`

पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न छलफल

काठमाडौं । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने सम्बन्धी कार्ययोजनामा छलफल भएको हो ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारवहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपायहरू पहिचान गरी अघि बढ्नेबारे पनि छलफल भएको छ । विमानस्थल बने पनि सञ्चालनमा समस्या भएपछि पछिल्लो समय कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

छलफलमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको सहभागिता थियो ।

राज्यव्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत निर्वाचित भएकी छन्। आज मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको तालिका थियो।

उक्त समयभित्र उनीबाहेक अरु कसैको पनि मनोनयन नपरेपछि उनी सर्वसम्मत निर्वाचित भएकी हुन्। उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी नै छ।

निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राईले जानकारी दिएका छन् । योसँगै न्यौपाने सभापतिमा सवर्मसम्मत भएकी हुन् ।

राज्य व्यवस्था समितिको बैठक भोलि दिउँसो ३ बजे बस्दैछ । जहाँ न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा हुनेछ ।

न्यौपाने यसअघि संसदीय सुनुवाइ समितिको सभापति थिइन् । कांग्रेसले न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने भनेपछि न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिइन् । उनले आजै सभामुख समक्ष राजीनामा दिएकी हुन् ।

 

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

काठमाडौं । गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ।

यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र वस्तु आयात निर्यात प्रणालीमा गम्भीर समस्या देखिएकाले तत्काल पुनर्निर्माण गर्न चेम्बरले सरकारसमक्ष आग्रह गरेको हो ।

यसले मूल्यवृद्धिमा समेत असर गर्ने भएकाले सरोकारवाला परराष्ट्र मन्त्रालय, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराइएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु बजारमा अभाव सृजना हुने जोखिम बढेको चेम्बरले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “दशैँ, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै छन् । अवरुद्ध तातोपानी र रसुवा नाका समयमा पुनर्निर्माण सम्पन्न नहुँदा आयात प्रत्यक्ष प्रभावित भएको र यसले उपभोक्तामाथि अतिरिक्त आर्थिक बोझ पर्न सक्ने देखिन्छ ।”

चीनसँग जोडिएको महत्त्वपूर्ण नाकाहरू लामो समय बन्द हुँदा वैदेशिक व्यापारमात्र नभइ साना उद्योग र व्यावसायिक प्रतिष्ठान पनि सङ्कटमा परेको चेम्बरका भनाइ छ ।

महिला प्रतिनिधित्व स्थापित गर्न मंगलादेवीको योगदान अतुलनीय छ : मन्त्री सिंह

नेपाल महिला संघकी संस्थापक एवं नेपाली महिला आन्दोलनकी नेत्री मंगलादेवी सिंहको २९औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको सिंहको सालिकमा माल्यार्पण गर्दै उनले महिला अधिकारका लागि उनको भूमिका अतुलनीय रहेको बताए ।

उपप्रधानमन्त्री सिंहले महिलाको हक, अधिकारका लागि आवाज उठाउने महिला नेत्री सिंहलगायत महिलाको सङ्घर्षको परिणामस्वरुप वर्तमान संविधानमा समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व सुनिश्चित भएको बताए ।

त्यस अवसरमा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सृजना सिंहले मंगलादेवी सिंह नेपाली महिलाका लागि प्रेरणाकी स्रोत बताए बताइन् ।

महिलालाई चुल्होचौकोबाट बाहिर निस्केर आफ्ना हक, अधिकारका निम्ति लड्न २४ साउन २००४ मा मंगलादेवी सिंहको अध्यक्षतामा महिला महिला संघ स्थापना भएको थियो ।

नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समानता, आत्मसम्मान र प्रगतिशील सोचसहितको नयाँ नेपालको यात्रामा सबै सहभागी हुन आव्हान गरेका छन् ।

तीजको अवसरमा आज सम्पूर्ण नेपाली, आमा तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “तीज पर्वले ल्याउने एकता, प्रेम र सांस्कृतिक गौरवले हाम्रो सामाजिक सद्भाव र समृद्ध भविष्य निर्माणमा प्रेरणा देओस् ।”

अध्यक्ष भट्टराईले सबैले तीजको धार्मिक र सांस्कृतिक मूल्यलाई आत्मसात गर्दै मर्यादित र मौलिक ढङ्गले मनाउनुपर्नेमा जोड दिएका छन् ।

उखु किसानको आन्दोलनमा पुगे माधव नेपाल (तस्बिरहरु)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उखु किसानको आन्दोलनमा समर्थन जनाएको छ।
उनी माइतीघरमा मण्डलामा पुगेर किसानको आन्दोलनमा सहभागी भएका हुन्।

उनीहरू आन्दोलनरत किसानसँगै सडकमै घर्ना बसे। सरकारले विगतमा तोकेको अनुदान नदिएको र अब कटौती गर्ने निर्णय लिएपछि आइतबारदेखि उखु किसान सडकमा ओर्लिएका हुन्।

यस अघि आजै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले पनि माइतीघर पुगेर किसानको आन्दोलनमा ऐक्यबद्धता जनाइसकेका छन्।

सन्तोष राजावादी पक्राउ

काठमाडौँ । तिजबारे अनावश्यक लेखेर सनातन धर्ममाथि नै प्रहार भएको भन्दै गोरखापत्र जलाउन खोज्ने सन्तोष कुमार सिलवाल(सन्तोष राजावादी) पक्राउ परेका छन्।

माइतीघरमा प्रदर्शन गरिरहेका वेला मंगलबार उनी पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । धादिङको सितले गाउँपालिका–४ स्थायी घर भएका सन्तोष काठमाडौंको कलंकीमा बस्दै आएका छन् ।

उनी गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनको क्रममा पनि पक्राउ परेका व्यक्ति हुन् ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा न्यौपानेको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

मंगलबार समिति सभापति निर्वाचनका लागि तोकिएको समयमा न्यौपानेले उम्मेदवारी दर्ता गरिएकाे सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले जानकारी दिए ।

संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिबाट राजीनामा दिएर मंगलबार (भदौ १०) उनी राज्यव्यवस्थामा उमेदवार बनेकी हुन् ।

राज्यव्यवस्था समितिको सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा छन् । सभापति छनोट बुधबार (भदौ ११) दिउँसो ३ बजे समिति बैठक बोलाइएको छ ।

गएको साउन २७ गते खतिवडाले सभापतिबाट राजीनामा दिएपछि पद रिक्त छ ।

 

विराटनगरमा प्राविधिक शिक्षा नमुना केन्द्र स्थापना

विराटनगर। विराटनगर महानगरपालिकामा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रवर्द्धन केन्द्र स्थापना गरिएको छ। सगरमाथा आइ ल्याब समूह (कोशी प्रदेश), काठमाडौँ विश्वविद्यालय अन्तर्गतको स्कूल अफ एजुकेशन र स्वीजरल्याण्डको इटीएच ज्युरिचको सहकार्यमा सञ्चालित आइ ल्याब कार्यक्रमअन्तर्गत सो केन्द्र स्थापना गरिएको हो।

स्थानीय तह, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीचको सहकार्यमा स्थापित उक्त केन्द्रले नेपालमा सीपयुक्त जनशक्तिको खाँचो टार्न प्राविधिक शिक्षामा आमूल सुधारको आवश्यकता पूरा गर्ने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरलाले बताए। ‘उद्योगलाई आवश्यक दक्ष जनशक्ति आपूर्ति गर्न तथा समुदायमा रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्न यसबाट मद्दत पुग्नेछ’,उनले भने।

सगरमाथा आइ ल्याब समूहले सञ्चालनमा ल्याएको ‘सीप सम्बर्द्धन, तालिम पहुँच र रोजगारी जोड्ने कार्यक्रम’अन्तर्गत समूहले गाउँ–टोलमै पुगेर तालिमको पहिचान गरी उद्योगसँगको सहकार्यमा युवालाई रोजगारी तथा बजारसँग जोड्न सेतुको काम गर्ने बताइएको छ।

चीन-रूस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी

काठमाडौं । राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन-रूस सम्बन्धलाई प्रमुख विश्व शक्तिहरूमध्ये ‘सबैभन्दा स्थिर, परिपक्व र रणनीतिक रूपमा महत्त्वपूर्ण’ भन्दै प्रशंसा गर्नुभएको छ ।

