`

बानेश्वर आत्मदाह प्रकरण: उपेन्द्र महतोसँग पनि प्रहरीले लियो बयान

काठमाडौँ – गत मङ्गलवार आफैँमाथि पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्युको घटनामा प्रहरीले गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ।

काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि  आगो लगाई आत्मदाह गरेका आचार्यको परिवारजनले ‘आत्महत्या दुरुत्साहन’को मुद्दामा आरोप लगाएपछि महतोसँग प्रहरीले बयान लिएको हो  ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले व्यवसायी महतोसँग मङ्गलवार बयान लिइएको थियो ।

उहाँका अनुसार आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जालमा लेखेका पत्रका आधारमा प्रहरले व्यवसायी महतो र उनले सञ्चालन गर्दै आएको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेको उल्लेख गरेर रकम निकासी नदिएको उल्लेख गरेका थिए ।

आचार्यले व्यवसायी महतोको कम्पनीले बाँकी बक्यौता दिनुपर्नेमा म्याद ग्रुजेपछि घिउ फिर्ता गरेका कारण ठुलो आर्थिक नोक्सानी बेहोर्नुपरेको उल्लेख गरेपछि प्रहरी महतोसँग बयान लिएको हो ।

आचार्यको मृत्युपछि उहाँकी श्रीमतीले आर्थिक कारोबार जोडिएका व्यापारिक संस्था र तिनका प्रतिनिधिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छिन ।

सो किटानी जाहेरीमा विभिन्न व्यापारिक समूहका तथा सञ्चालक गरी १२ जनाविरुद्ध उजुरी परे पछि प्रहरीले धमाधम बयान लिन सुरु गरेको हो । सो क्रममा सोमबार भाटभटेनी सुपर मार्केट्सका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिइएको थियो।

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ः०० बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभा आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा सभामुखले पढेर सुनाउनुहुने छ ।

त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधिसभा नियमावली,  बमोजिम गराउनुहुने  सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्को महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिवराजले स्वीकारे निहारिका र बच्चा, अदालतमा गरे मिलापत्र

काठमाडौं – ‘कुमारी आमा’ का रुपमा प्रचारित निहारिका राजपुत र उनले ‘बलात्कारी’ आरोप लगाएका शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ । उनीहरु  एक-अर्कालाई श्रीमान-श्रीमतीका रुपमा स्वीकारेर सँगै मिलेर बस्न तयार भएका हुन्।

निहारिकाले शिवराजबाट बलात्कृत भएको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । तर, सो मुद्दामा अदालतले शिवराजलाई सफाइ दिएको थियो ।

त्यसपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् । उक्त पुनरावेदनको फैसला नआउँदै सोमबार धनुषा जिल्ला अदालतले उनीहरुबीच मेलमिलाप गराइदिएको हो ।

उच्च अदालतको आदेशमा निहारिकाको बच्चा र शिवराजको डीएनए टेस्ट गराइएको थियो । उनीहरुको डीएचए म्याच भए पनि बलात्कार प्रमाणित हुने आधारहरु भने कम थिए । उच्च अदालतमा मुद्दाको पेशी आगामी २५ गतेलाई तोकिएको छ ।

स्रोतका अनुसार मिलापत्रपछि निहारिका र शिवराज दुवै खुशी छन् । शिवराजको परिवारले पनि निहारिकालाई स्वीकार्ने भएको छ । उनीहरु एउटै छानोमा भने बस्न थालिसकेका छैनन् ।

सन्दीप लामिछाने मुद्दा प्रकरण : उच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च पुगे सरकारी वकिल

काठमाडाैँ – महान्यायाधिवक्ता कार्यालय क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत गएको छ ।

उच्च अदालतको आदेश बदर गरी पाऊँ भन्दै महान्यायिवक्ताको कार्यालयले निवेदन दिएको छ।

साथै सन्दीपलाई थुनामै राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग गर्दै आज (मंगलबार) महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च गएको हो।

नाबालिगमाथि बलात्कारको मुद्दामा उच्च अदात पाटनले २० लाख रुपैयाँमा सन्दीपलाई धरौटीमा छाडेको थियो। तर काठमाडौं जिल्ला अदालतमा भने उनको मुद्दा विचाराधीन अवस्थामै छ।

रास्वपा सभापति लामिछानेको राहदानीविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न मानेनन्

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

प्रहरी स्रोतका अनुसार रविकाे नागरिकता विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको हो।

खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै युवराज पौडेल (सफल) मंगलबार दिउँसाे जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए।

उनले नेपाल नागरिकता ऐन २०६३ को दफा १०(१)अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर रविले अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन, २०४९ को दफा ५ बिपरितको दण्डनीय कार्य गरेको भन्दै अध्यागमन ऐन, २०४९ को दफा १० बमोजिम कारबाहीको माग गरेका थिए।

गृहमन्त्रालय दिने प्रचण्डको आनाकानी पश्चात केपी ओली भेट्न बालकोट पुगे रवि

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय दिन आनाकानी गरेपछि लामिछाने परामर्शका लागि  बालकाेट जानुभएकाे हाे ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएका सभापति लामिछानेले दिउँसो ओलीसँग छलफल गर्नुभएकाे हाे ।

नागरिकको स्वास्थ्यको सवालमा गम्भीर भएर कार्यसम्पादन गर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नागरिकको स्वास्थ्यको सवालमा गम्भीर भएर कार्यसम्पादन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ ।
मंगलबार विभागको अनुगमनपछि आयोजित कार्यक्रममा मन्त्री गिरिले जनशक्ति वा पूर्वाधार कुनै पनि बहानामा नागरिकको स्वास्थ्यको सवालमा खेलबाड नगर्न र गम्भीर भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।
उहाँले प्रभावकारी कार्यसम्पादनमा मन्त्रालयको तर्फबाट विभागलाई पूर्ण समर्थन हुने पनि बताउनुभयो । त्यस्तै मन्त्री गिरीले खुल्ला नाकाका कारण भारतबाट भित्रिएका औषधीहरू खुलेआम बिक्री वितरण भइरहेकाले निगरानी बढाउनुपर्ने धारणा राख्नुभयो । औषधी बिक्री वितरणको अनुगमन प्रभावकारी नहुँदा समस्या देखिने भएकाले सबै प्रदेशमा कार्यालय स्थापना गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
मन्त्री गिरीले औषधि विभागको क्षमता वृद्धि गर्नुपर्ने र विपन्न नागरिकले समेत राहत महसुस गर्ने गरी काम गर्नुपर्ने पनि बताउनुभयो ।

अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानूनी र व्यवहारिक सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवद्र्र्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको रहेको जानकारी दिँदै उनले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने सरकारले नीति लिइने प्रधानमन्त्रीको भनाइ छ ।

सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यवसायिक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले  पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिने बताए ।

पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बिमाको व्यवस्था गरिने जानकारी दिएका उनले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचना हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने बताए ।

नेपाल टेलिभिजनले बहुभाषिक, बहुसांस्कृतिक यथार्थ र चरित्रलाई समेत गहिरो गरी आत्मसात गरेको बताउँदै उनले सत्य, तथ्य, निष्पक्ष र आधिकारिक सूचना, समाचार र सामग्रीलाई नेपालभित्र बोलिने मातृभाषाका माध्यमद्वारा सूचनाको पहुँच आम जनतासम्म पु¥याउन टेलिभिजनले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।

‘नेपाल टेलिभिजन नेपाल सरकार र नेपाली जनताको आधिकारिक सूचना र समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम हुनुको नाताले यसले राज्यप्रतिको जिम्मेवारी र नागरिकप्रतिको जवाफदेहितामा आफूलाई अविचलित रूपमा प्रमाणित गरेको छ । राजनीतिक प्रणाली र राज्यको चरित्रमा आएको परिवर्तनअनुरूप टेलिभिजनले पनि आफूलाई परिमार्जन र रूपान्तरण गर्दै अगाडि बढेको तथ्यले टेलिभिजनको भूमिका र महत्वलाई थप प्रमाणित गर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नयाँ संविधान निर्माणसँगै मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएपश्चात् टेलिभिजनले आफ्नो विषयवस्तुको विविधता बिस्तार गरेको छ । कोहलपुर र इटहरीमा प्रादेशिक च्यानल सञ्चालन भइरहेको छ । प्रादेशिक च्यानल बिस्तारको कार्यलाई टेलिभिजनले थप उचाइका साथ आवश्यकता र प्राथमिकताका आधारमा निरन्तरता दिनेछ भन्ने विश्वास लिएको छु । काठमाडौंबाट प्रसारण हुने टेलिभिजनले सबै वर्ग, जाति, लिंग, क्षेत्र र समुदायको इतिहास, भाषा, संस्कृति र आवाज मुखरित गरेको छ । यसरी हेर्दा देशका सबै वर्ग र समुदायले नेपाल टेलिभिजनभित्र आफ्नो अनुहार देख्न सक्छन्, अपनत्वभावको अनुभूति गर्न सक्छन् भन्ने तथ्य स्थापित भएको छ ।’

सरकारलाई रास्वपाको चेतावनी : आज साँझसम्म गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिन्छौँ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले आज साँझसम्म गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने चेतावनी दिनुभएको हो ।

रवि लामिछाने निकट स्रोतका अनुसार साँझसम्म प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेलाई गृह मन्त्रालय दिने निर्णय नगरे सरकारबाट बाहिरिने चेतावनी दिनुभएको थियो । प्रधानमन्त्रीले साँझसम्म निर्णय नलिए सरकारी निवास पनि आजै छाड्ने तयारी रहेको स्रोतले बतायो ।

प्रदेश नं १ मा एमालेको दौडधुप को बन्लान् त इन्चार्ज ?

विराटनगर – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नं १ का इन्चार्ज देवराज घिमिरे सभामुखमा निर्वाचित भएपछि रिक्त भएको इन्चार्जको पद हत्याउन नेताहरूले लबिङ तीव्र पारेका छन् ।

एमालेको १० औँ महाधिवेशनपछि घिमिरेलाई प्रदेश नं १ को इन्चार्जको जिम्मेवारी दिइएको थियो । पदीय जिम्मेवारीका कारण घिमिरेले पार्टीका सबै पदबाट राजीनामा गरेपछि प्रदेश नं १ को भूगोलमा रहेका ६ जना नेताहरूले आफू इन्चार्ज हुन पाउनु पर्ने भन्दै नेताहरूसँग लबिङ बढाएका हुन् ।

प्रदेश नं १ मा रहेका ९ जना स्थायी कमिटी सदस्य मध्ये हिक्मत कार्की मुख्यमन्त्री र अग्नि खरेल झापा जिल्ला इन्चार्ज हुनुहुन्छ । हालका प्रदेश सहइन्चार्ज मध्ये विनोद ढकाल र जीवन घिमिरे पोलिटब्युरो सदस्य हुन् । उहाँहरू दुवै जनाको दाबी नपुग्ने पार्टी नेताहरू बत्ताउँछन् ।

राष्ट्रपतिको निर्वाचनभन्दा अघि बस्ने एमाले सचिवालयको बैठकले नेताहरूको जिम्मेवारी व्यापक रूपमा हेरफेर गर्ने तयारी छ । सोही क्रममा प्रदेश १ को इन्चार्जमा पनि नयाँ नेतालाई पठाउने तयारी पार्टी नेतृत्वले गरेको छ ।  इन्चार्जको दौडमा गुरु बराल, भानुभक्त ढकाल, राजेन्द्र गौतम, शेरधन राई, शिवमाया तुम्बाहाम्फे  छन् ।

गुरु बरालले आफू पुरानो र प्रदेश नं १ को भूगोललाई नै केन्द्रित गरेर राजनीति गरेकोले उक्त पद आफूले पाउनु पर्ने दाबी पेस गर्दै आउनु भएको छ । अर्का नेता शेरधन राई आफू पूर्व मुख्यमन्त्री समेत भइसकेकोले पार्टीलाई मिलाएर लैजान र संगठन विस्तार गर्न सहज हुने दाबी गर्दै आउनुभएको छ । जनसंगठन सञ्चालन संयन्त्रका संयोजक भानुभक्त ढकाल अर्का सशक्त दावेदार हुनुुहुन्छ ।

