाउँछ । तर, त्यसअघि त्यहाँ एमालेको संगठन बलियो थियो । २०५६ मा त्यहाँबाट एमालेबाट प्रदीप नेपाल विजयी भए ।

२०५३ को उपनिर्वाचनमा नारायणप्रसाद ढकाल, २०५१ को मध्यावधि निर्वाचनमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, २०५० को उपनिर्वाचनमा एमालेकै विद्यादेवी भण्डारी र २०४८ मा विद्या पति मदन भण्डारी विजयी भएका थिए ।

विगतको परिणामले यहाँ कांग्रेस र एमाले नै बलियो देखिन्छ । तर, जनमत जहिल्यै सीमित दलमा केन्द्रित हुँदैन । मतको अदलीबदली भइरहन्छ । त्यसो हुँदा यसपटक मिश्र राप्रपा र आफ्नो पहिलो जित निकाल्न प्रयासरत देखिन्छन् ।

उनीसँगको प्रतिस्पर्धामा कांग्रेसले प्रबल थापालाई उम्मेदवार बनाएको छ । एमालेल महेशराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीले रञ्जु दर्शनालाई मैदानमा उतारेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रेणुका भण्डारी र नेमकिपाबाट रमिला सुवाल पनि चुनावी मैदानमा छन् ।

यहाँको कुल मतदाता ४८ हजार ४ सय ८९ हो जसमध्ये महिला मतदाताको सङ्ख्या पुरुषको तुलनामा २ हजार १५ ले बढी छ । यहाँ २५ हजार २५२ महिला मतदाता छन् भने पुरुष मतदाता २३ हजार २३७ मात्रै छन् ।

भारतले साफ यू–१९ महिला उपाधि जित्यो, बंगलादेशलाई हरायो

काठमाडौं । भारतीय यू–१९ महिला टोलीले डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै साफ यू-१९ महिला च्याम्पियन्ससिपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा भारतले बंगलादेशलाई हराउँदै उपाधि हात पारेको हो। भारतले यस च्याम्पियनसिपमा तेस्रो पटक उपाधि जितेको हो। यसअघि भारतले सन् २०२२ र २०२४ मा उपाधि उचालेको थियो।

उपाधि रक्षा गर्ने लक्ष्यसहित फाइनल खेलमा उत्रिएको बंगलादेश यस पटक असफल रह्यो। बंगलादेशले सन् २०१८, २०२१, २०२३, २०२४ र २०२५ मा उपाधि जितेको थियो।

खेलको पहिलो हाफमा भारतले १–० को अग्रता बनायो। ४२औँ मिनेटमा जुलान नोङमाइथेमको गोलमा भारतले सुरुवाती अग्रता दिलायो। दोस्रो हाफमा भारतले थप तीन गोल गर्दै खेलमा दबदबा कायम राख्यो।

६३औँ मिनेटमा एलिजावेथ लार्काको गोलले अग्रता दोब्बर बनायो। त्यसको पाँच मिनेटपछि पर्ल फर्नान्डेजले गोल गर्दै स्कोर ३–० बनाइन्। खेलको ८३औँ मिनेटमा अंविता रघुरमनले गोल गर्दै भारतको जित ४–० मा पुर्‍याइन्।

सन् २०२४ मा बंगलादेशमा भएको फाइनलमा दुई टोलीबीच विवाद भएपछि साफले दुबै टोलीलाई संयुक्त विजेता घोषणा गरेको थियो।

प्रतियोगितामा बंगलादेश अपराजित रहँदै फाइनल खेलेको थियो भने समूह चरणमा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा रहे। घरेलु टोली नेपाल तेस्रो र भुटान चौथो स्थानमा रह्यो।

झापाका भूमिहीनहरूले ओलीलाई भने– हाम्रो समस्या एमालेबाहेकले समाधान गर्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापाको कमल गाउँपालिकामा रहेका भूमिहीनहरूले आफ्नो समस्या समाधान गर्न एमालेबाहेक अन्य विकल्प नभएको बताएका छन् ।

ओलीसँग शनिबार भएको भेटमा उनीहरूले भूमिसम्बन्धी समस्या समाधानका लागि एमालेकै नेतृत्व आवश्यक रहेको धारणा राखेका हुन् ।

भेटका क्रममा उनीहरूले आगामी दिनमा पनि निर्वाचन जितेर आफूहरूलाई जग्गाको धनीपुर्जा उपलब्ध गराइदिन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए ।

जवाफमा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले भूमिहीन तथा बसोबाससम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरेर काम सुरु गरे पनि सरकार परिवर्तनसँगै ती प्रयासहरू अवरुद्ध हुने गरेको बताए ।

उनले भने, ‘हामी आयोग गठन गरेर काम सुरु गर्छौं तर अरू सरकार आएपछि त्यसलाई भत्काइदिन्छन् । काम त आखिर हामीले नै गर्नुपर्ने हो ।’

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर– ५ का उम्मेदवारसमेत रहेका अध्यक्ष ओलीले कमल गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर स्थानीयसँग भलाकुसारी गरेका थिए ।

स्थानीयबासीहरूले एमाले र ओलीकै नेतृत्वमा गाउँको मुहार फेरिने गरी विकासका कामहरू अघि बढेको बताएका थिए ।

स्थानीयबासीहरूले एमाले र अध्यक्ष ओलीको कुनै विकल्प नरहेको उल्लेख गर्दै अधुरा विकास योजनाहरू पूरा गर्न फेरि पनि निर्वाचन जिताउने बताएका छन् ।

 

ओलीलाई शुभेच्छुकको हातमा फूल, गलामा खादा (भिडियो)

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्दा उनलाई फूल उपहार दिइएको छ ।

कसैले गलामा खादा लगाइदिएका छन् । निधारमा रातो टिका लगाएका ओलीलाई गृहजिल्लामा गरिएको भव्य स्वागत हो ।

ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । संसदीय निर्वाचनमा ओलीले आठौँपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । ५ माघमा उनले उम्मेदवारी दर्ता गरेका थिए ।

पार्टीको पक्षमा देशव्यापी चुनावी अभियानसमेत सञ्चालन गर्नुपर्ने अभिभारा बोकेका ओलीले चुनाव क्षेत्रका मतदातासँग भेटघाट गर्दैछन् ।

त्यसका लागि आएका ओलीले जिल्लावासीबाट न्यानो सत्कार पाएका हुन् ।

ओली गृहजिल्ला झापा पुग्दा फोटो खिच्न झ्यामिए समर्थकहरू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापामा पुगेका छन् ।

उनी चुनावी अभियानका लागि झापा पुग्दा समर्थकहरूको ठूलो भिड देखियो ।

साना बालबालिकादेखि वृद्धवृद्धासम्मका समर्थकहरूले उनीसँग तस्बिर खिचाउन चाहे । त्यहीबीचमा एक जना मतदाताले ओलीलाई ढाडस दिँदै भने, ‘हामी छौँ ।’

ओली यसपटक पनि झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । ६ पटक निर्वाचित हुँदा तीनपटक प्रधानमन्त्री भइसकेका ओलीलाई यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ मुख्य चुनौती छन् ।

नेकपा उम्मेदवार रञ्जित तामाङ, कांग्रेस उम्मेदवार मन्दरा चिमरिया, श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ पनि चुनावी मैदानमा छन् ।

अघिल्ला निर्वाचनहरूमा भन्दा यसपटक चुनावमा जितका लागि चुनौती थपिएको अवस्थामा ओलीको चुनाव क्षेत्रमा आगमन भएको हो ।

ओलीले बालेनलाई ‘बतासे अण्डा’ र ‘ठुटे सिङ भएका’ भनेर कमजोर प्रतिस्पर्धी आँकेका छन् ।

रवि भन्छन्– कांग्रेस–एमालेको राम्रा मान्छे निकाल्दैनौँ (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलीय जालोबाट देशलाई निकाल्नुपर्ने भएको बताएका छन्

यसको अर्थ कांग्रेस–एमालेको मान्छेलाई निकालेर रास्वपाको राख्ने नभनिएको स्पष्ट पारे ।

रास्वपा सरकारमा जाँदा राम्रा मान्छे भए तिनको निरन्तरता हुने सुनिश्चित गर्ने पनि बताए । त्यसबारे चिन्ता कसैले लिनुपर्ने उनको भनाइ छ ।

‘हामी हरेक क्षेत्रमा सुधार चाहन्छौँ तर तपाईंहरूलाई त्रसित बनाएर होइन, तपाईंहरूको विश्वास लिएर, संवैधानिक निकायहरूको विश्वास लिएर,’ उनले भने ।

तर, देशमा विधिको शासन हुनुपर्ने र कानुनी राज्य हुनुपर्ने उनले बताए ।

बालेनले माला लगाउन खोज्नेलाई हुत्याएपछि शर्माले भने– प्रधानमन्त्री बन्न संस्कार चाहिन्छ(भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रास्वपाले भावी प्रधानमन्त्रीमा प्रस्ताव गरेका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को आलोचना गरेका छन्

संस्कार, व्यवहार र आचरणसँगै राजनीतिमा योगदानको दृष्टिले बालेन प्रधानमन्त्री बन्न अयोग्य भएको शर्माले बताए ।

बालेनले हालै माला लगाउन खोज्ने शुभेच्छुकलाई हुत्याइदिएको प्रसङ्ग कोट्याउँदे शर्माले भने, ‘वडाध्यक्ष हुने मान्छेसँग विनम्रता खोजिन्छ, दुईवटा हात जोडिदियोस्, आमा नमस्कार गरिदियोस्, युवा साथीहरू भनेर अंकमाल गरिदियोस्, साथीहरूको कुरा सुनिदियोस्, खुसीमा नाचिदियोस्, कसको मापदण्ड यो ? वडाध्यक्षको । वडाध्यक्ष बन्नलाई पनि मापदण्ड यो हो । तर, प्रधानमन्त्री बन्नेलाई माला लगाइदिँदा हैट भनेर धकेलिदिरहेको अवस्था छ ।’

बालेन संस्कारयुक्त नभएको र उनी सन्की नेता भएको चित्रण गर्दै शर्माले पार्टीमा अनुशासनको प्रशिक्षण चलाउन रास्वपालाई सुझाव दिए । तर, कांग्रेसले प्रधानमन्त्रीमा अघि सारेको सभापति गगन थापा संस्कारयुक्त भएको उनको दाबी छ ।

‘कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवारले मेचीदेखि महाकालीसम्म पुग्दा ज्येष्ठ नागरिकको अघिल्लोतिर पुगेको बेला श्रद्धाले शिर निहुरिन्छ, युवा साथीहरू देखिए हात मिलाएर अंकमाल गर्दै तिम्रो जोसलाई लिएर जान्छु भन्न तयार हुनुहुन्छ’, उनले भने ।

उनले प्रधानमन्त्री पदलाई ‘करार’ जस्तो बनाएर सत्ताको सौदावाजी गर्ने प्रवृत्तिको कडा आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री नियुक्ति कुनै फाउन्डेसन, बन्द कोठा वा बाह्य दबाबको सहमतिबाट हुन नसक्ने स्पष्ट गर्दै उनले लोकतन्त्र र संविधानको मूल मर्म सम्झाउन खोजे ।

 

दुईपटक चुनाव लडेको र सरकारमा पुगेको रास्वपा कसरी नयाँ दल ? (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसबाट ललितपुर–२ मा उम्मेदवार रहेका उदयशम्शेर राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ नभएको बताएका छन् ।

लामिछाने दुईपटकसम्म उपप्रधान तथा गृहमन्त्री भएको भन्दै उनको दललाई नयाँ भन्न नमिल्ने बताए ।

