`

वैकल्पिक एकतामा लौरो-घण्टी लुकामारी, कसको पल्ला कति भारी ?

बुधबार दिउँसोदेखि नेपालको राष्ट्रिय राजनीतिमा नयाँ शक्तिकेन्द्रमा भइरहेका गतिविधिले चर्चा पाइरहेको छ- ज्वागलस्थित काठमाडौंका मेयर बालेन शाहका सल्लाहकार कुमार व्यञ्जनकारको निवास । बुधबार दिउँसोदेखि बिहीबार अँध्यारो हुँदासम्म व्यञ्जकार निवासमा पाकिरहेको व्यञ्जनको दर्शक/पाठकलाई पस्किन पत्रकारहरू प्रतिक्षा गरिररहेका थिए । तर, दुई दिनको रिले भेटघाटलाई नजिकबाट नियालिरहेका सञ्चारकर्मीले समेत भित्र के पाकिरहेको छ भन्ने भेउ पाउन सकिरहेका छैनन् । मेयर शाहलाई भेटेर निस्किएका प्राय: कसैले पनि मिडियासामू के छलफल भयो भन्ने बताइरहेका छैनन् । व्यञ्जनकार निवास बाहिर सडकमा उभिएका पत्रकारहरूको जिज्ञासाको केन्द्र भने रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीचको वार्ताबाट के निष्कर्ष निस्किन्छ भन्ने थियो ।

भदौ २३ र २४मा भएको जेन्जी आन्दोलनले मेयर शाहलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याइपुर्‍यायो । आन्दोलनपछि कुनैबेला उनका सल्लाहकार रहेका ओम अर्याल गृहमन्त्री बने भने उनै अर्यालको चाहनाअनुसार पूर्वप्रधानन्यायाधीश शुसिला कार्की प्रधानमन्त्री बनिन् । त्यसैले, धेरैले यो सरकारको डिजाइन पर्दापछाडिबाट बालेन शाहले गरेको मानिरहेका छन् ।

यतिमात्रै होइन, शाहले फेसबुकमा स्टाटस लेखेर प्रतिनिधि सभा विघटनको माग गरे । त्यसैअनुसार प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटनको अडान लिइन्, जेनजी प्रतिनिधिले समेत उनलाई साथ दिएपछि राष्ट्रपति रामचन्द्र पौडेल राजनीतिक दलको समर्थन नहुँदानहुँदै पनि कार्कीको अडानमा सहमति जनाउन बाध्य भए । उनै शाहले सेनापतिसँग वार्ता गर्न तयार रहन उर्दी जारी गरेअनुसार जेनजी प्रतिनिधि जंगीअड्डामा वार्ता गर्न पुगे । त्यसैले पनि आन्दोलन र यसपछिको राजनीतिक घटनाक्रममा बालेन हाबी देखिन्छन् ।

जेनजी आन्दोलनबाट आर्जित शक्तिलाई उनी बागदरबार (जहाँ उनी काठमाडौंको मेयरका रुपमा पदासिन भएका थिए) बाट सिंहदरबार उक्लिने बाटो बनाउन चाहन्छन् । पुराना राजनैतिक दलहरूलाई चुनौति दिन वैकल्पिक र नयाँ शक्तिहरू मिलुन भन्ने समर्थकहरूको चाहना भए पनि यसपछि धरानका मेयर हर्क साङपाङ, ऊर्जा मन्त्री कुलमान घिसिङ र रास्वपाले अलग अलग बाटोमा यात्रा थाले ।

आन्दोलनपछिका दिनमा बालेन आफैं सक्रिय भएनन् । तर, उनले कुलमान घिसिङ र रास्वपा मिलेर गए आफ्नो समर्थन रहने सन्देश दिए । घिसिङले रास्वपाले आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार मान्ने र सभापति दिने हो भने मिलेर जान तयार भएको प्रतिक्रिया दिए । यसमा कुलमान कार्यवाहक उपसभापतिसम्म मान्न तयार भएका थिए । तर, रास्वपाले कुलमानलाई प्रधानमन्त्रीको उम्मेद्वार मान्नेबारे छलफल गर्न सकिने तर पार्टीको नेतृत्व दिन नसकिने अडान राख्यो । रास्वपाका कतिपय नेताहरूले ‘पार्टी कब्जा गर्न’ खोजेको भन्दै सार्वजनिक रुपमै कुलमानको आलोचना गरे ।

यो प्रकृयामा बालेनले कुलमानको पक्षमा रहेको संकेत दिएर उनको ‘नेगोसिएसन पावर’ बढाइदिने काम गरे । ऊज्यालो नेपालमा सक्रिय कुलमान नजिकका मानिसहरूले बालेनको भर पर्न नसकिने सुझाव दिए पनि कुलमान आफैं भने बालेनप्रति विश्वस्त देखिएका थिए । लामो समयको छलफलपछि कुलमान संरक्षक रहनेगरी ऊज्यालो नेपाल पार्टी खुल्यो र उनीहरू संगठन बिस्तारमा लागे । उनीहरू रास्वपासँग मिल्न नसकिने निष्कर्षमा पुगिसकेका थिए ।

कुलमानलाई आश्वासन दिए पनि बालेन आफैं कुलमानको पक्षमा खुलेनन्, न त ऊज्यालो नेपाललाई समर्थन रहेको सार्वजनिक अभिव्यक्ति नै दिए। जेनजी आन्दोनलपछि रास्वपा छोडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ कुलमानसँग निरन्तर संवादमा थिइन् । तर, उनले पनि ऊज्यालो नेपाल पार्टीको सदस्यता लिन अस्वीकार गरिन् । यसपछि कुलमानको पार्टीमा केन्द्रीय सदस्य बन्न तयार भएका जेनजी अलाइन्सका ६ केन्द्रीय सदस्यहरूले पनि आफ्नो नाम फिर्ता लिए । उनीहरूले नाम फिर्ता लिनुको एउटा महत्वपूर्ण कारण बालेन र सुमना त्यो पार्टीमा नहुनु थियो ।

उनले न खुलेर आफूले रास्वपाबाट राजनीति गर्ने बताए न ऊज्यालो नेपाल पार्टीलाई समर्थन गर्ने बताए । बरू, जेनजी अगुवाहरूलाई समेत पर्खाएर आफ्नो शक्ति बचाएर राखे । उनी राजनैतिक रूपमा सक्रिय भएनन् । मंसिर तेस्रो साता पिताको निधन भएपछि उनी दुई साता घरमै रहे । अहिले जेनजी समूह, कुलमान घिसिङ तथा उज्यालो नेपाल लगायतलाई बालेनले आफ्नो शक्तिको आधार बनाइरहेका छन् ।

पिताको निधनअघि रवि लामिछानेसँग बालेनले अप्रत्यक्ष रुपमा संवाद गरिरहेका थिए । उनका सल्लाहकार कुमार बेन लामिछाने भेट्न पटकपटक नख्खु कारागार पुगेका थिए । ती छलफलमा के-के भयो भन्ने दुवै पक्षले सार्वजनिक गरेका छैनन् । अधिकांश भेटघाट गोप्य राखिएको थियो ।

वैकल्पिक र नयाँ शक्तिबीच एकताको कसरत चलिरहेकै बेला विवेकशील साझा र रास्वपाबीच एकता हुने समाचार बाहिरियो । तर, यो एकता भन्दा पनि विवेकशिल साझाका केही नेताको रास्वपा प्रवेश जस्तो भयो । अध्यक्ष समिक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र रञ्जु दर्शना लगायतका केही नेता रास्वपा प्रवेश गरे । उनीहरूलाई रास्वपाले केन्द्रीय समितिमा समेत स्थान नदिएर संघीय नेतृत्व मञ्च नामक संरचना बनाएर थन्क्याएको छ । विवेकशील पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डे लगायतका नेताहरू भने यो एकतामा समावेश नभएपछि आधा पार्टी रास्वपा भन्दा बाहिरै रह्यो ।

रास्वपा-विवेकशील एकताको समाचारसँगै कुलमान घिसिङ र बालेन शाह सँगै बसेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भयो । यसमा कुलमानले रास्वपालाई आफू कमजोर नभएको सन्देश दिएको अर्थमा बुझियो । तर, यो तस्बिरले रास्वपासँग बालेनको ‘बार्गेनिङ पावर’ पनि बढाएको थियो । मंसिर तेस्रो साता बालेनका पिताको निधन भएपछि उनी दुई साता घरमै रहे । यो बीचमा कुनै उल्लेखनीय घटना नभए पनि नख्खुमा रवि लामिछाने भेट्नेको लर्को लागिरह्यो भने पत्रकार राजिव खत्री लगायत रास्वपामा प्रवेश गरे ।

पिताको निधनपछि बालेन महानगर फर्किएको केही दिनमा नै तुलसीपुर जिल्ला अदालतले रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दियो । यसपछि रास्वपाको सक्रियता र आत्मविश्वास दुवै बढ्यो । राजनैतिक सक्रियता बढाएका लामिछानेले आइतबार नै मेयर शाहसँग भेट गरे । यसपछि सोमबार लामिछाने र शाहबीच करिब सात घण्टा वार्ता भयो ।

आइतबार राती प्रसारित एक टेलिभिजन अन्तर्वार्तामा रास्वपा नेता शिशिर खनालले रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर जान सक्ने बताएका थिए । त्यसैले, सोमबारकै वार्ताबाट निष्कर्ष निस्किने वा निष्कर्षको नजिक पुग्ने अपेक्षा गरेका थिए ।

मंगलबार तारिख धाउन चितवन पुगेका लामिछानेले बालेनलाई रास्वपाको प्रधानमन्त्री उम्मेद्वार बनाउने विषयमा छलफल नै नभएको दाबी गरे । यता बालेनको समूहले मेयर लड्दा स्वतन्त्र उम्मेद्वारका रुपमा उनले पाएको लौरो चुनाव चिन्ह भएको देशविकास पार्टीलाई अघि बढाउने कसरत थाल्यो । बुधबारबाट उनले व्यञ्जनकार निवासबाट उनले रिले भेटघाट सुरू गरे ।

बुधबार दिउँसोबाट भएको छलफलमा जेनजी नेताका रुपमा देखा परेका सुदन गुरूङदेखि जेनजी फ्रन्ट नेपालकी संयोजक रक्षा बम लगायतसँग बालेनले संवाद गरेका थिए । यस्तै राप्रपाका प्रवक्ता रहेका ज्ञानेन्द्र शाही, नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, जनमत पार्टीका नेता सिके राउत र अमरेश कुमार सिंहसँग भेटघाट गरेका थिए ।

बिहाबार बिहान कुलमान घिसिङलाई भेटेर दोस्रो दिनको रिले भेटघाट थालेका शाहले यसपछि लामो समय रवि लामिछानेसँग बिताए । लामिछाने व्यञ्जनकार निवास पुगेलगत्तै उनको निवासबाहिर सञ्चारकर्मीको भीड लागेको थियो । तर, सधैं क्यामेरका अघि खुलेर बोल्ने लामिछानेले वार्तामा के भयो भन्ने बताएनन् । वार्ता कस्तो भयो भनेर पत्रकारले सोधेको जवाफमा ‘मेरो अनुहार देखिरहनु भएको छ नि?’ भनेर टारेका थिए । तर, उनको अनुहारमा उत्साह भन्दा पनि थकान देखिइरहेको थियो ।

लामिछाने निस्किनुअघि अमेरकुमार सिंह त्यहाँ पुगेका थिए भने लामिछाने निस्किएको केहीबेरमा रास्वपका अर्का नेता शिशिर खनाल बालेन भेट्न पुगेका थिए तर उनी करिब १५ मिनेटमा नै त्यहाँबाट निस्किएका थिए ।

साँझ पर्नेबेला पूर्वप्रधामन्त्री बाबुराम भट्टराई पनि बालेन भेट्न व्यञ्जनकार निवास पुगे । उनले पनि वैकल्पिक र नयाँ शक्तिहरू मिलेर जाने सुझाव दिएको बताएका छन् ।

यसपछि बालेनले केही समय जेनजी अगुवाहरूसँग बिताए । केहीबेरमा खगेन्द्र सुनारको प्रवेश भयो ।

बालेनसँग भेटेर निस्किएपछि सुनारले केहीबेर पत्रकारहरूसँग कुरा गरे पनि अरूले बालेनसँग के छलफल भयो भन्ने बताउन चाहेनन् । उनीहरू क्यामेरको भीड छिचोलेर निस्किन खोजिरहेका देखिन्थे ।

जेनजी अगुवाहरूसहितको देश विकास पार्टीलाई अगाडि बढाउने निर्णय र दुई दिनको रिले भेटघाट तथा विभिन्न व्यक्ति र समूहको समर्थनलाई रास्वपासँगको नेगोसिएसनको औजार बनाइरहेका छन् । बालेनको यो सक्रियता र शक्तिले लामिछानेमाथि दबाव थपिरहेका छन् ।

लामिछाने र बालेनबीच के-के कुरा भयो भन्ने बाहिर आएको छैन । अधिकांश समय ‘वान-टु-वान’ मिटिङ भएको र दुवै जनाले सार्वजनिक रूपमा केही नभनेको हुँदा उनीहरूबीच के-के सहमति भयो र के-के विषयमा विवाद छ भन्ने बाहिर आएको छैन ।

बालेन आफूलाई वैकल्पिक शक्तिहरूको तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अघि सार्न चाहन्छन् । रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगीमा मुद्धा चलिरहेको र सांसद भए पनि मुद्धाको फैसला नभएसम्म उनको पद निलम्बनमै रहने हुँदा उनी आफैं प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अघि सर्ने अवस्था छैन । यसलाई बालेनले अवसरका रुपमा हेरिरहेका छन् । आइतबार खनालले दिएको अभिव्यक्तिले पनि यसमा धेरै समस्या नरहेको संकेत गरेको छ ।

