`

नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशसँगको दोस्रो हारसँगै नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । नेपालले ४ खेलबाट ३ अङ्क मात्रै जोड्न सफल भयो ।

नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो । नेपालले भुटानसँग २–१ गोल अन्तरको जित निकालेको थियो भने बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग ४–१ गोलले पराजित भएको हो । बङ्गलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा र थुनुए मार्माले एक गोल थपिन् ।

नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काइन् । खेलको ३८ मिनेटमा थुनुएको गोलमार्फत बङ्गलादेशले पहिलो अग्रता लिइन् । खेलको ४४औँ मिनेटमा प्रीतिले टोलीको अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफको इन्जुरी समयमा भूमिकाले नेपालका लागि गोल फर्काइन् । खेलको ७१औँ मिनेटमा प्रीतिले दोस्रो गोल गरिन् । प्रीतिले खेलको ८६औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । जितसँगै बङ्गलादेशले ४ खेलबाट ९ अङ्क पुर्‍याएको छ । एक खेल कम खेलेको भारतको पनि समान ९ अङ्क छ ।

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ ।  वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव डा राजेद्रप्रसाद मिश्रबीच चालु आर्थिक वर्षका लागि आज कार्यसम्पादन सम्झौता गरिएको छ ।

यसैगरी आजै सचिव मिश्र र मन्त्रालयका महाशाखा प्रमुख तथा विभागीय प्रमुखबीच पनि कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

कोलम्बो । पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई मङ्गलबार जमानतमा रिहा गरिएको छ ।

विक्रमासिङ्घे पक्राउ पर्ने पहिलो श्रीलङ्काली पूर्वराष्ट्रप्रमुख हुन्। उनी भ्रष्टाचारविरुद्धको अभियानमा सत्तारूढ राष्ट्रपति अनुरा कुमार दिसानायके नेतृत्वमा सुरु गरिएको छानबिनमा रहेका धेरैजसो उच्चस्तरीय पूर्वमन्त्री र राजनीतिक नेताहरूमध्ये सबैभन्दा चर्चित छन् ।

विपक्षी दलका वरिष्ठ नेता एवं विक्रमासिङ्घेका सहयोगी दनुष्का रामानायकका अनुसार उनलाई कोलम्बोको मजिस्ट्रेट अदालतले जमानत दिएको हो । तर निर्णयको थप विवरण सार्वजनिक गरिएको छैन ।

शुक्रबार पक्राउ परेका पूर्वराष्ट्रपति अहिले कोलम्बो राष्ट्रिय अस्पतालको सघन उपचार कक्षमा छन् र अदालतको सुनुवाइमा टाढैबाट सहभागी भएका थिए ।

उनलाई डिहाइड्रेसन र अन्य स्वास्थ्य समस्या भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल निर्देशक डा. प्रदीप विजेसिङ्घेले सोमबार मिडियालाई उनी अहिले केही स्थिर अवस्थामा रहेको बताएका थियो ।

विक्रमासिङ्घेमाथि सन् २०२३ मा क्युबा र अमेरिकाको औपचारिक भ्रमणपछि लन्डनमा आफ्नी श्रीमतीको स्नातक समारोहमा भाग लिन सार्वजनिक कोष प्रयोग गरेको आरोप छ । तर उनको पार्टीले यसलाई आधिकारिक हैसियतमा प्राप्त निमन्त्रणाअनुसार भएको भन्दै बचाउ गरेको छ ।

जमानत सुनुवाइका क्रममा उनका हजारौँ समर्थक सडकमा उत्रिएर गिरफ्तारीलाई ‘राजनीतिक विच हन्ट (आफ्ना राजनीतिक विरोधीहरूलाई खोजी खोजी प्रतिशोध लिने) ’ भन्दै विरोध जनाएका थिए । उनीहरूले कालो झण्डा फहराए, नारा लगाए र तत्काल रिहाइको माग गरे ।

उन्सत्तरी वर्षीय समर्थक समरासिरी कुरुविताराच्चीले सरकार जनतासँग गरेको वाचा पूरा गर्न असफल भएको र अहिले ‘राजनीतिक विरोधीहरूलाई दबाउन खोजिरहेको’ आरोप लगाए। “देशका लागि धेरै योगदान पुर्‍याएका विक्रमासिङ्घेको गिरफ्तारीको हामी कडा निन्दा गर्छौं । हामी उनलाई न्याय दिलाउन भेला भएका हौँ”, उनले भने ।

सुनुवाइ सकिएपछि समर्थकहरूले सडकमा उल्लासपूर्वक नाचगानसमेत गरेका थिए । विपक्षी सांसद तथा नेताहरूले यो कदमले श्रीलङ्काको लोकतन्त्रलाई कमजोर बनाएको टिप्पणी गरेका थिए ।

तर यातायातमन्त्री विमल रत्नायकेले भने आरोप अस्वीकार गर्दै विक्रमासिङ्घेको गिरफ्तारी कानूनअनुसार भएको बताए । उनले सोमबार स्थानीय सञ्चारमाध्यमसँग भने , “सरकारलाई अघिल्लो सरकारको दुराचारको छानबिन गर्ने जनादेश छ र कानून सबैमा समान रूपमा लागू हुन्छ ।”

सन् २०२२ मा आर्थिक सङ्कटले राजनीतिक अस्थिरता निम्त्याएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई राजीनामा दिन बाध्य पारेर विक्रमासिङ्घे सत्तामा आएका थिए ।

उनको नेतृत्वमा मुद्रास्फीति घटेको, स्थानीय मुद्रा बलियो बनेको र विदेशी भण्डार बढेको बताइन्छ । तर मितव्ययिताका कठोर नीतिहरूका कारण उनको सरकार आलोचनाको चपेटामा परेको थियो ।

चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन

दमौली (तनहुँ) । यहाँस्थित कृषि ज्ञान केन्द्रले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलामा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० कृषक समूहमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

मकै बीउ उत्पादन तथा मकै बाली प्रवरद्धन कार्यक्रमलाई प्रदेशस्थित कृषि, भूमि तथा सहकारी मन्त्रालयले प्राथमिकतामा राखेको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि एउटा समूह (क्लष्टर) मा कम्तीमा पनि एक सय रोपनी जग्गा हुनुपर्ने प्रावधान छ ।

कार्यक्रम सञ्चालनका लागि ६८ लाख बजेट रहेकामा रु ३९ लाख दुई हजार खर्च भएको लामिछानेले जानकारी दिए । उनका अनुसार कार्यक्रमअन्तर्गत समूहलाई ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा विविध सामग्री उपलब्ध गराइएको छ ।

लामिछानेका अनुसार मकै बीउ उत्पादनका लागि कृषक समूहलाई पाँच हजार ४१४ किलो बीउ वितरण गरिएको छ । उनले भने, “३९ थान मिनिटिलर, २१ थान कम्बाइन मिल, ४७ थान मकै छोडाउने उपकरण, १४ थान डिजिटल तराजु, ५२ थान स्प्रेयर, चार सय २० थान त्रिपाल र दुई सय मिटर कुलो वितरण गरिएको छ ।” आँबुखैरेनी गाउँपालिका–६ स्थित एकता कृषक समूहले एक सय रोपनी क्षेत्रफलमा मकै बीउ उत्पादन तथा बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ ।

आँबुखैरेनी–६ का घलडाँडा कृषक समूहले चार सय, आँबुखैरेनी–२ स्थित गाउँघर कृषक सहकारी संस्थाले दुई सय, ऋषिङ गाउँपालिका–३ स्थित मिलीजुली कृषि तथा पशुपालन समूहले एक सय २०, घिरिङस्थित कालीगण्डकी कृषि सहकारी संस्थाले एक सय ५०, बन्दीपुरस्थित हिमशिखर बहुउद्धेश्यीय सहकारी संस्थाले एक सय, बन्दीपुरकै आँधीमूल तरकारी उत्पादक कृषि सहकारी संस्थले तीन सय, व्यासस्थित पिपलटार कृषक समूहले एक सय, हरियाली फलफूल तरकारी कृषक समूहले एक सय ६०, जौबारी कृषक समूहले एक सय, बर्लाची कृषि उत्पादक सहकारीले चार सय, पोखरीडाँडा कृषक समूहले एक सय, अन्नपूर्ण कृषि उत्पादक सहकारीले एक सय क्षेत्रफलमा कार्यक्रम विस्तार गरेका केन्द्रका प्रमुख लामिछानेले जानकारी दिए ।

भानुस्थित साथ फलफूल तथा कृषि सहकारी संस्थाले चार सय, नवआकृति बहुउद्धेश्यीय कृषक समूहले एक सय ५०, समता कृषि सहकारी संस्थाले तीन सय, फाउदी कृषि सहकारी संस्थाले पाँच सय, म्याग्देस्थित नेपानेटारी कृषक समूहले एक सय पाँच, माहिन्द्री गङ्गा कृषि सहकारी संस्थाले दुई सय र म्याग्देस्थित नमूना कृषि तथा पशुपालन कृषक समूहले एक सय क्षेत्रफलमा मकै बीउ उत्पादन तथा बाली प्रवर्द्धन विस्तार गरेका उनले बताए ।

भारी वर्षाका कारण भक्तपुरको सृजनानगरमा यात्रुबाहक सवारी फसे पछि…

भक्तपुर । भारी वर्षाका कारण आज कोटेश्वर भक्तपुर सडक खण्डको सृजनानगरमा अरनिको एक्सप्रेसको यात्रुबाहक बस सडकमा फसेको छ ।
वर्षाका कारण सडक जलमग्न हुँदा सो बस नालीमा फसेको हो ।

अहिले बसलाई निकाल्ने प्रयास भइरहेको छ भने सडकमा पानी जाँदा सडक पूर्णरुपमा अवरुद्ध छ ।

 

भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै

बैतडी। जिल्लामा रहेका अव्यवस्थित बसोबास गर्ने, भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्ने तयारी थालिएको छ । लालपुर्जा वितरण गर्ने लक्ष्यअनुसार भूमी समस्या समाधान आयोग जिल्ला समितिले कार्ययोजना बनाएर सदस्यहरूसँग कार्यसम्पादन सम्झौता गरेको हो ।

समितिको बैठकले अध्यक्षसहित सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गर्नुका साथै कार्यसम्पादन सम्झौता गरिसकिएको भूमी समस्या समाधान आयोग, जिल्ला समितिका अध्यक्ष रमेशदत्त पाण्डेयले बताए ।

समितिले आगामी माघसम्म गर्न सकिने कामको कार्ययोजना बनाएर सोहीअनुसार जिम्मेवारी बाँडफाँड गरिएको जिल्लास्थित नापी कार्यालयका प्रमुख एवं सदस्यसचिव रणबहादुर रावलले जानकारी दिए ।

जिल्लामा रहेका अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने लक्ष्यसहित समितिले काम गरिरहेको अध्यक्ष पाण्डेयले बताए । स्थानीय तहहरूमा समितिको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन, स्थानीय तहसँग समन्वय र सहकार्य गर्न अध्यक्षसहित सदस्यहरूलाई जिम्मेवारी तोकिएको उनको भनाइ छ ।