चुनावी अभियानको क्रममा नयाँ दल र तिनका उम्मेदवारहरूलाई निर्वाचित गराउनुपर्ने भन्दै रास्वपाले प्रचार तीब्र पारेपछि पूर्वमन्त्रीसमेत रहेका राणाले रास्वपा दुईपटकसम्म सरकारमा गइसकेको दृष्टान्त पेस गर्दै नयाँ नभएको तर्क गरे । उनले रास्वपाले यसअघि पनि चुनाव लडेको बताए ।

‘भोटको लागि यहाँ नयाँ नयाँ भनेर हिँड्दै गर्छन्, मैले नबुझेको नयाँ पार्टी कुन हो मैले बुझिरहेको छैन,’ उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गर्दा मैले बुझेको अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी पहिलोचोटी चुनावको फिल्डमा उत्रिएको होइन, यो भन्दा पहिलेको निर्वाचनमा पनि उहाँहरूले उम्मेदवारी दिनुभएको थियो ।’

पटकपटक निर्वाचन लडिसकेको र सरकारमा गइसकेको दल कुनै पनि हालमा नयाँ हुन नसक्ने उनको भनाइ थियो । उनले भने, ‘उहाँहरू कसरी नयाँ भयो ? उहाँहरू पनि पुरानै पार्टी हो ।’

निवर्तमान सभापति शेरबहादुर देउवाभन्दा बढी विवादित रास्वपा सभापति रवि लामिछाने भएको तर्क गर्दै उनले कांग्रेसले नेतृत्व फेरेको तर रास्वपाले नफेरेका कारण उक्त दल परिवर्तित पार्टी नभएको पनि उनको जिकिर छ ।

फागुन २१ को निर्वाचनमा काँग्रेसलाई शानदार परिणाम ल्याउनबाट कसैले रोक्न सक्दैनः सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पु¥याउन सके २१ फागुनमा हुने निर्वाचनमा पार्टीले शानदार परिणाम ल्याउने दाबी गरेका छन् । शुक्रवार नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सो दाबी गरेका हुन् ।

उनले अगामी निर्वाचनमा पार्टीको जित कार्यकर्ता र नेतृत्वको सक्रियतामा निर्भर रहेको उल्लेख गर्दै सोहीअनुसार मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह पनि गरे। उनले विगतको निर्वाचनमा काँग्रेससँग असन्तुष्ट बनेका मतदातासँग सम्पर्क बढाउँदै पार्टीको सन्देशबारे जानकारी दिनुपर्ने बताए।

उनले जेन—जी नवपुस्तासँग समेत छलफल गर्नेगरी आफूहरु अघि बढिरहेको बताए। उनले पार्टीभित्र रहेको असन्तुष्टि र मतभिन्नताको समस्या समेत निर्मुल हुँदै गइरहेको बताए । उनले निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने विषयमा पूर्वसभापति शेरबहादुर देउवालगायतसँग निरन्तर संवाद भइरहेको पनि बताए ।

‘आजको दिनको हाम्रो सन्देश मात्रै ठिक ढंगले घरघरमा पु¥याउनसक्ने हो भने नेपाली काँग्रेस पार्टीले सानदार परिणाम ल्याउने कुरा कसैले रोक्न सक्दैन भइसक्यो भन्ने हैन, यो तपाईं र ममा भर पर्छ,’ उनले भने, ‘तल मतदाता छन् । ती मतदाता आजको दिनमा के सोचिरहेका छन् । २७ लाख मतदाताले अघिल्लो निर्वाचनमा हामीलाई मत हालेका हुन् हामीसँग रिसाएकै बेलामा । ती मतदातासँग आज गएर एकचोटि गएर बुझाउँदाखेरी पुग्छ।’

अबको सरकार काँग्रेसको मात्रै नभनी ‘अबकी बार सय पार’का नारा लगाउन समेत कार्यकर्तालाई सभापति थापाको आग्रह छ ।

संघीय संसद भवनको निर्माण कार्य चैत्र पहिलो हप्ताभित्र सक्न सम्बन्धित पक्षलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैत्रको पहिलो हप्ताभित्र संघीय संसद भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रवार सिंहदरवारस्थित कार्यकक्षमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण कार्यमा सम्पन्न सम्बन्धित पक्षलाई बोलाएर उनले सो निर्देशन दिएका हुन् ।

नयाँ संसद भवनबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभा सञ्चालन गर्नेगरी कुनैपनि अवरोध नहुने गरी काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई अध्यक्ष दाहालले निर्देशन दिएकाे संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। त्यसक्रममा शहरी विकास मन्त्रालयका सचिव सिग्देलले अध्यक्ष दाहाललाई संसद भवनको निर्माण कार्य करिव ९२ प्रतिशत सकिएको र बाँकि काम पूरा गरी चैत्रको पहिलो हप्ता निर्माण कार्य सम्पन्न गर्न सकिने व्रिफिङ गरेका थिए ।

यता, अध्यक्ष दाहालले भने सोही समयमा सक्नेगरी कार्य सम्पन्न गर्नका लागि नियमित अनुगमन गर्न संसद सचिवालयलाई सचेतसमेत गराए। उनले सो कार्यको प्रगति विवरण हप्ता हप्ता दिनमा संघीय संसद सचिवालयका गराउन पनि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताए ।

सदावहार विजयकुमार: १२ पटक मन्त्री बनेका गच्छदार ८ औंपटक उम्मेदवार(भिडियाेसहित)

काठमाडाैं । सातवटा चुनाव लडेर ६ चुनावमा विजयी भएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौं पटक संसदिय चुनाव लड्न तिव्र तयारी गरिरहेका छन् । 

गच्छदार नेपाली राजनीतिमा चतुर खेलाडी मानिन्छन् । २०४६ सालपछिको सत्ता राजनीतिको भरमग्दुर उपयोग गर्दै सबैभन्दा धेरैपटक मन्त्री बन्ने नेताको सूचीमा गच्छदार दोस्रो नम्बरमा छन् । उनी हालसम्म विभिन्न राजनैतिक दल परिवर्तन गर्दै १२ चोटी मन्त्री बनेका छन् । उनको निर्वाचन क्षेत्र सुनसरी-३ हो, जहाँबाट उनी २०४८ सालयता भएका सातवटा संसदीय चुनावामध्ये ६ वटामा अपराजित रहे।  तर गएको २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी पराजित हुन पुगे।  सातौपटक संसद प्रवेश गर्दै १३ औ पटक मन्त्री बन्ने उनको सपनालाई एमालेकी भगवती चौधरीले तुहाइदिइन्। 

गच्छदार फेरि सुनसरी-३ बाट उम्मेदवार बनेका छन्।  पुरानो कांग्रेसमा सधैंभरी अवसर पाएका गच्छादारलाई बदलिएको कांग्रेसमा पनि टिकट पाउन कुनै समस्या भएन । विशेष महाधिवेशनबाट गगन थापा सभापति भए र काँग्रेस बदलिएको उद्घोष गरे । पार्टीका निर्वतमान सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आर्जु राणा देउवादेखि प्रकाशमान सिंहजस्ता हस्तीहरूलाई गगनले टिकट दिएनन् । तर, बदलिएको कांग्रेसले पनि गच्छदारको राजनीतिमा ब्रेक लगाउन सकेन । उनी यतिबेला ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्दै चुनावी मैदानमा उत्रिएका छन्। बद्लिएको कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टी भ्रष्टाचारविरूद्धको योद्धा बनेर आएको बताइरहँदा सर्वोच्चमा भ्रष्टाचारकै मुद्धा झेलिरहेका गच्छादार उनको पार्टीबाट सांसद बन्न प्रतिस्पर्धामा छन् । 

यसपटक पनि उनको प्रतिष्पर्धा एमालेकी भगवती चौधरीसँग हुने देखिएको छ। राजनीतिमा उनको छवि त्यति सङ्ग्लो छैन। ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल एमाले उपाध्यक्ष विष्णु पौडेलसँगै गच्छदारको नाम पनि मुछिएको थियो। पछि विशेष अदालतले उनलाई यो मुद्दामा सफाई दियो।  तर, अहिलेपनि ललिता निवास प्रकरणको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ। यसले उनको यसपटकको चुनावी अभियानलाई पनि थप जटिल बनाइदिन सक्छ।

गच्छदार २०४३ सालको पंचायती निर्वाचनमा सुनसरी जिल्लाको सभापतिमा पराजित भए।  त्यसयता २०४८ सालदेखि ७४ सालसम्म उनको संसदीय यात्रा अविजित रह्यो। २०४८ सालको आमनिर्वाचनमा उनले एमालेका लीला सुब्बालाई सुनसरी-३ मा पराजित गरे। 

गच्छदारले सुनसरी-३ बाटै २०४८,२०५१,२०५६ र २०७४ को निर्वाचन नेपाली कांग्रेसको उम्मेदवार भएर जिते। २०६२/६३ को जनआन्दोलनपछि मधेश आन्दोलन चर्किदै थियो।  त्यसबेला गच्छदार काङ्ग्रेस छोडेर तत्कालिन मधेसी जनाधिकार फोरम तिर सक्रिय बने। फोरम गच्छदारका लागि २०६४ को निर्वाचन जित्ने प्लेटफर्म बन्यो।  २०६४ को निर्वाचन फोरमबाट जितेका गच्छदारले पार्टी फूटाउदै आफ्नै नेतृत्वमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) गठन गरे। २०७० सालको दोस्रो संविधानसभा निर्वाचन उनले लोकतान्त्रिक बाटै जिते। 

०७० को निर्वाचनपछि उनी आफ्नै पुरानो राजनैतिक दल कांग्रेसमा फिर्ती भए। ०७४ को निर्वाचनमा उनले एमालेकी भगवती चौधरीलाई पराजित गर्दै संसद प्रवेश गरे।  तर ०७९ को निर्वाचनसम्म आइपुग्दा सुनसरी-३ को चुनावी परिणाम फेरियो।  भगवतीले चुनाव जितिन्। यसपटक गच्छदार अघिल्लोपटकको चुनावी नतिजा उल्ट्याउने मनासायसहित चुनावी मैदानमा छन्। तर, आरोपै आरोपको चाङ बोकेर चुनावी प्रतिष्पर्धामा उत्रेका उनका लागि इच्छित परिणाम निकाल्न भने सहज देखिँदैन। 

कहिले के मन्त्री बने ? 