रास्वपा पक्षले बालेनसँग पार्टी नभएको र ठूलो टिम नभएको हुँदा समानुपातिक र प्रत्यक्षमा केही सिट छुट्याउने बित्तिकै बालेन ‘रास्वपा प्रवेश गर्ने’ अपेक्षा गरिरहेको थियो । तर, उनीहरूको अपेक्षा विपरित बालेन पक्षले बुधबारबाट नै समानुपातिक उम्मेद्वारहरूको सूची बनाइरहेको छ । सूचीमा सामाजिक प्रतिष्ठा आर्जन गरेका र समाजमा राम्रो छवि भएका मानिसहरूलाई समेटिएको छ ।

रास्वपासँग कुरा नमिले उनीहरूले एक सय १० जनाकै सूची निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिरहेका छन् । रास्वपाले पनि समानुपातिकका आकांक्षीहरूबाट उम्मेद्वार छनोटको प्रकृया सुरू गरेको छ । यसले दुई पक्षबीचको लेनदेनलाई अझ जटिल बनाएको छ ।

फागुन २१मा हुने भनिएको निर्वाचनमा जेनजी समूहहरूलाई समेत समेटेर वैकल्पिक शक्तिहरू नमिल्ने हो भने पुरानै राजनैतिक दलहरू हाबी हुने कुरा सबै नयाँ, वैकल्पिक र स्वतन्त्रहरूले बुझेका छन् । धरानका मेयर हर्क साङपाङ श्रम संस्कृति पार्टी खोलेर चुनावी अभियानमा होमिइसकेका छन् भने उनले कसैसँग गठबन्धन नगर्ने बताइरहेका छन् । उनी नयाँ तथा वैकल्पिकहरूको एकताको कुनै कसरतमा सामेल छैनन् ।

यता, रास्वपा, बालेन र कुलमानबीच सहमति हुन नसक्ने हो भने वैकल्पिक शक्तिहरूले एकआपसमा भोट काट्ने र पुराना दललाई सहयोग पुग्ने भन्दै समर्थकहरू चिन्तित भइरहेका छन् । यो चिन्ताले यी तीन पक्षबीच मिल्नै पर्ने दबाव छ । बालेनले प्रमुख जेनजी समूहहरूलाई आफ्नो पक्षमा लिइसकेका छन् भने निरन्तर भेटघाटबाट रास्वपामाथि दबाव सिर्जना गरिरहेका छन् ।

रास्वपालाई पुराना शक्तिहरू कमजोर र अझ अलोकप्रीय भएको वर्तमान अवस्थामा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास छ ।

यी दुई शक्तिहरूबीच कसरी लेनदेन मिलेर एक ठाउँमा उभिन्छन् त ? अहिले चासोका साथ यो प्रश्नले जवाफ खोजिरहेको छ ।

बिहीबार राती हुने भनिएको रवि-कुलमान-बालेन भेटले यो प्रश्नको जवाफ देला त ? व्यञ्जनकार निवासमा भएको दुई दिने रिले भेटले नेपाली राजनीतिमा नयाँ व्यञ्जन पकाउला त?

समानुपातिक उम्मेदवार चयनका लागि खुल्ला छलफलमा रास्वपा 

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले  समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत समानुपातिक उम्मेदवारी छनोटका लागि ब्लु प्रिन्ट संवादको सुरुवात गरेको छ । गोंगबुको बिजी ब्याङ्क्वेटमा आज सुरु भएको उक्त संवादमा विभिन्न समुदाय, जातजाति,  भाषाभाषीको प्रतिनिधित्व गर्दै देशभरीबाट उल्लेख्य मात्रामा नेता तथा कार्यकर्ताको उपस्थिति छ।

यो प्रक्रियाका लागि रास्वपाले समावेशीता र समानताका आधारमा स्वदेश तथा प्रवासबाट आकांक्षीहरूको नाम मागेको छ ।  बिहीबार र शुक्रबार गरी दुई दिन छलफलपछि आकांक्षीहरूमध्येबाट प्रारम्भिक सूची तयार हुने छ । यो सूचीमा रहेका आकांक्षीहरूलाई पार्टी सदस्यहरूले मतदान गरी समानुपातिक तर्फका उम्मेदवार चयन गर्नेछन् । त्यसका लागि दुई दिनसम्म रास्वपाले सबै प्रारम्भिक उम्मेदवार बीच उनीहरुको योग्यता/क्षमता लागि सघन बहस तथा छलफल गर्ने जनाएको छ ।

हामीले प्रारम्भिक समानुपातिक प्रणाली तर्फका रास्वपाका चार जना आकांक्षीसँग प्रतिक्रिया लिएका छौं। यो ब्लु प्रिन्ट संवाद किन भन्ने प्रश्नमा उनीहरु सबैले यसले पार्टीको भिजनलाई प्रष्ट पार्ने र पार्टी अरु भन्दा किन फरक छ भन्ने कुरालाई पुष्टी गर्ने बताए ।

‘ब्लु प्रिन्ट संवादमार्फत रास्वपाले प्रविधिको उच्चतम प्रयोग गर्छ। यो कार्यक्रममार्फत हामी देशविदेशमा भएका सबै रास्वपाका सदस्यहरुले आन्तरिक मतदान प्रक्रियामा भाग लिनेछन।  यसले हाम्रो आन्तरिक लोकतन्त्र त मजबुत गर्ने नै छ साथै यो किसिमको कार्यक्रमले हाम्रो दिशालाई पनि निर्दिष्ट गर्छ’, एकजना आकांक्षीले बताए ।

दुई दिनसम्म चल्ने यो संवादबाट रास्वपाले ब्लु प्रिन्ट सहितको राजनैतिक नक्सा तयार गर्ने बताईएको छ ।  ‘नेपालीमा भन्दा ‘ब्लु प्रिन्ट’ भनेको राजनैतिक नक्सा हो,’ अर्का एक आकांक्षीले भने, ‘राजनैतिक नक्सा भनेको कस्तो भने ट्या भित्र कस्ता मान्छे छन्।  कस्तो भूगोलका मान्छे छन् । त्यहाँ कस्तो किसिमको पहिचान छ। यी सबै कुरा समेटेर हामी संवाद र छलफलबाट अगाडी बढ्छौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले हरेक आमनिर्वाचनमा सहभागी आकांक्षी उम्मेदवारसँग छलफल गर्दै आएको छ।  यस अघि प्रतिनिधि सभा निर्वाचन २०७९ र प्रतिनिधि सभा उपनिर्वाचन २०८१ र ८२ का लागि पनि विभिन्न उम्मेदवारसँग संवाद र छलफल गर्दै खुल्ला प्रतिष्पर्धाबाट उम्मेदवार चयन गरेको थियो।

बालेनको दुई दिने म्याराथन भेटघाट,  कसरी अघि बढ्लान् संसदीय राजनीतिमा?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह यतिबेला उच्चस्तरीय राजनीतिक छलफलमा सक्रिय रूपमा जुटिरहेका छन्। ललितपुरको ज्वागलमा रहेको प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारको निवासलाई केन्द्र बनाएर उनले बुधबार दिउँसोदेखि निरन्तर भेटघाट र संवाद गरिरहेका छन्। ती छलफलहरूमा जेनजी अगुवा, कलाकर्मी, राजनीतिकर्मी, पत्रकार, सामाजिक अभियन्ता तथा नयाँ पुस्ताका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।

बालेनले अहिलेसम्म पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि स्वतन्त्र सांसद अमरेश कुमार सिंह, अभियन्ता सागर ढकाल र खगेन्द्र सुनारसँग छलफल गरिसकेका छन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित व्यक्तित्व कुलमान घिसिङ, चर्चित पत्रकार ऋषि धमला, नेपाली कांग्रेसका नेता सुनिल शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही, जेन–जी फ्रन्टकी संयोजक रक्षा बम लगायतका ४० भन्दा बढी उच्च पदस्थ र प्रभावशाली व्यक्तिहरूसँग बालेनले विचारविमर्श गरिसकेको बालेन निकट स्रोतले जनाएको छ ।

यी छलफलहरूको मुख्य केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जेन–जी पुस्ताको राजनीतिक भूमिकालाई राखिएको बताइएको छ । स्रोतका अनुसार, मुलुकको वर्तमान राजनीतिक अवस्था, वैकल्पिक राजनीतिक शक्तिहरूबीचको सहकार्य र नयाँ पुस्ताको अपेक्षालाई संस्थागत राजनीतिमा कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा गहिरो संवाद भइरहेको छ ।

विशेषगरी, रास्वपा सभापति रवि लामिछानेसँग बालेन शाहको भेटवार्ता निकै बाक्लो बनेको छ । पछिल्लो एक हप्ताको अवधिमा उनीहरूबीच तीन पटक भेटवार्ता भइसकेको छ। गत सोमबार बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । उक्त छलफलबाट कुनै पनि निष्कर्ष ननिस्किएपछि बालेनले अरुसँगको छलफललाई पनि तीव्रता दिएका छन् ।  नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरू मिलेर अघि बढ्नुपर्ने बहस चलिरहेका बेला बालेनले रविलाई वार्तामा प्रमुख प्राथमिकतामा राखेको देखिन्छ । आजपनि ३ घण्टा चलेको बालेन-रवि वार्ताबाट कुनै निष्कर्ष ननिस्किएपछि पुन: छलफल गर्ने सर्तसहित लामिछाने ज्वागलबाट बाहिरिए।

भेटवार्ता सकेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै रवि लामिछानेले छलफल आशावादी रहेको बताएका छन् । “वार्ता कस्तो रह्यो?” भन्ने पत्रकारको प्रश्नमा उनले हाँस्दै “मेरो अनुहार जस्तै हसिलो” भएको  प्रतिक्रिया दिएका थिए। लामिछाने निस्किएको केहीबेरमा रास्वपा नेता शिशिर खनाल ज्वागल पुगेका थिए । आज राती कुलमान घिसिङसहितको तीनपक्षीय वार्ता गर्ने तयारी भएको छ।

बालेन निकट स्रोतका अनुसार रविसङ्ग सहकार्यको सम्भावना नबने कुलमान लगायतका अन्य शक्तिहरुलाई मिलाएर लैजाने मनस्थितिमा बालेन देखिन्छन्।  त्यो पनि नभए निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टीबाट लौरो चुनाव लिएर आगामी चुनावमा जाने बालेनको तयारी छ।  यसैका लागि उनले सम्भव हुनेजति सबैसँग रिले छलफल चलाइरहेका छन्।

दुई दिनको म्याराथन छलफलबाट मेयर शाहले प्रमुख जेनजी समूहहरूसहित रेशम चौधरी, ज्ञानेन्द्र शाही तथा पूर्वविवेकशिलका केही नेताहरू आफ्नो पक्षमा रहेको सन्देश दिएका छन् । साथै, कुलमान घिसिङसँगको सहकार्यको सम्भावना पनि बलियो भएको सन्देश दिन उनी सफल भएका छन् । यो सन्देशले रास्वपासँगको छलफलमा उनको हात माथि हुँदै गएको देखिएको छ ।

मेयर बालेनले जेनजीहरूसँग गरे सहकार्यको आह्वान, एकता प्रक्रिया सुरु गर्न आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू अब पार्टी राजनीतिमा आएको जानकारी दिँदै जेनजी अगुवाहरूसँग सहकार्य र एकताको आग्रह गरेका छन् । बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा आयोजित छलफलमा मेयर शाहले जेनजी प्रतिनिधिहरूसँग संवाद गर्दै भने, ‘म पार्टी राजनीतिमा आएँ । अब सहकार्य गरौं । सबै जेनजीहरू एकजुट भएर आउनुस् ।’ जेनजी अगुवा युजनराज भण्डारीले यसै उद्धृत गर्दै जानकारी दिएका छन् ।

उक्त छलफलमा जेनजी अगुवा सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव लगायतका प्रतिनिधिहरू उपस्थित थिए । जेनजी अभियन्ता योगेन्द्र भण्डारीका अनुसार, मेयर शाहले सबै जेनजीहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए र एकता त्यहाँबाट सुरु हुने बताए । मेयर शाहले निरन्तर राजनीतिक संवाद जारी राखेका छन् । आजै उनले रास्वपा सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ र अन्य दलका नेतासँग भेटघाट गरे । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेत बालेनसँगको भेटमा सहभागी भएका थिए ।

रवि लामिछाने र बालेनबीच भएको भेटमा सम्भावित एकता प्रक्रियाबारे विस्तृत छलफल भएको थियो । स्रोतका अनुसार, रविले पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात लगायत विषयमा लचकतापूर्वक प्रस्ताव राखेका थिए । विशेष गरी समानुपातिक उम्मेदवार सूची ७०–३० को अनुपातमा तयार पार्ने प्रस्ताव आए पनि सल्लाहपछि आवश्यक समायोजन गर्न सकिने व्यवस्था राखिएको थियो । बालेनको पहलले जेनजी र अन्य दलबीच राजनीतिक सहकार्य र एकताको दिशामा नयाँ पहल सुरु भएको देखिन्छ ।

गगनलाई महतले भने–जिम्मेवार भएर बोल्नू

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापालाई जिम्मेवार भएर बोल्न आग्रह गरेका छन् । आज (बिहीबार) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबारे सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा प्रवक्ता महतले सबैले जिम्मेवार हुनुपर्ने बताए ।महामन्त्री थापाले बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति शेरबहादुर देउवाले नाम मात्रैको कार्यवाहक सभापति दिएको आरोप लगाएका थिए ।