अध्यक्ष पाण्डेयका अनुसार पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकामा अध्यक्षको समन्वयमा समितिको तर्फबाट काम हुनेछ । पुर्चौँडी नगरपालिका र सिँगास गाउँपालिकामा समिति सदस्य जगदीश नायकलाई जिम्मेवारी दिइएको छ भने दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा समिति सदस्य जानकी अवस्थीलाई जिम्मेवारी दिइएको उनले जानकारी दिए ।

पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा समिति सदस्य सरस्वती जोशीलाई जिम्मेवारी दिइएको छ । जिल्लाका १० वटै स्थानीय तहमा रहेका भूमिहीनको लगत सङ्कलन गरिसक्ने, आगामी असोजमा प्रमाणीकरण गरिसक्ने, कार्तिकमा जग्गा छनोट तथा नापजाँच गरिसक्ने, मङ्सिरमा श्रेष्ताको तयारी सक्ने र माघमा पुर्जा तयार गरी हस्तान्तरण गर्ने कार्ययोजना बनाइएको अध्यक्ष पाण्डेयले जानकारी दिए ।

जिल्लामा अहिलेसम्म दुई हजार ३९१ जनाको निवेदन परेको छ । आयोगले आगामी असोज २ गतेसम्म अन्तिम पटकका लागि आवेदन आह्वान गरेको भूमी समस्या समाधान आयोग जिल्ला समितिले जनाएको छ ।

मंसिरमा चितवन राष्ट्रिय निकुञ्जको बाघ र गैँडा गणना गरिने

चितवन। गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यसवर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो ।

विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ । उनका अनुसार मङ्सिरमा बाघ गणना सुरु गरिँदै छ । करिब तीन महिना बाघ गणना गर्न समय लाग्ने उनले बताए । एक सिङ्गे गणना चैत महिनामा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ। गैँडा गणना गर्न एक महिना लाग्दछ ।

गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । बाघको गणना पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरिन्छ।

बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा विभागले रु १८ लाख रकम विनियोजन गरेको छ यसका लागि रु एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्दछ । कँडेलले गैँडा गणनाका लागि रु १८ लाख नै विनियोजन गरेको बताए । गैँडा गणना गर्न रु दुई करोड बढी खर्च लाग्ने गर्दछ । बाँकी रकमका लागि दातासँग सहयोग मागिने भएको छ ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्याङ्क छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने ठाउँमा स्वचालित क्यामेरा राख्ने गरिन्छ । त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ।

बाघको फोटो हेरेर तिनीको शरीरमा भएको पाटाको आधारमा सङ्ख्या छुट्याइने उहाँले जानकारी दिनुभयो । हरेक बाघको पाटा (शरीरमा भएका धर्का) फरक–फरक हुने गर्दछन् ।

गैँडा गणना हात्ती माथि चढेर प्रत्यक्ष हेरेर (रियल टाइममा) गरिन्छ । नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना भएको थियो । सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए ।

सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिव १०० को हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८०० वटा गैँडा रहेको अनुमान छ ।

सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा आठबाट बढेर १८ पुगेको थियो ।

नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०,सन् १९९० मा ३५८, सन् १९९५ मा ४६६, सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ र सन् २०२१ मा ७५२ गैँडा फेला परेको तथ्याङ्क छ।

नवनिर्वाचित सभापति न्यौपानेद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेसमक्ष नवनिर्वाचित सभापति न्यौपानेले शपथ लिएकी हुन् ।

सो अवसरमा सभामुख घिमिरेले नवनिर्वाचित सभापति न्यौपानेलाई खादा ओढाएर बधाई ज्ञापन गरे । कार्यक्रममा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, युवा तथा खेलकुदमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरू सहभागी रहेका थिए ।

समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी थिईन् । उनी नेपाली कांग्रेसको समानुपातिक सांसद हुन् ।

समितिका यसअघिका सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए ।

 

जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व थियोः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व रहेको बताएका छन् ।

आज यहाँस्थित अखिल नेपाल चेस सङ्घ र नेसनल स्पोट्र्स एकेडेमीको संयुक्त आयोजनामा भएको भक्त राना स्मृति चेस प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले जनयुद्ध र चेसको गहिरो सम्बन्ध रहेको स्मरण गरे। उनले भने, “दश वर्षे जनयुद्ध र चेसबीच गहिरो सम्बन्ध छ । यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि योगदान दिएको थियो । रणमैदानमा चलाइने चाल जस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो ।”

अध्यक्ष दाहालले चेस प्रतियोगिताका माध्यमबाट मुलुकलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चिनाउने अवसर भएको उल्लेख गर्दै खेलाडीहरूको उत्साहपूर्ण सहभागिताले थप हौसला दिएको बताए । उनले आयोजकलाई प्रतियोगिताका क्रममा सम्भावित समस्या भएमा समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भक्त रानालाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाका रूपमा स्मरण गर्दै अध्यक्ष दाहालले उनको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहिरहने जिकिर गरे । “भक्त राना युद्धमा घाइते हुनुभयो, उपचारका क्रममा वीर अस्पतालमा उहाँको निधन भयो । हामीले उहाँलाई बचाउन सकेनौँ । उहाँको स्मृति हामी सबैको मनमा ताजा छ”, उनले भने ।

उक्त प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिँदै अध्यक्ष दाहालले यो प्रतियोगिता नयाँ उत्साह र आत्मविश्वासका साथ सम्पन्न हुने विश्वस्त व्यक्त गरे । प्रतियोगिताका माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा मुलुकको पहिचान स्थापित हुने बताउँदै उनले यसबाट योग्य खेलाडी पनि उत्पादन हुने धारणा राखे ।

 

 

एमाले नेता ऐन महर पक्राउ

काठमाडौं । नेकपा (एमाले)का नेता ऐन महर पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भोटाहिटीबाट पक्राउ गरेको हो ।

विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ । महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो ।

डेनमार्कमा पाषाण युगको डुबेको बस्ती फेला

बे अफ आर्हस (डेनमार्क)। उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्त्वविद्हरूले आठ हजार पाँच सय वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्रमाण पत्ता लगाएका छन् ।

यस गर्मीमा गोताखोरहरूले डेनमार्कको दोस्रो ठूलो सहर आर्हस नजिकैको समुद्री सतहबाट करिब ८ मिटर (२६ फिट) तल पाषाण युगको बस्तीका अवशेष सङ्कलन गरेका थिए ।

छ वर्ष लामो अन्तर्राष्ट्रिय परियोजनाको हिस्साका रूपमा रहेको यो उत्खनन एक करोड ३२ लाख युरो (करिब एक करोड ५५ लाख डलर) लागतको हो ।

यस परियोजनामा युरोपेली सङ्घ (इयु) को आर्थिक सहयोग रहेको छ । परियोजनामा आर्हसका साथै बेलायतको ब्राडफोर्ड विश्वविद्यालय र जर्मनीको लोअर स्याक्सनी इन्स्टिच्युट फर हिस्टोरिकल कोस्टल रिसर्चका विज्ञहरू सहभागी छन् ।

परियोजनाको मुख्य उद्देश्य डुबेका उत्तरी युरोपेली भू–दृश्यहरूको खोजी गर्नुका साथै अपतटीय पवन फार्म तथा अन्य समुद्री पूर्वाधार विस्तारसँगै हराएका मेसोलिथिक बस्तीहरू उजागर गर्नु हो ।

अन्तिम हिमयुगपछि समुद्री सतह क्रमशः बढ्दै गएको थियो । पुरातत्त्वविद् पिटर मो एस्ट्रपका अनुसार अहिलेसम्म पाषाण युगका बस्तीहरूको अधिकांश प्रमाण तटदेखि भित्री क्षेत्रमा फेला परे पनि यो बस्ती भने पुरानो तटरेखामै अवस्थित थियो ।

उनी भन्छन्, “यहाँ हामीले वास्तविक पुरानो तटरेखा पाएका छौँ । हामीसँग सिधै समुद्र किनारामा बसोबास गरेको बस्तीको प्रमाण छ । हाम्रो उद्देश्य त्यतिबेलाको तटीय जीवन कस्तो थियो भन्ने बुझ्नु हो ।”

हिमयुगपछि बरफका पत्रहरू पग्लिँदा समुद्रको सतह तीव्र गतिमा बढेको थियो । करिब आठ हजार पाँच सय वर्षअघि समुद्री सतह प्रति शताब्दी करिब दुई मिटर (६.५ फिट) ले बढेको थियो ।

मो एस्ट्रप र उहाँको टोलीले आर्हस नजिकैको मोस्गार्ड सङ्ग्रहालयमार्फत आजको तटमा भेटिएको ४० वर्गमिटर (४३० वर्गफिट) क्षेत्रफलको सानो बस्ती उत्खनन गरेका छन् ।

बढ्दो समुद्री सतहले त्यसबेलाको जीवनशैलीलाई ‘टाइम क्याप्सुल’ जस्तै संरक्षित गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

प्रारम्भिक उत्खननमा जनावरको हड्डी, ढुङ्गाका औजार, तीरका टाउका, सिलका दाँत र काम गरिएको काठका टुक्रा फेला परेका छन् । सम्भावित भविष्य विश्लेषणका लागि उनीहरूले पानीमुनि प्रयोग हुने विशेष भ्याकुम उपकरणमार्फत मिटर–मिटरको हिसाबले सामग्री सङ्कलन गरिरहेका छन् ।

शोधकर्ताहरूलाई आगामी उत्खननमा हर्पुन, माछा मार्ने काँटी तथा माछा मार्ने संरचनाका निशान भेटिने आशा छ ।

“यो वास्तवमै टाइम क्याप्सुल हो । जब समुद्री सतह बढ्यो, अक्सिजनविहीन वातावरणमा सबै सामग्री सुरक्षित रह्यो… समय नै रोकिन्छ”, मो एस्ट्रप भन्छन्, “हामीले राम्ररी संरक्षित काठ पाएका छौँ । हामीले हेजेलनटजस्ता बीउ पाएका छौँ । सबै कुरा उत्कृष्ट अवस्थामा छन् ।”

हाल आर्हसको तुलनात्मक शान्त र सुरक्षित खाडीमा उत्खनन भइरहेका छन् । आगामी चरणमा जर्मनीको तट र उत्तर सागरका दुर्गम दुई स्थानमा थप उत्खनन गर्ने योजना छ ।

हजारौँ वर्षअघि समुद्री सतह बढ्दा, ‘डोगरल्यान्ड’ भनिने विशाल भू–भाग समुद्रले डुबायो । यो भू–भागले बेलायतलाई महाद्वीपीय युरोपसँग जोड्थ्यो, तर अहिले दक्षिणी उत्तर सागरमुनि डुबेको छ ।

समुद्री सतह वृद्धिको इतिहास बुझ्न अनुसन्धानकर्ताहरूले डेन्ड्रोक्रोनोलोजी अर्थात् रूखका रिङहरूको अध्ययन गरिरहेका छन् । माटो र समुद्री पिँधका थिग्रेनीका रूपमा सुरक्षित डुबेका रूखका स्टम्पहरूले तटीय जङ्गल कहिले डुबायो भन्ने ठ्याक्कै बताउँछ ।

मोस्गार्ड सङ्ग्रहालयका डेन्ड्रोक्रोनोलोजिस्ट जोनास ओग्डल जेन्सेन भन्छन्, “यी रूखहरू तटरेखामा कहिले मरे भन्ने कुरा हामी ठ्याक्कै भन्न सक्छौँ । यसले समयसँगै समुद्री सतह कसरी परिवर्तन भयो भन्ने स्पष्ट पार्छ ।”

