`

हिमगंगा पूर्वविद्यार्थी समाजले छात्रवृत्ति र प्रविधि विस्तारलाई निरन्तरता दिने

काठमाडौं। हिमगंगा पूर्वविद्यार्थी समाजका अध्यक्ष भरतबहादुर बस्नेतले समाजलाई थप सुदृढ बनाउँदै विद्यालयको शैक्षिक विकास र लिखुपिकेको सामाजिक रूपान्तरणमा योगदान गर्ने बताएका छन्।

हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले समाज विश्वासको जगमा उभिएको बताए। स्रोतसाधनको सीमितताका बाबजुद छोटो समयमै समाजले महत्वपूर्ण उपलब्धि हासिल गरेको उनको भनाइ छ।

उनले समाजले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै कम्प्युटर तथा ल्यापटप उपलब्ध गराउँदै आएको जानकारी दिए। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए।

‘समाजको अध्यक्षका रूपमा यहाँ उपस्थित हुन पाउँदा मैले गर्व गरेको छु। यो समाज विश्वासको जगमा उभिएको छ,’ बस्नेतले भने, ‘स्रोतसाधन नहुँदा पनि यो समाजले छोटो समयमा ठूला उपलब्धि हासिल गरेको छ।’

बस्नेतले समाजको अक्षयकोषलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताए। विद्यालयमा प्रविधिको विस्तारका लागि समेत समाजले निरन्तर काम गर्ने उनको भनाइ छ।

उनले हिमगंगा माध्यमिक विद्यालयमा अध्ययन गरेका देश तथा विदेशमा रहेका सम्पूर्ण पूर्वविद्यार्थीलाई एउटै सञ्जालमा जोड्ने योजना रहेको बताए। पूर्वविद्यार्थीको ज्ञान, सीप र स्रोतलाई विद्यालय तथा समुदायको विकासमा उपयोग गर्ने उद्देश्य रहेको उनले स्पष्ट पारे।

अध्यक्ष बस्नेतले हिमगंगा पूर्वविद्यार्थी समाजको मुख्य उद्देश्य सामाजिक परिवर्तन र लिखुपिकेको समृद्धि रहेको बताए।

‘हाम्रो यो समाजको उद्देश्य भनेको सामाजिक परिवर्तन हो। हामी लिखुपिकेको समृद्धि चाहन्छौँ,’ उनले भने।

विद्यालय विकासमा राजनीतिक विभाजन त्यागेर सबै एकजुट हुनुपर्छ : प्रधानाध्यापक बस्नेत

काठमाडौं । हिमगंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक हेम बस्नेतले विद्यालयको विकासका लागि राजनीतिक दलको विभाजनभन्दा माथि उठेर सबै बौद्धिक तथा पूर्वविद्यार्थीहरू एकजुट हुनुपर्ने बताएका छन्।

हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै प्रधानाध्यापक बस्नेतले विद्यालयको विकासमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे। उनले हिमगंगा पूर्वविद्यार्थी समाजले हिमगंगा माविको विकासमा मात्रै नभई समग्र लिखुपिके गाउँपालिका तथा अन्य विद्यालयका लागि समेत काम गर्दै आएको बताए।

तर, समाजले अझै पर्याप्त रूपमा गति लिन नसकेको भन्दै उनले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सबै पूर्वविद्यार्थीलाई जोड्नुपर्नेमा जोड दिए।

उनका अनुसार सन् २००९ देखि हालसम्म हिमगंगा माध्यमिक विद्यालयमा अध्ययन गरेका जोसुकै व्यक्ति पनि पूर्वविद्यार्थी समाजमा आबद्ध हुन सक्नेछन्।

‘विद्यालयको विकासका लागि कसैले पनि एमाले, कांग्रेस भन्नुहुँदैन,’ बस्नेतले भने, ‘विद्यालयको विकासका लागि सबै बौद्धिक व्यक्तित्वहरू एकजुट हुनुपर्दछ।’

उनले पूर्वविद्यार्थी समाजलाई विद्यालयको विकासमा मात्र सीमित नराखी समग्र सामाजिक विकासको आधारका रूपमा स्थापित गर्नुपर्ने बताए। समाजले समुदायमा देखिने विभिन्न विसंगति तथा विकृतिविरुद्ध समेत आवाज उठाउँदै सामाजिक रूपान्तरणमा भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

‘यो समाजलाई समाजको सामाजिक विकासको आधार बनाउनुपर्दछ। यो समाज समाजमा हुने विसंगतिहरूका विरुद्धमा लड्नुपर्दछ,’ बस्नेतले भने।

हिमगंगा पूर्वविद्यार्थी समाजले शैक्षिक उन्नयनमा काम गर्नुपर्छ : सांसद उप्रेती

काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य रिना उप्रेतीले हिमगंगा पूर्वविद्यार्थी समाजले विद्यालयको हितसँगै लिखुपिकेको समग्र शैक्षिक उन्नयनका लागि काम गर्नुपर्ने बताएकी छन्।

हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सांसद उप्रेतीले समाजको नेतृत्वमा जो आए पनि हिमगंगा माध्यमिक विद्यालयको हकहित र विकासलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन्।

उनले पूर्वविद्यार्थी समाजमार्फत आपसी आत्मीयता र सहकार्य बढाउँदै विद्यालय तथा समुदायको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

‘हिमगंगा विद्यार्थी समाजको अध्यक्ष जो भए पनि विद्यालयको हक र हितका लागि काम गर्नुहोला,’ उनले भनिन्, ‘हिमगंगा विद्यार्थी समाजमार्फत आत्मीयता बढाउँदै सहयोग गर्छ भन्ने विश्वास गरेको छु।’

सांसद उप्रेतीले समाजले हिमगंगा माध्यमिक विद्यालयको विकासमा मात्र सीमित नभई लिखुपिकेको समग्र शैक्षिक उन्नयनका लागि समेत प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, उनले देश तथा विदेशमा रहेका सम्पूर्ण लिखुपिकेवासीलाई एउटै सञ्जालमा जोडेर समाजको विकासमा उनीहरूको ज्ञान, सीप र अनुभव उपयोग गर्नुपर्ने धारणा राखिन्।

२/३ करोड गरेर भएपनि विधालय भवन बनाउँछौँ : गाउँपालिका अध्यक्ष कार्की

काठमाडौं। लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले गाउँपालिकाको समग्र विकासका लागि शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्।

हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले लिखुपिकेका सबै नागरिकलाई जोड्ने प्रयास गरेकोमा पूर्वविद्यार्थी समाजलाई धन्यवाद दिइन्। उनले गाउँपालिकाभित्रका विद्यालयहरूको वृद्धि र विकासमा

समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।

‘सबैभन्दा ठूलो विकास भनेकै शिक्षा हो। शिक्षा विकास भयो भने मात्रै समाज परिवर्तन हुन्छ,’ उनले भनिन्।

अध्यक्ष कार्कीले शिक्षा विद्यार्थी जीवनमा मात्र सीमित नहुने बताउँदै जन्मदेखि मृत्युसम्म निरन्तर सिकाइ आवश्यक रहेको धारणा राखिन्। उनले गाउँपालिकाका सबै नागरिकलाई समान व्यवहार गर्दै आएको दाबी गरिन्।

‘यो समाजका सबै मान्छे र लिखुपिकेका सबै जनता मेरा लागि बराबर हुन्। मैले कसैलाई कुनै किसिमको भेदभाव गर्दिनँ र गरेको छैन,’ उनले भनिन्।

हिमगंगा माध्यमिक विद्यालयको विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने उनले बताइन्। विद्यालय, शिक्षक र विद्यार्थीलाई उपलब्ध गराइने सेवा तथा सुविधामा गाउँपालिकाले कुनै विभेद नगरेको उनको भनाइ छ।

अध्यक्ष कार्कीका अनुसार हिमगंगा माविको नयाँ भवन निर्माणका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ। विद्यालय भवन निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले गाउँपालिका  को वार्षिक बजेटबाट मात्रै तत्काल सम्पूर्ण निर्माण सम्पन्न गर्न कठिन रहेको उनले बताइन्।

‘वार्षिक बजेट नै पालिकाको ६-७ करोड हुन्छ। दुई वर्षको बजेट हाल्दा पनि भवन बनाउन पुग्दैन,’ उनले भनिन्, ‘त्यसमा पनि २-३ करोड गर्दै हामीले विद्यालयको विकासका लागि काम गरिरहेका छौँ।’

उनले गाउँपालिकाले शिक्षालाई प्रविधिमैत्री तथा डिजिटल रूपमा रूपान्तरण गर्ने प्रयाससमेत गरिरहेको जानकारी दिइन्। विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै डिजिटल प्रविधिको प्रयोग बढाउनेतर्फ पालिकाले काम गरिरहेको उनको भनाइ छ।

दलित समुदायका थर सूचीकरणका लागि मन्त्रालयले माग्यो राय-सुझाव

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस गरिएका दलित समुदायका थरहरूको सूची सार्वजनिक गर्दै सरोकारवालासँग राय, सुझाव तथा प्रतिक्रिया माग गरेको छ।

राष्ट्रिय दलित आयोगले प्रचलित कानुनी व्यवस्थाअनुसार दलित समुदायका थर सूचीकरणका लागि सिफारिससहितको विवरण मन्त्रालयमा पठाएको थियो। उक्त सिफारिसलाई अन्तिम रूप दिनुअघि सम्बन्धित समुदाय, व्यक्ति, संघसंस्था, विज्ञ तथा आमनागरिकको धारणा बुझ्ने उद्देश्यले मन्त्रालयले सूची सार्वजनिक गरेको जनाएको छ।

मन्त्रिपरिषद्बाट थर सूचीकरणसम्बन्धी निर्णय हुनुअघि आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले मन्त्री सीता बादीको निर्देशनमा आयोगबाट सिफारिस भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आफ्नो वेबसाइटमा सूची राख्दै त्यसमा कुनै त्रुटि, सुझाव वा आपत्ति भए दुई दिनभित्र जानकारी गराउन अनुरोध गरेको छ।

राय तथा सुझाव मन्त्रालयको इमेलसँगै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री बादी र उनको सचिवालयको इमेलमा पठाउन सकिने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार प्राप्त सुझाव तथा प्रतिक्रियामाथि आवश्यक अध्ययन गरिनेछ। त्यसबाट प्राप्त निष्कर्षलाई थर सूचीकरणसम्बन्धी आगामी प्रक्रियामा समेटेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरिएको छ।

‘कांग्रेसको आत्मा र आदर्श नमारी पार्टीलाई एकताबद्ध बनाउँछौँ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको मूल विचार, आत्मा र आदर्शलाई जोगाउँदै कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन्।

सर्वोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेसभित्र एकताका लागि संस्थापन पक्षमाथि दबाब बढिरहेका बेला थापाले पार्टीको आत्मा र विचार समाप्त पारेर गरिने एकता आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन्।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको विचार र निर्णयलाई कमजोर नबनाई कांग्रेसलाई थप एकताबद्ध बनाउने बताए। उनका अनुसार पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेतृत्वले सबै पक्षसँग संवाद अघि बढाउनेछ।

थापाले यसै विषयमा छलफल गर्न शुक्रबार नै पदाधिकारी बैठक बस्ने र त्यसपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट आवश्यक निर्णय लिइने जानकारी दिए।

उनले कांग्रेसलाई सबै कार्यकर्ताले गर्व गर्न सक्ने पार्टीका रूपमा विकास गर्ने दाबी पनि गरे। कांग्रेसप्रतिको आफ्नो राजनीतिक आस्था खुलेर व्यक्त गर्न सक्ने र पार्टीको सदस्य हुनुमा गर्व गर्ने वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

‘कसैले कांग्रेसको झोले होस् भन्दा छाती पिटेर म कांग्रेसको झोले हुँ भन्न सक्ने गर्विलो कांग्रेस बनाउँछौँ,’ थापाले भने।

पार्टीभित्रको पछिल्लो विवादका बीच थापाको यस्तो अभिव्यक्तिलाई कांग्रेसमा एकता कायम गर्ने प्रयाससँगै विशेष महाधिवेशनबाट अघि सारिएको राजनीतिक दिशालाई निरन्तरता दिने संकेतका रूपमा हेरिएको छ।

 

आठ दलले बनाए ‘अग्रगामी मोर्चा’

काठमाडौं। संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य राजनीतिक एजेन्डा बनाउँदै आठ राजनीतिक दलले ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्।

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त अवधारणा–पत्र सार्वजनिक गर्दै मोर्चा गठनको घोषणा गरेका हुन्।

मोर्चाले लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरूलाई एउटै राजनीतिक मोर्चामा संगठित गर्ने लक्ष्य लिएको छ। अवधारणा–पत्रमा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको संरक्षणसँगै लोकतान्त्रिक गणतन्त्र र संघीय व्यवस्थालाई थप मजबुत बनाउने प्रतिबद्धता जनाइएको छ।

राज्यसत्ताको केन्द्रीकरण तथा अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै स्वतन्त्रता, समानता र सामाजिक न्यायमा आधारित शासन व्यवस्था निर्माण गर्ने मोर्चाको दाबी छ। नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक स्वरूपलाई स्वीकार गर्दै पछाडि पारिएका वर्ग तथा समुदायको उत्थानलाई प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ।

मोर्चाले मधेसी, आदिवासी जनजाति, थारू, दलित, महिला, मुस्लिम तथा पिछडिएका समुदायलगायत सीमान्तकृत समूहको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्ने जनाएको छ। पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त शासनसँगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई राष्ट्रिय प्राथमिकतामा राख्ने उसको नीति छ।

नेपालको विविधतालाई राष्ट्रिय शक्तिका रूपमा उपयोग गर्दै ‘एकताभित्र विविधता’को अवधारणालाई अघि बढाउने मोर्चाले जनाएको छ। जात, जाति, वर्ग, लिंग र धर्मका आधारमा हुने विभेद अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्ने विषयलाई पनि उसले आफ्नो प्रमुख एजेन्डामा राखेको छ।

संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई आवश्यक अधिकार तथा स्रोत उपलब्ध गराउनुपर्ने मोर्चाको धारणा छ। प्रदेशमा स्वायत्त शासन र संघमा साझा शासनको अवधारणालाई अघि बढाउने बताउँदै उसले संसद् तथा प्रदेशसभामा जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ।

महिला र दलित समुदायका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अवधारणा–पत्रमा समेटिएको छ।

वर्तमान संविधानका केही संरचनात्मक कमजोरी र अस्पष्टताका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको निष्कर्ष निकाल्दै मोर्चाले संविधान संशोधन, परिमार्जन वा आवश्यक परे पुनर्लेखनसम्मको विषय उठाएको छ। राजनीतिक स्थिरता, समान प्रतिनिधित्व, प्रदेश पुनर्संरचना र न्याय प्रणाली सुधारका लागि संविधानमा परिवर्तन आवश्यक रहेको उसको दाबी छ।

आर्थिक क्षेत्रमा कृषि आधुनिकीकरण, जलविद्युत्, पर्यटन र औद्योगिकीकरणलाई प्राथमिकता दिँदै उच्च तथा दिगो आर्थिक वृद्धि हासिल गर्ने रणनीति मोर्चाले अघि सारेको छ। युवा बेरोजगारी घटाउन राष्ट्रिय युवा रोजगारी कार्यक्रम, सीप विकास तथा स्वदेशमै रोजगारी सिर्जनामा जोड दिइएको छ।

प्राकृतिक स्रोत संरक्षण र जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्ने विषयलाई पनि मोर्चाले आफ्नो आर्थिक तथा विकास नीतिमा समेटेको छ।

भूमिहीन र सुकुमबासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक सुकुमबासी पहिचान गरी वैज्ञानिक तथा मानवीय दृष्टिकोणबाट समस्या सम्बोधन गर्ने जनाएको छ।

परराष्ट्र नीतिमा भने नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै छिमेकीसहित सबै मुलुकसँग समानता, पारस्परिक सम्मान र सहकार्यमा आधारित सम्बन्ध विस्तार गर्ने नीति लिने मोर्चाले जनाएको छ।

मोर्चाको नेतृत्व सहमतिबाट चयन गर्ने व्यवस्था गरिएको छ। सहमति बन्न नसके आलोपालो प्रणाली अपनाउन सकिने उल्लेख छ। निर्णय गर्दा पहिलो प्राथमिकता सर्वसम्मतिलाई दिइने र त्यसबाट निष्कर्ष ननिस्किए लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गरिने अवधारणा–पत्रमा उल्लेख गरिएको छ।

मोर्चामा आबद्ध दलहरूले साझा न्यूनतम कार्यक्रम तथा मोर्चाबाट भएका निर्णय पालना गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यससँगै आठ दलले संविधान संशोधनदेखि संघीयता, प्रतिनिधित्व, सामाजिक न्याय र आर्थिक विकाससम्मका साझा मुद्दामा संयुक्त राजनीतिक गतिविधि अघि बढाउने आधार तयार गरेका छन्।

प्लुटो : जसलाई ग्रहको सूचीबाट हटाइयो

काठमाडौं। कुनै समय सौर्यमण्डलको नाम लिँदा नौवटा ग्रहको सूची सुनाइन्थ्यो। बुधदेखि प्लुटोसम्म। विद्यालयका किताबमा यही क्रम हुन्थ्यो, विज्ञानका सामान्य ज्ञानमा पनि यही पढाइन्थ्यो।

त्यो सूचीमा सबैभन्दा टाढा थियो -प्लुटो अर्थात यम ग्रह। 

तर अहिले सौर्यमण्डलमा आठ ग्रह मात्र छन्। प्लुटो ग्रहको सूचीमा छैन। सन् २००६ मा अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू) ले ग्रहको परिभाषा परिवर्तन गरेपछि प्लुटो ‘बौना ग्रह’को वर्गमा पुग्यो।

यसले आखिर प्लुटोमा त्यस्तो के भयो, जसका कारण उसले ग्रहको दर्जा गुमायो?  प्रश्न जन्मायो। 

सौर्यमण्डलका केही ग्रह मानिसले प्राचीन समयदेखि नै आकाशमा नाङ्गो आँखाले देख्दै आएका थिए। तर टेलिस्कोपको विकासपछि मानिसको नजर अझ टाढासम्म पुग्न थाल्यो।

१३ मार्च १७८१ मा बेलायती खगोलविद् सर विलियम हर्सेलले टेलिस्कोपबाट अरुण अर्थात् युरेनस पत्ता लगाए। यो खोजले सौर्यमण्डलबारे मानिसको बुझाइमा ठूलो परिवर्तन ल्यायो।

तर अरुणको खोजपछि वैज्ञानिकको जिज्ञासा झन् बढ्यो। अरुणको कक्षामा देखिएका केही असामान्यताले त्यसको बाहिर अर्को ठूलो पिण्ड हुन सक्ने अनुमान जन्मायो।

गणितीय गणना र निरन्तर खोजपछि २३ सेप्टेम्बर १८४६ मा वरुण अर्थात् नेप्च्युन पत्ता लाग्यो।

वरुणको कक्षामा समेत अज्ञात पिण्डको प्रभाव हुन सक्ने अनुमान गरियो। त्यसपछि वैज्ञानिकको ध्यान वरुणभन्दा बाहिर केन्द्रित भयो। त्यहाँ हुन सक्ने अज्ञात ग्रहलाई अस्थायी रूपमा ‘प्लानेट एक्स’ भन्न थालियो।

क्लाइड विलियम टोमबागको जन्म ४ फेब्रुअरी १९०६ मा अमेरिकाको इलिनोइसमा भएको थियो। किसान परिवारमा हुर्किएका टोमबागलाई सानैदेखि आकाश र ताराप्रति विशेष रुचि थियो।

स्रोत र सुविधा सीमित भए पनि उनले आफैं टेलिस्कोप बनाएर आकाशको अध्ययन गर्थे। उनले तयार पारेका ग्रह तथा ताराका चित्र र अध्ययनले खगोलविद्हरूको ध्यान खिच्यो।

सन् १९२९ मा उनी एरिजोनास्थित लोवेल वेधशालामा पुगे। त्यहाँ उनलाई वरुणभन्दा बाहिर हुन सक्ने ‘प्लानेट एक्स’ खोज्ने जिम्मेवारी दिइयो।

