`

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

रियो डि जेनेरो । ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको घर हो र यसको धेरै भाग अमेजनमा छ । तर शुक्रबार एक प्रतिवेदनले जलवायु परिवर्तन र वनबाट कृषिमा भूमि रूपान्तरणले प्रभाव पार्दै गर्दा प्राकृतिक सतहको पानी गुमाउँदै गरेको बताएको छ ।

म्याप बायोमास अनुगमन प्लेटफर्मको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ देखि गत वर्षसम्म देशले चार लाख हेक्टर जलीय सतह गुमाएको छ । यो लगभग अमेरिकी राज्य रोड आइल्यान्डको आकार बराबरको क्षेत्र हो ।

पछिल्लो १६ वर्षमा केवल सन् २०२२ ले वृद्धि देखिएको छ र १९८५ देखि मुलुकले सुक्खा, सहरी विकास र जमिनमुनिको पानीको सतहबाट अति पम्पिङका कारण करिब २४ लाख हेक्टर नदी र तालको सतह गुमाएको छ ।

“भूमि अधिग्रहण र उपयोगको गतिशीलता, साथै विश्व तापमानले गर्दा भएका चरम जलवायु घटनाहरूले ब्राजिललाई अझ सुक्खा बनाउँदै छन्”, म्यापबायोमास अगुआ प्रतिवेदनका समन्वयक जुलियानो शिर्मबेकले विश्व जल दिवसअघि प्रतिवेदनमा भनेका छन्, “यी तथ्याङ्कले यस प्रवृत्तिलाई उल्ट्याउने अनुकूलन जल व्यवस्थापन रणनीति र सार्वजनिक नीतिहरूको आवश्यकताबारे चेतावनीका रूपमा काम गर्दछन ।”

ब्राजिलले नोभेम्बरमा अमेजन राज्य पाराको राजधानी बेलेममा कोप–३० संयुक्त राष्ट्र जलवायु सम्मेलनको आयोजना गर्नेछ ।

ब्राजिलको सतहको लगभग दुई तिहाइ पानी अमेजनमा पाइन्छ, जसले ग्रह–तापक्रम कार्बन डाइअक्साइड अवशोषित गर्दछ र जलवायु नियमनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

गत वर्ष अमेजनमा सतहको पानीको विस्तार सन् २०२२ को तुलनामा ४५ लाख हेक्टरले सङ्कुचित भएको प्रतिवेदनले बताएको छ । यो डेनमार्कको आकारको क्षेत्र बराबर हो ।

गत वर्ष खडेरी र डढेलोले ध्वस्त पारिएको पान्टानल सिमसार क्षेत्र सन् २०२४ मा पानीको सतहबाट सबैभन्दा बढी प्रभावित बायोम थियो । यो सन् १९८५ पछि मापन गरिएको औसतभन्दा ६१ प्रतिशत कम थियो ।

मानव निर्मित जलाशय र बाँध जस्ता जलाशयहरू सन् १९८५ देखि ५४ प्रतिशतले विस्तार भए पनि यसले प्राकृतिक ताजा पानीको स्रोतको नोक्सानीको क्षतिपूर्ति गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । 

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

लन्डन । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको सुविधामा बिजुली आपूर्ति गर्ने छिमेकी विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।

उडान–ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार केही उडान पहिले नै मोडिएका थिए भने विमानस्थल अधिकारीहरूले विमानस्थल अधिकारीहरूले ‘आगामी दिनहरूमा महत्त्वपूर्ण अवरोधको अपेक्षा’ गरेका छन् ।

‘हिथ्रोले महत्त्वपूर्ण विद्युत् कटौतीको अनुभव गरिरहेको छ’, विमानस्थल अपरेटरले आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा भने, ‘यो शुक्रवार मध्यरात (२३५९ जिएमटी) सम्म बन्द हुनेछ, विमानस्थल पुनः नखुलेसम्म यात्रुहरूले कुनै पनि परिस्थितिमा विमानस्थलमा यात्रा गर्नु हुँदैन ।’

लन्डन फायर ब्रिगेडले लन्डन बरोको हिलिङडन सहरको हेसको सबस्टेशनमा ‘उल्लेखनीय’ आगलागी भएको बताएको छ ।

‘आगलागीले ठूलो सङ्ख्यामा घर र स्थानीय व्यवसायलाई असर गर्ने विद्युत् कटौती निम्त्याएको छ र हामी अवरोधलाई कम गर्न हाम्रा साझेदारहरूसँग मिलेर काम गरिरहेका छौँ’, सहायक आयुक्त प्याट गलबोर्नले भने, ‘यो एक अत्यधिक दृश्यमान र महत्त्वपूर्ण घटना हो र हाम्रा अग्निशामकहरू आगोलाई यथाशीघ्र नियन्त्रणमा ल्याउन चुनौतीपूर्ण अवस्थामा अथक रूपमा काम गरिरहेका छन् ।’

पर्थबाट आउने क्वान्टास उडान पेरिसको चाल्र्स डे गलमा मोडिएको थियो भने न्युयोर्कबाट युनाइटेड एयरलाइन्सको उडान आयरल्यान्डको श्यानोनमा अवतरण हुने भएको थियो । हिथ्रोले वर्षमा आठ करोडभन्दा बढी यात्रुको व्यवस्थापन गर्दछ । 

महायज्ञ प्रकरणः सिराहाका सिडीओ गृह मन्त्रालय तानिए

काठमाडौँ । गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई मन्त्रालयमा तानेको छ । दाहाललाई फिर्ता बोलाएर कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् ।

सोही अनुसार उनी मन्त्रालय तानिएका हुन् । सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्नकै लागि घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको छ । महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दीपक मरिक (डोम)को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएसँगै दोषीमाथि चौतर्फी कारबाहीको माग भएको छ ।

यसैबीच, समन्यायिक समाज नेपालले महायज्ञ गर्ने भन्दै सिरहाको औरही गाउँपालिका–५ का दीपक मरिक (डोम) को घर भत्काइएकाप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ ।

समाजका अध्यक्ष भक्त विश्वकर्माले विज्ञप्ति जारी गरी महायज्ञ गर्ने भन्दै स्थानीय दलित समुदायका मरिकको घर भत्काइएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन, २०६८ तथा अन्य कानुनी प्रावधानहरूको कडाइपूर्वक कार्यान्वयन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय दिन नेपाल सरकारसमक्ष समाजले माग गरेको हो ।

नेपाललाई छुवाछुत मुक्त घोषणा गरेको १८ वर्ष बितिसकेको, नेपालको संविधान र कानुनले दण्डनीय अपराधका रूपमा किटान गरिसकेको अवस्थामा पनि जनप्रतिनिधिसमेत संलग्न भई विभेद गरी उठिबास लगाउने यस्ता कार्य हुनु जघन्य अपराध भएको समाजको ठहर छ ।

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

एसपीमा बढुवा भएका कार्की र बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले एसपीमा बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई दर्ज्यानी  चिह्न प्रदान गरेका हुन् ।

इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा गुप्तचर निकायका प्रमुख बर्खास्त

बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणको पूर्वानुमान गर्न विफल भएको भन्दै देशको आन्तरिक सुरक्षा तथा गुप्तचर निकाय ‘शिन बेट’ का प्रमुखलाई पदमुक्त गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रोनेन बारलाई हटाउने औपचारिक निर्णय गरेको हो । शिन बेट इजरेलको आन्तरिक गुप्तचर निकाय हो। युद्धमा यो निकायले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसले गर्ने गतिविधि र यसमा संलग्न हुने व्यक्तिहरूलाई राज्यले गोप्य राख्छ ।

प्रधानमन्त्रीका उच्च सहयोगीहरूले कतारको पक्षमा पैरवी गरिरहेको विषयमा शेन बेटको छानबिन गरिरहेको थियो । सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणको विषयमा नेतन्याहू र बारबीच गम्भीर मतभेद थियो। दुवैले एकअर्कालाई विफल भएको आरोप लगाउने गरेका छन्।