रूसको ड्युमा (संसद्को तल्लो सदन)का अध्यक्ष भाचेस्लाभ भोलोडिनसँगको भेटमा उहाँले चीन-रूस सम्बन्धलाई ‘विश्व शान्तिको स्थिर स्रोत’ को रूपमा वर्णन गर्नुभएको चिनियाँ राज्य सञ्चारमाध्यम सिसिटिभीले जनाएको छ ।

“दुवै पक्षले, दुवै देशको सुरक्षा र विकास हितको रक्षा गर्न, ग्लोबल साउथलाई एकताबद्ध गर्न, साँचो बहुपक्षवादलाई कायम राख्न र अन्तर्राष्ट्रिय व्यवस्थामा निष्पक्षता तथा न्याय प्रवर्द्धन गर्न मिलेर काम गर्नुपर्छ”, सीले बेइजिङको भव्य ग्रेट हल अफ द पिपुलमा आयोजित भेटमा भन्नुभयो ।

सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि बेइजिङ र मस्कोबीचको सम्बन्ध अझ गहिरो बन्दै गएको छ । चीनले युद्धको निन्दा नगरेको र मस्कोलाई सेना फिर्ता लिन पनि आह्वान नगरेको स्पष्ट छ ।

युक्रेनका सहयोगी राष्ट्रहरूलाई चीनले आफ्नो बिशाल उत्तरी छिमेकीलाई समर्थन गरिरहेको विश्वास छ । तर चीनले भने आफू तटस्थ रहेको दाबी गर्दै आएको छ र युद्ध अन्त्यका लागि नियमित आह्वान गर्दै पश्चिमी मुलुकहरूले युक्रेनलाई हतियार आपूर्ति गरेर द्वन्द्व लम्ब्याएको आरोप लगाइरहेको छ ।

यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै सप्ताहन्तमा चीन भ्रमण गर्ने तय भएको छ । उहाँ अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म उत्तरी सहर तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ । साथै दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव कार्यक्रममा पनि उपस्थित हुनुहुनेछ ।

पुटिनले यस अवसरमा राष्ट्रपति सीसँग पनि वार्ता गर्नुहुनेछ । उहाँहरूबीच पहिले नै गहिरो व्यक्तिगत सम्बन्ध रहेको बताइन्छ । यसै महिना सीले फोनमार्फत पुटिनलाई मस्को-वासिङ्टन सम्बन्धमा देखिएको सुधारप्रति चीन खुसी भएको बताउनुभएको थियो ।

पुटिनले यसै महिना अलास्कामा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले उच्चस्तरीय वार्ता गर्नुभएको थियो । तर त्यसपछिका दिनमा शान्ति वार्तामा खास प्रगति भएको देखिएको छैन ।

कवाडी व्यवसायीले आज पनि घेरे काठमाडौं महानगर, सुरक्षा व्यवस्था कडा (फोटोफिचर)

काठमाडौँ । विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलित भएका कवाड व्यवसायीहरूले आज पनि काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् ।

उनीहरूले हिजो सोमबार पनि कमलादीस्थीत काठमाडौं महानगरको कार्यालय बाहिर नारावाजीसहित धर्ना दिएका थिए ।

कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्नेसमेत उनीहरूको माग छ ।

उखु किसानको आन्दोलनमा पूर्वप्रधानमन्त्री भट्टराईको ऐक्यबद्धता

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई माइतीघरमण्डला पुगेका छन् ।

मंगलबार भट्टराईले उखु किसानले आन्दोलन गर्दै आएको माइतीघरमा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।

सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उनीहरूले आइतबारदेखि निरन्तर प्रदर्शनलाई जारी राखेका छन् ।

बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् ।

सोमबार उनीहरूले उखु नै बोकेर आन्दोलनमा सहभागी भएका थिए । उनीहरूले अनुदानको रकम घटाउने निर्णय फिर्ता लिन उनीहरूले सरकारसँग माग गरेका छन् ।

ईश्वरीदेवी न्यौपानेले दिइन् सुनुवाइ समिति सभापतिबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदबाट राजीनामा दिएकी छन् ।

कांग्रेसले उनलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति बनाउने निर्णय गरेपछि उनले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा बुझाएकी हुन् ।

राज्यव्यवस्था समिति सभापति पदका लागि आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । कांग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त भएको उक्त पदका लागि बुधबार निर्वाचन हुँदै छ ।

उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे नारायणकाजी, तस्बिरहरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानको जारी आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका छन् । उनी मंगलबार दिउँसो आन्दोलनरत स्थान माइतीघरमा ऐक्यबद्धता जनाउन पुगेका हुन् ।

उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गरेका छन् ।

यस्तै  चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा अनुदानका लागि बजेट विनियोजन नगरेको विषय पनि उनीहरूले उठाएका छन् ।

माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बसेका उनीहरूले आर्थिक वर्ष २०८१–८२ मा बिक्री गरेको उखुको एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने, आगामी वर्षमा उखुको अनुदानलाई निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफल गरेर मात्र गर्नुपर्ने माग गरेका छन् । सो क्रममा श्रेष्ठले किसानको जायज माग सरकारले पूरा गर्नुपर्ने बताए ।

    

रास्वपा प्रवक्ता झाले भेटे पूर्वराष्ट्रपति भण्डारीलाई

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले भेटवार्ता गरेका छन् ।

भण्डारी निवास भंगालमा उनीहरूबिच आज बिहान १० बजेदेखि साढे ११ बजेसम्म भेटवार्ता भएको हो ।

भेटपछि प्रवक्ता झाले भने, ‘एउटा राजनीतिक शिष्टाचार भेटघाट थियो कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट हो ।’

भेटवार्ताका क्रममा वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा भण्डारीले चिन्ता र चासो व्यक्त गरेको बताए । त्यसक्रममा सहकारीको विषय समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएकोमा भण्डारीले सरोकार राखेको झाले जानकारी दिए ।

अटोरिक्सा दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी। धरान उपमहानगरपालिका–१४ विजयपुर चोकमा आज अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।

विजयपुर चोकबाट बुढासुब्बा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आइरहेको को ३७ प ७९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१४ का ३२ वर्षीय सन्दीप मगर गम्भीर घाइते भएका थिए ।

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

दुर्घटनामा अटोरिक्सा चालक धरान–१४ का ३१ वर्षीय अविनाश तामाङ घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ ।

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने कांग्रेसको निर्णय

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले उनको नाममा सहमति गरेको हो।

संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउन लागिएको हो ।

यसअघि सभापति रहेका रामहरि खतिवडाले राजीनामा दिएपछि उनको स्थानमा न्यौपानेलाई पठाउने निर्णय गरेको स्रोतले जानकारी दियो ।

समिति सभापतिका लागि आज मनोनयन र भोलि मतदानको समय तोकिएको छ ।

समिति सभापतिका लागि दिलेन्द्र बडु, हृदयराम थानी, सरिता प्रसाई, अम्बिका बस्नेतलगायत आकांक्षी थिए ।

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुुङ्गा

धुलिखेल । काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बजारको कोलाहल, धुँवाधुलो र प्रदूषणले नभेट्ने जन्तीढुङ्गामा आनन्द लिन आउनेहरूको घुइँचो लाग्ने गरेको छ ।

हरियाली वातावरणमा आनन्द लिन र टिकटक बनाउन यहाँ आउनेको सङ्ख्या बढेको हो । विराटनगर घर भई हाल काठमाडौँ बानेश्वरमा अध्ययनरत विकास यादवले टिकटकमा भिडियो देखेपछि घुम्न आएको बताए । “यहाँको दृश्यहरू हेर्दा निकै रमाइलो लागेको कारण कलेज बिदाका दिन पारेर घुम्न आएको हुँ”, उनले भने, “यहाँ आएपछि भिडियोमा देखेको भन्दा अझ रमाइलो र आकर्षक लाग्यो ।”

बनेपाबाट जन्तीढुङ्गा आइपुगेका गणेश तामाङले यहाँ आइपुग्दा रमाइलो लागेको प्रतिक्रिया दिए । “भिडियोमा त सबै हेर्न पाइँदैन, आफैँ आएर यहाँका हावापानीसँग खेल्दै डाँडासम्म चढेर सुन्दर दृश्य हेर्न पाउँदा झनै रमाइलो हुँदोरहेछ”, उनले भने ।

