`

मानिसमा भेटियो नयाँ रक्त समूह

काठमाडौं । बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्।

अन्तर्राष्ट्रिय रक्तसञ्चार सोसाइटीले यसलाई मानव शरीरको ४९औँ रक्त समूह प्रणालीका रूपमा मान्यता दिएको छ।

वैज्ञानिकहरूले एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टिबडीको अध्ययन गर्ने क्रममा नयाँ रक्त समूह पहिचान गरेका हुन्।

अनुसन्धानका क्रममा एफ ११ आर जीन र त्यसबाट बन्ने जाम-ए प्रोटिनसँग सम्बन्धित आनुवंशिक परिवर्तन फेला परेको थियो। यही परिवर्तन नयाँ रक्त समूह प्रणालीसँग सम्बन्धित रहेको वैज्ञानिकहरूले बताएका छन्।

नयाँ रक्त समूह प्रणालीलाई ‘जाम’ नाम दिइएको छ। यस रक्त समूह भएका व्यक्तिको रातो रक्तकोषिकामा सामान्य मानिसमा पाइने एउटा विशेष एन्टिजन हुँदैन।

यस्तो दुर्लभ रक्त समूह भएका व्यक्तिलाई सामान्य रगत दिइएमा शरीरले एन्टिबडी बनाएर चढाइएको रातो रक्तकोषिकामाथि आक्रमण गर्न सक्छ। यसबाट गम्भीर रक्तसञ्चार प्रतिक्रिया हुनसक्ने जोखिम हुन्छ।

वैज्ञानिकहरूका अनुसार नयाँ खोजले दुर्लभ रक्त समूह भएका बिरामी र उनीहरूका लागि उपयुक्त रक्तदाताको पहिचान गर्न सहयोग गर्नेछ।

डीएनए परीक्षणमार्फत बिरामी र रक्तदाताको रक्त समूह पहिचान गर्न सकिने भएकाले भविष्यमा सुरक्षित रक्तसञ्चारमा यो खोज उपयोगी हुने अपेक्षा गरिएको छ।

विशेषगरी दुर्लभ एन्टिबडी भएका बिरामीको उपचार र रक्त व्यवस्थापनमा नयाँ रक्त समूह प्रणालीको पहिचान महत्वपूर्ण हुने वैज्ञानिकहरूको भनाइ छ।

दुई जिल्ला जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल [तस्वीर]

बागलुङ। कुनै समय बागलुङ बजार आउन पर्वतको पाङका बासिन्दाले घण्टौँ हिँड्नुपर्थ्यो। अहिले त्यही यात्रा १० मिनेटमै छोटिएको छ।

कालीगण्डकी नदीमाथि बनेको ५६७ मिटर लामो झोलुङ्गे पुलले बागलुङ र पर्वतको दूरी छोट्याएको हो। पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङलाई जोडेको छ।

२०७७ सालदेखि सञ्चालनमा आएको यो पुल ‘सिङ्गल स्पान’मा बनेको हो। यसको लम्बाइ ५६७ मिटर छ। पुल कालीगण्डकी नदीबाट १२२ मिटर उचाइमा छ।

बागलुङ नगरपालिकाले पुलको नाम अंग्रेजीमा ‘गण्डकी गोल्डेन ब्रिज’ र नेपालीमा ‘गण्डकी सुनौलो झुला’ राखेको छ। करिब ९ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण भएको पुल अहिले स्थानीय आवतजावतसँगै पर्यटनको प्रमुख आकर्षण बनेको छ।

पुल बनेपछि बागलुङ बजार आउने पर्यटकको संख्या पनि बढेको स्थानीयको भनाइ छ। यसअघि बागलुङ कालिका मन्दिरसम्म पुग्ने धेरै पर्यटक बजारतर्फ आउँदैनथे। अहिले बागलुङ कालिका, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयसँगै झोलुङ्गे पुल पनि पर्यटकको रोजाइमा परेको छ।

पर्वतबाट म्याग्दी र मुस्ताङ जाने पर्यटकका लागि पनि यो पुल आकर्षण बनेको छ। कालीगण्डकी किनार हुँदै म्याग्दी र मुस्ताङ जाने क्रममा पर्यटक पुलसम्म पुग्ने गरेका छन्।

पुलमा फोटो खिच्ने र टिकटक बनाउनेको भीड देखिन्छ। बिदाका दिन सयौँ पर्यटक पुलमा पुग्ने गरेका छन्।

बागलुङ जिल्ला झोलुङ्गे पुलका लागि पनि परिचित छ। कालीगण्डकीमाथिको यो लामो पुलले भने दुई जिल्लाका बासिन्दाको आवतजावत सहज बनाउनुका साथै पर्यटनमा नयाँ आकर्षण थपेको छ।

 

कसैलाई खबर नहोस्

कहानीसँगै अनि म
मसँगै मेरा कहानी

कहानीको राजा म, कहानीको रानी मै
कहानी मेरो आफ्नै
रमाउँछु कहानीमै

कहानीको तोड-मोड आफैँ
मिलन-बिछोड आफैँ
म आफ्नै कहानी लेख्न मस्त छु
म आफ्नै कहानीमा व्यस्त छु

म मेरो जबर्जस्त कहानीमा मस्त भएको कसैलाई खबर नहोस्।

म लान्छु कहानीलाई, म जान्छु कहानीसँगै
तर कसैलाई खबर नहोस्।

म कहाँ, किन जान्छु,
कसैलाई खबर नहोस्।

म हुँ त के थाहा नहोस्, म छु त के थाहा नहोस्
म स्वनिर्मित, म स्ववर्णी, म स्वगर्वी हुँ, स्वधर्मी हुँ
म स्वच्छन्द छु, जहाँ जान्छु स्वतन्त्रता लान्छु
म कुन धर्म मान्छु,
कसैलाई खबर नहोस्।
मेरो कर्म यही ठान्छु
कसैलाई खबर नहोस्।

मेरो खबरको खबर नहोस्,
खबर नै खबरसँग बेखबर रहोस्

मधुमास रहोस्, मदहोस रहोस्,
आँखामा मस्तीको लहर रहोस्
मसँग कुनै रहर नहोस्।
रहर नै मसँग बेखबर रहोस्

मेरो लागि तिम्रो जस्तै शहर नहोस्,
मेरो छुट्टै शहर होस्,
मिठा-मिठा सफर होस्
मलाई भेट्न म आफैँसित सबर नहोस्।
तर यसको कसैलाई खबर नहोस्

हर्षको उछाल होस्
मेरो आफ्नै लय-ताल होस्

म यस्तै गीत गुनगुनाऊँ
त्यो गीत अजर-अमर रहोस्
तर यसको कसैलाई खबर नहोस्।

मेरो खबर सबै बेखबर रहोस् 

….तर यसको कसैलाई खबर नहोस्।

लागूऔषधसहित विभिन्न जिल्लाबाट ३७ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित ३७ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट गाँजा, खैरो हेरोइन, ब्राउनसुगर तथा नियन्त्रित औषधि बरामद भएको छ।

कैलालीमा जानकी गाउँपालिका-७ उच्चा गोलौरीबाट २ ग्राम ८३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

धनकुटामा २४ वर्षीय उज्वल थापाको घरबाट २०४ ट्रामाडोल र २०४ स्पास्पेन ट्याब्लेट बरामद भएको छ।

बझाङमा बित्थडचिर गाउँपालिका-८ रूपैलबाट १ किलो ९९ ग्राम चरेस जस्तो देखिने पदार्थसहित ३२ वर्षीय नरेन्द्रकुमार ऐडी र ६१ वर्षीय सिंग धामी पक्राउ परेका छन्।

प्रहरीले झापामा दमकबाट ३ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाइ पक्राउ गरेकाे हाे । मेचीनगरबाट १३० मिलिग्राम उक्त पदार्थसहित दुई जना पक्राउ परेका छन्। अनुसन्धानका क्रममा उनीहरूले नारायण किसानको घरबाट पदार्थ खरिद गरेको खुलेपछि किसानको घर तलासी गरिएको थियो। त्यहाँ थप १० ग्राम १३० मिलिग्राम पदार्थ फेला परेकोले प्रहरीले किसानलाइ समेत प्नकाउ गरेकाे हाे। 

धनुषामा धनुषाधाम नगरपालिका-८ बाट २७ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

ललितपुरमा ६६० ट्रामाडोल र १४५ नाइट्राजेपाम ट्याब्लेटसहित तीन जना र सिराहामा गोलबजारबाट १ ग्राम ३८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २४ वर्षीय महमद साहिल आलम पक्राउ परेका छन्।

त्यस्तै, बारामा तीन छुट्टाछुट्टै घटनामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले जीतपुरसिमराबाट १६ किलो ५८० ग्राम गाँजा, करिब १ ग्राम र १६ ग्राम ९९० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

कास्कीमा दुई घटनामा आठ जना पक्राउ परेका छन्। अन्नपूर्ण गाउँपालिकाबाट करिब २ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ, ९७ डाइजेपाम र ११० टापेन्टाडोल ट्याब्लेट बरामद भएको छ।

पोखरा महानगरपालिका-५ बाट ४०० डाइजेपाम, ६०० बुप्रेनोर्फिन, ६१३ फेनारगन एम्पुल र ९९८ टापेन्टाडोल ट्याब्लेटसहित ६ जना पक्राउ परेका छन्। भने महोत्तरीमा बर्दिबास नगरपालिका-१ बाट करिब १९६ किलो गाँजासहित दुई जना पक्राउ गरेको प्रहरीले जनाएको छ।

थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी गराएकाे छ।

 

प्रदेश खारेजदेखि राजसंस्था पुनर्स्थापनासम्म : ज्ञानेन्द्र शाहीको चार प्रस्ताव

काठमाडौं । राप्रपाका नेता ज्ञानेन्द्र शाहीले संविधान जनताको जीवनसँग जोडिन नसके कागजमा सीमित दस्तावेज बन्ने बताएका छन्।

संविधान दिवसका अवसरमा धारणा सार्वजनिक गर्दै शाहीले संविधान कार्यान्वयन र राजनीतिक व्यवस्थामाथि प्रश्न उठाएका हुन्। विदेशी प्रभाव र स्वार्थबाट निर्देशित राजनीतिक व्यवस्थाले देशमा सुशासन, रोजगारी र स्थिरता दिन नसकेको उनको दाबी छ।

शाहीले संविधानमा आधारभूत परिमार्जनका लागि चारवटा प्रस्ताव अघि सारेका छन्।

शाहीका चार प्रस्ताव

पहिलो, प्रदेश संरचना खारेज गर्ने।

दोस्रो, नेपाललाई हिन्दू, बौद्ध, किराँतलगायत वैदिक–सनातन सभ्यताको पहिचानसहितको हिन्दू अधिराज्यका रूपमा पुनर्स्थापित गर्ने।

तेस्रो, राष्ट्रपति पद खारेज गरी राजसंस्था पुनर्स्थापित गर्ने।

चौथो, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने।

शाहीले संविधान संशोधन वा परिमार्जन गर्दा जनताको प्रत्यक्ष सहभागिता र जनमतलाई आधार बनाउनुपर्ने बताएका छन्।

त्रिशूली–१ को टनेलमा थप ११ शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा शनिबार थप ११ वटा शव फेला परेका छन्।

नेपाली सेनाका अनुसार जालीमा अल्झिएको र हिलोमा पुरिएको अवस्थामा शव फेला परेका हुन्। उद्धार टोलीले सबै शव बाहिर निकालेको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि आयोजनामा कार्यरत तथा सम्पर्कविहीन भएकाहरूको खोजी जारी छ।

टनेलभित्र अझै केही व्यक्ति फसेको हुन सक्ने भन्दै सेनाले खोजीलाई निरन्तरता दिएको जनाएको छ।

भोटेकोशी बाढीपछि आयोजनाको टनेललगायत क्षेत्रमा ठूलो क्षति पुगेको थियो। उद्धार टोलीले जोखिमबीच खोजी अभियान सञ्चालन गरिरहेको छ।

शंकर पोखरेलको आरोप : ‘सरकार संविधानसँग खेल्दै अधिनायकवादतर्फ अघि बढ्यो’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति तीव्र आलोचना गरेका छन्। उनले वर्तमान सरकार मुलुकलाई स्वेच्छाचारी र अधिनायकवादी दिशातर्फ लैजान खोजिरहेको आरोप लगाए।

एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री शाहले राजनीतिक दलहरूसँग संवाद गर्ने परम्परालाई बेवास्ता गरेको दाबी गरे। उनका अनुसार प्रधानमन्त्रीका लागि राजनीतिक दलसँगको संवाद अहिले ‘एकादेशको कथा’ जस्तै बनेको छ।

देश बाढीपहिरोको चपेटामा परेर ठूलो मानवीय संकटमा रहेका बेला समेत सरकारले राजनीतिक दलहरूसँग सहकार्य गरेर अघि बढ्न नसकेको पोखरेलको आरोप छ। हजारौँ नागरिक बेपत्ता भएको परिस्थितिमा समेत सरकार एकल ढंगले अघि बढेको उनले बताए।