२०४८ सालको आमनिर्वाचन जितेका गच्छदारको लागि त्यहीँबाट मन्त्री बन्ने ढोका खुल्यो। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मा पाए। त्यसपछि २०५१ को निर्वाचनपश्चात् मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढल्यो। शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो।  त्यो सरकारमा गच्छदार निर्माण तथा यातायात मन्त्री बने। 

गच्छदार नेपाली राजनीतिका ती चतुर पात्र हुन्, जो पंचायत, बहुदल र गणतन्त्रका सबै नेता र नेतृत्वमा मन्त्री बने।  तत्कालीन राजा विरेन्द्र र ज्ञानेन्द्रको पनि रोजाईमा परेका उनी गणतन्त्र आइसकेपछि पनि निरन्तर सत्ताको कुर्सीमा विराजमान भइरहे। 

२०५४ मा बनेको सुर्यबहादुर थापा नेतृत्वको सरकारमा निर्माण तथा यातायात मन्त्री बनेका उनी २०५५ को गिरिजाप्रसाद कोईराला नेतृत्वको सरकारमा सोही मन्त्री थिए। त्यसपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा उनले पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाए। सोही वर्ष भट्टराईको क्याबिनेट पुनर्गठन भयो।  पुनर्गठन भएको क्याबिनेटमा गच्छदार जलस्रोत मन्त्रीमा नियुक्त भए। 

२०५८ मा कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने। देउवाको क्याबिनेटमा गच्छदारलाई फेरि जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइयो। त्यसपछि भने गच्छदार २०६५ सम्म मन्त्री बनेनन्। २०६४ को निर्वाचनमा काङ्ग्रेस त्यागेर मधेसवादी दलबाट चुनाव जितेका उनी २०६५ को पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री बने। 

तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रकरण चर्को बनेपछि प्रचण्ड नेतृत्वको सरकार छोटो समयमै ढल्न पुग्यो।तत्कालिन एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री बने। नेपाल नेतृत्वको सरकारमा गच्छदारको पनि बढुवा भयो।  यसपटक उनी भौतिक योजना मन्त्रीसँगै उपप्रधानमन्त्री पनि बने। 

त्यसको २ वर्षपछि गच्छदार गृहमन्त्री बने। उपप्रधानमन्त्री त अब उनको नियमितता जस्तै बनिसकेको थियो।  यो बेला देशको प्रधानमन्त्री तत्कालीन माओवादी नेता बाबुराम भट्टराई थिए। त्यसपछि उनी २०७२ मा मन्त्री बने।  एमाले नेता केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारमा उनले भौतिक पुर्वाधार तथा उपप्रधानमन्त्रीको जिम्मेवारी पाए।उनको मन्त्रीका रुपमा अन्तिम कार्यकाल २०७४ मा थियो।  उनी त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास तथा उपप्रधानमन्त्री थिए। त्यसयता गच्छदार मन्त्री बन्न पाएका छैनन्।  २०७४ को चुनाव कांग्रेसबाट नै जितेपनि यसपटक उनी न देउवाको रोजाईमा पर्न सके, न ओली न प्रचण्डको रोजाइमा परे। तर, १२ पटक मन्त्री, ६ पटक सांसद बनिसकेका गच्छदार फेरि मन्त्री बन्ने आकांक्षा बोकेर दाउसहित चुनावी प्रतिष्पर्धामा छन्। 

आफूलाई नयाँ दाबी गर्दै प्रचण्ड भन्छन्, ‘नयाँ भन्नेहरू दलालका एजेन्ट हुन्’

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गरेका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारूलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी आफ्नो भएको जिकिर गरे । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै दाहालले तथाकथित नयाँ भन्नेहरूकै कारण देश संकटमा परिरहेको टिप्पणी गरे । दाहालले विचार र एजेण्डाका आधारमा मात्र को नयाँ र को पुरानो भन्ने छुट्याउनुपर्ने तर्क गर्दै राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै वास्तविक नयाँ भएको स्पष्ट पारे।

‘नयाँ र पुरानाका कुरा छन्आ, जभोलि नयाँ नयाँ भन्नेतिर मान्छेहरुलाई सोसल मिडियामार्फत निकै नै होहल्ला गरिएको छ,’ उनले भने, ‘नेपालमा हामी भन्दा नयाँ कोही पनि छैनन् । नेपाली कम्युनिष्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो।’

संयोजक दाहालले परिवर्तनको माध्यममा बसेर परिवर्तनकै वाहकहरुलाई गाली गर्नेहरु नयाँ हुन नसक्ने बताए ।

गृहजिल्ला पुगेर ओलीकाे दावा, झापा सूर्यमय हुन्छ

भद्रपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताएका छन्। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले झापा यसपटक पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गरे।

‘अहिले देश विषम परिस्थितमा पुगेको छ । देशलाई जोगाउन एमालेमय झापा र एमालेमय देश बनाउन आवश्यक छ’- उनले भने । झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उनले झापालाई सूर्यमय बनाउन सबै नेता-कार्यकर्ता तथा समर्थकलाई आ-आफ्नो स्थानबाट योगदान गर्न आग्रह पनि गरे।

अध्यक्ष ओलीले युवाहरू एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागिरहेको बताउँदै युवापुस्ताको ऊर्जा र सहभागिताले पार्टीलाई अझ मजबुत बनाउने धारणा व्यक्त गरे।

अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले) सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाललगायत पार्टीका नेता–कार्यकर्ता र युवाहरूको ठूलो उपस्थितिमा भव्य स्वागत गरिएको थियो।

देश निर्माणको बहस होइन, सञ्जालमा गालीगलोजको बाढीपछि…(भिडियो)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले जनजीवनकेन्द्रित राजनीतिक मुद्दा भन्दा पनि सामाजिक सञ्जालमा गालीगलोजको बाढी आएकोप्रति असन्तुष्टि जनाएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनअघि खासगरी नयाँ भनिएका दलका नेता, कार्यकर्तादेखि समर्थकहरू र पुराना भनिएका दलका नेता, कार्यकर्ताहरूदेखि समर्थकहरू आपसी छेडछाडमा उत्रिने गरेको अवस्थाबीच शर्माको असन्तुष्टि प्रकट भएको हो ।

उनका अनुसार निर्वाचनअघि दलहरूले जनतामाझ आफ्नो सैद्धान्तिक, राजनीतिक र देश विकासको कार्यक्रमिक योजना लानुपर्छ ।

राष्ट्रियता, जनजीविका, जनजीवनको परिवर्तनलगायत मुद्दामा बहस नै गरेका छैनन् । यसप्रति रुष्ट उनले शुक्रबार राष्ट्रिय सभा बैठकमा भने, ‘फेसबुकमा जे पायो त्यही लेख्या छ, गालीगलोज गर्‍या छ । तथानाम गर्‍या छ, यसले त असहिष्णुता निर्माण गर्छ, दृष्टिकोण गलत हुने देखिन्छ,’ उनले भने, ‘हामी कसको पक्षमा काम गर्दैछौँ ? राष्ट्रियता, जनजीवन, जनपरिवर्तनको दृष्टकोण के हो ? कार्यक्रम, नीति र सिद्धान्तको कार्यान्वयन कसरी ?’

यतिबेला सामाजिक सञ्जालहरू उत्तेजना, लाञ्छना, घृणा, विद्वेष र भ्रम फैलाउने माध्यम बनेका छन् ।

नयाँ भनिएका दलहरू रास्वपा, श्रम शक्ति पार्टीलगायत दलका खासगरी नेता कार्यकर्ता र समर्थकहरूले पुराना भनिने कांग्रेस, एमाले, नेकपा, राप्रपादेखि जसपासम्मका दलका नेताहरूलाई भ्रष्ट भन्दै आरोपित गरिरहेका छन् ।

पुराना भनिएका दलका नेता, कार्यकर्तादेखि समर्थकहरूले नयाँ भनिएका दल र तिनका नेताहरूलाई ‘विदेशी दलाल’ जस्ता गम्भीर आरोप लगाइरहेका छन् ।

अझ तल्लोस्तरका गालीगलोज र टिप्पणी पनि हुने गरेका छन् ।

के हो पश्चिमी विश्वमा तहल्का मच्चाइरहेको एप्स्टिन फाइल्स?

३० लाख पृष्ठका अभिलेख, एक लाख ८० हजार फोटो र दुई हजार भन्दा धेरै भिडियोहरूले यतिबेला युरोप र अमेरिकामा तहल्का मच्चाइरहेको छ, जसले पश्चिमी दुनियाँका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूलाई विवादमा तानेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि पूर्वराष्ट्रपति बिल क्लिन्टनसम्म, बेलायती राजपरिवारका सदस्य प्रिन्स एन्ड्र्युदेखि सबैभन्दा धनी व्यक्तिहरू इलन मस्क र बिल गेट्ससम्म विवादमा तानिएका छन् । यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय धनाढ्य अनिल अम्बानीसम्मको नाम तानिएको छ ।

एप्टिन फाइल्स नाम दिइएको यो सनसनपूर्ण खुलासाको केन्द्रमा छन्, जेफ्री एप्सटिन । एप्सटिनले सन् २०१९मा पक्राउ परेपछि जेलमा नै आत्महत्या गरेको खबर सार्वजनिक भए पनि उनको मृत्यु रहस्यमय रहेको बताइन्छ । अमेरिकाको न्याय मन्त्रालयले गएको शुक्रबार यो प्रकरणसँग सम्बन्धित ३० लाख पृष्ठका अभिलेख, लगभग १,८०,००० तस्वीर र २,००० भन्दा बढी भिडियोहरू सार्वजनिक गरेको थियो । यसमा अदालतका कागजात, इमेल, खोजी वारेन्ट, उडान अभिलेख र अन्य अनुसन्धान सामग्रीहरू समावेश छन्।

को हुन् जेफ्री एप्सटिन?

सन् १९५३ मा न्यूयोर्क, संयुक्त राज्य अमेरिकामा जन्मिएका जेफ्री एप्स्टिन वित्तीय क्षेत्रमा धनी र प्रभावशाली व्यक्तिका रूपमा परिचित भए। प्रारम्भिक जीवनमा उनी गणितमा प्रतिभाशाली थिए र केही समय म्यानह्याटनको डाल्टन स्कूलमा गणित पढाए। तर, १९७६ पछि उनी वित्तीय क्षेत्रमा लागे र बियर स्टिअर्न्स बैंकमा काम सुरु गरे। केही वर्षमै साझेदार बनेका एप्स्टिनले पछि आफ्नै वित्तीय कम्पनी खोले, जसलाई उनले द फाइनान्सियल ट्रस्ट नाम दिए। यो व्यवसायिक यात्राले उनलाई धनी र शक्तिशाली मानिसहरूसँग जोड्ने काम गर्यो।

सन् १९९० दशकको सुरूआत र २००० दशकमा एप्स्टिनले क्यारिबियनको लिटल सेन्ट जेम्स नामक टापु किनेर आफ्नो निजी मनोरञ्जनको लागि प्रयोग गर्न थाले। एप्सटिन फाइल्स प्रकरण यही टापुसँग सम्बन्धित कर्तुतहरूको पर्दाफास गर्ने दस्तावेज हो ।

यो टापु पूर्ण रूपमा उनको नियन्त्रणमा थियो, जहाँ सार्वजनिक पहुँच थिएन र सरकारी निगरानी न्यून थियो। यही कारण यो टापु पछि “एप्स्टिन आइल्याण्ड” भनेर कुख्यात बन्यो। अदालतका कागजात र पीडितहरूको बयान अनुसार, यही टापुमा नाबालिग केटीहरूलाई ल्याएर यौन शोषण गरिन्थ्यो।

सन् २००६ मा पहिलोपटक उनलाई बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ गरिएको थियो र १८ महिना कैद सजाय भएको थियो। तर, एक विवादास्पद प्रावधानका आधारमा हरेक दिन १६ घन्टासम्म कामका लागि जेलबाहिर जान दिने व्यवस्था गरियो। राजनीतिक पहुँचकै कारण उनले त्यस्तो सुविधा पाएका थिए। अर्थात, थुनामा रहे पनि उनले त्यहाँ ८ घण्टा मात्रै बिताउनु पर्थ्यो ।

उनी १८ महिनाको सजाय पूरा नगरी १३ महिनामै रिहा भए। त्यसपछि पनि आफ्नो धन्दा जारी राखेको भन्ने गरिन्छ । सन् २०१९ मा एप्स्टिन फेडरल यौन तस्करीको आरोपमा पुनः पक्राउ परे। उनलाई म्यानह्याटन जेलमा राखिएका अवस्थामा १० अगस्ट २०१९ मा आत्महत्या गरे।

आधिकारिक रिपोर्टले उनको मृत्यु आत्महत्या भएको पुष्टि गरेको भए पनि, जेलको सुरक्षा कमजोरी, सिसिटिभी फुटेजको कटौती र निगरानी अभावले भएको धेरैको शंका छ। कतिपयले एपस्टिनको मृत्यु आत्महत्या नभएर हत्या हो भन्ने दाबी गरेका छन्। यस्तो दाबी गर्नेमा ट्रम्पका समर्थक नै थिए। उनीहरू यहाँसम्म भन्थे डेमोक्र्याटिक पार्टीमा आबद्ध शक्तिशाली व्यक्तिहरू बाल वेश्यावृत्तिमा संलग्न छन् ।

