दुर्गालाई घर छाड्न भक्तपुरतिर प्रहरी
काठमाडौं। झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईंले विमानस्थललाई नै पत्रकार सम्मेलनको मञ्च बनाउन खोजेपछि विमानस्थलबाट समातेर प्रहरीले उनलाई घर छाडीदिने भएको छ।
सोमबार झापाबाट फर्किएका प्रसाईं विमानस्थलबाट बाहिरिनुअघि पत्रकार सम्मेलन गर्न खोजेका थिए । तर, प्रहरीले विमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्न रोकेपछि उनका समर्थक र प्रहरीबीच धकेलाधकेल सुरु भएको थियाे।
प्रसाईंलाई रोक्न प्रहरी अघि सरेपछि उनका समर्थक पनि पछि हटेनन् । पत्रकार सम्मेलन गर्ने कि नगर्नेबाट सुरु भएको विवाद अन्ततः प्रहरीसँगको धकेलाधकेलसम्म पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताएका छन् । त्यसपछि उनलाई प्रहरीले समातेर भक्तपुरस्थित निवासमा छोड्ने भएको छ।
घटनाका क्रममा प्रहरीसँग मुठभेट गरेको आरोपमा एक जना पक्राउसमेत परेका छन् । पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका–१ घर भएका तेजेन्द्र रायमाझी रहेको प्रहरीले जनाएको छ ।
विमानस्थलमा यात्रुहरू आफ्नो गन्तव्यतर्फ लाग्ने हतारोमा थिए । तर, प्रसाईंका समर्थक भने त्यहीँ राजनीतिक तमासा हेर्ने र देखाउने मुडमा देखिए । पत्रकार सम्मेलन रोक्न प्रहरी उभिएपछि विमानस्थलको वातावरण केहीबेर नाराबाजी र धकेलाधकेलतर्फ मोडिएको थियो ।
