`

चालकलाई मात्र दोष दिएर समस्या समाधान हुँदैन -रास्वपा सांसद धिताल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले चालक र यात्रुसँग ट्राफिक प्रहरीले गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा गर्न सरकारसँग माग गरेकी छन्।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै धितालले त्रिपुरेश्वरमा भएको घटनापछि सडकमा राष्ट्रसेवक, सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको व्यवहारबारे पुनरावलोकन आवश्यक देखिएको बताइन्।

उनले त्रिपुरेश्वर घटनासँग जोडिएका विगतका विवाद र बाहिर आएका सूचनामाथि समेत थप अनुसन्धान गरी प्रहरीले सत्यतथ्य सार्वजनिक गर्ने विश्वास व्यक्त गरिन्।

धितालले सार्वजनिक सवारीका चालकको आत्मसम्मान र काम गर्ने वातावरणलाई पनि गम्भीर रूपमा लिनुपर्ने बताइन्।

उनका अनुसार चालकको न्यून पारिश्रमिक, खानपान, आराम, लामो समयसम्म काम गर्नुपर्ने अवस्था तथा शारीरिक र मानसिक स्वास्थ्यको परीक्षण नहुनु संवेदनशील विषय हुन्।

‘चालकलाई मात्र दोष थोपरेर समस्या समाधान हुँदैन,’ उनले भनिन्, ‘राज्य, सम्बन्धित निकाय, यातायात व्यवसायी र स्वयं चालक पनि यस विषयमा गम्भीर हुनुपर्छ।’

उनले सडक सुरक्षालाई प्रभावकारी बनाउन चालकको व्यवहारसँगै उनीहरूले काम गर्ने समग्र वातावरण सुधार गर्नुपर्नेमा जोड दिइन्।

प्रतिनिधिसभाको बैठकमा अन्य सांसदहरूले पनि त्रिपुरेश्वरमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनीहरूले सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्या, चालकको कार्य अवस्था र ट्राफिक व्यवस्थापनबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।

सांसदहरूले घटनाबारे गृहमन्त्रीसँग जवाफ माग गर्दै वास्तविकता संसद्लाई जानकारी गराउनुपर्ने बताएका छन्।

सल्यानमा स्क्रब टाइफसको कहर, एक महिनामै ७ जनाको मृत्यु

काठमाडौं । सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमण फैलिएको भन्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै मल्लले पछिल्लो एक महिनामै स्क्रब टाइफसका कारण अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको बताएका छन्।

उनका अनुसार संक्रमण दार्मामा मात्रै सीमित छैन। कुमाख र बागचौरलगायतका स्थानीय तहमा समेत संक्रमितको संख्या बढिरहेको छ।

मल्लका अनुसार पछिल्लो दुई महिनामा दार्मा र बागचौरमा ३३५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये ११६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको उनले बताए।

यो परीक्षण गरिएकामध्ये करिब ३५ प्रतिशतमा संक्रमण देखिएको अवस्था हो।

‘यो त अहिलेसम्म परीक्षण गर्दा भेटिएको तथ्यांक मात्रै हो,’ मल्लले भने, ‘सल्यानका सबै जोखिमयुक्त क्षेत्रमा पर्याप्त परीक्षण गर्ने हो भने संक्रमितको संख्या अझै धेरै हुन सक्ने अवस्था छ।’

उनले रोग पहिचानका लागि आवश्यक परीक्षण किटसमेत पर्याप्त नभएको बताए। स्थानीय तहले प्रदेश र संघीय सरकारसँग परीक्षण किट तथा स्वास्थ्य सामग्री माग गरेको एक महिना बितिसक्दा पनि आवश्यक सहयोग नपाएको उनको दाबी छ।

परीक्षण किटको अभावमा समयमै रोग पहिचान र उपचार गर्न समस्या भएको मल्लले बताए। यसले संक्रमणको वास्तविक अवस्था पत्ता लगाउनसमेत कठिन भएको उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदन उद्धृत गर्दै मल्लले नेपालमा स्क्रब टाइफस संक्रमण बढिरहेको बताए। आर्थिक वर्ष २०७९/८० मा ९ हजार २४३ जनामा संक्रमण देखिएकोमा आर्थिक वर्ष २०८१/८२ मा यो संख्या २५ हजार ४९४ पुगेको उनको भनाइ छ।

उनका अनुसार कर्णाली र सुदूरपश्चिममा संक्रमणको दर तुलनात्मक रूपमा बढी देखिएको छ।

मल्लले सल्यानमा पर्याप्त परीक्षण किट, औषधी र आवश्यक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

जोखिमयुक्त समुदायमा घरदैलो स्वास्थ्य परीक्षण र जनचेतना अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। स्वास्थ्यकर्मीलाई आवश्यक अभिमुखीकरण दिनुपर्ने र संघ, प्रदेश तथा स्थानीय तहबीच प्रभावकारी समन्वय गर्नुपर्ने उनले बताए।

‘स्वास्थ्य सेवा नागरिकको मौलिक हक हो। स्वास्थ्य संकटका बेला नागरिकले राज्यको उपस्थिति अनुभूति गर्न पाउनु पर्छ,’ मल्लले भने, ‘संक्रमण नियन्त्रणका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्छ।’

स्वर्णिमले पाए कावा प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शाह मंगलवार साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्।

आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए।

प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।

प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।

खगेन्द्र सुनारले कुरा उठाएको भोलिपल्टै संसद भवनको क्यान्टिन बन्द

काठमाडौं। संघीय संसद् भवनमा प्रतिनिधिसभा सदस्यहरूका लागि सञ्चालित क्यान्टिन सोमबारको बैठकमा महँगीको विषय उठेको भोलिपल्टै बन्द भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले सोमबार प्रतिनिधिसभाको बैठकमा संसद् भवनसहित सिंहदरबारभित्र सञ्चालित क्यान्टिनको महँगीबारे प्रश्न उठाएका थिए। त्यसको भोलिपल्टै प्रतिनिधिसभा सदस्यका लागि सञ्चालित क्यान्टिन बन्द गरिएको हो।

सांसद सुनारले न्यून तलबमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मीका लागि सिंहदरबारभित्रको खाना तथा खाजा महँगो भएको बताएका थिए।

उनले सिंहदरबारभित्रका क्यान्टिन व्यवस्थित नभएको र खाना तथा खाजाको मूल्यसमेत सर्वसाधारण तथा कर्मचारीको पहुँचअनुकूल हुनुपर्ने बताएका थिए।

‘सिंहदरबारभित्र फाइभ स्टार होटलको शैलीमा क्यान्टिन चलाउनु हुँदैन,’ उनले भनेका थिए, ‘यहाँका तल्लो तहका कर्मचारी र मर्यादापालकहरूका लागि ३०–३५ हजारको तलबमा दिनभरको चिया–खाजा खर्च धान्न कठिन छ।’

सुनारले सिंहदरबारभित्र जथाभावी खुलेका क्यान्टिन, त्यहाँबाट निस्कने गन्ध र फोहोर व्यवस्थापनप्रति समेत प्रश्न उठाएका थिए।

उनले सिंहदरबार परिसरलाई थप व्यवस्थित र सफा बनाउनुपर्ने भन्दै शाकाहारी क्षेत्रका रूपमा विकास गर्नुपर्ने धारणा पनि राखेका थिए।

प्रतिनिधिसभा सदस्यका लागि सञ्चालन गरिएको क्यान्टिन किन बन्द गरिएको हो भन्नेबारे भने औपचारिक कारण सार्वजनिक भइसकेको छैन।

सांसद सुनारले क्यान्टिनको महँगीसँगै राजदूत नियुक्तिको मापदण्ड र प्रहरीभित्रको अनियमितताको विषयमा पनि धारणा राखेका थिए। राजदूत नियुक्तिमा सरकारले बनाएको कार्यविधि पालना हुनुपर्ने उनको भनाइ थियो।

त्यस्तै, म्यादी प्रहरीका लागि खरिद गरिएको जुत्तामा अनियमितता भएको दाबी गर्दै उनले त्यसबारे प्रमाण संकलन भइरहेको बताएका थिए।

 

१८ वर्षमै कांग्रेसको क्षेत्रीय प्रतिनिधि बने प्रशिस

बुटवल। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको वडा अधिवेशनबाट बुटवल उपमहानगरपालिका-१२ का १८ वर्षीय प्रशिस आचार्य क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।

न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, बुटवलमा कक्षा १२ मा अध्ययनरत आचार्य बुटवल उपमहानगरपालिकाका १९ वडामध्ये सबैभन्दा कान्छा क्षेत्रीय प्रतिनिधि बनेका हुन्।

निर्वाचन अधिकृत डा. ओमप्रकाश अर्यालका अनुसार १८ वर्षको उमेरमै क्षेत्रीय प्रतिनिधि बन्ने आचार्य बुटवलका सबैभन्दा कान्छा प्रतिनिधि हुन्।

असोज ३ र ४ गते देशभर वडा अधिवेशन गर्ने कांग्रेसको कार्यतालिकाअनुसार बुटवलमा पनि अधिवेशन सम्पन्न भएको हो। कांग्रेसले यसपटकको महाधिवेशन प्रक्रियामा ३५ वर्षमुनिका युवाको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ।

त्यसैक्रममा बुटवल–१२ बाट आचार्य क्षेत्रीय प्रतिनिधि बनेका हुन्। बुटवल–७ बाट २० वर्षीय आयुष्मान पुरी पनि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।

क्षेत्रीय प्रतिनिधिमा चयन भएपछि आचार्यले आफू कांग्रेसको लोकतन्त्रप्रतिको निष्ठा, कानुनी शासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए।