खोजी निकै धैर्य माग्ने खालको थियो।

टोमबागले आकाशको एउटै क्षेत्रका तस्बिर पटक–पटक खिच्थे। त्यसपछि ती तस्बिरलाई तुलना गर्थे। ताराहरूको भीडमा आफ्नो स्थान परिवर्तन गरिरहेको कुनै सानो पिण्ड भेटिन्छ कि भनेर उनी दिनहुँजसो अध्ययनमा जुट्थे।

महिनौँको मेहनतपछि त्यो दिन आयो।

१८ फेब्रुअरी १९३० मा टोमबागले ताराहरूको तुलनामा स्थान परिवर्तन गरिरहेको एउटा पिण्ड फेला पारे।

‘प्लानेट एक्स’ भेटिएको थियो।

पछि त्यसको नाम राखियो – प्लुटो।

Pluto – Ice world on the outskirts (Infographic) - Thingimajigs

नयाँ पिण्ड पत्ता लागेपछि त्यसको नाम के राख्ने भन्ने बहस सुरु भयो। अन्ततः ‘प्लुटो’ नाम स्वीकार गरियो।

यो नाम बेलायतकी ११ वर्षीया विद्यार्थी भेनेसिया बर्नीले सुझाएकी थिइन्।

रोमन पौराणिक कथामा प्लुटो अधोलोकका देवता हुन्। सूर्यबाट निकै टाढा रहेको, चिसो र अँध्यारो संसारका रूपमा कल्पना गरिएको नयाँ पिण्डका लागि यो नाम उपयुक्त ठानियो।

यसरी एउटी बालिकाले दिएको सुझाव खगोल विज्ञानको इतिहासकै चर्चित नाममध्ये एक बन्यो।

प्लुटोको खोजले टोमबागलाई पनि खगोल विज्ञानमा विशेष स्थान दिलायो।

तर प्लुटोसँग उनको सम्बन्ध खोजमै सीमित रहेन।

क्लाइड टोमबागको निधन १७ जनवरी १९९७ मा भयो। तर उनले आफ्नो अस्तु अन्तरिक्षमा पठाइयोस् भन्ने इच्छा व्यक्त गरेका थिए।

त्यो इच्छा वर्षौं पछि पूरा भयो।

१९ जनवरी २००६ मा नासाले न्यु होराइजन्स अन्तरिक्षयान प्रक्षेपण गर्‍यो। त्यस यानमा टोमबागको केही अस्तु पनि राखिएको थियो।

न्यु होराइजन्स करिब नौ वर्ष यात्रा गरेपछि १४ जुलाई २०१५ मा प्लुटोको नजिक पुग्यो।

त्यसपछि पृथ्वीमा प्लुटोका अभूतपूर्व तस्बिर आइपुगे।

पहाड, बरफ र सतहमा देखिएका विभिन्न संरचनाले प्लुटोबारे वैज्ञानिकको बुझाइ नै फराकिलो बनाइदियो।

यसमा एउटा अनौठो संयोग थियो।  प्लुटो पत्ता लगाउने वैज्ञानिकको अस्तु बोकेको अन्तरिक्षयान नै अन्ततः प्लुटोको नजिक पुगेको थियो।

प्लुटो पत्ता लाग्दा वरुणभन्दा बाहिर रहेका अन्य पिण्डबारे वैज्ञानिकहरूलाई धेरै जानकारी थिएन। त्यसैले प्लुटोलाई ग्रह मानिनु स्वाभाविक थियो।

तर समयसँगै नेप्च्युनभन्दा बाहिर धेरै नयाँ पिण्ड पत्ता लाग्न थाले। विशेषगरी काइपर बेल्टमा प्लुटोजस्तै प्रकृति भएका आकाशीय पिण्डहरू भेटिए।

त्यसपछि वैज्ञानिकसामु एउटा प्रश्न आयो ‘यदि प्लुटोलाई ग्रह मान्ने हो भने त्यस्तै अन्य पिण्डलाई किन ग्रह नभन्ने?’

यही बहसले ग्रहको परिभाषा स्पष्ट गर्नुपर्ने अवस्था ल्यायो।

सन् २००६ मा अन्तर्राष्ट्रिय खगोलीय संघले ग्रहका लागि तीन मापदण्ड तय गर्‍यो।

सूर्यको परिक्रमा गर्नुपर्ने, आफ्नै गुरुत्वाकर्षणका कारण लगभग गोलाकार हुनुपर्ने र आफ्नो कक्षीय क्षेत्र वरिपरि गुरुत्वीय प्रभुत्व कायम गरेको हुनुपर्ने।

प्लुटोले पहिलो दुई मापदण्ड पूरा गर्छ। समस्या तेस्रोमा आयो।

प्लुटोले आफ्नो कक्षीय क्षेत्र पूर्ण रूपमा ‘सफा’ गरेको छैन। त्यस क्षेत्रमा अन्य धेरै पिण्ड पनि छन्।

त्यसैले प्लुटो ग्रहबाट ‘बौना ग्रह’ अर्थात ‘पुड्को ग्रह’ को श्रेणीमा पुग्यो।

सौर्यमण्डलको ग्रह संख्या नौबाट आठ भयो।

प्लुटो सूर्यबाट औसत करिब ३९.५ एयू टाढा छ। एक एयू भनेको पृथ्वी र सूर्यबीचको औसत दूरी हो, जुन करिब १५ करोड किलोमिटर हुन्छ।

यति टाढा रहेको प्लुटोलाई सूर्यको एकपटक परिक्रमा गर्न झण्डै २४८ पृथ्वी वर्ष लाग्छ।

अर्थात् पृथ्वीमा जन्मिएको मानिसले आफ्नो जीवनकालमा प्लुटोको एउटा वर्ष पूरा भएको देख्ने सम्भावना लगभग हुँदैन।

प्लुटोको व्यास करिब २ हजार ३७६ किलोमिटर छ। यसको सतह अत्यन्त चिसो छ र वायुमण्डल पृथ्वीको तुलनामा निकै पातलो छ।

प्लुटोका पाँच ज्ञात उपग्रह छन् – चारोन, स्टिक्स, निक्स, केरबेरोस र हाइड्रा।

तीमध्ये चारोन सबैभन्दा ठूलो हो।

तर प्लुटो सौर्यमण्डलको अन्तिम बिन्दु भने होइन।

त्यसभन्दा बाहिर काइपर बेल्ट फैलिएको छ। त्यहाँ असंख्य बरफिला र चट्टानी पिण्डहरू छन्।

एरिस, हाउमिया र माकेमाकेजस्ता बौना ग्रह पनि यही बाहिरी क्षेत्रमा छन्।

यसले सौर्यमण्डललाई हामीले विद्यालयमा पढेको आठ ग्रहको सूचीभन्दा निकै ठूलो बनाइदिन्छ।

काइपर बेल्टभन्दा अझ टाढा ओर्ट क्लाउड रहेको वैज्ञानिकहरूको अनुमान छ। तर यो क्षेत्र यति टाढा छ कि त्यहाँ रहेका पिण्डको प्रत्यक्ष अध्ययन अझै निकै कठिन छ।

त्यसैले सौर्यमण्डलको ‘अन्त्य’ कहाँ हुन्छ भन्ने प्रश्नको उत्तर पनि एउटै छैन। सूर्यको गुरुत्वाकर्षण प्रभाव, सौर्य वायु र अन्तरतारकीय अन्तरिक्षको सीमा फरक आधारमा परिभाषित गर्न सकिन्छ।

मानिसले पठाएका अन्तरिक्षयानले सौर्यमण्डल र त्यसबाहिरको संसारबारे हाम्रो बुझाइ विस्तार गरेका छन्।

सन् १९७७ मा प्रक्षेपण गरिएको भायजर १ अहिले अन्तरतारकीय अन्तरिक्षमा यात्रा गरिरहेको छ। दशकौँ लामो यात्रापछि पनि यो अझै अर्को तारासम्म पुगेको छैन।

प्रोक्सिमा सेन्टौरीतर्फ यसको वर्तमान गतिलाई आधार मान्दा त्यहाँ पुग्न हजारौँ वर्ष लाग्ने अनुमान गरिन्छ।

यसले एउटा कुरा स्पष्ट पार्छ मानिसले बनाएको अन्तरिक्षयानका लागि ठूलो देखिने दूरी पनि ब्रह्माण्डको मापनमा निकै सानो छ।

आज प्लुटो ग्रहको सूचीमा छैन,तर त्यसको वैज्ञानिक महत्व घटेको छैन। बरु प्लुटोको कथा विज्ञानको स्वभाव बुझ्ने एउटा राम्रो उदाहरण बनेको छ।

सन् १९३० मा क्लाइड टोमबागले प्लुटो पत्ता लगाए। मानिसले त्यसलाई ग्रहका रूपमा स्वीकार गर्‍यो। दशकौँसम्म विद्यालयका किताबमा नौ ग्रह पढाइयो।

पछि नयाँ पिण्डहरू पत्ता लागे। वैज्ञानिक ज्ञान विस्तार भयो। पुरानो परिभाषामाथि प्रश्न उठ्यो। बहस भयो। अन्ततः प्लुटोको दर्जा परिवर्तन गरियो।

प्लुटो ग्रहबाट बौना ग्रह बन्यो।

तर मानिसको जिज्ञासामा उसको स्थान उस्तै रह्यो। र रही रहनेछ।  

किनकी, ग्रहको दर्जा गुमाएको त्यो सानो संसार प्लुटोले अन्तरिक्ष यात्राको इतिहासमा आफ्नो एउटा छुट्टै अध्याय सुरक्षित गरिसकेको छ।

जग्गा किर्ते र ठगीको जाहेरीपछि प्रतापपुरका वडा अध्यक्ष यादव पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडा अध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन्।

जग्गासम्बन्धी विषयमा किर्ते र ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलटारीमा जाहेरी परेपछि यादवलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार जाहेरीपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले यादवविरुद्ध अनुसन्धान अघि बढाएको थियो।

तर पक्राउ पर्नुअघि यादवले आफूलाई पक्राउ नगर्न माग गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट अल्पकालीन अन्तरिम आदेश लिएका थिए।

शुक्रबार उच्च अदालत बुटवल इजलासले उक्त आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको ठहर गरेपछि यादवलाई पक्राउ गर्ने बाटो खुलेको थियो।

त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई दाउन्नेबाट पक्राउ गरेको डीएसपी थापाले जानकारी दिए।

‘आज बिदा भइसकेकाले अदालत खुलेपछि म्याद थपका लागि उपस्थित गराइन्छ,’ डीएसपी थापाले भने।

यादवमाथि लागेको आरोपबारे प्रहरीले थप अनुसन्धान अघि बढाउने जनाएको छ।

‘सुदूर अब दूर छैन’ भनेका बालेनले प्रज्ञामा सुदूर बिर्सिए

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिममा पुगेर ‘सुदूर अब दूर छैन, झिक्कै झिक्कै माया तमलाई’ भनेका थिए। तर, सरकारले हालै गरेको प्रज्ञा प्रतिष्ठानका नियुक्तिले भने यही आश्वासनमाथि प्रश्न उठाएको छ।

ती नियुक्तिहरु हेर्दा लाग्छ सुदुरपश्चिम दुर मात्रै हैन अर्कै देशको हो। अथवा कर्णाली पारी अर्को राज्य पनि छ भन्ने अनुभूति प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरुले देखाउछ।

सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य-सचिव र परिषद् सदस्य नियुक्त गरेको छ। २९ जना पदाधिकारी नियुक्त हुँदा सुदूरपश्चिमबाट एक जना पनि परेका छैनन्।

यद्यपि, परिषद् सदस्यतर्फ भने सुदूरपश्चिमका ९ जना समेटिएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा ६, ललितकलामा १ तथा सङ्गीत तथा नाट्य प्रतिष्ठानमा २ जना सुदूरपश्चिमका छन्।

तर, महत्वपूर्ण पदाधिकारी चयनमै प्रदेशलाई पूर्ण रूपमा बाहिर राखिएको भन्दै साहित्यकार, कलाकार तथा संस्कृतिकर्मीले सरकारको आलोचना गरेका छन्। उनीहरूको प्रश्न छ-सुदूरपश्चिम नेपालमै पर्दैन कि त्यहाँ योग्य स्रष्टा नै छैनन् ?

सुदूरपश्चिमलाई कला, साहित्य, सङ्गीत र संस्कृतिमा समृद्ध क्षेत्र मानिँदै आए पनि राज्यका प्रमुख सांस्कृतिक संस्थामा नेतृत्व तहमा प्रतिनिधित्व नहुनुले सरकारको समावेशी नियुक्तिमाथि प्रश्न उठेको छ।

त्यसैले आलोचकहरू अहिले बालेनको पुरानो भनाइ सम्झाइरहेका छन्-‘सुदूर अब दूर छैन’ भन्ने आश्वासन व्यवहारमा भने फेरि सुदूरपश्चिमलाई नै दूर बनाउने खालको त भएन ?

कांग्रेस महाधिवेशनमा निष्पक्ष संरचना खोज्दै महत

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आगामी महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउन पार्टीभित्र सबै पक्षको सहभागिता सुनिश्चित हुने संरचना निर्माण गर्नुपर्ने बताएका छन्।

नुवाकोट क्षेत्र नम्बर १ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महतले पार्टीका महत्वपूर्ण निर्णय र निर्वाचन प्रक्रियामा कुनै एक पक्षको प्रभाव नदेखिने वातावरण बनाउन आवश्यक रहेको बताए। विगतमा निर्वाचन समिति, अनुशासन समिति, क्रियाशील सदस्यता टुंगो लगाउने समिति र विधान समितिजस्ता संरचनामा सबै पक्षलाई समेट्ने अभ्यासले विवाद न्यूनीकरण गर्न सहयोग गरेको उनको भनाइ थियो।

‘अहिले हामीलाई धेरै कुरा चाहिएको होइन, निष्पक्ष अधिवेशन गराउन सक्ने एउटा निष्पक्ष संरचना मात्र चाहिएको हो,’ महतले भने।

निर्वाचन प्रक्रियामा सम्बन्धित पक्षलाई आफ्नो धारणा राख्ने र निर्णयमाथि प्रश्न उठे सुनुवाइको अवसरसमेत उपलब्ध हुनुपर्ने उनले बताए। एउटा पक्षले तयार पारेको सदस्यता सूचीलाई मात्र आधार बनाएर निर्वाचन प्रक्रिया अघि बढाइएमा त्यसले थप विवाद सिर्जना गर्ने उनको तर्क थियो।

महतले कांग्रेस विभाजन गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै आफूहरूविरुद्ध भइरहेको प्रचारलाई नियोजित भने। पार्टीलाई लोकतान्त्रिक र एकताबद्ध ढंगले अघि बढाउने उद्देश्यले नै आफूहरू सामूहिक रूपमा सक्रिय भएको उनको दाबी थियो।

पार्टी नेतृत्वसम्बन्धी विवादमा अदालतको निर्णय आफूहरूलाई अनुकूल नभए पनि कानुनी प्रक्रियाको सम्मान गर्नुपर्ने उनले बताए। पुनरावलोकनको प्रक्रियासमेत अघि बढाइएको उल्लेख गर्दै महतले प्रधानन्यायाधीशको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासबाट त्यससम्बन्धी निर्णय भएको बताए।

निर्वाचन आयोगको निर्णय प्रक्रियाप्रति पनि उनले असन्तुष्टि जनाए। सम्बन्धित सबै पक्षलाई आफ्नो भनाइ राख्ने अवसर दिनुपर्नेमा आयोगले एक पक्षको धारणा सुनेर निर्णय गरेको उनको आरोप थियो।

पार्टीभित्रको विवाद समाधान गर्न यसअघि विभिन्न संयन्त्र निर्माण र दुई पक्षका समितिहरूबीच समायोजनको प्रयास भए पनि सहमति जुट्न नसकेको महतले बताए। व्यक्तिगत तहमा संवाद भइरहे पनि समग्र समस्या समाधान नभएपछि सामूहिक रूपमा अघि बढ्नुपरेको उनको भनाइ थियो।

महतका अनुसार २९, ३० र ३१ गते आयोजना हुने भेलामा कांग्रेसको वैचारिक तथा सांगठनिक अवस्थाबारे विस्तृत छलफल हुनेछ। पार्टीको विचार र सिद्धान्त, राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादमा आएको विचलन, मुलुकको आर्थिक अवस्था, सरकारको कार्यसम्पादन, संगठन सञ्चालन तथा विधान संशोधनलगायत विषय भेलाका मुख्य एजेन्डा हुनेछन्।

पछिल्लो अदालतको प्रक्रियाले तत्काल पार्टी विभाजनतर्फ जाने सम्भावना रोकिएको पनि महतले बताए। अदालतबाट कांग्रेसको नेतृत्वसम्बन्धी विषयमा अन्तिम निर्णय हुने भएकाले अहिले पार्टीभित्रै समाधान खोज्ने अवसर रहेको उनको भनाइ थियो।

उनले अदालतको अन्तिम फैसला आउनुअघि नै पार्टीभित्र सहमति कायम गर्न सकिने भन्दै देशभरका कांग्रेस कार्यकर्तालाई आगामी भेलामा सहभागी हुन आग्रह गरे।

महतले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेपाल फर्किन लागेको जानकारी पनि दिए। देउवा २६ गते नेपाल आउने कार्यक्रम रहेको बताउँदै उनले कार्यकर्तालाई स्वागतका लागि उपस्थित हुन आग्रह गरे।

देउवा २६ गते राति ९ः४५ बजे नेपाल आइपुग्ने तय भए पनि सबैलाई सहज हुने गरी दिउँसो नै आउने व्यवस्था मिलाउने प्रयास भइरहेको महतले बताए।

युवा आन्दोलनले तरंगित दिल्ली

काठमाडौं। भारतमा युवाहरूको नेतृत्वमा भएको प्रदर्शनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि राजनीतिक दबाब बढाएको छ।

परीक्षा अनियमितताविरुद्ध सुरु भएको आन्दोलन विस्तार हुँदै बेरोजगारी, रोजगारीको अभाव, आर्थिक अवसरको कमी र सरकारी निकायप्रतिको घट्दो विश्वाससम्म पुगेपछि सरकारका लागि चुनौती थपिएको हो।

प्रदर्शनकै बीच शिक्षामन्त्रीको राजीनामाले पनि सरकारमाथि दबाब बढेको संकेत गरेको छ। नयाँ दिल्लीबाट सुरु भएको आन्दोलन विभिन्न सहरसम्म फैलिएको थियो। प्रदर्शनकारीका केही माग सम्बोधन भएपछि आन्दोलनको तीव्रता घटे पनि युवामा रहेको असन्तुष्टि भने तत्काल समाप्त भएको देखिँदैन।

सुरुवातमा प्रश्नपत्र चुहावट र परीक्षा सञ्चालनमा हुने अनियमिततालाई लिएर युवाहरू सडकमा उत्रिएका थिए। तर, आन्दोलन अघि बढ्दै जाँदा रोजगारीको अभाव र भविष्यप्रतिको अनिश्चितता पनि प्रमुख मुद्दा बने। वर्षौंसम्म अध्ययन गरेर प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने तर परीक्षा प्रणालीमै कमजोरी देखिँदा अवसर गुमाउनुपर्ने अवस्थाले युवामा आक्रोश बढाएको देखिन्छ।

सरकारले परीक्षा प्रणाली सुधारका लागि कानुनी तथा प्रशासनिक कदम अघि सारेको छ। प्रश्नपत्र चुहावट र परीक्षासम्बन्धी अनियमिततामा संलग्नलाई कारबाही गर्ने व्यवस्था कडा बनाइएको छ। तर, युवाको असन्तुष्टि परीक्षा प्रणालीमा मात्रै सीमित नभएकाले रोजगारी र आर्थिक अवसरको विषय सरकारका लागि थप जटिल चुनौती बनेको छ।

आन्दोलनले भारतमा सामाजिक सञ्जाल नयाँ पुस्ताको राजनीतिक दबाब निर्माण गर्ने प्रभावकारी माध्यम बन्दै गएको पनि देखाएको छ। अनलाइन अभियानमार्फत ठूलो संख्यामा युवालाई जोड्न सकिएको छ।

यसबीच प्रधानमन्त्री मोदीले पनि युवा पुस्तासँग प्रत्यक्ष जोडिन सामाजिक सञ्जालको प्रयोगलाई बढाएका छन्। ‘एक्स’मा सक्रिय मोदीले इन्स्टाग्रामलगायत प्लेटफर्ममा समेत छोटा भिडियोमार्फत युवासँग संवाद गर्ने प्रयास गरिरहेका छन्।