प्रदेश नं १ कै बासिन्दा भएपनि काठमाडौं केन्द्रित भएर बढी काम गरेकोले आफूलाई भूगोलमा गएर पार्टीको काम गर्न इच्छा भएको ढकालले नेतृत्वसँग भन्दै आउनुभएको छ । भूगोलको जिम्मेवारी पाएमा आफ्नो निर्वाचन क्षेत्र मोरङ ३ मा पनि पार्टीको पकड बढाउन सकिने ढकालको योजना छ । तर खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री भएपछि उक्त संगठन विभागको प्रमुख रिक्त गराएर आफूले उक्त विभागको नेतृत्व लिन चाहेको पनि ढकालले निकटस्थलाई बताउँदै आउनुभएको छ ।

अर्का दाबेदार राजेन्द्र गौतम हुनुहुन्छ । प्रदेश सहइन्चार्ज र संखुवासभाको समेत इन्चार्ज गौतम आफू पुरानो नेता भएको र पछिल्लो पाँच वर्षमा कुनै पनि राजकीय जिम्मेवारी प्राप्त नगरेकोले अब प्रदेश १ को इन्चार्ज पद आफूले पाउनु पर्ने दाबी गर्दै आउनुभएको छ ।

पार्टीको कानुन विभाग प्रमुख शिवमाया तुम्बाहाम्फेले पनि इन्चार्जको लागि सशक्त दाबी गर्दै आउनुभएको छ । महिलाले पनि प्रदेशको इन्चार्ज सीप कुशलतापूर्वक चलाउन सक्छन् भन्ने देखाउन आफूले त्यो पदमा दाबी गरेको उहाँको भनाइ छ । पूर्व मुख्यमन्त्री भीम आचार्य पनि भित्रभित्रै प्रदेशको इन्चार्ज आफूले पाउनु पर्ने भन्दै नेताहरूसँग लबिङमा हुनुहुन्छ । पार्टीका कतिपय नेताहरू चाहिँ सचिव योगेश भट्टराईलाई प्रदेश नं १ को इन्चार्ज बनाएर भूगोलमा खटाउनु पर्ने लबिङ गर्दै आएका छन् ।

माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक मंगलबार पनि बस्दैछ ।

सोमबारबाट सुरू भएको पदाधिकारी बैठक मंगलबार पनि बस्न लागेको हो । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड र रास्वपा पार्टीका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्रीबाट राजीनामा दिएका लामिछाने पुनः सोही पदमा फर्कनका लागि प्रधानमन्त्रीलाई भेटिरहनुभएको छ ।

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

काठमाडौं – सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गरी अगाडि बढाउने समझदारी भएको छ ।

मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकोमा सरोकारवाला पक्षले नेपाल सरकारको ध्यानाकर्षण गराएपछि सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सरोकारवाला पक्षसँग छलफल गरिएको थियो ।

छलफलका क्रममा सूचना वर्गीकरण गर्दा नेपालको संविधान र सूचनाको हक सम्बन्धि प्रचलित कानुनको प्रतिकूल हुन नहुने र वास्तविक सूचना प्रवाहित गर्दा राजनीतिक प्रणाली र लोकतन्त्र बलियो हुनेमा सरोकार पक्षले सरकारको ध्यानाकर्षण गराएका छन् ।

छलफलमा नेपाल सरकारका मुख्यसचिव एवं समितिका संयोजक शंकरदास बैरागीले आफूहरुले सूचनाको हक कुण्ठित गर्न नभएर सूचना व्यवस्थित गर्न वर्गीकरणको प्रस्ताव अगाडि सारेको बताए । उनले सरोकार पक्षको मागलाई समेत ध्यानमा राखेर प्रस्ताव परिमार्जन गरिने प्रतिवद्धता व्यक्त गरे ।

छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले लोकतान्त्रिक प्रणालीमा जनतालाई शक्तिशाली बनाउन सूचनाको हकको व्यवस्था गरिएकाले वर्गीकरणको प्रस्ताव फिर्ता लिएर नयाँ ढंगले छलफल गर्न नेपाल सरकारसँग आग्रह गरे ।

छलफलका क्रममा सरकारका प्रतिनिधि र सञ्चार क्षेत्रका प्रतिनिधिहरुबिच अहिले अगाडि बढाएको प्रस्तावलाई फिर्ता गरी सरोकारवाला पक्षसँगको समझदारीमा नयाँ प्रस्ताव लैजाने समझदारी भएको छ ।

मुख्यसचिवको अध्यक्षमा भएको अनौपचारिक छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सचिव, पत्रकार महासंघका प्रतिनिधिहरु र प्रधानमन्त्रीको प्रेस टिमका प्रतिनिधिहरु लगायत उपस्थित थियो ।

सरकारी विभेदविरुद्ध उद्योगी व्यवसायीहरूले गरे काठमाडौँमा प्रदर्शन

काठमाडौँ / सरकारले आफूहरूप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अगुवाइमा व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार गरिएको र वित्तीय संस्थाहरूले आतङ्क विरुद्ध व्यवसायीहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले व्यावसायिक वातावरण तयार गर, ब्याजदर घटाउ, गरी खान देऊ, उद्योग व्यापार बचाऊँ, राष्ट्रिय अर्थतन्त्र उठाऊ, बैङ्किङ आतङ्क बन्द गर, बैङ्किङ ब्याजदर १ अङ्कमा ल्याऊ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरूले सहज रूपमा उद्योग र व्यवसायी सञ्चालन गर्नका लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उच्च ब्याजदरका कारण बैङ्कहरू सधैँ नाफामा हुने तर आफूहरू भने सधैँ घाटामा गएको गुनासो उनीहरूले गरेका छन् ।

“राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमति खोज्नु हो” : महासचिव पोखरेल

मोरङ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको बताउनु भयो ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भयो । उहाँले सरकार सञ्चालन गर्न पनि सात राजनीतिक दलको साझा नीति र कार्यक्रमबाट हुने बताउनुभएको छ ।

“राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमति खोज्नु हो”, महासचिव पोखरेलले भन्नुभयो । केन्द्र र सातवटै प्रदेशमा सत्तापक्षको बहुमत रहेकाले राष्ट्रपतिमा सत्तापक्षको उम्मदेवार विजयी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर राज्यको प्रमुख दाबी गर्न नमिल्ने बताउनुभयो ।

मन्त्रीपरिषदको बैठक आज दिउँसो बस्ने

काठमाडौं – मन्त्रीपरिषदको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्ने भएको हो ।