उनले पार्टी सभापति गगन थापाको अनुभवसँग जोडिएको ऊर्जा, आशा र भरोसाले आफू कांग्रेसमा आबद्ध भएको बताएका छन्।

आफ्नो सहभागिताले स्थानीय तहमा कांग्रेसभित्र नयाँ पुस्ताको प्रवेशलाई प्रतिबिम्बित गरेको आचार्यको भनाइ छ।

कांग्रेसको नयाँ व्यवस्थाअनुसार पार्टीका विभिन्न तहमा ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

महाधिवेशन प्रतिनिधिमा समेत युवाको निश्चित सहभागिता रहने व्यवस्था गरिएको छ।

न्युयोर्क पुगे इरानी विदेशमन्त्री अराघ्ची, महासभामा इरानको अडान राख्ने

एजेन्सी इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार न्युयोर्क पुगेका छन्।

इरानी विदेश मन्त्रालयका अनुसार अराघ्चीले महासभामा सहभागी इरानी कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

न्युयोर्क पुगेपछि उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोन संवाद गरेका छन्। महासभाको कार्यसूची र विभिन्न अन्तर्राष्ट्रिय विषयमा कुराकानी भएको इरानी पक्षले जनाएको छ।

महासभालाई इरानले आफ्ना नागरिकको अधिकार र राष्ट्रिय हितबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष धारणा राख्ने महत्वपूर्ण मञ्चका रूपमा लिएको छ।

यसअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले नै प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको थियो। तर पछि विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अराघ्चीले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जानकारी दिएका हुन्।

अराघ्चीले महासभाका क्रममा विभिन्न देशका अधिकारी तथा विदेशमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिसहित पारस्परिक चासोका विषयमा छलफल हुने बताइएको छ।

अमेरिकाले पनि इरानी प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुन अनुमति दिएको छ। तर न्युयोर्क बसाइका क्रममा प्रतिनिधिमण्डलमाथि केही विशेष प्रावधान लागू हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अराघ्चीको न्युयोर्क आगमनसँगै इरान-अमेरिका तनावबीचको कूटनीतिक गतिविधि पनि बढेको छ।

इरानले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्यबाट तेल तथा ग्यास ढुवानी पुनः सञ्चालन गर्न अमेरिकासमक्ष केही सर्त राखेको जनाएको छ। ती सर्त कतारमार्फत अमेरिकासम्म पुर्‍याइएको इरानी दाबी छ।

इरानले यसअघि युद्ध र प्रतिबन्धसँग जोडिएका विषयमा आफ्नो अडान सार्वजनिक गर्दै आएको छ। अर्कोतर्फ अमेरिकाले इरानी बन्दरगाहसँग सम्बन्धित प्रतिबन्धात्मक कदम अघि बढाइरहेको जनाएको छ।

यही पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघको महासभामा अराघ्चीका भेटवार्ता र इरानको कूटनीतिक प्रस्तुतिलाई चासोका साथ हेरिएको छ।

अराघ्ची आइतबार साँझ इरानबाट न्युयोर्कका लागि प्रस्थान गरेका थिए। न्युयोर्क पुग्नुअघि उनले कतारमा छोटो समय बिताएका थिए।

त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न युवराज दुलालको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वरमा भएको बस आगलागी घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले बसमा आगलागी हुने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा गम्भीर छानबिन आवश्यक रहेको बताएका हुन्।

उनले घटनाका क्रममा राज्यको भूमिकामाथि समेत प्रश्न उठाए। दुलालले ‘म लाश हुँदैछु’ भनेर पीडितले जानकारी गराउँदा पनि राज्यले समयमै संवेदनशीलता नदेखाएको आरोप लगाए।

‘म लाश हुँदैछु भन्दै गर्दा राज्यले सुन्यो तर विवेक गुमायो, समवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर कुरेर बसिरह्यो,’ उनले भने।

दुलालले राज्यकै कारण पीडितले ज्यान गुमाउनुपरेको दाबी गर्दै सरकार अब घटनाप्रति कसरी प्रस्तुत हुन्छ भन्ने प्रश्नसमेत गरे।

‘राज्यकै कारण उनले जीवन गुमाउनुपर्यो। सरकार अब के गर्छ? हेरेर मात्रै बस्ने हो कि या सरकारले समवेदना सुन्ने हो?,’ उनले प्रश्न गरे।

उनले घटनाको वास्तविक कारण पहिचान गरी दोषी देखिए कारबाही गर्नुपर्नेमा जोड दिए।

भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । राजनीतिक विश्लेषक भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

दाहालकी छोरी डेनिकाले आफ्ना बुबाको गैरकानुनी थुनाबारे प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा रिटमाथि सुनुवाइ भएको हो।

सर्वोच्चले दाहाललाई पक्राउ गरी थुनामा राख्नुको कारण खुलाउन सरकारका नाममा आदेश दिएको छ।

दाहाललाई आइतबार मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक विषय तथा उच्च राजनीतिक व्यक्तिबारे भ्रामक प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

अब सरकारी पक्षले दाहाललाई पक्राउ गर्नुको आधार र कारणसहित अदालतमा जवाफ पेस गर्नुपर्नेछ।

सरकारको जवाफ आएपछि रिटमाथि अर्को सुनुवाइ हुनेछ। त्यसपछि सर्वोच्चले दाहालको थुनालाई निरन्तरता दिने वा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्ने विषयमा निर्णय गर्नेछ।

अहिले भने सर्वोच्चले पक्राउ नै गैरकानुनी हो भन्ने निष्कर्ष निकालिसकेको छैन। कारण देखाउ आदेशमार्फत सम्बन्धित पक्षसँग स्पष्टीकरण मागिएको हो।

ग्यास संकटले हल्लायो सरकार : उद्योगमन्त्री आउट, सचिव तानिए प्रधानमन्त्री कार्यालय

काठमाडौं। एलपी ग्यासको संकटले उद्योग मन्त्रालयको नेतृत्व तहसम्मै असर देखाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)नेतृत्वको सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ।

दुवाडी गत असार ३० गते मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उद्योग मन्त्रालयमा आएका थिए। तर मन्त्रालयमा करिब दुई महिना बिताउन नपाउँदै उनको सरुवा भएको हो।

एलपी ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवले भदौ २५ गते राजीनामा दिएपछि सचिव दुवाडीको सरुवालाई पनि ग्यास संकटसँग जोडेर हेरिएको छ।

दुवाडी उद्योग सचिव रहेकै बेला लामो समयसम्म ग्यासको आपूर्ति असहज बन्यो। बजारमा ग्यास नपाउने समस्या बढेपछि उनको कार्यसम्पादनमाथि संसद् र सार्वजनिक तहमा प्रश्न उठेको थियो।

भदौ २४ गते प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पनि सांसदहरूले ग्यास आपूर्ति व्यवस्थापनबारे मन्त्री यादव र सचिव दुवाडीलाई प्रश्न गरेका थिए।

अब उद्योग मन्त्रालयको सचिवको जिम्मेवारी रुद्रसिंह तामाङले सम्हाल्ने भएका छन्। असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा भएका तामाङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन गरेको हो।

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले भने ग्यास आपूर्ति सहज बनाउन पहल थालेका छन्।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग केही दिनका लागि दैनिक १६० बुलेट ग्यास पठाउन आग्रह गरेको छ।

मन्त्री साहले दसैँ, तिहार र छठजस्ता ठूला पर्वमा ग्यास, चिनी लगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिने बताएका छन्।

उपत्यकामा दैनिक ५० हजार सिलिन्डर ग्यास आपूर्ति गर्ने प्रतिबद्धता उद्योगीबाट आएको र त्यसको नियमित अनुगमन भइरहेको उनको भनाइ छ।

भुटानको राष्ट्रिय टोली आउने भएपछि पोखरा क्रिकेट मैदान मर्मत गरिँदै (तस्वीरहरू)

पोखरा। आईसीसी टी-२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आउने भएपछि रंगशालास्थित क्रिकेट मैदानको मर्मत–सम्भार थालिएको छ।

भुटानी टोलीले असोज ११ देखि १५ गतेसम्म पोखरामा गण्डकी प्रदेश क्रिकेट टोली र क्यान-११ सँग चार मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

विदेशी राष्ट्रिय टोलीको आगमनले पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यससँगै स्थानीय क्रिकेट पूर्वाधारको विकासमा पनि थप गति आउने विश्वास गरिएको छ।

 

विद्युत् भ्याट फिर्ता?

काठमाडौं। विद्युत् महसुलमा दिइएको भ्याट छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर भइरहेको प्रचारप्रति उनको सचिवालयले स्पष्टीकरण दिएको छ।

सचिवालयले विद्युत् महसुलको भ्याट छुट फिर्ता गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

मंगलबार जारी विज्ञप्तिमा अर्थमन्त्री वाग्लेले आइतबार साँझ वा गत साता यस विषयमा कुनै भेटघाट वा छलफल नगरेको जनाइएको छ।

विद्युत् महसुलमा दिइएको छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्रीसँग छलफल भएर सैद्धान्तिक सहमति जुटेको भन्ने प्रचारमा कुनै सत्यता नरहेको सचिवालयको भनाइ छ।

तर उपभोक्तालाई राहत दिने विषयमा सम्बन्धित निकायबीच छलफल र अध्ययन भने भइरहेको सचिवालयले जनाएको छ।

सचिवालयले विद्युत् भ्याटसम्बन्धी निर्णय भइसकेको भन्दै भइरहेको प्रचार तथ्यमा आधारित नभएको स्पष्ट पारेको हो।

‘कानुन चाहिन्छ,तर मानवीयता पनि चाहिन्छ’

काठमाडौं। त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासपछि पूर्वमन्त्री सुमना श्रेष्ठले राज्य संयन्त्रको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।

उनले ट्राफिक नियम पालना गराउनु आवश्यक भए पनि कानुन कार्यान्वयन गर्दा नागरिकको सम्मान र मानवीय पक्षलाई बेवास्ता गर्न नहुने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले घटनालाई ‘नागरिक सही कि प्रहरी सही’ भन्ने दुई कित्तामा मात्रै राखेर हेर्न नहुने बताइन्।

उनको प्रश्न छ, नागरिकले आफूलाई नसुनिएको, असहाय वा अन्यायमा परेको महसुस गर्ने अवस्था किन आउँछ ?