एप्स्टिनको कर्तुतमा जोडिएका संसारका धनाढ्य र शक्तिशालीहरू

एप्स्टिनकी नजिककी सहयोगी तथा प्रेमिका घिस्लेन म्याक्सवेल अहिले जेलमै छिन्। म्याक्सवेल एप्स्टिनको नेटवर्कमा प्रमुख भूमिकामा रहेर किशोरीहरू खोज्ने तथा अपराध व्यवस्थापनमा सहयोग पुर्‍याउने कार्यमा संलग्न रहेको अदालतले ठहर गरेको छ। उनी सन् २०२१ मा दोषी ठहर भइन् । उनलाई २० वर्ष कैद सजाय सुनाइएको छ। अनुसन्धान र अदालतमा पेश भएका प्रमाणहरू तथा केही पीडितका बयानअनुसार, एप्स्टिन र म्याक्सवेलले किशोरीहरूलाई पैसा, अवसर र भविष्यको वाचा गरेर आफ्नो नियन्त्रणमा ल्याउने र यौन सम्बन्धमा संलग्न गराउने प्रयास गरेका थिए। ती किशोरीहरूलाई एप्स्टिनको निजी टापु, फ्लोरिडा र न्यूयोर्कस्थित उनका घरहरूमा लगेर यौन शोषण गरिएको प्रमाण पनि अदालतमा प्रस्तुत गरिएको थियो।

एप्स्टिनको अपराध प्रणालीमा धेरै शक्तिशाली व्यक्तिहरूको नाम जोडिएको छ। अमेरिकी दस्तावेज र उडान अभिलेखहरू अनुसार, पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, बेलायती राजपरिवारका सदस्य प्रिन्स एन्ड्र्यू, इजरायलका पूर्वप्रधामन्त्री एहुद बाराक र भारतीय प्रधामन्त्री नरेन्द्र मोदी जस्ता शक्तिशाली व्यक्तिहरू एप्टिनको नीजी टापु पुगेको वा संवादमा  रहेको खुलासा भएको छ । यस्तै,  टेस्ला/स्पेस एक्सका संस्थापक एलोन मस्क, माइक्रोसफ्टका सह संस्थापक बिल गेट्स, भारतका भारतीय व्यवसायी अनिल अम्बानीजस्ता धनाढ्य मानिसहरू छन् । शक्तिशाली र धनाढ्यमात्रै होइन, नोम चोम्स्की र क्यानडियन भौतिकशास्त्री लरेन्स क्रौसजस्ता विद्वानहरू पनि एप्सटिनसँग उनको गोप्य अपराधको बारेमा संवादमा रहेको देखिन्छ ।

२००२ मा न्यूयोर्क म्यागेजिनसँग एप्स्टिनबारे लेखेको लामो लेखमा ट्रम्पले भनेका थिए, ‘मैले जेफ्रीलाई १५ वर्षदेखि चिनेको छु। धेरै गज्जबका मान्छे, उनीसँग बस्दा धेरै रमाइलो हुन्छ। सुन्दर महिलाहरू मलाई जति मन पर्छ, उनलाई पनि त्यति नै मन पर्छ। तीमध्ये धेरैजसो कम उमेरका छन्। यसमा कुनै शंका छैन, जेफ्री आफ्नो सामाजिक जीवनको आनन्द लिन्छन्।’

‘द न्यूयोर्क टाइम्स’का अनुसार ट्रम्पले एपस्टिनको निजी विमानमा सातपटक यात्रा गरेका थिए। ट्रम्पले आफूले ती यात्रामा एपस्टिनको टापु कहिल्यै नगएको र कुनै अवाञ्छित गतिविधिमा संलग्न नभएको बताएका छन्।

एप्स्टिनको सन् २०१९ मा मृत्यु भएपछि उनका सम्पत्तिहरू कानुनी प्रक्रियाअन्तर्गत ल्याइए। सन् २०२२ मा एप्स्टिनको सम्पत्ति व्यवस्थापन पक्ष र यूएस भर्जिन टापुबीच करिब १०५ मिलियन डलरको समझौता भएको थियो। उक्त समझौताअनुसार लिटिल सेन्ट जेम्स टापु सहित एप्स्टिनका विभिन्न सम्पत्तिहरूको बिक्री तथा प्राप्त रकम यौन शोषणका पीडितहरूको क्षतिपूर्ति, सहयोग कार्यक्रम र सरकारी ट्रस्टमार्फत प्रयोग गरिएको छ। यद्यपि एप्स्टिनले अदालतबाट अन्तिम सजाय नपाउँदै जेलमै आत्महत्या गरेकाले, यस प्रकरणसँग जोडिएका धेरै कानुनी र नैतिक प्रश्नहरू अझै पूर्ण रूपमा स्पष्ट हुन सकेका छैनन्।

गत शुक्रबार न्याय मन्त्रालयले ३० लाख पृष्ठ सार्वजनिक गर्नुअघि पनि करिब ५ लाख पृष्ठ जति अभिलेख सार्वजनिक भइसकेको थियो । तर, अझै करिब ३० लाख पृष्ठ अझै पनि न्याय मन्त्रालयले सार्वजनिक गरेको छैन । पीडितहरूको जानकारी लगायतका संवेदनशील विषय रहेकाले सार्वजनिक गर्न नसकिने न्याय मन्त्रालयले बताइरहेको छ । तर, दस्तावेज सार्वजनिक गर्न मन्त्रालयमाथि दबाव बढिरहेको छ ।

एप्स्टिनको मृत्युपछि पनि उनका गतिविधिहरू, टापु र शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्धबारे बहस जारी छ।

बहुमत माग्न देशभर जानुपर्छ : रवि लामिछाने (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बहुमतको सरकार गठन गर्न नसकिए इतिहासले दिएको अवसर गुम्ने बताएका छन् ।

बहुमतकै प्राप्तिकै लागि देशको विभिन्न ठाउँमा मत माग्न आफू जानुपर्ने बताए ।

‘कम्तीमा पनि आफ्नै बहुमतको सरकार बनाउन सकिएन भने इतिहासले दिएको अवसर हामीले गुमाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि विभिन्न ठाउँमा पुग्नुपर्ने हुन्छ, तपाईंहरूलाई यति अनुरोध गर्न चाहन्छु ।’

लामिछानेले अन्तिम लडाइँ लड्न यसअघि सरकारमा गएको स्पष्ट पारेका छन् ।

उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा केही महिना उपप्रधान तथा गृहमन्त्री भएका थिए ।

त्यसबेला समर्थकहरूले नै सरकारमा लामिछाने र रास्वपाको आलोचना गरेका थिए ।

 

रक्षा बमले रास्वपा समर्थकहरूलाई भनिन्-अपराध भनेको अपराध नै हो, कारबाही हुनैपर्छ

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको प्रचारमा प्रयोग गरिएको गाडीले एक चार वर्षीया बालिकालाई ठक्कर दिएको र उनको ज्यान गएको घटनामा सत्य ढाकछोप गर्ने प्रवृत्ति देखिएको भन्दै कडा आलोचना गरेकी छिन् ।

रास्वपा नेता, कार्यकर्ता र समर्थकहरूप्रति लक्षित गर्दै उनले अपराधलाई अपराधकै रूपमा हेर्नुपर्ने र दोषीलाई राजनीतिक संरक्षण दिन नहुने स्पष्ट पारेकी छन् ।

बमले कुनै पनि राजनीतिक दलमा आवद्ध हुँदैमा सत्यलाई गलत र गलतलाई सही साबित गर्ने प्रवृत्ति न्यायका लागि खतरनाक भएको बताएकी छन् । ‘ सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस बिना राजनीति होइन, केवल अन्धभक्ति मात्रै बाँकी रहन्छ,’ उनले स्टाटसमा भनेकी छन् ।

नेकपा एमालेका कोशी प्रदेशका मन्त्री राम राना सवार गाडीले ललितपुरमा एक बालिकालाई ठक्कर दिएको घटनालाई लिएर अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले त्यसबेला आक्रोशित बनाएको भन्दै बमले रौतहटमा नाबालिका मारिएको घटनामा रास्वपा नेताहरूबाट आएको अभिव्यक्तिले पनि त्यस्तै बनाएको बताएकी छिन् ।

उनले आज फेरि त्यस्तै गल्ती दोहोरिएको बताइन् । उनले ठक्कर दिने गाडीका चालकलाई कारबाही हुनुपर्ने माग राखेकी छन् ।

‘याद राख्नुहोस् साथीहरू, तपाईंको मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो । कसुर अनुसार कारबाही हुन्छ, हुनैपर्छ,’ उनले जोड दिएकी भनिन् ।

सरकारले घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै उनले राजनीतिक खोल ओढेर दोषिलाई उन्मुक्ति दिन काम नगर्न चेतावनी दिएकी छन् ।

नाबालिकालाई ठक्कर दिएको सीसीटीभी फुटेज यतिबेला भाइरल छ, जहाँ घुम्ती सडकमा बायातिरबाट नाबालिका आएको देखिन्छ । तीब्र गतिको रास्वपा उम्मेदवारको प्रचारमा प्रयोग भएको गाडीले ठक्कर दिन्छ ।

पछाडिको टायरले नाबालिकालाई पेलेको देखिन्छ । लगत्तै सडक किनारामा बसिरहेका मानिसहरू आएर नाबालिकालाई उद्धार गर्छन् । तर, उनको मृत्यु भइसक्छ ।

यही भिडियो हेरेर यतिबेला रास्वपा नेताहरूको आलोचना भइरहेको छ । रास्वपा समर्थक र अन्यबीच सामाजिक सञ्जालमा घोचपेज चलिहरेको छ ।

भिडियो सार्वजनिक भएपछि रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार घटनाले स्तब्ध भएको भन्दै पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने बताएका छन् ।

सर्वोच्चले संसद पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा काँग्रेस सांसद ढुंगानाको असन्तुष्टि

काठमाडाैं । राष्ट्रिय सभाका नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रवार राष्ट्रिय सभा बैंठकमा विशेष समय लिएर बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।

सांसद ढुंगानाले सर्वोच्च अदालतका न्यायाधिशहरु यति धेरै निरीह भएको आफूले यसअघि कहिल्यै नदेखेको जिकिर समेत गरे। उनले पञ्चायत कालमा पनि न्यायाधीशहरुले मुद्दाको किनारा लगाउने कामलाई प्राथमिकता दिने गरेको दृष्टान्त पेश गर्दै अहिले त्यो अवस्था नहुनु चिन्ताको विषय भएको बताए।

‘यो देशको राष्ट्रियता कमजोर भयो । संसद पुनःस्थापनाका लागि मुद्दा परेको छ । न्यायाधीशहरु यति निरीह भइरहनु भयो,’सांसद ढुंगानाले भने, ‘नेपालको न्यायाधीश किन यति निरीह भए मलाई थाहा छैन । पञ्चायतका, राजाको कालमा पनि आफूमाथि राजकाजको मुद्दा पर्दा तत्काल फैसला हुन्थ्यो । तर आज त्यस्तो अवस्था छैन ।’

सांसद ढुंगानाले सरकारले राष्ट्रिय हितको पक्षमा आवश्यक ध्यान दिन नसकेको आरोप पनि लगाए ।

गाली–गलौज गरेर राजनीति सफल हुँदैन : थापा

ओखलढुंगा। ओखलढुंगाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अस्मिता थापाले कसैलाई गाली–गलौज गरेर राजनीति सफल नहुने बताएकी छिन्। नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी थापाले शुक्रबार ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा आरोप–प्रत्यारोपभन्दा सकारात्मक एजेण्डाका साथ जनतामाझ जाने स्पष्ट गरिन् ।

‘म चुनावी मैदानमा जाँदै गर्दा कसैलाई गाली गर्ने, आरोप–प्रत्यारोप गरेर ओखलढुंगाको माटो बदनाम गर्ने पक्षमा छैन,’ उनले भनिन्, ‘हामीले मुद्दा र दृष्टिकोणबाट प्रतिस्पर्धा गर्नुपर्छ।’