यो निर्णयबाट बारलाई पदमुक्त गर्ने नेतन्याहूको योजनाको विरोध गरिरहेका प्रदर्शनकारीहरूलाई आक्रोशित तुल्याउने देखिन्छ । बार सन् २०२१ को अक्टोबरमा पाँच वर्षका लागि उक्त पदमा नियुक्त भएका थिए ।

आइतबार एउटा भिडियो सन्देशमा नेतन्याहूले बारलाई पदमुक्त गर्ने आफ्नो उद्देश्य घोषणा गरेका थिए। उनले आफूहरूबीच ‘अविश्वास कायम’ रहेको र ‘समयक्रममा त्यो अझ बढेको’ बताए ।

यो घोषणाले आक्रोश उत्पन्न गराएको थियो र जेरुसलेममा सरकारविरोधी प्रदर्शनहरू चर्किएका थिए। इजरेलले गाजामा गरेका ताजा आक्रमणको विरोध गर्दै हजारौँ मानिसहरू सडकमा भेला भएका थिए । बारले आफूलाई पदमुक्त गर्ने निर्णय ‘राजनीतिक पूर्वाग्रहबाट प्रेरित’ रहेको प्रतिक्रिया दिएका छन् ।

भिमादमा सम्झौताको दश महिनापछि पुल निर्माण सुरु

दमौली । तनहुँको भिमाद नगरपालिका–५ र ६ जोड्ने बुढुवाखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सम्झौता भएको दश महिनापछि पक्की निर्माण सुरु भएको हो ।

पुल दुई करोड ५९ लाख ५७ हजारमा विसं २०८१ जेठ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी जिल्ला पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनी दीपज्योति शर्मा जेभीबीच सम्झौता भएको थियो ।

विसं २०८२ मङ्सिर २० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । पुल निर्माणको शिलान्यास बिहीबार गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले गरे ।

शृङ्गपथअन्तर्गत पर्ने उक्त पुल निर्माण भएपछि तनहुँसहित पाल्पा, नवलपुर र स्याङ्जा आवागमन सहज हुनेछ ।

अत्याधुनिक प्रणालीमार्फत पानीपोखरीको व्यवस्थापन र सञ्चालन

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ ।

मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए । सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ ।

यसैबीच, केयुकेएलले परीक्षणका रुपमा चःमती र अनामनगर क्षेत्रमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको जनाएको छ ।

बाँकेमा सुकुम्बासी आयोगद्वारा लगत सङ्कलन सुरु

नेपालगञ्ज । बाँकेका दुई पालिकाबाहेक छ स्थानीय तहमा सुकुम्बासी समस्या समाधान आयोगले लगत सङ्कलन सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाबाहेक, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, वैजनाथ गाउँपालिका र नरैनापुर गाउँपालिकाका जग्गा नापजाँचका लागि लगत सङ्कलन सुरु भएको यहाँस्थित सुकुमबासी समस्या समाधान आयोगले जनाएको छ ।

आयोगका बाँके अध्यक्ष घननाथ खनालले राप्तीसोनारी गाउँपालिका–७ मा केही दिनअघि मात्रै जग्गाको नापजाँच सुरु गरेको जानकारी दिँदै जग्गाको लगत सङ्कलनका लागि जिल्लामा ३९ कर्मचारी परिचालन भएका बताए ।

“कतिपय स्थानमा लगत सङ्कलन अपुरो भएकाले र वास्तविक तथ्याङ्क आओस् भनेर जग्गाको लगत सङ्कलन सुरु गरेका हौँ”, उनले भने ।

यसअघि गठन भएको सुकुमबासी समस्या समाधान आयोगमा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकामा १२ हजार ५२३, वैजनाथमा १० हजार ११२, नेपालगञ्जमा तीन हजार ४२, नरैनापुरमा दुई हजार ३४५ र जानकीमा दुई हजार ८१० कित्ता नापजाँचका लागि निवेदन परेको थियो ।

बाँकेमा दलित भूमिहीनतर्फ तीन हजार ६८१ कित्तामध्ये ८३९ कित्ता वास्तविक कित्ता भएको र त्यसलाई वडा कार्यालयबाट प्रमाणीकरण गरेको उल्लेख गर्दै भूमिहीन सुकुमबासीतर्फ छ हजार ७९८ कित्ता रहेको बताए । उनले बाँकेमा ४३ हजार २२६ कित्ता जग्गामा अव्यस्थित बसोबासीको रहेका जनाउँदै यही चैत १४ गतेपछि क्रमशः सबै ठाउँमा जग्गा नापजाँच गरिने योजना सुनाए ।

“कतिपय ठाउँमा विगतमा जग्गाको नापजाँच भएको तर जग्गाधनीले उपभोग गर्न नपाएको अवस्था छ, त्यसको अन्त्य गरिने छ”, उनले भने । चिसापानीदेखि कुसुम क्षेत्रको वन इलाकामा पनि नापजाँच हुने जानकारी उनले बताए ।

मुख्यमन्त्री सिंह र उत्तरप्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटघाट भएको छ ।

कपिलवस्तुको बलरामपुरस्थित भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्मन्त्री सिंह र सोही मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री योगीसँग भेटवार्ता भएको हो ।

भेटमा जानकीको पवित्र भूमि जनकपुरधामसँगै मधेस प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको बृहत्त सम्भावनाका विषयमा कुराकानी भएको मुख्यमन्त्री सिंहले जानकारी दिएका छन् ।

त्यस्तै, रामायण सर्किट र सीता सर्किट विकास, अयोध्यामा रामलला दर्शन गर्न पुग्ने पर्यटकका लागि जनकपुरधाम अनिवार्य गन्तव्य बन्नुपर्ने र मधेस प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि उत्तर प्रदेश सरकारको सहयोगलगायतका विषयमा भेट केन्द्रित भएको उनले बताए ।

ट्रम्पद्वारा शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यसअघि उनले चुनावी अभियानकै क्रममा शिक्षा मन्त्रालयले अमेरिकालाई कुनै फाइदा गरी नरहेको बताएका थिए । अब यसलाई पूर्ण रूपमा बन्द गर्न उनलाई अमेरिकी संसद कांग्रेसको अनुमोदन चाहिन्छ ।

ट्रम्पले हालै भारी मात्रामा मन्त्रालयका कर्मचारी कटौतीको घोषण गरेका थिए । ती कर्मचारी र मन्त्रालय बन्द भएपछि निकालिने अरु सबै कर्मचारीबाट ट्रम्पले कानूनी चुनौतीहरूको सामना गर्नु परिरहेको छ ।

वसन्त र एलिनाको ‘रिटिङ र्‍याइँ र्‍याइँ’

काठमाडौं । निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माको डेब्यू अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ र्‍याइँ र्‍याइँ ’ सार्वजनिक भएको छ ।

भिडियो बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । मोडल सुनिल क्षेत्रीले नै अभिनय र निर्देशन गरेको म्युजिक भिडियोमा गायक वसन्त थापा र एलिना चौहानको स्वर छ । यो गीतको शब्द गीतकार राजेन्द्र थापाले लेखेका हुन् ।

अभि वाग्लेको कोरियोग्राफी रहेको गीतमा सुरवीर पण्डितको समेत अभिनय रहेको छ । डेव्यु अभिनेत्री कृति शर्माले मोडल तथा सुनिल क्षेत्रीको अफर मन परेको र उनीसँग भ्वाइससमेत मिलेकाले अभिनय गर्न तयार भएको बताइन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन र कलर छ ।

एमालेले गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी सचेतना अभियान संचालन गर्ने

काठमाडौँ । नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी सचेतना अभियान घोषणा गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मुलुकमा हाल भइरहेका अलोकतान्त्रिक गतिविधि विरुद्ध जनतालाई सचेत गराउनका लागि अभियान सञ्चालन गरिने बताए ।

उनका अनुसार अभियानअन्तर्गत एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ ।

अभियानका क्रममा यही चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी विरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम र चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्याली आयोजना गरिने उनले बताए । एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरणसभा आयोजना गर्ने भएको छ ।

चैत २४ देखि ३० गतेसम्म प्रमुख सहरहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