स्थानीयबासिन्दा शम्भु कुँवरका अनुसार भौगोलिक दृष्टिकोणले मात्र आकर्षक नभएर जन्तीढुङ्गा धार्मिक महत्व बोकेको स्थान पनि हो । मौलिक कथन अनुसार भगवान बेथानचोक नारायणले त्यहाँ रहेको पञ्चकन्या देवीसँग विवाह गर्न गरिएको बाचाअनुसार त्यो पूरा गर्न नसक्दा विवाहका लागि पुगेका बेहुलासहित सबै जन्तीहरू शिला (ढुङ्गा) भएर बसेका कारण त्यो ठाउँको नाम जन्तीढुङ्गा रहन गएको भनिन्छ ।

भित्तामा लस्करै रहेको ढुङ्गा हेर्न सिँढी निर्माण गरिएको छ । जन्तीढुङ्गाको माथि रहेको समथर स्थानमा बुद्धको प्रतिमा निर्माण र त्यहाँसम्म जाने सिँढी निर्माण गर्न वडा कार्यालयले योजना बनाइरहेको छ ।

मानिसको घुँइचो बढ्न थालेपछि अहिले यहाँका स्थानीयले पसल सञ्चालन गरी आम्दानी लिन थालेका छन् । पनौती नगरपालिका–४ खत्रीगाउँका देवीमाया खत्रीले मान्छेको आवागमन धेरै हुन थालेपछि पसल गरेर दैनिक एक हजार पाँच सयदेखि पाँच हजारसम्मको व्यापार गर्ने गरेको बताइन् ।

बनेपाबाट जनगाल, भैँसेपाटी बाँसडोल हुँदै बुढागणेश मन्दिर हुँदै करिब नौ किलोमिटर पार गरेपछि जन्तीढुङ्गा पुग्न सकिन्छ । पनौती बसपार्कदेखि चामखर हुँदै पनि यहाँ आइपुग्न सकिन्छ ।

मौलिक संस्कृतिको निरन्तरताका निम्ति पर्वहरू महत्वपूर्ण छन् : प्रदेश प्रमुख मियाँ

कैलाली। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरतका निम्ति तीजलगायत पर्वहरू महत्वपूर्णरहेको बताएका छन् ।

तीजका अवसरमा सन्देश जारी गर्दै उनले मुलुकका मौलिक संस्कृति र परम्पराको निरन्तरताका निम्ति चाडपर्व महत्व अधिक रहेको बताए ।

प्रदेश प्रमुख मियाँले भनेका छन्, “यस पर्वले महिलाको सम्मान वृद्धिसँगै पारिवारिक प्रेम, स्नेह र आत्मीयता अभिवृद्धि गर्दै आएको छ । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा परापूर्वकालदेखि मनाइँदै आएको पर्व तीज हो । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र सौभाग्यको शुभकामना छ ।”

नेवार समुदायले चथा पर्व मनाउँदै

भादगाउँ (भक्तपुर)।  नेवार समुदायले आज चथा पर्व मनाउँदै छ । भाद्र शुक्ल चतुर्थीको साँझ मनाइने चथा पर्व भक्तपुर नगरमा आजै मनाउन लागिएको हो । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भोलि भाद्र ११ गते भाद्र शुक्ल चतुर्थी भए पनि १० गते साँझ नै चतुर्थी पर्न आएका कारण चथा पर्व आजै मनाउन लागिएको हो ।

नेवाः संस्कृतिमा तिथि र मिति मिलाएर सांस्कृतिक पर्व मनाउनुपर्ने भएकाले चथा पर्व आजै मनाउन लागेको तलेजुका पुजारी नरेन्द्र जोशीले बताउनुभयो । गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले घर चोख्याएर साँझ परिवारका सबै सदस्यहरू बसेर गणेश र चन्द्रमालाई जीवनमा चोर दोष कहिल्यै नलागोस् भन्ने कामनासहित पूजा गर्दछन् ।

भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीको साँझ कौशी वा झ्यालमा चथा गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा छ । यस दिन गणेश र चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास छ । चतुर्थीको दिन पूजा गर्दा चथा गणेशको तस्बिरलाई पला लप्ते (कमलको पात) वा जेला लप्ते (हल्दीको पातजस्तो) मा राखेर दुबो, मुला र लडडु, नैवेद्य, खाइसी, अदुवाको बोट, काँक्रो, भुटेको आरुको बीउ, नासपाती, केरा, स्याउ, अनार, अम्बा, हाडेओखर, मसला, मकै, भटमास, गहुँ, केराउ, चना, बकुल्ला, बदामलगायत आठ प्रकारका भुटेको गेडागुडी चढाइन्छ ।

यसरी विधिवत रूपमा पूजा सकेपछि परिवारका सबै सदस्यले प्रसादका रूपमा गणेश र चन्द्रमालाई चढाएको फलफूल तथा गेडागुडी खाने चलन छ । आजको दिन चथा गणेशलाई विभिन्न पकवानसँगै विषेशगरी दुबो, लड्डु र मुला चढाउँदा गणेश खुसी भई जीवनमा चिताएको मनोकामना पूरा हुने जनविश्वास छ । चतुर्थीको अवसरमा नेवार समुदायमा चन्द्रमाको पूजा गर्ने दुई परम्परा छज्ञ । एकथरि समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथै घरको सबै झ्याल ढोकामा समेत पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाश समेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पूजा गर्ने गर्दछन ।

अर्को समुदाय घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतीक्षामा बस्ने र चन्द्रमा देखापरेपछि मात्र चथा गणेशको पूजा गरी प्रसाद खाएर घर भित्र पस्ने चलन छ । यस दिन राती चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थाई र गौण हुने तथा उसको राम्रो पक्ष काम हो भन्ने सन्देशसमेत दिने गरेको संस्कृतिविद् तथा इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीको टाउको मुख भएको भन्दै अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस भनेर श्राप दिएछन ।

गणेशको सोही श्रापको प्रभावले त्यसदिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो । त्यसपछि देवीदेवताहरू समेतले चन्द्रमाको मुख हेर्न छाडिदियो । यसले चन्द्रमाको बेइज्जत भयो । चन्द्रमा बाहिर आउन, हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुग्नुभयो । त्यसपछि चन्द्रमा महादेवको शरणमा गएर भक्तिभाव गरी महादेवको सहयोगले चन्द्रमाले गणेशलाई दुबो, लड्डु र मुला चढाई क्षमायाचना गर्न लगाए ।

चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखि भाद्र शुक्ल चौथीको दिनबाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिनुभयो । साथै गणेशले चतुर्थीको राति विधिपूर्वक चन्द्रमाको पूजा गरे सो दिनमा चन्द्रमा दर्शन गरे पनि चोर दोष नलाग्ने वरदानसमेत दिएकाले गणेश चतुर्थीको दिन राति चन्द्रमाको पूजा गर्ने परम्परा बसेको लोककथन पाइन्छ । गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले दसैँ भित्र्याउने चाडको रूपमा समेत लिने गरेका छन् ।

दसैँको प्रारम्भ पर्वका रूपमा लिने भएकाले नेवार समुदायले आजको दिन विशेषगरी घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाः पर्व राम्रोसँग मनाए दसैँ पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास छ । बेलुका घरपरिवारका सबै सदस्य लाइन बसेर भोज खाने चलन छ । आजकै दिन भक्तपुरका किसानले आआफ्ना अदुवाखेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलन छ । आजकै दिन इन्द्रजात्राको लागि भक्तपुरबाट काठमाडौंको बसन्तपुरसम्म लिंगो लैजाने परम्परा छ । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा ठड्याउने लिङ्गो भक्तपुरको चित्तापोलस्थित लिङ्गेवनबाट ल्याइन्छ । लिङ्गेवनमा विधिपूर्वक पूजा गरेपछि बलि दिने बोकालाई छाड्ने र सो बोकाले जुन रुखलाई छुन्छ सोही रुख काटेर ल्याउनुपर्ने परम्परा छ ।