श्रेष्ठले नियम उल्लङ्घन भए कानुनी कारबाही हुनुपर्नेमा आफू स्पष्ट रहेको बताएकी छन्। तर कानुन कार्यान्वयन गर्ने क्रममा राज्यका प्रतिनिधिको व्यवहार पनि महत्वपूर्ण हुने उनको भनाइ छ।

‘ट्राफिक प्रहरी गलत छन् भन्नु पनि होइन। कानुन चाहिँदैन भन्नु त झन् होइन। जवाफदेहिता र मानवीयता सँगसँगै हुन सक्दैन र ?’ उनले प्रश्न गरेकी छन्।

यसअघि गणेश नेपालीको घटनामा पनि आफूले यस्तै विषय उठाएको श्रेष्ठले उल्लेख गरेकी छन्।

उनका अनुसार एउटा घटनामा को सही र को गलत भन्ने निष्कर्ष निकाल्नुअघि राज्य संयन्त्र कहाँ चुक्यो भन्ने प्रश्न पनि उठाउन आवश्यक हुन्छ।

श्रेष्ठले नागरिकले आफू अन्यायमा परेको महसुस गरेपछि सामाजिक सञ्जालमै पुगेर आक्रोश पोख्नुपर्ने अवस्था आउन नदिन प्रभावकारी गुनासो सुनुवाइ प्रणाली आवश्यक रहेको बताएकी छन्।

उनले घटनालाई सामाजिक सञ्जालमा केवल विवाद वा ‘कन्टेन्ट’ बनाउने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरेकी छन्।

नागरिकले आफ्नो कुरा सुनिदिने निकाय छ भन्ने विश्वास गर्न सक्ने अवस्था राज्यले बनाउनुपर्ने उनको भनाइ छ।

‘नियम, कारबाही र जवाफदेहितासँगै मानवीयता, सम्मान र सुन्ने प्रणाली पनि आवश्यक छ,’ श्रेष्ठले भनेकी छन्।

त्रिपुरेश्वर घटनामा चालक दावा लामाको ट्राफिक प्रहरीसँग विवाद भएको सार्वजनिक विवरणमा उल्लेख छ।

तर घटनाको वास्तविक कारण र विवादको क्रमबारे विभिन्न दाबी सार्वजनिक भएका छन्। सम्बन्धित निकायबाट घटनाको तथ्य छानबिन भइरहेको छ।

त्यसैले घटनालाई लिएर निष्कर्षमा पुग्नुअघि छानबिनको परिणाम कुर्नुपर्ने देखिन्छ।

छातीमा समस्या देखिएपछि गृहमन्त्री गुरुङ ट्रमा सेन्टरमा

काठमाडौं । छातीमा समस्या देखिएपछि गृहमन्त्री सुधन गुरुङ स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्।

छातीमा असहजता महसुस भएपछि स्वास्थ्य जाँचका लागि उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको हो। चिकित्सकको निगरानीमा उनको स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ।

 

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो।

महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ३ लाख २ हजार २०० रुपैयाँमा झरेको हाे ।

त्यस्तै, १० ग्राम सुनको मूल्य सोमबार २ लाख ६० हजार ५४५ रुपैयाँ रहेकामा मंगलबार घटेर २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ।

साथै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३० रुपैयाँ घटेर ४ हजार ७७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

त्यस्तै, १० ग्राम चाँदीको मूल्य सोमबार ४ हजार १२० रुपैयाँ रहेकामा मंगलबार ४ हजार ९४ रुपैयाँ कायम भएको छ।

मलेसियाका प्रधानमन्त्रीसँग बालेनको टेलिफोन वार्ता, श्रम क्षेत्रमा सिन्डिकेट हटाउन जोड

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग नेपाल-मलेसिया वैदेशिक रोजगारीका विषयमा टेलिफोनमार्फत छलफल गरेका छन्।

आज बिहान भएको कुराकानीमा प्रधानमन्त्री शाहले नेपाली श्रमिकका लागि मलेसियाको रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन्।

शाहले मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट र बिचौलिया प्रथाप्रति आफ्नो तथा सरकारको असन्तुष्टि रहेको स्पष्ट पारेका छन्। उनले श्रमिकलाई अनावश्यक आर्थिक तथा अन्य बोझ पार्ने अव्यावहारिक र अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने धारणा राखेका छन्।

प्रधानमन्त्री शाहले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकले भोग्नुपरेका समस्या समाधान गर्न नेपाल र मलेसियाबीच थप समन्वय आवश्यक रहेको बताएका छन्।

शाहको धारणालाई सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेट र बिचौलिया प्रथाको विपक्षमा रहेको स्पष्ट पारेका छन्।

इब्राहिमले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई नेपालका श्रममन्त्रीसँग तत्काल समन्वय गरी आवश्यक काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुवै प्रधानमन्त्रीबीचको छलफलले नेपालबाट मलेसिया जाने श्रमिकको भर्ती प्रक्रिया पारदर्शी बनाउने तथा वैदेशिक रोजगारीमा देखिएका बिचौलिया र सिन्डिकेटसम्बन्धी समस्या समाधानका लागि दुई देशबीच सहकार्य अघि बढाउने विषयलाई प्राथमिकता दिएको छ।

प्रोटोकल र परम्परा तोड्दै बालेन

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)विदेश जाँदा पनि आफ्नो ‘प्रोटोकल र परम्परा’ देखाउँदै छन्। यसपटक उनको बिदाइमा विमानस्थलमा न गार्ड अफ अनर हुनेछ, न रेड कार्पेट।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ न्युयोर्क जान लागेका शाहको बिदाइका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै औपचारिक कार्यक्रम नराखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भोटेकोशी बाढीले देश शोकमा रहेका बेला विमानस्थलमा सरकारी तामझाम देखाउनु उचित नहुने शाहको धारणा छ। त्यसैअनुसार सेनाको गार्ड अफ अनर, रेड कार्पेट र भीआईपी लाउन्जको औपचारिक बिदाइ हटाइएको हो।

बिदाइ मात्रै होइन, न्युयोर्क पुगेपछि पनि शाहले भेटघाट घटाएका छन्।

विभिन्न देशका सरकार प्रमुखले द्विपक्षीय भेटका लागि आग्रह गरे पनि यसपटक त्यस्ता भेटवार्ता नगर्ने उनको निर्णय छ। महासभाको ‘जनरल डिबेट’मा सम्बोधन गर्ने र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्ने कार्यक्रम मात्रै राखिएको छ।

कूटनीतिक वृत्तमा भने यस्तो निर्णयलाई फरक ढंगले हेरिएको छ। प्रधानमन्त्रीको विदेश भ्रमणमा द्विपक्षीय भेटघाटलाई महत्वपूर्ण कूटनीतिक अवसर मानिन्छ। तर शाहले भने विपद्का बेला देशको परिस्थितिलाई प्राथमिकता दिँदै भेटघाट सीमित गरेका छन्।

भोटेकोशी बाढीपछि शाहको न्युयोर्क भ्रमण नै अन्योलमा परेको थियो। भ्रमण रद्द गर्नेबारे समेत छलफल भएको थियो।

तर अन्ततः नेपालको विपद् र जलवायु संकटको विषय विश्व मञ्चमा उठाउनुपर्ने निष्कर्षसहित उनी न्युयोर्क जाने भएका हुन्।

अब चासो भाषणमा मात्रै छैन। महासभामा नेपालका दुःख र जलवायु संकटको कुरा गरेपछि त्यसलाई अन्तर्राष्ट्रिय सहयोगमा कसरी बदलिन्छ भन्ने प्रश्न पनि छ।

देशभित्र विपद्को असर गहिरिँदै गर्दा प्रधानमन्त्रीले विश्व मञ्चमा उठाउने विषय र त्यसबाट नेपालले पाउने परिणामलाई पनि अर्थपूर्ण रूपमा हेरिनेछ।

प्रधानमन्त्री शाहले विमानस्थलमा वर्षौँदेखि चल्दै आएको भीआईपी बिदाइको शैली पनि हटाएका छन्। मन्त्री, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा विदेशी कूटनीतिज्ञलाई समेत बिदाइका लागि विमानस्थल नबोलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जबाट सिधै जहाज पार्किङस्थलसम्म पुग्ने व्यवस्था मिलाइएको छ।

शाहसँग मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेलसहित सीमित टोली मात्रै जानेछ।

परराष्ट्रमन्त्री शिशिर खनाल भने यसअघि नै न्युयोर्क पुगिसकेका छन्। उनी विभिन्न समकक्षीसँग भेटवार्तामा व्यस्त छन्।

बालेनको यो शैलीलाई समर्थकले सादगीका रूपमा हेर्छन्।  यद्यपि उनको यो शैलीले राज्यका स्थापित कूटनीतिक अभ्यास र प्रोटोकलको भने धज्जी उडाएको छ।

दसैँ नजिकिँदै, काठमाडौंका चङ्गा पसलमा बढ्यो चहलपहल [तस्वीरहरू]

काठमाडौं । दसैँ–तिहार नजिकिँदै गएसँगै काठमाडौं उपत्यकाका चङ्गा पसलमा चहलपहल बढ्न थालेको छ।