आज विश्वले जलवायु परिवर्तनका कारण समुद्री सतह वृद्धिको चुनौती सामना गरिरहेको अवस्थामा, यी पाषाण युगीन उत्खननहरूले त्यतिबेलाका समाजहरूले बदलिँदो तटरेखासँग कसरी जुझिरहेका थिए भन्ने विषयमा प्रकाश पार्ने अपेक्षा गरिएको छ ।

मो एस्ट्रप भन्छन्, “यसको मानव जीवनमा के असर पर्छ भन्ने ठ्याक्कै भन्न गाह्रो छ । तर यो स्पष्ट छ कि यसले लामो समयसम्म ठूलो प्रभाव पारेको थियो, किनकि यसले सम्पूर्ण परिदृश्यलाई परिवर्तन गरिदिएको थियो ।”

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०१३ देखि सन् २०२३ को अवधिमा समुद्रको सतह विश्वव्यापी औसत चार दशमलव तीन सेन्टिमिटर (१.७ इन्च) ले बढिसकेको छ ।

ईश्वरी न्यौपाने राज्य व्यवस्था समितिको सभापति निर्वाचित भएको घोषणा

काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन् । उनी नेपाली कांग्रेसको समानुपातिक सांसद हुन् ।

समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।

समितिका यसअघिका सभापति पदमा कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो । बैठकमा समिति सदस्य खतिवडाले न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाएका थिए ।

समिति सभापति निर्वाचित न्यौपानेले आजै सभामुखसँग पद तथा गोपनियताको शपथ लिने छिन् । नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकी न्यौपाने हाल कांग्रेसको केन्द्रीय सदस्य छन् । यसअघि उनी तत्कालीन संविधानसभामा सदस्य थिईन्, भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसकेकी छन् । कांग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ ।

कांग्रेसको मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी विरुद्ध गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ । बझाङ निवासी रश्मिला धामीले उनीविरुद्ध साइबर व्यूरोमा उजुरी दिएकी थिइन् ।

उक्त उजुरीमा महिलाको चरित्र हत्या गर्ने प्रयास गरेको उल्लेख छ । प्रहरी स्रोतका अनुसार, उनलाई पक्राउका लागि खोजी तीव्र पारिएको छ ।

महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रीय सदस्य बनेका हुन् । स्थायी घर बझाङ भएका महर गएको निर्वाचनमा संघीय सांसदका उमेदवारसमेत बनेका थिए । तर, उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए ।

प्रहरीको साइबर ब्युरो सीआईबी मातहत छ । पछिल्लो समय महर विवादित बनेका छन् ।

फागुन २०८० मा महरलाई अनुशासन उल्लङ्घन गरिएको भन्दै पार्टीले बर्खास्त गरेको थियो । एक महिनापछि फेरि उनलाई एमालेले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसंग कार्यसम्पादन सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसंग आर्थिक २०८२ र ८३को कार्यसम्पादन सम्झौता गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र मन्त्रालय अन्तर्गतका तीन सचिवबीच सहित सचिव र महानिर्देशबीचमा आज मन्त्रालयमा सो सम्झौता भएको हो । ऊर्जा मन्त्रालयमा आज भएको कार्यक्रममा मन्त्री खड्कासंग ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडी र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनानाथ मिश्रबीच सम्झौता भएको हो ।

यसैगरी जलस्रोत तथा सिँचाइ सचिव दवाडी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर मित्र बरालका बीचमा मन्त्री खड्काको उपस्थितिमा कार्यसम्पादन सम्झौता भएको छ । कार्यक्रममा ऊर्जामन्त्री खड्काले गतवर्ष गरेको कामको अनुभवका आधारमा कार्यसम्पादनमा उल्लेख भएभन्दा धेरै काम गर्न सकिने बताए ।

उनले भने,“कुन आयोजनाको अवस्था के छ, आयोजना निर्माणमा के समस्या छन्, त्यसमा अलि चासो र समन्वय आवश्यक छ, रिपोटिङका लागि अनलाइन सिस्टम जडान गरौँ, प्रत्येक हप्ताको रिपोर्ट लिउँ ।” यसअघि गत साउन २९ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री खड्काबीच कार्यसम्पादन सम्झौता भएको थियो ।

जलस्रोत तथा सिँचाइ सचिव दवाडीले आज भएको कार्यसम्पादन सम्झौता अनुसार कामको मूल्याङ्कन हुने भएकाले नतिजा देखिनेगरी काम गर्नुपर्ने बताए । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर बरालले शतप्रतिशत प्रगति हाँसिल हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मिश्रले कार्यसम्पादन सम्झौतालाई कार्यान्वयनमा लैजानुपर्ने बताए । उले संस्थाले लिएको उद्देश्यलाई परिपूर्ति गर्न सबै लाग्नुपर्ने उल्लेख गरे । कार्यक्रममा ऊर्जासचिव आचार्य र जलस्रोत तथा सिँचाइ सचिव दवाडीले मन्त्रालयका विभिन्न महाशाखाका प्रमुख तथा मन्त्रालयअन्तर्गतका विभिन्न विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

तस्बिरमा हेर्नूहोस्, बालेनविरुद्ध नाराबाजी गर्दै आज पनी कवाड व्यवसायी आन्दोलनमा

काठमाडौँ । काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कवाड व्यवसायीले आज बुधबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।

भृकुटीमण्डपबाट शुरु भएको कवाड व्यवसायीको र्‍याली कमलादीस्थित काठमाडौं महानगरपालिका पुगेको थियो । प्रदर्शनमा करिब २ हजारको सहभागिता रहेको बताइएको छ । प्रदर्शनमा सहभागी धेरैले राष्ट्रिय झण्डा बोकेका छन् ।

कवाड व्यवसायीहरु महानगरपालिका कार्यालयको सडक अगाडी सडकमै ब्यानर बिछ्याएर धर्नामा बसेका छन् ।

सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने उनीहरुको माग छ ।

आन्दोलनमा सहभागिहरुले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् ।

उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

उखु किसानको आन्दोलनमा नेताहरुको ओइरो, समस्या जस्ताको त्यस्तै (तस्बिरहरु)

काठमाडौँ । उखु किसानलाई सरकारले दिँदै आएको बक्यौता अनुदान रकम ७० रुपैयाँबाट ३५ रुपैयाँ कायम गरेको लगायत विभिन्न माग राख्दै ४ दिनदेखि किसानहरु माइतीघरमण्डलामा आन्दोलनरत छन् ।

सरकारले माग पूरा नगरेसम्म पछि नहट्ने उखु उत्पादक महासंघ नेपालको अडान कायमै राखेका छन् ।

पटक पटक प्रदेश र केन्द्रीय सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरु अहिले उखु किसानको आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्दता जनाउन माइतीघर मण्डलामा पुग्ने गरेका छन् ।

नेताहरु माइतीघरमा पुगेर भाषण गर्ने गरेपनि किसानको माग सम्बोधनका लागि ठोस कदम चालेको भने देखिंदैन ।

तस्बिरहरु:-

‘सङ्घ-संस्था ऐन, २०८२’ सम्बन्धी विधेयकमाथि छलफल चलाउन बारको माग

काठमाडौँ। नेपाल बार एसोसिएसनले ‘सङ्घ-संस्था ऐन, २०८२’ सम्बन्धी विधेयकमाथि सरोकारवाला पक्षहरूहरुसँग छलफल गरी आवश्यक परिमार्जनसहित विधायन प्रक्रिया अघि बढाउन माग गरेको छ ।

महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्घ-संस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकका सन्दर्भमा सार्वजनिक सुझाव तथा प्रतिक्रियाका लागि नेपाल सरकार, गृह मन्त्रालयबाट जारी सार्वजनिक सूचनाउपर ध्यानाकर्षण भएको जनाउँदै बारले छलफल चलाउन माग गरेको हो ।

सो सम्बन्धमा प्रारम्भिक धारणा प्रस्तुत गर्दै बारले प्रस्तुत विधेयकलाई सबै सरोकारवालाहरुसँग सार्थक छलफल गरी परिमार्जन गरेर मात्र विधायन प्रक्रिया अघि बढाउनुपर्ने, परिमार्जनको प्रक्रियामा सरोकारवाला निकाय, नागरिक समाज तथा विज्ञहरुसँग बृहत्तर परामर्श गर्नुपर्ने र प्राप्त हुने सुझावहरूलाई आत्मसात् गरी संविधान र लोकतान्त्रिक मूल्यसँग सुसंगत हुने र सुशासनको प्रवद्धन गर्ने गरी विधेयक अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।

‘विधेयकका कतिपय प्रावधानहरु संविधानमा प्रत्याभूत मौलिक हक तथा स्वतन्त्रतासँग बाझिने गरी राखिएको छ, संस्थागत स्वतन्त्रता र नागरिक समाजको भूमिका कमजोर पार्ने खालका व्यवस्थालाई विधेयकमा स्थान दिएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ,’प्रस्तुत विधेयकले सुशासन प्रवद्धन गर्नेभन्दा पनि उल्टो सङ्घ-संस्थाको दायरा सङ्कुचित गर्ने र नियन्त्रणमुखी हुने जोखिम रहेको देखिन्छ ।’

विधेयन ऐन, २०८१ को दफा ६(२) अनुसार विधेयक तयार पार्दा त्यसको उद्देश्य र सम्भावित प्रभाव स्पष्ट गर्नुपर्ने कानुनी व्यवस्था भएअनुरुप ‘सङ्घसंस्था दर्ता, नियमन र व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट हुने हुँदा संस्थाको व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि हुन गइ यसबाट सामाजिक र विकासका क्रियाकलापमा सङ्घ-संस्थाको भूमिका व्यवस्थित, पारदर्शी र प्रभावकारी हुन गई सुशासन प्रवद्धन गर्नमा मद्दत मिल्ने’ जस्ता आधार र कारण अगाडि सारिएको छ ।

बारले आधार र कारण अगाडि सारे पनि प्रस्तावित विधेयकमा गरिएका कतिपय व्यवस्थाहरु नेपालको संविधानद्वारा प्रदत्त मौलिक हकप्रतिको सङ्कुचन हो भन्ने ठम्याइ रहेको जनाएको छ ।

हैजा तथा तथा झाडापखाला सङ्क्रमण रोक्न रेडक्रसको सहयोग

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले वीरगञ्जमा फैलिएको हैजा तथा झाडापखाला सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य सुरूआत गरेको छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) को आपत्कालीन विपद् कोषको आर्थिक एवं प्राविधिक सहयोगमा प्रतिकार्यलाई द्रुत अगाडि बढाइएको हो ।

पर्सा जिल्ला शाखामार्फत प्रभावित समुदायका घरघरमा पुगेर झाडापखाला तथा सम्भावित हैजाबाट बच्ने उपायहरूसहित सरसफाइ तथा स्वच्छता प्रवद्र्धन, खानेपानी शुद्धीकरण, हातधुने अभ्यास सहजीकरण र बिरामीलाई स्वास्थ्य केन्द्रसम्म लैजान सहयोग गर्ने उद्देश्यले ३० जना सङ्क्रमण नियन्त्रण स्वयंसेवकहरूलाई अभिमुखिकरण गरी परिचालन गरिएको छ ।