आज बस्ने मन्त्रीपरिषदको नियमित बैठक भएकाले सो बैठकमा राष्टपति निर्वाचनका वारेमा छलफल हुने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री दाहाल र अमेरिकी उप-विदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी उप-विदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा  नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

विदेशमन्त्री नुल्यान्डले आजै एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री विमला राई पौड्याल लगायतका नेता तथा उच्चपदस्थ सरकारी अधिकारीसँग  भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारका पूर्वसचिव शरद्चन्द्र पौडेलको संयोजकत्वमा सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन गरेको छ ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयारीका लागि सो कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियर क्याम्पसका डा पदमबहादुर शाही, आइटी इन्जिनियर विजय पौडेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष वा प्रतिनिधि र यातायात व्यवस्था विभागका महानिर्देशक सदस्यसचिव रहनुभएको छ । उक्त कार्यदलले सवारी प्रदुषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्नेछ ।

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राख्नुभएको थियो । काठमाडौँका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

इलाका प्रहरी कार्यालयको भित्ता भत्काएर हिरासतबाट ६ अभियुक्त फरार

काठमाडौँ – धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन्।

आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका हुन् ।

धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार  लागू औषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोशन यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोशन महतो र शङ्कर सिंह फरार भएका छन् ।

फरार अभियुक्तहरूको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

सुन्दरवजार नगरपालिकाद्धारा ६ महिनाको अवधिमा ५० लाख वढी राजश्व संकल

लमजुङ – लमजुङको सुन्दरवजार नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा ५० लाखभन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि पुस मसान्तसम्म नगरपालिकाको आन्तरिक आयतर्फ विभिन्न शिर्षकमा ५० लाख ३१ हजार ४ सय ३६ रुपैयाँ राजश्व संकलन भएको हो ।

जसमध्ये सम्पत्ति कर १७ लाख ६१ हजार ५ सय ७६ रुपैयाँ र नक्सापास दस्तुर बापत १० लाख ५७ हजार २ सय २५ रुपैयाँ संकलन भएको छ ।

ढुंगा गिट्टी, बालुवा शिर्षकमा मात्र चालु वर्ष २० लाखको राजश्व संकलनको लक्ष्य लिइएको नगरपालिकाले ६ महिनाको अवधिमा २ लाख १७ हजार आम्दानी गरेको छ ।

यसैगरी सिफारिस दस्तुर ८ लाख ७६ हजार ३ सय, घरवहाल कर ७ लाख ८६ हजार ४ सय ९३, व्यवसाय कर तथा रजिष्ट्रेसन दस्तुर ६४ हजार ९ सय, व्यक्तिगत घटना दर्ता दस्तुर ९७ हजार ८ सय ७० रुपैयाँ संकलन भएको छ । सो वाहेक परीक्षा शुल्क ४५ हजार ५ सय अन्य प्रशासनिक सेवा शुल्कतर्फ ६ हजार ३ सय, दण्ड/जरिवाना र जफत शिर्षकमा १० हजार राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

विभिन्न १२ शिर्षकलाई आम्दानीको मुख्य श्रोत मानेको नगरपालिकाले चालु वर्षमा १ करोड ५० लाख राजश्व संकलनको अनुमानित लक्ष्य लिएको छ ।

चालु वर्षको आधाआधी समयमा करिव ३४ प्रतिशत राजश्व संकलन भएकाले बाँकी समयमा नगरपालिकाले आफ्नो लक्ष्य भेट्ने संभावना भने न्युन देखिएको छ ।

राजश्व संकलनमा अनुमानित लक्ष्य प्राप्तीको लागि व्यवसाय कर, घरवहाल कर एवम् दहत्तर बहत्तरबाट उठ्ने राजश्व संकलनमा जोड दिइने नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा १ करोड १० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा १ करोड २३ लाख ६४ हजार २१ रुपैयाँ २३ पैसा राजश्व संकलन गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।

गृहमन्त्रीमा रवि लामिछानेलाई तत्काल पुनर्वाहली गर्न प्रधानमन्त्री प्रचण्डलाई एमालको दबाब

काठमाडौँ – रवि लामिछानेलाई तत्काल गृहमन्त्रीमा पुनर्वाहली गर्न एमालले दबाब दिएको छ । नागरिकता विवादका कारण उपप्रधानमन्त्रीसहित गृहमन्त्री पद गुमाउनुभएका लामिछानेलाई तत्काल पुनर्वाहली गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको हाे ।

प्रधानमन्त्री प्रचण्डलाई फोन नै गरेर अध्यक्ष ओलीले तत्काल पुनर्वाहली गर्न आग्रह गर्नुभएको बालकोट उच्च स्त्रोतले जनायो ।

एमाले महासचिव पोखरेलले त सार्वजनिक रुपमै रवि लामिछानेलाई फसाउने षड्यन्त्र रहेको अभिव्यत्ति दिनुभएको छ ।

उहाँले अदालतको फैसलामाथि प्रश्न उठाउँदै पीआर र ग्रीनकार्ड त्यागेर नेपाल आउने नागरिकलाई फेरि नागरिकता लिने अर्को व्यवस्था नभएको बताउनुभएको छ । तर,प्रधानमन्त्री प्रचण्डले भने रवि लामिछानेलाई पुनर्वाहली गर्न नचाहेको प्रधानमन्त्री निकट स्त्रोतले बतायो । माओवादीले रविलाई गृहमन्त्री नबनाए आफै गृहमन्त्री लिने तयारी गरेको उच्च स्त्राेतकाे दाबी छ ।

प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न  अध्यक्ष ओली बालुवाटार पुग्नुभएकाे हाे ।  प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी छ ।

रवि लामिछाने पदमुक्त भएसँगै रिक्त गृहमन्त्रालय र नयाँ मन्त्रीको खोजी, राष्ट्रपति-उपराष्ट्रपति चुनावलगायत समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित भएको बालुवाटार स्रोतले जनाएको छ ।

रास्वपाले गृहमन्त्रालयको दाबी आफूले नछाड्ने बताइरहेको छ भने गृह रास्वपालाई दिन गठबन्धनमा सहमति भने भइसकेको छैन । गठबन्धनको प्रमुख घटक माओवादी गृह रास्वपालाई दिन नहुने पक्षमा उभिएको छ । तर अध्यक्ष ओलीले रविलाई नै पुनर्वाहली गर्नुपर्ने अडान राख्नुभएकाे बालकाेट स्त्राेतले बतायाे ।