पोखरेलले वर्तमान सरकार जेनजी आन्दोलनको आधारमा गठन भएको भनिए पनि आन्दोलनको वास्तविक उद्देश्य र मर्मअनुसार सरकार अघि नबढेको दाबी गरे। आन्दोलनलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरेर सरकार गठन गरिएको उनको आरोप थियो।

उनले सुशासन र सामाजिक सञ्जालको स्वतन्त्र प्रयोगका लागि युवाहरूले सुरु गरेको आन्दोलनलाई गलत ढंगले उपयोग गरिएको बताए। आन्दोलनपछि मुलुकलाई विध्वंसतर्फ लैजाने समूहको प्रभावमा सरकार पुगेको भन्दै स्वयं जेनजी अभियानमा संलग्न युवाहरूले समेत प्रश्न उठाउन थालेको उनको दाबी थियो।

भदौ २४ गतेका घटनालगायत त्यसपछिको राजनीतिक परिस्थितिबारे अभियानकर्ताहरूले सार्वजनिक रूपमा आफ्ना धारणा राख्न थालेको पनि पोखरेलले उल्लेख गरे।

संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने भए पनि अहिले त्यसको विपरीत अभ्यास भइरहेको पोखरेलले बताए। प्रधानमन्त्री आफ्नै संसदीय दलको बैठकमा सहभागी नहुने र संसद्प्रति जवाफदेही नबन्ने अवस्था पहिलोपटक देखिएको उनको दाबी छ।

‘संसद्ले चुनेका प्रधानमन्त्री संसद्लाई नै अवज्ञा गर्छन्,’ पोखरेलले भने।

सरकारले संविधानको व्यवस्थामाथि हस्तक्षेप गर्ने प्रयास गरिरहेको आरोप पनि उनले लगाए। प्रतिनिधिसभाको नियमावलीमार्फत संवैधानिक व्यवस्थामा परिवर्तन गर्ने प्रयासलाई सर्वोच्च अदालतले रोकेको भन्दै उनले अदालतको निर्णयले संविधानको रक्षा गरेको बताए।

अध्यादेशसँग सम्बन्धित संवैधानिक व्यवस्था हुँदाहुँदै संसदीय नियमावलीमार्फत कार्यकारी आदेशको व्यवस्था गर्न खोजिएको भन्दै पोखरेलले सरकारको उक्त कदममाथि प्रश्न उठाए।

‘अध्यादेशको संवैधानिक व्यवस्था हुँदाहुँदै संसदीय नियमावलीमार्फत कार्यकारी आदेशको प्रबन्ध गरेर सरकारले अधिनायकवादी बाटो रोजेको छ,’ उनले भने।

 

१५ औँ महाधिवेशनबाट संविधान संशोधनको स्पष्ट खाका ल्याउने गगनको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट संविधानका मूल मूल्य र मान्यताको संरक्षणसँगै आवश्यक संशोधनका लागि स्पष्ट धारणा लिएर अघि बढ्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले संविधानका आधारभूत उपलब्धिलाई कमजोर हुन नदिने र समयअनुसार आवश्यक विषयमा संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनका अनुसार संविधानमा केही विषय परिवर्तन गर्नुपर्ने आवश्यकता भए पनि त्यस्तो संशोधनले संविधानका मूल मूल्य र मान्यतालाई संकुचित गर्ने नभई थप विस्तार गर्नुपर्नेछ। यसका लागि कांग्रेसले आवश्यक साहस र स्पष्टतासहित आफ्नो १५औँ महाधिवेशनबाट धारणा अघि सार्ने उनको भनाइ छ।

‘संविधानमा कतिपय कुराहरू बदल्नुपर्नेछ । जसले संविधानका मूल्य र मान्यताहरूलाई खुम्च्याउने होइन, थप विस्तार गर्नेछ,’ थापाले भनेका छन्।

थापाले संविधान नेपालको लामो राजनीतिक संघर्ष र नागरिकको बलिदानीबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै यसको संरक्षण र कार्यान्वयनमा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने बताए। संविधानले गणतन्त्र, समावेशिता, समानुपातिक प्रतिनिधित्व र नागरिक अधिकारलाई संस्थागत गरेको उनको भनाइ छ।

कांग्रेसको आसन्न महाधिवेशनलाई उनले पार्टीभित्रको मतभेद व्यवस्थापन र आपसी सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिन आग्रह गरेका छन्। महाधिवेशनका क्रममा विगतका तिक्तता थप बढाउनेभन्दा असहमति र नमिलेका विषयलाई संवादमार्फत समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्।

‘अधिवेशन हाम्रा बीचका नमिलेका मन बनाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ। यसलाई थप फाटो बढाउने अवस्था निर्माण गर्नु हुँदैन,’ थापाले भनेका छन्।

उनले विगतमा भएका घटनालाई लिएर महाधिवेशन प्रक्रियामा अघि बढ्नुभन्दा पार्टीलाई एकताबद्ध बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताएका छन्। विशेषगरी वडा अधिवेशनबाटै पुराना असमझदारी बिर्सेर नयाँ वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।

महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र विभिन्न विषयमा मतभिन्नता देखिए पनि एउटै धारणा बनाएर अघि बढ्ने प्रयास भइरहेको थापाले बताए। पछिल्ला केही महिनामा पार्टीभित्रका केही घटनाका कारण कतिपय विषयमा नेताहरूबीच मत बाझिएको स्वीकार गर्दै उनले महाधिवेशनमा साझा समझदारी निर्माणका लागि प्रयास भइरहेको बताएका छन्।

कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने तयारी छ।

जापानमा आजदेखि २०औँ एसियन गेम्स, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदैछ। स्थानीय समयअनुसार साँझ ६ बजे नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा उद्घाटन समारोह आयोजना हुनेछ।

औपचारिक उद्घाटनअघि नै केही खेलका प्रतिस्पर्धा भने सुरु भइसकेका छन्। जापानको एआइची प्रिफेक्चरका विभिन्न सहरसँगै गिफु, शिजुओका, टोकियो र ओसाकामा समेत विभिन्न खेलका प्रतियोगिता सञ्चालन भइरहेका छन्।

जापानले तेस्रोपटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो। यसअघि जापानले सन् १९५८ र १९९४ मा एसियन गेम्स आयोजना गरेको थियो। ३२ वर्षपछि जापानमा फर्किएको एसियन गेम्समा ४३ खेलका ७१ विधामा ४६९ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुँदैछन्। यस संस्करणमा मिक्स्ड मार्सल आर्ट्स, प्याडेल, सर्फिङ, भर्चुअल तेक्वान्दो र टेकबललाई नयाँ खेलका रूपमा समावेश गरिएको छ। यस्तै, ई–स्पोर्ट्स र ब्रेकिङले पनि प्रतियोगितामा स्थान पाएका छन्।

प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियल टोलीलाई होटल र क्रुजमा राखिएको छ।

नेपालबाट १३५ खेलाडी

२०औँ एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी भएका छन्। सहभागी खेलाडीमा ५७ महिला र ७८ पुरुष छन्। यस्तै, नेपालबाट २९ प्रशिक्षक, १७ व्यवस्थापक र २ खेल प्राविधिक पनि सहभागी हुँदैछन्।

नेपालबाट आर्चरीमा २, एथलेटिक्समा ६, ब्याडमिन्टनमा ४, बक्सिङमा ७, क्रिकेटमा १५, साइक्लिङमा २, गल्फमा ४, जुडोमा ६, कबड्डीमा २४, करातेमा ८, र्‍याफ्टिङ एन्ड क्यानोइङमा २, स्केट एन्ड स्केट बोर्डिङमा २, सफ्ट टेनिसमा ४, स्क्वासमा २, पौडीमा ५, टेबलटेनिसमा ६, तेक्वान्दोमा ३, टेनिसमा ५, भलिबलमा १२, कुस्तीमा ६ र उसुमा १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले विभिन्न खेलमा प्रतिस्पर्धा गर्दै एसियन गेम्समा आफ्नो उपस्थिति जनाउँदैछ। प्रतियोगिताको औपचारिक उद्घाटनसँगै बाँकी खेलका प्रतिस्पर्धा पनि तीव्र रूपमा अघि बढ्नेछन्।

सुशीला-बालेन संविधान मिचक

काठमाडौं । जेन-जीहरूकाे एजेन्डा सत्ता परिवर्तन नभए पनि गत वर्षकाे जेन-जी विद्राेहमा देशी-विदेशी घुसपैठिया शक्तिहरूले हिंसा फैलाउँदै देशलाई नै खरानी बनाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकाे सत्ता बहिर्गमन भयाे । यसपछि देशमा सत्ता शून्यता निम्तियाे । त्यस्ताेबेला काठमाडौंका तत्कालीन मेयर र हालका प्रधानमन्त्री बालेन शाहले २४ भदाैकाे राति दुई निर्देशनात्मक शैलीका सर्त सारे । पहिलाे- प्रतिनिधिसभा विघटन गर । दाेस्राे- प्रधानसेनापतिसँग वार्ता गर ।

नागरिकता किर्ते विवादमा फसेका तर छानबिन नगरी प्रधानसेनापति बनाइएका अशाेकराज सिग्देल जंगी अड्डामा थिए । राजनीतिक विश्लेक भीम भुर्तेलकाे दाबीमा सिग्देल जेन-जी विद्राेहका मुख्य रणनीतिकार हुन् । उनले ठाेकुवाका साथ भनेका छन् कि जंगी अड्डामै बन्याे जेनजी विद्राेहकाे राेडम्याप ।

उनै सिग्देलसँग अन्तरिम सरकार गठनका लागि वार्ता गर्न मेयरकाे हैसियतमा रहेका बालेनले जेनजी अगुवाहरूलाई निर्देशन दिए । साेही अनुसार सरकार गठनमा संवाद थलाे बन्याे- जंगी अड्ढा । बन्नुपर्थ्याे- शीतल निवास । तर, त्यस्ताे भएन । जेनजीहरूकाे कथित अनलाइन मत सर्वेक्षणअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा अगाडि सारिइन् । संविधानत: उनी प्रधानमन्त्री हुन नमिल्ने हाे । उनैलाई अघि सार्ने काम भयाे । राज्यकाे सबै निकाय ध्वस्त भएर कमजोर भएको अवस्थामा `आवश्यकताकाे सिद्धान्त´को लेपन लगाएर प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पाैडेललाई दबाब दिइयाे । अन्नत: राष्ट्रपतिकाे अवशिष्ट अधिकार भनेर संविधानकाे धारा ६३ काे (४) अनुसार कार्कीलाई पाैडेलले प्रधानमन्त्री नियुक्त गरे । सविधानकाे प्रावधानअनुसार सरकार गठन भए धारा ७६ काे उपधाराहरू हुन्थे । कारण- याे धाराबाहेकमा सरकार गठनकाे संवैधानिक आधार छैन ।

यसपछि उनै कार्कीमार्फत प्रतिनिसभा विघटन गराइयाे । कार्कीकाे एकल मन्त्रिपरिषद्काे हवला दिँदै विघटनको सिफारिस भयाे र राष्ट्रपतिले अुनमाेदन गरे ।

याे संविधान मिचिएकाे दाेस्राे घटना थियाे ।

संविधानकाे खिलापमा काेही गए राेक्ने जिम्मेवारी निर्वाह गरेकी पूर्वप्रधानन्यायाधीश कार्कीले नै दुईपटक संविधान मिचिन् । त्यसका लागि आधार तय गर्ने बालेन नै हुन् ।

उनै बालेन कार्की सरकारले गरेकाे चुनावपछि १३ चैत २०८२ देखि प्रधानमन्त्री छन् । उनले प्रधानमन्त्री भएको एक महिनामै सुकुम्बासीहरूलाई बल प्रयाेग गरेर जबर्जस्ती हटाइदिए । सुकुम्बासीहरूकाे संविधानप्रदत्त आवासकाे हक हनन् गरे । उनीहरूको अहिले पनि बिजाेक छ । बालेन सरकारकाे अत्याचार सहन नसकी ११ जना सुकुम्बासीले आत्महत्या गरे ।

बालेन प्रधानमन्त्री भइकन जनताकाे आवासकाे हक हनन् गरेर संविधान कुल्चिएकाे याे पहिलो घटना हाे । यसपछि उनले संविधान मिचेकाे संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी कानुनमा हाे । ६ जना सदस्यीय रहने परिषदमा ३ जना सदस्यकाे बहुमत रहने प्रावधान राखियाे । अहिले पनि साेही प्रावधान छ । याे संविधानमाथिकाे सिँधा आक्रमण भएको कांग्रेस सभापति गगन थापाले त्यसबेलै टिप्पणी गरे ।

बालेनले प्रधानमन्त्री भइकन संविधान मिचेकाे दाेस्राे घटना हाे ।

बालेन सरकार र उनकाे दल रास्वपाले प्रतिनिधिसभा नियमावली संशोधन गरेर फेरि संविधान मिच्ने काम भयाे । कतिसम्म भने संसद चलाउन बनाइएकाे नियमावलीलाई संविधानभन्दा माथि राखियाे । विधिशास्त्रमा याे भन्दा मजाक कहिल्यै नभएको कानुनका जानकारहरू बताउँछन् ।