त्यसबारे सोधिएको प्रश्नको उत्तरमा प्रवक्ता महतले भने, ‘उहाँ (गगन थापा) त पार्टीको महामन्त्री । उहाँबाट देशभरका नेता कार्यकर्ताले जिम्मेवारीको अपेक्षा गर्छन् । त्यसैले यी विषयलाई हामी कसैले पनि अतिरञ्जित तरिकाबाट सार्वजनिक गर्नु हुँदैन ।’ महाधिवेशनलाई लिएर सभापति देउवालाई दोष दिएर पन्छिन नहुने महतको भनाइ थियो । ‘अहिले कसैलाई दोष दिने कुरा छैन । सभापतिले कार्यवाहक दिएर सम्पूर्ण जिम्मेवारी दिनु भएको छ । उहाँ (पूर्णबहादुर खड्का) ले मिटिङ सञ्चालन गरिराख्नु भएको छ ।’

त्यस्तै, जिल्ला तथा क्षेत्रका कांग्रेस नेता तथा कार्यकर्तालाई दोषारोपण नगर्न पनि महतले आग्रह गरेका छन् । जिल्लाबाट तदारुकताका साथ काम भइरहेको बताउँदै बरु केन्द्रबाटै कमिकमजोरी भएको उनको भनाइ थियो । ‘एक–अर्कालाई दोषारोपण गर्ने भन्दा पनि आफ्नो जिम्मेवारीको काम गर्नुपर्छ,’ महतले भने, ‘जिल्लाका साथीहरूलाई दोष दिनु हुँदैन । कतिपय यतैबाट कमिकमजोरी भएका छन् ।’ क्रियाशील सदस्यता वितरणका लागि केन्द्रबाट पठाइएका फारममा क्रम संख्या उल्लेख नभएको पाइएको थियो । जसले गर्दा क्रियाशील सदस्यता वितरणमा ढिलाइ भएको थियो । केन्द्रबाट महामन्त्रीले नै फारम पठाउने व्यवस्था छ ।

 

 

जेनजी अगुवासँग बालेनको छलफल, रक्षाको नेतृत्व

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज राजधानीमा जेनजी आन्दोलनका प्रमुख अगुवाहरूसँग छलफल गरेका छन् । भेटघाट ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा भएको थियो । सूत्रका अनुसार, मेयर शाहले नयाँ र पुराना राजनीतिक नेतृत्वसँग सतत् संवाद गर्दै आएका छन् र यस भेटघाटमा आगामी रणनीति र राजनीतिक सहकार्यका विषयमा विचार–विमर्श भएको थियो । यस्तै, मेयर शाहले राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित अन्य दलका नेता र निवर्तमान सांसदहरूसँग पनि भेंटवार्ता गरेका छन् ।

भेटघाटका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि मेयरलाई समर्थन र राय दिन उपस्थित भएका थिए । राजनीतिक विश्लेषकहरूका अनुसार, बालेनको यो सक्रिय संवादले काठमाडौं र देशको राजनीतिक परिदृश्यमा नयाँ बहस र सम्भावनाहरू सिर्जना गर्ने संकेत दिन्छ । मेयर शाहले यसअघि पनि विभिन्न राजनीतिक समूहसँग नियमित छलफल गर्दै आएका छन् र स्थानीय सरकारको कामसँगै राष्ट्रिय राजनीतिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

बालेन–रवि आजै फेरि वार्ता, कुपण्डोल पुगे बाबुराम

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज फेरि भेटवार्ता हुने भएको छ । कुपण्डोलस्थित कुमार बेनको घरमा दिउँसो साढे दुई घण्टा लामो छलफल गरेका उनीहरू साँझ फेरि वार्तामा बस्ने तयारीमा छन् । गत सोमबार मध्यराती करिब ६ घण्टा लामो संवाद गरेको दुवै पक्षबीच अझै पूर्ण सहमति नजुटेको बताइएको छ । वार्तापछि सञ्चारकर्मीहरूले छलफलको परिणामबारे प्रश्न गर्दा रवि लामिछानेले ‘मेरो अनुहारले के बताइरहेको छ ?’ भनी प्रतिप्रश्न गरेका थिए ।

वार्ता अझै जारी रहेको र आवश्यक परेमा आफ्ना नेताहरूसँग छलफल गरी अन्तिम निर्णय गरिने स्रोतहरूले जनाएका छन् । त्यसैगरी, साँझ फेरि बालेनसँग भेटवार्ता गर्ने योजना रहेको पनि खुल्न आएको छ । बालेन शाहले पुराना पार्टीका असन्तुष्ट नेता, अभियन्ता, कलाकार र विभिन्न क्षेत्रमा भाइरल बनेका अनुहारहरूसँग वैकल्पिक शक्ति निर्माणमा सक्रियता देखाइरहेका छन् । हिजो उनी डा. भगवान कोइराला, पूर्वसचिव भीम उपाध्याय, राप्रपा नेता ज्ञानबहादुर शाहीसँग भेटघाटमा व्यस्त थिए ।

आज बिहान उज्यालो नेपालका नेता कुलमान घिसिङ, ३७ वर्षका जेनजी अगुवा सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा, पूर्व कांग्रेसी तथा विघटित प्रतिनिधिसभाका सांसद अमरेश कुमार सिंहलगायतसँग बालेनले भेटवार्ता गरेका छन् । त्यसै क्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि कुपण्डोल पुगेका छन् । उनी बालेनसँग छलफल गर्न त्यहाँ पुगेका हुन् । बालेनले यही घरमा यसअघि रास्वपा सभापति रवि लामिछानेसँग करिब ४ घण्टासम्म वार्ता गरेका थिए । राजनीतिक भेटघाटको यो शृङ्खला आगामी दिनमा नेपालको वैकल्पिक राजनीतिक शक्ति संरचनामा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ ।

 

फागुन २१ को निर्वाचन नयाँ शक्ति र नेतृत्व उदयको अवसर : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गतेको निर्वाचनलाई मात्र साधारण चुनावको रुपमा नलिइ, नयाँ शक्ति उदयको प्रारम्भिक बिन्दु बनाउनु पर्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको नयाँ कार्यलय उद्घाटन गर्दै मन्त्री घिसिङले देशभरका युवापुस्ता, नयाँ राजनीतिक दल तथा नेतृत्वहरुलाई एकजुट भएर अघि बढ्न प्रेरित गरेका हुन् ।

उनले फागुन २१ को चुनाव ‘देशको नयाँ शक्ति, नयाँ नेतृत्वहरुको उदय’ का लागि महत्वपूर्ण अवसर भएको औंल्याए । उनले यदि चुनावमा फेरि पुराना शक्तिहरुको दबदबा रह्यो भने त्यसलाई ठूलो दुर्भाग्यको रुपमा लिने उल्लेख गरे। मन्त्री घिसिङले देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुले नयाँ नेतृत्व र शक्तिलाई एकजुट गर्दै समृद्धि, रोजगारी, सुशासन र सामाजिक न्यायतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले जेन–जी आन्दोलनको महत्वलाई पनि स्मरण गराउँदै भने, ‘जेनजी आन्दोलनले देशमा सुशासन, रोजगारी सिर्जना र समृद्धितर्फ अघि बढ्ने स्प्रिड देखाएको थियो । अब त्यसको निरन्तरता सुनिश्चित गर्नु आजको आवश्यकता हो ।’ मन्त्री घिसिङले नयाँ शक्ति र युवा नेतृत्वको एकताबद्ध प्रयास बिना देशले विकासको मार्गमा अघि बढ्न कठिन हुने चेतावनी समेत दिएका छन् ।

उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका उनले भने कि छोटो समयमै पार्टीले देशभरमा नयाँ तरङ्ग सिर्जना गरेको छ र नयाँ शक्तिलाई एकजुट गर्ने नेतृत्वको भूमिकामा पार्टीले अगाडि बढ्नेछ । साथै, पार्टीले भ्रष्टाचारमुक्त, सुशासित, समृद्ध र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन् । मन्त्री घिसिङले देशको राजनीतिक परिप्रेक्ष्यमा नयाँ पुस्ता, युवा नेतृत्व र नयाँ राजनीतिक शक्ति एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकतालाई जोड दिएर भने, ‘यस अभियानमार्फत मात्र देश समृद्ध, न्यायपूर्ण र सशक्त बन्न सक्छ ।’

 

 

नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो हो : शिक्षामन्त्री पुन

काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो भएको बताएका छन् । बिहीवार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आधुनिक नवप्रवर्तन र अनुसन्धान नेपालको मात्र नभइ विश्वको समृद्धिको साँचो भएको बताए । प्रयोगशाला र कार्यशालाहरुलाई अर्थतन्त्रसँग जोड्ने दृढ अर्जुनदृष्टि राख्न जरुरी रहेको बताए । विश्वविद्यालय अब केबल पढाउने शिक्षण संस्था मात्र भएर नपुग्ने भन्दै त्रिभुवन विश्वविद्यालयमा रहेका व्यवहारिक ज्ञान, विज्ञानका कुराहरु नवप्रवर्तनात्मक अनुसन्धानलाई आत्मसाथ गर्ने आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बनाउनु पर्ने बताए ।

उनले भने, ‘आधुनिक नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो हो । नेपालको मात्र होइन विश्वको समृद्धिको साँचो हो । त्यहाँका र हाम्रा युवाहरुको हातमा छ । जसले हाम्रो प्रयोगशाला र कार्यशालाहरुलाई अर्थतन्त्रसँग जोड्ने दृढ अर्जुनदृष्टि राखेका छन् । विश्वविद्यालय अब केबल पढाउने शिक्षण संस्था मात्र भएर पुग्दैन । त्रिभुवन विश्वविद्यालयमा हामीले देखेका छौँ, व्यवहारिक ज्ञान, विज्ञानका कुराहरु नवप्रवर्तनात्मक अनुसन्धानलाई आत्मसाथ गर्ने आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बन्नुपर्छ । दुर्भाग्यवश हाम्रो त्रिभुवन विश्वविद्यालयभित्र रहेको चार वटा अनुसन्धान केन्द्रहरु अपांग भएको स्थितिमा छ । यसलाई सकेसम्म अघि बढाउन प्रयत्न गर्नु पर्दछ ।’ मन्त्री पुनले अनुसन्धान केन्द्रहरु भविष्यमा आउनसक्ने समस्याको पहिचान गरी समाधान गर्नसक्ने थलो भएको बताए ।

मुलुक बंगलादेश नबनोस् : प्रधानमन्त्री कार्की

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छन् । बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताउँदै अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गरिन् । राजनीतिक दल र जेनजीका समूहहरूले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको उनले बताइन् । उनले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गरिन् । आफूहरू अहिले धैर्यधारण गरेर सबै कुरा सहेर बसेको बताइन् ।

उनले भनिन् ‘हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । अहिले छोड, भोलि छोड भन्छ । जेनजीले पनि आजै छोड, भोलि छोड, पर्सी छोड भन्छ । छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्‍यौं भन्ने भाष्य आउँछ । हामी त पेण्डुलम जस्तो भयौं ।’

उनले भनिन्, ‘त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्यधारण गरेर काम गर्दैछौँ । निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरूमा । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेनजी समूहहरू हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नु हुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहिँ नहोस् ।’ प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरू रहेको बताइन् ।

 

 

क्रिस्मसको दिन कुलमानको कार्यालयमा काटियो रिबन (तस्वीरहरु)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा आज त्रिपुरेश्वरस्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ । यस अवसरमा पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले रिबन काटेर नयाँ कार्यालय ‘उज्यालो घर’ को उद्घाटन गरे । उद्घाटन कार्यक्रम विशेष गरी क्रिस्चियन धर्मावलम्बीहरुको महान् चाड क्रिसमस डे का अवसरमा आयोजना गरिएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू डा. ताराप्रसाद जोशी, प्रा.डा. महेन्द्रसुन्दर लावती, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेक राजसिंह, डा. शंकर ढकाल, तेजनारायण यादव, रिमा विश्वकर्मा लगायतले सहभागिता जनाएका थिए ।

उद्घाटन समारोहले पार्टीको नयाँ अध्यायको सुरुवातको प्रतीकको रूपमा महत्वपूर्ण महत्व राख्दछ । ‘उज्यालो घर’ कार्यालयले पार्टीका गतिविधिहरूलाई केन्द्रित गर्ने, सदस्यहरूलाई प्रशिक्षण र नीति निर्माणका कार्यक्रम सञ्चालन गर्ने मुख्य स्थलको रूपमा काम गर्नेछ । कार्यक्रममा सहभागीहरूले पार्टीको भविष्य योजना, ऊर्जा र विकासका नीति, र समृद्ध नेपालको उद्देश्यलाई अझ सशक्त बनाउने योजना प्रस्तुत गरे ।

तस्वीर स्रोत : नेपाल फोटो लाइब्रेरी

 

दुई चरणमा निर्वाचन गर्न पूर्व प्रमुख निर्वाचन आयुक्त थपलियाको सुझाव

काठमाडौं । पूर्व निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी फागुन २१ गते एकै पटक निर्वाचन गर्न कठिन हुने भएकाले दुई चरणमा निर्वाचन गर्ने विकल्पमा विचार गर्न सुझाव दिएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘नेपालका हिमाली क्षेत्रमा फागुनको समयमा हिउँ पर्ने, घाम नलाग्ने र अत्यधिक चिसो हुने भएकाले निर्वाचन सहज रूपमा सम्पन्न गर्न सकिँदैन ।’