टेङ्गल चोकदेखि उपत्यकाका विभिन्न बजारमा रंगीचंगी चङ्गा, लट्टाई र धागो सजिन थालेका छन्। ग्राहकहरू मूल्य बुझ्न र चङ्गा किन्न पसल पुग्न थालेका छन्।

दसैँको छुट्टीमा परिवार र साथीभाइसँग चङ्गा उडाउने पुरानो चलन अझै कायम छ। यही कारण दसैँ नजिकिँदा चङ्गाको माग बढ्ने गरेको व्यवसायी बताउँछन्।

टेङ्गल चोकस्थित ‘भुतमाली पस’ अर्थात् ‘द काइट सप’का सञ्चालक विपीनराज वैद्यले दसैँ–तिहारका लागि चङ्गा आयात सुरु भइसकेको बताए। उनका अनुसार अब बजारमा माग क्रमशः बढ्दै जानेछ।

‘चुनौती बजारका लागि छैन, मौसमले गर्दा हुन्छ,’ २४ वर्षदेखि चङ्गाको व्यापार गर्दै आएका वैद्यले भने, ‘पानी पर्‍यो भने बिक्री भए पनि नाफा कम हुन्छ।’

नेपालमा बिक्री हुने अधिकांश चङ्गा भारतबाट आउने गरेका छन्। कलकत्ता, जयपुर, बनारस र बरेलीलगायत भारतीय सहरबाट चङ्गा तथा धागो आयात हुने गरेको व्यवसायी वैद्यले बताए।

चङ्गासँगै विभिन्न लम्बाइका धागो पनि बिक्रीमा छन्। ६ देखि १ हजार मिटरसम्मका धागो पाइने र कतिपयको मूल्य २ हजार ५ सय रुपैयाँसम्म पर्ने उनले बताए।

सिजनमा काठमाडौं उपत्यकाबाहेक बुटवल, धरान, धनकुटालगायतका ठाउँमा पनि चङ्गा पठाउने गरिएको छ। विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै अष्ट्रेलिया, अमेरिका र बेलायतसम्म समेत चङ्गा पठाउने गरेको वैद्यले बताए।

चराचुरुंगीलाई असर गर्ने भएकाले आफ्नो पसलबाट नाइलनको धागो बिक्री गर्न छाडेको उनको भनाइ छ।

व्यवसायी वैद्यका अनुसार नेपालमै ठूलो परिमाणमा चङ्गा उत्पादन गर्न सके भारतबाट आयात गरिनेभन्दा सस्तो पर्न सक्छ।

‘अहिले थोरै उत्पादन हुन्छ, त्यसले गर्दा मूल्य धेरै हुन्छ। यहीँ ठूलो उत्पादन गर्न सके सस्तो पर्छ,’ उनले भने।

तर मूल्य र बजारको अवस्थाका कारण नेपालमा चङ्गाको व्यावसायिक उत्पादन विस्तार हुन नसकेको उनको बुझाइ छ।

मोबाइल, सामाजिक सञ्जाल र डिजिटल मनोरञ्जनको प्रभाव बढे पनि दसैँमा चङ्गा उडाउने संस्कृति भने हराइसकेको छैन। बाल्यकालको सम्झनासँग जोडिएको चङ्गा उडाउने परम्परा नयाँ पुस्तामा पनि कुनै न कुनै रूपमा देखिन्छ।

दसैँका मुख्य दिन नजिकिँदै जाँदा चङ्गाको बिक्री अझ बढ्ने व्यवसायीको अपेक्षा छ।

 

पुटिनको दललाई रुसी संसदमा रेकर्ड बहुमत

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट मानिने युनाइटेड रसिया पार्टीले संसदीय निर्वाचनमा रेकर्ड बहुमत हासिल गरेको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार करिब ९५ प्रतिशत मतगणना सकिँदा पार्टीले ५७.८३ प्रतिशत मत प्राप्त गरेको छ भने ४५० सदस्यीय स्टेट डुमामा ३५५ सिट जित्ने देखिएको छ।

तीन दिनसम्म चलेको मतदान आइतबार सकिएको थियो। यो सन् २०२२ मा युक्रेनमाथि रुसले पूर्ण सैन्य आक्रमण सुरु गरेपछि भएको पहिलो संसदीय निर्वाचन हो। निर्वाचनमा क्रेमलिनसँग असहमत धेरै विपक्षी उम्मेदवारलाई प्रतिस्पर्धाबाट बाहिर राखिएको भन्दै आलोचना भएको छ।

युनाइटेड रसियाले पाएको ३५५ सिट अघिल्लो निर्वाचनमा प्राप्त गरेकोभन्दा बढी हो। सन् २०१६ मा उसले ३४३ सिट जितेको थियो। यसपटकको परिणामले पार्टीलाई संसद्मा संवैधानिक बहुमत कायम राख्ने स्थिति बनाएको छ।

निर्वाचनमा कम्युनिस्ट पार्टीले ४०, लिबरल डेमोक्रेटिक पार्टीले २५ र न्यु पिपुल पार्टीले २० सिट पाउने प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। केही सिट अन्य दल तथा स्वतन्त्र उम्मेदवारको पक्षमा जाने देखिएको छ।

यसपटकको निर्वाचनमा याब्लोको पार्टी राष्ट्रिय संसद्मा प्रतिनिधित्व कायम गर्न असफल भएको छ। रुसमा युद्धविरोधी धारणा राख्ने दर्ता भएको दलका रूपमा चिनिएको याब्लोकोका उम्मेदवारहरू ठूलो संख्यामा प्रतिस्पर्धाबाट बाहिरिएका थिए। यद्यपि, पार्टीले नोभगोरोड क्षेत्रको क्षेत्रीय संसद्मा भने प्रतिनिधित्व पाएको जनाएको छ।

निर्वाचनको प्रक्रियामाथि अन्तर्राष्ट्रिय स्तरबाट पनि प्रश्न उठाइएको छ। युरोपमा सुरक्षा तथा सहकार्य संगठन (ओएससीई) का पर्यवेक्षकलाई यसपटक निमन्त्रणा नगरिएको थियो। रुसी अधिकारीहरूले ओएससीईमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् भने संगठनका अधिकारीहरूले पर्यवेक्षकलाई बाहिर राखिएको विषयमा आपत्ति जनाएका छन्।

निर्वाचन परिणामलाई लिएर पश्चिमी देशहरूले पनि आलोचना गरेका छन्। युरोपेली संघले रुसमा विपक्षी आवाज दबाइएको, युद्धविरोधी दललाई निर्वाचनबाट अलग गरिएको र अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई सहभागी नगराइएको भन्दै निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएको छ। युक्रेनले आफ्नो नियन्त्रणबाहिर रहेका र रुसले कब्जा गरी विलय घोषणा गरेका क्षेत्रहरूमा निर्वाचन गराइएको विषयलाई पनि अस्वीकार गर्दै आएको छ।

 

सुरु भयो एमाले केन्द्रीय कमीटी बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको भैंसेपाटीस्थित रामबाग महलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।

बैठकमा बोल्ने प्रत्येक केन्द्रीय सदस्यका लागि तीन मिनेटको समय निर्धारण गरिएको छ । सदस्यहरूले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्नुका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे पनि विचार प्रस्तुत गर्नेछन् ।

सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले पार्टीको नेतृत्व निरन्तरता दिने संकेतसहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टी पुनर्गठनसम्बन्धी बहस र उठाइएका प्रश्नमाथि प्रतिवेदनमार्फत आफ्नो धारणा राख्दै ओलीले पुनर्गठनको विषयलाई क्षणिक आवेग वा लहडका रूपमा नलिन आग्रह गरेका थिए ।

दलित समुदायका लागि छुट्याइएको बजेट सरकारले खोसेको सोमप्रसाद पोर्तेलको आरोप

काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा नेकपा (एमाले) का नेता सोमनाथ पोर्तेलले दलित समुदायको परम्परागत पेशा प्रवर्द्धनका लागि अघिल्लो सरकारले छुट्याएको बजेटसमेत वर्तमान सरकारले कटौती गरेको आरोप लगाएका छन्।

राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्दै पोर्तेलले दलित समुदायको उत्थान र विकासका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले दलित समुदायका लागि विनियोजन गरिएको बजेट कार्यान्वयन नगरेको दाबी गरे।

उनका अनुसार तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दलित समुदायको परम्परागत पेशा प्रवर्द्धनका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, वर्तमान सरकार गठन भएपछि २०८३ वैशाखमा ४० करोड रुपैयाँ रकमान्तर गरिएको उनले बताए।

बाँकी १० करोड रुपैयाँमध्ये ३ करोड ५० लाख १७ हजार ५५६ रुपैयाँ मात्र लाभग्राहीले प्राप्त गरेको र करिब साढे ६ करोड रुपैयाँ फ्रिज भएको पोर्तेलको भनाइ छ।

कार्यक्रमअन्तर्गत १ हजार ६ सयभन्दा बढी व्यवसायीलाई प्रत्यक्ष लाभ पुर्‍याउने लक्ष्य राखिएको भए पनि ११५ जना व्यवसायीले मात्रै लाभ पाएको उनले बताए।

‘यो सरकारले आफूले त दलित समुदायको पक्षमा बजेट छुट्याएन नै, विगतको सरकारले छुट्याइदिएको बजेटसमेत खोसेको छ,’ पोर्तेलले भने।

उनले दलित समुदायका लागि विनियोजित बजेट कटौती गरिएको विषयको भर्त्सना गर्दै क्षतिपूर्ति हुने गरी आगामी बजेटमा आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरे।