प्रदेश तहमा हुने सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि भने आवश्यकता आधारमा केन्द्रीय नेता खट्ने उनले बताए ।

कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड

अभियान सञ्चालन तयारीका सम्बन्धमा महासचिव शङ्कर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई ‘भर्चुअल’ बैठक गरी पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान निर्देशन दिए ।

पार्टीको यही चैत ४ गतेको सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी पार्टी संविधान र यसले संस्थागत गरेको लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको थियो ।

उनले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिए । उनले पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरण जानकारी गराएका थिए ।

अभियानका क्रममा महासचिव पोखरेलले पञ्चायतको अन्त्यपछि कूल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, जनतालाई आधारभूत पिउने पानीको उपलब्धता, सञ्चार सुविधा, विद्युत् उत्पादन तथा उपभोग, नेपालीको औसत आयु वृद्धि, मातृशिशु मृत्युदर घटाउन हासिल उपलब्धिबारे आम जनसमुदायलाई अवगत गराउनुपर्नेमा जोड दिएका छन् ।

२५ हजार घुससहित पोखरा महानगरका कर्मचारी पक्राउ

गण्डकी । पोखरा महानगरपालिकाका शाखा अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । महानगरको उजुरी फछ्र्यौट शाखामा कार्यरत प्रशासकीय अधिकृत गिरी २५ हजार रुपैयाँ घुससहित बिहीबार दिउँसो महानगरकै कार्यालय नजिकैबाट पक्राउ परेका हुन् ।

अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का एकजना कर्मचारीसँग १ लाख रुपैयाँ मागेकोमा २५ हजार सहित उनी पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए ।

अख्तियारले सोधेका स्पष्टीकरणको महानगरपालिकाका तर्फबाट जवाफ पठाउने जिम्मेवारीमा रहेका गिरीले महानगरकै अर्का कर्मचारीसँग तिम्रोविरुद्ध अख्तियारमा उजुरी छ म मिलाइदिन्छु भनी घुस मागेका थिए ।

तीन सरकारी अस्पतालमा मष्तिष्क पक्षघातको औषधि उपलब्ध हुने

काठमाडौँ । तीन वटा सरकारी अस्पतालबाट मष्तिष्क पक्षघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ । अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वल्र्डवाइड’ को सहजीकरणमा औषधि उपलब्ध भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध हुने जनाएको छ ।

औषधि हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मष्तिष्क पक्षघातमा आवश्यकपर्ने महँगो औषधि उपलब्ध गराएकामा संस्थाप्रति आभार व्यक्त गरे । उनले भने, “यो औषधि राज्य कोषबाट किनेर आवश्यकपर्नेलाई उपलब्ध गराउन गाह्रो थियो । आवश्यकताअनुसार अरु अस्पतालमा पनि वितरण गर्ने लक्ष्य छ । दातृ संस्थासँग अरु महँगा औषधि पनि माग गरेका छौँ ।”

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशक डा पवनजङ्ग रायमाझीले मष्तिष्क पक्षघातमा अत्यावश्यक र ज्यान जोगाउन सकिने औषधि प्राप्त भएको बताए । उनका अनुसार ८०० भाइल ‘अल्टिप्लेस’ औषधि उपलब्ध भएको छ ।
उनले भने, “मष्तिष्कमा रहेका रक्तनलीमा अकस्मात् रगत जम्दाखेरी मष्तिष्क पक्षघात हुने सम्भावना हुन्छ । यदि यस्तो व्यक्तिमा साढे चार घण्टाभित्र यो औषधि प्रयोग गर्न सकेमा बिरामीको ज्यान जोगिन्छ ।”

डा रायमाझीका अनुसार यो औषधि एक भाइलमा २० मिलिग्राम हुने र एउटै भाइलको ७० हजार पर्दछ । उनले भने, “यो औषधि प्रयोग गर्न दक्ष स्वास्थ्यकर्मी (न्युरोलोजिस्ट) को आवश्यकता पर्दछ । त्यसैले सुरुवाती चरणमा तीन वटा अस्पतालबाट दिने सोचेका छौँ । पछि आवश्यकताअनुसार सबै प्रदेशका सङ्घीय अस्पतालमा उपलब्ध हुन्छ ।”

उनले यो औषधिलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको ‘कोल्ड चेन’मा २ देखि ८ ‘सेन्टिग्रेड’मा भण्डारण गरिएको र आवश्यकताअनुसार उपलब्ध गराइने जनाउनुभयो । नेपालमा एक वर्षमा ३०० देखि ४०० को सङ्ख्यामा पक्षघातका बिरामी उपचारका लागि स्वास्थ्य संस्था आउने गरेका छन् ।

गिरिजाप्रसाद कोइरालालाई सम्झिँदै प्रचण्डले भने-देशको रक्षाका लागि मप्रति गरेको भरोसा टुट्न दिने छैन

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालाले दिएको सुझावलाई कहिल्यै नबिर्सने बताएका छन् ।

कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा श्रद्धा एवं सम्मान प्रकट गर्दै प्रचण्डले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि आफूप्रति देखाएको भरोसा र दिएको सुझावलाई कहिल्यै नबिर्सने बताएका हुन् ।

शान्ति सम्झौताको तस्बिर राख्दै सामाजिक संजालमा प्रचण्डले लेखेका छन्, ‘नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु । उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन। त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।’

२०६३ मंसिर पाँच गते तत्कालीन प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष प्रचण्डबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल प्रस्ताव स्वीकृत

काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो ।

दफावार छलफलमा भाग लिनुहुँदै संशोधनकर्ता सांसद प्रकाश ज्वालाले सांसदका चासोलाई संसद्ले सम्बोधन गर्नुपर्ने बताए । संशोधनकर्ता सांसदहरु मेटमणि चौधरी, भानुभक्त जोशी, सूर्यबहादुर थापा क्षेत्री, चित्रबहादुर केसी, प्रेम सुवाल, निशा डाँगी, विमला सुवेदी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, नारायणी शर्मा, रामकुमार राई, दुर्गा राई, छिरिङडण्डुप लामा भोटे, मनिष झा र शेरबहादुर कुँवरले संशोधन प्रस्ताव राखेका थिए । उनीहरुले योजना आयोगको भूमिकालाई कमजोर बनाउन नहुनेमा जोड दिएका थिए ।

सत्तामा भएपनि कांग्रेसले सरकारको खबरदारी गर्नुपर्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि सुशासन पटक्कै दिन नसकेको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित ’गिरिजाप्रसाद र लोकतन्त्र’ अन्तरक्रियामा कोइरालाले सरकारमा हुने मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने बाध्यता रहेको भन्दै सत्ता पक्षमा भएको तर सरकारमा नभएको कांग्रेसको नेताहरुको काम सरकारलाई खबरदारी गर्ने रहेको बताए । सरकारले सुशासन दिन नसकेकाले कांग्रेसले खबरदारी गर्नुपर्ने बताए ।

उनले भने, ‘कांग्रेस सत्ता पक्षको हो । तर सरकारमा छैनौं । सरकारमा हुने मन्त्रीहरुले सहकार्य गर्नुहोस् एमालेसँग केही आपत्ति छैन । तर जो सत्ता पक्षमा छौं तर सरकारमा छैनौं । हाम्रो काम खबरदारी गर्ने हो ।’ उनले आज देशको परिदृष्य हेर्दा भयावहक अवस्थामा रहेको बताए ।

गिरिजाप्रसाद बितेको १५ वर्ष भइसक्दा पनि उहाँबाट कांग्रेसका नेताहरुले पाठ सिक्न नसकेको बताए । उनले भने, ‘जुन परिदृष्य देखिरहनु भएको छ, देशको जुन अवस्था बुझिरहनु भएको छ । तर भयावह अवस्था देशमा छ । गिरिजाप्रसाद भएको भए के हुन्थ्यो होला त भन्ने लाग्छ होला । गिरिजाप्रसाद वितेको पनि १५ वर्ष भइसक्यो । हामीले पाठ नै सिकेनौं ।’