यति मात्रै हाेइन, संविधानले संगठित हुने र साैदावाजी गर्ने हक नागरिकलाई दिएकाे छ । तर, विद्यार्थी संगठनहरू विश्वविद्यालयहरूमा खारेज गरिएकाे छ ।

यसरी संविधानमाथि चाैतर्फी आक्रमण गरेका प्रधानमन्त्री बालेनले शनिबार संविधान दिवसमा भने- `संविधानकाे अक्षरशः कार्यान्वयन सरकारले गर्छ ।´ जबकि संविधान निर्माता दलहरू भने उनकै कारण संविधान बच्नेमा शंका गर्छन् ।

नेपाललाई ‘कुबाटो’मा धकेल्न विभिन्न शक्तिहरू सक्रिय छन् – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई ‘कुबाटो’मा धकेल्न विभिन्न शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन्।

संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित एमाले कार्यालयमा आयोजित कार्यक्रममा ओलीले यस्तो आरोप लगाएका हुन्।

‘केही नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्,’ ओलीले भने, ‘देखिएरै गरेका छन्। आश्चर्य लाग्ने तरिकाले गरेका छन्।’

ओलीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमाथि पनि निर्वाचन प्रभावित पार्न खोजेको आरोप लगाए।

उनका अनुसार २१ फागुनमा सम्पन्न निर्वाचनअघि मौन अवधिमा बीबीसीले नेपालबारे ‘झुट कुरा’ सम्प्रेषण गरेको थियो।

‘हामीले देखेका छौं। मौन अवधिभित्र बीबीसीले नेपाललाई झुट कुरा सम्प्रेषण गरेर, अल्मल्याएर, गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोसिस गर्‍यो,’ ओलीले भने, ‘यो भन्न अप्ठ्यारो मान्न पर्दैन।’

ओलीले गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलनलाई पनि ‘षडयन्त्रपूर्ण उपद्रव’को संज्ञा दिए।

उनका अनुसार संविधान र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउन त्यस्तो गतिविधि आयोजना गरिएको थियो।

‘संविधान भनेको देशको मूल कानुन हो। त्यसअनुसार चल्ने लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीलाई तोड्नका लागि गत वर्ष भदौ २३–२४ को षडयन्त्रपूर्ण उपद्रवको आयोजना गरियो,’ ओलीले भने।

ओलीले उक्त आन्दोलनमा को-को संलग्न थिए भन्ने विषय विस्तारै खुल्दै गएको दाबीसमेत गरे।

‘को-को संलग्न थिए, के-के संलग्न थिए, त्यसबारे खुल्दै गएका छन्, बोल्दै गएका छन्, छाप्दै गएका छन्, लेख्दै गएका छन्,’ उनले भने, ‘अहिले मैले धेरै केही भनिरहनु पर्दैन।’

ओलीले संविधान जारी भएयता मुलुकले अनेक चुनौती सामना गरेको बताए।

उनका अनुसार लोकतन्त्र सञ्चालन, संविधानको रक्षा र कार्यान्वयनका क्रममा निरन्तर चुनौती सामना गर्नुपरेको थियो।

‘यसबीचका समय सहज रहेनन्। अप्ठ्याराहरू रहे, उतारचढावहरू रहे,’ ओलीले भने, ‘ठूला चुनौतीहरूको हामीले सामना गर्‍यौं। निरन्तरका चुनौती र आक्रमणहरूको सामना गर्‍यौं। र, संविधानको रक्षा र कार्यान्वयन गर्दै गयौं।’

‘असहमतिको समाधान पनि संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्छ’

२०७२ असोज ३ गते। नेपालले नयाँ संविधान पाएको दिन। यही दिन जारी भएको संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बाटोमा अघि बढायो।

यससँगै २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधान विस्थापित भयो। संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई तत्कालीन संविधानसभाका ९० प्रतिशतभन्दा बढी सदस्यको समर्थन थियो। त्यसैले पनि २०७२ असोज ३ गतेलाई नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण दिन मानिन्छ।

२०७२ को संविधानले नेपालको पुरानो एकात्मक राज्य संरचनालाई संघीय प्रणालीमा रूपान्तरण गर्‍यो। संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारको संवैधानिक व्यवस्था गरियो।

प्रदेश र स्थानीय तहलाई अधिकार र जिम्मेवारी दिइयो। शासन र विकासलाई नागरिकको घरदैलोसम्म पुर्‍याउने परिकल्पना गरियो।

संविधानले नागरिकताको हक, समानताको हक, स्वतन्त्रताको हक, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालगायतका मौलिक अधिकार सुनिश्चित गरेको छ।

लैंगिक समानतालाई पनि संविधानले प्राथमिकता दिएको छ। महिलालाई पैतृक सम्पत्तिमा समान अधिकारदेखि राज्यका विभिन्न निकायमा समावेशी सहभागितासम्मको संवैधानिक आधार तयार गरिएको छ।

नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा परिभाषित गरिएको छ। मृत्युदण्डको व्यवस्था स्वीकार गरिएको छैन।

संविधानको प्रस्तावनाले जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको छ।

ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको स्मरण गर्दै ज्ञात तथा अज्ञात सहिद, बेपत्ता तथा पीडित नागरिकप्रति सम्मान व्यक्त गरिएको छ।

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने प्रतिबद्धता पनि संविधानले बोकेको छ।

समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएको छ।

बहुदलीय लोकतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकालाई लोकतान्त्रिक शासनका आधारका रूपमा स्वीकार गरिएको छ।

तर संविधानमा लेखिएका अधिकार नागरिकले व्यवहारमै कति पाएका छन् ? यो प्रश्न भने कायम नै छ।

संविधान जारी हुँदा सबै पक्षको पूर्ण सहमति थिएन। केही राजनीतिक दल, समुदाय र सभासद्ले असहमति जनाएका थिए।

संविधानसभाका ५९८ सदस्यमध्ये ५०७ जनाले संविधानमा हस्ताक्षर गरेका थिए। २५ जना सभासद्ले असहमति जनाएका थिए भने ६६ जना निर्णायक मतदान प्रक्रियामा सहभागी भएनन्।

यसले के देखाउँछ भने संविधान आफैंमा बहसको अन्त्य होइन। समय बदलिन्छ। समाज बदलिन्छ। नागरिकका आवश्यकता बदलिन्छन्। त्यससँगै संविधानका प्रावधानमाथि बहस र संशोधनको माग उठ्नु अस्वाभाविक होइन।

तर असहमतिको समाधान पनि संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्छ।

संविधान दिवस मनाइरहँदा नागरिकका अपेक्षा धेरै ठूला छैनन्। उनीहरू आफ्नो अधिकार व्यवहारमै देख्न चाहन्छन्।

जात, धर्म, भाषा, लिंग, वर्ग वा पहिचानका आधारमा विभेद नहोस्। राज्यका अवसरमा सबैको समान पहुँच होस्। न्यायका लागि वर्षौं कुर्नु नपरोस्।

शिक्षा र स्वास्थ्य व्यापारको वस्तु नबनोस्। रोजगारीका लागि युवाले देश छाड्नुपर्ने बाध्यता कम होस्। राज्यले नागरिकलाई आफ्नै देशमा भविष्य देखाउन सकोस्।

प्रदेश र स्थानीय तहले संविधानले दिएको अधिकारअनुसार काम गर्न सकून्। संघीयता संरचना र पद बाँडफाँटको विषय मात्र नबनोस्। नागरिकले यसको प्रत्यक्ष लाभ महसुस गर्न सकून्।

किनकि संविधानको सफलता कति धारा लेखिए भन्नेले मात्र मापन हुँदैन। ती धाराले आम नागरिकको जीवनमा कति परिवर्तन ल्याए भन्नेले संविधानको वास्तविक अर्थ निर्धारण गर्छ।

राधा अष्टमी : प्रेम, भक्ति र समर्पणको पर्व

काठमाडौं । हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको अष्टमी तिथिमा राधा अष्टमी मनाइन्छ।

राधा अष्टमीलाई राधा रानीको जन्मदिनका रूपमा मनाउने चलन छ। वैष्णव परम्परामा राधालाई कृष्णप्रतिको निस्वार्थ प्रेम, त्याग र पूर्ण समर्पणको प्रतीक मानिन्छ। त्यसैले यो पर्वलाई धार्मिक दिनसँगै प्रेम र भक्तिको उत्सवका रूपमा पनि लिइन्छ।

धार्मिक कथाअनुसार राधा रानीको जन्म ब्रजभूमिमा भएको थियो। कृष्णसँग राधाको सम्बन्धलाई वैष्णव परम्परामा सांसारिक प्रेमभन्दा माथि उठेको आध्यात्मिक प्रेमका रूपमा व्याख्या गरिन्छ।

राधा र कृष्णको नाम प्रायः सँगै लिइन्छ। ‘राधा कृष्ण’ भन्ने सम्बोधनले नै उनीहरूको सम्बन्धमा रहेको प्रेम र भक्तिको गहिराइलाई जनाउँछ भन्ने धार्मिक विश्वास छ।

वैष्णव परम्परामा राधालाई कृष्णकी परम शक्ति, प्रेमस्वरूप र भक्तिको आदर्शका रूपमा पनि वर्णन गरिन्छ। त्यसैले राधा अष्टमीमा राधाको नामस्मरण, भजन, कीर्तन र राधा कृष्णको पूजा गर्ने परम्परा छ।

राधा रानीको जन्मस्थलका विषयमा ब्रज परम्परामा बरसाना र रावल दुवै स्थानको चर्चा पाइन्छ। बरसाना राधा रानीको प्रमुख धामका रूपमा प्रसिद्ध छ भने रावललाई पनि उनको जन्मसँग जोडिएको स्थान मानिन्छ।

बरसानास्थित श्रीजी अर्थात् लाडलीजी मन्दिर राधा भक्तिका प्रमुख केन्द्रमध्ये एक मानिन्छ। राधा अष्टमीका दिन यहाँ विशेष पूजा, अभिषेक, शृंगार, भोग र आरती गरिन्छ।

ब्रज क्षेत्रका लागि राधा अष्टमी निकै ठूलो धार्मिक अवसर हो। बरसाना, वृन्दावन र मथुरालगायत क्षेत्रमा यस दिन मन्दिरहरूमा विशेष धार्मिक कार्यक्रम हुने गर्छन्।

राधा अष्टमीको मूल भाव प्रेम, भक्ति, त्याग र समर्पणसँग जोडिएको छ।

धार्मिक मान्यताअनुसार यस दिन राधा कृष्णको श्रद्धापूर्वक पूजा तथा नामस्मरण गर्नाले भक्तिभाव बढ्छ र भगवान्को कृपा प्राप्त हुन्छ। भक्तजन राधाको नाम जप्दै प्रेम, करुणा, क्षमा र सेवाको भाव विकास गर्ने प्रयास गर्छन्।

राधालाई निस्वार्थ प्रेमको प्रतीक मानिने भएकाले यस दिन उनको स्मरणले जीवनमा त्याग र समर्पणको भावना विकास गर्न प्रेरणा मिल्ने धार्मिक विश्वास छ।

राधा अष्टमीमा विशेषगरी राधाको नाम जप, भजन कीर्तन, स्तोत्र पाठ र राधा कृष्णको पूजा गर्ने परम्परा छ। कतिपय परम्परामा ‘राधे राधे’ नामस्मरणलाई विशेष महत्व दिइन्छ।

राधा अष्टमी र कृष्ण जन्माष्टमीबीच धार्मिक रूपमा विशेष सम्बन्ध छ। कृष्ण जन्माष्टमी भाद्र कृष्ण पक्षको अष्टमीमा मनाइन्छ भने राधा अष्टमी भाद्र शुक्ल पक्षको अष्टमीमा मनाइन्छ।

यसै कारण सामान्यतः कृष्ण जन्माष्टमीको करिब १५ दिनपछि राधा अष्टमी आउँछ। भक्तिमार्गमा यी दुई पर्वलाई राधा र कृष्णको दिव्य सम्बन्धसँग जोडेर हेर्ने गरिन्छ।

राधा अष्टमीमा धेरै श्रद्धालु व्रत बस्छन्। तर व्रतको स्वरूप सबै समुदाय र परम्परामा एउटै हुँदैन।

कतिपय भक्त निराहार वा जल मात्र ग्रहण गरेर व्रत बस्छन् भने कतिपय फलाहार गर्छन्। कतिपयले पूजा, नामस्मरण र भजनलाई नै व्रतको मुख्य आधार मान्छन्।

धार्मिक आस्था आफ्नो ठाउँमा भए पनि उपवास सबैका लागि अनिवार्य वा समान रूपमा उपयुक्त हुँदैन। स्वास्थ्य, उमेर तथा अन्य परिस्थितिका कारण उपवास गर्न नसक्ने व्यक्तिले श्रद्धापूर्वक पूजा, भजन र नामस्मरण गरेर पनि पर्व मनाउन सक्छन्।

