शंकर पोखरेलको सुझाव : सांसदका स्वकीय सचिव एआई र सूचना प्रविधिमा दक्ष हुनुपर्छ
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सांसदका स्वकीय सचिव घरायसी सहयोगीका रूपमा नभई संसदीय कार्यलाई प्रभावकारी बनाउन सक्ने दक्ष र प्रविधिमैत्री व्यक्तिबाट छनोट गर्नुपर्ने बताएका छन्।
आइतबार पार्टीको संसदीय विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गर्न सक्ने जनशक्ति अहिलेको संसदीय अभ्यासका लागि आवश्यक भएको बताए।
उनले सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा व्यक्तिगत वा घरायसी कामका लागि नभई संसदीय जिम्मेवारी निर्वाहमा सहयोग पुर्याउन सक्ने राजनीतिक चेत भएको र प्रविधिमा दक्ष व्यक्तिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
‘स्वकीय सचिव राख्नु स्वाभाविक र आवश्यक हो। तर उनी घरायसी सहयोगी होइन, सांसदको कामलाई प्रभावकारी बनाउने व्यक्ति हुनुपर्छ। सूचना प्रविधिमा दक्ष वा एआईको प्रयोग गर्न सक्ने क्षमता भएको व्यक्तिलाई रोज्नुपर्छ,’ पोखरेलले भने।
भर्चुअल र डिजिटल माध्यममा राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको उल्लेख गर्दै उनले एमाले यस क्षेत्रमा अपेक्षाकृत कमजोर देखिएको टिप्पणी गरे। त्यसैले संसदभित्रका धारणा, बहस र गतिविधिलाई डिजिटल माध्यममार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने जनशक्तिको आवश्यकता रहेको उनले बताए।
पोखरेलले सबै सांसदको रुचि, क्षमता र विषयगत दक्षता समान नहुने भएकाले संसदमा जिम्मेवारी बाँडफाँट पनि त्यसैअनुसार हुनुपर्ने धारणा राखे। विषयवस्तुको ज्ञान र विशेषज्ञताका आधारमा सांसदलाई बोल्ने तथा नेतृत्व गर्ने अवसर दिइए संसदीय प्रस्तुति अझ प्रभावकारी बन्ने उनको भनाइ थियो।
‘पदीय मर्यादाको सीमाभन्दा पनि विषयगत ज्ञान, दक्षता र क्षमताका आधारमा नेतृत्व गर्ने अभ्यास विकास गर्न सक्यौं भने संसदको कामकारबाही अझ प्रभावकारी बन्न सक्छ,’ उनले भने।