यसका अतिरिक्त स्थानीयस्तरमा समन्वय गरी स्वयंसेवकमार्फत जीवनजल, सरसफाइ सामग्री र खानेपानी शुद्धीकरण गर्ने विधिसहित क्लोरिन उपलब्ध गराएको छ । त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखामार्फत ३०० प्याकेट जीवनजल सम्भावित हैजा नियन्त्रणका लागि उपचार गरिरहेका अस्पतालहरूलाई हस्तान्तरण गरिएको जनाइएको छ । सम्भावित हैजा नियन्त्रणका लागि तीनै तहका सरकारी निकाय तथा सम्बद्ध सरोकारवाला निकायहरूसँग समन्वय गर्दै सहयोग पुर्‍याइरहेको पनि आइएफआरसीले जनाएको छ ।

वीरगञ्जमा देखापरेको हैजाका बिरामी बढ्दो रूपमा रहेको हुनाले सुख्खा सङ्कट प्रभावित जिल्लामा आपत्कालीन खानेपानी तथा सरसफाइका लागि आइएफआरसीको सो आपत्कालीन विपद् कोषको सहयोग परिचालन गरी विगत एक महिनादेखि सञ्चालित खडेरीसम्बन्धी प्रतिकार्यका गतिविधिहरूमा पनि हात धुने अभ्याससहित साबुन वितरण, आपत्कालीन शौचालय निर्माण र सरसफाइ तथा स्वच्छताका गतिविधिहरू स्थानीय सरकार एवं सरोकारवालाहरूसँगको समन्वयमा तदारुकताका साथ जारी रहेको बताइएकोे छ ।

मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच भेटवार्ता

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरि बासबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा भेटवार्ता भएको छ ।

सो भेटवार्तामा मुख्यमन्त्री कार्कीले नेपाल र इजरायलबीच ऐतिहासिक मित्रताको सम्बन्ध रहेको चर्चा गर्दै यसलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । उहाँले कृषि, श्रम, रोजगार, स्वास्थ्यलगायत क्षेत्रमा इजरायलसँग सहकार्य हुँदै आएको बताउँदै नेपाली मुख्यतया कृषि र ‘केयर गिभर’ (हेरचाहकर्ता) का रूपमा इजरायलमा कार्यरत भएकाले यसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।

नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पनि इजरायल सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । इजरायलको आधुनिक कृषि प्रविधिका माध्यमबाट भएको प्रगतिको प्रशंसा गर्दै उनले कोशी प्रदेश कृषि उत्पादनका लागि सम्भावना बोकेको क्षेत्र भएकाले सहकार्यको लागि तयार रहेको बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले कृषिमा उद्यमशीलता विकास गर्न ब्याज अनुदान दिएर युवालाई कृषि पेसामा आकर्षित गर्ने योजना ल्याएको जानकारी गराए । उनले प्रदेशका कृषकलाई शैक्षिक र व्यावहारिक तालिमको व्यवस्था गर्न सके कृषिका माध्यमबाट आर्थिक विकासमा योगदान पुर्‍याउन सकिने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन पनि आग्रह गरे। उनले भने, “कोशी प्रदेश सरकार महामहिम राजदूतमार्फत जोशीको रिहाइको लागि आग्रह गर्दछ ।” मनमोहन प्राविधिक विश्वविद्यालय बूढीगङ्गा मोरङ, गौरादह कृषि क्याम्पस झापालगायत प्रदेशका कृषि क्याम्पसहरूसँग सहकार्य गरेर अगाडि बढ्नका लागि पनि मुख्यमन्त्री कार्कीले आग्रह गरे ।

सो अवसरमा इजरायली राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध पुरानो र प्रगाढ रहेको धारणा राखे । उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको बताए ।

इजरायलमा केयर गिभर र कृषि क्षेत्रमा काम गर्ने प्रशस्त अवसरहरू रहेका जनाउँदै त्यसमा सीप, क्षमता विकास गरी जनशक्ति लैजान सकिने बताए । कृषि क्षेत्रमा काम गर्न र सहकार्य गर्न इजरायल सरकार तयार रहेको भन्दै उनले कोशी प्रदेशसँग पनि आगामी दिनमा सहकार्य गर्न सकिने जानकारी दिए ।

नेपालमा कृषि काम गर्ने ५० प्रतिशतभन्दा बढी जनशक्ति भए पनि सोअनुसारको प्रगति नभएको बताउँदै राजदूत बासले इजरायलमा थोरै जनसङ्ख्या कृषिमा काम गर्ने भए पनि उल्लेख्य प्रगति भएको उदाहरण दिए । उनले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोगमार्फत प्रगति हासिल गर्नुपर्ने आवश्यकता औँल्याए ।

म्याग्दीको पात्लेखेत पहिरोको जोखिममा

म्याग्दी । जिल्लाको बेनी नगरपालिका १० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । पात्लेखेतको फेदीबाट बग्ने राहुघाट नदीबाट सुरु भएको बान्द्रेखाल्टी र पाखाको पहिरो गाउँसम्म आइपुगेपछि जोखिम बढेको हो ।

पहिरोले ३० जना किसानको सात सय रोपनी खेतीयोग्य जमिन बगाएको बताउँदै करिब आठ हेक्टरभन्दा बढी वन नष्ट गरेको स्थानीय केदार सुवेदीले जानकारी दिए । उनका अनुसार हरि गर्बुजा, खम्बी गर्बुजा, यामबहादुर राम्जाली र लालबहादुर हमालको परिवार पहिरोका कारण विस्थापित भएका छन् ।

गोकुल शर्मा, केदार सुवेदी, नरबहादुर मल्ल, जागेश्वर रिजाल, धनबहादुर मल्ल, अर्जुन पराजुली, मनबहादुर रावत, टीका गिरी र कमल मल्लको घर पहिरोको उच्च जोखिममा परेका बेनी नगर कार्यपालिका सदस्य निर्मला मल्लले जानकारी दिए । उनका अनुसार पहिरोका कारण बान्द्रेखाल्टीका ३५ र पाखाका २८ परिवार जोखिममा परेका छन् ।

“भिरालो जमिन र कमजोर भूगोल भएको पाखो निरन्तर बगिरहेको छ । खेतबारी धाँजा फाटेर चिरा परेका छन् । घरका पर्खाल चर्किएका छन् । ग्यावियन पर्खाल निर्माण, पानी तर्काउने विधी अपनाइए पनि पहिरो रोकथामको प्रयास सफल भएको छैन्”, उनले भने ।

केही दिनअघि पहिरोको जोखिम भएको क्षेत्रको निरीक्षण गर्न पुग्नुभएका सङ्घीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पात्लेखेत पहिरोको प्राविधिक अध्ययन गरी दीर्घकालीन समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

रवि लामिछानेको मुद्दामा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको निवेदनमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले उच्चमा दिएको निवेदनमा बुधबार न्यायाधीश सागर विष्टको इजलासले यस्तो आदेश दिएको हो ।

यस अघि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहितको मुद्दा अस्वीकार गरेको थियो ।

भदौ ९ गते लामिछानेले आफूले बिगो रकम बुझाउँदासमेत रिहा गर्न जिल्ला अदालतले अस्वीकार गरेको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए।

तर साउन २६ गते जिल्ला न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त निवेदनलाई नै बदर गरिदिएको थियो।

अदालतले बिगो नै यकिन भइनसकेको बताउँदै धरौटीमा छाड्न नमिल्ने बताएको थियो।

संवैधानिक इजलास गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र मतभेद नरहेको बताएका छन् । आज प्रधानन्यायाधीश राउतसहित वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्माको इजलास गठन गरिएको छ । प्रधानन्यायाधीशले आफूले तोकेको चार न्यायाधीश तोक्ने पाउने संवैधानिक अधिकार प्रयोग गरेर इजलास गठन गरेको बताएका हुन् ।

संविधानको धारा १३७ को संवैधानिक इजलासको गठनसम्बन्धी व्यवस्था रहेको छ । त्यसको ९१० मा सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ । त्यस्तो इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेको अन्य चार जना न्यायाधीश रहने छन् भनिएको छ ।

“संवैधानिक इजलास गठनमा कुनै विवाद थिएन, न्यायाधीश नियुक्ति, सरुवालगायतको जरुरी कामका कारणले संवैधानिक इजलास राख्न नसकिएको हो”, प्रधान न्यायाधीश राउतले आज पत्रकारसँग भने, “संवैधानिक इजलास गठन गर्न संविधानले नै प्रधान न्यायाधीशलाई संवैधानिक अधिकार दिएको छ, त्यही प्रयोग गरेर मैले इजलास गठन गरे ।”

संवैधानिक इजलास गठनका बारेमा धेरै भ्रमहरु फैलाउने भएको उल्लेख गर्दै उनले भने  “संवैधानिक इजलास गठनको विषयमा संविधानमै स्पष्ट व्यवस्था गरेको छ, अदालतको गरिमा, मर्यादा, पारदर्शी र जिम्मेवार बनाउन लागिरहेको छु ।”

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) मा एक वर्षको कार्ययोजनाको छलफलका क्रममा संवैधानिक इजलासलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको भए पनि कुनै पनि विवाद नभएको उनको भनाइ थियो ।

बीचमा केही समय रोकिएको संवैधानिक इजलास आजदेखि सञ्चालनमा आएको छ । संवैधानिक इजलासमा २२८ मुद्दा छन् ।

साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा रु १४ अर्ब दुई करोड वृद्धि भई रु २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको हो । यो कूल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ९४ प्रतिशत हुन आउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव २६ प्रतिशत अर्थात् रु १४ खर्ब दुई अर्ब ४७ करोड ६५ लाख छ भने आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ७४ प्रतिशत रहेको छ । चालु आवका लागि सरकारले रु पाँच खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा साउन मसान्तसम्ममा रु ४४ अर्ब ५७ करोड ऋण उठाइसकेको कार्यालयले जनाएको छ ।

वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति सात दशमलव ४८ प्रतिशत बराबर रहेको जनाइएको छ । आन्तरिकतर्फ रु तीन खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा पहिलो महिना ११ दशमलव शून्य पाँच प्रतिशत अर्थात् रु ४० अर्ब ऋण उठाइएको हो । बाह्यतर्फ रु दुई खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख ऋण उठाउने लक्ष्य रहेकामा साउनमा एक दशमलव ९६ प्रतिशत अर्थात् रु चार अर्ब ५७ करोड ४८ लाख बराबर ऋण उठाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि रु चार खर्ब ११ अर्ब एक करोड बजेट विनियोजन भएकामा साउन मसान्तसम्ममा रु ३६ अर्ब ६८ करोड भुक्तानी भइसकेको छ । वार्षिक बजेट विनियोजनका आधारमा सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि छुट्याइएको बजेट आठ दशमलव ९३ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

मुलुकी संहिता, कानुनको पालना र न्यायालयको भूमिका

अहिलेको सरकारले कानुन कार्यान्वयनको सन्दर्भमा अनुभव गरिएका कुराहरूको आधारमा कमी कमजोरीहरू हटाउने र कानुनलाई अझ समृद्ध बनाउने ढङ्गले कानुन संशोधनसम्बन्धी अनेक प्रयास अगाडि बढाइरहेको छ । नयाँ कानुनहरूको पनि निर्माण गरिरहेको छ र पुराना कानुनहरूलाई पनि आवश्यक संशोधन परिमार्जन गर्न अगाडि बढिरहेको छ ।

हामीले थुप्रै विधेयकहरु यसै अधिवेशनबाट पनि पारित गरेका छौँ, संशोधन गरेका छौँ । कति नयाँ पनि ल्याएका छौँ र यो सिलसिला अगाडि बढी नै रहन्छ । यो निरन्तरको सिलसिला हो । नेपाल लामै समयसम्म एउटा पछौटेपनमा अल्झिरहेको समाज हो । धेरै हजार वर्षसम्म पनि जुन सामाजिक मूल्यमान्यताहरू यस समाजले विकास ग¥यो, ती मूल्यमान्यताहरूको आधारमा चल्दै रहेको समाज हो । पछिल्लो समयमा आएर विभिन्न खालका संहिता र ऐनका अभ्यासहरू जति जानकारी पाउँदै गयो, त्यसआधारमा त्यसलाई आफ्नो परिस्थितिअनुसार कार्यान्वयन गर्ने प्रयास पनि गर्दै गयो ।

विभिन्न संहिताहरूमा धेरै प्रख्यात, धेरै चलेको भनेको मनुस्मृति पनि हो । तर मनुस्मृतिलाई मनुले जे लेखेका थिए, त्यसबाट विकृत बनाएर त्यसलाई विद्रुप नै बनाइयो । विकृत मात्र होइन । नेपाली समाज, पूर्वीय समाज, पूर्वीय शासन विधि र पद्धति अनुपयुक्त छन् भन्न देखाउनका लागि विभिन्न प्रकारका थप नयाँ श्लोकहरू मनुस्मृतिमा थपिए र त्यसलाई विद्रुप बनाइयो । धेरै मनुले नभनेका कुराहरू त्यहाँ आए, जो समाजका लागि त्यो अत्यन्त हानिकारक छन् । पछिल्लो समयमा पनि त्यसका प्रभावहरू, ती गलत कुराहरूका प्रभावहरू रहे र कतिपय कुराहरूलाई धर्मको आड लिएर पनि गलत कुराहरू कार्यान्वयन हुने गरे । सती प्रथा पनि सबैका सबै महिलाहरू श्रीमान मृत्युपछि सती जानै पर्ने भन्ने थिएन । त्यो बलिया घरानाका, लडाईंका र प्रतिशोधका चक्रमा त्यो पर्थे । जस्तो, चाहे राजराजेश्वरीका कुरा गरौँ अथवा भीमसेन थापाका कुरा गरौँ, अरूका कुरा गरौँ । त्यसबेला पनि कसका श्रीमतीलाई सती पठाउने, कसका श्रीमतीलाई सती नपठाउने भन्ने हुन्थ्यो । ती सबैलाई पठाउने होइन, जो रिस उठेको छ त्यसलाई पठाउने । त्यो कुरा विसं. १९७७ मा गएर हट्यो ।

यो एउटा ठूलो प्रगति हो । विसं. १९८० तिर गएर दास प्रथा उन्मूलन भयो । यी ठूल्ठूला सुधारहरू हुँदै आए । सामाजिक न्यायको पक्षमा कुरा हुँदै आए । तर विसं. २०२० सालको मुलुकी ऐनले जति सामाजिक न्याय र समानताको पक्षमा खुलस्त बोल्यो, त्यसरी अघिल्ला ऐनले बोल्न सकेका थिएनन् । त्यसले अलिक राम्ररी बोल्यो । र त्यसैकारण मानिसहरूले छुवाछुत उन्मूलन दिवस भनेर विसं २०२० साल भदौ १ गते मुलुकी ऐन जारी भएको सन्दर्भ पारेर मनाउने गरियो ।

मुलुकी ऐनकमो विकासक्रम हुँदै आएर आज हामी लोकतान्त्रिक प्रणाली अन्तर्गत छौँ । लोकतान्त्रिक प्रणाली भनेको सामाजिक न्याय र समानतासहितको प्रणाली हो । अहिले हामीले लोकतान्त्रिक प्रणालीलाई एउटा परिपूर्ण लोकतन्त्र भनेका छौं । यसलाई राजनीतिक लोकतन्त्र (पोलिटिकल डेमोक्रेसी) मात्रै होइन, सम्पूर्ण सामाजिक जीवनका, आर्थिक जीवनका, सांस्कृतिक जीवनका सबै क्षेत्रहरूमा पूर्ण लोकतन्त्र (कम्प्रिहेन्सिभ डेमोक्रेसी) भनेका छौं । परिपूर्ण लोकतन्त्र र सम्पूर्ण क्षेत्रमा लोकतन्त्र अहिलेको आवश्यकता हो, जसले कहीं पनि असमानता, कतै पनि भेदभाव, कतै पनि विभेद, कतै पनि थिचोमिचो जस्ता कुराहरूलाई मान्दैन । त्यसैअनुसार हामीले २०७५ साल भदौ १ गतेदेखि लागुभएका पाँचवटा संहिताहरूले ती कुराहरूलाई प्रतिबिम्बित गर्न खोजेको छ ।

त्यसो त पूर्ण (पर्फेक्ट) फेरि पनि हुँदैन । तिनीहरू माथि कस्ता संशोधन गर्नुपर्छ र कस्ता संशोधन ल्याउनुपर्छ, कुराहरु आएका छन् । त्यसबेला प्रायः ठीकै देखेर गरिन्छ, अलिपछि हेर्दाखेरि कार्यान्वयनको क्रममा अनुभव गर्दै जाँदा तिनीहरूमा कमी कमजोरी भएको देखिन्छ र त्यसमा सुधार ल्याउनुपर्ने, संशोधन गर्नुपर्ने हुन्छ । आज हामी संशोधन गर्न अगाडि जाँदै छौँ ।

अहिले एउटा धुमधाम हल्ला चलेको छ । बहुविवाहलाई मान्यता दिन खोजियो भन्ने नचाहिँदो हल्ला । मैले संसदमा पनि भनेको थिएँ, बहुविवाह गर्न यो सरकारले स्वीकृति दिने भयो, संसदमा कानुन ल्याउने भए, पास हुने भयो भनेर हल्ला चलाए । वास्तवमा बहुविवाहलाई मान्यता आजको समाजले दिन्छ भन्ने कुरा नै सोच्न सकिने कुरा होइन । एकजना अभियन्ता एउटी चेली मसँग आइपुग्नुभयो र बडो चर्को स्वरमा भन्नुभयो, “हेर्नुहोस् यो बहुविवाह हामी कुनै हालतमा मान्दैनौ ।’’ मैले सोधेँ, “कसले मान्यता दिन लागेछ बहुविवाह ? मलाई थाहा त हुनुपर्ने हो । मन्त्रिपरिषद्ले पास गरेर संसदमा पठाउनुपर्छ विधेयक । पास गरेको छैन । अनि कहाँबाट आयो तपाईंलाई यो सूचना ?’’

“यो भइसक्न आँट्यो, हुनै आँटेको छ । यो कुनै हालतमा मान्दैनौ, कुनै हालतमा हुन दिन्नौ ।’’ उहाँले अलिकति चर्कै स्वरमा भन्नुभयो । मैले फेरि भनँे, “यस्तो केही कतै भएको छैन ।’’ अनि उहाँको स्वभाव अनुसार म र उहाँको एकछिन् संवाद भयो । त्यसपछि उहाँ फर्किनुभयो । यस्तो हल्लाको पछाडि नलागौं । समाज कहिले कहिले केही केही कुरामा कुनै कुनै परिस्थितिमा पछाडि फर्किन्छ । इरानमा राजतन्त्र हट्यो । त्यसपछि धर्ममा चल्ने अनुदार शासन आयो, जसले गर्दा कतिपय कानुनहरू, सामाजिक व्यवहारहरू प्रतिगामी देखापरे, पश्चगमनकारी देखापरे, त्यस्तो भयो । एकातिर राजतन्त्र हट्यो, गणतन्त्र आयो । त्यो राम्रो कुरा हो तर गणतन्त्र आएर पनि फेरि पुरानो समयको धार्मिक कानून र धार्मिक संहिता अन्तर्गत समाज चल्नुपर्ने अवस्थामा फर्किदा त्यसले समाजलाई खास अगाडि बढ्न योगदान गर्न सकेन । पछाडि फर्कायो । विस्तारै त्यसमा उदारता आउँदै गएको छ ।

कतिपय ठाउँमा त्यस्तो भएको देखिन्छ । तर ती क्षणिक कुराहरू हुन् । त्यहाँ लोकतन्त्र स्थापना भएन तर लोकतान्त्रिक गणतन्त्र स्थापना भएन । हामीले यहाँ लोकतान्त्रिक गणतन्त्र भनेका छौं । डेमोक्रेटिक रिपब्लिक, यो रिपब्लिक मात्र होइन, डेमोक्रेटिक रिपब्लिक, डेमोक्रेटिक रिपब्लिकमा प्रतिगमन हुन सक्दैन । त्यसकारण हाम्रा कानुनमा, हाम्रा संहिताहरूमा, हाम्रा ऐनमा हामीले प्रतिगमन हुँदैन भन्ने कुराको प्रत्याभूति गर्न सक्छौं । सरकारले प्रतिगमनकारी कुनै कानुनको मस्यौदा संसदमा पढाउँदैन । हेर्न छुटेको कुनै कारणवश कहीँ कतै कमी हुन सक्छ । त्यसैकारण त संसद छ, त्यत्रो जनप्रतिनिधिहरूले छलफल गरेर पारित गर्नुपर्ने विषय हो ।

अहिलेको सरकारले सकेसम्म लोकतान्त्रिक मस्यौदा पठाउँछ, कानुन निर्माणका लागि र संसदले त्यसमा आधारित भएर छलफल गर्छ । कानुन कार्यान्वयनका लागि सबै निकायहरूको सन्तुलित शक्तिपृथकीकरणको सिद्धान्त अनुसारको भूमिका हुनु पर्दछ । कसैले आफूलाई पृथक ठान्ने, फरक ठान्ने र आफूसँग चाहिँ केही अधिकार विशेषै रहेको भन्थे राजतन्त्रकालम । आफूमा निहित र आफूबाट निश्रित अधिकारको प्रयोग गरी ‘बक्सेका छौं’ जस्तो ठान्थे । अहिले कसैमा त्यस्तो अधिकार निश्रित पनि हुँदैन, कतै निहित पनि हुँदैन । कतै निश्रित भएर अधिकार आउने पनि होइन । यो अधिकार जनताको अधिकार, त्यो जनताको अधिकारलाई रक्षा गर्नका लागि हामीले विभिन्न ठाउँहरुमा ती अधिकारहरू प्रत्यायोजित गरेका हुन्छौं । अधिकार प्रत्यायोजनको सबैभन्दा मुख्य थलो र प्रक्रिया भनेको निर्वाचन हो ।