उनले निर्वाचन आयोग र सरकारलाई भने, निर्वाचन एकै पटक नभएमा फागुन २१ गते पहिलो चरण र कठिन हुने जिल्लामा दोस्रो चरणमा निर्वाचन गराउन तयारी थाल्न सुझाव दिए । थपलियाले संसदीय व्यवस्थामा चुनाव सम्पन्न गर्न राजनीतिक दलहरूको तयारी पनि आवश्यक रहेको औंल्याए ।
पूर्व आयुक्तले मतदाताको पहुँच र समानुपातिक निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको विषयमा पनि ध्यानाकर्षण गराए । उनले भने, ‘प्रहरी र कर्मचारीहरूले त समानुपातिक मत हाल्न पाउँछन्, तर श्रमिक र मजदुरहरू आफ्नो मताधिकारबाट वञ्चित छन् । २०७९ सालको निर्वाचनमा करिव १३ लाख मजदुरले मतदान गर्न पाएका थिएनन् ।’

उनले नेपालभित्र रहेका सबै नेपालीले मतदान गर्न पाउनु पर्नेमा जोड दिंदै भने, ‘देश–विदेशका विषयमा बहस नगरी, जहाँ तपाईं हुनुहुन्छ, त्यहीँबाट भोट हाल्न पाउनु पर्छ । एकै चरणमा गर्न नसकिने भए, दोस्रो चरण अलिकति हिउँ नपर्ने अवस्थामा गरिनु पर्छ ।’ थपलियाले राजनैतिक दलहरूले प्रत्यक्ष निर्वाचनका उम्मेदवार दर्ता गर्दा समावेशीतामा ध्यान दिनुपर्ने र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए । उनले संविधानको धारा ८४ को ८ को आधारमा ‘संसदमा प्रत्येक दलमा कम्तिमा एकतिहाई महिला हुनुपर्ने’ भन्दै, समानुपातिक प्रणालीमार्फत मात्र होइन, प्रत्यक्षतर्फबाट पनि महिलालाई प्रतिनिधित्व दिनुपर्ने बताए ।

राजनैतिक गठबन्धन र उम्मेदवारको सदस्यताको विषयमा कानूनी स्पष्टता आवश्यक रहेको उनको भनाइ छ । थपलियाले डिजिटल प्रविधिको बढ्दो प्रयोग निर्वाचनमा चुनौती बन्न सक्ने र डिपफेक तथा मिथ्या सूचनाबाट समस्या उत्पन्न हुने भएकाले राज्यले यसलाई नियमन गर्नुपर्ने सुझाव दिए । उनले निष्पक्ष र स्वतन्त्र निर्वाचनलाई लोकतन्त्रको मुख्य आधार भएको बताउँदै भने, ‘निर्वाचन स्वच्छ र निष्पक्ष भएमा मात्र शासनमा शुद्धता आउँछ । गतिलो मान्छे आउँछ, गतिलो शासन हुन्छ । गतिलो दलले जित्छ, शासन गतिलो हुन्छ ।’ पूर्व आयुक्त थपलियाको सुझाव र चिन्ताले आगामी निर्वाचनको तयारीमा मौसम, भौगोलिक अवस्था, समावेशीताका पक्ष र डिजिटल चुनौतीहरूको महत्वलाई स्पष्ट पारेको छ ।

 

रेनु दाहाल चितवन–३ बाट सर्वसम्मत सिफारिस

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नम्बर–३ बाट आउँदो निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने सो पार्टीका नेता सन्तोष पनेरुले जानकारी दिएका छन् ।

भरतपुर महानगरपालिकाको एक बर्षे कार्यकाल बाँकी छँदै महानगर प्रमुख दाहालले राजीनामा दिएर चुनावमा होमिने तयारी गरेकी छन् । सर्वसम्मत उम्मेदवार सिफारिस बैठकमा आफैं उपस्थित भएकी दाहालले महानगरपालिकामा झण्डै ९ वर्ष काम गरिसकेको अनुभव र जनताको अपार मायालाई सधै साथमा लिएर आगामी निर्वाचनमा लाग्ने बताइन् ।

उनले विगतमा काठमाडौंमा उम्मेदवार बनेर हार्न समेत तयार भएको परिस्थितिको समेत सामना गरिसकेको भन्दै चितवन क्षेत्र नं. ३ का जनताले आफूलाई विश्वास गर्ने बताइन् । चितवन निर्वाचन क्षेत्र नं. ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वटा वडाहरू पर्दछन् । २०७४ सालको निर्वाचनमा रेनुका पिता तथा तत्कालीन एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस निर्वाचन क्षेत्रबाट जित हात पारेका थिए ।

२०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता डा. भोजराज अधिकारी राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेसँग पराजित बनेका थिए । सो निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेर दिनेश कोइराला एमालेको सर्मथनमा ‘माछा’ चुनाव चिह्न लिएर निर्वाचन लडे पनि पराजित बनेका थिए ।

 

घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ–समयले बताउँला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच अढाइ घण्टासम्म चलेको वार्ता सकिएको छ । वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा भएको थियो । वार्ता सकिएपछि लामिछाने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिन तयार भएनन् । ‘वार्ता कस्तो भयो ?’ भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के बताउँछ ?’ अर्को प्रश्न, ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’ मा भने उनले जवाफ दिए, ‘बाँकी समयले बताउँला ।’

लामिछानेले थप भने, ‘जनताले चाहेको परिणामको लागि अलिकति प्रतीक्षा गर्नुस् ।’ सञ्चारकर्मीले थपे, ‘अनुहारमा त सधैं चमक छ नि’, भनेपछि उनले छोटोमा धन्यवाद व्यक्त गरे । वार्ताको विषयवस्तु र परिणामबारे अहिले स्पष्ट जानकारी नआएको भए पनि, लामिछानेको जवाफले संवाद सकारात्मक रहेको संकेत दिएको छ ।

बालेनसँग वार्ता सकेर बाहिरिए रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेटवार्ता गरी बाहिरिएका छन् । ललितपुरको ज्वागलस्थित मेयर साहका निकट सहयोगी कुमार बेनको निवासमा भएको उक्त छलफल करिब एक घण्टा चलेको बताइएको छ । छलफलपछि सञ्चारकर्मीहरूको घेरामा परेका लामिछानेले वार्ताबारे कुनै स्पष्ट प्रतिक्रिया दिन चाहेनन् । वार्ताको विषयवस्तुबारे सोधिएको प्रश्नमा उनले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के भन्छ ?’ लामिछानेको यो अभिव्यक्तिले भेटवार्ताको महत्व र भित्री सन्देशबारे थप चासो बढाएको छ।

यद्यपि, रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले भने भेटवार्ताको एजेण्डाबारे केही संकेत दिएका छन् । उनका अनुसार बालेन साह र रवि लामिछानेबीच आगामी दिनमा कसरी सहकार्य गर्ने, विशेषगरी चुनावी समन्वय र मिलेर अघि बढ्ने सम्भावनाबारे छलफल भएको थियो । राजनीतिक रूपमा स्वतन्त्र पहिचान बनाएका मेयर बालेन साह र नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुवै नेताले सार्वजनिक रूपमा मौनता अपनाए पनि, यो भेटले आगामी राजनीतिक समीकरणमा नयाँ संकेत दिन सक्ने आँकलन गरिएको छ । हालका लागि भेटवार्ताको विस्तृत विवरण सार्वजनिक नभए पनि, बालेन–रवि संवादलाई आगामी राजनीतिक घटनाक्रमसँग जोडेर हेरिने निश्चित देखिन्छ ।

 

कुलपति व्यवस्था पुनरावलोकनतर्फ सरकार, विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने वर्तमान व्यवस्थालाई परिमार्जन गर्ने दिशामा सरकार गम्भीर परामर्श र गृहकार्यमा जुटेको स्पष्ट पारेकी छन् । उच्च शिक्षामा बढ्दो दलीय हस्तक्षेप र यसको नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यस्तो आवश्यकता बोध भएको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त गरी प्राज्ञिक बहस र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् । शैक्षिक प्रशासनमा हुने अनावश्यक राजनीतिक हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर कमजोर बन्दै गएको उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले ठूलो संरचना र विद्यार्थी संख्या मात्रले गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको शिक्षा सुनिश्चित नहुने उल्लेख गर्दै प्राध्यापक–विद्यार्थीको सन्तुलित अनुपात, गुणस्तरीय अध्यापन र उच्चस्तरीय अनुसन्धान तथा प्रकाशनमा जोड दिनुपर्ने बताइन् । यसका लागि प्राध्यापक, विद्यार्थी र विश्वविद्यालय व्यवस्थापन सबै पक्ष जिम्मेवार र सक्रिय हुनुपर्ने उनको धारणा थियो ।

उनले नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश जान बाध्य भइरहेको सन्दर्भ उल्लेख गर्दै देशभित्रै गुणस्तरीय शिक्षा उपलब्ध गराउन समयानुकूल, व्यावहारिक र नयाँ शैक्षिक कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन् । साथै, शिक्षामा सरकारी लगानी बढाउन पनि जरुरी रहेको बताउँदै विश्वविद्यालयलाई राजनीतिक अखडाभन्दा ज्ञान र बहसको थलो बनाउने सामूहिक प्रयास आवश्यक रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थाबारे पुनरावलोकन गर्दै वैकल्पिक र प्रभावकारी मोडेल खोज्ने विषयमा सरकार अघि बढिरहेको संकेत उनका अभिव्यक्तिले दिएको छ, जसले आगामी दिनमा नेपालको उच्च शिक्षा प्रणालीमा संरचनागत परिवर्तनको आधार तयार हुन सक्ने देखिन्छ।

बालेन–रवि वार्ता चलिरहँदा अमरेशसिंह पनि पुगे ज्वागल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच अहिले वार्ता चलिरहँदा विघटित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि पुगेका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा अहिले वार्ता जारी छ । यसैबीच सिंह पनि वार्तास्थल पुगेका हुन् । अहिले रवि र बालेनबीच वान टू वान वार्ता चलिरहेको छ । त्यहाँ जेनजी प्रतिनिधि सुदन गुरुङ लगायत पनि उपस्थित छन् ।

बालेन–कुलमान ‘प्याकेज’ संवाद, नयाँ शक्ति निर्माणको दौड तीब्र

काठमाडौं । नयाँ राजनीतिक शक्ति निर्माणको गृहकार्यमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङबीच गम्भिर छलफल भएको छ । बिहीबार बिहान भएको ‘वान टु वान’ भेटमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर सहकार्य, पावर शेयरिङ र एउटै राजनीतिक प्लेटफर्मबाट अघि बढ्ने विकल्पबारे कुराकानी भएको स्रोतले जनाएको छ ।

छलफलमा नयाँ पार्टी दर्ता गर्नुअघि विद्यमान राजनीतिक संरचनालाई नै सुदृढ गर्दै अघि बढ्ने विषय उठेको बताइएको छ । निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टीलाई अगाडि सार्नेबारे पनि सहमति खोजिएको दाबी छ । कुलमानको उपस्थितिमा उज्यालो पार्टीको कार्यालय उद्घाटन हुनुअघि नै यो भेटवार्ता भएको थियो ।

फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दुवै नेताले समानान्तर रूपमा संवाद तीव्र पारेका छन् । बालेन आगामी चुनावमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एजेन्डामा देखिएका छन् भने कुलमानले पनि आफूलाई प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गरिरहेका छन् । यद्यपि बिहीबारको भेटबाट ठोस निष्कर्ष भने ननिस्किएको स्रोतको भनाइ छ । ‘संवाद चलिरहेको छ, प्याकेजमै सहमति खोज्ने प्रयास भइरहेको छ’, कुलमान निकट स्रोतले जनाएको छ ।

यसैबीच बालेनले विभिन्न दल र क्षेत्रका प्रभावशाली व्यक्तिसँग भेटघाटलाई तीव्र बनाएका छन् । उनले चिकित्सक डा. भगवान कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सीके राउतसँग छलफल गरिसकेका छन् । साथै महानगरका सल्लाहकार सुनिल लम्सालसहित पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्व उपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, रक्षा बम, केपी खनालसँग पनि भेटवार्ता भएको बताइएको छ ।

कलाक्षेत्र र मिडियाबाट निश्चल बस्नेत, सम्भव सिरोहिया, सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमलासँग पनि बालेनको छुट्टाछुट्टै संवाद भएको छ । आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट हुने तयारी छ । यसअघि सोमबार राति बालेन–रविबीच छलफल भइसकेको थियो ।
कुलमानसँगको पछिल्लो भेटपछि रविसँग संवाद अघि बढाइनु राजनीतिक ‘प्याकेज’ निर्माणतर्फको संकेतका रूपमा हेरिएको छ । मंसिर १४ गते पनि बालेन–कुलमान भेट भइसकेको पृष्ठभूमिमा अहिलेको संवादले नयाँ गठबन्धन वा एउटै राजनीतिक शक्तिको सम्भावनालाई थप चर्काएको छ ।

सरकारले चुनावी वातावरण बनाए एमालेले बहुमत ल्याउँछ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए निर्वाचनमा जान पार्टी तयार रहेको बताएका छन् । पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन होस् भन्ने एमालेको चाहना रहेको उनको भनाइ छ । उनले सरकारले वातावरण बनाए निर्वाचनमा बहुमतसहित निर्वाचन जित्ने दाबी पनि गरे ।

