एमालेको राष्ट्रिय भेला अर्को साता, ३ हजारभन्दा बढी नेता-कार्यकर्ता जुट्ने
काठमाडौं । नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरण, राजनीतिक कार्यदिशा तय र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई लक्षित गर्दै काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।
पार्टी संगठन विभागको आयोजनामा आगामी साताको बुधबार र बिहीबार दुई दिनसम्म चल्ने भेलामा ३ हजार १६४ जना नेता, कार्यकर्ता तथा जनप्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।
भेलामा केन्द्रीय कमिटीका सदस्यदेखि प्रदेश, जिल्ला र पालिका कमिटीका पदाधिकारी तथा जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहनेछ। साथै, २०७९ सालको स्थानीय तह निर्वाचनबाट एमालेका तर्फबाट निर्वाचित पालिका प्रमुखहरूलाई समेत भेलामा बोलाइएको छ।
आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर निर्वाचित जनप्रतिनिधिसँग पार्टीको रणनीति र संगठनात्मक अवस्थाबारे छलफल गर्ने एमालेको तयारी छ।
भेलामा पार्टीले तय गरेका आठवटा मुख्य कार्यभारमाथि विस्तृत छलफल हुनेछ। जनस्तरसम्म सत्य स्थापित गर्ने, आधारभूत वर्ग तथा समुदायमा संगठन विस्तार गर्ने, योजनाबद्ध कार्यशैली र मूल्यांकन प्रणाली विकास गर्ने तथा युवा र महिलालाई नेतृत्वमा स्थापित गर्ने विषयलाई प्राथमिकता दिइनेछ।
त्यसैगरी पार्टी पुनर्जागरण, प्रभावकारी प्रतिपक्षको भूमिका, डिजिटल माध्यमबाट वैचारिक प्रतिवाद र निरन्तर राजनीतिक संघर्षका विषय पनि छलफलको एजेन्डामा राखिएका छन्।
भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्था, एमालेको राजनीतिक दृष्टिकोण र आगामी कार्यदिशाबारे धारणा राख्ने कार्यक्रम छ। वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि भेलालाई सम्बोधन गर्ने बताइएको छ।
यस्तै, उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वका सरकारले गरेका काम र उपलब्धिबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण र आगामी निर्वाचनको कार्ययोजनासम्बन्धी विषय प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि संगठनभित्र देखिएको निराशा र असहजता हटाउनु पनि भेलाको प्रमुख उद्देश्य रहेको एमालेले जनाएको छ।
भेलामार्फत नेता तथा कार्यकर्ताबीच पार्टीको नीति र कार्यदिशाबारे साझा बुझाइ निर्माण गर्ने, संगठनलाई थप सक्रिय बनाउने र पार्टीमा नयाँ ऊर्जा भर्ने एमालेको लक्ष्य छ। साथै, आगामी वडा तथा पालिका अधिवेशनलाई एकताबद्ध र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक वातावरण तयार पार्ने अपेक्षा गरिएको छ।