निर्वाचनले जनप्रतिनिधि छान्छ, जनप्रतिनिधिले संविधान निर्माण वा संशोधन गर्छन्, कानुन बनाउँछन र त्यस कानुनले सबै चिजलाई आफ्ना–आफ्ना स्थान दिएको हुन्छ । त्यसको सम्पूर्ण कुराको मूल व्याख्याता फेरि पनि संसद् नै हो । किनभने जनताले अधिकार प्रत्यायोजन गरेको त संसदलाई मात्रै हो । अरुलाई प्रत्यायोजन गरेको हुँदैन । संसदले संविधान र कानुन बनाएर त्यसमार्फत् प्रत्यायोजित अधिकार मात्रै अरुले प्रयोग गर्ने हो । त्यसकारण आफूलाई छुट्टै विशेषाधिकार र पृथक ठान्नु हामी कसैले पनि हुँदैन ।

न्यायलयलाई म प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु, न्यायलयलाई आफ्नो कार्य सम्पादनको सन्दर्भमा कार्यकारिणीको तर्फबाट पूराका पुरा साथ सहयोग रहन्छ । शक्तिपृथकीकरणको सिद्धान्तलाई सरकारले मान्छ र मान्न पर्छ । न्यायालयको स्वतन्त्र भूमिकालाई सरकारले पूर्ण रूपमा सम्मान गर्दछ । यसको अर्थ, फेरि अब कुनै विचारै हुँदैन, सम्मान भनेको पञ्चायतकालीन जयजयकार काम मात्रै हो भन्ने कुरा होइन । यसमा मर्का पर्‍यो, अन्याय पर्‍यो भन्न पाउने ठाउँहरू रहन्छन् । हिजो पनि थिए र फेरि पनि रहन्छ । राणाशासनमा अघिपछि बोल्न नपाए गाईजात्रामा बोल्न दिइन्थ्यो । अहिले गाईजात्रामा बोल्न पाउने मात्र होइन कि छाडातन्त्रमा गइसक्यो । गाईजात्राको त गाईजात्रै गराइसके गाईजात्रवालाहरुले ।

हामीले जनतालाई कसरी सही ढंगले न्याय दिने भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ । पहिले प्रहरीले मन परेकाको उस्तै पर्दा मुद्दा दर्ता गरिदिन्छ, उस्तै पर्दा मुद्दा दर्ता नै गर्दैन भन्ने गुनासा आउँथे । प्रमाणहरू कहाँबाट कता पुर्‍याउने भएपछि मान्छेले न्याय कहाँबाट पाउने ? त्यसकारण प्रहरी ठीक ठाउँ हुनु पर्‍यो । महान्यायाधिवक्ता कार्यालयको अभियोजनका कुरामा सही ढंगको अभियोजन हुनुपर्‍यो ।

न्यायालय अत्यन्त निष्पक्ष ढंगले, निष्पक्ष भावका साथ, प्रतिकमा आँखामा पट्टी बाँधेको हुन्छ । यथार्थमा पट्टी बाँधेको हुँदैन, चारैतिर हेरिराखेको हुन्छ । मैले आफूले देखेको छु, म आफैँ भोगेको छु । कुनै पनि प्रकारको कसुर नगरिकन १४ वर्ष जेल बसेको छु । त्यहाँ कसुर भन्ने हो भने राजतन्त्र उपयुक्त होइन भन्ने मलाई लागेको थियो, मैले त्यो विचार व्यक्त गरेको हुँ । राजतन्त्र उपयुक्त हुँदै होइन । जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा कुनै आधार हुँदैन, वैज्ञानिकता हुँदैन, तथ्य हुँदैन । कुनै जातको आधारमा, कुल घरानाको आधारमा वा केहीको आधारमा पनि जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त एउटा ‘हिपोक्रेसी’ मात्रै हो, अरु केही पनि होइन ।

मैले यो कुरा संयुक्त राष्ट्रसंघको वडापत्र पढेर मानव अधिकार घोषणापत्र पढेर र पुराना विद्वानहरूका पनि कुराहरू सानैबेला बुुझेको हुँ । जन्मिदा सबै बराबर हुन्छन् र जन्मले सबै बराबर छन् भनेको कुराबाट मैले २०२३ सालदेखि जानेँ । छुवाछुत भन्ने कुराहरु, ठूला साना भन्ने कुराहरू, आफ्ना आफ्ना पद ओहदाका जिम्मेवारीका कुराहरू होलान् तर कोही विशेष, कोही चाहिँ केही न केही भन्ने कुरा केही पनि होइन । सबै मानव जाति महान् छ । सबैले सम्मान प्राप्त गर्नुपर्छ र सम्मानित जीवन बाँच्न पाउनुपर्छ । म आफैँ भुक्तभोगी छु । मैले एउटा जेल संस्मरणमा लेखेको छु, एउटा सानो लेख छ । त्यसमा मैले लेखेको छु, “१८ वर्ष पूरा भएपछि सर्वस्वसहित जन्म कैद पायो एउटा मान्छेले । सर्वस्वसहित जन्मकैद भयो ।

सर्वस्व पनि गयो र जन्मकैदको फैसला भयो । र १८ वर्ष पूरा गरिसकेपछि सर्वोच्चबाट १८ वर्ष पुगेर १९ वर्ष लागेपछि सर्वोच्चबाट उसले सफाई पायो निर्दोष छ भनेर । त्यो फैसला सुनाउँदा उसमा कुनै प्रकारको भाव केही पनि आएन । उसले चुपचाप सुन्यो । भोलिपल्ट छुटुवा पुर्जी आयो । अब तँ जा भनेर । अनि उसले ओढ्ने, ओछ्याउने, सिरानी पोको पारेको थियो । जेलको ढोकासम्म त्यो पोको लिएर आयो । अनि त्यहाँ जेलमा छोड्ने बेलामा ढोकाबाट बाहिर निकाल्दा म कहाँ जानेँ भनेर सोध्यो । अघिल्ला दिनदेखि नबोलेको मान्छे, त्यतिबेला म कहाँ जानेँ भनेर सोध्यो । अब तिमी बसपार्क जाऊ भने । अनि के गर्ने ? भन्यो । बस चढेर जाउ भन्यो । चढ्न त चढेर जाने तर ओर्लिने कहाँ ? भन्ने सोध्यो । धन सम्पति र आफन्त केही पनि छैन उसको, अब ओर्लिने कहाँ ? बस चढेर ऊ बसपार्कबाट जान्छ ।

त्यो मान्छेले बतायो । अब ओर्लिने कहाँ ? उसको त्यो प्रश्न सुनेर वास्तवमा त्यहाँ वरिपरीका सुनेका मान्छेहरु सबै ग्वाँग्वाँ रुन थाले । जाने कहाँ ? अनि उसले त्यो पोको त्यही फ्याँक्यो । यो कहाँ लगेर राख्ने मैले ? मलाई किन निकालियो ? मेरो केही पनि छैन । १९ वर्ष मैले जेलमा जवानी बिताएँ, सारा बिताएँ । मेरो त कोही पनि छैन । म त काम गर्न नसक्ने भएर अशक्त भएर बसेको छु । म गएर केही गर्न पनि सक्दिनँ ।’’ वास्तवमा ढिलो न्याय हुनु न्याय नपाउनु सरह हो भनेको हामी जस्तो बुझेको मान्छेले त्यसको मर्म बुझेका छौं । न्याय ढिलो हुनु भनेको नपाउनु सरह हो भन्ने कुरा हामीले बुझेका छौँ । मैले १४ वर्षपछि पनि फेरि सफाइ पाएको होइन । न्याय पाएको पनि होइन । १० वर्ष कैद थियो । त्यो भुक्तान भइसकेपछि सम्मानित सर्वोच्च अदालतमा आएर कैद भुक्तान गरिसकेँ छोडी पाउँ भनेपछि छोड्ने आदेश भयो । त्यहीँ इन्स्पेक्टरले हत्कडी लगाएर फेरि घिसारेर लग्यो । फेरि अर्कापल्ट उजुरी गरेँ ।

फेरि सर्वोच्चले ‘अब नथुन्नू, छोड्नू’ भनेर आदेश ग¥यो । फेरि हत्कडी लगाएर पुलिसले घिसारेर लाग्यो । अदालत हेरेको हेरै । त्यो खालको राजमा हामी बसेका थियौँ तर अहिले राजतन्त्र, राजतन्त्र भनेर कराएको सुन्दा अचम्म लाग्छ, कठै बरा ! देख्दै नदेखेका, भोक्दै नभोगेका, बुझ्दै नबुझेका मान्छेहरु राजतन्त्र राजतन्त्र ! भनेका छन् । त्यत्तापट्टि म अहिले जान चाहन्नँ । न्याय त्यस्तो नहोस् । त्यही प्रयास हामी गरिराखेका छौं र हाम्रा कानूनहरूले त्यसको आधार तयार गर्नुपर्दछ । त्यसको प्रत्याभूति कानूनी रूपमा व्यवस्था गर्नुपर्दछ र हाम्रा कानून र न्याय दिने निकायहरूले यी कुराहरुमा ध्यान दिनुपर्दछ । प्रहरी होस् कि अनुसन्धानकर्ता होस् कि अभियोजनकर्ता होस् कि न्यायकर्ता होस् सबै ठाउँबाट यी चिज हुनुपर्दछ । त्यसका लागि सरकारको तर्फबाट सम्पूर्ण सहयोग रहने म प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु ।

सम्पूर्ण सहयोग रहन्छ र संसदमा एउटा सांसद्को हैसियतले र संसदमा एउटा महत्वपूर्ण दलको नेताको हिसाबले पनि म भन्न चाहन्छु, हाम्रो दलको वा संसदको र अहिले सरकारमा सहभागी दलहरूको पनि त्यो धारणा छ । सरकारको तर्फबाट हामी न्याय निरूपणको सन्दर्भमा सम्पूर्ण योगदान गर्न तयार छौँ । मुलुकी संहिता दिवसले हामीलाई साँच्चैको कानूनीराजको रूपमा अगाडि बढ्न प्रेरणा देओेस् । हामी आग्रहहीन ढंगले कानून कार्यान्वयन र कानुनको व्याख्या त्यसको कार्यान्वयन गर्न सकौं । सामाजलाई नैतिक कसरी बनाउने यो धेरै महत्वपूर्ण कुरा हो । कानुन कार्यान्वयनबाट मात्रै होइन कि हामीले मानिसहरुमा गुणवत्ता सिकाउने गर्नपर्छ । मान्छेले अपराध नगरोस् । कानुनमा अनविज्ञता प्रकट गरेर दण्डबाट बच्न सकिँदैन, गल्ती भयो भने, कानुनको उल्लङ्घन भयो भने अनविज्ञता भनेर बच्न सकिँदैन ।

कानुनका दफा दफा कण्ठ गर्न विद्वानले पनि सक्दैन । हरेक दफा कण्ठ भएर कानुन उल्लङ्घन नभएको होइन । बेठीक काम गर्दिन भन्ने तरिकाले चलेपछि कानुन उल्लङ्घन हुँदै हुँदैन । हामी कुनै देशको भिसा लिएर त्यहाँ जान्छौँ । भिसा लिनुको अर्थ के हो भने, भिसा अप्लाई गर्नुको अर्थ तिम्रो देशमा जाँदाखेरि त्यस देशमा रहँदा म तिम्रो देशको संविधान, कानुन, नियम सबैको पालना गर्छु भनेको हो । त्यहाँका कानुनहरु हामी पढेर जाँदैनौ । नराम्रो केही पनि गर्दैनौ । त्यसो भएपछि कानुनको पालना स्वतः हुन्छ । असामाजिक केही पनि गर्दैनौ, कानुनको स्वतः पालना हुन्छ । यहाँ पनि हामीले थुप्रै कानून बनाएका छौँ । संविधान बनाएका छौँ, कानुन बनाएका छौँ । तर न संविधानका धारा धारा याद छ, न कानुनका दफा दफा याद छ । सम्भवै छैन नि । तर नराम्रो काम नगर्ने, त्यति गरेपछि कानुनको पालना हुन्छ । कानुनभन्दा माथिको मानवीय राज हुन्छ ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले १ भदौ, २०८२ मा मुलुकी संहिता दिवसका अवसरमा व्यक्त गर्नुभएको सम्बोधनका आधारमा स्वकीय सचिवालले तयार गरेको सम्मापित विवरण) :