त्यस्तै उनले कांग्रेस कहिले माओवादी त कहिले एमालेकोपछि लागेको भन्दै अब कांग्रेसले यसरी जाने भनेर निर्णय गर्न सक्नुपर्ने बताए ।

कसैको वैशाखी टेकेर चुनाव लड्दैनौंः प्रचण्ड

बारा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा कांग्रेस र एमालेसँग मिलेर चुनाव लड्दा आफूहरुलाई घाटा भएको बताएका छन् ।

बिहीबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उनीहरुसँग मिलेर चुनाव लड्दा माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गर्दै अब एक्लै चुनाव लड्ने बताए । उनले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै पनि बताए ।

उनले गत मंसिरको उपनिर्वाचन र भर्खरै सम्पन्न स्ववियु निर्वाचनको परिणामबाट माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै बताए ।

उनले भने, ‘गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरुले आपसमा चुनाव चिन्ह साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौं । अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरु मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ ।’

सरकारका गलत क्रियाकलापको फाइदा उठाएर प्रतिगामी शक्तिहरुले टाउको उठाउने दुस्साहस गरेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको बताए ।

चैत १५ गते समाजवादी मोर्चाले गर्ने प्रदर्शन शान्तिपूर्ण हुन्छः विप्लव

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन यसलाई जनतामाझ लैजानुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल मोरङद्वारा बिहीबार आयोजित अन्तरसम्वाद कार्यक्रममा उनले गणतन्त्रबाट आमनागरिकले समान अधिकार पाउनुपर्नेमा जोड दिए ।

महासचिव चन्दले मुलुकमा युगान्तकारी परिवर्तन ल्याउने गणतन्त्र स्थापना नभएको भए मुलुक अझै अन्धकारमै हुन्थ्यो भन्दै राजनीतिक दलका नेताहरूको भनाइ र गराइमा देखिएका अन्तरले अहिले असन्तुष्टि देखिएको बताए ।

मुलुक सैद्धान्तिक र व्यावहारिक दृष्टिले पनि सङ्कटमा रहेको भन्दै उनले समाजवादको लक्ष्य पूरा गराउन पुँजी निर्माण हुनुपर्ने बताए ।

महासचिव चन्दले सरकार शिक्षा, स्वास्थ्य र रोगगारका विषयमा चुकेको, पुँजी निर्माण र बचतको ज्ञान विस्तार नभएकाले नेपाली जनताले समस्या बेहोरिरहेको बताए ।

उनले माओवादी, समाजवादी र सबै कम्युनिष्टबीच एकताको प्रयास तथा छलफल भइरहेको जानकारी दिँदै चैत १५ गते समाजवादी मोर्चाले गर्ने भेला शान्तिपूर्ण हुने उल्लेख गरे ।

नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छः उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिने बताएका छन्।

‘ग्रिन इनर्जी आन्टरप्रेनर नेपाल’ले बिहीबार आयोजना गरेको ‘साना जलविद्युत् आयोजनाहरुको दिगो सञ्चालनसम्बन्धी देखिएका चुनौती’ विषयक कार्यक्रममा मन्त्री खड्काले साना जलविद्युत् आयोजनाका समस्या समाधान गर्न नीतिगत सुधार गरिने बताए।

“साना जलविद्युत् आयोजनाका समस्या एकै ठाउँमा राखेर छलफल गरौँ, के–के संशोधन गर्नुपर्ने छ, समस्या समाधान गर्न मन्त्रालय तयार छ,” उनले भने।

ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने मन्त्री खड्काको भनाइ थियो । उनले साना जलविद्युत् आयोजना सँगसँगै मुलुकको समग्र ऊर्जा क्षेत्रको सुधारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरे। संस्थागत रुपमा रहेका तहगत बेतिथि पनि समाधान खोज्दै जानुपर्ने उनले बताए।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको ऊर्जा विकास मार्गचित्रले निजी क्षेत्रका समस्या समाधान खोजेको मन्त्री खड्काले उल्लेख गरे। व्यवसायीलाई परेको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। मन्त्री खड्काले विद्युत् प्राधिकरणले गरेको गल्तीका दोष निजी क्षेत्रमाथि थोपर्न नहुने बताए।

ग्रिन इनर्जी आन्टरप्रेनर नेपालका अध्यक्ष इन्जिनियर सूर्यप्रसाद अधिकारीले साना जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) दर समायोजन गर्न माग गरे। उनले ‘टेक अर पे’ (लिउ वा तिर) प्रावधान कार्यान्वयन गर्नुपर्ने र विद्युत् उत्पादनको वैकल्पिक व्यवस्थालाई खारेज गर्नुपर्ने बताए।

अध्यक्ष अधिकारीले पाँच मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई उत्पादन अवधि तोक्न नहुने तथा पाँचदेखि १० मेगावाटसम्मका आयोजनाको उत्पादन अनुमतिपत्रको अवधि ५० वर्ष कायम हुनुपर्ने तथा जलविद्युत् आयोजनाको मर्मतसम्भारका लागि आवश्यक पर्ने पाटपुर्जामा पुरानो नीतिअनुसार एक प्रतिशत भन्सार दर कायम गर्न माग गरे।

नेप्सेमा साढे चार अर्बको कारोबार

काठमाडौँ । साताको शेयर बजार कारोबारको अन्तिम दिन शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से १२.३८ अंकले घटेर २६६९.७६ अंकमा पुगेको हो । आज बजारमा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

१७५ कम्पनीको मूल्य घट्दा ६२ कम्पनीको मूल्य बढेको छ । जीवन बीमा समूहमा सामान्य वृद्धि हुनु बाहेक अरू सबै परिसूचक घटेको छ ।

सबैभन्दा धेरै फाइनान्स समूहको सूचक १.३५ प्रतिशतले घटेको देखिन्छ । मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयर सर्किट लेभलमा घटेको छ । डोल्टी पावर कम्पनीको ७.४५ प्रतिशत वृद्धि नै आजको सबैभन्दा ठुलो वृद्धि रहेको छ ।

बजारमा आज नेपाल पुनर्बीमा कम्पनीको २८ करोड तथा हिमालयन पुनर्बीमा कम्पनीको २२ करोडको कारोबार हुँदा ती कम्पनीहरू सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा छन् ।

चीनसँगका १४ नाका पुनः सञ्चालनका लागि सात वर्षअघि हस्ताक्षर भइसकेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सिमानामा १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाका पुनः सञ्चालन गर्ने सम्बन्धमा सीमा व्यवस्थापनसम्बन्धी सम्झौताअन्तर्गत नेपाल–चीनबीच सन् २०१९ मै हस्ताक्षर भएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भानुभक्त जोशीले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनुमतिपत्र (प्रवेश–पास) उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याइएको बताए ।

उल्लिखित १४ नाकामध्ये बझाङस्थित उरै भञ्ज्याङ पनि रहेको प्रधानमन्त्री ओलीले बताए । सो नाका सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय एवं कूटनीतिक तवरमा पहल भइरहेको उनले बताए । 

  सांसद जोशीको अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले विकाससम्बन्धी कार्य गर्ने कार्यालय बनाई सडक, खानेपानी, सिँचाइ तथा नदी नियन्त्रण, पूर्वाधार विकासलगायत कार्य एकीकृत रुपमा सञ्चालन गर्ने सम्बन्धमा आएको सुझाव सराहनीय रहेको बताए । हाल स्थानीय तहबाट कतिपय सेवा एकीकृत रुपमै प्रदान भइरहेको उनले बताए । 

एकीकृत रुपमा तीन तहका सरकारको कामको प्रकृति र कार्यबोझका आधारमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन र कर्मचारीको व्यवस्थापन गरिएको प्रधानमन्त्री ओलीले बताए ।

नेपालको संविधानले गरेको व्यवस्थाबमोजिम साविकमा केन्द्रीय सरकारले गर्ने कतिपय काम हालको व्यवस्थामा प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा परेका उनले बताए ।