राधा अष्टमीका दिन बिहान स्नान गरी सफा लुगा लगाएर पूजा स्थल सफा गर्ने गरिन्छ। त्यसपछि चौकीमा राधा कृष्णको तस्बिर वा मूर्ति राखिन्छ।

पूजाका लागि सामान्यतः फूल, माला, अक्षता, चन्दन, कुमकुम, धूप, दीप, तुलसी, फलफूल, मिठाई, पञ्चामृत तथा नैवेद्य प्रयोग गरिन्छ।

राधा रानीको मूर्ति वा तस्बिरलाई फूलले सजाएर पूजा गरिन्छ। कतिपय परम्परामा पञ्चामृतबाट अभिषेक गरी नयाँ लुगा र गहना अर्पण गर्ने चलन छ।

त्यसपछि धूप दीप बालेर राधा कृष्णको पूजा गरिन्छ। राधा नामस्मरण, भजन, स्तोत्र तथा मन्त्र जप गरिन्छ। अन्त्यमा आरती गरेर प्रसाद बाँडिन्छ।

राधा अष्टमीको पूजामा मध्याह्न समयलाई विशेष महत्व दिने ब्रज परम्परा छ। धार्मिक मान्यताअनुसार राधा रानीको जन्म मध्याह्न समयमा भएको विश्वास गरिन्छ। त्यसैले कतिपय मन्दिरमा मुख्य अभिषेक, शृंगार तथा विशेष पूजा यही समयलाई केन्द्रमा राखेर गरिन्छ।

यद्यपि पूजा गर्ने समय र विधि स्थान, समुदाय तथा परिवारको परम्पराअनुसार फरक हुन सक्छ। व्रत तथा विशेष पूजा गर्नेहरूले आफ्नो स्थानीय पञ्चाङ्गअनुसार समय निर्धारण गर्ने गर्छन्।

राधा अष्टमीको चर्चित धार्मिक उत्सव ब्रजभूमिको बरसानामा हुने गर्छ। राधा रानीसँग जोडिएको प्रमुख धाम भएकाले यहाँको लाडलीजी मन्दिरमा पर्वको विशेष रौनक देखिन्छ।

राधा अष्टमीका दिन राधा रानीको विशेष शृंगार गरिन्छ। अभिषेक, भोग, आरती तथा भजन कीर्तन आयोजना हुन्छन्। भक्तजनहरू दर्शनका लागि टाढाटाढाबाट बरसाना पुग्ने गर्छन्।

ब्रज क्षेत्रमा राधा अष्टमी मन्दिरको पूजा मात्र नभई स्थानीय संस्कृति, संगीत, भजन र धार्मिक परम्परासँग जोडिएको ठूलो उत्सवका रूपमा मनाइन्छ।

राधा अष्टमीमा फूल, माला, चन्दन, कुमकुम, फलफूल र मिठाई अर्पण गर्ने चलन छ। खीर, मालपुवा, पञ्जिरीलगायतका परिकार कतिपय स्थानमा भोगका रूपमा चढाइन्छन्।

राधा रानीलाई नयाँ लुगा र शृंगारका सामग्री अर्पण गर्ने परम्परा पनि पाइन्छ। राधा कृष्णको संयुक्त पूजा गर्दा कृष्णलाई बाँसुरी, मयूरपङ्खलगायतका सामग्री अर्पण गर्ने चलन पनि विभिन्न परम्परामा रहेको छ।

पूजा र आरती सकिएपछि प्रसाद ग्रहण गरी परिवार तथा आफन्तलाई बाँडिन्छ। कतिपय धार्मिक परम्परामा ब्राह्मण, साधुसन्त तथा आवश्यकतामा रहेका व्यक्तिलाई भोजन गराउने वा अन्न, लुगालगायतका सामग्री दान गर्ने चलन छ।

धार्मिक दृष्टिले दान र सेवाको उद्देश्य पुण्य प्राप्तिसँगै परोपकार र मानवीय सेवाको भावलाई बलियो बनाउनु पनि हो।

राधा अष्टमीको केन्द्रमा राधा र कृष्णको सम्बन्ध छ। तर यसको धार्मिक अर्थ उनीहरूको कथा सम्झनुमा मात्र सीमित छैन।

राधाको चरित्रलाई निस्वार्थ प्रेम, त्याग र समर्पणको प्रतीक मानिन्छ। त्यसैले राधा अष्टमीले प्रेममा स्वार्थभन्दा समर्पण, सम्बन्धमा अहंकारभन्दा सद्भाव र भक्तिमा देखावटीभन्दा आत्मीयतालाई महत्व दिनुपर्ने सन्देश दिने धार्मिक विश्वास छ।

राधाको स्मरणले भक्तलाई प्रेम, करुणा, क्षमा, सेवा र समर्पणको भावतर्फ प्रेरित गर्ने मान्यता छ। त्यसैले राधा अष्टमी पूजा र व्रतको दिन मात्र नभई आफ्नो व्यवहारमा पनि प्रेम र सद्भाव उतार्ने अवसरका रूपमा लिइन्छ।

यस अर्थमा राधा अष्टमी एउटा धार्मिक तिथि मात्र होइन, प्रेमलाई स्वार्थभन्दा माथि राख्ने र भक्तिलाई जीवनको आचरणसँग जोड्ने पर्वका रूपमा स्थापित छ।

जनताले महसुस गर्न पाउनुपर्छ- संविधान

काठमाडौं। आज संविधान दिवस। लामो राजनीतिक संघर्ष, आन्दोलन र हजारौँ नेपालीको बलिदानीपछि २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको स्मरणमा देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ।

२००७ सालदेखि २०३६, २०४६ हुँदै २०६२/०६३ को जनआन्दोलनसम्मका राजनीतिक संघर्ष र अनेकन उतारचढाव पार गर्दै नेपालले आफ्ना प्रतिनिधिबाट संविधान निर्माण गरेको हो। संविधान निर्माणका लागि दुईपटक संविधानसभाको निर्वाचनसमेत गर्नुपरेको थियो।

वर्तमान संविधान नेपालको सातौँ संविधान हो। नेपाल सरकारको वैधानिक कानुन, २००४, नेपालको अन्तरिम शासन विधान, २००७, नेपाल अधिराज्यको संविधान, २०१५, नेपालको संविधान, २०१९, नेपाल अधिराज्यको संविधान, २०४७, नेपालको अन्तरिम संविधान, २०६३ यसअघि बनेका संविधानहरू हुन्। तर, ती सबैभन्दा संवैधानिक व्यवस्थाका हिसाबले वर्तमान संविधान विशिष्ट मानिन्छ।

तर, यो संविधान पनि कार्यान्वयनका दृष्टिकोणले सफल बाटोमा भने अवतरण हुन सकेको छैन।

संविधान जारी भएको एक दशक बित्दा पनि यसको कार्यान्वयनका सन्दर्भमा भने जनस्तरबाट नै विभिन्न खाले टीकाटिप्पणी र प्रश्न उठ्दै आएका छन्। संविधानमै लेखिएका स्वास्थ्य, शिक्षा, सामाजिक न्याय, आवास लगायतका मौलिक हकहरू जनताले कति उपभोग गर्न पाए र कति उपभोग गरिरहेका छन्? आजका मुख्य प्रश्न नै यी हुन्।

संविधानले नै निःशुल्क शिक्षा, स्वास्थ्य लगायतका अवधारणाहरूलाई अवलम्बन गरेको छ। संवैधानिक समाजवाद यो संविधानको मुख्य विशेषता हो। लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, आवधिक निर्वाचन र जनतामा निहित सार्वभौमसत्ता यो संविधानका विशिष्टीकृत संरचना हुन्।

तर, संविधानमा लेखिएका यी बुँदाहरूले जनताको जीवनशैलीमा कति फरक पारिरहेको छ? राष्ट्रहितका सन्दर्भमा यी व्यवस्थाले कति संरचनात्मक लाभ दियो? जनताको जीवनशैली फेरियो कि उस्तै छ? संविधान निर्माणको एक दशकपछि पनि यी सामान्य प्रश्नको स्पष्ट उत्तर विद्यमान व्यवस्थासँग छैन।

संविधानले सामाजिक न्यायको वकालत गर्छ। समतामूलक समाज निर्माणको परिकल्पना गरेको छ। तर, के समाज समान छ? समाजका सबै आयामहरू एकै ढंगले चलेका छन्?

यिनै विभिन्न प्रश्नहरूको वरिपरि संविधान कार्यान्वयनको बहस पनि घुमिरहेको छ।

संविधान जारी भएको एक दशक पूरा भइसक्दा यसको संशोधन र कार्यान्वयनको विषय पुनः बहसमा आएको छ। संविधानले संघीयता, समावेशिता, सामाजिक न्याय, धर्मनिरपेक्षता, मौलिक हक र लोकतान्त्रिक शासन प्रणालीलाई संस्थागत गरेको छ। तर, संविधानका व्यवस्था व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै विभिन्न पक्षबाट समीक्षा र संशोधनको माग हुँदै आएको छ।

संविधान जारी गर्ने क्रममा मधेसलगायतका समुदायमा असन्तुष्टि र विरोधसमेत भएको थियो। राजनीतिक दलहरूले संविधान संशोधनका विषयमा सुझाव लिन समिति गठन गरे पनि ठोस खाका सार्वजनिक हुन नसकेको अवस्था छ।

संविधान दिवस यसपटक संविधानका उपलब्धि, कार्यान्वयनको अवस्था र आगामी चुनौतीबारे समीक्षा गर्ने दिनका रूपमा पनि लिनुपर्छ। संविधानले परिकल्पना गरेका अधिकार र व्यवस्थालाई व्यवहारमा उतार्दै राज्य सञ्चालनलाई नागरिककेन्द्रित बनाउने चुनौती सरकार र राजनीतिक दलसामु छ।

संविधान केवल कागजको खोष्टो बन्नुहुँदैन। संविधानले व्यवस्था र परिकल्पना गरेका हरेक कुराहरू नागरिक जीवनले उपभोग गर्न पाउनुपर्छ। अन्यथा जसरी दिनप्रतिदिन अहिले संविधान कार्यान्वयन र संशोधनका सन्दर्भमा जुन संशयहरू उत्पन्न भइरहेका छन्, ती दिनप्रतिदिन बढ्दै जानेछन्।

संविधानमा लेखिएका प्रत्येक अनुसूची, भाग, धारा र उपधाराहरू जनताले उपभोग गर्न पाउनुपर्छ, महसुस गर्न पाउनुपर्छ। संविधान दिवसको शुभकामना।

राजाको रक्षामा रास्वपा सांसदको रडाको

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजा-महाराजालाई ‘तानाशाह’ भनेपछि रास्वपा सांसद राजीव खत्री राजाको पक्षमा उत्रिएका छन् ।

खत्रीले यादवकै विगत सम्झाउँदै राजाको शासनकालमा जन्मिएर, हुर्किएर, पढेर राष्ट्रपति बनेका व्यक्तिले  राजालाई तानाशाह भन्न नमिल्ने तर्क गरेका छन् ।

‘पूर्वराष्ट्रपति महोदय ! तपाईं राजाको पालामा जन्मेको, हुर्केको, पढेको र जवानी बिताएको मान्छे हो । राजा तानाशाह थिए भने तपाईंको नामअगाडि डा. लेख्ने हैसियत हुँदैनथ्यो,’ खत्रीले भनेका छन् ।

यतिमात्र होइन, राजाले सत्ता नछाडेको भए यादव राष्ट्रपति बन्नै नसक्ने उनको दाबी छ ।

‘यदि राजाले सत्ता नछाडेको भए तपाईं राष्ट्रपति बन्नुहुन्नथ्यो,’ उनले भनेका छन् ।

खत्रीले आफू राजा वीरेन्द्र र ज्ञानेन्द्रको शासन भोगेको पुस्ताको भएको बताउँदै उनीहरूलाई ‘तानाशाह’ मान्न अस्वीकार गरेका छन् ।

‘उनीहरू तानाशाह थिएनन् । उनीहरू प्रजातान्त्रिक राजा थिए,’ उनको भनाइ छ ।

राजा महेन्द्रलाई समेत उनले विकासप्रेमी शासकका रूपमा प्रस्तुत गरेका छन् । इतिहासका सबै राजालाई एउटै डालोमा हालेर तानाशाह भन्न नमिल्ने उनको तर्क छ ।

‘राजा महेन्द्रभन्दा अघि इतिहासका कोही राजा तानाशाह थिए होलान्, तर सबै थिएनन् । तपाईंले सोचे जति पनि होइन,’ खत्रीले भनेका छन् ।

बरु गणतन्त्रमा समेत तानाशाही शैलीको शासन भोग्नुपरेको भन्दै खत्रीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत कटाक्ष गरेका छन् ।

‘बरु गणतन्त्रमा-त्यो पनि हिजो-अस्ति मात्र तानाशाह ओलीको राजकाज भोगेरै आएका हौँ,’ खत्रीले भनेका छन् ।

राजाको बचाउमा खरो उत्रिएका खत्रीले यसअघि संविधान र राजतन्त्रको सम्भावनाबारे पनि धारणा राखिसकेका थिए ।