उनले आफू युवा पुस्ताकै प्रतिनिधि भएकाले समयको पदचाप र नयाँ पुस्ताको भावना अन्य उम्मेदवारभन्दा नजिकबाट बुझेको दाबी गरिन्। ‘युवा पुस्ता के चाहन्छ भन्ने कुरा मैले आफैँ त्यही पुस्ताको भएकाले राम्रोसँग बुझेकी छु,’ उनको भनाइ थियो।

गाउँपालिका उपाध्यक्षका रूपमा काम गर्दा स्थानीय समस्या नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै उनले विशेष गरी महिला, आमा–दिदीबहिनीका पीडा र आवश्यकताबारे आफू संवेदनशील रहेको बताइन्। ‘गाउँमा बसेर यहाँका समस्या र समाधानका उपाय नजिकबाट देखेकी छु, अब मैले देखेका र भोगेका विषयलाई विधि निर्माणको थलोमा पुर्‍याएर जनताको आवाज बोल्नेछु,’ उनले भनिन्।

अग्रज नेताहरूले थालेका अधुरा विकास आयोजना पूरा गर्ने तथा मानवीय पुँजी विकासलाई प्राथमिकता दिने योजना आफूले अघि सारेको उनले जानकारी दिइन्। व्यावसायिक तथा रोजगारमूलक शिक्षा र आधारभूत स्वास्थ्य सेवा आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले विगतमा अघि सारिएका र सम्पन्न हुन बाँकी रहेका विकास आयोजना अब युवा उम्मेदवार अस्मिता थापाको नेतृत्वमा टुङ्गिने विश्वास व्यक्त गरे। समयको मागअनुसार स्वच्छ छवि र जुझारु युवा नेतृत्वलाई पार्टीले उम्मेदवार बनाएको उनले बताए । ‘आठवटै पालिका र वडामा पुग्दा हाम्रो उम्मेदवारप्रति जनताको अपार समर्थन देखिएको छ,’ उनले दाबी गरे।

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै केही व्यक्तिले पार्टी छाडे पनि त्यसको प्रभाव न्यून रहेको उनको भनाइ छ। ‘जिल्ला नेतृत्वसँग असन्तुष्ट भएर निष्क्रिय बसेका धेरै साथीहरू अहिले पार्टी जिताउन एकजुट भएका छन्,’ सुनुवारले उल्लेख गरे।

 

दुर्गा प्रसाई पक्राउ

काठमाडौं ।‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईं पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

यसअघि पनि ५ माघमा प्रसाईं पोखराबाट पक्राउ परेका थिए ।

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ : उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको फैलावटले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल रूपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत् फैलिँदै गएको भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकारहरू जिम्मेवार र सचेत हुनुपर्नेमा उनले जोड दिए ।

“समाजमा झुटो सूचनाको बिगबिगी छ । सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रुपमा विकास भइरहेका छन्, यसलाई रोक्न सकिएन भने समाजमा गम्भिर समस्या पैदा हुन्छ”, उपाध्यक्ष पौडेलले भने, “झुटो भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकारहरू जिम्मेवार र सचेत हुनुपर्छ । प्रेस चौतारीलाई यसको अगुवाइ गर्न आग्रह गर्दछु ।”

विज्ञान र प्रविधिले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याइरहेको भन्दै पौडेलले विज्ञान तथा प्रविधिको विकाससँगै विश्व साँघुरो बन्दै गएकाले यसको प्रयोग मानवहितका लागि हुनुपर्ने बताए ।

उनले विज्ञान र प्रविधिले जति नै ठूलो परिवर्तन गरे पनि मानिस नै अन्तिम सत्य हुने स्पष्ट पारे । “प्रविधिले मान्छेको ज्ञान र विवेकलाई विस्थापित गर्न सक्दैन”, उनले भने, “मानिसले विज्ञानको सहायताले आफ्नो दैनिकी सहज बनाइरहेको छ, तर आफ्नै अस्तित्व समाप्त हुने गरी प्रविधिको प्रयोग हुनु हुँदैन ।”

उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा फैलिने झुटा सूचनाले समाजलाई समस्यातर्फ धकेल्ने चेतावनी दिँदै यस्ता सूचनाको पहिचान र नियन्त्रणमा पत्रकारको भूमिका निर्णायक हुने बताए । उनले प्रविधिको प्रयोग गर्दा सत्य, तथ्य र जिम्मेवारीलाई केन्द्रमा राख्न आग्रह गरे ।

प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा आयोजिक तालिममा रुपन्देहीमा क्रियाशील २ दर्जन बढी पत्रकारहरुको सहभागीता रहेको छ । तालिमको प्रशिक्षकमा एआई विज्ञ अजय शर्मा र अमृत पन्थी रहेका छन् ।

स्वास्थ्य बीमामा देखिएको समस्याबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्छः एमाले सांसद दाहाल

काठमाडाैं । राष्ट्रिय सभामा नेकपा (एमाले)की सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमामा देखिएको समस्याबारे स्पष्ट जानकारी संसदलाई गराउन सरकारसँग माग गरेका छन् । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले सो माग गरेकी हुन्।

अस्पतालहरुमा बजेटको अभाव भन्दै सो कार्यक्रम बन्द भईरहेकाले सरकारले सो सम्बन्धमा के भएको हो भनि संसदमा जानकारी गराउनुपर्ने सांसद दाहालको भनाई थियो । उनले सर्वसाधारणलाई धेरै राहत भएको सो कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने बताए ।

‘स्वास्थ्य विमाको विषयमा सर्वसाधारण जनताले उपयोग गरिरहेको विषयबस्तु अहिले अस्पतालहरुले सरकारले बजेट नदिएको कारण बन्द गर्नुपरेको भन्ने समाचारहरु बाहिर आइरहेका छन्,’उनले भनिन्, ‘यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्युले चासो लिएको भन्ने पनि सुनियो । यसको व्यवस्थापनका लागि के भएको हो, जानकारी गराउन म सरकारसँग माग गर्दछु।’

प्रधानमन्त्री सुुशीला कार्कीले पनि सो सम्बन्धमा चासो दिँदै आवश्यक स्रोतको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । सांसद दाहालले जनसरोकारका त्यस्ता विषयहरुको व्यवस्थापनमा सरकारले तत्काल निर्णय गर्न आवश्यक रहेको बताइन् ।

हिन्दु धर्मगुरुले राजतन्त्र र हिन्दुराज्यको आवाज देशमा छ भन्दा रवि हँसमुख !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, श्रीमती निकिता पौडेलसहित उक्त दलबाट चितवनको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका नेताहरूसामु हिन्दु धर्मगुरुले प्रकट गरेको विचार यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल छ ।

भिडियो बुधबार खिचिएको हो । ती हिन्दु धर्मगुरुले प्रकट गरेको विचारका आधारमा उनी नेपालमा राजा चाहन्छन् । देश फेरि हिन्दुराष्ट्र भएको देख्न चाहन्छन् । अर्थात् उनी राप्रपाका कट्टर समर्थक धर्मगुरु हुन् । किनभने यी दुवै एजेण्डा नेपालको राजनीतिमा राप्रपाले बोकेको छ ।

तर, रास्वपाको घोषणापत्र र अन्य राजनीतिक दस्तावेजले ती धर्मगुरुले भने जसरी देशमा राजा र हिन्दुराष्ट्र पुनःस्थापनाको एजेन्डा बोल्दैन ।

ती हिन्दु धर्मगुरुले प्रष्टै भनेका छन्, ‘नेपालमा कमसेकम हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्ने आवाज छ । राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने जनताको आवाज छ ।

धर्मसापेक्ष हुनुपर्ने आवाज छ । त्यसो हुनाले तपाईंले यस्तो कुरालाई बुझेर, मनन गरेर । अहिलेसम्म धेरै कुरा गरेँ, कुनै पार्टीले हिन्दुराष्ट्र भन्न नसक्नु, हिन्दु हाम्रो वैदिक सनातनदेखि चलेको धर्म हो यो, धर्म मेटिए केही पनि छैन ।

त्यसो हुनाले यसलाई तपाईंले अगाडि बढाउने हो भने तपाईंप्रति आशा छ र तपाईंले अगाडि बढाउनुहोला । जनता उत्साहजनक छन् ।

धर्म गुरुले देशलाई हिन्दुराष्ट्रसँगै राजतन्त्रात्मक देश बनाउन सुझाउँदा रास्वपा सभापति लामिछाने पूरै हँसमुख देखिए । घरीघरी मुन्टो हल्लाउँदै उनले मौन स्वीकृति जनाएको सन्देश प्रवाह गरे ।

लामिछानको दल रास्वपा घोषणापत्रको आधारमा ‘धर्मनिरपेक्षपन्थी’ हो । तर, दलको घोषणा गरेको स्थल ‘पाशुपत’ क्षेत्र र चुनाव चिह्न ‘घण्टी’ हुँदा हिन्दुराष्ट्र पुनःस्थापनातिर दलीय झुकाव रहेको कतिपयको टिप्पणी हुने गरेको छ ।

उसो त २०७८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९ प्रतिशत)ले हिन्दु धर्म मान्छन् ।

भलै यो तथ्याङ्कलाई आदिवासी जनजाति समुदायले मिथ्याङ्क भन्छन् । तर, बहुसंख्यक हिन्दु धर्मावलम्बी जनमत नेपालमा छ । त्यसो हुँदा रास्वपा सभापति लामिछानेले मौन स्वीकृति जनाएर कतै हिन्दु धर्मावलम्बीहरूको मत तान्ने रणनीति त अपनाएको होइन ? टिप्पणी भइरहेको छ ।

पछिल्ला निर्वाचनहरूको मत विश्लेषण गर्ने हो भने कट्टर हिन्दु धर्मावलम्बी मतदाताहरूले नेपाललाई हिन्दुराष्ट्र र राजतन्त्रात्मक व्यवस्थामा लान सक्ने विश्वाशिलो दलको खोजी गरिरहेका छन् ।

यो मनोभावना बुझेर लामिछाने आफ्ना उम्मेदवारहरूसहित मन्दिर गएको देखिएको छ ।

सातौँ चरणको भन्सार सुधारलाई निर्यातमैत्री बनाउन जोड

काठमाडाैं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम रानाले व्यापारको समयसँगै लागत घटाउने गरी भन्सार सुधार गर्न जरुरी रहेको बताएका छन्।

नेपाल तयारी पोशाक उद्योग संघले निकासी प्रवद्र्धन गर्न सातौँ चरणको प्रश्तावित भन्सार सुधारमा समावेश गर्नुपर्ने सम्भाव्य क्षेत्रहरूका बारेमा आयोजना गरेको कार्यक्रममा उनले कतिपय प्रक्रियागत ढिलाइका कारण व्यवसायीहरुको लागत समेत बढेकाले त्यसलाई सुधार्न ध्यान दिनुपर्ने बताए। उनले भन्सारले व्यवसायीलाई दुःख दिने नियतले अनावश्यक कागजात माग्न नहुने समेत स्पष्ट पारे ।

निर्यातका लागि कतिपय व्यवसायीहरू व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमा सिफारिस माग्न आउने गरेको उल्लेख गर्दै रानाले केन्द्रले दिने भनेको जिसिएप मात्र भएकाले  अधिकांश व्यवसायीले यो सुविधा लिइसकेको अवस्थामा पुनः अनावश्यक सिफारिस लिन केन्द्र धाउन नपर्ने बताए।  निर्यातका क्रममा समस्या आएमा वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार सहजीकरण सम्बन्धी समितिमा व्यवसायीहरूले निर्धक्क भएर कुरा राख्न समेत उनले आग्रह गरे ।