यसले भारतको राजनीतिमा नयाँ पुस्ताको प्रभाव बढ्दै गएको संकेत गरेको छ। परम्परागत राजनीतिक संगठनभन्दा बाहिर रहेका युवासमेत साझा मुद्दाका आधारमा छोटो समयमै संगठित हुन सक्ने अवस्था बनेको छ।

प्रदर्शनका क्रममा सुरक्षाका नाममा प्रदर्शनकारीको निगरानी गर्न प्रविधिको प्रयोग गरिएको विषय पनि विवादमा आएको छ। केही प्रदर्शनकारीले आन्दोलनका क्रममा खिचिएका भिडियो सामाजिक सञ्जालमा फैलिँदा अनलाइन धम्की तथा दुर्व्यवहार सामना गर्नुपरेको बताएका छन्।

प्रदर्शनको मुख्य क्षेत्र आसपास इन्टरनेट सेवा अवरुद्ध गरिँदा आन्दोलनकारीबीचको सम्पर्क प्रभावित भएको थियो। त्यसपछि उनीहरूले वैकल्पिक माध्यम प्रयोग गरेर आपसी समन्वय कायम राख्ने प्रयास गरेका थिए।

भारतमा प्रदर्शन, द्वन्द्व र साम्प्रदायिक तनावका बेला इन्टरनेट बन्द गर्ने अभ्यास यसअघि पनि विवादमा पर्दै आएको छ। यसले सुरक्षाको आवश्यकता र नागरिकको डिजिटल अधिकारबीच सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ।

आन्दोलनको तत्कालीन कारण परीक्षा प्रणालीमा देखिएको कमजोरी भए पनि त्यसको गहिराइमा युवाको रोजगारीसम्बन्धी चिन्ता रहेको देखिन्छ।

प्रतिस्पर्धात्मक परीक्षाका लागि वर्षौं तयारी गर्ने युवाले परीक्षा नै निष्पक्ष नभएको महसुस गरेपछि सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर हुने अवस्था देखिएको छ। त्यसमाथि स्थिर रोजगारीको अभाव र सीमित आर्थिक अवसरले निराशा थप बढाएको छ।

सरकारले परीक्षा प्रणाली सुधार गर्न सक्ने भए पनि रोजगारी सिर्जना, आर्थिक अवसर विस्तार र युवाको भविष्यप्रतिको विश्वास पुनःस्थापित गर्नु दीर्घकालीन चुनौती हुनेछ।

यो आन्दोलनले तत्कालै ठूलो राजनीतिक परिवर्तन ल्याउँछ भन्ने निष्कर्षमा पुग्न हतार हुनेछ। तर, यसले सरकारलाई युवाका समस्या बेवास्ता गर्न कठिन बनाइदिएको छ।

आन्दोलनको नेतृत्व गरिरहेको समूहले परीक्षा अनियमितताविरुद्ध अभियानलाई निरन्तरता दिने तथा युवाका समस्या बुझ्न विभिन्न क्षेत्रमा पुग्ने योजना अघि सारेको छ। राजधानीबाट सुरु भएको असन्तुष्टि अन्य क्षेत्रमा समेत फैलिन थालेकाले यसको प्रभाव कति लामो रहन्छ भन्ने चासोको विषय बनेको छ।

अहिले आन्दोलन राजनीतिक दलमा रूपान्तरण हुनेभन्दा दबाब समूहकै रूपमा अघि बढ्ने संकेत गरिएको छ। तर, आगामी राजनीतिक बहसमा यसको प्रभाव भने देखिन सक्ने सम्भावना छ।

भारतमा ठूलो युवा जनसंख्या रहेकाले आगामी निर्वाचनमा उनीहरू महत्वपूर्ण मतदाता बन्न सक्छन्। अहिले सडकमा देखिएको असन्तुष्टिले राजनीतिक दलहरूलाई युवाका समस्या र अपेक्षामाथि थप ध्यान दिन बाध्य पार्न सक्छ।

सत्तारुढ दलले रोजगारी र आर्थिक अवसरको विषयलाई प्राथमिकतामा राख्नुपर्ने दबाब बढ्नेछ। विपक्षी दलहरूले भने यही असन्तुष्टिलाई सरकारविरुद्धको राजनीतिक मुद्दा बनाउने प्रयास गर्न सक्छन्।

तर सडकको आन्दोलन स्वतः मतमा परिणत हुन्छ भन्ने निश्चित छैन। त्यसका लागि स्पष्ट राजनीतिक एजेन्डा, संगठन र युवाको विश्वास जित्ने क्षमता आवश्यक हुन्छ।

८ फिट १० इन्च लामो कपाल, भारतीय महिला रेणुले बनाइन् विश्व कीर्तिमान

नयाँ दिल्ली । भारतकी रेणु धरियालले करिब एक दशकदेखि कपाल नकाटी जीवित महिलामध्ये सबैभन्दा लामो कपालको विश्व कीर्तिमान बनाएकी छन्।

गिनिज वर्ल्ड रेकर्डका अनुसार रेणुको कपालको लम्बाइ २७१.५० सेन्टिमिटर अर्थात् ८ फिट १० इन्च मापन गरिएको छ। उत्तराखण्डको हल्द्वानीमा अप्रिलमा गरिएको मापनपछि उनको कीर्तिमान प्रमाणित भएको हो। उनले यसअघि यो रेकर्ड राखेकी युक्रेनकी आलिया नासिरोभालाई पछि पारेकी हुन्। नासिरोभाको कपाल २५७.३३ सेन्टिमिटर लामो थियो।

रेणु युट्युबर हुन् र आफ्नो च्यानलमार्फत सौन्दर्य तथा कपालसम्बन्धी सामग्रीसमेत साझा गर्दै आएकी छन्। उनका अनुसार उनले सन् २०१५ देखि कपाल काटेकी छैनन्।

उनले लामो कपाल राख्नुको कारण भारतीय संस्कृति र परम्परासँग जोडिएको बताएकी छन्। उनका अनुसार लामो कपाललाई भारतीय समाजमा सौन्दर्य र सांस्कृतिक पहिचानसँग जोडेर हेर्ने गरिन्छ। यही मान्यताबाट प्रेरित भएर उनले कपाल बढाउन थालेकी हुन्।

उनको कपालको लम्बाइ सामान्यभन्दा निकै बढी भएकाले दैनिक हेरचाह पनि चुनौतीपूर्ण छ। कपाल धुने, सुकाउने र अल्झिएको भाग मिलाउन उनलाई लामो समय लाग्ने गरेको उनले बताएकी छन्।

रेणुले कपालको हेरचाहमा सकेसम्म प्राकृतिक सामग्री प्रयोग गर्ने गरेको दाबी गरेकी छन्। घरमै तयार गरिएको तेल तथा स्याम्पु प्रयोग गर्ने र रासायनिक उत्पादनबाट टाढा रहने गरेको उनको भनाइ छ। कपालको हेरचाहसम्बन्धी आफ्ना अनुभव तथा उपायसमेत उनले युट्युबमार्फत सार्वजनिक गर्दै आएकी छन्।

यति लामो कपालका कारण सार्वजनिक स्थानमा पुग्दा आफूलाई मानिसहरूले चासोका साथ हेर्ने गरेको रेणुले बताएकी छन्। सामाजिक सञ्जालमा समेत उनको कपाललाई लिएर प्रशंसा र कौतुहलता देखिने गरेको उनको भनाइ छ।

कपाल भुइँमा नलत्रियोस् भनेर रेणुले प्रायः त्यसलाई लामो चुल्ठो बनाएर बाँध्ने गर्छिन्। लामो कपालका कारण दैनिक गतिविधिमा सहजता कायम राख्न पनि विशेष सावधानी अपनाउनुपर्ने उनको अनुभव छ।

विश्व कीर्तिमान कायम गरेपछि रेणुले आफ्नो उपलब्धिले भारत र आफ्नो स्थानीय समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा राखेकी छन्।

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा काठमाडौंमा ‘ट्रिब्युट रन ५के’

काठमाडौं। पाकिस्तानको ब्रोड पिकमा भएको हिमपहिरोमा ज्यान गुमाएका नेपाली आरोहीहरूको सम्झनामा काठमाडौंमा ‘ट्रिब्युट रन ५के’ आयोजना गरिएको छ।

कपनको बालुवाखानीबाट सुरु भएको पाँच किलोमिटर दौड बौद्धनाथ स्तुपामा पुगेर सम्पन्न भएको थियो। दौडमा आरोही, पर्वतारोहणप्रेमी, धावक तथा सर्वसाधारण सहभागी भएका थिए। बौद्धनाथ पुगेपछि सहभागीहरूले दिवंगत आरोहीहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका निर्मल पुर्जा (निम्स) नेतृत्वको नेपाली टोलीको तस्बिरमा पुष्पगुच्छा अर्पण गरिएको थियो। सहभागीहरूले दिवंगत आरोहीहरूको सम्झनामा दीप प्रज्ज्वलनसमेत गरेका थिए।

आयोजकका अनुसार ‘ट्रिब्युट रन ५के’ सामान्य दौड प्रतियोगिताभन्दा फरक रूपमा हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको हो। पर्वतारोहण क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदानको स्मरण गर्दै शोकमा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउनु पनि कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।

ब्रोड पिकमा भएको हिमपहिरोमा नेपालीसहित विभिन्न देशका आरोहीले ज्यान गुमाएका छन्। घटनाले नेपालको पर्वतारोहण क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको छ। दुर्घटनापछि दिवंगत आरोहीहरूको सम्मानमा काठमाडौंमा विभिन्न श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम हुँदै आएका छन्।

कार्यक्रममा सहभागीहरूले आरोहीहरूको साहस र योगदानलाई स्मरण गर्दै हिमाल आरोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले हिमाली क्षेत्रमा जोखिम न्यूनीकरण, उद्धार प्रणालीको सुदृढीकरण तथा आरोहीको सुरक्षालाई प्राथमिकतामा राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

‘ट्रिब्युट रन ५के’मार्फत सहभागीहरूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको सम्झना जीवन्त राख्ने सन्देश दिएका छन्।

तस्वीरहरू :

 

 

वर्षाको वितण्डा : कहाँ-कहाँ सडकअवरुद्ध?

काठमाडौं। लगातारको वर्षा, पहिरो, सडक भासिने तथा कटानका कारण देशका विभिन्न स्थानमा सडक तथा यातायात सेवा प्रभावित भएको छ।

प्रहरीले जोखिमयुक्त सडकखण्डमा सावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, मुगुको नाग्म–गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर तथा सोलुखुम्बुको सल्लेरी–लुक्ला सडकखण्डमा यातायात प्रभावित भएको छ।

सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही सडकमा निश्चित समयका लागि सवारी आवागमनसमेत रोकिएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ।

त्यस्तै, कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी तथा लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

त्यसैगरी लामासाँघु–रामेछाप सडकखण्डअन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात प्रभावित भएको छ। उक्त स्थानमा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ निलदोर्जे पर्यटक सडकखण्डअन्तर्गत सल्लेरी–लुक्ला सडकमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडे पिङवाखोलानजिक मध्यपहाडी लोकमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

वर्षायाममा लगातार वर्षा भइरहेकाले पहिरो, बाढी, सडक भासिने तथा कटानको जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ।

जोखिमयुक्त क्षेत्रमा जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

विद्युत् महसुलमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति

काठमाडौं। सरकारले कृषि सिँचाइ, खानेपानी तथा घरायसी प्रयोजनमा प्रयोग हुने विद्युत् महसुलमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि यसको विरोध सुरु भएको छ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको निर्णयलाई जनविरोधी र प्रतिगामी भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अत्यावश्यक सेवामा सहुलियत दिनुपर्नेमा थप कर लगाएर सर्वसाधारणमाथि आर्थिक भार बढाउने सरकारको निर्णय उचित नभएको बताएका छन्।

घिसिङले विगतमा कृषि सिँचाइका लागि विद्युत् महसुल प्रतियुनिट ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ कायम गरिएको तथा सामुदायिक खानेपानी लिफ्टिङको महसुल ९ रुपैयाँबाट ४ रुपैयाँ २० पैसा पुर्‍याइएको स्मरण गराएका छन्।

उनका अनुसार कृषि उत्पादन लागत घटाउन विद्युत्मा सहुलियत आवश्यक रहेको अवस्थामा उल्टै १३ प्रतिशत भ्याट थपिँदा किसान र उपभोक्ता दुवै प्रभावित हुनेछन्।

‘कृषि प्रधान देशमा सिँचाइका लागि विद्युत् निःशुल्क गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने हो,’ घिसिङले भनेका छन्, ‘तर भएका सहुलियत खोसेर उल्टै १३ प्रतिशत भ्याट लगाउनुले किसान र आम उपभोक्तालाई मारमा पारेको छ।’

उनले विद्युत् उत्पादन बढिरहेको अवस्थामा यसको आन्तरिक खपत बढाउने नीति आवश्यक रहेको पनि बताएका छन्। विशेषगरी खाना पकाउने ग्यासको अभाव भइरहेका बेला विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको तर्क छ।

ग्यासको विकल्पमा विद्युतीय चुल्होको प्रयोग बढाउन सरकारले इन्डक्सन चुल्हो वितरण गर्ने कार्यक्रम ल्याउनुपर्ने घिसिङले सुझाव दिएका छन्। स्वदेशमै उत्पादन भएको विद्युत् खेर जाने तर खाना पकाउन महँगो ग्यासका लागि सर्वसाधारणले लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

घिसिङले करको भार सामान्य नागरिक र किसानमाथि थप्नुको सट्टा ठूला उद्योग तथा व्यवसायीबाट उठ्न बाँकी बक्यौता असुलीमा सरकार केन्द्रित हुनुपर्ने बताएका छन्।

विशेषगरी ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’मार्फत विद्युत् प्रयोग गरेका ठूला उद्योगीबाट उठ्न बाँकी अर्बौँ रुपैयाँ बक्यौता असुल गर्न सरकार सक्रिय हुनुपर्ने उनको माग छ।

राजस्व संकलनका लागि विपन्न तथा सामान्य नागरिकमाथि थप भार सिर्जना गर्नुभन्दा ठूला व्यापारिक घराना तथा व्यवसायबाट उठ्न बाँकी रकम असुलीमा कडाइ गर्नुपर्ने घिसिङले सरकारलाई सुझाव दिएका छन्।

उनले विद्युत् महसुलमा थप कर लगाउने निर्णयले कृषि, खानेपानी र घरायसी उपभोक्तालाई प्रत्यक्ष असर पार्ने भन्दै सरकारले आफ्नो निर्णयमाथि पुनर्विचार गर्नुपर्ने संकेतसमेत गरेका छन्।

जनता निराश र आतंकित छन् : लिङदेन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा आम नागरिक, निजी क्षेत्र तथा व्यवसायीहरू असुरक्षित र आतंकित अवस्थामा रहेको दाबी गरेका छन्।

शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले दैनिक ज्याला मजदुरी गरेर परिवार पालिरहेका नागरिकदेखि छोराछोरीको भविष्य सुरक्षित बनाउने उद्देश्यले मेहनत गरिरहेका मानिससम्म निराश र असुरक्षित बनेको बताए।

उनले पछिल्लो निर्वाचनमा नयाँ राजनीतिक दललाई मत दिएका नागरिकसमेत अहिले निराश र आतंकित भएको दाबी गरे। उनका अनुसार नागरिकले परिवर्तनको अपेक्षासहित नयाँ शक्तिलाई मत दिए पनि त्यसअनुसारको अवस्था सिर्जना हुन सकेको छैन।

लिङदेनले महँगी बढेको, बजारमा कृत्रिम अभाव सिर्जना भएको तथा निजी क्षेत्र निराश रहेको आरोप लगाए। आर्थिक गतिविधिमा देखिएको असहज अवस्थाले व्यवसायी तथा सर्वसाधारण दुवै प्रभावित भएको उनको भनाइ थियो।

उनले देश गम्भीर भू–राजनीतिक चक्रव्यूहमा फसेको दाबी गर्दै राष्ट्रिय हितका विषयमा स्पष्ट रूपमा बोल्ने राजनीतिक शक्ति अभाव भएको बताए।

‘मुलुक भू–राजनीतिको गम्भीर चक्रव्यूहमा फसेको छ। कसैले बोल्न सकिरहेका छैनन्। जनता वा देशका लागि हामी छौँ भनेर भन्न सक्ने कुनै राजनीतिक शक्ति देखिरहेको छैन,’ उनले भने।

लिङदेनले मुलुकलाई संकटबाट बाहिर निकाल्न राप्रपा थप बलियो बन्नुपर्ने बताए। त्यसका लागि पार्टीले नयाँ ढंग, नयाँ सोच र नयाँ दृष्टिकोणसहित जनतामाझ जानुपर्ने उनको भनाइ थियो।

उनले राप्रपाले अघि सारेको राजनीतिक विचार र बाटो समयक्रममा सही साबित हुँदै गएको दाबी गरे। अहिले पार्टीका नेता तथा कार्यकर्ता निराश भएर पछि हट्ने नभई संगठनलाई थप सुदृढ बनाएर अघि बढ्ने समय भएको उनले बताए।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको विचार, बाटो अनिवार्य जस्तो प्रमाणित हुँदै गएको छ। यस्तो बेला मैदानबाट भाग्ने होइन, मैदान छाडेर लुक्ने होइन,’ लिङदेनले भने, ‘सबै एकताबद्ध भएर अगाडि बढ्ने समय हो।’

उनले पार्टीका नेता तथा कार्यकर्तालाई आपसी एकता कायम गर्दै राप्रपाको संगठन विस्तार र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन आग्रह गरे।

मुलुकको वर्तमान संकटपूर्ण अवस्थालाई राप्रपाले आफ्नो राजनीतिक विचार स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको धारणा थियो।

वाइफाई चलाउन नदिएको निउँमा स्वास्थ्यकर्मीमाथि कुटपिट

काठमाडौं। अस्पतालको वाइफाई प्रयोग गरेको विषयमा विवाद हुँदा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा कालिकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार, अभद्र व्यवहार र कुटपिट गरेको तथा अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी सामान तोडफोड गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १ बजेतिर १४ र १५ वर्षका एकाघरका दुई भाइ अस्पतालको वाइफाईमा मोबाइल जोडेर ओपीडी नजिकै गेम खेलिरहेका थिए। चिकित्सकले अस्पताल परिसरबाहिर गएर मोबाइल चलाउन भनेपछि उनीहरू र चिकित्सकबीच विवाद भएको थियो।

विवाद बढ्दै गएपछि बालकहरूका परिवारका अन्य सदस्यसमेत घटनामा जोडिएको र चिकित्सक तथा नर्समाथि हातपात भएको प्रहरीको भनाइ छ। त्यसक्रममा अस्पतालमा केही सामानसमेत तोडफोड भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी सुरेश खत्रीका अनुसार स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार तथा अस्पतालमा अनधिकृत प्रवेश गरी तोडफोड गरेको घटनाबारे थप अनुसन्धान भइरहेको छ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सामान्य विवादले स्वास्थ्यकर्मीमाथि हातपात तथा भौतिक क्षतिसम्मको अवस्था सिर्जना भएपछि घटनालाई गम्भीर रूपमा लिइएको प्रहरीले जनाएको छ।

सांसद किरण थापाको सबै पारिश्रमिक गरिब विद्यार्थीको पढाइमा खर्च

काठमाडौं । अधिकांश नेतामाथि पद, शक्ति र सुविधाको मोह भएको आरोप लाग्ने गर्छ । तर, नेकपा एमाले बागमती प्रदेशका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री किरण थापाले आफूलाई फरक ढंगले चिनाएका छन् ।

उनले राजनीतिलाई पेशा होइन, समाजसेवाको माध्यम बनाएका छन् । उनी स्वच्छ छवि भएका नेताका रूपमा परिचित छन् ।

यही कारण स्थानीय तहदेखि प्रदेश सरकारसम्म उनले जिम्मेवारी पाए । उनी जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने नेता पनि हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी वडाध्यक्ष भए ।

