`

पत्रकार पक्राउ र न्युजरुममा प्रहरी हस्तक्षेपविरुद्ध महासंघको प्रदर्शन (तस्वीरहरू)

Nepal One HD १५ कार्तिक २०८३ ११:४१
फोटोफिचर

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमा प्रहरीको धरपकड र न्युजरुममै हस्तक्षेप भएको घटनाविरुद्ध नेपाल पत्रकार महासंघ सडकमा उत्रिएको छ ।

महासंघको अगुवाइमा शनिबार बिहान काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।

शुक्रबार साँझ बसेको महासंघको केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारमाथिको धरपकड र सञ्चारमाध्यममाथि भएको हस्तक्षेपको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रदर्शनमा महासंघका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको सहभागिता छ । वर्षा भइरहे पनि प्रदर्शनकारीहरू माइतीघरमा भेला भएर विरोध जारी राखेका छन् ।

शुक्रबार साँझ नयाँ पत्रिकाको समाचारकक्षमा प्रहरी प्रवेश गर्नुअघि नै अन्य चार सञ्चारगृहमा प्रहरी पुगेको थियो । त्यसक्रममा नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, मोटिभेट न्युज डटकमका शोभराज बराल र डीएनए खबरका धीरज बस्नेत पक्राउ परेका थिए । प्रहरीले दियो पोस्ट डटकमको कार्यालयमा समेत धरपकडको प्रयास गरेको थियो ।

पक्राउ परेका पत्रकारको रिहाइको माग गर्दै महासंघका प्रतिनिधि तथा सञ्चारकर्मीहरू साइबर ब्युरो पुगेका थिए । पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी पुगेको घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले तीनै जनालाई रिहा गरेको थियो ।

पत्रकारमाथिको पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेशको घटनाले प्रेस स्वतन्त्रता तथा सञ्चारमाध्यमको सुरक्षाबारे बहस चर्किएको छ । महासंघले यही घटनाको विरोधमा सडक प्रदर्शनमार्फत आफ्नो असन्तुष्टि जनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *