प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको भन्दै पत्रकार महासंघ आन्दोलनमा
काठमाडौं। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले गएको दुई महिनादेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रमा सरकारले अंकुश लगाउने प्रयास गरेकाे बताएकी छन् ।
सरकारी विज्ञापनमा पनि सरकार नियन्त्रित सञ्चारमाध्यमहरूकाे एकाधिकार स्थापित गर्न खाेजिएका भन्दै उनले गम्भीर आपत्ति जनाइन्।
नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवसकाे अवसरमा बुधबार काठमाडौंमा आयाेजित कार्यक्रममा उनले सरकारकाे यस्ताे रवैयाविरूद्ध नेपाल पत्रकार महासंघ आन्दोलनमा रहेकाे बताइन् । बालेन सरकारलाई ‘नबाेल्ने सरकार’काे संज्ञा दिँदै उनले लाेकतन्त्र पनि सङ्कटमा पर्ने जाेखिम बढेकाेले राजनीतिक दल र पत्रकार महासंघबीच सहकार्य हुनुपर्ने उल्लेख गरिन् ।
‘हामी एकजुट हुनुपर्ने बेला आएको छ । २०६२/०६३ सालमा राजाकाे ‘कू’विरूद्ध दल र पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लाेकतन्त्र स्थापनाका लागि लडेका थियाैं । अहिले पनि महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रका लागि संगठित र असंगठित शक्तिसँग लडिरहेका छाैं,’ उनले भनिन्, ‘यतिबेला दुई महिनादेखि झनै सङ्कटमा परेकाे छ । अहिले त नबाेल्ने सरकार छ । तर, नबाेली भएको छैन । सरकारी विज्ञापनमा एकाधिकार लगाएकाे छ, संविधानले दिएकाे अधिकारमा अंकुश लगाएकाे छ । संविधानले दिएकाे नागरिक अधिकार कटाैटी गर्न खाेजिँदैछ ।’
उनले पत्रकार महासंघले तेस्रो चरणकाे आन्दोलन हस्ताक्षर थालेर सुरू गरेकाे बताइन् ।