त्यसबेलै उनले घोषणा गरे- ‘वडाध्यक्षले पाउने पारिश्रमिक एक रुपैयाँ लिन्नँ ।’ नभन्दै पाँच वर्षसम्म उनले पाएको सबै पारिश्रमिक जगत भैरव प्रतिष्ठान मार्फत स्थापना गरिएको अक्षयकोषमा जम्मा गरे ।

त्यसको ब्याजवापतको रकम गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा खर्च गरे । उनी भन्छन्- ‘आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ रोकिनु हुँदैन ।’

बागमतीको सांसद बनेपछि पनि उनको सामाजिक सेवाप्रतिको सोच फेरिएन । सांसदका रूपमा पाउने पारिश्रमिक पनि उनले सोही अक्षयकोषमा जम्मा गर्दै आएका छन् । ‘राजनीतिबाट व्यक्तिगत लाभ होइन, समाजलाई प्रतिफल दिनुपर्छ,’ उनको धारणा छ ।

उसो त थापा राजनीतिमा आउनुअघि नै उनी सामाजिक क्षेत्रमा सक्रिय थिए । उनीसँग लामो समय अन्तर्राष्ट्रिय मानवीय सहायता संस्था रेडक्रसमा रहेर विपद्, स्वास्थ्य र मानवीय सेवामा काम गरेको अनुभव छ ।

उनी जनप्रतिनिधि हुनुअघि भक्तपुरको सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष बने । खानेपानी समितिलगायत विभिन्न सामाजिक संस्थामा रहेर जनताको काम गरे ।

स्थानीय विकासका धेरै अभियानमा उनी अग्रपंक्तिमा देखिए । बागमती प्रदेश सरकारमा उनले करिब दुई वर्ष स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले । मन्त्री हुँदा उनले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेका थिए । दुर्गम क्षेत्रमा स्वास्थ्य संस्थाहरू खोले ।

उनी समृद्ध बागमती प्रदेशको स्पष्ट मार्गचित्र बोकेका नेता हुन् । विकासको योजना कागजमा नभई गाउँसम्म पुग्नुपर्ने मान्यता उनको छ । जनतासँग प्रत्यक्ष भेटघाट गर्न उनी रुचाउँछन् । भेटघाटमार्फत् जनताको समस्या सुनेर समाधान खोज्ने उनको राजनीतिक शैली चर्चित छ ।

उनी प्रष्ट भन्छन्, ‘राजनीति भनेको समाजसेवा हो । राजनीतिलाई कहिल्यै पेशा बनाउनु हुँदैन ।’ उनका अनुसार राजनीति कमाउने माध्यम बनेपछि भ्रष्टाचार बढ्छ । समाजसेवाको भावना हराउँछ । जनताप्रतिको उत्तरदायित्व पनि क्रमशः कमजोर हुन्छ ।

उनले विद्यार्थीकालदेखि विशुद्ध राजनीतिमा लागेका कतिपय नेताले सत्तामा पुगेपछि आफ्नै पहिलेको प्रतिबद्धता बिर्सिँदै भ्रष्टाचार गर्दा लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने तहमा जनता पुगेको बताए ।

उनी भन्छन्, ‘राजनीतिक संघर्षमा रहेको बेला बोलेका कुरा सत्तामा पुगेपछि कार्यान्वयन नगर्दा राजनीति मात्रै होइन, व्यवस्था नै बदनाम बनाउने प्रयास भयो ।’ त्यसैले राजनीतिमा नैतिकता, इमानदारी र सेवाभाव आवश्यक रहेको उनी दोहोर्याउँछन् ।

यद्यपि, थापाको स्वच्छ राजनीतिक छविलाई हिलो छ्यापेर फोहोर पार्न खोज्नेहरू पनि नभएका भने होइनन् । हालै पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओली कुटी’ निर्माणमा आर्थिक सहयोग गरेको समाचार सार्वजनिक भयो ।

थापाले भने, ‘त्यो पूरापूर भ्रामक र झुटा समाचार हो । त्यसमा कुनै सत्यता छैन ।’ सांसद थापा आगामी दिनमा पनि समाजसेवामार्फत राजनीति गर्ने आफ्नो प्रतिबद्धतामा उनी अडिग रहेको बताउँछन् ।

उनका लागि राजनीति सत्ता प्राप्त गर्ने बाटोभन्दा पनि समाज परिवर्तन गर्ने अभियान हो ।

‘सरकारले अपेक्षाकृत काम गर्न सकेन’

काठमाडाैं। सरकार गठनको चार महिना भन्दा बढी भयो। यो बीचमा सरकारी तवरबाटै विभिन्न किसिमका विवादास्पद निर्णय पनि भए। तीमध्येका कतिपय निर्णयहरू राजनीतिक, सार्वजनिक, भूराजनीतिक र कूटनीतिक दृष्टिकोणबाट विवादित पनि बने।

अर्कोतिर, संसद् जसरी चल्नुपर्ने थियो, त्यसरी चलेको छैन भन्ने स्वरहरू पनि राजनीतिक वृत्तबाट नै सुनिन थालेका छन्। आमनागरिकले पाउनुपर्ने दैनिक उपभोग्य सामानहरू सहज रूपमा भान्सासम्म पुग्न नसक्नुले नागरिकहरूमा असन्तुष्टि बढ्दो छ। किसानले पाउनुपर्ने मल समयमा नपाउनु होस् या महँगी नियन्त्रणमा पनि सरकार असफल भएको विश्लेषण भइरहेका छन्।

भूराजनीतिक रूपमा नेपाल ठूलो खतरामा रहेको भन्ने आवाजहरू पनि उत्तिकै सुनिन्छन्। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले १७ जेठमा संसद्को रोस्ट्रमबाट ‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि सिंगो देश नै तरंगित बन्यो। यही अभिव्यक्तिका कारण नेपाल प्रशासित क्षेत्र सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा भारतीय गतिविधि बढेको आकलन गर्नेहरू पनि प्रशस्तै छन्। भर्खरै घटेको सुनसरी घटना र त्यसपछि सिंगो मधेशमा फैलिएको डढेलोले पनि नेपाल भूराजनीतिक दुष्चक्रमा फस्ने हो कि भन्ने आशंकालाई अझै बल पुर्‍याएको छ।

संसद् र सरकारका चार महिना बित्दै गर्दा केही गम्भीर प्रकृतिका आन्तरिक घटनाहरू घटे। सहज व्यवस्थापनको उपयुक्त योजना नै नबनाई गठन भएलगत्तै सरकारले काठमाडौंका खोला किनारका सुकुम्बासी बस्तीमा अन्धाधुन्ध डोजर चलायो। जसले गरिखाने सुकुम्बासीहरूको चिल्लीबिल्ली परेको छ। संसद्मा यो विषय जोडतोडका साथ उठेपनि सरकारले चार महिना बितिसक्दा पनि अझै घरबारविहीन बनाइएका सुकुम्बासीहरूको सहज व्यवस्थापनको योजना सार्वजनिक गर्न सकेको छैन।

अर्थतन्त्र राम्रोसँग चलायमान हुन सकेको छैन। नयाँ सरकार बनेसँगै नागरिकहरूले ठूलो अपेक्षा गरेका थिए। अहिले पनि त्यो अपेक्षा कायमै छ।

तर सरकार भने जनताको अपेक्षाअनुसार अगाडि बढ्न सकेन। यही बीचमा सात जना नागरिकले आत्मदाह गरे। यसले पुष्टि गर्छ कि वर्तमान सरकारले जनतामा अपेक्षाकृत आशावादिता सिर्जना गर्न सकेन।

यी लगायतका यस्तै विषयमा केन्द्रित रहेर हामीले नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य बनेकी युवा नेत्री एशुदाकुमारी बरालसँग भिडियो-संवाद गरेका छौँ।

बरालले पनि सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताइन्। उनका अनुसार सरकारले प्राप्त गरेको जनादेशको सम्मान हुनेगरी काम गरिरहेको छैन। आफ्नो पुस्ताका मानिसले सरकार चलाएको देख्दा ठूलो आशा जागेको भए पनि त्यो आशा र भरोसालाई विश्वास गर्ने वातावरण बनाउन सरकार सफल नभएको उनको दाबी छ।

प्रस्तुत छ सांसद बरालसँग नेपालवान एचडीका लागि रामचन्द्र जोशीले गरेको भिडियो-वार्ताको सम्पादित र संक्षिप्त अंश :

संसद् कस्तो चल्दैछ?

अहिलेको संसद् प्रभावकारी रूपमा सञ्चालन भइरहेको जस्तो लाग्दैन। सरकारसँग दुईतिहाइ बहुमत भएकाले संसद् उनीहरूको आवश्यकताअनुसार मात्रै चलिरहेको देखिन्छ। सरकारको इच्छा भए बैठक बस्छ, नत्र रोकिन्छ। संसद्लाई जनताको आवाज बोल्ने थलोभन्दा पनि सत्ता पक्षको सुविधा हेरेर सञ्चालन गरिएको जस्तो महसुस हुन्छ।

विधेयकहरू धमाधम ल्याइएका छन्। तर ती विधेयक वास्तवमै जनताको आवश्यकता पूरा गर्न ल्याइएका हुन् कि सरकारको राजनीतिक स्वार्थ पूरा गर्न भन्ने प्रश्न उठेको छ। कुनै कानुनले समाजमा के प्रभाव पार्छ, जनतालाई के फाइदा हुन्छ भन्ने विषयमा पर्याप्त बहस हुन सकेको छैन।

संसद्को मूल उद्देश्य जनताको हितका लागि कानुन बनाउनु हो। तर अहिले सरकार आफ्नो बहुमतको बलमा निर्णय अघि बढाइरहेको छ। प्रतिपक्षले उठाएका विषयलाई गम्भीरतापूर्वक सुन्ने वातावरण बनेको छैन।

प्रतिपक्षीहरू त कमजोर जस्ता देखिन्छन् नि संसद्मा? 

सरकार प्रतिपक्षका सुझावलाई महत्व दिन इच्छुक देखिएको छैन। हामी संसद्मा जनताको प्रतिनिधित्व गरेर आएका हौँ। हामीले उठाउने विषय व्यक्तिगत होइन, जनताका समस्या हुन्।

संसद्मा २७५ जना सांसद छन्। सबैको हैसियत बराबर हो। कसैको मत ठूलो र कसैको सानो हुँदैन। तर अहिले बहुमतको आडमा प्रतिपक्षको आवाजलाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ।

हाम्रो जिम्मेवारी सरकारका कामको समीक्षा गर्नु, कमजोरी औँल्याउनु र आवश्यक सुझाव दिनु हो। सरकारलाई सचेत गराउनु प्रतिपक्षको संवैधानिक दायित्व हो। तर अहिले प्रतिपक्षले उठाएका विषयलाई आलोचनाका रूपमा मात्रै लिने गरिएको छ।

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति र सुकुम्बासी हटाउने विषयमा तपाईंहरूले लगातार आवाज उठाइरहनुभएको छ। तर सरकारले एक कानले सुनेर अर्को कानले उडाइदिएजस्तो गर्‍यो नि?

म कुनै दलको सांसद भए पनि सबैभन्दा पहिले नेपालको नागरिक हुँ। त्यसपछि मात्र कुनै पार्टीको प्रतिनिधि हुँ। त्यसैले राष्ट्रको हितसँग जोडिएका विषयमा हामीले स्पष्ट रूपमा बोल्नुपर्छ।

म पटक-पटक भन्दै आएको छु, देश रहे मात्रै हामी रहन्छौँ। राष्ट्रभन्दा ठूलो कुनै व्यक्ति हुन सक्दैन। सरकार वा प्रधानमन्त्री पनि राष्ट्रभन्दा माथि होइनन्।

पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेर आजको राष्ट्र निर्माण गर्नुभएको हो। इतिहासका सकारात्मक पक्षलाई सम्मान गर्नुपर्छ। तर अहिले राष्ट्रको सार्वभौमिकतासँग जोडिएका विषयमा सरकारले व्यक्त गरेका केही अभिव्यक्तिले गम्भीर प्रश्न उठाएका छन्। त्यसैले यस्ता विषयमा सरकार अझ जिम्मेवार हुनुपर्छ।

१ सय ८२ जना सांसदले अनुमोदन गरेको विषय हो त्यो। त्यसैले उनीहरूले आफ्नो निर्णयलाई सही ठानिरहेका होलान् नि?

बहुमत हुनु लोकतान्त्रिक व्यवस्थाको हिस्सा हो। 

तर, बहुमतको अर्थ सबै निर्णय स्वतः सही हुन्छन् भन्ने होइन। लोकतन्त्रमा प्रतिपक्षको कुरा पनि सुन्नुपर्छ। बहुमतले संविधान, राष्ट्रिय हित र ऐतिहासिक तथ्यभन्दा माथि जान सक्दैन। आज बहुमतको आधारमा प्रतिपक्षको आवाज दबाइयो भने त्यसको मूल्य इतिहासले मूल्याङ्कन गर्छ।

मानिसबाट गल्ती हुन सक्छ। हामी सबैबाट हुन सक्छ। तर गल्ती भएपछि त्यसलाई सच्याउनु नै नेतृत्वको परिपक्वता हो।

यदि प्रधानमन्त्रीले ‘मेरो अभिव्यक्तिबाट भ्रम सिर्जना भयो, त्यसलाई सच्याउँछु’ भन्नुभएको भए विवाद त्यत्तिकै सकिन्थ्यो। तर लामो समयसम्म पनि कुनै स्पष्टीकरण नआउनु नै समस्या बनेको हो।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तपाईंहरूले किन सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरिरहनुभएको हो?

यो विषय कुनै दलको राजनीति वा सरकार-प्रतिपक्षको विवाद मात्र होइन, राष्ट्रहितसँग जोडिएको विषय हो। त्यसैले हामीले यसलाई गम्भीर रूपमा उठाएका छौँ।

मैले संसद्मा पनि पटक पटक भनेको छु- देशभन्दा ठूलो कुनै व्यक्ति हुँदैन। प्रधानमन्त्री पनि राष्ट्रभन्दा माथि हुन सक्नुहुन्न। राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्तिले बोलेका शब्दको राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै स्तरमा अर्थ लाग्छ। त्यसैले सीमाजस्तो संवेदनशील विषयमा अत्यन्त सावधानी अपनाउनुपर्छ।

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै नेपालले भारतको भूमि मिचेको आशय व्यक्त गर्नुभएको थियो। मेरो विचारमा यस्तो अभिव्यक्ति नेपालको आधिकारिक धारणा हुन सक्दैन। नेपालले विगतदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको दाबी गर्दै आएको छ। त्यस्तो अवस्थामा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले भ्रम सिर्जना गरेको छ।

यसैले हामीले सुरुदेखि नै प्रधानमन्त्रीले उक्त भनाइ सच्याउनुपर्छ र संसद्को अभिलेखबाट हटाउनुपर्छ भन्ने माग राख्दै आएका छौँ।

सरकारले तपाईंहरूको मागलाई खासै महत्व दिएको देखिँदैन नि?

हामीले संसद्भित्र उपलब्ध सबै लोकतान्त्रिक माध्यम प्रयोग गरिरहेका छौँ। पटक पटक ध्यानाकर्षण गराएका छौँ।

तर सरकारले एक कानले सुनेर अर्को कानले उडाएको जस्तो व्यवहार गरिरहेको छ। संसद्को अभिलेखबाट उक्त अभिव्यक्ति हटाइँदैन र प्रधानमन्त्रीले त्यसलाई सच्याउनुहुन्न भने हामी आफ्नो विरोधलाई निरन्तरता दिन्छौँ।

हामीले उठाएको विषय कुनै दलको हितका लागि होइन, राष्ट्रहितका लागि हो।

सरकारले तपाईंहरूको माग सम्बोधन गरेन भने सडक आन्दोलनमा जानुहुन्छ?

राष्ट्रहितको विषयमा आवश्यक परे आन्दोलन पनि लोकतान्त्रिक अधिकार हो। हामी पहिले संसद्भित्र संघर्ष गर्छौँ। संसद्ले नसुने लोकतान्त्रिक रूपमा जनतामाझ पनि जाने विकल्प खुला रहन्छ। हाम्रो उद्देश्य अस्थिरता सिर्जना गर्नु होइन। सरकारलाई आफ्नो गल्ती सच्याउन आग्रह गर्नु हो।

कतिपयले प्रतिपक्षले विरोध मात्रै गर्छ, रचनात्मक भूमिका निर्वाह गर्न सकेको छैन भन्ने आरोप पनि लगाउँछन्। सहमत हुनुहुन्छ?

म त्यससँग सहमत छैन। प्रतिपक्षको भूमिका सरकारको आलोचना गर्नु मात्रै होइन, आवश्यक परामर्श र सुझाव दिनु पनि हो। तर सरकारका गलत निर्णय वा राष्ट्रहितविपरीत देखिएका विषयमा मौन बस्नु पनि प्रतिपक्षको जिम्मेवारी हुँदैन।

आज सामाजिक सञ्जालको प्रभाव धेरै छ। कुनै पनि अभिव्यक्तिको एउटा अंश मात्रै काटेर सार्वजनिक गरिन्छ र त्यसैका आधारमा धारणा बनाइन्छ। तर संसद्मा हामीले उठाएका धेरै गम्भीर विषय ओझेलमा पर्ने गरेका छन्।

हामी जनताका बीचबाट संघर्ष गरेर आएका मानिस हौँ। पुराना राजनीतिक दलहरूले दशकौँसम्म आन्दोलन र बलिदानबाट लोकतान्त्रिक व्यवस्था स्थापना गरेका हुन्। त्यस इतिहासलाई एकै झट्कामा अस्वीकार गर्न मिल्दैन।

३५ वर्षमा तपाईंहरूले केही गर्न सक्नुभएन रे अनि?

देश सञ्चालन र राष्ट्र निर्माण सामाजिक सञ्जालमा देखिएजस्तो सजिलो विषय होइन। सरकार चलाउन अनुभव, नीति र दीर्घकालीन योजना आवश्यक हुन्छ।

म आफैँ कालिकोटबाट आएकी हुँ। सानो छँदा काठमाडौं आइपुग्न धेरै दिन हिँड्नुपर्थ्यो। अहिले अवस्था परिवर्तन भएको छ। विकासका धेरै काम भएका छन्। अझै धेरै गर्न बाँकी छ, त्यो सत्य हो। तर विगतमा केही पनि भएको छैन भन्नु वास्तविकतासँग मेल खाँदैन।

आजका समस्याको समाधान गर्न नयाँ सरकारले परिणाम देखाउनुपर्छ। बहुमत पाएपछि जिम्मेवारी पनि त्यत्तिकै ठूलो हुन्छ। त्यसैले अरूलाई दोष दिनुभन्दा आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्नु सरकारको दायित्व हो।

सरकारले चार महिनामा अपेक्षाअनुसार काम गर्न सकेको छैन भन्ने तपाईंको बुझाइ हो?

हामीले सुरुदेखि नै सरकारलाई काम गर्न दिनुपर्छ भनेका छौँ। तर सरकारले जनतासँग गरेका प्रतिबद्धताअनुसार परिणाम पनि देखाउनुपर्छ।

सय दिनमै सबै समस्या समाधान हुँदैन भन्ने हामीलाई पनि थाहा छ। तर सरकारले कम्तीमा स्पष्ट योजना, प्राथमिकता र कार्यान्वयनको दिशा देखाउनुपर्छ। अहिले जनताले त्यो अनुभूति गर्न सकेका छैनन्। त्यसैले संसद्मा हामीले आवश्यक प्रश्न उठाइरहेका छौँ।

सरकार गठन भएको चार महिना मात्रै भयो। अहिले नै मूल्याङ्कन गर्नु हतार हुँदैन?