 

जापानमा सामन्ती सरदारको मूर्तिको शिर छेदन

टोकियो । जापानको एक सपिङ आर्केड बाहिर १६औँ शताब्दीका शक्तिशाली सरदार तथा समुराई टोयोटोमी हिदेयोसीको मूर्तिको टाउको काटिएको घटना बुधबार सार्वजनिक भएको छ । यो जानकारी पसलका अधिकारी र मिडिया रिपोर्टमार्फत प्राप्त भएको हो ।

टोयोटोमी हिदेयोसीले १६औँ शताब्दीमा जापानको एकीकरण गरेका थिए । उनी कोरियाली प्रायद्वीपमा गरेका असफल आक्रमणका कारण पनि परिचित छन् ।

नागोयास्थित एन्डोजी सपिङ आर्केडको सङ्घले उक्त मूर्तिलाई समुदायको प्रतीकात्मक आकृति मान्दै आएको छ । सङ्घका एक सदस्यले भने, “हामी यसबारेमा क्षतिको रिपोर्ट प्रहरीमा दर्ता गर्ने विचार गरिरहेका छौँ ।”

तर कसले र किन यो क्षति पुर्‍यायो भन्ने विषयमा कुनै जानकारी नभएको पनि उनले बताए ।

उक्त सपिङ आर्केड बाहिर राखिएका अन्य लडाकु मूर्तिहरू पनि विगतमा तोडफोडको शिकार भएका थिए । यी सबै मूर्ति सन् २०१३ मा एक घरजग्गा कम्पनीले दान गरेको थियो ।

सन् २०२२ मा टोयोटोमीको प्रतिद्वन्द्वी तथा टोकुगावा शोगुन शासन (इडो युग) का संस्थापक टोकुगावा इयासुको मूर्तिलाई खसालिएको थियो र त्यसमा प्वाल बनाइएको थियो । यसअघि, सन् २०१९ मा अर्का प्रसिद्ध सरदार ओडा नोबुनागाको मूर्ति हातविहीन अवस्थामा फेला परेको थियो ।

हिदेयोसी, इयासु र नोबुनागा – यी तिनै जना जापानका सबैभन्दा प्रसिद्ध सामन्ती सरदार हुन् । यिनीहरूले करिब एक सय वर्ष लामो युद्धरत राज्यहरूको कालखण्ड अन्त्य गरी जापानलाई एकताबद्ध गर्न सङ्घर्ष गरेका थिए ।

हालका वर्षहरूमा अन्य मुलुकहरूमा पनि ऐतिहासिक व्यक्तित्वका मूर्तिहरू विवादको विषय बनेका छन् । विशेष गरी उपनिवेशवाद र दासत्वसँग सम्बन्धित व्यक्तिहरूका मूर्तिहरूलाई लिएर कडा बहस हुने गरेको छ ।

भारतीय सामानमा दोब्बर अमेरिकी कर, पुग्यो ५० प्रतिशत

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसबाट तेल खरिद गरेका कारण भारतलाई दबाब दिन बुधबारदेखि धेरै भारतीय उत्पादनमा विद्यमान भन्सार शुल्क दोब्बर गर्दै ५० प्रतिशत लागू गरेका छन्।

ट्रम्पले युक्रेन युद्धलाई राजस्व दिने प्रमुख स्रोत ऊर्जा कारोबारलाई रोक्ने अभियानका हिस्साका रूपमा भारतलाई लक्षित गरेका हुन्।

यस कदमले अमेरिका–भारत सम्बन्धमा तनाव थपिएको छ र नयाँदिल्लीलाई चीनसँगको सम्बन्ध सुधार गर्न नयाँ प्रोत्साहन दिएको विश्लेषकहरूको भनाइ छ ।

सन् २०२४ मा पुनः राष्ट्रपति बनेपछि ट्रम्पले सहयोगी र प्रतिस्पर्धी दुवै देशलाई उच्च भन्सार शुल्कको मारमा पारेका छन्। ।

यो ५० प्रतिशत स्तर अमेरिकी व्यापारिक साझेदारहरूले भोगिरहेको सबैभन्दा उच्चमध्ये एक हो । तर, औषधि, कम्प्युटर चिप्स र स्मार्टफोनजस्ता केही क्षेत्रलाई भने छुट दिइएको छ । स्टिल, एल्युमिनियम र अटोमोबाइल उद्योगलाई पनि यी भन्सार शुल्कबाट अलग राखिएको छ ।

संयुक्त राज्य अमेरिका भारतको प्रमुख निर्यात बजार हो । अमेरिकाले सन् २०२४ मा मात्र ८७ अर्ब ३० करोड डलरको निर्यात स्वीकार गरेको थियो । तर ५० प्रतिशत भन्सार शुल्क व्यापार प्रतिबन्धसरह हुने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

यसले विशेषगरी कपडा, समुद्री खाना र गहनाजस्ता क्षेत्रमा काम गर्ने साना कम्पनीहरूलाई ठूलो धक्का पुर्‍याउने सम्भावना छ । यी निर्यातकर्ताहरूले पहिले नै अर्डर रद्द हुनुका साथै बङ्गलादेश र भियतनामजस्ता प्रतिस्पर्धीलाई फाइदा पुगेको बताएका छन् । यसले रोजगारी कटौतीको डर बढाएको छ ।

भारतले वासिङ्टनको कदमलाई ‘अनुचित, अन्यायपूर्ण र अव्यावहारिक’ भन्दै कडा आलोचना गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले स्वाधीनताको वार्षिक भाषणमा नागरिकको करभार कम गर्ने र आत्मनिर्भर भारतको मार्गमा अघि बढ्ने वाचा गरेका छन् ।

भारतको विदेश मन्त्रालयका अनुसार, युरोपले परम्परागत आपूर्ति रूसबाट हटाएपछि भारतले तेल आयात बढाएको हो ।

सन् २०२४ मा भारतको कुल कच्चा तेल आयातमध्ये ३६ प्रतिशत हिस्सा रूसबाट आएको थियो । यसले भारतलाई अर्बौं डलरको बचत मात्र नभई घरेलु इन्धन मूल्यलाई पनि स्थिर राख्न मद्दत गरेको थियो ।

तर ट्रम्प प्रशासनले बुधबारको समयसीमाअघि आफ्नो कर योजनामा दृढता देखायो । उनका व्यापार सल्लाहकार पिटर नाभारोले गत हप्ता पत्रकारलाई भने, “भारतले युद्धमा आफ्नो भूमिका चिन्न चाहँदैन ।” उनले भारतीय कदमलाई ‘चिनियाँ राष्ट्रपति सी जिनपिङको नीति जस्तै’ भएको टिप्पणी गरे ।

एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटकी वरिष्ठ उपाध्यक्ष वेन्डी कटलरले भने, “ट्रम्प कर गाथाको सबैभन्दा चिन्ताजनक घटनामध्ये एउटा हो, जसले भारतलाई प्रारम्भिक व्यापार सम्झौताका लागि आशाजनक उम्मेदवारबाट सिधै उच्च भन्सार शुल्कको मारमा परेको राष्ट्र बनाइदिएको छ ।”

उनका अनुसार, भारतले व्यापार क्षेत्रमा सुधार र खुलापन देखाइरहे पनि ट्रम्पका तीव्र भन्सार शुल्कहरूले यी प्रयासलाई प्रश्नमा पारेको छ । “यी उच्च भन्सार शुल्कहरूले दुई देशबीचको विश्वासलाई द्रुत रूपमा क्षय पारेको छ, जसलाई पुनर्निर्माण गर्न वर्षौं लाग्न सक्छ”, उनले भने ।

ट्रम्पले भन्सार शुल्कलाई अनुचित व्यापार अभ्यास र असन्तुलन समाधान गर्ने प्रमुख औजारका रूपमा प्रयोग गर्दै आएको छ ।

यसअघि युरोपेली सङ्घ (इयु) देखि लिएर इन्डोनेसियासम्मका साझेदारलाई प्रभाव पारेको उच्च भन्सार शुल्कले अमेरिकी व्यापार घाटा कम गर्ने औचित्य दिएको थियो ।

यसबाहेक, ट्रम्पले आफ्ना पूर्वराष्ट्रपति साथी जायर बोल्सोनारोविरुद्ध मुद्दा चलेका कारण ब्राजिलमाथि पनि निशाना लगाएको छ । ब्राजिलका धेरै सामानमा पनि यसै महिनादेखि अमेरिकी कर ५० प्रतिशत पुर्‍याइएको छ । तर त्यहाँ व्यापक छुट दिइएको छ ।

सिँचाइका लागि एक वर्षमा १६ डिप बोरिङ वितरण

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा एक वर्षको अवधिमा सिँचाइका लागि १६ वटा ‘डिप बोरिङ’ वितरण गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वितरण भएको डिप बोरिङले जिल्लाका करिब ४२५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको भूमिगत जल सिँचाइ आयोजना कार्यालय भरतपुरले जनाएको छ ।

आयोजना प्रमुख इञ्जिनियर विश्वबन्धु केसीले एउटा डिप बोरिङबाट करिब २५ देखि ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने बताए । “हामीले गत वर्षबाट मात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा डिप बोरिङको काम गरेका हौँ”, उनले भने, “एउटा डिप बोरिङबाट करिब १५० जनासम्म कृषक लाभान्वित भएका छन् ।” जिल्लाको गैँडाकोट नगरपालिकामा पाँच, विनयी त्रिवेणी गाउँपालिकामा चार, मध्यविन्दु नगरपालिकामा तीन, कावासोती नगरपालिकामा तीन र देवचुली नगरपालिकामा एउटा डिप बोरिङ वितरण गरिएको जानकारी दिए ।

किसानबाट माग भएपछि सम्भाव्यता अध्ययन गरी प्राथमिकताको आधारमा डिप बोरिङ वितरण गरिने आयोजना प्रमुख केसीले बताए । “डिप बोरिङ माग गर्नका लागि ३५ बिघा क्षेत्रफल जमिनको लालपुर्जा र वडाको सिफारिस लिएर आउनुपर्छ”, उनले भने, “डिप बोरिङमा पानी आउने सम्भावित अवस्था छ कि छैन अनुगमन गरेर, आवश्यकता पहिचान गरी प्रक्रियामा जान्छौँ ।” किसानबाट डिप बोरिङको माग धेरै हुने तर स्रोतसाधनको सीमितताका कारण सबैलाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको उनले बताए ।