तीज मनाउनुका साथै कर्तव्य पनि निभाउँदै महिलाहरु, हेर्नूहोस् तस्बिरमा

काठमाडौँ । नेपाली महिलाहरु आज तीज पर्व मनाउँदैछन् । तीजमा खासगरी शिव मन्दिरमा भक्तजनहरुको भीड लाग्छ । त्यसमा पनि पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महिलाहरुको घुइँचो लाग्छ ।

बिहान रातिदेखि नै महिलाहरु शिवजीको दर्शनका लागि लाइनमा लागेका छन् । उनीहरुको सेवासुविधाका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवकहरु पनि खटिएका छन् ।

कतिपय महिला चाडसँगै आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेका छन् । सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अनि सफाइकर्मी महिलाहरु काम गरिरहेका देखिन्छन्।

तस्बिरहरु:-

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दर खाने दिनको शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आज उनले शुभकामना व्यक्त गरेका हुन् । ‘आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस्’, प्रधानमन्त्री ओली लेखेका छन्, ‘तीजको दर खाने दिन । पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित यस पर्वले विवाहित छोरी र माइतीबीचको पारिवारिक मिलापलाई प्रगाढ बनाउँछ ।’

प्रधानमन्त्री ओलीले हिजोको समाजमा आजको जस्तो भौतिक सुविधा  नभएको उल्लेख गर्दै हिजो एउटा गाउँबाट अर्को गाउँमा पैदल हिँडेर पुग्नुपर्ने बाध्यता रहेको स्मरण गरे । ‘खोलानाला तर्ने पुल थिएनन्, खबर आदानप्रदान गर्ने माध्यमहरू थिएनन् । तीजमा विवाहित दिदीबहिनीहरूलाई लिन जाने चलन थियो । पुरानो पारिवारिक र सामाजिक जीवनका कठिनाइहरू तीजका पुराना गीतमा पाइन्छन् । दर माइती घरमा नै खाने चलन थियो’, उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज संयुक्त परिवार संस्कृतिमा ठूलो परिवर्तन आएको बताएका छन् । ‘सामाजिक व्यवस्थामा आएको परिवर्तनले महिलामा आत्मनिर्भरता र सशक्तीकरण बढिरहेको छ । त्यसैले दर खाने प्रचलनमा फेरबदल आएको छ । विवाहित छोरीसहित वर्षमा एक दिन भए पनि तीन पुस्तासम्म एउटै छानोमुनि बसेर दर खाँदै आत्मियता साट्ने अवसर हो’, उनले भनेका छन् ।

तीजको अघिल्लो दिन आज माइतीले चेलीबेटीलाई घरमा बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा लिइन्छ ।

भारत र नेपालका सुरक्षा अधिकारीबीच सीमा समन्वयात्मक बैठक सम्पन्न

दार्चुला। नेपाल र भारतका सुरक्षा अधिकारीबीच खलङ्गामा सोमबार सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा भारतीय सशस्त्र सीमा बल र सशस्त्र प्रहरी बल नेपालका डीआईजीस्तरीय सीमा समन्वयात्मक (काउन्टर पार्ट कोर्डिनेशन मिटिङ) सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति देवराज जोशीले जानकारी दिए।

बैठकमा दुवै पक्षले आ–आफ्नो जिम्मेवारी, क्षेत्रभित्रको विद्यमान सुरक्षा परिस्थिति र सम्भावित खतराबारे समीक्षा गरीएको उनले बताए।

सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अवैध गतिविधि, चोरी तस्करी, लागूऔषध ओसारपसार, मानव बेचविखन र अन्य आपराधिक गतिविधिहरु दुवै देशका सुरक्षाकर्मी मिलेर नियन्त्रण गर्ने सहमति भएको उनले बताए।

बैठकमा सीमा क्षेत्रका सम्भावित आपराधिक गतिविधिहरुको बारेमा विभिन्न तहमा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त वा हराएका सीमा स्तम्भको अभिलेख अद्यावधिक गरी मर्मत सम्भार, संरक्षण र पुनःस्थापना अघि बढाउन सम्बन्धित कार्यालयमा प्रतिवेदन गर्ने, सीमा क्षेत्रका नागरिकको आवागमनलाई सहज र सौहार्द बनाउन प्रयत्न गर्ने सहमति भएको जनाइएको छ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति प्रदीपकुमार पाल, कैलाली, कञ्चनपुर, दार्चुलाका गणपति, बैतडी, डडेल्धुरा र दार्चुलाको छाङ्रुका गुल्मपति र भारत अल्मोडाका डीआईजी सुधाम्सु नौटियाल र पिलिभितका डीआईजी अनिलकुमार शर्मालगायत १० जनाको उपस्थिति रहेको थियो।

झोलुङ्गे पुल बनेपछि मोहनपुरवासीलाई राहत

कैलाली । कैलालीको कैलारी गाउँपालिका–३ मोहनपुर र वडा नं ४ भितरीया सिमानामा रहेको मोहना नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत भएको छ।

मोहना नदी पारी मोहनपुर र वारी भितरीया गाउँ छ। मोहनपुरमा हाल ९५ परिवारका पाँच सय २५ जना मानिसको बसोबास छ। विसं २०३६ मा बसोबास रहेका यहाँका स्थानीयलाई कुनै पनि काम गर्नको लागि नदी ओहोरदोहोर गर्नुपर्ने बाध्यता थियो।

झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीयलाई ओहोरदोहोर गर्नमा निकै राहत भएको मोहनपुर गाउँका भलमन्सा शीतलप्रसाद डङ्गौराले जानकारी दिए। ‘यहाँका जनतालाई औषधि उपचार, विद्यालय र अन्न कुटानीपिसानी जान पनि निकै समस्या थियो। जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘यही जेठमा पुल निर्माण भएपछि हामीलाई निकै सहज भएको छ।’

पुल नहुँदा यहाँका जनताले ३५ वर्षसम्म हिउँदमा नदीमाथि रुखका चाक्ला र अन्य समय काठको डुङ्गाबाट आवतजावत गर्थे। यो बीचमा नेपाल रेडक्रस सोसाइटी र मर्सिकोर नामक संस्थाले काठको डुङ्गासँगै लाइफ ज्याकेट दिएपछि १२ वर्षसम्म डुङ्गाको सहारामा नदी तर्दै आइएको भलमन्सा डङ्गौराले स्मरण गरे।

पुल निर्माणपछि त्यो समस्या समाधान भएको छ। पुल निर्माणपछि आवतजावतमा सहज भएको सोही गाउँका अगुवा लिखराज डङ्गौरा थारुले बताए।

पुल नहुँदा सबैभन्दा बढी विद्यालय जाने बालबालिकालाई समस्या हुने गरेकामा अचेल भने सहज भएको स्थानीय चुनीराम डङ्गौरा थारुले बताए। ‘स्थानीयलाई साँझ, बिहान बजारबाट समान लिन जाँदा नदी वारपार गर्न काठको डुङ्गा प्रयोग गर्नुपर्दथ्यो । हाल पुल सञ्चालनपश्चात् आनन्दले आवतजावत गर्न सकिएको छ’, उनले भने।

सङ्घीय सरकारको सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत सस्पेन्सन वृज डिभिजनको रु तीन करोड ४३ लाखको लागतमा यहाँ झोलुङ्गे पुल निर्माण गरिएको हो। उक्त पुल निर्माणका लागि एमपी ठेगिम सनलाइट जेभी नेपालगञ्ज बाँकेसँग विसं २०७८ असोज १३ गते सम्झौता भएकामा गत वर्ष माघ १० गते पुल निर्माण सम्पन्न भएको थियो।

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

भद्रपुर (झापा) । यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ तथा डरत्रास देखाएर करणी प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार दुवैलाई भदौ ५ गते बेलुकी करिब ६ बजे पाथीभरा सामुदायिक वनमा किशोरीलाई जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोपमा पक्रा गरिएको हो।

घटनाबारे भदौ ८ गते प्रहरीमा जानकारी प्राप्त भएपछि नियन्त्रणमा लिएर आज जिल्ला अदालत झापाबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको प्रनाउ खड्काले बताए।