हामीले पनि सरकारले काम गर्न पाउनुपर्छ भन्ने मान्यता राख्छौँ। तर जनतासँग गरिएका प्रतिबद्धताअनुसार कामको दिशा देखिनुपर्छ। सय दिनमै सबै समस्या समाधान हुन्छ भन्ने अपेक्षा कसैले गरेको छैन।

तर सरकारले कुन क्षेत्रमा के काम गरिरहेको छ भन्ने स्पष्ट देखिनुपर्छ। जनताले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ।

 

‘द पिपुल पर्सन शुल्ड बी अल्वेज विदिन द पिपुल।’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको नियतमा प्रश्न नभए पनि राज्य सञ्चालनको शैलीमा कमजोरी देखिएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राज्य सञ्चालनको मूलमन्त्र राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास हुनुपर्ने बताए। सरकारको उद्देश्य र इमानदारीमा शंका नभए पनि कार्यशैली सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो।

सांसद झाले आफूलाई के थाहा छैन भन्ने कुरा स्वीकार गरेर सिक्ने संस्कार विकास गर्नुपर्ने उल्लेख गर्दै निरन्तर सिकाइ र आत्मसुधार नै सफल शासनको आधार भएको बताए।

सांसद झा को भनाइ जस्ताको तस्तै :

‘राज्य प्रणालीमा, राज्य सञ्चालनमा, संविधान र लोकतन्त्रको संरक्षणमा के मूलमन्त्र आवश्यक छ भनेर हेर्दा राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास। यो दुईटा कुरा लक्षित मूल मन्त्र राखेर हामीले आफ्नो राज्य सञ्चालन, सबै पद्धतिहरूलाई, सबै कुराहरूलाई यसमा केन्द्रित गर्‍यौँ भने अलि केही हामी हासिल गर्न सक्छौँ।

‘अहिलेको कुरामा इन्टिग्रिटीको प्रश्न छैन। इन्टिग्रिटीमा कुनै पनि शंका छैन। इन्टेन्सनमा पनि कुनै प्रश्न छैन। तर कता-कता ढंग नपुगेको हो कि! भन्ने चाहिँ लाग्छ। र, त्यो स्वीकार्नुपर्छ।

इफ यु डन्ट नो, ह्वाट यु डन्ट नो, देन यु डन्ट नो। रियली, यु डन्ट नो ह्वाट यु डन्ट नो। त्यसैले गर्दाखेरी मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नुपर्दछ। र, त्यो कुरा सिक्नुपर्दछ।

यो सुन्दर विचार गुगलको सीईओले भन्नुहुन्छ, ‘द डे यु फिल द्याट यु ह्याभ लर्न्ट एभ्रिथिङ, यु आर अलमोस्ट डेड।’ जुन दिन तपाईं यो सोच्नुहुन्छ कि तपाईंलाई सबै चिज थाहा छ, त्यो दिन तपाईं मृत्युसमान हो। त्यसैले गर्दाखेरी हामीले हरेक दिन यो राज्य प्रणालीको सञ्चालनका कुराहरूमा अझै ढंग सुधार्नुपर्छ कि जस्तो लाग्छ।

समाज शिक्षित नभएसम्म त्यहाँ राजनीति जीवित रहँदैन। यदि राजनीति जीवित छैन भने लोकतन्त्र जीवित हुँदैन। यदि लोकतन्त्र जीवित छैन भने त्यस्तो समाजमा सामाजिक सन्तुलन जीवित रहँदैन। समाजमा सामाजिक सन्तुलन छैन भने सामाजिक न्याय जीवित रहँदैन। सामाजिक न्याय जीवित छैन भने वृद्धि र विकास हुँदैन।

हामीले वृद्धि र विकासको भिन्नता पनि बुझ्नुपर्दछ। यहाँ चन्द्रागिरिको डाँडाबाट काठमाडौँ उपत्यका हेर्दै गर्दाखेरी सबैतिर फैलिएको देखिन्छ। त्यो वृद्धि हो। तर त्यहाँ एउटा संरचना एउटा योजनाअनुसार छ कि छैन भनेर हेर्दा कतै पनि देखिँदैन। घरहरू हेर्दा त्यो संरचना योजनाबेगर आफ्नै तरिकाले वृद्धि भएको देखिन्छ।

पहिला–पहिला काठमाडौँ उपत्यकाभित्र ठूला-ठूला दरबार बन्थे। ठूला–ठूला संरचनाहरू बन्थे। तर त्यही डाँडापारि धादिङमा विद्यालय र अस्पताल पनि थिएन। त्यो वृद्धि थियो, विकास थिएन। किनकि त्यहाँ सन्तुलन थिएन। त्यहाँ दिगोपन थिएन। अहिले दिगोपन र सन्तुलन विकासमा आवश्यक छ।

तर त्यो गर्दैगर्दा त्यसको स्टेकहोल्डर को-को हो त? कसको-कसको कारण त्यो दिगोपन हुन सक्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ र त्यसको सम्मान गर्न जान्नुपर्छ। यो देशमा अहिले सन्तुलित र समुन्नत विकासका लागि दिगोपनका स्टेकहोल्डरहरू- एउटा मधेस छ। अर्को प्रवास छ। अर्को निजी क्षेत्र छ।

तर हेर्नुस् न, दुर्भाग्य! तिनै असुरक्षित छन्।

मधेसमा भर्खरै आगो बल्यो। हामीले जसोतसो निभाउन सक्यौँ। तर म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु- आगो निभेको हो, दाउरा निभ्या छैन। त्यसैले गर्दाखेरी त्यसमा सचेत भइराख्नुस्। अब त्यहाँ २५ रुपैयाँको चिप्स खोसिन्छ।

तर सन्तुलन छैन भन्ने कुरा हेर्नुस् न, एयरपोर्टमा त ब्लु लेबल र ल्यापटप ल्याउन दिनुभएको छ। हाम्रो बोर्डरमा २५ रुपैयाँको चिप्स किन खोस्दैछ सीमामा रहेको सुरक्षाकर्मीले? किन सन्तुलन छैन? किन बोर्डरमा आउने गरेको गरिबलाई त्यो व्यवहार गरिन्छ र एयरपोर्टमा आउँदै गरेको धनीलाई अर्को व्यवहार गरिन्छ?

कहाँसे आते है ये लोग? और कहाँसे आते है ये सोच? भन्ने ठुलो प्रश्न सोध्दैछन् जनताले। किन असन्तुलन छ? त्यो व्यवहार किन सन्तुलित छैन?

यो डिस्पोजेबल इन्कम मधेसमा एकदम धेरै छ। खर्चलायकको आम्दानी। र खर्चलायकको आम्दानीलाई हामीले जबसम्म सामान्य अर्थतन्त्रमा ल्याउन सक्दैनौँ, त्यो समाजमा ड्रग्स, मदिरालगायत अरू खर्चहरू धेरै देखिन्छन्। त्यो मधेसमा देखिएको छ।

जसरी अहिले यो चिठ्ठा दिएर करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गरिँदैछ, त्यसरी नै रेमिट्यान्सलाई पनि फर्मल इकोनोमीमा रूपान्तरण गर्नका लागि २००६/००७ मा बंगलादेशले ‘क्यास ब्याक अफर’ गरेको थियो। त्यो अफर हाम्रोमा पनि गरोस्। खर्चलायकको आम्दानी कम होस् र फर्मल इकोनोमीमा धेरै आएपछि समाज धनी हुनु जति आवश्यक छ, त्यसमा संस्कार र सभ्यता पनि त्यत्तिकै आवश्यक हुन्छ।

यदि समाजमा पैसा धेरै भयो तर सभ्यता छैन भने त्यो जोखिम भोलि हरेक नेतृत्वले बहन गर्नुपर्छ। र, अर्को के भन्छ भने जुन देश अविकसित छ, त्यो देशमा हरेक जनताको आशा राजनीतिज्ञसँग हुन्छ। नेतृत्वसँग हुन्छ। उ पिपुल्स पर्सन हुनुपर्छ।

अमेरिका, बेलायत, फ्रान्स, जापानजस्ता विकसित देशहरूमा राजनीतिज्ञलाई नचिनेर पनि दैनिकी सामान्य रहन सक्छ। तर हामीजस्तो देशमा यदि राजनीतिज्ञलाई चिन्दैन भने दैनिकी सामान्य हुँदैन। त्यो कमजोर राज्यको एउटा सूचक हो। त्यसैले यो कमजोर राज्यमा यदि सामाजिक न्याय, सामाजिक सन्तुलन, दिगो विकास र लोकतन्त्र, यी सबै कुरा छैनन् भने त्यो कमजोर राज्य हो।

‘द पिपुल पर्सन शुल्ड बी अल्वेज विदिन द पिपुल।’

जननिर्वाचितहरू जनतासँग कनेक्टेड हुनुपर्छ। हामीले हाम्रो सवारी साधनको कालो सिसा त हटायौँ, कालो स्टिकर त हटायौँ। अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ, यो आवश्यक छ। त्यसैले गर्दाखेरी यो राज्य सन्तुलित हुँदैन र हामीले समुन्नत विकास गर्न सक्दैनौँ भने यी राजनीतिक उपलब्धिहरू नरहन सक्छन्।

अर्को प्रवासको कुरा। प्रवासको गर्दैगर्दा म पोखरण १९९८ को भारतको परमाणु परीक्षण हुँदै गर्दाखेरी त्यसपछि अन्तर्राष्ट्रिय जगतले भारतमा लगाएको आर्थिक नाकाबन्दी। त्यसपछि आर्थिक रूपमा एकदमै असुरक्षित भयो भारत। त्यो बेला त्यहाँको सेन्ट्रल बैंकले बन्ड निकाल्यो र त्यो बन्ड ४ सय ८० करोड चाहिँ एनआरआईले खेलिदियो। त्यसपछि त्यहाँका एनआरआईले कसरी देशलाई थेग्न सक्छन् भन्ने देखायो।

हाम्रो प्रवास पनि निकै सबल भइसकेको छ। राज्यले अहिले पनि नेपालीहरू त्यहाँ कामदार नै छन् भन्ने सोच्छ। तर, भर्खरै अमेरिका यात्रामा मैले केही नेपाली भेटेँ, जसका प्राइभेट जेट छन्। नेपालीहरू त्यहाँ पुगिसके।

अब उहाँहरूलाई स्वागत गर्नुपर्‍यो। अलि वार्म हुनुपर्‍यो उहाँहरूप्रति। नागरिकता, भिसा, लगानी र शेयर बजारलगायतका समस्यामा हामी प्रवासी नेपालीप्रति अलि सफ्ट भयौँ भने हाम्रो वार्षिक जीडीपी जति छ, त्यसको तीन गुणा उहाँहरूसँग लगानी छ। लगानीको क्षमता छ।

र अन्तिममा निजी क्षेत्र। निजी क्षेत्र त्रसित छ। प्रहरी देखेपछि म सुरक्षित छु भन्ने सोच्नुपर्ने नागरिकहरू प्रहरी देखेर तर्सिन्छन्। कुन बेला धरपकड गर्ला, कुन बेला मेरो घरमा छापा मार्ला भनेर।

निजी क्षेत्रलाई आत्मविश्वास दिनुस् न। भएको पैसा खर्च गर्न दिनुस्। बैंकमा भएको पैसा लगानी गर्न दिनुस्। यो वातावरण दिनुस्। यो आवश्यक छ। अर्थ मन्त्रालयबाट केही प्रयासहरू भइराखेका छन्। तर त्यो प्रयास पेपरमा मात्र छ, व्यवहारमा देखिएको छैन।

लोकतन्त्र, सन्तुलित विकास, सबै चिजका लागि मधेस, प्रवास र निजी क्षेत्र। यी तीनवटालाई एउटा साझेदारका रूपमा लिएर सरकारका तर्फबाट राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई मूलमन्त्र राखेर प्रयास गरियोस्।’

घरघरमा स्वास्थ्य परीक्षण र छाडा कुकुर नियन्त्रण गर्न सरकारसँग सांसद भूमिका लिम्बू सुब्बाको माग

काठमाडौं । नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले पाँचथर जिल्लामा फैलिएको रेबिज संक्रमणप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले पाँचथरको फाल्गुनन्द गाउँपालिकामा रेबिज संक्रमित कुकुरको टोकाइबाट सयौँ पशुचौपाय संक्रमित भएको र हालसम्म ३५ भन्दा बढी पशु मरेको जानकारी दिइन् । उनका अनुसार फिदिममा तीन जना मानिस, ५५ भन्दा बढी कुकुर तथा एउटा भैंसीमा समेत रेबिज संक्रमण पुष्टि भइसकेको छ । हिलिहाङ र कुम्मायक गाउँपालिकामा पनि संक्रमण देखिन थालेपछि जिल्लाभर त्रास फैलिएको उनले बताइन् ।

‘रेबिज संक्रमित कुकुरको र्यालबाट पनि संक्रमण हुने भएकाले किसानहरूले सावधानीका लागि जुत्ता, मास्क र ग्लोभ्स प्रयोग नगर्दा संक्रमण अझ फैलिएको अनुमान गरिएको छ,’ सांसद सुब्बाले भनिन् ।

उनले सरकारले तत्काल घरघरमा स्वास्थ्यकर्मी परिचालन गरी किसानहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारको व्यवस्था गर्नुपर्ने माग गरिन् । साथै, छाडा कुकुरहरूको नियन्त्रण, रेबिजविरुद्धको खोप व्यवस्थापन र जनचेतनामूलक अभियान सञ्चालनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरिन्।

‘म सरकारसँग जोडदार माग गर्दछु कि घरघरमै स्वास्थ्यकर्मी पठाइ किसानहरूको स्वास्थ्य परीक्षण गरी उपचारको व्यवस्था मिलाइयोस् । छाडा कुकुरहरूको नियन्त्रण चाँडो गरियोस् र संक्रमण रोक्न जनचेतनामूलक अभियान चलाइयोस्,’ उनले भनिन्।

ग्यास अभावबारे उधोग मन्त्रीले के भनिन्?

काठमाडौं। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा मुलुकभर देखिएको खाना पकाउने एलपी ग्यासको अभावको विषय प्रमुख रूपमा उठेको छ। सत्ता पक्ष र प्रतिपक्ष दुवैका सांसदहरूले बजारमा देखिएको ग्यास संकटको वास्तविक कारण सार्वजनिक गर्न सरकारसँग माग गर्दै उपभोक्तामा अन्योल सिर्जना नगर्न आग्रह गरेका छन्।

विशेषगरी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै बजारमा देखिएको ग्यास अभावबारे सरकार स्पष्ट हुनुपर्ने बताएका थिए। उनीहरूले ग्यास आयातमा समस्या भएको हो वा कृत्रिम अभाव सिर्जना गरिएको हो भन्ने विषयमा सरकारले तथ्यसहित जवाफ दिनुपर्ने धारणा राखे। यदि आयात नै कम भएको हो भने त्यसबारे उपभोक्तालाई स्पष्ट जानकारी दिन र वैकल्पिक आपूर्तिको व्यवस्था गर्नुपर्ने सुझाव दिँदै सांसदहरूले आवश्यक परे संसद्को समेत सहयोग रहने बताएका थिए।

सांसदहरूले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी वा सञ्चय गर्ने काम भएको भए त्यस्ता व्यक्ति वा संस्थामाथि कडा कारबाही गर्न पनि सरकारलाई आग्रह गरेका थिए।

सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हाल देखिएको समस्या स्थायी नभई अस्थायी भएको दाबी गरिन्। उनले ग्यास आयातमा कुनै ठूलो समस्या नरहेको दाबी गर्दै पूरा सिलिन्डर वितरण प्रणाली लागू भएपछि एकैपटक माग बढेकाले केही दिनका लागि वितरणमा असहजता देखिएको बताइन्।

उनका अनुसार अघिल्ला वर्षको यही अवधिको तुलनामा अहिले पनि नियमित माग धान्न सक्ने परिमाणमै एलपी ग्यास आयात भइरहेको छ। तर २०८३ साल साउनदेखि आधा सिलिन्डरको व्यवस्था हटाएर पूरा सिलिन्डर मात्रै वितरण गर्न थालिएपछि उपभोक्ताको माग अचानक बढेको र त्यसले वितरण प्रणालीमा अस्थायी दबाब परेको हो।

‘पूरा सिलिन्डर वितरण सुरु भएपछि एकैपटक ग्यासको माग बढ्न गएको देखिन्छ। बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम गरिरहेको छ,’ मन्त्री कुमारीले संसद्मा भनिन्।

यद्यपि सांसदहरूले खोजेजस्तो बजारमा अहिले देखिएको संकटको मूल कारणबारे मन्त्री कुमारीले स्पष्ट व्याख्या गरिनन्। बरु केही दिनभित्र वितरण प्रणाली सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गर्दै उपभोक्तालाई धैर्य गर्न आग्रह गरिन्।

भारतसँग आयात कोटा बढाउन पहल

मन्त्री कुमारीका अनुसार बढ्दो मागलाई सम्बोधन गर्न सरकारले भारतसँग एलपी ग्यास आयातको कोटा बढाइदिन औपचारिक पहल थालेको छ। हाल तीन महिनाका लागि स्वीकृत ४९ हजार ५०० मेट्रिक टनको कोटा बढाएर ६० हजार मेट्रिक टन पुर्‍याइदिन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग अनुरोध गरिएको उनले जानकारी दिइन्।

साथै नेपाल आयल निगमले पनि कूटनीतिक र प्रशासनिक तहबाट आवश्यक पहललाई निरन्तरता दिएको उनको भनाइ छ।

देशभर ५८ ग्यास उद्योग सञ्चालनमा

मन्त्री कुमारीले मुलुकमा हाल एलपी ग्यास उद्योगहरूको अवस्थाबारे पनि जानकारी दिइन्। उनका अनुसार अहिले देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगहरूको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको छ भने दैनिक करिब एक लाख ७५ हजार सिलिन्डर भर्ने क्षमता रहेको छ।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा ५ लाख ५४ हजार ६१२ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। आर्थिक वर्ष २०८२/०८३ मा भने ५ लाख २० हजार ५२५ मेट्रिक टन ग्यास मात्रै आयात भएको उनले जानकारी दिइन्।

बजार अनुगमन तीव्र, ट्र्याकिङ प्रणालीको तयारी

बजारमा देखिएको असहजतापछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको मन्त्री कुमारीले बताइन्।

उनका अनुसार नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघसँगको समन्वयमा ग्यास आयात, भण्डारण र वितरणलाई थप पारदर्शी तथा व्यवस्थित बनाउन सुधारका कार्यक्रम अघि बढाइएको छ।

एलपी ग्यास सिलिन्डर ट्र्याकिङ प्रणाली विकास गर्ने काम पनि सुरु भइसकेको उनले जानकारी दिइन्। निगमको इन्जिनियरिङ तथा सूचना प्रविधि विभागले प्रणाली निर्माणको काम अघि बढाएको छ। त्यसअघि अन्तरिम व्यवस्थाका रूपमा गुगल फर्ममार्फत उद्योगबाट कुन डिपो र बिक्रेतामा कति सिलिन्डर पुगे भन्ने विवरण संकलन गरी मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्न थालिएको मन्त्री कुमारीले बताइन्।

गुनासो सम्बोधन गर्न ‘क्विक रेस्पोन्स टिम’

उपभोक्ताबाट ग्यास नपाएको गुनासो बढेपछि नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको मन्त्री कुमारीले जानकारी दिइन्।

उनका अनुसार साउन २१ गतेसम्म प्राप्त १६६ वटा गुनासोको सम्बोधन गरिसकिएको छ। ग्यास वितरणमा देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित उद्योग, डिलर र निगमबीच समन्वय बढाइएको पनि उनले बताइन्।

अनावश्यक सञ्चय नगर्न आग्रह

मन्त्री कुमारीले बजारमा हल्लाका आधारमा आवश्यकता भन्दा बढी ग्यास खरिद नगर्न आम उपभोक्तासँग आग्रह गरिन्।

‘वितरणमा देखिएको असहजता केही दिनमै समाधान हुनेछ। अफवाह र भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न सम्पूर्ण उपभोक्तासँग आग्रह गर्दछु,’ उनले भनिन्।

उनले ग्यास वितरणमा वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारणलाई प्राथमिकता दिन, ग्यास खरिदकर्ताको अभिलेख राख्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला र विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन सबै डिलर र बिक्रेतालाई निर्देशन दिइएको पनि जानकारी गराइन्।

साथै एलपी ग्यासको सहज आपूर्ति र न्यायोचित वितरण सुनिश्चित गर्न निजी क्षेत्र, उपभोक्ता अधिकारकर्मी, सञ्चारमाध्यम, जनप्रतिनिधि तथा आम नागरिकको सहयोग आवश्यक रहेको उल्लेख गर्दै मन्त्री कुमारीले सबै सरोकारवालासँग सहकार्यको अपेक्षा व्यक्त गरिन्।

गाजामा युद्धविरामकै बीच ३०० दिनमा कम्तीमा ३०० बालबालिकाको मृत्यु

काठमाडौं। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले गाजा पट्टीमा युद्धविराम लागू भएयता ३०० दिनको अवधिमा कम्तीमा ३०० बालबालिकाको मृत्यु भएको जनाएको छ।