तीन तहकै सरकारले जिल्लामा छुट्टाछुट्टै कार्यालय स्थापना गरी सेवा प्रदान गर्न सम्भव नहुने हुँदा केही जिल्ला कार्यक्षेत्रमा रहने गरी डिभिजन कार्यालयमार्फत सेवा प्रदान हुँदै आइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

नेपालमा नै रोजगारी प्राप्त गर्न सकिने विश्वास दिलाउन सरकारले निरन्तर प्रयास गर्दै आइरहेको प्रधानमन्त्री ओलीले बताए । देशभित्र मर्यादित रोजगारीका लागि उद्यमशीलताको विकास र आन्तरिक रोजगारीको प्रवद्र्धन गर्ने उद्देश्यले पाँचवर्षे रणनीतिक योजना कार्यान्वयनमा रहेको उनले बताए ।

व्यावसायिक तथा सीप विकास तालिम प्रदान गर्न र वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सीप प्रमाणीकरण गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको स्थापना गरी सञ्चालनमा ल्याइएको उनले बताए ।

न्यूनतम रोजगारी प्रत्याभूत गर्न नेपाल सरकारले सञ्चालन गरेको रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म करिब आठ लाख सूचीकृत बेरोजगारले रोजगारीका अवसर प्राप्त गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

आन्तरिक रोजगारीका अवसर अभिवृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आगामी दश वर्षका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरिएको उनले बताए ।

“यसबाट युवाहरू नेपालमा नै रोजगार र स्वरोजगारका क्रियाकलापमा संलग्न हुने सरकारको विश्वास छ”, प्रधानमन्त्री ओलीले भने ।

ब्रेलको लिपिको सिर्जना भएको २०० वर्षः यसले समाजमा घुलमिल हुन सहयोग गरेको मालीका दृष्टिविहीनहरूको भनाइ

बामाको (माली ) । अमादु नडियायले अब देख्न नसक्ने संसारलाई बुझ्दै एक टुक्रा कागजमा भएका फोकामा सावधानीपूर्वक आफ्ना औँलाहरू चलाए ।

स्पर्श लेखन प्रणाली ब्रेलको आविष्कार भएको दुई सय वर्ष बितिसकेको छ । यसले धेरै दृष्टिविहीन र आंशिक रूपमा दृष्टिहीन व्यक्तिको जीवनमा साक्षरता र स्वतन्त्रताको मार्ग प्रदान गरेर परिवर्तन ल्याएको छ ।

“ब्रेलले मलाई मेरो जीवन जिउन मद्दत गर्यो”, बाल्यकालमा दृष्टि गुमाएका मालीका सामाजिक कार्यकर्ता नडियायले भने, “पहिले मानिसहरूले आफूलाई प्रश्न गर्थेः यहाँ कोही छ जो देख्न सक्दैन, उसले कसरी सफलता हासिल गर्छ ? ऊ समाजमा कसरी एकीकृत हुनेछ ?”

दुई करोडभन्दा बढी जनसङ्ख्या भएको पश्चिम अफ्रिकी देश मालीले दृष्टिविहीन र आंशिक रूपमा दृष्टिहीन व्यक्तिहरूलाई एकीकृत गर्न लामो समयदेखि सङ्घर्ष गर्दै आएको छ ।

आँखाको हेरचाह गर्ने परोपकारी संस्था साइटसेभरका अनुसार मालीमा करिब एक लाख ७० हजार मानिस दृष्टिविहीन रहेको अनुमान गरिएको छ ।

सत्चालीस वर्षीय नडियायले मालीको दृष्टिविहीनहरूको संस्थामा भाग लिने सौभाग्य प्राप्त गरे । त्यहाँ उनले ब्रेलमा लेख्न सिके र आफैँलाई भने “साँच्चै, अरूले गर्ने सबै कुरा, म पनि गर्न सक्छु ।” उनले पछि विश्वविद्यालयमा पढे ।

उनका अनुसार ब्रेलले उनलाई गिटार बजाएर आफ्नो मुख्य सोख विकास गर्न अनुमति दिएको छ । ब्रेलले स्पर्शको महत्त्वलाई पनि जोड दिन्छ ।

“तारहरूमा प्रत्येक दबाब, गर्दनमा औँलाको प्रत्येक चाल, अर्थले भरिएको एक जीवित नोट बन्छ”, उनले भने ।

गिटार मालीको ग्रिओट परम्पराको अभिन्न अङ्ग हो, सङ्गीतमार्फत कथा भन्ने सांस्कृतिक अभ्यास । सङ्गीतकारहरूले कोरा जस्ता परम्परागत तार वाद्ययन्त्रहरूको आवाज अनुकरण गर्न गिटारलाई अनुकूलित गरे ।

अली फारका टौरे जस्ता स्थानीय कलाकारहरूले मालियन मेलोडीलाई ब्लुजका तत्वहरूसँग मिसाएर एक आत्मवादी, सम्मोहक ध्वनि सिर्जना गरेका छन् जसले अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गरेको छ ।

प्रतिष्ठित मालियन साङ्गीतिक जोडी अमाडो र मरियमले किशोर हुँदा नडियायकोे वाद्ययन्त्रप्रतिको उत्कटतालाई जागृत गरेका थिए ।

“एक दिन एक फोटोग्राफी स्टुडियो नजिकै मैले उहाँहरूको सङ्गीत झ्यालबाट गुञ्जिएको सुनेँ, जसले मलाई यो विश्व पत्ता लगाउन प्रेरित गर्‍यो”, उनले भने ।

‘मालीको दृष्टिविहीन जोडी’ का रूपमा चिनिने अमाडो बागायोको र मरियम डौम्बियाले सन् १९९० को दशकमा पारम्परिक मालियन सङ्गीत, रक र ब्लुजको संयोजनसँग अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे । बागायोकोले १६ वर्षको उमेरमा दृष्टि गुमाएको थियो भने डौम्बिया पाँच वर्षको उमेरमा दादुराको उपचार नगर्दा दृष्टिविहीन भए ।

यो जोडीबीच मालीको दृष्टिविहीनहरूको संस्थामा भेट भएको थियो । त्यहाँ डौम्बियाले ब्रेल अध्ययन गर्दै थिए र नृत्य तथा सङ्गीतका कक्षाहरू सिकाउँदै थिए ।

यस्ता ठाउँहरूमा ब्रेलले विद्यार्थीहरूलाई पढ्न र लेख्न सिक्न लामो समय लाग्ने जस्ता शैक्षिक बाधाहरू पार गर्न अनुमति दिएको छ ।

राजधानी बामाकोमा दृष्टिविहीनहरूको संस्थामा पढाउने अली मुस्तफा डिक्कोका अनुसार त्यसपछि उनीहरूले अन्य कसैले जस्तै एकै परीक्षा दिन सक्छन्, जसले उनीहरूलाई रोजगारी खोज्न अनुमति दिन्छ ।

डिक्को पनि दृष्टिविहीन छन् । विशेष टाइपराइटर प्रयोग गरेर उनले आफ्ना विद्यार्थीहरूका लागि ब्रेलमा पाठहरू सिर्जना गर्न सक्छन् । तर उनका अनुसार उनका विद्यार्थीहरू अझै पनि असुविधामा छन् ।

“हामीसँग शिक्षण सामग्रीको सङ्कट छ”, डिकोले भने । उनीसँग दर्जनौँ विद्यार्थीको सम्पूर्ण कक्षाका लागि ब्रेलमा एउटा पढ्ने पुस्तक छ ।

तर नयाँ प्रविधिको विकाससँगै केही दृष्टिविहीन र आंशिक रूपमा दृष्टिहीन व्यक्तिहरूले शैक्षिक बाधाहरू निरन्तर घट्ने आशा गरेका छन् ।

“त्यहाँ सफ्टवेयर छन्, त्यहाँ बोल्ने टेलिफोनहरू छन्, त्यसैले त्यहाँ धेरै कुराहरू छन् जो मुखर छन्”, सङ्गीत जोडीका बागायोकोले भने, “यसले हामीलाई अगाडि बढ्न अनुमति दिन्छ ।”