कैलाली कारागारका एक थुनुवाको मृत्यु

अत्तरिया। कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकोमा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए। उनले मृत्युको कारण भने खुल्न नसकेको बताए।

मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ ।

 

गौरा–बलानपट्टि सडक निर्माण गरिँदै

बोदेबरसाईन।  यहाँको बोदेबरसाईन नगरपालिका–३ गौरा, सारस्वर, मधुवन हुँदै बलान बिहुल गाउँपालिकाको बलानपट्टि जोड्ने सडक निर्माण हुने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच मधेस प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहले उक्त सडकको शिलान्यास गरे ।

सिंहले जनताको सहयोगका कारण आफू निर्वाचित भएकाले जनताको हित र अधिकार तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए। उनले बजेट विनियोजनका लागि पटकपटक पहल गरिएको भन्दै सडक निर्माणपछि यहाँका हजारौँ स्थानीय लाभान्वित हुने धारणा राखे।

कार्यक्रममा बोदेबरसाईन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साह, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, बोदेबरसाईन–१ का वडाध्यक्ष रवीन्द्रकुमार साह, वडा नम्बर ३ का वडाध्यक्ष शिवनारायण यादव, पूर्वाधार विकास कार्यालय राजविराजका लेखापाल वीरेन्द्रकुमार साह, इञ्जिनियर दिनेश ठाकुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलगायत दर्जनौँ स्थानीयवासी तथा नेताकार्यकर्ताको उपस्थित थियो ।

पूर्वाधार विकास कार्यालय राजविराजको आर्थिक सहयोगमा करिब रु १४ करोड ८६ लाख २० हजार ८४५ लागतमा निर्माण हुने उक्त सडकको ठेक्का यम-यस सारस सगरमाथा जेभी त्रियुगा–११ उदयपुरले पाएको छ ।

गत असार २५ गतेदेखि सुरु भई विसं २०८४ असार १९ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीयले सडक निर्माण समयमै सम्पन्न भएमा आवागमन सहज हुने अपेक्षा गरेका छन् ।

अकबरेबाटै लाखौँ आम्दानी

पाल्पा । रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेल यस वर्ष अकबरे खुर्सानीबाट पाँच लाख बढी आम्दानी गर्ने योजनामा छिन्। वन्यजन्तुले हैरान पारेपछि वैकल्पिक खेतीका रुपमा अकबरेको खेती थालेकी उनले भदौको पहिलो सातासम्म ६६ हजारको ३०० केजी खुर्सानी बिक्री गरिसकेकी छन्। अझै चार लाख ५० हजारको अकबरे फलेको उनको अनुमान छ।

उनले पाँच रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी लगाएकी छन्। उनलाई श्रीमान् सन्दीप पौडेलले समेत साथ दिँदै आएकी छन्। पौडेलले भनिन्, ‘मेरो श्रीमान् तीन वर्ष मलेसिया र डेढ वर्ष दुबईमा बसेर गाउँमै केही गर्नुपर्छ भनेर आउनुभयो, अहिले दुवै जना मिलेर खुर्सानी खेती गर्दै आएका छौँ।’

उनले आफूहरूलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) मार्फत कृषि सामग्रीसँगै प्रविधि सहयोग भएको र बजारीकरणका लागि सहकारीबाट ठूलो सहयोग मिलेको बताइन्।

देउरालीकै बाबुराम अधिकारीले पनि तीन वर्षदेखि कृषि व्यवसायी गर्दै आएका छन्। उनले यस वर्ष भदौको पहिलो सातासम्ममा ८८ हजारको चार क्विन्टल खुर्सानी बिक्री गरिसकेका छन्। लामो समय भारत बसेर फर्किनुभएका अधिकारीले गत वर्ष कृषि उपजबाटै पाँच लाख आम्दानी गर्न सफल भएका थिए। यस वर्ष खुर्सानी बिक्रीबाट रु पाँच लाख बढी आम्दानी गर्ने योजना रहेको उनको भनाइ छ।

मिहेनत गरे गाउँमै वार्षिक पाँच/सात लाख रुपैयाँ कमाउन सकिने अधिकारीले बताए। उनले भने, ‘पैसा कमाउनकै लागि विदेश नै जानु पर्दैन। मैले पनि भारतमा लामो समय बिताएँ, त्यहाँ वर्षमा दुई लाख जति कमाई भए पनि खासै बचत हुँदैनथ्यो। तर अहिले घरमै बसेर वार्षिक चार/पाँच लाख सजिलै कमाइरहेको छु।’

उनले अघिल्लो दुई वर्षभन्दा डेढ गुणाले भाउ आएको बताए। ‘भाउ पाइएको मात्र छैन, बिक्री गर्नसमेत सहज भएको छ,’उनले भने, ‘भाउ पहिल्यै निर्धारण भएकाले पनि बिक्री गर्न सजिलो भएको छ।’

देउरालीकै सुनिल विकले पनि विगत तीन वर्षदेखि खुर्सानी खेती गर्दै आएका छन्। उनले गत वर्ष पाँच लाखको खुर्सानी बिक्री गरेको बताए। विकले यस वर्ष चार लाखको खुर्सानी बिक्री गर्ने लक्ष्य लिएका छन्। उनले अहिलेसम्म दुई लाखको खुर्सानी बिक्री गरिसकेको बताए। पौडेल, अधिकारी र विक मात्र होइन, यस वडाका ९७ कृषकले अकबरे खुर्सानीबाट राम्रो आम्दानी गरिरहेका छन्।

यस वडाबाट दुई महिनामा नौ लाख ८० हजार बढीको अकबरे खुर्सानी निकासी भएको छ। साउन र भदौ महिनाको पहिलो हप्तासम्ममा चार हजार ४५७ केजी अर्थात् (४४ क्विन्टल ५७ केजी) खुर्सानी निकासी भएको हो। यहाँका किसानले उत्पादन गरेको खुर्सानी देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन गरी उक्त परिमाणमा खुर्सानी बाहिर पठाएको छ।

साउन महिनामा यहाँका किसानले तीन हजार ३९० केजी र भदौ महिनाको पहिलो साता एक हजार ६७ केजी अकबरे उत्पादन गरेका छन्। उक्त उत्पादित खुर्सानी बाहिर निकासी गरिसकिएको सहकारीका व्यवस्थापक खिमबहादुर घर्तीले बताए। उनका अनुसार यो वर्ष ५०० क्विन्टल खुर्सानी निकासी गर्ने लक्ष्य राखिएको छ।

यसअघि हार्थोक सङ्कलन केन्द्रबाट अकबरे निकासी हुँदै आए पनि गत वर्षदेखि किसानले यही सहकारीमार्फत बिक्री गर्दै आएका छन्। यहाँ गत वर्ष तीन हजार ४०० किलो खुर्सानी निकासी गरिएको सहकारीका व्यवस्थापक घर्तीले बताए।

जोनले खुर्सानी खेतीका लागि अनुदान, बीउ वितरण, प्लास्टिक टनेल, सिँचाइका लागि पाइप वितरण, पोखरी निर्माण र प्राविधिक सहयोग गर्दै आएको र सहकारीले उत्पादनको बजारीकरण गरिदिएपछि यहाँका किसानहरु अकबरे खुर्सानीतर्फ आकर्षित भएका हुन्। खुर्सानीबाट यहाँका किसानले एक लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्।

जोनले चाक्लबन्दी खुर्सानी खेतीका लागि यहाँका किसानलाई अनुदानमा कृषि सामग्रीहरु उपलब्ध गराउँदै आएको छ। किसानलाई खुर्सानीमा आत्मनिर्भर बनाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले नौ लाख ९९ हजार ७७७ रुपैयाँ अनुदान उपलब्ध गराइएको कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत गणेशप्रसाद यादवले बताए। उनले भने, ‘किसानलाई प्रोत्साहन गरेर सुरुआत गरेको अकबरे अहिले व्यावसायिक बनेको छ। यहाँका कृषकहरुले उत्साहजनक रुपमा खुर्सानी उत्पादन गर्दै आएका छन्।’