क्यानका सदस्यहरूले मागे कार्यसम्पादन समितिको राजीनामा

काठमाडौं – नेपाल टी– २० लिगमा स्पट फिक्सिङ भएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) का सात जना सदस्यहरूले कार्य सम्पादन समितिको राजीनामा माग गरेका छन् ।

संघका सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गरी नेपाल क्रिकेट संघ –क्यान) ले नेपाल टी–२० लिगका लागि स्ट्राटेजिक एन्ड कमर्सियल पार्टनर एन्ड एड्भाइजर राइट्स (रणनीतिक र व्यावसायिक साझेदार र सल्लाहकार अधिकार) रूपमा भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँग आठ वर्षको सम्झौता गर्ने बेलादेखि नै आफूहरूले प्रश्न उठाएको बताउनुभएको छ ।

भारतीय कम्पनीको पृष्ठभूमि शंकास्पद देखिएको तथा सम्झौता गर्नुअघि ग्लोबल टेन्डरमार्फत गर्नु पर्नेमा त्यसो नगरिएको उहाँहरुको भनाइ छ । जसका कारण लिगको विषयमा पटक पटक नोट अफ डिसेन्ट समेत लेखेको उहाँहरूले स्मरण गराउनुभएको छ । उक्त सम्झौता खेलकुद विकास ऐन २०७७ विपरीत भएको क्यान नेतृत्वलाई बारम्बार सचेत गराएको उहाँहरूले प्रेस विज्ञप्ति  मार्फत जानकारी गराउनुभएको छ । ‘आज आएर राष्ट्रिय खेलकुद परिषद्को कार्यदलले सम्झौता ऐन विपरीत भएको ठहर गरिसकेको छ’, विज्ञप्तिमा लेखिएको छ ।

नेतृत्वले जबरजस्ती भारतीय कम्पनीसँगको सम्झौता बोर्ड बैठक तथा साधारण सभाबाट अनुमोदन गरेको उहाँहरुको आरोप छ । भारतीय कम्पनीको शंकास्पद पृष्ठभूमि र उसको नियतमाथि हामीले जुन आशङ्का गरिएको थियो  आज सो आशङ्का सही साबित भएको उहाँहरूले बताउनुभएको छ ।

टी–२० लिगको आयोजनाको सम्पूर्ण जिम्मेवारी लिएको भारतीय कम्पनीका प्रमुख जतिन अहलुवालिया लिग चल्दै गर्दा नेपाल छाडेर भारत भागेको उहाँहरूले बताउनुभएको छ । ‘खेलाडीले समयमै पारिश्रमिक पाउन सकेनन्, अर्को स्तब्धपूर्ण कुरा लिगका दौरान स्पट फिक्सिङ भएको आशङ्का गरियो, अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिगमा स्पट फिक्सिङ्ग भएको तथ्य सार्वजनिक गरेको छ’, विज्ञप्तिमा लेखिएको छ ।

क्यानसँग सम्झौता गरेको कम्पनीकै प्रमुखको स्पट फिक्सिङ्गमा संलग्नता हुन दुःखद पक्ष भएको उहाँहरूले बताउनुभएको छ । साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्यान नेतृत्व भएको उहाँहरुको ठहर छ । ‘त्यसमा पनि महत्त्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समिति नै प्रमुख दोषी हो’, जारी विज्ञप्तिमा उल्लेख छ ।

गत बिहीबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंहले पत्रकार सम्मेलन गर्दै नेपाल टी -२० लिग सञ्चलनमा गल्ती भएको स्वीकार गर्नु भएको उहाँहरूले स्मरण गराउनुभएको छ । ‘हामीले हिजो गल्ती हुन सक्छ भन्दै सचेत गराएका थियौँ, आज आएर उहाँले त्यो गल्ती स्वीकार गर्नु भएको छ, त्यसैले उहाँहरूले जानाजान गल्ती गर्नु भएको हो, हामीले पटक पटक सचेत गराएका थियौँ, तर उहाँहरूले जबरजस्ती निर्णय गर्नु भयो, यसले नेपाल क्रिकेट मानमर्दन भएको छ’, संयुक्त विज्ञप्तिमा लेखिएको छ ।

पटक पटक सचेत गराउँदाका बाबजुद त्यही कम्पनीलाई नेपाली क्रिकेट सुम्पिने हठ गर्ने नेतृत्व अहिले आएर माफी मागेको भरमा पन्छिन नमिल्ने उहाँहरुको भनाइ छ । सरोकारवाला निकायलाई पनि नेपाली क्रिकेटलाई बेटिङ्ग र फिक्सिङ्गको उर्वर भूमिका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा बदनाम गराउनेहरूलाई उन्मुक्ति दिन छुट नरहेको उहाँहरुको भनाइ छ ।

क्यान नेतृत्वले जानाजान गरेको गल्तीले नेपाली खेलाडी प्रहरी नियन्त्रणमा हतकडी सहित देखिनु अर्को दुखद पक्ष भएको उहाँहरुको भनाइ छ ।  यस्तो अवस्थामा कार्य सम्पादन समितिले राजीनामा गर्नुपर्ने उहाँहरुको माग छ ।  ‘कार्यसम्पादन समितिमा रहेका चतुरबहादुर चन्द, प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ । हामी केन्द्रीय सदस्यहरू उहाँहरुको राजीनामा जोडदार रूपमा माग गर्दछौँ’, विज्ञप्तिमा लेखिएको छ ।

उहाँहरूले नेपाल क्रिकेट सङ्घलाई होइन कार्यसम्पादन समितिमा रहेका पाँच जनालाई निलम्बन गरी कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । यस्तै नेपाल टी २० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्त विक्रम मल्ल, सदस्यहरू दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्रीका जतिन अहलुवालिया पनि दोषी भएको उहाँहरुको  ठम्याइ छ । त्यसैले गभर्निङ काउन्सिल पनि कारबाहीको दायरामा आउनु उहाँहरुको माग छ ।

विज्ञप्तिमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले हस्ताक्षर गर्नुभएको छ ।

सत्ता समीकरण बिथोल्न रविलाई मुद्दा हालियो : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालेकाे बताउनुभएकाे छ ।