उनले भने, ‘हामी जस्तो परिस्थिति आउँछ त्यसरी नै जाने हो । यदि निर्वाचनको वतवरण बनाउँछ सरकारले हामी निर्वाचनमा सहभागि हुन्छौं, बहुमत ल्याउँछौँ, चुनाव जित्छौँ । हामी त स्वतन्त्र, निष्पक्ष र धाँदलीरहित चुनाव होस् भन्ने पर्खिरहेका छौँ । तर यो सरकारमा त्यो जिम्मेवारीबोध देखिँदैन ।’ उनले एमाले परिस्थितिअनुसार अगाडि बढ्ने भन्दै निर्वाचनको वातावरण बनाउन सरकारले चासो नदेखाएको टिप्पणी समेत गरे ।

 

निर्वाचनको सम्भावना छैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन्। पार्टीको ११औँ महाधिवेशन सफल बनाउन भूमिका खेलेका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले निर्वाचनका लागि अनुकूल वातावरण नबनेको बताए । अध्यक्ष ओलीले सरकारको गतिविधिले समाजमा भय र त्रासको वातावरण सिर्जना भएको आरोप लगाए । उनका अनुसार नेताहरूमाथि प्रतिबन्ध लगाउने, अखबारबाजी गर्ने, सामाजिक सञ्जालमार्फत दुस्प्रचार गर्ने तथा मिडिया ट्रायल जस्ता कार्यहरू निरन्तर भइरहेका छन्, जसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले एमाले निर्वाचनविरोधी नभई प्रतिगमनविरोधी भएको धारणा स्पष्ट रूपमा राखिएको जानकारी दिए । उनले असंवैधानिक ढंगले सरकार गठन भएको आरोप लगाउँदै सकेसम्म छिटो संसद्को पुनःस्थापना आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष ओलीले विघटित संसद् पुनःस्थापनाको मागमा एमाले अडिग रहेको बताउँदै अदालतले गर्ने निर्णयको कार्यान्वयन सबैले स्वीकार गर्नुपर्ने सहमति भएको पनि उल्लेख गरे । ‘हामीले चुनाव हुनु हुँदैन भनेका छैनौँ, प्रतिगमन हुनु हुँदैन भनेका हौं’, उनले भने ।

उनले पछिल्लो समय ‘जेन–जी’ को नाममा केही व्यक्तिहरूले समाजमा अराजकता फैलाउने र भय सिर्जना गर्ने गतिविधि गरिरहेको टिप्पणी पनि गरे । नव युवाहरूको नाम बेचेर केही ‘छट्टु टाठाबाठा’ हरूले आफ्नो स्वार्थ पूरा गरिरहेको उनको आरोप थियो । अध्यक्ष ओलीका अनुसार वर्तमान अवस्थामा न त निर्वाचनको वातावरण बनेको छ, न त बन्ने कुनै लक्षण देखिएको छ । त्यसैले तत्काल निर्वाचनको सम्भावना नरहेको उनको निष्कर्ष थियो ।

 

 

रवि र बालेन भित्र वार्तामा, बाहिर सुदन भन्छन्–नमिलेसम्म चुकुल खोल्दैनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ललितपुरको कुपण्डोलमा निर्णायक छलफल चलिरहेको छ । बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा दुई नेता एक्ला–एक्लै वार्तामा जुटेका हुन् । छलफलका क्रममा बाहिर भने जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङ उपस्थित छन् । उनले ठट्यौली शैलीमा ‘नमिलेसम्म गेट नखोल्ने’ भन्दै ढोकामा चुकुल लगाएर बसिरहेको बताएका छन् ।

‘जबसम्म सहमति हुँदैन, तबसम्म बाहिर निस्कन पाइँदैन’, गुरुङको भनाइ छ। यसअघि पनि रवि र बालेनबीच कमलपोखरीमा करिब ६ घण्टा लामो भेटवार्ता भएको थियो । तर त्यस भेटमा रविका तर्फबाट ठोस राजनीतिक प्रस्ताव नआएको भन्दै बालेन असन्तुष्ट थिए र अन्य नेताहरूसँग विकल्पबारे छलफल अघि बढाएका थिए । बालेनले लौरो चुनाव चिन्ह भएको ‘देश विकास पार्टी’ मार्फत राजनीति अघि बढाउने गृहकार्य समेत गरिरहेका छन् ।

तर त्यसअघि रवि लामिछानेसँगको सहकार्य टुंग्याउने चाहना बालेनको रहेको निकट स्रोत बताउँछन् । बालेन आगामी निर्वाचनमा संसदीय दलको नेता र प्रधानमन्त्री सुनिश्चित हुने स्पष्ट खाका चाहन्छन् । आजको छलफलले दुई नेता मिलेर अघि बढ्ने वा आ–आफ्नो बाटो रोज्ने भन्ने टुंगो लाग्ने अपेक्षा गरिएको छ । भित्र राजनीतिक समिकरणको गहिरो संवाद चलिरहँदा बाहिर सुदन गुरुङको ठट्यौली ‘गेट राजनीति’ ले कुपण्डोलको माहोल थप रोचक बनेको छ।

 

जेनजी एकजुट गर्ने जिम्मा रक्षालाई, बालेनसँग खोजिन् सैद्धान्तिक सहकार्यको आधार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी (जेनेरेसन जेड) प्रतिनिधिहरूलाई एक ठाउँमा ल्याउने जिम्मेवारी जेनजी फ्रन्टकी संयोजक रक्षा बमलाई दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक शक्तिहरूलाई संगठित गर्ने उद्देश्यसहित यो जिम्मेवारी दिइएको हो ।

बुधबार ललितपुरको कुपण्डोलस्थित आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको निवासमा बालेन र रक्षा बमबीच करिब तीन घण्टा लामो राजनीतिक संवाद भएको थियो । उक्त छलफलमा बालेनको सचिवालयका सदस्यहरू समेत सहभागी थिए । छलफलमा जेनजी प्रतिनिधित्व, वैकल्पिक राजनीतिक शक्तिको सम्भावना र भावी सहकार्यका आधारबारे गहन कुराकानी भएको जनाइएको छ ।

बालेनले देश विकासका लागि नयाँ राजनीतिक संरचना आवश्यक रहेको उल्लेख गर्दै जेनजी प्रतिनिधिलाई पनि ‘देश विकास पार्टी’ मार्फत समावेश गर्न चाहेको संकेत गरेका छन् । यही सन्दर्भमा जेनजीका विभिन्न समूह, सहिद परिवार तथा युवा अभियन्ताहरूसँग संवाद गरी वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न रक्षा बमलाई संयोजनको भूमिका दिइएको हो ।

छलफलका क्रममा रक्षा बमले सहकार्यका लागि सैद्धान्तिक स्पष्टता खोजेकी थिइन् । उनले संविधान, संघीयता, लोकतन्त्र र प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता विषयमा प्रश्न उठाएकी थिइन् । बालेनले संविधान र संघीयता आवश्यक रहेको र समस्या कार्यान्वयनमा देखिएको धारणा राखेका थिए । यी जवाफपछि आफू सहकार्यप्रति विश्वस्त भएको रक्षा बमले बताइन् ।

दुवै पक्षबीच ‘इमानदारिता र निःस्वार्थ देशसेवा’ लाई साझा धरातलको रूपमा पहिचान गरिएको छ । वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिन सक्ने सम्भावनाबारे सकारात्मक छलफल भएको र जेनजीलाई संगठित गर्न रक्षा बमले सक्रिय भूमिका खेल्ने सहमति बनेको छ । बालेनले रक्षा बमलाई निर्वाचनमा प्रत्यक्ष वा समानुपातिकमध्ये कुनै एक विकल्प रोज्न पनि अनुरोध गरेका छन् । यद्यपि यस विषयमा अन्तिम निर्णय भइनसकेको बताइएको छ । प्रतिनिधिसभा निर्वाचनको बन्दसूची बुझाउने समय नजिकिँदै जाँदा बालेन पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवादमा जुटिरहेका छन् ।

 

 

बालेनसँगको भेटबारे के भन्छन् ज्ञानेन्द्र शाही ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीबीच भएको भेटवार्ताले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ । बुधबार साँझ बालेनका सल्लाहकार कुमार बेनको कुपण्डोलस्थित निवासमा भएको यो भेटलाई आगामी निर्वाचन र नयाँ राजनीतिक ध्रुवीकरणसँग जोडेर हेरिएको छ ।

भेटपछि प्रतिक्रिया दिँदै राप्रपा प्रवक्ता शाहीले मेयर बालेनले युवाशक्ति एकजुट भएर अघि बढ्नुपर्ने प्रस्ताव राखेको जानकारी दिए । उनका अनुसार बालेनको सन्देश स्पष्ट थियो–हिजो सँगै संघर्ष गरिएको हो, आज पनि सँगै काम गर्न सकिन्छ र जहाँ–जहाँ भए पनि युवाहरू एकजुट हुनुपर्छ । यो भेटलाई सामान्य शिष्टाचारभन्दा पनि गहिरो राजनीतिक संवादको रूपमा लिइएको छ । निर्वाचन नजिकिँदै जाँदा बालेनले आफ्नै नेतृत्वमा वैकल्पिक राजनीतिक शक्तिलाई संगठित गर्ने तयारी तीव्र बनाएका छन् । यही क्रममा विभिन्न दलका नेता, अभियन्ता, बुद्धिजीवी र सार्वजनिक व्यक्तित्वहरूसँग निरन्तर छलफल भइरहेको स्रोतहरू बताउँछन् ।

बुधबार रातिसम्म चलेको छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, चिकित्सक डा. भगवान् कोइराला, राप्रपाका ज्ञानेन्द्र शाही, युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवेकशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया र सञ्चारकर्मी सुरजसिंह ठकुरीलगायतको सहभागिता रहेको थियो । छलफलका क्रममा मेयर बालेनले यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको ‘देश विकास पार्टी’ र त्यसको चुनाव चिन्ह ‘लौरो’ प्रयोग गरेर संगठित रूपमा अघि बढ्ने योजना सुनाएको स्रोतको दाबी छ । यसले बालेन अब केवल स्थानीय तहका प्रशासकमा सीमित नरही राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा आउन खोजिरहेका छन् भन्ने संकेत गरेको छ ।

यसअघि सोमबार राति कमलपोखरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र मेयर बालेनबीच पनि लामो छलफल भएको थियो । उक्त छलफलमा सरकार र पार्टीको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा समेत अनौपचारिक प्रस्तावहरू उठेका थिए । स्रोतका अनुसार हालको चरणमा सरकारको नेतृत्व बालेनले गर्ने र पार्टीको नेतृत्व रविले सम्हाल्ने, तथा अर्को निर्वाचनपछि सरकारको नेतृत्व रविले गर्ने र बालेनले सहयोगी भूमिका खेल्ने जस्ता विषयमा पनि विचार–विमर्श भएको थियो ।

ज्ञानेन्द्र शाही २०७९ सालको निर्वाचनमा जुम्लाबाट निर्वाचित सांसद हुन् । उनले संसदमा बालेनको कार्यशैलीको खुलेर प्रशंसा गर्दै काम गर्न दिनुपर्ने धारणा राख्दै आएका छन् । आसन्न निर्वाचनमा शाहीलाई विभिन्न स्थानबाट उम्मेदवार बन्न प्रस्ताव आएको बताइन्छ, जसले उनी पनि नयाँ राजनीतिक समीकरणको केन्द्रमा रहेको देखाउँछ । बालेन अहिले पनि विभिन्न व्यक्तिहरूसँग निरन्तर छलफलमा जुटिरहेका छन् । यी भेटघाट र संवादहरूले नेपाली राजनीतिमा परम्परागत दलभन्दा बाहिर उभिएको, युवा केन्द्रित र वैकल्पिक शक्तिको सम्भावना बलियो बन्दै गएको संकेत गरेका छन् । आगामी दिनमा यी छलफलहरू ठोस राजनीतिक संरचनामा रूपान्तरण हुन्छन् कि हुँदैनन् भन्ने चासो सर्वत्र बढिरहेको छ ।

 

 

 

 

ओलीको कटाक्ष : देशका चर्चित भनिएका व्यक्ति नशामा भेटिन्छन्

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिने टिप्पणी गरेका छन् । महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका युवाहरूमा कुनै दुव्र्यसनी नरहेको दाबी गरे । उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन् । हाम्रा युवाहरूमा त्यस प्रकारको कुनै दुव्र्यसनी देखिएन, मेरो भनाइ मन नपरेर, इख मानेर दुव्र्यसनीमा भएकाहरूले पनि छाड्नु भयो भने म धेरै खुशी हुन्थे ।’

उनले महाधिवेशनमा खटिएका कुनै स्वयंसेवकको छेउमा पुग्दा खैनी समेत गनाएको नभेटिएको जिकिर गरे । ‘यस पटक महाधिवेशनमा कसैको छेउमा पनि पुग्दा पनि खैनी गन्हाएको भेटिएन । खैनी भनेको कस्तो चिज छ भने ओठमा एउटा कुनामा च्यापेको छ भने पनि पर–पर गन्हाउँछ थाह भइहाल्छ । खटिएका कोही पनि कुनै पनि लागुपदार्थ, केही तरल पदार्थ प्रयोग गरेर बसेको पाइनँ,’ उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन् । हाम्रा युवाहरू कुनै दुर्व्यसनमा हुनु हुन्न । मेरो भनाइ मन नपरेर दुर्व्यसन छोड्नु भए म खुशी हुन्छु ।’

 

 

 

 

बालेन र कांग्रेस नेता शर्माबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माबीच भएको भेटवार्ताले राजनीतिक वृत्तमा चासो बढाएको छ । ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा भएको उक्त भेटमा संसद् पुनः स्थापनाको सम्भावना र त्यसका राजनीतिक प्रभावबारे छलफल केन्द्रित रहेको डा. शर्माले बताएका छन् ।

भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै डा. शर्माले संसद् पुनःस्थापना भए के–के परिणाम आउन सक्छन् र त्यसले मुलुकको राजनीतिक दिशामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा संवाद भएको बताए । उनका अनुसार छलफल तथ्य र सम्भावनामा आधारित थियो, कुनै ठोस निष्कर्ष वा निर्णयमा भने नपुगेको संकेत उनले दिए ।

अन्य राजनीतिक दल वा समूहसँग बालेन शाहले गरिरहेको सम्भावित छलफलका विषयमा आफूलाई जानकारी नभएको भन्दै डा. शर्माले भने, ‘अरूसँग के भइरहेको छ, त्यो मलाई थाहा हुने कुरा भएन ।’ यसले भेटलाई दुई व्यक्तिबीचको विचार–विमर्शको रूपमा सीमित राखिएको बुझाइ दिन्छ ।
राजनीतिक भविष्यबारे सोधिएको प्रश्नमा डा. शर्माले आफू नेपाली कांग्रेसमै रहने स्पष्ट पारे । कांग्रेस छोड्ने अड्कलबाजीलाई खारेज गर्दै उनले ५–१० वर्षपछि पार्टी नेतृत्वको आकांक्षा व्यक्त गरे ।

‘हामी कांग्रेसमै बसेर ५-१० वर्षपछि सभापति हुने मान्छे हौं’, उनले भने, ‘कहाँ छोड्छौं र ?’ यो भेटलाई लिएर विभिन्न कोणबाट व्याख्या भइरहेका बेला दुवै पक्षले औपचारिक राजनीतिक सहकार्यको घोषणा नगरे पनि, वर्तमान राजनीतिक तरलतामा यस्ता संवादहरूले बहसलाई थप गतिशील बनाउने देखिन्छ । संसद् पुनः स्थापना जस्ता संवेदनशील विषयमा विचार आदान–प्रदान हुनु लोकतान्त्रिक अभ्यासकै अंश भएको टिप्पणी पनि हुन थालेको छ ।

 

 

रास्वपाको समानुपातिक आकांक्षी डा. घिमिरे, स्वास्थ्य क्षेत्रको अनुभवलाई नीतिनिर्माणमा लैजाने प्रयास

काठमाडौं । चिकित्सा, युवा आन्दोलन र सुधारमुखी राजनीतिमा सक्रिय व्यक्तित्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको आकांक्षी सूचीमा वरिष्ठ छाला तथा कपाल प्रत्यारोपण रोग विशेषज्ञ डा. रुपक घिमिरे समावेश भएका छन्। डा. घिमिरे हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ-काठमाडौं सम्पर्क समितिका संयोजक हुन्।

काठमाडौँ विश्वविद्यालयबाट एमबिबिएस र एमडी डर्माटोलोजी गरेका डा. घिमिरेले भारत तथा दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिएका छन्। काठमाडौँ मेडिकल कलेजमा सहायक प्राध्यापकका रूपमा काम गरेका उनले त्यसपछि उनले दरबारमार्गस्थित ‘आवरण स्किन क्लिनिक’ सञ्चालन गर्दै आएका छन् । यहाँ उनले स्वदेशी मात्र नभई ३० भन्दा बढी मुलुकमा रहेका नेपालीले समेत सेवा लिइरहेका छन्।

स्वास्थ्य क्षेत्रका बेथितिविरूद्ध कडा अडान लिने चिकित्सक राजनीतिमा

डा. घिमिरे नेपाल मेडिकल काउन्सिलका निवर्तमान सदस्य पनि हुने । काउन्सिल सदस्याका रुपमा नेपालको स्वास्थ्य क्षेत्रका विकृतिविरुद्ध खरो रुपमा उभिने चिकित्स्कका रुपमा उनी परिचित छन् । काउन्सिलको सदस्यका रुपमा र एक चिकित्सकका रुपमा उनले नेपालको स्वास्थ्य क्षेत्रमा देखिकएका विकृति विरूद्ध निरन्तर प्रहार गर्दै आएका आएका छन् ।

यसका साथै,  उनले नेपालको स्वास्थ्य सेवालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए। स्वास्थ्य सेवा पारदर्शी, जवाफदेही र प्रविधिमैत्री हुनुपर्ने धारणा राख्दै आएका डा. घिमिरे यही अनुभवलाई नीति निर्माण तहमा लैजाने उद्देश्यसहित राजनीतिमा सक्रिय भएको बताउँछन्। रास्वपाबाट समानुपातिक उम्मेदवारको आकांक्षीका रूपमा उनको नाम अगाडि आएको छ।

राजनीतिमा युवा सहभागिताको वकालत

उनी जेनजी आन्दोलनमा सक्रिय रहेको ‘हामी नेपाल’ का संस्थापक उपसभापति समेत हुन् । उनले पुरुषोत्तम यादवलगायत विभिन्न अभियन्तालाई जोड्दै युवामाझ वैकल्पिक राजनीतिक सोच बिस्तार गर्न पहल गरेका थिए।

स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै आएका डा. घिमिरे युवासँग राम्रो पहुँच राख्ने नेताको रूपमा परिचित छन्। यही पृष्ठभूमिका कारण उनलाई सुधारमुखी राजनीतिमा सम्भावनायुक्त पात्रका रूपमा हेरिन थालिएको छ।

चिकित्सकदेखि कलाकार हुँदै राजनीतिसम्म

डा. घिमिरे चिकित्सक मात्रै नभएर मिस्टर नेपाल २०११ का बिजेता समेत हुन्। सन् २०१५ मा नेपाली चलचित्र चकलेटका नायकको भूमिका निर्वाह गरेका उनले दर्जनभन्दा बढी टेलिभिजन विज्ञापनमा पनि अभिनय गरिसकेका छन्।

कलात्मक पहिचान, अन्तर्राष्ट्रिय चिकित्सा अनुभव र नीतिगत सुधारको अभ्यासलाई एकै ठाउँमा जोड्दै आएका डा. घिमिरेलाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनिन्छ। यही पृष्ठभूमिले उनलाई रास्वपाको आकांक्षी सूचीमा फरक पहिचान दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेद्वार छनोटका लागि पुष १२ गते शनिबारदेखि पौष १३ गते आइतबार साँझसम्म RSP Mobile App मार्फत आन्तरिक मतदान प्रक्रिया सञ्चालन गर्दैछ। स्वास्थ्य क्षेत्रका अनुभवी चिकित्सक, नीति सुधारक तथा जेन–जी आन्दोलनका सक्रिय अभियन्ता डा. घिमिरेलाई आफ्नो अनुभव र ज्ञानलाई नीति निर्माणमा लैजानका लागि समर्थनका लागि पार्टीपंक्तिसमक्ष आह्वान गरेका छन् । पार्टीभित्र योग्य, सक्षम र इमानदार नेतृत्व चयनका लागि डिजिटल माध्यमबाट सहभागिता जनाउन उनले अनुरोध गरेका हुन् ।

पाँच सय र हजारको नोट बन्द गर्नुपर्छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले देशमा बढ्दो भ्रष्टाचार र कालोधन नियन्त्रणका लागि कडा तथा असाधारण कदम चाल्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा उनले उच्च मूल्यका नोट खारेज गर्ने, नयाँ दरका नोट प्रचलनमा ल्याउने र भ्रष्टाचारविरुद्ध विशेष संयन्त्र बनाउने प्रस्ताव अघि सारेका हुन् ।

महासचिव चन्दका अनुसार कालो धनलाई नियन्त्रण गर्दै त्यसलाई जनताको बीचमा स्वीकार्य बनाउने उपायका रूपमा ५ सय र १ हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाउनु पर्छ । ती नोट खारेज गरेर २ सय, ४ सय र आवश्यक परे २ हजार रुपैयाँसम्मका नयाँ नोट प्रचलनमा ल्याउन सकिने उनको भनाइ छ । यसो गर्दा अवैध रूपमा जम्मा गरिएको धन बाहिर ल्याउन बाध्य पारिने र कालोधनको प्रभाव घट्ने दाबी उनले गरे । भ्रष्टाचार नियन्त्रणका लागि उनले उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्नेमा विशेष जोड दिए । सो आयोगले निष्पक्ष रूपमा अनुसन्धान गरी विशेष उच्चस्तरीय न्यायालयमार्फत फैसला गर्ने व्यवस्था हुनुपर्ने उनको प्रस्ताव छ । त्यस्तो न्यायालयको फैसलालाई सर्वोच्च अदालतमा पुनरावेदन गर्न नपाइने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ, ताकि निर्णय प्रभावकारी र अन्तिम बनोस् ।

उनले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने र गम्भीर प्रकृतिका अपराधमा हदैसम्मको जन्मकैदको सजाय दिन सकिने कानुनी व्यवस्था आवश्यक रहेको पनि बताए । यसले भ्रष्टाचारविरुद्ध कडा सन्देश जाने उनको विश्वास छ । महासचिव चन्दले पार्टीले अघि सारेका मागहरू पूरा नभए शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । उनका अनुसार आन्दोलन हिंसात्मक नहुने र जनतामाझ आफ्ना एजेण्डा स्थापित गर्ने उद्देश्यले अघि बढाइने छ ।

वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले अहिलेको सरकारले निष्पक्ष र प्रभावकारी रूपमा निर्वाचन गराउन नसक्ने ठोकुवा गरे । प्रहरी र कर्मचारीतन्त्रको मनोबल कमजोर भएको अवस्थालाई औंल्याउँदै उनले सर्वपक्षीय सरकार गठन गर्नु आजको आवश्यकता भएको धारणा राखे ।
कम्युनिष्ट शक्तिहरूको एकताका विषयमा बोल्दै उनले दीर्घकालीन रूपमा एकताको आवश्यकता स्वीकार गरे पनि तत्काल त्यसको सम्भावना नरहेको बताए । केही साझा एजेण्डा सबै दलसँग मिल्ने उल्लेख गर्दै उनले सर्वपक्षीय सरकारको अवधारणा एमालेसँग मिल्न गएको आरोपलाई स्वाभाविक भएको बताए । महासचिव चन्दका यी प्रस्तावहरूले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ भने नोटबन्दी र भ्रष्टाचारविरुद्धको कडा व्यवस्थाबारे विभिन्न प्रतिक्रिया आउने संकेत देखिएको छ ।

रवि र बालेनबीच ‘वान टु वान’ वार्ता जारी

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको बहस चर्किरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच ‘वान टु वान’ संवादको दोस्रो चरण सुरु भएको छ । कुपण्डोलस्थित बालेन समूहका सहयोगी कुमार बेनको निवासमा जारी वार्तालाई अघिल्लो लामो छलफलको निरन्तरताका रूपमा हेरिएको छ ।

यसअघि मंगलबार राति दुवै नेताबीच करिब छ घण्टा लामो भेटवार्ता भएको थियो । सोही छलफललाई अघि बढाउँदै आज फेरि बसेको बैठकमा आगामी निर्वाचनमा सम्भावित सहकार्य, राजनीतिक मोर्चाबन्दी र नेतृत्वको ढाँचाबारे केन्द्रित बहस भइरहेको बताइएको छ । वार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह र बालेनका सहयोगी कुमार बेन सहभागी छन् । यद्यपि, रविका साथ पुगेका अन्य नेताहरू भने बैठक कक्ष बाहिरै रहेका छन् । राजनीतिक वृत्तका अनुसार छलफललाई ‘कोर टिम’ मा सीमित राखेर ठोस समझदारी खोज्ने प्रयास भइरहेको छ । यसअघि सोही स्थानमा कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्मासँग पनि बालेनले छलफल गरेका थिए । शर्माले बाहिरिँदा प्रतिनिधिसभा पुनःस्थापना भएपछिको राजनीतिक परिदृश्यबारे कुराकानी भएको बताएका थिए । त्यसपछि रवि लामिछाने सोही निवासमा पुगेर बालेनसँग वार्ता थालेका हुन् ।

छलफलको क्रममा नेतृत्व मोडेल पनि मुख्य एजेन्डा बनेको स्रोतहरूको दाबी छ । अघिल्लो भेटमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व रविले गर्ने, अर्को निर्वाचनपछि भने सरकारको नेतृत्व रविले सम्हाल्ने र बालेनले सघाउने प्रस्तावमाथि विचार–विमर्श भएको समाचार बाहिरिएको थियो । आजको बैठकमा पनि यिनै सेरोफेरोमा केन्द्रित रहेर सहमतिको आधार खोजिँदैछ । उता, वैकल्पिक अभियानमा सक्रिय अन्य व्यक्तित्वहरू पनि कुपण्डोल पुगेका छन् । सागर ढकाल र ‘हामी नेपाल’ नामक एनजीओका अध्यक्ष सुदन गुरुङको उपस्थितिले संवादको घेरो फराकिलो बन्न सक्ने संकेत गरेको छ । बालेनले आज बिहान ऊर्जामन्त्री कुलमान घिसिङसहितका व्यक्तिसँग पनि छलफल गरेका थिए । रवि–बालेन संवादले आगामी दिनमा नयाँ राजनीतिक समीकरण जन्माउने हो वा रणनीतिक समझदारीमै सीमित रहने हो भन्ने प्रश्न खुला छ । तर, निरन्तर बैठक र बहुआयामिक छलफलले वैकल्पिक राजनीतिक धारलाई औपचारिक दिशातर्फ धकेल्ने संकेत भने स्पष्ट देखिएको छ ।

 