विगत तीन वर्षदेखि यहाँको पालिकाभरि नै जोनमार्फत किसानलाई सहयोग गरिँदै आएको प्रमुख यादवले बताए। कार्यालयले यहाँका व्यावसायिक कृषकहरुलाई घरमै गई प्राविधिक सहयोगसमेत गर्दै आएको छ। सुरुआतका दिनमा प्राविधिक ज्ञानको अभावका कारण यहाँका कृषकले कम उत्पादन गरे पनि अहिले बेला–बेलामा प्राविधिक सरसल्लाह दिने गरेका कारण उत्पादनमा समेत वृद्धि हुँदै गएको जोनका कृषि अधिकृत सरोज पोखरेलले बताए। गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि हुने उनको भनाइ छ।

अधिकृत पोखरेलले भने, ‘पहिले–पहिले कषकहरुले खुला जग्गामै खुर्सानीखेती गर्ने प्रावधान थियो, जसले गर्दा झार र किराले ग्रस्त भएर सोचेजस्तो उत्पादन हुन सकेको थिएन, त्यस्तो समस्यालाई सम्बोधन गर्ने गरी हामीले यसपालि सबै कृषकलाई मल्चिङसहित खुर्सानी लगाउन प्रेरित गर्‍यौँ, जसले गर्दा झार र रोगबाट केही हदसम्म खेती जोगाउन सक्दा कृषकले उत्पादन बढाउन सक्नुभएको छ।’

पहिले खुर्सानी लगाउँदा कति दूरीमा लगाउने, के कस्ता विषादी, सूक्ष्म खाद्य तत्वहरु राख्ने भन्ने कुराको कृषकलाई ज्ञान नहुँदा पनि उत्पादन वृद्धि हुन नसकेको अवस्थामा जोनमार्फत खेतबारीमै पुगेर प्राविधिक ज्ञान दिएका कारण पनि यस वर्ष अझ उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको उनले बताए।

कृषकहरुले उत्पादन गरेको खुर्सानीको बजारीकरणमा समेत कुनै पनि समस्या नरहेको जोनका सूचना अधिकारी भीमसेन नेपालले बताए। उनले भने, ‘यहाँका कृषकहरुलाई बजारीकरणको कुनै समस्या छैन, यहाँको सहकारीमार्फत कृषि उपज बजारसम्म पुग्छ।’बजारीकरण नहुँदा पहिले अत्यन्तै समस्या भोगेका कषकहरुले अहिले सहकारीमार्फत बजारीकरण हुन थालेपछि उत्साहका साथ व्यावसायिक खेतीमा लागेको सङ्कलन केन्द्र तथा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए।

जोनले अनुदान दिएसँगै खेतीको बेलाबेलामा अनुगमन गरेका कारण कृषकहरु खुर्सानीतर्फ आकर्षित भएको उनले उल्लेख गरे। कृषकले उत्पादन गरेको खुर्सानी यशोदा फुड कम्पनीसँग सम्झौता गरी पठाउने गरेको सहकारीका सचिव भीमलाल अधिकारीले बताए। उनले भने, ‘कृषकले सहकारीसम्म कृषि उपज बोकेर ल्याउनुहुन्छ। बजारका लागि हामी तत्कालै कम्पनीमा पठाइदिहाल्छौँ। बजारको त्यस्तो कुनै समस्या छैन।’

देउरालीमा मात्र २०० रोपनीमा खुर्सानीखेती हुँदै आएको छ। कृषकले अहिले प्रतिकेजी २२० मा सहकारीमा खुर्सानी बिक्री गर्दै आएका छन्। वडा कार्यालयले समेत कृषिलाई जोड दिँदै आएको वडाअध्यक्ष ओमप्रकाश पोखरेलले बताए। उनले भने, ‘हामीले यस वर्ष वडामा कृषि कार्यक्रमका लागि रु नौ लाख बजेट विनियोजन गरेका छौँ, कृषकहरुको मागका आधारमा कार्यक्रम गर्नेछौँ।’

जोन र वडा कार्यालयबीच सल्लाह गरेर कसले कुन क्षेत्रमा के काम गर्ने भनी कार्यक्रम बनाइने अध्यक्ष पोखरेलको भनाइ छ। उनले भने, ‘अहिले जोनले खुर्सानीमा काम गर्दै आएको छ, हामीले त्योभन्दा फरक क्षेत्रमा काम गर्नेछौँ।’

देउरालीमा मात्रै होइन, रिब्दीकोट गाउँपालिकाका आठवटै वडाका एक हजार ५०० किसानले अकबरे खुर्सानीबाट राम्रो आम्दानी गरिरहेका छन्। विगतमा अदुवाले चर्चा पाउने रिब्दीकोटका किसानले अहिले खुर्सानीबाट मनग्य आम्दानी गरिरहेका छन्।

रिब्दीकोट गाउँपालिकामा अकबरेबाट छदेखि १० करोडसम्म नगद भित्रिने गरेको बताइएको छ। खुर्सानी विस्तारका लागि गाउँपालिकाले समेत कृषकलाई सहयोग गर्दै आएको छ। यहाँका कृषकलाई थप उचित बीउको प्रबन्ध, सिँचाइको सुविधा, प्राविधिक ज्ञान दिने हो भने अकबरे खेती थप विस्तार हुने देखिन्छ।

सरकारलाई प्रवासी नेपालीका समस्या समाधान गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले प्रवासमा रहेका नेपालीको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाली जनसम्पर्क समिति भारतले तीज पर्वका अवसरमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष पाण्डेले प्रवासी नेपालीका समस्या समाधान गर्न नेपाल सरकार र भारत सरकारबीच गहिरो समन्वय आवश्यक रहेको बताए ।

कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका उनले नेपालीहरूले भोगिरहेका रोजगार, शिक्षा, स्वास्थ्य, कागजात तथा सामाजिक पहिचानसम्बन्धी समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

‘यी समस्या व्यक्तिगत मात्र होइनन्, यो दुई देशबीचको सम्बन्धसँग प्रत्यक्ष जोडिएको विषय हो, नेपाल सरकार र भारत सरकारले मिलेर मात्र यसको दीर्घकालीन समाधान सम्भव हुन्छ,’ उनले भने ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल, जनसम्पर्क समितिका राजनीतिक सल्लाहकार रवीन्द्रराज भण्डारी, आर्थिक सल्लाहकार रवीन्द्रजंग थापा, एभरेष्ट चेम्बर अफ कमर्सका महासचिव मोहन कार्कीलगायतको सहभागीता रहेको थियो ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।

सचिवलयले आज सूचना जारी गर्दै यही भदौ १० गते मङ्गलबार अपराह्न १ देखि ४ बजेसम्म समितिको कुनै सदस्यलाई समितिको सभापतिमा निर्वाचित गरियोस् भनी अर्को एक सदस्यको समर्थनसहित सचिवको कार्यकक्षमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ ।

सोही दिन अपराह्न ४ः१५ बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिनेछ ।

भदौ ११ गते बुधबार अपराह्न ३ बजे समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको प्रतिनिधिसभा सचिव हर्कराज राईले जानकारी दिए ।

सङ्घीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा समिति निर्णयभन्दा फरक राखिएको पाइएपछि समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए । खतिवडाको राजीनामापछि समितिको नयाँ सभापति चयन प्रक्रिया अघि बढेको हो ।

अनमोल र आँचलकै ‘जेरी अन टप’ को टिजर रिलिज

काठमाडौँ ।अनमोल केसी, आँचल शर्मा लगायत कलाकारको अभिनय  रहेको चलचित्र ‘जेरी अन टप’ को सोमबार टिजर रिलिज भएको छ ।

कार्यक्रममा चलचित्रका कलाकारहरु अनमोल, आँचल , केदार घिमिरे, जसिता गुरुङ, उषा खड्गी, निर्मल शर्मा, भुवन केसी लगायत सहभागी थिए ।

कार्यक्रम निर्धारित समय भन्दा २ घन्टा ढिलो भएपछि उनीहरुले माफी मागेका थिए । चलचित्र आउने असोज ३१ गते रिलिज हुँदैछ ।

नेप्से परिसूचक २१ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ३० अङ्कले बढेर दुई हजार ७६१ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ७७ प्रतिशतले बढेको हो ।