एमाले महासचिव पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर निःवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताउनुभएकाे हाे । आइतबार सन्चारकरमीसँग कुराकानी गर्दै उहाँले लामिछानेको नागरिकता प्रकरणले सत्ता समिकरणमा फेरबदल नहुने स्पष्ट पार्नुभयाे।

उहाँले राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरुका कारण नबिथोलिने भन्दै समस्याहरुको समाधान गरिने बताउनुभयाे। उहाँले विगतमा पिआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरु नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएका आम अभ्यास रहेको भए पनि कसैले प्रश्न नउठाएको बताउनुभयाे।

उहाँले भन्नुभयाे–‘सामान्यतया अभ्यासमा के हुनेगर्छ भन्ने कुरालाई उहाँले आम अभ्यासलाई रवि लामिछानेले प्रयोगमा ल्याउनु भयो। आम अभ्यासमा जे भइराखेको छ त्यही अभ्यासमा उहाँ हिड्न खोज्नुभयो। तर अदालतले चाहीँ भाषालाई समात्यो। मुद्दा परिसकेपछि अदालतले भाषालाई समाउने कुरा चाहीँ स्वभाविक पनि होला। तर नेपालका सन्दर्भमा भन्ने हो भने थुप्रै व्यक्तिहरु पिआर लिएर विदेशमा बसेकाहरु फर्केर आउँदाखेरी स्वतः नेपाली नागरिक भएका छन्। कसैले प्रश्न उठाएको छ र?’

महासचिव पोखरेलले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक रहेको टिप्पणी गर्नुभयाे।

उहाँले अदालतमा त्यस्तै प्रकृतिका मुद्दाहरुको निरुपण गर्न उदासिन हुने र प्रक्रिया नै अगाडी नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरुको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने बताउनुभयाे।

उहाँले प्रधानन्यायाधीशको महाअभियोग प्रकरणका सन्दर्भमा संसदले लेखेको पत्रका बारेमा सर्वोच्चले देखाएको सक्रियता भने अस्वभाविक रहेको उल्लेख गर्नुभयाे। उहाँले आफूहरुले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने बताउनुभयाे।

क्रिकेटर लामिछानेलाई थुनामा राख्ननुपर्ने माग गर्दै सरकारी वकिल सर्वाेच्चमा

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर अनुसन्धानात्मक कार्य अघि बढाउन महान्यायाधीवक्ता कार्यालयले माग गरेको छ ।

उनीविरुद्धको नाबालिग बलात्कारको मुद्दा प्रक्रिया अगाडि बढाउन माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

उच्च अदालतको पुस २८ गतेको आदेशले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी गरेको आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको प्रवक्ता सञ्जिवराज रेग्मीले बताए ।

उनका अनुसार गत बिहीबार नै महान्यायाधीवक्ताको कार्यालयले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने निर्णय गरेको हो ।

’ढिलोमा भोलि (सोमबार)सम्म सर्वोच्चमा हाम्रो निवेदन दर्ता भइसक्छ,’ उनले भने । केन्यामा भएको क्रिकेट म्याच खेल्न जानुअघि नाबालिगलाई तिलगंगास्थित एक होटलमा लगेर बलात्कार गरेको लामिछानेमाथि अभियोग छ । उक्त अभियोग लागेपछि लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हटाइएको थियो ।

अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनको कार्ययोजना तयार

काठमाडौं / अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुमगन मूल्यांकन सूचक उल्लेख छ ।

कार्ययोजनामा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि राजस्व सङ्कलनमा प्रभावकारिता ल्याउने, राजस्व प्रणालीलाई थप प्रगतिशिल बनाउने, राजस्वको दर हेरफेर गर्दा व्यावसायिक तटस्थता कायम गर्ने, राजस्व चुहावटलाई नियन्त्रण गर्ने उल्लेख छ ।

साथै देशको आर्थिक वृद्धि र आर्थिक स्थायित्व कायम हुने गरी वित्त नीति र मौद्रिक नीति तर्जुमा गर्ने, खर्च कटौतीसम्बन्धी आवश्यक निर्णय गर्ने, अत्यावश्यकबाहेकका संरचना निर्माणका लागि सङ्गठन र व्यवस्थापन सर्वेक्षणमा सहमति प्रदान गर्ने उल्लेख छ ।

अधुरा र विगतदेखिनै अलपत्र परेका आयोजनाको पहिचान गरी सोको सञ्चालनका लागि आवश्यक योजनासहित सम्बन्धित निकायबाट प्रस्ताव पेश आएमा आवश्यकता र औचित्वका आधारमा स्रोतको व्यवस्था गर्ने, वैदेशिक लगानीमा आउने उचारचढाव व्यवस्थापन गर्ने हेजिङ सेवाको प्रकृया सुरु गर्ने उल्लेख छ ।

कार्ययोजनामा विदेशी विनिमय, राजस्व नीति, सरकारी अनुदान, बैंक कर्जा नीतिमा परिमार्जन नगर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप वित्तीय लगानी निवारण सम्बन्धमा भएको स्वमूल्यांकन प्रतिवेदन एवं अन्य प्रतिवेदनबाट प्राप्त सुझावका आधारमा मन्त्रालयका निकायमा आवश्यक सुधार गर्ने व्यवस्था राखिएको छ ।

आगामी पाँच वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार गर्ने, तीन तहका सरकारबीच नीतिगत समन्वय कायम गर्ने, भन्सार दरमा पुनरावलोकन गर्ने, बन्द सरकारी संस्थान गर्ने सम्बन्धमा अध्ययन गरी पुनःसञ्चालनमा ल्याउने व्यवस्था अघि बढाउने उल्लेख छ । साथै बीमा क्षेत्रमा नीतिगत, संरचनागत सुधार गर्ने, धितोपत्रसम्बन्धी कानुनमा सुधार गर्ने, धितोपत्र दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप पारदर्शी एवं प्रतिष्पर्धी बनाउने उल्लेख छ ।

कार्ययोजनामा वस्तु विनिमय बजार र यसका पूर्वाधारहरु सञ्चालनमा ल्याउने, साना तथा मझौला कम्पनीहरुलाई आवश्यक हुने पुँजी परिचालनमा सहयोग गर्ने, वित्तीय क्षेत्रमा सुधार गर्नेलगायत पनि नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ ।