युनिसेफका अनुसार युद्धविराम कायम रहेको भनिएको अवधिमा पनि गाजामा दैनिक औसतमा एक जना बालबालिकाको ज्यान गएको छ। मध्यपूर्व तथा उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले उक्त अवधिमा सयौँ बालबालिका घाइते भएको र तीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताएका छन्।

बेगबेडरले गाजाका बालबालिका अझै पनि हिंसा अन्त्य हुने प्रतीक्षामा रहेको बताएका छन्। युद्धविरामका बाबजुद बालबालिकाको मृत्यु र घाइते हुने क्रम नरोकिएको भन्दै उनले उनीहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

युनिसेफका अनुसार गाजामा रहेका परिवारहरू अहिले गाजा पट्टीको करिब एक तिहाइ भूभागमा सीमित भएका छन्। उनीहरू क्षतिग्रस्त भवन, भग्नावशेष तथा ठोस फोहोर जम्मा भएका असुरक्षित क्षेत्रमा बस्न बाध्य छन्।

युद्धका कारण बालबालिकाको स्वास्थ्य तथा दैनिक जीवनसमेत गम्भीर रूपमा प्रभावित भएको युनिसेफले जनाएको छ। गाजाभरिका बालबालिकाले तीव्र कुपोषण, विभिन्न रोग, सुरक्षित पिउने पानीको अभाव तथा क्षतिग्रस्त सरसफाइ प्रणालीको समस्या झेलिरहेका छन्।

युनिसेफले बालबालिकाको अवस्थालाई थप गम्भीर हुन नदिन सबै सम्बन्धित पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुन तथा अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका दायित्व पालना गर्न आह्वान गरेको छ।

एजेन्सीले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्य सेवा, शिक्षा, सुरक्षित पिउने पानी तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवामा उनीहरूको पहुँच कायम गर्न आग्रह गरेको छ।

त्यसैगरी, समस्यामा परेका बालबालिकासम्म सुरक्षित, द्रुत र निर्बाध रूपमा मानवीय सहायता पुर्‍याउने व्यवस्था गर्नुपर्नेमा पनि युनिसेफले जोड दिएको छ।

युनिसेफले युद्धविरामको अवधिमा समेत बालबालिकाको मृत्यु भइरहनुले गाजाको मानवीय संकट अझै गम्भीर अवस्थामा रहेको देखाएको जनाएको छ। बालबालिकालाई हिंसाबाट जोगाउँदै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न तत्काल र प्रभावकारी मानवीय सहयोग आवश्यक रहेको एजेन्सीको भनाइ छ।

६ महिनापछि बोल्दै देउवा

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। साउन २९ गतेदेखि काठमाडौंमा सुरु हुने उक्त भेलामा देउवाको विशेष सम्बोधन रहने जानकारी आयोजक पक्षले दिएको हो।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै पूर्वसभापति देउवाले उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए। उनका अनुसार भेलामा देशभरबाट कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

डा. कोइरालाले वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई थप एकताबद्ध, सशक्त र जनमुखी बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला आयोजना गरिएको बताए। उनले राष्ट्रसामु देखिएका राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीहरूको सामना गर्न कांग्रेसभित्र आपसी एकता र वैचारिक स्पष्टता आवश्यक रहेको धारणा राखे।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ दिशासहित नयाँ जीवन दिने हाम्रो दृढ सङ्कल्प छ,’ उनले भने, ‘यो भेला कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई पार्टीलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको हो।’

उनले कांग्रेसलाई जनताको अपेक्षाअनुसार अघि बढाउन संगठन सुदृढीकरण, आन्तरिक एकता, वैचारिक बहस र नेतृत्वबीच समन्वय अपरिहार्य रहेको पनि बताए। भेलामार्फत पार्टीको भावी कार्यदिशा, संगठन सुदृढीकरण, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा व्यापक छलफल हुने उनले जानकारी दिए।

आयोजकका अनुसार भेलामा देशभरबाट आएका प्रतिनिधिहरूले पार्टीभित्र देखिएका चुनौती, संगठन विस्तार, आगामी राजनीतिक रणनीति तथा राष्ट्रिय मुद्दामा कांग्रेसको भूमिकाबारे आफ्ना धारणा राख्नेछन्। भेलाबाट प्राप्त सुझाव र निष्कर्षलाई आगामी दिनमा पार्टीको नीति तथा कार्यक्रम निर्माणमा उपयोग गर्ने तयारी पनि गरिएको छ।

पछिल्लो समय कांग्रेसभित्र वैचारिक बहस र संगठनात्मक सक्रियता बढिरहेका बेला हुन लागेको यो राष्ट्रिय भेलालाई पार्टीभित्रको महत्त्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा हेरिएको छ।

मातृ मृत्युदर घटाउन मिडवाइफ जनशक्ति बढाउन सांसद काउचाको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले सुरक्षित मातृत्व सेवा प्रभावकारी बनाउन पर्याप्त संख्यामा मिडवाइफ (प्रसूति सेवा विशेषज्ञ) जनशक्ति उत्पादन र व्यवस्थापन गर्न सरकारसँग माग गरेकी छन्।

विश्व आदिवासी जनजाति दिवसको पूर्वसन्ध्यामा शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस वर्षको आदिवासी दिवसको नारा ‘आदिवासी प्रसूतिकर्मीहरूको सम्मान : जीवन र सुस्वास्थ्यको सुरक्षा’ नेपाली समाजका लागि अझ सान्दर्भिक रहेको बताइन्।

उनले परम्परागत आदिवासी प्रसूतिकर्मीहरूले पुस्तौंदेखि संचित ज्ञानलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोड्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनीहरूको भूमिकालाई राज्यले सम्मान गर्नुपर्ने धारणा राखिन्।

‘परम्परागत सुत्केरी गराउने महिलाहरु अर्थात  आदिवासी प्रसुतिकर्मीले आफुहरुको परम्परागत ज्ञानलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोड्नका लागि खेलेको भूमिकालाई कम आक्न मिल्दैन,’ उनले भनिन्।  

सांसद काउचाले नेपाल सरकारको स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति (२०७७/७८-२०८६/८७) अनुसार सन् २०२५ सम्म ४ हजार १८० र सन् २०३० सम्म ६ हजार ४१० मिडवाइफ आवश्यक पर्ने प्रक्षेपण गरिए पनि हालको जनशक्ति अत्यन्त न्यून रहेको बताइन्।

काउचाले अगाडि थपिन्, ‘यो अवस्थामा नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति, २०७७/७८ देखि २०८६/८७ अनुसार सन् २०२५ मा ४,१८० जना मिडवाईफ र सन् २०३० सम्म ६,४१० मिडवाईफ जनशक्ति सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाको लागि आवश्यक रहेको प्रक्षेपण गरेको छ।’ 

उनका अनुसार हालसम्म मिडवाइफ्री शिक्षा पूरा गरी ‘मिडवाइफ’ शीर्षकमा नाम दर्ता गरेका जनशक्ति जम्मा १९५ जना मात्र छन् भने करिब ५०० विद्यार्थी अध्ययनरत छन्। यस्तो अवस्थाले सुरक्षित मातृत्व सेवा विस्तार र मातृ–शिशु मृत्युदर घटाउने राष्ट्रिय लक्ष्य पूरा गर्न चुनौती थपिएको उनले बताइन्।

नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ महिलाको मातृमृत्यु हुने तथ्यांक उल्लेख गर्दै उनले सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्यअनुसार मातृमृत्युदर ८५ मा झार्ने तथा नवजात शिशु मृत्युदर २१ बाट १३ मा घटाउने लक्ष्य हासिल गर्न पर्याप्त जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।

सांसद काउचाले मिडवाइफ जनशक्ति उत्पादन, व्यवस्थापन र सुरक्षित मातृत्व सेवाको सुदृढीकरणतर्फ सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

 

साताको अन्तिम कारोबार दिन नेप्से ४ अंकले घट्यो

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य ओरालो लागेको छ। नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा झरेको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१५ प्रतिशतको गिरावट हो।

आज ३३४ कम्पनीका १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर बजारमा किनबेच भएका छन्। दिनभर भएको कारोबारको कुल रकम ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। आज १८४ कम्पनीको मूल्य ओरालो लाग्दा ८६ कम्पनीको सेयर मूल्य बढेको छ। ६ कम्पनीको मूल्य भने स्थिर रह्यो।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी प्रतिफल पाएका छन्। कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले बढेको छ।

त्यस्तै, हिमालयन ८०–२० र एनआईसी एसिया ब्यालेन्स फन्डका इकाई मूल्य पनि बढेका छन्। यी दुवैको इकाई मूल्य क्रमशः ५.१८ प्रतिशत र ५.१६ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका आधारमा भने सोलु हाइड्रोपावर अगाडि रह्यो। कम्पनीको ३९ करोड २५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी रिडी पावर कम्पनीको २३ करोड २ लाख रुपैयाँ र सानिमा बैंकको १७ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

समग्रमा साताको अन्तिम कारोबार दिन बजारमा सामान्य बिक्री चाप देखिए पनि कारोबार रकम भने ३ अर्ब ७७ करोड रुपैयाँभन्दा माथि कायम भएको छ।

‘न्याय नपाए माइतीघर जानु’

काठमाडौं । राजधानीको व्यस्त सडकबीच रहेको माइतीघर मण्डला आज एउटा चोक मात्र होइन, विरोध, प्रतिरोध र नागरिक आवाजको साझा थलो बनेको छ। कुनै समय चलचित्रको प्रचार-प्रसारका पोस्टरले चिनिएको यो स्थान अहिले न्याय खोज्ने, सरकारको ध्यानाकर्षण गराउने र आफ्ना माग सार्वजनिक गर्ने नागरिकहरूको प्रतीकात्मक गन्तव्य बनेको छ।

बिहानदेखि साँझसम्म माइतीघर पुग्ने जो-कोहीले यहाँ प्लेकार्ड, ब्यानर, पर्चा र नाराहरू देख्न सक्छ। कुनै दिन शिक्षकहरू आन्दोलनमा हुन्छन्, अर्को दिन सहकारी पीडित। कहिले मिटरब्याज पीडितले धर्ना दिन्छन् भने कहिले लघुवित्त पीडित। चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी, सुकुम्बासी, बलात्कारपीडित, बेरोजगार युवा वा सामाजिक अभियन्ता-सबैका लागि माइतीघर आफ्ना पीडा सार्वजनिक गर्ने साझा मञ्च बनेको छ।

अहिलेको राजनीतिक परिवेशमा चर्चित बनेको जेन-जी आन्दोलनले पनि यही मण्डलालाई आफ्नो केन्द्र बनाएको थियो। सयौं युवाले यहीँबाट सरकारविरुद्ध आवाज उठाए। सामाजिक सञ्जालमा सुरु भएको असन्तुष्टि सडकमा ओर्लँदा माइतीघर नै त्यसको पहिलो गन्तव्य बन्यो।

यद्यपि माइतीघरमा उठेका सबै माग पूरा हुन्छन् भन्ने छैन। सबै आन्दोलन सफल हुन्छन् भन्ने पनि होइन। तर एउटा तथ्य भने स्पष्ट छ-माइतीघरमा उठेको आवाज प्रायः सिंहदरबारसम्म पुग्छ। त्यसैले आन्दोलन चर्किएपछि सरकारका वार्ता टोली यहीँ पुग्ने गरेका छन्। शिक्षक आन्दोलनदेखि सहकारी पीडित, मिटरब्याज पीडित र स्वास्थ्यकर्मीका आन्दोलनसम्म, धेरै पटक सरकार वार्ताका लागि माइतीघरमै आएको इतिहास छ।

यही कारण कतिपयले माइतीघरलाई ‘खुला संसद्’ पनि भन्न थालेका छन्। संसद्भित्र नसुनिएका आवाजहरू सडकमार्फत राज्यसम्म पुर्‍याउने माध्यमका रूपमा यसले छुट्टै पहिचान बनाएको छ।

चलचित्रबाट सुरु भएको नाम

माइतीघर नाम कसरी रह्यो भन्ने विषय धेरैलाई थाहा नहुन सक्छ। २०२० सालतिर निर्माण भएको चर्चित नेपाली चलचित्र ‘माइतीघर’ को प्रचारका क्रममा यही क्षेत्रमा रहेको एउटा भवनमा ठूलो ब्यानर राखिएको थियो। चलचित्रको कार्यालय पनि त्यहीँ सञ्चालन गरिएको थियो। समयसँगै मानिसहरूले त्यो स्थानलाई ‘माइतीघर’ भनेर चिनाउन थाले र पछि त्यही नाम स्थायी बन्यो।

त्यसबेला त्यहाँ टाँसिने ब्यानरले चलचित्र हेर्न दर्शकलाई निम्तो दिन्थ्यो। अहिले भने त्यही स्थानका ब्यानरले न्याय, अधिकार र राज्यको जवाफदेहिताको माग गर्छन्। ब्यानरको स्वरूप उस्तै भए पनि त्यसको उद्देश्य पूर्ण रूपमा बदलिएको छ।

आन्दोलनको स्थायी ठेगाना

पछिल्ला वर्षहरूमा माइतीघर लगभग स्थायी आन्दोलनस्थल बनिसकेको छ। कुनै दिन यहाँ दर्जनौं संगठनका छुट्टाछुट्टै प्रदर्शन भइरहेका हुन्छन्। कतै धर्ना, कतै रिले अनशन, कतै मौन प्रदर्शन त कतै सांकेतिक विरोध। प्रहरीको निगरानी, सञ्चारमाध्यमको उपस्थिति र सिंहदरबारसँगको निकटताले पनि आन्दोलनकारीका लागि यो स्थानलाई उपयुक्त बनाएको छ।

राजधानीमा आफ्नो आवाज सुनाउन चाहने धेरै समूहको पहिलो रोजाइ माइतीघर नै हुन्छ। यहाँबाट उठेको आवाज सञ्चारमाध्यममार्फत देशभर फैलिन्छ र सरकारमाथि दबाब सिर्जना हुन्छ।

‘न्याय नपाए माइतीघर जानु’

गोरखाका राजा राम शाहसँग जोडिएको एउटा चर्चित उखान छ-‘न्याय नपाए गोरखा जानु।’ त्यो उखान तत्कालीन न्याय प्रणालीप्रतिको विश्वासको प्रतीक मानिन्थ्यो।

समय फेरिएको छ। आजको लोकतान्त्रिक व्यवस्थामा न्याय खोज्ने नागरिकको पहिलो गन्तव्य अदालत मात्र होइन, सडक पनि बनेको छ। विशेषगरी माइतीघर मण्डला। त्यसैले अहिले धेरैले ठट्टा र यथार्थ मिसाएर भन्ने गर्छन्-‘न्याय नपाए माइतीघर जानु।’

सायद यही परिवर्तनले माइतीघरलाई एउटा भौगोलिक स्थानभन्दा धेरै माथि उठाएको छ। यो अहिले असन्तुष्टि व्यक्त गर्ने ठाउँ मात्र होइन, राज्यसँग उत्तर खोज्ने नागरिकहरूको प्रतीक, लोकतान्त्रिक दबाबको केन्द्र र न्यायको प्रतीक्षामा उभिएको एउटा सार्वजनिक चौतारी बनेको छ।

प्रधानमन्त्री बालेन खै?

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले जेठ १७ गते प्रतिनिधिसभामा दिएको सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा सुरु भएको विवाद अझै समाधान हुन सकेको छैन।

विपक्षी दलहरूले प्रधानमन्त्री शाह स्वयं संसद्मा उपस्थित भएर आफ्नो भनाइबारे स्पष्टीकरण दिनुपर्ने माग गरिरहेका छन्। तर प्रधानमन्त्री शाह भने अहिलेसम्म उक्त विषयमा प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिएका छैनन्।

प्रधानमन्त्री शाहले जेठ १७ गते सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि विभिन्न स्थानमा भारतको भूमि मिचेको दाबी गरेका थिए। भारतले नेपाली भूमि अतिक्रमण गरेको विषय संवेदनशील रूपमा उठिरहेका बेला प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आएपछि विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएका छन्।

विपक्षी दलहरूको मुख्य आपत्ति प्रधानमन्त्रीले संसद्मा बोलेको उक्त अभिव्यक्तिप्रति छ। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइको आधार स्पष्ट पार्नुपर्ने, अभिव्यक्ति सच्याउनुपर्ने तथा आवश्यक परे संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।

प्रधानमन्त्रीको जवाफ माग्दै नेपाली कांग्रेस, नेकपा एमाले, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले प्रतिनिधिसभामा पटक–पटक विरोध जनाएका छन्। बैठक सुरु हुनेबित्तिकै उठेर विरोध गर्ने, आफ्ना धारणा राख्ने तथा प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सत्तापक्षसँग आग्रह गर्ने क्रम जारी छ।

प्रधानमन्त्री शाह भने विपक्षीको मागअनुसार अहिलेसम्म संसद्मा उपस्थित भएका छैनन्। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले सदनमा उपस्थित भएर प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको धारणा राखेका थिए। तर विपक्षी दलहरूले मन्त्रीको जवाफ पर्याप्त नभएको भन्दै प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान दोहोर्‍याएका छन्।

प्रधानमन्त्रीले सदनमा जवाफ नदिएको विषय शुक्रबारको बैठकमा पनि उठ्यो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि संसद् अवरोध हुँदा जनतामा नकारात्मक सन्देश गएको बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि उत्पन्न विवादको निकास खोज्न सरकार र राजनीतिक दलका नेताहरू गम्भीर हुनुपर्ने धारणा राखे।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रधानमन्त्री शाहको सीमा विवादसम्बन्धी अभिव्यक्ति सच्याउन माग गरिन्। उनले सत्तापक्षका सांसदहरूले प्रधानमन्त्रीसँग संवाद गरी उनलाई संसद्मा उपस्थित गराउन पहल गर्नुपर्ने बताइन्।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि उत्पन्न विवादका कारण प्रतिनिधिसभाको नियमित कामसमेत प्रभावित हुँदै आएको छ। विपक्षी दलहरूले निरन्तर विरोध जनाएपछि कानुन निर्माण, विधेयकमाथिको छलफल र अन्य संसदीय गतिविधिमा अवरोध सिर्जना भएको छ।

प्रधानमन्त्री शाहका लागि अहिले मुख्य चुनौती विपक्षीको विरोध अन्त्य गर्दै संसद्को नियमित कामकारबाही सञ्चालन गर्ने वातावरण बनाउनु बनेको छ। विपक्षीहरू भने प्रधानमन्त्री स्वयं संसद्मा आएर आफ्नो भनाइबारे स्पष्ट नपारेसम्म विरोध जारी राख्ने संकेत गरिरहेका छन्।

यसरी जेठ १७ गते प्रधानमन्त्री शाहले संसद्मा दिएको एउटा अभिव्यक्तिबाट सुरु भएको विवाद अहिले सरकार र विपक्षीबीचको संसदीय गतिरोधमा परिणत भएको छ।

प्रधानमन्त्रीले कहिले र कुन रूपमा सदनमा उपस्थित भएर यसबारे जवाफ दिन्छन् भन्ने विषयले संसद्को आगामी बैठक र राजनीतिक वातावरण निर्धारण गर्ने देखिएको छ।

‘कुरीकुरी गरिरहेका छन् जनता’

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिनिधिसभाको कार्यशैली र प्रभावकारितामाथि प्रश्न उठाएका छन्। उनले लामो समयदेखि संसद्मा भइरहेको अवरोध र निष्कर्षविहीन छलफलले जनतामा नकारात्मक सन्देश गएको बताएका  हुन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले जनप्रतिनिधिले नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरे। संसद्मा समस्या समाधानका लागि ठोस पहल हुन नसकेको भन्दै उनले राजनीतिक दल र सरकारलाई निकास खोज्न आग्रह गरे।

‘जनताले तपाईं हामीलाई, हामी नेपाली जनताका प्रतिनिधि भएर आएकाहरूलाई कुरीकुरी गरिरहेका छन्,’ उनले भने, ‘समस्याको समाधान नखोज्ने हो भने कतिञ्जेल यसरी नै कराउँदै बस्ने ?’

