हर्क साम्पाङले छाने समानुपातिक सांसद- मन्दिरा, अम्बिका, राधिका र पूर्ण
काठमाडौं – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसद छनाेट गरेकाे छ । उनले शनिबार चार जनाको नाम समानुपातिक सांसदका रूपमा टुङ्ग्याएका हुन् ।
पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको थियो, जसको आधारमा ४ जना सांसद पाउने अधिकार प्राप्त भयो। साेही अनुसार चार सांसद छनाेट गरिएकाे पार्टी केन्द्रीय कोषाध्यक्ष समिता राईले बताइन् ।
१. मन्दिरा मोक्तान (हेटौँडा) – आदिवासी महिला
२. अम्बिका सङ्ग्रौला – खस आर्य महिला
३. राधिका रम्तेल (सुर्खेत) – दलित कोटा
४. पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बू – आदिवासी जनजाति
समानुपातिक सूची तयार गर्दा पार्टीभित्र विवाद देखिएको थियो। पहिलो नम्बरमा रहेका जीवन विष्टले विवाद बढेपछि आफ्नो नाम फिर्ता लिएका थिए।
समानुपातिक सांसदको चयनअघि अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका थिए कि पार्टीमा रोइलो गर्ने वा विवाद खडा गर्ने सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिनेछ। उनले मजाकिया शैलीमा पनि लेखेका थिए- ‘भात खाऊ। मेरो टाउको नखाऊ।’
प्रत्यक्षतर्फ पार्टीले खोटाङ, भोजपुर र सुनसरी–१ मा जित हासिल गरी राष्ट्रिय दलको मान्यता पाएको छ।