त्यस अतिरिक्त सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनको कार्ययोजनाको अतिरिक्त अर्थमन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालले २०७९ पुस १९ गते नेपाल सरकारका सचिवहरुलाई दिनु भएको निर्देशन अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित बुँदाहरुको कार्यान्वयन कार्ययोजना पनि तयार पारी कार्यान्वयनमा ल्याएको छ ।

कार्ययोजनामा रुपान्तरणकारी र राष्ट्रिय योजनाका लागि विनियोजित बजेट अभाव हुन नदिने, रुपान्तरणकारी र राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रकमबाट अन्य कार्यक्रममा रकामान्तर तथा कार्यक्रम संशोधन नगर्ने उल्लेख छ । आन्तरिक राजस्व विभाग र भन्सार विभागले लक्ष्यअनुसार राजस्व परिचालन गर्ने र त्यसका लागि नीतिगत सुधार गर्ने पनि उल्लेख छ ।

यस्तै निजी क्षेत्रलाई विश्वासमा लिने गरी अर्थतन्त्रमा वर्तमानमा देखिएका समस्याहरुको समाधान गर्ने, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने गरी योजना तयार गरी कार्यान्वयन गर्ने, अर्थमन्त्रालयको कार्यक्षेत्रका विषयमा सेवा प्रवाहमा देखा परेका मन्त्रालयस्तरबाट समस्या समाधान गर्ने र नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने विषयमा नेपाल सरकारमा प्रस्ताव पेश गर्ने लगायतका गतिविधि गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लले दुवै कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुका साथै आवधिक रुपमा समीक्षा गर्दै अघि बढ्ने बताउनुभयो । माघ ४ मा बसेको मन्त्रिपरिषद्को बैठकले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयलाई कार्ययोजना तयार पार्न समय दिएको थियो ।

उच्चस्तरीय राजनीतिक संयन्त्रले २०७९ पुस २५ मा सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेको थियो । जसमा नेपालको समग्र औद्योगिक उत्पादन तथा व्यवसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा तरलता सङ्कुचन, उच्च ब्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व सङ्कलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावटलगायतका समस्यालाई औद्योगिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढङ्गले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने थिए ।

यसका लागि राजस्व प्रशासनलाई थप चुस्त, दुरुस्त तथा करदातामैत्री बनाउने । कर छली, आयातमा न्युनविजकीकरण, चोरी पैठारी, तस्करी तथा हुण्डी कारोबारजस्ता गतिविधिको अन्त्य गर्ने, कर प्रणालीलाई थप प्रगतिशील तथा व्यवसायमैत्री बनाउने, करका दरहरू हेरफेर गर्दा व्यवसायिक तटस्थता कायम गर्ने उल्लेख थियो । सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, यस आर्थिक वर्षका लागि सवारी साधन खरिदलगायत कार्यालय सञ्चालन खर्च कटौती गर्ने, पूर्वाधारको क्षेत्रमा सञ्चालित अधुरा आयोजना कार्यान्वयनमा तीव्रता दिने लगायत उल्लेख थियो । रासस

नर्सलाई १० हजारमा काम लगाउनेलाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री नीति बनाउन सक्रिय भूमिका खेल्ने बताउनुभएकाे छ । बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सहरूको सेवा–सुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने उहाँले बताउनुयभाे । नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौंमा बोल्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।

‘नर्सहरुका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढंगले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ,’मन्त्री गिरीले भन्नुभयाे,‘नर्सहरूले एउटा लेभल पास गर्नुहुन्छ । मैले सुने ८/१० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्युनतम तलब भत्ता पनि नदिइ श्रम शोषण गर्ने कुरा कुनै पनि हालतमा ठिक हुँदैन । त्यस्ता अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रोगरी अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ । यसमा कुनै सम्झौता हुँदैन तथ्य र प्रमाण भेटियो भने नविकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्छ,’उहाँले भन्नुभयाे ।

संवेदनशिल पेशा भएकाले नर्सहरूमा धैर्यता जरुरी रहने उहाँले बताउनुभयाे । ‘तपाईंहरू यो पेशामा आउँदाखेरी नै यो पेशाका चुनौती के–के हुन् भन्ने थाहा पाएरै आउनुभएको छ । त्यसैले जस्तोसुकै बेलामा पनि धैर्याता चाहिन्छ । तपाईंहरुको सानो लापरबाहीले एकजनाको ज्यान जानसक्छ । उसका बालबच्चा टुहुरा हुनसक्छन् र आफन्तले परिवारको सदस्य गुमाउँछन् । त्यसैले नर्सहरुको काँधमा ठूलो अभिभारा हुन्छ,’उहाँले भन्नुभयाे।

दक्ष नर्सहरू राम्रो सेवा–सुविधा पाएर विदेशमा रोजगारी गर्नु सकारात्मक पाटो रहेको उहाँले बताउनुभयाे।  ‘हामी संसारको जुनसुकै कुनामा गएर भएपनि जागिर गर्दा हुन्छ । तर हामी दक्ष हुनुपर्यो । हामीले पाउने सेवा सुविधा त्यही मापदण्डको हुनुपर्यो । आज विदेशीहरू नेपालमा आएर जागिर खाइरहेका छन् । हामी पनि जान हुन्छ,’उहाँले भन्नुभयाे,‘तर श्रमको न्युन मुल्य लिएर जाने कुरा उचित हुँदैन ।’

वीरेन्द्रकुमार ठाकुर मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता

जनकपुरधाम /  नवनियुक्त मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश गुणराज ढुंगेलबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

रवि लामिछानेलाई आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पुन पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ ।

शुक्रबार र्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।

लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई पुन पार्टी सभापति गर्न लागेको एक नेताले बताए । उनका अनुसार आइतबार दिउँसो ३ बजे पार्टीले केन्द्रिय समितिको बैठकमा लामिछानेलाई पुन पार्टी सभापति घोषणा गर्न लागेको हो ।

रवि लामिछानेले पाए नागरिकता

काठमाडाैँ – रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएकाे छ ।  आइतबार जिल्ला प्रशासन कार्यालय बबरमहलमा पुगेर लामिछानेले नेपाली नागरिकताकाे प्रमाणपत्र लिनुभएकाे हाे ।

अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उहाँले नेपाली नागरिकता पाउनुभएकाे हाे ।

यसअघि नेपाली नागरिकता लिएर सो नागरिकता त्यागी अमेरिकी नागरिकता लिनुभएका उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिनुभएकाे थिएन ।