सुनसरी–४ बाट प्रचण्डको नाम सिफारिस

मोरङ । आउँदो फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि सुनसरी क्षेत्र नम्बर–४ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस भएको छ । बुधबारको बैठकले प्रचण्डको नाम सिफारिस गरेको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पदम अधिकारीले जानकारी दिएका छन् । सो निर्वाचन क्षेत्रबाट प्रचण्डसहित महफुज आलम अन्सारी, परशुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कटवालको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको अधिकारीले बताए ।

यो क्षेत्रबाट पछिल्लो २ चुनावमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की लगातार विजयी भएका छन् । यस पटक पनि कांग्रेसबाट कार्कीसहितकै नाम सिफारिस गरिएको छ । यस्तै नेकपाले समानुपातिकतर्फ योगेन्द्र प्रसाद मण्डल (पप्पु) ,धर्मलाल उराँव, दिल महमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनलाई सिफारिस गरेको छ । यस्तै मोरङ ४ बाट नेकपाले अमनलाल मोदीको एकल नाम सिफारिस गरेको छ । उनी यसअघि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । मोरङ ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस गरिएको छ । ७९ को निर्वाचनमा मण्डल यहाँ पराजित भएका थिए । मोरङका ६ वटा क्षेत्रबाट ८० जनाको नाम सिफारिस गरिएको छ ।

साढे चार किलो कोकिन पेटमा बोकेर लाओसदेखि काठमाडौंसम्म यात्रा

काठमाडौं । प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा सिनामंगल नजिकबाट पक्राउ गरी उनीहरूलाई सार्वजनिक गरिएको छ । थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतका २१ वर्षीय मुर्सालेन हुसेनलाई पक्राउ गरेको ब्युरोका सहप्रवक्ता डीएसपी जीवन निरौलाले जानकारी दिए । उनीहरूले नेपालमा बसेर कोकिनको कारोबार गर्ने अनुसन्धानबाट खुलेको निरौलाले बताए।

प्रवक्ता निरौलाले लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आएकी कामासँग ५५० ग्राम र लाओसबाट सिङ्गापुर हुँदै काठमाडौँ आएका भारतका जेभियर र नेपालमा कोकिन लिन आएका भारतका अर्का नागरिक मुर्सालेनसँग तीन किलो ७५० ग्राम कोकिन बरामद गरिएको उल्लेख गरे । थाइल्याण्ड नागरिक कामाले १२ वटा प्लाष्टिकमा क्याप्सुलभित्र र भारतीय नागरिकले जेभियरले सुटकेसभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले कोकिन बरामद गरेको उनले बताए । प्रहरीले पक्राउ जरेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।

विप्लवको चेतावनी : सर्वपक्षीय सरकार गठन नभए जेनजीलाई लिएर सडक आन्दोलनमा जान्छौं

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक दल र आन्दोलनरत जेनजी समूहलाई समेटेर सर्वपक्षीय सरकार गठन नभए सडक आन्दोलन थाल्ने चेतावनी दिएका छन् । सर्वपक्षीय सरकार गठनको माग निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको ब्यारेकबाट निस्कनु भन्दा अगावै आफूहरूले उठाएको समेत उनले बताएका छन् । नेकपा माओवादीको चौंथो केन्द्रीय कमिटी बैठकको उद्घाटन मन्तव्यमा बिहीबार विप्लवले सर्वपक्षीय सरकार गठन नभइ चुनाव हुन नसक्ने बताएका हुन् ।

‘भदौ २३–२४ को घटनालगत्तै हामीले सर्वपक्षीय सरकार हुनुपर्छ, सकेसम्म राजनीतिक नेतृत्व आन्दोलनरत, विद्रोही शक्तिलाई स्वीकार हुनेगरी गठन गर्नुपर्छ भन्ने हाम्रो प्रस्ताव हो’ विप्लवले भने, ‘हाम्रो माग पूरा भएन भने जेनजी समूहलाई साथमा लिएर सडक आन्दोलनमा जान्छौं ।’ सर्वपक्षीय सरकार गठनको विषयलाई लिएर आफूहरूले एमाले अध्यक्ष ओली मात्र नभइ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरेको उनले बताए ।

‘सर्वपक्षीय सरकारको कुरा हामीले शुरूमै ल्याएको हो । एमालेसँग मात्र छलफल गरेर निष्कर्ष निकालेको होइन, सबै दलसँग सहमति हुनुपर्छ’, उनले भने, ‘राष्ट्रवादको विषयमा सेना, देशभक्तसँग पनि कुरा मिल्छ ।’ विप्लवले सर्वपक्षीय सरकारको नेतृत्वका लागि पहिलो हकदार राजनीतिक दल भएपनि सबैलाई स्वीकार्य हुने साझा व्यक्ति खोज्न तयार रहेको बताए । त्यसरी बन्ने सरकारले चुनाव अघि नै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग गठन लगायत केही प्रतिबद्धता गर्नुपर्ने उनले बताए ।

रास्वपाको समानुपातिक उम्मेदवारमा दलिततर्फ डा. रूपक घिमिरे आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको आकांक्षी सूचीमा छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. रूपक घिमिरे पनि समावेश भएका छन् । हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ–काठमाडौँ सम्पर्क समितिका संयोजक डा. घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको दलिततर्फ आकांक्षी सूचीमा समेटिएका हुन् ।

काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस र एमडी (डर्माटोलोजी) अध्ययन गरेका उनले भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिएका छन् । नेपाल मेडिकल काउन्सिलका निवर्तमान निर्वाचित सदस्य डा. घिमिरे चिकित्सा क्षेत्रमा सुधारका पक्षधर व्यक्तित्वका रूपमा परिचित छन् । काउन्सिलमा रहँदा उनले मेडिकल मालप्र्याक्टिसविरुद्ध कडा अडान लिँदै सेवा प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने पहल गरेका थिए ।

युवामैत्री राजनीतिका पक्षधर डा. घिमिरे ‘हामी नेपाल’ संस्थाका संस्थापक उपसभापति समेत हुन् । स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै आएका उनी जेनजी आन्दोलनका अगुवाका रूपमा चिनिन्छन् । मिस्टर नेपाल २०११ का विजेता तथा २०१५ मा प्रदर्शन भएको नेपाली चलचित्रको नायक समेत रहेका उनीसँग दर्जनभन्दा बढी टेलिभिजन विज्ञापनमा अभिनयको समेत अनुभव छ । रास्वपाले पुस १२ र १३ गते आरएसपी मोबाइल एपमार्फत आन्तरिक मतदान प्रक्रिया सञ्चालन गर्ने जनाएको छ ।

कांग्रेसको पार्टी कार्यालय यसरी हुँदैछ पुनर्निर्माण {तस्वीरहरु}

काठमाडौं । भदौं २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय पुनर्निर्माण धमाधम भईरहेको छ । प्रदर्शनकारीहरु गरेको आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग जलेर नष्ट भएको थियो । अनुगमन टोलीका अनुसार भवन पुनर्निर्माणका लागि अनुमानित खर्च भवनको सवलीकरणको मात्रै १४ करोडको छ ।

डकुमेन्ट र मेसिनरीको ७ करोड बराबरको जलेको अनुमान छ, ९९ वटा एसी थिए । १५० वटा कम्प्युटर जस्ता सामान पनि जलेको थियो । भवन पुनर्निर्माणका लागि नेपाली कांग्रेसले क्रियाशील सदस्य, जिल्ला, प्रदेश, केन्द्रीय समितिका सदस्य तथा नेताहरूसँग पैसा उठाउने निर्णय गरेको छ ।

तस्वीर : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

चुनावको समानान्तर तयारीमा बालेन र रास्वपा, समानुपातिक उम्मेद्वार छान्दै दुवै पक्ष

काठमाडौं। गत सोमबार रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेनद्र शाह (बालेन) बीच भेट भएपछि दुवै मिलेर जाने अपेक्षा गरिएको थियो। झन्डै ७ घण्टा लामो छलफलपछि उनीहरू एउटै गाडीमा निस्किएका थिए । यसअघि एक टेलिभिजन अन्तर्वार्तामा रास्वपा नेता शिशिर खनालले रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउन सक्ने बताएका थिए । यसले, रास्वपा र टिम बालेनबीच सहमति भएजस्तो देखिएको थियो ।

मंगलबार चितवन पुगेका रवि लामिछानेले बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति भइनसकेको मात्रै बताएनन्, छलफल राजनीतिक चरणमै प्रवेश गरिनसकेको स्पष्ट पारे ।

फागुन २१मा हुने निर्वाचनका लागि समानुपातिक सूची बुझाउने दिन नजिकिँदै जाँदा यी दुईबीच कुरा नमिलेको स्पष्ट भएको छ । दुवै समूहले समानुपातिक उम्मेद्वारको सूची बनाउने समानान्तर तयारी गरिरहेका छन् ।

मेयर शाहले मंगलबारबाटै समानुपातिकतर्फका उम्मेद्वार छनोटको तयारी थालेका छन् । यसका साथै उनले विभिन्न दल, समूह र व्यक्तिहरूसँगको राजनीतिक संवाद समेत अघि बढाएका छन् ।

उनले मंगलबार बिहानैबाट ललितपुरमा रहेको सल्लाहकार कुमार बेनको घरमा भेटघाट गरिरहेका छन् । मंगलबार १० वटा भन्दा धेरै भेटघाट भएको उनका एक सहयोगीले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी देखि नागरिक उन्मुक्ति पार्टी हुँदै जेनजी फ्रन्टका नेताहरूसम्मलाई मंगलबार भेटेका थिए । बुधबार पनि यो भेटघाटको सिलसिला जारी रहने छ ।

भेटघाटसँगै उनीहरूले समानुपातिक सूची पनि तयार पारिरहेका छन् । सार्वजनिक ख्याति कमाएका वा कुनै न कुनै क्षेत्रबाट समाजमा सकारात्मक छवि बनाएका मानिसहरूलाई समेटेर समानुपातिक सूची बनाउने कसरत गरिरहेका छन्, जसमा जेनजी आन्दोलनका अगुवालाई पनि समेटेर लैजाने बताइएको छ । बुधबार दिन भरी मेयर शाहको समानुपातिक उम्मेद्वारका आकांक्षीसँग भेटघाटको कार्यक्रम तय गरिएको उनका एक सहयोगीले बताए ।

‘उहाँले सबै पक्षसँग भेटघाट र संवाद गर्न चाहनुभएको छ,’ ती सहयोगीले भने, ‘आज समानुपातिकका सम्भावित उम्मेद्वारसँग छलफल गर्ने योजना छ । केही सूची बनाएर हामीले नै बोलाएका पनि छौं । कोही आकांक्षी हुनुहुन्छ भने उहाँहरूले आफैं सम्पर्क गरेर आउनुभयो पनि हामी भेटेर कुरा गरिरहेका छौं ।’

रास्वपासँग कुरा नमिलेपछि लौरो चुनावचिन्ह भएको देशविकास पार्टीलाई अगाडि लैजानेगरी बालेनको समूह चुनावको तयारीमा लागेको हो ।

यस्तै, रास्वपाले पनि आजैबाट समानुपातिक उम्मेद्वारको सूची फाइनल गर्न औपचारिक तयारी सुरू गरेको छ । यसअघि नै आकांक्षीहरूबाट आवेदन लिएको रास्वपाले आवेदनमा आएका नामहरूबाट प्राथमिकताका आधारमा छनोट गर्ने छ ।

दुई पक्षले अलगअलग तयारी थालेपछि एउटै पार्टीबाट चुनावमा जाने सम्भावना करिब-करिब सकिएको छ । समानुपातिक सूची बुझाउने अन्तिम दिनसम्म पनि सहमति भएन भने रवि र बालेनका अलगअलग पार्टी चुनावमा सहभागी हुनेछन् ।

बालेनले रक्षा बम, उपार्जुन चाम्लिङ लगायतका जेनजी नेतालाई भित्र्याएर पार्टी बनाउने कसरत गरिरहेका छन् । यस्तै सिके राउत, रेशम चौधरी लगायतसँग सहकार्य गर्ने तयारी गरिरहेका छन् भने कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पनि सहकार्यका लागि सकारात्मक रहेको बताएका छन् । यस्तै राप्रपा नेता ज्ञानेन्द्र शाहीलाई पनि आफ्नो पार्टीमा भित्र्याउने तयारी गरिरहेका छन् ।

वैकल्पिक र नयाँ शक्तिहरूसँग सहकार्य गरेर रास्वपालाई एक्ल्याउने रणनीतिमा बालेन देखिन्छन् । यसले, रास्वपामाथि सहकार्यका लागि दबाव सिर्जना हुनेछ ।

मुद्दा छिटो किनारा लगाउन प्रक्रियागत चुनौतीहरू छन् : न्यायाधीश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले न्यायपालिकाले मुद्दाहरूलाई छिटो किनारा लगाउने प्रयास गरिरहेको बताएका छन् । संघीय इकाईहरुको विधायकी अधिकारसम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । तर प्रक्रियागत कारणले गर्दा ढिलाइ हुने गरेको स्वीकार गरे । न्यायपालिकाको भूमिका, मुद्दाको प्रक्रिया र संघीय प्रणालीको प्रवद्र्धनबारे छलफल गर्दै उनले न्यायपालिकालाई संविधानको संरक्षकको रूपमा प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको जोड दिए।