रानाका अनुसार उक्त समितिमा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेकाले हिच्किचाउनुपर्ने अवस्था छैन । साथै, भन्सारमै पनि व्यापार सहजीकरण समिति रहेको र त्यहाँ पनि निजी क्षेत्रको प्रतिनिधित्व भएको स्मरण गराउँदै रानाले व्यापारमा देखिएका समस्या र लागतसम्बन्धी विषय ती संयन्त्रहरूमा व्यवसायीहरूले पर्याप्त रूपमा नउठाएको प्रति चिन्ता व्यक्त गरे । त्यस्ता समितिहरूमा व्यवसायीले आफूले भोगेका वास्तविक समस्या उठाए राज्यका निकायले समेत समाधान गर्न सहज हुने उनले बताए।

रौतहटमा नाबालिका मृत्यु घटनाबारे रास्वपाले दुःख व्यक्त गर्दै भन्यो– आवश्यक राहत उपलब्ध गराउने

काठमाडौं । आलोचना बढ्दै गएपछि रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनाप्रति पार्टीले दुःख व्यक्त गरेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाले पार्टीलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको उल्लेख छ।

विज्ञप्तिमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

रास्वपाले घटनालाई गम्भीरताका साथ लिएको जनाउँदै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

कानुनी प्रक्रिया पूरा गर्दै पीडित परिवारलाई न्याय दिलाउने विषयमा पार्टीले कुनै कसर बाँकी नराख्ने पनि विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, पीडित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन पार्टीका तर्फबाट पहल भइरहेको जानकारी दिइएको छ।

घटनापछि पार्टीले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

उम्मेदवार, पार्टीपंक्ति तथा सवारी चालकहरूलाई सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन कडा निर्देशन जारी गरिएको महामन्त्री बुर्लाकोटीले जनाएका छन्।

नाबालिकलाई ठक्कर दिएको घटना बिहीबार दिउँसोकै हो । तर, घटनाबारे रास्वपा मौन थियो । उल्टै रास्वपा समर्थकहरूले घटना सामान्य भए जसरी सामाजिक सञ्जालहरूमा लेखिरहेका थिए ।

तर, मानवीय संवेदनासँग जोडिएको घटनाप्रति रास्वपाको मौनता देखिँदा जनस्तरबाट तीब्र आलोचना भएको थियो । यसपछि मात्रै शुक्रबार मध्याह्न बल्ल रास्वपाले घटनाबारे विज्ञप्ति जारी गरेर मृतक नाबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई समवेदना प्रकट गर्‍यो ।

आर्थिक सहायता गर्ने घोषणा गर्दै चुनावी अभियानमा सवारी सञ्चालनमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो ।

पाकिस्तानमा सुरक्षा बलको कारबाहीमा २१६ आतंककारी मारिए

एजेन्सी । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले आतंकवाद विरोधी अभियान सम्पन्न गरेको र यस क्रममा कम्तीमा २१६ आतंककारी मारिएको सेनाले जनाएको छ । आतंककारीहरूले गरेका आक्रमणमा सुरक्षा बल र कानून कार्यान्वयन गर्ने निकायका २२ जना कर्मचारी र ३६ जना सर्वसाधारणको पनि मृत्यु भएको पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

स्थानीय बासिन्दाका लागि गम्भीर खतरा उत्पन्न गर्ने आतंककारीहरूको उपस्थितिको बारेमा विश्वसनीय र प्रमाणित गुप्तचरी सूचना प्राप्त भएपछि जनवरी २९ मा यो अभियान सुरु गरिएको थियो । त्यसपछि, सुरक्षा बलले प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीद्वारा गरिएका श्रृंखलावद्ध आक्रमणहरूलाई विफल पारेको आईएसपीआरले जनाएको छ । विज्ञप्तिका अनुसार, यसपछि विभिन्न क्षेत्रहरूमा गुप्तचरीमा आधारित अपरेसनहरूको विस्तारित अभियान चलाइएको थियो, जसको उद्देश्य निरन्तर कोम्बिङ र सेनिटाइजेसन प्रयासहरूमार्फत आतंककारीका ’स्लिपर सेल’हरूलाई ध्वस्त पार्नु थियो ।

अभियानका क्रममा ठूलो परिमाणमा विदेशी हतियार, गोलाबारुद, विस्फोटक पदार्थ र अन्य उपकरणहरू पनि बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मतदातालाई कुलमान घिसिङको आग्रह – जिताएर एकपटक मौका दिनुपर्‍यो

काठमाडौं । प्रधानमन्त्री बन्ने घोषणा गरेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनाव जिताएर मौका दिन आग्रह गरेका छन् ।

आफू काम गर्ने नेतृत्व भन्दै भाषण गर्नेलाई नभई आफूलाई एकपटक जिताएर मतदाताले मौका दिनुपर्ने बताएका हुन् ।

‘पुराना राजनीतिक शक्तिहरूले कामभन्दा बढी भाषण गरे । जनताको हितका लागि काम गर्न युवा नेतृत्व आवश्यक छ,’ उनले शुक्रबार सिरहा र धनुषा जोड्ने कमला पुलको अवलोकनपछि मतदाताहरूसँग भने ।

उनले देश निर्माणका लागि काम नगर्ने तर काम गर्ने भनेर जनतालाई छल्नेहरूको समय सकिएको दाबी गरे ।

‘जो काम गर्छ, उही जनताको प्रिय बन्छ, काम गर्ने नै जननेता कहलिन्छ,’ उनले भने ।

अध्यक्ष घिसिङले देशमा गुणस्तरीय शिक्षा, कृषि क्रान्ति, सिँचाइ, विद्युतीकरणजस्ता पूर्वाधारमा आफ्नो पार्टीले काम गर्ने बताए ।

यसबाट देशको अर्थतन्त्र उकास्ने योजना आफूसँग रहेको उनको भनाइ छ ।

इरानमा रहेका नागरिकलाई देश छोड्ने विकल्पमा विचार गर्न अमेरिकाको आग्रह

काठमाडौं । इरानस्थित अमेरिकी भर्चुअल दूतावासले त्यहाँ रहेका अमेरिकी नागरिकका लागि सुरक्षा चेतावनी जारी गरेको छ।

दूतावासले वर्तमान अवस्थालाई मध्यनजर गर्दै आवश्यक परे आर्मेनिया वा टर्की हुँदै इरान बाहिरिन सक्ने सम्भावनाबारे सोच्न आग्रह गरेको छ।

सुरक्षा सतर्कतामा सञ्चार अवरुद्ध हुन सक्ने उल्लेख गर्दै नागरिकलाई वैकल्पिक सम्पर्क माध्यम तयार राख्न र व्यक्तिगत सुरक्षामा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

बीबीसीका अनुसार हाल इरानका विभिन्न क्षेत्रमा सडक बन्द गरिएको छ भने सार्वजनिक यातायात र इन्टरनेट सेवामा अवरोध देखिएको छ।

यसका साथै, अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् र धेरै एयरलाइन्सहरूले इरान आउने–जाने उडानहरू रद्द वा स्थगित गरेका छन्।

यसैबीच, इरान र अमेरिका बीचको आणविक वार्ता शुक्रबार ओमानमा हुने तय भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्ने नयाँ सम्झौतामा सहमति नजनाए सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्।

इरानले भने आणविक मुद्दामा वार्ताका लागि आफू तयार रहेको जनाएको छ। तर आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने विषयमा छलफल नगर्ने स्पष्ट पारेको छ।

एजेन्सीहरूको सहयोगमा ।

बैतडी दुर्घटना अपडेट : यी हुन ८ जना मृतक (नामवलीसहित)

काठमाडौं । बैतडीमा जन्ती लिएर फर्किँदै गरेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडबाट दुई सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता बलदेव बडूले दिएको जानकारी अनुसार ६ जनाको घटनास्थलमै र अन्य दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकमध्ये एक जना महिला र सात जना पुरुष छन् । मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ बस्ने ४० वर्षीय केशव जोशी, सोही ठाउँका १३ वर्षीय अशोक जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी रहेका छन् ।

केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिकाका–७ का वसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका–७ कि ४० वर्षीया पुष्पा अवस्थी रहेका छन् ।

दुर्घटना भएको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस हो । दुर्घटनामा ४५ जना घाइते भएका छन् । उनीहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै थियो । उकालो बाटोमा भार अधिक हुनाले दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

घटनाप्रति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनाको खबरले दुःखी भएको बताए ।

‘बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको बस स्थानिय बडुगाउँमा दुर्घटनाग्रस्त भएको खबरले निकै दुखि भएको छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा भने, ‘दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

उनले घाइतेहरूको तत्काल उद्धार गरी आवश्यकता अनुसारको उपचारको प्रबन्ध गर्न सरकारको ध्यानकर्षण गराए ।

अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहालले पनि बैतडी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आफू मर्माहत भएको बताए ।

‘बैतडीको पुर्चौैडीबाट बझाङतर्फ गइरहेको जन्ती बोकेको बस बडुगाउँमा दुर्घटनाग्रस्त भई ठूलो मानवीय क्षति भएको दुःखद खबरले म अत्यन्तै मर्माहत बनेको छु,’ उनले भने, ‘जिल्ला प्रशासनसँग सम्पर्क गर्दा मृतक तथा घाइतेहरूको संख्या अझै यकिन हुन सकेको छैन भन्ने जानकारी प्राप्त भएको छ ।’

उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, उपचार तथा आवश्यक समन्वयका लागि बैतडीस्थित नेकपाको समितिलाई आवश्यक पहल लिन निर्देशन दिए ।

बैतडीमा बेहुली लिएर फर्किँदै गरेको बस दुर्घटना, ८ जनाको मृत्यु, ४५ घाइते

काठमाडौं । जन्ती लिएर फर्किँदै गरेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडबाट दुई सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ६ जनाको घटनास्थलमै र अन्य दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटना भएको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस हो ।

दुर्घटनामा ४५ जना घाइते भएका छन् । उनीहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ । जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै थियो ।

सिंहदरबार जलाएको स्वीकार्ने महेन्द्र गौतम पक्राउ

काठमाडौं । सिंहदरबार जलाएको दाबी गर्दै अभिव्यक्ति दिएका महेन्द्र गौतम पक्राउ परेका छन् ।

उनी चिनवनको खैरहनी नगरपालिका–९ का ३६ वर्षीय महेन्द्र गौतम हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गौतमलाई बिहीबार नियन्त्रणमा लिएको प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताए ।

गौतमले सिंहदरबारमा आगजनी गरेको दाबी गर्ने तथा अरू व्यक्तिहरूलाई पनि आगजनी गर्न उक्साउने किसिमका अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गौतम भीडलाई उत्तेजित बनाउने उद्देश्यका साथ अभिव्यक्ति दिने गतिविधिमा संलग्न थिए ।

सो कार्यले सार्वजनिक शान्ति, सुरक्षा र व्यवस्थामाथि प्रतिकूल असर पर्न सक्ने ठहर गर्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रेस चौतारी नेपाल २८ वर्षमा प्रवेश, जनपक्षीय भूमिकालाई अझ सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं । नेपाली श्रमजीवी पत्रकारहरूको नेतृत्वदायी संगठन प्रेस चौतारी नेपाल २८ वर्षमा प्रवेश गरेको छ ।

‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ भन्ने मूल मन्त्रका साथ अघि बढिरहेको संगठनले २८ वर्ष पुगेको अवसरमा पत्रकारिताको व्यावसायिकता, प्रेस स्वतन्त्रता र जनपक्षीय भूमिकालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

स्थापना दिवसका अवसरमा अध्यक्ष गणेश पाण्डेले विज्ञप्ति जारी गरी प्रेस चौतारी नेपाल अग्रजहरूको संघर्ष, त्याग र बलिदानका कारण आज श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको सबैभन्दा भरोसायोग्य संगठनका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।