तर सेनेगलमा आधारित साइटसेभर्सका समावेशी शिक्षाका कार्यक्रम अधिकृत मौसा म्बेन्गेले यस्ता प्रगतिले अझै पनि दुई शताब्दीअघि ब्रेलले गरेको फड्को नमार्ने बताए ।

“यसले ब्रेललाई प्रतिस्थापन गर्न सक्दैन । यसको विपरित मेरा लागि प्रविधिले ब्रेललाई पूरक बनाउँछ”, उनले भने । 

ट्रम्प अर्गनाइजेसनद्वारा भारतमा नयाँ परियोजनाको घोषणा

मुम्बई ।  ट्रम्प अर्गनाइजेसन र यसका स्थानीय रियल इस्टेट सहयोगीले भारतमा नयाँ व्यावसायिक टावर परियोजनाको घोषणा गरेका छन्।

ट्रम्प अर्गनाइजेसनले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतमा रियल इस्टेटको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ।

भारतमा पहिले नै ट्रम्पको नाममा आवासीय भवनहरू छन् र स्लेटमा थप परियोजना भएको यो परियोजनाले भारतलाई उनको पारिवारिक व्यवसायको लागि अमेरिका बाहिरको सबैभन्दा ठूलो बजार बनाएको छ।

भारतीय साझेदार ट्रिबेका डेभलपर्सले रियल स्टेट फर्म कुन्दन स्पेसेससँगको साझेदारीमा पश्चिमी भारतीय शहर पुणेमा नयाँ ‘ट्रम्प वल्र्ड सेन्टर’ विकास गर्ने घोषणा गरेको छ।

यो परियोजना १६ लाख वर्गफिटभन्दा बढी क्षेत्रफलमा फैलिएको छ भने २८ करोड ९६ लाख अमेरिकी डलरभन्दा बढी को बिक्री हुने अपेक्षा गरिएको छ भने यसमा ‘२७ तलाभन्दा बढी अफिस स्पेस भएका दुई आइकोनिक ग्लास टावर’ हुनेछन्।

“यो नयाँ बिस्तारसँगै ट्रम्प अर्गनाइजेसनको भारतमा व्यावसायिक रियल इस्टेटमा पहिलो प्रवेश गरेको छ र यस क्षेत्रमा विस्तृत जिम्मेवारीमा सामेल हुनेछ,” विज्ञप्तिमा भनिएको छ।

ट्रम्प अर्गनाइजेसनका कार्यकारी उपाध्यक्ष तथा अमेरिकी राष्ट्रपतिका दोस्रो छोरा एरिक ट्रम्पले वक्तव्यमा भारतले ‘उल्लेखनीय उत्साहका साथ ट्रम्प ब्रान्डलाई अँगालेको’बताएका छन्।

“धेरै प्रतिष्ठित आवासीय परियोजनाहरूमा हाम्रो सफल सहयोग पछि, हामी भारतमा हाम्रो पहिलो व्यावसायिक विकास सुरु गर्न पाउँदा गौरवान्वित छौँ,” उनले भने।

अमेरिकी राष्ट्रपति पारिवारिक कम्पनीको व्यवस्थापनमा संलग्न हुनु्हुन्न तर ट्रम्प अर्गनाइजेसनको विदेशी व्यापारिक लेनदेनले सम्भावित स्वार्थको टकरावबारे आलोचना गरेको छ।

सन् २०१८ मा ट्रम्प अर्गनाइजेसनका स्थानीय साझेदारहरूले राजधानी नयाँ दिल्लीबाहिर विलासिताको विकास गर्ने जो कोहीलाई पनि स्वागत गर्ने वाचा गरेपछि उनका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले भारत भ्रमण गरेका थिए।

रियल इस्टेट म्यानेजमेन्ट फर्मको अनुमानअनुसार सन् २०२४ मा भारतको अफिस मार्केटमा तीव्र वृद्धि भएको छ र शीर्ष सात शहरमा भाडा लेनदेनका गतिविधिमा वार्षिक करिब २३ प्रतिशतले वृद्धि भएको छ।

गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु

गाजा पट्टी । इजरायली सेनाको हमलाबाट गाजामा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ। दक्षिणी गाजाको खान युनुस र रफाह शहर तथा उत्तरी शहर बेत लाहियाका घरहरूमा आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

इजरायलले मंगलबार गाजाभर पुनः व्यापक हमला शुरू गरेको थियो। यो हमलाले युद्ध रोक्ने र २५ भन्दा बढी बन्धकको रिहाइलाई सहज बनाएको युद्धविराम भंग गरेको छ।

हमास सम्झौताबाट विचलित भएको र इजरायल–समर्थित प्रस्तावलाई अस्वीकार गरेको भन्दै इजरायलले नयाँ लडाइँको दोष हमासलाई दिएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्र ४०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको थियो। यसमा अधिकांश महिला र बालबालिका थिए। हमासले रकेट प्रहार गरेको वा अन्य आक्रमण गरेको कुनै रिपोर्ट आएको छैन।

पछिल्लो आक्रमणमा इजरायली सेनाको तत्काल कुनै टिप्पणी आएको छैन। सेनाले आतंकवादीहरूलाई मात्र लक्षित गरेको बताएको छ। उसले हमास आवासीय क्षेत्रहरूमा गहिरो रूपमा अवस्थित रहेकाले नागरिक मृत्युको दोष पनि हमासलाई दिएको छ।

दक्षिणी शहर रफाहमा रहेको युरोपेली अस्पतालमा रातभर दुई परिवारको घरमा भएको आक्रमणमा महिला र बालबालिकासहित २६ जनाको मृत्यु भएको बताइएको छ। एउटा हमलामा एक बुवा र उनका सात सन्तानको मृत्यु भएको छ।

खान युनुसमा रहेको नासेर अस्पतालले रातभर एउटा घरमा भएको हमलामा मारिएका सात जनाको शव प्राप्त गरेको थियो। उत्तरी गाजामा इन्डोनेसियाली अस्पतालले बेइत लाहियामा एउटा घरमा भएको हमलामा मारिएका सात जनाको शव प्राप्त गरेको बताएको छ। बेइत लाहिया सीमा नजिकको शहर हो।

मेरुङमा भेटियो दुर्लभ रेडपाण्डा

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन् ।

नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवलाई केन्द्रित गरेर यही चैत १ गतेदेखि वन क्षेत्र प्रवेश गरेको टोलीले चौँथो दिन रेडपाण्डा भेटेको हो । रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डासम्बन्धी स्थलगत अध्ययन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईको संयोजकत्वमा एक टोली मेरुङ पुगेका छन् ।

रेडपाण्डालाई दुई हजार सात सय ८१ मिटरको उचाइमा भेटिएको वडाध्यक्ष राईले जानकारी दिए । उनका अनुसार विभिन्न समूहमा विभाजित भएर खोजी गर्ने क्रममा रुखमा सुतिरहेको अवस्थामा रेडपाण्डा भेटिएको हो ।

भेटिएको रेडपाण्डा करिब दुई वर्ष छ महिनाको भाले भएको मेरुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पल्लवसिंह राईले जानकारी दिनुभयो । उनका अनुसार उक्त वनमा करिब पाँच वटा रेडपाण्डा हुनसक्ने अनुमान गरिएको छ ।

आकार र तौलको आधारमा रेडपाण्डालाई पाँच प्रकारमा विभाजन गरिने बताउँदै वनमा पाँचै प्रकारका रेडपाण्डा पाउन सक्ने सम्भावना रहेको रेडपाण्डा हेरालु पुष्पलाल गिरीले बताए । नगरपालिकाको कोप्चेसहित अन्य वनमा पनि रेडपाण्डा भेटिने गरेको स्थानीयले बताउँदै आएका छन् ।

रेडपाण्डाले विशेष गरी मालिङ्गो बाँसको टुसा खान मन पराउने हुनाले मालिङ्गो भएको क्षेत्रमा बढी भेटिने स्थानीय बताउँछन् । रेडपाण्डा खोजीका लागि टोली संयोजक राईसहित महोत्सव संयोजक, दिक्तेल रुपाकोट मझुवागढ–१० का वडाध्यक्ष मुगाधन राई, १२ नं का वडाध्यक्ष दानबहादुर राईलगायत टोली वन क्षेत्रमा पुगेर अनुसन्धान थालेको वन उपभोक्ता समूहका अध्यक्ष राईले उल्लेख गरे ।