करिब एक वर्षअघि उनले दुईतिहाइ बहुमत ल्याएर संविधान उल्ट्याउन सकिने भन्दै सडकमा तमासा नदेखाउन आग्रह गरेका थिए । अहिले भने संविधानको पक्षमा उभिने शक्तिहरू एक ठाउँमा आउनुपर्ने धारणा राखे ।

तर, संविधान संशोधनको विषयमा भने खत्रीले कुनै किसिमको डर देखाउन नहुने बताए ।

‘भो, अब संविधानको चिन्ताले कोही मरिच हुनुपर्दैन । यदि यो पुस्ता यो संविधानको पक्षमा हुँदैनथ्यो भने जेनजी आन्दोलनपछि दुई पेजको संविधानले देश चल्दै गरेको हुने थियो,’ उनले भनेका छन् ।

उनका अनुसार मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डताबाहेक अन्य विषयमा संविधान संशोधनको बाटो खुला छ । त्यसैले बदलिँदो समाज र राजनीतिक अपेक्षाअनुसार संविधानमा सुधार हुँदै जानुपर्ने उनको धारणा छ ।

खत्रीले जनताको चाहना भए राजतन्त्र र हिन्दू राज्य फर्काउनसमेत संविधान बाधक नरहेको बताएका छन् ।

‘जनताको चाहना हुन्छ भने राजतन्त्र र हिन्दू राज्य फर्काउनसमेत यो संविधान बाधक छैन,’ उनले भनेका छन् ।

उनले संविधानलाई राजनीतिक विरोध र समर्थनको हतियार बनाउन नहुनेसमेत बताएका छन् । ‘पछाडि फर्किने कुरा स्वीकार्य छैन’ भन्दै धम्क्याउने शैलीमा संविधानको बहस चलाउनुको सट्टा राजनीतिक यथार्थ र जनताको चाहनालाई समेट्नुपर्ने उनको भनाइ छ ।

यस्तो छ उनको स्टाटस:

राजा महाराजा ताना’शाह थिए, नेपाली जनताले फा’ले: पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति महोदय ! तपाईं राजाको पालामा जन्मेको, हुर्केको, पढेको र जवानी बिताएको मान्छे हो । प्रथम दृष्टिमै भन्न सकिन्छ कि राजा ताना’शाहा थिए भने तपाईंको नामको अगाडि डा. लेख्ने हैसियत हुदैन थियो । दोस्रो दृष्टिमा यदि राजाले सत्ता नछाडेको भए तपाईं राष्ट्रपति बन्नु हुन्नथ्यो ।
अरु राजा मैले देखिन । म राजा बीरेन्द्र र ज्ञानेन्द्रको शासन भोगेको उमेर समुहको हुँ । उनीहरु ताना’शाह थिएनन् । उनिहरु प्रजातान्त्रिक राजा थिए । राजा महेन्द्र विकासप्रेमी रहेछन् भन्ने कुरा उनले देशका लागि गरेको योगदानको इतिहासबाट थाहा हुन्छ । राजा महेन्द्रभन्दाअघि इतिहासका कोहि राजा ताना’शाह थिए होलान, तर सबै थिएनन् । र, तपाइले सोचे जति पनि होइन । बरु गणतन्त्रमा- त्योपनि हिजोअस्ति मात्र ताना’शाह ओलीकाे राजकाज भोगेर चै आएकै हो ।

दोस्रो:

– एक वर्षअघि: दुईतिहाइ ल्याएर संविधान उल्टाऊ, सडकमा तमासा नदेखाऊ ।
– एक वर्षपछि: अहिले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा गरौं ।
 भो अब संविधानको चिन्ताले कोहि मरिच हुनुपर्दैन । यदि यो पुस्ता यो संविधानको पक्षमा हुँदैन थियो भने जेन जी आन्दोलनपछि दुई पेजको संविधानले देश चल्दै गरेको हुने थियो । संशोधनको मुद्दाले तर्सिनु पनि पर्दैन किन कि यो संविधानले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डताबाहेक अन्य विषयमा संशोधन गर्न रोकेकै छैन । त्यसैले यथार्थता र समाजका सपनालाई समेट्ने गरी संविधान लेखिनुपर्छ, र समाज/राजनीतिको बदलिंदो अपेक्षालाई सम्बोधन गर्ने गरी संविधानमा सुधार हुँदै जानुपर्छ । जनताको चाहाना हुन्छ भने राजतन्त्र र हिन्दू राज्य फर्काउनसमेत यो संविधान बाधक छैन ।
‘पछाडि फर्किने कुरा स्वीकार्य छैन’ भन्दै ध’म्क्याउँदै संविधानलाई वि’रोध र समर्थनको राजनीतिक अ’स्त्र बनाउन जरुरी नै छैन । संविधानलाई राजनीतिक यथार्थताभन्दा कानुनको साँघुरो घेरामा सीमित गर्न नखोजौ । संविधानलाई कानुनका ‘यान्त्रिक’ पा’सोमा फ’साइयो भने यसले राजनीतिक वै’धता गुमाउँदै जान्छ ।
संविधान दिवसको शुभकामना

संविधान दिवसमा बालेनले भने, ‘हामी कानुनी राजाका पक्षमा छौँ’

काठमाडौं । संविधान दिवसका अवसरमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले ‘हामी कानुनी राजाको पक्षमा छौँ’ भनेका छन्।

संविधान दिवसका अवसरमा हिप्पी शैलीमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले लोकतन्त्र, मानव अधिकार, समानता र सामाजिक न्यायका मूल्यलाई व्यवहारमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए तर त्यही क्रममा उनले बोलीको टोन खस्काउँदै कानुनी राजा भन्ने शब्द उच्चारण गरे।

‘प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राजा यी हाम्रा लागि सर्तहरू होइनन्, यी हाम्रा राष्ट्रिय जीवनका आधार हुन्।’ उनले भने।

हजारौँ सहिदको बलिदान, लामो संघर्षबाट आर्जित संविधानकै धज्जी उड्ने गरी उनले संविधान दिवसकै अवसरमा गरेको उक्त सम्बोधनले उनी राजा ल्याउन त चाहँदैनन् ? भन्ने प्रश्नलाई सतहमा ल्याएको छ।

प्रधानमन्त्रीजस्तो संवैधानिक पदमा रहेका व्यक्तिले संविधान दिवसकै दिन ‘कानुनी राजा’ भन्ने शब्द प्रयोग गर्नुले उनको संवैधानिक बुझाइमाथि नै प्रश्न उठेको छ।

नेपालको संविधानले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको व्यवस्था गरेको छ। त्यसैले संविधान दिवसकै दिन प्रधानमन्त्रीबाट ‘कानुनी राजा’ शब्द प्रयोग हुनु आफैँमा अस्वाभाविक र आलोचनाको विषय हो।

ट्रम्पको मिडियामाथि प्रहार, सीएनएनसहित तीनलाई ह्वाइट हाउसमा ‘नो इन्ट्री’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउसमा प्रवेश रोक्ने घोषणा गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले यी सञ्चारमाध्यमले आफ्नो प्रशासनबारे ‘झूटो र काल्पनिक समाचार’ फैलाइरहेको आरोप लगाए।

तर, उनले कुन समाचार वा रिपोर्टलाई आधार बनाएर यस्तो निर्णय लिएको हो भन्ने खुलाएका छैनन्।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यसलाई ‘सामान्य प्रतिबन्ध’ भनेका छन्। तर, यसको कार्यान्वयन कसरी हुन्छ भन्ने स्पष्ट छैन।

ती सञ्चारमाध्यमका पत्रकारलाई ह्वाइट हाउस परिसरमा प्रवेश नै नदिने हो वा राष्ट्रपति कार्यालयका केही कार्यक्रम तथा प्रेस ब्रिफिङमा मात्र पहुँच रोक्ने हो भन्नेबारे पनि प्रशासनले स्पष्ट पारेको छैन।

ट्रम्पको घोषणापछि सीएनएनले आपत्ति जनाएको छ।

सीएनएनले सम्भावित प्रतिबन्धलाई अमेरिकी सञ्चार स्वतन्त्रतामाथिको ‘गैरकानुनी हमला’ भनेको छ। अमेरिकी संविधानले सरकारको हस्तक्षेपबिना समाचार संकलन र प्रकाशन गर्ने अधिकार सुनिश्चित गरेको उसको भनाइ छ।

प्रतिबन्ध लागू भएमा त्यसविरुद्ध कानुनी चुनौती दिने संकेत पनि सीएनएनले गरेको छ।

पोलिटिकोले ह्वाइट हाउस र प्रशासनका गतिविधिबारे समाचार सम्प्रेषणलाई निरन्तरता दिने जनाएको छ।

आफ्नो संवैधानिक अधिकार सीमित गर्ने प्रयासको प्रतिवाद गर्ने पनि उसले बताएको छ।

एमएस नाउले भने ट्रम्पको घोषणाबारे तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेको छ। यो सञ्चारमाध्यम यसअघि एमएसएनबीसीका नाममा चिनिन्थ्यो।

ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसनले पनि ट्रम्पको कदमप्रति आपत्ति जनाएको छ।

संगठनकी अध्यक्ष ज्याकी हेनरिकले पत्रकारले आफ्नो काम गरेकै कारण निशाना बनाइनु उचित नभएको बताएकी छन्।

उनका अनुसार यो पत्रकारको मात्र अधिकारको विषय होइन। राष्ट्रपतिको कार्यालयबाट हुने काम, नीति र निर्णयबारे अमेरिकी नागरिकले स्वतन्त्र जानकारी पाउने अधिकारसँग पनि यो जोडिएको छ।

ट्रम्पको घोषणा कार्यान्वयन भएमा यो विषय कानुनी विवादमा जाने सम्भावना छ।

अमेरिकी संविधानको पहिलो संशोधनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गरेको छ। ह्वाइट हाउसले विगतमा पनि केही सञ्चारमाध्यम तथा पत्रकारको पहुँच सीमित गर्दा अदालतमा विवाद पुगेका उदाहरण छन्।

अहिलेको विवादमा मुख्य प्रश्न ह्वाइट हाउसले आफ्नो प्रशासनको आलोचनात्मक रिपोर्टिङ गर्ने सञ्चारमाध्यमलाई समाचार पहुँचबाट वञ्चित गर्न सक्छ कि सक्दैन भन्नेमा केन्द्रित हुने देखिएको छ।

ट्रम्पको पछिल्लो घोषणाले अमेरिकी राष्ट्रपति कार्यालय र सञ्चारमाध्यमबीचको तनावलाई थप सतहमा ल्याएको छ।

संविधान दिवसमा च्यासलमा एमालेको विशेष कार्यक्रम

काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा एमाले अध्यक्षसहित पार्टीका पदाधिकारी, केन्द्रीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।

कार्यक्रममा नेताहरूले संविधानको रक्षा र कार्यान्वयनका लागि निरन्तर संघर्ष आवश्यक रहेको धारणा राखेका छन्।


 

शहीदको रगतले लेखिएको संविधान हामी कामले पूरा गर्नेछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संविधानले वाचा गरेका सबै खालका विभेदको अन्त्य र समतामूलक समाज स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

संविधान दिवसका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले लोकतन्त्र र मानव अधिकार राष्ट्रिय जीवनका आधार भएको उल्लेख गरे। उनले संविधान कार्यान्वयन गर्ने हात राम्रो हुनुपर्नेमा जोड दिए।

‘भ्रष्टाचारको जरो गहिरो छ, त्यो उखेल्ने हात बलिया छन्,’ प्रधानमन्त्री शाहले भने।

उनले सरकार सुशासनको मार्गमा अघि बढिरहेको दाबी गर्दै राष्ट्र विकासको साझा उद्देश्य पूरा गर्न सरकारले काम गरिरहेको बताए। डिजिटल सुशासन सुनिश्चित गरिने पनि उनले बताए।

प्रधानमन्त्री शाहले संविधानले परिकल्पना गरेको व्यवस्था व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी सबैको भएको उल्लेख गरे।

‘संविधान पूरा हुने दिन हामी आफैंले ल्याउनुपर्छ। यो सरकारको हरेक कदम त्यसतर्फ हुनेछ। शहीदहरूको रगतले लेखिएको संविधान हामी कामले पूरा गर्नेछौँ,’ उनले भने।

शाहले संविधानमा उल्लेख गरिएका लोकतन्त्र, मानव अधिकार, समानता र सामाजिक न्यायका मूल्यलाई व्यवहारमा स्थापित गर्न सरकार केन्द्रित रहेको बताए।

संविधान दिवसमा रविको सन्देश : ‘मौलिक हक सीमान्तकृतको दैनिक यथार्थ बन्नुपर्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई शुभकामना व्यक्त गरेका छन्।

संविधान दिवसका अवसरमा सन्देश जारी गर्दै लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहीदप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले कुनै पनि देशको संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। नेपालको सन्दर्भमा भने आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको उनको भनाइ छ।

लामिछानेले लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता त्यसबेला मात्र सिद्ध हुने बताएका छन्, जब संविधानले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक जीवनको यथार्थ बन्न सक्नेछन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक लोकतन्त्रमार्फत नै नागरिकको मुहारमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट गरेको छ,’ उनले भनेका छन्।

संविधान जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसको अन्तर्वस्तु परिष्कृत तथा संशोधन हुन सक्ने लामिछानेले बताएका छन्। संविधानमै व्यवस्था गरिएको प्रावधानले पनि संविधानको समीक्षा आवश्यक रहेको उनको भनाइ छ।

‘तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ,’ उनले भनेका छन्।

लामिछानेले बेथिति र कमजोरीलाई सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्ने उपयुक्त दिन संविधान दिवस भएको बताएका छन्।

‘बलियो राज्य भनेको बलिया संस्था हुन्,’ उनले भनेका छन्, ‘संविधान दिवसले हामी सबै राजनीतिक शक्ति, राज्यका अङ्गहरू र आम नागरिकलाई आ–आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस्।’

सन्देशको अन्त्यमा उनले ‘सबैको जय होस्’ भन्दै ‘जय देश, जय घण्टी’ उल्लेख गरेका छन्।

बालेन सरकारबाटै संविधानमाथि खतरा!