उहाँविरुद्ध नेपाली नागरिकता नलिएकाे भन्दै सर्वाेच्च अदालतमा मुद्धा दायर भएकाे थियाे । उहाँले गत सम्पन्न आम निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेर उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो ।

तर,सर्बोच्चले अन्तरिम आदेश जारी गर्दै उहाँ नेपाली नागरिक नभएको ठहर गरेको थियो ।  लामिछानेको नागरिकताकाे प्रमाणपत्र प्रिन्ट भईरहेकाे एक अधिकारीले जानकारी दिनुभयाे ।

पोखरामा एक युवकले आत्मदहको प्रयास गरे

काठमाडौँ – पोखरामा एक युवकले आत्मदहको प्रयास गरेका छन् ।

पोखरा महानगरपालिका–१३ काहुँखोला बस्दै आएका एकजना युवकले आइतबार आत्मदाहको प्रयास गरेका हुन् । युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको आराेपमा एक पुरुष पक्राउ

भोजपुर – आफ्नै श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको आराेपमा अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

ज्ञानबहादुरले मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको भन्ने सुचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुर ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सरकारले एकल महिलाले उठाएकाे माग सम्बोधन गर्छ : प्रधानमन्त्री

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दाहरू सम्बोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन् ।

आइतबार दिउँसो मानव अधिकारका लागि महिला एकल महिला समूहद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूको यो कार्यक्रम अरु कार्यभन्दा पृथक र मौलिक लाग्यो। यहाँ तपाईहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे–जति मुद्दा उठाउनुभएको छ। त्यसलाई सम्वोधन गर्ने मेरो प्रयास हुनेछ।’

संविधानमा नै व्यवस्था गरेर एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग न्यायोचित रहेको भन्दै उनले यसका लागि छलफल गरेर सम्बोधन गरिने बताए । ‘एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जे–जति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन्। तिनीहरू सम्वोधन गरिनेछ,’ प्रधानमन्त्रीले भने ।

२७ वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘२७ वर्षको अवधिमा तपाईहरूले प्राप्त गरेको उपलब्धि, एकल महिलाहरूको एकता र सहकार्यका निम्ति गरेको प्रयास र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त गरेको ख्याति र सम्मानको म उच्च प्रशंसा गर्दछु।’

महिला अधिकारका लागि नेपालमा ठूलो बलिदानी भएको भन्दै उनले गरीब, पिछडिएका महिलाहरूले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको संघर्षकै कारण समाज र राजनीतिले उपलब्धि हासिल गरेको बताए ।

‘उनीहरूले संघर्ष नगरेको भए, बलिदानीको उच्च कीर्तिमानी नराखेको भए, रगत नबगाएको भए हामी यहाँसम्म आउने थिएनौँ,’ उनले भने, ‘महिलाहरूको सहभागीता र भूमिकाबिना संसारमा कहिँ पनि परिवर्तन भएको छैन । महिलाहरूकै संघर्षका कारण आज राज्यका सबै अंगमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको छ । स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व छ। अझै यो पर्याप्त छैन। पुरूषसरह महिलाका हकअधिकार स्थापित गर्न थप प्रयत्न आवश्यक छ ।’

राष्ट्रिय युवा संघ नेपाल वाग्मतीले मातहतका कमिटीको अधिवेशन फागुन भित्र सक्ने

काठमाडौँ – राष्ट्रिय युवा संघ नेपाल वाग्मती प्रदेश कमिटीले मातहतका कमिटीको अधिवेशन फागुन मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ ।

प्रथम विस्तारित बैठकले सो निर्णय गर।ेको हो । संघको पदाधिकारी बैठकले गरेको निर्णय र सर्कुलर बमोजिम मातहत कमिटीको अधिवेशन फागुन मसान्तभित्र गरिसक्ने निर्णय बैठकले गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीले जानकारी दिनुभयो ।

बैठकले ‘केपी ओली गोल्ड कप फुटबल प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । त्यस्तै कमिटीका सदस्यको लेवी निर्धारण गर्ने र संघको नवौँ महाधिवेशन केन्द्रित विशेष रचनात्मक गतिविधि गर्ने निर्णय बैठकले गरेको केसीले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट

काठमाडौँ – उपप्रधानमन्त्री  एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता  गर्नुभएको छ ।

सिंहदरबारस्थित उपप्रधानमन्त्री श्रेष्ठकै कार्यकक्षमा नेपालका लागि चीनका राजदूत सोङ्गले शिष्टाचार भेटघाट गर्नुभएको हो ।

भेटका क्रममा उहाँहरूबीच दुई देशबीचको सम्बन्ध र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।

अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रूपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । ‘अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा भइरहेको छ’, उहाँले भन्नुभयो, ‘सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।’

अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उहाँको भनाइ छ । यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भीड बढेको उहाँले जानकारी दिनुभयो ।

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो । केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ । कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ ।

महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताउनुभयो ।

उहाँले सबै सरकारी सर्भर डाउन भएकाले आजको समस्या आएको जिकिर गर्नुभयो । रासस

कञ्चनपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

धनगढी / कञ्चनपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिका–५ सिम्रीमा धनगढी–बेलौरी हुलाकी सडक खण्डमा म१ह ८२४ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु र अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ घर भएका २१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका रिमालको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटोमा सवार रामेछापको मन्थली नगरपालिका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय सुशील बुढाथोकी घाइते भएका छन् । उनीहरूको पनि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको हो ।

चालक धनगढी उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय रमेश देवकोटा र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसको ठक्करबाट स्याङ्जामा एक जनाको मृत्यु

स्याङ्जा / पुतलीबजार नगरपालिका-११ करेन्डाडाँमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

घरबाट बाहिर निस्किएका ७२ वर्षीय यमबहादुर जिटीको बसको ठक्करबाट घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक पदम थापाले बताए ।

सुनौलीबाट स्याङ्जा आउँदैगरेको ना४ख ३८२८ नम्बरको बसले उनलाई आफ्नै घर नजिकै ठक्कर दिएको हो । प्रहरीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ ।

शव जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ । दुर्घटनापछि आक्रोसित परिवार र स्थानीयले चार घण्टा सिद्धार्थ राजमार्ग अवरुद्ध गरेका थिए ।