सांसद राईले संसद्को बैठकमा एक जना सांसदले केही मिनेट मात्रै बोल्दा पनि ठूलो समय खर्च हुने भएकाले त्यसतर्फ जनप्रतिनिधि गम्भीर हुनुपर्ने बताए।

उनका अनुसार दुईदेखि अढाई महिनासम्म पनि संसद्ले कुनै ठोस निष्कर्ष निकाल्न नसक्नु दुःखद अवस्था हो। लामो समयसम्म एउटै विषयमा बहस र विरोध भइरहँदा संसद्को मूल जिम्मेवारी प्रभावित हुने उनको भनाइ थियो।

‘कति वर्षसम्म यसरी छलफल गरिरहने ? हामी सकिञ्जेलसम्म यसरी नै कराउँदै बस्ने हो ?’ उनले प्रश्न गरे।

राईले सभामुखमार्फत सरकार तथा राजनीतिक दलका शीर्ष नेताहरूलाई संसद्मा देखिएको गतिरोध अन्त्य गर्न पहल गर्न आग्रह गरे। उनले राजनीतिक असहमति र विवादलाई निरन्तर तन्काउनुको साटो समाधानको बिन्दु पहिल्याउनुपर्ने बताए।

‘संसद्लाई अन्धकार र लत्तरपत्तर बनाएर फेरि पनि दुर्गन्धित नबनाऔँ,’ उनले भने, ‘यो समस्याको एउटा समाधानको बिन्दु खोजौँ। कतै त उज्यालो होला नि ?’

संसद्को समयलाई प्रभावकारी रूपमा उपयोग गर्दै जनतासँग जोडिएका विषयमा परिणाममुखी काम गर्नुपर्नेमा उनले जोड दिए।

‘गरिबको अन्तिम संस्कार राज्यले निःशुल्क गरोस्’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका सङ्ग्रौलाले आर्थिक अवस्था कमजोर भएका नागरिकको मृत्यु भएपछि अन्तिम संस्कारका लागि राज्यले निःशुल्क व्यवस्था गर्नुपर्ने माग गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सङ्ग्रौलाले पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार गर्न समेत खर्च जुटाउन नसकेको एक विपन्न नागरिकले आफूलाई सहयोगका लागि सम्पर्क गरेको घटना सदनमा सुनाइन्।

उनका अनुसार शुक्रबार बिहानै पशुपति आर्यघाटबाट एक नागरिकले फोन गरी आफन्तको दाहसंस्कारका लागि आवश्यक रकम नभएको भन्दै सहयोग मागेका थिए। उक्त घटनाले आफूलाई गम्भीर बनाएको उनले बताइन्।

‘त्यो फोनले मलाई एकछिन झस्कायो र दुःखी बनायो,’ उनले भनिन्, ‘बाँचुन्जेल अनेक शीर्षकमा कर तिर्ने नागरिकले मर्दा पनि सम्मानजनक अन्तिम संस्कार नपाउनु दुःखद छ।’

नागरिकबाट विभिन्न शीर्षकमा कर उठाउने राज्यले उनीहरूको अन्तिम संस्कारलाई समेत सहज बनाउने जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।

सङ्ग्रौलाले आर्थिक रूपमा विपन्न नागरिकको मृत्यु हुँदा कम्तीमा दाहसंस्कारका लागि आवश्यक दाउरा, शव राख्ने स्थान र आगो बाल्न आवश्यक सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरिन्।

‘यो देशको गरिब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निःशुल्क उपलब्ध गराउनुपर्छ,’ उनले भनिन्।

सरकारले ‘जसको कोही छैन, उसको सरकार’ भन्ने नारालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन्।

‘जन्मेर कोक्रोमा चढ्दै गर्दादेखि नै हामीले कर तिरेर आयौँ, तर मर्दा पनि राज्यले अभिभावकत्व नदेखाउने हो भने यो नागरिकमैत्री राज्य हुन सक्दैन,’ उनले भनिन्।

विपन्न तथा सहारा नभएका नागरिकले मृत्युपछि समेत आर्थिक अभावका कारण अन्तिम संस्कारमा कठिनाइ भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

सांसद सङ्ग्रौलाले अन्तिम संस्कारका लागि आवश्यक खर्च र स्थानको अभावमा कुनै पनि नागरिकले समस्या भोग्न नपर्ने गरी स्पष्ट नीतिगत व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

उनले राज्यले नागरिकको जीवनकालमा मात्र नभई मृत्युको अन्तिम क्षणमा समेत अभिभावकत्वको अनुभूति गराउन सक्नुपर्ने बताइन्।

‘३५ वर्ष उहाँहरूले के गर्नुभयो भनेर अब नसोध्नुस्’

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपालले समेत भारतको भूमि मिचेको भन्ने दिएको अभिव्यक्ति सच्याउन माग गरेकी छन्।

उनले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनसमेत आग्रह गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले सीमा तथा राष्ट्रियतासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति त्रुटिपूर्ण रहेको बताइन्। उनले सत्तापक्षका सांसदहरूलाई प्रधानमन्त्रीसँग छलफल गरी उक्त अभिव्यक्ति सच्याउन पहल गर्न आग्रह गरिन्।

ओलीले आफ्नो विरोधको मुख्य विषय प्रधानमन्त्रीको सो अभिव्यक्ति रहेको भन्दै त्यसलाई सच्याएपछि आफूहरूको विरोध अन्त्य हुने संकेत गरिन्।

बैठकमा उनले १६ राजदूत पदका लागि २७ सयभन्दा बढी विज्ञले आवेदन दिएको विषय पनि उठाइन्। राजदूत नियुक्तिको प्रक्रिया तथा उम्मेदवार मूल्याङ्कनका आधार पारदर्शी बनाउन सरकारसँग उनले माग गरिन्।

सरकारले विगत ३५ वर्षमा के भयो भन्ने प्रश्न बारम्बार उठाउने गरेकोप्रति पनि ओलीले टिप्पणी गरिन्।

‘३५ वर्ष उहाँहरूले के गर्नुभयो भनेर अब नसोध्नुस्, ३५ वर्षमा उहाँहरूले नगरेको काम अब तपाईंहरूले गरेर देखाउनुस्,’ उनले भनिन्।

ओलीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्। वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न चिकित्सक डिल्ली हरिजनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै उनले उपचारमा आवश्यक ध्यान दिन आग्रह गरिन्। माइतीघरमा आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न पनि उनले सरकारसँग आग्रह गरिन्।

चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि समान कामको समान तलबको व्यवस्था गर्नुपर्ने र श्रम ऐनअनुसार कार्यघण्टा लागू गर्नुपर्ने उनको माग छ।

यसैगरी, मिटरब्याज पीडित तथा प्रहरीबाट ठगिएको दाबी गर्ने व्यक्तिहरूका समस्या समाधानका लागि पनि सरकारले पहल गर्नुपर्ने ओलीले बताइन्।

पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको विषयसमेत उनले संसद्मा उठाइन्। ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोको प्रयोग बढाउन त्यसमा लाग्ने भन्सार हटाउन तथा विद्युत्मा भ्याट छुट दिने व्यवस्था गर्न उनले सरकारलाई सुझाव दिइन्।

राष्ट्रियता, राजदूत नियुक्ति, स्वास्थ्यकर्मीका समस्या, मिटरब्याज पीडित तथा ग्यास अभावलगायत विषयमा सरकार गम्भीर बन्नुपर्ने उनको माग थियो।

कांग्रेस इतरको भेलामा देउवा सहभागी हुँदै

काठमाडौं। नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूहले साउन २८ गते आयोजना गर्न लागेको भेलामा पार्टीका पूर्वसभापति शेरबहादुर देउवा पनि सहभागी हुने भएका छन्।

कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गते हङकङबाट नेपाल फर्कने कार्यक्रम छ। त्यसपछि दुई दिनपछि हुने भेलामा उनी सहभागी हुनेछन्।

महतका अनुसार भेलामा कांग्रेसका विभिन्न नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता गराउने तयारी भइरहेको छ। उनी स्वयं अहिले भेलामा प्रस्तुत गरिने प्रतिवेदन तयार पार्ने काममा जुटेका छन्।

कांग्रेसभित्र गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनपछि नेतृत्वलाई लिएर विवाद कायमै छ। उक्त महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई देउवा पक्षले स्वीकार नगरेको अवस्था छ। थापा नेतृत्वमा पार्टीले नियमित १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेको भए पनि संस्थापन इतर समूहभित्रै पनि साझा धारणा बन्न सकेको छैन।

पार्टीका विभिन्न समूहबीच पछिल्लो समय आरोप–प्रत्यारोप बढ्दै गएको छ। यसले कांग्रेसको आन्तरिक विवाद अझ गहिरिने र पार्टी विभाजनसम्म पुग्न सक्ने आशंकासमेत बढाएको छ।

यद्यपि महतले पार्टी विभाजनको सम्भावना अस्वीकार गर्दै कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका छन्।

‘पार्टी एकजुट गर्ने प्रक्रियामै छौँ। देउवा दाइ पनि आउनुहुन्छ, त्यसपछि छलफल होला,’ महतले भने, ‘अहिलेसम्म एकजुट गर्ने तयारीमा लागेका छौँ, तर गगनजीहरू लचिलो हुनुभएन।’

साउन २८ को भेलामा देउवाको सहभागितालाई कांग्रेसभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक रणनीतिका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। भेलाबाट संस्थापन इतर समूहको आगामी रणनीति तथा पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।

शिक्षक महासंघले गर्यो भदौदेखि आन्दोलनको घोषणा

काठमाडौं। नेपाल शिक्षक महासंघले आफ्ना पुराना सहमति कार्यान्वयन नभएको भन्दै भदौ महिनादेखि पुनः देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नेदेखि शिक्षक–कर्मचारीका सेवा–सुविधा सुधारसम्मका माग अघि सार्दै महासंघले आन्दोलनको तयारी थालेको हो।

हालै सम्पन्न महासंघको परिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै नेतृत्वले सरकारसँग भएका सहमतिहरू पटक-पटक बेवास्ता भएकाले अब निर्णायक आन्दोलनमा जान बाध्य भएको जनाएको छ। आन्दोलनको विस्तृत कार्यक्रम र मिति भने केही दिनभित्र सार्वजनिक गरिने महासंघले जानकारी दिएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनका प्रमुख एजेन्डामा अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नु, शिक्षामा राज्यको लगानी वृद्धि गर्नु र विद्यालय क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नु रहेका छन्। उनले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षकमैत्री नीति आवश्यक रहेको बताए।

महासंघले बाल कक्षा शिक्षक, विद्यालय कर्मचारी तथा सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ। यस्तै राहत, साबिक उच्च माध्यमिक विद्यालयका अस्थायी तथा करार शिक्षक, विशेष शिक्षा, प्राविधिक धार, बाल कक्षा र सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूको पेसागत सुरक्षा तथा स्थायित्व सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिएको छ।

महासचिव तुलाबहादुर थापाले स्थायी शिक्षकहरूको आवधिक बढुवा नियमित गर्नुपर्ने, बढुवाको अनुपात वृद्धि गर्नुपर्ने र पेन्सन सुविधाबाट वञ्चित हुन सक्ने शिक्षकहरूको अपुग सेवा अवधि गणना गरी निवृत्तिभरणको व्यवस्था गर्नुपर्ने माग आन्दोलनको मुख्य एजेन्डामध्ये एक हुने बताए।

महासंघले शिक्षा नियमावलीको दशौँ संशोधनमार्फत लागू गरिएको सरुवा व्यवस्था शिक्षक विरोधी र अव्यावहारिक भएको निष्कर्ष निकाल्दै त्यसलाई तत्काल संशोधन गर्नुपर्ने माग पनि अघि सारेको छ। साथै विद्यालय व्यवस्थापन समितिको अधिकार विस्तार गर्ने नाममा प्रधानाध्यापकको अधिकार कमजोर बनाउने प्रयास रोक्न र प्रधानाध्यापकलाई विद्यालयको प्रशासनिक तथा शैक्षिक नेतृत्वको स्पष्ट जिम्मेवारीसहित सशक्त पदाधिकारीका रूपमा स्थापित गर्नुपर्ने धारणा महासंघले राखेको छ।

महासंघले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको पेसागत सुरक्षा, उचित तलब–सुविधा र सामाजिक सुरक्षाको सुनिश्चितता गर्नुपर्ने मागसमेत उठाएको छ। शिक्षक–कर्मचारीको ट्रेड युनियन अधिकारको संरक्षण, शिक्षक पेसाको गरिमा अभिवृद्धि तथा सम्मानजनक कार्य वातावरण निर्माणलाई पनि आन्दोलनका प्राथमिक एजेन्डामा समावेश गरिएको महासंघले जनाएको छ।

सरकारले यी मागप्रति गम्भीर चासो नदिए आन्दोलनलाई चरणबद्ध रूपमा सशक्त बनाइने चेतावनी महासंघले दिएको छ।

संसदमै ‘मौन विरोध’

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमा विवादसम्बन्धी अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले शुक्रबार पनि प्रतिनिधिसभाको बैठकमा विरोध जनाएका छन्।

सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानमा उठेर विरोध गरेका हुन्।

गत जेठ १७ गते प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भारतको भूमि नेपालले समेत मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै त्यसबारे प्रधानमन्त्रीले संसद्मै स्पष्टीकरण दिनुपर्ने माग गर्दै आएका छन्।

तर, प्रधानमन्त्री शाहले अहिलेसम्म उक्त अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिएका छैनन्। साथै, अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले सचिवालयलाई निर्देशनसमेत दिएका छैनन्। यही विषयलाई लिएर विपक्षी दलहरूले निरन्तर बैठकमा विरोध गर्दै आएका छन्।

बैठक सुरु भएपछि सभामुख अर्यालले नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवलाई बोल्न समय दिएका थिए। यादवले पार्टीका तर्फबाट बोल्दै प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध जारी रहेको बताए।

‘सम्माननीय प्रधानमन्त्रीजीको सीमासँग सम्बन्धित विवादित र आपत्तिजनक अभिव्यक्तिको बारेमा हामीले विरोध गर्दै आएका छौं। त्यो यथावत् छ,’ उनले भने।

जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतसँगको सीमा विवादका विषयमा दुईवटा विषय उठाएका थिए।

पहिलो, उनले लिपुलेक–लिम्पियाधुरासम्बन्धी विषयमा नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको र त्यसको जवाफ प्राप्त भएको बताएका थिए। उनले यस विषयमा भारत र चीनसँगै बेलायत सरकारसँग पनि कुरा गरिएको बताएका थिए।

त्यस क्रममा उनले ब्रिटिस इन्डियाले छाडेर गएको सीमा विवादमा बेलायतले पनि सरोकार राख्नुपर्ने नेपालको धारणा रहेको बताएका थिए।

दोस्रो विषयमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि विभिन्न स्थानमा मिचेको दाबी गरेका थिए।

उनले दुवै देशले एकअर्काको भूमि मिचेको विषयमा अध्ययन गरी आपसी समझदारीका आधारमा समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए।

प्रधानमन्त्रीको यही अभिव्यक्तिप्रति विपक्षी दलहरूले आपत्ति जनाएका हुन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसद्मा तथ्य र आधारसहित स्पष्टीकरण दिनुपर्ने माग गर्दै आएका छन्।

यसैबीच, धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सरकारले अन्यत्र सार्न खोजेको भन्दै नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले सदनमा फरक शैलीमा विरोध जनाएका छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्न खोजेको आरोप लगाए।

सरकारको उक्त निर्णयको विरोधमा आफू दिनभर सदनमा उठेर मौन बस्ने घोषणा उनले गरे।

‘ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर यो सरकारले सार्ने भनेको छ। यसको विरोधमा म आज दिनभर सदनमा उठेर मौन बस्छु,’ उनले भने।

यादवले यसअघि नै उक्त आयोजनाका लागि बजेट विनियोजन भइसकेको दाबी गरे। उनका अनुसार सुरुमा २० करोड रुपैयाँ र त्यसपछि थप २ करोड रुपैयाँ ट्रमा सेन्टरका लागि छुट्याइएको थियो।

बजेट विनियोजन भएर प्रक्रिया अघि बढिसकेको आयोजनालाई अन्यत्र सार्न खोज्नु उचित नभएको भन्दै उनले सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

सभामुख अर्यालले पटक–पटक आसन ग्रहण गर्न आग्रह गरे पनि यादवले आफ्नो विरोध जारी राखेका थिए।

अन्तत : सभामुखले संसदलाई उक्त घटनाको सत्य सत्य के हो जानकारी गराउन निर्देशन दिएपछि उनि बसेका हुन्।

 

‘कमला मिस’ र ‘हली’ हलमा

काठमाडौं। फ्राइडे रिलिजको अवसर पारेर शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्।

नीर शाह निर्देशित ‘कमला मिस’ र ओम प्रतिक निर्देशित ‘हली’ देशभर प्रदर्शनमा आएका हुन्।

दुवै फिल्म सामाजिक कथावस्तुमा आधारित छन्। ‘कमला मिस’ साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित फिल्म हो।

फिल्ममा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) र सञ्जय खतिवडालगायत कलाकारको अभिनय छ।

‘कमला मिस’ विजय मल्ल स्मृति प्रतिष्ठानले प्रस्तुत गरेको हो।

यस्तै, ओम प्रतिक निर्देशित ‘हली’ ले छाउपडी प्रथाका कारण महिलाले भोग्नुपरेका संघर्ष र सामाजिक यथार्थलाई कथावस्तु बनाएको छ।

फिल्ममा प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक (गुरुङ), सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।

पूजा गुरुङ र जश्मीन श्रेष्ठ ‘हली’का निर्माता हुन्। दुवै फिल्मले फरक सामाजिक विषयलाई पर्दामा प्रस्तुत गरेका छन्।

सीमासँग अभिव्यक्ति सच्याउनपर्ने मागसहित विपक्षीको आज पनि विरोध

काठमाडौं। प्रमुख प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर कडा विरोध जनाएका छन्। १७ जेठमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा दिएको भनिएको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले संसदमा आपत्ति जनाएका हुन्।

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उक्त विषय उठाएका थिए। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र संवेदनशील कूटनीतिक विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्। साथै, प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर संसद र जनतासामु स्पष्ट पार्नुपर्ने उनीहरूको अडान छ।

विपक्षी दलहरूको तर्फबाट बोल्दै नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले जिम्मेवार ढंगले अभिव्यक्ति दिनुपर्ने बताए। उनले प्रधानमन्त्रीको भनाइले भ्रम सिर्जना गरेको दाबी गर्दै त्यसलाई तत्काल सच्याउन आग्रह गरे।

‘प्रधानमन्त्रीले बोल्नुभएको सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्छ। यसको हामीले विरोध गरिरहेका छौँ,’ यादवले संसदमा भने। उनले सरकारले यस विषयलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै राष्ट्रिय सार्वभौमिकता र कूटनीतिक सम्बन्धसँग जोडिएका विषयमा थप सावधानी अपनाउनुपर्ने धारणा राखे।

संसदमा विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको औपचारिक जवाफ पनि माग गरेका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिन वा स्पष्ट पार्नुपर्ने अडान दोहोर्याउँदै त्यसो नभएसम्म संसदमा विरोधका कार्यक्रमलाई निरन्तरता दिन सकिने संकेत गरेका छन्।

शेखरले लिन मानेनन् २ करोड ?