काठमाडौं । नेपालकाे संवैधानिक इतिहासमा जनताका प्रतिनिधिहरूले संविधानसभाबाट निर्माण गरेका हुन्- नेपालकाे संविधान २०७२ ।

यसअघिका कुनै संविधान संविधानसभाबाट हाेइन, शासककाे चाहनाअनुसार निर्माण भएका थिए । जबकि, प्रजातन्त्र घाेषणा पत्रमा `विधानसभाबाट संविधान´ निर्माण गर्ने उल्लेख थियाे ।

तर, त्यसाे भएन । संवैधानिक कानुनका जानकार चण्डेश्वर श्रेष्ठका अनुसार २०१५ सालमा निर्मित नेपाल अधिराज्यकाे संविधान भारतीय संविधानविद्हरूलाई गुहारेर लेखिएको थियाे । त्यसपछि २०१९ सालकाे पञ्चायती संविधान हाेस् वा नेपाल अधिराज्यकाे संविधान २०४७, जनताबाट निर्वाचित प्रतिनिधिहरूले निर्माण गरेका हाेइनन् । संविधान निर्माण गर्न समर्पित विधानसभा थिएन । संविधानविद् श्रेष्ठ भन्छन्- `जनताका प्रतिनिधिहरूले नै संविधान निर्माण गर्ने परिकल्पना २००७ सालमा प्रजातन्त्र घाेषणाकै बेला गरिएको थियाे । अन्ततः २०७२ मा बन्याे ।´

तत्कालीन नेकपा माओवादीले जनयुद्ध गर्ने क्रममा संविधानसभाकाे एजेन्डा उठायाे। साेही जनयुद्धको जगमा भएको २०६२/०६३ काे दाेस्राे जनआन्दोलनले देशलाई संविधानसभाको निर्वाचनकाे दिशामा अघि बढायाे । २८ चैत २०६४ मा संविधानसभा निर्वाचन भयाे ।

तर, संविधान निर्माण नगरी विघटन भयाे । यसपछि दाेस्राे संविधानसभा निर्वाचन २०७० काे मंसिर ४ मा भयाे । साेही संविधानसभाले ३ असाेज २०७२ मा नेपालकाे संविधान निर्माण भयाे । आज संविधान निर्माण भएको ११ वर्ष पूरा भएको छ । यस अवसरमा बालेन सरकारले सैनिक मञ्च टुँडिखेलमा भव्य समाराेह आयाेजना गरेकाे छ ।

तर, संविधानमाथि चाैतर्फी आक्रमण गरेकाे बालेन सरकारलाई लागेकाे छ । प्रमख प्रतिपक्षी नेता भीष्मराज आङ्देम्बेले शनिबार शुभकामना सन्देश जारी गर्दै भने, `संविधान कार्यान्वयनकाे जिम्मेवारी पाएकाे सरकारले नै संविधानमाथि चाैतर्फी आक्रमण गरिरहेकाे प्रतीत नेपाली कांग्रेसलाई भएको छ ।´

हालै संविधानविद् डा. टीकाराम भट्टराईले संविधान बचाउनु नै अहिलेकाे मुख्य चुनाैती रहेकाे बताएका थिए । अन्य संविधानविद्हरूकाे चिन्ता भट्टराईकाे जस्तै छ ।

यसरी संविधान सरकारबाटै खतरामा परेकाे बेला शनिबार नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान उत्सव मनाउँदै छ ।

हुन पनि वर्तमान सरकारमा संविधान नबुझेका सुधन गुरूङ गृहमन्त्री छन् । उनले जेन-जी विद्राेह लगत्तै भनेका थिए-याे संविधान चाहिँदैन ।´

प्रधानमन्त्री बालेनलाई त संविधानकाे आधारभूत संरचनामै हेरफेर गर्न लागेकाे आराेप लाग्ने गरेकाे छ ।

भोटेकोशी विपत्तिबाट जलवायु न्यायको मागसहित विश्वमञ्चसम्म नेपाल

काठमाडाैं। भोटेकोशी-त्रिशूली क्षेत्रमा १० भदौमा आएको विनाशकारी बाढीले नेपालसामु जलवायु सङ्कटको गम्भीर तस्वीर प्रस्तुत गरेको छ। हजारौँ मानिसको मृत्यु र बेपत्ता, बस्ती तथा पूर्वाधारको विनाश र जलविद्युत् आयोजनामा परेको क्षतिले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमलाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्र हेर्न नसकिने अवस्था छ। वैज्ञानिक अध्ययनले पनि तापक्रम वृद्धि, हिमनदीको क्षयीकरण र पर्माफ्रोस्ट पग्लिँदा हिमाली भूबनोट अस्थिर बन्दै गएको र यसले यस्ता विपत्तिको जोखिम बढाएको देखाएको छ।

यही पृष्ठभूमिमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ आगामी संयुक्त राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट जलवायु न्यायको मुद्दा उठाउने तयारीमा छन्। उनी सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालले त्यहाँ भोटेकोशी विपत्तिलाई जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित हिमाली मुलुकले भोगिरहेको जोखिमको उदाहरणका रूपमा प्रस्तुत गर्ने तयारी छ।

तर नेपालको दाबी भावनामा मात्र सीमित हुनु हुँदैन। जलवायु न्यायको बलियो आधार वैज्ञानिक प्रमाण, क्षतिको अभिलेख र स्पष्ट आर्थिक माग हुनुपर्छ।

भौतिक क्षति, मानवीय क्षति, जैविक विविधतामा परेको असर, हिमनदीको परिवर्तन, तापक्रम वृद्धि, पहिरोको जोखिम तथा सामाजिक-आर्थिक प्रभावको व्यवस्थित अभिलेखीकरण गरेर त्यसलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न आवश्यक छ। हालैको अध्ययनले हिमालयमा जलवायु परिवर्तनले हिमनदी र चट्टानको स्थिरतामा असर पुर्‍याएको देखाएको छ भने इसिमोड का अध्ययनहरूले हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदीको क्षति तीव्र बन्दै गएको देखाएका छन्।

नेपालको अर्को महत्वपूर्ण मुद्दा जलवायु वित्त हो। विपत्तिपछि पुनर्निर्माणका लागि नेपालले ठूलो रकम आवश्यक पर्ने आकलन गरेको छ र हानि तथा नोक्सानीसम्बन्धी कोषबाट सहयोग मागिरहेको छ। त्यसैले नेपालले ऋणमा आधारित सहयोगभन्दा अनुदान, प्रविधि हस्तान्तरण र तत्काल पहुँचयोग्य वित्तीय संयन्त्रको मागलाई प्राथमिकतामा राख्न सक्छ।

यससँगै नेपालले भारत, चीन, भुटान र बङ्गलादेशसँग हिमाली तथा नदी प्रणालीसम्बन्धी सहकार्य विस्तार गर्नुपर्ने देखिन्छ। उपल्लो तटीय क्षेत्रमा पहिरो, हिमताल वा हिमनदीसम्बन्धी जोखिमको सूचना तल्लो तटीय क्षेत्रमा समयमै पुर्‍याउने क्षेत्रीय पूर्वसूचना प्रणाली निर्माण गर्न सकिए त्यसले ठूलो मानवीय क्षति रोक्न सहयोग गर्न सक्छ।

त्यसैले बालेनको अमेरिका भ्रमणको सार केवल क्षतिपूर्ति माग्नुमा सीमित हुनु हुँदैन। नेपालले जलवायु सङ्कटको वैज्ञानिक प्रमाण, आफ्नो क्षतिको वास्तविक मूल्य, जोखिम न्यूनीकरणका लागि आवश्यक लगानी र अन्तर्राष्ट्रिय दायित्वलाई एउटै ढाँचामा प्रस्तुत गर्नुपर्ने आवश्यकता छ।

हिमालयमा देखिएको संकट नेपालको मात्र समस्या होइन; यससँग जोडिएको पानी, कृषि, ऊर्जा, जैविक विविधता र करोडौँ मानिसको जीवन दक्षिण एसियाको साझा भविष्यसँग जोडिएको छ। त्यसैले नेपालको आवाज दया माग्नेभन्दा प्रमाणसहित अधिकार स्थापित गर्ने आवाज बन्न आवश्यक छ।

डा. सापकोटाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन प्रसाद सापकोटा र उनकी श्रीमती निरजा पण्डितविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

डा. सापकोटाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका आकर्षक कार्यालयहरूमा कार्यरत रहँदा पदीय हैसियतको दुरुपयोग गरी काठमाडौंका प्रमुख शहरहरूमा महँगो घरघडेरी खरिद, सवारी साधन खरिदका साथै अस्वाभाविक जीवनशैली बिताएको भन्‍ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

वि.सं. २०५३ साउन २५ देखि २०८० वैशाख ३० गतेसम्मको जाँच अवधिमा डा. सापकोटाको कुल वैध आम्दानी ३ करोड ३५ लाख ७७ हजार २ सय ६० रुपैयाँ ३४ पैसा रहेको देखिएको छ। यस अवधिमा पारिश्रमिक, भत्ता, घरबहाल, जग्गा र शेयर बिक्री, कृषि आय तथा बैंक ब्याजसमेतलाई वैधानिक आय मानिएको छ।

सोही अवधिमा उनको कुल खर्च तथा लगानी ५ करोड ३९ लाख ७१ हजार ८ सय ७५ रुपैयाँ ५८ पैसा देखिएको छ, जसमा घरजग्गा खरिद, निर्माण, शेयर, सवारी साधन, अध्ययन, विदेश भ्रमण तथा बैंक मौज्दात समावेश छन्।

कुल वैध आम्दानीको तुलनामा खर्च तथा लगानी २ करोड ३ लाख ९४ हजार ६ सय १५ रुपैयाँ २४ पैसा बढी देखिएको र सो रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेकाले अख्तियारले सोही रकम बराबरको गैरकानुनी सम्पत्ति (बिगो) कायम गरेको छ।

उक्त गैरकानुनी सम्पत्ति श्रीमती निरजा पण्डितको नाममा समेत राखिएको पाइएकाले दुवै जनालाई प्रतिवादी बनाई बिगो असुल उपर र कानुन बमोजिम कडा सजायको मागदाबी गर्दै आयोगले मुद्दा दर्ता गरेको हो।

विश्वकर्मा पूजापछि बागमतीमा मूर्ति विसर्जन [तस्वीरहरू]

काठमाडौं । विश्वकर्मा पूजा सम्पन्न भएसँगै विश्वकर्माको मूर्ति नदीमा विसर्जन गरिएको छ।

शुक्रबार काठमाडौंको चोभारस्थित बागमती नदीमा श्रद्धालुले विश्वकर्माको मूर्ति विसर्जन गरेका हुन्।

मूर्ति विसर्जनका क्रममा नदीमा हुने सम्भावित दुर्घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएका थिए।

श्रद्धालुहरू नदीमा प्रवेश गर्दा सुरक्षाकर्मीले निगरानी गरेका थिए।


 

१३ देशका लागि राजदूत सिफारिस, कुन देशमा को?

काठमाडौं। सरकारले भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूत नियुक्तिका लागि १३ जनाको नाम अघि बढाएको हो।

कुन देशमा को ?

सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूको सूची यस्तो छ :

१. डा. निश्चलनाथ पाण्डे : भारत
२. डा. कल्याणराज शर्मा : चीन
३. चिरनजंग थापा : संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा : बेलायत
५. जिग्यान कुमार थापा : जापान
६. सुरेशकुमार कर्ण : इजरायल
७. प्राप्ति शेरचन : स्पेन
८. शारू जोशी : जर्मनी
९. डा. पद्माक्षी राणा : ओमान
१०. चूडामणि खरेल : मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ : दक्षिण कोरिया
१२. डा. मंचल झा : श्रीलंका
१३. गिरीबहादुर सुनार : साउदी अरेबिया

सरकारको सिफारिसपछि सम्बन्धित संवैधानिक तथा संसदीय प्रक्रिया पूरा भएपछि उनीहरूको नियुक्ति अघि बढ्नेछ।

दैलेखमा ६ थान भरुवा बन्दुक बरामद

काठमाडौं। दैलेखको महाबु गाउँपालिका-५ स्थित गोर्ती सामुदायिक वन तथा आसपासको जंगलबाट प्रहरीले ६ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी हवल्दार पटकबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले २०८३ असोज २ गते दिउँसो १२ बजे उक्त हतियार फेला पारेको हो।

प्रहरीका अनुसार गोर्ती सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा ३ थान एकनाले भरुवा बन्दुक फेला परेको थियो। सोही स्थानबाट करिब ३ किलोमिटर टाढा आरनटोलको जंगलको झाडीमा बेवारिसे अवस्थामा थप ३ थान भरुवा बन्दुक बरामद गरिएको हो।

बरामद भएका सबै ६ थान भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजतलास गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनमा रविसँगै फरार भएका प्रतिवादी पक्राउ

काठमाडौं। लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका बेला जेनजी आन्दोलनका क्रममा फरार भएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका-२१, सानो खोकना बस्ने लमजुङको बेँसीसहर नगरपालिका-३ घर भएका ४७ वर्षीय विक्रमबहादुर थापा पक्राउ परेका हुन्।

लागूऔषध मुद्दामा अदालतबाट थापालाई ३ वर्ष ६ महिना कैद र १ लाख ६० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो। सोही फैसलाअनुसार कैद भुक्तान गरिरहेका थापा जेनजी आन्दोलनका क्रममा गत २०८२ भदौ २४ गते  फरार भएका हुन्। सोही दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत फरार भएका थिए।  

फरार रहेका थापालाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको जनाएको छ।

हुथीलाई रोक्न चीनले इरानलाई दबाब दिएको दाबी

एजेन्सी। यमनका हुथी विद्रोहीको बढ्दो सैन्य गतिविधि रोक्न चीनले इरानसँग आग्रह गरेको दाबी गरिएको छ। साउदी अरबको अनुरोधपछि बेइजिङले तेहरानसँग यस विषयमा कूटनीतिक पहल गरेको तीन इरानी स्रोतले बताएका छन्।

पछिल्लो समय हुथीहरूले लाल सागरको तटीय क्षेत्र र बाब अल-मन्देब आसपास सैन्य गतिविधि बढाएपछि साउदी अरबले चीनसँग सहयोग मागेको स्रोतहरूको दाबी छ।

हुथी गतिविधि बढ्दा लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री व्यापार र साउदी अरबको तेल निर्यात प्रभावित हुन सक्ने चिन्ता बढेको छ।

चीनले सार्वजनिक रूपमा भने क्षेत्रीय तनाव घटाउन, संवाद अघि बढाउन र समुद्री मार्ग सुरक्षित राख्न आह्वान गर्दै आएको छ। तर, स्रोतहरूका अनुसार इरानसँगको निजी कूटनीतिक सन्देश तुलनात्मक रूपमा कडा थियो।

बेइजिङले इरानलाई आफ्नो प्रभाव प्रयोग गरेर हुथीहरूलाई लाल सागरमा थप सैन्य गतिविधि नगर्न र क्षेत्रीय संकट विस्तार हुन नदिन आग्रह गरेको बताइएको छ।

चीनको आग्रहमा इरानले क्षेत्रीय स्थिरताका लागि सबैभन्दा पहिले आफूविरुद्ध जारी अमेरिकी–इजरायली युद्ध अन्त्य हुनुपर्ने जवाफ दिएको स्रोतहरूले बताएका छन्।

तर, हुथीहरूलाई नियन्त्रणमा नलिए आर्थिक दबाब वा अन्य कदम चाल्ने चेतावनी चीनले नदिएको उनीहरूको दाबी छ।

चिनियाँ पक्षले यमन र लाल सागरसम्म क्षेत्रीय तनाव विस्तार गर्न नहुने बताएको स्रोतहरूको भनाइ छ। सबै देशको सार्वभौमिकता र सुरक्षाको सम्मान गर्नुपर्ने तथा नागरिकका लागि महत्त्वपूर्ण संरचनामाथि आक्रमण रोक्नुपर्नेमा चीनले जोड दिएको बताइएको छ।

इरानी विदेश मन्त्रालय र साउदी सरकारको सञ्चार कार्यालयले भने यस विषयमा तत्काल सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

लाल सागर र बाब अल-मन्देब चीनका लागि व्यापारिक मार्ग मात्र होइन, ऊर्जा सुरक्षासँग पनि जोडिएका छन्।

इरान चीनका लागि प्रमुख तेल आपूर्तिकर्तामध्ये एक हो। उपलब्ध तथ्यांकअनुसार सन् २०२५ मा इरानले समुद्री मार्गबाट निर्यात गरेको तेलको ठूलो हिस्सा चीन पुगेको थियो।

अर्कोतर्फ, होर्मुज क्षेत्रमा तनाव बढिरहेकै बेला लाल सागरमा समेत हुथी गतिविधि तीव्र भए मध्यपूर्वका दुई प्रमुख समुद्री मार्ग प्रभावित हुन सक्ने जोखिम छ।

होर्मुजबाट हुने ऊर्जा आपूर्ति र लाल सागरबाट हुने व्यापारिक आवागमनमा अवरोध आए त्यसको असर विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारमा पर्न सक्छ।

मध्यपूर्व मामिलाका विश्लेषक एलेक्स वातान्काका अनुसार चीनको मध्यपूर्वमा आर्थिक हित इरानसँगको सम्बन्धभन्दा धेरै व्यापक छ। चीनको खाडी क्षेत्रका देशहरूसँग ठूलो व्यापारिक सम्बन्ध छ।

त्यसैले इरानमाथि प्रभाव प्रयोग गरेर लाल सागरको तनाव कम गर्नु चीनका लागि रणनीतिक प्राथमिकता हुन सक्ने विश्लेषण गरिएको छ।

अमेरिकी प्रतिबन्ध र आर्थिक दबाबका बीच चीन इरानका लागि महत्वपूर्ण व्यापारिक साझेदार बनेको छ।

इरानी तेलको ठूलो बजार चीन हो। तेल उद्योगमा लगानी र आर्थिक सहयोग गर्न सक्ने सीमित साझेदारमध्ये चीनलाई तेहरानले महत्वपूर्ण रूपमा हेर्ने गरेको छ।

सन् २०२३ मा इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनःस्थापना गराउन पनि चीनले मध्यस्थता गरेको थियो। यसले पश्चिम एसियामा बेइजिङको बढ्दो कूटनीतिक भूमिकालाई देखाएको थियो।

सन् २०२१ मा चीन र इरानबीच २५ वर्षे सहकार्य सम्झौता भएको थियो। तर सम्झौताअनुसार गैरतेल क्षेत्रमा अपेक्षित लगानी र व्यापार विस्तार हुन नसकेको भन्दै इरानभित्रै असन्तुष्टि पनि देखिँदै आएको छ।

त्यसैले चीनसँगको सम्बन्ध महत्वपूर्ण भए पनि हुथीसम्बन्धी निर्णयमा बेइजिङको आग्रह मात्रै निर्णायक नहुने इरानी स्रोतहरूको दाबी छ।

यमनमा लामो समयदेखि सक्रिय हुथी आन्दोलनले साउदी प्रभाव र हस्तक्षेपको विरोध गर्दै आफ्नो सैन्य क्षमता विस्तार गरेको छ।

पश्चिमी मुलुक तथा केही इरानी स्रोतका अनुसार हुथीहरूलाई इरानले हतियार, तालिम र आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। तेहरानले भने हुथीमाथिको आफ्नो प्रभावलाई लिएर गरिने सबै दाबी स्वीकार गर्दै आएको छैन।

हुथी गतिविधि यमनको सीमाभन्दा बाहिर लाल सागर र बाब अल–मन्देबको समुद्री सुरक्षासँग जोडिएपछि यसको अन्तर्राष्ट्रिय प्रभावसमेत बढेको छ।

यही कारण चीनले इरानमार्फत हुथीमाथि प्रभाव प्रयोग गर्ने प्रयास गरेको हुन सक्ने विश्लेषण गरिएको छ।

रसुवा बाढीमा बेपत्ता नवलपुरका १२ जनाको कुशको शव बनाएर अन्त्येष्टि

पूर्वी नवलपरासी । रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका १२ जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ।

मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीका अनुसार अमलटारीस्थित नारायणी नदी किनारमा उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो।

रसुवाको टिमुरेमा रहेको तेन्जिङ शेर्पा हाइड्रोपावरमा लामो समयदेखि कार्यरत उनीहरू भदौ १० गतेको बाढीमा परेर बेपत्ता भएका थिए।

मध्यविन्दु नगरपालिका वडा नम्बर १ सेतापानीका तीन जना र वडा नम्बर ५ बाघखोरका नौ जना बेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार बेपत्ता हुनेमा मध्यविन्दु–१ सेतापानीका हेमबहादुर चौधरी, हुसनबहादुर थारु र कालीराम महतो थारु छन्।

त्यस्तै मध्यविन्दु–५ बाघखोरका जीवन विक, गंगाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, युद्ध महतो, एवदेव महतो, नुमनारायण महतो, केवलप्रसाद महतो र तेजबहादुर थारु रहेका छन्।

बाढीपछि उनीहरूको खोजी लगातार गरिएको थियो। लामो समयसम्म कुनै खबर नआएपछि परिवारले धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।

मध्यविन्दु नगरपालिकाले बेपत्ताको खोजीमा भएको खर्चसहित काजक्रियाका लागि प्रत्येक परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको नगरप्रमुख अधिकारीले जानकारी दिए।

 

नेप्से २२ अंकले बढ्यो, कारोबार साढे ६ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ।

बिहीबारबाट सम्हालिएको बजारले शुक्रबार पनि बढ्ने क्रमलाई निरन्तरता दिएको हो। नेप्से परिसूचक २२.८५ अंकले बढेर २ हजार ६४७.२२ विन्दुमा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३२ अंकले बढेको छ। फ्लोट इन्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९० अंकले उकालो लागेका छन्।

बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो।

शुक्रबार ३४५ कम्पनीका २ करोड १२ लाख ७२ हजार कित्ता सेयर किनबेच भएका छन्। कुल ६४ हजार ७२ पटक कारोबार भएको हो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा बढेका छन्। दुईवटा उपसमूह घटेका छन्।

बैंकिङ उपसमूह सबैभन्दा बढी उकालो लाग्ने प्रमुख उपसमूहमध्ये रह्यो। यसको परिसूचक १.५९ प्रतिशत बढेको छ।

जीवन बीमा उपसमूह पनि करिब १.५ प्रतिशतले बढेको छ। वित्त र अन्य उपसमूह भने सामान्य अंकले घटेका छन्।

शुक्रबार स्नो रिभर्स लिमिटेडको सेयर मूल्य १३.६६ प्रतिशतले बढेको छ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशत र मैलुङ खोला जलविद्युत कम्पनीको करिब ९ प्रतिशत बढेको छ।

यता हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य १५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक अगाडि रह्यो। बैंकको ३२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढी र ग्लोबल आइएमई बैंकको २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

बालेनको ‘जेनजी सांसद’ छलफलमा अफ्सानाको प्रश्न : ‘मुद्दा बोक्ने सांसद चाहिँदैन?’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले जेनजी उमेर समूहका सांसदसँग गरेको छलफलप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अफ्साना बानुले प्रश्न उठाएकी छन्।

प्रधानमन्त्री शाहले सिंहदरबारमा जेनजी उमेर समूहका सांसदसँग नवीनतम प्रविधि, डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीतिबारे छलफल गरेका थिए।

त्यसक्रममा प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा पनि छलफल भएको थियो।

तर, जेनजी आन्दोलनबाट उदाएकी सांसद बानुले उमेरका आधारमा मात्रै छलफल सीमित गर्न नहुने बताएकी छन्।

उनले सुरुदेखि नै जेनजीका माग र मुद्दा उठाउँदै आएका सांसदसँग पनि छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेकी छन्।

बानुले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनेकी छन्, ‘जेनजीका माग मुद्दा सम्बोधन गर्नका लागि जेनजी उमेर समूहका सांसदहरू चाहिने हो कि पहिलेदेखि नै निरन्तर जेनजीका माग मुद्दा बोकेका सांसदहरूसँग बैठक बस्नुपर्ने हो प्रधानमन्त्रीज्यू ?’

