ओलीसँग खयरबारीका मतदाताले भने: खोलो बाँधियो, अब धनीपुर्जा चाहियो
दमक। झापा निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाको वडा नं. ६ को खयरबारी बस्ति रतुवा खोलाको किनारामा पर्दछ । खोलाको पुर्वी किनारामा रहेको यो बस्तिले अघिल्लो दशक सम्म पनि वर्षेनी बस्ति उठाउने गरेको थियो । तर, यहाँ दर्विलो गरि तटबन्धन गरिए पछि यो समस्याको अन्त्य भएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार खयरबारी पुगे । त्यहाँ पुग्दा उनले विगतमा रतुवा खोलाले दिएको दुःखको स्मरण गरे । बस्ति बगाउँदै गर्दा गाउँसम्म पुग्ने सडक पनि थिएन । तर, अहिले न सडकको दुःख छ न, खोलाको हैरानी । अध्यक्ष ओलीलाई यो सुविधा विस्तारका लागि स्थानीयले धन्यवाद दिए र अर्को अपेक्षा सुनाए, ‘खोला बाँधियो, बाटो आयो अब चाँहि धनीपुर्जा चाहियो ।’
स्थानीयबासीहरुले अझै पनि केहि परिवार भुमिहिन रहेको र केही स्थानमा अव्यवस्थित बसोबासको समस्या रहेकाले भुमिसम्वन्धिको समस्या समाधान गरि दिन आग्रह गरेका हुन् । अध्यक्ष ओलीले विगतमा समेत एमाले नेतृत्वकै सरकारले भुमि सम्बन्धि समस्या समाधानका लागि आयोग गठन गरेर काम थाले पछि अर्को सरकार आएर आयोगनै खारेज गरि दिने गरेकाले समस्या समाधान हुन नसकेको बताए। शनिबार समेत कमल गाउँपालिकामा केन्द्रित भएका ओली आइतबार समेत विभिन्न बस्तिमा पुगिरहेका छन् ।