न्यायाधीश श्रेष्ठकाअनुसार अदालतले मुद्दाको प्रकृति र उपलब्ध जानकारीलाई हेरेर प्राथमिकता दिने गर्छ । जसले गर्दा केही मुद्दा तीन महिनाभित्रै फैसला हुने गरेका छन् । हालैको तथ्यांकअनुसार कम्तीमा १५० मुद्दा तीन महिनाभित्र फैसला भएका छन् । तर सात वर्ष पुराना मुद्दाहरू पनि बाँकी छन् । यसको कारण प्रक्रियागत जटिलता र स्रोत साधनको कमी भएको उनले उल्लेख गरे । न्यायाधीश संख्या २५ बाट घटेर २१ भएको र मुद्दाको संख्या ९–१० हजारबाट बढेर २६–२७ हजार पुगेको अवस्थामा न्यायपालिकालाई दोष मात्र दिन नहुने उनको छ । संघीय प्रणालीमा अवशिष्ट अधिकार संघमा राखिएको नेपाली अभ्यासलाई अन्य देशहरूसँग तुलना गर्दै उनले न्यायपालिकाको भूमिकालाई संवैधानिक सर्वोच्चता र स्वतन्त्रताको संरक्षणमा केन्द्रित गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी एउटा अहिले जुन किसिमको प्रणालीमा छौँ । अघि श्रीमानले भन्दै हुनुहुन्थ्यो हामी संविधानवाद, संवैधानिक सर्वोच्चता र संवैधानिक स्वतन्त्रताको संरक्षकको रूपमा न्यायपालिका यो नेपालले मात्रै गरेको होइन । सबै ठाउँमा गरेको हो । अघि यहाँहरूले भन्दै हुनुहुन्थ्यो हामी संघीयता अपनाउने अवशिष्ट अधिकार संघमा राख्ने । अब त्यो त हाम्रो विषय भएन । धेरै ठाउँमा कतिपय अमेरिकामा अवशिष्ट अधिकार राज्य राज्यहरूमा छ । यहाँ अवशिष्ट अधिकार संघमा राखेको छ ।’

उनले भने, ‘विभिन्न देशका आफ्ना–आफ्ना अभ्यासहरू छन् । तथापि हाम्रो न्याय प्रणालीको, हाम्रो न्यायपालिकाको भूमिका भनेको अहिलेको संघीय प्रणालीलाई कसरी प्रवद्र्धन गर्ने ? यसलाई कसरी प्रभावकारी बनाउने र साथसाथै हामी संविधानकै संरक्षकको रूपमा कसरी भूमिका निर्वाह गर्ने भन्ने कुराहरूमा रहेको छ । यद्यपि यसमा रहेका कमी कमजोरीको बारेमा अघि प्रशस्त आइसकेको छ । २५ जना न्यायधीश थिए । जब संवैधानिक इजलासमा पाँच जना राख्ने ग¥यौं, अनि न्यायधीश संख्या घटाएर २१ बनाइदियौँ । हामी आफूलाई दिएको स्रोत, साधन क्षमता भित्र रहेर हामीले आफ्नो भुमिकालाई कसरी छ प्रभावकारी बनाउन सक्छौँ भन्ने कुरा सायद आज हामी सबैको गम्भीर सरोकार र चिन्ताको विषय हुनुपर्छ र त्यसप्रति न्यायपालिका पनि त्यसरी नै गम्भीर र चिन्तित रहेको छ ।’

उनले भने, ‘म यति कुरा यहाँहरूलाई भन्न चाहन्छु र अहिले जस्तो न्यायिक समितिको विषयमा म सानो जानकारी खाली हाम्रो जिल्ला न्यायधीश ज्यूहरूबाट अनुगमन निरीक्षणको विषय छ । यसमा पनि एकरूपता भएन भन्ने हिसाबले हाल सालै त्यसमा एउटा निर्देशिकाहरूको मस्यौदा भइराखेको छ। सायद निकट भविष्यमै यसलाई सरसातको फुलकोटबाट पारित गरेर एउटा निरीक्षणबाट जाँदाखेरी के हेर्ने र न्यायिक समितिहरूले कसरी गर्ने भन्ने विषयहरूमा एउटा निर्देशिकाहरू बनिराखेको विषय पनि म जानकारी गराउन चाहन्छु र त्यो निर्देशिका निर्माणका क्रममा धेरै ठाउँमा न्यायिक समितिका पदाधिकारी ज्यूहरूसँग उहाँहरूसँग बोल्यौँ, परामर्श उहाँहरूको सुझाव र त्यसमा बढी आधारित छ र त्यो कुरामा पनि म जानकारी गराउन चाहन्छु । अन्त्यमा फेरि पनि यो न्यायपालिका यो हामी यो कस्तो हुँदो रहेछ भने हामी एकदम गौरव साथ भन्ने गर्छौं ।’

न्यायिक समितिहरूको अनुगमन र निरीक्षणमा एकरूपता ल्याउन हालै निर्देशिकाको मस्यौदा तयार भइरहेको जानकारी दिँदै श्रेष्ठले यसमा न्यायिक समितिका पदाधिकारीहरूको सुझाव समावेश गरिएको उल्लेख गरे । यो निर्देशिका चाँडै सर्वोच्च अदालतको पूर्ण बैठकबाट पारित हुने अपेक्षा गरे । न्यायपालिकाका कमी कमजोरीहरू स्वीकार गर्दै उनले यसलाई प्रभावकारी बनाउन सबै पक्षको गम्भीर सरोकार आवश्यक रहेको बताए ।

नेपालको न्यायपालिका विकास विरोधी छैन : न्यायाधीश ढुंगाना

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले नेपालको न्यायपालिका विकास विरोधी नभएको स्पष्ट पारेका छन् । संघीय इकाईहरुको विधायकी अधिकारसम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समय समयमा अदालत विकास विरोधी भयो कि भन्ने प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उनले न्यायालयले विकास निर्माणसम्बन्धी मुद्दामा विषेश ध्यान दिने गरेको जिकिर गरे ।

उनले स्थानीय तह तथा प्रदेश सरकारमा सञ्चालित विकास निर्माणसम्बन्धी मुद्दाहरुलाई फास्ट ट्रयाकमा अघि बढाउने गरेको बताउँदै बढीमा एक वर्षभित्र अन्तरिम आदेश दिने गरेको बताए । यस्ता मुद्दामा अदालतले विपक्षी निकायहरूको भनाइ नसुनी कुनै पनि अन्तरिम आदेश दिने नगरेको उनको भनाइ छ । उनले स्थानीय तह र प्रदेश तथा स्थानीय तहबीच देखिने राजनीतिक सहकार्य र समन्वयसम्बन्धी समस्या आपसी समझदारीमै टुंग्याउनुपर्ने बताए ।

उनले भने, ‘अदालत कतै विकास विरोधी त भएन भन्ने प्रश्न संसदीय समितिमा उठेको थियो । त्यसपछि अदालतले निकै ध्यान दिएको छ । यस्ता मुद्दाहरु अहिले ६ महिनादेखि १ वर्षसम्म सुनुवाई गर्ने गरेका छौँ । सर्वोच्च अदालतमा पनि हामी हरेक दिन विशेष कोर्टमार्फत यस्ता काम कारबाही गरिरहेका छौं । हामीले विपक्षी निकायहरुको कुरा नसुनिकन हामी कुनै पनि अन्तरिम आदेश दिने गरेका छैनौँ । स्थानीय तह विपक्षी भएका निवेदनमा कानूनी प्रतिरक्षा कमजोर भएको मैले महसुस गरेको छु ।’ उनले स्थानीय तहमा गठित न्यायिक समिति अदालतका लागि महत्वपूर्ण सरोकारको विषय भएको भन्दै आवश्यक सहकार्य गरेर अघि बढ्न न्यायपालिका तयार रहेको पनि बताए ।

 

करमा आधारित विकासले जनतामा असहजता बढायो : वरिष्ठ न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले अदालतले विकास रोकेको नभई दिगो र वातावरणमैत्री विकासलाई प्रोत्साहन गर्दै आएको बताएकी छन् । संघीय इकाईहरुको विधायकी अधिकारसम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संविधानअनुसार विकाससँगै वातावरण संरक्षण अनिवार्य रहेको स्पष्ट पारिन् ।

वातावरणीय सन्तुलनमा असर पार्ने किसिमको विकासका पक्षमा अदालत उभिन नसक्ने उनको भनाइ छ । उनले स्थानीय तह र प्रदेश सरकारले विकास निर्माणका कामहरु गर्दा पर्यावरणमा पर्नसक्ने असरहरुको बारेमा गम्भीर हुन जरुरी रहेको बताइन् । उनले स्थानीय तहले अत्यधिक कर लिने गरेको विषयमा अदालतमा धेरै निवेदन आउने गरेको उल्लेख गर्दै उनले करमा आधारित विकासले जनतामा असहजता सिर्जना गरेको बताइन् ।

उनले करमा आधारिक मोडेलको विकासमा जाने कि आफूसँग उपलब्ध स्रोतको उपयोग गरेर विकासका कामहरु अगाडि बढाउने ? भन्दै स्थानीय तहहरुलाई प्रश्न गरिन् । उनले जेनजी आन्दोलनको क्रममा भएको आगलागीका कारण सर्वोच्च अदालतमा संवैधानिक इजलासलाई प्रभावकारीता तरिकाले बढाउन समस्या भइरहेको पनि बताइन्।

उनले भनिन्, ‘संविधानले विकास र पर्यावरणलाई संरक्षण गर्नुपर्ने भनेको छ । अदालतले विकास रोकेको छैन । अदालतले पर्यावरणीय सन्तुलन राख्ने अदालतलाई हेर्नुपर्छ । यदि त्यस्तो असरहरु पर्छ भने त्यसमा हामीले गम्भीर हुनुपर्छ । वातावरणमैत्री विकासले नहुँदा हुने विकासेल गम्भीर असरहरु पार्छ जुन हामी सुधार गर्नै सक्दैनौँ । जहाँ यस्तो असर पर्दैन त्यस्तो विकसलाई स्थानीय तहले लैजान सक्छ ।’

उनले भनिन्, ‘तर वातावरणलाई नै हार्म गर्ने विकासको पक्षमा अदालत उभिन सक्दैन । हामी हरेक किसिमका विकासलाई रोकेका छैनौँ । तर दीगो विकासलाई प्रोत्साहन गर्नु अदालतको दायित्व हो । अहिले स्थानीय तहले कर धेरै लिएका निवेदनहरु धेरै आइरहेको छ । तपाईहरु खाली करमा आधारित विकासमा लागिरहनु भएको छ । तपाईहरुले करमा आधारित विकासमा जाने कि आफ्नो स्रोतको आधारमा विकास निर्माणमा जाने ? यसले जनतामा समेत असहजताको अनुभूति भएको अवस्था छ । संघीय कानूनलाई समेत हेरेर स्थानीय तहले कानून निर्माणमा पनि जानुपर्‍यो । संविधानको कुनै एउटा धारा मात्र हेरेर नजानुहोस् भन्ने मेरो आग्रह छ ।’ उनले जेन–जी विद्रोपछि उत्पन्न समस्याका बाबजुद न्यायपालिका प्रभावकारी ढंगले अगाडि बढ्न प्रयत्नरत रहेको बताइन् ।

 

कर्नाटकमा बस र लरी ठोक्किँदा ११ जनाको मृत्यु

काठमाडौँ । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी (इन्धन बोकेको ट्रक) ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो । दुर्घटनामा २४ जना घाइते भएको बिबिसीले जनाएको छ । ठक्करपछि बसमा आगो लागेको थियो । बसमा ३२ यात्रु सवार थिए । हालसम्म ११ शवको पहिचान भएको र सबै घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । दुर्घटनापछि बस पूर्ण रूपमा क्षति भएको छ ।

राष्ट्रिय राजमार्ग ४८ मा रहेको गोर्लाथु गाउँ नजिकै दुर्घटना भएको सञ्चारमाध्यम द स्टेट्मेन्ट्सले लेखेको छ । समाचार अनुसार ट्रक सडकको डिभाइडरमा ठोक्किएर उफ्रिएको थियो र आउँदै गरेको बसमा ठोक्कियो । ठोक्किँदा आगो लाग्यो र धेरै यात्रुहरू जिउँदै जले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । एक्समा पोस्ट जारी गर्दै प्रधानमन्त्री कार्यालयले ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँको अनुग्रह राहत घोषणा गरेको छ भने घाइतेहरूलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ । प्रधानमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

रवि लामिछानेलाई चुनावी तालमेलको प्रस्ताव गरिएको छैन : प्रचण्ड सचिवालय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग चुनावी तालमेलको प्रस्ताव गरिएको भन्ने समाचारको औपचारिक रूपमा खण्डन गरेको छ । बिहीबार केही अनलाइन सञ्चारमाध्यममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपाका सभापति रवि लामिछानेसँग चुनावी गठबन्धनको प्रस्ताव राखेको भन्दै समाचार प्रकाशित भएको थियो । उक्त समाचार पूर्णतः असत्य र भ्रामक रहेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको हो ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले सो समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भने, ‘चुनावी सहकार्यका सन्दर्भमा पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले रास्वपासँग कुनै किसिमको कुराकानी गर्नु भएको छैन ।’ सचिवालयले सम्बन्धित पक्षसँगको आधिकारिक पुष्टिबिनै एकपक्षीय ढंगले प्रवाह गरिएका यस्ता ‘झुटा’ समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।

क्रिकेट खेलाडी मिनष थापाको दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । २७ वर्षीय थापाको आज बिहान भएको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी विराटनगर बासिन्दा हुन् । विराटनगर–४ स्थित भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट गणेश चोक जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

बिहान करिब पौने १ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका निम्ति कोशी अस्पताल लगिएको थियो । चिकित्सकले उनको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् एसपी कवित कटवालले जानकारी दिए । उनी कोशी प्रदेशबाट क्रिकेट खेल्दै आएका थिए । उनी ब्याट्सम्यानका रूपमा चिनिन्थे।