उनको यो अभिव्यक्तिले प्रधानमन्त्रीको जेनजी सांसदसँगको छलफलको दायरालाई लिएर रास्वपाभित्रै प्रश्न उठेको देखिएको छ।

सञ्चारमन्त्रीसँग कोरियाली राजदूतको भेट

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क जे–ख्योङले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रीको कार्यकक्षमा भएको भेटमा नेपाल–कोरिया सम्बन्ध, भोटेकोसी बाढीपछिको उद्धार, पुनःस्थापना र राहतबारे छलफल भएको छ।

भेटमा सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि कुराकानी भएको थियो।

मन्त्री तिमिल्सिनाले बाढीको कठिन समयमा नेपाललाई कोरियाले दिएको सहयोग र सहानुभूतिप्रति आभार व्यक्त गरे। उनले उद्धार तथा खोजीका लागि कोरियाले विपद् व्यवस्थापन टोली परिचालन गरेकोमा पनि धन्यवाद दिए।

बाढी प्रभावितको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्ने कोरियाली सरकारको प्रतिबद्धताप्रति उनले कृतज्ञता व्यक्त गरे।

मन्त्री तिमिल्सिनाले नेपाल र कोरियाबीच पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा जोड दिए।

राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि कोरियाको सहयोग जारी रहने बताए।

उनले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे पनि चासो व्यक्त गरे। उनका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेको छ।

माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रमा रहेका थप नौ जना कोरियाली नागरिक भने अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए।

राजदूत पार्कले असोज १४ गतेदेखि दक्षिण कोरियामा आयोजना हुने १२औँ ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’बारे पनि जानकारी गराए।

दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा हुने फोरममा नेपालसहित विभिन्न देशका प्रतिनिधि सहभागी हुनेछन्।

फोरममा सूचना प्रविधि र कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य तथा आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुने बताइएको छ।

चाडपर्वपछि आन्दोलन चर्काउने प्रचण्डको संकेत

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं–तिहारपछि सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन्।

अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारप्रति जनआक्रोश बढ्दै गएको दाबी गरे।

उनका अनुसार प्रतिपक्षी दलहरूबीच सदनभित्र सहकार्य भइरहेको छ। सरकारविरुद्ध सडकमा पनि संयुक्त मोर्चा बनाउने तयारी भइरहेको उनले बताए।

‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। त्यहाँ संयुक्त रूपले आवाज उठाउँछौँ,’ प्रचण्डले भने।

उनले सरकारमाथि सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी र ट्रेड युनियनसँग आबद्ध समूहलाई दमन गरेको आरोप लगाए।

‘त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ,’ उनले भने।

प्रचण्डले विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग लगातार छलफल भइरहेको पनि बताए।

ठूला चाडपर्व नजिकिँदै गएको भन्दै प्रचण्डले चाडपर्वकै बीचमा आन्दोलनको तयारी अघि बढाउने बताए।

‘चाडपर्वको यो अवधिभित्र पनि हामीले तयारीका कामलाई अगाडि बढाउँछौँ,’ उनले भने, ‘चाडपर्वपछिको देशको परिस्थिति हेरेर प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध प्रतिवाद र एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ।’

उनले आन्दोलनका लागि सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिए। त्यसका लागि जिम्मेवारीपूर्वक र फराकिलो सोचका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

कृष्णभीर खुलेपनि ग्यासको समस्या भने उस्तै

काठमाडौं । पहिरोका कारण १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्ड पुनः सञ्चालनमा आएको छ। सडक खुलेपछि राजधानी आवतजावत सहज बनेको छ।

सडक बन्द हुँदा ठूला मालवाहक र ग्यास बुलेट बाटोमै रोकिएका थिए। साना सवारी र बस वैकल्पिक मार्गबाट सञ्चालन भएका थिए। यात्रु र व्यवसायीले सास्ती खेपेका थिए।

कृष्णभीर खुलेसँगै ट्रक, बस र अन्य सवारी नियमित चल्न थालेका छन्। वैकल्पिक मार्गभन्दा पृथ्वी राजमार्ग सहज रहेको चालकहरूले बताएका छन्।

त्रिशूली नदीको कटानले करिब एक सय मिटर सडक क्षतिग्रस्त भएको थियो। त्यसपछि भित्तो काटेर वैकल्पिक सडक निर्माण गरिएको थियो।

चितवनतर्फ रोकिएका करिब १ हजार ९ सय सवारी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। ग्यास बुलेट पनि काठमाडौं भित्रिन थालेका छन्।

राजमार्ग खुले पनि उपत्यकामा ग्यास वितरण भने सहज भएको छैन। काठमाडौंका ग्यास डिपो र विक्रेताले अझै नियमित वितरण सुरु गरेका छैनन्।

ग्यास अभावकै बीच उद्योगमन्त्री दीपक साहले नेपालमा दैनिक १६० बुलेट ग्यास आउने बताएका थिए। तर, नेपाल आयल निगमको तथ्यांकअनुसार भारतबाट नेपालमा दैनिक आउने ग्यास बुलेटको संख्या १३० सम्म रहेको दाबी गरिएको छ।

मन्त्रीको अभिव्यक्ति र निगमको तथ्यांकबीच फरक देखिएको छ। यसबारे मन्त्री साहको थप प्रतिक्रिया सार्वजनिक भएको छैन।

ग्यास आपूर्तिको वास्तविक अवस्था र वितरण प्रणालीबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने देखिएको छ। सडक खुलेपछि पनि उपभोक्ताले ग्यास नपाउँदा समस्या कायमै छ।

अझै को-को देउवाप्रति वफादार? [सूचीसहित]

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार (असोज ३) वडा अधिवेशन हुँदै छ।

तामझामका साथ हङकङबाट फर्किएका शेर बहादुर देउवा अहिले एक्लिएका छन्। महाधिवेशनको पूर्वसन्ध्यामा भने कांग्रेसभित्रको समीकरण तीव्र रूपमा फेरिएको छ। देउवा पक्षका पिल्लर मानिने नेता सानेपातिर झुल्किन लागेका छन्।

पूर्वसभापति शेरबहादुर देउवानिकट अधिकांश नेता उनको साथ छाडेर सभापति गगन थापा नेतृत्वको कार्यसमितिमा खुलेका छन्। बिहीबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा देउवानिकट नेताहरूको ठूलो समूह सहभागी भयो।

मीन विश्वकर्मादेखि रामहरि खतिवडासम्मका नेताहरू देउवा छाडेर गगन नेतृत्वको कार्यसमितिमा पुगेका छन्। उनीहरूले १५औँ महाधिवेशनको प्रक्रियालाई स्वीकार गरेका छन्।

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट अधिकांश नेता पनि संस्थापन समूहमा पुगिसकेका छन्। खड्का भने महाधिवेशनको कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्नुपर्ने पक्षमा छन्।

नेता शेखर कोइराला पनि पार्टी एकताको पक्षमा छन्। उनी दुवै महाधिवेशनमा सहभागी नहुने धारमा देखिएका छन्। तर, उनीनिकट केही नेता अझै अन्योलमा छन्।

यसबीच देउवाको साथमा भने केही प्रभावशाली नेता अझै छन्। देउवानिकट नेताहरूमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, मानबहादुर विश्वकर्मा, एनपी साउद, आनन्द ढुंगाना, अम्बिका बस्नेत, शंकर भण्डारी, रमेश लेखक, मोहनबहादुर बस्नेत, शिव हुमागाईं, करणराज शर्मा पौडेल, जितजंग बस्नेत, गुरु बराल, कुन्दनराज काफ्ले, मदन अमात्य, गोविन्दबहादुर शाह, नृपबहादुर वड, रंगमति शाही, विद्या तिमल्सिना, सीतादेवी देवकोटा पाण्डे, लक्ष्मी खतिवडा र कल्याणी रिजाललगायत छन्।

तर, देउवासँग रहेका यीमध्ये केही नेता पनि संस्थापन समूहमा जाने तयारीमा रहेको बताइएको छ। त्यसैले वडा अधिवेशन सुरु हुनुअघि नै देउवा पक्षको यो सूचीमा फेरबदल हुनसक्ने देखिन्छ।

महाधिवेशनको पूर्वसन्ध्यामा देउवाको साथ छाड्ने नेताको संख्या बढ्दै जाँदा अब उनको साथमा को–को टिक्छन् भन्ने विषय कांग्रेसभित्र चासोको विषय बनेको छ।

राष्ट्रिय सभा सदस्य पोर्तेलको प्रश्न : के सिंहदरबार जलाउन जाँदा मात्रै हो राष्ट्रिय झण्डा बोक्ने?

काठमाडौं। भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भएको वार्तामा नेपाली राष्ट्रिय झण्डा नराखिएको विषयमा नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले प्रश्न उठाएका छन्।

वाग्लेले सीतारमणसँग ‘वान टु वान’ तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए। ‘वान टु वान’ भेटमा भारतीय अर्थमन्त्रीको छेउमा भारतीय झण्डा राखिएको भए पनि नेपाली अर्थमन्त्रीतर्फ नेपाली झण्डा राखिएको थिएन। यस्तै, दुवै देशका प्रतिनिधिमण्डलबीच भएको वार्तामा पनि भारतीय झण्डा मात्र राखिएको तस्बिर सार्वजनिक भएको छ।

यस विषयमा प्रतिक्रिया दिँदै पोर्तेलले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘के सिंहदरबार जलाउन जाँदा मात्रै हो राष्ट्रिय झण्डा बोक्ने ?’

नेपाल-भारत औपचारिक द्विपक्षीय वार्तामा नेपाली झण्डा नराखिएको विषयलाई लिएर यसअघि पनि पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले आपत्ति जनाउँदै कूटनीतिक प्रोटोकलमा गम्भीर चुक भएको बताएका थिए।

 

बालेनले जेन्जी उमेर समूहका सांसदसँग थाले विशेष छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले जेन्जी उमेर समूहका सांसदसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सुरु भएको हो।

बैठकमा डिजिटल सुशासन र नवीनतम प्रविधिबारे छलफल भइरहेको छ। युवा स्वरोजगार र स्टार्टअप नीतिबारे पनि विचारविमर्श भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाका विषयसमेत छलफलमा छन्। वातावरणीय सन्तुलन र दिगो विकासबारे पनि सांसदसँग सुझाव लिइँदैछ।

युवा पुस्ताका सांसदका सुझावलाई सरकारका नीति तथा कार्यक्रमसँग जोड्ने उद्देश्यले अन्तरक्रिया गरिएको सचिवालयले जनाएको छ।

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

धनुषा। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।

नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

उक्त क्षेत्रको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले ३८८ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।

जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ। स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्।

लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ। त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुनेछ।

यसअघि धनुषाका ३९६६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो।

ठगेर फरार भएका दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२० बस्ने ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन्।

ठगी गरी सम्पर्कविहीन भएको भन्दै पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

के क्लासेन एनपीएल खेल्न नेपाल आउन लागेका हुन्?

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुँदैछ। एसोसिएट क्रिकेटकै ठूलो प्रतियोगितामध्ये एक मानिएको एनपीएल नजिकिँदै जाँदा विश्वभर रहेका नेपाली क्रिकेट समर्थकमा उत्साह बढेको छ।

एनपीएलका फ्रेन्चाइज टोलीहरूले प्रतियोगिताका लागि विदेशी खेलाडी भित्र्याउने क्रमसमेत सुरु गरिसकेका छन्। चर्चित विदेशी खेलाडीको आगमनले प्रतियोगिताप्रतिको आकर्षण थप बढाइरहेको छ।

केही दिनअघि मात्रै काठमाडौं गुर्खाजले चर्चित अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरलाई तेस्रो संस्करणको एनपीएलका लागि अनुबन्ध गर्ने घोषणा गरेको थियो। त्यसलगत्तै विराटनगर किङ्सले श्रीलंकाका पूर्वकप्तान चरिथ असलंकालाई टोलीमा भित्र्याउने सार्वजनिक गरेको थियो। टेस्ट खेल्ने राष्ट्र जिम्बाब्वेका कप्तान सिकन्दर रजा पनि एनपीएलको तेस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्। उनी चितवन राइनोजबाट खेल्नेछन्।

यी चर्चित खेलाडीको आगमन निश्चित भएसँगै दक्षिण अफ्रिकाका स्टार क्रिकेटर हेनरिच क्लासेन पनि एनपीएल खेल्न नेपाल आउने चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। क्लासेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने दाबी गर्दै फेसबुक, इन्स्टाग्राम र टिकटकमा विभिन्न पोस्ट तथा सामग्री सार्वजनिक भइरहेका छन्।

‘के क्लासेन रोयल्सबाट एनपिएल खेल्न नेपाल आउन लागेका हुन्?’  हामीले यही प्रश्न रोयल्सका टिम म्यानेजर सुनिल थापालाई सोधेका छौँ। 

रोयल्सले भने क्लासेनसँग कुनै कुराकानी नभएको स्पष्ट पारेको छ। क्लासेन रोयल्सबाट खेल्न लागेको भन्ने चर्चा हल्ला मात्रै भएको टोलीका टिम म्यानेजर सुनिल थापाले बताए।

‘हामीले कुराकानी गरेका छैनौँ, यो सामाजिक सञ्जालमा फैलाइएको र्‍युमर मात्रै हो,’ थापाले नेपालवान एचडीसँग भने, ‘टेस्ट प्लेइङ नेसनकै अरू बिग प्लेयरको बारेमा भने कुरा भइरहेको छ।’

यद्यपि, सुदूरपश्चिम रोयल्सले टेस्ट खेल्ने राष्ट्रका अन्य चर्चित खेलाडीसँग कुराकानी गरिरहेको जनाएको छ।

एनपीएलको तेस्रो संस्करणमा विदेशी खेलाडीको सहभागितालाई लिएर सुरुदेखि नै चर्चा बढिरहेको छ। वार्नर, असलंका। रजाजस्ता चर्चित खेलाडीको आगमनले प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षण बढाउनेछ।