`

सरकार परिवर्तनको हल्लाको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

Nepal One HD ५ वैशाख २०८२ १४:१८
प्रमुख खबर

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुला दलको साझेदारीमा निर्मित अहिलेको सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कका साथ विकास र सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा स्पष्ट रहेको बताए ।
‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्णरुपमा लागेका छौँ । तपार्ईँहरु पनि ढुक्का साथ यस अभियानमा लाग्नुुस् । सबै मिलेर देश बनाऔँ ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले गाउँगाउँमा सिंहदरबार बनाउने सोचका साथ संविधान निर्माणका समयमा स्थानीय सरकारको व्यवस्था गरेका हौँ । तपाईँहरुले अधिकार र कर्तव्यलाई मनन् गरी हामीले प्राप्त गरेको राजनीतिक व्यवस्थाको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउने पनि बताए । प्रधानमन्त्री ओलीले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास पनि व्यक्त गरे ।


प्रतिक्रिया