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको मर्मतसम्भारका लागि सरकारले विनियोजन गरेको रु २ करोड बजेट अस्वीकार गरेका छन्।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र लेख्दै उक्त रकम फिर्ता गर्न आग्रह गरेका हुन्।

मन्त्रालयले विराटनगर महानगरपालिका–७ मा रहेको कोइराला निवासको मर्मतसम्भारका लागि रु २ करोड विनियोजन गरेको थियो। गत भदौ २४ गते भएको तोडफोड, लुटपाट तथा आगजनीबाट निवासमा क्षति पुगेपछि सरकारले मर्मतसम्भारका लागि बजेट छुट्याएको हो।

सरकारले ऐतिहासिक महत्वको निवासको संरक्षणका लागि बजेट विनियोजन गरेकोमा कोइरालाले आभार व्यक्त गरेका छन्। तर, राज्यसँग उपलब्ध सीमित स्रोत र साधनलाई आम नागरिकको उत्थानमा खर्च गर्नुपर्ने भन्दै आफूले उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसक्ने बताएका छन्।

मन्त्रालयका सचिवलाई लेखेको पत्रमा कोइरालाले आम नागरिक अभाव, वञ्चना र विभिन्न किसिमका कष्टमा रहेको उल्लेख गर्दै राज्यका सीमित स्रोत तथा साधन उनीहरूको उत्थानमा प्रयोग हुनुपर्ने बताएका छन्।

उनले पत्रमा भनेका छन्, ‘राज्यसामु आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानको लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्दै विनियोजन गरिएको उक्त रकम नैतिकरूपमा स्वीकार गर्न असमर्थ छु।’

विराटनगर महानगरपालिका–७ मा रहेको कोइराला निवास नेपाली राजनीतिक इतिहाससँग जोडिएको महत्वपूर्ण स्थल हो। यही घरमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको जन्म भएको थियो।

बीपी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रमुख नेतामध्ये एक हुन्। उनको राजनीतिक जीवन र संघर्षसँग जोडिएको विराटनगरको यो निवास नेपाली कांग्रेसको इतिहाससँगै नेपालको लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण स्मृतिस्थलका रूपमा समेत परिचित छ।

गत भदौ २४ गते भएको घटनाका क्रममा कोइराला निवासमा तोडफोड, लुटपाट तथा आगजनी भएको थियो। घटनाबाट निवासको भौतिक संरचनासहित त्यहाँ रहेका विभिन्न सामग्रीमा समेत क्षति पुगेको थियो।

घटनापछि ऐतिहासिक महत्व बोकेको निवासको संरक्षण तथा मर्मतसम्भारको विषय उठ्दै आएको थियो। यही क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मर्मतसम्भारका लागि रु २ करोड बजेट विनियोजन गरेको हो।

शेखर कोइरालाले सरकारले बजेट छुट्याएकोमा असन्तुष्टि जनाएका छैनन्। बरु राज्यसँग सीमित स्रोत रहेको अवस्थामा त्यसको उपयोग नागरिकका प्राथमिक आवश्यकता पूरा गर्न हुनुपर्ने धारणा अघि सारेका छन्।

उनको निर्णयसँगै सार्वजनिक स्रोतको उपयोग र ऐतिहासिक सम्पदाको संरक्षणबारे बहस पनि जोडिएको छ। ऐतिहासिक महत्व बोकेको संरचनाको संरक्षण राज्यको जिम्मेवारी हो कि सम्बन्धित व्यक्ति वा परिवारको, भन्ने प्रश्नसमेत यस घटनाले उठाएको छ।

तर, कोइरालाले बजेट अस्वीकार गरे पनि कोइराला निवासको ऐतिहासिक महत्व र संरक्षणको आवश्यकतालाई अस्वीकार गरेका छैनन्। उनको पत्रको मुख्य आशय सरकारी स्रोतलाई अन्य प्राथमिकताका क्षेत्रमा खर्च गर्नुपर्नेतर्फ केन्द्रित छ।

कोइराला निवास बीपी कोइरालाको जन्मसँग जोडिएको स्थल भएकाले यसको राजनीतिक तथा ऐतिहासिक महत्व छ। बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुका साथै प्रजातन्त्र स्थापनाका लागि लामो राजनीतिक संघर्ष गरेका नेता हुन्।

नेपाली कांग्रेसको स्थापना, प्रजातान्त्रिक आन्दोलन र नेपालको राजनीतिक परिवर्तनसँग कोइराला परिवारको लामो सम्बन्ध रहँदै आएको छ। यही कारण विराटनगरस्थित कोइराला निवासलाई राजनीतिक इतिहाससँग जोडिएको महत्वपूर्ण स्थलका रूपमा लिइन्छ।

यसअघि पनि उक्त निवासको संरक्षण तथा व्यवस्थित व्यवस्थापनका विषयमा चर्चा हुँदै आएको थियो। पछिल्लो घटनामा तोडफोड र आगजनी भएपछि भने यसको संरक्षणको विषय थप गम्भीर बनेको थियो।

शेखर कोइरालाले सरकारले विनियोजन गरेको रकम फिर्ता गर्न आग्रह गरेपछि अब कोइराला निवासको मर्मतसम्भार कसरी अघि बढ्छ भन्ने प्रश्न उठेको छ।

सरकारले बजेट विनियोजन गर्नुको उद्देश्य ऐतिहासिक संरचनाको संरक्षण गर्नु रहेको भए पनि सम्बन्धित पक्षले रकम स्वीकार नगर्ने भएपछि यसको कार्यान्वयन प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय स्पष्ट हुन बाँकी छ।

कोइरालाको निर्णयले सार्वजनिक स्रोतको प्राथमिकता निर्धारणबारे राजनीतिक बहसलाई पनि नयाँ विषय दिएको छ। एकातर्फ ऐतिहासिक तथा राजनीतिक महत्व बोकेको संरचनाको संरक्षण आवश्यक रहेको छ भने अर्कोतर्फ सीमित सरकारी स्रोत नागरिकका आधारभूत आवश्यकता पूरा गर्न केन्द्रित गर्नुपर्ने तर्क अघि आएको छ।

अहिलेको अवस्थामा भने कोइराला निवासको मर्मतसम्भारका लागि विनियोजित रु २ करोड स्वीकार नगर्ने कोइरालाको निर्णय सार्वजनिक भएको छ।

स्टारसिपको १४औँ परीक्षणमा पहिलोपटक ‘सिप’लाई हावामै समात्ने स्पेसएक्सको तयारी

काठमाडौं। एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले स्टारसिपको १४औँ परीक्षण उडान यसै महिनाभित्र गर्ने तयारी गरेको छ।

अगस्ट सकिनुअघि प्रस्तावित उक्त उडानमा पहिलोपटक स्टारसिपको माथिल्लो भाग ‘सिप’लाई प्रक्षेपण टावरमा जडित विशाल यान्त्रिक हात ‘चपस्टिक’को सहायताले हावामै समात्ने प्रयास गरिने भएको छ।

यदि परीक्षण सफल भएमा पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिको विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ। स्पेसएक्सले स्टारसिपलाई पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष प्रणालीका रूपमा विकास गरिरहेको छ। यसको सफल प्रयोगले अन्तरिक्ष उडानको लागत र प्रक्षेपणका लागि लाग्ने समय घटाउन सक्ने कम्पनीको विश्वास छ।

स्टारसिप दुई मुख्य भागबाट बनेको छ। माथिल्लो भागमा अन्तरिक्षयान ‘सिप’ र तल्लो भागमा ‘सुपर हेभी’ बुस्टर हुन्छ। दुवै जोडिएको अवस्थामा यसको उचाइ करिब ४०३ फिट हुन्छ भने ‘सिप’को लम्बाइ मात्रै करिब १७१ फिट छ।

दक्षिण टेक्सासमा रहेको स्पेसएक्सको प्रक्षेपण केन्द्रमा जडान गरिएका दुई विशाल टावरमा रहेका ‘चपस्टिक’ हात यसअघि रकेटको संयोजन तथा प्रक्षेपणसम्बन्धी काममा प्रयोग हुँदै आएका थिए। अब कम्पनीले यही प्रणालीलाई उडान पूरा गरेर फर्किएको स्टारसिप समात्न प्रयोग गर्ने तयारी गरेको हो।

स्पेसएक्सले यसअघि तीनवटा परीक्षण उडानमा ‘सुपर हेभी’ बुस्टरलाई सफलतापूर्वक प्रक्षेपण टावरमा रहेका ‘चपस्टिक’ हातबाट समातिसकेको छ। तर, माथिल्लो भाग ‘सिप’लाई उडानपछि हावामै समात्ने प्रयास भने पहिलोपटक गर्न लागिएको हो। त्यसैले आगामी परीक्षणलाई स्टारसिप कार्यक्रमको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

१४औँ परीक्षण उडानमा स्टारसिपको पुनःप्रयोगसम्बन्धी परीक्षणसँगै नयाँ पुस्ताका स्टारलिङ्क ‘भि–३’ उपग्रह अन्तरिक्षमा पठाउने योजना पनि छ। यी उपग्रह हाल सञ्चालनमा रहेका स्टारलिङ्कका उपग्रहभन्दा ठूलो र बढी क्षमताका हुने बताइएको छ।

यसअघि जुलाई २४ मा सम्पन्न १३औँ परीक्षण उडानमा २० वटा स्टारलिङ्क ‘भि–३’ उपग्रह उपकक्षीय परीक्षणका रूपमा पठाइएको थियो। आगामी उडानमा ती उपग्रहलाई सञ्चालनयोग्य कक्षामा राख्ने योजना रहेको स्पेसएक्सले जनाएको छ।

१३औँ परीक्षण उडानलाई स्पेसएक्सले महत्वपूर्ण सफलताका रूपमा लिएको छ। उक्त उडानपछि स्टारसिपलाई हिन्द महासागर क्षेत्रमा अवतरण गराइएको थियो। कम्पनीका प्रमुख मस्कले पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने क्रममा स्टारसिपको ताप सुरक्षा प्रणालीले अपेक्षाअनुसार काम गरेको बताएका थिए।

त्यही सफलतापछि स्पेसएक्सले अर्को परीक्षणमा अझ चुनौतीपूर्ण प्रक्रिया अघि बढाउने तयारी गरेको हो। विशेषगरी अन्तरिक्षयानलाई पृथ्वीमा फर्किएपछि परम्परागत रूपमा छुट्टै अवतरण गराउनुको सट्टा प्रक्षेपण टावरकै ‘चपस्टिक’ हातबाट समात्ने प्रयासलाई कम्पनीले पुनःप्रयोग प्रविधिको महत्वपूर्ण कदमका रूपमा हेरेको छ।

स्टारसिपको पुनःप्रयोगका लागि सबैभन्दा चुनौतीपूर्ण पक्षमध्ये यसको ताप सुरक्षा प्रणालीलाई सुरक्षित राख्नु हो। अन्तरिक्षयान पृथ्वीको वायुमण्डलमा उच्च गतिमा पुनः प्रवेश गर्दा हावासँगको घर्षणका कारण बाहिरी सतहमा अत्यधिक ताप उत्पन्न हुन्छ। यस्तो अवस्थामा अन्तरिक्षयानको भित्री संरचना र उपकरणलाई सुरक्षित राख्न ताप सुरक्षा कवचले महत्वपूर्ण भूमिका खेल्छ।

स्पेसएक्सले स्टारसिपको बाहिरी सतहमा विशेष तापरोधी टायल प्रयोग गरेको छ। पुनःप्रयोग गर्न मिल्ने अन्तरिक्षयानका लागि यी टायल प्रत्येक उडानपछि ठूलो क्षति नहुने गरी सुरक्षित रहनु आवश्यक हुन्छ।

स्पेसएक्सको हालैको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा मस्कले स्टारसिपको ताप सुरक्षा प्रणालीसँग सम्बन्धित समस्या धेरै हदसम्म समाधान भएको दाबी गरेका छन्। उनका अनुसार कम्पनीका योजना अपेक्षाअनुसार अघि बढे आगामी एक वर्षभित्र दैनिक कम्तीमा एउटा स्टारसिप प्रक्षेपण गर्न सक्ने क्षमता विकास गर्न सकिनेछ। भविष्यमा प्रक्षेपणको संख्या अझ बढाउन सकिने उनको भनाइ छ।

स्पेसएक्सले स्टारसिपलाई चन्द्रमा तथा मंगल ग्रहसम्मका भविष्यका अभियानका लागि प्रयोग गर्न सकिने विशाल पुनःप्रयोगयोग्य अन्तरिक्ष प्रणालीका रूपमा विकास गरिरहेको छ। यसको मुख्य उद्देश्य रकेट तथा अन्तरिक्षयानका महत्वपूर्ण भागलाई पटक–पटक प्रयोग गरेर प्रत्येक उडानको लागत घटाउनु हो।

यसका लागि प्रक्षेपणपछि ‘सुपर हेभी’ बुस्टर र माथिल्लो भाग ‘सिप’ दुवैलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काउन सक्नु आवश्यक हुन्छ। बुस्टरलाई टावरबाट समात्ने प्रविधिमा स्पेसएक्सले केही सफलता हासिल गरिसकेको छ। अब ‘सिप’लाई पनि सोही अवधारणामा समात्न सफल भएमा स्टारसिप कार्यक्रम थप महत्वपूर्ण चरणमा प्रवेश गर्नेछ।

तर, १४औँ परीक्षण उडान अझै परीक्षणकै चरणमा रहेकाले यसको परिणाम निश्चित छैन। उडानका क्रममा ‘सिप’को पुनःप्रवेश, ताप सुरक्षा प्रणाली, नियन्त्रण तथा टावरको ‘चपस्टिक’ हातसँगको समन्वयलगायत धेरै प्राविधिक पक्ष सफल हुनुपर्नेछ।

त्यसैले आगामी परीक्षणलाई स्टारसिपको प्राविधिक विकाससँगै पुनःप्रयोगयोग्य रकेट प्रविधिको भविष्यका लागि समेत महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ।

कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी मुद्दामा सर्वोच्चद्वारा पुनरावलोकनको अनुमति

काठमाडौं। नेपाली कांग्रेसको विवरण अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ।

आयोगले निर्णय गर्नुअघि सम्बन्धित पक्षलाई आफ्नो भनाइ राख्ने अवसर दिएको थियो कि थिएन भन्ने विषयमा गम्भीर कानुनी प्रश्न देखिएपछि सर्वोच्चले मुद्दालाई पुनः सुनुवाइका लागि अघि बढाएको हो।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार पुनरावलोकनको अनुमति दिएको हो। तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगनकुमार थापाले दायर गरेको पुनरावलोकन निवेदनमा उठाइएका विषय थप परीक्षण गर्नुपर्ने देखिएको आदेशमा उल्लेख छ।

विवादको केन्द्रमा निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दा अपनाएको प्रक्रिया छ। आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिक गर्ने निर्णय गर्नुअघि सम्बन्धित पक्षलाई आफ्नो भनाइ राख्ने पर्याप्त अवसर दिएको थियो कि थिएन भन्ने प्रश्न पुनरावलोकन निवेदनमा उठाइएको थियो।

सर्वोच्चले पनि यही विषयलाई गम्भीर कानुनी प्रश्नका रूपमा लिएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ अनुसार विवरण अद्यावधिक गर्ने प्रक्रिया अघि बढाउँदा प्राकृतिक न्यायको सिद्धान्तअनुसार सम्बन्धित पक्षलाई सुनुवाइको अवसर दिनुपर्ने हो कि होइन भन्ने विषय पुनः परीक्षण गर्नुपर्ने अदालतको ठहर छ।

यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले २०८३ वैशाख ४ गते निर्वाचन आयोगको निर्णय बदर गर्न अस्वीकार गर्दै आयोगकै निर्णय सदर गरेको थियो। त्यस फैसलाविरुद्ध देउवा र थापाले पुनरावलोकन निवेदन दिएका थिए।

पुनरावलोकन निवेदनमा आयोगले निर्णय गर्नुअघि आफूहरूलाई सुनुवाइको अवसर नदिएको दाबी गरिएको थियो। तर संयुक्त इजलासको फैसलाले उक्त दाबी र त्यससँग सम्बन्धित कानुनी प्रश्नलाई पर्याप्त रूपमा सम्बोधन गरेको थियो कि थिएन भन्ने विषयमा पूर्ण इजलासले पुनः प्रश्न उठाएको छ।

सर्वोच्चले यस क्रममा आफ्नै अघिल्ला दुई नजिरलाई समेत महत्वपूर्ण मानेको छ। ने.का.प. २०६८, अंक ८, नि.नं. ८६६३ र ने.का.प. २०६९, अंक ८, नि.नं. ८८७१ मा प्रशासनिक वा अर्धन्यायिक निकायले कुनै व्यक्ति वा संस्थाको अधिकार वा कानुनी हैसियतमा असर पर्ने निर्णय गर्नुअघि सुनुवाइको अवसर दिनुपर्ने प्राकृतिक न्यायको सिद्धान्त प्रतिपादन गरिएको छ।

यी नजिरमा स्थापित सिद्धान्त निर्वाचन आयोगले कांग्रेसको विवरण अद्यावधिक गर्ने क्रममा पालना गरेको थियो वा थिएन भन्ने प्रश्न पनि अहिलेको पुनरावलोकनमा जोडिएको छ।

प्राकृतिक न्यायको सामान्य अर्थ कुनै व्यक्ति वा संस्थाको अधिकारमा असर पर्ने निर्णय गर्नुअघि सम्बन्धित पक्षलाई आफ्नो भनाइ राख्ने उचित अवसर दिनु हो। प्रशासनिक वा अर्धन्यायिक निकायले गर्ने निर्णयमा यस्तो प्रक्रिया अपनाउनुपर्ने मान्यता कानुनी अभ्यासमा स्थापित छ।

यस मुद्दामा पनि आयोगलाई राजनीतिक दलको विवरण अद्यावधिक गर्ने अधिकार थियो वा थिएन भन्ने मात्र प्रश्न छैन। अधिकार प्रयोग गर्दा सम्बन्धित पक्षलाई सुनुवाइको अवसर दिइयो कि दिइएन र निर्णय प्रक्रिया कानुन तथा प्राकृतिक न्यायको सिद्धान्तअनुकूल थियो कि थिएन भन्ने विषय मुख्य बनेको छ।

सर्वोच्चको पछिल्लो आदेशले आयोगको अधिकार नै अस्वीकार गरेको छैन। आयोगले आफ्नो अधिकार प्रयोग गर्दा अपनाएको प्रक्रिया कानुनसम्मत थियो वा थिएन भन्ने विषयलाई भने पुनः परीक्षणको दायरामा ल्याएको हो।

सर्वोच्चले पुनरावलोकनको अनुमति दिनु अघिल्लो फैसला गलत ठहर भइसकेको अर्थमा बुझ्न मिल्दैन। अदालतले मुद्दामा गम्भीर कानुनी प्रश्न देखिएपछि त्यसलाई पुनः परीक्षण गर्न आवश्यक ठानेको हो।

न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुनरावलोकनको अनुमति दिइएको हो। अब मुद्दामा विस्तृत सुनुवाइ हुनेछ।

सुनुवाइका क्रममा निवेदक र विपक्षी पक्षले आ–आफ्ना कानुनी आधार, प्रमाण तथा सम्बन्धित नजिर प्रस्तुत गर्नेछन्। निर्वाचन आयोगले निर्णय गर्दा अपनाएको प्रक्रिया, सम्बन्धित पक्षलाई दिइएको सूचना, सुनुवाइको अवसर तथा राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका प्रावधानको प्रयोगबारे अदालतमा बहस हुनेछ।

सर्वोच्चले पुनरावलोकनको अनुमति दिएसँगै निर्वाचन आयोगको निर्णय स्वतः बदर भएको छैन। आयोगको निर्णयमाथि पुनः न्यायिक परीक्षण हुने अवस्था सिर्जना भएको हो।

अब पूर्ण सुनुवाइपछि सर्वोच्चले आयोगको निर्णय कानुनसम्मत रहेको ठहर गर्न सक्छ। निर्णय प्रक्रियामा प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन भएको देखिएमा आयोगको निर्णय बदर गर्ने अवस्था पनि आउन सक्छ।

त्यसैले बिहीबारको आदेशलाई देउवा वा गगनकुमार थापाको पक्षमा आएको अन्तिम फैसला भन्न मिल्दैन। त्यस्तै, निर्वाचन आयोगको निर्णय बदर भइसकेको निष्कर्ष निकाल्न पनि मिल्दैन।

नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी विवाद पार्टीको सांगठनिक तथा कानुनी विवरणसँग सम्बन्धित छ। त्यसैले आयोगले विवरण अद्यावधिक गर्दा अपनाएको प्रक्रिया वैधानिक थियो कि थिएन भन्ने प्रश्नले सम्बन्धित पक्षको राजनीतिक तथा कानुनी हैसियतमा प्रभाव पार्न सक्ने देखिन्छ।

यही कारण पुनरावलोकन निवेदनमा उठाइएको सुनुवाइको अवसरसम्बन्धी प्रश्नलाई सर्वोच्चले गम्भीर मानेको हो। अदालतले अहिले नै कुनै पक्षको दाबी सही वा गलत ठहर गरेको छैन। बरु त्यसको कानुनी परीक्षण आवश्यक रहेको निष्कर्ष निकालेको हो।