“यसअघि क्यामेरा ट्यापमार्फत फेला पर्नु तथा स्थानीयले प्रत्यक्ष भेटिरहेको कुरा सुनाउनुले समेत जिल्लाका केपिलासगढी गाउँपालिकाका फेदीसहित माथिल्लो भेगका वन क्षेत्रमा रेडपाण्डा रहेका पुष्टि हुन्छ”, उनले भने ।

जिल्लामा सामुदायिक वन समूहको सक्रियता तथा वनसम्बन्धी विभिन्न परियोजनाको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन गरिएको छ । विशेषगरी फेदी क्षेत्रका विभिन्न सामुदायिक वन समूहमा आवद्ध स्थानीय रेडपाण्डाको संरक्षण तथा प्रचारप्रसार अभियानमा जुटेका छन् । फेदीवासीले वन क्षेत्रमा रेडपाण्डा संरक्षण तथा प्रचारप्रसारसम्बन्धी होर्डिङ बोर्ड राख्नका साथै फोटो खिचेर उपलब्ध गराउनेलाई नगद पुरस्कार दिने गरेका छन् ।

नगरपालिकाले गर्ने रेडपाण्डा तथा थार महोत्सवले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ थप प्रभावकारी बन्ने र दीर्घकालीन योजना सफल बनाउन मद्दत पुग्ने जनाइएको छ । भ्रमण वर्षअन्तर्गत खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा सङ्घसंस्थाले विभिन्न महोत्सव आयोजना गर्ने योजना अनुरुप दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव गर्ने तयारी गरेको जनाएको हो ।

भ्रमण वर्षको अवसरमा केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उँधैली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने स्थानीय तहहरूले जनाएका छन् । यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । 

महङ्गी नियन्त्रण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महङ्गी नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आम नागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवं प्रयोगमा आउने सामग्रीको सहज र सुलभ आपूर्ति व्यवस्थापनका लागि बजार अनुगमनलाई नियमित रूपमा सञ्चालन गरिएको बताए । 

प्रधानमन्त्री ओलीले दुुर्गम क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिँदै भने, “बजारमा कृत्रिम अभाव सृजना गर्नेलाई कारबाही गर्न बजार अनुगमन समितिलाई सक्रिय बनाइएको छ । यसले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुर्याएको छ । उपभोक्ता अधिकारको संरक्षण एवं न्यायिक निरूपणका लागि भर्खरै उपभोक्ता अदालत स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।” 

‘बढ्दो महङ्गी नियन्त्रण गर’ नारा सधैँ लोकप्रिय हुने, महङ्गी घटिरहेका बेलामा पनि त्यो नारा चाहिँ लोकप्रिय नै रहने उल्लेख गर्दै प्रधानमन्त्रीले यस्ता कुरालाई प्रश्नमार्फत लोकप्रिय बनाउन नहुने बरु तुलनात्मक अध्ययन गरेर नागरिक जीवनमा सहजता ल्याउनपर्नेमा जोड दिए । तुलनात्मक रुपमा अघिल्लो आर्थिक वर्षभन्दा मुद्रास्फीति चालु आवमा कम रहेको उनको अभिमत थियो । 

“चालु आर्थिक वर्षको सात महिनामा औसत  उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ जबकि, अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ५.०१ प्रतिशत थियो”, उनले भने, “चालु आवका लागि सजगतापूर्ण ढङ्गले लचिलो मौद्रिक नीतिमार्फत मुद्रास्फीति घटाउने कार्यदिशालाई निरन्तरता दिइएको छ ।”

सरकारले अनिवार्य नगद अनुपात र बैङ्क दरलाई समायोजन गरिएको जानकारी दिँदै उनले अत्यावश्यक वस्तुहरूको भन्सार दर घटाउने तथा महङ्गीमा प्रत्यक्ष असर गर्ने वस्तुहरूमा कर छुट प्रदान गर्ने नीतिलाई सरकारले निरन्तरता दिने बताए । 

प्रधानमन्त्री ओलीले कृषि उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत ऋण प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने बताउँदै यसबाट खाद्य आपूर्तिमा स्थिरता, कृषि उत्पादनमा वृद्धि, कृषि उत्पादनको आयात व्यवस्थापन साथै मूल्य स्थिरता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले जलनपीडितहरुको उपचार र पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको, तेजाब र अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन, २०७९ ले यस सम्बन्धमा पर्याप्त व्यवस्था गरेको जानकारी दिए । उनले जलनपीडितहरुको उपचार, पुनःस्थापना तथा अधिकार सम्बन्धमा संसद्मा दर्ता भएको निजी विधेयकका प्रावधानका सम्बन्धमा सदन वा सम्बन्धित समितिमा हुने छलफलमा सरकारले आफ्नो धारणा प्रस्तुत गर्ने  बताए । 

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौं ।  उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन् ।

रङ्गशालाको दर्शक दीर्घा निर्माण तथा ‘फ्लड लाइट’ जडानको कार्य निर्धारित समयभित्रै सकेर उदाहरण प्रस्तुत गर्न उनले सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् ।

“यो प्रधानमन्त्रीसहित नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र सिङ्गो देशका क्रिकेटप्रेमीले चासो दिएको कार्य हो । त्यसैले देशमा विकास निर्माण आयोजना समयमै सम्पन्न हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने गरी लाग्नुहोस्,” उपप्रधानमन्त्री सिंहले भने ।

क्रिकेट मैदानमा उपप्रधानमन्त्री सिंहसँगै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले समेत निर्माण कार्यको निरीक्षण गरेका थिए । गत असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट कीर्तिपुरमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउने निर्णय गरिएको थियो । उक्त कार्य सप्रन्न गर्न आगामी वैशाख मसान्तसम्म समयसीमा रहेको छ ।

दर्शक दीर्घा निर्माणका लागि गत फागुन १९ गते ठेक्का लागेको थियो । तीन कम्पनीले प्यारापिट निमार्ण गर्न संयुक्त रूपमा काम पाएका थिए । यस्तै, फ्लडलाइट निर्माणका लागि ‘विसान ईश्वरी जेभी’सँग गत फागुन २२ गते सम्झौता गरी काम थालिएको थियो ।

बाढीपीडितलाई आवासको व्यवस्था गरिने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गत असोजको बाढीबाट प्रभावित भएका वाग्मती तथा कोशी प्रदेशलगायत स्थानका सर्वसाधारणलाई आवासको व्यवस्था गरिने बताएका छन् । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बिहीबारको  ३० औँ बैठकपछि उनले सञ्चारकर्मीमाझ बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विश्लेषण गरी आवश्यकतानुसार स्थायी, अस्थायी आवास निर्माण गरिने बताए । उनले निजी आवास निर्माणमा राज्यका कसरी सहयोग गर्नसक्छ भन्ने निर्णय प्रभावित क्षेत्रको वस्तुस्थितिका आधारमा गरिने जानकारी दिए ।

बैठकमा आगामी दिनमा विपद्बाट हुनसक्ने सबै किसिमका जोखिम नियन्त्रणका लागि पूर्वतयारीमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिइएको तथा सरकोकार भएका सबै निकायबीच समन्वयात्मक ढङ्गले काम हुनुपर्नेमा जोड दिइएको थियो । 

डोटी, अछाम र जाजरकोटमा भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन र पीडितलाई सहयोग तथा पुनर्निर्माणका काममा समन्वय गर्न ती जिल्लामा कार्यालय स्थापना गरेको जानकारी दिँदै मन्त्री लेखकले क्षति विश्लेषण भएका स्थानमा स्थायी आवास निर्माण प्रारम्भ भएको बताए ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, गृहसचिव गोकर्णमणि दुवाडीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

इपीजीको प्रतिवेदन बुझ्ने विषयमा उच्चस्तरको पहल भइरहेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा जाने योजना नभएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुराको भ्रमणमा जाने योजना नरहेको बताएका हुन् ।

बैठकमा राप्रपा सांसद बुद्धिमान तामाङले प्रधानमन्त्रीलाई चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा कहिले जाने भन्दै प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले भने, ‘तत्काल त्यहाँ जाने योजना छैन, कुनै समयमा जान सकिन्छ । माननीयज्यूको जाने योजना छ ?’