चालु आवका लागि नवलपुरका पाँच वटा पालिकाबाट २० डिप बोरिङको माग भई आएको केसीले बताए । “अघिल्लो वर्ष किसानको मागबामोजिम डिप बोरिङ वितरण गर्न सफल भयौँ, तर यसवर्ष बजेट थोरै आएको छ”, उनले भने, “हाम्रो कार्यक्रममा नवलपुर, चितवन र मकवानपुरको तीन जिल्लाका लागि जम्मा १२ वटा बोरिङ स्वीकृत भई आएको छ ।” समानुपातिक हिसाबबाट वितरण गर्दा पनि एउटा जिल्लामा चारवटाभन्दा बढी डिप बोरिङ उपलब्ध गराउन सक्ने अवस्था नरहेको उनले बताए ।

प्रतिबोरिङ निर्माण गर्नका लागि रु २१ लाख खर्च हुने भन्दै उहाँले तीन प्रतिशत जनसहभागिता हुनुपर्ने बताउनुभयो । “किसानको जनसहभागिता श्रमदान तथा नगद दुवैमा गर्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो, “हालसम्म किसानको सहभागिता श्रमदानमार्फत हुँदै आएको छ ।” नवलपुरको गैँडाकोट, कावासोती र विनयी त्रिवेणीमा करिब १०० मिटर गहिराइबाट पानी आउने गरेको भन्दै उहाँले मध्यविन्दु र देवचुलीमा भने ११० मिटरभन्दा बढी गहिराइको बोरिङ गाड्नुपरेको बताए।

“हामीले आवश्यकता पहिचान गर्दा नहर लाग्ने, कुलो लाग्ने तथा खोलाको पानी लाग्ने ठाउँमा बोरिङ वितरण गर्दैनौँ”, उनले भने, “जुन ठाउँमा सिँचाइका लागि पानी आवश्यक छ, कुलो तथा नहर छैन त्यस्ता ठाउँमा मात्रै बोरिङ दिने गरेका छौँ ।” बोरिङ गाड्दा पानी आउने सम्भावना नभएको ठाउँमा समेत आफूहरुले कार्यक्रम दिन नसक्ने केसीले बताए । जिल्लाको हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाको सबै भाग पहाडी क्षेत्रमा पर्ने भन्दै उनले ती पालिकामा आफूहरुको कार्यक्रम नभएको बताए ।

चेसका गोटी चाल्दै प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले काठमाडौंमा बुधबार भक्त राना स्मृति चेस प्रतियोगिता उद्घाटन गरेका छन् ।

प्रतियोगिता अखिल नेपाल चेस संघ र नेशनल स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा होटल रोयल एरयपोर्ट, सिनामंगलमा भएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ ल्याइयो यस वर्षको इन्द्रजात्राका लागि लिंगो (तस्बिरहरु)

काठमाडौँ । यस वर्षको इन्द्रजात्रा अर्थात् यँयाः का लागि लिंगो (यःसिं) काठमाडौं ल्याइएको छ । मानन्धर समुदायका अगुवाहरू, गुठी संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरी यःसिं आज काठमाडौँको भोटाहिटी ल्याइएको हो ।

पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार सोमबार राति ९ः०३ को साइतमा वृक्ष कर्तन (रुख कटान) गरी नालाबाट गुठीयारहरुले तानेर ल्याएका हुन् ।

यसरी भोटाहिटीमा ल्याइएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि)को दिन बिहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराइनेछ ।

भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडि भदौ १९ गते बिहीवार बिहान १०ः३१ को शुभ साइतका उठाइ इन्द्रध्वजोत्थान गरिनेछ। यःसिं उठाएपछि काठमाडौँको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिकरुपमा सुरु भएको मानिन्छ।

 

नेपाल शिक्षक महासंघद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना

काठमाडौँ । नेपाल शिक्षक महासंघले नेपाली काङ्ग्रेसको पार्टी कार्यलयमा धर्ना दिएका छन।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम समेत रहेको महासंघले जनाएको छ ।

त्यसै गरी २०८२ भाद्र १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जानकारी दिएको छ।

तस्बिरहरु:-

 

प्रतिभाका धनी शिशिरको स्वरमा जादु

शिशिर हमाल, उनी मात्रै १२ वर्षका भए

उमेरले सानो भएपनि शिशिरको नाम भने अहिले निकै नै चर्चामा छ ।

भर्खरै कक्षा ७ मा पढिरहेका शिशिरको आवाज आज देश तथा विदेशमा गुञ्जी रहेको छ । दाङ, गढवा गाउँपालिका वडा न.६ घर भएका शिशिर सारेगमप लिटिल च्याम्प्स सिजन-२ मा टप-८ कन्टेस्ट हुन्। उनै शिशिर हमाल सँग हामीले रमाईलो कुराकानी गरेका छौँ ।

सयपत्रीको मालाले सजिएका गणेशलाई लड्डको भोग (फोटोफिचर)

भक्तपुर । आज गणेश चतुर्थीको दिन भक्तजनहरुले भगवान् गणेशको विशेष पूजाआराधना गरिरहेका छन् । देशभरका गणेश मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ ।

भक्तपुरको सूर्यविनायक गणेश मन्दिरमा पनि बिहानैदेखि चहलपहल छ । गणेश चतुर्थीको दिन बिहानै त्यहाँ नित्य पूजा गरिएको छ ।

गणेशको मूर्तिलाई सयपत्री फूलको मालाले सजाएर लड्डुको भोग लगाइएको थियो।

कोशी प्रदेश क्यान्सर, मिर्गौला लगायतका बिरामीलाई आठ करोड ८५ लाख सहायता वितरण

झापा कोशी । प्रदेश सरकारले कडा रोगका बिरामीलाई रु आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् ।

क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आव २०८०/८१ मा दिएका निवेदनका आधारमा रु ५० हजार र रु एक लाखका दरले आर्थिक सहायता वितरण गरिएको उनले जानकारी दिए ।

उनले क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरीका एक हजार ६६० बिरामीलाई रु ५० हजारका दरले र मिर्गौला ट्रान्सप्लान्टका ५५ बिरामीलाई रु एक लाखका दरले सहायता रकम वितरण गरिएको बताए । चालु आव २०८२ /८३ मा सरकारले आर्थिक सहायताका लागि बजेट विनियोजन नगरेको उनले बताए। “यो आवमा यस्तो सेवा मन्त्रालयले राखेको छैन”, सूचना अधिकारी राईले भने, “आर्थिक रुपमा भार धेरै भयो । कडा रोग लागेका बिरामीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने र बिमा गरिसकेकाहरुको नवीकरण गरिदिने कार्यविधि बनेको छ । जिल्लाहरुबाट तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । चाँडै सूचना जारी गरेर काम थाल्नेछौँ ।”

विगतको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई रु दुई लाख र अन्य कडा खालका रोग लागेकालाई रु एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर माग धेरै र बजेट अभाव भएपछि सरकारले गत वर्ष आधा मात्रै बाँड्ने निर्णय गरेको थियो ।

उनले वि.सं २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिए । प्रदेशमा कडा रोग लागेका बिरामीलाई पहिलोपल्ट आव २०७९ /८० बाट आर्थिक सहायता वितरण सुरु गरिएको थियो ।

गणेश चौथीका अवसरमा सूर्यविनायक गणेश खटजात्रा सुरु

भक्तपुर। गणेश जन्मोत्सवका अवसरमा उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरमा आज बिहानैदेखि सूर्यविनायक गणेश खटजात्रा सुरु भएको छ ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा आज सूर्यविनायक नगरपालिका–६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा राखेर सुरु भएको रथयात्रा दिनभर विभिन्न टोलको परिक्रमा गरी साँझ पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरी विसर्जन गरिने सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।

उनले भने, ‘पुर्खाले मनाउँदै आएको गणेश रथयात्रा आर्थिक स्रोत नहुँदा वर्षौँदेखि रोकिएको थियो, विगत तीन वर्षबाट सुरु भएको यो जात्रा यस वर्ष हजारौँ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोलटोलमा पुर्‍याएर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।’

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।

खट जात्राका क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरी टोलटोलमा परिक्रमा गराएको हो ।

गणेशलाई रथारोहण गराएपछि बाजागाजाका साथ रथ तानेर परिक्रमा गराएको उनले बताए । जात्रामा सयौँ महिला तथा पुरष सहभागी छन् ।

 रुवी हत्या प्रकरण : आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा पक्राउ

हेटौँडा ।  रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि खोजतलासमा जुटेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ६ बस्ने लक्ष्मण पासवान रहेका छन् । उनी रुबीसँग प्रेम सम्बन्धमा रहेकाे प्रहरी काे भनाइ छ ।

पासवानलाई जलेर घाइते अवस्थामा माधोपुर गाउँदेखि मानपुर बिसुनपूर्वा जाने बाटो नहरको छेउबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनले आफ्नो जिउमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेको बुझिएको छ । पासवानले घटनामा संलग्नता रहेको स्वीकार गरेकाे प्रहरी स्राेतले बतायाे । आगोले पासवानको शरीरको विभिन्न भाग जलेकोले उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ ।

गएको शनिबार राति रुवीको शव गौर नगरपालिका-९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै सुटकेसमा फेला परेको थियो।

पासवानले रुविको शव फाल्नका लागि रिक्सा भाडामा लिएको र गन्तव्यतर्फ जाँदै गर्दा रिक्सा बिग्रिएपछि शव सडकमै फालेर उनी फरार भएका प्रहरीको भनाई छ।

शव फाल्नको लागि प्रयोग भएको ई–रिक्साका चालक गौरका लक्ष्मण महरालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।

रुवीकाे हत्या आराेपमा पक्राउ परेका पासवान केही समयअघि मात्रै मलेसियाबाट नेपाल फर्किएको पाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी कार्कीले बताए।

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब

काठमाडौँ । स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा रु तीन सयले बढेको छ भने चाँदी रु १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९९ हजार निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ ।

हिजो मङ्गलबार एक तोला सुन रु एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा क्रयविक्रय भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

गणेश चतुर्थी सुर्यविनायक मन्दिरमा श्रद्धालुहरूको भीड (तस्बिरहरु)

भक्तपुर । अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्वका दिन आज देश भरका गणेश मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्व सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यतामा आधारित छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइँदै छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

तस्बिरमा भक्तपुरको सूर्यविनायक मन्दिरमा दर्शन गर्दै श्रद्धालुहरू

करेन्ट सर्ट भएर आगलागी, ५० बाख्रा मरे

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो । घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।

फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन् भने छवटा घाइते भएका छन् । आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते भएका छन् । उनको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला / सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ । कालिकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

गए राति सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मतसम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । उनले मर्मतसम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सम्बद्ध सबैलाई अनुरोध गरेका छन् ।

तस्बिरमा हेर्नूहोस् बसन्तपुर दरबार क्षेत्रमा तीजको रौनक

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा आज देशभरका देवालय, तथा महादेव मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ ।

यस पर्व खानपिन, व्रत र उपवास र स्नानका साथै अरुनधती सहित सप्त ऋृषिहरुको पुजा अर्चनामा गरी आफ्नो श्रीमान, घरपरिवारको दीर्घायु, शान्ति समृद्धि र अविवाहित नारीले सर्वगुण सम्पन्न बारका लागि व्रत बस्ने परम्परा रहेको छ ।

सोही अवसरमा आज बसन्तपुर दरबार क्षेत्रमा नारीहरू नाचगान गरी तीज पर्व मनाएका छन ।