ओलीले अस्वीकार गरे नेतृत्व परिवर्तनको माग

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक रामबाग भवन ललितपुरमा जारी छ। बैठकले नौवटा एजेन्डा तय गरेको छ। तर विगत छ महिनादेखि एमालेमा उठ्दै आएको चुनावी समिक्षा तथा पार्टी पुनर्गठनको बहस भने नउठ्ने भएको छ। 

आज सुरु भएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको माग अस्वीकार गर्दै आफूले अध्यक्ष पद नछाड्ने स्पष्ट पारे। सोमबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत ओलीले निर्वाचनमा पार्टीले भोगेको पराजयको नैतिक जिम्मेवारी लिए पनि संकटका बेला नेतृत्व छाडेर नभाग्ने बताएका हुन्।

‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ शीर्षकको प्रतिवेदनमा ओलीले चुनावी परिणामले पार्टीलाई गम्भीर धक्का पुगेको स्वीकार गरेका छन्। तर त्यसलाई आधार बनाएर नेतृत्व विस्थापन वा पार्टीलाई नेतृत्वविहीन बनाउने मागको औचित्य नरहेको उनको निष्कर्ष छ।

ओलीले बिरामी देखेर चिकित्सकले अस्पताल र बालीमा रोग लाग्दा किसानले खेत नछोडेजस्तै संकटका बेला नेतृत्वले पार्टीलाई अलपत्र पार्न नमिल्ने तर्क गरेका छन्। उनका अनुसार अहिलेको आवश्यकता एकअर्कामाथि आरोप लगाउने वा निराश हुने नभई कठोर आत्मसमीक्षा, तथ्यगत प्रतिवाद र संगठनात्मक पुनर्निर्माण हो।

प्रतिवेदनमा ओलीले ‘पुनर्गठन’को मागलाई समेत प्रश्न गरेका छन्। पार्टी इतिहासमा असाधारण र बाध्यात्मक परिस्थितिमा मात्र पुनर्गठन भएको उल्लेख गर्दै उनले अहिले अध्यक्ष विस्थापन गर्ने उद्देश्यले ‘बेमौसमी बाजा’ बजाइएको दाबी गरेका छन्। आफू पदको व्यक्तिगत प्रतिष्ठाका लागि नभई पार्टीको मनोबल, संगठनात्मक स्थिरता र सुरक्षित राजनीतिक संक्रमणका लागि उभिएको उनको भनाइ छ।

पुस्तान्तरणको बहसलाई पनि ओलीले फरक ढंगले व्याख्या गरेका छन्। आकस्मिक रूपमा पद खाली गर्नु नेतृत्व हस्तान्तरण नभएको भन्दै उनले संस्थागत तयारीबिनाको हतारोले पार्टीमा रिक्तता निम्त्याउन सक्ने बताए। एमालेको पुरानो नेतृत्वलाई ‘जरा’ र नयाँ पुस्तालाई ‘पालुवा’सँग तुलना गर्दै उनले उमेर कम हुनु मात्रै योग्यता र बढी हुनु अयोग्यता नभएको तर्क गरेका छन्।

बैठकमा सम्बोधन गर्दै ओलीले नेतृत्व परिवर्तनको माग गर्ने नेता–कार्यकर्तालाई पार्टीको विधान र महाधिवेशनका निर्णय मान्न आग्रह गरे। उनले महाधिवेशनका निष्कर्ष नमान्दै निर्वाचनमा आएको धक्कालाई बहाना बनाएर अराजकता सिर्जना गर्न नहुने बताए।

ओलीले पार्टी र नेतृत्वविरुद्ध उठ्ने स्वस्थ आलोचनालाई स्वीकार गर्ने तर स्वास्थ्य, उमेर र विगतको संघर्षलाई जोडेर हुने व्यक्तिगत आलोचनालाई अस्वीकार गरेका छन्। राष्ट्रिय स्वाधीनताप्रतिको अडानलाई अहंकार, स्पष्ट अभिव्यक्तिलाई तानाशाही र आत्मविश्वासलाई घमण्डका रूपमा प्रस्तुत गर्नु उचित नभएको उनको भनाइ छ।

बैठकका लागि केन्द्रीय कमिटीमा मनोनयन, विभाग, पोलिटब्युरो, स्थायी कमिटी, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च र अनुशासन आयोग गठनलगायत नौ एजेन्डा तय गरिएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ।

प्रतिवेदनमा ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलन, सरकारमाथि भएका कारबाही र आफूविरुद्धको कानुनी प्रक्रियाबारे पनि धारणा राखेका छन्। उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने तर त्यसलाई राजनीतिक सफायाको माध्यम बनाउन नहुने बताएका छन्।

आगामी निर्वाचनको तयारी र संविधान तथा लोकतान्त्रिक प्रणालीको रक्षा एमालेका प्रमुख कार्यभार रहेको उल्लेख गर्दै ओलीले पार्टी पुनर्निर्माणका लागि विभिन्न कार्यक्रम अघि सारेका छन्। निर्वाचनमा पराजय भए पनि पार्टीको संगठनात्मक आधार समाप्त नभएको बताउँदै उनले त्यसलाई आत्मसमीक्षा र पुनर्निर्माणमार्फत नयाँ राजनीतिक आधारमा रूपान्तरण गर्ने बताएका छन्।

स्वास्थ्य सेवा सूचकमा किष्ट अस्पताल अब्बल, निजी अस्पतालतर्फ पहिलो

काठमाडाैं । स्वास्थ्य सेवा प्रवाह, तथ्याङ्क व्यवस्थापन र विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जनस्वास्थ्य कार्यालय ललितपुरले किष्ट शिक्षण अस्पताललाई सम्मान गरेको छ ।

जनस्वास्थ्य कार्यालयले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्याङ्क प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा जिल्लाका निजी अस्पतालमध्ये किष्ट शिक्षण अस्पतालले पहिलो स्थान हासिल गरेको जानकारी दिइएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालका अनुसार वार्षिक समीक्षाका क्रममा निर्धारित स्वास्थ्य सेवा सूचकका आधारमा अस्पतालहरूको सेवा प्रवाह र कार्यसम्पादन मूल्याङ्कन गरिएको थियो । सोही मूल्याङ्कनका आधारमा किष्टलाई उत्कृष्ट ठहर गरिएको हो ।

कार्यक्रममा ललितपुर जिल्लाअन्तर्गतका १५ वटा निजी अस्पताल सहभागी थिए । सहभागी अस्पतालहरूले वर्षभरि प्रवाह गरेका स्वास्थ्य सेवाको तथ्याङ्क प्रस्तुत गरेका थिए । त्यसपछि सेवा प्रवाह, तथ्याङ्क व्यवस्थापन र विभिन्न स्वास्थ्य सूचकको अवस्थाबारे समीक्षा गरिएको थियो ।

किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले सम्मानलाई अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा र प्रभावकारी व्यवस्थापनमा गर्दै आएको प्रयासको मान्यताका रूपमा लिएको बताए ।

उनका अनुसार अस्पतालले तथ्यमा आधारित स्वास्थ्य सेवा प्रणालीलाई प्राथमिकता दिँदै आएको छ । प्राप्त सम्मानले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने प्रतिबद्धतालाई थप बल पुगेको उनले बताए ।

साथै, अस्पतालले आगामी दिनमा पनि गुणस्तरीय, विश्वसनीय र सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ ।

 

७.३५ ग्राम ब्राउन सुगरसहित बाराबाट भारतीय नागरिक पक्राउ

काठमाडौं। ब्राउन सुगर जस्तो देखिने लागु औषधसहित बारामा एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको मोतीहारी, नकरदेही पञ्चायत वडा नं. २ बिर्ता टोल बस्ने करिब ४० वर्षीय दुखी साह रहेका छन्।

असोज ४ गते बिहान ९:३० बजेको समयमा इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहरवा बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो। बाराको विश्रामपुर गाउँपालिका वडा नं. ४ बलिरामपुर स्थित भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका साहलाई रोकेर जाँच गर्दा साइकलको सिटमुनि लुकाइ-छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ७.३५ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहमाथि लागु औषध कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत कलैयाबाट ५ दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय प्रसौनीबाट थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिएका छन्।

राहदानी विभागअगाडि बसमा आगलागी : ट्राफिक प्रहरीको भूमिकामाथि छानबिन

काठमाडौं । राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागी घटनाबारे प्रहरीले छानबिन समिति गठन गरेको छ।

घटनाअघि बस चालक दावा लामा र ट्राफिक प्रहरीबीच भनाभन भएको देखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीको भूमिकाबारे समेत छानबिन गर्न समिति गठन गरिएको हो।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा समिति गठन गरेको जनाएको छ।

साथै, समितिलाई घटनाको समग्र पक्षबारे छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

प्रहरीका अनुसार राहदानी विभागअगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि चालक लामा र ट्राफिक प्रहरीबीच भनाभन भएको थियो। उक्त घटनासँग सम्बन्धित भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

घटनामा गम्भीर घाइते चालक लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। साथै, उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएकाे छ।

 

लागूऔषधसहित देशभरबाट २० जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ। आइतबार भक्तपुर, बाँके, सुनसरी, सुर्खेत, कैलाली, तनहुँ, सर्लाही र पर्सामा गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।

भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीबाट करिब २ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित २९ वर्षीय राजु थारू पक्राउ परेका छन्।

बाँकेको नेपालगञ्ज-२ बागेश्वरी मन्दिर अगाडिबाट १०७ ग्राम ५५० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित ३० वर्षीय देशराज चौहान र २५ वर्षीया पूजा चौहान पक्राउ परेका छन्।

सुनसरीको इटहरी-५ तुलसाटोलबाट ३६० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित २३ वर्षीय बसन्त खत्री पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर–५ चिसापानीबाट १ ग्राम ३८० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित ३४ वर्षीय बिनोद थापा पक्राउ परेका छन्।