आज ३१७ कम्पनीको एक करोड आठ लाख ७७ हजार ९४२ कित्ता शेयर ५७ हजार १५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ दशमलव ७८ को कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव शून्य पाँच र म्युचुअफ फण्ड समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ शून्य दशमलव ५८, विकास बैंक शून्य दशमलव ९५, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव ४५, जलविद्युत् शून्य दशमलव ३२, लगानी शून्य दशमलव ३४, र जीवन बिमा समूह शून्य दशमलव ५६ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त एक दशमलव ५०, निर्जीवन बिमा शून्य दशमलव ३१, व्यापार शून्य दशमलव शून्य पाँच र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी आरबिबी म्युचुअल फण्ड–१ को शेयर मूल्य तीन दशमलव ८७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ७६ करोड ९६ लाख ७७ हजार ९५१ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सबैभन्दा बढी पाँच लाख ३७ हजार ५५० कित्ता शेयर किनबेच भएको छ ।

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा गर्ने प्रदेश सरकारको निर्णय

दाङ । लुम्बिनी मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजधानी क्षेत्रभित्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकामा रोक्का राखिएका निजी जग्गा स्थानीयको माग र पूर्वाधार विकास प्राधिकरणको सिफारिसअनुसार सर्तसहित फुकुवाका लागि संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार राप्ती गाउँपालिकाका सम्पूर्ण वडा, गढवा गाउँपालिका वडा नं. १, २ र ३ मा १ कठ्ठाभन्दा सानो र शितगंगा नगरपालिका वडा नं. ८ र ९ मा १ रोपनीभन्दा सानो क्षेत्रफलमा कित्ताकाट गर्न पाइने छैन ।

साथै जग्गा खरिदकर्ताले एकीकरण आयोजनाका सर्तहरू पालना गर्ने गरी सहमति पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रदेश राजधानी घोषणा अघि २०७७ साल असोज १६ गते सरकारले जग्गा रोक्का राख्ने निर्णय गरेको थियो ।

बैठकले तीन जना प्रदेश सचिवहरूको जिम्मेवारी तोकेको छ । मोतिराम सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विनोद लामिछानेलाई युवा तथा खेलकुद मन्त्रालय र चुर्णबहादुर ओलीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

बैठकले प्रदेश निजामती सेवा पुरस्कार छनोटका लागि मापदण्ड स्वीकृत गरेको छ । त्यस्तै संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन र आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकका लागि अस्थायी संगठन संरचना स्वीकृत गरिएको छ ।

बैठकले सञ्चार माध्यम सम्बन्धी ऐन संशोधन र एकीकरण गर्न अवधारणापत्र स्वीकृत गरेको छ । त्यस्तै नुवाकोट सांस्कृतिक डबली तिनाउ गाउँपालिकालाई हस्तान्तरण गर्ने, अस्ट्रेलियाको वेन्डिगोस्थित ग्रेट स्तूप अफ युनिभर्सल कम्प्यासनसँग औपचारिक सम्बन्ध स्थापना गर्दै बुद्धको प्रतिमा स्थापना गर्ने निर्णय पनि भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत भूमि व्यवस्थापनसम्बन्धी विधेयकको अवधारणापत्रलाई सैद्धान्तिक स्वीकृति दिइएको छ भने सामाजिक विकास मन्त्रालयमार्फत दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरिएको छ । स्वास्थ्य मन्त्रालयको तर्फबाट प्रस्तुत गरिएको प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति नियमावली, २०८२ संशोधन मस्यौदालाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

१९ दिनसम्म चलेको ८ औं बिआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न (तस्बिरहरु)

काठमाडौँ । १९ दिनसम्म चलेको ८ औं बिआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा छात्र समूहमा मातृभूमि स्कुलले उपाधि हात पारेको छ भने छात्रा समूहमा चाँदबाग स्कुल विजेता बनेको हो ।

शुक्रबार सम्पन्न फाइनल खेलमा छात्र समूहतर्फ आयोजक बौद्ध इन्टरनेशनल स्कुललाई हराउँदै मातृभूमि स्कुलले उपाधि जित्यो । त्यस्तै छात्रा समूहतर्फ काष्ठमण्डप विद्यालयलाई पराजित गर्दै चाँदबाग स्कुलले उपाधि हात पारेको हो ।

प्रतियोगितामा २५ वटा विद्यालयका ३७ टोलीले सहभागिता जनाएका थिए । यस वर्ष २१ छात्र टोली र १६ छात्रा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

व्यक्तिगत विधातर्फ छात्रा समूहमा काष्ठमण्डपकी वनिता अधिकारी सर्वाधिक स्कोरर घोषित भइन् भने चाँदबागकी सौग्या बराकोटी ‘एमभीपी’ बन्न सफल भइन् । छात्र समूहमा बौद्ध इन्टरनेशनलका आयुष लामा सर्वाधिक स्कोरर बने भने मातृभूमिका आरोह राउत ‘एमभीपी’ बने ।

यसैगरी ‘फेयर प्ले’ अवार्ड मेरिडियन इन्टरनेशनल स्कुलले हात पारेको छ ।

दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरिँदै

काठमाडौँ । नेपालले दोस्रोपटक सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को गृहकार्य सुरु गरेको छ ।

क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिए ।

बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत्लगायतमा हासिल भएका उपलब्धिहरूलाई प्राथमिकता दिनेबारे छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, सदस्य डा प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत थिए ।

बैठकमा अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले ‘क्रेडिट रेटिङ’सम्बन्धी अहिलेसम्म गरिएका तयारी प्रस्तुत गरेका थिए ।

अन्तरराष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ । सोभरेन क्रेडिट रेटिङका लागि अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम छ । गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले ‘बिबी माइनस’ पाएको थियो ।

जापानमा चुनावी हारपछि प्रधानमन्त्री इशिबाको पुनरागमन

जापानका प्रधानमन्त्री शिगेरु इशिबाको लोकप्रियता फेरि बढेको छ । एक महिनाअघि भएको चुनावी पराजयले उनको पद सङ्कटमा परे पनि सोमबार सार्वजनिक भएका विभिन्न सर्वेक्षणहरूले उनको समर्थन दर बढ्दै गएको देखाएका छन् ।
गत वर्ष लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व लिएका इशिबाले जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा संसद्को दुवै सदनमा बहुमत गुमाएका थिए ।  तर स्व–घोषित रक्षा नीति विशेषज्ञ एवं मोडेल जहाज निर्माणप्रति रुचि राख्ने इशिबाले पार्टीभित्रैबाट आएको राजीनामा मागलाई बेवास्ता गरेका छन्। एलडिपीले सन् १९५० को दशकदेखि लगभग निरन्तर रूपमा जापान शासन गर्दै आएको छ ।
योमिउरी सिम्बुनले सोमबार प्रकाशित गरेको सर्वेक्षणअनुसार इशिबाको मन्त्रिमण्डलको स्वीकृति दर ३९ प्रतिशत पुगेको छ । यो जुलाई २० को निर्वाचनपछि १७ अङ्कले वृद्धि भएको हो । सोही सर्वेक्षणमा उत्तरदातामध्ये ५० प्रतिशतले इशिबाले पदमा रहनुपर्ने बताएका छन् भने ४२ प्रतिशतले राजीनामा दिनुपर्ने मत दिएका छन् । जुलाईमा भने उल्टो परिणाम आएको थियो—५४ प्रतिशतले राजीनामा दिनुपर्ने र ३५ प्रतिशतले बसिरहनुपर्ने बताएका थिए ।
क्योदो न्युजको अर्को सर्वेक्षणले पनि समर्थन दर ३५ दशमलव चार प्रतिशत देखाएको छ । यो गत महिनाको तुलनामा १२ दशमलव पाँच अङ्क बढी हो । अस्वीकृति दर भने अझै उच्च रहँदै ४९ दशमलव आठ प्रतिशत रहेको छ । मैनिची सिम्बुनको तेस्रो सर्वेक्षणमा पनि समर्थन दर चार अङ्क बढेर ३३ प्रतिशत पुगेको छ । यो फेब्रुअरीयता पहिलो पटक ३० प्रतिशत नाघेको हो ।
– विशाल सम्झौता –
योमिउरीले समर्थन बढ्नुमा अमेरिकासँग हालै भएको व्यापार सम्झौता र चामलको मूल्य नियन्त्रण गर्न सरकारको प्रयासलाई कारण मानेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ‘विशाल’ व्यापार सम्झौताको घोषणा गरका थिए । सम्झौताअनुसार अमेरिकाले कर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याएको छ भने कारमा लगाइएको कर पनि समान दरमा झारिएको छ ।
मतदातामध्ये अमेरिकी व्यापार वार्तामा इशिबाको भूमिकालाई समर्थन गर्नेहरू २९ प्रतिशतबाट बढेर ४२ प्रतिशत पुगेका छन् । साथै, ८६ प्रतिशत उत्तरदाताले धान उत्पादन बढाउने सरकारको निर्णयलाई अनुमोदन गरेका छन् ।
गत वर्षको ‘मेगाक्वेक’ चेतावनीपछिको आत्तिएको खरिद र सन् २०२३ को गर्मीका कारण आपूर्ति समस्याले चामलको मूल्य आकासिएको थियो । यसलाई नियन्त्रण गर्न इशिबाले लोकप्रिय नेता तथा सम्भावित चुनौतीकर्ता ४४ वर्षीय शिन्जिरो कोइजुमीलाई नयाँ कृषिमन्त्री नियुक्त गरका छन् । साथै, सरकारले आपत्कालीन भण्डार बजारमा ल्याएर मूल्य घटाउने प्रयास पनि गरेको छ ।
मिडिया रिपोर्टअनुसार एलडिपीले चुनावको समीक्षा गर्ने र त्यसपछि पार्टी नेतृत्व चुनाव गर्ने वा नगर्ने निर्णय लिने योजना बनाएको छ ।
अठसठ्ठी वर्षीय इशिबाले हालै एलडिपीको पूर्ण बैठकमा केही सांसदहरूले राजीनामा मागेपछि भनेका थिए, “म अनुसन्धानको नतिजालाई उचित रूपमा विचार गर्नेछु । विभिन्न कुरा एकैसाथ भइरहेका भएकाले म आफ्नो सोचलाई अझ गहिरो बनाउन चाहन्छु ।”
नेसनल ग्राजुएट इन्स्टिच्युट फर पोलिसी स्टीडजका राजनीति विज्ञ मिकिताका मासुयामाका अनुसार, “एलडिपीभित्र पार्टी नेतृत्व चुनाव गराउने जोश क्रमशः घट्दै गएको छ । यदि अहिले नेतृत्व परिवर्तनमा जोड दिइयो भने, दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित मुद्रास्फीति जस्ता समस्याको समाधान नगरी केवल आन्तरिक राजनीति गर्ने भन्दै एलडिपीले आलोचना भोग्न सक्छ ।”