अध्यक्ष पाण्डेले संस्थापक अध्यक्ष स्वर्गीय विजय चालिसे, संस्थापक अग्निशिखासहित संगठनको हितमा योगदान पुर्‍याउँदै जीवन गुमाएका सबै व्यक्तित्वहरूप्रति श्रद्धाञ्जली अर्पण  गरे ।

साथै पूर्वअध्यक्षहरू शम्भु श्रेष्ठ, डा. बालकृष्ण चापागाईँ, गगन विष्ट, राजेन्द्र अर्याल, निवर्तमान अध्यक्ष गणेश बस्नेतलगायत सम्पूर्ण संस्थापक सदस्य, अग्रज, पूर्वपदाधिकारी र सदस्यहरूप्रति सम्मान व्यक्त गरेका थिए ।

शुभकामना सन्देशमा संगठनलाई निरन्तर सक्रिय र गतिशील बनाइराख्न भूमिका खेलेका केन्द्रीय समिति, आयोग, प्रदेश, जिल्ला तथा नगर समितिका पदाधिकारी तथा सदस्य, शुभेच्छुक, समर्थक र सञ्चार क्षेत्रका सरोकारवालाप्रति आभार व्यक्त गरिएको छ ।

प्रेस चौतारी नेपालले स्थापनाकालदेखि नै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, प्रेस स्वतन्त्रता, व्यावसायिक मर्यादा र जनपक्षीय पत्रकारिताको स्पष्ट मार्गरेखा तय गर्दै यात्रा अघि बढाउँदै आएको अध्यक्ष पाण्डेको भनाइ छ ।

बदलिँदो राजनीतिक, सामाजिक र प्रविधिगत परिवेशमा पत्रकारितामाथि चुनौती बढ्दै गएको उल्लेख गर्दै उहाँले गलत सूचना, अफवाह र नियोजित भ्रमविरुद्ध सत्य र तथ्यमा आधारित पत्रकारिताको भूमिका अझ महत्त्वपूर्ण बनेको बताए ।

यही सन्दर्भमा २०८२ साललाई प्रेस चौतारी नेपालले ‘प्रशिक्षण वर्ष’ का रूपमा मनाउने निर्णय गरेको जानकारी पनि सन्देशमा दिइएको छ । युवा पत्रकारहरूको सशक्तीकरण, संगठनको संस्थागत सुदृढीकरण र जनविश्वास अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइने अध्यक्ष पाण्डेले स्पष्ट पारे ।

देशको समसामयिक राजनीतिक अवस्थाप्रति ध्यानाकर्षण गर्दै सन्देशमा भूराजनीतिक दबाब र प्रतिनिधिसभा निर्वाचनको अन्योलबिच सही पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याइएको छ । यस्तो अवस्थामा प्रेस चौतारी नेपालले साहस, अनुशासन र परिणाममुखी भूमिकालाई आत्मसात् गर्नुपर्ने अध्यक्ष पाण्डेको आग्रह छ ।

यसैबिच निर्वाचन आचारसंहिता र निर्वाचन आयोगको सुझावअनुसार यस वर्ष केन्द्रीय समितिबाट प्रदान गरिँदै आएका पुरस्कार फागुन २१ गतेपछि मात्रै वितरण गरिने जानकारी पनि प्रेस चौतारी नेपालले दिएको छ । संगठनले हरके वर्ष विभिन्न विधामा पत्रकारिता पुरस्कार दिँदै आएको छ ।

चुनावको दिन हिउँ परे के गर्छ सरकारले ? (भिडियो)

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी २१ फागुनमा हिउँ नपरे हिमाली क्षेत्रमा निर्वाचन गराउन समस्या नहुने बताएका छन् । तर, हिउँ परे पनि सोहीअनुसार निर्वाचनको तयारी गरिने उनको भनाइ छ ।

उनका अनुसार हिमाली जिल्लामा दार्चुला मोडलमा निर्वाचन गराउन सकिने पनि बताए ।

‘दार्चुलाको हिमाली भेगबाट मतदाताहरूले खलङ्गा बजारमा बसाइँसराइ गरेको र सदुरमुकाममै मतदान केन्द्र स्थापना गरेर मत हाल्ने गरेको अभ्यास रहेको जानकारी पाएको छ, हिउँ परेको बेला,’ उनले पत्रकारहरूसँग भने, ‘हिँउ परेन भने केही गर्नुपर्दैन । हिउँ परे त्यही अनुसारको व्यवस्थापन गर्छौँ ।’

दार्चुलाको कालापानी, लिम्पियाधुरा र लिपुलेकमा भने यसपटक पनि मतदान नहुने भएको छ । यी तीनवटै भूमि पाँच वर्षअघि सरकारले नेपालको नक्सामा समेटिएको थियो । तर, त्यहाँका मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार त्यस क्षेत्रका मानिसहरूको नाम मतदाता नामावलीमा नरहेको बताएका छन् ।

चुनाव हुन्छ, किन्तु परन्तु छैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त (भिडियो)

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्ने बताएका छन् ।

आचारसंहिता कार्यान्वयन भए/नभएको विभिन्न तह र तप्काबाट अनुगमन भइरहेको भन्दै उनले आचारसंहिताको उल्लङ्घन भएको दाबीसहित उजुरीहरू पनि आइरहेको बताए ।

उजुरी परेपछि आयोगले सम्बन्धित व्यक्ति वा निकायलाई सुनुवाइको मौका दिनुपर्ने हुनाले स्पष्टीकरण मागेको जानकारी दिए । कतिपयले जवाफ दिएको र केहीको आउने क्रममा रहेको भन्दै उनले आयोगले सन्तोषप्रद जवाफ नआए फेरि सोध्ने बताए ।

तोकिएको समयमा निर्वाचन हुने भन्दै भण्डारीले भने, ‘किन्तु परन्तु छैन भनेर सरकारको तर्फबाट र आयोगको तर्फबाट विश्वास दिलाइरहेका छौँ हामीले ।’

आयोग आगामी २१ फागुनमा निर्वाचन गर्ने तयारीमा जुटिरहेको छ ।

 

दैलेखमा ग्यास उत्खनन् गर्यौं, अब घर घरमा पुर्याउछौं : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारमा आएपछि घर-घरमा ग्यास पुर्‍याउने योजना पूरा गरिने बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक सामग्री सार्वजनिक गर्दै अध्यक्ष ओलीले विकासका लागि सपना देख्नुपर्ने र त्यसलाई साकार पार्न योजनाबद्ध रूपमा कार्यान्वयनमा जानुपर्ने धारणा राखेका हुन्।

उनले आफूले पहिलोपटक सरकारको नेतृत्व गर्दा देश नाकाबन्दीको चपेटामा परेको स्मरण गर्दै त्यसबेला खाना पकाउने ग्याससहित दैनिक जीवनमा प्रयोग हुने इन्धनको चरम अभाव रहेको उल्लेख गरेका छन्। नाकाबन्दीका कारण नेपालीको मनोबल कमजोर नहोस् भन्ने उद्देश्यले आफूले स्वदेशमै ग्यास उत्खनन गरी पाइपमार्फत भान्सासम्म ग्यास पुर्‍याउने अवधारणा अघि सारेको ओलीको भनाइ छ।

ओलीका अनुसार एमाले नेतृत्वको सरकारका पालामा दैलेखमा ग्यासको सम्भाव्यता अध्ययन गरी उत्खनन प्रक्रिया अघि बढाइएको थियो। अध्ययनका क्रममा करिब १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको र नमूना परीक्षण समेत सफल भएको उनले बताएका छन्।

उनले गत मंसिरमै व्यवसायिक उत्पादनको योजनासहित काम अघि बढाइएको भए पनि भदौमै सरकारबाट बाहिरिनु परेपछि उक्त प्रक्रिया अगाडि बढ्न नसकेको उल्लेख गरेका छन्।

अध्यक्ष ओलीले एमाले पुनः सरकारमा आएपछि स्वदेशमै उत्पादन गरिएको ग्यास प्रयोग गर्ने सपना पूरा गरिने दाबी गरेका छन्। ‘हामी फेरि सरकारमा आएपछि आफ्नै उत्पादनको ग्यास प्रयोग गर्ने योजना कार्यान्वयनमा लैजान्छौं,’ उनले फेसबुकमा लेखेका छन्।

ओलीको दुःखेसो : भदौमा सरकारबाट बाहिरिएपछि दैलेखमा ग्यास उत्पादन भएन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै ग्यास उत्पादन गरी नेपाली भान्सामा स्वदेशी ग्यास पुर्‍याउने सपना साकार पारिने दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक स्टाटसमा उनले विकासका लागि सपना देख्नु, त्यसलाई साकार पार्ने तयारी गर्नु र त्यसअनुसार कार्यान्वयन गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्।

ओलीले आफ्नो पहिलो कार्यकालमा भारतसँगको नाकाबन्दीका कारण खाना पकाउने ग्याससहित दैनिक जीवनमा प्रयोग हुने इन्धनको गम्भीर अभाव भएको स्मरण गर्दै, त्यसबेला नेपाली जनताको मनोबल कमजोर नहोस् भन्ने उद्देश्यले स्वदेशमै ग्यास उत्खनन गरी भान्सासम्म पाइपबाट ग्यास पुर्‍याउने योजना अघि सारेको बताएका छन्।

उनका अनुसार सरकारको नेतृत्व गर्दा दैलेखमा मिथेन ग्यासको सम्भाव्यता अध्ययन गरियो र उत्खनन प्रक्रिया अघि बढाइयो। सो क्रममा करिब १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको र नमूना परीक्षणसमेत सफल भएको ओलीको दाबी छ।

उनले गत मंसिरमै व्यवसायिक उत्पादनको योजना सहित काम अघि बढाइएको भए पनि भदौमा सरकारबाट बाहिरिएपछि परियोजनाको काम रोकिएको उल्लेख गरेका छन्।

राजनीतिक परिवर्तनका कारण महत्वपूर्ण राष्ट्रिय परियोजनाहरू प्रभावित हुनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले यसप्रति असन्तुष्टि जनाएका छन्।

ओलीले स्वदेशी ग्यास उत्पादनको योजना केवल घोषणामा सीमित नभई ऊर्जा आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिएको विषय भएको बताएका छन्। उनका अनुसार यस परियोजनाले ग्यास आयातमा निर्भरता घटाउने, विदेशी मुद्रा बचत गर्ने र दीर्घकालीन ऊर्जा सुरक्षालाई सुदृढ बनाउनेछ।

उनले फेरि सरकारमा फर्किएपछि दैलेखको मिथेन ग्यास परियोजनालाई प्राथमिकतामा राखी व्यवसायिक उत्पादनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘हामी फेरि सरकारमा आएपछि आफ्नै उत्पादनको ग्यास प्रयोग गर्ने सपना पूरा गर्नेछौँ,’ओलीले स्टाटसमा उल्लेख गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको यो स्टाटस आगामी राजनीतिक एजेन्डा र ऊर्जा आत्मनिर्भरताको बहससँग जोडिएको छ। उनीहरूले परियोजनाको निरन्तरता, लगानी, प्रविधि र वातावरणीय पक्षमा स्पष्ट योजना आवश्यक हुने औंल्याएका छन्।

पञ्चायतदेखि गणतन्त्रसम्म ९ पटक मन्त्री भएका कमल थापाको संसदमा आठाैं उम्मेदवारी (भिडियो)

काठमाडौं । सात चुनावमा पाँच पटक हारेर दुई चोटी सांसद बन्दै नौ चोटी मन्त्री बनेका कमल थापा यसपटक काठमाडौं-५ बाट प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार बनेका छन् । यसअघि मकवानपुरबाट चुनाव लड्दै आएका थापालाई त्यहाँका जनताले नपत्याएपछि चुनावी क्षेत्रको खोजी गर्दै उनी यसपटक काठमाडौं-५ मा पुगे। 