कैलालीको धनगढी-७ भानुचोकबाट ४६० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित चार जना पक्राउ परेका छन्। साथै, जानकी गाउँपालिका–८ भोक्सीबाट १ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित ४८ वर्षीय प्रमेश्वर डगौरा थारू पक्राउ परेका छन्।

त्यस्तै, सुनसरीकाे इनरुवा-४ महेन्द्र राजमार्गबाट १ ग्राम ८० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थ, ट्रामाडोल ५३० ट्याब्लेट र नाइट्राजेपाम १० ट्याब्लेटसहित ३१ वर्षीय निरोज माली र ३० वर्षीय दिपेश नेपाली पक्राउ परेका छन्।

तनहुँको आँबुखैरेनी-४ बेनीटारबाट डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिन २३/२३ एम्पुलसहित नवराज परियार र सन्तोष गुरुङ पक्राउ परेका छन्। साथै, सर्लाहीको हरिवन–९ बाट ३ हजार ५१४ ट्याब्लेट टापेन्टाडोलसहित प्रदीप महतो र सुरज थापा पक्राउ परेका छन्।

पर्साको पटेर्वा सुगौली–१ मलाही टोलबाट ३० किलो गाँजासहित नन्दलाल सहनी र महेश सहनी पक्राउ परेका छन्। अनुसन्धानका क्रममा गाँजा ओसारपसारमा संलग्न रहेको खुलेपछि ७५ वर्षीया भुरी चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

एन्फाको निलम्बन फुकुवाका लागि सरकारले पहल गरिरहेको मन्त्री पोखरेलको दाबी

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवाका लागि सरकारले उच्चस्तरमा पहल गरिरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको जानकारी दिए।

मन्त्री पोखरेलका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दिएको निर्देशन पालना नगरी एन्फाले साधारणसभा तथा निर्वाचन प्रक्रिया अघि बढाएपछि पटक-पटक सचेत गराएको थियो।

निर्देशनको बेवास्ता गरेपछि राखेपले २०८२ चैत ११ गते राष्ट्रिय खेलकुद विकास ऐनको दफा २९ को उपदफा २ बमोजिम एन्फालाई निलम्बन गरेको उनले बताए।

एन्फाले दिएको निवेदनपछि भने २०८३ जेठ १ गते राखेपले उक्त निलम्बन फुकुवा गरेको मन्त्री पोखरेलले जानकारी दिए।

तर राखेपको निर्देशनलाई फिफाले ‘तेस्रो पक्षको हस्तक्षेप’ का रूपमा व्याख्या गरेको उनको भनाइ छ। यही विषयलाई आधार बनाएर फिफाले आफ्नो विधानअनुसार एन्फालाई अर्को सूचना नभएसम्म निलम्बन गरेको मन्त्री पोखरेलले बताए।

फिफाको निर्णयपछि एन्फाको निलम्बन फुकुवाका लागि सरकारले उच्चस्तरीय पहल गरिरहेको मन्त्री पोखरेलले संसद्मा जानकारी दिए।

उनले एन्फा विवाद समाधान गरी नेपाली फुटबलमाथि परेको असर हटाउन सरकार प्रयासरत रहेको बताए।

मन्त्री पोखरेलले नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलका क्रममा घाइते भएका आशिष राईको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको पनि जानकारी दिए।

थाइल्यान्डमा उपचाररत राईलाई राष्ट्रिय खेलकुद परिषद्को स्वीकृत बजेटको सीमाभित्र रहेर उपचार खर्च उपलब्ध गराउने निर्णय भएको उनले बताए।

‘एक्स्ट्रिम गौरवको यात्रा’ ट्रफी टुर सम्पन्न

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले ‘एक्स्ट्रिम गौरवको यात्रा’ नामक ट्रफी टुर सम्पन्न गरेको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यमा आयोजित टुरअन्तर्गत च्याम्पियन ट्रफीलाई अन्नपूर्ण आधार शिविर (एबीसी) पुर्‍याइएको थियो। 

नेपाली भलिबलको सफलतालाई खेलप्रेमीमाझ पुर्‍याउने र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले ट्रफी टुर आयोजना गरिएको आयोजकले जनाएको छ।

टुरका क्रममा गण्डकी प्रदेशका विभिन्न प्रमुख सहर तथा पर्यटकीय क्षेत्रमा ट्रफी प्रदर्शन गर्नुका साथै खेलाडी, समर्थक र स्थानीय समुदायसँग भेटघाट तथा अन्तर्क्रिया गरिएको थियो।

नेपालको पहिलो व्यावसायिक पुरुष फ्रेन्चाइज भलिबल लिगका रूपमा आयोजित एनभीएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भएको थियो।

साथै, प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्ससहित काठमाडौं रेड्स, कर्णाली शिवराज, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्क्वाड गरी ६ टोली सहभागी थिए।

फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजलाई २५–१५, २५–२० र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो। उपाधिसँगै अन्नपूर्णले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो।

 

बालबालिकासम्बन्धी संशोधन विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मत

काठमाडौं । प्रतिनिधिसभाले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

मन्त्री वादीको प्रस्तावमाथि निर्णय गर्दै सदनले विधेयकलाई सम्बन्धित समितिमा पठाउने स्वीकृति दिएको हो।

के छ विधेयकमा ?

संशोधन विधेयकले बालबालिकाको अधिकार र संरक्षणसँग सम्बन्धित विद्यमान कानुनी व्यवस्थालाई समयअनुकूल बनाउने उद्देश्य राखेको छ।

विधेयकमा देखिएका कानुनी तथा व्यावहारिक त्रुटि सच्याउने विषय पनि समेटिएको छ।

अब सम्बन्धित संसदीय समितिले विधेयकमाथि दफावार छलफल गर्नेछ। समितिले छलफलपछि तयार पारेको प्रतिवेदन सदनमा पेस गर्नेछ।

त्यसपछि विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।

‘टनेल–२६’को प्रचारका लागि भुटानी टोली नेपाल आए

काठमाडौं । असोज २३ गते नेपालमा प्रदर्शन हुने फिल्म ‘टनेल-२६ : द कर्स बिनिथ द माउन्टेन’को प्रचारप्रसारका लागि १६ सदस्यीय भुटानी टोली नेपाल आइपुगेको छ।
सोमबार बिहान नेपाल आइपुगेको टोलीमा फिल्मका निर्माता, कलाकार तथा प्राविधिक छन्। निर्माण पक्षका अनुसार थप पाँच जना सदस्य पनि नेपाल आउनेछन्।
नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको यो फिल्म जम्बी हरर विधामा आधारित छ। फिल्मको टिजर यसअघि नै सार्वजनिक भइसकेको छ भने मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिँदैछ। सोही कार्यक्रममा सहभागी हुन भुटानी टोली नेपाल आएको हो।
टोलीको नेतृत्व फिल्मका निर्माता तथा अभिनेता संगय छेल्ट्रिमले सञ्चारकर्मीसँग कुरा गर्दै उनले फिल्म निर्माणमा एक वर्षभन्दा बढी समय लागेको र नेपाल-भुटान सहकार्यको यो फिल्म अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्य रहेको बताए।
फिल्मका लेखक, निर्देशक तथा सम्पादक डीडी किन्लेले पनि फिल्म प्रदर्शनलाई लिएर आफूहरू उत्साहित रहेको बताए। साथै, उनले नेपाल र भुटानबीचको सहकार्यलाई निरन्तरता दिन यस्ता फिल्मले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
फिल्ममा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकारको अभिनय छ। दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका छन्।
त्यस्तै, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्तासहित विभिन्न निर्माता फिल्मको निर्माणमा सहभागी छन्।
भुटानको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागले पनि फिल्मलाई सहयोग गरेको निर्माण पक्षले जनाएको छ।

रविको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको भनेपछि…

काठमाडौं। नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतमा आगजनी गर्न निर्देशन दिएको आरोप लगाएपछि रास्वपाले नियमापत्ति जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले गत भदौ २३ र २४ गते सर्वोच्च अदालतमा भएको आगजनीको विषय उठाइन्। उनले लामिछानेको निर्देशनमा अदालतका फाइल र कोठा लक्षित गरी आगजनी गरिएको आरोप लगाइन्।

श्रेष्ठले जेनजी आन्दोलनअघि नै रास्वपा सभापति तथा तत्कालीन गृहमन्त्री लामिछानेले कुन अदालतमा कुन फाइल र कुन नम्बरको कोठामा ती फाइल छन् भन्नेबारे निर्देशन दिएको दाबी गरिन्।

‘सर्वोच्च अदालत जलाउँदा अहिले जल्न बाँकी कुन-कुन फाइल रहेछन् र कोठा छानिछानी फेरि आगो लाग्दै छ। त्यो के फाइल थियो र पटक-पटक जल्छ ?’ उनले प्रश्न गरिन्।

उनले सर्वोच्चमा भएका आगजनीका घटनामा कुन फाइल किन जलाइयो भन्ने विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरिन्।

श्रेष्ठको आरोपपछि रास्वपा सांसद लालविक्रम थापाले नियमापत्ति जनाए।

उनले पार्टी सभापति लामिछानेलाई जोडेर अफवाह फैलाउने काम भएको भन्दै आपत्ति जनाए। श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन उनले माग गरे।

सांसद श्रेष्ठले भने सरकारले न्यायपालिकामाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाउँदै आएकी छन्।

रास्वपाले भने लामिछानेलाई सर्वोच्च अदालतको आगजनीसँग जोडेर लगाइएको आरोप अस्वीकार गर्दै त्यसलाई संसदीय अभिलेखबाट हटाउन माग गरेको हो।