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारीसाधन वितरण

धनुषा । मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित सुरक्षा निकायका कार्यालयहरूलाई सवारीसाधन उपलब्ध गराएको छ । आज जनकपुरधाममा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले देश र जनताको शान्तिसुरक्षा र सुव्यवस्थामा अहोरात्र खटिने सुरक्षा निकायले स्रोत र साधनको अभाव झेल्न नहुने बताए।

मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश र विभिन्न जिल्लास्थित रहेका कार्यालयहरूलाई चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी २६ थान सवारीसाधन उपलब्ध गराएको हो । गृह मन्त्रालयका प्रदेश सचिव विमलप्रसाद बरालका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई एक थान पिक अप गाडी र २१ मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

त्यस्तै, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरी र रौतहटलाई एक–एक थान पिक अप गाडी वितरण गरेको छभने राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरी र धनुषालाई एक–एक थान इलेक्ट्रिकल इभी गाडी वितरण गरेको छ ।

गृहमन्त्री लेखीका अनुसार प्रदेशका आठवटै जिल्लास्थित रहेका जिल्ला प्रहरी कार्यालय र ‘क’ श्रेणीका इलाका प्रहरी कार्यालयहरूलाई केही दिनभित्रै एक–एक थान चारपाङ्ग्र्रे सवारीसाधन वितरण गरिने छ ।

 

 

कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर (तस्बिरहरु)

काठमाडौँ । कवाडी व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौं महानगर कार्यलय घेराउ गरेका छन्।

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौँ महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

त्यसैगरी कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौँ महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।

 

 

पोखराको आर्वामा माइक्रोबस दुर्घटना, २३ जना घाइते

कास्की । पोखरा–१३ आर्वास्थित मडकेल्नाको ओरालोमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग१ख ४०२७ नम्बरको बस मडकेल्नामा दुर्घटनाग्रस्त हुँदा चालकसहित २३ जना घाइते भएका हुन् । स्थानीय रबि बरालका अनुसार यात्रु लिएर काहुँखोलातर्फ आउँदै गरेको बस मडकेल्नाको ओरालोमा सडकको दायाँतर्फको भित्तामा ठोकिएको थिए ।

घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । दुर्घटनाका घाइतेमध्ये टङ्कप्रसाद देवकोटा र जमुना बरालको अवस्था मध्यम रहेको छभने अन्य सबै घाइतेको अवस्था सामान्य रहेको जानकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले दिएको छ ।

घाइतेमध्ये ११ जना उपचारपछि घर फर्किसकेका छन् । ‘डिस्चार्ज’ हुनेहरूमा चालक ४२ वर्षीय तेजबहादुर मगर, ४६ वर्षीय चन्द्रबहादुर आले, १५ वर्षीया सिम्रन बराल, ४४ वर्षीया मनमाया सुनार, २५ वर्षीया कविता पाण्डे, १० वर्षीय एञ्जल परियार, ४० वर्षीया नानुमाया परियार, २३ वर्षीया रचना बराल, ६ वर्षीय दिव्यान बराल, ४६ वर्षीय शरद बराल र ७० वर्षीय पदमराज बराल रहेका छन् ।

अस्पतालमा उपचाररत अन्य घाइतेहरूमा पोखरा–१३ कै २० वर्षीया अञ्जली परियार, ३२ वर्षीया अनिता सापकोटा, ६५ वर्षीया अम्बिका ढकाल, ३० वर्षीया सुष्मा परियार, ९ वर्षीया सुप्रिया परियार, ६५ वर्षीया मनशोभा परियार, ५२ वर्षीया कोपिला बराल, ६२ वर्षीय टङ्कप्रसाद देवकोटा, ३२ वर्षीय मधु अधिकारी, ३७ वर्षीय चन्द्र पराजुली, ३४ वर्षीया पार्वती बराल र ५५ वर्षीया जमुना बराल रहेका छन् ।

मुलुकको सार्वभौमिकताको रक्षाका लागि पहलकदमी गर्न अध्यक्ष नेपालद्वारा आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सार्वभौमिकता, भूगोलको रक्षाका लागि आवश्यक सबैखाले पहलकदमी लिन सरकारलाई आग्रह गरेका छन् ।

पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले देशको सार्वभौमिकता रक्षाका लागि सम्बन्धित पक्षलाई सबैको सहकार्य र समन्वयबाट दबाब दिनुपर्ने बताउँदै नेपाली भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरूलाई समेत आह्वान गरे ।

मजदुर, किसान तथा उत्पीडित वर्गलाई राजनीतिक तथा सामाजिक अधिकार उपलब्ध गराउने उद्देश्यले कम्युनिष्ट आन्दोलनको मूल उद्देश्यले स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले चार वर्ष पूरा गरेको जनाउँदै अध्यक्ष नेपालले सम्पूर्ण पार्टी पङ्क्ति, समर्थक, शुभचिन्तकलगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्दै जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र जनजीविकाको प्रश्नलाई प्रमुख ‘एजेण्डा’ बनाउँदै आएको एकीकृत समाजवादीले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई आफ्नो आधार मानेर श्रमिक–किसान, दलित, महिला, उत्पीडित तथा अवसरबाट वञ्चित वर्गको हितमा दृढतापूर्वक अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

समाजवाद उन्मुख लोकतन्त्रलाई मजबुत पार्ने, समतामूलक समाज निर्माण गर्ने र गरिब, किसान तथा उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने सङ्कल्प गर्नुपर्ने बताउँदै उनले कम्युनिष्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गरी आन्दोलनलाई शुद्धीकरण तथा एकीकरण गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, समानता र शोषणमुक्त समाजवादी व्यवस्था स्थापना गर्नु अहिलेको आवश्यकता भएको बताए ।