चुनावमा पराजित भएर पनि कसरी मन्त्री बन्ने कुरा कसैले सिक्ने हो भने कमल थापाबाट सिके हुन्छ। थापा २०४८ यता भएका सातवटा संसदीय चुनावमध्ये ६ वटा चुनाव लडेर पाँचचोटी पराजित भएका छन्।  तर रोचक पक्ष के भने  पाँचचोटी पराजित भएर पनि उनी नौ चोटी मन्त्री भएका छन्। 

थापा आफुलाई कट्टर राजावादी करार गर्छन्, तर राजा फालेर ल्याईएको गणतन्त्रमा उनी सातचोटी मन्त्री बने। हुनसक्छ थापाका लागि राजसंस्थाको मुद्दाभन्दा बढी मन्त्री पद महत्वपुर्ण हो।   

सात चुनावमा पाँच पटक पराजित 

२०३६ को जनमत संग्रहको सेरोफेरोबाट राजनीति सुरु गरेका थापा तत्कालिन समयमा पञ्चायतका प्रवक्ता जस्तै मानिन्थे। उनका बुबा क्षेत्रबहादुर थापा तत्कालीन शाही सेनामा थिए। क्षेत्रबहादुर तत्कालीन राजा महेन्द्रका विश्वासपात्र थिए। त्यही लहरो र परिवारवादको टेको समातेर राजनीतिमा होमिएका उनी त्यसकै बलमा २०३७ सालमा पञ्चायती संविधान संशोधनका लागि बनेको मस्यौदा समितिको सदस्य पनि थिए। 

एक समय यस्तो थियो- जतिबेला मकवानपुरमा पञ्चायत भनेकै कमल थापा हो भन्ने बुझिन्थ्यो। यसै आधारशिलामा २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा उनी मकवानपुरबाट पहिलोपटक निर्वाचित भए।  

तत्कालीन पञ्चायती व्यवस्थाको खरो वकालतकर्ता भएकै कारण उनले २०४६ सालमा संचार राज्यमन्त्री उपहारस्वरुप पाए। 

सञ्चार राज्यमन्त्री रहँदा थापा २०४६/४७ को पञ्चायत विरुद्धको आन्दोलन दबाउन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी र तत्कालिन गृहमन्त्री निरन्जन थापाको मुख्य सल्लाहकार रहेको पनि बताइने गरिन्छ। 

त्यसपछि २०४८ सालामा बहुदल स्थापनापछिको पहिलो आमनिर्वाचन भयो। थापा सुर्यबहादुर थापा नेतृत्वको राप्रपाबाट मकवानपुर-१ बाट चुनाव लडे। उनी त्यो निर्वाचनमा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भए। त्यसको तिन वर्षपछि भएको २०५१ को मध्यावधि निर्वाचनमा थापाले मकवानपुरका १ र २ गरी दुईवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिए। यसपटक भने १ मा उनले अघिल्लो निर्वाचनका प्रतिष्पर्धी कृष्णप्रसाद दाहाललाई पराजित गरे तर २ मा एमालेकै विरोध खतिवडासँग पराजित भए। यो नै थापाले जितेको एकमात्रै चुनाव हो। 

२०५६ को निर्वाचनमा मकवानपुरका १ र ३ दुवै निर्वाचन क्षेत्रमा एमालेका दाहाल र विरबहादुर लामासँग पराजित भएका थापा २०६४ को निर्वाचनमा मकवानपुर-३ मा नेकपा (माओवादी) का उम्मेदवार प्रह्लाद लामिछानेसँग पराजित भए। 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा थापा समानुपातिक निर्वाचन प्रणाली मार्फत खुसुक्क संसद प्रवेश गरे। २०७४ को निर्वाचनमा फेरि मकवानपुर-१ बाट उम्मेदवार बनेका थापा पुराना एमाले प्रतिद्वन्द्वी दाहालसँग पराजित भए। 

२०५१ को मध्यावधि निर्वाचन बाहेक मकवानपुर-१ मा सधैं एमालेले जित्दै आएको क्षेत्र हो। तर, २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने पराजय बेहोर्यो । उम्मेदवार थिए- कमल थापा। यसअघि राप्रपाबाट चुनाव लडेर एमालेसँग पराजित हुँदै आएका थापा २०७९ को प्रतिनिधिसभामा भने एमालेको चुनाव चिन्ह सुर्य लिएर लड्दा राप्रपाको हलोसँग पराजित भए । गएको निर्वाचनमा थापालाई राप्रपाका दिपक कुमार सिंहले पराजित गरे। 

मतपेटिकामा पुछारमा, सत्ताभोगमा अग्रभागमा 

मतपेटिकामा सदैव पुच्छारमा रहने थापा सत्ताभोगमा भने अग्रभागमा रहे। जब मन्त्री हुने बेला आउछ तब थापा खालीपोष्टमा गरेजसरी अरुलाई जिल्ल पार्दै गोल गरिदिन्छन्। 

मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा थापाले २०४६ सालमा संचार राज्यमन्त्रीको रुपमा मन्त्री पदमा डेब्यु गरे। त्यसपछि २०५२ सालमा कांग्रेस नेता शेरबहादुर देउवा नेतृत्वको सरकारमा थापा  कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री बने। 

२०५३ मा देउवा सरकार ढल्यो। लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने। चन्द नेतृत्वको राप्रपा-एमाले सरकारमा कित्ता परिवर्तन गर्दै थापा आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री भए । लगत्तै चन्द सरकार पनि ढल्यो।  सुर्यबहादुर थापाको नेतृत्वमा राप्रपा-कांग्रेसको सरकार बन्यो। त्यो सरकारमा थापा कृषि तथा परराष्ट्र मन्त्री बने। थापा नेतृत्वको मन्त्रीमण्डल पुनर्गठन हुँदा उनले सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाए।

यो बेला कमल थापा ‘मुसा’ उपनामले चर्चित बनेका थिए।  तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछी चन्दले थापालाई ‘मुसा’ को संज्ञा दिएका थिए। थापाकै सक्रियतामा तत्कालीन एमाले समर्थित चन्द सरकार ढलेको थियो। सरकार ढल्ने सुइँको पाएपछि थापाले कित्ता परिवर्तन गर्दै सुर्यबहादुर थापाको खेमामा पुगेका थिए। यही सन्दर्भमा चन्दले ‘जहाज डुब्न लाग्यो भने सबैभन्दा पहिले मुसाहरू आफ्नो ज्यान जोगाउन समुद्रमा हाम्फाल्छन्, राप्रपामा पनि यस्ता केही मुसा छन्’ भन्दै थापालक्षित टिप्पणी गरेका थिए। 

 २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कु गरे। शासन व्यवस्था सबै आफ्नो हातमा लिँदै आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरे। त्यो मन्त्रीमण्डलमा थापाले गृहमन्त्रीको जिम्मा पाए। ज्ञानेन्द्रले गरेको सत्ता कु का विरुद्ध २०६२/०६३ मा देशैभर जनआन्दोलन भयो। उक्त जनआन्दोलनमा गृहमन्त्रीका रुपमा थापाले ठूलो दमन गरेका थिए। 

सत्ता र कुर्सीको वरीपरी बसेर रमाइरहने थापाको मन्त्री बन्ने क्रममा गणतन्त्र घोषणा पछि भने ठुलै ब्रेक लाग्यो।  २०६४ सालको निर्वाचनमा पराजित भएपछी उनी आठ वर्ष मन्त्री नै बन्न पाएनन्। तर, चलाख थापाका लागि मन्त्री बन्न कुन चाहिँ गाह्रो काम ? २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बन्दै २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उप-प्रधानमन्त्रीसहित परराष्ट्र र स्थानीय विकासमन्त्री बन्दै कमब्याक गरे। 

त्यसपछि उनी तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उप-प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री बने भने शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उपप्रधानमन्त्री बने। 

राजतन्त्र होस्, या गणतन्त्र। ज्ञानेन्द्र हुन्, वा प्रचण्ड। थापा नेपाली राजनीतिका एकमात्रै त्यस्ता पात्र हुन्, जसले हरेक व्यवस्थाका हरेक शासकलाई मोहजालमा पारेजसरी चतुर खेल खेल्दै चुनाव हारेर पनि मन्त्री बनिरहे । पटकपटक मन्त्री बनेर मकवानपुरमा पाँच संसदीय चुनाव हारेका थापा यसपटक भने काठमाडौँ-५ मा प्रतिस्पर्धामा उत्रिएका छन् । 

विश्वकपअघि नेपाल उच्च लयमा: आशिफको अर्धशतकमा क्यानडाविरुद्ध ६ विकेटले विजयी 

काठमाडौं। टी-२० विश्वकपकाे दोस्रो वार्मअप खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेकाे छ । भारतको चेन्नाइस्थित चिदबरम रंगशालामा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर १८ ओभरमा पुरा गर्‍यो । 

नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतक पुरा गर्दै सर्वाधिक ५८ रनको योगदान गरे भने सन्दीप जोराले ४४ रन जोडे । गुल्सन झाले अविजित ३१ रन बनाए भने कुशल भुर्तेलले १२, दिपेन्द्र सिंह ऐरीले ९ र लोकेश बमले ५ रन जोडे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभ्याले अविजित रहादै सर्वाधिक ३८ रन जोडेका थिए । 

पहिलो इनिङमा नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले २-२ तथा सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिएका थिए । 

भारत र श्रीलंकामा हुने टी-२० विश्वकपअघि नेपाल उच्च लयमा देखिएको छ । यसअघि पहिलो वार्मअपमा नेपालले युएइलाई पराजित गरेको थियो । 

विश्वकपमा नेपालको खेल आइतबार सुरू हुने छ । नेपालले आफ्नो पहिलो खेलमा आइतबार क्रिकेटको महाशक्ति इंग्ल्याण्डको सामना गर्ने छ ।  नेपालको समूहमा इंग्ल्याण्डसँगै वेस्ट इन्डिज, इटाली र स्कटल्याण्ड रहेका छन् । नेपालका सबै खेलहरू मुम्बइको वांखडे रंगशालामा हुनेछन् ।

टेलिकमसँग दुरसञ्चारका अध्यक्ष असन्तुष्ट, कार्यसम्पादन सुधार्न दिए निर्देशन

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले टेलिकमका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै कार्यसम्पादन सुधार्न निर्देशन दिएका छन् ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको हिसाबले काम गर्दा स्थायित्व नहुने भन्दै धेरै भन्दा धेरै राजश्व संकलन गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिए । उनकाअनुसार अहिले टेलिकमले उठाइरहेको राजस्व खर्चको तुलनामा निकै कमजोर छ । त्यसलाई सुधारेर लैजानुपर्छ ।

अध्यक्ष भण्डारीले भने, ‘दीर्घकालिन योजना बनाएर टेलिकमले काम गर्न जरुरी छ । अहिले जसरी कामहरु भएको छ यसले लामोसमय दीगो हुन सक्दैन । अहिले ब्यान्डविथसहित धेरै क्षेत्रमा ठूलो खर्च भइरहेको देखियो । यो घटाउन सकिन्छ । रेभिन्यु कमाउन सक्दैनौँ भने अब टेलिकमले खर्च कम गर्नुपर्छ । खर्च कसरी कम गर्न सकिन्छ भन्ने सन्दर्भमा प्राधिकरणले सल्लाह दिनुपर्छ भने दिन तयार छौँ ।’

उनले दूरसञ्चार प्राधिकरण ऐन ल्याउनका लागि सञ्चार मन्त्रालयलाई आग्रह गरिएको बताउँदै छिट्टै नयाँ सांसद्बाट जारी हुनसक्ने बताए । भण्डारीले नेपाल टेलिकमलाई फाइभजी परिक्षण गर्न सहुलियत दिएको र परिक्षणपछि थप काम गर्न नसकेको भन्दै असन्तुष्टी जनाए ।