राजदूत सिफारिसमा आफ्नै मापदण्ड मिचेको शाहीको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राजदूत सिफारिस गर्दा आफैंले बनाएको मापदण्ड पालना नगरेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले परराष्ट्र मन्त्रालयले तयार पारेको राजदूत नियुक्तिसम्बन्धी मापदण्ड र प्रस्तावित राजदूतहरूको पृष्ठभूमिबीच मेल नदेखिएको दाबी गरेका हुन्।

उनका अनुसार मापदण्डको १० नम्बर बुँदामा अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट वित्तपोषित गैरसरकारी संस्थामा कार्यरत व्यक्ति राजदूतका लागि योग्य नहुने व्यवस्था छ।

त्यस्तै, कुनै विदेशी राज्यबाट तलबसहितको पदमा नियुक्त भएको भए उक्त पद छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था रहेको शाहीले बताए।

सरकारले हालै १३ देशका लागि राजदूत सिफारिस गरेको प्रसंग उठाउँदै शाहीले केही प्रस्तावित राजदूतको पृष्ठभूमि सरकारी मापदण्डसँग मेल नखाने दाबी गरे।

उनले अमेरिकाका लागि प्रस्तावित चिरञ्जीवी जंग थापा अक्सफामको एसियाली क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गरेको, स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन विश्व बैंक समूहअन्तर्गतको आईएफसीमा कार्यरत रहेको तथा जर्मनीका लागि प्रस्तावित सरु जोशीले यूएन वुमेनलगायत अन्तर्राष्ट्रिय संस्थामा काम गरेको विवरण रहेको बताए।

त्यस्तै, ओमानका लागि प्रस्तावित पद्माक्षी राणा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थासँगको सहकार्यमा रहेको, दक्षिण कोरियाका लागि प्रस्तावित प्रा. डा. संगम श्रेष्ठले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलगायतका संस्थासँग काम गरेको तथा साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनारले विश्व बैंक र एसियाली विकास बैंक समर्थित परियोजनामा काम गरेको विवरण रहेको शाहीको भनाइ छ।

‘म यहाँ कुनै व्यक्तिको व्यक्तिगत योग्यता वा क्षमतामाथि प्रश्न उठाइरहेको छैन। प्रश्न सरकार आफैंले बनाएको मापदण्डको कार्यान्वयनमाथि हो,’ शाहीले भने।

सरकारले मापदण्ड बनाउने तर कार्यान्वयन नगर्ने हो भने त्यसलाई सुशासन भन्न नसकिने उनको टिप्पणी थियो।

युवाहरूले परिवर्तन, विधिको शासन, सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि बलिदान दिएको उल्लेख गर्दै शाहीले सरकारको कार्यशैलीमा पनि त्यसको प्रभाव देखिनुपर्ने बताए।

‘हिजोका सरकार र आजको सरकारबीच फरक के हो? फरक केवल अनुहार र कुर्सीको हुनुहुँदैन। फरक शासन गर्ने संस्कारमा, विधिको पालना गर्ने व्यवहारमा र जनताप्रतिको जवाफदेहितामा देखिनुपर्छ,’ उनले भने।

ग्यास अभाव हटाउन १६० बुलेट पुर्‍याउने सरकारको तयारी

काठमाडौं। उद्योगमन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको अभाव तत्काल हटाउन सरकारले काम गरिरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री साहले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति अघि बढाएको जानकारी दिए।

उनका अनुसार ग्यास समस्या समाधानका लागि मन्त्रालयभित्र आन्तरिक समिति गठन गरिएको छ। दीर्घकालीन समाधानका लागि आवश्यक पूर्वाधार नीति बनाउन राष्ट्रिय योजना आयोगलाई समेत पत्राचार गरिएको छ।

मन्त्रालयले ग्यास अभावको कारण पहिचान गर्न ‘फिसबोन डाइग्राम’ नामक प्राविधिक विश्लेषण उपकरण प्रयोग गरेको साहले बताए।

अध्ययनले ग्यास अभावमा एउटा मात्र कारण नभई आपूर्ति, कानुन, वितरण प्रणाली, जनशक्ति, सामाजिक तथा अन्तर्राष्ट्रिय पक्ष जोडिएको देखाएको उनको भनाइ छ।

आयातमा निर्भरता, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, भण्डारण र रिफिलिङको समस्या, डिलर तथा सेवा केन्द्रको असमान वितरण र खाली सिलिन्डर भर्न हुने ढिलाइले माग र आपूर्तिमा असन्तुलन ल्याएको मन्त्रालयको निष्कर्ष छ।

कालोबजारी, डिजिटल ट्र्याकिङ प्रणालीको अभाव र अन्तरनिकाय समन्वयको कमीले समस्या थप जटिल बनाएको पनि मन्त्री साहले बताए।

उनले ग्यास संकटलाई केवल कति सिलिन्डर आयो भन्ने हिसाबमा मात्र नहेरी लोडिङदेखि उपभोक्ताको भान्सासम्म पुग्ने समय, रिफिलिङ क्षमता, मूल्य र सिलिन्डर पहिचानलाई एउटै प्रणालीमा जोडेर अध्ययन भइरहेको बताए।

तत्काल आपूर्ति सहज बनाउन सरकारले अवरुद्ध कृष्णभीर सडकखण्ड मर्मत गरी सञ्चालनमा ल्याएको साहले जानकारी दिए।

बजारको माग धान्न हाल नियमित रूपमा आइरहेको दैनिक १०० बुलेट ग्यासलाई बढाएर १६० बुलेट पुर्‍याउने विषयमा सरकारले कूटनीतिक पहलसमेत अघि बढाएको उनले बताए।

इटालीका विद्यालयमा बुर्का प्रतिबन्ध!

काठमाडौं। इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले विद्यालयमा बुर्का, नकाबलगायत अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेकी छन्।

रोममा आइतबार आफ्नै पार्टी ब्रदर्स अफ इटालीको युवा संगठनको कार्यक्रममा बोल्दै मेलोनीले प्रस्तावित व्यवस्था छिट्टै मन्त्रिपरिषद्मा पेस गर्ने बताइन्।

प्रस्तावमा विद्यालयका प्रत्येक कक्षामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने व्यवस्था पनि समेटिनेछ। विद्यालयमा एकीकरणमा गम्भीर समस्या देखिएका विदेशी विद्यार्थीका अभिभावकलाई इटालियन भाषा सिक्नुपर्ने व्यवस्था ल्याउने तयारीसमेत गरिएको उनले बताइन्।

मेलोनीले इटालीमा बस्न आउने व्यक्तिले देशको भाषा, संस्कृति र कानुनको सम्मान गर्नुपर्ने बताइन्। विद्यालयमा प्रभावकारी एकीकरण र लैंगिक समानतामा जोड दिँदै उनले कुनै पनि परम्पराका नाममा युवतीलाई अनुहार ढाक्न बाध्य पार्न नहुने धारणा राखिन्।

फोन्डाजियोन आईएसएमयूका अनुसार इटालीका विद्यालयमा इटालियन नागरिक नभएका विद्यार्थी कुल विद्यार्थीको ११.६ प्रतिशत छन्।

तर प्रस्तावित व्यवस्था अहिलेसम्म घोषणाको चरणमै छ। त्यसलाई कानुनी रूपमा कार्यान्वयन गर्न मन्त्रिपरिषद् र अन्य आवश्यक प्रक्रिया पूरा गर्न बाँकी रहेको जनाइएको छ।

बाढीपीडितको मृत्यु पुष्टि र राहत प्रक्रियामा ढिलाइ भएको भन्दै सांसद धितालको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सचेतक धितालले महाविपत्तिमा परेका पीडितले राज्यबाट पाउनुपर्ने राहत तथा सहयोगमा भइरहेको ढिलासुस्तीप्रति आपत्ति जनाइन्।

धितालले हालसम्म १ हजार ४५१ जनाको मृत्यु पुष्टि भएको र ५ हजार ७८६ जनाको अवस्था अझै यकिन हुन नसकेको बताइन्।

‘फेला पर्छन् कि भनेर आशाको दियालो जगाइरहेका आफन्तहरूको अवस्था दयनीय छ,’ उनले भनिन्।

उनले पीडित परिवारले कानुनी जटिलताका कारण थप सास्ती भोग्नुपरेको बताइन्। धेरै परिवारले अन्तिम संस्कारको प्रक्रिया पूरा गरिसके पनि आश्रित परिवारको पुनरुत्थानमा अनेकौँ कानुनी तथा प्रशासनिक बाधा रहेको उनको भनाइ छ।

‘धेरैले अन्तिम संस्कारको रीत पूरा गरिसकेका छन्, तर आश्रित परिवारको पुनरुत्थानमा अनेकौँ बाधा छन्,’ उनले भनिन्।

मृत्युको आधिकारिकता र आवश्यक कागजी प्रक्रिया पूरा हुन नसक्दा प्रभावित परिवार दोहोरो मारमा परेको धितालले बताइन्।

उनले नागरिकको कानुनी हैसियत कायम गर्न, सम्पत्तिको हक हस्तान्तरण गर्न तथा राज्यबाट प्राप्त हुने सेवा–सुविधा उपलब्ध गराउन सरकारले तत्काल प्रक्रिया अघि बढाउनुपर्ने माग गरिन्।

‘तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ। राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि तोक्न ढिलाइ गरेर नागरिकलाई अन्योलमा राख्ने छुट सरकारसँग छैन,’ उनले भनिन्।

‘नेता नयाँ खोज्ने, गाडीचाहिँ सय वर्ष पुराना चलाउने?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सडकमा गुडिरहेका पुराना सवारी साधनले निम्त्याएको प्रदूषण र त्यसप्रति सरकारको उदासीनतामाथि प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद तामाङले सवारी साधनको आयु र तिनले फैलाइरहेको प्रदूषणबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्।