इपीजी प्रतिवेदन नेपालले मात्रै बुझेर नहुने बताए । उनले भने, ‘पहिले नै पहिले भारतका प्रधानमन्त्रीले बुझ्ने अनि मात्र नेपालले बुझ्ने समझदारी भएको रहेछ । त्यसैले एक पक्षले मात्र बुझेर हुँदैन । दुई देशको मित्रतमा कहीँ कतै प्रतिकुल असर र अन्याय नहुने गरी सबै समस्याका दीगो समाधानका लागि इपीजी गठन गरिएको हो । यो प्रतिवेदन बुझ्ने सन्दर्भमा उच्चस्तरमा पहल भइरहेको छ । यो समझदारी ढंगले समाधान हुन्छ भन्ने विश्वास छ ।’

यस वर्ष कम्तीमा ५ सय युवालाई स्टार्टअप ऋण सहायता दिन्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको जनाउँदै अहिले संसार ग्लोबल भिलेज बनेकाले व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुची अनुसार विदेश जाने शिलशिला विश्वव्यापी रहेको बताए ।

“देशका युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रुपमा बुझ्नु पनि हुँदैन्, व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ,’, प्रधानमन्त्री ओलीले भने, “हिजो जीवन निर्वाहका लागि सीमित विकल्प थिए, आज त्यो फराकिलो भएको छ । संसारको जुनसुकै कुनामा जान सक्ने छनोटको लाभ हाम्रा युवाहरुले पनि लिएका छन् । यसो भनेर हामी युवाहरुलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा केही कामै नगरी बसेका छैनौं । यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन ।’

मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गरी लगानीमैत्री बनाउन, स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना गर्न तथा आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानूनी सुधारका साथै व्यवसाय मैत्री कानुन बनाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्रीलाई १० सांसदले प्रश्न सोध्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज १० जना सांसदले प्रश्न गर्ने भएका छन् ।

सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्री ओलीलाइ प्रश्न सोध्न १० जना सांसदलाइ समय दिएका छन् ।

‘तर, १० जनाले प्रश्न टिपाउनु भएको छ, तर जवाफ दिइसके पछि स्पष्टीकरण सोध्न भने पाइने छैन् ।’

प्रश्न सोध्ने क्रम सुरू भएको छ । सुरूमा सांसद भगवती चौधरीले प्रश्न गरेकी छिन् ।

लोडसेडिङका बारेमा उर्जा मन्त्री र कुलमानको प्रतिक्रियाले ततायो संसद

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले उर्जा मन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको अभिब्यक्तिले भ्रम फैलाएको भन्दै संसदमा कुरा उठाएका छन् ।

उर्जा, जलस्रोत र सिंचाइ मन्त्री दिपक खड्काले लोडसेडिङ सुरू भएको बताए लगत्तै प्राधिकरणका निर्देशक कुलमान घिसिङले भने लोडसेडिङ नहुने भने पछि ठाकुरले सो बिषय उठाएका हुन् ।

‘उर्जा मन्त्रीले नेपालको लोडसेडिङमा भारतले हटाएको हो भनिरहनु भएको छ, मन्त्रीज्यू भन्नु हुन्छ, लोडसेडिङको सुरू भयो,’ गैरेले भने, ‘तर, कार्यकारी प्रमुख भन्नुहुन्छ, ‘लोडसेडिङमा हुन्न, ढुक्क हुनुहोस् भन्नु हुन्छ, यस खालका गलत र फरक सुचना बन्द गरियोस्, सही तथ्य बाहिर ल्याओस् ।’

सरकारका निकायवाट नै फरक फरक सुचना सम्प्रेषण हुदाँ जनमानसमा अन्यौल बढेको उनको गुनासो छ ।

पूर्वराजाले ‘श्री ५ महाराजधिराज’ र ‘शाही निसान’ प्रयोग गरेकोमा सांसदको आपत्ति

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराजु भनिएको र ‘शाही निसानु प्रयोग गरिएकोमा आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर प्रयोग गरिएको र शाही निसान प्रयोग गरेको देखियो। शाही निसान ०६५ जेठ १७ गते हटाएर राष्ट्रिय झन्डा राखिएको थियो।’

यस्तो अधिकार पूर्वराजा ज्ञानेन्द्रलाई नरहेको उनले बताए ।

नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख छैन । त्यसले श्री ५ महाराजधिराज भन्ने र शाही निसान राख्नेप्रति घोर आपत्ति छ र सरकारले त्यस्ता कार्य नगर्न, संविधान नमिच्नका लागि आग्रह गरोस् ।’

गिरिजाप्रसाद कोइरालाको आज १५औँ स्मृति दिवस

काठमाडौँ । नेपालमा सशस्त्रद्वन्द्वको अन्त्य गरी द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व कोइरालाले गरेका थिए ।

विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए । कोइरालको नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरुप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए ।

आन्दोलन सफल भएपछि कोइराला चौँथो पटक प्रधानमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभाले विसं २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रूपमा सीमित गरेको थियो । कोइरालाकै नेतृत्वमा तत्कालीन माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो ।

उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक बिपी कोइरालाको सपना विसं २०६४ चैत २८ गते पूरा भएको थियो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ ।

पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्रद्वन्द्वरत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो । चार पटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरे ।

पूर्वप्रधानमन्त्री कोइरालाको नेतृत्वमा विसं २०६५ जेठ १५ गते मुलुकबाट दुई सय ४० वर्षको इतिहास बोकेको शाहवंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो । बोलेको कुरा पुर्‍याउने राजनेताका रूपमा स्थापित कोइरालाको विसं २०६६ चैत ७ गते निधन भएको थियो ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १५औँ स्मृति दिवस मनाउँदै छन् । यस अवसरमा आज जिपी कोइराला फाउन्डेसनले उनको स्मृतिमा राजधानीमा कार्यक्रम आयोजना गरेको छ ।

कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस

विराटनगर। कोशी प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । कोशी सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली, २०८१’ लाई स्वीकृति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री भण्डारीले समस्याग्रस्त सहकारी संस्था तथा सङ्घ व्यवस्थापन समितिको सदस्य–सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको बताए । उनका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयका लागि एक करोड २८ लाख ६० हजार रकम बाँडफाँट गर्न स्वीकृति प्रदान गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा एक अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमानित सीमा एक अर्ब १० करोड स्वीकृत गर्ने निर्णय गरेको छ ।

साथै उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि एक करोड ५० लाख बाँटफाँड गर्न स्वीकृत प्रदान गरेको मन्त्री भण्डारीले जानकारी दिए । राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित ‘आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज, २०८१’ पनि आजकै बैठकले स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हटाउन प्रभु साहको माग

काठमाडौँ । सांसद प्रभु साहले प्रतिनिधिसभाको सूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले प्रश्नोत्तर कार्यक्रममा कुनै औचित्य नभएको बताए।

उनले भने, ‘सांसदले सोधेको प्रश्नको जवाफ नै प्रधानमन्त्रीले नदिने भएपछि औचित्यहिन प्रश्नोत्तर कार्यसूचीबाट हटाइयोस्।’

अघिल्लोप्रश्नोत्तर कार्यक्रममा सांसद साहले सोधेको प्रश्न प्रधानमन्त्रीले दिएका थिएनन्।

बिहीबारको प्रतिनिधिसभामा बोल्दै उनले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाए आफूले बैठक बहिस्कार गर्ने चेतावनी दिए ।

प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको हो।

उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यपारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समान मत रहेको थियो ।

प्रधानमन्त्री ओलीले हिमालदेखि समुुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्धामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि आग्रह गरे।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी थिए।