‘माथि आकाशमा सेतो बादल दौडिइरहँदा हामी जमिनमा भने कालो मुस्लो गाडीको धुवाँबाट निसास्सिएर कतिबेला छुटकारा पाउने भनेर आफ्नो गाडी ओभरटेक गर्न बाध्य छौँ,’ उनले भनिन्।

उनले सडकमा गुडिरहेका सवारी साधनको अवस्था र तिनले फैलाइरहेको प्रदूषणबारे सरकारले प्रभावकारी लेखाजोखा नगरेको आरोप लगाइन्।

सांसद तामाङले आफूले तीन महिनाअघि नै यस विषयमा पूर्वाधार विकास मन्त्रालयमा प्रश्न उठाएको स्मरण गराइन्। उनका अनुसार त्यतिबेला मन्त्रीले कालो धुवाँ फाल्ने सवारी साधनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रतिबद्धता जनाएका थिए।

तर, उक्त प्रतिबद्धता कार्यान्वयन नभएको उनको आरोप छ। ‘त्यतिबेला मन्त्रीज्यूले कालो धुवाँ फाल्ने सवारी साधनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, तर कार्यान्वयन भने शून्य छ,’ उनले भनिन्।

नियम बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले जनता आजित भइसकेको उनको भनाइ छ। पुराना सवारी साधन विस्थापन गर्न पर्याप्त साधन नभएको सरकारी जवाफलाई उनले बहानाका रूपमा टिप्पणी गरिन्।

व्यङ्ग्य गर्दै उनले भनिन्, ‘हामीलाई देश हाँक्न नयाँ नेता र मन्त्री त चाहिन्छ, तर गाडी चल्ने इन्जिनचाहिँ अझै उही सय वर्ष पुराना थोत्रा नै छन्। यस्तो अवस्थामा जनताले कसरी स्वच्छ हावामा सास फेर्न पाउँछन्?’

उनले राज्यले प्रदूषणबाट पीडित नागरिकको संरक्षण गरिरहेको हो कि प्रदूषण फैलाउनेलाई संरक्षण गरिरहेको हो भन्ने प्रश्नसमेत उठाइन्।

सांसद तामाङले पुराना सवारी साधन तत्काल विस्थापन गर्न र सडकमा गुड्ने सवारीको प्रदूषणमाथि कडा अनुगमन गर्न सरकारसँग आग्रह गरिन्।

रोबोटको विकास तिव्र,मानिसको रोजगारी धरापमा?

काठमाडौं। प्रविधिको विकाससँगै मानिसजस्तै देखिने र मानिसले गर्ने विभिन्न काम गर्न सक्ने ह्युमानोइड रोबोटको विकास तीव्र हुँदै गएको छ।

कृत्रिम बुद्धिमत्ता(एआई)को प्रयोगसँगै यस्ता रोबोटले मानिससँग संवाद गर्ने, हिँड्ने, वस्तु उठाउने र वातावरणअनुसार काम गर्ने क्षमता विकास गरिरहेका छन्।

उद्योग, गोदाम, स्वास्थ्य सेवा, होटल तथा घरायसी कामसम्ममा ह्युमानोइड रोबोटको प्रयोग गर्ने सम्भावना बढ्दै गएको छ। मानिसलाई जोखिमपूर्ण वा दोहोरिरहने कामबाट राहत दिनु यसको प्रमुख सम्भावित फाइदा मानिन्छ।

तर, प्रविधिको यो विकाससँगै एउटा महत्वपूर्ण प्रश्न पनि उठेको छ- भविष्यमा मानिसले गर्ने काम रोबोटले विस्थापित गर्न सक्छ?

रोबोटको प्रयोग बढ्दा केही परम्परागत रोजगारीमा प्रभाव पर्न सक्ने चिन्ता छ भने, अर्कोतर्फ, रोबोट निर्माण, सञ्चालन र व्यवस्थापनका लागि नयाँ प्रकारका रोजगारी सिर्जना हुन सक्ने सम्भावना छ।

त्यसैले ह्युमानोइड रोबोटको विकासलाई प्रविधिको उपलब्धिका रूपमा मात्र नभई रोजगारी,सीप विकास, लागत, सुरक्षा र मानव-रोबोट सम्बन्धमा पार्ने प्रभावका आधारमा पनि हेर्नुपर्ने देखिन्छ।

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु 

काठमाडौं । झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु गरिएको छ।

अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका नागरिक तथा स्वास्थ्यकर्मीलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाइनेछ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार झापामा हालसम्म जापानिज इन्सेफलाइटिसबाट १३ जना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको हाे। 

त्यस्तै, अभियानका लागि जिल्लामा ४ लाख ८५ हजार जनालाई लक्षित समूहमा राखिएको छ।

मन्त्रालयले लक्षित समूहका सबैलाई नजिकको स्वास्थ्य संस्था वा तोकिएको खोप केन्द्रमा पुगेर खोप लगाउन आग्रह गरेको छ।

साथै, जापानिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन झुलको प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने तथा घरवरिपरि पानी जम्न नदिने जस्ता सावधानी अपनाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।

 

जेन्जी आन्दोलनका घाइतेलाई न्याय दिन सरकारसँग सांसद पाठकको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले जेन्जी आन्दोलनका क्रममा घाइते भएका युवाको उपचार, परिचयपत्र र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै पाठकले आन्दोलनका घाइतेले अझै न्याय पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले झापामा ६ दिनदेखि आमरण अनशनमा बसेका आन्दोलनकारीको स्वास्थ्य अवस्था गम्भीर बनेको बताए। परिचयपत्र, निःशुल्क शिक्षा र दीर्घकालीन व्यवस्थापनको माग राखेर उनीहरू अनशनमा बसेको पाठकले जानकारी दिए।

पाठकले एउटै आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद मान्ने तर घाइतेलाई अपराधीझैँ व्यवहार गर्न नहुने तर्क गरे।

‘एउटै आन्दोलनमा ज्यान गुमाउनेहरू सहिद र बाँचेकाहरू अपराधी कसरी हुन सक्छन् ?’ उनले प्रश्न गरे।

झापामा प्रहरीको गोली लागेर गोपाल सेढाईँ र दिनेश राजवंशीको मृत्यु भएको उल्लेख गर्दै पाठकले आन्दोलनका क्रममा १०८ जना घाइते भएको र तीमध्ये ४३ जनाले मात्रै परिचयपत्र पाएको दाबी गरे।

उनले सरकारलाई पीडितको पक्षमा उभिन आग्रह गरे।

‘राज्यले पीडितको संरक्षण गर्दैछ कि पीडकको ? यदि सरकारले आफूलाई लोकतान्त्रिक मान्छ भने आन्दोलनमा घाइते भएकाहरूलाई तत्काल न्याय दिनुपर्छ,’ पाठकले भने।

आन्दोलनका क्रममा बल प्रयोग भएको विषय उठाउँदै उनले त्यसको जिम्मेवारीसमेत सरकारले लिनुपर्ने बताए।

‘आफ्नो अकर्मण्यता ढाकछोप गर्न गोलीको सहारा लिनेहरूले आज जेन्जी आन्दोलनलाई कमजोर बनाउन खोजेका छन्,’ उनले भने, ‘तर यो आन्दोलनको बलमा बनेको सरकारले कतै न कतै गल्ती गर्दैछ।’

सरकारले आन्दोलनका घाइतेको उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थापनका विषयमा तत्काल निर्णय गर्नुपर्ने पाठकको माग छ।

पोखरीमा डुबेकाे बालक २० घण्टापछि मृत फेला 

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१२, जियाजोरमा पोखरीमा डुबेर बेपत्ता भएका १५ वर्षीय बालक २० घण्टापछि मृत अवस्थामा फेला परेका छन्।

लालबन्दी नगरपालिका–११, हीरापुरका देवेन्द्र ठाकुरका छोरा राजु ठाकुर आइतबार अपराह्न करिब ४ः१५ बजेदेखि पोखरीमा डुबेर बेपत्ता भएका थिए।

लखन्देही खोला पारि निजी जग्गामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेका उनको शव सोमबार दिउँसो करिब साढे १२ बजे फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक श्याम थापा मगरका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले डुङ्गा तथा बाँसको सहयोगमा बालकको शव पानीबाट बाहिर निकालेको हो।

खोजीका लागि सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी नायब निरीक्षक भक्तबहादुर खत्रीको नेतृत्वमा सात सदस्यीय गोताखोर टोली सोमबार बिहानै घटनास्थल पुगेको थियो।

यसअघि आइतबार साँझ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब तीन घण्टा खोजी गरे पनि बालक फेला परेका थिएनन्।

सोमबार बिहान पुनः गोताखोर टोली परिचालन गरी खोजी गर्दा बालकको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रधानसेनापति-प्रधानमन्त्री भेट, के भयो कुरा?

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच नियमित भेट भएको हो ।

हालै जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सकेर फर्किएका प्रधानसेनापति सिग्देलले उक्त भ्रमणका विषयमा प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री शाह रक्षामन्त्रीसमेत रहेकाले प्रधानसेनापतिसँग हुने भेटघाटलाई नियमित प्रक्रियाकै रूपमा लिनुपर्ने प्रवक्ता बस्नेतले बताए ।

उनका अनुसार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुअघिको कार्यक्रमसँग भेटलाई जोडेर हेर्नुपर्ने अवस्था छैन ।

‘प्रधानमन्त्रीज्यू नै रक्षामन्त्री पनि भएको कारण यस्तो भेटघाट नियमित हुने गर्छ,’ प्रवक्ता बस्नेतले भने ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तयारीमा छन् ।